परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७७

4 जनवरी 2023

लाजरसको पुनरुत्थानले परमेश्‍वरलाई महिमित तुल्याउँछ

यूहन्‍ना ११:४३-४४ अनि जब उहाँले त्यसरी बोलिसक्‍नुभएपछि, उहाँले उच्‍च स्वरमा “लाजरस, बाहिर आऊ” भनी भन्‍नुभयो। तब तिनी, अर्थात् कात्रोले हात र खुट्टा बेह्रिएकै अवस्थामा मरेको मानिस बाहिर आए, अनि तिनको अनुहार रुमालले बेह्रिएको थियो। येशूले तिनीहरूलाई भन्‍नुभयो, तिनका कपडाहरू निकाल र तिनलाई जान देओ।

यस अध्यायलाई पढिसकेपछि तिमीहरूलाई कस्तो अनुभव भयो? प्रभु येशूले गर्नुभएको यो आश्‍चर्यकर्मको महत्त्व पहिलेको भन्दा धेरै ठूलो छ, किनकि एउटा मरेको मानिसलाई चिहानबाट फर्काएर ल्याउनुभन्दा बढी विस्मयकारी कुनै आश्‍चर्यकर्म हुँदैन। त्यस युगमा, प्रभु येशूले त्यस्तो कुनै काम गर्नु अत्यन्तै अर्थपूर्ण थियो। परमेश्‍वर देह हुनुभएको कारणले, मानिसहरूले उहाँको शारीरिक रूप, उहाँको व्यवहारिक पक्ष, अनि उहाँको महत्त्वहीन पक्ष मात्र देख्न सक्थे। यदि कतिपय मानिसहरूले उहाँको चरित्रको केही कुरा वा उहाँमा भएको जस्तो देखिने केही विशेष क्षमताहरू देखे र बुझे भने पनि प्रभु येशू कहाँबाट आउनुभयो, उहाँको सारमा उहाँ साँच्चै को हुनुहुन्छ, उहाँ वास्तवमा अन्य कुन-कुन कुराहरू गर्न सक्षम हुनुहुन्छ भन्‍ने बारेमा कसैलाई थाहा थिएन। यी सबै कुरा मानिसजातिको निम्ति अज्ञात थियो। धेरै मानिसहरूले प्रभु येशू ख्रीष्टको बारेमा रहेका यी प्रश्‍नहरूको उत्तर दिन, अनि सत्यतालाई जान्नको लागि प्रमाण भेट्टाउन चाहन्थे। के परमेश्‍वरले आफ्‍नो पहिचानलाई प्रमाणित गर्न केही गर्न सक्नुहुन्थ्यो? परमेश्‍वरको निम्ति, यो साह्रै सजिलो थियो—यो सजिलै हासिल गर्न सकिने कुरा थियो। आफ्नो पहिचान तथा सारलाई प्रमाणित गर्न उहाँले केही कुरा कुनै पनि ठाउँमा, कुनै पनि समयमा गर्न सक्नुहुन्थ्यो तर परमेश्‍वरको काम गर्ने आफ्नै तरिकाहरू थिए—योजनासहित, अनि चरणबद्ध रूपमा। उहाँले अन्धाधुन्ध कामहरू गर्नुभएन, बरु जुन कुरा उहाँले मानिसलाई देखाउनुहुन्थ्यो, अर्थले भरिएको हुन्थ्यो त्यस्तो कुनै कुरा गर्न उहाँले ठीक समय र ठीक अवसर खोज्नुहुन्थ्यो। यस प्रकारले, उहाँले आफ्नो अख्तियार तथा पहिचानलाई प्रमाणित गर्नुभयो। त्यसोभए, के लाजरसको पुनरुत्थानले प्रभु येशूको पहिचानलाई प्रमाणित गर्न सक्यो त? धर्मशास्त्रको निम्न अध्यायलाई हेरौँ: “अनि जब उहाँले त्यसरी बोलिसक्‍नुभएपछि, उहाँले उच्‍च स्वरमा ‘लाजरस, बाहिर आऊ’ भनी भन्‍नुभयो। तब मरेको मानिस तिनी बाहिर आए…।” जब प्रभु येशू ख्रीष्टले यसो गर्नुभयो, तब उहाँले केवल एउटा कुरा गर्नुभयो: “लाजरस, बाहिर आऊ।” तब लाजरस उसको चिहानबाट बाहिर आए—प्रभुले उच्चारण गर्नुभएका केवल केही वचनहरूको कारणले यो कार्य सम्पन्न भएको थियो। त्यस समयावधिमा, प्रभु येशूले वेदी खडा गर्नुभएन, अनि उहाँले कुनै अन्य कामहरू गर्नुभएन। उहाँले केवल एउटै कुरा गर्नुभयो। यसलाई आश्‍चर्यकर्म भन्न सकिन्छ कि आज्ञा? अथवा, के त्यो कुनै प्रकारको जादुगरी थियो? झट्ट हेर्दा, यसलाई आश्‍चर्यकर्म भन्न सकिन्छ कि भन्ने देखिन्छ, अनि यदि तैँले यसलाई आधुनिक दृष्टिकोणबाट हेर्छस् भने तैँले यसलाई आश्‍चर्यकर्म नै भन्न सक्छस्। तैपनि, यसलाई मृतकबाट प्राण फर्काउनको निम्ति बोलाइने एक प्रकारको जादु भनेर निश्चय नै भन्‍न सकिँदैन, र यो कुनै प्रकारको जादूगरी अवश्य थिएन। यो आश्‍चर्यकर्म सृष्टिकर्ताको अख्तियारको सबैभन्दा सामान्य अनि सानो प्रदर्शन थियो भन्नु सही हुन्छ। यो परमेश्‍वरको अख्तियार र शक्ति हो। कुनै व्यक्तिलाई मर्न दिने, उसको आत्मालाई उसको शरीर छोडेर मृत लोक वा त्यो जहाँसुकै जानुपर्ने हो त्यहाँ जान दिने अधिकार परमेश्‍वरसित छ। व्यक्तिको मृत्यु हुने समय र मृत्युपछि तिनीहरू जानुपर्ने ठाउँ—यी कुराहरू परमेश्‍वरद्वारा निर्धारित हुन्छन्। उहाँले यी निर्णयहरू मानवहरू, घटनाहरू, वस्तुहरू, स्थान वा भूगोलको दबाबमा नपरी कुनै पनि समयमा र कुनै पनि ठाउँमा गर्न सक्नुहुन्छ। यदि उहाँले यो गर्न चाहनुहुन्छ भने उहाँले यो गर्न सक्नुहुन्छ, किनकि सबै कुराहरू र जीवित प्राणीहरू उहाँको शासनको अधीनमा छन् र सबै कुराहरू उहाँको वचन र उहाँको अधिकारद्वारा जन्‍मन्छन्, जिउँछन्, र नष्ट हुन्छन्। उहाँले मृतकलाई बौरी उठाउन सक्नुहुन्छ, अनि यो पनि उहाँले कुनै पनि समयमा, कुनै पनि स्थानमा गर्नसक्ने कुरा हो। यो केवल सृष्टिकर्तामा निहित रहेको अख्तियार हो।

लाजरसलाई मृतकबाट फर्काउने जस्ता कार्यहरू गर्ने क्रममा प्रभु येशूको लक्ष्य भनेको मानिसहरू तथा शैतान देखाउन प्रमाण दिनु थियो, र मानिसहरू तथा शैतानलाई मानवजातिको बारेमा हरेक कुरा, मानवजातिको जीवन तथा मृत्यु परमेश्‍वरद्वारा निर्धारित हुन्छन्, अनि उहाँ देहधारी भइसक्नुभएको भए तापनि, देख्न सकिने भौतिक संसारको साथै मानिसहरूले देख्न नसक्ने आत्मिक संसारमाथि उहाँको हुकुम कायम छ भन्‍ने कुरा जान्‍न दिनु थियो। यो यसकारण गरिएको थियो ताकि मानवजातिको सबै कुरा शैतानको अधीनमा छैन भनी मानवजाति र शैतानले जान्न सकून्। यो परमेश्‍वरको अधिकारको प्रकाश तथा प्रदर्शन थियो, अनि यो मानवजातिको जीवन र मृत्यु परमेश्‍वरको हातमा छन् भनी सबै कुराहरूलाई सन्देश पठाउने परमेश्‍वरको एउटा तरिका पनि थियो। प्रभु येशूले लाजरसलाई गर्नुभएको पुनरुत्थान सृष्टिकर्ताले मानवजातिलाई शिक्षा र प्रशिक्षण दिने एउटा तरिका थियो। यो एउटा यस्तो ठोस कार्य थियो जसमा मानवजातिलाई शिक्षा दिन र प्रबन्ध गर्न उहाँले आफ्नो शक्ति र अख्तियारको प्रयोग गर्नुभयो। यी वचनहरू प्रयोग नगरी सबै कुराहरू उहाँको अधिकारमा छन् भन्ने सत्यता मानिसहरूलाई देखाउने सृष्टिकर्ताको तरिका थियो। यो उहाँद्वारा बाहेक अरू कसैमा मुक्ति छैन भनी मानवजातिलाई यी व्यवहारिक कार्यहरूद्वारा बताउने उहाँको एउटा तरिका थियो। मानवजातिलाई प्रशिक्षण दिन उहाँले प्रयोग गर्नुभएको यो शान्त विधि अनन्त, अमेट छ, जसले मानव हृदयहरूमा कहिल्यै ओइलाउन नसक्ने झट्का र अन्तर्दृष्टि ल्याउँछ। लाजरसको पुनरुत्थानले परमेश्‍वरलाई महिमित तुल्यायो—परमेश्‍वरका हरेक अनुयायीहरूमाथि यसको गहिरो प्रभाव छ। यो घटना गहिरो प्रकारले बुझ्ने हरेक व्यक्तिमा केवल परमेश्‍वरले मात्र मानवजातिको जीवन र मृत्युमाथि हुकुम चलाउन सक्नुहुन्छ भन्ने बुझाइ र दर्शनलाई यसले दृढतासहित स्थापित गरिदिन्छ। परमेश्‍वरसित यस्तो अख्तियार भए तापनि, लाजरसको मृत्युद्वारा उहाँले मानवजातिको जीवन र मृत्युमाथि आफ्नो सार्वभौमिकता छ भन्‍ने बारेमा सन्देश पठाउनुभएको भए तापनि, यो उहाँको प्राथमिक काम थिएन। परमेश्‍वरले अर्थविनाको कुनै काम गर्नुहुन्न। उहाँले गर्नुहुने हरेक कुरा ठूलो महत्त्वको हुन्छ र यो सम्पत्तिको भण्डारमा एउटा श्रेष्ठ रत्न हो। “एउटा व्यक्तिलाई त्यसको चिहानबाट बाहिर आउने तुल्याउनु” लाई उहाँले आफ्नो कामको प्राथमिक वा एक मात्र उद्देश्य वा अंश बनाउनुहुन्न। परमेश्‍वरले कुनै पनि काम अर्थविना गर्नुहुन्न। एक मात्र घटनाको रूपमा लाजरसको पुनरुत्थान परमेश्‍वरको अख्तियारलाई प्रदर्शन गर्न र प्रभु येशूको पहिचानलाई प्रमाणित गर्न पर्याप्त थियो। त्यसैकारण प्रभु येशूले यस प्रकारको आश्‍चर्यकर्म दोहोर्याउनुभएन। परमेश्‍वरले आफ्नै सिद्धान्तहरू अनुसार कामहरू गर्नुहुन्छ। मानव भाषामा भन्दा, परमेश्‍वरले आफ्नो मन गम्भीर विषयवस्तुहरूले मात्रै भर्नुहुन्छ भनेर भन्‍न सकिन्छ। भनाइको अर्थ, जब परमेश्‍वरले केही गर्नुहुन्छ, तब उहाँ आफ्नो कामको उद्देश्यबाट बहकिनुहुन्न। यस चरणमा उहाँले कुन काम गर्न चाहनुहुन्छ, के पूरा गर्न चाहनुहुन्छ सो उहाँ जान्नुहुन्छ अनि आफ्नो योजनाअनुसार उहाँले दृढतापूर्वक काम गर्नुहुनेछ। यदि भ्रष्ट व्यक्तिसित त्यस्तो प्रकारको क्षमता भएको भए, ऊ कति भयङ्कर छ भनी अरूले जानून्, तिनीहरू उसको सामु झुकून्, उसले तिनीहरूलाई नियन्त्रण गर्न र निल्न सकून् भनेर उसले केवल आफ्नो क्षमता प्रदर्शन गर्ने तरिकाहरूको बारेमा सोचिरहनेथियो। यो शैतानबाट आउने दुष्टता हो—यसलाई भ्रष्टता भनिन्छ। परमेश्‍वरसित यस्तो भ्रष्टता छैन, अनि उहाँसित यस्तो सार छैन। उहाँले केही गर्नुको पछाडि आफैलाई प्रदर्शन गर्नु होइन, तर मानवजातिलाई अझै बढी प्रकाश तथा मार्गदर्शन दिनु हो, त्यसैकारण मानिसहरूले बाइबलमा यस्तो प्रकारको घटनाको उदाहरणहरू अत्यन्तै थोरै मात्रै देख्छन्। यसको अर्थ प्रभु येशूका शक्तिहरू सीमित थिए, वा उहाँ त्यस्ता कुराहरू गर्न असक्षम हुनुहुन्थ्यो भन्ने होइन। कुरा केवल यति मात्रै हो कि परमेश्‍वरले त्यो गर्न चाहनुभएन किनकि प्रभु येशूले लाजरसलाई गर्नुभएको पुनरुत्थानको व्यवहारिक महत्त्व थियो, अनि यसको कारण यो पनि हो कि परमेश्‍वर देहधारी हुनुको प्राथमिक काम आश्‍चर्यकर्महरू गर्नु, मानिसहरूलाई मरेको अवस्थाबाट फर्काएर ल्याउनु थिएन, तर मानवजातिको उद्धारको काम थियो। त्यसकारण, प्रभु येशूले पूरा गर्नुभएको अधिकांश काम मानिसहरूलाई शिक्षा दिनु, तिनीहरूको निम्ति उपलब्ध गराउनु, र तिनीहरूलाई सहायता गर्नु थियो, अनि लाजरसलाई पुनरुत्थान गर्नु जस्ता घटनाहरू प्रभु येशूले गर्नुभएको सेवकाइको केवल एउटा सानो अंश मात्र थियो। यति मात्र होइन, के भन्न सकिन्छ भने, “प्रदर्शन गर्नु” परमेश्‍वरको सारको एउटा भाग होइन, त्यसैले धेरै आश्‍चर्यकर्महरू प्रदर्शन नगरेर उहाँले जानी-बुझी आफूमाथि प्रतिबन्ध गरिरहनुभएको थिएन, न त वातावरणीय सीमाहरूको कारणले यसो भएको थियो, अनि शक्तिको कमीको कारणले त निश्‍चय नै यसो भएको थिएन।

जब प्रभु येशूले लाजरसलाई मरेको अवस्थाबाट फर्काइ ल्याउनुभयो, तब उहाँले यी वचनहरू मात्र प्रयोग गर्नुभयो: “लाजरस, बाहिर आऊ।” यसबाहेक उहाँले अरू केही भन्नुभएन। त्यसैले, यी वचनहरूले के कुरालाई प्रदर्शन गर्छ? यी वचनहरूले मरेको मानिसलाई पुनरुत्थान गर्ने लगायत परमेश्‍वरले बोलेर जे पनि सम्पन्न गर्न सक्नुहुन्छ भन्‍ने कुरालाई प्रदर्शन गर्छ। जब परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, जब उहाँले संसार सृष्टि गर्नुभयो, उहाँले वचनहरूद्वारा सो गर्नुभयो—बोलिएका आज्ञाहरू, अख्तियारपूर्ण वचनहरू, अनि यस प्रकारले सबै कुराहरू सृष्टि गरिए, अनि यसरी, यो सम्पन्न भयो। प्रभु येशूद्वारा बोलिएका यी केही वचनहरू स्वर्ग, पृथ्वी र यावत् थोक सृष्टि गर्ने क्रममा परमेश्‍वरले बोल्‍नुभएका वचनहरू जस्तै थिए; यही प्रकारले, तिनमा परमेश्‍वरको अख्तियार र सृष्टिकर्ताको शक्ति थियो। परमेश्‍वरको मुखबाट निस्केका वचनहरूको कारणले सबै थोक बनिए र दृढ भइ खडा रहे, अनि त्यही प्रकारले, प्रभु येशूको मुखबाट निस्केका वचनहरूको कारणले लाजरस आफ्नो चिहानबाट बाहिर निस्क्यो। उहाँको देहधारी शरीरमा प्रदर्शन गरिएको र पूरा भएको परमेश्‍वरको अख्‍तियार यही थियो। यस्तो प्रकारको अख्तियार तथा क्षमता सृष्टिकर्ता अनि मानिसको पुत्रको स्वामित्वमा थियो, जसमा सृष्टिकर्ता प्रकट हुनुभएको थियो। लाजरसलाई मरेको अवस्थाबाट बिउँताएर परमेश्‍वरले मानवजातिलाई सिकाउनुभएको बुझाइ यही नै थियो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्