कर्तव्यमा अरूको भर पर्नुका परिणामहरू

1 अप्रिल 2025

नोभेम्बर २०२१ मा, अगुवाले मलाई सिस्टर सान्ड्रासँग भिडियोहरूको लागि इमेज बनाउने काममा लगाइन्। सुरुमा, मैले आफ्‍नो प्राविधिक सीप सुधार्न सान्दर्भिक सिद्धान्त र सामग्रीहरू पढ्दै धेरै समय बिताएँ। तर यी इमेजहरू बनाउन गाह्रो छ भन्‍ने देखेँ र मैले पहिले यो काम गरेकी थिइनँ। मलाई लाग्यो कि यो काम साह्रै गाह्रो छ र बिस्तारै सिक्‍नको लागि मलाई कामकै अभ्यास चाहिन्छ। त्यसकारण सिद्धान्तहरूबारे विचारै नगरी म डिजाइन सुरु गर्थेँ र सान्ड्राले मैले बनाएका इमेजहरूमा समस्या देखाइरहन्थिन्। यो देख्दा पनि म आफ्‍ना गल्तीहरू समीक्षा गर्ने वा कमीकमजोरी हेर्ने गर्थिनँ। म यस्तो सोच्दै आफूलाई सीमित गर्थेँ, “ममा क्षमताको कमी छ र म यस्ता इमेजहरू बनाउन दक्ष छैनँ। मैले केही समयदेखि अभ्यास गरिरहेकी छु तैपनि समस्या आइरहेका छन्। लाग्छ, म यही तहमा अल्झेको छु।” म सान्ड्राको डाहा र प्रशंसा गर्थेँ। सोच्थेँ, उनले वर्षौँदेखि इमेज बनाउँदै आएकी छिन्, हरकिसिमले उनी मभन्दा उत्तम छिन्, स्पष्ट रूपमै मभन्दा राम्रो परिस्थितिमा छिन्, र भविष्यमा म उनमा अझै बढी भर पर्नुपर्छ। त्यहाँदेखि, म डिजाइनहरू बनाउँदा उनमै भर पर्न थालेँ, र मैले राम्ररी चित्र कोर्न नसक्‍ने भागहरू, म उनलाई नै पूरा गर्न दिन्थेँ। कहिलेकहीँ मैले खाका तयार गरेपछि, सिद्धान्तअनुरूप छ कि छैन भनेर त्यति धेरै सोच्दिनथेँ, र सुझावको लागि ती सिस्टरलाई सोध्थेँ। कहिलेकहीँ म मेरा इमेजहरूमा समस्या देख्थेँ, तर थप प्रयास गर्न मन लाग्दैनथ्यो, त्यसकारण म त्यो सान्ड्रालाई नै दिन्थेँ। यसलाई राम्रो बनाउन समय लगाउँदा धेरै मेहनत लाग्छ र मेरो सीपको स्तरले भ्याउँदैन भन्‍ने सोच्थेँ, अनि सान्ड्रा यो काममा दक्ष छिन् भन्दै यसलाई उनैले सच्याएर सुधार गरून् भन्‍ने आस गर्थेँ। सान्ड्राले मेरा इमेजहरू सुधार गरेको देख्दा, हरेकपटक नै मलाई साह्रै खुसी लाग्थ्यो, र यस्तो सिस्टरसँग सहकार्य गर्न पाउनु राम्रो कुरा हो, यसले मेरो धेरै समय र प्रयत्‍न जोगाउँछ भन्‍ने लाग्थ्यो।

पछि, इमेजहरू बनाउने काम बढ्दै गयो, त्यसैले कार्य प्रभावकारिताको लागि, सान्ड्राले सँगै डिजाइन गरौँ भनेर भनिन्। तर चित्र बनाउँदा, मेरो ध्यान काम राम्ररी कसरी गर्ने भन्‍नेमा हुँदैनथ्यो। म साह्रै निष्क्रिय हुन्थेँ। मलाई म यस्तो इमेज बनाउन दक्ष छैन, र सान्ड्राले राम्रो बनाउँछिन्, त्यसैले मैले उनको कुरा अझै बढी सुन्‍नुपर्छ भन्‍ने लाग्थ्यो। त्यसकारण प्राय, सान्ड्राले भने जति मात्रै इमेजहरू बनाउँथेँ, र कहिलेकहीँ उनी व्यस्त हुँदा, सँगै काम गर्न भनी पर्खेर बस्थेँ। कहिलेकहीँ म सिद्धान्तहरूमा पोख्त हुने, आफ्‍ना सीपहरू सुधार्ने, र इमेजका खाकाहरू आफै कोर्ने सबभन्दा छिटो तरिका सोच्‍ने प्रयास गर्थेँ। तर त्यसपछि सोच्थेँ, यो काम गर्न मलाई गाह्रो हुन्छ, जे भए नि, सान्ड्रा छँदै छिन् र उनी निकै दक्ष भएकीले उनैलाई ठूलो भूमिका खेल्‍न दिनुपर्छ। मैले त्यति धेरै चिन्ता गर्नु आवश्यक छैन। त्यसकारण म आफ्‍नो कर्तव्यमा सान्ड्रामा भर परिरहेँ। केही महिनापछि, मैले त्यति धेरै प्रगति नगरेको देखेर, अगुवाले मलाई अग्रसरता नजनाएको र सान्ड्राको काममा असर गर्ने गरी उनलाई निरन्तर सहयोग मागेको भन्दै निराकरण गरिन्। अगुवाले यसो भनेको सुन्दा मलाई साह्रै दुःख लाग्यो। मैले सक्दो चाँडो काम सिकेर आफै डिजाइन गर्न सकूँ भनेर नै उनले सान्ड्रालाई मसँग काम गर्न खटाएकी थिइन्। तर म सधैँ सान्ड्रामा भर परिरहेकी हुन्थेँ र काममा समर्पित थिइनँ। म लामो समयदेखि अभ्यास गर्दै थिएँ तर मेरो प्रगति एकदमै न्यून थियो। मैले कर्तव्यलाई त्यसरी कसरी लिन सकेँ? मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र आफ्‍नो समस्या बुझ्‍न मलाई डोर्‍याउन अनुरोध गरेँ।

एक सिस्टरले मलाई परमेश्‍वरको वचनका केही खण्डहरू पठाइन्: “धेरैजसो समय, कामका समस्याबारे सोध्दा तिमीहरू जवाफ दिन सक्दैनौँ। तिमीहरूमध्ये केही त काममा संलग्‍न भएका छौ, तर तिमीहरूले काममा के-कसो भइरहेको छ भनेर कहिल्यै सोध्‍ने वा यसबारे सावधानीपूर्वक सोच्‍ने गर्दैनौ। तिमीहरूको क्षमता र ज्ञानलाई विचार गर्दा, तिमीहरूलाई कम्तीमा पनि केही त हुनुपर्ने हो, किनभने तिमीहरू सबै यस काममा सहभागी भएका छौ। त्यसो भए, किन अधिकांश मानिसले केही पनि भन्दैनन्? सम्भवतः के भन्‍ने भनेर तिमीहरूलाई साँच्‍चै थाहा नभएको हुन सक्छ—कामकुराहरू राम्रोसित भइरहेका छन् कि छैनन् भनेर तिमीहरूलाई थाहा नभएको हुन सक्छ। यसका दुईवटा कारण छन्: एउटा कारण हो—तिमीहरू पूर्णतया उदासीन छौ, अनि तिमीहरूले यी कुराहरूको कहिल्यै वास्ता गरेनौ र सधैँ तिनलाई पूरा गर्नुपर्ने कामको रूपमा मात्र लियौ। अर्को कारण हो—तिमीहरू गैरजिम्मेवार छौ र यी कुराहरूको ख्याल गर्न तिमीहरू इच्छुक छैनौ। यदि तैँले साँच्‍चै वास्ता गरेको भए र यदि तँ साँच्‍चै संलग्‍न भएको भए, तँसित सबै कुराबारे राय र दृष्टिकोण हुनेथ्यो। भावशुन्य र उदासीन हुँदा र कुनै जिम्मेवारी नलिँदा अक्सर दृष्टिकोण वा राय नहुने गर्छ। तिमीहरू आफूले निर्वाह गर्ने कर्तव्यप्रति लगनशील छैनौ, तिमीहरू कुनै जिम्मेवारी लिँदैनौ, तिमीहरू मूल्य चुकाउन वा संलग्‍न हुन चाहँदैनौ। तिमीहरू न त कुनै कष्ट भोग्छौ, न त अझ धेरै शक्ति खर्चन नै इच्छुक छौ; तिमीहरू केवल अनुचर हुन चाहन्छौ, यो त एक गैरविश्‍वासीले आफ्नो हाकिमको लागि काम गरेजस्तोभन्दा कुनै फरक छैन। यसप्रकारको कर्तव्य निर्वाहलाई परमेश्‍वर मन पराउनुहुन्‍न र यसले उहाँलाई प्रसन्‍न तुल्याउँदैन। यसले उहाँको अनुमोदन पाउन सक्दैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। “कर्तव्य निर्वाह गर्दा मानिसहरू सधैँ थकित नहुने, घरबाहिर गई दौडधूप गर्नु नपर्ने हल्का काम छान्छन्। यसलाई सजिलो काम छान्‍नु र गाह्रो कामदेखि भाग्‍नु भनिन्छ, र यो देहसुखप्रतिको लालचको प्रकटीकरण हो। अरू के-के छन्? (कर्तव्य अलिक गाह्रो, अलिक थकाइलाग्दो, र मूल्य चुकाउनुपर्ने हुँदा सधैँ गुनासो गर्नु।) (खानेकुरा र लुगाफाटाप्रति मरिमेट्नु र देहको सुखमा लिप्त हुनु।) यी सबै देहसुखप्रतिको लालचका प्रकटीकरण हुन्। यस्तो व्यक्तिले एकदमै गाह्रो वा जोखिमपूर्ण काम देखेमा, त्यो अरू कसैलाई भिराउँछ; आफूले चाहिँ फुर्सदिलो काम मात्र गर्छ, र आफ्नो क्षमता कमजोर छ, काम गर्ने क्षमता छैन, र यस्तो काम गर्न सक्दिनँ भन्दै बहाना बनाउँछन्—जबकि वास्वतमा देहसुखको लालचले गर्दा त्यस्तो भएको हुन्छ। … के देहसुखमा लिप्त हुने मानिसहरू कर्तव्य निर्वाह गर्न योग्य हुन्छन्? कसैले कर्तव्य पूरा गर्ने कुरा उठाउनेबित्तिकै, वा मूल्य चुकाउनेबारे र कठिनाइ भोग्‍नेबारे बोल्‍नेबित्तिकै, तिनीहरूले टाउको हल्लाउँछन्। तिनीहरूसित समस्यैसमस्या हुन्छन्, तिनीहरू गुनासोका पोका हुन्, र तिनीहरू नकारात्मकताले भरिएका हुन्छन्। यस्ता मानिसहरू बेकारका हुन्, तिनीहरू कर्तव्य निर्वाह योग्य हुँदैनन् र तिनीहरूलाई हटाइनुपर्छ। जहाँसम्‍म देहका सहजताहरू लोभ गर्ने कुरा छ, हामी यसलाई यहीँ छोड्नेछौँ(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (२))। परमेश्‍वरको वचन मनन गर्दा, मैले कर्तव्य निभाएका ती महिनाहरूमा कुनै प्रगति नगर्नुको मुख्य कारण म अत्यन्तै अल्छी भएकीले, र ममा अग्रसरता र जिम्‍मेवारीबोध नभएकोले रहेछ भन्‍ने थाहा पाएँ। मैले आफ्‍नो काममा अनिश्‍चितताहरू सामना गर्दा, म आफूलाई शान्त पारेर सिद्धान्तहरू खोजी गर्दिनथेँ। यी कुराहरू सोच्दा एकदमै हैरानी हुन्छ भन्‍ने लाग्थ्यो, त्यसैले म त्यो काम सान्ड्रालाई नै जिम्‍मा दिन्थेँ। मैले सकिसकेको काममा उनले धेरै सुझाव दिँदा, म ती कुराबारे मनन गर्ने, वा आफ्‍ना कमीकमजोरी पहिचान गर्ने गर्दिनथेँ, बरु ममा क्षमताको कमी छ र म यसमा दक्ष छैन भनेर बहाना बनाउँथेँ, र कठिन कामहरू ती सिस्टरलाई नै गर्न दिन्थेँ। कतिपय भागमा समस्याहरू देखे पनि, म ती समस्या समाधान गर्ने झमेला गर्दिनथेँ। बरु, म झारा टार्थेँ, सुस्त हुन्थेँ, र कपटी बनेर सान्ड्रालाई नै समाधान गर्न दिन्थेँ। यसो गर्दा मलाई दुःख हुनेछैन र म अझै कुशल हुनेछु, र एउटै तीरले दुई सिकार हुन्छ जस्तो लाग्थ्यो। आफू अनुपयुक्त छु र आफूमा क्षमता छैन भन्‍ने सोच्दै, म खुसीसाथ अनुयायी बनेँ। म असक्षम छु र सान्ड्रा मभन्दा दक्ष छिन्, त्यसैले उनले धेरै काम गर्नु स्वभाविकै हो भन्‍ने सोच्थेँ, र उनैलाई काम गर्न दिन्थेँ। मैले सकेजति गर्थेँ, र म आखिर हात बाँधेर बसेकी छैनँ भन्‍ने सोच्थेँ। मैले कपटी र बेइमान बनेर शारीरिक सहजताको लालच गरिरहेकी थिएँ। मलाई आफ्‍नो विवेक वा मानवताको वास्ता नगरी वा कसरी मूल्य चुकाउने र आफ्‍नो काम राम्ररी गर्ने भनेर विचार नगरी कामकुरालाई सक्दो आरामदायक र सहज बनाउने अनि हरमोडमा धोकेधडी गर्ने र कहिल्यै जिम्‍मेवारी नलिने बाहिरी संसारमा कार्यरत अविश्‍वासीहरूको याद आयो। आफ्‍नो कर्तव्यप्रति मेरो मनोवृत्ति यस्तै थियो—लगनशीलता र जिम्‍मेवारीको कमी थियो, अनि म सधैँ अरूको अनुभव प्रयोग गरेर आफ्‍नो कर्तव्यमा सहजता खोज्‍ने र मूल्य नचुकाउने बहाना बनाउँथेँ। म सधैँ कठिनाइहरू अरूको काँधमा राखेर सहजता खोज्दै पछिल्तिर लुक्थेँ। यो साँच्‍चै स्वार्थी र छली व्यवहार थियो। म सधैँ सहजता चाहन्थेँ र ममा अग्रसरताको कमी थियो, त्यसैले मेरो सीपमा कहिल्यै प्रगति भएन र मैले कुनै वास्तविक भूमिका निभाइनँ। म साँच्‍चै नै काम गर्न लायक थिइनँ। मैले परमेश्‍वरलाई साँच्‍चै निराश तुल्याएजस्तो लाग्यो। मलाई यसरी कर्तव्य निभाइरहन मन लागेन।

पछि मैले परमेश्‍वरको अझै धेरै वचन पढेँ। “कतिपय मानिसहरूले जुन काम गरे पनि वा जुन कर्तव्य निभाए पनि, तिनीहरू यसमा अदक्ष हुन्छन्, तिनीहरूले यसको जिम्मेवारी थेग्नै सक्दैनन्, र तिनीहरू कुनै व्यक्तिले पूरा गर्नुपर्ने कुनै पनि दायित्व वा जिम्‍मेवारीहरू पूरा गर्न सक्दैनन्। के तिनीहरू रद्दी होइनन् र? के तिनीहरू अझै पनि मानव भनिन लायक हुन्छन् र? बुद्धु, मानसिक रूपले अदक्ष, र शारीरिक कमजोरी भएकाहरूबाहेक, आफ्ना कर्तव्य र जिम्‍मेवारीहरू पूरा गर्नु नपर्ने जीवित मानिस कोही छ र? तर यस्तो व्यक्ति सधैँ छट्टु र सुस्ताइरहेको हुन्छ, र आफ्‍नो जिम्‍मेवारी पूरा गर्न चाहँदैन; यसको आशय के हो भने तिनीहरू उचित मानव हुने इच्छा गर्दैनन्। परमेश्‍वरले तिनीहरूलाई मानव बन्‍ने मौका दिनुभयो, र उहाँले तिमीहरूलाई क्षमता र वरदान दिनुभयो, तैपनि तिनीहरूले यी कुरालाई आफ्‍नो कर्तव्य पूरा गर्नमा प्रयोग गर्न सक्दैनन्। तिनीहरूले केही गर्दैनन्, हरेक मोडमा आनन्द लिन मात्र चाहन्छन्। के त्यस्तो व्यक्ति मानव भनिन लायक हुन्छ? तिनीहरूलाई जुनसुकै काम दिइएको भए पनि, चाहे त्यो काम महत्त्वपूर्ण वा साधारण, कठिन वा सरल जेजस्तो भए पनि, तिनीहरू सधैँ झाराटारुवा र छट्टु अनि सुस्त हुन्छन्। समस्याहरू पैदा हुँदा, तिनीहरू आफ्‍नो जिम्‍मेवारी अरू मानिसहरूको काँधमा थुपार्न चाहन्छन्, कुनै जिम्‍मेवारी वहन गर्दैनन्, अनि आफ्ना परजीवी जीवन जिइरहन चाहन्छन्। के तिनीहरू बेकारका रद्दी होइनन् र? समाजमा, जिउनका लागि कसले पो आफ्‍नै भर पर्नु पर्दैन र? व्यक्ति ठूलो भएपछि, उसले आफ्‍नो ज्यान आफै पाल्‍नुपर्छ। तिनीहरूका आमाबुबाले आफ्‍नो जिम्‍मेवारी पूरा गरिसकेका हुन्छन्। तिनीहरूका आमाबुबाले तिनीहरूलाई सहयोग गर्ने इच्छा गरे पनि, तिनीहरूलाई त्यो कुरामा अप्ठ्यारो लाग्‍नुपर्छ। तिनीहरूले आफ्ना आमाबुबाले तिनीहरूलाई हुर्काउने आफ्‍नो मिसन पूरा गरेका छन् तिनीहरू सक्षम वयस्क हुन्, र आफू आत्मनिर्भर भई बाँच्‍न सक्‍नुपर्छ भन्‍ने कुरा बुझ्न सक्‍नुपर्छ। के वयस्कमा कम्तीमा पनि यतिको समझ हुनुपर्दैन र? यदि कसैमा साँच्चै समझ छ भने, उसले आफ्‍ना आमाबुबासँग हात पसारिरहने सम्भावना नहुन सक्छ; तिनीहरूलाई अरू हाँस्लान्, र आफ्नो इज्जत जाला भन्‍ने डर हुनेछ। त्यसोभए, सहजतालाई मन पराउने र कामलाई घृणा गर्ने मानिसहरूमा समझ हुन्छ? (हुँदैन।) तिनीहरू सधैँ सित्तैमा केही पाउन चाहन्छन्; तिनीहरू कहिल्यै कुनै जिम्‍मेवारी पूरा गर्न चाहँदैनन्, आकासबाट मिठाइ झरेर तिनीहरूको मुखमा परोस् भन्‍ने कामना गर्छन्; तिनीहरू कामै नगरी दिनमा तीनपटक खान चाहन्छन्, बस कसैले भात पस्केर देओस्, र मिठो-मिठो खान र पिउन चाहन्छन्। के यो परजीवीको मानसिकता होइन र? अनि परजीवी मानिसहरूमा विवेक र समझ हुन्छ त? के तिनीहरूमा सत्यनिष्ठा र मर्यादा हुन्छ त? कदापि हुँदैन। तिनीहरू केही न कामका भातमाराहरू, विवेक वा समझविनाका पशुहरू हुन्। तिनीहरूमध्ये कोही पनि परमेश्‍वरको घरमा रहन लायक हुँदैनन्(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (८))। “अल्छी मानिसहरूले केही पनि गर्न सक्दैनन्। दुई शब्‍दमा सारांश गर्नुपर्दा, तिनीहरू निकम्मा मानिसहरू हुन्; तिनीहरूको असक्षमता दोस्रो दर्जाको हुन्छ। अल्छी मानिसहरूको क्षमता जति नै राम्रो भए पनि, यो देखावटी कुरा मात्रै हुन्छ; तिनीहरूसँग असल क्षमता भए पनि, त्यसको कुनै काम हुँदैन। तिनीहरू अत्यन्तै अल्छी हुन्छन्—तिनीहरूलाई आफूले के गर्नुपर्ने हो सो थाहा हुन्छ, तर तिनीहरूले त्यो गर्दैनन्; र तिनीहरूलाई कुनै कुरा समस्या हो भनेर थाहा नै भए पनि, यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्; र काम प्रभावकारी हुनको लागि तिनीहरूले के-कस्ता कठिनाइहरू भोग्‍नुपर्छ भनेर तिनीहरूलाई थाहा भए पनि, तिनीहरू यी सार्थक कठिनाइहरू सहन इच्‍छुक हुँदैनन्—त्यसैले तिनीहरूले कुनै सत्यता प्राप्त गर्न सक्दैनन्, र कुनै वास्तविक काम गर्न सक्दैनन्। तिनीहरू मानिसहरूले सहनुपर्ने कठिनाइ सहन चाहँदैनन्; तिनीहरूलाई सुख-सयलमा लिप्त हुन, खुसी र फुर्सतको समयको आनन्द उठाउन, अनि स्वतन्त्र र तनावरहित जीवनको आनन्द उठाउन मात्रै आउँछ। के तिनीहरू बेकामका हुँदैनन् र? कठिनाइ सहन नसक्‍ने मानिसहरू जिउन लायक हुँदैनन्। सधैँ परजीवीको जीवन जिउन चाहनेहरू विवेक वा तर्क नभएका मानिसहरू हुन्; तिनीहरू पशु हुन् र त्यस्ता मानिसहरू श्रम गर्नसमेत योग्य हुँदैनन्। तिनीहरूले कठिनाइहरू सहन नसक्‍ने हुँदा, तिनीहरूले श्रम गरे पनि, त्यो राम्ररी गर्न सक्दैनन्, र तिनीहरूले सत्यता प्राप्त गर्न चाहन्छन् भने, त्यसको आशा झनै कम हुन्छ। कष्ट भोग्‍न नचाहने र सत्यतालाई प्रेम नगर्ने व्यक्ति रद्दी व्यक्ति हो; ऊ श्रम गर्नसमेत योग्य हुँदैन। ऊ अलिकति पनि मानवता नभएको पशु हो। त्यस्ता मानिसहरूलाई हटाउनुपर्छ; यो मात्र परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुन्छ(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (८))। परमेश्‍वरको वचनबाट, मैले के बुझेँ भने परमेश्‍वरको नजरमा, सधैँ सहजताको तृष्णा गर्ने, मूल्य चुकाउन नमान्‍ने, आफूलाई दिइएको काम उचित तरिकाले पूरा नगर्ने, र आफ्‍ना जिम्‍मेवारीहरू पूरा नगर्ने मानिसहरू अत्यन्तै बेकामका हुन्छन्। यी मानिसहरूमा कुनै अग्रसरता हुँदैन र तिनीहरू सधैँ अरूको मेहनतको फलमा रमाउँछन्। तिनीहरू मण्डलीको फाइदा लुट्ने परजीवी हुन् र तिनीहरूलाई हटाइनुपर्छ। परमेश्‍वरले “परजीवी” र “कसिङ्गर” भन्‍नुको तात्पर्य के हो भनेर मैले सोचिरहेँ। मलाई बाहिरी संसारका वयस्कहरूको याद आयो जो अझै पनि आमाबुबाकै आडमा जिउँछन्। ठूलो भएपछि पनि, तिनीहरू काम खोज्दैनन्, बस आमाबुबाको सहयोगमा रमाउँछन्, तिनीहरू अरूले दिएको भरमा बाँच्छन् तर आफूले कमाएर खानु भनेको के हो जान्दैनन्। तिनीहरूमा सामान्य मानव समझ हुँदैन। यी मानिसहरू परजीवी हुन्। मैले मेरो व्यवहार र यी गैरजिम्‍मेवार र पराजीवी अल्छीहरूको व्यवहारबीच कुनै भिन्‍नता नरहेको देखेँ। मण्डलीले मलाई इमेजहरू बनाउने काम दिएको थियो, र यो मेरो जिम्‍मेवारी थियो। काम गाह्रो नै भए पनि, मैले सक्दो चाँडो यसमा बोझ लिन लगनसाथ अध्ययन गर्नुपर्थ्यो। तर मलाई ती इमेजहरू बनाउनु गाह्रो छ भन्‍ने लाग्यो र तीबारे सोच्दै मेहनत गर्न मन लागेन। मैले लामो समय सिक्दै जाँदा सिद्धान्तहरू राम्ररी बुझ्‍नेछु भन्‍ने सोच्दै आफ्‍नो अल्छीपन टार्ने बहानाहरू बनाएँ, र समस्याहरू देखा पर्दा पनि बिचलनहरू नियाल्ने वा सिद्धान्तहरू खोज्‍ने गरिनँ। अनि सान्ड्रा कति अनुभवी छिन् भन्‍ने देख्दा, मैले उनको सहयोगलाई सामान्य ठानेँ, र कठिन कुराहरू उनैलाई गर्न दिएँ, र इनामहरू लिने प्रतीक्षा गरेँ। हामीले सँगै काम गर्दा पनि, म अझै उनमा भर परिरहन्थेँ। म सान्ड्राको कुरा मात्रै सुन्थेँ तर कुनै सोचविचार गर्दिनथेँ। ममा कर्तव्यप्रति कुनै जिम्‍मेवारीबोध थिएन र अरूमा मात्रै भरोसा गर्थेँ। म कुनै मेहनत गर्थिनँ, बस अरूको मेहनतको फलमा रमाउन मात्रै चाहन्थेँ। म बेकामकी, मण्डलीको फाइदा लुट्ने पराजीवी थिएँ। परमेश्‍वरले मलाई साँच्‍चै घृणा गर्नुहुन्थ्यो! जब ती सिस्टरले आफ्‍नो काम पूरा गर्थिन्, तब उनले मेरो काममा सहयोग गर्दै समय बिताउनुपर्थ्यो, जसले गर्दा उनको कर्तव्यमा बाधा पुग्यो। मलाई एकदमै नरमाइलो लाग्यो र ग्‍लानि भयो। म त्यति अल्छी हुन सकेकी थिएँ किनभने म शैतानी भ्रमहरूद्वारा प्रभावित थिएँ, जस्तै “आफूलाई दया गरेर आफूलाई प्रेम गर्न सिक्‍नुपर्छ,” “रूखको आडमा बसेर छाया लिनुपर्छ,” र “सहयोग लिन सक्‍ने बेलामा सहयोग नलिनु मूर्खता हो।” यी शैतानी विचारहरूले मलाई देहमा ध्यान दिने मात्रै बनाए र म अझै ह्रासोन्‍मुख, पतीत, र निष्क्रिय हुँदै गएँ। म बीउ नछरी फल टिप्न चाहन्थेँ र जब मेरो कर्तव्य अलिक कठिन हुन्थ्यो, म सोच्‍न वा मूल्य चुकाउन इच्छुक हुन्थिनँ। मेरी सहकर्मीलाई मभन्दा दक्ष देख्दा, मैले कठिन कुराहरू बस उनैलाई दिदिन्थेँ र बोझ बोक्‍न लगाउँथेँ। सहयोग पाउँदा-पाउँदै सहयोग नलिनु मूर्खता हो भन्‍ने लाग्थ्यो। म साँच्‍चै नै कपटी र बेइमान थिएँ! यसरी कर्तव्य निभाउँदा मलाई थकाइ नलागे पनि, इमेज बनाउने काममा मैले कहिल्यै कुनै प्रगति गरिनँ। यदि मैले लामो समयसम्‍म काममा भूमिका खेल्दिनथेँ भने, मलाई ढिलोचाँडो हटाइने थियो! यो सोच्दा म साह्रै व्याकुल भएँ। अनि परमेश्‍वरलाई प्रार्थना गरेँ: “परमेश्‍वर, मैले कर्तव्यमा सहजता चाहँदै आएकी छु र ममा अग्रसरताको कमी छ। अब म पश्‍चात्ताप गर्दै तपाईंको छानबिन स्विकार्न चाहन्छु। मैले फेरि देहको ख्याल गरेँ भने, बिन्ती मलाई ताडना दिँदै अनुशासनमा राख्‍नुहोस्।”

सोचेँ, केही दिनपहिले, सान्ड्राले मेरा कतिपय इमेजहरूमा रहेका समस्याहरू औँल्याउँदै निश्‍चित कुराहरू प्रस्ट्याएकी थिइन्। उनले पहिले पनि मलाई यस्तो समस्याबारे स्पष्ट पारिदिएकी थिइन्, तर त्यसको बाबजुद पनि, मैले पूरै बिर्सिएकी थिएँ। मलाई साह्रै ग्‍लानि भयो। हरेकपटक मैले नबुझ्‍ने कुरा सामना गर्दा, सान्ड्राले मसित धैर्यसाथ सङ्गति गर्थिन्। यदि मैले सम्झिने र टिपोट गर्ने अलिकति मात्रै प्रयास गरेकी भए, उही समस्याहरू देखा पर्दैनथे। तर म सिद्धान्तहरू लागू गर्नमा कहिल्यै ध्यान दिँदिनथेँ, खालि अरूको भर पर्थेँ। अरूले जति धेरै कुरा बताए पनि, कुनै कुरा दिमागमा घुस्दैनथ्यो, त्यसैले मैले अझै आधारभूत सिद्धान्तहरूसमेत सिकेकी थिइनँ। यो सोचेपछि, मैले इमेजहरू डिजाइन गर्ने क्रममा ध्यान दिनुपर्ने समस्या र सिद्धान्तहरूको सूची बनाएँ, ताकि मैले फेरि अनिश्‍चितताहरू सामना गरेँ भने, आफै ती पत्ता लगाउन सकूँ। समस्याहरू देखा पर्दा, म तुरुन्तै लेखेर पुनरावलोकन गर्थेँ। मैले इमेज बनाउने काममा क्रमिक प्रगति गर्न थालेँ।

पछि, मैले आफ्‍नै बारेमा मनन गरेँ। आलस्यबाहेक, अरू के कुराले मेरो कर्तव्यमा बाधा पुर्‍याइरहेको थियो? मनन गर्ने क्रममा, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ: “अनि, मानिसहरूले के आधारमा आफ्नो योग्यताको तह मूल्याङ्कन गर्छन्? तिनीहरूले निश्‍चित कर्तव्य कति वर्ष निभाएका छन् र तिनीहरूले कति धेरै अनुभव बटुलेका छन् भन्‍ने आधारमा, होइन र? अनि यस्तो हो भने, के तैँले क्रमिक रूपमा वरिष्ठताका आधारमा सोच्‍न थाल्दैनस् र? उदाहरणका लागि, कुनै दाजुले परमेश्‍वरमा विश्‍वास गरेको वर्षौँ भयो र कर्तव्य निभाउन थालेको लामो समय भयो, त्यसकारण कुरा गर्नको लागि ऊ नै सबैभन्दा योग्य हुन्छ; कुनै बहिनीले यहाँ काम गरेको धेरै भएको छैन, र उसमा केही क्षमता भए पनि, ऊसँग यो कर्तव्य पूरा गरेको अनुभव छैन, र उसले परमेश्‍वरमा विश्‍वास गरेको धेरै भएको छैन, त्यसकारण ऊ बोल्‍नका लागि सबैभन्दा कम योग्य हुन्छे। बोल्‍नका लागि सबैभन्दा योग्य व्यक्तिले मनमनै सोच्छ, ‘म नै वरिष्ठ भएको हुनाले, मेरो कर्तव्यपालन मापदण्डका स्तरमा छ, र मेरो खोजी चरम अवस्थामा पुगेको छ, र मैले सिक्‍नु वा प्रवेश गर्नुपर्ने कुनै कुरा छैन। मैले यो कर्तव्य राम्ररी निभाएको छु, मैले यो काम केही हदसम्‍म पूरा गरेको छु, त्यसकारण परमेश्‍वर सन्तुष्ट हुनुपर्छ।’ अनि यसरी तिनीहरू आत्मसन्तुष्ट हुन थाल्छन्। के यसले तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गरेका छन् भन्‍ने जनाउँछ र? … मानिसहरूले वास्तवमा के कुराको खोजी गर्छन् र तिनीहरू कुन मार्गमा हिँड्छन्, तिनीहरूले साँच्‍चै सत्यता स्विकार्छन् कि त्याग्छन्, तिनीहरू परमेश्‍वरमा समर्पित हुन्छन् कि उहाँको विरोध गर्छन्—परमेश्‍वरले यी सब कुराहरूलाई निरन्तर जाँचिरहनुभएको हुन्छ। हरेक मण्डली र हरेक व्यक्तिलाई परमेश्‍वरले अवलोकन हुन्छ। मण्डलीमा जति नै धेरै मानिसहरूले कर्तव्य निर्वाह गरिरहेका वा परमेश्‍वरलाई पछ्याइरहेका भए पनि, तिनीहरू परमेश्‍वरदेखि टाढा गएको क्षण, तिनीहरूले पवित्र आत्माको काम गुमाएको क्षण, तिनीहरूले परमेश्‍वरको काम अनुभव गर्न छोड्छन्, र त्यसैले तिनीहरूले निभाइरहेको कर्तव्यको अनि तिनीहरू आफैको परमेश्‍वरका काममा कुनै सम्बन्ध र कुनै भूमिका हुँदैन, र यो अवस्थामा तिनीहरू धार्मिक समूह बनिसकेका हुन्छन्। मलाई भन, कुनै मण्डली एक धार्मिक समूहमा परिवर्तन भयो भने यसका परिणामहरू के हुन्छन्? के यी मानिसहरू ठूलो खतरामा छन् भनेर तिमीहरू भन्दैनौ र? तिनीहरूले समस्याको सामना गर्दा कहिल्यै पनि सत्यताको खोजी गर्दैनन् र तिनीहरू सत्यता सिद्धान्तअनुसार कार्य गर्दैनन्, बरु तिनीहरू मानवजातिका बन्दोबस्त र चालबाजीमा पर्छन्। अझै धेरै यस्ता पनि छन् जो आफ्ना कर्तव्यहरू निर्वाह गर्दा प्रार्थना गर्ने वा सत्यता सिद्धान्तहरू खोज्ने कहिल्यै गर्दैनन्; तिनीहरूले केवल अरूलाई सोध्ने र अरूले भनेअनुसार गर्ने, र अरूले दिएको इसारामा काम गर्ने गर्छन्। अरूले जे गर्नू भन्छन्, तिनीहरूले त्यही गर्छन्। तिनीहरूलाई आफ्नो समस्याबारे परमेश्‍वरसित प्रार्थना गर्नु र सत्यता खोज्‍नु अस्पष्ट र गाह्रो लाग्छ, त्यसैले तिनीहरू सरल र सजिलो समाधान खोज्छन्। तिनीहरूलाई अरूमा भर पर्नु र अरूले जे भन्छन् त्यो गर्नु सजिलो र सबैभन्दा वास्तविक लाग्छ, त्यसैले तिनीहरूले हरेक कुरामा अरूलाई सोध्दै र अरूले कुरा सुन्दै, अरूले जे भन्यो त्यही गर्छन्। फलस्वरूप, धेरै वर्षसम्म विश्‍वास गरेर पनि, तिनीहरू समस्याको सामना गर्दा एकपटक पनि प्रार्थना गर्न र उहाँका चाहनाहरू र सत्यताको खोजी गर्न, र सत्यताको बुझाइ हासिल गर्न अनि परमेश्‍वरका अभिप्रायहरू अनुसार कार्य र व्यवहार गर्न परमेश्‍वरको अघि आएका हुँदैनन्—तिनीहरूले त्यस्तो अनुभव कहिल्यै गरेका हुँदैनन्। के त्यस्ता मानिसहरूले वास्तवमै परमेश्‍वरमाथिको विश्‍वास अभ्यास गर्छन् त?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ)। परमेश्‍वरको वचनबारे विचार गर्दा र आत्मचिन्तन गर्दा, के महसुस भयो भने, ममा वरिष्ठताको आदर गर्ने दृष्टिकोण रहेछ। मैले वरदान, क्षमता, र कार्य अनुभवलाई कर्तव्य राम्ररी निभाउने पूँजीको रूपमा लिन्थेँ, र ती कुराहरू भए व्यक्तिले त्यो कर्तव्यमा बोल्‍ने अधिकार पाउँछ भन्‍ने सोच्थेँ। त्यसकारण सान्ड्राले इमेजहरू बनाएको धेरै वर्ष भएको छ, उनी अनुभवी र निपुण छिन् भन्‍ने देख्दा, म उनको डाहा र प्रशंसा गर्थेँ। मैले गर्न नसक्‍ने काम देखा पर्दा, म परमेश्‍वरलाई प्रार्थना र भरोसा गर्ने, वा सिद्धान्तहरू खोज्‍ने र विचार गर्ने गर्थिनँ। मलाई नआउने काम उनलाई दिँदै म सधैँ उनैको भर पर्थेँ। उनले जे भन्थिन् म त्यही गर्थेँ। अनि महसुस भयो कि मैले त यो काममा मात्रै अरूमा भरोसा गर्ने गरेकी थिइनँ। हरेकपटक मेरोभन्दा अझै धेरै वरदान, क्षमता, सक्षमता, वा कार्य अनुभव भएको व्यक्ति भेट्दा, म पूर्ण हृदयले तिनीहरूको उपासना र भक्ति गर्थेँ, र प्राय तिनीहरूमै भर पर्थेँ, यहाँसम्‍म कि मेरो हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ थिएन र आफूले सामना गर्ने समस्याहरू सुल्झाउन कहिल्यै परमेश्‍वरमा भर पर्ने वा सत्यता खोजी गर्ने गर्दिनथेँ। फलस्वरूप, मैले कुनै प्रगति गरिनँ र मेरो कर्तव्यले कुनै नतिजा निकालेन। परमेश्‍वरले मलाई घिनाउनुभयो र म पवित्र आत्माको काम प्राप्त गर्न असमर्थ भएँ। यो कुरा बाइबलले भनेजस्तै हो, “मानिसमा भरोसा गर्ने, र आफ्‍नो देहलाई आफ्नो अस्त्र बनाउने अनि जसको हृदय यहोवादेखि टाढा जान्छ त्यो मानिस श्रापित होस्(यर्मिया १७:५)। वास्तवमै हो, हामीले हाम्रो विश्‍वासमा परमेश्‍वरलाई नै महान् भनी आदर गर्नुपर्छ। सबै कुरामा परमेश्‍वरतिरै भर पर्नु र हेर्नु सबैभन्दा ठूलो बुद्धि हो। व्यक्तिको क्षमता, वरदान, सक्षमता, कार्य अनुभव, वा विश्‍वासको वर्ष जति नै भए पनि, उसमा सत्यता छ भन्‍ने हुँदैन। सृष्टि गरिएको कुनै एक प्राणी अर्कोभन्दा ठूलो वा सानो हुँदैन। परमेश्‍वरमा भरोसा र आशा गरेर अनि थप सत्यताका सिद्धान्तहरू खोजी गरेर मात्रै हामीले परमेश्‍वरको अगुवाइ पाउन र कर्तव्य राम्ररी निभाउन सक्छौँ।

पछि मैले परमेश्‍वरको वचनका थप केही खण्डहरू पढेँ र राम्रोसित कर्तव्य निभाउने मार्ग भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिलिऊँ, मण्डलीले तेरो लागि एउटा कार्य प्रबन्ध गर्छ, र तँ यसी भन्छस्, ‘यो कार्यले मलाई अरूको ध्यान आकर्षित गर्ने मौका दिए पनि वा नदिए पनि, यो कार्य मलाई दिइएको हुनाले, म यसलाई राम्ररी गर्नेछु र यो जिम्‍मेवारी लिनेछु। यदि मलाई अतिथि सत्कारको कार्य प्रबन्ध गरियो भने, म त्यो राम्ररी गर्न सकेजति सबै गर्नेछु; म दाजुभाइ-दिदीबहिनीहरूको राम्रो हेरचाह गर्नेछु र सबैको सुरक्षा सुनिश्चित गर्नको लागि सक्दो गर्नेछु। यदि मलाई सुसमाचार प्रचार गर्ने काम प्रबन्ध गरियो भने, म सत्यताले आफूलाई सुसज्जित पारेर प्रेमका साथ सुसमाचार राम्ररी सुनाउँदै आफ्‍नो कर्तव्य पूरा गर्नेछु। यदि मलाई विदेशी भाषा सिक्‍ने काम प्रबन्ध गरियो भने, म पूरै हृदय लगाएर यो अध्ययन गर्नेछु र मेहनत गर्नेछु, र जतिसक्दो चाँडो, एकदुई वर्षमा यसमा निपुण हुन खोज्नेछु, ताकि मैले विदेशीहरूलाई परमेश्‍वरको गवाही दिन सकूँ। यदि मलाई गवाही लेखहरू लेख्‍न लगाइयो भने, म यसो गर्न निष्ठापूर्वक आफूलाई प्रशिक्षित तुल्याउनेछु, कामकुराहरूलाई सत्यता सिद्धान्तअनुसार हेर्नेछु, र म भाषाबारे सिक्‍नेछु। मैले सुन्दर गद्य शैलीमा लेख लेख्‍न नसके पनि कम्तीमा प्रस्ट रूपमा आफ्नो अनुभवात्मक गवाही सुनाउन, सत्यताबारे विस्तृत तवरमा सङ्गति गर्न, र परमेश्‍वरका लागि साँचो गवाही दिन सक्षम बन्‍नेछु, ताकि मानिसहरू मेरा लेखहरू पढेर सच्चिन र लाभ उठाउन सकून्। मण्डलीले मलाई जुन काम दिए पनि म आफ्‍नो सारा हृदय र शक्तिले त्यो गर्नेछु। यदि मैले कुनै कुरा बुझिनँ वा समस्या आइपर्‍यो भने, म परमेश्‍वरलाई प्रार्थना गर्नेछु, सत्यता खोजी गर्नेछु, सत्यता सिद्धान्तहरूअनुसार समस्याहरूलाई हल गर्नेछु, र कार्य राम्ररी गर्नेछु। मेरो कर्तव्य जे भए पनि, म यसलाई राम्ररी पूरा गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफूसँग भएको सबै कुरा प्रयोग गर्नेछु। मैले जेसुकै हासिल गर्न सके पनि, म आफूले वहन गर्नुपर्ने जिम्‍मेवारी वहँ गर्नेछु, र कम्तीमा पनि, म आफ्‍नो विवेक र समझविरुद्ध काम गर्नेछैनँ, वा झारा टार्नेछैनँ, वा कपटी र अल्छे बन्‍नेछैनँ, वा अरूको मेहनतको फलमा लिप्त हुनेछैनँ। मैले गर्ने कुनै पनि काम विवेकको मानकभन्दा मुनि हुनेछैन।’ यो त मानव आचरणको न्यूनतम मापदण्ड हो र यसरी आफ्‍नो कर्तव्य पूरा गर्ने व्यक्ति विवेक र समझ भएको व्यक्तिको रूपमा योग्य हुन सक्छ। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा तँमा कम्तीमा पनि स्पष्ट विवेक हुनुपर्छ, र कम्तीमा पनि आफ्नो तीन छाकको खानाको लायक हुनुपर्छ र ती सित्तैँमा खानु हुँदैन। यसलाई जिम्‍मेवारीको बोध हुनु भनिन्छ। तेरो क्षमता बलियो भए पनि वा कमजोर भए पनि, र तैँले सत्यता बुझे पनि वा नबुझे पनि, जे भए पनि, तँमा यस्तो मनोवृत्ति हुनैपर्छ: ‘यो काम मलाई दिइएको हुनाले, मैले यसलाई गम्‍भीरतासाथ लिनैपर्छ; मैले यसलाई मेरो चासोको विषय बनाउनुपर्छ, र यसलाई राम्ररी पूरा गर्न आफ्‍नो सारा हृदय र शक्ति प्रयोग गर्नैपर्छ। मैले यसलाई पूर्ण रूपमा राम्ररी गर्न सक्छु कि सक्दिनँ भन्‍नेबारे ग्यारेन्टी दिन नसके पनि, यसलाई आफूले सकेजति राम्ररी निर्वाह गर्ने मेरो मनोवृत्ति छ, र म यसबारे अवश्य नै झाराटारुवा बन्‍नेछैनँ। यदि काममा कुनै समस्या उत्पन्न भयो भने, मैले जिम्‍मेवारी लिनुपर्छ, र यसबाट पाठ सिकेको सुनिश्‍चित गरेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ।’ यो सही मनोवृत्ति हो(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (८))। “तैँले जुनसुकै कर्तव्य निभाए पनि, परमेश्‍वरको इच्‍छाप्रति ध्यान दिनुपर्छ, परमेश्‍वरको इच्छाप्रति सचेत हुनुपर्छ। यो मानसिकताद्वारा मात्रै कर्तव्य राम्ररी पूरा गर्न सकिन्छ। जस्तोसुकै कठिनाइहरू देखा परे पनि, परमेश्‍वरमा भरोसा गर्, उहाँलाई प्रार्थना गर्, र ती समस्या सुल्झाउन सत्यता खोजी गर्। गल्तीहरू भए भने, समयमा नै तिनलाई सुधार गर्, पाठ सिक्, र फेरि त्यही गल्ती नगर्। सही मानसिकताले आफ्‍नो कर्तव्य निभाउनेहरू विवेकशील र जिम्‍मेवार हुन्छन्—तिनीहरूले जति महत्त्वपूर्ण कर्तव्य जिम्मा लिए पनि, तिनीहरूले काममा ढिलाइ गराउँदैनन्(परमेश्‍वरको सङ्गति)। परमेश्‍वरका वचनहरूबाट थाहा भयो, मण्डलीले हामीलाई दिने काम हामीले पूरा गर्नुपर्ने कर्तव्य र जिम्‍मेवारी हो। साँच्‍चै जिम्‍मेवार व्यक्तिले परमेश्‍वरको इच्‍छालाई ध्यान दिँदै लगनसाथ कर्तव्य निभाउन सक्छ। क्षमता, वरदान, सीपको स्तर अनि सामना गर्नुपर्ने कठिनाइ वा भोग्‍नुपर्ने कष्ट जस्तोसुकै भए पनि, यस्ता मानिसहरूले परमेश्‍वरमा भरोसा गरी साँच्‍चै मूल्य चुकाउन, कठिनाइ पार गर्न र राम्रोसित कर्तव्य निभाउन सर्वस्व सुम्पन सक्छन्। नोआले पनि ठूलो जहाज बनाउँदा त्यसरी नै धेरै कठिनाइ भोगेका थिए। तिनले हर सामग्रीहरू तयार गरेर कैयौँ प्राणीहरू बटुल्‍नु मात्रै परेन, उद्योगको विकास नै नभएको युगमा जन्मेको कारण, तिनले कामको हर भागको लागि आफ्‍नै शक्तिमा भरोसा गर्नुपरेको समेत थियो। तिनले धेरै असफलता भोग्‍नुपर्‍यो र काम दोहोर्‍याउनुपर्‍यो, शारीरिक थकान र कैयौँ कुरा सहनुपर्‍यो। तर नोआले कहिल्यै देहको ख्याल गर्ने वा कपट वा बेइमानी गर्ने गरेनन्, परमेश्‍वरको आज्ञा अरूको काँधमा हाल्‍ने त कुरै छोडौँ। बरु, तिनले परमेश्‍वरको आज्ञालाई सधैँ मनमा राखे र विभिन्‍न संकष्टहरू छिचोल्न परमेश्‍वरमा भर परे। १२० वर्षमा तिनले ठूलो जहाज बनाइसकेर परमेश्‍वरको आज्ञा पूरा गरे। परमेश्‍वरको आज्ञाप्रतिको नोआको आज्ञाकारिता र इमानदारिताले मलाई छोयो र लज्‍जित पार्‍यो। म आखिरी दिनहरूमा जन्‍मेकी थिएँ र मैले परमेश्‍वरका धेरै वचनहरू सुनेकी थिएँ र कर्तव्य निभाउने सत्यताहरूबारे परमेश्‍वरले धेरै वचन बोल्‍नुभएको थियो। मेरो काम नोआको जहाज बनाउनेजत्तिको गाह्रो थिएन, तैपनि मैले कपटी र बेइमानी काम गरेँ। ममा साँच्‍चै मानवताको कमी रहेछ। मैले परमेश्‍वरको वचनमा अभ्यासको मार्ग भेट्टाएँ। कठिनाइहरू सामना गर्दा, म सान्ड्रामा मात्रै भर पर्नु हुँदैनथ्यो। ती कुरा सम्‍हाल्‍न मैले परमेश्‍वरलाई प्रार्थना गरेर सान्दर्भिक सिद्धान्तहरू खोज्‍नुपर्थ्यो। काममा हृदय लाउन थालेपछि मैले बनाएका इमेजहरूमा सुधार आइरहे। कहिलेकहीँ त दिनको लागि सान्ड्रासँग सुझाव पनि हुँदैनथ्यो। मैले साँच्‍चै भूमिका खेल्‍न सक्‍ने रहेछु भन्‍ने थाहा भयो र काम मैले सोचेजत्तिको गाह्रो रहेनछ। पहिले, म सिद्धान्तहरूबारे विचार गर्ने झमेला लिँदिनथेँ, केवल देहमा ध्यान दिँदै अरूमा भर पर्थेँ, अनि कहिल्यै सिद्धान्तहरू बुझ्दिनथेँ।

एकपटक, एक सिस्टर मकहाँ आइन् र एउटा इमेज तुरुन्तै चाहियो भनेर भनिन्। मैले सोचेँ: “यो इमेज गाह्रो देखिन्छ र तुरुन्तै चाहिया छ, सायद म राम्रो बनाउन सक्दिनँ होला। सान्ड्रालाई नै यो काम दिनुपर्ला” जब मलाई उनीकहाँ जान मन लाग्यो, मैले फेरि देहको कुरा सुनेर अरूलाई काम दिन लाग्दै छु भन्‍ने महसुस भयो, त्यसैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ र सिद्धान्तहरूबारे ध्यानपूर्वक विचार गर्न आफूलाई शान्त पारेँ। अचम्‍मको कुरो, मैले यो काम छिट्टै सकेँ र काममा ढिलाइ भएन। कठिन भयो भनेर म कर्तव्यबाट भागिनँ, र मनमा मलाई निकै सहज अनुभव भयो!

यो अनुभवबाट मैले के जानेँ भने, काम जेसुकै भए पनि, क्षमता, वरदान, वा अनुभवमा भरोसा गरेर मात्रै यसलाई पूरा गर्न सकिँदैन। मुख्य कुरा त सत्यता र सिद्धान्तहरू खोजी गर्नु हो। जब हामी कठिनाइहरू सामना गर्छौँ, तब देहको कुरा सुनेनौँ र सहजताको तृष्णा गरेनौँ बरु ती कुराबाट पार पाउन र जिम्‍मेवारीहरू पूरा गर्न परमेश्‍वरमा भर पर्‍यौँ र सत्यता खोजी गर्‍यौँ भने हामीले परमेश्‍वरको अगुवाइ प्राप्त गर्न र कर्तव्य राम्ररी निभाउन सक्छौँ! मैले के पनि बुझेँ भने परमेश्‍वरले मलाई सहकर्मी दिनुभयो भन्दैमा, म उनैमा भर पर्नुपर्छ भन्‍ने छैन। बरु, हामीले आपसी सहयोग गर्दै एकअर्काको कमीकमजोरी पूर्ति गर्नुपर्छ। परमेश्‍वरले हामी प्रत्येकलाई फरकफरक वरदान, अभिरुचि, र क्षमता दिनुभएको छ, हामीले आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्न एउटै हृदय र मनका भएर सहकार्य गर्नु र समर्पित हुनुपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

झूट बोल्‍नुको पीडा

अक्टोबर २०१९ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारेँ। भेलाहरूमा म ब्रदर-सिस्टरहरूले आफ्‍नो अनुभव र बुझाइको बारेमा...

सुसमाचार सुनाउँदा कठिनाइहरूको सामना कसरी गर्ने

मेरो पुरै परिवार क्याथोलिक थियो, र अरू धेरेजसो गाउँलेहरू पनि क्याथोलिक नै थिए। तर हाम्रो गाउँको क्याथोलिक गिर्जामा देखरेख गर्ने पादरी नभएको...

ढोँगीपनको बोझ

सन् २०२० को अगस्टमा, मलाई मेरो नेतृत्वको पदबाट बर्खास्त गरियो किनकि मैले ओहोदालाई पछ्याउँदै र लटरपटर काम मात्र गर्दै आइरहेकी थिएँ। मलाई...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्