झूटो अगुवाको रिपोर्ट गर्नु: अप्ठ्यारो मार्ग
जुलाई २०१९ मा, मलाई भर्खरै ब्रदर-सिस्टरहरूले मण्डली अगुवा चयन गरेका थिए, र सिस्टर लीन मेरी पार्टनर थिइन्। सिस्टर लीनले मैलेभन्दा अघिदेखि परमेश्वरमा विश्वास गरेकी थिइन् र उनी धेरै समयदेखि अगुवा रहेकी थिइन्। मैले सोचेँ, “पक्कै पनि तिनीसित सत्यताका केही वास्तविकताहरू छन्। भविष्यमा मण्डलीको काम सँगै गर्नका लागि मैले उनीसित अझ धेरै खोजी र काम गर्नुपर्नेछ।” सम्पर्क भएको केही समयपछि, उनले भेलाहरूमा सङ्गति गर्दा धेरैजसो सैद्धान्तिक शब्दहरू बोलेकी, आफ्नो भ्रष्टतालाई कहिल्यै विश्लेषण नगरेकी पाउँदा म त छक्क परेँ। उनले अक्सर आफूलाई उच्च पार्थिन् र आडम्बर गर्थिन्, आफूले कस्ता कर्तव्यहरू गरिन्, कति टाढासम्म यात्रा गरिन् व कति धेरै कष्ट खपिन्, र आफूलाई कहिले निराकरण गरियो, कर्तव्यमा कसरी लागिरहिन् र कसरी परमेश्वरको इच्छा पूरा गरिन् भनेर बताउँथिन्। ब्रदर-सिस्टरहरूले उनको सङ्गति सुन्दा मन पग्लेर केहीले आँशु झार्थे, र अरूले चाहिँ दुःख मान्दै यसो भन्थे, “यदि हामीले आफ्नो कर्तव्य ठीकसित गरेको भए, तपाईंलाई निराकरण गरिनेथिएन।” यी देख्दा म अलिक स्तब्ध भएँ। सोचेँ, “के यस्तो सङ्गति अरूलाई आफ्नो प्रशंसा र भक्ति गर्न लगाउने आडम्बर होइन र?” एक पटक, मैले उनलाई उनको व्यवहारबारे स्मरण गराएँ। मैले भनेँ, “तपाईंले सङ्गति गर्दा आफैलाई उच्च पारिरहनुभएको छ र आडम्बर गरिरहनुभएको छ।” मैले आफ्नो कुरा राखिसकेपछि, उनले बेखुस हुँदै जवाफ दिएको देखेर म छक्क परेँ, “कसरी मैले आफैलाई उच्च परिरहेकी र आडम्बर गरिरहेकी छु? मैले भनेका सबै कुरा तथ्य हुन्। यदि ती गलत हुन् भने, मैले कसरी सङ्गति गर्नुपऱ्यो त?” उनको आचरण देखेर, मैले यति मात्र भन्न सकेँ, “तपाईंले परमेश्वरको वचन पढ्नुपर्छ र आत्मसमीक्षा गर्नुपर्छ।”
त्यसको तुरुन्तै, मलाई केही नभनी, सिस्टर लीनले एक जना सिस्टरलाई सुसमाचार प्रचार गर्न सरुवा गरिन्, जो त्यस काममा सिपालु थिइनन्, र सुसमाचार प्रचार गर्न सिपालु सिस्टरलाई चाहिँ अर्को कर्तव्यमा सरुवा गरिन्, जसले गर्दा सुसमाचार कामको प्रगतिमा सिधै असर पऱ्यो। केही दिनपछि नै, वास्तविक पृष्ठभूमिलाई विचार नगरी, सिस्टर लीनले सुसमाचार प्रचार गर्नका लागि साँचो मार्गमा जग नबसालेकी नवआगन्तुकलाई सरुवा गरिन्। दबाबले गर्दा ती नवआगन्तुकको हालत यति दयनीय भयो कि तिनले झन्डै विश्वास त्यागिन्। भाग्यवश, मलजल गर्ने डिकनले समयमै मदत र सहायता दिइन् र ती नवआगन्तुकको स्थिति सुध्रियो। यी कुरा सन्दा, मैले उनलाई हामीले सिद्धान्त पालन गर्नुपर्छ, मनमानी ढङ्गमा काम गर्न सक्दैनौँ, अनि कामकुराबारे निर्णय गर्नुअघि पार्टनरलाई बताउनुपर्छ भनेर फेरि स्मरण गराएँ। तर, उनले त्यो स्वीकार गरिनन्, जिम्मेवारीलाई इन्कार गरिन् र आफ्नो बचाउ गरिन्। उनले पटक्कै आत्मसमीक्षा गर्दिनन् वा आफूलाई चिन्दिनन् भनेर मैले बुझेँ। उनको सङ्गति कसरी सधैँ सैद्धान्तिक शब्दहरूले भरिएको हुन्छ, र कसरी उनले मनमानी ढङ्गमा काम गर्छिन् र सत्यताका सिद्धान्त खोजी गर्दिनन् भनेर पनि मैले स्मरण गराएँ। उनी झूटो अगुवा हुन् भनेर म पक्का थिएँ र आफ्ना अगुवालाई यसबारे रिपोर्ट गर्न चाहन्थेँ, तर म पनि अलिक हिच्किचाएँ। मैले सोचेँ, “सिस्टर लीन वर्षौंदेखि अगुवा रहेकी छिन्। भर्खरै, हाम्रा अगुवाहरूले उनलाई पदोन्नत्ति गर्ने छलफल गरे। यदि मैले अहिले उनलाई झूटो अगुवा भनेर रिपोर्ट गरेँ भने, के अगुवाहरूले मलाई अति अहङ्कारी, र अगुवा हुनासाथ अरूलाई अन्धाधुन्ध दोष लगाउँदैछु भनेर भन्दैनन् र? साथै, रिपोर्ट गर्ने म हुँ भनेर यदि सिस्टर लीनले थाहा पाइन् भने, उनले अगुवाहरूलाई मेरो बारेमा केही नकारात्मक कुरा भन्न सक्छिन्। यदि त्यसो भएमा, के अगुवाहरूले मलाई बर्खास्त गर्नेछन्?” त्यस्तो सोचाइ आएपछि, मलाई उनको रिपोर्ट गर्न मन लागेन। तर, मैले रिपोर्ट गरिनँ भने, उनी अगुवा भइरहन्छिन्, त्यसले हाम्रा ब्रदर-सिस्टरहरूलाई हानि गर्नेछ र मण्डलीको काममा क्षति पुऱ्याउँछ। ती केही दिनहरूमा, के गर्ने भनेर म एकदमै अन्योल र अनिश्चित भएँ। त्यसैले, मैले परमेश्वरसामु आएर प्रार्थना गरेँ अनि उहाँको इच्छा बुझ्न र सत्यताको मार्ग भेट्टाउन मदत मागेँ।
प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “अगुवा र सेवकहरूका रूपमा रहेका मानिसहरूको वर्गको उदय हुनुको कारण के हो, र तिनीहरूको उदय कसरी भयो? वृहत् रूपमा, परमेश्वरको कामको लागि तिनीहरूको आवश्यकता परेको हो; सूक्ष्म रूपमा, मण्डलीको कामको निम्ति तिनीहरूको आवश्यकता पर्छ, परमेश्वरका चुनिएका मानिसहरूलाई तिनीहरूको आवश्यकता पर्छ। … तिनीहरूको कर्तव्य र अरू मानिसहरूको कर्तव्यबीचको भिन्नता भनेको तिनीहरूको विशेषतासँग सम्बन्धित कुरा मात्रै हो। त्यो कस्तो विशेषता हो? सैद्धान्तिक रूपमा जोड दिइएको कुरा भनेको नेतृत्वको कार्य नै हो। मानौँ नेतृत्व गर्ने व्यक्तिसहितको मानिसहरूको एउटा टोली छ; यदि यस व्यक्तिलाई एक ‘अगुवा’ वा एक ‘कामदार’ भनेर जनाइन्छ भने टोलीमा तिनीहरूको काम के हुन्छ? (नेतृत्व गर्ने काम।) आफूले नेतृत्व गर्ने मानिसहरूमा वा सम्पूर्ण टोलीमा यस व्यक्तिको नेतृत्वको कस्तो प्रभाव हुन्छ? यसले टोलीको दिशा र यसको बाटोलाई प्रभाव पार्छ। यसले यो जनाउँछ कि यदि नेतृत्व ओहोदामा भएको मानिस गलत बाटोमा हिँड्छ भने, कम्तिमा पनि यसले आफूमुनिका मानिसहरू र सम्पूर्ण टोलीलाई सही बाटोबाट गलत दिशातर्फ जाने तुल्याउँछ; त्यसबाहेक, यसले अगाडि बढ्ने क्रममा सम्पूर्ण टोलीको दिशाको साथै तिनीहरूको गति र चाललाई अबरोध वा नष्ट गर्न सक्छ। यसैले जब यस समूहका मानिसहरूको कुरा आउँछ, तिनीहरूले पछ्याउने बाटो र तिनीहरूले छनौट गर्ने बाटोको दिशा, तिनीहरूले सत्यलाई बुझ्ने हद र परमेश्वरमा तिनीहरूको विश्वासले तिनीहरूलाई मात्र होइन, तिनीहरूको नेतृत्वको दायराभित्र पर्ने सबै दाजुभाइ र दिदीबहिनीहरूलाई समेत प्रभाव पार्छ। यदि अगुवा सही छ, ऊ सही बाटोमा हिँड्दैछ र उसले सत्यलाई पछ्याउने र अभ्यास गर्ने गर्छ भने, त्यस्तो अगुवाले नेतृत्व गर्ने मानिसहरूले उचित तरिकाले खाने र पिउनेछन् र उचित तरिकाले खोजी गर्नेछन्, अनि त्यही बेला, अगुवाको व्यक्तिगत प्रगति अरूले निरन्तर देख्नेछन्। यसैले, एक अगुवाले लिनुपर्ने सही बाटो के हो? यो अरूलाई सत्यको बुझाइ र सत्यमा प्रवेश गर्नेतर्फ डोर्याउन र अरूलाई परमेश्वरको अगाडि नेतृत्व गर्न सक्षम हुनु हो। गलत बाटो के हो त? यो बारम्बार आफैँलाई उचाल्नु र आफ्नै साक्षी बन्नु, हैसियत, ख्याति र फाइदालाई पछ्याउनु र कहिल्यै पनि परमेश्वरको साक्षी नबन्नु हो। यसले तिनीहरू मुनिका मानिसमा कस्तो प्रभाव पार्छ? (यसले ती मानिसहरूलाई तिनीहरूको अगाडि ल्याउँछ।) मानिसहरूले बाटो बिराई परमेश्वरबाट टाढा हुनेछन् र यस अगुवाको नियन्त्रणमा आउनेछन्। अगुवाअगाडि ल्याइएका मानिसहरूलाई अगुवाले नियन्त्रण गर्नेछ भन्ने कुरा स्पष्ट छैन र? अनि, निश्चय नै यसले तिनीहरूलाई परमेश्वरबाट टाढा लैजान्छ। यदि तैँले मानिसहरूलाई तेरो अगाडि आउनलाई नेतृत्व गर्छस् भने तैँले तिनीहरूलाई भ्रष्ट मानवजातिको अगाडि आउन नेतृत्व गरिरहेको छस् र तैँले तिनीहरूलाई परमेश्वरको अगाडि होइन शैतानको अगाडि आउन नेतृत्व गरिरहेको छस्। मानिसहरूलाई सत्यको अगाडि आउन नेतृत्व गर्नु मात्र तिनीहरूलाई परमेश्वरको अगाडि आउन नेतृत्व गर्नु हो। अगुवाहरू र कर्मचारीहरूले सही मार्ग हिँडे पनि गलत मार्ग हिँडे पनि, परमेश्वरका चुनिएका मानिसहरूप्रति तिनीहरूको प्रत्यक्ष प्रभाव हुन्छ। विश्वासयोग्य जनले कुन मार्ग छनौट गर्छन्, तिनीहरू कुन मार्गमा हिँड्छन् त्यो कुरा अगुवाहरूले हिँडेको मार्गसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ, र यो कुरालाई अगुवा र कर्मचारीहरूले फरक-फरक हदसम्म प्रभाव पार्न सक्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। परमेश्वरको वचनमा मैले के देखेँ भने, अगुवाले कस्तो मार्ग अपनाउँछन् अनि सत्यतालाई पछ्याउँछन् कि पछ्याउँदैनन्, त्यस कुराले तिनलाई मात्र नभई सम्पूर्ण मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशलाई सिधै असर गर्छ। यदि मण्डली अगुवा सही व्यक्ति हुन्, सत्यता पछ्याउँछन् र सही मार्गमा हिँड्छन् भने, उनीहरूबाट ब्रदर-सिस्टरहरूलाई लाभ पुग्न सक्छ र मुक्तिको मार्गमा हिँड्न सजिलो हुन्छ। तर, यदि मण्डली अगुवाहरूले सत्यता पछ्याउँदैनन् वा सही मार्गमा हिंड्दैनन् भने, अरूलाई सत्यता बुझ्न वा परमेश्वरको वचनका वास्तविकतामा प्रवेश गर्न मार्गदर्शन गर्न सक्दैनन्, र परमेश्वरको घरको काममा बाधा मात्र पुऱ्याउँछन्। कामकुरा आइपर्दा, कसरी सिस्टर लीनले सत्यता खोजिनन्, न त आत्मसमीक्षा नै गरिन् र आफ्ना ब्रदर-सिस्टरहरूका समस्या हल गर्न सकिनन् भनेर मैले सोचेँ। उनले आफ्ना कर्तव्य र भेलामा सैद्धान्तिक शब्दहरू बोलिन्, अनि आफूलाई उच्च पारिन् र आडम्बर गरिन्, ब्रदर-सिस्टरहरूलाई उनको भक्ति र प्रशंसा गर्न डोऱ्याइन्। उनी आफ्ना कर्तव्यमा अहङ्कारी, आत्मधर्मी र स्वेच्छाचारी थिइन्, उनले सही सल्लाह कहिल्यै स्वीकार गरिनन्। उनलाई तुरुन्तै बर्खास्त गरिएन भने, केवल उनले परमेश्वरको घरको कामलाई बाधा पार्नेथिइन् र ब्रदर-सिस्टरहरूलाई हानि गर्नेथिइन्। हाम्रो मण्डलीमा यस्तो झूटो अगुवा देखापर्नु ब्रदर-सिस्टरहरूका लागि विपत्ति थियो। के पनि सम्झेँ भने, मैले परमेश्वरसामु प्रार्थना गरेकी थिएँ अनि परमेश्वरको घरका हितलाई रक्षा गर्नेछु र आफ्नो कर्तव्यलाई सक्दो राम्ररी निर्वाह गर्नेछु भनी प्रतिज्ञा गरेकी थिएँ, तर सत्यता उल्लङ्घन गर्ने र मण्डलीका हितलाई हानि गर्ने केही कुरा हुँदा, डराएको कछुवाले आफ्नो खबटाभित्र लुकेर ज्यान जोगाउन खोजेझैँ मैले आफूलाई जोगाउँदै आफ्नै हितको रक्षा गरेँ। सिस्टर लीन आफ्नो कर्तव्यमा अहङ्कारी र स्वेच्छाचारी छिन्, सत्यता पटक्कै स्वीकार गर्दिनन्, र परमेश्वरको घरको काममा असर पुऱ्याइसकेकी छन् भनेर मलाई थाहा थियो। मैले आफ्ना अगुवालाई उनको रिपोर्ट गर्नुपर्थ्यो, तर त्यसको सट्टा मैले आफैलाई जोगाउने प्रयास गरेँ, किनभने सिस्टर लीनले थाहा पाएमा मेरो बारेमा नराम्रो कुरा भन्नेछिन् र अगुवाहरूले मलाई हटाउनेछन् भनेर म डराएँ। झूटो अगुवाले परमेश्वरको घरको काममा अवरोध र बाधा पुऱ्याउँदा त्यसको रक्षा गर्न खडा हुनुको सट्टा म मूक दर्शक बनेर उभिएँ। म स्वार्थी र घृणित थिएँ। मेसँग अलिकति पनि विवेक थिएन! अबउसो, म स्वार्थी हुन सक्दिनँ भनेर मलाई थाहा थियो। मैले सत्यता अभ्यास गर्नुथियो, न्यायको भाव भएको व्यक्ति हुनुथियो, परमेश्वरको पक्षमा खडा हुँदै परमेश्वरको घरका हितलाई जोगाउनुथियो। त्यो बुझेपछि, मैले अगुवाहरूलाई रिपोर्ट गर्ने निर्णय गरेँ।
पछि, अगुवाहरूसितको एउटा भेलामा, मैले सिस्टर लीनका सबै बानीबेहोराबारे बताएँ। मैले बताइसकेपछि, एक जना अगुवाले ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने परमेश्वरका केही वचन पढे अनि मलाई गम्भीतासाथ काटछाँट र निराकरण गर्दै म एकदमै महत्वाकाङ्क्षी र हैसियतको चाहना गर्ने अनि अगुवा बनेकीले शक्तिको भोको भएकी छु भनेर भन्दा म त स्तब्ध भएँ। तिनले मलाई अझ धेरै आत्मसमीक्षा गरी अनि सिस्टर लीनसित मिलेर मण्डलीको काम राम्ररी गर्न सुझाव दिइन्। अर्की अगुवाले चाहिँ सिस्टर लीनसित राम्रो क्षमता छ उनी व्यावहारिक काम गर्न सक्षम छिन् भनेर भनिन्। यी सब सुनेर म तीनछक परेँ। मैले सोचेँ, “कसरी यस्तो हुन सक्यो? मैले तिनीहरूलाई बताएका सबै कुरा साँचो हुन्, तर तिनीहरूले अनुसन्धान नगरी मलाई आँखा चिम्लेर निराकरण गरे। यो त समस्याको समाधान पटक्कै होइन।” सुरुमा त, म तिनीहरूलाई सिस्टर लीनबारे अझ धेरै बताउन चाहन्थेँ, तर त्यसपछि सोचेँ, यदि मैले कुनै थप कुरा बताएँ भने, म आत्मसमीक्षा गर्दिनँ र सत्यता स्विकार गर्दिनँ भनेर अगुवाहरूले भन्नेछन् र मलाई बर्खास्त गर्नेछन्, त्यसपछि मैले के गर्ने? त्यस्तो सोचाइ आएपछि, मैले केही नभन्ने निर्णय गरेँ।
एक दिन, एक जना सिस्टरले मलाई सिस्टर लीनले सुसमाचार कामको इन्चार्जको रूपमा केही गर्दिनन् तर आफ्नो जिम्मामा भएका मानिसहरूलाई सुसमाचार प्रचार गर्न लगाउँछिन् भनेर रिपोर्ट गरिन्। मानिसहरूलाई समस्या वा कठिनाइ आइपर्दा उनले ती समाधान गर्न सङ्गति नगरेको, जसले गर्दा सुसमाचार काम झन् झनै प्रभावहीन हुँदै गएको भन्दै मैले सिस्टर लीनसित जतिसक्दो चाँडो सङ्गति गरूँ भन्ने तिनी चाहन्थिन्। मैले सोचेँ, “अगुवाको सबैभन्दा महत्वपूर्ण काम भनेको परमेश्वरको वचनमाथि सङ्गति गर्नु र ब्रदर-सिस्टरहरूका कर्तव्यमा आइपरेका कठिनाइहरू समाधान गर्नु हो। सिस्टर लीनले लम्बेतान उपदेशहरू दिन्छिन् तर कुनै पनि वास्तविक समस्या हल गर्दिनन्। के उनको सङ्गति केवल ख्रोक्रो सिद्धान्त होइन र?” त्यसैले, यस समस्याबारे छलफल गर्न म सिधै सिस्टर लीनकहाँ गएँ। मैले आफ्नो कुरा राखिसकेपछि, उनले मप्रति आक्रमक हुँदै यसो भन्दा म चकित भएँ, “मैले व्यावहारिक समस्याहरू समाधान गर्दिनँ भनेर कसले भन्यो? त्यो कसले भन्यो? कुन व्यक्तिले भन्यो त्यो? …” उनले फिटिक्कै सत्यता स्वीकार नगरेकी र आत्मसमीक्षा नगरेकी वा आफूलाई नबुझेकी मैले देखेँ। उनको पहिलो प्रतिक्रिया नै कसले त्यो समस्याको रिपोर्ट गऱ्यो भनेर सोध्नु थियो। उनी झूटो अगुवा हुन् भनेर म झनै पक्का भएँ। यदि उनले आफ्नो काम गरिरहिन् भने, परमेश्वरको घरको कामलाई हानि र ढिलाइ मात्र गर्नेथिइन्। म यसबारे अगुवाहरूलाई रिपोर्ट गर्न चाहन्थेँ। तर, मैले पहिला एउटा समस्याबारे रिपोर्ट गर्दाको कुरा सम्झेँ। सिस्टर लीनलाई प्रतिस्थापित गरिएन, बरु अगुवाहरूले मेरो नै निराकरण गरे। यदि मैले फेरि अगुवाहरूलाई रिपोर्ट गरेँ भने, मैले जानाजानी सिस्टर लीनका समस्याहरू कोट्याएर निकाल्दैछु भनेर उनीहरूले सोच्ने थिएनन् र? उनीहरूले म सही व्यक्ति होइन र असल पार्टनर बन्न सक्दिनँ भनेर सोच्नेथिएनन् र? तिनीहरूले मलाई परमेश्वरको घरको काममा बाधा पुऱ्याएको भनी निन्दा गर्दै, कर्तव्यबाट बर्खास्त गरेर आत्मिक चिन्तनका लागि पठाउनेथिएनन् र? यी कुराबारे सोच्दा, मलाई फेरि चिन्ता लाग्न थाल्यो। तर यसबारे रिपोर्ट नगर्दा मेरो विवेक असहज भयो, त्यसैले, मैले परमेश्वरसामु आएर प्रार्थना गरेँ, “हे परमेश्वर, मलाई स्पष्टसित थाहा छ कि सिस्टर लीन मैले खुलासा र रिपोर्ट गर्नुपर्ने झूटो अगुवा हुन्, तर म सधैँ अन्धकारका शक्तिहरूद्वारा विवश पारिएको महसुस गर्छु। निराकरण गरिएला र कर्तव्यबाट बर्खास्त भइएला भनेर मलाई डर लाग्छ। हे परमेश्वर, आफूलाई चिन्न मलाई मार्गदर्शन दिनुहोस् र मदत गर्नुहोस्।”
मैले आफ्नो एउटा भक्तिमा, परमेश्वरको वचन पाठ गरिएको एउटा भिडियो हेरेँ, त्यो मेरो लागि अत्यन्तै उपयोगी थियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “धेरैजसो मानिसहरूले सत्यताको खोजी र अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने संकल्प र इच्छा मात्रै हुन्छ; सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। परिणामस्वरूप, जब तिनीहरूले दुष्ट शक्तिहरूको सामना गर्छन् वा दुष्ट र खराब मानिसहरूले दुष्ट कार्यहरू गरिरहेका, वा झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले सिद्धान्तहरूलाई उल्लङ्घन गर्ने कार्य गरिरहेका—यसरी परमेश्वरको घरमा हानि पुर्याइरहेका, र परमेश्वरका चुनिएकाहरूलाई नोक्सानी पुर्याइरहेका—भेट्टाउँछन्, तब तिनीहरूले खडा हुने र बोल्ने साहस गुमाउँछन्। तँसँग कुनै साहस नहुनु भनेको के हो? के यसको अर्थ तँ डरपोक वा बोल्न नसक्ने व्यक्ति होस् भन्ने हो? कि यसको अर्थ तैँले पूर्ण रूपमा नबुझेको कारण, तँसँग बोल्ने साहस नहुनु हो? यो यीमध्ये कुनै पनि होइन; यसको अर्थ के हो भने तँ धेरै प्रकारका भ्रष्ट स्वभावद्वारा नियन्त्रित छस्। यीमध्ये एउटा स्वभाव धूर्तता हो। तैँले पहिले आफ्नै बारेमा सोच्छस्, र यस्तो विचार गर्छस्, ‘यदि म बोलेँ भने, यसले मलाई कसरी फाइदा दिनेछ? यदि म बोलेँ र कसैलाई बेखुशी तुल्याएँ भने, भविष्यमा हामी कसरी मिलेर बस्न सक्नेछौं?’ यो धूर्त मानसिकता हो, होइन र? के यो धूर्त स्वभावको परिणाम होइन र? अर्को स्वार्थी र छुद्र स्वभाव हो। तँ यस्तो विचार गर्छस्, ‘परमेश्वरको घरका हितहरूमा हानि पुग्नुसँग मेरो के सम्बन्ध छ र? मैले किन यसको मतलब गर्ने? यससँग मेरो केही सम्बन्ध छैन। मैले यसो भएको देखेँ र सुनेँ भने पनि, मैले केही पनि गर्नु पर्दैन। यो मेरो जिम्मेवारी होइन—म अगुवा होइन।’ त्यस्ता कुराहरू तँभित्र हुन्छन्, मानौं ती तेरा अचेतन मनबाट पैदा भएका हुन्, मानौं तिनले स्थायी रूपमा तेरा हृदयका स्थानहरू ओगटेका छन्—ती मानिसका भ्रष्ट, शैतानी स्वभाव हुन्। … तैँले वास्तवमा के विचार गर्छस् त्यो कुरा तैँले कहिल्यै भन्दैनस्। यो सबै तेरो मस्तिष्कले तेरो मनमा पहिले नै सम्पादन गरेको हुनुपर्छ। तैँले भन्ने सबै कुरा झूट, र तथ्यहरूविपरीत हुन्छ, यो सबै तेरो आफ्नै फाइदाको लागि तैँले गर्ने आफ्नै जाली प्रतिरक्षा हुन्छ। कतिपय मानिसहरूले हो मा हो भन्छन्, र तँलाई त्यति नै पर्याप्त हुन्छ: तेरा वचनहरू र व्यवहारले तेरा उद्देश्यहरू हासिल गरेका हुन्छन्। तेरो हृदयमा यही कुरा हुन्छ, यी तेरा स्वभाव हुन्। तँ पूर्ण रूपमा तेरो शैतानी स्वभावद्वारा नियन्त्रित हुन्छस्। तैँले भन्ने र गर्ने कुरामा तेरो कुनै नियन्त्रण हुँदैन। तैँले चाहे पनि, तैँले सत्यता बताउन वा तैँले वास्तवमा के सोचेको छस् त्यो कुरा भन्न सक्दैनस्; तैँले चाहे पनि, तैँले सत्यताको अभ्यास गर्न सक्दैनस्; तैँले चाहे पनि, तैँले आफ्ना जिम्मेवारीहरूलाई पूरा गर्न सक्दैनस्। तैँले भन्ने, गर्ने, र अभ्यास गर्ने सबै कुरा झूट हुन्छ, र तँ लापरवाही र झारातिरुवा हुन्छस्। स्पष्ट रूपमा नै, तँ पूर्ण रूपमा तेरो शैतानी स्वभावको बन्धन र नियन्त्रणमा हुन्छस्। तैँले सत्यतालाई स्वीकार गर्न र त्यसमा लागिपर्न चाहन्छस् होला, तर त्यो तेरो हातको कुरा होइन: तँ भ्रष्ट देहको कठपुतलीबाहेक केही पनि होइनस्, तँ शैतानको औजार बनेको छस्, तेरो शैतानी स्वभावले तँलाई जे भन्छ तँ त्यही गर्छस् र त्यही भन्छस्। तैँले आफ्नो हृदयमा यस्तो विचार गर्छस्, ‘यसपटक म कठिन परिश्रम गर्नेछु, र म परमेश्वरसँग प्रार्थना गर्नेछु। परमेश्वरको घरको काममा बाधा दिने, आफ्नो कर्तव्यमा जिम्मेवार नहुने व्यक्तिहरूको विरुद्धमा म खडा हुनैपर्छ र तिनीहरूलाई हप्काउनैपर्छ। मैले यो जिम्मेवारी लिनैपर्छ।’ त्यसरी, ठूलो कठिनाइको साथ तैँले आफ्नो साहस बटुल्छस् र बोल्छस्। परिणामस्वरूप, अर्को व्यक्तिले टेबल ठटाएर रिस देखाउनेबित्तिकै, तँ लुरुक्क पर्छस्। के तँ साँच्चै नै प्रभारी होस् त? तेरो दृढ़ता र संकल्पको के अर्थ भयो र? ती त व्यर्थ भए। अवश्य नै तँ धेरैपटक यस्तो परिस्थितिमा परेको छस्। पहिलो कठिनाइमा नै तैँले गर्न सक्ने केही पनि छैन भन्ने ठान्दै बहाना बनाउँछस्। तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस्, र तँलाई हटाइएको छ भन्ने विश्वास गर्दै तैँले हरेस खान्छस्। तैँले सत्यतालाई प्रेम गर्दैनस् भन्ने कुरा साँचो हो, तर के तैँले सत्यताको खोजी गर्दै आएको छस् त? के तैँले सत्यताको अभ्यास गर्दै आएको छस्? यतिका वर्षदेखि प्रवचन सुनेर पनि तैँले केही बुझेको छैनस्? किन तँ सत्यताको सानो अंश पनि बुझ्न सक्दैनस्? तैँले कहिल्यै सत्यताको खोजी गर्दैनस्, तैँले सत्यताको अभ्यास गर्ने कुरा त परै जाओस्। तँ प्रार्थना मात्र गरिरहन्छस्, आफ्नो संकल्प निर्माण गरिरहन्छस्, अठोट लिइरहन्छस्, र शपथ खाइरहन्छस्। अनि यो सबैबाट के आउँछ? तँ अझै पनि होमा हो मिलाउने मान्छे नै रहन्छस्; तैँले कसैलाई पनि रिसउठाउँदैनस्, न त तैँले कसैलाई चिढ्याउँछस्। यदि कुनै विषयसँग तेरो कुनै सम्बन्ध छैन भने, तँ यसबाट टाढै बस्नेछस्, र सोच्नेछस्: ‘मसँग कुनै सम्बन्ध नै नभएका कुराहरूको बारेमा म केही पनि बताउनेछैन, अनि यसमा कुनै अपवाद छैन। यदि कुनै कुराले मेरो चासोहरू, मेरो अभिमान, वा मेरो आत्मसम्मानलाई हानि गर्छ भने, म यसलाई कुनै ध्यान दिनेछैन, र म यसलाई होशियारीको साथ लिनेछु; मैले हतारमा काम गर्नु हुँदैन। सबैभन्दा अग्लो कीलालाई नै पहिले ठोकिन्छ, र म त्यति मूर्ख पनि छैन!’ तँ तेरो दुष्टता, धूर्तता, कठोरता, अनि सत्यतालाई घृणा गर्ने तेरा भ्रष्ट स्वभावहरूद्वारा पूर्ण रूपमा नियन्त्रित छस्। तिनले तँलाई पूर्ण रूपमा काबुमा राखेका छन्, र तेरो लागि यो हनुमान राजाले लगाउने सुनौलो चक्रभन्दा पनि असहनीय र नियन्त्रण गर्न नसकिने भएको छ। भ्रष्ट स्वभावको नियन्त्रणमा जिउनु अत्यन्तै हैरानीपूर्ण र पीडादायी कुरा हो!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्वरको वचनबाट के बुझेँ भने, म एकदमै स्वार्थी र छली भएकी हुनाले मैले सिस्टर लीनबारे रिपोर्ट गर्ने आँट गरिनँ। मलाई कामकुरा आइपर्दा, मैले सधैँ मण्डलीको कामको सट्टा आफ्नै हितलाई विचार गरेँ। सिस्टर लीन झूटो अगुवा हुन् भनेर मैले स्पष्टसित चिनेँ। यदि उनलाई तुरुन्तै प्रतिस्थापित गरिएन भने उनले मण्डलीको काममा अझ धेरै क्षति पुऱ्याउनेछिन् र मैले उनको खुलासा र रिपोर्ट गरिरहनुपर्छ भनेर मलाई थाहा थियो, तर यदि मेरो रिपोर्ट विफल भयो भने, मलाई निराकरण वा बर्खास्त समेत गरिनेछ भनेर म डराएँ, त्यसैले, मैले आफूलाई जोगाउने प्रयास गरेँ र थाहा नपाएको जस्तो गरेँ। सबै कुरामा, मैले आफ्नै हितको रक्षा गरेँ र परमेश्वरको घरका हितलाई बेवास्ता गरेँ। म असाध्यै स्वार्थी र घृणित थिएँ। मैले ब्रदर-सिस्टरहरूलाई मात्र हानि पुऱ्याइरहेकी थिइनँ, परमेश्वरको आज्ञा पनि उल्लङ्घन गरिरहेकी थिएँ। मैले आफ्ना कर्तव्यलाई वफादारीपूर्वक पूरा गरेँ भनेर कसरी भन्न सकिन्छ र? म शैतानको पक्षमा खडा भइरहेकी थिएँ र झूटो अगुवाको सहयोगीको रूपमा सेवा गरिरहेकी थिएँ। बाहिर त मैले कुनै ठूलो दुष्ट कुरा गरिरहेकी थिइनँ, तैपनि, त्यहाँ परमेश्वरको घरको काममा बाधा पुऱ्याउने एक झूटो अगुवा थिइन्, तर मैले सत्यता अभ्यास गरिनँ वा परमेश्वरको घरको कामलाई रक्षा गरिनँ। त्यसको सट्टा, त्यसलाई हानि गर्ने झूटो अगुवालाई मैले सहेँ। मैले गरेको कुरा सिस्टर लीनले मण्डलीको काममा पुऱ्याएको बाधाभन्दा कसरी बेग्लै भयो र? के यसले मलाई पनि झूटो अगुवा बनाएन र? यसबारे सोच्दा, मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना र पश्चात्ताप गरेँ, अब उप्रान्त, स्वार्थी र घृणित हुन अनि आफ्नै हितको मात्र रक्षा गर्न चाहँदिनँ, र खडा हुन, सत्यता अभ्यास गर्न र फेरि सिस्टर लीनबारे रिपोर्ट गर्न चाहन्छु भनेर भनेँ।
त्यसपछि, मैले केही मण्डली डिकनहरू र मण्डली कामका इन्चार्ज सिस्टर सियाओसित सभाको प्रबन्ध मिलाएँ। मैले उनीहरूलाई सिस्टर लीनका सबै बानीबेहोराबारे बताएँ र सिद्धान्तअनुसार बुझ्न र यस समस्यालाई कसरी सम्हाल्नुपर्छ भनी हेर्न आग्रह गरेँ। मैले आफ्नो कुरा राखिसकेपछि, मलजल गर्ने डिकनले पनि सिस्टर लीनका केही समस्याबारे बताइन्। त्यतिबेला, सिस्टर सियाओले केही पनि भनिनन्, त्यस मामिलाको अनुसन्धान गर्छु भनेर मात्र भनिन् र सभा चाँडै सिद्धियो। सुरुमा त, मैले त्यो समस्या स्पष्टसित राखेकी छु, र सिस्टर लीनलाई चाँडै प्रतिस्थापित गरिनेछ भनेर सोचेँ। फेरि पनि मलाई गम्भीरतासाथ काटछाँट र निराकरण गरिन्छ भनेर कहिल्यै कल्पना गरेकी थिइनँ। एक दिन, सिस्टर सियाओ मसित एकान्तमा कुरा गर्न आइन्। केही समस्या भेट्टाएमा म तिनीकहाँ आउनुपर्छ, र मण्डलीका अन्य डिकनहरूको अघि सिस्टर लीनबारे बताउनुहुँदैन भनेर भनिन्। तिनले भनिन्, मैले पवित्र आत्माको काम भएको व्यक्तिलाई दबाइरहेकी छु, गुट बनाइरहेकी छु र मण्डली जीवनमा बाधा पुऱ्याइरहेकी छु। मैले मानिसहरूलाई उन्नति गराउने दृष्टिकोणले हेर्नुपर्छ र मनमानी ढङ्गले अरूलाई परिभाषित गर्नुहुँदैन भनेर पनि तिनले भनिन्। अन्त्यमा, तिनले मलाई सोधिन्, “तपाईंले उनलाई झूटो अगुवा भनेर रिपोर्ट गर्नुभयो, त्यसोभए उनको ठाउँमा राख्न सकिने कोही व्यक्ति तपाईंको मनमा छ? छैन भने, उनले अगुवाको रूपमा कर्तव्य गरिरहनेछिन्। हामीले यसबारे जाँच गरिसकेका छौँ। सिस्टर लीनसित अगुवाको कर्तव्य गर्ने यथेष्ट क्षमता छ…।” तिनको कुरा सुन्नासाथ म साह्रै खिन्न भएँ। कुराकानी कसरी टुङ्ग्याउने भनेर समेत मलाई थाहा भएन। घर पुगेपछि त्यो रात म रोएँ। यस परिवेशलाई कसरी सामना गर्ने भनेर मलाई थाहा भएन। मैले सोचेँ, “किन कामकुरा झनै जटिल हुन्छ? मैले भनेका सबै कुरा तथ्य हुन् र यी स्पष्ट समस्या हुन्। किन तपाईं समस्यालाई गम्भीरतापूर्वक अनुसन्धान गरेर पत्ता लगाउनुहुन्न? मैले सिस्टर लीनका समस्याबारे रिपोर्ट गर्दैपिच्छे किन सबैले मलाई नै निराकरण र खुलासा गर्छन्?” यसबारे जति धेरै सोचेँ, उति नै आफूलाई अन्याय भएको महसुस गरेँ। अहिले तिनीहरूको दृष्टिमा म त बाधा पुऱ्याउने व्यक्ति हुँ भन्ने मलाई लाग्यो। के त्यसको अर्थ अगुवाहरूले मलाई कर्तव्यबाट बर्खास्त गर्नेछन्? के यसको अर्थ, मेरो निम्ति राम्रो कुरा हुने कुनै मौका छैन? यदि त्यो साँचो हो भने, म यस परिवेशबाट बाहिरनु नै राम्रो हुन्छ। “बरु अगुवा बन्दिनँ। यो साह्रै कष्टप्रद छ” भनेर सोचेँ। मनमा ती विचार गरेर, राजीनामा पत्र लेख्ने निर्णय गरेँ। तर, लेख्न तयार गर्दै गर्दा, मलाई गहिरो आत्म-ग्लानी महसुस भयो। मेरो दयनीय स्थितिमा, फेरि परमेश्वरसामु गएँ र आँशु खसाल्दै प्रार्थना गरेँ। मैले भनेँ, “हे परमेश्वर, के गर्नुपर्ने, मलाई थाहा छैन। तपाईंको इच्छा बुझ्न मलाई मार्गदर्शन गर्नुहोस् र अभ्यासको मार्ग देखाउनुहोस्।”
प्रार्थनापछि, मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ। त्यसले मलाई अगुवा र कार्यकर्ताहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने बारेका सिद्धान्तहरू बुझ्न मदत गऱ्यो। परमेश्वरका वचनहरूले भन्छन्: “अगुवा वा कामदारलाई कसरी व्यवहार गर्ने सम्बन्धमा मानिसहरूसँग हुनुपर्ने मनोवृत्ति के हो? यदि अगुवा वा कर्मचारीले गरेको कुरा सही हो भने तैँले तिनीहरूको आज्ञापालन गर्न सक्छस्; यदि तिनीहरूले गरेको काम गलत हो भने तैँले तिनीहरूलाई पर्दाफास गर्न र तिनीहरूको विरोध गर्न र फरक राय राख्न समेत सक्छस्। यदि तिनीहरू व्यवहारिक काम गर्न सक्षम छैनन् र झुटा अगुवा, झुटा कामदार, वा ख्रीष्टविरोधीको रूपमा प्रकट भएका छन् भने तैँले तिनीहरूको नेतृत्व इन्कार गर्न सक्छस् र तैँले तिनीहरूको रिपोर्ट गर्न र पर्दाफास गर्न पनि सक्छस्। यद्यपि, केही परमेश्वरबाट चुनिएका मानिसहरूले सत्यतालाई बुझ्दैनन् र खास गरी डरपोक हुन्छन् र यसैले तिनीहरू केही गर्ने आँट गर्दैनन्। तिनीहरू भन्छन्, ‘यदि अगुवाले मलाई हटायो भने म सकिन्छु; यदि ऊसले सबैलाई मेरो पर्दाफास गर्न र मलाई त्याग्न लगायो भने, म अबउप्रान्त परमेश्वरमा विश्वास गर्न सक्षम हुनेछैनँ। यदि मैले मण्डली छोडेँ भने, परमेश्वरले मलाई चाहनुहुनेछैन र मलाई बचाउनुहुनेछैन। मण्डलीले परमेश्वरको प्रतिनिधित्व गर्छ!’ के सोचाइका यी तरिकाहरूले त्यस्तो व्यक्तिको ती कुराहरूप्रतिको मनोवृत्तिलाई प्रभाव पार्दैन र? यदि अगुवाले तँलाई निष्कासन गर्छ भने तैँले मुक्ति पाउनेछैनस् भन्ने कुरा वास्तवमा सत्य हुन सक्छ र? के तेरो मुक्तिको प्रश्न तेरो अगुवाको तँप्रतिको मनोवृत्तिमा निर्भर रहन्छ र? किन यति धेरै मानिसहरूमा यति डर हुन्छ? कुनै झुटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई धम्काउनेबित्तिकै यदि तैँले माथि रिपोर्ट गर्ने हिम्मत गर्दैनस् र त्यसपछि त्यसो गर्ने प्रत्याभूति गरिनस् भने तँ त्यो अगुवासँग एकै मनको हुनेछस्, तब के तँ सकिँदैनस् र? के यो सत्य पछ्याउने किसिमको व्यक्ति हो? तैँले शैतानी ख्रीष्टविरोधीले गरेको त्यस्तो दुष्ट व्यवहारको पर्दाफास गर्ने हिम्मत नगरेको मात्र होइन, यसको विपरित, तैँले त तिनीहरूको आज्ञापालन गर्छस् र तिनीहरूका शब्दहरूलाई सत्य समेत मान्छस्, र तँ त्यसैमा समर्पित हुन्छस्। के यो मूर्खताको प्रतीक होइन र? त्यस बेला, जब तेरो हानि हुन्छ, के तँ त्यसैको योग्य हुँदैनस्? के परमेश्वरले तेरो हानि पैदा गर्नुभएको हुन्छ? तँ आफैले त्यो आफूमाथि ल्याउने इच्छा गरेको होस्। तैँले ख्रीष्ट विरोधीलाई तेरो अगुवाको रूपमा लिइस्, र तिनीहरूसँग एक जना भाइ-भाइ वा दिदी-बहिनीसँग जस्तै व्यवहार गरिस्—र त्यो तेरो गल्ती हो। व्यक्तिले कुन आचरणले ख्रीष्ट विरोधीसित व्यवहार गर्नुपर्छ? तिनीहरूको भन्डाफोर गर्नुपर्छ र तिनीहरूका विरुद्धमा संघर्ष गर्नुपर्छ। यदि तैँले यो काम एक्लै गर्न सक्दैनस् भने, धेरै जना मानिसहरू मिलेर तिनीहरूको बारेमा रिपोर्ट गर्नुपर्छ। केही अगुवाहरू र उच्च पदमा बसेका कर्मचारीहरू ख्रीष्ट विरोधीको मार्गमा हिँडिरहेका छन्, दाजुभाइ-दिदीबहिनीहरूलाई दुःख दिइरहेका छन्, वास्तविक काम गरिरहेका छैनन्, र प्रतिष्ठाका फाइदाहरूका लोभ गर्दछन् भन्ने थाहा पाएपछि ती ख्रीष्ट विरोधीहरूलाई हटाउनका लागि कतिपय मानिसहरूले नवेदनमा हस्ताक्षर गरे। यी मानिसहरूले कस्तो राम्रो काम गरे! यसले के देखाउँछ भने कतिपय मानिसहरूले सत्यता बुझ्छन्, तिनीहरूमा केही मात्रामा निश्चित कद छ, र तिनीहरू न त शैतानको नियन्त्रणमा हुन्छन्, न धोकामा परेका हुन्छन्। यसले के पनि प्रमाणित गर्दछ भने, ख्रीष्ट विरोधीहरू र झूटा अगुवाहरू मण्डलीमा प्रमुख स्थानमा बस्दैनन्, र तिनीहरू आफूले भन्ने र गर्ने कुनै पनि कुरामा स्पष्ट रूपमा आफ्नो असली रूप देखाउने हिम्मत गर्दैनन्। यदि तिनीहरूले आफैलाई प्रकट गरे भने तिनीहरूलाई निगरानी गर्ने, तिनीहरूलाई पहिचान गर्ने, र तिनीहरूलाई तिरस्कार गर्ने मानिसहरू हुन्छन्। अर्थात्, साँचो रूपले सत्यतालाई बुझेका मानिसहरूका हृदयमा व्यक्तिको कद, इज्जत र अख्तियार ठूलो प्रभावको कुरा हुँदैन; सत्यतालाई बुझ्नेहरू सबैसँग भेदशक्ति हुन्छ, र मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा कुन मार्गको अनुसरण गर्नुपर्छ, साथै तिनीहरूले अगुवा र कर्मचारीहरूसित कस्तो व्यवहार गर्नुपर्छ भन्ने विषयमा पुनर्विचार र चिन्तन गर्छन्। तिनीहरू मानिसहरूले कसलाई पछ्याउनु पर्छ, मानिसहरूले कसको अनुसरण गर्नुपर्छ, कुन व्यवहारमा मानिसहरूलाई पछ्याउने कार्य समावेश हुन्छ, र कुन व्यवहारमा परमेश्वरलाई पछ्याउने कार्य समावेश हुन्छ त्यसबारे सोच्न थाल्छन्। धेरै वर्षसम्म यी सत्यताहरूमाथि ध्यानपूर्वक विचार गरेपछि, र बारम्बार उपदेशहरू सुनेपछि, तिनीहरूले अनजानमा परमेश्वरमाथि विश्वास गर्ने सम्बन्धी सत्यताहरू बुझेका हुन्छन्, यसैले तिनीहरूले केही कद प्राप्त गरेका हुन्छन्। तिनीहरू परमेश्वरमा विश्वास गर्ने सही बाटोमा हिँड्न सुरु गरेका हुन्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तीन: तिनीहरू सत्यताको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्)। परमेश्वरको वचनलाई मनन गरेर मैले के बुझेँ भने, हामीले अगुवा र कार्यकर्ताहरूलाई व्यवहार गर्ने सन्दर्भमा सत्यताका सिद्धान्त पालन गर्नुपर्छ, अन्धाधुन्ध तिनीहरूको कुरा मान्नुहुँदैन। तिनीहरूले सत्यताका सिद्धान्तअनुसार सही कुरा गर्दा, हामीले तिनीहरूलाई समर्थन र सहयोग गर्नुपर्छ। तर, व्यावहारिक काम नगर्ने झूटा अगुवाहरूबारे खुलासा र रिपोर्ट गर्नुपर्छ अनि तिनीहरूलाई हटाउनुपर्छ। विगतमा मैले ब्रदर-सिस्टरहरूसित सङ्गति गर्दा, परमेश्वरको घरमा सत्यता र धार्मिकताले शासन गर्छ, अनि झूटा अगुवा र ख्रीष्टविरोधीहरू टिक्दैनन् भनेर भन्ने गर्थेँ। अन्त्यमा, तिनीहरूलाई प्रकट गरिनेछ र हटाइनेछ। तर, वास्तवमै झूटो अगुवा देखा पर्दा, मैले तिनको खुलासा र रिपोर्ट गर्ने आँट गरिनँ, र मैले अगुवाहरूलाई चिढ्याएँ भने, तिनीहरूले मलाई दबाउनेछन्, सजाय दिनेछन् र कर्तव्यबाट बर्खास्त गर्नेछन् अनि मैले मुक्तिको सबै आशा गुमाउनेछु भनेर गलत सोचाइ राखेँ। आफूलाई जोगाउनका लागि सम्झौता गर्न, पछि हट्न र राजीनामा दिन समेत चाहेँ, युद्धभूमि छोडेर भाग्ने सैनिक जस्तै। यो गवाही हुन सक्थेन र म कायर थिएँ। मेरो भवितव्य परमेश्वरको हातमा थियो। मेरो मुक्ति उहाँको हातमा छ, अनि यो कुरा कुनै अगुवाले होइन तर मैले सत्यता अभ्यास गरेँ कि गरिनँ अनि आफ्नो जीवन स्वभावलाई बद्लेँ कि बद्लिनँ भन्ने कुराले निर्धारित गर्छ। परमेश्वरको घरमा सत्यता र ख्रीष्टले शासन गर्नुहुन्छ, अनि झूटो अगुवाको रिपोर्ट गर्नु भनेको परमेश्वरको घरका हितलाई रक्षा गर्नु हो, यो सकारात्मक र उहाँको इच्छाअनुसारको कुरा हो। अगुवाहरूले मलाई निराकरण वा बर्खास्त गरे पनि, मलाई विश्वास छ, परमेश्वरले सबै कुरा जाँच्नुहुन्छ र ढिलो वा चाँडो तथ्यहरू प्रकट हुनेछन्। मैले के पनि बुझेँ भने, परमेश्वरले झूटा अगुवाहरूलाई मण्डलीमा देखा पर्न दिनुहुन्छ ताकि हामीले साँचो समझ विकास गर्न सकौँ र ती अगुवाले हामीलाई धोका नदिऊन् वा विवश नपारून्। त्यसका साथै, हामीले सत्यता अभ्यास गर्न सकौँ, खडा भएर झूटा अगुवाहरूलाई खुलासा गर्न सकौँ, र वास्तवमै शैतानविरुद्ध युद्ध लड्न सकौँ, किनभने, परमेश्वरले चाहनुहुने राज्यका असल सैनिकहरू हुन्, जसले शैतानका दुष्ट शक्तिहरूसामु उहाँको गवाही दिन सक्छन्। मण्डली अगुवाको रूपमा मेरो कर्तव्य भनेको मण्डलीको कामको रक्षा गर्नु, ब्रदर-सिस्टरहरूलाई झूटा अगुवा र ख्रीष्टविरोधीबाट जोगाउनु अनि उनीहरूलाई सत्यता बुझ्न र समझ प्राप्त गर्न मार्गदर्शन गर्नु थियो, ताकि उनीहरूले हृदयबाटै झूटा अगुवाहरूलाई इन्कार गर्न सकून्। मलाई यो कुरा थाहा भएपछि, आफूलाई अगुवाहरूद्वारा विवश पारिएको महसुस गर्नुहुँदैन र यस झूटो अगुवाबारे रिपोर्ट गरिरहनुपर्छ भनेर मैले बुझेँ। तसर्थ, मैले परमेश्वरसामु आएर प्रार्थना गरेँ। मैले भनेँ, “हे परमेश्वर, म गलत थिएँ। म पश्चात्ताप गर्न चाहन्छु अनि म आफैलाई जोगाउन र उम्कन खोज्न चाहँदिनँ। यस मामिलालाई म तपाईंको हातमा छोड्दछु। यदि अर्को मौका मिल्यो भने, म यस झूटो अगुवाको रिपोर्ट गर्नेछु। कृपया मेरो लागि मार्ग खोलिदिनुहोस्।”
त्यसको केही समयपछि, ममाथिका अगुवाहरूलाई एकपछि अर्को गर्दै प्रतिस्थापित गरिए किनभने तिनीहरू अहङ्कारी र स्वेच्छाचारी थिए र तिनीहरूले व्यावहारिक काम गरेनन्। तसर्थ, मैले तुरुन्तै नयाँ चयनित अगुवाहरूलाई सिस्टर लीनको व्यवहारबारे रिपोर्ट गरेँ। त्यति नै बेला, ब्रदर-सिस्टरहरू पनि मकहाँ आए र सिस्टर लीनको व्यवहारको मूल्याङ्कन गर्न मसित सङ्गति गरे, अनि हामीले उनी झूटो अगुवा हुन् र उनको रिपोर्ट गर्नुपर्छ भनेर सर्वसम्मतिले निर्णय गऱ्यौँ। ब्रदर-सिस्टरहरूले सिस्टर लीनलाई चिनेको, र उनीहरू खडा हुन र परमेश्वरको घरका हितलाई जोगाउन तयार भएको देख्दा, म लज्जित भएँ किनकि आफू लापरवाह भएको मलाई महसुस भयो। यदि मैले सिस्टर लीनबारे निरन्तर खुलासा र रिपोर्ट गर्न सकेकी भए, ब्रदर-सिस्टरहरूले पहिला नै सिस्टर लीनलाई चिनिसकेका हुन्थे। उनलाई चाँडै प्रतिस्थापित गरिनेछ भनेर अगुवाहरूले भनेको सुन्दा, मेरो मन यत्ति पग्लियो कि म झण्डै रोएँ।
केही दिनपछि, सिस्टर लीनलाई कर्तव्यबाट बर्खास्त गरियो, मण्डलीले अर्को नयाँ अगुवा नियुक्त गऱ्यो, अनि मण्डलीको कामका सबै पक्ष सामान्य स्थितिमा फर्किए। सिस्टर लीनलाई बर्खास्त गरिएको केही समय नबित्दै, हाम्रो मण्डली कामका इन्चार्ज सिस्टर सियाओलाई पनि बर्खास्त गरियो र अहङ्कारी स्वभाव भएकीले, आफ्ना कर्तव्यलाई बेवास्ता गरेकीले अनि झूटो अगुवलाई जोगाउने काम गरेकीले चिन्तन गर्न घर पठाइयो। यी परिणामहरू देख्दा, मैले हृदयबाटै परमेश्वरको धर्मीपनको प्रशंसा गरेँ तर मलाई झनै लज्जित महसुस भयो। मैले आफ्ना हितलाई जोगाउन परमेश्वरको घरका हितलाई पटक्कै विचार गरिनँ। झूटो अगुवाविरुद्ध मैले गरेको रिपोर्टलाई दबाइँदा, मैले गद्दार हुन र भाग्न चाहेँ अनि सिद्धान्तहरू पालन गर्ने आँट गरिनँ। मसित परमेश्वरको धर्मी स्वाभावबारे बुझाइ थिएन। म साँच्चै अन्ध थिएँ।
यो अनुभवपछि, परमेश्वरको घर र संसारबीच कत्ति ठूलो भिन्नता रहेछ भनेर मैलै साँचो अर्थमा बुझेँ। संसारका सबै जना शैतानका सांसारिक दर्शनअनुसार जिउँछन्, अनि चापलुसी गर्ने कपटीहरूको मात्र फलिफाप हुन सक्छ। तर, परमेश्वरको घरमा सत्यता, ख्रीष्ट र धार्मिकताले शासन गर्छन्। झूटा अगुवा र ख्रीष्टविरोधीहरूले केही समयका लागि अधिकार जमाए तापनि, अन्त्यमा तिनीहरू टिक्दैनन्। सत्यता अभ्यास गर्नु, परमेश्वरको घरका हितलाई जोगाउनु र सिद्धान्तमा काम गर्नु नै परमेश्वरको इच्छाअनुसार चल्ने एकमात्र मार्ग हो।