कर्तव्यमा मेहनत नगर्दा मलाई हानि पुग्यो

17 डिसेम्बर 2024

सन् २०१८ मा, म मण्डलीमा भिडियो इडिटरको रूपमा काम गरिरहेको थिएँ। सुरुमा त, मेरो पृष्ठभूमि भिडियो इडिटिङ नभएको र मलाई सम्‍बन्धित सिद्धान्तहरूबारे थाहा नभएको कारण, मैले मेहनतसाथ अध्ययन गरेँ र चाहिने सीपहरूमा पोख्त हुने प्रयास गरेँ। केही समयपछि, मेरो प्राविधिक सीपमा धेरै सुधार आयो र मलाई समूह अगुवा छनौट गरियो। म निकै उत्साहित भएँ र आफ्‍नो कर्तव्य पूरा गर्न अझै परिश्रम गर्ने इच्‍छा जाग्यो। पछि, हाम्रो एउटा निकै जटिल भिडियो प्रोजेक्टमा समस्या आयो, र अगुवाले मलाई त्यसबारे जाँच्न र समस्या समाधान गर्न पठाए। जटिल कामको बोझ र कमजोर क्षमता भए पनि, सुरुमा समाधानहरू पत्ता लगाउन मैले ब्रदर-सिस्टरहरूसँग मिलेर काम गरेँ। तर केही समयसम्‍म परिश्रम गरेपछि काम सहज रूपमा अघि बढ्न थाल्यो र मेरो प्राविधिक सीप पनि सुध्रियो, त्यसपछि म अल्छी बन्‍न थालेँ। मैले मनमनै सोचेँ: “यो प्रोजेक्ट अधिकतम रूपमा अघि बढिरहेको नभए पनि, यो पहिलेभन्दा निकै राम्रो छ। मैले सबै कुरा अहिलेजस्तै अघि बढाइरहे पुग्छ। त्यति धेरै जाँचिरहनु पर्दैन। सधैँ तनावमा हुनु थकाइलाग्दो हुन्छ।” त्यसपछि, म नयाँ सीपबारे बिरलै खोजी गर्थेँ र कामबारे थप कुरा सिक्‍न बेवास्ता गर्थेँ। एकदुई पटक, मैले सम्पादन गरेका भिडियोहरूमा समस्या आए र अरूले मलाई मेरो कार्यप्रस्तुति सुधार्न सुझाव दिए। तिनीहरूले भनेको सही छ भन्‍ने थाहा पाएर पनि, मैले मनमनै सोचेँ: “यतिकैमा पनि मैले गर्नुपर्ने काम पर्याप्त छ। यदि मैले अध्ययनको लागि थप समय निकालेँ भने—यो थकाइलाग्दो त हुन्छ नै, अनि—यो थप समय र ऊर्जा खर्चेपछि पनि, नतिजा राम्रो आएन भने के गर्ने? के त्यो थप काम सबै व्यर्थ हुनेछैन र?” त्यसकारण मैले अरूको सुझावलाई ध्यान दिइनँ। त्यसपछि, अगुवाले हाम्रो कामको प्रगतिमा ढिलाइ भएको थाहा पाए र समस्या के हो पत्ता लाउन मलाई अनुरोध गरे। मेरा साझेदार सहकर्मीले मलाई बारम्‍बार यो समस्या सुल्झाउन सम्झाए। त्यो बेला, म अलिक अटेरी भएँ। मैले सोचेँ: “हाम्रो प्रगति अलिक सुस्त हुन सक्छ, तर हामीले पहिलेभन्दा राम्रो परिणाम प्राप्त गरिरहेका छौँ। हामीले यो काममा हतारिनु हुँदैन।” तर भित्री मनमा चाहिँ थाहा थियो, यदि मैले कामबारे अझै होसियारीसाथ योजना बनाएँ भने, सुधारको लागि प्रशस्तै ठाउँ हुनेछ। तर मैले पहिले नै लिनु परेको कामको तनावबारे, अनि यो प्रोजेक्टमा थप समय बिताउँदा कति थकाइलाग्दो हुन्छ भन्‍नेबारे सोच्दा, मैले यसलाई फेरि थाती राखेँ। पछि, अगुवाले मलाई यो समस्याको बारेमा दुईपटक सम्झाए त्यसपछि मात्रै मैले परिस्थितिबारे मन नलागीनलागी समीक्षा गरेँ। तैपनि, अन्तिममा, मैले उचित समाधान भेट्टाउन सकिनँ।

त्यसपछि, मलाई समूहको कामबारे विचार गर्न वा प्रगतिको लागि त्याग गर्न मन लाग्‍न छोड्यो। खाली समय हुँदा, मलाई आराम गर्न मन लाग्थ्यो, र कहिलेकहीँ त अबेरसम्‍म सुतेर काममा ढिलाइसमेत गराउँथेँ। कामको लागि दौडधुप गर्दा, आफ्‍नो कर्तव्यबाट पन्छिँदै म बाहिर धेरै समय बिताउँथेँ। हाम्रो काममा चाप नहुँदा पनि, म आफ्‍नो सीप कसरी सुधार्ने भनेर सोच्दिनथेँ बरु मौका पाउनेबित्तिकै आराम गर्थेँ। त्यसरी, म झन्झन् अल्छी बन्दै गएँ, अनि कामको निगरानी गर्दा र काम बाँडफाँट गर्दा झारा मात्रै टारिरहन्थेँ। अरूलाई आफ्नो कामका गल्ती जाँच्‍न लगभग कहिल्यै सहयोग गर्दिनथेँ, र समस्याहरू देखा पर्दा, तिनलाई कसरी समाधान गर्ने भनेर विचारै गर्दिनथेँ। यसले गर्दा, हामीले तोकिएको समयभन्दा पहिल्यै पूरा गर्न सकिने भिडियोहरूलाई पनि थन्क्याएर राख्‍न थाल्यौँ। त्यो अवधिमा, मैले सम्पादन गरेका भिडियोहरूमा निरन्तर समस्या देखिन थाले र मेरो समूहका कुनै पनि ब्रदर-सिस्टरले आफ्‍नो काममा सुधार गरेनन्। काममा थोरै कठिनाइ आए पनि, सबैले गुनासो गर्न थालिहाल्थे। मैले सङ्गतिद्वारा यसलाई समाधान गर्न नसकेको मात्र होइन, बरु आफै गुनासो गर्दै यसलाई हुन दिइरहेँ। म आफ्‍नो व्यावहारिक काममा असफल भएकोले र अगुवाले मलाई धेरैपटक सङ्गति दिँदा पनि ममा सुधार नआएकोले, मलाई चाँडै नै समूह अगुवाको पदबाट बर्खास्त गरियो। बर्खास्त भएपछि मलाई साह्रै नरमाइलो लाग्यो, अनि परमेश्‍वरसँग प्रार्थना गर्दै आत्मसमीक्षा गरेँ।

एक दिन, भक्तिको समयमा, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “कतिपय मानिसहरू आफ्‍नो कर्तव्यमा कष्ट भोग्‍ने पटक्कै इच्छा गर्दैनन्, समस्यामा पर्नेबित्तिकै गुनासो गर्छन् र मूल्य चुकाउन मान्दैनन्। यो कस्तो प्रकारको मनोवृत्ति हो? यो लापरवाही मनोवृत्ति हो। तैँले लापरवाहीसित आफ्‍नो कर्तव्य पूरा गर्दा, र यसलाई हल्कासित लिँदा परिणाम के हुन्छ? तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्‍ने भए पनि, कर्तव्य निर्वाह गर्दा तेरो कार्यप्रदर्शन नराम्रो हुनेछ—तेरो कार्यप्रदर्शन मापदण्डको स्तरमा पुग्‍नेछैन, र तेरो कर्तव्यप्रतिको तेरो मनोवृत्तिप्रति परमेश्‍वर सन्तुष्ट हुनुहुनेछैन। यदि तैँले परमेश्‍वरलाई प्रार्थना गर्न, सत्यता खोज्न, र यसमा आफ्‍नो सारा हृदय र मन लगाउन सकेको भए, यदि तैँले यस्तो सहकार्य गर्न सकेको भए, परमेश्‍वरले पहिले नै तेरो लागि सबै कुरा तयार गरिदिनुहुन्थ्यो, ताकि तैले कामकुराहरू गर्दा ती सबै उचित ठाउँमा परून्, र नतिजा राम्रो आऊन्। तैँले त्यति धेरै शक्ति लगाउनु पर्दैन; जब तैँले सहकार्यमा कुनै प्रयास लगाउँदैनस्, तब परमेश्‍वरले पहिले नै सबै कुराको बन्दोबस्त गरिसक्‍नुभएको हुनेछ। यदि तँ छट्टू र धोकेबाज छस् भने, यदि तँ आफ्नो कर्तव्यप्रति उदासीन छस् र सधैँ बाटो बिराउँछस् भने, परमेश्‍वरले काम गर्नुहुनेछैन; तैँले यो अवसर गुमाउनेछस्, र परमेश्‍वरले यसो भन्‍नुहुनेछ, ‘तँ उपयुक्त छैनस्; तेरो कुनै काम छैन। जा, पाखा लाग्। तँलाई चलाक र विश्‍वासघाती हुन मन पर्छ, होइन त? तँलाई अल्छे हुन र आरामसाथ व्यवहार गर्न मन पर्छ, होइन त? ठिकै छ, सधैँभरी आरामसाथ व्यवहार गर्!’ परमेश्‍वरले यो अनुग्रह र अवसर अर्को कुनै व्यक्तिलाई दिनुहुनेछ। तिमीहरू के भन्छौ: यो हार हो कि जित हो? (हार।) यो ठूलो हार हो!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढेपछि, आफू समूह अगुवा हुँदाको समयबारे सोचेँ। म परमेश्‍वरका वचनहरूले प्रकट गरेजस्तै रहेछु भन्‍ने थाहा भयो। म आफ्‍नो कर्तव्यप्रति अनादरकारी, गैरजिम्‍मेवार र सुस्त थिएँ, म प्रयास गर्न मान्दिनथेँ। सुरुमा समूह अगुवाको रूपमा काम गर्न थाल्दा, म समय र प्रयास लाउँथेँ, तर मेरो सीपमा सुधार आएपछि र केही परिणाम हासिल भएपछि, म आत्मसन्तुष्ट बनेँ, आफ्‍नो सफलता देखेर आराम गरेँ र सधैँ देहमा रमाएँ। म सधैँ कसरी आराम लिने र सहजसाथ काम गर्ने भनेर मात्रै सोच्थेँ। म काममा सुधार ल्याउन कुनै प्रयास गर्न इच्‍छुक हुँदिनथेँ। समस्याहरू देख्दा पनि, म तिनलाई तुरुन्तै समाधान गर्दिनथेँ, र अरूले ती औँल्याउँदा, म बेवास्ता गर्थेँ। समूह अगुवाको रूपमा मैले समूहका अरूले आफ्‍ना समस्याहरूबारे गुनासो गरेका देख्दा, म तिनीहरूका समस्या सुल्झाउन सत्यता सङ्गति गर्न असफल त हुन्थेँ नै, साथमा तिनीहरूसँगै होमा हो मिलाउँदै सहमतिसमेत जनाउँथेँ। म भिडियो बनाउने काममा जति नै ढिलाइ भए पनि वा मानिसहरूको समस्या जति धेरै भए पनि, त्योसँग मेरो कुनै सम्‍बन्ध छैनजस्तै व्यवहार गर्थेँ। म खुसीसाथ बस्‍न र थकाइमा पर्नबाट मात्रै जोगिन चाहन्थेँ। फलस्वरूप, हामीले बनाएका भिडियोहरूमा निरन्तर समस्या देखिए जसले गर्दा कार्यप्रगतिमा धेरै ढिलाइ भयो। मैले अत्यन्तै महत्त्वपूर्ण कर्तव्यलाई तुच्‍छ ठानिरहेको थिएँ; आफ्‍नो देहको सहजता र आरामको खातिर, म काम गरेजस्तो गर्न, र परमेश्‍वर र अरूलाई छल्न तयार थिएँ। परमेश्‍वरप्रति मेरो आदर कहाँ थियो? कामप्रतिको त्यस्तो मनोवृत्तिलाई परमेश्‍वरले घृणा र इन्कार गर्नुहुन्छ। मेरो काममा देखिएका सबै समस्याहरूबारे सोच्दा लाग्छ, यदि मैले समय लिएर त्यागहरू गरेको भए, यति खराब अवस्था आइपर्ने थिएन। तर म अल्छी थिएँ र म कष्ट भोग्‍न वा थकाइ सहन चाहन्‍नथेँ। फलस्वरूप, मैले भिडियो बनाउने काममा हानि गरेँ। म यति स्वार्थी, घृणित र लाजमर्दो थिएँ! म यति नीच र पतित भएको थिएँ तर मैले पत्तोसमेत पाइनँ! परमेश्‍वरले योजनाबद्ध रूपमा मलाई सम्झाउनुभएको थियो तर मैले अझै मनन र पश्‍चात्ताप गरिनँ। म कसरी यति अचेत र हठी बन्‍न सकेँ? यो सब महसुस गरेपछि, मलाई पछुतो र दुःख लाग्यो। म कति गैरजिम्‍मेवार र लाजमर्दो थिएँ भन्‍ने हेर्दा त म अगुवा बन्‍नसमेत लायक रहेनछु। मेरै गल्तीको कारण मलाई बर्खास्त गरिएको रहेछ।

एक दिन, भक्तिको समयमा, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड भेटेँ: “जिम्मेवारीबोध भएका व्यक्तिहरूलाई विचार गर्, तिनीहरूलाई केही कुरा भन्दा वा तिनीहरूलाई केही निर्देशन दिँदा, चाहे त्यो अगुवा र सेवकबाट आएको होस् वा माथिबाट आएको होस्, तिनीहरू सधैँ यस्तो सोच्नेछन्, ‘हो, तिनीहरूले मेरो इज्‍जत गर्छन्, त्यसैले मैले यो काम राम्ररी सम्हाल्नैपर्छ र तिनीहरूलाई निराश तुल्याउनु हुँदैन।’ के तँ यस्तो विवेकी र समझदार व्यक्तिलाई कुनै काम सुम्पने आँट गर्छस्? तैँले काम सुम्पन्‍न सक्‍ने व्यक्ति भनेको तँलाई भरपर्दो र असल लाग्‍ने व्यक्ति हो। यस्ता व्यक्तिहरूप्रति तँ राम्रो सोच्छस्, र तिनीहरूलाई इज्‍जत गर्छस्। विशेष गरी, यदि तिनीहरूले तेरा लागि गरेका सबै कामकुरा एकदमै होसियासीसाथ र तेरा आवश्यकताहरू पूर्ण रूपमा पुरा गर्ने गरी गरिएका छन भने, तँलाई ती व्यक्तिहरू भरपर्दा लाग्‍नेछन्। तैँले मनमा तिनीहरूको निकै प्रशंसा र आदर गर्नेछस्। मानिसहरू यस्ता व्यक्तिसँग सङ्गत गर्न रुचाउँछन्, झन् परमेश्‍वरसँग सङ्गत गर्न नरुचाउने त कुरै आउँदैन। के मान्छेले गर्नुपर्ने कर्तव्य परमेश्‍वरले कोही भरनपर्दो व्यक्तिलाई सुम्पनुहुन्छ भन्‍ने तँलाई लाग्छ? (अहँ, उहाँले सुम्पनुहुन्‍न।) परमेश्‍वरले मण्डलीमा कुनै खास काम सुम्पनुभएका व्यक्तिहरूबाट उहाँ के अपेक्षा गर्नुहुन्छ? पहिलो, परमेश्‍वर तिनीहरू जिम्मेवार र लगनशील बनून्, तिनीहरूले कामलाई ठूलो महत्त्वकासाथ लिऊन् र त्यसलाई राम्ररी पूरा गरून् भन्‍ने आशा गर्नुहुन्छ। दोस्रो, तिनीहरू भरोसायोग्य व्यक्ति बनून्, तिनीहरूलाई जति समय लागे पनि, र तिनीहरूको परिस्थिति जसरी परिवर्तन भए पनि, तिनीहरूमा जिम्मेवारीबोध नडगमगाओस्, र परीक्षामा तिनीहरूको चरित्र खरो उत्रियोहोस् भन्‍ने आशा गर्नुहुन्छ। यदि तिनीहरू भरपर्दा व्यक्ति हुन् भने, परमेश्‍वर आश्‍वस्त हुनुहुन्छ। उहाँले अबउप्रान्त यस मामिलाको निगरानी वा अनुगमन गर्नुहुनेछैन किनभने उहाँले मनैदेखि तिनीहरूलाई भरोसा गर्नुहुन्छ। जब परमेश्‍वर तिनीहरूलाई यो काम दिनुहुन्छ, तिनीहरूले यसलाई कुनै भूलचूकबिना गर्ने निश्‍चित हुन्छ(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरका वचनहरूबाट मैले थाहा पाएँ, मानवता भएको व्यक्ति आफ्‍नो काममा जिम्‍मेवार हुन्छ, उसले परमेश्‍वरको सूक्ष्म जाँच स्विकार्न सक्छ, र परिस्थिति जस्तोसुकै आइपरे पनि, आफ्‍नो कर्तव्यमा दृढ रहन, र सिद्धान्तअनुसार आफ्‍नो कर्तव्य पूरा गर्न सक्छ। कर्तव्यको क्रममा हामीमा हुनुपर्ने मनोवृत्ति यही हो। मण्डलीले मलाई भिडियो बनाउने कामको इन्‍चार्ज बनाएको हुनाले, कम्तीमा पनि मैले आफ्‍नो क्षमताले भ्याउञ्‍जेल सक्दो गर्नुपर्थ्यो, र हाम्रो काम सामान्य रूपमा अघि बढिरहको छ भन्‍ने सुनिश्‍चित गर्न काममा देखिएका समस्याहरू समयमै पहिचान गरी सुल्झाउनुपर्थ्यो। तर मैले खुसीसाथ त्यो कर्तव्य लिन सहमति जनाए पनि, पछि, अरूले मलाई निरन्तर सुझाव र सल्‍लाह दिँदा पनि, मैले आफ्‍नै सहजता र आराम मात्रै वास्ता गरेँ, कुनै व्यावहारिक काम गरिनँ। मैले “समूह अगुवा” को पद त लिएँ तर कुनै काम पूरा गर्दिनथेँ, र आफूलाई दिइएका कर्तव्यहरूको आधारभूत काम पूरा गर्नसमेत असफल भएँ। फलस्वरूप, मैले मण्डलीको भिडियो बनाउने काममा ढिलाइ गराएँ। म साँच्‍चै लाजमर्दो र भर नलाग्‍ने व्यक्ति रहेछु! मेरो व्यवहारको आधारमा त, मलाई धेरै पहिले नै निकालिनुपर्थ्यो। परमेश्‍वरको कृपा र सहनशीलताले गर्दा मात्रै मलाई त्यस समूहमा काम गरिरहन दिइएको थियो। त्यो बेला, मैले सोचेँ: “मैले यो अवसरलाई कदर गरेर आफ्‍नो कर्तव्यमा भरमग्‍दुर गर्नुपर्छ।” त्यसपछि, म आफ्‍नो कर्तव्यको वर्तमान अवस्थाप्रति सन्तुष्ट हुन छोडेँ र मलाई दिइएका भिडियोका कामहरू पूरा गर्नेबाहेक, मैले आफ्‍नो प्रभावकारिता बढाउने उपायहरू खोज्‍न थालेँ, हाम्रा समस्याहरू पत्ता लगाएर, समयमै तीबारे समूह अगुवालाई बताउन थालेँ। म अरू सबैसँग समस्याहरू सुल्झाउने उपायबारे पनि छलफल गर्थेँ। यसरी काम गर्दा धेरै थकाइलाग्‍ने भए पनि, आफूले जिम्‍मेवारी पूरा गरिसकेको महसुस हुँदा, मलाई निकै शान्ति र सहज अनुभव हुन्थ्यो।

त्यसको केहीपछि नै, मण्डली अगुवाले ममा सुधार आएको देखे र मलाई एउटा भिडियो प्रोजेक्ट रेखदेख गर्ने काम दिए। मैले काम गर्न पाएको त्यो अवसरलाई कदर गर्दै यसमा भरमग्दुर प्रयत्‍न लाउन चाहेँ। म हरदिन कामको जाँच गर्थेँ र हामीले सामना गरेका सबै समस्याहरू टिपोट गर्थेँ। समस्याहरू देख्‍नेबित्तिकै, तिनलाई सुल्झाउने उपाय खोजिहाल्थेँ र ती सुल्झाउन नसके, समूह अगुवासँग परामर्श र छलफल गर्थेँ। तर केही समयपछि, हामी हाम्रो काममा सफल भइरहेको र मेरो सीपमा सुधार आइरहेको बेला, मेरो पहिलेको आलस्यपन फेरि फर्केर आयो। म सोच्थेँ: “आजभोलि काम सबै समयतालिकाअनुसार नै अघि बढिरहेका छन् र ठूलो समस्या छैन। मैले केही समय आराम गर्नुपर्छ। यदि मैले हरदिन यति धेरै काम गरेँ र धेरै कुराको चिन्ता गरेँ भने, अन्तिममा मैले सक्‍नेभन्दा बढी काम हुनेछ।” यो सोच्‍नेबित्तिकै, म आत्मसन्तुष्ट भएँ, र आफ्‍नो काममा अल्याङटल्याङ गर्न थालेँ, आफ्‍नो सीप सुधार्ने वा समस्या वा गल्तीहरू समाधान गर्नेबारे सोच्‍न छोडेँ, र अरूको कामको अवस्था बुझ्‍ने झमेलासमेत लिन बन्द गरेँ। खाली समय हुँदा, मलाई आराम गर्न मात्रै मन लाग्थ्यो, र कहिलेकहीँ, काम वा अध्ययनको बेला, म समय बिताउन रमाइला भिडियो वा नाटकहरू हेर्थेँ। फलस्वरूप, तोकिएको समयपहिले नै पूरा गर्न सकिने भिडियोहरू थाती रहे र मेरो कार्यप्रदर्शन कमजोर हुन थाल्यो। ती दिनहरूमा, म अलमल्ल र रनभुल्ल हुन्थेँ। भिडियो इडिटिङ् गर्दा, मेरो सोचप्रक्रिया स्पष्ट हुँदैनथ्यो, परमेश्‍वरका वचनहरू पढ्न मन लाग्दैनथ्यो र मभित्र अन्धकार फैलिरहेछ जस्तो लाग्थ्यो। साथै, प्रार्थना गर्दा, म परमेश्‍वरको उपस्थिति महसुस गर्न सक्दिनथेँ। यसरी अघि बढिरहनु खतरनाक हुन्छ भन्‍ने थाहा थियो, तर आफूलाई नियन्त्रण गर्न सक्दिनथेँ र मलाई साँच्‍चै नै पीडा र कष्ट हुन्थ्यो। त्यो बेला, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेटेँ: “यदि विश्‍वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा गैरजिम्मेवार र अनियन्त्रित छन् र अविश्‍वासीहरू जस्तो व्यवहार गर्छन् भने तिनीहरू अविश्‍वासीहरूभन्दा पनि बढी दुष्ट छन्; भूतात्माहरूको असली नमुना हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्‍वरको वचनले सटीक रूपमा मेरो स्थिति प्रकट गरेको आभास भयो। मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै भएको थियो, तैपनि म अझै आफ्‍नो कर्तव्य निभाउन चुक्थेँ र काम गर्ने बेलामा फुर्सद खोजिरहेको हुन्थेँ। यो ममा बफादारी नहुनु मात्रै थिएन; मैले कामका आधारभूत मापदण्डहरूसमेत पूरा नगरेको अवस्था थियो। बाहिरी संसारमा, मान्छेले कम्पनीका नियमहरू पालना गर्नुपर्छ, र काम गर्दा, आफ्‍नो काम लगनशील भएर गर्नुपर्छ, सुस्त बन्‍नु हुँदैन। तर मण्डलीमा आफ्‍नो कर्तव्य निभाउँदा, ममा जिम्‍मेवारीको आधारभूत बोध पनि थिएन, र म आफ्‍नो देहमा रमाउन यतिकै आफ्‍नो कर्तव्यलाई पन्छाउँथेँ। मैले कति मनोमानी र अनियन्त्रित व्यवहार गरेको थिएँ भन्‍ने सोच्दा, के म इसाई भनिनसमेत लायक थिएँ र? मैले आफ्‍नो कर्तव्यमा सेवासमेत दिइरहेको थिइनँ, पर्याप्त रूपमा कर्तव्य पूरा गर्नु त परको कुरा हो। देहमा रमाएकोमा मलाई आफैप्रति घृणा जाग्यो—ममा किन दैहिकता पन्छाउने अलिकति पनि सङ्कल्प भएन? मलाई चीनका ब्रदर-सिस्टरहरूको याद आयो जो आफ्‍नो कर्तव्य त्याग्‍नुभन्दा चिनियाँ कम्युनिस्ट पार्टीको पक्राउ र यातनाको जोखिम रोज्थे तर म त चीनबाट भागेर स्वतन्त्र र प्रजातान्त्रिक देशमा आफ्‍नो कर्तव्य निभाइरहेको थिएँ, र पनि आफ्‍नो काममा थप ध्यान दिन वा केही परित्याग गर्न इच्‍छुक थिइनँ। मैले त पूरै निकम्माले जस्तो व्यवहार गरिरहेको थिएँ—ममा अलिकति पनि मर्यादा वा चरित्र थिएन। यसबारेमा जति विचार गरेँ, त्यति नै मलाई परमेश्‍वर वा अरूको अनुहार हेर्न लाज लाग्यो। त्यो बेला मैले मनन गर्न थालेँ: “देहमा रमाएको र कर्तव्यबाट पन्छिएको कारण म पहिले नै एकपटक असफल भइसकेको छु। किन मैले पहिलेका गल्तीहरूबाट केही सिकेको छैनँ? म किन आफ्‍नो काममा यति लापरवाही र अस्थिर भइरहेको छु?” मैले परमेश्‍वरसँग बारम्‍बार प्रार्थना गरेँ, र आफ्‍नो समस्याको मूल कारण भेट्टाउन सकूँ भनेर अन्तर्दृष्टि मागेँ।

एक दिन, मेरो भक्तिको समयमा, मैले यी खण्डहरू भेट्टाएँ। “किन मानिसहरू निद्रामा हिँडिरहेको जस्तो गरी सधैँ अनुशासनहीन र अल्छी हुन्छन्? यो तिनीहरूको प्रकृतिको समस्यासँग जोडिएको छ। मानव प्रकृतिमा एक प्रकारको आलस्य हुन्छ। मानिसहरूले जुनसुकै काम गरिरहेको भए पनि, तिनीहरूलाई आफूलाई निगरानी र प्रोत्साहन गर्ने कोही सधैँ चाहिन्छ। कहिलेकहीँ मानिसहरू देहमा लिप्त हुन्छन्, भौतिक सहजताको तृष्णा गर्छन्, र सधैँ आफ्‍नो लागि आपत्कालीन योजना बनाउँछन्—यी मानिसहरू अत्यन्तै कुटिल हुन्छन् र यिनीहरू साँचो रूपमा असल मानिस होइनन्। तिनीहरूले जुनै महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेका भए पनि, सधैँ आफूले सक्‍नेभन्दा कम नै गर्छन्। यो गैरजिम्‍मेवार र अबफादारी हो। आज मैले तिमीहरूलाई काममा निष्क्रिय नहुन यी कुराहरू बताएको छु। म जे भन्छु तिमीहरूले त्यो गर्न सक्नैपर्छ(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। “झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, तर अधिकारी कसरी बन्‍ने तिनीहरूलाई थाहा हुन्छ। अगुवा बनेपछि तिनीहरूले गर्ने पहिलो कुरा के हो? तिनीहरूले मानिसहरूको मन जित्‍ने प्रयास गर्न थाल्छन्। तिनीहरूले ‘नयाँ म्यानेजरले राम्रो प्रभाव छोड्नुपर्छ’ भन्‍ने शैली अपनाउँछन्: सुरुमा तिनीहरूले मानिसहरूको मन जित्‍न केही काम गर्छन्, मानिसहरूको जीवन सहज पार्न केही कुराहरू सुरु गर्छन्, तिनीहरूले मानिसहरूमा राम्रो प्रभाव पार्न आफू जनमतको पक्षमा छु भनेर देखाउने प्रयास गर्छन्, ताकि सबैले तिनीहरूको तारिफ गरून् र तिनीहरू आमाबुबाजस्तै हुन् भनेर भनून्, र त्यसपछि तिनीहरूले आधिकारिक रूपमै पद हातमा लिन्छन्। तिनीहरूले अब धेरैजसो मानिसहरूको साथ पाएको र तिनीहरूको पद सुरक्षित भएको महुसस गर्दै हैसियतका फाइदाहरूको आनन्द उठाउनु सही र उचित हुन्छ भन्‍ने सोच्छन्। तिनीहरूका आदर्श वाक्यहरू यस्ता हुन्छन्, ‘खानुपिउनु नै जीवन हो,’ ‘मोजमस्ती गरेर दिनको सदुपयोग गर, किनभने जीवन छोटो छ,’ अनि ‘आजको मद्य आजै पिऊ, भोलिको चिन्ता भोलि नै लिऊ।’ तिनीहरूले हरदिनको आनन्द लिन्छन्, तिनीहरूले जतिसक्दो रमाइलो गर्छन्, र तिनीहरूले भविष्यको बारेमा कुनै विचार गर्दैनन्, अगुवाले के-कस्ता जिम्‍मेवारीहरूबारे विचार गर्नुपर्छ र के-कस्ता कर्तव्य पूरा गर्नुपर्छ भनेर तिनीहरूले विचार गर्नु त परै जाओस्। तिनीहरूले धर्मसिद्धान्तका केही शब्‍द र वाक्यहरू सुगारटाइ गर्छन् र देखाउनका लागि एकदुई वटा काम गर्छन्, तर तिनीहरूले कुनै पनि वास्तविक काम गर्दैनन्। तिनीहरूले मण्डलीमा आउने वास्तविक समस्याहरूलाई पूर्ण रूपमा समाधान गर्नको लागि तिनलाई घोरिएर हेर्ने प्रयास गर्दैनन्। त्यस्तो सतही काम गर्नुको अर्थ के हुन्छ? के यो धोका होइन र? के यस्तो झूटो अगुवालाई गम्‍भीर जिम्‍मेवारी सुम्पन सकिन्छ? के तिनीहरू अगुवा र सेवकहरू छनौट गर्नेसम्‍बन्धी परमेश्‍वरको घरका सिद्धान्त र सर्तहरूअनुरूप हुन्छन्? (हुँदैनन्।) यी मानिसहरूमा कुनै विवेक वा समझ हुँदैन, तिनीहरूमा जिम्‍मेवारीको कुनै बोध हुँदैन, तैपनि तिनीहरू मण्डली अगुवाको रूपमा आधिकारिक पदमा सेवा गर्न चाहन्छन्—तिनीहरू किन यति धेरै लाज पचेका हुन्छन्? जिम्‍मेवारीको बोध भएका कतिपय मानिसहरूको क्षमता कमजोर हुन्छ, र तिनीहरू अगुवा बन्‍न सक्दैनन्—अनि कुनै जिम्‍मेवारीको बोध नभएका रद्दी मानिसहरूको त के कुरा गर्ने र! तिनीहरू त अगुवा बन्‍न झनै अयोग्य हुन्छन्। त्यस्ता सुस्त झूटा अगुवाहरू कति अल्छी हुन्छन्? तिनीहरूले कुनै समस्या पत्ता लगाउँछन्, र यो समस्या हो भन्‍ने तिनीहरूलाई थाहा पनि हुन्छ, तर तिनीहरूले यसलाई केहीजस्तो ठान्दैनन् र यसप्रति ध्यानै दिँदैनन्। तिनीहरू कति गैरजिम्‍मेवार हुन्छन्! तिनीहरू कुरा गर्न सिपालु होलान् र अलिक क्षमतावान् देखिन सक्‍लान्, तर जब मण्डलीमा विभिन्‍न समस्याहरू पैदा हुन्छन्, तब तिनीहरूले ती समस्याहरू समाधान गर्न सक्दैनन्। मण्डलीमा समस्याहरू थुप्रिरहे पनि र ती पुर्ख्यौली कुराजस्तो बने पनि, यी अगुवाहरूलाई कुनै चिन्ता हुँदैन, तैपनि देखाउनलाई तिनीहरू व्यर्थका कामहरू गरिटोपल्छन्। अनि परिणाम के हुन्छ? के तिनीहरूले मण्डलीको काम भताभुङ्ग पार्दैनन् र, के तिनीहरूले गन्जागोल गर्दैनन् र? के तिनीहरूले मण्डलीमा कोलाहल र फूट ल्याउँदैनन् र? यो अपरिहार्य परिणाम हो(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरका वचनहरू मनन गरेपछि, मैले के महसुस गरेँ भने म कर्तव्यमा अति सन्तुष्ट बन्‍नु र ममा अग्रसरताको कमी हुनुको कारण त प्रकृतिले नै म अल्छी र सहजता खोज्‍ने व्यक्ति भएकोले रहेछ। मेरो मन शैतानी दर्शनहरूले भरिएका रहेछन्, जस्तै “जीवन भन्नु नै खानु र लाउनु हो,” “आजको हाला आजै खाला भोलि जे होला देखा जाला,” र “खाऔँ, पिऔँ, रमाइलो गरौँ, मरेर लानु के छ र।” म यी शैतानी भ्रमहरूअनुसार जिउथेँ, किनभने पृथ्वीको यो जीवनमा, मैले मोजमस्ती गर्नुपर्छ भन्‍ने सोच्थेँ। निरन्तर कष्ट र थकाइ भोग्‍नुको औचित्य पुष्टि गर्न सक्दिनथेँ। फलस्वरूप, म आफूले गर्ने कुनै काममा पनि लागिपर्न सक्दिनथेँ। आफ्‍नो काममा आएको सानोभन्दा सानो परिणामलाई म पूँजीको रूपमा लिन्थेँ र आत्मसन्तुष्ट भएर ह्रासोन्‍मुख हुन्थेँ। यो त मेरो स्कूले जीवनजस्तै थियो: जब मैले राम्रो अङ्क पाउँथेँ र मेरा शिक्षक र साथीहरूले मेरो तारिफ गर्थे, तब मलाई आफ्‍नो अध्ययनमा धेरै सोच्‍न र ऊर्जा खर्च गर्न मन लाग्दैनथ्यो, रमाइलो मात्रै गर्न मन लाग्थ्यो। म कक्षामा ध्यान दिने वा गृहकार्य गर्नेबारे सोच्‍न छोड्थेँ, र मेरा अङ्कहरूमा समस्या आएर आमाबुबा र शिक्षकहरूले कडा गर्न थालेपछि, बल्ल म आफ्‍नो अध्ययनमा तीव्रता दिन्थेँ र मेहनत गर्थेँ अनि मेरो अङ्क सुध्रेपछि, म फेरि सन्तुष्ट बनेर रमाइलो गर्नतिर लाग्थेँ। ती वर्षहरूमा, म निरन्तर यी पतित दर्शनहरूको नियन्त्रणमा थिएँ र म झन्झन् अल्छी, झन्झन् सुस्त र अग्रसरताहीन व्यक्ति बन्दै गएँ। म आफूले गर्ने हर कुरामा लापरवाही र अस्थिर हुन्थेँ, मलाई कष्ट भोग्‍न वा मूल्य चुकाउन मन लाग्दैनथ्यो, र म मेहनत गर्न झन्झन् कम इच्छुक हुन थाल्थेँ। मेरो पहिलेको समूह अगुवाको भूमिका र अहिलेको समूह सदस्यको भूमिकामा हुँदाको कामलाई जाँच गर्दा, म उत्तिकै अल्छी थिएँ र ममा अग्रसरताको कमी थियो। कुनै परिणाम प्राप्त गर्नेबित्तिकै म चुपचाप बस्थेँ, कामको सट्टा आराम गर्न चाहन्थेँ, ताकि मलाई घाटा नहोस् र मैले थकान सहन नपरोस्। काममा समस्याहरू भएको स्पष्ट देख्दा पनि, म तिनलाई समाधान गर्दिनथेँ, किनभने आफ्‍नो कर्तव्यमा थप त्याग गर्नुभन्दा मलाई मनोरञ्‍जनमा समय खेर फाल्‍न नै मन पर्थ्यो। म अगुवाको आँखा छल्‍न र धोका दिन अनि ठग्‍न सक्‍नेजति मात्रै काम गर्थेँ। मलाई म अल्छी मात्रै होइन, ठग र छली पनि रहेछु, र सहजता र आराममा जीवन बिताउन मात्रै चाहने रहेछु भन्‍ने महसुस भयो। मैले परमेश्‍वरका वचनहरूको धेरै मलजल, साथै परमेश्‍वरको सुरक्षा पाएको थिएँ, र पनि मैले आधारभूत काम गर्नसमेत सकिनँ। के म मण्डलीमा ठाउँ ओगट्ने व्यक्ति र परजीवी थिइनँ र? मेरो मानवता र चेतना कहाँ गयो? मलाई बाइबलको एउटा हरफ याद आयो: “अनि मूर्खहरूको उन्‍न्तिले तिनीहरूलाई नष्ट गर्नेछ” (हितोपदेश १:३२)। मैले पश्‍चात्ताप नगर्दा, मण्डलीले मलाई त्यति बेलै ननिकाले पनि, परमेश्‍वरले सबै कुरा नियाल्‍नुहुन्थ्यो, र पवित्र आत्माले ममा काम गर्न छोड्नुहुन्थ्यो। ढिलोचाँडो मलाई हटाइन्थ्यो।

त्यसपछि, परमेश्‍वरका वचनहरू खाँदै-पिउँदै मैले कर्तव्यप्रतिको आफ्‍नो मनोवृत्तिलाई परिवर्तन गर्न थालेँ। परमेश्‍वरका वचनहरूले भन्छ, “परमेश्‍वरका आज्ञाहरूलाई तैँले कसरी लिन्छस् भन्‍ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ, र त्यो एकदमै गम्भीर विषय हो! यदि परमेश्‍वरले मानिसहरूलाई सुम्‍पनुभएको कुरा तैँले पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तँलाई सजाय दिइनुपर्छ। परमेश्‍वरले सुम्पनुभएका आज्ञाहरूलाई मानिसहरूले पूरा गर्नुपर्छ भन्‍ने कुरा स्वर्गद्वारा आदेश दिइएको र धर्तीद्वारा स्वीकार गरिएको कुरा हो; यो तिनीहरूको सर्वोच्च उत्तरदायित्व हो, र यो कुरा तिनीहरूको जीवन जत्तिकै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका आज्ञाहरूलाई गम्भीरताका साथ लिँदैनस् भने तैँले उहाँलाई सबैभन्दा घोर रूपले धोका दिइरहेको हुन्छस्; यसमा, तँ यहूदाभन्दा पनि बढी विलापमय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले आफूलाई परमेश्‍वरले के सुम्‍पनुहुन्छ सो कुरालाई कसरी हेर्ने भन्‍ने बारेमा पूर्ण बुझाइ हासिल गर्नुपर्छ र कम्तीमा पनि उहाँले मानवजातिलाई सुम्पिनुभएका आज्ञाहरू परमेश्‍वरबाट प्राप्त पदोन्नति र विशेष कृपाहरू हुन् भनी बुझ्नुपर्छ; तिनीहरू सबैभन्दा महिमामय कुराहरू हुन्। अन्य सबै कुराहरूलाई त्याग्न सकिन्छ; व्यक्तिले आफ्नो जीवनलाई समेत बलिदान दिनुपर्छ भने पनि, उसले परमेश्‍वरका आज्ञाहरूलाई पूरा गर्नैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। “मानिसले अर्थपूर्ण जीवन जिउने प्रयास गर्नुपर्छ र ऊ आफ्‍ना वर्तमान परिस्‍थितिहरूप्रति सन्तुष्ट हुनु हुँदैन। पत्रुसको स्वरूपमा जिउनको लागि, उसले पत्रुसको ज्ञान र अनुभवहरू प्राप्त गर्नैपर्छ। मानिसले अझै उच्‍च र अझै प्रगाढ कुराहरूको खोजी गर्नुपर्छ। उसले परमेश्‍वरप्रतिको अझै गहन, अझै शुद्ध प्रेम, र मूल्य र अर्थसहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्रै जीवन हो; तब मात्र मानिस पत्रुसजस्तै हुनेछ। तैँले सकारात्मक पक्षमा हुने आफ्‍नो प्रवेशप्रति कर्मठ हुनमा ध्यान दिनुपर्छ, र अझै प्रगाढ, अझै निर्दिष्ट र अझै व्यवहारिक सत्यताहरूलाई बेवास्ता गर्दै क्षणिक सुखको खातिर आफूलाई विवश रूपमा गलत मार्गमा लैजानु हुँदैन। तेरो प्रेम व्यवहारिक हुनुपर्छ, र तैँले पशुको भन्दा फरक नभएको यो भ्रष्ट, लापरवाही जीवनबाट आफूलाई मुक्त गर्ने उपायहरू पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्य भएको जीवन जिउनुपर्छ, र तैँले आफैलाई मूर्ख तुल्याउने वा आफ्‍नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नु हुँदैन। परमेश्‍वरलाई प्रेम गर्न इच्‍छा गर्ने हरेकको लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन्‌ र तिनीहरू दह्रिलो गरी खडा हुन नसक्‍ने कुनै न्याय छैन। तैँले आफ्‍नो जीवन कसरी जिउनुपर्छ? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ र उहाँको इच्‍छा पूरा गर्नको लागि कसरी यो प्रेमको प्रयोग गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय अरू कुनै छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमका आकांक्षाहरू र दृढता हुनैपर्छ, र तँ मेरुदण्ड नभएका, दुर्बल व्यक्तिहरूजस्तो बन्‍नु हुँदैन। अर्थपूर्ण जीवनको अनुभव र अर्थपूर्ण सत्यताहरूको अनुभव कसरी गर्ने त्यो तैँले सिक्‍नैपर्छ, र आफैलाई त्यसरी आलटाल गर्ने व्यवहार गर्नु हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरको वचनबाट मैले थाहा पाएँ, सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाए, त्यसैमा जीवनको मूल्य र अर्थ मिल्छ। यदि हामी सधैँ सहजता र आराम खोजिरहन्छौँ, हामीमा अग्रसरता छैन र हामी कर्तव्यमा सुस्त हुन्छौँ भने, यो परमेश्‍वरलाई धोका दिनु हो, र यस्तो व्यवहारलाई उहाँ धिक्‍कार्नु र घिनाउनुहुन्छ। पत्रुसले कसरी आजीवन परमेश्‍वरलाई प्रेम गर्न र सन्तुष्ट पार्न निरन्तर लागिपरे, र सधैँ आफूमा परमेश्‍वरका वचनहरू कडाइका साथ लागू गर्दै सुध्रने प्रयास गरे भनेर सोचेँ। तिनी सधैँ सत्यता अभ्यास गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने प्रयास गर्थे, र अन्त्यमा उँधोमुन्टो क्रूसमा टाँगिएर तिनले सानदार गवाही दिए। अनि, नोआ पनि छन्। परमेश्‍वरको आज्ञा पाएपछि, तिनले ठूलो जहाज बनाउन १२० वर्ष काम गरे, अनगिन्ती कठिनाइ र भारी कष्ट आइपर्दा पनि कहिल्यै पछि हटेनन् बरु त्यो जहाज बनाउने काम पूरा नभएसम्‍म तिनी लागिपरे। नोआ र पत्रुसले परमेश्‍वर र कर्तव्यलाई कसरी लिए त्यससँग आफूलाई दाँज्दा, मलाई अत्यन्तै लाज लाग्यो। म स्वार्थी र अल्छी छु र ममा अलिकति पनि मानवता छैन भन्‍ने महसुस भयो। कर्तव्यप्रति ममा अलिकति पनि जिम्‍मेवारीबोध थिएन, म सुस्त थिएँ र म आलटाल गर्थेँ। मलाई थप काम अह्राउने वा काम धेरै हुनेबित्तिकै, म थकाइ लाग्यो भनेर गुनासो गर्न थाल्थेँ र अगुवाले मलाई सम्झाउँदासमेत म सुस्त भएर देहमा लिप्त हुन्थेँ। ममा परमेश्‍वरप्रति अलिकति पनि श्रद्धा थिएन। म गैरविश्‍वासीभन्दा फरक थिइनँ! मैले जसरी काम गर्थेँ, त्यसरी त अन्तिममा म आफैलाई बरबाद मात्रै पार्ने थिएँ। तर म सधैँ आफू सही छु भन्‍ने ठान्थेँ र थोरै प्रयास गर्नमै म सन्तुष्ट हुन्थेँ। म कति सुस्त, मूर्ख र अज्ञानी रहेछु। मैले यसरी आफ्‍नो कर्तव्य निभाउँदै आइरहेको भए पनि, परमेश्‍वरले मलाई त्याग्‍नुभएको थिएन र मलाई पश्‍चात्ताप गर्ने मौका दिनुभयो। मैले यसरी पतित भई परमेश्‍वरको भावनामा चोट पुर्‍याइरहनु हुँदैनथ्यो। त्यसैले मैले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गरेँ: “प्रिय परमेश्‍वर, म अल्छी प्रकृतिको छु र ममा मानवताको कमी छ भन्‍ने थाहा भयो। म यसरी बाँचिरहन चाहन्‍नँ। म इमानदारीसाथ सत्यता खोजी गर्न र आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छु। बिन्ती छ मेरो हृदय जाँच्‍नुहोस्।”

त्यहाँदेखि, मैले कर्तव्यमा अझै धेरै समय र ऊर्जा लगाउन थालेँ, र प्राय हरदिन मेरो कार्यतालिका पूरै भरिएको भए पनि, म केही समय निकालेर अध्ययन गर्थेँ र आफ्‍नो सीप सुधार गर्थेँ। म आफ्‍नो कामका समस्याहरूबारे पनि नियमित टिपोट गर्थेँ र आफ्‍नो सीप सुधार्न निरन्तर लागिपर्थेँ। केही समयपछि, मैले बनाएका भिडियोहरूमा राम्रा परिणाम प्राप्त गर्न थाले। मैले आफूले सिकेका कुराहरू ब्रदर-सिस्टरहरूलाई बताउँदा, तिनीहरूलाई पनि यो सहयोगी हुँदो रहेछ भन्‍ने थाहा पाएँ। मलाई निकै शान्ति र सहज अनुभव भयो। यसरी कर्तव्य पूरा गर्न अलिक बढी काम गर्नुपर्थ्यो, र आराम गर्नलाई पहिलेभन्दा कम समय हुन्थ्यो, तर थकाइ लागेको वा कष्ट भोगेको जस्तो अनुभव हुँदैनथ्यो। वास्तवमा, मन चङ्गा र जाँगरिलो भएको महसुस हुन्थ्यो—यो पहिले भ्रमित र अस्थिर सोचको हुँदै हिँडेको भन्दा ठीकविपरीत अवस्था थियो। आफ्‍नो काममा आउने समस्याहरू देख्‍न पनि सहज भयो र ब्रदर-सिस्टरहरूसँग सङ्गति गरेर अनि परमेश्‍वरको अन्तर्दृष्टिद्वारा, हामीले समयमै धेरै समस्या सुल्झाउन सक्यौँ। तर शैतानले मलाई धेरै भ्रष्ट तुल्याएको हुनाले, फेरि पनि यसका अल्छे दर्शनहरूले मलाई बारम्बार असर गरे। जब मैले असल नतिजाहरू प्राप्त गर्न थालेँ, फेर मलाई अलिक आत्मसन्तुष्ट भएर देहमा रमाउन मन लाग्थ्यो। एकपटक, हाम्रो एउटा भिडियो जाँज्दा, मैले मेरो फीडमा एउटा एक्शन फिल्‍म देखेँ। मैले सोचेँ: “आजभोलि काममा कति तनाव भइरहेको छ—केही समय हेरेर तनाव हटाउँदा त्यसले त्यति असर गर्दैन।” हेरिरहँदा, मलाई अचानक म फेरि मेरो पुरानै चालमा फर्केको महसुस भयो। मैले परमेश्‍वरको वचनको एउटा खण्ड सम्झेँ: “मानौँ तँ आफ्‍नो कर्तव्य निभाउँदा लापरवाह र सुस्त बन्‍न चाहिस्। तैँले अल्याङटल्याङ गर्ने, र परमेश्‍वरको सूक्ष्म जाँचबाट पन्छिने प्रयास गरिस्। त्यस्तो बेला, तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरिहाल्, र यो सही किसिमको व्यवहार हो कि होइन भनेर मनन गर्। त्यसपछि यो कुरा विचार गर्: ‘म किन परमेश्‍वरमा विश्‍वास गर्छु? त्यस्तो लापरवाहीले मान्छेको आँखा छल्‍न सक्‍ला, तर के परमेश्‍वरको आँखा छल्‍न सक्छ? अनि, मैले लापरवाही गर्नलाई परमेश्‍वरमा विश्‍वास गरेको होइन—यो त मुक्ति पाउनको लागि हो। मैले यसरी व्यवहार गर्नु सामान्य मानवताको अभिव्यक्ति होइन, न त परमेश्‍वरले यसलाई प्रिय नै ठान्‍नुहुन्छ। हो, बाहिर संसारमा मैले लापरवाही गर्न सक्छु र आफूलाई मन लागेअनुसार गर्न सक्छु, तर अहिले त म परमेश्‍वरको घरमा छु, म परमेश्‍वरको सार्वभौमिकताको अधीनमा, परमेश्‍वरको नजरको सूक्ष्म जाँचमा छु। म एक व्यक्ति हुँ, मैले आफ्‍नो विवेकअनुसार काम गर्नुपर्छ, आफ्‍नो खुशीअनुसार होइन। मैले परमेश्‍वरका वचनहरूअनुसार काम गर्नुपर्छ, म लापरवाह र झाराटारुवा हुनु हुँदैन, म सुस्त बन्‍नु हुँदैन। त्यसो भए, म कसरी सुस्त नभई, लापरवाह र झाराटारुवा काम नगरी बस्‍न सक्छु? मैले केही प्रयास गर्नैपर्छ। भर्खरै मलाई यसरी काम गर्न धेरै झमेला हुन्छ जस्तो लाग्यो, म कठिनाइबाट बच्‍न चाहेँ, तर अब मैले यो कुरा बुझेँ: यसरी काम गर्न धेरै झमेला हुन्छ होला, तर यो प्रभावकारी तरिका हो, त्यसकारण यो काम यसरी नै गरिनुपर्छ।’ जब तैँले काम गरिरहेको हुन्छस् र अझै पनि तँलाई कठिनाइको डर लाग्छ, तब त्यस्तो बेला तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ: ‘हे परमेश्‍वर! म अल्छी र छली छु, मलाई अनुशासनमा राख्‍नुहोस् र गाली गर्नुहोस्, ताकि मेरो विवेकमा यस्तो भावना, अनि लाजको अनुभूति होस्। म लापरवाह र झाराटारुवा बन्‍न चाहन्‍नँ। बिन्ती छ मलाई अगुवाइ र अन्तर्दृष्टि प्रदान गर्नुहोस्, र मेरो विद्रोहीपन र कुरूपता देखाइदिनुहोस्।’ जब तैँले त्यसरी प्रार्थना गर्छस् र आत्मचिन्तन गर्दै आफूलाई चिन्‍ने प्रयास गर्छस्, तब यसले पछुतोको भावना पैदा गर्छ, अनि तैँले आफ्‍नो कुरूपतालाई घृणा गर्न सक्छस्, अनि तेरो हृदयको गलत स्थिति परिवर्तन हुन थाल्छ, र तैँले यस विषयमा मनन गरेर आफूलाई यसो भन्‍न सक्छस्, ‘म किन लापरवाह र झाराटारुवा छु? म किन सधैँ सुस्त भइरहन्छु? यस्तो व्यवहार गर्नु भनेको विवेक वा समझमा कमी हुनु हो—के म अझै परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति हुँ त? मैले किन यस्ता कुराहरूलाई गम्‍भीर रूपमा लिन सक्दिनँ? के मैले अलिक बढी समय र प्रयास लगाउनुपर्ने होइन र? यो ठूलो बोझ त होइन। मैले गर्नुपर्ने यही हो; मैले योसमेत गर्न सक्दिनँ भने, के म मानव भनिनसमेत लायक हुन्छु र?’ फलस्वरूप, तैँले सङ्कल्‍प गर्छस् र शपथ खान्छस्: ‘हे परमेश्‍वर! मैले तपाईंलाई निराश तुल्याएँ, म साँच्‍चै नै गहन रूपमा भ्रष्ट भएको छु, ममा कुनै विवेक वा समझ छैन, म मानवताहीन छु, अब म पश्‍चात्ताप गर्न चाहन्छु। बिन्ती छ मलाई क्षमा गर्नुहोस्, म अवश्य परिवर्तन हुनेछु। मैले पश्‍चात्ताप गरिनँ भने, तपाईं मलाई दण्ड दिनुहोस्।’ त्यसपछि, तेरो मानसिकतामा परिवर्तन आउँछ, र तँ बदलिन थाल्छस्। तैँले पहिलेजस्तो लापरवाह र झाराटारुवा नभई, बरु कर्तव्यनिष्ठ भएर काम गर्न र आफ्‍नो कर्तव्य निभाउन थाल्छस्, र अब तँ कष्ट भोग्‍न र मूल्य चुकाउन सक्षम हुन्छस्। तँलाई यसरी कर्तव्य पूरा गर्नु अद्‌भूत हुन्छ जस्तो लाग्छ, र तेरो हृदयमा शान्ति र आनन्द हुन्छ। जब कसैले परमेश्‍वरको छानबिन स्वीकार गर्न सक्छ, उहाँलाई प्रार्थना गर्न र भरोसा गर्न सक्छ, तब उसको स्थिति चाँडै परिवर्तन हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। परमेश्‍वरका वचनहरू मनन गरेपछि, मैले अघि बढ्ने बाटो भेटेँ। म प्रकृतिले नै अल्छी थिए, सहजता र फुर्सद मन पराउँथेँ, र कष्ट भोग्‍न चाहन्‍नथेँ। म आफै यो समस्या समाधान गर्न सक्दिनथेँ; मैले परमेश्‍वरलाई प्रार्थना र भरोसा गर्दै उहाँको छानबिन स्विकार्नुपर्थ्यो। अर्कोपटक मलाई देहमा रमाउन र सुस्त हुन मन लागे, मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरी मलाई अनुशासनमा राख्‍न र ताडना दिन अनुरोध गर्नुपर्थ्यो। अनि मात्रै मैले दैहिकता त्यागेर आफ्‍नो कर्तव्य राम्ररी निभाउन सक्छु। त्यसैले मैले परमेश्‍वरलाई आफ्‍नो स्थितिको बारेमा बताएँ र मलाई अनुशासनमा राख्‍न अनुरोध गरेँ। प्रार्थना गरेपछि, मलाई अचानक शान्ति भयो र मैले सिद्धान्तहरूबारे ध्यानपूर्वक विचार गर्दै र उपयुक्त जानकारीहरू हेर्दै भिडियो पुनरावलोकन गर्न जारी राखेँ। जब मैले आफ्‍नो कामबारे सोचेँ, तब परमेश्‍वरको अगुवाइ अनुभव गर्न सकेँ र म भिडियोमा भएका समस्याहरू तुरुन्तै पत्ता लगाउन र सुल्झाउन उपाय खोज्न सक्षम भएँ। त्यो अनुभवबाट मैले आफ्‍नो अल्छीपन हल गर्ने थप आत्मविश्‍वास प्राप्त गरेँ। मैले आफ्‍नो काममा परमेश्‍वरमा साँचो भरोसा गरी उहाँको छानबिन स्विकार्नुपर्छ भन्‍ने थाहा पाएँ। म फेरि देहमा रमाउन थाल्दा, सचेत भई आफूलाई काबुमा राख्‍न परमेश्‍वरमा भरोसा गर्न सक्थेँ। त्यसरी, मसँग पार पाउने शक्ति हुन्थ्यो र म शान्तिसाथ आफ्‍नो कर्तव्य पूरा गर्न सक्थेँ।

आजभोलि, प्राय अझै ममा सहजता र आरामको यो भ्रष्ट इच्‍छा देखा परे पनि, मैले परमेश्‍वरको वचन पछ्याएँ र निरन्तर तिनको अभ्यास गरेँ भने, मैले अन्त्यमा आफूबाट यो भ्रष्ट स्वभाव पखालेर रूपान्तरण हासिल गर्न सक्छु भन्‍ने मलाई विश्‍वास छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मकुन्डो उतार्दा

टिङहुवा, फ्रान्स गत जून महिनाको कुरा हो, नयाँ अगुवाको रूपमा। सुरुमा त, मलाई फ्रेन्च भाषा आउने भएकोले र नयाँ सदस्यहरूसित कुराकानी गर्न...

सुसमाचार प्रचारको मार्ग

मलाई याद छ, जब मैले पहिलो पटक सुसमाचार सुनाउन सिकिरहेको थिएँ, मैले ग्रेट प्रेज चर्चको सदस्य, हुइबेइका ब्रदर क्षुलाई भेटेँ। केही समयपछि नै,...

मेरो कर्तव्य कसरी लेनदेन बन्यो

झेनछेङ, चीनसन् २००८ मा, मैले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामलाई ग्रहण गरेँ। परमेश्‍वरको वचन पढेर मैले आखिरी दिनहरूमा...

आफ्‍नो कर्तव्यलाई कसरी लिनुपर्छ

झेङ्ग ये, दक्षिण कोरियामैले विश्‍वासी बनेपछि मण्डली अगुवाहरूले प्रायजसो सत्यता सम्‍बन्धी भेला र सङ्गतिहरू गरेको देख्थें। कतिपयले भिडियोहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्