असल मानवता वास्तवमा के हो, अब मलाई थाहा भयो

25 अप्रिल 2023

मलाई सानैदेखि आमाबुबा र शिक्षकहरूले सिकाउनुहुन्थ्यो, अरूप्रति सद्भाव राख्‍नु अनमोल कुरा हो, र हामी न्यायसङ्गत र समझदार हुनुपर्छ। हामीले सम्बन्ध बिगार्ने कुराहरू भन्‍नु हुँदैन, र मानिसहरूलाई इज्‍जत जोगाउन दिनुपर्छ। “मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू” र “कोमल व्यवहार गर्नु बेस हुन्छ” भन्‍ने भनाइहरू मात्र अरूसँग सद्भावमा रहने तरिका हुन्। त्यसैले मैले सानैदेखि यी सांसारिक दर्शनहरूलाई जिउने नियमको रूपमा लिएँ, सधैँ मानिसहरूको आत्मगौरवप्रति विचार पुऱ्याएँ र अरूसँग सायदै बहस गरेँ। त्यसो गर्दा मैले धेरै प्रशंसा पाएँ। विश्‍वासी बनेपछि, सत्यता थाहा नभएकोले, मैले यी सांसारिक दर्शन र नैतिक मापदण्डलाई जिउने नियमको रूपमा लिइरहेँ, र यी कुराहरू गर्नु परमेश्‍वरले चाहनुभएजस्तै सामान्य मानवता धारण गर्नु र राम्रो व्यक्ति बन्‍नु हो भनेरसमेत सोचेँ। केही असफलतामार्फत पर्दाफास भएपछि मात्र मैले परमेश्‍वरका वचनहरूबाट यो परम्परागत सोच सत्यता कदापि होइन, र यो वास्तवमै आफूमा असल मानवता हुनुको मानक पनि होइन भन्‍ने थाहा पाएँ। परमेश्‍वरका वचनहरू मात्र हाम्रा कार्यहरूका लागि मापदण्ड हुनुपर्छ।

यो जनवरीमा, केही ब्रदर-सिस्टरहरूले मलाई मण्डली अगुवा सिस्टर सू किङले मानिसहरूलाई रोक्छिन् र वास्तविक काम गर्दिनन् भनेर बताए, त्यसैले म सो जाँच गर्न गएँ। मैले के थाहा पाएँ भने, सू किङमा केही प्रतिभा र क्षमता भए पनि, उनले अगुवाको रूपमा आफ्नो कार्यकालमा त्यति व्यावहारिक कामहरू गरेकी थिइनन् र उनी जिम्मेवार रहेका परियोजनाहरू कहिल्यै धेरै सफल भएका थिएनन्। उनी अरूको प्रशंसा पाउन धेरै देखावटी पनि गर्थिन् अनि छिटो र सहज लाभ चाहन्थिन्। उनले सिद्धान्त उल्लङ्घन गर्दै धेरै जना अनुपयुक्त व्यक्तिहरूलाई टोली अगुवा र सुपरिवेक्षकका रूपमा नियुक्त गरिन्, जसले गर्दा मण्डलीको काममा बाधा र अवरोध पुग्यो। ब्रदर-सिस्टरहरूले उनलाई धेरैपटक सुझाव दिए, तर उनले स्विकारिनन् र त्यसको बाबजुत पनि उनमा कुनै पनि आत्मसचेतना जागेन। उनको लगातारको कार्यप्रस्तुति आधारमा, उनी बर्खास्त गरिनुपर्ने झूटा अगुवा हुन् भनेर निश्‍चित भयो। त्यसैले मैले माथिल्लो तहका अगुवालाई सू किङका मामिलाबारे जानकारी दिँदै पत्र लेख्‍ने योजना बनाएँ। पत्र लेखिसकेपछि, मैले सोचेँ, सू किङ सामान्यतया मेरो कत्ति ख्याल गर्छिन् र मलाई भरोसा गर्छिन्, त्यसैले मैले उनका मामिलाबारे अनुसन्धान गरेर रिपोर्ट गरेकी हुँ भनेर यदि उनले थाहा पाइन् भने, के उनले मप्रति ईख बोक्दिनन् र? के यसले उनमा परेको मेरो राम्रो छापलाई बरबाद गर्दैन? यसबारे त्यसरी सोच्दा साँच्‍चै मेरो मनमा द्वन्द्व चल्यो। त्यसैले, मैले मनमनै बहाना बनाएँ: हाल सू किङ खराब स्थितिमा होलिन्, त्यसैले म उनलाई सङ्‍गति र साथ दिन सक्छु र त्यसपछि उनी परिवर्तन हुन्छिन् कि हुन्‍नन् भनेर हेर्न सक्छु। मैले त्यो उजुरी पत्र पठाइनँ। मैले सू किङसँग भेट्न समय मिलाएँ र उनका समस्याहरू खुलासा गर्न तयारी गरेँ। तर हाम्रो भेटमा, मैले उनी राम्रो स्थितिमा नभएको देखेँ, र उनले आँसु झार्दै नाम र लाभका लागि लड्दै जिउनु आफूलाई पीडादायी भइरहेको बताइन्। मैले मुखमै आइसकेको कुरा पनि फेरि भित्रै दबाएँ। उनलाई धेरै गाह्रो भइरहेको थियो, त्यसैले, यदि मैले उनको पीडामा अर्को पीडा थपेँ भने, त्यो त घाउमा नुन छर्कनुजस्तो हुँदैन र? त्यसपछि यदि मैले अगुवालाई उनका समस्या बताइदिएँ र अगुवाले उनलाई बर्खास्त गरे भने, के उनले मलाई निर्दयी ठान्दिन् र? म बारम्बार हिचकिचाएँ, र अन्त्यमा नाम र हैसियत पछ्याउने र सिद्धान्तविपरीत मानिसहरू नियुक्त गर्ने उनको व्यवहारबारे हल्काफुल्का रूपमा मात्र कुरा गरेँ। त्यसपछि हाम्रो भेट सकियो।

घर पुगेपछि मैले पहिल्यै लेखेको त्यो पत्र सम्पादन गर्दै, सू किङ नाम र हैसियतको ज्यादै ख्याल गर्छिन् र उनमा जीवन प्रवेशको कमी छ, त्यसैले मैले उनीसँग सङ्‍गति गरेँ र उनी पश्‍चात्ताप गर्न चाहछिन्, र उनलाई निरन्तर सहयोग र सङ्‍गति दिइनुपर्छ भनेर सुझाव लेखेँ। पत्र पठाएपछि मलाई निरन्तर असहज र ग्लानि भइरह्यो। मैले सत्य कुरा बताइनँ भनेर मलाई एकदमै राम्ररी थाहा थियो। मैले परमेश्‍वरका वचनहरूमा केही पढेँ। “सत्यता तँभित्रको जीवन बनिसकेपछि, जब तैँले परमेश्‍वरको निन्दा गर्ने, परमेश्‍वरको डर नमान्‍ने, र आफ्‍नो कर्तव्य पूरा गर्दा लापरवाह र झारा टार्ने, वा मण्डलीको काममा बाधा र अवरोध गर्ने व्यक्तिलाई देख्छस्, तब तेरो प्रतिक्रिया सत्यताका सिद्धान्तहरूअनुसार हुनेछ, र तैँले तिनीहरूलाई आवश्यकताअनुसार पहिचान गरेर खुलासा गर्न सक्‍नेछस्। यदि सत्यता तेरो जीवन बनेको छैन, र तँ अझै पनि तेरो शैतानी स्वभावमा जिउँछस् भने, जब तैँले मण्डलीको काममा बाधा र खलबली पैदा गर्ने दुष्ट मानिसहरू र दियाबलसहरूलाई पत्ता लगाउँछस्, तब तैँले आँखा चिम्‍लनेछस् र नसुनेको जस्तो गर्नेछस्; आफ्‍नो विवेकमा कुनै धिक्कारको अनुभूति नगरीकन तैँले तिनीहरूलाई पन्छाउँछस्। कसैले मण्डलीको काममा खलबली पैदा गरिरहेको छ भने त्यस कुराको तँसँग कुनै सम्‍बन्ध छैन भन्‍ने समेत तँलाई लाग्‍नेछ। मण्डलीका कार्य र परमेश्‍वरको घरका हितहरूमा जति नै धेरै हानि भए पनि, तैँले वास्ता, हस्तक्षेप वा ग्‍लानि महसुस गर्दैनस् जसले तँलाई विवेक वा समझ नभएको व्यक्ति, एक गैरविश्‍वासी, एक सेवाकर्ता बनाउँछ। तँ परमेश्‍वरको कुरा खान्छस्, परमेश्‍वरको कुरा पिउँछस्, र परमेश्‍वरबाट आएका सबै कुरामा रमाउँछस्, तैपनि परमेश्‍वरको घरका हितहरूमा हुने कुनै पनि हानि तँसँग सम्‍बन्धित छैन भन्‍ने ठान्छस्—त्यसैले तँ जुन थालमा खायो त्यही थालमा थुक्‍ने धोकेबाज होस्। यदि तैँले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनस् भने, तँ के मानव समेत होस् र? यो त मण्डलीमा आफै घुसेको नरपिशाच हो। तैँले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गर्छस्, चुनिएको जन भएको बहाना गर्छस्, र तँ परमेश्‍वरको घरमा फाइदा लुट्न चाहन्छस्। तँ मानवजातिको जीवन जिइरहेको छैनस्, र तँ स्पष्ट रूपमै गैरविश्‍वासी होस्। यदि तँ परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने व्यक्ति होस् भने, तैँले सत्यता र जीवन पाउन बाँकी नै भए पनि, कम्तीमा पनि तैँले परमेश्‍वरको पक्षमा उभिएर बोल्‍नेछस् र काम गर्नेछस्; कम्तीमा पनि, तैँले परमेश्‍वरको घरका हितहरूमा सम्झौता भएको देख्दा तँ हात बाँधेर बस्‍नेछैनस्। तँलाई त्यस्तो समस्याप्रति आँखा चिम्‍लन मन लाग्दा, ग्‍लानि महसुस हुनेछ, र तँ व्याकुल हुनेछस्, र मनमनै भन्‍नेछस्, ‘मैले हात बाँधेर बस्‍नु हुँदैन, खडा हुनुपर्छ र केही बोल्‍नुपर्छ, मैले जिम्मेवारी लिनुपर्छ, मैले यो दुष्ट व्यवहारलाई खुलासा गर्नैपर्छ, मैले यसलाई रोक्‍नैपर्छ ताकि परमेश्‍वरको घरका हितहरूमा हानि नपुगोस्, र मण्डली जीवनमा बाधा नपुगोस्।’ यदि सत्यता तेरो जीवन बनेको छ भने, तँसँग यो साहस र सङ्कल्प मात्रै हुँदैन, र त्यस विषयलाई तैँले पूर्ण रूपमा बुझ्‍न मात्र सक्‍नेछैनस्, बरु तैँले त परमेश्‍वरको कार्य र उहाँको घरका हितहरूको लागि तैँले उठाउनुपर्ने जिम्‍मेवारी समेत पूरा गर्नेछस्, त्यसरी तेरो कर्तव्य पूरा हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू मलाई साँच्‍चै नै पेचिला लागे। मण्डलीले मलाई उजुरी पत्रहरूको जिम्मा दिएको थियो, र म परमेश्‍वरको इच्छालाई विचार गर्न र न्यायको लागि खडा हुन सक्छु, झूटा अगुवा, ख्रीष्टविरोधी र दुष्टहरूले मण्डलीको काम खलबलाउँदा, सत्यताका सिद्धान्तहरू कायम राख्दै तिनीहरूलाई खुलासा गर्न खडा हुनेछु र मण्डलीको काम रक्षा गर्नेछु भन्‍ने आशा गरेको थियो। त्यो मेरो कर्तव्य थियो, मेरो जिम्मेवारी थियो। त्यसबेला मैले सू किङ झूटा अगुवा हुन् भनेर पहिल्यै बुझिसकेकी थिएँ। उनले जिम्मा लिएका धेरै प्रोजेक्टहरूको उत्पादकत्व गम्भीर रूपले घटेको थियो र सङ्‍गतिपछि पनि वास्तविक परिवर्तन भएको थिएन। यदि उनलाई चाँडै बर्खास्त गरिँदैनथ्यो भने, मण्डलीको काममा अझ ठूलो नोक्सानीसमेत हुनेथ्यो। तर यदि उनले मैले उनको मामिला जाँचेर रिपोर्ट गरेको र उनलाई बर्खास्त गराएको भनेर थाहा पाइन् भने, मलाई निर्दयी ठान्छिन् भनेर म डराएँ। विशेष गरी उनलाई नराम्रो लागिरहेको र रोइरहेको देखेपछि, यदि मैले उनका समस्या खुलासा गरेँ भने, मैले उनका कठिनाइहरू बुझिनँ भनेर भन्‍नेछिन, र मलाई घृणा गर्नेछिन् भन्‍ने मलाई चन्ता लाग्यो। त्यसैले मैले वास्तविक परिस्थिति लुकाएँ र उनको वास्तविक समस्याबारे रिपोर्ट गरिनँ, एउटा आँखा चिम्म गरेर बीचबाटोमा हिँड्न रोजेँ, झुटो अगुवालाई गुपचुपमा ढाकछोप गरेँ मण्डलीको काम वा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा हानि पुगेको छ कि भनेर विचार गरिनँ। मैले आफ्नो विश्‍वासमा परमेश्‍वरका वचनहरूको मलजल र पोषण पाएकी थिएँ, तर मैले आफ्नै खाने थालमा थुक्दै बाहिरी हितको पक्ष लिँदै थिएँ। म अलिकति पनि मानवता नभएको असाध्यै स्वार्थी र नीच थिएँ। यो विचार गर्दा, आफूले गरेको कामप्रति मलाई असाध्यै पछुतो र ग्लानि भयो। मलाई आफू कति स्वार्थी र धूर्त रहेछु भनेर घृणा लाग्यो।

मैले पछि परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ। “कुनै व्यक्तिले जति राम्ररी नाटक गरे पनि, उसको व्यवहार जति उचित वा राम्रो देखिए पनि, उसले जति राम्ररी वा सुन्दर रूपमा देखावटी व्यवहार गरे पनि, वा ऊ जति नै छली भए पनि, हरेक भ्रष्ट व्यक्ति शैतानी स्वभावले भरिएको हुन्छ भन्‍ने तथ्य इन्कार गर्न सकिँदैन। यो बाहिरी व्यवहारको मकुन्डोपछाडि, तिनीहरूले अझै पनि परमेश्‍वरविरुद्ध विरोध र विद्रोह गर्छन्, सृष्टिकर्ताविरुद्ध विरोध र विद्रोह गर्छन्। … छोटकरीमा, नैतिकताका परम्‍परागत धारणाहरू पालना गर्ने असल व्यवहार भएको व्यक्ति हुनु भनेको सत्यता खोजी गर्नु होइन; यो सृष्टि गरिएको साँचो व्यक्ति बन्‍ने खोजी होइन। यसविपरीत, यी असल व्यवहारहरू खोजी गर्नुपछाडि धेरै रहस्यमयी र अकथनीय गुप्त कुराहरू लुकेका हुन्छन्। मान्छेले जस्तोसुकै असल व्यवहार खोजी गरे पनि, यसको उद्देश्य अझ धेरै मानिसहरूको स्‍नेह र सम्‍मान पाउनु, आफ्‍नो हैसियत बढाउनु, र मानिसहरूका अघि आफूलाई आदरणीय अनि भरोसा र अभिभाराको योग्य छु भनी प्रस्तुत गर्नुबाहेक अरू केही हुँदैन। यदि तँ त्यस्तो शिष्ट व्यक्ति बन्‍ने प्रयास गर्छस् भने, के यो त प्रसिद्ध र महान्‌ व्यक्तिहरूको जस्तो गुण भएन र? यदि तँ राम्रो व्यवहार गर्ने व्यक्ति मात्रै होस्, तर परमेश्‍वरको वचनलाई प्रेम गर्दैनस् र सत्यता स्वीकार गर्दैनस् भने, गुणको हिसाबमा, तँ तिनीहरूजस्तै हुन्छस्। अनि परिणाम के हुन्छ? तैँले सत्यतालाई त्यागेको हुन्छस्; तैँले मुक्ति पाउने मौका गुमाएको हुन्छस्। यो सबैभन्दा मूर्ख व्यवहार हो—यो मूर्खको छनौट र खोजी हो। के तिमीहरूले कहिल्यै आफूले लामो समयदेखि आदर गर्दै आएको त्यस्तो महान्, चर्चित, अनि स्टेजमा देखिने आकर्षक व्यक्ति बन्‍ने चाहना गरेका छौ? त्यस्तो प्रिय र मिलनसार व्यक्ति बन्‍ने चाहना गरेका छौ? त्यस्तो शिष्ट, रमाइलो, र प्राज्ञिक व्यक्ति बन्‍ने चाहना गरेका छौ? बाहिरबाट हेर्दा मित्रवत् र प्रेमिलो देखिने त्यस्तो व्यक्ति बन्‍ने चाहना गरेका छौ? के तिमीहरूले यसभन्दा पहिले मानिसहरूलाई यसरी पछ्याएका छैनौ र? (छौँ।) यदि तैँले अझै पनि यसरी मानिसहरूलाई पछ्याइरहेको, र अझै पनि मानिसहरूलाई यसरी आदर्श मानिरहेको छस् भने, म तँलाई भन्छु: तँ मृत्युबाट त्यति टाढा छैनस्, किनभने तैँले आदर्श मान्‍ने मानिसहरू असल भएको बहाना गर्ने दुष्ट मानिसहरू हुन्। परमेश्‍वरले दुष्ट मानिसहरूलाई मुक्ति दिनुहुन्‍न। यदि तँ दुष्ट मानिसहरूलाई आदर्श मान्छस् र सत्यता स्वीकार गर्दैनस् भने, अन्त्यमा तँ पनि नष्ट हुनेछस्(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। म सानै छँदादेखि नै परम्परागत संस्कृतिमा भिजेँ र त्यसबाट प्रभावित भएँ, त्यसैले “मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू,” “जेलमा कोचेर के गर्नु, खाने मुख मात्र बढ्छ; बरु कोमल व्यवहार गर्नु नै राम्रो,” “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ” र अन्य शैतानी दर्शनहरूलाई व्यवहार गर्ने र मानिसहरूको मानवता मूल्याङ्कन गर्ने मापदण्डको रूपमा अपनाएँ। विश्‍वास प्राप्त गरेपछि, मैले ब्रदर-सिस्टरहरूसँग अन्तरक्रिया गर्दा तिनीहरूको आत्मगौरवप्रति विचार पुऱ्याइरहेँ, आफूले देखेका गल्ती र कमजोरीहरूलाई बिरलै सिधै औँल्याएँ, सधैँ अरूलाई छुट दिएँ ताकि तिनीहरूलाई म समझदार लागूँ र तिनीहरूमा मेरो राम्रो छाप परोस्। सू किङ झूटा अगुवा हुन् र उनलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ भनेर मलाई राम्रोसँग थाहा थियो तर उनलाई नचिढ्याउन र हाम्रो सम्बन्ध जोगाउन, मैले उनको भर्त्सना नगरेको मात्र होइन, सत्य कुरा लुकाउने र उनका मामिला रिपोर्ट नगर्ने कामसमेत गरेँ। म झन्डै झूटा अगुवाको ढाल बनेँ, जुन अपराध हुनेथ्यो। अब मैले के बुझेँ भने बाहिरबाट म प्रेमिलो र दयालुजस्तो देखिन्थेँ, तर वास्तवमा, म अरूको हृदयमा राम्रो छवि बनाउन र प्रशंसा पाउन चाहन्थेँ। म आफ्नो घृणित लक्ष्य प्राप्त गर्न, मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा क्षति पुऱ्याउन सक्थेँ। यी मानव विचार, नीति र नैतिकतालाई कसैले जतिसुकै राम्रोसँग पालन गरे पनि, त्यसको अर्थ तिनीहरू असल व्यक्ति हुन् भन्‍ने होइन। यसको विपरित, यी राम्रा व्यवहारहरूपछाडि लाजमर्दा मनसायहरू हुन्छन्। यी शैतानी विचार र दृष्टिकोणहरूअनुसार जिउँदा म झन्झनै धूर्त, चलाक, स्वार्थी र दुष्ट मात्र बन्‍न सक्थेँ। मैले गरेका सबै कुरा सत्यता र परमेश्‍वरविरुद्ध थियो। मैले पछि परमेश्‍वरका वचनहरूका केही खण्ड पढेँ जुन मेरो लागि साँच्‍चै उपयोगी थिए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “असल मानवता हुनका लागि एउटा मापदण्ड हुनुपर्छ। यसमा संयमको बाटो अपनाउने, सिद्धान्तहरूलाई नपछ्याउने, कसैलाई चोट नपुऱ्याउन कोसिस गर्ने, जहाँ जाँदा पनि चापलुसी गरेर कृपा पाउने, आफूले भेट्ने सबै जनासँग नरम र चिप्लो कुरा गर्ने, र सबैलाई आफ्नो बारेमा राम्रो कुरा गर्न लगाउने कुरा समावेश हुँदैन। यो मापदण्ड होइन। त्यसो भए, मापदण्ड के हो त? परमेश्‍वर र सत्यताप्रति समर्पित हुन सक्‍नु हो। आफ्नो कर्तव्य अनि हरप्रकारका मानिस, घटना र परिस्थितिलाई सिद्धान्तहरू र जिम्मेवारीबोधको साथ लिनु हो। यो सबैले स्पष्ट देख्‍ने कुरा हो; सबै नै यो कुराबारे हृदयमा स्पष्ट हुन्छन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरलाई आफ्नो साँचो हृदय दिँदा, सत्यता प्राप्त गर्न सकिन्छ)। “मानिसहरूको बोलीवचन र कार्यहरूको आधार के हुनुपर्छ? परमेश्‍वरका वचनहरू। त्यसो भए, परमेश्‍वरले मानिसहरूको बोलीवचन र कार्यहरूको लागि तय गर्नुभएका सर्त र मापदण्डहरू के-के हुन्? (ती कुराहरू मानिसहरूलाई सुधार गर्ने किसिमको हुनुपर्छ।) ठीक भनिस्। सबैभन्दा आधारभूत रूपमा, तैँले सत्य कुरा भन्‍नुपर्छ, इमान्दारीपूर्वक बोल्‍नुपर्छ, र अरूलाई फाइदा पुर्‍याउनुपर्छ। कम्तीमा पनि, बोलीवचनले मानिसहरूलाई सुधार गर्नुपर्छ, अनि छल्‍ने, बहकाउने, हाँसोमा उडाउने, व्यङ्ग गर्ने, अपमान गर्ने, गिल्‍ला गर्ने, बन्देज लगाउने, तिनीहरूका कमजोरीहरू खुलासा गर्ने, र तिनीहरूलाई निन्दा गर्ने वा चोट पुर्‍याउने गर्नु हुँदैन। यो सामान्य मानवताको अभिव्यक्ति हो। यो मानवजातिको सद्‌गुण हो। … मानिसका कमजोरीहरू खुलासा गर्नुहुँदैन भन्‍नुको अर्थ के हो? यसको अर्थ अरू मान्छेलाई दोष नलगाउनु भन्‍ने हो। तिनीहरूलाई आलोचना गर्न वा दोष दिन तिनीहरूको विगतका गल्ती वा कमीकमजोरीहरू कोट्याउनु हुँदैन। तैँले कम्तीमा पनि यति गर्नुपर्छ। सक्रिय पक्षलाई हेर्दा, सुधार गर्ने खालको बोलीवचन कसरी व्यक्त गरिन्छ? यो मुख्यतः प्रोत्साहन दिने, अभिमुखीकरण गर्ने, अगुवाइ गर्ने, सल्‍लाह दिने, बुझ्‍ने, र सान्त्वना दिने कार्य हो। यसको साथै, कतिपय विशेष अवस्थाहरूमा, अरू मानिसहरूको गल्तीलाई सीधै खुलासा गरेर तिनीहरूलाई काटछाँट गर्नुपर्ने आवश्यकता हुन्छ, ताकि तिनीहरूले सत्यताको ज्ञान र पश्‍चात्ताप गर्ने इच्‍छा प्राप्त गर्न सकून्। त्यसपछि मात्रै उचित प्रभाव हासिल हुन्छ। यस प्रकारको अभ्यासले मानिसहरूलाई ठूलो फाइदा दिन सक्छ। यो तिनीहरूको लागि वास्तविक सहयोग हो, र यसले तिनीहरूलाई सुधार गर्छ, होइन र? उदाहरणको लागि, मानौँ तँ औधी नै स्वेच्‍छाचारी र अहङ्कारी छस्। यसबारेमा तँलाई कहिल्यै थाहा थिएन, तर तँलाई राम्ररी चिन्‍ने व्यक्ति आउँछ, र तँलाई समस्या सीधै बताइदिन्छ। तैँले मनमनै विचार गर्छस्, ‘के म स्वेच्‍छाचारी छु? के म अहङ्कारी छु? कसैले पनि मलाई यसो भन्‍ने आँट गरेन, तर उसले मलाई बुझेको छ। उसले यस्तो कुरा भन्‍न सक्यो, यसले यो साँचो हो भन्‍ने जनाउँछ। मैले यसबारेमा केही समय मनन गर्नुपर्छ।’ त्यसपछि, तपाईंले त्यस व्यक्तिलाई भन्‍नुहुन्छ, ‘अरूले मलाई राम्रा कुराहरू मात्रै भन्छन्, तिनीहरूले मेरो गुणगान गाउँछन्, कसैले पनि मसँग यति व्यक्तिगत कुरा गर्दैन, कसैले पनि मलाई कहिल्यै मेरा यी कमीकमजोरी र समस्याहरूलाई औँल्याइदिएका थिएनन्। तपाईंले मात्रै मलाई बताउन, र यति व्यक्तिगत कुरा गर्न सक्‍नुभयो। मेरो लागि यो निकै राम्रो, निकै ठूलो सहयोग हो।’ हृदयदेखि कुरा गर्नु भनेको यही हो, होइन र? अलिअलि गर्दै, अर्को व्यक्तिले आफ्‍नो मनको कुरा, तेरो बारेमा आफ्नो विचार बतायो, र आफूसँग यस विषयमा धारणा, कल्‍पना, नकारात्मकता र कमजोरी रहेको, तर सत्यताको खोजी गरेर त्यसबाट उम्‍कन सकेको आफ्नो अनुभव बतायो। हृदयदेखि कुरा गर्नु भनेको यही हो, आत्मा-आत्माबीचमा सञ्चार हुनु भनेको यही हो(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। मैले परमेश्‍वरका वचनहरूबाट स्पष्ट रूपमा के बुझेँ भने सच्‍चा असल मानवता भनेको दयालु, कारुणिक र व्यावहारिक हुनु होइन, र यो सधैँ पारस्परिक सम्बन्धलाई बुझ्नु र जोगाउनु, र अरूको सहमति प्राप्त गर्नु होइन, बरु यो परमेश्‍वर र अरूप्रति सच्‍चा हुनु, र मानिसहरूलाई इमानदारीसाथ व्यवहार गर्नु हो। यदि तपाईंले झूटा अगुवा, ख्रीष्टविरोधी, वा दुष्टहरूले मण्डलीका काममा बाधा पुर्‍याइरहेको देख्‍नुभयो र मण्डलीको काम रक्षा गर्न सत्यताका सिद्धान्तहरू कायम राख्‍न सक्‍नुभयो भने, यदि तपाईं अरूका समस्याहरू औँल्याउन, तिनीहरूलाई सङ्गति र सहयोग गर्न र यसरी तिनीहरूलाई वचन र काममा सुधार्न सक्‍नुहुन्छ भने—त्यो मात्रै साँचो रूपमा असल व्यक्ति बन्‍नु हो। यदि तपाईं आफ्नो इज्‍जत र हैसियत मात्र विचार गर्नुहुन्छ, यदि तपाईं कसैले मण्डलीको काममा बाधा पुर्‍याइरहेको देख्‍नुहुन्छ तर त्यसलाई खुलासा गरेर रोक्‍नुहुन्‍न, र परमेश्‍वरको इच्छालाई बेवास्ता गर्नुहुन्छ भने, अरूसँग जति नै राम्रो सम्बन्ध भए पनि, तपाईं असल व्यक्ति हुनुहुन्‍न, बरु तपाईं स्वार्थी, नीच, तुच्छ व्यक्ति हुनुहुन्छ। पहिले, म “मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू” भन्‍नेजस्ता शैतानी दर्शनहरू अपनाउनु समझदार र सहनशील हुनु हो, र यो राम्रो कुरा हो भनेर सोच्थेँ। अहिले मलाई यो परमेश्‍वरको भनाइ “मानिसका कमजोरीहरू खुलासा गर्नुहुँदैन” भन्दा पूर्ण फरक रहेछ भनेर थाहा भयो। परमेश्‍वरको त्यो भनाइको अर्थ, मानिसहरूको गल्ती नखोज्नू वा तिनीहरूलाई आलोचना र निन्दा गर्न तिनीहरूको कमजोर पक्षलाई नहेर्नू, बरु तिनीहरूलाई उचित तरिकामा व्यवहार गर्नू भन्‍ने हो। सामान्य मानवतामा हुनुपर्ने कुरा त्यही हो। र शैतानले हामीलाई आफ्नो छवि र हैसियत जोगाउन, र अरूका समस्या नऔँल्याउन लगाउन हाम्रो मगजमा “मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू” भन्‍नेजस्ता विचारहरू हालिदिन्छ, त्यसैले हामी झन्झन् स्वार्थी र धूर्त बन्छौँ र हामीमा सामान्य मानवता हुँदैन। कुनै व्यक्ति जति नै असल देखिए पनि, यो केवल आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने ढोँग र छल हो। त्यो साँच्‍चै असल व्यक्ति बन्‍नु होइन। यदि हामी भ्रष्टाचारद्वारा नियन्त्रित छैनौँ, र अरूले वास्तविक ज्ञान पाऊन् र पश्‍चात्ताप गर्न सकून भनी, तिनीहरूलाई सचेत गराउँछौँ र सत्यता सङ्‍गति गरेर मद्दत गर्छौँ भने, त्यसले हामीमा असल मानवता र प्रेम रहेछ भन्‍ने देखाउँछ।

मैले पढेको अर्को खण्ड पनि थियो जसले मलाई अभ्यासको स्पष्ट मार्ग दियो। परमेश्‍वरका वचनहरूले भन्छ, “परम्‍परागत संस्कृतिअनुसारका असल व्यवहारसम्‍बन्धी भनाइहरूबारे सङ्गति गरेपछि, के तिमीहरूले तिनका बारेमा कुनै बुझाइ प्राप्त गर्‍यौ? यस्तो असल व्यवहारलाई तिमीहरूले कसरी लिनुपर्छ? कतिले भन्‍न सक्छन्, ‘आजदेखि, म प्राज्ञिक, मिलनसार, वा शिष्ट व्यक्ति बन्दिनँ। अबदेखि म कथित “असल” व्यक्ति बन्‍नेछैनँ; म ठूलालाई आदर गर्ने वा सानालाई माया गर्ने व्यक्ति बन्‍नेछैनँ; म राम्रो र मिलनसार व्यक्ति बन्‍नेछैनँ। यो कुनै पनि सामान्य मानवताको सामान्य प्रकटीकरण होइन; यो त छलपूर्ण व्यवहार हो जुन झुटो र गलत छ, र यसले सत्यता अभ्यासको स्तर पूरा गर्दैन। म कस्तो व्यक्ति हुनेछु? म इमानदार व्यक्ति हुनेछु; म इमानदार व्यक्ति भएर यो सुरु गर्नेछु। बोलीवचनमा, म अशिक्षित, नियमहरू नबुझ्‍ने, ज्ञान नभएको, र अरूले हेप्‍ने व्यक्ति हुन सक्छु, तर म इमानदारीसाथ, कुनै झुटविना खुलस्त बोल्‍नेछु। मैले व्यक्तिको रूपमा र व्यवहारमा नाटक र देखावटी व्यवहार गर्नेछैनँ। हरेकपटक बोल्दा, म हृदयदेखि बोल्‍नेछु—मनभित्र सोचेको कुरा नै भन्‍नेछु। यदि कुनै व्यक्तिप्रति ममा घृणा छ भने, म आफूलाई जाँच्‍नेछु र तिनहरूलाई चोट पुर्‍याउने खालको केही कुरा भन्‍नेछैनँ; म सुधार गर्ने खालका कुराहरू मात्रै गर्नेछु। बोल्दा, म आफ्‍नो व्यक्तिगत फाइदालाई ध्यान दिनेछैनँ, न त आफ्‍नो प्रतिष्ठा वा इज्‍जतको बन्धनमै पर्नेछु। साथै, म मानिसहरूलाई मेरो आदर गर्न लगाउने अभिप्राय बोक्‍नेछैनँ। परमेश्‍वर खुशी हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने कुरालाई मात्रै महत्त्व दिनेछु। मानिसहरूलाई चोट नपुर्‍याउनु नै मेरो आधारभूत व्यवहार हुनेछ। म जे गर्छु त्यो परमेश्‍वरका मापदण्डहरूअनुसार हुनेछन्; म अरूलाई हानि गर्ने कुराहरू गर्नेछैनँ, न त परमेश्‍वरको घरका हितहरूलाई हानि गर्ने कामहरू नै गर्नेछु। म अरूका लागि फाइदाजनक कुराहरू मात्रै गर्नेछु, इमानदार व्यक्ति, र परमेश्‍वरलाई खुशी पार्ने व्यक्ति बन्‍नेछु।’ के यो व्यक्तिमा आएको परिवर्तन होइन र? यदि तिनीहरूले साँच्‍चै नै यी बोलीवचनहरू अभ्यास गरे भने, तिनीहरू साँचो रूपमा परिवर्तन भएका हुनेछन्। तिनीहरूको भविष्य र नियति परिवर्तन भएर असल हुनेछन्। तिनीहरूले चाँडै नै सत्यता खोजी गर्ने मार्ग सुरु गर्नेछन्, सत्यताको वास्तविकतामा चाँडै प्रवेश गर्नेछन्, र मुक्ति पाउने आशासहितको व्यक्ति बन्‍नेछन्। यो राम्रो र सकारात्मक कुरा हो(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। मैले परमेश्‍वरका वचनहरू मनन गरेर के बुझेँ भने परमेश्‍वरले चाहनुभएजस्तै इमानदार व्यक्ति बनेर र इमानदारीपूर्वक बोलेर आपसी व्यवहारमा कपटरहित भएर, सबै कुरामा परमेश्‍वरका वचनहरूलाई आधार बनाएर र सत्यतालाई मापदण्ड मान्दै जिएर, हामी क्रमिक रूपमा शैतानको विषको बन्धनबाट मुक्त हुन र अझ धेरै मानव स्वरूप प्राप्त गर्न सक्छौँ। अरूले मलाई कसरी हेर्छन् भनेर सोच्न छोड्न, र पारस्परिक सम्बन्धलाई जोगाउन छोड्न मैले परमेश्‍वरलाई प्रार्थना गरेँ। म केवल परमेश्‍वरलाई सन्तुष्ट पार्ने इमानदार व्यक्ति बन्‍न चाहन्थेँ। त्यसैले, मैले माथिल्लो तहका अगुवालाई सू किङका समस्याबारे फेरि बताएँ र पत्र सम्पादन गर्नुको मेरो गलत मनसायबारे खुलस्तसित बताएँ। त्यसो गरेपछि अन्ततः मलाई अलिक शान्ति र सहज महसुस भयो। केही दिनपछि, माथिल्लो तहका अगुवाले त्यो जाँचे र सू किङ झूटा अगुवा रहिछन् भन्‍ने निर्धारण गरे र उनलाई सिद्धान्तअनुसार बर्खास्त गरे।

केही समयपछि, मैले अर्को उजुरी पत्र सम्हाल्नुपऱ्यो। आरोप लगाउने सिस्टर लिन मिनले उनकी मण्डली अगुवा सिस्टर झाङ यू झूटा अगुवा भएको रिपोर्ट गरेकी थिइन्। यसको जाँच गर्दा, मैले झाङ यू हाल खराब स्थितिमा रहेको र त्यसले गर्दा उनको कर्तव्य प्रभावकारी नभएको, तर सामान्यतया उनी वास्तविक काम गर्न र अरूलाई समस्या समाधान गर्न मद्दत दिन सक्षम रहेको देखेँ। उनी झुटा अगुवा थिइनन्। लिन मिनले रिपोर्ट गरेको कुरा सत्य थियो, तर उनी अलिक अहङ्कारी थिइन्। उनलेग झाङ यूको काममा भएका त्रुटि र कमीकमजोरीप्रति सही दृष्टिकोण राखिनन्, र उनको परिस्थितिलाई पूर्ण रूपमा बुझिनन्। उनले आँखा चिम्लेर झाङ यू झूटा अगुवा हुन् भनेर बताइन्। उनले समस्यालाई बढाइचढाइ गरिरहेकी थिइन् र यो सिद्धान्तहरूअनरूप थिएन—यसले तिनलाई चोट पुऱ्याउन सक्थ्यो। मैले लिन मिनसँग सङ्‍गति गरेर उनका समस्याहरू औँल्याउनुपर्थ्यो। म सोच्दै थिएँ, यसपटक मैले सत्यता अभ्यास गर्नुपर्छ र उनलाई समस्या औँल्याइदिनुपर्छ। तर म लिन मिनसँग भेट्न जाँदै गरेको दिन, मलाई अझै केही चिन्ता लागेको थियो। लिन मिनले भर्खरै मलाई कठिनाइमा पर्दा मद्दत गरेकी थिइन्, र पहिले उनमा मेरो साँच्‍चै राम्रो छाप परेको थियो। यदि मैले उनलाई समीक्षाको नतिजा खुलाएँ र उनका समस्याहरू बताएँ भने, के उनले यसलाई गलत बुझेर आफूलाई अन्याय भएको ठान्दिनन्, र मप्रति गलत धारणा राख्दिनन्? त्यसपछि मलाई आफू सही स्थितिमा नभएको महसुस भयो, त्यसैले मैले तुरुन्तै हृदयबाट परमेश्‍वरलाई मनमनै प्रार्थना गरेँ, “हे परमेश्‍वर, म शैतानी दर्शनहरू पछ्याउने र आफ्ना सम्बन्धहरूलाई फेरि जोगाउनेबारे सोच्दै छु। कृपया मलाई अन्तर्दृष्टि र ज्योति दिनुहोस्, ताकि म आफ्नो देहसुख त्याग्‍न सकूँ। नतिजा जस्तो भए पनि, म अबदेखि आफ्नो प्रतिष्ठालाई विचार गर्न चाहन्‍नँ। म सत्यता अभ्यास गर्न र यी सिस्टरलाई साँचो रूपमा मद्दत गर्न चाहन्छु।” मैले केही दिनअघि पढेको परमेश्‍वरका वचनहरूको एउटा खण्ड मलाई याद आयो: “जब कसैले आफ्नो व्यक्तिगत अभिप्राय र योजना पनि संलग्‍न रहेको कुनै परिस्थितिको सामना गर्छ, र जब कसैको भ्रष्ट स्वभाव स्पष्ट रूपमा देखिन्छ, यस बेला उसले आफ्‍नो बारेमा मनन गरेर सत्यता खोजी गर्नुपर्छ, र परमेश्‍वरले त्यस व्यक्तिलाई जाँच गर्ने महत्त्वपूर्ण क्षण पनि त्यही हो। त्यसै गरी, तैँले सत्यता खोजी गर्न, सत्यता स्विकार्न र साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छस् कि सक्दैनस् भन्‍ने नै व्यक्तिको सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्छ। … तैँले पश्‍चात्ताप गर्ने योजना बनाउँछस्; तैँले थोरै भए पनि त्यो अभिप्राय राख्छस्, र तैँले यस कुरालाई पहिलेभन्दा दह्रिलो रूपमा चाहन्छस्, तर तैँले वास्तवमा पश्‍चात्ताप गर्नको लागि कति समय लाग्छ कसलाई के थाहा? यदि तैँले पश्‍चात्ताप गर्ने ठोस कदमहरू लिएको वा ठोस योजना बनाएको छैनस् भने, त्यो साँचो पश्‍चात्ताप होइन। तैँले यसलाई वास्तविक व्यवहारमा पनि उतार्नुपर्छ। जब तैँले यसलाई वास्तविक व्यवहारमा उतार्छस्, तब त्यसपछि परमेश्‍वरको काम आउनेछ(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (२))। त्यो सही हो। मैले यो मामिला सामना गर्दा, साँच्‍चै पश्‍चात्ताप गरेकी छु कि छैनँ, सत्यता अभ्यास गर्न रोज्छु कि आफ्नो आत्मगौरव र हित रक्षा गर्न रोज्छु भनेर हेर्न परमेश्‍वरले मेरो हृदय जाँच्दै हुनुहुन्थ्यो। त्यसपछि, मैले आफ्नो मनसाय सुधारेर लिन मिनसँग सङ्‍गति गरेँ। पछि, लिन मिनले मैले उनका समस्याहरू औँल्याइदिएको कारण मप्रति पूर्वाग्रह राखिनन् बरु उनले आत्मचिन्तन गरिन् र परमेश्‍वरका वचनहरूमार्फत आफूबारे केही सिकिन्, र के भनिन् भने, त्यसरी खुलासा नगरिएको भए उनले आफू अहङ्कारी भएको र आफूले झाङ यूलाई राम्रोसँग व्यवहार नगरिरहेको कुरा थाहा पाउँदिनथिन्। उनले सत्यताको अभ्यास र मण्डलीको कामको रक्षा गरिरहेकी छु भन्‍ने ठान्‍ने थिइन्। लिन मिनले पनि खुलस्त हुँदै यो समस्या कसरी हल गर्ने भनेर सोधिन् र हामीले एकअर्कासित सङ्गति गर्‍यौँ। हामी अझै घनिष्ट नै रहेको र हामीबीच कुनै बाधा नभएको महसुस भयो। म त्यो क्षण निकै उत्प्रेरित भएँ र मलाई साँचो रूपमा थाहा भयो, परमेश्‍वरका वचन र सत्यताअनुसार जिउनु र व्यवहार गर्नु मात्र मानिसहरूलाई वास्तवमै फाइदा र मद्दत गर्न सक्‍ने कुरा रहेछ। मलाई ढुक्‍क र शान्ति महसुस भयो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अभिमानबाट उम्‍कन सजिलो छैन

जुलाइ २०२० मा, भिडियो बनाउने कामका आवश्यकताहरूको कारण, मेरो सुपरभाइजरले मलाई भिडियोहरू बनाउने काम दिइन्। त्यो बेला, मलाई अत्यन्तै खुशी...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्