मेरा आमाबाबुको वास्तविकता देख्दा

25 अप्रिल 2023

मैले सानै छँदादेखि, आफ्ना आमाबाबुलाई परमेश्‍वरलाई पछ्याउने कार्यको आदर्शका रूपमा हेर्थेँ। उहाँहरू आफ्ना विश्‍वासमा निकै उत्साहित र त्यागहरू गर्न इच्छुक देखिनुहुन्थ्यो। सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गरेपछि तुरुन्तै, मेरी आमाले पूर्ण समय कर्तव्य निर्वाह गर्न निकै राम्रो जागिर छोड्नुभयो। उहाँसँग केही सीप र ज्ञान थिए अनि उहाँ मूल्य चुकाउन इच्छुक हुनुहुन्थ्यो, त्यसैले, उहाँले मण्डलीमा सधैँ महत्त्वपूर्ण कर्तव्यहरू पूरा गर्नुहुन्थ्यो। पछि एक जना यहूदाले हाम्रो परिवारलाई धोका दियो, त्यसैले, चिनियाँ कम्युनिस्ट पार्टीको गिरफ्तारीबाट बच्न मेरा आमाबाबु मलाई लिएर लुक्‍नुभयो। तैपनि, उहाँहरूले आफ्ना कर्तव्य निर्वाह गरिरहनुभयो। अनि उहाँहरूको सरल जीवनशैली र भक्तिमय र आत्मिक देखिने सामान्य व्यवहारको कारण, मण्डलीका सदस्यहरूले मेरा आमाबाबुसँग राम्रो मानवता छ, उहाँहरू साँचो विश्‍वासी हुन् र उहाँहरू सत्यताको पछि लाग्नुहुन्छ भनेको म अक्सर सुन्थेँ। कम्युनिस्ट पार्टीको दमनको कारण म १० वर्षको हुँदा आमाबाबुदेखि छुट्टिनुपऱ्यो र उप्रान्त हामीले एकअर्कालाई भेट्न सकेनौँ, तर मैले आफूमा परेको उहाँहरूको यो गतिलो छापलाई सधैँ कायम राखेँ। म उहाँहरूलाई निकै मान गर्थें र मलाई के लाग्थ्यो भने, परमेश्‍वरमा उहाँहरूको ठूलो विश्‍वास छ, उहाँहरूले गर्नुभएका सबै त्याग र महत्त्वपूर्ण कर्तव्यहरूले गर्दा पक्कै पनि उहाँहरू सत्यताको पछि लागेको हुनुपर्छ र उहाँहरूसँग असल मानवता छ, अनि परमेश्‍वरले पक्कै उहाँहरूलाई अनुमोदन गर्नुहुन्छ। उहाँहरू मुक्ति प्राप्त गर्न सक्ने मानिसहरू हुनुहुन्छ भन्‍ने समेत मलाई लाग्थ्यो। त्यस्ता आमाबाबु पाएकोमा म साँच्चै गर्व गर्थेँ।

पछि, कम्युनिस्ट पार्टीको सतावटले गर्दा हामी सबै जना विदेशतिर भाग्यौँ। त्यसपछि मैले उहाँहरूसँग सम्पर्क गर्दा, उहाँहरूले विदेशमा अझै कर्तव्य निर्वाह गरिरहनुभएको थाहा पाएँ। विशेषगरी, मेरी आमाले पर्यवेक्षकका रूपमा निकैवटा भूमिका निर्वाह गरिरहनुभएको छ भनी थाहा पाउँदा, उहाँप्रति ममा झनै धेरै आदर जाग्यो। मेरा आमाबाबु यत्तिका वर्षदेखि विश्‍वासी हुनुहुन्थ्यो र उहाँहरूले धेरै कुरा त्याग गर्नुभएको थियो, साथै, उहाँहरूले महत्त्वपूर्ण कर्तव्यहरू निर्वाह गर्नुभएको थियो। उहाँहरू पक्‍कै सत्यता खोज्ने र कद भएका व्यक्ति हुनुपर्छ, त्यसैले भविष्यमा कुनै पनि प्रकारका समस्या आइपरेमा, उहाँहरूलाई मदत माग्न सक्छु भनेर सोच्थेँ। त्यो त राम्रो हो। त्यसपछि, हामीले कहिलेकाहीँ आफ्ना हालैका अवस्थाबारे कुराकानी गर्थ्यौं।

एक पटक मेरा बुबाले, आफूले आफ्नो दृष्टिमा कुनै प्राविधिक ज्ञान नचाहिने काम गरिरहेको छु, र सधैँ काम बदल्न मन लाग्छ भनेर भन्नुभयो। त्यतिबेला मलाई पनि ठ्याक्कै त्यस्तै अनुभव भइरहेको थियो, त्यसैले, हामीले आपसमा सङ्गति गऱ्यौँ र परमेश्‍वरका केही वचन आदानप्रदान गऱ्यौँ। केही समयपछि, परमेश्‍वरका वचनहरू खाएर र पिएर अनि सत्यता खोजेपछि, मैले म आफ्नो कर्तव्यबारे नाटीकुटी गर्ने बन्दै रहेछु भनेर देखेँ। म आफूलाई राम्रो देखाउने कुनै पनि कर्तव्य चाहन्थेँ, अन्यथा कर्तव्यमा सुस्त हुन्थेँ। त्यो साँच्चै स्वार्थ थियो र त्यसमा साँचो विश्‍वास देखिँदैनथियो। मैले आफैलाई घृणा गरेँ र त्यस अवस्थाबाट निस्कन सफल भएँ। तर मेरा बुबा त्यसैमा अल्झनुभयो र आफ्नो कर्तव्य पूरा गर्ने इच्छा प्राप्त गर्न सक्‍नुभएन। म अन्योलमा परेँ। उहाँ एक दशकभन्दा अघिदेखि विश्‍वासी हुनुभएकोले, उहाँसित केही कद हुनुपर्थ्यो। किन उहाँले आफ्नो कर्तव्य लिने र छनोट गर्ने समस्यालाई हल गर्न सक्नुभएन? मैले के पनि महसुस गरेँ भने, आफ्ना समस्याबारे आमाबाबुसँग कुरा गर्दा, उहाँहरूले परमेश्‍वरका केही वचन पठाउनुहुन्थ्यो र कामकुराबारे आफ्ना दृष्टिकोण बताउनुहुन्थ्यो, तर उहाँहरूले भन्नुभएको कुराले वास्तवमा मलाई मदत गर्दैनथियो। मैले कल्पना गरेझैँ उहाँहरूले वास्तवमा सत्यता बुझ्नुभएको छैन भन्‍ने मलाई कता-कता महसुस हुन थाल्यो। पछि, दाजुभाइ-दिदीबहिनीहरूले गवाही निबन्ध लेख्नेबारे सङ्गति गरे। मलाई लाग्यो, मेरा आमाबाबु धेरै लामो समयदेखिका विश्‍वासी भएका हुनाले पक्कै पनि उहाँहरूसँग, विशेषगरी मेरी आमासित थुप्रै अनुभव हुनुपर्छ। उहाँ एक जना ख्रीष्टविरोधीको दमनमा पर्नुभएको थियो र उहाँलाई अनुचित ढङ्गमा मण्डलीबाट बर्खास्त गरिएको थियो, तर उहाँले सुसमाचार सुनाइरहनुभयो। उहाँ मण्डलीमा फर्कनुभएपछि, उहाँले जुनै कर्तव्य गर्नुभए तापनि त्यसमा आफ्ना सबै कुरा लगाउनुभएको थियो, अनि उहाँको कर्तव्य निकै पटक परिवर्तन भयो, त्यसैले पक्कै उहाँसँग अनुभवको भण्डार हुनुपर्छ। उहाँले परमेश्‍वरबारे गवाही दिन ती कुराबारे लेख्नुपर्छ भन्‍ने मलाई लाग्यो। मैले बेला-बेला आमालाई निबन्ध लेख्न आग्रह गर्न थालेँ, तर उहाँले लेख्न चाहेर पनि आफू कर्तव्यमा असाध्यै व्यस्त भएको र शान्त क्षण पाउन नसकेको भन्दै उहाँ पन्छिरहनुभयो। मैले उहाँलाई प्रेरणा दिइरहेँ, तर उहाँले कहिल्यै केही लेख्नुभएन। एक पटक उहाँले मलाई उहाँले लेख्ने प्रयास गर्दा आफ्ना विचारलाई व्यवस्थित गर्न नसकेको र कहाँबाट थाल्ने भनेर थाहा नभएको हुनाले त्यसबारे मसँग छलफल गर्न चाहेको कुरा बताउनुभयो। म एकदमै खुसी भएँ। उहाँको यत्तिका वर्षका अनुभवबारे सुन्ने मेरो निकै चाहना थियो। तर उहाँले के भएको थियो र उहाँले कस्तो भ्रष्टता देखाउनुभएको थियो भन्‍नेबारे बताउँदा म त साँच्चै छक्क परेँ, उहाँले कुनै साँचो बुझाइबारे बताउनुभएन, तर आफैलाई सीमित पार्दै थुप्रै नकारात्मक कुरा भन्नुभयो। उहाँले विगतका आफ्ना अनुभवहरूबारे कुरा गर्दा साँच्चै पीडादायी देखिन्थ्यो, मानौँ उहाँ करले समर्पित हुनुभएको थियो। उहाँले यसबाट प्राप्त गर्नुभएको कुनै कुराबारे उहाँले बताउनुभएको मैले सुनिनँ। हाम्रो कुराकानीपछि म निकै हतोत्साहित भएँ। म सोच्दैथिएँ, यदि उहाँले साँच्चै केही प्राप्त गर्नुभएको भए, त्यतिबेला त्यो जति नै पीडादायी भए तापनि, परमेश्‍वरका वचनहरू पढेर, सत्यता खोजेर र उहाँको इच्छा सिकेर उहाँले आफू र परमेश्‍वरबारे साँचो बुझाइ प्राप्त गर्नुहुनेथियो, अनि त्यसले अन्त्यमा साँचो आनन्द ल्याउनेथियो। तर उहाँले आफ्नो विगतका अनुभवबारे जुन तरिकामा बताउनुभयो, त्यो अझै निकै पीडादायी लाग्थ्यो, अनि उहाँसँग आफूबारे संवेदनशील, अव्यावहारिक बुझाइ थियो। के त्यसको अर्थ उहाँसँग व्यावहारिक अनुभवको कमी थियो भन्‍ने होइन र? मलाई एकाएक याद आयो—उहाँ परमेश्‍वरका लागि गवाही लेख्न यत्ति साह्रो अनिच्छुक हुनु कुनै अचम्म थिएन। उहाँले समय छैन भन्नु त बहाना मात्र थियो। वास्तवमा उहाँले सत्यता प्राप्त गर्नुभएको थिएन वा उहाँले कुनै वास्तविक लाभ प्राप्त गर्नुभएको थिएन, त्यसैले उहाँले गवाही लेख्न सक्नुभएन। मेरा बुबा केही लेख्ने प्रयास गर्न इच्छुक हुनुहुन्थ्यो तर उहाँको निबन्ध सामान्य कुराले भरिएको थियो, अनि त्यसमा उहाँको आत्म-ज्ञान वा उहाँले प्राप्त गर्नुभएको कुराबारे त्यति लेखिएको थिएन। उहाँ यत्तिका वर्षसम्म विश्‍वासमा हुनुभएको कुरासित त्यो निबन्ध मेल खाँदैनथियो। मैले परमेश्‍वरले भन्नुभएको कुरा सम्झेँ, “तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो वरिष्ठता वा तैँले कति वर्षदेखि काम गर्दै आएको छस् भन्‍ने कुरामा निर्भर हुँदैन, र यो तैँले कति वटा योग्यता-प्रमाणहरू निर्माण गरेको छस् भन्‍ने कुरामा त झनै कम निर्भर हुन्छ। बरु, यो त तेरो खोजीले फल फलाएको छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। तैँले यो जान्नु पर्दछ, जसलाई मुक्ति दिइएको छ तिनीहरू फल फलाउने ‘रूखहरू’ हुन्, रमणीय पातहरू र प्रशस्त फूलहरू मात्र भएको तर फल नफल्ने रूखहरू होइनन्। यदि तैँले धेरै वर्ष सडकहरूमा घुमेर बिताएका छस् भने पनि, त्यसको के मतलब हुन्छ र? तेरो गवाही कहाँ छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७))। त्यो मेरो लागि चेतनाको घण्टी थियो। साँचो हो। कुनै व्यक्ति जति नै वरिष्ठ भए पनि, उसले जतिसुकै काम गरेको वा अनुभव प्राप्त गरेको भए पनि, उसले अनुभव गरेका कुराबाट कुनै वास्तविक लाभ प्राप्त नगर्नु, सत्यता प्राप्त नगर्नु वा गवाही नदिनुको अर्थ, उसित जीवनको कमी छ भन्‍ने हुन्छ। त्यस प्रकारको व्यक्तिले कहिल्यै मुक्ति पाउन सक्दैन। यो कुरा स्पष्ट हुँदा मलाई कस्तो महसुस भयो, म व्याख्या गर्न सक्दिनँ। मेरा आमाबाबुले सत्यता बुझ्नुभएको र कद प्राप्त गर्नुभएको छ भन्‍ने जुन छवि ममा थियो, त्यो पहिलो पटक चकनाचूर भयो। मैले बुझ्न सकिनँ। यत्तिका वर्ष विश्‍वासमा रहेर र यत्ति धेरै त्यागहरू गरेपछि, किन उहाँहरूले सत्यता प्राप्त गर्नुभएको थिएन? मैले मन थाम्नै सकिनँ र गुप्तमा रोएँ। त्यसपछि, मैले उहाँहरूलाई त्यति कदर गरिनँ, तर मलाई अझै लाग्यो, जे भए पनि, यत्तिका वर्ष त्यति धेरै कुरा दिएपछि त, कम्तीमा उहाँहरूसित शिष्ट मानवता छ र उहाँहरू साँचो विश्‍वासी हुनुहुन्छ। यदि उहाँहरूले राम्ररी कर्तव्य निर्वाह गर्न सक्नुभयो र सत्यता पछ्याउन थाल्नुभयो भने, अझै पनि उहाँहरूले मुक्ति पाउन सक्नुहुन्थ्यो। तर त्यसपछि उहाँहरूबारे मेरो दृष्टिकोण परिवर्तन गरिदिने केही घटना घटे।

एक दिन, लापरवाह र अल्छी भएको कारण र आफ्‍नो कर्तव्य राम्ररी पूरा नगर्नुभएको कारण मेरा बुबालाई उहाँको कर्तव्यबाट हटाइएको कुरा मैले थाहा पाएँ त्यसपछि चाँडै, मेरी आमालाई पनि कमजोर मानवता भएको, मण्डलीका हितलाई कायम नराख्‍नुभएको अनि एकदमै अहङ्कारी हुनुभएको, र आफ्नो कर्तव्यमा रोकावट ल्याउनुभएको कारण बर्खास्त गरिएको कुरा थाहा पाएँ। म स्तब्ध भएँ र विश्‍वासै लागेन। त्यो कसरी हुन सक्यो? के त्यो वास्तवमा कर्तव्य पूरा गर्न नसकेकोले नै बर्खास्त गरिएको थिएन र? के उहाँहरूसित कमजोर मानवता थियो? पहिला मेरा आमाबाबुलाई चिन्ने सबैले सधैँ के भन्थे भने, उहाँहरूसित राम्रो मानवता छ, नत्र उहाँहरूले यत्ति धेरै कुरा कसरी त्याग्न सक्नुहुन्थ्यो र? मलाई निकै अशान्ति भयो, र सबै प्रकारका चिन्ता प्रकट भइरहेका थिए। यदि उहाँहरू पीडामा हुनुहुन्थ्यो भने, कसरी काम गरिरहनुभएको थियो भनेर मैले सोचेँ। मलाई हर समय झन् अन्धकार र निराश महसुस भइरहेको थियो, अनि यो कार्य पक्कै पनि सत्यताका सिद्धान्तहरूको आधारमा गरिएको हुनुपर्छ र त्यो सही हो भनेर मलाई थाहा थियो, तर त्यो स्वीकार गर्न मलाई गाह्रो भयो। मेरा आमाबाबुले धेरै कुरा सहनुभयो, सधैँ कम्युनिस्ट पार्टीबाट भागिहिँड्नुभयो, अनि हामीले यत्तिका वर्ष छुट्टिएर बिताएका थियौँ। परमेश्‍वरले आफ्नो कार्य पूरा गर्नुभएपछि उहाँको राज्यमा हाम्रो पुनर्मिलन हुनेछ भनेर मैले धेरै आशा गरेकी थिएँ। तर, यत्ति धेरै उतार-चढाव पार गरेपछि र यत्तिका धेरै काम गरेपछि, उहाँहरूलाई यति सजिलै कसरी बर्खास्त गर्न सकियो? यसबारे म झन्-झन् खिन्न हुँदै गएँ, र आँसु नझारी बस्नै सकिनँ। केही दिनसम्म, मैले निरन्तर सुस्केरा हालेँ र ममा आफ्नो कर्तव्य पूरा गर्ने कुनै शक्ति थिएन। जब म यसबारे सोच्थेँ, एकदमै खिन्न हुन्थेँ र लल्याकलुलुक हुन्थेँ। मैले खोजी सम्‍बन्धी सबै उत्प्रेरणा अचानक गुमाएँ। म राम्रो अवस्थामा छैनँ भनेर मलाई थाहा भयो र मनमनै भनिरहेँ, “आमा र बुबालाई राम्रो कारणले बर्खास्त गरियो। परमेश्‍वर धर्मी हुनुहुन्छ।” तर यसलाई आफ्नो हृदयमा चाहिँ स्वीकार गर्न सकिनँ र मैले परमेश्‍वरसित तर्क गर्ने प्रयास गरिरहेकी थिएँ। मण्डलीमा कुनै वास्तविक योगदान नदिने वा कुनै उल्लेखनीय कर्तव्य पूरा नगर्ने दाजुभाइ-दिदीबहिनीहरू थिए, जसले आफ्ना कर्तव्य कायम राख्न सकेका थिए, तर पनि, मेरा आमा र बुबाले चाहिँ किन आफ्ना कर्तव्य कायम राख्न सक्नुभएन? उहाँहरूका समस्या जेसुकै भए पनि, उहाँहरूले यत्तिका वर्षमा केही योगदान नदिनुभएको भए पनि, कडा प्रयास त गर्नुभएको थियो, त्यसैले, उहाँहरूका यी सबै कष्ट र उहाँहरूले गर्नुभएको कामलाई विचार गरेर के उहाँहरूलाई अर्को मौका दिन सकिँदैनथियो? म राम्रो अवस्थामा छैनँ भनेर मलाई थाहा थियो, म कठोर हुँदैथिएँ र सत्यता खोजी गर्ने कुनै उत्प्रेरणा थिएन। मैले परमेश्‍वरसामु आएर प्रार्थना गरेँ, “हे परमेश्‍वर, यो कुरा मेरो लागि असाध्यै गाह्रो भएको छ। कृपया तपाईंको इच्छा जान्न मलाई मार्गदर्शन र मदत गर्नुहोस्।”

पछि, मैले आफ्नो अवस्थालाई कसरी सम्हाल्ने भनेर एक जना सिस्टरलाई सोधेँ, अनि मैले यी सबै कुरा उनलाई बताउँदा आँसु थाम्नै सकिनँ। उनले मलाई भनिन्, “तपाईंका आमाबाबुलाई कर्तव्यमुक्त मात्र गरिएको छ, तर उहाँहरूलाई बर्खास्त गरिएको छैन। किन तपाईं यत्ति साह्रो खिन्न हुनुहुन्छ? यसभित्र परमेश्‍वरको प्रेम छ भनेर तपाईंले बुझ्नुपर्छ। यो त परमेश्‍वरले उहाँहरूलाई पश्चात्ताप गर्ने मौका दिनुभएको हो।” उनले त्यसो भन्दा, साँच्चै मेरो आँखा उघ्रियो। त्यो कुरा साँचो थियो। कसैलाई कर्तव्यमुक्त गर्नु भनेको उसलाई बर्खास्त गर्नु हो भनेर परमेश्‍वरले कहिल्यै भन्नुभएको छैन। अनि कतिपय दाजुभाइ-दिदीबहिनीहरूले बर्खास्त भएपछि मात्र आत्मसमीक्षा गर्न, पछुतो गर्न र त्यसपछि साँचो अर्थमा परिवर्तन हुन र पश्चात्ताप गर्न थाल्छन्। त्यसपछि, तिनीहरूले फेरि कर्तव्य निर्वाह गर्छन्। जे होस्, कर्तव्य निर्वाह गर्नुको अर्थ मुक्ति पाउन सकिन्छ भन्‍ने होइन। यदि सत्यता पछ्याएन भने, अझै पनि परमेश्‍वरद्वारा खुलासा गरिएर हटाइन सकिन्छ। वास्तवमा, परमेश्‍वरले मेरा आमाबाबुलाई कर्तव्यबाट हटाएर पश्चात्ताप गर्ने मौका दिइरहनुभएको थियो, तर मैले त्यसलाई उहाँहरूलाई नै हटाइएको बराबर ठानेँ। त्यो कुरा सत्यता अनुरूप थिएन। यस कुरालाई त्यसरी सोच्दा, मलाई अलिक हलुको महसुस भयो, तर पछि यसबारे जब-जब सोच्थेँ, म अझै खिन्न हुने गर्थेँ। मलाई सधैँ उहाँहरूप्रति मण्डली असाध्यै कठोर भएको जस्तो लाग्थ्यो।

पछि मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “तँ कुनै मामिलालाई जति कम बुझ्छस्, तँमा त्यति नै बढी परमेश्‍वरभीरु र भक्त हृदय हुनुपर्छ, र तँ प्रायः परमेश्‍वरको इच्‍छा र सत्यता खोजी गर्न उहाँअघि आउनुपर्छ। तैँले कुराहरू नबुझ्दा, तँलाई परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन चाहिन्छ। तैँले नबुझेका कुराहरू सामना गर्दा, तँलाई परमेश्‍वरको अझै बढी काम चाहिन्छ, र यो परमेश्‍वरको असल अभिप्राय हो। तँ परमेश्‍वरको अघि जति आउँछस्, तेरो हृदय त्यति नै परमेश्‍वरको नजिक हुन्छ। अनि के तेरो हृदय परमेश्‍वरको जति नजिक हुन्छ, परमेश्‍वर त्यसमा त्यति नै धेरै बास गर्नुहुन्छ भन्‍ने कुरा साँचो होइन र? परमेश्‍वर मानिसहरूको हृदयमा जति धेरै बस्‍नुहुन्छ, तिनीहरूको खोजी, तिनीहरूले हिँड्ने मार्ग, र तिनीहरूको हृदयको स्थिति त्यति नै असल बन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। परमेश्‍वरका यी वचन पढेपछि मलाई अलिक शान्ति महसुस भयो। परमेश्‍वरले के भन्‍नुभएको छ भने, तपाईंले कुनै कुरा जति कम बुझ्‍नुहुन्छ, परमेश्‍वरप्रति श्रद्धा राखेर त्यति नै धेरै सत्यता खोजी गर्नुपर्छ ताकि तपाईंको अवस्थामा सुधार आइरहोस्। मेरा आमाबाबुलाई कर्तव्यबाट बर्खास्त गरिएको सन्दर्भमा भन्नुपर्दा, त्यसो गर्न मण्डलीलाई उपयुक्त लागेको हुनुपर्छ र मैले गुनासो गर्नु हुँदैन भनेर मलाई थाहा भयो। मैले त्यसैमा डुबिनरहने प्रयास गरिरहेकी थिएँ, तर मैले आफ्नो गलतफहमी वा परमेश्‍वरसितको दूरीलाई खासै हटाइनँ। त्यसबारे सोच्दैपिच्छे, मलाई अझै मन दुख्थ्यो। त्यसपछि मैले के बुझेँ भने, कुनै कुराबारे अन्योलमा पर्दा, हामीले सत्यताको खोजी गर्नुपर्छ, नियम पालन नगरी आफूलाई लगाम लगाउँदा, र कामकुरालाई अन्धकारमा रहन दिँदा—समस्या हल हुँदैन। वास्तवमा मैले आफ्ना आमाबाबुलाई त्यति राम्ररी चिनेकी थिइनँ। उहाँहरूले धेरै त्याग गर्नुभएको जस्तो देखिएको र अरूले उहाँहरूबारे राम्रो कुरा भनेका मात्र मलाई थाहा थियो, तर त्यो वास्तवमा एकतर्फी र सङ्कीर्ण कुरा थियो। म आफ्नो भावनामा नबगी उहाँहरूसँग सम्पर्कमा भएका दाजुभाइ-दिदीबहिनीहरूले उहाँहरूबारे के भन्छन्, त्यो बुझ्न चाहन्थेँ। मैले मेरा आमाबाबुले आफ्ना कर्तव्यमा देखाउनुभएको व्यवहारका विशेष पक्षहरूलाई नियाल्न सुरु गरेँ। मैले उहाँहरूबारे अरूले गरेका मूल्याङ्कनलाई पढ्दा, मेरा बुबा जहिले पनि लापरवाह हुनुभएको र कुनै पनि कठिन कुरा गर्नबाट पन्छिने गर्नुभएको, र कुनै पनि कुरामा धेरै त्याग गर्न अर्थात् मूल्य चुकाउन अनिच्छुक हुनुभएको थाहा पाएँ। उहाँसित सीपहरू थिए, तर उहाँ सधैँ आफ्नो कर्तव्यमा त्यति उपलब्धि हासिल नगरी निष्क्रिय रहनुहुन्थ्यो। उहाँको कर्तव्य निकै पटक परिवर्तन भयो, तर उहाँले कुनै पनि कर्तव्य राम्रोसित गर्नुभएन। सुसमाचार कर्तव्यमा उहाँ अझै लापरवाह हुनुभयो र गाह्रो कामबाट पन्छिनुभयो। पर्यवेक्षकको रेखदेखविना उहाँले कामकुरा पूरा गर्नुहुन्‍नथियो। दाजुभाइ-दिदीबहिनीहरूले उहाँको कर्तव्यमा भएका समस्याहरू औँल्याइदिँदा, उहाँले आत्मसमीक्षा गर्नुहुन्‍नथियो, बरु आफू बूढो हुँदै गएको र बिमारी रहेको, र त्यो कर्तव्य पूरा गर्न आफ्नो बलले नभ्याउने भन्दै बहाना बनाउनुहुन्थ्यो, त्यसैले, समस्या खडा हुनु सामान्य कुरो थियो, किनभने अरूले उहाँबाट अत्याधिक अपेक्षा गरेको जस्तो देखिन्थ्यो। उहाँले आफ्नो कर्तव्यमा कहिल्यै राम्रा परिणाम नल्याएकोले गर्दा, उहाँलाई बर्खास्त गरियो। अनि मेरी आमा सक्रिय देखिनुहुन्थ्यो र उहाँले मूल्य चुकाउन सक्नुहुन्थ्यो, तर त्यो सतही थियो—उहाँले केवल झारा टार्ने काम गर्नुहुन्थ्यो। उहाँले व्यावहारिक काम गर्नुहुन्‍नथियो, जसले गर्दा मण्डलीको कार्य प्रगतिमा ढिलाइ भयो। उहाँले धेरै काम गर्नुभयो, तर त्यसमा निकै धेरै समस्या र कमीकमजोरी थिए। यसले गर्दा मण्डलीमा ठूलो हानि पुग्यो। अनि उहाँले सधैँ आफूलाई जोगाउनुहुन्थ्यो, मण्डलीको कामको सट्टा आफ्नै हितको रक्षा गर्नुहुन्थ्यो। कहिलेकाहीँ, उहाँले कुनै अत्यावश्यक मामिलाहरूलाई सम्‍हाल्‍नु उपयुक्त हुँदा, अरू चिढिएला भन्‍ने डरले अरू कसैलाई पठाउन कर गर्नुहुन्थ्यो। त्यसले मण्डलीको काममा रोकावट ल्याउँथ्यो। दाजुभाइ-दिदीबहिनीहरूले उहाँ निकै अहङ्कारी र जिद्दी हुनुहुन्थ्यो र आफ्नो अनुभवलाई हतियारको रूपमा प्रयोग गर्नुहुन्थ्यो, अरूसँग कामकुराबारे छलफल नगरी आफ्नो चाहनाअनुसार काम गर्नुहुन्थ्यो भनेर पनि भन्थे। उहाँले अरूले दिएका सर-सल्लाह मान्‍नुहुन्‍नथियो, आफ्नो काममा अधिकार जमाउनुहुन्थ्यो र उहाँसित पारदर्शिताको कमी थियो। उहाँका कतिपय कामकुराबारे दाजुभाइ-दिदीबहिनीहरूलाई निश्चित रूपले थाहा हुँदैनथियो। अनि कसैले उहाँलाई मन नपर्ने कुरा गरिदिँदा, उहाँको रिसको पारो चढिहाल्थ्यो र रिसाएर मानिसहरूलाई गाली गर्नुहुन्थ्यो। अरूले उहाँद्वारा विवश पारिएको महसुस गर्थे, र त्यो कुरा एक जना ब्रदरलाई यति नराम्रो लागेको थियो कि उनले उहाँलाई यसो भने, “सिस्टर, ममा क्षमताको कमी छ। मसँग काम गर्दा पक्कै पनि तपाईंलाई बोझ भएको हुनुपर्छ, मलाई माफ गर्नुहोला।” अनि अरू केहीले के भनेका थिए भने, यदि त्यो उनीहरूको कर्तव्य नहुँदो हो त, त्यस्ता व्यक्तिसित उनीहरूले कहिल्यै अन्तरक्रिया गर्नेथिएनन्। उहाँका समस्याहरू त्यति खराब थिए, तर अरूले ती औंल्याइदिँदा उहाँले पटक्कै स्वीकार गर्नु। उहाँको कामको निरीक्षण गर्ने सिस्टरप्रति उहाँ निकै पूर्वाग्रही र प्रतिरोधी हुनुहुन्थ्यो। सधैँ अरू मानिसहरू नै उहाँसँग मिल्न सक्दैनन् र तिनीहरू निष्पक्ष छैनन् भनेर उहाँ सोच्नुहुन्थ्यो।

त्यो निकै स्तब्ध पार्ने कुरा थियो। मेरा आमाबाबु त्यस्ता हुनुहुँदो रहेछ भनेर मलाई विश्‍वासै लागेन। त्यसपछि मैले परमेश्‍वरका वचनहरूका केही खण्डहरू पढेँ। “विवेक र तर्कशक्ति दुवै व्यक्तिको मानवताका तत्वहरू हुनुपर्छ। यी दुवै सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण हुन्। अन्तस्करणको कमी भएको र सामान्य मानवजातिको विवेक नभएको व्यक्ति कस्तो प्रकारको मानिस हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवताको कमी भएको, अत्यन्तै कमजोर मानवता भएको एक व्यक्ति हो। यसलाई अलि विस्तारमा हेर्दा, यस व्यक्तिले पतित मानवताका के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छ? त्यस्ता मानिसहरूमा के-कस्ता विशेषताहरू हुन्छन् र तिनीहरूले के-कस्ता खास प्रकटीकरणहरू देखाउँछन् भनेर विश्‍लेषण गरी हेर्। (तिनीहरू स्वार्थी र तुच्छ हुन्छन्।) स्वार्थी र तुच्छ मानिसहरू आफ्ना कार्यहरूमा लापरवाह हुन्छन् र तिनीहरूसँग व्यक्तिगत रूपमा कुनै सरोकार नभएका कुराहरूबाट अलग्गै बस्छन्। तिनीहरूले परमेश्‍वरको भवनको हितको विचार गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरका इच्छाको बारेमा वास्ता नै राख्छन्। तिनीहरूले परमेश्‍वरको बारेमा गवाही दिने वा तिनीहरूका कर्तव्यहरू पूरा गर्ने भार बोक्दैनन्, र तिनीहरूमा जिम्मेवारीको कुनै बोध हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरलाई आफ्नो साँचो हृदय दिँदा, सत्यता प्राप्त गर्न सकिन्छ)। “जब व्यक्तिमा असल मानवता, साँचो हृदय, विवेक, र तर्क-शक्ति हुन्छ, यी देख्‍न वा छुन नसकिने खोक्रा वा अस्पष्ट कुरा होइनन्, बरु तिनीहरू त दैनिक जीवनमा जहाँसुकै पत्ता पाउन सकिने कुराहरू हुन्; ती सबै वास्तविकताका कुराहरू हुन्। मानौँ कुनै व्यक्ति महान् र सिद्ध छ: के तैँले देख्न सक्ने केही कुरा छ? तैँले सिद्ध वा महान्‌ हुनु भनेको के हो त्यस कुरालाई देख्‍न, छुन, वा कल्‍पना गर्न समेत सक्दैनस्। तर तैँले कुनै व्यक्ति स्वार्थी छ भनेर भन्छस् भने, के तैँले त्यो व्यक्तिको व्यवहारलाई देख्‍न सक्छस्—र के त्यो व्यक्ति उक्त व्याख्यासँग मिल्छ? यदि कुनै व्यक्ति साँचो हृदयसहितको इमानदार व्यक्ति हो भने, के तैँले यो बानीबेहोरालाई देख्‍न सक्छस्? यदि कुनै व्यक्ति छली, कुटिल, र नीच छ भनेर भनिन्छ भने, के तैँले ती कुराहरूलाई देख्‍न सक्छस्? तैँले आफ्‍नो आँखा बन्द गरिस् भने पनि, त्यो व्यक्तिको मानवता सामान्य छ कि घृणित छ भन्‍ने कुरालाई उसले जे भन्छ र उसले जसरी व्यवहार गर्छ त्यस कुराबाट बोध गर्न सक्छस्। त्यसकारण, ‘असल वा खराब मानवता’ रित्तो वाक्यांश होइन। उदाहरणको लागि, स्वार्थ र नीचता, कुटिलपन र छल, वा अहङ्कार र आत्म-धार्मिकता सबै तैँले कुनै व्यक्तिको सम्पर्कमा आएपछि जीवनमा बुझ्‍न सक्‍ने कुराहरू हुन्; यी मानवताका नकारात्मक तत्वहरू हुन्। तसर्थ, मानिसहरूमा हुनुपर्ने मानवताका सकारात्मक तत्वहरूलाई—जस्तै, इमानदारिता र सत्यताप्रतिको प्रेमलाई—के दैनिक जीवनमा बुझ्‍न सकिन्छ? कुनै व्यक्तिमा पवित्र आत्‍माको अन्तर्दृष्टि छ कि छैन; उसले परमेश्‍वरको मार्गदर्शन प्राप्त गर्न सक्छ कि सक्दैन; उसमा पवित्र आत्‍माको कार्य छ कि छैन—के तैँले यी सबै कुरा देख्‍न सक्छस्? के तैँले ती सबै पत्ता लगाउन सक्छस्? पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्न, परमेश्‍वरको मार्गदर्शन पाउन, अनि सबै कुरामा सत्यताका सिद्धान्तहरूअनुसार काम गर्न व्यक्तिले पूरा गर्नैपर्ने सर्तहरू के-के हुन्? उसमा इमानदार हृदय हुनैपर्छ, उसले सत्यतालाई प्रेम गर्नैपर्छ, सबै कुरामा सत्यता खोजी गर्नैपर्छ, र सत्यता बुझेपछि यसलाई अभ्यास गर्न सक्नैपर्छ। यी सर्तहरू पूरा गर्नुको अर्थ पवित्र आत्माको अन्तर्दृष्टि पाउनु, परमेश्‍वरका वचनहरू बुझ्‍न सक्‍नु, र सहजै सत्यता अभ्यास गर्न सक्‍नु हो। यदि कोही इमानदार व्यक्ति होइन र उसले आफ्‍नो हृदयमा सत्यतालाई प्रेम गर्दैन भने, उसले पवित्र आत्माको काम प्राप्त गर्न कठिन हुनेछ, र तैँले ऊसँग सत्यताको सङ्गति गरिस् भने पनि, यसबाट केही परिणाम आउने छैन। कुनै व्यक्ति इमानदार हो कि होइन भनेर तँ कसरी भन्‍न सक्छस्? तैँले ऊ झूट बोल्‍ने र छल गर्ने गर्छ कि गर्दैन भनेर मात्रै हेर्नु पटक्कै हुँदैन, तर सबैभन्दा महत्त्वपूर्ण कुरा, उसले सत्यता स्वीकार गरेर यसलाई अभ्यास गर्न सक्छ कि सक्दैन भनेर हेर्नु हो। सबैभन्दा मुख्य कुरा त्यही हो। परमेश्‍वरको घरले सधैँ मानिसहरूलाई हटाउँदै आइरहेको छ, र यस घडी, धेरैलाई पहिले नै हटाइसकिएको छ। ती इमानदार मानिसहरू थिएनन्, तर ती सबै छली मानिसहरू थिए। तिनीहरू अधर्मी कुराहरूलाई प्रेम गर्थे, तिनीहरू सत्यतालाई पटक्‍कै प्रेम गर्दैन थिए। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, सत्यता बुझ्न वा यसका वास्तविकताहरूमा प्रवेश गर्न सक्दैन थिए। झन् त्यस्ता मानिसहरू साँचो रूपमा परिवर्तन हुन सक्नु त परको कुरा थियो। त्यसकारण, तिनीहरूलाई हटाइनु अपरिहार्य नै थियो। जब तँ कुनै व्यक्तिको सम्पर्कमा आउँछस्, सुरुमा के कुरालाई हेर्छस्? ऊ बोली र काममा इमानदार छ कि छैन, ऊ सत्यतालाई प्रेम गर्ने र स्वीकार गर्ने गर्छ कि गर्दैन त्यसलाई हेर्। यी महत्त्वपूर्ण छन्। तैँले व्यक्ति इमानदार हो कि होइन, उसले सत्यतालाई स्वीकार र अभ्यास गर्न सक्छ कि सक्दैन भनेर निर्धारित गर्न सक्छस् भने, मुख्यतः उसको सारलाई देख्‍न सक्छस्। यदि व्यक्तिको मुख मीठो सुनिने शब्‍दहरूले भरिएको छ, तर उसले कुनै पनि वास्तविक काम गर्दैन भने—जब कुनै वास्तविक काम गर्ने बेला हुन्छ, उसले आफ्‍नै बारेमा मात्रै विचार गर्छ र अरूको बारेमा कहिल्यै विचार गर्दैन भने—यो कस्तो प्रकारको मानवता हो? (स्वार्थी र नीच। उसँग कुनै मानवता नै छैन।) के मानवता नभएको व्यक्तिले सत्यता प्राप्त गर्न सजिलो छ? यो उसको लागि कठिन हुन्छ। … यस्ता व्यक्तिहरूले के भन्छन् त्यसमा ध्यान नदे; तिनीहरूले कसरी जिउँछन्, के प्रकट गर्छन्, र आफ्ना कर्तव्यहरू पूरा गर्दा तिनीहरूको आचरण कस्तो हुन्छ, साथसाथै तिनीहरूको आन्तरिक अवस्था कस्तो छ र तिनीहरूले कुन कुरालाई प्रेम गर्छन् त्यो तैँले हेर्नुपर्छ। यदि आफ्नै ख्याति र सम्पत्तिप्रतिको तिनीहरूको प्रेम परमेश्‍वरप्रतिको बफादारीभन्दा बढी छ भने, यदि आफ्नै ख्याति वा सम्पत्तिप्रतिको तिनीहरूको प्रेम परमेश्‍वरको हितप्रतिभन्दा बढी छ वा यदि आफ्नै ख्याति र सम्पत्तिप्रतिको तिनीहरूको प्रेम तिनीहरूले परमेश्‍वप्रति देखाएको विचारशीलताभन्दा बढी छ भने, के त्यस्ता व्यक्तिहरूमा मानवता हुन्छ? तिनीहरू मानवता भएका व्यक्ति होइनन्। तिनीहरूको व्यवहारलाई अरूले र परमेश्‍वरले देख्न सक्नुहुन्छ। त्यस्ता व्यक्तिहरूलाई सत्यता प्राप्त गर्न धेरै कठिन हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरलाई आफ्नो साँचो हृदय दिँदा, सत्यता प्राप्त गर्न सकिन्छ)। मैले परमेश्‍वरका वचनहरूबाट के बुझेँ भने, कसैको मानवता मूल्याङ्कन गर्नका लागि, हामीले परमेश्‍वरको आज्ञा र सत्यताप्रति उनीहरूको मनोवृत्तिलाई हेर्नुपर्छ। असल मानवता भएकाहरूले सत्यतालाई प्रेम गर्छन् र आफ्नो कर्तव्यमा परमेश्‍वरको इच्छालाई विचार गर्छन्। उनीहरूले परमेश्‍वरको आज्ञालाई जिम्मेवारीपूर्ण ढङ्गमा लिन्छन्, उनीहरू भरपर्दा हुन्छन्, र उनीहरूले मण्डलीका हितको रक्षा गर्छन्। खराब मानवता भएकाहरू साँच्चै स्वार्थी र नीच हुन्छन्, आफ्नै हितबारे मात्र सोच्छन्। उनीहरूले आफ्नो कर्तव्य लटरपटर गर्छन्, उनीहरू धूर्त हुन्छन्, वास्तविक काम पूरा नगरी कुरा मात्रै गर्ने हुन्छन्। उनीहरूले मण्डलीरका हितलाई बेवास्ता समेत गर्छन् र आफ्नो फाइदाको लागि ती हितलाई धोका दिन्छन्। परमेश्‍वरका वचनहरूको आधारमा मेरा आमाबाबुका व्यवहारलाई हेर्दा, उहाँहरू मैले सोचेको जस्ता असल मानिस वास्तवमा हुनुहुँदो रहेनछ भनेर मैले देखेँ। ठीक मेरा बुबाजस्तै—उहाँले सतही त्यागहरू गर्नुभयो, तर आफ्नो कर्तव्यमा बोझ उठाउनुभएन, बरु उहाँ लापरवाह हुनुभयो र गाह्रो काम गर्नबाट पन्छिनुभयो। मूल्य चुकाउनुपर्दा, उहाँले आफ्नो देह सुखलाई ख्याल गर्दै धेरै बहाना बनाउनुहुन्थ्यो, मण्डलीका आवश्यकताहरूलाई विचार गर्नुभएन। उहाँलाई आफ्नो कर्तव्यमा निरन्तर रेखदेख र प्रोत्साहन चाहिन्थ्यो। उहाँ साँच्चै निष्क्रिय हुनुहुन्थ्यो। मेरी आमाको सन्दर्भमा भन्नुपर्दा, उहाँ निरन्तर रूपमा व्यस्त हुनुभए तापनि, उहाँले आफ्नो कर्तव्यको लागि कष्ट भोग्न सक्नुभए पनि र केही काम पूरा गर्नुभएको जस्तो देखिए पनि, उहाँका कर्तव्यबाट कुनै वास्तविक परिणाम प्राप्त भएको थिएन, र उहाँले ती देखाउनका लागि मात्र गर्नुहुन्थ्यो। उहाँ असाध्यै व्यस्त देखिनुहुन्थ्यो, तर उहाँले तुरुन्तै लाभ प्राप्त गर्न मात्र खोजिरहनुभएको हुन्थ्यो र आफ्नो नाम र हैसियतको लागि कामकुरा गरिरहनुभएको हुन्थ्यो। काम गरिरहेको हुँदासमेत, उहाँमा परमेश्‍वरप्रति श्रद्धाको कमी थियो र यसले गर्दा मण्डलीमा ठूलो हानि पुग्यो। मण्डलीका हित सम्‍बन्धी कामकुरामा, उहाँ सबैभन्दा उपयुक्त व्यक्ति हो भनेर उहाँलाई थाहा हुन्थ्यो तर त्यो सम्हाल्न उहाँले अरू कसैलाई कर गर्नुहुन्थ्यो। उहाँले महत्त्वपूर्ण मामिलामा मण्डलीका हितको रक्षा गर्नुहुन्‍नथियो, र उहाँ परमेश्‍वरसित एकै हृदयको हुनुभएको थिएन। उहाँले थुप्रै काम पूरा गर्नुभएको र ठूलो मूल्य चुकाउनुभएको मात्र मैले देखेँ, तर मैले उहाँको मनसाय वा उहाँले साँच्चै कुनै कुरा प्राप्त गर्नुभएको छ कि छैन, साँच्चै कुनै योगदान दिनुभएको छ कि छैन, वा वास्तवमा असलभन्दा खराब कुरा धेरै गर्नुभएको पो छ कि भनेर हेरिरहेकी थिइनँ। मैले के बुझेँ भने, कसैको मानवताको मूल्याङ्कन गर्नु सतही त्याग वा प्रयाससित सम्बन्धित छैन, तर यो त उनीहरूको मनसाय सही छ कि छैन, उनीहरूले मण्डलीको कामबारे साँच्चै विचार गरिरहेका छन् कि छैनन् वा आफ्नै नाम र हैसियतको लागि पो कामकुरा गरिरहेका छन् कि भन्‍ने कुरासित सम्बन्धित छ। असल मनसाय भएका मानिसहरूले सत्यता बुझ्न नसक्लान्, तर उनीहरूको हृदय सही स्थानमा हुन्छ र उनीहरूले आफ्नो विवेकअनुसार काम गर्छन्। उनीहरू परमेश्‍वरको घरको पक्षमा खडा हुन्छन् र यसका हितलाई विचार गर्छन्, त्यही कारण उनीहरूले साँच्चै उपलब्धि हासिल गर्न सक्छन्। तर खराब मानवता भएकाहरूले जतिसुकै कष्ट भोगे पनि र मेहनत गरे पनि, वा जति नै राम्ररी बोले पनि, उनीहरू आफूले गर्ने सबै कुरामा लापरवाह हुन्छन्, मण्डलीको कामबारे साँचो रूपमा नसोची आफ्नै फाइदाका लागि मात्र विचार गर्छन् र योजना बनाउँछन्। त्यसैकारण, उनीहरूको काममा धेरै कमीकमजोरी हुन्छ र उनीहरूले वास्तवमै कुनै कुरा पूरा गर्दैनन्। अथवा, उनीहरूले आफ्ना वरदान वा अनुभवले गर्दा केही कुरा पूरा गर्न सक्छन्, तर निकै समय बितेपछि, लाभभन्दा हानी धेरै हुन्छ किनभने उनीहरूको मानवता र आचरण खराब हुन्छ। उनीहरू अवास्तविक हुन्छन् र वास्तविक काम गर्दैनन्। उनीहरूले मण्डलीको कामलाई कहिले हानि पुऱ्याउँछन्, कहिल्यै चाल पाइँदैन। मैले त्यो बुझेपछि, मेरा आमाबाबुसँग असल मानवताको कमी रहेछ भनेर म पूर्णरूपले विश्‍वस्त भएँ।

म सधैँ सोच्थेँ, उहाँहरूले निकै आरामदायी जीवनलगायत धेरै कुरा त्याग गर्नुभयो, करिब दुई दशकको उतार-चढावबीच आफ्नो कर्तव्य निर्वाह गर्नुभयो, त्यसैले, उहाँहरूले सत्यता नपछ्याउनुभएको भए पनि, कम्तीमा पनि उहाँहरू साँचो विश्‍वासी, असल मानिस त हुनुहुन्छ। तर कठिनाइ सहेको देखाउन सक्ने मानिसहरू धेरै छन्, तर त्यसको मनसाय र सार बेग्लाबेग्लै हुन सक्छन्। मैले उहाँहरूले केले प्रेरित भएर यत्ति कडा परिश्रम गर्दैहुनुहुन्छ वा साँच्चै कुनै कुरा प्राप्त गर्नुभएको छ कि छैन भनेर मैले हेरिनँ। मैले केवल उहाँहरूका सतही प्रयासलाई हेरेँ र उहाँहरू असल मानवता भएका साँचो विश्‍वासी हुन् भन्‍ने सोचेँ। म आफ्नो दृष्टिकोणमा साह्रै सतही र मूर्ख थिएँ। यत्तिका वर्षदेखिका विश्‍वासीको रूपमा, हामीले कम्युनिस्ट पार्टीको दमन र आफ्नो परिवार छुट्टिनुपरेको पीडा भोगेका छौँ, तर हामीले परमेश्‍वरको एकदमै धेरै अनुग्रह प्राप्त गरेका छौँ। परमेश्‍वरले हामीलाई एकदमै धेरै सत्यता मात्र दिनुहुन्न, तर हामीलाई जीवनमा चाहिने प्रशस्त पोषण पनि दिनुहुन्छ। विवेक र समझ भएको व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्न र परमेश्‍वरको प्रेमको मूल्य तिर्न सक्दो प्रयास गर्नुपर्छ। तर त्यतिका वर्षसम्म विश्‍वासमा रहेपछि र निकै धेरै सिद्धान्त सिकेपछि, मेरा आमाबाबुसित अझै आफ्ना कर्तव्यप्रति सबैभन्दा आधारभूत जिम्मेवारी पनि थिएन। उहाँहरूले मण्डलीका हितको रक्षासमेत गर्न सक्नुभएन। उहाँहरूले कसरी काम गर्नुभयो त्यसको आधारमा, उहाँहरूलाई कर्तव्यमुक्त गर्नु परमेश्‍वरको धार्मिकता थियो। त्यो, मण्डलीको कामको लागि मात्र होइन तर उहाँहरूका निम्ति पनि राम्रो थियो। यदि त्यसरी विफल हुँदा र ठक्कर खाँदा उहाँहरूलाई आत्मसमीक्षा गर्न, परमेश्‍वरतर्फ फर्कन र आफ्ना कर्तव्यप्रतिको मनोवृत्ति परिवर्तन गर्न मदत मिल्न सक्यो भने, त्यो उहाँहरूका लागि मुक्ति र विश्‍वासको मार्गमा एउटा मोड हुनेथियो। यदि उहाँहरूले कुनै आत्मसमीक्षा, पश्चात्ताप र परिवर्तन नगरी त्यस तरिकामा काम गरिरहनुभयो भने, उहाँहरूको साँच्चै खुलासा हुन सक्थ्यो र उहाँहरूलाई हटाउन सकिन्थ्यो। परमेश्‍वरले भन्नुभएको कुराबारे मैले सोचेँ: “व्यक्तिले कति दु:ख भोग्नुपर्छ र उनीहरूले आफ्नो मार्गमा कति दूरी हिँड्नुपर्छ, सो परमेश्‍वरद्वारा तोकिएको हुन्छ, र कसैले पनि अरू कसैलाई वास्तवमा सहायता गर्न सक्दैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (६))। मैले गर्न सक्ने भनेकै आफूले देखेका समस्याहरू औँल्याउनु र उहाँहरूलाई सक्दो मदत गर्नु थियो, तर जहाँसम्‍म उहाँहरूले चुन्‍नुभएको मार्ग थियो, त्यो मैले चिन्ता गर्नुपर्ने कुरा थिएन। त्यो कुरा बुझेपछि मन निकै उज्यालो भयो। मैले उहाँहरूबारे चिन्ता गर्न र आँशु झार्न छोडेँ, बरु यस कुरालाई उचित तरिकामा सम्हाल्न सकेँ।

पछि मैले यी दुईवटा खण्ड पढेँ: “मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, तिनीहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म खटेको हुन सक्‍ने भए तापनि, यदि आखिरमा तँ दयनीय रूपले घिनलाग्‍दो छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुनेछ! संसारले जग बसालेदेखि अहिलेसम्‍म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। “म प्रत्येक व्यक्तिको गन्तव्य निर्धारण निजको उमेर, वरिष्ठता, भोगाइको परिमाणका आधारमा गर्दिनँ, र उनीहरूले गर्ने कारुणिक आह्‍वानका आधारमा त झनै होइन्, तर उनीहरूसँग सत्य छ वा छैन भन्‍ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो एक अपरिवर्तनीय तथ्य हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। यी खण्डहरू मेरो लागि साँच्चै हृदयस्पर्शी थिए। मानिसहरूले मुक्ति पाउन सक्छन् कि सक्दैनन् भनेर परमेश्‍वरले न्याय गर्ने एकमात्र मापदण्ड भनेको उनीहरूसित सत्यता छ कि छैन र उनीहरूले आफ्ना स्वभावलाई परिवर्तन गरेका छन् कि छैनन् भन्‍ने कुरा हो। परमेश्‍वरले यत्तिका वर्ष काम गर्नुभएको छ र यत्ति धेरै सत्यता व्यक्त गर्नुभएको छ, हामीलाई सत्यतामा प्रवेश गर्ने र मुक्ति प्राप्त गर्ने सन्दर्भमा यस्ता निर्दिष्ट र विस्तृत सङ्गति दिनुभएको छ कसैले सत्यतालाई प्रेम र स्वीकार गर्नसक्छ भने, उसले परमेश्‍वरबाट मुक्ति प्राप्त गर्ने आशा हुन्छ। तर, यदि कसैले वर्षौँ विश्‍वासमा रहेर पनि सत्यता अभ्यास नगरी वा आफ्नो स्वभाव परिवर्तन नगरी सतही त्याग मात्र गर्न सक्छन् भने, उनीहरूले सत्यता स्वीकार गर्दैनन्, तर सत्यतालाई घृणा गर्छन्। यस्तो व्यक्तिले जतिसुकै त्याग गरे पनि वा जति नै धेरै वर्ष काम गरे पन, वा उसको कर्तव्य जतिसुकै महत्त्वपूर्ण भए पनि, यदि उसले सत्यता प्राप्त गरेको छैन वा स्वभावमा कुनै परिवर्तन गरेको छैन, तर मण्डलीको काममा बाधा पुऱ्याउँदै अझै परमेश्‍वरको विरुद्धमा विद्रोह गर्छ र उहाँको विरोध गर्छ भने, उसले मुक्ति पाउन सक्दैन। धेरै दुष्कर्म गर्नेहरूलाई परमेश्‍वरले दण्ड दिनुहुनेछ र त्यो कुरा उहाँको धार्मिकताद्वारा निर्धारित गरिन्छ। त्यो कुरा बुझेर, मेरा आमाबाबु कसरी त्यस मोडमा पुग्नुभयो भनेर मलाई अझ स्पष्ट भयो। उहाँहरूले आफ्नो घर र जागिर त्याग्नुभएको थियो अनि कडा परिश्रम गर्नुभएको थियो, तर सत्यतालाई प्रेम गर्नुभएको थिएन। उहाँहरू आफ्नो कर्तव्यमा सतही र हठी हुनुहुन्थ्यो, अनि उहाँहरूले परमेश्‍वरका वचनको आधारमा आत्मसमीक्षा गर्नुभएन। दाजुभाइ-दिदीबहिनीहरूले उहाँहरूका समस्या बताइदिँदा, उहाँहरूले केवल बहाना बनाउनुहुन्थ्यो, त्यो त अरूको समस्या हो, उनीहरूले ज्यादै अपेक्षा गरेका हुन् भनेर सधैँ सोच्नुहुन्थ्यो। यसले मलाई उहाँहरूले सत्यतालाई घृणा गर्नुहुन्थ्यो र त्यसलाई स्वीकार गर्नुहुन्‍नथियो भनेर देखाइदियो, त्यही कारण, धेरै वर्षदेखि विश्‍वासमा रहेर समेत उहाँहरूको स्वभाव परिवर्तन भएका थिएन। त्यसको साटो, विश्‍वासीहरूको रूपमा उनीहरूको समय र कार्य विवरण लम्मिँदै जाँदा, उहाँहरू झन्-झन् अहङ्कारी हुनुभयो। उहाँहरूले सत्यतालाई सम्हाल्नुभएको तरिकाबाट मैले के बुझ्न सकेँ भने, उहाँहरूका सबै त्याग सत्यता र जीवन प्राप्त गर्नका लागि थिएनन्, तर ती त आशिषका लागि मन नलागी-नलागी गरिएका थिए। ठीक पावलले जस्तै, मेरा बुबाले सबै कुरा परमेश्‍वरसँग लेनदेन गर्नका लागि गर्नुभएको थियो। उहाँ परमेश्‍वरका लागि आफूलाई साँच्चै खर्चिने साँचो विश्‍वासी हुनुहुन्‍नथियो। मलाई के कुरा स्पष्ट भयो भने, कसैले सत्यता पछाउँछ कि पछ्याउँदैन, ऊसित असल मानवता छ कि छैन र उसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुराको मूल्याङ्कन सत्यताप्रति उसको मनोवृत्तिअनुसार गरिनुपर्छ। उनीहरूका सतही योगदान, उनीहरूले गरेका कामको मात्रा, उनीहरूले निर्वाह गरेका कर्तव्य, यी सबै नगण्य कुरा हुन्। कतिपय दाजुभाइ-दिदीबहिनीहरूले मण्डलीमा ठूला-ठूला योगदान दिन नसक्लान्, र उनीहरूका कर्तव्य महत्त्वहीन देखिन्छन्, तर उनीहरू दृढ हुन्छन् र कर्तव्यमा आफ्नो सारा हृदय लगाउँछन्। आफ्नो कर्तव्यमा सत्यता खोज्न, आफ्नो भ्रष्टताबारे चिन्तन गर्न, व्यक्तिगत तवरमा पछुतो गर्न र सत्यता अभ्यास गर्न, अनि आफ्नो भ्रष्ट स्वभावलाई परिवर्तन गर्नमा ध्यान केन्द्रित गर्ने व्यक्ति परमेश्‍वरको घरमा दृढ रहन सक्ने प्रकारको व्यक्ति हुन्। यसबारे जति धेरै सोच्छु, त्यति नै धेरै परमेश्‍वरको धार्मिकता देख्छु। मानिसहरूलाई मूल्याङ्कन गर्ने परमेश्‍वरको मापदण्ड कहिल्यै परिवर्तन भएको छैन। यति मात्र हो कि, मैले मुक्तिलाई भाग्यसँग जोडिएको कुराको रूपमा हेरिरहेकी थिएँ। कुनै योगदान नदिए तापनि ठूला त्यागहरू गर्ने र कडा परिश्रम गर्नेहरूलाई परमेश्‍वरले त्याग्नुहुनेछैन भनेर म सोच्थेँ। तर मैले मेरा आमाबाबुको मामिलामा परमेश्‍वरको धार्मिकता साँच्चै देखेँ। परमेश्‍वरले मानिसहरूलाई मानिसको भावना वा धारणाको आधारमा न्याय गर्नुहुन्न, तर उहाँले सत्यताका मापदण्डको आधारमा हरेक व्यक्तिलाई मापन गर्नुहुन्छ र हेर्नुहुन्छ। मण्डलीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेहरूले समेत यसबाट छूट पाउँदैनन्।

पछि मैले थप केही खण्डहरू पढेँ, ती मेरो लागि एकदमै अन्तर्दृष्टिपूर्ण र राहत दिने किसिमका थिए। परमेश्‍वर भन्नुहुन्छ, “एक दिन, जब तैँले केही सत्यता बुझ्छस्, तब तेरी आमा नै सबैभन्दा उत्तम व्यक्ति हुन्, वा तेरा बुबाआमा सबैभन्दा उत्तम मानिसहरू हुन् भनेर सोच्‍न छोड्नेछस्। तैँले तिनीहरू पनि भ्रष्ट मानवजातिका सदस्य नै हुन्, र तिनीहरूका भ्रष्ट स्वभावहरू सबै उस्तै छन् भन्‍ने महसुस गर्नेछस्। तिनीहरूको भिन्‍नता भनेको तँसँगको भौतिक रगतको सम्‍बन्ध मात्रै हो। यदि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, अविश्‍वासीसरह हुन्। तैँले तिनीहरूलाई परिवारको सदस्य वा तेरो रगतको नाताको दृष्टिकोणले हेर्न छोड्नेछस्, तर सत्यताको पक्षबाट हेर्नेछस्। तैँले हेर्नुपर्ने मुख्य पक्षहरू के-के हुन्? तैँले परमेश्‍वरप्रतिको विश्‍वासमा तिनीहरूको दृष्टिकोण, संसारप्रति र परिस्थितिहरू सम्‍हाल्‍नेसम्‍बन्धी तिनीहरूको दृष्टिकोण र सबैभन्दा महत्त्वपूर्ण, परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्तिलाई हेर्नुपर्छ। यदि तैँले यी पक्षहरूलाई सही रूपमा हेरिस् भने, तिनीहरू असल मानिस हुन् कि खराब हुन् भनेर स्पष्टसित देख्‍नेछस्। यदि तैँले एक दिन तिनीहरू पनि तँजस्तै हुन्, तिनीहरू भ्रष्ट स्वभाव भएका मानिस हुन्, र त्योभन्दा पनि, तिनीहरू तैँले कल्‍पना गरेजस्तो तँलाई साँचो प्रेम गर्ने दयालु हृदयका मानिस होइनन्, र तिनीहरूले तँलाई सत्यतामा वा जीवनको सही मार्गमा डोर्‍याउन सक्दैनन् भन्‍ने कुरा स्पष्टसित देख्‍न सक्छस्, अनि यदि तिनीहरूले तँलाई जे गरेका छन् त्यसबाट तँलाई खासै फाइदा पुग्दैन, र तैँले जीवनमा सही मार्ग लिन यसको कुनै महत्त्व छैन भन्‍ने कुरा स्पष्टसित देख्‍न सकिस्, र यदि तिनीहरूका धेरैजसो अभ्यास र विचारहरू सत्यताविपरीत छन्, तिनीहरू देहका हुन्, यसले गर्दा तँ तिनीहरूलाई तुच्छ ठान्छस्, र तिनीहरूप्रति तँलाई अरुचि र तिरस्कार लाग्छ भने, यी कुराहरूको आधारमा तैँले तिनीहरूलाई हृदयदेखि नै सही व्यवहार गर्न सक्‍नेछस्, र तँलाई तिनीहरूको त्यति धेरै याद आउन, चिन्ता लाग्‍न, र अलग हुन नसक्‍ने हुन छोड्नेछ। तिनीहरूले आमाबुबाका रूपमा आफ्‍नो मिसन पूरा गरेका छन्, र तैँले तिनीहरूलाई तेरो सबैभन्दा नजिकका मानिस ठान्न वा तिनीहरूलाई आदर्श मान्‍न छोड्नेछस्। बरु, तैँले तिनीहरूलाई सामान्य मानिसका रूपमा लिनेछस्, र त्यो बेला, तँ भावनाहरूको बन्धनबाट पूर्ण रूपमा उम्‍केर आफ्‍नो भावना र पारिवारिक स्‍नेहबाट साँच्चै मुक्त हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ)। “धेरै मानिसहरू अनेकौँ अर्थहीन भावनात्मक कष्ट भोग्छन्। यी सबै अनावश्यक र व्यर्थका कष्ट हुन्। म किन यसो भन्छु? किनभने मानिसहरू सधैँ आफ्‍ना भावनाहरूको बन्धनमा हुन्छन्, त्यसकारण तिनीहरू सत्यता अभ्यास गरेर परमेश्‍वरको आज्ञापालन गर्न सक्दैनन्। आफ्‍ना भावनाहरूको बन्धनमा पर्नु आफ्‍नो कर्तव्य पूरा गर्नमा र परमेश्‍वरलाई पछ्याउनमा धेरै हानिकारक हुन्छ, र यो जीवन प्रवेशमा पनि ठूलो बाधा हो। त्यसकारण, भावनात्मक बन्धनहरूको कारण कष्ट भोग्‍नुको कुनै अर्थ छैन, र परमेश्‍वर यसलाई स्मरण गर्नुहुन्‍न। त्यसोभए तँ यी अर्थहीन कष्ट भोगाइबाट कसरी मुक्त हुन सक्छस्? तैँले सत्यता बुझ्‍नैपर्छ। तैँले यी देहगत सम्‍बन्धहरूको सारलाई देखेर बुझेपछि, तँ सहजै देहका बन्धनहरूबाट मुक्त हुनेछस्। … शैतानले मानिसहरूलाई बन्धनमा पार्न र बाँध्‍न पारिवारिक स्‍नेहको प्रयोग गर्छ। यदि मानिसहरूले सत्यता बुझेनन् भने, तिनीहरू सहजै छलमा पर्नेछन्। मानिसहरू आफ्‍ना आमाबुबा र आफन्तहरूका लागि प्रायः मूल्य चुकाउने र कष्ट भोग्‍ने, रुने, र कठिनाइहरू सहने गर्छन्। यो अज्ञानता र मूर्खता हो। यसरी तँ कष्ट भोग्‍न इच्छुक हुन्छस्, यो पूर्णतया आफ्नै कारण भएको हो अनि यो सहनु निरर्थक र व्यर्थ हो; परमेश्‍वर यसलाई पटक्‍कै स्मरण गर्नुहुन्‍न, र यो पूर्ण कष्टबाहेक केही पनि होइन भन्‍न सकिन्छ! तैँले सत्यता बुझेको दिन तँ स्‍वतन्‍त्र हुनेछस्, र ती कष्टहरू भोग्दा तँ अज्ञानी र मूर्ख थिइस्, र यो कसैको दोष थिएन तर तेरो आफ्‍नै अन्धोपन, अज्ञानता, सत्यताबारे कम बुझाइको कारण, अनि मामिलाहरू कसरी हेर्ने भनेर स्पष्ट नभएकोले हो, अरू कसैको गल्तीले होइन भन्‍ने कुरा तँलाई थाहा हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ)। यी वचन पढ्दा म एकदमै भावुक भएँ। परमेश्‍वरले हामीलाई यत्ति राम्रोसित बुझ्नुहुन्छ! म असाध्यै भावुक भएकोले र मैले कामकुरा नबुझेकोले गर्दा मैले आँसु झारेकी थिएँ र मलाई अनावश्यक पीडा भएको थियो पहिला, मैले सत्यता बुझिनँ वा मसँग आफ्ना आमाबाबुबारे समझ थिएन, तर म उहाँहरू महान् हुनुहुन्छ, साँच्चै प्रशंसाका पात्र हुनुहुन्छ, मेरा आदर्श हुनुहुन्छ र मैले उहाँहरूजस्तै हुने प्रयास गर्नुपर्छ भनेर मात्र सोच्थेँ। उहाँहरू मुक्ति पाउन सक्ने मानिस हुनुहुन्छ भनेर समेत सोचेँ, तर सत्यता र परमेश्‍वरका वचनहरूको आधारमा उहाँहरूलाई हेर्दा, म कत्ति साह्रो गलत रहेछु भनेर बुझेँ र अन्त्यमा उहाँहरू वास्तवमा कस्ता मानिसहरू हुनुहुँदो रहेछ भन्‍नेबारे केही समझ प्राप्त गरेँ। मैले उहाँहरूमा धेरै कुरा देखेँ, जसलाई मैले प्रशंसा नगरेको मात्र होइन, तर घृणा गरेँ। मैले उहाँहरूको अति प्रशंसा र मान गर्न छोडेँ, र उप्रान्त मैले उहाँहरूका लागि पीर बोकिनँ वा आँसु झारिनँ। मैले उहाँहरूलाई सही र निष्पक्ष रूपले हेर्न सकेँ।

यस परिस्थितिमार्फत मैले के देखेँ भने, म भावनामा बगेर अत्यधिक चिन्तित भएकी रहेछु, अनि म सांसारिक स्नेहहरूभित्र जिउँदा, मेरा आमाबाबुले कत्ति धेरै पीडा भोगिरहनुभएको होला भनेर मात्र सोचिरहेकी थिएँ, र मण्डलीले कसरी कामकुरा सम्हाल्यो भनेर स्वीकार गर्न सकिनँ। म प्रतिरोधी भएँ, र मलाई परमेश्‍वर धर्मी हुनुहुन्न भन्‍ने समेत लाग्यो। त्यसपछि मैले किन परमेश्‍वरले मानव स्नेहलाई घृणा गर्नुहुन्छ भनेर बुझेँ। किनभने स्नेहअनुसार जिउँदा, यसले हामीलाई सही र गलत, असल र खराबबारे अन्योलमा पार्छ, र हामीलाई परमेश्‍वरदेखि टाढा बनाउँछ। पहिला मैले आफूलाई चिनेकी थिइनँ। दाजुभाइ-दिदीबहिनीहरूले उनीहरूका आफन्तलाई निकालिएको वा हटाइएको देख्दा, अनि केही दिनसम्म उनीहरू आँसुमा डुब्दा, मैले उनीहरूलाई तुच्छ ठान्थेँ। यदि ममाथि त्यस्तो घटना आइपऱ्यो भने, म त्यति साह्रो कमजोर हुनेछैनँ भनेर सोच्‍ने गर्थेँ। तर मैले त्यही कुराको साँच्चै सामना गर्नुपर्दा, म अरूभन्दा झन् धेरै कमजोर भएँ, र म निकै नै चकनाचूर भएँ। म केही समयसम्म रोएकी मात्र होइन, तर निराश भएँ र त्यसले मेरो कर्तव्यमा असर गऱ्यो। म सोझो र मूर्ख, साथै एकदमै अव्यावहारिक रहेछु भनेर मैले देखेँ। यस अनुभव मार्फत्, मैले आफ्ना सांसारिक स्नेहबाट मुक्त हुन सङ्घर्ष गर्ने दाजुभाइ-दिदीबहिनीहरूबारे केही बुझाइ प्राप्त गरेँ, अनि आफ्नो विगतको अज्ञानता र घमण्डबारे केही लज्जित महसुस गरेँ। हुन आउने सबै कुरामा खोज्नुपर्ने सत्यता हुन्छ भनेर पनि मैले सिकेँ। पाठ सिक्ने र समझ विकास गर्ने मौका सधैँ हुन्छ। हामीले आफ्नो वरपरका सबैसित, आफ्ना आमाबाबुसित समेत, परमेश्‍वरका वचन र सत्यताअनुसार व्यवहार गर्नुपर्छ। तब हामीले उनीहरूलाई आफ्नो स्नेह र कल्पनाद्वारा हेर्नेछैनौँ, र परमेश्‍वरको विरोध गर्ने काम गर्नेछैनौँ। परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्