परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २८

16 जुलाई 2021

परमेश्‍वरले इन्द्रेणीलाई मानिससँगको आफ्नो करारको प्रतीकको रूपमा प्रयोग गर्नुहुन्छ

उत्पत्ति ९:११-१३ अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त जलप्रलयको पानीले अब उप्रान्त सबै मानिसहरूलाई नष्ट गर्नेछ, न त पृथ्वीलाई नष्ट गर्नको निम्ति कुनै जलप्रलय नै हुनेछ। अनि परमेश्‍वरले भन्‍नुभयो, यो म र तिमीहरू र तिमीहरूसँग भएका हरेक जीवित प्राणीका बीच अनन्त पुस्तासम्मको निम्ति मैले बनाएको करारको चिनो हो: म बादलमा इन्द्रेनी राख्‍नेछु र त्यो म र पृथ्वीको बीचमा भएको करारको चिनो हुने छ।

अब, परमेश्‍वरले इन्द्रेणीलाई मानिससँगको आफ्नो करारको प्रतीकको रूपमा कसरी प्रयोग गर्नुभयो भन्‍ने बारेमा धर्मशास्त्रको यस खण्डलाई हेरौँ।

धेरैजसो मानिसहरूलाई इन्द्रेणी के हो भन्‍ने थाहा छ र इन्द्रेणीहरूसँग सम्बन्धित कथाहरू सुनेका छन्। जहाँसम्म बाइबलमा भएको इन्द्रेणीको कथाको कुरा छ, केही मानिसहरूले यसलाई विश्‍वास गर्छन् र केहीले यसलाई किंवदन्तीको रूपमा लिन्छन् भने, अन्यले यसलाई विश्‍वास नै गर्दैनन्। जेसुकै भए तापनि इन्द्रेणीसँग सम्बन्धित सारा घटनाहरू परमेश्‍वरका काम थिए र परमेश्‍वरले मानिसको व्यवस्थापन गर्ने प्रक्रियाको क्रममा ती घटनाहरू घटेका थिए। यी घटनाहरूलाई बाइबलमा ठीक तरिकाले अभिलिखित गरिएका छन्। यी अभिलेखहरूले त्यस समयमा परमेश्‍वरको मनस्थिति कस्तो थियो वा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूपछाडिका इरादाहरू के थिए भन्‍नेबारेमा बताउँदैनन्। यसअतिरिक्त, परमेश्‍वरले यी कुराहरू बोल्नुहुँदा कस्तो महसुस गरिरहनुभएको थियो भन्‍ने कुराको सराहना कसैले पनि गर्न सक्दैन। तथापि, यस सम्पूर्ण घटनाको विषयमा परमेश्‍वरको मनको अवस्था पाठका हरफहरूबाट प्रकटित हुन्छ। परमेश्‍वरका त्यस समयका सोचहरू उहाँको वचनका हरेक शब्द र वाक्यांशमार्फत तत्कालै स्पष्ट भए जस्तो लाग्छ।

मानिसहरूले चासो राख्‍नुपर्ने र तिनीहरूले सबैभन्दा बढी जान्‍न खोज्‍नुपर्ने कुरा भनेकै परमेश्‍वरका सोचहरू हुन्। किनकि परमेश्‍वरका सोचहरू परमेश्‍वरबारेको मानिसको बुझाइसँग जटिल तवरले सम्बन्धित छन् र परमेश्‍वरबारेको मानिसको बुझाइ मानिसको जीवनमा हुने प्रवेशसँग छुटाउन नसकिने गरी जोडिएको छ। यसैले, यी घटनाहरू घट्दाको समयमा परमेश्‍वरले के सोचिरहनुभएको थियो?

मूल रूपमा, परमेश्‍वरले आफ्नो नजरमा धेरै असल र उहाँसँग नजिक रहेको मानवजातिको सृष्टि गर्नुभयो तर उहाँविरुद्ध विद्रोहमा गएपछि तिनीहरूलाई जलप्रलयद्वारा नष्ट पारियो। यस्तो मानवजाति तत्कालै यसरी गायब हुँदा के परमेश्‍वरलाई दुःख लाग्‍यो? अवश्य नै उहाँलाई दुःख लाग्यो! त्यसो भए, त्यस पीडाप्रति उहाँको अभिव्यक्ति के थियो? त्यसलाई बाइबलमा कसरी अभिलिखित गरिएको थियो? बाइबलमा यसलाई यसरी लेखिएको थियो: “अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त जलप्रलयको पानीले अब उप्रान्त सबै मानिसहरूलाई नष्ट गर्नेछ, न त पृथ्वीलाई नष्ट गर्नको निम्ति कुनै जलप्रलय नै हुनेछ।” यस सरल वाक्यले परमेश्‍वरका सोचहरू प्रकट गर्छ। संसारको विनाशले परमेश्‍वरलाई धेरै पीडा दियो। मानिसका शब्दमा भन्नुपर्दा, उहाँ धेरै दुःखी हुनुभयो। हामी कल्पना गर्न सक्छौँ: एकताका जीवनले भरिएको पृथ्वी जलप्रलयद्वारा नष्ट पारिएपछि कस्तो भयो? एकताका मानवजातिले भरिएको पृथ्वी त्यस समय कस्तो देखियो? मानव बसोबासरहित, जीवित प्राणीरहित र जताततै पानी र पानीको सतहमा पूर्ण विनाश। संसारको सृष्टि गर्दा, के यस्तो दृष्य परमेश्‍वरको मौलिक इरादा थियो? अवश्य नै थिएन! परमेश्‍वरको मौलिक इरादा भनेको सारा भूमि जीवनले भरिएको देख्नु, उहाँले सृष्टि गर्नुभएको मानवजातिले उहाँको आराधना गरेको देख्नु थियो, उहाँको आराधना गर्ने एकलो व्यक्ति वा उसलाई सुम्पिएको काम पूरा गर्ने उहाँको बोलावटको जवाफ दिने एकलो नोआलाई मात्र पाउनु होइन। मानवजाति गायब हुँदा, परमेश्‍वरले मौलिक रूपमा इरादा राख्‍नुभएको कुरालाई होइन बरु त्यसको ठीक विपरित कुरालाई देख्‍नुभयो। उहाँको हृदय कसरी पीडामा नहुन सक्थ्यो र? यसैले उहाँले आफ्नो स्वभाव प्रकट गरिरहनुहुँदा र आफ्ना संवेगहरू अभिव्यक्त गरिरहनुहुँदा परमेश्‍वरले एउटा निर्णय लिनुभयो। उहाँले कस्तो किसिमको निर्णय लिनुभयो त? परमेश्‍वरले मानवजातिलाई जलप्रलयद्वारा फेरि नष्ट गर्नुहुनेछैन भन्‍ने प्रतिज्ञास्वरूप, मानिससँगको करारको रूपमा बादलमा इन्द्रेणी (अर्थात्, हामीले देख्‍ने इन्द्रेणी) बनाउने निर्णय। साथै, यो परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नुभयो भनेर मानिसहरूलाई बताउनलाई पनि थियो, ताकि परमेश्‍वरले किन यस्तो काम गर्नुहुन्छ भनेर मानवजातिले सदैव सम्झिरहोस्।

के त्यस बेलाको संसारको विनाश परमेश्‍वरको चाहना थियो? यो पक्कै पनि परमेश्‍वरले चाहनुभएको कुरा थिएन। हामीले विनाशपछिको पृथ्वीको एउटा सानो खण्डको दयनीय अवस्थाको बारेमा कल्पना गर्न सक्छौँ, तर हामीले परमेश्‍वरको दृष्टिमा त्यस बेलाको उक्त दृष्य कस्तो थियो भन्‍ने कुराको अलिकति पनि कल्पना गर्न सक्दैनौँ। उक्त दृष्य, अर्थात् जलप्रलयद्वारा पृथ्वीको विनाशपछिको तस्बिर देख्‍नुभएपछि परमेश्‍वरले कस्तो अनुभव गरिरहनुभएको थियो भनेर अहिलेका वा त्यस बेलाका कुनै पनि मानिसहरूले कल्पना गर्न वा त्यसको सराहना गर्न सक्दैनन् भनेर हामी भन्‍न सक्छौँ। मानिसको अवज्ञाको कारण परमेश्‍वरलाई यसो गर्न कर लाग्यो, तर जलप्रलयद्वारा संसारको यो विनाशबाट परमेश्‍वरको हृदयले भोगेको पीडा एउटा यस्तो सत्य हो जसलाई कसैले पनि मापन गर्न वा सराहना गर्न सक्दैन। यसैले परमेश्‍वरले मानवजातिसँग एउटा करार बाँध्नुभयो, जसमार्फत उहाँले मानिसहरूलाई परमेश्‍वरले एकताका यस्तो पनि गर्नुभएको थियो भन्‍ने कुरा सम्झना गराउने र परमेश्‍वरले फेरि संसारलाई यसरी विनाश गर्नुहुनेछैन भनेर तिनीहरूसामु शपथ लिने लक्ष्य लिनुभयो। यस करारमा हामीले परमेश्‍वरको हृदयलाई देख्‍छौँ—परमेश्‍वरले यस मानवजातिको विनाश गर्नुहुँदा उहाँको हृदय पीडामा थियो भन्‍ने हामी देख्छौँ। मानिसको भाषामा भन्दा, परमेश्‍वरले मानवजातिको विनाश गर्नुहुँदा र मानवजाति लोप हुँदै गर्दा उहाँको हृदय रोइरहेको र पीडाले भरिएको थियो। यसलाई वर्णन गर्ने सबैभन्दा उत्तम तरिका यही होइन र? मानवहरूले मानवीय भावनाहरूलाई चित्रित गर्न यी शब्दहरूको प्रयोग गर्छन्, तर मानिसको भाषामा धेरै नै कमी भएको कारण परमेश्‍वरका भावना र संवेगहरूको वर्णन गर्नको निम्ति तिनीहरूको प्रयोग गर्नु मेरो लागि त्यति खराब कुरा होइन, र तिनीहरू त्यति अतिरञ्जक पनि होइनन्। तिनीहरूले तिमीहरूलाई कम्तिमा पनि त्यति बेला परमेश्‍वरको मनस्थिति कस्तो थियो भन्‍नेबारेमा धेरै स्पष्ट र धेरै उचित बुझाइ प्रदान गर्छन्। अब तिमीहरूले इन्द्रेणी फेरि देख्दा के सोच्‍नेछौ? कम्तिमा पनि जलप्रलयद्वारा संसारको विनाश गर्नुभएपछि परमेश्‍वर कसरी शोकमा हुनुहुन्थ्यो भन्‍ने कुरा तिमीहरूले सम्झनेछौ। परमेश्‍वरले यस संसारलाई घृणा गर्नुभए तापनि र यस मानवजातिलाई घृणा गर्नुभए तापनि, उहाँले आफ्नै हातले बनाउनुभएको मानवजातिको विनाश गर्नुहुँदा, उहाँको हृदय पीडामा थियो, यसलाई भुल्नको निम्ति संघर्षरत, यसलाई सहन गर्न अनिच्छुक र कठिन अवस्थामा थियो। उहाँको एउटै सान्त्वना नोआको आठ जनाको परिवारमा थियो। नोआको सहकार्यले गर्दा नै सबै कुराको सृष्टि गर्दाको उहाँका कठिन प्रयासहरू खेर गएनन्। परमेश्‍वरले कष्ट भोग्दै गर्नुभएको समयमा, उहाँको पीडामा मलम लगाउने कुरा यही मात्र थियो। त्यस बेलादेखि परमेश्‍वरले मानवजातिप्रतिका उहाँका सबै अपेक्षाहरू नोआको परिवारमाथि राख्‍नुभयो, यस आशामा कि तिनीहरू उहाँको श्रापमा होइन, उहाँका आशिष्‌मा जिउन सकून्, यस आशामा कि तिनीहरूले फेरि कहिल्यै पनि परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नुभएको नदेखून् र यस आशामा कि तिनीहरू नष्ट नगरिऊन्।

यसबाट हामीले परमेश्‍वरको स्वभावको कुन भागको बारेमा सिक्‍नुपर्छ? मानिस उहाँको विरोधी भएको हुनाले परमेश्‍वरले मानिसलाई घृणा गर्नभएको थियो, तर उहाँको हृदयमा मानवजातिप्रतिको उहाँको वास्ता, चासो र दया अपरिवर्तित नै रहे। उहाँले मानवजातिको विनाश गर्दा पनि उहाँको हृदय अपरिवर्तित नै रह्‍यो। जब मानवजाति परमेश्‍वरप्रति गम्भीर हदसम्म भ्रष्टता र अनाज्ञाकारिताले भरिपूर्ण भयो, तब परमेश्‍वरले उहाँको स्वभाव र सारको कारण र उहाँका सिद्धान्तहरूबमोजिम यस मानवजातिलाई नष्ट गर्नुपर्ने भयो। तर परमेश्‍वरको सारको कारण उहाँले अझै पनि मानवजातिमाथि दया गर्नुभयो र तिनीहरू बाँचिरहून् भनेर मानवजातिलाई उद्धार गर्न विभिन्‍न तरिकाहरू प्रयोग गर्न चाहनुभयो। तर मानिसले परमेश्‍वरको विरोध गर्‍यो, परमेश्‍वरको अवज्ञा गर्न जारी राख्यो र परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्न इन्कार गर्‍यो; भन्नुको अर्थ उसले उहाँका असल अभिप्रायहरू स्वीकार गर्न इन्कार गर्‍यो। परमेश्‍वरले तिनीहरूलाई जसरी बोलाउनुभएको भए तापनि, तिनीहरूलाई जसरी सम्झाउनुभएको भए तापनि, तिनीहरूको निम्ति जसरी आपूर्ति गरिदिनुभएको भए तापनि, तिनीहरूलाई जसरी सहायता गर्नुभएको भए तापनि वा तिनीहरूलाई जसरी सहन गर्नुभएको भए तापनि, मानिसले त्यसलाई बुझेन वा सराहना गरेन, न त तिनीहरूले कुनै ध्यान नै दिए। परमेश्‍वरले आफ्नो पीडामा, मानिसले आफ्नो दिशा बदल्छ कि भनेर पर्खँदै तिनीहरूलाई अझै पनि हदैसम्मको सहनशीलता प्रदान गर्न भुल्नुभएन। उहाँको हद पार भएपछि बिनासङ्‍कोच उहाँले आफूले गर्नुपर्ने काम गर्नुभयो। अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वरले मानवजातिको विनाश गर्ने योजना बनाउनुभएको समयदेखि मानवजातिको विनाश गर्ने कार्य सुरु गर्नुभएको समयसम्म निश्‍चित समयावधि र प्रक्रिया थियो। यो प्रक्रिया मानिसलाई मार्ग परिवर्तन गर्न सक्षम तुल्याउनको निम्ति अस्तित्वमा थियो र यही नै परमेश्‍वरले मानिसलाई दिनुभएको अन्तिम मौका थियो। मानवजातिको विनाश गर्नुअघिको यस अवधिमा परमेश्‍वरले के गर्नुभयो? परमेश्‍वरले भारी मात्रामा सम्झाउने र प्रोत्सान गर्ने काम गर्नुभयो। परमेश्‍वरको हृदय जतिसुकै पीडा र शोकमा भएको भए तापनि उहाँले मानवजातिमा आफ्नो वास्ता, चासो र प्रचुर कृपा निरन्तर प्रदान गर्नुभयो। यसबाट हामी के देख्छौँ? नि:सन्देह, हामी देख्छौँ कि मानवजातिप्रति परमेश्‍वरको प्रेम वास्तविक छ, केवल ओठेभक्ति जस्तो मात्र छैन। यो वास्तविक, मूर्त र सराहनीय छ, नक्कली, मिलावट भएको, छली वा कपटी छैन। परमेश्‍वरले कहिले पनि छलको प्रयोग गर्नुहुन्‍न वा उहाँ प्रेमयोग्य हुनुहुन्‍छ भन्‍ने देखाउन नक्कली छवि प्रयोग गर्नुहुन्‍न। उहाँले आफ्नो प्रेमिलोपन मानिसहरूलाई देखाउनको निम्ति वा आफ्नो प्रेमिलोपन र पवित्रताको देखावटी प्रदर्शन गर्न कहिले पनि झुटो साक्षीको प्रयोग गर्नुहुन्‍न। के परमेश्‍वरको स्वभावका यी पक्षहरू मानिसको प्रेमको योग्य छैनन्? के तिनीहरू आराधनाका योग्य छैनन्? के तिनीहरू स्‍नेहपूर्वक याद गरिन योग्य छैनन्? यस बिन्दुमा म तिमीहरूलाइ सोध्‍न चाहन्छुः यी वचनहरू सुनेपछि के तिमीहरू परमेश्‍वरको महानता खाली कागजमा लेखिएका खोक्रा शब्दहरू मात्र हुन् भन्‍ने सोच्छौ? के परमेश्‍वरको प्रेमिलोपन खोक्रा शब्दहरू मात्र हुन्? होइनन्! अवश्य होइनन्! उहाँले आफ्नो काम गर्नुहुँदाको हरेक समय व्यवहारिक अभिव्यक्ति प्राप्त गर्ने परमेश्‍वरको सर्वोच्चता, महानता, पवित्रता, सहनशीलता, प्रेम आदि जस्ता परमेश्‍वरको स्वभाव र सारका विवध पक्षहरूको हरेक विवरण मानिसप्रति भएको उहाँको इच्छामा समाविष्ट छन् र हरेक व्यक्तिमा ती पूरा गरिन्छन् र प्रतिबिम्बित हुन्छन्। तैँले यसको अनुभव पहिले गरेको वा नगरेको भए पनि परमेश्‍वर हरप्रकारले हरेक व्यक्तिको हेरचाह गर्ने स्वभावको हुनुहुन्छ र उहाँले हरेक व्यक्तिको हृदयलाई चेतावनी दिन र हरेक व्यक्तिको आत्मालाई ब्युँझाउनको निम्ति उहाँको निष्कपट हृदय, बुद्धि, र विभिन्‍न विधिहरूको प्रयोग गर्नुहुन्छ। यो निर्विवाद तथ्य हो।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्