परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५८

26 जुन 2021

शैतानले मानिसलाई भ्रष्ट पार्ने र नियन्त्रण गर्ने अन्तिम तरिका सामाजिक प्रचलन हो। “सामाजिक प्रचलन” मा चर्चित र महान व्यक्तित्वहरूको आराधनाका साथै चलचित्र र साङ्गीतिक आदर्शहरू, सेलिब्रेटी भक्ति, अनलाइन गेमजस्ता विविध क्षेत्रहरूलगायतका धेरै पक्षहरू हुन्छन्—यी सबै नै सामाजिक प्रचलनका भागहरू हुन्, र यसबारेमा विस्तृतमा कुरा गर्न आवश्यक छैन। हामी मानिसहरूमा सामाजिक प्रचलनले ल्याउने विचारहरू, तिनले मानिसहरूलाई संसारमा जे-जसरी व्यवहार गर्न लगाउँछन् ती तौरतरिकाहरू, र मानिसहरूमा तिनले ल्याउने जीवनका लक्ष्यहरू र दृष्टिकोणका बारेमा मात्रै कुरा गर्नेछौँ। यी अत्यन्तै महत्त्वपूर्ण छन्; तिनले मानिसहरूका सोचविचार र रायहरूलाई नियन्त्रण गर्न र प्रभाव पार्न सक्छन्। यी प्रचलनहरू एकपछि अर्को गर्दै उत्पन्‍न हुन्छन्, र ती सबैले मानिसहरूलाई विवेक, मानवता र तर्क गुमाउने तुल्याउँदै, तिनीहरूको नैतिकता र चरित्रको गुणस्तर झन्झन् कमजोर पार्दै, मानवजातिलाई निरन्तर नीच तुल्याउने दुष्‍प्रभाव ल्याउँछन्, यहाँसम्‍म कि धेरैजसो मानिसहरूमा अब कुनै इज्‍जत, कुनै मानवता छैन, न त तिनीहरूसँग कुनै विवेक न त कुनै नैतिकता नै छ भनेरसमेत भन्‍न सकिने अवस्था छ। त्यसो भए, यी सामाजिक प्रचलनहरू के हुन् त? ती तैँले नाङ्गो आँखाले देख्‍न नसक्‍ने प्रचलनहरू हुन्। जब कुनै नयाँ प्रचलन संसारभरि फैलन्छ, सायद मानिसहरूको सानो सङ्ख्या मात्रै प्रचलन निर्माणकर्ताहरूको रूपमा अग्रणी स्थानमा रहेको हुन्छ। तिनीहरूले कुनै नयाँ कुरा गरेर यसको सुरुवात गर्छन्, त्यसपछि कुनै प्रकारको विचार वा कुनै प्रकारको दृष्टिकोणलाई स्वीकार गर्छन्। तैपनि बहुसंख्यक मानिसहरू अवचेतन अवस्थामै यस प्रकारको प्रचनलद्वारा निरन्तर रूपमा तबसम्‍म सङ्क्रमित, आकर्षित हुनेछन्, र तिनीहरूले यसलाई आत्मसात् गर्नेछन्, जबसम्‍म तिनीहरू सबैले यसलाई अनजान रूपमा र अनायसै स्वीकार गर्दैनन्, यसमा डुब्दैनन् र यसद्वारा नियन्त्रित हुँदैनन्। एकपछि अर्को गर्दै त्यस्ता प्रचलनहरूले तन्दुरुस्त शरीर र मस्तिष्क नभएका, सत्यता के हो भनी थाहा नभएका, र सकारात्मक र नकारात्मक कुराहरूबीचमा भिन्‍नता छुट्याउन सक्‍ने क्षमता नभएका मानिसहरूलाई यी कुराहरूका साथै शैतानबाट आउने जीवनसम्‍बन्धी दृष्टिकोण र मूल्यमान्यताहरू खुशीसाथ स्वीकार गर्ने तुल्याउँछन्। जीवनलाई कसरी लिने भन्‍नेबारेमा शैतानले तिनीहरूलाई बताएका कुराहरू र शैतानले तिनीहरूलाई “दिएका” जिउने शैलीहरू तिनीहरूले स्वीकार गर्छन्, र त्यसलाई विरोध गर्ने तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त क्षमता नै, चेतना हुने कुरा त परै जाओस्। त्यसो भए, यस्ता प्रचलनहरूलाई कसरी पहिचान गर्न सकिन्छ? तिमीहरूले क्रमिक रूपमा बुझ्‍न सक भनेर मैले एउटा सरल उदाहरण छनौट गरेको छु। कसैलाई पनि धोका नदिऊँ भनेर मानिसहरूले विगतमा आफ्‍नो व्यापार सञ्‍चालन गर्थे; जोसुकैले खरिद गरे पनि तिनीहरूले मालसामान उही मूल्यमा बिक्री गर्थे। के यहाँ असल विवेक र मानवताको केही तत्व सम्प्रेषित गरिएको छैन र? जब मानिसहरूले यसरी असल नियतसाथ आफ्‍नो व्यापार सञ्‍चालन गर्थे, त्यस बेला तिनीहरूमा केही विवेक र केही मानवता थियो भनेर देख्‍न सकिन्छ। तर पैसासम्‍बन्धी मानिसको सधैँ बढिरहने मागसँगै, मानिसहरूले पत्तै नपाई पैसा, नाफा, र सुखचैनलाई झन्झन् बढी प्रेम गर्न थाले। के मानिसहरूले पैसालाई पहिलेभन्दा अहिले बढी प्राथमिकता दिँदैनन् र? जब मानिसहरूले पैसालाई अत्यन्तै महत्त्वपूर्ण रूपमा हेर्न थाल्छन्, तिनीहरूले आफ्‍नो मर्यादा, प्रसिद्धि, छवि र निष्ठालाई कम महत्त्व दिन्छन्, के तिनीहरूले त्यसो गर्दैनन् र? जब तँ व्यापारमा संलग्‍न हुन्छस्, तैँले अरूलाई मान्छे ठगेर धनी बनेको देख्छस्। त्यो पैसा नराम्रो तरिकाले कमाइएको भए पनि, तिनीहरू झन्झन् धनी बन्दै जान्छन्। तिनीहरूको परिवारले सबै कुराको मजा लिएको देख्दा, तँलाई नरमाइलो लाग्छ: “हामी सबै नै व्यापार गर्छौँ तर तिनीहरू धनी बने। मचाहिँ किन धेरै पैसा कमाउन सक्दिनँ? म अब यो सहन सक्दिनँ—मैले अझै धेरै पैसा कमाउन, कुनै न कुनै उपाय सोच्‍नुपर्छ।” त्यसपछि त, तैँले गर्ने सबै कुरा भनेकै कसरी धेरै पैसा कमाउने भनेर चिन्तन गर्नु मात्र हो। जब तैँले “पैसा त विवेकअनुसार, र कसैलाई पनि नठगीकन कमाउनुपर्छ” भन्‍ने विश्‍वासलाई त्यागिसकेको हुन्छस्, तब तेरो सोच तेरा आफ्नै स्वार्थहरूद्वारा सञ्‍चालित हुँदै क्रमिक रूपमा बदलिँदै जान्छ र सोहीअनुरूप तेरो कार्यपछाडिका सिद्धान्तहरू पनि बदलिँदै जान्छन्। जब तैँले कसैलाई पहिलोपटक ठग्छस्, तँलाई आफ्नो विवेकले गाली गरेको अनभूति हुन्छ, र तेरो हृदयले तँलाई भन्‍नेछ, “यो सकिएपछि, मैले कसैलाई ठगेको यो नै अन्तिमपटक हुनेछ। मान्छेहरूलाई सधैँ ठग्यो भने यसले प्रतिशोध ल्याउनेछ!” यो मानिसको विवेकको कार्य हो—यसले तँलाई असहज महसुस गराउने र तँलाई धिक्‍कार्ने गर्छ, ताकि तैँले कसैलाई ठग्दा तँलाई अस्वाभाविक महसुस होस्। तर तैँले कसैलाई सफलतापूर्वक धोका दिएपछि, तैँले आफूसँग अहिले पहिलेभन्दा धेरै पैसा भएको देख्छस्, र तँलाई आफ्नो लागि यो तरिका निकै लाभदायक हुन सक्छ भन्‍ने लाग्छ। तेरो हृदयमा भएको हल्‍का पीडाको बाबजुद पनि, तँलाई आफ्नो सफलतामा आफैलाई बधाई दिने मन हुन्छ, र आफैप्रति खुसी महसुस हुन्छ। पहिलोपटक, तैँले आफ्नो व्यवहार, आफ्नो ठग मार्गलाई स्वीकार गर्छस्। यस्तो ठगीद्वारा मानिस एकपटक दूषित भइसकेपछि, यो कुनै व्यक्ति जुवातासमा संलग्‍न भएपछि ऊ जुवाडे बन्‍नुजस्तै हुन्छ। तैँले अचेतन रूपमै, आफ्नो ठगी व्यवहारलाई अनुमोदन गर्छस् र त्यसलाई स्विकार्छस्। अचेतन रूपमै, तैँले ठगी कार्यलाई उचित व्यावसायिक बानीबेहोरा, र तेरो अस्तित्व र जीविकाको सबैभन्दा उपयोगी माध्यमको रूपमा लिन्छस्; तँलाई लाग्छ, यसो गरेर तैँले चाँडै नै सम्पत्ति कमाउन सक्छस्। यो एक प्रक्रिया हो: सुरुमा, मानिसहरूले यस प्रकारको बानीबेहोरालाई स्वीकार गर्न सक्दैनन्, र तिनीहरूले यस्तो बानीबेहोरा र अभ्यासलाई नीच दृष्टिले हेर्छन्। त्यसपछि तिनीहरूले आफै प्रयोग र परीक्षण गर्दै यो बानीबेहोरालाई आफै अभ्यास गरेर हेर्न थाल्छन्, अनि तिनीहरूको हृदय क्रमिक रूपमा रूपान्तरित हुन थाल्छ। यो कस्तो प्रकारको रूपान्तरण हो? यो प्रचलनको स्वीकृति र अङ्गीकार हो, सामाजिक प्रचलनले तँमा राखिदिएको यो विचारको स्वीकृति र अङ्गीकार हो। महसुसै नगरी, तैँले मानिसहरूसँग व्यापार गर्ने क्रममा नठग्दा खराब अनुभूति गर्न थाल्छस्; तैँले मानिसहरूलाई नठग्दा, तँलाई आफूले कुनै कुरा गुमाइरहेको भान हुन्छ। थाहै नपाई, यो ठगी तेरो प्राण, तेरो मेरुदण्ड, तेरो जीवनको सिद्धान्तरूपी अपरिहार्य व्यवहार बन्छ। मानिसले यो व्यवहार र यो सोचाइलाई स्वीकार गरिसकेपछि, के यसले उसको हृदयमा परिवर्तन ल्याएको हुँदैन र? तेरो हृदय परिवर्तन भएको हुन्छ, त्यसकारण के तेरो सत्यनिष्ठा पनि परिवर्तन भएको हुन्छ? के तेरो मानवता परिवर्तन भएको हुन्छ? के तेरो विवेक परिवर्तन भएको हुन्छ? तेरो सम्पूर्ण अस्तित्व, तेरो हृदयदेखि तेरो विचारसम्‍म, तेरो भित्रदेखि बाहिरसम्म परिवर्तन भएको हुन्छ, र यो एक गुणात्‍मक परिवर्तन हुन्छ। यो परिवर्तनले तँलाई परमेश्‍वरबाट झन्‍झन् टाढा तान्छ, र तँ झन्झन् बढी शैतानसँग नजिकिँदै जान्छस्; तँ झन्झन् बढी शैतानजस्तै बन्छस्, र यसको परिणामस्वरूप, शैतानको भ्रष्टताले तँलाई नरपिशाच बनाउँछ।

यी सामाजिक प्रचलनहरूलाई हेर्दा, के तँ मानिसहरूमा तिनको ठूलो प्रभाव हुन्छ भनेर भन्छस्? के तिनले मानिसहरूलाई गहन रूपले हानिकारक प्रभाव पार्छन्? तिनले मानिसहरूलाई गहन रूपले हानिकारक प्रभाव पार्छन्। यी हरेक सामाजिक प्रचलन प्रयोग गरी शैतानले मानिसको कुन पक्षलाई भ्रष्ट तुल्याउँछ? शैतानले विशेष गरी मानिसको विवेक, समझ, मानवता, नैतिकता र जीवनसम्‍बन्धी दृष्टिकोणलाई भ्रष्ट पार्छ। अनि, के यी सामाजिक प्रचलनहरूले मानिसहरूलाई क्रमिक रूपमा पतित र भ्रष्ट पार्दैन र? मानिसहरूलाई एकपटकमा एक कदम गरी दियाबलसहरूको गुँडसम्‍म लोभ्याउँदै ल्याउनको लागि शैतानले यी सामाजिक प्रचलनहरूको प्रयोग गर्छ, ताकि सामाजिक प्रचलनहरूमा व्यस्त भएका मानिसहरूले थाहै नपाई रुपियाँपैसा र भौतिक इच्‍छाहरू, दुष्टता र हिंसाको वकालत गरून्। यी कुराहरू मानिसको हृदयमा प्रवेश गरिसकेपछि, मानिस के बन्छ? मानिस दियाबलस, शैतान बन्छ! किन? मानिसको हृदयमा कुन मानसिक झुकाव हुन्छ? मानिसले केलाई आदर गर्छ? मानिसले दुष्टता र हिंसामा आनन्द लिन थाल्छ, अनि सुन्दरता वा भलाइप्रति कुनै प्रेम देखाउँदैन, शान्तिको त कुरै नगरौं। मानिसहरू सामान्य मानवताको सरल जीवन जिउन इच्‍छुक हुँदैनन्, बरु उच्‍च प्रतिष्ठा र धेरै सम्पत्तिको आनन्द लिन, आफ्‍नो देहलाई सन्तुष्ट पार्न कुनै कसर बाँकी नराखी र तिनीहरूलाई रोक्‍ने कुनै बन्धन, बाधाविना देहका आनन्दमा मस्त हुन चाहन्छन्; अर्को शब्‍दमा भन्दा, तिनीहरूलाई जे इच्‍छा लाग्छ तिनीहरू त्यही गर्न चाहन्छन्। त्यसकारण, जब मानिस यस प्रकारका प्रचलनहरूमा डुबेको हुन्छ, के तैँले सिकेको ज्ञानले तँलाई आफैलाई मुक्त गर्न सहयोग गर्छ? के परम्‍परागत संस्कृति र अन्धविश्‍वाससम्‍बन्धी तेरो बुझाइले तँलाई यो भयानक अवस्थाबाट उम्‍कन सहयोग गर्न सक्छ? के मानिसलाई थाहा भएको परम्‍परागत नैतिकता र संस्कारले मानिसहरूलाई संयमता अभ्यास गर्न सहयोग गर्न सक्छ? उदाहरणको लागि, एनालेक्ट्स र ताओ ते चिङलाई लिऊँ। के यिनले मानिसहरूलाई यी दुष्ट प्रचलनहरूको दलदलबाट आफ्‍नो खुट्टा निकाल्‍न सहयोग गर्न सक्छन्? बिलकुलै सक्दैनन्। तसर्थ, मानिस झन्झन् दुष्ट, अहङ्कारी, हेपाहा, स्वार्थी, र दुर्भावनापूर्ण बन्दै जान्छ। मानिसहरूका बीचमा अब कुनै आत्मीयता छैन, परिवारका सदस्यहरूबीच अब कुनै प्रेम छैन, आफन्त र इष्टमित्रबीच अब कुनै समझदारी छैन; मानव सम्‍बन्धहरू हिंसाद्वारा चित्रण भइसकेका छन्। हरेक व्यक्तिले आफ्‍ना सङ्गी मानिसहरूमाझ जिउनको लागि हिंसाको प्रयोग गर्न खोज्छ; हिंसाकै प्रयोग गरी, तिनीहरूले आफ्‍नो दैनिक रोटी खोसेर लिन्छन्; हिंसाकै प्रयोग गरी, तिनीहरूले आफ्‍नो हैसियत र नाफा कमाउँछन्, र आफूले गर्न चाहेको जुनसुकै कुरा गर्न तिनीहरूले हिंसात्मक र दुष्ट मार्गहरूको प्रयोग गर्छन्। के यो मानवजाति अत्यन्तै भयानक छैन र? छ, एकदमै धेरै हदसम्म त्यस्तै छ: तिनीहरूले परमेश्‍वरलाई क्रूसमा टाँग्‍ने काम मात्रै गरेका छैनन्, उहाँलाई पछ्याउने सबैको हत्यासमेत गरेका छन्—किनकि मानिस अत्यन्तै दुष्ट छ। मैले भर्खरै भनेका यी सबै कुराहरू सुनिसकेपछि, शैतानले मानिसलाई भ्रष्ट तुल्याउने यो वातावरण, यो संसार, र यस प्रकारका मानिसहरूमाझ जिउन के तिमीहरूलाई अत्यन्तै डरलाग्दो लाग्दैन? (लाग्छ।) त्यसो भए, के तिमीहरूले आफैलाई कहिल्यै बिचरा ठानेका छौ? यो क्षणमा तिमीहरू अलिअलि यस्तो अनुभव गर्छौ, होइन र? (हो।) तिमीहरूको स्वर सुन्दा, तिमीहरूले यस्तो विचार गरिरहेजस्तो लाग्छ, “शैतानसँग मानिसलाई भ्रष्ट तुल्याउने धेरै र विभिन्‍न तरिकाहरू छन्। त्यसले हरेक अवसरको फाइदा उठाउँछ र हामी जता फर्के पनि त्यो त्यतै हुन्छ। के मानिसलाई अझै पनि मुक्ति दिन सकिन्छ?” के मानिसलाई अझै पनि मुक्ति दिन सकिन्छ? के मानिसले आफैलाई मुक्ति दिन सक्छ? (सक्दैन।) के सम्राट जेडले मानिसलाई बचाउन सक्छ? के कन्फ्युसियसले मानिसलाई बचाउन सक्छ? के गुवानिन वोधिसत्वले मानिसलाई बचाउन सक्छ? (सक्दैन।) त्यसो भए, कसले मानिसलाई बचाउन सक्छ? (परमेश्‍वरले।) तैपनि कतिपय मानिसहरूले आफ्‍नो हृदयमा यस्ता प्रश्‍नहरू उठाउनेछन्: “शैतानले हामीलाई यति घोर रूपमा, यति पागलपनको हदसम्म हानि गर्छ कि हामीसँग जीवन जिउने कुनै आशा नै हुँदैन, न त जीवन जिउने कुनै आत्मविश्‍वास नै हुन्छ। हामी सबै भ्रष्टतामाझ जिउँछौँ, र हरेक व्यक्तिले कुनै न कुनै तरिकाले परमेश्‍वरको विरोध गर्छ, र हाम्रो हृदय डुब्‍न सक्‍नेजति गहिराइमा डुबिसकेको छ। यसरी, शैतानले हामीलाई भ्रष्ट तुल्याइरहँदा परमेश्‍वर कहाँ हुनुहुन्छ? परमेश्‍वर के गरिरहनुभएको छ? परमेश्‍वरले हाम्रो लागि जे गरिरहनुभएको छ, त्यो हामीले कहिल्यै महसुस गर्दैनौँ!” कतिपय मानिसहरू अपरिहार्य रूपमै उदास र अलि निरुत्साहित महसुस गर्छन्, होइन र? तिमीहरूका लागि, यो अनुभव निकै गहिरो हुन्छ किनभने मानिसहरूलाई क्रमिक रूपमा बुझ्दै जाने, तिनीहरू आशाहीन छन् भनी झन्झन् बढी अनुभव गर्ने, तिनीहरूलाई परमेश्‍वरले त्याग्‍नुभएको छ भनी झन्झन् बढी महसुस गर्ने तुल्याउनको लागि मैले यो सबै भन्दै आइरहेको छु। तर चिन्ता नगर। “शैतानको दुष्टता” भन्‍ने हाम्रो आजको सङ्गतिको विषय हाम्रो मूल प्रसङ्ग होइन। तैपनि परमेश्‍वरको पवित्रताको सारको बारेमा कुरा गर्नको लागि, मानिस अहिले कस्तो अवस्थामा छ भन्‍नेबारे मानिसहरूलाई स्पष्ट तुल्याउन हामीले सुरुमा शैतानले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ भन्‍नेबारेमा र शैतानको दुष्टताको बारेमा छलफल गर्नैपर्छ। यसबारेमा कुरा गर्नुको एउटा उद्देश्य भनेको मानिसहरूलाई शैतानको दुष्टताको बारेमा जान्‍ने मौका दिनु हो, जबकि अर्को उद्देश्यचाहिँ मानिसहरूलाई साँचो पवित्रता के हो सोबारे गहन बुझाइ प्राप्त गर्ने मौका दिनु हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्