परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४६

11 डिसेम्बर 2022

मत्ती ४:८-११ फेरि, दुष्टले उहाँलाई एकदमै अग्लो पहाडमा लैजान्छ र संसारका राज्यहरू र तिनको महिमा देखाउँछ; अनि उहाँलाई भन्यो, यदि तपाईंले लम्‍पसार परेर मेरो आराधना गर्नुभयो भने, म तपाईंलाई यी सबै थोक दिनेछु। तब येशूले त्यसलाई भन्‍नुभयो, यहाँबाट गइहाल्, शैतान: किनकि यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू। तब दुष्टले उहाँलाई छोड्यो र स्वर्गदूतहरू आएर उहाँको सेवा गरे।

अघिल्‍ला दुई षड्यन्त्रमा असफल भइसकेपछि दियाबलस शैतानले फेरि अर्को प्रयास गर्‍यो: त्यसले संसारका सबै राज्यहरू र तिनको वैभव प्रभु येशूलाई देखायो अनि मलाई आराधना गर्नुहोस् भनी उहाँलाई भन्यो। यो परिस्थितिबाट तिमीहरूले दियाबलसको साँचो विशेषताहरूको बारेमा के देख्‍न सक्छौ? के दियाबलस शैतान पूर्णतया लाज विहीन छैन र? (छ।) यो कसरी लाज विहीन छ? परमेश्‍वरले नै सबै थोक सृष्टि गर्नुभएको थियो, तैपनि शैतानले फर्केर परमेश्‍वरलाई सबै थोक देखायो अनि भन्यो, “यी सबै राज्यहरूका सम्पत्ति र वैभवलाई हेर्नुहोस्। यदि तपाईंले मलाई आराधना गर्नुभयो भने ती सबै म तपाईंलाई दिनेछु।” के यो भूमिकालाई पूर्ण रूपमा उल्ट्याउने कार्य होइन र? के शैतान लाज विहीन छैन र? परमेश्‍वरले नै सबै थोक बनाउनुभयो, तर के उहाँले आफ्‍नै आनन्दको लागि सबै थोक बनाउनुभयो र? परमेश्‍वरले सबै कुरा मानवजातिलाई दिनुभयो, तर शैतानले यी सबै जफत गर्न चाहन्थ्यो अनि यो सबै जफत गरिसकेपछि, त्यसले परमेश्‍वरलाई भन्यो, “मेरो आराधना गर्नुहोस्! मलाई आराधना गर्नुहोस् अनि यो सबै म तपाईंलाई दिनेछु।” यो शैतानको कुरूप अनुहार हो; यो पूर्ण रूपमा लाज विहीन छ! शैतानलाई “लाज” भन्‍ने शब्‍दको अर्थ समेत थाहा छैन। यो त्यसको दुष्टताको अर्को उदाहरण मात्रै हो। त्यसलाई लाज के हो भन्‍ने समेत थाहा छैन। परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो र उहाँले सबै थोकलाई व्यवस्थापन गर्नुहुन्छ अनि तीमाथि उहाँकै प्रभुत्व छ भन्‍ने शैतानलाई स्पष्टै थाहा छ। सबै थोक मानिसको होइन, अनि शैतानको त झन् हुँदै होइन, तर ती सबै परमेश्‍वरको स्वामित्वमा छन्, तैपनि दियाबलस शैतानले निर्धक्‍कसाथ ती सबै थोक परमेश्‍वरलाई दिनेछु भनी भन्यो। के यो शैतानले फेरि मूर्खतापूर्ण र लाजमर्दो तरिकाले कार्य गरेको अर्को उदाहरण होइन र? यसले परमेश्‍वरलाई शैतानको अझै बढी घृणा गर्ने तुल्याउँछ, तुल्याउँदैन र? तैपनि शैतानले जस्तोसुकै प्रयास गरे पनि, के प्रभु येशू मूर्ख हुनुभयो त? प्रभु येशूले के भन्‍नुभयो? (“तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू।”) के यी वचनहरूको व्यवहारिक अर्थ छ? (छ।) कस्तो प्रकारको व्यवहारिक अर्थ? हामीले शैतानको बोलीमा त्यसको दुष्टता र लाज विहीनतालाई देख्छौं। तसर्थ यदि मानिसले शैतानको आराधना गर्‍यो भने, परिणाम के हुनेछ? के तिनीहरूले सबै राज्यहरूको सम्पत्ति र वैभव प्राप्त गर्नेछन्? (गर्नेछैनन्।) तिनीहरूले के प्राप्त गर्नेछन्? के मानवजाति शैतानजस्तै लाज विहीन र हाँसउठ्दो बन्‍नेछ? (हो।) त्यसो भए तिनीहरू शैतानभन्दा फरक हुनेछैनन्। त्यसकारण, प्रभु येशूले यी वचनहरू भन्‍नुभयो, जुन हरेक मानवजातिको लागि महत्त्वपूर्ण छन्: “तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू।” यसको अर्थ के हो भने, यदि तैँले प्रभुलाई बाहेक, परमेश्‍वर स्वयम्‌लाई बाहेक, अर्कोलाई सेवा गरिस् भने, यदि तैँले दियाबलस शैतानको आराधना गरिस् भने, तँ पनि शैतानजस्तै त्यही दुष्कर्ममा डुब्‍नेछस्। त्यसपछि तँ शैतानको लाज विहीनता र त्यसको दुष्टतामा सहभागी हुनेछस्, अनि शैतानले जस्तै तैँले पनि परमेश्‍वरलाई परीक्षा गर्नेछस् र परमेश्‍वरलाई आक्रमण गर्नेछस्। त्यसपछि तेरो लागि परिणाम के हुनेछ? तँलाई परमेश्‍वरले घृणा गर्नुहुनेछ, परमेश्‍वरले प्रहार गर्नुहुनेछ, नास गर्नुहुनेछ। कुनै सफलता विना नै धेरै पटक शैतानले प्रभु येशूलाई परीक्षा गरिसकेपछि, के त्यसले फेरि प्रयास गर्‍यो त? शैतानले फेरि प्रयास गरेन, अनि त्यसपछि त्यो गयो। यसले के प्रमाणित गर्छ? यसले शैतानको दुष्ट प्रकृति, त्यसको बदख्‍वाइँ, अनि त्यसको मूर्खता र निरर्थकता परमेश्‍वरको सामुन्ने उल्‍लेख गर्न समेत योग्य छैनन् भन्‍ने प्रमाणित गर्छ। प्रभु येशूले केवल तीन वाक्यले शैतानलाई हराउनुभयो, त्यसपछि लाजले अनुहार देखाउन नसकी आफ्‍नो पुच्छर लुरुक्‍क पारेर, त्यो दगुरेर गयो, अनि प्रभु येशूलाई फेरि कहिल्यै परीक्षा गरेन। प्रभु येशूले शैतानको यो परीक्षालाई जित्‍नुभएको हुनाले, अब उहाँले आफूले गर्नुपर्ने र उहाँको अघि राखिएको कार्यलाई उहाँले सहजै जारी राख्‍न सक्‍नुभयो। के प्रभु येशूले यो परिस्थितिमा गर्नुभएको र भन्‍नुभएको सबै कुरालाई वर्तमान दिनमा लागू गर्ने हो भने त्यसले हरेक मानवजातिको लागि कुनै व्यवहारिक अर्थ दिन्छ? (दिन्छ।) कस्तो प्रकारको व्यवहारिक अर्थ? के शैतानलाई हराउनु सहज कुरा थियो? के मानिसहरूसँग शैतानको दुष्ट प्रकृतिको बारेमा स्पष्ट बुझाइ हुनुपर्छ? के मानिसहरूसँग शैतानका परीक्षाहरूको बारेमा ठीक बुझाइ हुनुपर्छ? (हुनुपर्छ।) जब तैँले आफ्‍नो जीवनमा शैतानका परीक्षाहरूको अनुभव गर्छस्, यदि तैँले शैतानका दुष्ट प्रकृतिलाई देख्‍न सक्थिस् भने, के तँ त्यसलाई हराउन सक्‍नेथिइनस्? यदि तँलाई शैतानको मूर्खता र निरर्थकताको बारेमा थाहा थियो भने, के तँ अझै पनि शैतानको पक्षमा खडा भएर परमेश्‍वरलाई आक्रमण गर्नेथिइस्? शैतानको बदख्‍वाइँ र लाज विहीनता तँ मार्फत कसरी प्रकट हुन्छ भन्‍ने तैँले बुझिस् भने—यदि तैँले यी कुराहरूलाई स्पष्ट रूपमा पहिचान गरिस् र बुझिस् भने—के तँ अझै पनि यसरी परमेश्‍वरलाई आक्रमण र परीक्षा गर्नेथिइस्? (होइन, हामी गर्नेथिएनौँ।) तिमीहरूले के गर्नेथियौ? (हामीले शैतानको विरुद्धमा विद्रोह गरेर त्यसलाई धपाउनेथियौँ।) के यसो गर्नु सजिलो छ? यो सजिलो छैन। यसो गर्नको लागि, मानिसहरूले बारम्‍बार प्रार्थना गर्नैपर्छ, तिनीहरूले आफैलाई बारम्बार परमेश्‍वरको अघि राख्‍नुपर्छ अनि आफैलाई जाँच्‍नुपर्छ। अनि तिनीहरूले परमेश्‍वरको अनुशासन र उहाँको न्याय अनि सजाय तिनीहरूमाथि आउन दिनुपर्छ। यसरी मात्रै मानिसहरूले आफूलाई क्रमिक रूपमा शैतानको धोका र नियन्त्रणबाट मुक्त गर्न सक्‍नेछन्।

अब, शैतानले बोलेका यी वचनहरूलाई हेरेर, हामी शैतानको सार निर्माण गर्ने कुराहरूलाई सारांशित गर्नेछौँ। पहिलो, सामान्यतया शैतानको सार दुष्ट छ भनेर भन्‍न सकिन्छ, जुन परमेश्‍वरको पवित्रताको विपरीत हो। शैतानको सार दुष्ट छ भनेर म किन भन्छु त? यस प्रश्‍नको उत्तर दिनको लागि, मानिसहरूलाई शैतानले जे गर्छ त्यसका परिणामहरूलाई छानबिन गर्नुपर्छ। शैतानले मानिसलाई भ्रष्ट तुल्याउँछ र नियन्त्रण गर्छ, अनि मानिसले शैतानको भ्रष्ट स्वभावको अधीनमा काम गर्छ, अनि ऊ शैतानले भ्रष्ट तुल्याएका मानिसहरूको संसारमा जिउँछ। पत्तै नपाई मानवजातिलाई शैतानले नियन्त्रण गर्छ र आफूमा समाहित गराउँछ; त्यसकारण, मानिसमा शैतानको भ्रष्ट स्वभाव हुन्छ, जुन शैतानको प्रकृति हो। शैतानले भनेको र गरेको सबै कुराबाट, के तिमीहरूले त्यसको अहङ्कार देखेका छौ? के तिमीहरूले त्यसको धोका र बदख्‍वाइँ देखेका छौ? शैतानको अहङ्कार प्राथमिक रूपमा कसरी देखिन्छ? के शैतानलाई सधैँ परमेश्‍वरको स्थान लिने इच्‍छा हुन्छ? शैतानले सधैँ परमेश्‍वरको कार्य, र परमेश्‍वरको स्थानलाई ढलाएर आफ्‍नो निम्ति लिन चाहन्छ, ताकि मानिसहरूले शैतानलाई पछ्याऊन्, साथ दिऊन्, र आराधना गरून्; शैतानको अहङ्कारी प्रकृति यही नै हो। जब शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ, तिनीहरूले के गर्नुपर्छ भनेर त्यसले तिनीहरूलाई सीधै भन्छ र? जब शैतानले परमेश्‍वरको परीक्षा गर्छ, तब के त्यसले आएर “मैले तँलाई परीक्षा गर्न लागेको छु, म तँलाई आक्रमण गर्नेछु” भनेर भन्छ र? त्यसले अवश्य नै यसो भन्दैन। त्यसो भए, शैतानले कुन विधिको प्रयोग गर्छ? यसले प्रलोभनमा पार्छ, परीक्षा गर्छ, आक्रमण गर्छ, अनि पासोहरू थाप्छ, र धर्मशास्‍त्रका खण्डहरूलाई समेत उद्धृत गर्छ। शैतानले आफ्ना कुटिल उद्देश्यहरूलाई हासिल गर्न र आफ्ना अभिप्रायहरूलाई पूरा गर्न विभिन्‍न तरिकाले बोल्छ र कार्य गर्छ। शैतानले यसो गरेपछि, मानिसमा प्रकट हुने कुराबाट के देख्‍न सकिन्छ? के मानिसहरू पनि अहङ्कारी बन्दैनन् र? मानिसले हजारौँ वर्षदेखि शैतानको भ्रष्टतालाई भोगेको छ, त्यसकारण मानिस अहङ्कारी, धोकेबाज, दुर्भावनापूर्ण, र तर्क विहीन बनेको छ। यी सबै कुराहरू शैतानको प्रकृतिको कारण आएका हुन्। शैतानको प्रकृति नै दुष्ट भएको हुनाले, त्यसले मानिसलाई यो दुष्ट प्रकृति दिएको छ अनि मानिसमा यस दुष्ट, भ्रष्ट स्वभाव ल्याएको छ। त्यसकारण, मानिस भ्रष्ट शैतानी स्वभावमा जिउँछ, अनि शैतानले जस्तै, उसले परमेश्‍वरको विरोध गर्छ, परमेश्‍वरलाई आक्रमण गर्छ, अनि उहाँको परीक्षा गर्छ, यहाँसम्‍म कि मानिसले परमेश्‍वरलाई आराधना गर्नै सक्दैन अनि उसँग परमेश्‍वरलाई श्रद्धा गर्ने हृदय नै हुँदैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्