परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४५४

26 सेप्टेम्बर 2021

येशू परमेश्‍वरको आज्ञा पूरा गर्न—अर्थात् सारा मानवजातिको छुटकाराको काम गर्न सक्षम हुनुहुन्थ्यो—किनकि उहाँले आफ्नै निम्ति कुनै योजनाहरू वा व्यवस्थाहरू नगरी परमेश्‍वरको इच्छामा पूरा ध्यान दिनुभयो। त्यसै पनि, उहाँ आफै परमेश्‍वर—परमेश्‍वरसित अति घनिष्ठ हुनुहुन्थ्यो—जुन कुरा तिमीहरू सबैले राम्ररी बुझ्दछौ। (वास्तवमा, उहाँ आफै परमेश्‍वर हुनुहुन्थ्यो, जुन कुराको साक्षी परमेश्‍वरले दिनुभयो। मैले यस विषयको उदाहरण दिनका निम्ति येशूका तथ्यहरू प्रयोग गर्नलाई यहाँ यो कुरा भन्दैछु)। उहाँ परमेश्‍वरले व्यवस्थापन योजनालाई केन्द्रमा राख्न सक्षम हुनुहुन्थ्यो, अनि उहाँले सधैँ स्वर्गका पितासँग प्रार्थना गर्नुभयो र स्वर्गका पिताको इच्छा खोज्नुभयो। उहाँले प्रार्थना गर्दै भन्नुभयो: “हे परमेश्‍वर पिता! तपाईंको इच्छा जे छ त्यो पूरा गर्नुहोस्, अनि मेरा इच्छाहरू अनुसार होइन, तर तपाईंको योजनाअनुसार काम गर्नुहोस्। मानिस कमजोर हुन सक्छ, तर तपाई त्यसको किन वास्ता गर्नुहुन्छ? मानिस तपाईंको वास्ता पाउने योग्यको कसरी बन्न सक्छ? अर्थात् मानिस, जो तपाईंको हातमा एउटा कमिला जस्तो छ? मेरो हृदयमा, म तपाईंको इच्छा मात्र पूरा गर्न चाहन्छु, अनि तपाईंले आफ्नो इच्छाअनुसार ममा जे गर्न चाहनुहुन्छ त्यो गर्नुहोस् भन्ने म चाहन्छु।” यरूशलेमतर्फ जाने बाटोमा येशू ठूलो वेदनामा हुनुहुन्थ्यो, मानौं उहाँको मुटुमा छुरी रोपेको जस्तो भएको थियो, तापनि उहाँमा आफ्नो वचनबाट पछि फर्कने अलिकति पनि इच्छा थिएन; त्यहाँ सधैँ एउटा प्रबल शक्ति थियो, जसले उहाँलाई त्यतातिर बढ्न बाध्य बनायो, जहाँ उहाँ क्रूसमा टाँगिनु हुनेथियो। अन्त्यमा, उहाँलाई क्रूसमा काँटी ठोकियो र मानवजातिको छुटकाराको काम पूरा गर्दै उहाँ पापी मानिसको समानतामा हुनुभयो। उहाँले मृत्यु र पातलका बन्धनहरू तोडेर स्वतन्त्र हुनुभयो। उहाँको सामुन्ने मृत्यु, नरक र पातालले तिनीहरूका शक्ति गुमाए, र उहाँद्वारा पराजित भए। उहाँ तेत्तीस वर्ष जिउनुभयो, ती अवधिभरि उहाँले सधैँ त्यस बेला परमेश्‍वरको कामअनुसार परमेश्‍वरकै इच्छा पूरा गर्ने सक्दो कोसिस गर्नुभयो, उहाँले आफ्नो फाइदा वा नोक्‍सानीको बारेमा कहिल्यै पनि विचार गर्नुभएन, अनि सधैँ परमेश्‍वर पिताको इच्छाको बारेमा सोच्नुहुन्थ्यो। यसैकारण उहाँको बप्तिस्मा पछि परमेश्‍वरले यसो भन्नुभएको थियो: “यो मेरो प्रिय पुत्र हो, जसमा म अति प्रसन्न छु।” परमेश्‍वरको सामुन्ने उहाँले गर्नुभएको सेवा, जुन परमेश्‍वरको इच्छाअनुरूप थियो, त्यसैले गर्दा परमेश्‍वरले सारा मानवजातिलाई छुटकारा दिने गह्रौं काम उहाँको काँधमा राखिदिनुभयो र त्यो पूरा गर्न लगाउनुभयो, अनि त्यो महत्त्वपूर्ण काम पूरा गर्न उहाँ योग्य हुनुहुन्थ्यो र उहाँलाई अधिकार दिइएको थियो। उहाँले आफ्नो जीवनभरि परमेश्‍वरका निम्ति असीमित दुःखहरू भोग्नुभयो, अनि शैतानद्वारा उहाँको अनगिन्ती पटक परीक्षा भयो, तर उहाँ कहिल्यै निराश हुनुभएन। परमेश्‍वरले उहाँलाई यति ठूलो काम दिनुभयो किनभने उहाँमाथि भरोसा राख्नुभयो, र उहाँलाई प्रेम गर्नुभयो, यसैले परमेश्‍वरले व्यक्तिगत रूपमा यसो भन्नुभयो: “यो मेरो प्रिय पुत्र हो, जसमा म अति प्रसन्न छु।” त्यस बेला, येशूले मात्र त्यो आज्ञा पूरा गर्न सक्नुहुन्थ्यो, अनि परमेश्‍वरले अनुग्रहको युगमा सारा मानवजातिलाई छुटकारा दिने काम पूरा गर्ने यो एउटा व्यावहारिक पक्ष थियो।

यदि येशूजस्तै तिमीहरूले पनि परमेश्‍वरको बोझलाई पूरा-पूरा ध्यान दिन्छौ र तिमीहरूका देहतिर पिठिउँ फर्काउँछौ भने, परमेश्‍वरले उहाँका महत्त्वपूर्ण कामहरू तिमीहरूलाई सुम्पनुहुनेछ, त्यसरी तिमीहरूले परमेश्‍वरको सेवा गर्नका निम्ति चाहिने सर्तहरू पूरा गर्नेछौ। त्यस्ता परिस्थितिहरूमा पर्दा मात्र तिमीहरूले परमेश्‍वरको इच्छा पूरा गर्दै छौ र उहाँले दिनुभएको आज्ञा पूरा गर्दै छौ भन्ने साहस गर्छौ, अनि तब मात्र तिमीहरूले साँच्चै परमेश्‍वरको सेवा गर्दै छौ भन्ने साहस गर्छौ। येशूको उदाहरणसँग तुलना गर्दा, के तँ परमेश्‍वरसित घनिष्ठ छस् भन्ने साहस गर्छस्? के तँ परमेश्‍वरको इच्छा पूरा गर्दै छस् भन्ने साहस गर्छस्? के तँ साँच्चै परमेश्‍वरको सेवा गर्दै छस् भन्ने साहस गर्छस्? आज तँ परमेश्‍वरको सेवा कसरी गर्ने सो बुझ्दैनस्, के तँ परमेश्‍वरसित घनिष्ठ छस् भन्ने साहस गर्छस्? यदि तँ परमेश्‍वरको सेवा गर्दै छस् भन्छस् भने के तैँले उहाँको विरुद्धमा ईश्‍वर-निन्दा गर्दैनस् र? यस विषयमा विचार गर्: के तैँले परमेश्‍वरको सेवा गर्दै छस् वा आफ्नै सेवा गर्दै छस्? तँ शैतानको सेवा गर्छस्, तापनि हठी बन्दै अझ परमेश्‍वरकै सेवा गरिरहेका छस् भन्छस्—के यसो गरेर तँ ईश्‍वर-निन्दा गर्दैनस् र? मेरो पिठिउँ पछाडि धेरै जना मानिसहरू सामाजिक प्रतिष्ठाको आशिष् पाउने लालसा गर्छन्, तिनीहरू घाँटीसम्म आउने गरी खान्छन्, तिनीहरू सुत्न मन पराउँछन् र देहमा पूरा ध्यान दिन्छन्, देहको लागि कुनै उपाय छैन भनी सधैँ डराउँछन्। तिनीहरू मण्डलीमा आफूले गर्नुपर्ने उचित काम गर्दैनन्, तर मण्डलीको उदारताको फाइदा उठाउँछन्, वा कि त तिनीहरूका दाजुभाइ र दिदी-बहिनीहरूलाई मेरा वचनहरूद्वारा हप्काउँछन्, अधिकारका स्थानहरूमा बसेर अरूमाथि हुकुम चलाउँछन्। यस्ता मानिसहरू आफूले परमेश्‍वरको इच्छा पूरा गरिरहेका छौं भन्छन्—र तिनीहरू परमेश्‍वरका घनिष्ठ मानिसहरू हुन् भनी सधैँ भन्ने गर्छन्—के यो हास्यास्पद कुरा होइन त? यदि तेरो उद्देश्यहरू सही छन् तापनि परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न सक्दैनस् भने तँ मूर्ख बन्दैछस्; तर यदि तेरो उद्देश्यहरू सही छैनन् भने र पनि परमेश्‍वरको सेवा गर्दै छस् भन्छस् भने तँ त्यस्तो व्यक्ति हो जसले परमेश्‍वरको विरोध गर्छ, र तैँले परमेश्‍वरबाट दण्ड पाउनुपर्छ। त्यस्ता मानिसहरूप्रति मेरो कुनै सहानुभूति छैन। परमेश्‍वरको भवनमा तिनीहरू सित्तैँमा फाइदा उठाउँछन्, सधैँ देहको आराम-सुविधाको लालसा गर्छन्, अनि परमेश्‍वरको चासोका कुराहरूमा कुनै ध्यान दिँदैनन्। तिनीहरू सधैँ आफ्नो निम्ति जे असल छ त्यसैको मात्र खोजी गर्छन्, अनि तिनीहरू परमेश्‍वरको इच्छामा कुनै ध्यान दिँदैनन्। तिनीहरू आफूले गरेको कुनै पनि कार्यमा परमेश्‍वरका आत्माले गर्नुहुने सूक्ष्म जाँचलाई स्वीकार गर्दैनन्। तिनीहरू सधैँ आफ्ना दाजु-भाइ, दिदी-बहिनीहरूसँग चलाखी र छल गर्छन्, अनि दाखबारीको चतुर स्याल जस्तो भएकोले तिनीहरू अङ्गुर चोर्छन् र दाख बारी कुल्चीमिल्ची गर्छन्। के त्यस्ता मानिसहरू परमेश्‍वरसित घनिष्ठ हुन सक्छन्? के तँ परमेश्‍वरका आशिषहरू पाउने योग्यका छस्? तँ आफ्नै जीवन र मण्डलीका निम्ति कुनै बोझ उठाउँदैनस्, के तँ परमेश्‍वरको आज्ञा पाउने योग्यका छस्? तँजस्तो व्यक्तिलाई भरोसा गर्ने आँट कसले गर्ला? जब तँ यस्तो प्रकारले सेवा गर्छस् के परमेश्‍वरले तँलाई अझ ठूला कामहरू सुम्पने आँट गर्नुहुन्छ होला? के त्यसले काम अझ ढिलो गराउँदैन र?

परमेश्‍वरको इच्छाअनुसारको सेवा गर्न कुन-कुन सर्तहरू पूरा गर्नुपर्छ त्यो तिमीहरूले जान भनेर मैले यो कुरा भनिरहेको छु। यदि तिमीहरू आफ्नो हृदय परमेश्‍वरलाई दिँदैनौ भने, यदि तँ येशूले जस्तै परमेश्‍वरको इच्छामा पूरा ध्यान दिँदैनौ भने, परमेश्‍वरले तँमाथि भरोसा गर्न सक्नुहुन्न, अनि अन्त्यमा तैँले परमेश्‍वरबाट दण्ड पाउनेछस्। सायद, आज परमेश्‍वरको निम्ति तैँले गर्ने सेवामा सधैँ परमेश्‍वरलाई धोखा दिने उद्देश्य राख्छस् र लापरवाहीसाथ उहाँसित व्यवहार गर्छस्। संक्षेपमा भन्नुपर्दा, चाहे जे नै भए पनि यदि तँ परमेश्‍वरलाई ठग्छस् भने, तँमाथि कठोर न्याय आइलाग्‍नेछ। तैँले दोहोरो मन नबनाई पहिले आफ्नो हृदय परमेश्‍वरमा सुम्पिएर परमेश्‍वरको सेवाको सही बाटोमा प्रवेश गर्ने फाइदा उठाउनुपर्छ। चाहे तँ परमेश्‍वरको सामुन्ने होस् वा मानिसहरूको सामुन्ने, तेरो हृदय सधैँ परमेश्‍वरतिर फर्केको हुनुपर्छ, अनि तैँले पनि येशूले जस्तै परमेश्‍वरलाई प्रेम गर्ने संकल्प गर्नुपर्छ। यसरी, परमेश्‍वरले तँलाई सिद्ध बनाउनुहुनेछ, अनि तँ उहाँको हृदय अनुरूपको परमेश्‍वरको सेवक बन्नेछस्। यदि तँ साँच्चै परमेश्‍वरद्वारा सिद्ध बनाइनु र तेरो सेवा उहाँको इच्छाअनुरूप भएको चाहन्छस् भने परमेश्‍वरको विश्‍वासको सम्बन्धमा तेरो पहिलेका विचारहरू बदल्नुपर्छ, अनि पहिले जुन तरिकाले परमेश्‍वरको सेवा गर्थिस् त्यो तरिका बदल्नुपर्छ, यसरी तँ परमेश्‍वरद्वारा अझ बढी सिद्ध बनाइनेछस्। त्यसो भएपछि, परमेश्‍वरले तँलाई त्याग्‍नुहुनेछैन, अनि तँ पनि पत्रुसजस्तै परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरूको पहिलो पङ्क्तिमा हुनेछस्। यदि तँ पश्चात्ताप नगरी बस्छस् भने तैँले पनि यहूदाको जस्तै अन्त्यको सामना गर्नुपर्नेछ। यो कुरा परमेश्‍वरमा विश्‍वास गर्ने सबैले बुझ्नुपर्छ।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्