सुसमाचार सुनाउँदाका कठिनाइहरूको सामना कसरी गर्ने

25 फेब्रुअरी 2023

केल्भिन, पेरु

मेरो पूरै परिवार क्याथोलिक थियो र हाम्रो गाउँका अरू धेरैजसो मानिसहरू पनि क्याथोलिक नै थिए, तर त्यहाँको क्याथोलिक मण्डलीमा अध्यक्षता गर्ने कुनै पादरी नभएकोले, लामो समयसम्म कोही पनि बाइबल अध्ययन गर्न मण्डली गएनन्। मे २२, २०२० मा, मैले इन्टरनेटमा सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेँ, र उहाँका वचनहरूद्वारा, प्रभु येशू फर्कनुभएको छ, उहाँ आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ भन्ने कुरामा म पक्का भएँ, र मैले खुसीसाथ उहाँका आखिरी दिनहरूको कामलाई स्विकारेँ। पछि, मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूमा यो पढेँ: “मानिसले परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा, उसले परमेश्‍वरका हरेक पदचापलाई नजिकबाट पछ्याउनैपर्छ; उसले ‘थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।’ साँचो मार्गको साँच्चै खोजी गर्ने मानिसहरू यिनीहरू मात्रै हुन्, पवित्र आत्माको कामलाई चिन्नेहरू तिनीहरू मात्रै हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास)। विश्वासीहरूका रूपमा हामीले परमेश्‍वरको कामलाई चिन्नुपर्छ र परमेश्‍वरका पदचापहरूलाई पछ्याउनुपर्छ भनी मलाई थाहा भयो। गाउँमा धेरै विश्वासीहरू थिए, तर तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरको आवाज सुनेका थिएनन् वा प्रभु येशूको पुनरागमनलाई स्वागत गरेका थिएनन्, त्यसैले मैले साँच्चै नै यो अविश्वसनीय खबर तिनीहरूलाई बताउन चाहेँ। तर मलाई अलि डर लाग्यो। म जवान भएकोले र सुसमाचार कसरी बताउने भनी थाहा नभएकोले, तिनीहरूले मेरो कुरा पक्कै सुन्दैनन् होला भन्ने मलाई लाग्यो। म तिनीहरूले मलाई हेप्छन् कि र, “तिमी यति सानै छौ। स्कुल जानु वा काम गर्नुको सट्टा किन सुसमाचार प्रचार गर्दै हिँडेको?” भन्छन् कि भन्नेमा चिन्तित थिएँ। यसबाहेक, तिनीहरू वर्षौंदेखिका विश्वासीहरू थिए, के तिनीहरूले प्रभु येशूको पुनरागमनबारेको मेरो गवाही सुन्लान् त? तिनीहरूले मलाई कस्तो व्यवहार गर्लान्? तिनीहरूमा हुन सक्ने कुनै पनि धारणा वा अलमललाई समाधान गर्न मैले कसरी सङ्गति गर्न होला? यदि तिनीहरूले मैले सर्वशक्तिमान् परमेश्‍वरमा विश्वास गरेको र सुसमाचार फैलाएकोमा विरोध गरे भने मैले के गर्ने? मैले धेरै सोचेँ, तर सुसमाचार फैलाउनु परमेश्‍वरको अभिप्राय हो भन्ने मलाई थाहा थियो। मैले तिनीहरूलाई सुसमाचार सुनाउनै पर्थ्यो र परमेश्‍वरको गवाही दिनै पर्थ्यो।

त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेर मेरो आस्था बलियो बन्यो। मैले उहाँका वचनहरूमा यो पढेँ: “के तेरा काँधका बोझहरू, तेरो कार्यभार, र तेरो जिम्‍मेवारीबारे तँलाई थाहा छ? ऐतिहासिक मिसनको तेरो आभास कहाँ छ? अर्को युगको मालिकका रूपमा तैँले कसरी उचित रूपमा सेवा गर्नेछस्? के तँमा मालिक हुने बलियो आभास छ? यावत् थोकका मालिकलाई कसरी व्याख्या गर्नुपर्छ? के यो साँच्‍चै संसारका सारा जीवित प्राणीहरू अनि सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिको लागि तँसँग के-कस्ता योजनाहरू छन्? कति धेरै मानिसहरूले तँलाई तिनीहरूलाई गोठालो हुन प्रतीक्षा गरिरहेका छन्? के तेरो काम बोझमय छ? तिनीहरू गरिब, दयनीय, अन्धाहरू हुन्, र तिनीहरू असमञ्जसमा छन्, अन्धकारमा बिलौना गरिरहेका छन्—यो मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई थिचोमिचोमा पारेको अन्धकारको शक्तिहरूलाई उल्काझैँ अचानक ज्योति तल झरेर हटाओस् भनी ती मानिसहरु कति तड्पिन्छन्। तिनीहरू यसका लागि उत्सुकताका साथ दिन-रात आशा गर्छन्, र विलाप गर्छन्—यो कुरा कसले पूर्ण रूपमा जान्‍न सक्छ र? ज्योति चम्‍केर जाने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; कहिले तिनीहरूले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नदिइएका यी कमजोर आत्माहरूको दुर्भाग्य कति भयानक छ, अनि निर्दयी बन्धनहरू र कठ्याङ्ग्रिएको इतिहासद्वारा तिनीहरूलाई यो अवस्थामा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? तिनीहरूको दयनीय स्थिति कसले देखेको छ र? परमेश्‍वरको हृदय कति शोकित र व्याकुल छ भन्‍ने तैँले कहिल्यै विचार गरेको छस्? उहाँको आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो पीडा भोगेको उहाँले कसरी देख्‍न सक्‍नुहुन्छ? आखिर, मानवजाति विष खुवाइएका पीडितहरू नै त हुन्। मानवजाति आजको दिनसम्‍म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विष खुवाएको छ भन्‍ने कसलाई थाहा हुनेथियो र? के तँ पीडितहरूमध्ये एक होस् भन्‍ने तैँले बिर्सिस्? के परमेश्‍वरप्रतिको तेरो प्रेमको कारण, सबै यी बाँचेकाहरूलाई मुक्ति दिने प्रयास गर्न तँ इच्‍छुक छैनस्? के तँ मानवजातिलाई आफ्‍नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्‍वरको ऋण तिर्न आफ्‍नो सारा सामर्थ्य अर्पण गर्न इच्‍छुक छैनस्? तेरो असाधारण जीवन जिउनका लागि परमेश्‍वरद्वारा प्रयोग गरिनुलाई तँ ठ्याक्कै कसरी बोध गर्छस्? के तँसँग एक भक्त, परमेश्‍वरको सेवा गर्ने व्यक्तिको अर्थपूर्ण जीवन जिउने अठोट र आस्था साँच्‍चै छ त?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ तेरो भविष्यको मिसनलाई कसरी लिनुपर्छ?)। मैले बुझेँ सुसमाचार सुनाउनु हाम्रो कर्तव्य हो। धेरै मानिसहरूले अझै पनि परमेश्‍वरको आवाज सुनेका छैनन् र प्रभु फर्कनुभएको छ अनि उहाँले मानिसहरूलाई न्याय गर्ने र शुद्ध पार्ने काम गरिरहनुभएको छ भन्ने कुरा त झनै थाहा छैन। तिनीहरू अझै पनि शैतानको भ्रष्टता र दुःखमा बाँचिरहेका छन्। परमेश्‍वर हामी सबैले उहाँको अभिप्रायलाई ख्याल गर्न र खडा भएर उहाँसँग सहकार्य गर्न सकौँ भन्ने आशा गर्नुहुन्छ। हामीले जस्तोसुकै समस्या वा कठिनाइहरूको सामना गरे पनि, हामी अझ धेरै प्रार्थना गर्न र परमेश्‍वरमा भर पर्न सक्छौँ, र राज्यको सुसमाचार फैलाउन सक्दो सबै गर्न सक्छौँ। तर मैले परमेश्‍वरको अभिप्राय बुझिनँ—मलाई यति जवान भएकोले सुसमाचार बाँड्न सक्दिनँ भन्ने लाग्यो। म गाउँलेहरूले मेरो कुरा सुन्दैनन् र मलाई हेप्छन् कि भनेर डराएँ, त्यसैले म यी कठिनाइहरू र मेरो आफ्नै कल्पनाको बीचमा फसेको थिएँ, चिन्ताले भरिएको थिएँ। मैले परमेश्‍वरको अभिप्रायलाई ख्याल नगरी आफ्नै कठिनाइहरूका बारेमा मात्र सोचेँ, र मैले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न यी सङ्घर्षहरूमा प्रार्थना गर्ने र परमेश्‍वरमा भर पर्ने कुरा सोचिनँ। धेरै मानिसहरू प्रभुको पुनरागमन र अन्धकारबाट मुक्त हुने कुराको तीव्र लालसा गरिरहेका छन् भनी सोच्दा, मलाई हतारो महसुस भयो। मैले परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार फैलाउन र त्यसको गवाही दिन सकेको सबैथोक गर्ने र मेरो सबै समय र शक्ति यस काममा लगाउने सङ्कल्प गरेँ।

त्यसपछि, मैले मेरो गाउँका मानिसहरूलाई सुसमाचार कसरी सुनाउने भनेर योजना बनाउन थालेँ। सुरुमा, म दश वटा परिवारलाई मेरो घरमा प्रवचन सुन्ने निम्तो दिन केही निमन्त्रणा पत्रहरू छाप्न फोटोकपी पसलमा गएँ। तिनीहरू सबै निकै छक्क परे, र मैले गरिरहेको कामको प्रशंसा गरे। म धेरै खुसी भएँ। पछि, मैले सोचेँ, “यदि आज साँझ धेरै मानिसहरू आए भने, प्रवचन सुन्दै गर्दा सबैले मेरो सानो मोबाइलबाट मात्र परमेश्‍वरका वचनहरू पढ्न गाह्रो हुनेछ।” त्यसैले, म एक जना साथीकहाँ उसको ल्यापटप सापटी माग्न गएँ। त्यो साँझ, प्रवचन सुन्न १३ जना आए, र भेलाको समयमा तिनीहरू सबै परमेश्‍वरका वचनहरू पढ्दा रमाए, जसले पढ्न चाहन्थ्यो ऊ स्वयंसेवक भएर उठ्थ्यो। त्यसपछि सबै जना धेरै खुसी भए। तिनीहरूले परमेश्‍वरका वचनहरू अद्भुत रहेका र ती पढेर आफूहरूले धेरै कुरा पाएको बताए। तिनीहरूले ती वचनहरू पढ्न एकसाथ भेला हुन पाउनु ठूलो कुरा हो भने र भोलिपल्ट आफ्ना परिवारका सदस्यहरूलाई पनि उहाँका वचनहरू सुन्न ल्याउन चाहेको बताए। सबैले परमेश्‍वरका वचनहरूको कत्ति धेरै तृष्णा गरेका रहेछन् भन्ने देखेर मलाई साँच्चै खुसी लाग्यो। तर त्यसपछि मैले मेरो साथीको ल्यापटप सापटी मागिरहनु सम्भव छैन भन्ने महसुस गरेँ। म आफैँले एउटा किन्न चाहेँ तर जब मैले आफ्नो सबै पैसा जम्मा गरेँ, त्यो अझै पनि पर्याप्त भएन। म अलिकति दुविधामा परेँ। वरपर सोधखोज गरेपछि, मैले प्रोजेक्टरहरू कम्प्युटरभन्दा अलि सस्तो हुन्छन् भन्ने थाहा पाएँ र मैले एउटा किन्न ऋण लिने निर्णय गरेँ ताकि अन्य गाउँलेहरूले त्यो उपायद्वारा परमेश्‍वरका वचनहरू पढ्न सकून्। म ऋण लिन सहर गएँ, र मैले एउटा प्रोजेक्टर किनेँ। मैले अर्को भेला सुरु गर्नुअघि सबै कुरा तयार पारेँ र केही समयपछि नै गाउँलेहरू आउन थाले। १९ जना उपस्थित भए, र पूरै कोठा भरियो। त्यस क्षणमा मैले यो सबै परमेश्‍वरले बन्दोबस्त गर्नुभएको हो भनी देखेँ, र म धेरै उत्साहित भएँ। सबैले परमेश्‍वरका वचनहरू सुन्न सकून् भनेर म हतार-हतार एउटा स्पिकर खोज्न गएँ। हामीले प्रभुको पुनरागमनका अगमवाणीहरू कसरी पूरा भएका छन्, उहाँलाई कसरी स्वागत गर्ने, प्रभु येशू फर्कनुभएको छ भनी कसरी पक्का हुने, र आखिरी दिनहरूको परमेश्‍वरको न्यायको कामले हरेक प्रकारका मानिसलाई कसरी प्रकट गर्नेछ भन्ने बारे सत्यता सङ्गति गर्‍यौँ। उपस्थित मानिसहरू सबैले परमेश्‍वरका वचनहरू पढ्न उत्साहपूर्वक भाग लिए, र कतिपय केटाकेटीहरू पनि ती वचनहरू पढ्न उत्साहित थिए। तिनीहरूले परमेश्‍वरका वचनहरूको यति धेरै तृष्णा गरेका देखेर, यो सबै उहाँकै काम हो भन्ने मलाई थाहा भयो। कतिपय मानिसहरू भेला सकिएपछि केहीबेर त्यहीँ बसे, र आफूहरूलाई सुन्न साँच्चै आनन्द लागेको बताए। गाउँप्रमुख लगायत केही मानिसहरू धेरै प्रभावित भएका थिए, र प्रमुखले सबै गाउँलेहरूलाई आएर परमेश्‍वरका वचनहरू सुन्न लगाउने विषयमा कुरा गर्न चाहे। यो एकदमै सुखद आश्चर्य थियो। यो परिणामले मेरा धारणाहरू र कल्पनाहरूलाई पूर्ण रूपमा चकनाचुर पारिदियो र मैले लज्जित महसुस गरेँ। मैले साँच्चै नै परमेश्‍वरको काम र मार्गदर्शनलाई प्रत्यक्ष देखेको थिएँ, र सुसमाचार बाँड्ने आत्मविश्वास झन्-झन् बढ्दै गयो। त्यसपछि मैले हरेक दिन गाउँलेहरूलाई प्रवचन सुन्न निम्तो दिएँ, र धेरैभन्दा धेरै मानिसहरू आउन थाले। तिनीहरू सबै रोमाञ्चित थिए, र भने, “मैले यस्तो कुरा पहिले कहिल्यै पढेको छैनँ। परमेश्‍वर अब देह बन्नुभएर फर्कनुभएको छ र हामी उहाँसँग आमनेसामने भएका छौँ। प्रभुलाई स्वागत गर्न पाउँदा हामी धेरै आशिषित् छौँ।” तिनीहरूले वरपरका नगरहरूबाट थप मानिसहरूलाई भेलामा निम्तो दिन एउटा कार्यक्रम गर्ने योजना पनि बनाए। तिनीहरूले मलाई भने, “तिमी यति जवान छौ, तर तिमीले गाउँलेहरूका लागि यो काम गरिरहेका छौ, सबैलाई परमेश्‍वरका वचनहरू सुन्न मद्दत गरिरहेका छौ र यसमा यति कर्तव्यनिष्ठ बनिरहेका छौ। पहिले कसैले पनि हाम्रा लागि यस्तो काम गरेको थिएन। तिमीजस्तो जवान मानिसले यसो गर्न सक्छौ भनेर हामीले कहिल्यै सोचेका थिएनौँ—यो अद्भुत छ।” यो सबै परमेश्‍वरको काम हो भनी मलाई थाहा भयो, यसले मलाई उत्साहित बनायो र सुसमाचार फैलाउन थप विश्वस्त बनायो।

तर मैले यी नयाँ विश्वासीहरूलाई मलजल गर्दा सबै प्रकारका कठिनाइहरूको सामना गरेँ। कहिलेकाहीँ मेरो इन्टरनेट राम्रो चल्दैनथ्यो, र मैले भेलाहरू सञ्चालन गर्न घर-घर जानुपर्थ्यो। अझ नराम्रो कुरा त धेरै पानी पर्थ्यो, र बाटाहरू हिलाम्मे हुन्थे, जसले गर्दा हिँड्न गाह्रो हुन्थ्यो। जब म नवागन्तुकहरूलाई मलजल गर्न बाहिर जान्थेँ, मैले घर-घर दौडिनुपर्थ्यो। कहिलेकाहीँ म पानी पर्नुअघि नै नयाँ विश्वासीको घरमा हतार-हतार पुग्थेँ, र कहिलेकाहीँ तिनीहरू घर फर्किसकेका नहुने हुँदा मैले पर्खनुपर्थ्यो। त्यसपछि, जब भेलाहरू सकिन्थे, पानीले भिजेको बाटोमा घर हिँड्न सजिलो हुँदैनथ्यो। कहिलेकाहीँ म लखतरान हुँदा अलिकति नकारात्मक र कमजोर महसुस गर्थेँ, त्यसैले म प्रार्थना गर्थेँ र परमेश्‍वरका वचनहरू पढ्थेँ। त्यस समयमा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा यो पढेँ: “निराश नबन्, कमजोर नबन्, अनि म तँलाई कामकुराहरू प्रकाश गरिदिनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरा त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले तितो परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरा निम्ति तिमीहरूसँग भएको प्रेमिलो हृदय अझ बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ; यति मात्र हो कि, परीक्षाहरूको चरमता फरक-फरक हुन्छ। परीक्षाहरू मैले दिएका आशिषहरू हुन्, अनि तिमीहरूमध्ये कति जना मेरो सामु बारम्बार घुँडा टेक्दै मेरो आशिष्को भिक माग्छौ? मूर्ख बालकहरू! तिमीहरू सधैँ यो सोच्छौ कि केही शुभ शब्दहरू मेरा आशीर्वादहरू हुन्, तैपनि तिक्तता मेरो आशिष् हो भन्‍ने कहिल्यै विश्‍वास गर्दैनौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१)। “जब तँ कष्ट सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्छाउन सक्नुपर्छ र परमेश्‍वरविरुद्ध गुनासो गर्नुहुँदैन। … तेरो वास्तविक कद जे भए पनि तँमा सुरुमा कठिनाइ सहने इच्छा र साँचो आस्था, दुवै हुनुपर्छ, अनि तँमा देहको विरुद्ध विद्रोह गर्ने इच्छा पनि हुनुपर्छ। परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न तँ व्यक्तिगत रूपमा कठिनाइहरू सहन र तेरा व्यक्तिगत रुचिहरू गुमाउन इच्छुक हुनुपर्छ। तँ आफ्नो हृदयमा आफ्नै बारेमा पछुतो गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम थिइस्, र अहिले तैँले आफै पछुतो गर्न सक्छस्। तँमा यी कुनै पनि कुराको कमी हुनु हुँदैन—यिनै कुराहरूद्वारा परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ। यदि तँ यी मापदण्डहरू पूरा गर्न सक्दैनस् भने, तँलाई सिद्ध पार्न सकिँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्‍वरका वचनहरूले मलाई हृदय नगुमाउन वा कमजोर नहुन प्रोत्साहित गरे र सान्त्वना दिए, र परमेश्‍वरले मलाई मार्गदर्शन र मद्दत गर्नुहुनेछ भन्ने कुरा बताए। मैले सुसमाचार सुनाउन केही शारीरिक असुविधा भोगेको थिएँ र अलिकति मूल्य चुकाएको थिएँ, तर यो अर्थपूर्ण र मूल्यवान् थियो। यो गर्नुपर्ने सबैभन्दा न्यायसंगत काम थियो, र परमेश्‍वरको सबैभन्दा बढी अनुमोदन प्राप्त गर्ने काम पनि यही थियो। मैले सुसमाचार फैलाउन धेरै कष्ट भोग्ने पत्रुस, मत्ती, र प्रभु येशूका अन्य प्रेरितहरूका बारेमा सोचेँ। कतिपय त यो सुनाउने प्रयासमा मरे पनि, तर तिनीहरू दृढ रहे र कहिल्यै पछि हटेनन्। तिनीहरूको तुलनामा, मैले भोगेको थोरै कष्ट त उल्लेख गर्न लायक पनि थिएन। मैले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्ने सौभाग्य पाएको थिएँ, र राज्यको सुसमाचार फैलाएर आफ्नो कर्तव्य पूरा गर्न सकेको थिएँ, यो उहाँको अनुग्रह थियो। मैले आफ्नै देहको ख्याल गरिरहन र अलिकति कठिनाइदेखि डराइरहन मिल्दैनथ्यो। म कष्ट भोग्न तयार हुनुपर्थ्यो। म कुनै पनि कठिनाइहरूको सामना गर्दा निराश हुन मिल्दैनथ्यो। मैले शारीरिक असुविधा भोगे पनि, अझै सुसमाचार सुनाउनु, परमेश्‍वरको गवाही दिनु, र उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्नुपर्थ्यो।

एक पटक, म बिरामी भएँ, र मलाई धेरै दिनसम्म रुघा लाग्यो। साँझमा मलाई ज्वरो आउँथ्यो, टाउको र पेट दुख्थ्यो। म बोल्न समेत सक्दिनथेँ। एक जना सिस्टरले मेरो अवस्था गम्भीर देखेर मलाई भनिन्, “तिमी आज रातिको भेलामा नजाऊ।” मैले त्यतिबेला हुन्छ भनेँ। तर पछि, नयाँ विश्वासीहरूलाई मात्रै भेला गर्न छोड्ने सोचले मेरो मन बेचैन भयो। म सोचिरहेको थिएँ बिरामी हुनु मेरो लागि एउटा परीक्षा हो, र मैले अझै पनि आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ। मलाई याद आयो, पहिले बिरामी हुँदा वा खुट्टामा चोट लाग्दा पनि म फुटबल खेल्न जान्थेँ। त्यसोभए अहिले आफ्नो कर्तव्य किन पूरा गर्न सक्दिनँ र? यो सोचेर, म आफ्नो मोटरसाइकल चढेँ र भेलामा गएँ। आश्चर्यजनक रूपमा, जब म त्यहाँ पुगेँ, मैले त्यति गाह्रो महसुस गरिनँ। म साँच्चै खुसी भएँ र केही दिनमै निको भएँ।

एक महिनाभन्दा बढी समयसम्म सुसमाचार फैलाउन कडा मेहनत गरेपछि, नगरबाहिर काम गर्नेहरूबाहेक अधिकांश गाउँलेहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार स्वीकार गरेका थिए। म चाहन्थेँ धेरै मानिसहरूले परमेश्‍वरको आवाज सुनून्, किनभने अझै पनि धेरै मानिसहरूलाई प्रभु येशू फर्कनुभएको छ, धेरै सत्यताहरू व्यक्त गरिरहनुभएको छ, र मानवजातिलाई शुद्ध पार्ने र मुक्ति दिने काम गरिरहनुभएको छ भन्ने थाहा छैन। त्यसैले मैले अन्य गाउँहरूमा गएर सुसमाचार सुनाउने निर्णय गरेँ। मैले आफ्नो हृदयमा प्रार्थना गरेँ, “हे सर्वशक्तिमान्‌ परमेश्‍वर, कृपया मलाई मार्गदर्शन गर्नुहोस् ताकि मैले आस्था नगुमाऊँ र म अगाडि बढिरहन सकूँ। मैले सामना गर्ने जस्तोसुकै कठिनाइहरू पनि तपाईंले समाधान गर्न मद्दत गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु।” त्यसपछि, म सुसमाचार सुनाउन छिमेकी गाउँमा गएँ। म तिनीहरूलाई सुसमाचार प्रचार गर्न हिलो बाटोमा ३० मिनेट ओरालो हिँडेँ, तर सुरुका तीनवटै घरपरिवारले अहिले समय छैन भनी शिष्टतापूर्वक मलाई फर्काइदिए। म साँच्चै निराश र केही हतोत्साहित भएँ। त्यो रात म धेरै ढिलो घर पुगेँ। सिस्टर एनीले मलाई फोन गरेर मेरो सुसमाचार सुनाउने काम कस्तो भयो भनेर सोधिन्, र मलाई प्रोत्साहित र मद्दत गर्दै मसँग परमेश्‍वरका वचनहरूमा सङ्गति पनि गरिन्। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा केही कुरा पढेँ: “मैले अहिले चाहने भनेको तेरो बफादारी र समर्पण, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्‍नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तेरो बफादारी र समर्पण। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारी र समर्पणमा रहन्छ भन्‍ने कुरा तैँले जान्नुपर्छ। मप्रतिको तेरो विश्‍वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै समर्पित हुनु हो। मैले मेरो कामको अर्को चरण सुरु गर्न अघि, तैँले मेरो निम्ति कसरी साक्षी दिनेछस्? तँ मप्रति कसरी बफादार र समर्पित हुनेछस्? के तँ आफ्‍ना सबै बफादारीता आफ्नै काममा अर्पण गर्छस् कि हरेस खान्छस्? तँ (मृत्यु वा विनाश नै आइपरे पनि) मेरो हरेक प्रबन्धको अधीनमा रहन्छस् कि मेरो सजायबाट बच्न बीचैबाट भाग्छस्? तँ मेरो साक्षी दिने बन्, मप्रति बफादार र समर्पित बन् भनेर म तँलाई सजाय दिन्छु। यति मात्र कहाँ हो र, हालको सजाय मेरो कामको अर्को चरण प्रकट गर्नु र कामलाई निर्बाध रूपमा अघि बढ्न दिनको लागि हो। त्यसैले, म तँलाई बुद्धिमान बन् अनि आफ्नो जीवनलाई अनि आफ्नो अस्तित्वलाई निकम्मा बालुवाको रूपमा व्यवहार नगर् भन्‍ने उत्साह दिन्छु। आउनेवाला मेरो काम ठ्याक्कै कस्तो हुनेछ भनी के तैँले जान्न सक्छस्? आउने दिनमा म कसरी काम गर्नेछु र मेरो काम कसरी प्रकट हुनेछ भन्‍ने के तँ जान्दछस्? तैँले मेरो कामप्रतिको तेरो अनुभवको महत्त्व र मप्रति तेरो विश्‍वासको महत्त्वलाई जान्नुपर्छ। मैले यति धेरै गरेको छु; तैँले कल्पना गरेजस्तो म कसरी बीचैमा छोड्न सक्थेँ? मैले यति व्यापक काम गरेको छु; म यसलाई कसरी नष्ट गर्न सक्थेँ? वास्तवमा, म यो युगलाई अन्त गर्न आएको हुँ। यो सत्य हो, तर मैले नयाँ युग सुरु गर्नुपर्छ, नयाँ काम सुरु गर्नुपर्छ र सबैभन्दा मुख्य कुरा, राज्यको सुसमाचार फैलाउनुपर्छ भन्‍ने तैँले जान्नुपर्छ। त्यसैले हालको कामचाहिँ नयाँ युग ल्याउन, आउने समयमा सुसमाचार फैलाउन र भविष्यमा युगलाई अन्त गर्नको निम्ति जग बसाल्नलाई मात्र हो भन्‍ने तैँले जान्नुपर्छ। मेरो काम तैँले सोचेजस्तो सरल छैन, न त तैँले विश्‍वास गरेजस्तो यो निकम्मा वा व्यर्थ नै छ। यसकारण, मैले अझ पनि तँलाई भन्नुपर्छ: तैँले आफ्नो जीवन मेरो कामको निम्ति दिनुपर्छ, र यस बाहेक, तैँले आफूलाई मेरो महिमाको निम्ति अर्पण गर्नुपर्छ। मैले जति लामो समयदेखि तैँले मेरो निम्ति गवाही दिओस् भन्‍ने उत्कट इच्छा गरेको छु, तैँले मेरो सुसमाचार फैलाएको होस् भन्‍ने कुरालाई मैले त्योभन्दा बढी चाहेको छु। मेरो हृदयमा के छ सो तैँले बुझ्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्‍वरका वचनहरूमा यो पढेपछि मलाई केही शक्ति मिल्यो। मलाई परमेश्‍वरले मैले उहाँमाथि विश्वास गर्नुपर्छ भनिरहनुभएको जस्तो लाग्यो, र मैले जस्तोसुकै कठिनाइहरूको सामना गरे पनि, म कमजोर वा नकारात्मक हुन, हतोत्साहित वा दुःखी हुन मिल्दैनथ्यो, किनभने परमेश्‍वरले हामीलाई मार्गदर्शन गरिरहनुभएको हुन्छ। जबसम्म मैले परमेश्‍वरको अभिप्रायलाई ख्याल गर्थेँ र उहाँको राज्यको सुसमाचार फैलाउन बाहिर जान्थेँ, उहाँले मेरो लागि बाटो खोलिदिनुहुनेथियो। परमेश्‍वरका वचनहरूद्वारा मैले देखेँ सुसमाचार सुनाउनु सजिलो बाटो होइन, यसका लागि कष्ट भोग्नु र मूल्य चुकाउनु आवश्यक हुन्छ। नोहले १२० वर्षसम्म सुसमाचार प्रचार गरे र मानिसहरूले उनको खिल्ली उडाए, निन्दा गरे, र अपमान गरे। उनले धेरै कष्ट भोगे, र उनले कसैको पनि धर्म परिवर्तन गराएनन्, तैपनि उनले हरेस खाएनन् वा कमजोर भएनन्—उनले सुसमाचार सुनाइरहे। नोह परमेश्‍वरप्रतिको आफ्नो भक्ति र समर्पणमा दृढ रहे। उनले एक सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गरे र परमेश्‍वरको अनुमोदन र आशिष् प्राप्त गरे। जब परमेश्‍वरले संसारलाई नष्ट गर्न जलप्रलय पठाउनुभयो, नोहको आठ जनाको परिवार परमेश्‍वरद्वारा मुक्त गरिए र बाँचे। अनि मैले आफ्नो बारेमा सोचेँ। मैले भर्खरै तीन परिवारलाई सुसमाचार सुनाएको थिएँ र तिनीहरूले स्वीकार नगर्दा हताश भएँ। ममा परमेश्‍वरप्रति साँचो आस्था थिएन। वास्तवमा, परमेश्‍वरले मेरो आस्था र उहाँप्रतिको मेरो भक्तिलाई सिद्ध पार्न यो स्थिति र यी कठिनाइहरू ममाथि आउन दिनुभएको थियो। त्यसैले तिनीहरूले सुसमाचार स्वीकार गरे पनि वा नगरे पनि, मैले गएर प्रचार गर्नैपर्थ्यो। त्यो मेरो कर्तव्य थियो।

परमेश्‍वरका वचनहरूले मलाई शक्ति दिए। म भोलिपल्ट सुसमाचार सुनाउन अर्को गाउँमा गएँ। मैले परमेश्‍वरलाई प्रार्थना गर्दै सम्भावित सुसमाचार ग्रहणकर्ताहरूलाई उहाँका वचनहरू बुझ्न अन्तर्दृष्टि दिनुहोस् भन्ने अनुरोध पनि गरेँ। त्यो साँझ, मैले सुसमाचार सुन्न इच्छुक एक जना व्यक्ति भेट्टाएँ, र मैले उहाँलाई परमेश्‍वरको देखापराइ र कामको बारेमा सङ्गति गरेँ र गवाही दिएँ, त्यसपछि मैले सुसमाचार सुनाउन अरू व्यक्तिहरू भेट्टाइरहेँ, र त्यो रात छ जनालाई धर्म परिवर्तन गराएँ। म छक्कै परेँ किनभने केही सुसमाचार ग्रहणकर्ताहरू क्याथोलिकहरू थिए र तिनीहरूमा धेरै धारणाहरू थिए, तर मैले तिनीहरूसँग परमेश्‍वरका वचनहरूमा सङ्गति गरेपछि तिनीहरूले बुझ्न सके, र तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार स्वीकार गरे। त्यसपछि म अर्को ठाउँमा गएँ, र हरेक पटक सुसमाचार सुनाउन बाहिर जाँदा म प्रार्थना गर्थेँ, र परमेश्‍वरलाई अन्तर्दृष्टि दिन र मार्गदर्शन गर्न अनुरोध गर्थेँ ताकि मैले उहाँका वचनहरू कसरी प्रचार गर्ने र गवाही दिने भनेर जान्न सकूँ। धेरैभन्दा धेरै मानिसहरूले परमेश्‍वरको सुसमाचार स्वीकार गरेकाले मेरो आस्था बढ्यो। कहिलेकाहीँ जब म अपरिचितहरूलाई प्रचार गर्न अन्य गाउँहरूमा जान्थेँ, म अलिकति लजालु र डराएको महसुस गर्थेँ, तर परमेश्‍वरका वचनहरूको मार्गदर्शनले मलाई त्यसको सामना गर्ने आत्मविश्वास र साहस दिन्थ्यो। मलाई थाहा थियो यो मेरो कर्तव्य हो, र यदि मैले सुसमाचार सुनाइनँ भने, मैले थप अभ्यास पाउने छैनँ, र मैले थप सत्यताहरू सिक्ने र प्राप्त गर्ने छैनँ। त्यसपछि, निरन्तर सुसमाचार सुनाउने अभ्यास गरेर, म त्यति धेरै नर्भस हुन र डराउन छोडेँ र दर्शनहरूको सत्यतालाई अझ स्पष्ट रूपमा बुझ्न थालेँ। मैले साँच्चै हल्का र स्वतन्त्र महसुस गरेँ। मैले सुसमाचार सुनाउने यो प्रक्रियामार्फत साँच्चै धेरै कुरा प्राप्त गरेँ।

सुसमाचार सुनाउने क्रममा, मैले धेरै कुराको अनुभव गरेँ, र धेरै कठिनाइहरूको सामना गरेँ। तर मैले यी समयमा परमेश्‍वरमा भर पर्न र उहाँप्रति श्रद्धा राख्न सिकेँ, उहाँको सर्वशक्तिमान् सार्वभौमिकतालाई चिनेँ र आफ्नो कर्तव्य पूरा गर्नुको महत्त्व पनि बुझेँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मैले अन्ततः गलत कार्यबारे रिपोर्ट गर्ने आँट गरेँ

लियू यि, चीनअगुवाको रूपमा सेवा गर्ने क्रममा, मैले निष्कासन गरिहाल्नु नहुने एक सिस्टरलाई कर्तव्यमा जिम्‍मेवारी नलिएको अनि सिद्धान्तहरू पालना...

जोइको कथा

जोइ, फिलिपिन्सविगतमा, म मानिसहरूलाई सधैँ भावनाको आधारमा व्यवहार गर्थेँ। मानिसहरूले मसँग राम्रो व्यवहार गरेसम्म म पनि तिनीहरूसँग राम्रो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्