आधुनिक समयको फरिसी बन्दा

9 अप्रिल 2025

मैले सन् १९८९ बाट प्रभु येशूलाई पछ्याउन थालें। सेवामा उपस्थित भएर र बाइबल पढेर, मैले स्वर्ग, पृथ्वी र सबैथोक परमेश्‍वरले सृष्टि गर्नुभएको हो, मानवजातिलाई शैतानको पकडबाट मुक्ति दिन र हाम्रो लागि अविश्‍वसनीय अनुग्रह, शान्ति र आनन्द ल्याउन प्रभु येशू व्यक्तिगत रूपमा देहधारी बन्नुभयो र क्रूसमा मर्नुभयो भन्ने जानें। म प्रभुप्रति अत्यन्तै कृतज्ञ थिएँ। त्यसपछि, मैले जागिर खाँदै सुसमाचार बाँड्न थालें, अनि मण्डली जानु र धर्मशास्त्र पढ्नु नै मेरो जीवन नै बनेको थियो। केही वर्षदेखि, सुसमाचार निकै छिटो फैलिरहेको थियो, र हामीले छिटै नै धेरै नयाँ मण्डलीहरू स्थापना गर्यौं। म दुईवटा प्रान्तको कामको जिम्मेवारी लिएर नेतृत्वको पदमा निर्वाचित भएँ। मैले आफ्नो जागिर छोडेर सबै कुरा मण्डलीको काममा लगाएँ। हरेक दिन मलाई साँच्चै सन्तुष्ट भएको अनुभव हुन्थ्यो।

त्यसपछि सन् १९९७ देखि, सबै प्रकारका समस्या देखा पर्न थाले जुन मैले समाधान गर्न सकिनँ। हाम्रो सुसमाचार राम्रो चलिरहेको थिएन, बिमारीहरू प्रार्थनाले निको भइरहेका थिएनन्, र हामीले भूतहरू धपाउन सकेनौं। सबैभन्दा स्पष्ट कुरो, मेरा उपदेश प्रेरणा र अन्तर्दृष्टि रहित बनेको थियो। मलाई सहकर्मीहरूले के प्रचार गर्नुपर्छ भनेर सोध्ने गर्थे, र म भन्थेँ, “यदि तपाई साँच्चै अड्कनुभयो भने बाइबल पढ्नुहोस्।” मलाई थाहा थियो यसको समाधान त्यो होइन, ब्रदर-सिस्टरहरू आफैले बाइबल पढ्न सक्छन्, हामीले पढिदिनु पर्दैन। मण्डलीका सदस्यहरूले आत्मिक भरणपोषण नपाएर कमजोर महसुस गरिरहेका थिए। हामीले नयाँ सदस्यहरू पाउन छोडेका मात्र होइन, भएकाले पनि मण्डली छोडिरहेका थिए। कतिपयले आफ्नो विश्‍वासलाई पूर्ण रूपमा त्यागे र केही सहकर्मी आफ्नै संसारमा फर्किए। सहकर्मीहरू र म प्रभुलाई पुकार्दै निरन्तर उपवास र प्रार्थना गरिरहेका थियौं, र हामी हेनान प्रान्तका पादरीवर्गकहाँ पनि पुग्यौं। तर जे गरे पनि हामीले मण्डलीको उजाड अवस्थालाई फर्काउन सकेनौं। म तातो टिनको छानामा बसेको बिरालो जस्तै नर्भस थिएँ, र खान र सुत्‍न पनि गाह्रो भइरहेको थियो। मैले सोचिरहेकी थिएँ, यदि अवस्था यस्तै भइरह्यो भने, हामीले यति मेहनत गरेर स्थापना गरेका ती सबै मण्डली यसरी नै टुट्छन् त? त्यसोभए प्रभु फर्कनुहुँदा मैले देखाउने के नै रहन्थ्यो र? के यसले मलाई पापी बनाउँदैन? होइन, मैले अरू मण्डलीमा गएर अवलोकन गर्नुपर्छ भन्‍ने लाग्यो।

पहिले हाम्रो क्षेत्रको सबैभन्दा प्रतिष्ठित एल्डर वूलाई भेटें, तर उनले उही पुराना कुराबारे मात्र प्रचार गरिरहेका थिए। त्यसपछि म एल्डर वूको सल्लाहमा एल्डर युआनलाई भेट्न बेइजिङ गएँ। उनी अर्को आदरणीय एल्डर थिए। मैले सोचें, उनीसँग पक्कै पनि मण्डलीलाई पुनर्जीवित गर्नसक्ने ज्ञानवर्धक कुरा हुनुपर्छ, तर उनीसँगको तीन दिनभन्दा बढीको सङ्गतिमा, उनले आफ्नो जीवनको बारेमा मात्र बोले, उनले प्रभुको लागि कसरी बलिदान दिए, कम्युनिस्ट पार्टीले उनलाई कसरी दमन गरेको थियो यस्तै कुरा। यो बिलकुलै ज्ञानवर्धक थिएन। बेइजिङको यो यात्रा व्यर्थ भयो। पछि, एउटी सिस्टरले मलाई दक्षिण कोरियाका केही प्रचारकसँग परिचय गराइन्। मैले सोचें, चीनमा त सुसमाचार पछि आएको हो, त्यसैले तिनीहरूले पक्‍कै पनि केही उच्च स्तरका कुरा बताउनेछन्, त्यसैले हाम्रो मण्डलीहरूका लागि आशा छ। केवल उही पुरानो कुरा, ज्ञानवर्धक केही थिएन। त्यो बिन्दुमा, म पूर्ण रूपमा निराश भएँ। मैले प्रभुलाई यसो भन्दै पुकारें, “हे प्रभु, मैले के गर्नुपर्छ? मैले जानेको सबै गरिसकेकी छु, खोज्नसक्ने जति सबैलाई खोजेकी छु। म त साँच्चै अन्योलमा छु—यहाँबाट कहाँ जाने थाहा छैन।”

सन् १९९८ को अन्ततिर। हेनानका एक उच्च अगुवाले हामीलाई सेवा दिइरहेका बेला उनले पूर्वीय ज्योति भनिने एउटा मण्डलीको नाम लिए, जसले प्रभु फर्किनुभएको भनेर भन्‍ने गरेको छ। त्यो सुनेर म स्तब्ध र उत्साहित दुवै भएँ। म वर्षौंदेखि प्रभुको पुनरागमनको आशामा थिएँ, र अन्ततः त्यो दिन आएको थियो! तर म उत्साहित भइरहेकी बेला उनले यसो भनेको सुनें, “पूर्वीय ज्योतिले भन्छ प्रभु फर्किसक्‍नुभएको छ, उहाँले नयाँ काम गरिरहनुभएको छ र नयाँ वचनहरू बोलिरहनुभएको छ। तिनीहरूले बाइबल समेत पढ्न छोडिसके, र प्रभु एउटी नारीको रूपमा फर्कनुभएको छ भनेर भन्छन्।” त्यो शब्द उनको मुखबाट निस्किनेबित्तिकै सबैको बीचमा बहस चल्यो। कतिले भने, “हँ? प्रभु फर्कनुभयो? हामीलाई कसरी थाहा भएन? उहाँ कसरी नारीको रूपमा फर्कन सक्नुहुन्छ? प्रभु येशू पुरुष हुनुहुन्थ्यो, त्यसैले उहाँ पुरुषको रूपमा फर्किनुपर्छ!” अनि केहीले भने, “प्रभुले नयाँ वचनहरू बोल्नुहुनेछ र पुनरागमन भएपछि नयाँ काम गर्नुहुनेछ भन्‍ने बारेमा बाइबलमा केही उल्‍लेख छैन। पूर्वीय ज्योतिले जे भन्छ त्यो सम्भव कुरा होइन।” मैले सोचेँ, प्रभु फर्केर आउनुभएको छ, र उहाँले नयाँ काम गरिरहनुभएको, र नारी रूपमा देहधारी हुनुभएको छ भन्‍ने दाबी बाइबलमा कतै उल्लेख नभएको कुरा हो। त्यसैले कुनै पनि बाइबलीय आधार नभएकोले, यो परमेश्‍वरको काम हुन सक्दैन। विश्‍वासीको रूपमा, हामीले बाइबललाई पछ्याउनुपर्छ, र त्यसबाट बहकिने जोकोही व्यक्ति ईसाई होइन। साथै, प्रभुको प्रार्थनाले भन्छ “हाम्रा स्वर्गमा हुनुहुने पिता(मत्ती ६:९)। के “पिता” शब्दले पुरुषलाई जनाउँदैन र? परमेश्‍वर नारी भएर कसरी देहधारी हुन सक्नुहुन्छ? यी सबै सोचिरहँदा एक जना माथिल्लो स्तरको अगुवाले चिच्याएको सुने, “पूर्वीय ज्योतिमा विश्‍वास गर्दै नगर्नुहोस्! तिनीहरूले भनेका कुरा बाइबलसँग मिल्दैन। हामी सधैँ सचेत रहनुपर्छ ताकि भ्रममा नपरौँ। अहिलेदेखि नै तपाईंहरूले आफूलाई जोगाउनुपर्छ र 'तीनवटा निषेधाज्ञा' पालन गर्नुपर्छ: नसुन्ने, नपढ्ने, वा नभेट्ने। तपाईंहरूले तिनीहरूलाई हाम्रा भेडाहरू चोर्न दिन हुँदैन।” भेलापछि केहीबेर मैले ती अगुवासँग कुराकानी गरेँ। उनले भने स्थिर रहेका धेरै लामो समयदेखिका विश्‍वासी र सहकर्मीहरूले पहिले नै पूर्वीय ज्योतिलाई स्वीकार गरिसकेका छन्। म अलमलमा परें, त्यसैले मैले उनलाई सोधें किन धर्मशास्त्र राम्ररी जानेका र आफ्नो विश्‍वासमा लगाव भएका मानिसहरू पूर्वीय ज्योतिमा जान्छन्। तिनीहरूले के सिकाउँदैछन्? उनले मलाई स्पष्ट जवाफ दिन सकेनन्। उनले केवल यो बाइबलसँग मिल्दैन, प्रभुमाथिको विश्‍वास बाइबलमाथिको विश्‍वास हो, र हामी धर्मशास्‍त्रको आधारविना कुनै पनि कुरामा विश्‍वास गर्न सक्दैनौं भनी भने। र उनले निकै जोड दिँदै भने, “तपाईं एक मण्डली अगुवा हुनुहुन्छ, त्यसैले ब्रदर र सिस्टरहरूको जीवन तपाईंको हातमा छ। तपाईं अब बिल्कुलै भ्रमित हुनु हुँदैन, बरु तपाईंले बाइबललाई पछ्याउनुपर्छ। प्रभुले तपाईंलाई आफ्ना भेडाहरू सुम्पनुभएको छ र तपाईंले तिनीहरूलाई रक्षा गर्नुपर्छ। यदि तपाईंले एउटा मात्रै पनि भेडा चोर्न दिनुभयो भने प्रभुको अगाडि तपाईंले त्यस कार्यलाई सही साबित गर्न सक्नुहुनेछैन।”

उनी गएपछि, उनले भनेका सबै कुरा मैले अरू ब्रदर र सिस्टरलाई बताएँ, कुनै अपरिचित व्यक्तिलाई सत्कार गर्न वा अनुमतिविना आफन्तलाई मण्डलीमा लैजान नदिनू भनें। कुनै विशेष परिस्थिति भए पहिले मेरो स्वीकृति लिनुपर्ने बताएँ। कुनै अपवाद छैन, र यसको पालन नगर्ने जो कोही निष्कासित हुनेछ भनें। मैले तिनीहरूलाई यो तिनीहरूकै भलाइका लागि हो, किनभने तिनीहरू जीवनमा अपरिपक्व छन् र तिनीहरूमा विवेकको कमी छ, त्यसैले तिनीहरू सजिलै मूर्ख बन्न सक्छन् भनेर पनि भनें। त्यसपछि, मानिसहरूलाई पूर्वीय ज्योतिबाट टाढा राख्न, त्यो अगुवाले मलाई भनेजस्तै मैले केही अफवाह सिर्जना गरें। ब्रदर-सिस्टरहरूलाई परमेश्‍वरको आखिरी दिनहरूको कामको अनुसन्धान गर्नबाट रोक्न मैले कुनै कसर छोडिनँ। तर अचम्‍मको कुरा, तिनीहरूमध्ये धेरै पूर्वीय ज्योतिमा गएरै छाडे। म झन् सचेत भएँ, र यदि कुनै अपरिचित व्यक्तिले विश्‍वासको बारेमा कुरा गर्यो भने, म तिनीहरू पूर्वीय ज्योतिका मानिसहरू हुन् भनेर शङ्का गर्थेँ। म त्यो समयमा साँच्चै संवेदनशील भएँ, जो कोही पनि पूर्वीय ज्योतिका प्रचारक हुन सक्छ भनेर चिन्तित हुन्थेँ।

मलाई याद छ, एक पटक, एउटा भेलामा एक जना सहकर्मीले पूर्वीय ज्योतिका प्रचारकलाई भेटेका थिए। उनले दिनभर उनको कुरा सुनिन् र सुनेको कुरा साँच्चै मन पर्यो, त्यसपछि अचानक पूर्वीय ज्योतिको सम्पर्कमा आउने जो-कोहीलाई निष्कासन गरिनेछ भनेर मैले भनेको कुरा याद भयो। अनि उनले डराएर सुन्न छोडिन् र हतारिँदै मलाई रिपोर्ट गर्न आइन्। उनले दिनभरि सुनेको र साँच्चै मन परेको, तर मैले उनलाई बहिष्कार गर्छु भन्ने डरले स्वीकार गर्ने आँट नगरेको बताइन्। त्यो सुनेर, मैले रिसाउँदै उनलाई भनें, “मैले तपाईंलाई तिनीहरूसँग कुनै सम्पर्क नगर्नू बारम्बार भनेकी छु, अनि कसरी यस्तो गर्न सक्नुभयो? हामीलाई थाहै छ, प्रभु येशू पुरुष हुनुहुन्थ्यो, तर तिनीहरू प्रभु नारीको रूपमा फर्कनुभएको भन्छन्। यो सही हुन सक्दैन भन्ने स्पष्ट छ! र तपाईंले लामो समयसम्म सुन्नुभयो—मैले निकाल्छु भन्ने डर लागेन?” उनले हतारिँदै स्पष्टीकरण दिइन्, तर मैले सुन्दै सुनिनँ। मैले उनलाई भनें तपाईं अब ती भेलामा भाग नलिनुस्, बरु म आफै जान्छु। पछि त्यो भेला हुने ठाउँमा पूर्वीय ज्योतिका मानिससँग मेरो भेट भयो। तिनीहरूले परमेश्‍वरको आखिरी दिनहरूका कामको गवाही दिए। हामी यसमा बहस गर्न सक्छौं भनेर सोच्दैथिएँ, तर पूर्वीय ज्योतिसँग हुने कोही पनि राम्रो व्यक्ति हुँदैन भनेर मैले हेनानका पादरीले भनेका कुरा सम्झेँ, त्यसैले म उठेर हिँडेँ। त्यहाँ आयोजक सिस्टरले मलाई बस्न र तिनीहरूको कुरा सुन्न आग्रह गरिन्, तर म यति रिसाएकी थिएँ कि उनलाई पनि कान भरिनेगरी भनिदिएँ। म फर्केर गएँ र अन्य सहकर्मीलाई त्यो भेला हुने ठाउँका केही मानिसहरूले पक्कै पनि पूर्वीय ज्योतिलाई स्वीकारेका छन्, र हामीले तिनीहरूलाई निकाल्नुपर्छ। र सहकर्मीहरूलाई यो पनि भनें यदि हामीले निकालेनौं र तिनीहरूले अरू ब्रदर-सिस्टरहरूको विश्‍वास परिवर्तन गरे भने, हाम्रो पाप अझ ठूलो हुनेछ, र हामीले प्रभुको अघि आफूलाई सही साबित गर्न सक्दैनौँ।

त्यसपछि १९९९ मार्चको अन्ततिर एक दिन, मेरो एक जना विश्‍वासी साथी, मेरो घरमा रोकिए र तिनीहरूको मण्डलीले निकै राम्रो प्रगति गरिरहेको बताए। मलाई के सोच्ने थाहा थिएन। हाम्रो मण्डलीको अवस्था यति खराब थियो कि कोही पनि आउँदैनथिए, तर तिनीहरूको अवस्था राम्रो थियो। के तिनीहरू पनि पूर्वीय ज्योतिमा लागेका थिए? यो सबै बुझ्न चाहेर, मैले तिनीहरूको मण्डलीकी अगुवा सिस्टर जिङलाई फोन गरें। सिस्टर जिङले भनिन्, तिनीहरूले अब बाइबल पढ्ने गर्दैनन्, केवल प्रकाशको पुस्तकमा उल्‍लेख गरिएको चर्मपत्रको मुट्ठो मात्र पढ्छन्। उनको कुरा सुनेर मेरो हृदय खिन्न भयो। उनी पनि पूर्वीय ज्योतिमा विश्‍वास गरेकी छिन् भन्‍ने थाहा भयो। उनी एक असल व्यक्ति थिइन्, बाइबलको जानकार थिइन्, र विश्‍वासीसामु उनको राम्रो प्रतिष्ठा थियो। यदि उनी पूर्वीय ज्योतिमा गइन् भने, अरूले पनि उनलाई पक्कै पछ्याउनेथिए। म यसरी अरूले त्यो विश्‍वासमा उनलाई पछ्याएको हेर्न सक्दिनथिएँ। म भोलिपल्टै सहरबाहिर जाने रेल समातेँ। त्यहाँ पुगेपछि थाहा भयो २० जनाभन्दा बढी ब्रदर-सिस्टरहरूले उनीसँगै पूर्वीय ज्योतिलाई स्वीकारेका रहेछन्। मैले उनलाई फर्किन आग्रह गरें, तर मैले जे भने पनि, उनी यसमा अडिग रहन कटिबद्ध थिइन्। जब म सहर फर्किएँ, मैले सबै मण्डलीलाई सिस्टर जिङ र अरूले पूर्वीय ज्योतिलाई स्वीकारेकी छिन् भनेर सूचित गरें। तर केही ब्रदर-सिस्टरहरूले दृढ विचार भएका यस्ता सच्चा साधक तिनीहरूसँग आबद्ध भएको देखेर, पूर्वीय ज्योतिलाई इन्कार गरेनन् र यो सायद साँचो मार्ग हो भनेर सोच्न थाले। केहीले त गोप्य रूपमा पूर्वीय ज्योतिका सदस्यहरूलाई घरमा बोलाउन थाले। मैले शेडोङको एउटा मण्डलीको बारेमा पनि सुनें, जहाँ त्यहाँका १०० जनाभन्दा बढी सदस्य सामेल भएका थिए, मैले चिनेका केही भक्त सहकर्मी पनि यसमा लागेका रहेछन्।

मैले यसलाई फस्टाएको र बढ्दै गइरहेको देखेँ, र किन यति धेरै मानिसहरूले यसलाई स्वीकारे मैले बुझ्नै सकेकी थिइनँ, यसमा बाइबल राम्ररी जान्ने र समर्पित साधकहरू सहित धेरै सहकर्मी समेत थिए। केही ब्रदर-सिस्टर र अन्य सहकर्मीहरूले सोध्दै थिए, मैले खोजीनिधो गर्न नदिँदा पनि किन धेरैभन्दा धेरै सामेल भइरहेका छन्, र कुनै पनि कुराले तिनीहरूलाई फर्काउन सक्दैन? उनीहरूको प्रश्नले म पूरै छक्क परें। त्यसैले, पूर्वीय ज्योतिले वास्तवमा के प्रचार गर्‍यो, र केले यसलाई यति आकर्षक बनायो? के प्रभु फर्कनुभएको साँचो हो? तर त्यसपछि मैले सोचें प्रभु नारीको रूपमा अवश्य नै फर्कन सक्नुहुन्न, र विश्‍वास गर्नु तर बाइबल नपढ्नु सही कुरा हुन सक्दैन! यसरी फस्टाउँदै गरेको तिनीहरूको मण्डली अस्थायी मात्र हो—यो टिक्न सक्दैन। त्यसैले म यसको खोजीनिधो गर्न वा मण्डलीका अन्य सदस्यहरूलाई पनि यो स्वीकार्न दिन तत्पर थिइनँ। मैले त्यसपछि मण्डलीको निगरानी गर्न थालें, ब्रदर र सिस्टरहरूलाई पूर्वीय ज्योतिबाट टाढा राख्न कटिबद्ध भएँ।

तर त्यसपछि अचानक, त्यो जुलाईमा मेरो शरीर सुन्निन थाल्यो। जब यो खराब भयो, म टुक्रुक्क बसेपछि उठ्न समेत नसक्ने भएँ। मण्डलीका सदस्यहरूले मेरो लागि उपवास र प्रार्थना गरिरहेका थिए, तर कुनै सुधार आएन। डाक्टरले मलाई मेरो पाठेघरमा अण्डा जत्रै ठूलो ट्युमर भएको छ भनेर बतायो। त्यो सुनेर म स्तब्ध भएँ, र आँसु रोक्दै घर फर्किएँ। मैले केही आत्मसमीक्षा गर्न थालें। मैले सोचें, यति गम्भीर बिरामी हुनु परमेश्‍वरले दिनुभएको सजाय त होइन। मैले यो पद पनि सम्झेँ: “परदेशीहरूलाई सत्कार गर्न नबिर्स: किनभने यसरी कतिले थाहै नपाई स्वर्गदूतहरूलाई सत्कार गरेका छन्” (हिब्रू १३:२)। तर जति बेला पनि, म मण्डलीमा निषेध गरिरहेकी हुन्थेँ, पूर्वीय ज्योतिका मानिससँग भेट्न इन्कार गरिरहेकी हुन्थेँ, र तिनीहरूले प्रभुको पुनरागमनको बारेमा जेसुकै भने पनि, म तिनीहरूको कुरा सुन्न वा सम्पर्कमा रहन अस्वीकार गर्थेँ मण्डलीका सदस्यलाई तिनीहरूले भनेका कुरा खोजीनिधो गर्न पनि दिँदिनथिएँ। यस्तो व्यवहारले म स्पष्ट रूपमा बाइबलको विरुद्धमा गइरहेकी थिएँ। मलाई वास्तवमा पूर्वीय ज्योतिले के प्रचार गर्छ भन्ने थाहा थिएन, तर म तिनीहरूको पक्षमा लागेका जोकोहीको विरुद्ध प्रतिरक्षामा बसेकी थिएँ। सायद म यसको बारेमा साँच्चै लापरवाही भएकी थिएँ। म यति अस्वस्थ थिएँ कि मसँग पूर्वीय ज्योति विरुद्ध लडिरहने इच्छा, ऊर्जा नै बाँकी थिएन। केही समयको लागि, म एक्लो, असहाय, अनि परमेश्‍वरबाट टाढिँदै गएको महसुस गरिरहेकी थिएँ। मैले रुँदै प्रभुसँग प्रार्थना गरें, “प्रभु, मैले अहिले निकै कमजोर महसुस गरिरहेकी छु। के तपाईं साँच्चै मलाई त्याग्दैहुनुहुन्छ? हे प्रभु, म कसरी पहिलेको अवस्थामा फर्कन सक्छु, जुन बेला तपाईं मेरो साथमा हुनुहुन्थ्यो? प्रभु, तपाईं कहाँ हुनुहुन्छ? कृपया मेरो अघि देखा पर्नुहोस् र मलाई बचाउनुहोस्!”

मैले हरेक दिन भयानक पीडामा बिताइरहेकी थिएँ, तर पूर्वीय ज्योतिका सदस्यहरू विश्‍वासले भरिएका र साँच्चै आत्मिक रूपमा उत्साहित थिए। र मलाई याद छ एकजना सहकर्मीकी आमा यति निराश र कमजोर थिइन् कि आफ्नो विश्‍वास कायम राख्न चाहन्नथिइन्, तर पूर्वीय ज्योति स्वीकार गरेपछि, उनी मृत्युबाट फर्केर आएकी जस्ती—धेरै ऊर्जाले भरिएकी देखिन्थिन्। उनी हरेक दिन बिहान ५ बजे उठ्न थालिन्, सुसमाचार बाँड्न बिहान ७ बजे निस्किन्थिन्, र साँझ मात्र घर फर्किन्थिन्। उनको विश्‍वास धेरै बलियो थियो। उनी अर्कै मान्छे जस्तै भएकी थिइन्। तर हाम्रो मण्डलीका सदस्यहरूलाई हेर्दा, हामीमध्ये कोही बिरामी थियौं, कोही टुटेका थियौं। यो कुनै पनि प्रकारको जीवनशक्ति नभएको मृत र सुस्त लाग्थ्यो।

मैले यो पत्ता लगाउन सकिनँ। हाम्रा पादरीले पूर्वीय ज्योति राम्रो होइन, यो एक व्यक्तिबाट आएको हो, परमेश्‍वरबाट होइन, र यो टिक्नेछैन भनेर भन्थे। तर वास्तवमा, यो झन्-झन् फस्टाउँदै गइरहेको थियो। यसले मलाई बाइबल पदहरूको बारेमा सोच्न बाध्य बनायो: “किनभने यदि यो सल्‍लाह वा यो काम मानिसहरूको नै हो भने, यो व्यर्थ हुनेछ: तर यो परमेश्‍वरको हो भने, तपाईंहरूले यसलाई हटाउन सक्‍नुहुन्‍न; नत्र संयोगवस तपाईंहरू परमेश्‍वरको विरुद्ध लडाइँ गर्ने ठहरिनुहुनेछ” (प्रेरित ५:३८-३९)। यदि तिनीहरूसँग पवित्र आत्माको काम थिएन भने, कसरी तिनीहरूले यति धेरै विश्‍वास निर्माण गर्न र केवल मानव प्रयासले यसरी फस्टाउन सके? के यो साँच्चै परमेश्‍वरबाट आएको हुन सक्छ? यदि हो भने, पूर्वीय ज्योतिसँग लडेर म परमेश्‍वरसँग लडिरहेकी थिएँ।

केही सहकर्मीहरूले मलाई हामीलाई आत्मिक रूपमा पुनर्स्थापित गराउने किसिमको प्रवचन सुनाउने व्यक्ति खोज्नुहोस् भनेर समेत भने। यो सुनेर मलाई निकै असहज महसुस भयो। म वर्षौंदेखि विश्‍वासी थिएँ र आफूलाई एक भक्त साधकको रूपमा सोच्थेँ। मैले कहिल्यै सोचेकी थिइनँ कि म अरूलाई गतिरोधको मार्गमा लैजान्छु। त्यसको लागि मैले प्रभुलाई कसरी जवाफ दिन सक्छु? कहिलेकाहीँ मलाई पूर्वीय ज्योतिका मानिसहरूसँग कुरा गर्न गएर तिनीहरूले वास्तवमा के प्रचार गर्छन् र किन तिनीहरूको मण्डली सदस्यहरू यति उत्साहित छन् भनेर बुझ्नलाई जान मन लाग्थ्यो।

अगष्ट महिनामा एक दिन, सिस्टर सुले एक-दुई जना ब्रदरहरूलाई मेरो घरमा बस्ने गरी ल्याइन्, र मैले तिनीहरूलाई उत्साहपूर्वक स्वागत गरें। कुराकानीमा ब्रदर वाङले मलाई किन मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् भन्‍ने तपाईंलाई लाग्छ भनेर सोधे? मैले भनें, “स्वर्गमा जान, अनन्त जीवन पाउन।” त्यसपछि उनले सोधे, “तिनीहरू स्वर्गमा जान पाएनन् भने, के तिनीहरूसँग अझै पनि विश्‍वास हुनुपर्छ भन्‍ने तपाईंलाई लाग्छ?” “त्यसो भए त कसले विश्‍वास गर्थ्यो र?” मेरो मुखबाट अनायसै निस्कियो। उनले मुस्कुराउँदै जवाफ दिए, “सृष्टि गरिएको प्राणीको रूपमा हामीले सृष्टिकर्ताको आराधना गर्नुपर्छ। परमेश्‍वरलाई विश्‍वास र प्रेम गर्नु हामीले गर्नुपर्ने कुरा हो, स्वर्ग जानको खातिर गर्नुपर्ने कुरा होइन।” एक-दुई वटा वाक्यहरू बोलेर नै उनले सीधै मेरो मनको कुरा गरे र मैले खुशीसाथ टाउको हल्‍लाउँदै सहमतिमा जनाएँ। मेरो विश्‍वासका यतिका वर्षमा, मैले पहिले कहिल्यै यस्तो कुरा सुनेकी थिइनँ। मण्डलीका अगुवाबाट, अन्य सम्प्रदायका सहकर्मी वा विदेशबाट आएका प्रचारकबाट पनि सुनेकी थिइनँ। तिनीहरू सबैले आशिष् पाउन र स्वर्गमा जानको लागि हामीले विश्‍वास गर्नुपर्छ भनी भन्थे, तर विश्‍वासको बारेमा यति उच्च, शुद्ध बुझाइको बारेमा कसैले प्रचार गरेको थिएन। मलाई अचानक आशाको झलक देखे जस्तो भयो। मैले तिनीहरूलाई मण्डलीको उजाड अवस्थालाई कसरी समाधान गर्ने भनेर तुरुन्तै सोधें।

ब्रदर वाङ्ले सुरुमा मलाई व्यवस्थाको युगमा मन्दिर किन अन्धकार भयो भनेर बताए। उनले भने, पहिले व्यवस्थाको युगमा, यो यहोवाको महिमाले भरिएको थियो, र कसैले यसमा स्वेच्छाचारी काम गर्ने हिम्मत गर्दैनथिए। तर व्यवस्थाको युगको अन्त्यतिर, यो पैसा साट्ने, गाईवस्तु बेच्ने ठाउँ बन्यो। यो लामो समयदेखि परमेश्‍वरको महिमाबाट वञ्चित रह्यो, चोरहरूको अखडा, उजाड भूमि बन्यो। प्रभु येशूले फरिसीहरूलाई हप्काउनुभएका वचनहरूबाट हामीले मन्दिरमा सेवा गर्ने मुख्य पुजारीहरू, शास्त्रीहरू र फरिसीहरूले मानिसहरूलाई संस्कार र नियमहरू पालना गर्न मात्र अगुवाइ गरिरहेका थिए, तर परमेश्‍वरका वचनहरू अभ्यास गर्दैनथिए भनेर उनले बताए। तिनीहरू परमेश्‍वरको मार्गबाट तर्केका थिए। त्यसैले प्रभु येशू आउनुभएपछि, उहाँले मन्दिरमा काम गर्नुभएन, बरु मन्दिर बाहिर नयाँ काम गर्नुभयो। मन्दिर छोडेर प्रभुको नयाँ कामको पछि लाग्ने सबैले जीवनको भरणपोषण र पवित्र आत्माको काम पाउन सके। प्रभुको अनुग्रहले तिनीहरूलाई पछ्यायो। तर व्यवस्था नै मानिरहने र प्रभुको नयाँ कामलाई स्वीकार गर्न नमान्‍नेहरू अन्धकारमा परे र झन् भ्रष्ट भए। ठ्याक्कै बाइबलले भनेजस्तै, “हेर, ती दिनहरू आउँछन्, परमप्रभु यहोवाले भन्‍नुभयो, म मुलुकभरि अनिकाल ल्याउनेछु, त्यो रोटीको अनिकाल हुनेछैन, न त पानीको हाहाकार नै हुनेछ, तर त्यो यहोवाको वचन सुन्‍न नपाउने अनिकाल हुनेछ(आमोस ८:११)। त्यसपछि उनले भने धार्मिक संसार आज व्यवस्थाको युगको मन्दिर जस्तै भएको छ। यो उजाड र अँध्यारो छ, र झन्-झन् अनियन्त्रित हुँदैछ। विश्‍वासीहरूले विश्‍वास गुमाउँदैगइरहेका छन् र प्रेमको कमी छ किनभने तिनीहरूको अगुवाइ गर्ने पादरीवर्गले प्रभुका वचनहरू पालन गर्दैनन्, साथै परमेश्‍वरले अर्को चरणको काम सुरु गर्नुभएको छ र पवित्र आत्माको काम परिवर्तन भएको छ। हामीले मार्ग पत्ता लगाउन परमेश्‍वरको नयाँ काम खोज्नुपर्छ! ब्रदर वाङको सङ्गतिले मलाई के कुरा बुझ्न मद्दत गर्यो भने प्रभुले हामीलाई त्याग्नुभएकोले मण्डली त्यस्तो अन्धकार भएको होइन, बरु उहाँले नयाँ काम गरिरहनुभएकोले हो जुन कामलाई हामीले पछ्याइरहेका थिएनौं। प्रभुको उपस्थिति र पवित्र आत्माको काम प्राप्त गर्न हामीले केवल उहाँको नयाँ कामलाई खोज्नुपर्थ्यो र परमेश्‍वरको पाइलालाई पछ्याउनुपर्थ्यो। मैले कुराहरू बुझ्न थालेको देखेर, उनले मलाई परमेश्‍वरका वचनहरूका केही खण्ड पढेर सुनाए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले यो तथ्य पूरा गर्नुहुनेछ: उहाँले ब्रह्माण्डका सारा मानिसहरूलाई उहाँको अघि आएर पृथ्वीमा परमेश्‍वरको आराधना गर्ने तुल्याउनुहुनेछ, अनि अरू ठाउँको उहाँको कार्य अन्त्य हुनेछ, र मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। यो योसेफजस्तै हुनेछ: सबै जना खानेकुराको लागि तिनीकहाँ आए, र तिनको सामने घुँडा टेके, किनभने तिनीसँग खाने कुराहरू थिए। अनिकालबाट बच्‍नको लागि, मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। सम्पूर्ण धार्मिक समुदायले प्रचण्ड अनिकाल भोग्‍नेछ, अनि आजका परमेश्‍वर मात्रै मानिसको आनन्दको लागि प्रदान गरिएको सधैँ बगिरहने मूल भएको जिउँदो पानीको मूल हुनुहुन्छ, र मानिसहरू आउनेछन् र उहाँकै भर पर्नेछन्(वचन देहमा देखा पर्नुहुन्छको “सहस्राब्दीय राज्यको आगमन भएको छ”)। “मेरो महिमा देख्नेछन् भन्‍ने विश्‍वास तिनीहरू कसैसँग पनि विश्‍वास छैन र म तिनीहरूलाई बाध्य बनाउँदिनँ, बरु मानवजातिबाट मेरो महिमा हटाउनेछु र यसलाई अर्कै संसारमा लैजानेछु। जब मानिसहरूले पश्‍चात्ताप गर्छन्, तब म मेरो महिमा लिनेछु र विश्‍वास भएकाहरूलाई यो देखाउनेछु। मैले काम गर्ने सिद्धान्त यही हो। किनभने मेरो महिमाले कनान छोड्ने समय छ र मेरो महिमाले चुनिएकाहरूलाई छोड्ने समय पनि छ। यसको अतिरिक्त, मेरो महिमाले पृथ्वी छोड्ने, यसलाई मधुरो गराउने र यसलाई अन्धकारमा डुबाउने एउटा समय छ। कनानको मुलुकले पनि सूर्यको उज्यालो देखिनेछैन; सबै मानिसहरूले विश्‍वास गुमाउनेछन्, तर कनानको मुलुकको सुगन्ध कसैले पनि त्याग्‍न सक्दैनन्। जब म नयाँ स्वर्ग र पृथ्वीमा जान्छु, तब म मेरो महिमाको अर्को भाग लिन्छु र सारा पृथ्वीलाई धपक्क पार्ने गरी ज्योतिको चमक पैदा गरेर सुरुमा म यसलाई कनानमा प्रकट गर्छु, र रातको निस्पट्ट अन्धकारलाई डुबाउँछु, ताकि सारा पृथ्वी ज्योतिमा आउन सकोस्; ताकि मेरो महिमालाई हरेक जातिमा नयाँ देखाउन र वृद्धि गर्न, सारा पृथ्वीका मानिसहरू ज्योतिको शक्तिबाट सामर्थ्य लिन आउन सकून्; र म मानव संसारमा आएको लामो समय भइसक्यो र मेरो महिमालाई इस्राएलबाट पूर्वतिर लामो समय अघि नै ल्याइएको छ भन्‍ने कुरा सारा मानवजातिले महसुस गर्न सकून्; किनभने मेरो महिमा पूर्वबाट चम्किन्छ, र यसलाई अनुग्रहको युगदेखि यस दिनसम्म ल्याइएको छ। तर म इस्राएलबाट निस्केको थिएँ र म पूर्वमा आइपुगेँ। जब पूर्वको ज्योति क्रमिक रूपमा सेतो हुँदै जान्छ तब पृथ्वीको अँध्यारो ज्योतिमा परिणत हुन थाल्छ, अनि मात्र म लामो समयअघि नै इस्राएलबाट गएको थिएँ र म पूर्वमा नयाँ भएर उदाइरहेको छु भन्ने कुरा मानिसहरूले पत्ता लगाउनेछन्। इस्राएलमा ओर्लेर पछि यसबाट प्रस्थान गरेँ, म फेरि इस्राएलमा जन्मन सक्दिनँ, किनभने मेरो कामले सारा ब्रह्माण्डलाई नै डोर्‍याउँछ। यसको अतिरिक्त, बिजुली पूर्वदेखि पश्‍चिमसम्म नै चम्किन्छ। यसैले, म पृथ्वीमा ओर्लेको छु, र कनानलाई पूर्वका मानिसहरूकहाँ ल्याएको छु। म सारा पृथ्वीभरिका मानिसहरूलाई कनानमा ल्याउनेछु, त्यसैले सारा ब्रह्माण्डलाई वशमा पार्न, मैले कनानको मुलुकमा अभिव्यक्तिको विषय ल्याइरहन्छु। यस बेला, कनानको मुलुकमा बाहेक पृथ्वीमा कुनै ज्योति छैन, सबै मानिसहरू भोक र ठन्डाको जोखिममा छन्। मैले मेरो महिमा इस्राएललाई दिएँ, अनि यसबाट लिएँ, यसरी मैले इस्राएलीहरूलाई र सारा मानवजातिलाई पूर्वतिर ल्याएँ। तिनीहरूको ज्योतिसँग पुनर्मिलन होस् भनेर, यससँगै होस् र यसलाई खोज्न नपरोस् भनेर मैले तिनीहरू सबैलाई प्रकाशमा ल्याएको छु। खोजिरहनेहरू सबैलाई मैले फेरि ज्योति देख्न दिनेछु र मसँग इस्राएलमा भएको महिमा देख्नेछन्; मैले तिनीहरूलाई लामो समय अघि नै मानवजातिको माझमा सेतो बादल तल गएको कुरा देख्‍न दिनेछु, तिनीहरूले कैयौँ सेता बादलहरू र झुप्पा-झुप्‍पा प्रशस्त फलहरू देखून्; यसको अतिरिक्त, तिनीहरूले इस्राएलको यहोवा परमेश्‍वर देखून्। मैले तिनीहरूलाई यहूदीहरूको मालिक, प्रतीक्षा गरिएको मसीहको र सारा युगहरूभरि राजाहरूले सताएका मेरो देखापराइ देखाउनेछु। आखिरी दिनहरूमा मेरो सारा महिमा र मेरा सबै कामहरू मानिसलाई प्रकट गर्दै म सारा ब्रह्माण्डभरि काम गर्नेछु र म ठूला-ठूला काम गर्नेछु। मलाई वर्षौंदेखि प्रतीक्षा गरिरहेकाहरू, म सेतो बादलमा आएको उत्कट चाह गर्नेहरूलाई, म पटक-पटक देखा परेको उत्कट चाह गर्ने इस्राएललाई, र मलाई सताउने सबै मानवजातिलाई म मेरो महिमित मुहार देखाउनेछु, ताकि मैले मेरो महिमा उहिले नै लिएको छु र मैले यसलाई पूर्वतिर ल्याएको छु, र यो अब यहूदियामा छैन भन्‍ने कुरा सबैले देखून्। किनभने अन्तको दिन आइसकेको छ!(वचन देहमा देखा पर्नुहुन्छको “सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी”)। यो सुन्दा मलाई साँच्चै अचम्म लाग्यो। यो अत्यन्तै अख्तियारपूर्ण थियो। यो कुनै पनि मानिसबाट आएको हुन सक्दैन भन्‍ने मलाई थाहा थियो। त्यसपछि उनले आफ्नो सङ्गति जारी राख्दै भने, प्रभु फर्केर आउनुभएको छ र उहाँले नयाँ काम गरिरहनुभएको, आफ्‍नो महिमालाई इस्राएलबाट पूर्वमा ल्याउनुभएको छ। अर्थात्, पवित्र आत्माको काम अगाडि बढिरहेको छ, र परमेश्‍वरको नयाँ कामको गति पछ्याउने र उहाँका वर्तमान वचनहरूलाई स्वीकार गर्नेहरूले मात्रै, पवित्र आत्माको काम, जीवनको भरणपोषणका लागि कहिल्यै अन्त्य नहुने स्रोत प्राप्त गर्न सक्छन्।

जब ब्रदर वाङले प्रभु फर्किसक्‍नुभएको छ भनेर भने, मलाई के सोच आयो भने, सारा धार्मिक संसारमा केवल पूर्वीय ज्योतिले मात्र यसको साक्षी दिइरहेका छन्, त्यसकारण तिनीहरू पक्‍कै पनि पूर्वीय ज्योतिमा लागेका छन्। मलाई के गर्ने, के गर्ने भयो। मैले पूर्वीय ज्योतिका सदस्यहरू राम्रा हुँदैनन् भनी पादरीले भनेको सम्झे, तर मैले देखे अनुसार त, ती दुई ब्रदर साँच्चै आदरणीय र इमानदार थिए, र न्यानो आचरण भएका व्यक्ति थिए। तिनीहरूले बताएका सन्देश पनि साँच्चै नवीन र व्यावहारिक थियो—तिनीहरूसँग अवश्य नै पवित्र आत्माको काम थियो। तिनीहरूले मण्डली यति उजाड हुनुको कारण पनि स्पष्ट पारे, जुन कुराले मलाई वर्षौंदेखि अलमलमा पारेको थियो। म पूरै विश्‍वस्त भएँ। मलाई लाग्यो प्रभुको दयालु इच्छाले गर्दा नै त्यस दिन तिनीहरूसँग भेटेकी हुँ। मैले तिनीहरूको कुरा सुनेर किन पूर्वीय ज्योतिका सदस्यहरू यति विश्‍वासले भरिएका छन् र यसलाई स्वीकार गरेपछि फर्कँदैनन् भन्ने कुरा बुझ्न प्रश्न सोध्न सक्छु भन्‍ने लाग्यो। त्यसैले मैले तिनीहरूलाई सोधिहालेँ, “मलाई थाहा छ, तपाईंहरू पूर्वीय ज्योतिका मानिसहरू हुनुहुन्छ। प्रभु फर्केर आउनुभएको छ र नयाँ काम गर्दै हुनुहुन्छ भन्ने दाबीको कुनै बाइबलीय आधार छ? परमेश्‍वरको काम र वचन सबै बाइबलमा छन्, र हामीले हाम्रो विश्‍वासमा बाइबललाई पछ्याउनु पर्छ। तपाईंहरूले भन्‍नुभएको कुरा बाइबलभन्दा बाहिरको कुरा हो, त्यसैले म यसलाई स्वीकार गर्न सक्दिनँ।” ब्रदर वाङले मुस्कुराउँदै भने, “तपाईं भन्नुहुन्छ, हाम्रो विश्‍वासले बाइबललाई पछ्याउनुपर्छ। त्यसोभए बाइबलीय आधार नभएको कुनै पनि काम प्रभुले गर्न सक्नुहुन्न भनेर तपाईं भन्‍दैहुनुहुन्छ?” मैले एकदमै आत्मविश्‍वासको साथ भनेँ, “हो त।” त्यसपछि उनले मलाई सोधे, “तपाईं कुन पहिले आएको हो भनी भन्‍नुहुन्छ: परमेश्‍वर कि बाइबल?” यसले मलाई हक्का न बक्क पार्यो। म वर्षौंदेखिको विश्‍वासी थिएँ, तर मैले यसको बारेमा कहिल्यै सोचेकी थिइनँ। मैले केहीबेर सोचेर परमेश्‍वर नै पहिले आउनुभएको हो भनें। ब्रदर वाङले भने, “हो। बाइबल परमेश्‍वरको कामको पुरानो अभिलेख हो। यो उहाँले व्यवस्थाको युग र अनुग्रहको युगमा गर्नुभएको कामको गवाही हो। पुरानो नियममा परमेश्‍वरले इस्राएलमा गर्नुभएको काम उल्लेख छ, र नयाँ नियममा प्रभु येशूले अनुग्रहको युगमा गर्नुभएको कामको विवरण छ। त्यसैले पहिले परमेश्‍वरको काम आयो, त्यसपछि धर्मशास्त्र। परमेश्‍वरको काम बाइबलमा होइन तर उहाँको व्यवस्थापन योजनामा आधारित थियो।”

त्यसपछि तिनले सर्वशक्तिमान परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढे। “येशूको समयमा, येशूले यहूदीहरू र उहाँको पछि लाग्नेहरू सबैलाई त्यस बेला उहाँमा भएको पवित्र आत्माको कामअनुसार डोऱ्याउनुभयो। उहाँले बाइबललाई उहाँको कामको आधारको रूपमा लिनुभएन, तर उहाँको कामअनुसार बोल्नुभयो; उहाँले बाइबलले भनेको कुरामा ध्यान दिनुभएन, न त उहाँले आफ्ना अनुयायीहरूलाई डोऱ्याउने तरिका नै खोज्नुभयो। उहाँले काम गर्न थाल्नुभएदेखि नै पश्चात्तापको मार्ग फैलाउनुभयो—एउटा यस्तो वचन जसको बारेमा पुरानो करारका अगमवाणीहरूमा एउटै पनि उल्लेख गरिएको थिएन। उहाँले केवल बाइबलअनुसार काम गर्नुभएन भन्ने मात्र होइन, तर उहाँले एउटा नयाँ बाटोमा पनि हिँडाउनुभयो र नयाँ काम पनि गर्नुभयो। उहाँले प्रचार गर्नुहुँदा कहिल्यै पनि बाइबलको उल्लेख गर्नुभएन। व्यवस्थाको युगको अवधिमा कसैले पनि उहाँले जस्तो बिरामीहरूलाई निको पार्ने र दुष्टात्माहरू निकाल्ने आश्‍चर्यकर्महरू गर्न सकेको थिएनन्। त्यसरी नै उहाँको काम, शिक्षा अनि उहाँका वचनहरूको अधिकार र शक्ति व्यवस्थाको युगको कुनै पनि व्यक्तिको भन्दा उत्तम थियो। येशूले केवल उहाँको नयाँ काम गर्नुभयो, र धेरै मानिसहरूले बाइबल प्रयोग गर्दै उहाँको निन्दा गरे पनि—र उहाँलाई क्रूसमा टाँग्न पुरानो करार प्रयोग गरे पनि उहाँको काम पुरानो करारको भन्दा उत्तम थियो; यदि यस्तो थिएन भने, मानिसहरूले किन उहाँलाई क्रूसमा टाँग्थे? के पुरानो करारमा उहाँको शिक्षा, बिरामीलाई निको पार्ने र दुष्टात्माहरूलाई धपाउने उहाँको क्षमताको बारेमा केही नभनिएकोले गर्दा होइन र? उहाँको काम नयाँ मार्गमा डोर्‍याउनका निम्ति गरिएको थियो, यो जानाजानी बाइबलको विरुद्ध लड्न वा जानी-जानी पुरानो करारबाट छुटकारा दिनका निम्ति थिएन। उहाँ आफ्नो सेवकाइ गर्न, उहाँको चाहना र खोजी गर्नेहरूलाई नयाँ काम दिन मात्रै आउनुभयो। उहाँ पुरानो करारको व्याख्या गर्न वा त्यसको कामलाई समर्थन गर्न आउनुभएन। उहाँको काम व्यवस्थाको युगलाई निरन्तरता दिनका लागि थिएन, किनकि उहाँको कामले बाइबल त्यसको आधार हो कि होइन भन्ने कुरामा कुनै ध्यान दिएन; येशू केवल उहाँले गर्नुपर्ने काम गर्न मात्रै आउनुभयो। यसैले, उहाँले पुरानो करारका अगमवाणीहरूको व्याख्या गर्नुभएन, न त उहाँले पुरानो करारको व्यवस्थाको युगका वचनहरू अनुसार काम नै गर्नुभयो। पुरानो करारले भनेका कुरालाई उहाँले बेवास्ता गर्नुभयो, उहाँको काम त्योसँग सहमत छ कि छैन भनी उहाँले वास्ता गर्नुभएन, अनि अरूले उहाँको कामको बारेमा के जान्दछन् वा तिनीहरूले त्यसलाई दोषी ठहराएका छन् भनी वास्ता गर्नुभएन। उहाँले केवल आफूले गर्नुपर्ने काम गर्दैजानुभयो, यद्यपि धेरै मानिसहरूले उहाँलाई दोषी ठहराउन पुरानो करारका अगमवक्ताहरूका अगमवाणीहरू प्रयोग गरे। मानिसहरूको नजरमा उहाँको कामको कुनै आधार नभएको र त्यहाँ धेरै कुरा पुरानो करारको विवरणसँग नमिलेको जस्तो देखिन्थ्यो। के यो मानिसको गल्ती थिएन र? के परमेश्‍वरको कामका निम्ति सिद्धान्त प्रयोग गर्नु आवश्यक हुन्छ? के परमेश्‍वरको काम अगमवक्ताहरूका अगमवाणीअनुसार हुनै पर्छ? त्यसोभए, ठूलो को हो: परमेश्‍वर वा बाइबल? परमेश्‍वरले किन बाइबलअनुसार काम गर्नुपर्छ र? के परमेश्‍वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्‍ने हुनसक्छ? के परमेश्‍वरले बाइबलबाट टाढा भएर अरू कामहरू गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिनलाई ध्यानमा राख्दै र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुपर्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, तर बरु खुट्टा धोइदिनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा समावेश छैनन् र? यदि येशूले पुरानो करारलाई आदर गर्नुहुन्थ्यो भने उहाँले यी सिद्धान्तहरू किन तोड्नुभयो? कुनचाहिँ पहिले आयो, परमेश्‍वर वा बाइबल, त्यो तँलाई थाहा हुनुपर्छ। शबाथका प्रभु हुनुभएकोले के उहाँ बाइबलका परमप्रभु पनि हुन सक्नुहुने थिएन र?(वचन देहमा देखा पर्नुहुन्छको “बाइबल सम्बन्धमा (१)”)। यो खण्ड पढेपछि ब्रदर वाङले यसो भन्दै सङ्गति गरे, “जब प्रभु येशू काम गर्न आउनुभयो, उहाँले पुरानो नियमको व्यवस्थाभन्दा बाहिर निस्केर अनुग्रहको युगको काम गर्नुभयो। उहाँले मानवजातिको लागि नयाँ मापदण्ड र अभ्यास ल्याउनुभयो, जस्तै शबाथ नमान्‍नु, मानिसहरूलाई ७० गुणा ७ पल्ट माफ गर्नु। मानिसहरूले यो कुरा पुरानो नियमअनुसार नभएको र आफ्नो धर्मशास्त्रभन्दा पूर्णरूपमा बाहिर रहेको पाए। यसबाट हामीले परमेश्‍वरको कामलाई धर्मशास्त्रले बाधा दिन नसक्ने रहेछ भन्ने देख्छौं। जब प्रभु येशूका चेलाहरूले उहाँका काम र वचन निकै शक्तिशाली र अख्तियारपूर्ण, अनि कुनै मानवले पूरा गर्न नसक्ने प्रकारको देखे, तब तिनीहरू यो परमेश्‍वरबाट आएको हो भन्दै प्रभुको पछि लागे। तिनीहरू धर्मशास्त्रको शाब्दिक अर्थमा रोकिएनन्, बरु पवित्र आत्माको कामको खोजी गर्दै परमेश्‍वरका पाइलालाई पछ्याए। त्यसैले हाम्रो विश्‍वासमा हामीले धर्मशास्त्रमा रहेर परमेश्‍वरको कामको मूल्याङ्कन गर्नु हुँदैन, बरु परमेश्‍वरलाई उहाँको वचन र कामले चिन्नुपर्छ।”

तिनको सङ्गति सुनेपछि, बाइबल परमेश्‍वरको कामको पुरानो अभिलेख मात्र हो, आधार होइन भन्ने मैले बुझें। यत्तिका वर्षसम्म प्रचारक रहँदा पनि मैले परमेश्‍वर र बाइबलबीचको सम्बन्धलाई किन बुझिनँ? मैले धेरै ठाउँमा प्रवचनहरू पनि सुन्दै आएकी थिएँ, तर कसैले यस्तो कुरा भनेको कहिल्यै सुनेकी थिइनँ। मलाई सधैँ परमेश्‍वरका काम र वचनहरू बाइबलमा नै छन् र त्यसबाट बाहिर जानु भनेको विश्‍वास होइन भन्ने लाग्थ्यो। त्यो मेरो साँच्चै मूर्ख सोच थियो। त्यसपछि ब्रदर शिले सर्वशक्तिमान् परमेश्‍वरका वचनका अरू केही खण्ड पढे। “धेरै वर्षदेखि मानिसहरूका परम्परागत विश्‍वासका माध्यमहरू (ख्रीष्टियन धर्मको, जुन विश्‍वका तीन प्रमुख धर्ममध्ये एक हो) बाइबल पढ्नु नै भएको छ; बाइबलबाट टाढा हुनु भनेको प्रभुमा विश्‍वास गर्नु होइन, बाइबलबाट टाढा हुनु शास्त्रविरुद्ध र झूटो शिक्षा हो, र जब मानिसहरूले अन्य पुस्तकहरू पढ्छन् तब पनि यी पुस्तकहरूको जग बाइबलको व्याख्या नै हुनुपर्दछ। यसको अर्थ के हो भने, यदि तँ प्रभुमा विश्‍वास गर्छस् भने तैंले बाइबल पढ्नै पर्छ, र बाइबल बाहिर तैंले कुनै पुस्तकको पूजा गर्नुहुँदैन जसमा बाइबल समावेश छैन। यदि तैंले त्यसो गरिस् भने तैँले परमेश्‍वरलाई धोका दिइरहेको हुन्छस्। बाइबल भएको समयदेखि नै परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वास नै बाइबलमाथिको विश्‍वासको रूपमा रहिआएको छ। मानिसहरूले प्रभुमा विश्‍वास गर्छन् भन्नुको सट्टा तिनीहरूले बाइबलमा विश्‍वास गर्छन् भन्नु राम्रो हुन्छ; उनीहरूले बाइबल पढ्नु सुरु गरे भन्नुभन्दा उनीहरूले बाइबलमा विश्‍वास गर्न थाले भन्नु राम्रो हुन्छ; उनीहरू प्रभुको सामु फर्किए भन्नुभन्दा उनीहरू बाइबलको अगि फर्किए भन्नु राम्रो हुन्छ। यसरी, मानिसहरूले बाइबललाई परमेश्‍वर जस्तो मानेर त्यसको आराधना गर्छन्, यो उनीहरूको जीवनरक्त जस्तो बन्छ, र यसलाई गुमाउनु आफ्नो जीवन गुमाउनुजस्तै हुन्छ। मानिसहरूले बाइबललाई परमेश्‍वर जत्तिकै उच्च रूपमा हेर्छन्, र यसलाई परमेश्‍वरभन्दा उच्च देख्‍नेहरू पनि छन्। यदि मानिसहरू पवित्र आत्माको कामविहीन छन् भने, यदि उनीहरूले परमेश्‍वरलाई महसुस गर्न सक्दैनन् भने, उनीहरू बाँच्न सक्छन्—तर उनीहरूले बाइबल वा बाइबलका प्रसिद्ध अध्यायहरू र भनाइहरू हराउने बित्तिकै उनीहरूको जीवन नै हराएको जस्तो हुन्छ(वचन देहमा देखा पर्नुहुन्छको “बाइबल सम्बन्धमा (१)”)। “तिनीहरूले बाइबलको दायराभित्र मात्रै मेरो अस्तित्वमा विश्‍वास गर्छन्, र तिनीहरूले मलाई बाइबलसँग समान मान्छन्; बाइबलविना म हुँदिनँ, र मविना बाइबल हुँदैन। मेरो अस्तित्व वा मेरा कार्यहरूलाई तिनीहरूले ध्यानै दिँदैनन्, बरु यसको साटो धर्मशास्‍त्रका एक-एक शब्‍दलाई अत्यधिक र विशेष ध्यान दिन्छन्। धर्मशास्‍त्रले भविष्यवाणी नगरेसम्म मैले चाहेअनुसार केही पनि गर्नु हुँदैन भनेरसमेत धेरैले विश्‍वास गर्छन्। तिनीहरूले धर्मशास्‍त्रलाई अत्याधिक महत्त्व दिन्छन्। के भन्‍न सकिन्छ भने तिनीहरूले वचन र अभिव्यक्तिहरूलाई यति हदसम्‍म महत्त्वपूर्ण देख्छन् कि मैले बोल्‍ने हरेक शब्‍दलाई मापन गर्न र मलाई दोष दिन तिनीहरूले बाइबलका पदहरू प्रयोग गर्छन्। तिनीहरूले खोजी गर्ने कुरा भनेको मेरो अनुकूल हुने मार्ग वा सत्यतासँग अनुकूल हुने मार्ग होइन, बरु बाइबलका वचनहरूसँग अनुकूल हुने मार्ग हो, र तिनीहरूले बाइबलसँग नमिल्‍ने जुनसुकै कुरा निस्सन्देह मेरो काम होइन भन्‍ने विश्‍वास गर्छन्। के यस्ता मानिसहरू फरिसीहरूका कर्तव्यनिष्ठ सन्तान होइनन् र? यहूदी फरिसीहरूले येशूलाई दोषी ठहर्‍याउन मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यो समयमा येशूसँग अनुकूल हुने प्रयास गरेनन्, बरु तिनीहरूले यति लगनशीलताको साथ व्यवस्थाको शब्‍द-शब्द पछ्याए कि—पुरानो करारको व्यवस्थालाई पालन नगरेको र मसीह नभएको आरोप उहाँलाई लगाएपछि—तिनीहरूले आखिरमा निर्दोष येशूलाई क्रूसमा टाँगिछोडे। तिनीहरूको सार के थियो? के त्यो तिनीहरूले सत्यतासित अनुकूल हुने मार्ग नखोज्नु नै थिएन र?(वचन देहमा देखा पर्नुहुन्छको “तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ”)। अनि ब्रदर शिले यसरी सङ्गति गरे, “धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर जोड दिन्छन्, तर वास्तवमा बाइबलमा विश्‍वास गर्छन्। तिनीहरूले परमेश्‍वरलाई धर्मशास्त्रभित्र कैद गर्छन् र उहाँको कामलाई बाइबलका शाब्दिक अर्थसँग तुलना गर्छन्। यससँग नमिल्ने जुनसुकै कुरालाई इन्कार र निन्दा गर्छन्। त्यो फरिसीहरूले गरेको भन्दा कसरी फरक भयो र? फरिसीहरूले प्रभु येशूको कामलाई पुरानो नियमको व्यवस्थासँग तुलना गरे, अनि यो ती व्यवस्थाभन्दा बाहिर रहेको पाएपछि तिनीहरूले उहाँलाई दोषी ठहराए र अन्तमा उहाँलाई क्रूसमा झुन्ड्याए। कस्तो मन दुखाउने पाठ रहेछ। हाम्रो विश्‍वासमा हामीले सत्यता र परमेश्‍वरका पाइला खोज्नुपर्छ। आखिरी दिनहरूमा, सर्वशक्तिमान परमेश्‍वरले न्यायको काम गर्दै हामीलाई पापबाट शुद्ध पारी स्वर्गको राज्यमा लैजानका लागि धेरै सत्यता व्यक्त गर्नुभएको छ। प्रभुको छुटकाराको कामभन्दा यो चरणको काम गहन र उच्च छ, अनि यो पूर्णरूपमा बाइबलको सीमाभन्दा बाहिर छ। यदि हामीले बाइबलका शाब्दिक अर्थका आधारमा मूल्याङ्कन गर्दै परमेश्‍वरका आखिरी दिनहरूका कामलाई सीमाङ्कन गर्छौं भने के यो फरिसीहरूले जस्तै गल्ती गर्नु हुँदैन र?”

मलाई सधैँ परमेश्‍वरको काम बाइबलभन्दा बाहिर जान सक्दैन, यसमा नलेखिएका कुनै पनि कुरा परमेश्‍वरको काम हुन सक्दैन भन्ने लाग्थ्यो। त्यत्तिका वर्षको विश्‍वासपछि पनि मैले कसरी परमेश्‍वर बाइबलमा सीमित हुनुहुन्छ भन्ठान्न सकें? त्यो सही प्रकारको विश्‍वास होइन भनी मैले कहिल्यै बुझेकी थिइनँ। सर्वशक्तिमान परमेश्‍वरको एउटा महान भनाइ छ: “तिनीहरूले मलाई बाइबलसँग समान मान्छन्; बाइबलविना म हुँदिनँ, र मविना बाइबल हुँदैन। मेरो अस्तित्व वा मेरा कार्यहरूलाई तिनीहरूले ध्यानै दिँदैनन्, बरु यसको साटो धर्मशास्‍त्रका एक-एक शब्‍दलाई अत्यधिक र विशेष ध्यान दिन्छन्। धर्मशास्‍त्रले भविष्यवाणी नगरेसम्म मैले चाहेअनुसार केही पनि गर्नु हुँदैन भनेरसमेत धेरैले विश्‍वास गर्छन्(वचन देहमा देखा पर्नुहुन्छको “तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ”)। प्रत्येक वचन मेरा लागि निकै मन छुने खालको थियो। मैले बाइबललाई कसरी परमेश्‍वर स्वयम् हो जस्तो गरी व्यवहार गर्न पुगेँ? के त्यो परमेश्‍वरलाई पहिलो स्थानमा राख्‍नु थियो र? मैले परमेश्‍वरलाई छोडी बाइबलको पक्षपोषण गरें!

पूर्वीय ज्योतिको प्रचार कति राम्रो छ भनेर मैले बुझिनँ, बरु मसँग अझै धेरै अनुत्तरित प्रश्न थिए। मैले सोचें, तिनीहरूको कुरा सुनिरहेकी छु, त्यसकारण मैले केही जवाफ पाउन सक्छु। म मेरो विश्‍वासमा यति अन्योलमा रहनु हुँदैन। विश्‍वासको विषयमा ती दुई ब्रदरहरूको अन्य विचार पनि म सुन्न चाहन्थेँ। त्यसैले मैले तिनीहरूलाई प्रकाश २२:१८ को बारेमा सोधेँ: “किनकि यस पुस्तकका अगमवाणीका वचनहरू सुन्‍ने हरेक मानिसलाई म गवाही दिन्छु, यदि कुनै मानिसले यी कुराहरूमा थप्यो भने परमेश्‍वरले यस पुस्तकमा लेखिएका विपत्तिहरू त्यसलाई थपिदिनुहुनेछ।” परमेश्‍वर आएर नयाँ वचन बोल्नुभएको छ, नयाँ काम गर्नुभएको छ भनी उनीहरूले भनेका हुनाले, त्यो पदलाई कसरी व्याख्या गर्न सकिन्छ? ब्रदर वाङले भने, “त्यो पदमा ‘थप्नु’ भन्नुको अर्थ प्रकाशमा भएका भविष्यवाणीमा केही थप्नु भन्ने हुँदैन, यो आखिरी दिनहरूमा परमेश्‍वर फर्केर अरू कुरा बोल्नुहुनेछैन भन्ने पनि होइन। आखिरी दिनहरूमा परमेश्‍वर आएर थप कुरा बोल्नुहुनेछैन भन्ने तपाईंको विचारअनुसार हामी जाने हो भने, प्रभुले भनेका यी कुरामा विचार गरौं, ‘मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। त्यो कसरी पूरा हुनेछ? र प्रकाशको पुस्तकले सात पटक यसरी उल्लेख गर्दछ ‘आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्(प्रकाश अध्याय २, ३)। यसलाई कसरी व्याख्या गर्न सकिन्छ? के तपाईंले आखिरी दिनहरूमा पवित्र आत्माले मण्डलीहरूलाई भन्नुभएका वचनलाई, उहाँले व्यक्त गर्नुभएको सत्यतालाई अस्वीकार र निन्दा गरिरहनुभएको छैन? हामी सबैलाई थाहा छ, परमेश्‍वर जीवनको स्रोत हुनुहुन्छ, जीवनको जीवन्त पानीको निरन्तर बग्ने मुहान हुनुहुन्छ। त्यसैले परमेश्‍वरका काम र वचनलाई बाइबलमा सीमित गर्नु भनेको बाइबलमा लिपिबद्ध भएको कुरा मात्र परमेश्‍वरले बोल्न सक्नुहुन्छ र विगतमा गरेका काम नै गर्नुहुन्छ भन्नु जस्तै हुनेछ। के यो परमेश्‍वरलाई अनादर र सीमित गर्नु होइन र? सर्वशक्तिमान परमेश्‍वरले अहिलेसम्म लाखौं वचन बोलिसक्नुभएको छ, र परमेश्‍वरको घरबाट सुरु गरी न्यायको काम गर्दै हुनुहुन्छ। यसले प्रभु येशूको यो भविष्यवाणी पूरा गर्छ, ‘मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४८)। र १ पत्रुसमा यसो भनिएको छ, ‘किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ(१ पत्रुस ४:१७)। परमेश्‍वरको आखिरी दिनहरूका सत्यता र वचनका न्यायलाई स्वीकार गरेर मात्र हामीले हाम्रो पापको जडलाई बुझ्न सक्छौं, भ्रष्टताको बन्धनबाट मुक्त हुन सक्छौं, पाप अनि परमेश्‍वरको प्रतिरोध गर्न छोड्छौं। त्यसपछि हामीले साँच्चै परमेश्‍वरको आज्ञापालन र आराधना गर्न सक्छौं, र अन्ततः परमेश्‍वरबाट उहाँको राज्यमा लगिएर सुन्दर गन्तव्य प्राप्त गर्न गर्छौं।” यो सुनेपछि, आखिरी दिनहरूमा प्रभुले नयाँ वचन बोल्दै नयाँ काम गर्नुहुने कुरा वास्तवमा नै बाइबलमा भविष्यवाणी गरिएको थियो भन्ने मैले बुझें। पहिले, म सधैँ बाइबल राम्रोसँग जान्दछु भनेर सोच्ने गर्थें, तर मैले यसको भित्री कथालाई अलिकति पनि बुझेकी थिइनँ र बाइबललाई राम्ररी पढ्ने तरिका पनि थाहा थिएन।

ती दुई ब्रदरले त्यसपछि बाइबलको सही अध्ययन गर्नेबारे धेरै सङ्गति गरे। मेरो अनिश्चितताको पूर्ण निवारण गरे। तर यो मेरो लागि साँच्चै दुःखलाग्दो कुरा पनि थियो। विश्‍वासको यतिका वर्षपछि पनि म किन यति धेरै भ्रमित थिएँ भन्ने थाहा थिएन। मलाई सँधै परमेश्‍वरमाथि विश्‍वास गर्नुको अर्थ बाइबलमा विश्‍वास गर्नु हो, र यसभन्दा अरू कुनै पनि कुरा उहाँमाथिको विश्‍वास होइन भन्ने लाग्थ्यो। परमेश्‍वरको काम र वचन सबै बाइबलमा सीमित छन् भन्ने सोच्थेँ, त्यसैले मैले बाइबललाई परमेश्‍वरभन्दा पनि महान देखेँ। मैले परमेश्‍वरले नयाँ काम गर्दैहुनुहुन्छ, नयाँ वचन बोल्दैहुनुहुन्छ भन्ने जोकोहीको दाबीको विरोध र निन्दा गरें, र ममा खोजी गर्ने कुनै इच्छा थिएन। म केवल मेरो आफ्नै धारणाहरूमा दृढतापूर्वक टाँसिएकी थिएँ र ब्रदर-सिस्टरहरूलाई पनि यही कुरा पढाएकी थिएँ, अरूलाई बहकाएकी थिएँ। मैले त्यतिका वर्ष गरेको प्रचार मण्डलीका सदस्यहरूलाई धोका दिने तरिका थियो, यसले तिनीहरूलाई चोट पुर्याएको छ भन्ने मलाई लाग्यो। अनि म एउटा अज्ञानी, मूर्ख प्रचारक रहेछु भन्‍ने बुझें। पहिले म धेरै प्रचारकहरूसँग भेटघाट गर्थेँ र धर्मशास्त्रबारे छलफल गर्थेँ, तर ती ब्रदरहरूको सङ्गति नै सबैभन्दा स्पष्ट लाग्यो। म त्यति सजिलै आश्‍वस्त नहुने घमण्डी व्यक्ति हुँ, तर यस पटक मभित्र कुनै अन्योलता रहेन!

तिनीहरूले सबै कुरा बताऊन् र मेरो भ्रम हटाऊन् भन्ने मनमा ठूलो इच्छा थियो। मैले तिनीहरूलाई भनें, “तपाईंहरूको सबै सङ्गति मैले बुझेँ, तर अझै पनि एउटा महत्त्वपूर्ण सवाल छ। तपाईंहरूले प्रभु नारी-देहमा फर्किनुभएको छ भन्नुभयो, त्यो कुरा मैले स्वीकार गर्न सकेकी छैन। प्रभु येशू पुरुष हुनुभएकोले उहाँ पनि पुरुष रूपमा नै फर्कनुपर्छ!” ब्रदर वाङले भने, “परमेश्‍वर एक आत्मा हुनुहुन्छ, जसको कुनै भौतिक रूप वा लिङ्ग हुँदैन। आफ्नो कामको आवश्यकताअनुसार नै उहाँ देहमा आउनुभएको छ, र उहाँले जुनसुकै लिङ्ग धारण गर्ने यही नै एक मात्र कारण हो। उहाँ पुरुष वा नारी जे भए पनि उहाँले परमेश्‍वरको काम गर्न सक्नुहुन्छ। अनुग्रहको युगमा देहधारी परमेश्‍वर मानिसको पापबलि बन्दै क्रूसमा टाँगिनुभयो। प्रभु येशू पुरुष हुनुहुन्थ्यो र उहाँले क्रूसीकरण मार्फत् मानवजातिलाई छुटकारा दिन सक्नुभयो। प्रभु येशू नारीको रूपमा आउनुभएको भए पनि त्यसरी नै क्रूसमा टाँगिन सक्नुहुन्थ्यो। देहधारणमा परमेश्‍वरको काम पूरा भएपछि उहाँ आत्मिक रूपमा जानुहुनेछ, अनि त्यसपछि उहाँ न त नारी हुनुहुनेछ, न त पुरुष नै। बाइबलले भन्छ, ‘त्यसकारण परमेश्‍वरले मानिसलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, उहाँले आफ्नै स्वरूपमा उसलाई बनाउनुभयो; पुरुष र महिला गरी तिनीहरूलाई उहाँले सृष्टि गर्नुभयो’ (उत्पत्ति १:२७)। बाइबलको यस पदले हामीलाई परमेश्‍वरले आफ्नो स्वरूपमा पुरुष र नारीको सृष्टि गर्नुभयो। परमेश्‍वरको पुरुष देहधारणले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ भने के उहाँको नारी देहधारणले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन र? पुरुष वा नारी जे भए पनि यो परमेश्‍वरका आत्माको भौतिक देहधारण हो र यी दुवै अवस्थामा परमेश्‍वरले आफ्नै काम गरिरहनुभएको हुन्छ। पहिले हामीलाई यो सत्यता थाहा थिएन, त्यसैले परमेश्‍वरको पुरुषरूपी पहिलो देहधारणदेखि नै धेरैले उहाँको सीमाङ्कन गरे, परमेश्‍वरले पुरुष देहधारण मात्र गर्न सक्नुहुन्छ, नारी देहधारण गर्न सक्नुहुन्न भनेर सोचे।” त्यसपछि ब्रदर वाङले सर्वशक्तिमान् परमेश्‍वरका वचनका केही खण्ड पढे। “परमेश्‍वरले गर्नुभएको कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। त्यो बेला, येशू आउनुहुँदा, उहाँ पुरुषको स्वरूपमा हुनुहुन्थ्यो, र यसपटक परमेश्‍वर आउनुहुँदा, उहाँ महिलाको स्वरूपमा हुनुहुन्छ। यसबाट के देख्‍न सकिन्छ भने परमेश्‍वरले सृष्टि गर्नुभएको पुरुष र स्‍त्री दुवैलाई उहाँको काममा प्रयोग गर्न सकिन्छ, र उहाँको लागि लिङ्गको कुनै भिन्‍नता हुँदैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँले आफूलाई मन लागेको कुनै पनि देह लिन सक्‍नुहुन्छ, र त्यो देहले उहाँलाई प्रतिनिधित्व गर्न सक्छ; चाहे यो पुरुष होस् या स्‍त्री, जबसम्म यो उहाँको देहधारी शरीर हो, तबसम्म यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ। यदि उहाँ आउनुहुँदा येशू स्‍त्रीको रूपमा देखा पर्नुभएको भए, अर्को शब्‍दमा भन्दा, यदि पवित्र आत्‍माद्वारा शिशु बालक नभई शिशु बालिका गर्भमा बसेको भए, कामको त्यो चरण उही रूपमा पूरा हुनेथ्यो। यदि त्यस्तो भएको भए, कामको वर्तमान चरण पुरुषद्वारा पूरा गरिनुपर्थ्यो, तर कामचाहिँ उही रूपमा पूरा हुनेथ्यो। हरेक चरणमा गरिएको कामको उत्तिकै महत्त्व छ; कुनै पनि चरणको काम दोहोरिँदैन, न त यो अर्कोसँग बाझिने नै गर्छ। त्यो समयमा, येशूले आफ्‍नो काम गर्ने क्रममा, उहाँलाई एक मात्र पुत्र भनियो, र ‘पुत्र’ ले पुरुष लिङ्गलाई जनाउँछ। हालको यो चरणमा किन एक मात्र पुत्र भनेर उल्‍लेख गरिँदैन? किनकि कामका आवश्यकताहरूले येशूको भन्दा फरक लिङ्गमा परिवर्तन हुनुपर्ने बाध्यता सिर्जना गरेको छ। परमेश्‍वरको लागि लिङ्गमा कुनै भिन्‍नता हुँदैन। उहाँले आफ्‍नो इच्‍छाअनुसार आफ्‍नो काम गर्नुहुन्छ, र आफ्‍नो काम गर्ने क्रममा उहाँ कुनै पनि प्रतिबन्धहरूको अधीनमा हुनुहुन्‍न, उहाँ त विशेष स्वतन्त्र हुनुहुन्छ। तैपनि कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। परमेश्‍वर दुईपटक देह बन्‍नुभयो, र आखिरी दिनहरूको अवधिमा भएको उहाँको देहधारण अन्तिमपटक हो भन्‍ने कुरा आफैमा स्पष्ट छ। आफ्‍ना सबै कार्यहरूलाई प्रकट गर्नको लागि उहाँ आउनुभएको छ। यदि यो चरणमा मानिसले देख्‍ने गरी व्यक्तिगत रूपमै काम गर्नको लागि उहाँ देह नबन्‍नुभएको भए, परमेश्‍वर पुरुष मात्रै हुनुहुन्छ, स्‍त्री हुनुहुन्‍न भन्‍ने धारणालाई मानिसले सदासर्वदा पक्रिराख्‍नेथ्यो(वचन देहमा देखा पर्नुहुन्छको “दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्”)। “यदि कामको यो चरण अन्तिम युगमा नगरिएको भए, परमेश्‍वरको अघि सारा मानवजाति कालो छायामा छोपिन्थे। यदि यस्तो भएको भए, पुरुषले आफैलाई स्‍त्रीभन्दा उच्‍च ठान्‍नेथ्यो, स्‍त्रीहरूले कहिल्यै पनि आफ्‍नो शिर ठाडो पार्न सक्दैनथे, र एक जना स्‍त्रीलाई पनि मुक्त गर्न सकिँदैनथ्यो। मानिसहरूले सँधै परमेश्‍वर पुरुष हुनुहुन्छ, र यसअलावा उहाँले सँधै स्‍त्रीलाई तुच्छ ठान्‍नुहुन्छ र उसलाई मुक्ति दिनुहुन्‍न भनेर विश्‍वास गर्छन्। यदि यस्तो हुन्थ्यो भने, यहोवाले सृष्टि गर्नुभएका र भ्रष्ट तुल्याइएका सबै स्‍त्रीहरूले मुक्ति पाउने मौका कहिल्यै पाउँदैनथे भन्‍ने कुरा सत्य हुन्थेन र? त्यसपछि, यहोवाले स्‍त्रीलाई सृष्टि गर्नुभएको, अर्थात् हव्‍वालाई सृष्टि गर्नुभएको बेकार हुन्थेन र? अनि के स्‍त्री अनन्तमा नाश हुन्थिन र? यसकारणले गर्दा, स्‍त्रीलाई मात्र होइन सम्पूर्ण मानवजातिलाई मुक्त गर्नको लागि आखिरी दिनहरूको कार्यको चरण पूरा गरिन्छ। यदि परमेश्‍वर स्‍त्रीको रूपमा देहधारी हुनुभयो भने, यो महिलालाई मुक्ति दिनको लागि मात्रै हुनेछ भनेर यदि कसैले ठान्छ भने, त्यो व्यक्ति वास्तवमा नै मूर्ख हुनेछ!(वचन देहमा देखा पर्नुहुन्छको “दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्”)। त्यसपछि तिनले भने, “परमेश्‍वरले पुरुष वा नारी देहधारण गर्नुमा पनि अर्थ छ, र त्यहाँ हामीले खोज्नुपर्ने सत्यता छ। परमेश्‍वरले दुवै पटक पुरुष देहधारण गर्नुभएको भए परमेश्‍वर पुरुष मात्र हुन सक्नुहुन्छ, नारी कहिल्यै हुन सक्नुहुन्न भनेर मानिसहरूले सोच्ने थिए। अनि त्यो परमेश्‍वरलाई सीमाङ्कन गरेको हुँदैन र? आखिरी दिनहरूमा परमेश्‍वरको नारी देहधारणले उहाँ पुरुष वा नारी जुनै शरीरमा आउनुभए पनि, उहाँको सार कहिल्यै परिवर्तन हुँदैन—उहाँ परमेश्‍वर स्वयम् रहनुहुन्छ र उहाँले सधैँ सत्यता व्यक्त गरी परमेश्‍वरको काम गर्न सक्नुहुन्छ भन्ने देखाउँछ। यसले हामीलाई परमेश्‍वरबारे अझ सटीक बुझाइ प्रदान गर्छ। साथै, परमेश्‍वरको यस देहधारणले उहाँ पुरुषको लागि मात्र होइन, नारीका लागि पनि परमेश्‍वर हुनुहुन्छ भन्ने बुझ्न मद्दत गर्छ। उहाँले आखिरी दिनहरूमा फेरि पुरुष देहधारण गर्नुभएको भए सधैँभरि यो नारी विरुद्ध पूर्वाग्रह हुनेथियो, र परमेश्‍वरले नारीलाई घृणा गर्नुहुन्छ, तिनीहरूले मुक्ति पाउँदैनन् भनेर मानिसहरूले सोच्न सक्नेथिए। के त्यो गलत बुझाइ हुनेछैन र? आखिरी दिनहरूमा परमेश्‍वरको नारी देहधारण हुनु भनेको मानिसका धारणासँग मेल नखानु हो, तर यो अर्थपूर्ण अनि मानिसको मुक्ति र परमेश्‍वरबारे बुझाइका लागि उपयोगी छ। परमेश्‍वरको प्रेम यसैभित्र रहेको छ।”

सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले मेरा धारणाहरूलाई उदाङ्गो पारे। परमेश्‍वरले पुरुष र नारी दुवैको सृष्टि गर्नुभयो भनेर म मुखले मात्रै ठिक्क पार्छु। उहाँले नारी रूप लिन सक्‍नुहुन्‍न भन्‍ने कुरा मेरो दिमागमा किन आयो होला मलाई अचम्‍म लाग्यो। म कसरी यति अज्ञानी हुन सकेँ? त्यसपछि ब्रदर वाङले सर्वशक्तिमान् परमेश्‍वरका अरू वचन पढेर सुनाए। “परमेश्‍वर पवित्र आत्मा अर्थात् सात गुणा तीव्र आत्मा वा सबै कुरालाई समेट्ने आत्मा मात्र हुनुहुन्‍न, तर एक साधारण अर्थात् अत्यन्तै साधारण मनुष्य पनि हुनुहुन्छ। उहाँ पुरुष मात्र नभएर स्त्री पनि हुनुहुन्छ। तिनीहरू उस्तै हुन् किनकि ती दुबै मानिसहरू हुन् र फरक यति मात्र हो कि एक जना पवित्र आत्माद्वारा गर्भमा आउनुभयो भने अर्कोचाहिँ मानिसद्वारा, तथापि उहाँ आत्माद्वारा सीधै आउनुभएको हो। दुबै जना उस्तै हुनुहुन्छ किनकि दुबैले परमेश्‍वर पिताको काम गर्ने देहधारी शरीरका परमेश्‍वर हुनुहुन्छ, उहाँहरू बीचको फरक यही हो कि एक जनाले छुटकाराको काम गर्नुभयो भने अर्कोले विजयको काम गर्नुहुन्छ। दुबैले परमेश्‍वर पिताको प्रतिनिधित्व गर्नुहुन्छ, तर एक प्रेम र दयाले भरिएको उद्धारक हुनुहुन्छ भने अर्कोचाहिँ क्रोध र न्यायले भरपूर धार्मिकताका परमेश्‍वर हुनुहुन्छ। एक छुटकाराको काम सुरुवात गर्ने सर्वोच्च सेनापति हुनुहुन्छ भने अर्को विजयको काम पूरा गर्ने धर्मी परमेश्‍वर हुनुहुन्छ। एक जना सुरु हुनुहुन्छ भने अर्को अन्त्य। एक जना पापरहितको शरीर हुनुहुन्छ भने अर्को छुटकाराको कामलाई पूरा गर्ने, कामलाई जारी राख्‍ने र कहिले पनि पाप नगर्ने शरीर हुनुहुन्छ। दुबै छुट्टाछुट्टै शरीरमा बास गर्ने, छुट्टै ठाउँमा जन्म लिनुभएका र हजारौँ वर्षको अन्तरमा आउनुभएका एउटै आत्मा हुनुहुन्छ। यद्यपि उहाँहरूको काम एक-अर्कामा परिपूरक छ, कुनै द्वन्द्व नभएको र एउटै सासमा भन्‍न सकिने किसिमको छ। दुवै मानिसहरू हुनुहुन्छ तर एउटाचाहिँ छोरा र अर्कोचाहिँ शिशु छोरी हुनुहुन्थ्यो। यतिका वर्षसम्म मानिसहरूले आत्मा र मानिस अर्थात् पुरुषलाई मात्र होइन, तर मानव धारणाहरूसँग मेल नखाने धेरै कुराहरू पनि देखे, यसरी मानिसहरूले मलाई कहिले पनि पूर्ण रूपमा बुझ्‍न सक्दैनन्। तिनीहरूले मलाई कहिले अस्तित्वमा रहेको जस्तो त कहिले भ्रमात्मक सपना जस्तो आधा विश्‍वास गर्छन् र आधा शङ्का गर्छन्, आजको दिनसम्म पनि मानिसहरूले परमेश्‍वर के हुनुहुन्छ भनेर जान्दैनन्। के तँ एउटा सामान्य वाक्यमा मेरो बारेमा बताउन सक्छस्? के तैँले, ‘येशू अरू कोही नभएर परमेश्‍वर नै हुनुहुन्छ र परमेश्‍वर अरू कोही नभएर येशू नै हुनुहुन्छ’ भन्‍ने हिम्मत गर्न सक्छस्? के तँ साँच्चै ‘परमेश्‍वर अरू कोही नभएर आत्मा हुनुहुन्छ र आत्मा अरू कोही नभएर परमेश्‍वर नै हुनुहुन्छ’ भन्‍ने हिम्मत गर्छस्? के तँ ‘परमेश्‍वर देहको भेसमा आउनुभएको मानव मात्र हुनुहुन्छ’ भन्‍ने हिम्मत गर्न सक्छस्? के तँमा साँच्‍चै ‘येशूमा भएको स्वरूप परमेश्‍वरको महान् स्वरूप हो’ भन्‍ने हिम्मत छ? परमेश्‍वरको स्वभाव र स्वरूपको बारेमा पूर्ण रूपमा वर्णन गर्नको निम्ति के तँ आफ्नो वाक्पटुताको प्रयोग गर्न सक्छस्? के तँ ‘परमेश्‍वरले आफ्नो स्वरूपमा पुरुषलाई मात्र बनाउनुभयो, महिलालाई होइन’ भन्‍ने हिम्मत गर्न सक्छस्? यदि तैँले यसो भनिस् भने कुनै पनि महिला मैले चुनिएका भित्र पर्दैनन्, महिलाहरू मानवजातिको एक वर्ग हुनु त परै जाओस्। अब परमेश्‍वर के हुनुहुन्छ भन्‍ने कुरा तँलाई साँच्चै थाहा छ? के परमेश्‍वर मानव हुनुहुन्छ? के परमेश्‍वर आत्मा हुनुहुन्छ? के परमेश्‍वर साँच्चै पुरुष हुनुहुन्छ? के मैले गर्ने काम येशूले मात्र गर्न सक्‍नुहुन्छ? यदि मेरो सारको बारेमा बताउन माथिका मध्ये कुनै एउटाको मात्रै छनौट गरिस् भने, तँ एकदमै अनजान वफादार विश्‍वासी हौ। यदि मैले एक पटक मात्र शरीर धारण गरेर काम गरेँ भने के तँ मलाई सीमित बनाउँछस्? के तैँले मलाई एक झलक हेरेर नै पूर्ण रूपमा बुझ्‍न सक्छस्? तेरो जीवनकालमा तैँले देखेका र भोगेका कुराहरूकै आधारमा मेरो बारेमा पूर्ण रूपमा बताउन सक्छस्? यदि मेरा दुबै देहधारणहरूमा मैले एउटै किसिमका काम गरेको भए तैँले मलाई कसरी बुझ्थिस्? के तँ मलाई क्रूसमा सधैँको निम्ति काँटी ठोकेर राख्छस्? के परमेश्‍वर तैँले दाबी गरे जस्तै साधारण हुनुहुन्छ?(वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?”)। यी वचनहरू सुनेर म प्रभावित भएँ। म सधैँ परमेश्‍वर सबै थोकमा भरिने आत्मा हुनुहुन्छ, सर्वशक्तिमान् र सर्वव्यापी हुनुहुन्छ भनेर भन्ने गर्थें, अनि कसरी मैले उहाँलाई सीमाङ्कन गर्न सकेँ र? पहिलो पटक उहाँ पुरुषको रूपमा देहधारण हुनुभयो, अनि यो पटक उहाँ नारीको रूपमा आउनु एकदमै सामान्य कुरा होइन र? उहाँ पुरुष वा नारीको रूपमा देहधारण हुँदा परमेश्‍वरको नै प्रतिनिधित्व गर्नुहुन्छ—उहाँले सत्यता व्यक्त गरी मानिसलाई मुक्ति दिन सक्नुहुन्छ। यो वास्तवमा निकै सरल कुरा हो, अनि किन मैले यसलाई कुनै महान् रहस्यको रूपमा लिएँ? यसरी मैले जति धेरै सोचें, त्यति नै म कति गलत रहेछु भनेर बुझ्न सकें। मैले परमेश्‍वरलाई चिनेकी नै थिइनँ, बरु सधैँ उहाँलाई सीमाङ्कन गरी एउटा घेराभित्र राखिरहेकी थिएँ। यो निकै अविवेकी कुरा थियो।

त्यसपछि ब्रदर शिले सङ्गति गरे, “यो परमेश्‍वरको देहधारण हो कि होइन भनी निर्धारण गर्ने मुख्य कुरो भनेको उहाँमा ईश्‍वरीय सार छ कि छैन अनि उहाँले सत्यता व्यक्त गर्न सक्नुहुन्छ कि सक्‍नुहुन्‍न भनेर हेर्नु हो, यसलाई लिङ्गको आधारमा वा बाहिरी रूपमा हेर्नु हुँदैन। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, ‘जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)(वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावना)। परमेश्‍वरका वचनहरू धेरै स्पष्ट छन्। जसले सत्यता व्यक्त गर्नुहुन्छ, हामीलाई मार्ग देखाउनुहुन्छ र जीवन दिनुहुन्छ, उहाँ नै देहधारी परमेश्‍वर हुनुहुन्छ। जब प्रभु येशू देहमा काम गर्न आउनुभयो, उहाँ साधारण मानिसजस्तै देखिनुहुन्थ्यो—उहाँ सिकर्मीको छोरा हुनुहुन्थ्यो। त्यसैले गर्दा धेरैले उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर चिन्न सकेनन्। तैपनि किन यति धेरै मानिसहरूले प्रभु येशूलाई पछ्याए त? किनभने उहाँको काम र वचन कुनै पनि मानिसले हासिल गर्न सक्ने कुरा थिएन। उहाँले सत्यता व्यक्त गरी हामीलाई पश्चात्तापको मार्ग दिन सक्नुभयो। उहाँ मानवजातिका लागि प्रेम, कृपा र छुटकारा हुनुहुन्थ्यो। कुनै पनि व्यक्तिले ती चीज प्राप्त गर्न वा पूरा गर्न सक्दैनथियो। तसर्थ, प्रभु येशू देहधारी परमेश्‍वर हुनुहुन्थ्यो। अहिले सर्वशक्तिमान् परमेश्‍वर आउनुभएको छ, अनि बाहिरबाट साधारण व्यक्ति जस्तै देखिनुहुन्छ, तर उहाँले धेरै सत्यता व्यक्त गर्नुभएको छ र आखिरी दिनहरूको न्यायको काम गर्दैहुनुहुन्छ। उहाँले विजेताहरूको समूहलाई जितेर पूर्ण बनाइसक्नुभएको छ। सर्वशक्तिमान् परमेश्‍वरले महान् काम गरेर सारा संसारलाई चकित पार्नुभएको छ, मानवजातिलाई परमेश्‍वरको धर्मी स्वभाव देखाउँदै हामी सबैका लागि अनन्त जीवनको मार्ग ल्याउनुभएको छ। यी कुरा कुनै पनि मानिसले पूरा गर्न सक्दैन। हामी सबैले देहधारण भएको लिङ्गमा मात्र विचार गर्यौं, तर परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यतालाई हेरेनौँ भने त्यो ठूलो मूर्खता हो अनि फरिसीले जस्तै परमेश्‍वरको प्रतिरोध गर्ने गल्ती गर्नु हो।”

धेरै मण्डलीहरूले झूटा ख्रीष्टहरूबाट कसरी जोगिने भन्नेबारे वर्षौंदेखि भन्दै आएका थिए, तर कसैको पनि देहरूपी कुनै व्यक्ति परमेश्‍वर हो होइन भनेर कसरी चिन्ने भन्नेबारे स्पष्ट बताउन सकेका थिएनन्। केवल सर्वशक्तिमान् परमेश्‍वरले मात्र सत्यताको यो पक्षलाई स्पष्ट पार्न सक्नुहुन्छ। म पूर्ण विश्‍वस्त भएँ। मैले निकै दोषी पनि महसुस गरें। त्यतिका वर्षदेखि विश्‍वासी भएर मैले बाइबल धेरै अध्ययन गरेकी थिएँ, तर प्रभुलाई कसरी चिन्ने भन्ने समेत थाहा थिएन। म पुस्तकको खोल हेरेर मूल्याङ्कन गर्ने अनि परमेश्‍वरको देहधारण नारी हुन सक्दैन भन् ठान्ने एउटा सामान्य सांसारिक व्यक्ति जस्तै थिएँ। यदि म अनुग्रहको युगमा जन्मेकी भए फरिसीहरूले जस्तै मैले प्रभु येशूलाई दोष दिएकी हुनेथिएँ। त्यसपछि हामीले परमेश्‍वरको व्यवस्थापन योजनाको रहस्य उहाँको कामका तीन चरण, आखिरी दिनहरूमा उहाँले मानिसलाई शुद्ध पारी मुक्ति दिन कसरी आफ्नो न्यायको काम गर्नुहुन्छ जस्ता धेरै कुरामा सङ्गति गर्यौं। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू सत्यता हुन्, उहाँ प्रभु येशूको पुनरागमन हुनुहुन्छ भन्ने कुरामा म अझ पक्का भएँ। सत्यताका यी रहस्यलाई परमेश्‍वरबाहेक अरू कुनै व्यक्तिले प्रकट गर्न सक्दैन। कसैले पनि अरू मानिसलाई शुद्ध पारी मुक्ति दिन सक्दैन, र कसैले पनि मानिसका परिणाम र गन्तव्य निर्धारण गर्न सक्दैन। यसले वास्तवमा नै मेरो आँखा खोलिदियो। पूर्वीय ज्योति स्वीकारेपछि ब्रदर-सिस्टरहरू नफर्कनु कुनै अचम्मको कुरा होइन। तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरको वचनमा सत्यता भेट्टाएका, अनि परमेश्‍वरको आवाज सुनेका हुन्छन्। तिनीहरूले प्रभुको पुनरागमनलाई स्वागत गरेका हुन्छन्। परमेश्‍वरका पाइला भेटिसकेपछि र थुमाको विवाह भोजमा सरिक भएपछि को टाढा जान चाहन्छ र? त्यो मूर्ख कार्य हुनेछ। त्यतिका वर्ष बिते। सुरुमै यसमा खोजीनिधी गरेर पूर्वीय ज्योतिले भनेका कुरा मैले सुनेकी भए पहिले नै पीडाबाट मुक्त हुन सक्थें र जीवनको जिउँदो पानीको आनन्द लिन सक्थें। म दूरदृष्टि नभएकी मूर्ख व्यक्ति थिएँ, पादरीवर्गको बकवास सुनेर मात्र बसेँ। म घमण्डी थिएँ, जिद्दीपूर्वक बाइबलमा टाँसिएर रहें, मैले ब्रदर-सिस्टरहरूलाई मेरा गलत धारणाद्वारा दीक्षित गरें, मसँगै परमेश्‍वरको नयाँ कामलाई इन्कार र निन्दा गर्न लगाएँ। मैले अरूलाई प्रभुको आगमनको स्वागत गर्नबाट रोकें। प्रभु येशूले फरिसीलाई हप्काउन भन्नुभएको कुरा यसले याद दिलायो: “किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ(मत्ती २३:१३)। मैले ठ्याक्कै फरिसीहरूले जस्तै व्यवहार गरिरहेकी थिएँ, स्वर्गको राज्यको ढोका बन्द गरी आफू पनि भित्र नजाने र अरूलाई पनि जान नदिने गरिरहेकी थिएँ। मैले ब्रदर-सिस्टरहरूलाई हानि गरें—यो ठूलो दुष्कर्म थियो।

सर्वशक्तिमान् परमेश्‍वरका विरुद्धमा मैले गरेका सबै भयानक कुराहरू सम्झेर आफैप्रति निकै घृणा लाग्यो, अनि भान्साकोठा छिरेर बर्र आँसु खसाल्दै रोएँ। मैले त्यसपछि सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ। “तैंले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले तैँले परमेश्‍वरका सबै वचनहरू र उहाँका सबै कामहरूमा विश्‍वास गर्नुपर्छ। यसो भन्नुको मतलब, तैंले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले, तैंले उहाँको आज्ञापालन गर्नुपर्छ। यदि तैँले यसो गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरमाथि विश्‍वास गर्छस् कि गर्दैनस् त्यसले केही मतलब राख्दैन। यदि तैँले वर्षौंदेखि परमेश्‍वरमाथि विश्‍वास गरेको छस् तर पनि तैँले कहिल्यै पनि उहाँको आज्ञापालन गरेको छैनस् भने र उहाँका वचनहरूको सम्पूर्णतालाई स्वीकार गर्दैनस्, बरु परमेश्‍वरलाई तँमा समर्पित हुन र तेरा आफ्नै धारणाहरू अनुसार कार्य गर्न लगाउँछस् भने, तँ सबैभन्दा उग्र विद्रोही होस्, तँ अविश्‍वासी होस्। यस्ता मानिसहरूले कसरी मानिसका धारणाहरूसँग मेल खाँदै-नखाने परमेश्‍वरका काम र वचनहरूको आज्ञापालन गर्न सक्छन् र? सबैभन्दा उग्र विद्रोहीहरू ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्‍वरको अवज्ञा र प्रतिरोध गर्छन्। तिनीहरू परमेश्‍वरका शत्रुहरू, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूमा सधैँ परमेश्‍वरको नयाँ कामको विरुद्ध शत्रुवत आचरण हुन्छ; तिनीहरूमा समर्पित हुनेबारे त अलिकति पनि मनस्थिति हुँदैन, न त तिनीहरूले कहिल्यै खुशीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। तिनीहरूले अरूको अगाडि आफूलाई उचाल्छन् र कसैको अगाडि आफूलाई समर्पित गर्दैनन्। परमेश्‍वरको अगाडि, तिनीहरूले आफूलाई वचनहरू प्रचार गर्ने काममा सर्वश्रेष्ठ अनि अन्य व्यक्तिहरूमाथि काम गर्नको लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका ‘सम्पत्तिहरू’ लाई कहिल्यै पनि त्याग्दैनन्, बरु तिनलाई तिनीहरूले आराधना गर्ने, अन्य व्यक्तिहरूलाई उपदेश दिने पुर्ख्यौली सम्पत्ति हो भन्ने ठान्छन् र तिनीहरूलाई आदर्श ठान्ने मूर्खहरूलाई प्रवचन दिन तिनीहरूले तिनको प्रयोग गर्छन्। वास्तवमा मण्डलीभित्र केही निश्चित संख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू ‘अदम्य नायकहरू’ हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्‍वरको घरमा बसेका छन्। तिनीहरूले वचन (धर्मसिद्धान्त) प्रचार गर्नुलाई नै तिनीहरूको सबैभन्दा ठूलो कर्तव्यको रूपमा लिन्छन्। वर्षौंवर्ष, पुस्तौंपुस्ता तिनीहरू आफ्नो ‘पवित्र र अनुल्लंघनीय’ कर्तव्यलाई जोशका साथ लागू गरिरहन्छन्। तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्‍वरको घरमा ‘राजाहरू’ बन्छन् र युगौँ युगदेखि अरूहरूलाई निरङ्कुशताका साथ व्यवहार गर्दै तिनीहरू नियन्त्रण बाहिर जान्छन्। दुष्टहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र? अर्ध-आज्ञाकारीहरू समेत आखिरीसम्म अघि बढ्न सक्दैनन्, आफ्नो हृदयमा रत्तीभर आज्ञाकारीता नभएका यी निरङ्कुश व्यक्तिहरू आखिरीसम्म अघि बढ्न सक्‍ने कुरा त परै जाओस्!(वचन देहमा देखा पर्नुहुन्छको “सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ”)। परमेश्‍वरको कठोर वचनहरूले सोझै मेरो मुटु छेड्यो। हरेक वचनले मेरो न्याय गरेजस्तो लाग्यो। त्यतिका वर्षसम्म मण्डलीमा मेरो विश्‍वासलाई कसैले उछिनेको छैन, म सबैभन्दा भक्त विश्‍वासी हो भन्ने मैले सोचेकी थिएँ। मैले गरेका त्यागलाई व्यक्तिगत पूँजीको रूपमा लिएँ र मण्डलीमा मेरो राजर्षि अख्तियारी रहेको ठानेँ। साना ठूला सबै कुरामा मेरो नै अन्तिम निर्णय हुन्थ्यो। ब्रदर-सिस्टरहरूले प्रभुमा विश्‍वास गरी बाइबल पढे पनि तिनीहरूले मेरो कुरा सुन्नुपर्थ्यो। प्रभुलाई स्वागत गर्नेबारे मेरा धारणाहरूमा म निकै कडा बनेँ, र मैले ब्रदर-सिस्टरहरूलाई खोजीनिधी नगर्न धम्की दिएँ। मैले मण्डलीमा पूर्ण निषेध लगाएँ। मण्डलीका सदस्यहरूले पूर्वीय ज्योतिका मानिससँग भेट्न डराए अनि तिनीहरूका कुरा सुन्ने हिम्मत गरेनन्। कतिपयले तिनीहरूले भनेका कुरा मन पराए पनि मैले निष्कासन गर्नेछु भन्ने डरले पूरै कुरा सुनेनन्। मैले आफू मानिसलाई प्रभुको स्वागत गर्नबाट रोकिरहने एक दुष्ट सेवक रहेको पाएँ। म आधुनिक समयको फरिसी थिएँ! मैले परमेश्‍वरको स्वभावलाई चिढ्याएँ, अनि उहाँले ताडना दिँदै मलाई बिरामी हुन छोडिदिनुभयो। तर म अझै फर्किनँ, सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूका कामको अनुसन्धान नगरी आफ्नै धारणालाई सत्य मान्दै त्यसैमा मात्र अडिरहें। मेरो कस्तो अचम्मको घमण्ड रहेछ! मैले मण्डलीका सबैलाई मेरो कुरा सुन्‍न, मेरा विचारलाई सत्य मानेर व्यवहार गर्न लगाएँ। म परमेश्‍वरको ठाउँमा उभिन खोजिरहकी थिएँ। के त्यो ख्रीष्ट विरोधी, प्रधान दूत जस्तै हुनु होइन र? विश्‍वासी भएको त्यतिका वर्षपछि पनि मैले परमेश्‍वरलाई अझै चिन्न नसकी उहाँको विरुद्धमा लड्न पुगेँ। तर उहाँले मलाई सीधै सजाय नदिई स्वास्थ्य समस्या उब्जाएर मेरो दुष्कर्मको मार्ग रोकिदिनुभयो, अनि ती दुई जना ब्रदरहरूलाई सुसमाचार सुनाउन मकहाँ पठाउनुभयो। म वास्तवमा परमेश्‍वरको कृपा र मुक्तिको लागि योग्य थिइनँ। यो कुरा बुझेपछि म कृतज्ञताले भरिएँ र परमेश्‍वरप्रति धेरै ऋणी रहेको महसुस गरें। मैले परमेश्‍वरसामु लम्पसार भई रुँदै प्रार्थना गरें, “सर्वशक्तिमान परमेश्‍वर! मेरा कार्यहरू तपाईंको दण्ड र श्राप पाउनुपर्ने खालका छन्। म यो संसारमा बाँच्न लायककी छैन। तपाईंले मलाई मुक्ति दिनुभयो र तपाईंको आवाज सुन्न पाउने अनुग्रह दिनुभयो। हे परमेश्‍वर, मैले धेरै दुष्कर्म गरेकी छु र म तपाईंको कृपा माग्न योग्यकी छैन। मलाई मेरो पाप प्रायश्चित गर्ने, मेरो अपराधका लागि परिपूर्ति गर्ने मौका मात्र दिनुहोस्। म जुनसुकै मूल्य चुकाएर सुसमाचार बाँड्न तयार छु तपाईंका हराएका भेडालाई तपाईंको घरमा फर्काउने बाटो खोजी तपाईंको मुक्ति प्राप्तिमा सहयोग गर्न तत्पर छु।”

केही समयसम्‍म, भोको व्यक्तिले झैँ मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू खाएँ र पहिले कहिल्यै नजानेका सत्यताहरू सिकेँ, जस्तै देहधारण के हो, परमेश्‍वरमाथिको विश्‍वास के हो, परमेश्‍वरको साँचो सेवा गर्नुको अर्थ के हो। मैले स्वभाव परिवर्तन, परमेश्‍वरलाई साँचो प्रेम कसरी गर्ने र कसरी सन्तुष्ट पार्ने जस्ता कुरा पनि सिकेँ। मैले परमेश्‍वरका वचनहरूका सबै मलजल र भरणपोषणबाट धेरै कुरा पाएको महसुस गरें। म साँच्चै थुमाको विवाह भोजमा उपस्थित भइरहेकी थिएँ। यो परमेश्‍वरको देखा पराइ र काम हो, उहाँ आफैले हामीलाई देखाउनुभएको मार्ग हो भन्नेमा म पक्का भएँ। अनि, मेरो स्वास्थ्य समस्या पूर्णरूपमा हराएर गयो। ब्रदर-सिस्टरहरूसँग काम गरेर मैले हाम्रा मुख्य नौ जना सहकर्मी र ३० भन्दा बढी टोली अगुवाहरूलाई परमेश्‍वरसामु ल्याएँ। त्यसपछि अझ धेरै सच्चा विश्‍वासीहरूले परमेश्‍वरको आखिरी दिनहरूका मुक्ति चाँडै प्राप्त गर्न सकून् भनेर मैले सुसमाचार फैलाउन र मेरो कर्तव्य पूरा गर्न थालें। सर्वशक्तिमान परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

विद्रोहीले पश्चात्ताप गर्छ

गु वेनकिंग: म सन् १९९० मा इसाई बनें। एक जना मण्डली अगुवा थिए जसले बाइबल हाम्रो विश्‍वासको जग हो र हामीले विश्‍वासीहरूको हैसियतमा बाइबल पालन...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्