परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४४

18 डिसेम्बर 2022

शैतानको परीक्षा

मत्ती ४:१-४ तब उजाड स्थानमा दुष्टबाट परीक्षा गरिनलाई आत्माले येशूलाई लानुभयो। र उहाँले चालीस दिन र चालीस रात उपवास बसिसक्‍नुभएपछि, उहाँ भोकाउनुभयो। अनि परीक्षा गर्ने उहाँकहाँ आयो र भन्यो, यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्। तर उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, यस्तो लेखिएको छ, मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ।

यिनै वचनहरूद्वारा दियाबलसले सुरुमा प्रभु येशूलाई परीक्षा गर्ने प्रयास गर्‍यो। दियाबलसले भनेको कुराको विषयवस्तु के हो? (“यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्।”) दियाबलसले बोलेका यी वचनहरू निकै सरल छन्, तर के तिनको सारमा कुनै समस्या छ? दियाबलसले भन्यो, “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने,” तर त्यसको हृदयमा, त्यसलाई येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्‍ने थाहा थियो कि थिएन? उहाँ ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने त्यसलाई थाहा थियो कि थिएन? (त्यसलाई थाहा थियो।) त्यसो भए त्यसले किन “यदि तपाईं” भनेर भन्यो? (त्यसले परमेश्‍वरलाई परीक्षा गर्ने प्रयास गरिरहेको थियो।) तर त्यसले त्यसो गर्नुको उद्देश्य के थियो? त्यसले भन्यो, “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने।” त्यसको हृदयमा त्यसलाई येशू ख्रीष्‍ट परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्‍ने थाहा थियो, त्यसको हृदयमा त्यो यसबारे अत्यन्तै स्पष्ट थियो, तर यो कुरा जाने तापनि, के त्यो उहाँमा समर्पित भयो र के त्यसले उहाँको आराधना गर्‍यो? (गरेन।) त्यसले के गर्न चाह्यो? प्रभु येशूलाई रिस उठाउन, अनि त्यसका अभिप्रायहरू अनुसार उहाँलाई मूर्ख बनाई काम गर्न लगाउनको लागि त्यसले यो तरिका र यी वचनहरू प्रयोग गर्न चाहन्थ्यो। के दियाबलसका वचनहरूको पछाडि लुकेको अर्थ यही होइन र? शैतानको हृदयमा, त्यसलाई प्रभु येशू ख्रीष्ट उहाँ नै हुनुहुन्छ भन्‍ने स्पष्टै थाहा थियो, तैपनि त्यसले यी वचनहरू बोल्यो। के यो शैतानको प्रकृति होइन र? शैतानको प्रकृति के हो? (धूर्त, दुष्ट बन्‍नु, र परमेश्‍वरको निम्ति कुनै श्रद्धा नहुनु।) परमेश्‍वरप्रति कुनै श्रद्धा नहुनुबाट के-कस्ता परिणामहरू आउँछन्? के त्यसले परमेश्‍वरलाई आक्रमण गर्न चाहँदैन थियो र? यसले परमेश्‍वरलाई आक्रमण गर्न यो तरिकाको प्रयोग गर्न चाहन्थ्यो, त्यसैले त्यसले भन्यो: “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्”; के यो शैतानको दुष्ट अभिप्राय होइन र? त्यसले वास्तवमा के गर्ने प्रयास गरिरहेको थियो? त्यसको उद्देश्य अत्यन्तै स्पष्ट छ: त्यसले प्रभु येशू ख्रीष्टको हैसियत र पहिचानलाई इन्कार गर्नको लागि यो तरिकाको प्रयोग गरिरहेको थियो। शैतानले यी वचनहरूबाट यसो भन्‍न खोजिरहेको थियो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटीमा परिवर्तन गर्नुहोस्। यदि तपाईंले त्यसो गर्न सक्‍नुहुन्‍न भने, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यसकारण तपाईंले अब उप्रान्त आफ्‍नो काम गर्नु हुँदैन।” के यही होइन त? त्यसले परमेश्‍वरलाई आक्रमण गर्नको लागि यो तरिकाको प्रयोग गर्न चाहन्थ्यो, त्यसले परमेश्‍वरको कार्यलाई चकनाचूर पार्न र नष्ट गर्न चाहन्थ्यो; शैतानको दुराशय यही हो। त्यसको दुराशय नै त्यसको प्रकृतिको स्वभाविक अभिव्यक्ति हो। प्रभु येशू ख्रीष्ट परमेश्‍वरका पुत्र हुनुहुन्छ, परमेश्‍वर स्वयम्‌को देहधारण हुनुहुन्छ भन्‍ने त्यसलाई थाहा भएको भए पनि त्यसले यस प्रकारको कार्य नगरी त्यो बस्‍न सकेन र परमेश्‍वरलाई नजिकबाटै पिछा गर्ने, उहाँलाई निरन्तर आक्रमण गर्ने र परमेश्‍वरको कार्यलाई भङ्ग गर्न र तोड्नको लागि धेरै प्रयास गर्ने गरिरह्यो।

अब हामी, शैतानले बोलेको यो वाक्यलाई विश्‍लेषण गरौँ: “यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्।” ढुङ्गाहरूलाई रोटीमा परिवर्तन गर्नु—के यसको कुनै अर्थ छ? यदि खानेकुरा छ भने, त्यसैलाई किन नखाने? किन ढुङ्गाहरूलाई खानेकुरामा परिवर्तन गर्नु आवश्यक छ? के यसको कुनै अर्थ छैन भनेर भन्‍न सकिन्छ? यो बेला प्रभु येशू उपवास बसिरहनुभएको भए तापनि, अवश्य नै उहाँसँग खानको लागि खानेकुरा थियो? (उहाँसँग थियो।) त्यसो भए, यहाँ हामी शैतानका वचनहरूको मूर्खतालाई देख्‍न सक्छौं। शैतानको सबै विश्‍वासघात र बदख्वाइँको बाबजुत पनि, हामी त्यसको मूर्खता र निरर्थकतालाई देख्छौं। शैतानले त्यस्ता विभिन्‍न कुराहरू गर्छ जसद्वारा तैँले त्यसको दुर्भावनापूर्ण प्रकृतिलाई देख्‍न सक्छस्; त्यसले परमेश्‍वरको कार्यलाई तोड्ने विभिन्‍न कुराहरू गरिरहेको देख्‍न सक्छस्, अनि यसलाई देखेर, तैँले त्यो घृणास्पद र रिस उठ्दो छ भन्‍ने अनुभव गर्छस्। तर, अर्कोतर्फ, के त्यसका वचनहरू र कार्यहरूका पछाडि तैँले मूर्खतापूर्ण, हास्यास्पद प्रकृतिलाई देख्दैनस्? शैतानको प्रकृति सम्‍बन्धी प्रकाश यही हो; त्यसको प्रकृति नै यही भएकोले, त्यसले यस्तै प्रकारको काम गर्नेछ। आजका मानिसहरूका लागि, शैतानका यी वचनहरू निरर्थक र हाँसउठ्दो छन्। तर शैतानले त्यस्ता वचनहरू बोल्‍न सक्छ। के त्यो अज्ञानी र विवेकहीन छ भनेर हामी भन्‍न सक्छौँ? शैतानको दुष्टता जताततै छ र यसलाई निरन्तर रूपमा प्रकट गरिँदैछ। अनि प्रभु येशूले त्यसलाई कसरी जवाफ दिनुभयो? (“मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ।”) के यी वचनहरूमा कुनै शक्ति छ? (छ।) तिनमा शक्ति छ भनेर हामी किन भन्छौँ? किनभने यी वचनहरू सत्यता हुन्। अब, के मानिस रोटीले मात्रै बाँच्‍न सक्छ? प्रभु येशू चालीस दिन र चालीस रातसम्‍म उपवास बस्‍नुभयो। के उहाँ भोकले मर्नुभयो? उहाँ भोकले मर्नुभएन, त्यसकारण उहाँलाई यस्ता कुराहरू भनेर ढुङ्गाहरूलाई खानेकुरामा परिवर्तन गर्नको लागि उहाँलाई उक्साउन शैतान उहाँकहाँ गयो: “यदि तपाईंले ढुङ्गाहरूलाई खानेकुरामा परिवर्तन गर्नुभयो भने, खानका लागि तपाईंसँग यी कुराहरू हुनेछैनन् र? त्यसपछि तपाईंले उपवास बस्‍नु पर्दैन, भोकै बस्‍नु पर्दैन, होइन र?” तर प्रभु येशूले भन्‍नुभयो, “मानिस रोटीले मात्र बाँच्‍दैन,” जसको अर्थ मानिस भौतिक शरीरमा जिए तापनि, उसको भौतिक शरीरलाई बाँच्‍न र सास फेर्न दिने त खाने कुरा होइन, बरु परमेश्‍वरको मुखबाट उच्चारित हरेक वचनहरू हुन्। एकतर्फ, यी वचनहरू सत्य हुन्; परमेश्‍वरमा तिनीहरूले भरोसा गर्न सक्छन् अनि सत्यता उहाँ नै हुनुहुन्छ भन्‍ने अनुभव गराउँदै यी वचनहरूले मानिसहरूलाई विश्‍वास दिलाउँछ। अर्कोतर्फ, के यी वचनहरूको व्यवहारिक पक्ष छ? चालीस दिन र चालीस रात उपवास बसिसकेपछि, के प्रभु येशू अझै खडा हुनुहुन्नथ्यो र, अझै जीवित हुनुहुन्नथ्यो र? के यो वास्तविक उदाहरण होइन र? उहाँले चालीस दिन र चालीस रातसम्‍म कुनै पनि खानेकुरा खानुभएको थिएन, तर उहाँ अझै पनि जीवितै हुनुहुन्थ्यो। यो उहाँका वचनहरूको सत्यतालाई पुष्टि गर्ने शक्तिशाली प्रमाण हो। यी वचनहरू सरल छन्, तैपनि प्रभु येशूको हकमा भन्दा, शैतानले उहाँको परीक्षा गर्दा मात्रै उहाँले ती बोल्‍नुभयो कि ती पहिले नै प्राकृतिक रूपमै उहाँको भाग बनिसकेका थिए? यसलाई अर्को तरिकाले भन्दा, परमेश्‍वर नै सत्यता हुनुहुन्छ, अनि परमेश्‍वर नै जीवन हुनुहुन्छ, तर के परमेश्‍वरको सत्यता र जीवन त्यसपछि थपिएका कुराहरू थिए? के ती पछिका अनुभवबाट पैदा भएका थिए? होइन—परमेश्‍वरमा ती अन्तर्निहित रूपमै छन्। भन्‍नुको अर्थ, सत्यता र जीवन परमेश्‍वरका सार हुन्। उहाँलाई जेसुकै भए तापनि, उहाँले प्रकट गर्नुहुने सबै कुरा सत्यता नै हो। यो सत्यता, यी वचनहरूले—उहाँको बोलीको विषयवस्तु लामो भए पनि छोटो भए पनि—मानिसलाई जिउन सक्षम तुल्याउन सक्छन् र तिनले मानिसलाई जीवन दिन्छन्; तिनले मानिसहरूलाई सत्यता अनि मानव जीवनको मार्गको बारेमा स्पष्टता हासिल गर्न, र तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास राख्‍न सक्षम तुल्याउँछन्। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले प्रयोग गर्नुभएका यी वचनहरूको स्रोत सकारात्मक छ। त्यसकारण के हामी यो सकारात्मक कुरा पवित्र छ भनेर भन्‍न सक्छौँ? (सक्छौँ।) शैतानका ती वचनहरू शैतानको प्रकृतिबाट आउँछन्। शैतानले त्यसको दुष्टता र त्यसको दुर्भावनापूर्ण स्वभाव जताततै, निरन्तर रूपमा प्रकट गर्छ। अब, के शैतानले प्राकृतिक रूपमै यिनलाई प्रकट गर्छ? के कसैले त्यसलाई यसो गर्न निर्देशन दिन्छ? के कसैले त्यसलाई सहायता गर्छ? के कसैले त्यसलाई बाध्य गर्छ? गर्दैन। यी सबै कुराहरू त्यसले आफ्‍नै इच्‍छाले प्रकट गर्छ। यो शैतानको दुष्ट प्रकृति हो। परमेश्‍वरले जे गर्नुभए पनि र उहाँले यो जसरी गर्नुभए पनि, शैतानले उहाँलाई नजिकबाट पछ्याउँछ। शैतानले भन्‍ने र गर्ने यी कुराहरूको सार र साँचो प्रकृति नै शैतानको सार हो—त्यो सार जुन दुष्ट र दुर्भावनापूर्ण छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्