एक पाष्टरलाई प्रचार गरेको कथा

25 अप्रिल 2023

यसै वर्ष, अप्रिलको एक साँझ, एक अगुवाले अचानक मलाई पचास वर्षभन्दा बढी विश्‍वास गरेका एक वृद्ध पाष्टरले परमेश्‍वरको आखिरी दिनहरूको कामबारे अनुसन्धान गर्न चाहेका छन् भने—ती व्यक्ति काओजिया गाउँका पाष्टर काओ रहेछन्। मैले तिनीकहाँ गएर गवाही दिनुपर्थ्यो। अगुवाले मलाई पाष्टर काओले धेरै देशमा प्रचार गरेका छन्, तिनको विश्‍वासको कारण कम्युनिस्ट पार्टीले जेल हाल्दा पनि तिनले परमेश्‍वरलाई त्यागेनन्, र तिनले साँच्‍चै प्रभुमा विश्‍वास गर्छन् भनेर भने। यो सब सुनेपछि, मैले सुसमाचार प्रचार गर्दा भेटेका धेरै पाष्टर र एल्डरहरूको याद आयो। तिनीहरूमध्ये धेरैजसो बाइबलका वचन र धार्मिक धारणाहरूमै टाँसिइरहन्थे। तिनीहरूलाई परमेश्‍वरको आवाज सुन्‍नु वा सत्यता स्वीकार गर्नु गाह्रो हुन्थ्यो। अनि तिनीहरू आफ्‍नो हैसियत र आम्दानीको स्रोतलाई औधी मोल गर्थे। कतिपयले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सुनेर ती सत्यता हुन् भनेर माने, तर सर्वशक्तिमान्‌ परमेश्‍वरलाई ग्रहण गरेनन्। के यी वृद्ध पाष्टरले चाहिँ साँच्‍चै सत्यता स्वीकार गर्न सक्छन् त? कि तिनी पनि अरूजस्तै जिद्दीपूर्वक आफ्नै धार्मिक धारणाहरूमा लागिरहन्छन्? मलाई अलिक डर पनि लागेको थियो—मैले अर्को कर्तव्यमा काम गरेको केही वर्ष भएको थियो, र केही समयदेखि सुसमाचार सुनाएकी थिइनँ। अब अचानक यी बाइबलीय ज्ञान र धार्मिक धारणाहरूले भरिएका वृद्ध पाष्टरको सामना गर्नुपर्ने भयो। यदि मैले स्पष्टसित सत्यता सङ्गति गरिनँ र तिनका धार्मिक धारणा सुल्झाउन सकिनँ भने, के म आफ्‍नो कर्तव्यमा असफल भएकी हुँदिनँ र? त्यसपछि मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “मानिसहरूको विश्‍वास त्यत्ति बेला चाहिन्छ जब कुनै कुरा मानिसको नाङ्गो आँखाले देख्न सकिँदैन, तेरो विश्‍वास त्यसबेला चाहिन्छ, जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्। जब परमेश्‍वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले विश्‍वास गर्नुपर्छ र तैँले दह्रो धारणा लिएर र साक्षी बनेर खडा हुनुपर्छ भन्‍ने हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। “पवित्र आत्माले यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ: मानिसहरूको सहकार्यद्वारा, सक्रियतापूर्वक प्रार्थना गरेर, खोजेर र परमेश्‍वरको नजिक आएर उनीहरूद्वारा परिणामहरू प्राप्त गर्न सकिन्छ र पवित्र आत्माद्वारा उनीहरूलाई प्रकाश दिन र ज्योतिर्मय पार्न सकिन्छ। पवित्र आत्मा एकपक्षीय रूपमा काम गर्नु हुन्छ, वा मानिस एकपक्षीय रूपमा काम गर्छ भन्‍ने होइन। दुवै अपरिहार्य छन्, र मानिसले जति बढी सहकार्य गर्छ, र उनीहरूले परमेश्‍वरका आवश्यकताहरूका मापदण्डहरूको प्राप्तिको जत्ति बढी खोजी गर्छन्, पवित्र आत्माको काम उत्ति नै महान् हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविकता कसरी थाहा पाउने)। साँचो हो। यी सम्भावित सुसमाचार प्रापकलाई भेट्नु परमेश्‍वरको बन्दोबस्त थियो। म पहिले पनि पाष्टर र एल्डरहरूलाई सुसमाचार सुनाउनमा असफल भएकी भए पनि, मैले तिनीहरू सबैलाई परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकार्न नसक्‍ने भनेर भन्‍नु हुँदैनथ्यो। मैले परमेश्‍वरमा विश्‍वास गर्नुपर्थ्यो र सहकार्य गरेर साँच्‍चै मूल्य चुकाउनुपर्थ्यो। परमेश्‍वरको भेडाले उहाँको सोर सुन्छ—तिनले सत्यताको तृष्णा गरुन्जेल, र साँचो मार्गको अनुसन्धान गर्ने इच्‍छा राखुन्जेल, तिनलाई परमेश्‍वरको आखिरी दिनहरूको कामको गवाही दिनु मेरो कर्तव्य थियो। थोरै मात्र आशा बाँकी हुँदा पनि, मैले हरेस खानु हुँदैनथ्यो। मेरो जिम्‍मेवारी भनेको परमेश्‍वरमा भरोसा गरेर प्रेम र धैर्यसाथ सङ्गति दिनु थियो—त्यसपछि मलाई कुनै ऋण वा पछुतो हुनेछैन। यी कुराहरू सोच्दा बल्‍ल विश्‍वास आयो।

पाष्टर काओलाई भेटेपछि, मैले तिनलाई प्रभुको पुनरागमनबारे तिनका विचारहरू सोधेँ। तिनले गम्‍भीरतासाथ भने, “बीस वर्षपहिले, केही मानिसहरूले मलाई धेरैपटक सुसमाचार सुनाएका थिए। तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वर फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, उहाँले सत्यता व्यक्त गर्दै आखिरी दिनहरूको न्यायको काम गर्दै हुनुहुन्छ भनेर गवाही दिएका थिए। तिनीहरूले बाइबलमा परमेश्‍वरका पहिलेका वचन र कामका विवरण छन्—अहिले प्रभु येशू फर्केर आउनुभएको छ र उहाँले नयाँ वचनहरू व्यक्त गर्नुभएको छ, अनि सर्वशक्तिमान्‌ परमेश्‍वरका नयाँ वचनहरू पढेर साँचो रूपमा ती वचन स्विकारेर मात्रै मैले सत्यता बुझ्‍न र परमेश्‍वरको मुक्ति पाउन सक्छु भनेर भनेका थिए। यो कुरा सुन्दा, मैले स्वीकार गर्न सकिनँ—पावलले स्पष्‍ट रूपमा भनेका छन्, ‘सम्पूर्ण धर्मशास्त्र परमेश्‍वरको प्रेरणाबाट दिइएको हो’ (२ तिमोथी ३:१६)। यसको अर्थ बाइबल परमेश्‍वरको वचन हो, इसाईको प्रमाणित पुस्तक हो, यो कुरा इन्कार गर्न सकिँदैन। स्वर्ग र पृथ्वी बितेर जानेछन्; परमेश्‍वरको वचन रहिरहनेछ। त्यसकारण विश्‍वासीहरूले सधैँ बाइबल पढ्नु, र पालना गर्नुपर्छ। तिनीहरू गलत छन् भन्‍नेमा म पक्‍का थिएँ र तिनीहरूको थप सङ्गति सुन्‍न चाहिनँ।” मैले तिनलाई भनेँ: “पाष्टर काओ, तपाईंले किन यस्तो सोच्‍नुहुन्छ, म बुझ्‍न सक्छु। पावलले भनेको आधारमा धार्मिक संसारका धेरैजसो मानिसहरूले बाइबलका सबै वचनहरू परमेश्‍वरका वचनहरू हुन् भन्छन्। तर के यो अभिव्यक्ति सत्यताअनुरूप छ?” पाष्टर काओले भने, “अवश्यै छ।” मैले तिनलाई भनेँ, “बाइबल पूर्ण रूपमा परमेश्‍वरको वचन हो कि होइन भन्‍नेबारेमा, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा धेरै पहिले नै स्पष्ट उत्तर दिइएको छ। सायद हामीले अहिले ती वचनहरू पढ्नुपर्छ कि?” तिनी गम्भीर देखिन्थे, र हिचकिचाउँदै यसो भने: “हामी यहीँ भएकोले, पढ्दा हुन्छ होला।” अनि, मैले तिनलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर सुनाएँ।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “आज, मानिसहरू बाइबल नै परमेश्‍वर हुन् र परमेश्‍वर नै बाइबल हुनुहुन्छ भनेर विश्‍वास गर्छन्। त्यसैले, तिनीहरू बाइबलका सबै वचनहरू मात्र परमेश्‍वरले बोल्नुभएका वचनहरू थिए र ती सबै परमेश्‍वरले भन्नुभएको थियो भनेर विश्‍वास गर्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले यो समेत सोच्छन् कि, पुरानो र नयाँ करारका सबै छैसठ्ठी पुस्तकहरू मानिसहरूले लेखेका भए पनि, ती सबै परमेश्‍वरका प्रेरणाद्वारा दिइएका थिए, र पवित्र आत्माका वाणीहरूका अभिलेख थिए। यो मानिसको गलत बुझाइ हो, र यो कुरा तथ्यहरूसँग पूर्ण रूपमा मेल खाँदैन। वास्तवमा, अगमवाणीका पुस्तकहरूबाहेक पुरानो करारको अधिकांश भाग एक ऐतिहासिक अभिलेख हो। नयाँ करारका केही पत्रहरू मानिसका अनुभवहरूबाट आएका हुन्, र केही पवित्र आत्माको अन्तर्ज्ञानबाट आएका हुन्; उदाहरणका लागि, पावलका पत्रहरू मानिसकै कामबाट उत्पन्न भएका थिए, ती सबै पवित्र आत्माको अन्तर्ज्ञानका परिणाम हुन्, र ती मण्डलीहरूका लागि लेखिएका थिए, र मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि उपदेश र प्रोत्साहनका शब्दहरू थिए। तिनीहरू पवित्र आत्माले बोलेका वचनहरू थिएनन्—पावल पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे, न त तिनी अगमवक्ता नै थिए, तिनले यूहन्नाले देखेका दर्शनहरू देख्ने कुरा त परै जाओस्। तिनका पत्रहरू एफिसस, कोरिन्थ, गलातिया र अन्य मण्डलीहरूको लागि लेखिएका थिए। त्यसकारण, नयाँ करारका पावलका पत्रहरू पावलले मण्डलीहरूका निम्ति लेखेका पत्रहरू थिए, अनि तिनीहरू न त पवित्र आत्माबाट आएका प्रेरणाहरू हुन्, न त तिनीहरू पवित्र आत्माका प्रत्यक्ष वाणीहरू नै हुन्। ती केवल उपदेश, सान्त्वना र प्रोत्साहनका शब्दहरू हुन् जुन तिनले आफ्नो कामको सिलसिलामा मण्डलीहरूको लागि लेखेका थिए। त्यसैले पनि ती पावलको त्यतिखेरको कामका अभिलेख हुन्। ती प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीहरूका लागि लेखिएका थिए, ताकि त्यस समयका मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूले उनको सल्लाह अनुसरण गरून् र प्रभु येशूको पश्चात्तापको मार्गमा हिँडून्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३))। “बाइबलमा भएका सबै कुरा परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणहरूको अभिलेख राखिएको छ, जसमा एउटा अंश अगमवक्ताहरूको अगमवाणीको अभिलेख हो, र अर्को अंश परमेश्‍वरले सबै युगहरूमा प्रयोग गर्नुभएका मानिसहरूद्वारा लेखिएका अनुभव र ज्ञान हुन्। मानवीय अनुभवहरू मानवीय धारणा र ज्ञानद्वारा प्रभावित भएका हुन्छन् र यो टार्न नसकिने कुरा हो। बाइबलका धेरैजसो पुस्तकहरूमा मानवीय धारणा, मानवीय पूर्वाग्रह, र मानवका बेतुकका बोधहरू छन्। अवश्य नै, धेरैजसो वचनहरू पवित्र आत्माको अन्तर्ज्ञान र ज्योतिका परिणाम हुन्, र ती सही बुझाइहरू हुन्—तर पनि ती सत्यताको पूर्णतः सही अभिव्यक्ति हुन् भनेर भन्न सकिँदैन। कुनै चीजको बारेमा तिनीहरूको दृष्टिकोण व्यक्तिगत अनुभवबाट प्राप्त ज्ञान, वा पवित्र आत्माको अन्तर्ज्ञानबाहेक अरू केही हुँदैन। अगमवक्ताहरूका अगमवाणीहरूलाई व्यक्तिगत तवरमा परमेश्‍वरले निर्देशित गर्नुभएको थियो: यशैया, दानियल, एज्रा, यर्मिया र इजकिएललगायतका भविष्यवाणीहरू पवित्र आत्माको प्रत्यक्ष निर्देशनबाट आएका हुन्; यी व्यक्तिहरू द्रष्टा थिए, तिनीहरूले भविष्यवाणी गर्ने आत्मा पाएका थिए, र तिनीहरू सबै पुरानो करारका अगमवक्ताहरू थिए। व्यवस्थाको युगको दौरान, यहोवाको प्रेरणा पाएका यी व्यक्तिहरूले थुप्रै भविष्यवाणी बोले, जसलाई यहोवाले प्रत्यक्ष निर्देशन दिनुभएको थियो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३))

हामीले परमेश्‍वरको वचन पढ्दा, पाष्टर काओले ध्यान दिएर सुने र बेलाबेलामा सहमतिमा शिर हल्‍लाए। त्यसपछि मैले सङ्गति गरेँ: “सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू अत्यन्तै स्पष्ट छन्—बाइबलमा त परमेश्‍वरको कामका अघिल्‍ला दुई चरणहरूबारे मात्रै लेखिएका छन्। यहोवा परमेश्‍वर र प्रभु येशूका वचनहरू, र अगमवक्ताहरूले बोलेका परमेश्‍वरका वचनहरूबाहेक, बाँकी ऐतिहासिक विवरण र मानव अनुभवहरू हुन्। बाइबलमा परमेश्‍वरको वचन मात्रै होइन, मानिसको र शैतानको वचन पनि छ। हामीले यिनको बीचमा भिन्‍नता छुट्याउनुपर्छ, मिसाउनु हुँदैन। जस्तै पुरानो करारका यशैया, एलिया, वा इजकिएलजस्ता अगमवक्ताहरूका अगमवाणीका विवरणहरू। तिनीहरूका वचनहरूभन्दा पहिले सधैँ यस्तो लेखिएको हुन्छ ‘यहोवाले यसो भन्‍नुभयो,’ वा ‘यहोवा बोल्‍नुभयो’—र यसले तिनीहरू सीधै परमेश्‍वरको वचन बोल्दै थिए भन्‍ने प्रमाणित गर्छ। तर पत्रहरू भने मानव अनुभव र मानव विवरण हुन्। मण्डलीहरूलाई पठाइएका पत्रहरूजस्ता पावलका पत्रहरू तिनका आफ्‍नै अनुभव र बुझाइहरू थिए। जब त्यो बेला ब्रदर-सिस्टरहरूले पावलका पत्रहरू प्राप्त गर्थे, तब तिनीहरू ‘पावलको पत्र आएको छ’ भन्थे। तिनीहरू कहिल्यै पनि ‘परमेश्‍वरका वचनहरू आएका छन्’ भनेर भन्दैनथे, होइन र? त्यसैले ती पत्रहरूलाई परमेश्‍वरका वचनहरू भनेर भन्‍न सकिँदैन। बाइबलमा दिइएका मानिसका र शैतानका वचनहरूलाई परमेश्‍वरका वचनहरू भनी दाबी गर्नु, के त्यो ईश्‍वरनिन्दा होइन र? त्यसको अर्थ, ‘बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो, र यो परमेश्‍वरको वचन हो’ भन्‍ने विश्‍वास आधारभूत रूपमै गलत छ।”

मेरो कुरा सकिएपछि, तिनी छक्‍क परे। अनि, उत्साहित हुँदै भने, “मलाई मेरो ईश्‍वरशास्‍त्रका शिक्षकले बाइबलको सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो, र त्यो परमेश्‍वरको वचन हो भनेको याद छ। हामीले यतिका वर्षदेखि यसै भन्दै आएका छौँ। के पावल यसबारेमा गलत हुन सक्छन्?” तिनले यसरी सोधेको सुन्दा, मेरो धड्कन रोकियो। तिनले अँ, अँ भन्दै शिर हल्‍लाएका थिए, र तिनले बुझे भन्‍ने लागेको थियो, तर तिनले त बुझ्दै नबुझेका रहेछन्। के पाष्टर काओ पनि परमेश्‍वरको वचन बुझ्‍न नसक्‍ने अरू धार्मिक अगुवाहरू जस्तै छन्? तर त्यसपछि सोचेँ, “यी वृद्ध पाष्टरले धार्मिक धारणाहरू अङ्गालेको दशकौँ भयो—के तिनले यी कुराहरू सहजै पन्छाउन सक्छन् र? मैले धैर्यसाथ सङ्गति दिनुपर्छ।” त्यसपछि, मैले भनेँ: “अहिलेको लागि पावल सही थिए कि गलत भनेर चिन्ता नगरौँ। हामी तथ्यहरूको कुरा गरौँ। पाष्टर काओ, बाइबल कसरी लेखियो त्यो तपाईंलाई पक्‍कै थाहा होला। प्रभुको स्वर्ग आरोहणको कति वर्षपछि पावलले २ तिमोथीको पत्र लेखे?” नहिचकिचाईकन, तिनले भने, साठी वर्षभन्दा पछि। “प्रभुको स्वर्ग आरोहणको कति वर्षपछि नयाँ करार सङ्कलित गरियो?” तिनले भने, त्यो तीन सय वर्षभन्दा पछि हो। त्यसैले मैले भनेँ, “अब सोचौँ त—के पावलले २ तिमोथी लेख्दा, नयाँ करार थियो?” छक्‍क पर्दै तिनले भने, “थिएन।” मैले फेरि भने: “थिएन भने, के ‘सम्पूर्ण धर्मशास्त्र परमेश्‍वरको प्रेरणाबाट दिइएको हो,’ भन्‍ने पावलका वचनहरूले नयाँ करार समावेश गर्थ्यो त?” तिनको आँखा तन्कियो, र तिनले भने, “मैले बुझेँ। पावलका वचनहरूले नयाँ करार समावेश गर्थेन। प्रभुलाई धन्यवाद होस्! मैले यसबारेमा कसरी पहिले सोचिनँ? विश्‍वास गरेको यतिका वर्षमा, म सधैँ के विश्‍वास गर्थेँ भने, ‘धर्मशास्‍त्रका सबै पुस्तक परमेश्‍वरको प्रेरणाद्वारा दिइएको हो, र ती उहाँका वचन हुन्,’ र मैले यसबारेमा जताततै प्रचार गरेँ। मैले यो अभिव्यक्तिको सत्यताबारे कहिल्यै प्रश्‍न गरिनँ। यस सङ्गतिद्वारा, अहिले मैले बुझेँ—बाइबल पूर्ण रूपमा परमेश्‍वरको वचन होइन र मेरो दशकौँ पुरानो धारणालाई सुधार्नुपर्छ। परमेश्‍वर धन्यवाद!” पाष्टर काओको धारणा सल्झिएको देख्दा, मलाई तिनीसँग सुसमाचार प्रचार गर्ने अझै आत्मविश्‍वास मिल्यो।

त्यसैले मैले तिनीसँग यस्तो सङ्गति गरेँ: “परमेश्‍वर आखिरी दिनहरूमा आफ्‍नो न्यायको काम गर्न देह बन्‍नुभएको छ, र उहाँले सत्यताका करोडौँ वचन व्यक्त गर्नुभएको छ—र यसरी उहाँले बाइबलका रहस्यहरू मात्र नभई, उहाँको ६,००० वर्षे व्यवस्थापन योजनाका सबै रहस्यहरू पनि खुलासा गर्नुभएको छ, जस्तै उहाँको कामका तीन चरणहरू, उहाँको नाम, र उहाँको देहधारणका रहस्यहरू। सर्वशक्तिमान्‌ परमेश्‍वरले शैतानद्वारा मानिस भ्रष्ट पारिएको सत्यता, मानिसको परमेश्‍वविरोधी शैतानी प्रकृति र विभिन्‍न शैतानी स्वभावहरू पनि खुलासा गर्नुभएको छ, र हामीलाई पापबाट मुक्त हुने र उहाँको मुक्ति पाउने मार्ग देखाउनुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका यी सत्यताहरू पवित्र आत्‍माले मण्डलीहरूलाई प्रदान गर्नुभएका वचनहरू हुन्, परमेश्‍वरले आखिरी दिनहरूमा मानवजातिलाई दिनुभएको अनन्त जीवनको मार्ग, अनि मुक्ति पाउने र परमेश्‍वरको राज्यमा प्रवेश गर्ने एकमात्र मार्ग हुन्।” तिनले यो कुरा स्विकारे, तर तिनमा परमेश्‍वरले आखिरी दिनहरूमा महिलाको देहधारण गर्नुभएकोप्रति अझै धारणाहरू थिए। तिनले मलाई भने: “सिस्टर, अहिले म सर्वशक्तिमान्‌ परमेश्‍वरको न्याय र शुद्धीकरणको काम स्विकार्न सक्छु, तर तपाईं कसरी प्रभु येशू महिलाको रूपमा देहधारी बन्‍नुभएको छ भनी गवाही दिन सक्‍नुहुन्छ? यसभन्दा पहिले उहाँ पुरुषको रूपमा आउनुभयो—र बाइबलले प्रायजसो उहाँलाई ‘पुत्र’ भनी उल्‍लेख गरेको छ—त्यसैले पुनरागमन हुँदा उहाँ पुरुष हुनुपर्ने हो। उहाँ कसरी महिला हुन सक्‍नुहुन्छ? यो मेरो लागि अकल्‍पनीय छ। तपाईंले यस विषयमा केही सङ्गति दिन सक्‍नुहुन्छ?” मैले भनेँ, “हजारौँ वर्षदेखि, सबै विश्‍वासीहरूले प्रभु येशू पुरुषको रूपमा आउनुभएको हुनाले, उहाँ अवश्य नै पुरुषको रूपमा आउनुहुनेछ, महिलाको रूपमा होइन भन्‍ने सोचे। तैपनि, सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूमा महिलाको रूपमा देहधारी बन्‍नुभएको छ—धेरैलाई यो कुरा स्विकार्नु समस्या हुन्छ। तर कुनै कुराबारे मानिसहरूसँग जति धेरै धारणाहरू हुन्छन्, त्यसभित्र त्यति नै सत्यता लुकेको हुन्छ भनेर हामीले बुझ्नुपर्छ। बाइबलमा, प्रभु येशूको पुनरागमनको बारेमा अगमवाणी गरिएको ठाउँमा सधैँ ‘मानिसको पुत्र’, ‘मानिसको पुत्रको आगमन’, ‘मानिसको पुत्र आउँछ,’ र ‘मानिसको पुत्र पनि उनको दिनमा’ भनी उल्‍लेख गरिएको छ। यस ‘मानिसको पुत्र’ को अर्थ के हो? यसको अर्थ मानवबाट जन्‍मिएको, सामान्य मानवता भएको व्यक्ति भन्‍ने हुन्छ—ऊ पुरुष होस् वा महिला, केही फरक पर्दैन। त्यसो भए, प्रभु येशूले किन बारम्‍बार ‘मानिसको पुत्र’ भन्‍ने वाक्यांशमा जोड दिनुभयो? उहाँले के भनिरहनुभएको थियो भने, आखिरी दिनहरूमा, परमेश्‍वर प्रकट हुन र काम गर्न मानिसको पुत्रको रूपमा देहधारी भई आउनुहुनेछ। तर प्रभुले आखिरी दिनहरूमा आउने मानिसको पुत्र पुरुष हुनेछ कि महिला, त्यो कहिल्यै भन्‍नुभएन। त्यसैले मानिसहरूले कसरी यसबारे निर्णय गर्न सक्छन्? हामी सबैलाई उत्‍पत्ति, अध्याय १, पद २७ थाहा छ: ‘त्यसकारण परमेश्‍वरले मानिसलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, उहाँले आफ्नै स्वरूपमा उसलाई बनाउनुभयो; पुरुष र महिला गरी तिनीहरूलाई उहाँले सृष्टि गर्नुभयो।’ यहाँ हामी देख्‍न सक्छौँ, सुरुमा परमेश्‍वरले पुरुष र स्‍त्रीलाई आफ्‍नै स्वरूपमा सृष्टि गर्नुभयो। यदि हामी परमेश्‍वरलाई पुरुष निर्धारित गर्छौँ भने, परमेश्‍वरले महिलालाई आफ्‍नै रूपमा सृष्टि गर्नुभएको कुरा कसरी व्याख्या गर्न सक्छौँ? त्यसैले, हामीले परमेश्‍वरलाई हाम्रा आफ्‍नै धारणा वा कल्‍पनाहरूमा सीमित गर्न मिल्दैन।” अनि, मैले पाष्टर काओलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनका केही खण्ड पढेर सुनाएँ।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “परमेश्‍वरले गर्नुभएको कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। त्यो बेला, येशू आउनुहुँदा, उहाँ पुरुषको स्वरूपमा हुनुहुन्थ्यो, र यसपटक परमेश्‍वर आउनुहुँदा, उहाँ महिलाको स्वरूपमा हुनुहुन्छ। यसबाट के देख्‍न सकिन्छ भने परमेश्‍वरले सृष्टि गर्नुभएको पुरुष र स्‍त्री दुवैलाई उहाँको काममा प्रयोग गर्न सकिन्छ, र उहाँको लागि लिङ्गको कुनै भिन्‍नता हुँदैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँले आफूलाई मन लागेको कुनै पनि देह लिन सक्‍नुहुन्छ, र त्यो देहले उहाँलाई प्रतिनिधित्व गर्न सक्छ; चाहे यो पुरुष होस् या स्‍त्री, जबसम्म यो उहाँको देहधारी शरीर हो, तबसम्म यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ। यदि उहाँ आउनुहुँदा येशू स्‍त्रीको रूपमा देखा पर्नुभएको भए, अर्को शब्‍दमा भन्दा, यदि पवित्र आत्‍माद्वारा शिशु बालक नभई शिशु बालिका गर्भमा बसेको भए, कामको त्यो चरण उही रूपमा पूरा हुनेथ्यो। यदि त्यस्तो भएको भए, कामको वर्तमान चरण पुरुषद्वारा पूरा गरिनुपर्थ्यो, तर कामचाहिँ उही रूपमा पूरा हुनेथ्यो। हरेक चरणमा गरिएको कामको उत्तिकै महत्त्व छ; कुनै पनि चरणको काम दोहोरिँदैन, न त यो अर्कोसँग बाझिने नै गर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्)। “लिङ्गमा, एक जना पुरुष र अर्को स्त्री हुनुहुन्छ, त्यसकारण परमेश्‍वरको देहधारणको महत्त्व पूरा हुन्छ र यसले परमेश्‍वरसम्बन्धी मानिसका धारणाहरूलाई हटाउँछ: परमेश्‍वर पुरुष र स्त्री दुवै बन्न सक्नुहुन्छ र वास्तवमा, देहधारी परमेश्‍वर लिङ्गरहित हुनुहुन्छ। उहाँले पुरुष र स्त्री दुवैलाई बनाउनुभयो र उहाँको लागि, कुनै लिङ्गको विभाजन छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार)। “यदि परमेश्‍वर केवल पुरुषको रूपमा देहमा आउनुभयो भने, मानिसहरूले उहाँलाई पुरुषहरूका परमेश्‍वर झैं पुरुषको रूपमा परिभाषित गर्नेथिए, र उहाँ महिलाहरूका पनि परमेश्‍वर हुनुहुन्छ भनी कहिल्यै विश्‍वास गर्नेथिएनन्। तब मानिसहरूले परमेश्‍वरलाई पुरुषकै लिङ्गको मान्नेथिए, परमेश्‍वरलाई पुरुषहरूका शिर मान्नेथिए—त्यसोभए महिलाको हकमा के हुन्छ? यो अनुचित छ; यो पक्षपातपूर्ण व्यवहार होइन र? यदि त्यसो हो भने परमेश्‍वरले मुक्ति दिनुभएकाहरू सबै उहाँजस्तै पुरुषहरू हुनेथिए, र एउटै पनि महिलाले मुक्ति पाउने थिएन। जब परमेश्‍वरले मानव जातिलाई सृष्टि गर्नुभयो, उहाँले आदमलाई सृष्टि गर्नुभयो र हव्वालाई सृष्टि गर्नुभयो। उहाँले आदमलाई सृष्टि मात्र गर्नुभएन, उहाँले नर र नारी दुवैलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्‍वर केवल पुरुषहरूका परमेश्‍वर मात्रै हुनुहुन्न, तर उहाँ महिलाहरूका परमेश्‍वर पनि हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))

मैले सङ्गतिलाई जारी राखेँ: “हामी सबैलाई थाहा छ, सुरुमा परमेश्‍वरले पुरुष र स्‍त्रीलाई आफ्‍नै स्वरूपमा सृष्टि गर्नुभयो। त्यसैले, स्वाभाविक रूपमै, परमेश्‍वर पुरुषको साथै महिलाको रूपमा पनि देहधारी बन्‍न सक्‍नुहुन्छ। यदि परमेश्‍वर दुवैपटक पुरुषको रूपमा देहधारी हुनुभएको भए, मान्छेले उहाँलाई सीमित गर्ने थिए, र उहाँ पुरुषको रूपमा मात्रै देह बन्‍न सक्‍नुहुन्छ, महिलाको रूपमा होइन—उहाँ पुरुषको मात्रै परमेश्‍वर हुनुहुन्छ, महिलाको होइन—भनेर विश्‍वास गर्ने थिए र के यो उहाँको बारेमा ठूलो गलतबुझाइ होइन र? यो महिलाहरूविरुद्ध अनन्त भेदभाव हुने थियो। यो महिलाहरूका लागि साँच्‍चै अन्याय हुने थियो। परमेश्‍वर धर्मी हुनुहुन्छ। त्यसैले उहाँ सुरुमा पुरुषको रूपमा, र आखिरी दिनहरूमा चाहिँ महिलाको रूपमा देहधारी हुनुभएको छ। यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। यसले परमेश्‍वरको स्वभाव धर्मी छ र उहाँले पुरुष र महिलालाई समान व्यवहार गर्नुहुन्छ भन्‍ने देखाउँछ। यसले उहाँले पुरुष र स्‍त्री सृष्टि गर्नुभएको कुराको अर्थ पूरा गर्छ। वास्तवमा, परमेश्‍वर पुरुषको रूपमा वा महिलाको रूपमा देहधारी हुनुभए पनि केही फरक पर्दैन। यस व्यक्तिले सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिने काम गर्न सकुन्जेल, उसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्छ, र ऊ परमेश्‍वर स्‍वयम्‌ हुन्छ। आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वर आउनुभएको छ। उहाँले मानिसलाई शुद्ध पार्ने र मुक्ति दिने सबै सत्यता व्यक्त गर्दै, आखिरी दिनहरूको उहाँको न्यायको काम गर्दै हुनुहुन्छ, यसरी उहाँले राज्यको युग सुरु गर्दै अनुग्रहको युग अन्त्य गर्नुभएको छ। यसले निर्णायक रूपमा के प्रमाणित गर्छ भने सर्वशक्तिमान्‌ परमेश्‍वर नै देहधारी परमेश्‍वर, र फर्कनुभएका प्रभु येशू हुनुहुन्छ।”

त्यो बेला, पाष्टर काओले मलाई निकै गम्‍भीरतासाथ भने, “सिस्टर, तपाईंले भन्‍नुभएको सबै कुरा तर्कशील छन् र म खण्डन गर्न सक्दिनँ। तर अझै एउटा कुरा मैले राम्ररी बुझ्‍न सकेको छैनँ। उत्पत्ति ३:१६ मा, परमेश्‍वर भन्नुहुन्छ, ‘र तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ।’ अनि १ कोरिन्थी ११:३ ले यसो भन्छ, ‘र स्‍त्रीको शिर पुरुष हो।’ यी खण्डहरूबाट हामी के देख्‍न सक्छौँ भने स्‍त्री भ्रष्टताको स्रोत हो र ऊ मानिसको अधीनमा हुन्छे। त्यसैले, प्रभु कसरी महिलाको रूपमा फर्किआउन सक्‍नुहुन्छ?” पाष्टर काओको कुरा सुनेपछि, मैले सोचेँ: “मैले तपाईंलाई परमेश्‍वरका धेरै वचनहरू पढेर सुनाएँ, र धेरै कुराहरू सङ्गति गरेँ, तैपनि तपाईं अझै परमेश्‍वरलाई पुरुषमै सीमित गर्दै हुनुहुन्छ र उहाँ महिलाको रूपमा देहधारी हुनुभएको तथ्य स्विकार्दै हुनुहुन्‍न। तपाईंले आफ्‍ना धारणाहरू सजिलै पन्छाउन सक्‍नुहुन्‍न रहेछ।” तर त्यसपछि मैले सोचेँ: “तिनले धर्मशास्‍त्रलाई गलत बुझेका हुनाले तिनमा यी धारणाहरू पलाएका हुन्। यदि तिनले सत्यता बुझे भने, यी धारणाहरू हट्नेछन्।” मैले तिनलाई भनेँ, “पाष्टर काओ, सर्वशक्तिमान् परमेश्‍वरले यसबारे अत्यन्तै स्पष्ट रूपमा बताउनुभएको छ। उहाँले के भन्‍नुभएको रहेछ, हेरौँ न।”

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “विगतका समयहरूमा, जब पुरुष नै स्‍त्रीको प्रमुख हो भनेर भनियो, यो आदम र हव्‍वाप्रति लक्षित थियो, जो सर्पद्वारा छलिएका थिए—यो सुरुमा यहोवाले सृष्टि गर्नुभएकै पुरुष र स्‍त्रीप्रति लक्षित थिएन। अवश्‍य नै, एक स्‍त्रीले आफ्‍नो पतिको आज्ञापालन गर्नुपर्छ र उसलाई प्रेम गर्नुपर्छ, र पतिले आफ्‍नो परिवारलाई खुवाउन र सहारा दिन सिक्‍नैपर्छ। यी यहोवाले निर्धारित गर्नुभएका नियम र उर्दीहरू हुन् जसलाई मानवजातिले आफ्नो पृथ्वीको जीवनमा पालन गर्नैपर्छ। यहोवाले स्‍त्रीलाई भन्‍नुभयो, ‘तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ।’ मानवजाति (अर्थात्, पुरुष र स्‍त्री दुवै) ले यहोवाको प्रभुत्वको अधीनमा रही सामान्य जीवन जिउन सकून्, र मानवजातिको जीवनमा संरचना होस्, र तिनीहरूको जीवनमा अव्यवस्थितपन नआओस् भनेर मात्रै उहाँले यो कुरा बोल्‍नुभएको थियो। त्यसकारण, पुरुष र स्‍त्रीले कस्तो व्यवहार गर्नुपर्छ भन्‍ने विषयमा यहोवाले उचित नियमहरू बनाउनुभयो, तर ती नियम पृथ्वीमा जिइरहेका सबै सृजित प्राणीहरूसँग मात्रै सम्‍बन्धित थियो, र परमेश्‍वरको देहधारणसँग यसको कुनै सम्‍बन्ध थिएन। परमेश्‍वर कसरी उहाँका सृजित प्राणीहरूजस्तै हुन सक्‍नुहुन्छ? उहाँका वचनहरू उहाँले सृष्टि गर्नुभएका मानवजातितर्फ मात्रै लक्षित थिए; मानवजातिले सामान्य जीवन जिओस् भनेर मात्रै उहाँले पुरुष र स्‍त्रीका लागि नियमहरू स्थापित गर्नुभयो। सुरुमा, जब यहोवाले मानवजातिलाई सृष्टि गर्नुभयो, उहाँले पुरुष र स्‍त्री दुवै प्रकारका मानवजाति बनाउनुभयो; त्यसैले उहाँको देहधारणहरूमा पुरुष र स्‍त्रीको विभाजन छ। उहाँले आदम र हव्‍वासँग बोल्‍नुभएका वचनहरूको आधारमा आफ्‍नो कामको निर्णय गर्नुभएन। उहाँले सुरुमा मानवजाति सृष्टि गर्नुभएको समयको उहाँको सोचअनुसार नै उहाँ दुईपटक देह बन्‍नुहुने कुरा पूर्ण रूपमा निर्धारित भएको थियो; अर्थात्, तिनीहरू भ्रष्ट हुनुभन्दा पहिलेको पुरुष र स्‍त्रीको आधारमा उहाँले आफ्‍ना दुई देहधारणहरूको काम पूरा गर्नुभयो। … जब यहोवा दुईपटक देह बन्‍नुभयो, उहाँको देहको लिङ्ग सर्पको छलमा नपरेका पुरुष र स्‍त्रीसँग सम्‍बन्धित थियो; सर्पको छलमा नपरेका ती पुरुष र स्‍त्रीअनुसार नै उहाँ दुईपटक देह बन्‍नुभएको थियो। येशूको पुरुषत्व, सर्पको छलमा परेको आदमको जस्तै थियो भनेर नसोच। उहाँहरू पूर्ण रूपमा असम्बन्धित हुनुहुन्छ, उहाँहरू फरक प्रकृतिका पुरुषहरू हुनुहुन्छ। येशूको पुरुषत्वले उहाँ सबै स्‍त्रीहरूका प्रमुख हुनुहुन्छ, तर सबै पुरुषहरूका प्रमुख हुनुहुन्‍न भनेर अवश्य नै प्रमाणित गर्दैन? के उहाँ (पुरुष र स्‍त्री दुवै लगायत) सारा यहूदीहरूका राजा हुनुहुन्‍न र? उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, स्‍त्रीको प्रमुख मात्रै नभई पुरुषको पनि प्रमुख हुनुहुन्छ। उहाँ सारा प्राणीहरूका प्रभु हुनुहुन्छ र सारा प्राणीहरूका प्रमुख हुनुहुन्छ। येशूको पुरुषत्व स्‍त्रीको प्रमुखको प्रतीक हो भनेर तैँले कसरी निर्धारित गर्छस्? के यो ईश्‍वरनिन्दा हुनेछैन र? येशू भ्रष्ट नपारिएको पुरुष हुनुहुन्छ। उहाँ परमेश्‍वर हुनुहुन्छ; उहाँ ख्रीष्‍ट हुनुहुन्छ; उहाँ प्रभु हुनुहुन्छ। उहाँ कसरी आदमजस्तो भ्रष्ट पारिएको पुरुष हुन सक्‍नुहुन्छ? येशू परमेश्‍वरका सबैभन्दा पवित्र आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। उहाँ आदमको पुरुषत्व भएको परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी भन्‍न सक्छस्? त्यस्तो भएमा, के परमेश्‍वरका सबै कार्य गलत हुन्थेन र? के सर्पको छलमा परेका आदमको पुरुषत्वलाई यहोवाले येशूभित्र समायोजन गर्नुहुन्थ्यो? के वर्तमान समयको देहधारण येशूभन्दा फरक लिङ्गका तर प्रकृतिमा उहाँजस्तै हुनुहुने देहधारी परमेश्‍वरको कामको अर्को घटना होइन र? के तँ अझै पनि देहधारी परमेश्‍वर स्‍त्री हुन सक्‍नुहुन्‍न किनभने सर्पले सुरुमा स्‍त्रीलाई नै छल गरेको थियो भनेर भन्‍ने आँट गर्छस्? के तँ अझै पनि स्‍त्री सबैभन्दा अशुद्ध र मानवजातिको भ्रष्टताको स्रोत भएकीले, परमेश्‍वर स्‍त्रीको रूपमा देह बन्‍ने सम्‍भावना हुन सक्दैन भनेर भन्‍ने आँट गर्छस्? के तँ ‘स्‍त्रीले सँधै पुरुषको आज्ञापालन गर्नुपर्छ र उसले कहिल्यै पनि परमेश्‍वरको प्रकटीकरण वा प्रत्यक्ष प्रतिनिधित्व गर्न सक्दिन’ भनेर भनिरहने आँट गर्छस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्)

मैले फेरि भने: “सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनबाट हामी के देख्‍न सक्छौं भने, जब परमेश्‍वरले स्‍त्रीलाई, ‘र तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ,’ भनी भन्‍नुभयो, त्यो भ्रष्ट मानवजातिको निम्ति उहाँको मापदण्ड र पावन्दी थियो, ताकि भ्रष्ट मानवजाति यहोवा परमेश्‍वरको प्रभुत्वमा व्यवस्थित रूपमा जिउन सकून्। यो मापदण्ड देहधारी परमेश्‍वरसँग कहीँकतै सम्‍बन्धित छैन। यो त पुरानो करारमा यहोवा परमेश्‍वरले मानिसलाई शबाथ-दिनको पालना गर्न आज्ञा दिनुभएजस्तै हो। त्यो परमेश्‍वरले मान्छेलाई अह्राउनुभएको कुरा थियो—मान्छेले प्रभु येशूलाई यस्तो आदेश दिन सक्दैनथ्यो। प्रभु येशूले भन्‍नुभयो, ‘शबाथ मानिसको लागि बनाइएको हो, मानिसलाई शबाथको लागि बनाइएको होइन: त्यसकारण मानिसको पुत्र शबाथको पनि प्रभु हो(मर्कूस २:२७-२८)। त्यसकारण, बाइबलले ‘र तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ(उत्पत्ति ३:१६), ‘र स्‍त्रीको शिर पुरुष हो’ (१ कोरिन्थी ११:३), भनेको भए पनि, यी कुराहरू देहधारी परमेश्‍वरसँग कहीँकतै सम्‍बन्धित छैनन्। परमेश्‍वर पुरुषको वा महिलाको रूपमा देहधारी भए पनि, त्यो सधैँ उहाँको आत्माले धारण गरेको देह नै हुन्छ, र त्यो सधैँ परमेश्‍वर स्‍वयम्‌ नै हुन्छ। यदि मानिसले परमेश्‍वरलाई पुरुषमा सीमित गर्न, र स्‍त्री बन्‍न नसक्‍ने भनी भन्‍न यी वचनहरू प्रयोग गर्छ, र आखिरी दिनहरूका देहधारी परमेश्‍वरलाई इन्कार गर्छ भने, के यो देहधारी परमेश्‍वरलाई भ्रष्ट मानिसकै वर्गमा राख्‍नु होइन र? के यो परमेश्‍वरविरुद्धको ईशनिन्दा होइन र?” मेरो कुरा सुनेपछि, पाष्टर चकित भए। तिनले निकै गम्‍भीरतासाथ भने, “सिस्टर, प्रभु देहमा फर्केर आउनुभएको हुनाले, उहाँ मानवबाट जन्‍मनुपर्छ, र उहाँको एउटा लिङ्ग हुनुपर्छ। मैले उहाँ यसपटक महिलाको रूपमा देहधारी हुनुभएको हो भनेर तुरुन्तै स्विकार्न सकिनँ। मैले प्रार्थना गर्नुपर्छ र प्रभुलाई अन्तर्दृष्टि माग्‍नुपर्छ।” पाष्टरले यसो भन्दा, मलाई अलिक चिन्ता लाग्यो, र म अकमक्‍क भएँ। मैले यति धेरै सङ्गति गरेकी थिएँ—किन तिनले अझै आफ्‍ना धारणाहरू पन्छाउन सकेनन्? आखिर के भइरहेको छ? के तिनले परमेश्‍वरको वचन बुझ्‍न सकेनन्? के तिनी परमेश्‍वरको भेडा होइनन्? के मैले तिनीसँगको कुराकानीलाई जारी राख्‍नुपर्छ? यसबाट मैले के पाठ सिक्‍ने? मैले हृदयमा परमेश्‍वरलाई प्रार्थना गरेँ।

त्यसपछि, मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “सुसमाचार प्रचार गर्ने क्रममा, तैँले आफ्‍नो जिम्‍मेवारी पूरा गर्नैपर्छ र तैँले सुसमाचार सुनाएका हरेक व्यक्तिसँग इमानदारिताको साथ व्यवहार गर्नैपर्छ। परमेश्‍वरले सम्‍भव भएसम्म धेरैभन्दा धेरै मानिसहरूलाई मुक्ति दिनुहुन्छ, र तैँले परमेश्‍वरको इच्‍छालाई ध्यान दिनुपर्छ, अनि साँचो मार्गको बारेमा खोजी र सोचविचार गरिरहेका कुनै पनि व्यक्तिलाई लापरवाही रूपमा छुटाउनु हुँदैन। … साँचो मार्गको बारेमा सोचविचार गरिरहेका कतिपय मानिसहरू बुझ्‍न सक्‍ने र राम्रो क्षमताका हुन्छन्, तर तिनीहरू अहङ्कारी र आत्मधर्मी हुनुका साथै धार्मिक धारणाहरूमै लागिरहन्छन्, त्यसकारण यसलाई समाधान गर्नको लागि तिनीहरूलाई सत्यता सङ्गति गर्नुपर्छ। तैँले तिनीहरूसँग जसरी सत्यता सङ्गति गरे पनि तिनीहरूले सत्यता स्वीकार गर्दैनन् भने मात्रै तैँले तिनीहरूलाई छोडिदिनुपर्छ, किनभने तैँले आफूले गर्न सक्‍ने र गर्नुपर्ने सबै गरिसकेको हुन्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार फैलाउनु त्यो कर्तव्य हो जसलाई सम्मान गर्न सबै विश्‍वासीहरू बाध्य छन्)। परमेश्‍वरको वचनले मेरो चिन्तित हृदय शान्त पार्‍यो। हामी सम्भावित सुसमाचार ग्रहणकर्तासित प्रेमिलो र धैर्य होऊँ भन्‍ने परमेश्‍वर चाहनुहुन्छ। तिनीहरूले अन्तिममा सुसमाचार स्वीकार गरे पनि नगरे पनि, हामीले सक्‍नेजति सबै गर्नुपर्छ। मैले पाष्टर काओलाई सुसमाचार सुनाउँदा आफूले गर्नुपर्ने सबै कुरा गरेकी छैन भन्‍ने महसुस गरेँ। मैले परमेश्‍वरका मापदण्डहरू पुरा गरेकी थिइनँ। तिनी अझै बाइबलमै अल्झिएको, र आफ्‍नो मन बदल्न नसकेको देख्दा, तिनले सत्यता ग्रहण गर्न कहिल्यै सक्दैनन् जस्तो सोचेँ। तिनमा परमेश्‍वर महिलाको रूपमा देहधारी हुनेबारेमा धारणाहरू थिए र तिनले तुरुन्तै मेरो सङ्गति बुझेनन्, त्यसैले मैले फेरि मेरो धैर्य गुमाएँ। पाष्टर काओप्रति मैले पूर्वाग्रह राखेँ, र पाष्टरहरूले सहजै परमेश्‍वरको आवाज चिन्‍न सक्दैनन् भन्‍ने सोचेँ। तिनमा समाधान गर्न नसकिने धारणा देखिएपछि, मैले तिनलाई सीमित गरेँ र तिनलाई छोड्नेसमेत चाहेँ। परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन कसरी अथक प्रयास गर्नुभएको छ र हामीलाई भरणपोषण गर्न कति धेरै वचन व्यक्त गर्नुभएको छ भनेर सोचेँ। हामीलाई सत्यता बुझ्‍न सहयोग गर्न, उहाँले हामीसँग सङ्गति गर्नुहुन्छ, र हर सत्यता विस्तृत रूपमा व्याख्या गर्नुहुन्छ। पर्याप्त विवरण र स्पष्टता प्रदान गर्न उहाँले कथा र उपमा बोल्‍नुहुन्छ, र सबै दृष्टिकोणबाट कुरा गर्नुहुन्छ। हामीप्रतिको परमेश्‍वर प्रेम र हाम्रो लागि उहाँले जे गर्नुभएको छ त्यो अत्यन्तै महान् छ जसलाई शब्‍दले व्यक्त गर्न सकिँदैन भन्‍ने बुझेँ। तर सुसमाचार फैलाउने मेरो कर्तव्यमा, म कठिनाइबाट पछि हटेँ र पाष्टर काओलाई छोडिदिन चाहेँ। ममा प्रेमिलो हृदय कहाँ थियो र? त्यसरी त कसरी मैले कर्तव्य पूरा गर्न सक्थेँ र? पाष्टर काओ तुरुन्तै परिवर्तन नभएका भए पनि, म अधीर हुनु हुँदैनथ्यो। मैले प्रेमपूर्वक व्यवहार गर्नुपर्थ्यो, र तिनले नबुझेको खण्डमा, सङ्गतिमा मैले अझै बढी समय बिताउनुपर्थ्यो, परमेश्‍वरलाई प्रार्थना र भरोसा गर्दै पाष्टरलाई अन्तर्दृष्टि दिन उहाँलाई अनुरोध गर्नुपर्थ्यो।

यसबारेमा सोचेपछि, मैले पाष्टर काओसँग निरन्तर सङ्गति गरिरहेँ। “सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्दा, हामीले उहाँले व्यक्त गर्नुभएको सत्यतामा विश्‍वास गर्छौँ। परमेश्‍वरको देहधारण पुरुष भए पनि महिला भए पनि, उहाँले सत्यता व्यक्त गर्नुहुन्छ, र मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन सक्‍नुहुन्छ भने, उहाँ परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्छ, र हामीले उहाँलाई विश्‍वास र स्वीकार गर्नुपर्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले तीसभन्दा बढी वर्षदेखि काम गर्दै आउनुभएको छ, र करोडौँ वचनहरू व्यक्त गर्नुभएको छ। मानवजातिको पापलाई हटाउन र हामीलाई परमेश्‍वरको मुक्ति दिन सबै सत्यता व्यक्त गर्नुभएको छ। परमेश्‍वरको देखापराइको तृष्णा गर्ने सबै धर्म र सम्प्रदायका मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा उहाँको आवाज चिनेर उहाँकहाँ फर्किएका छन्। यी मानिसहरू सबै बुद्धिमती कन्याहरू हुन्। तिनीहरूले परमेश्‍वरको वचनको न्याय र सजाय अनुभव गरेका छन्, आफ्‍नै भ्रष्टताको सत्यता देखेका छन्, पछुताएका छन्, र आफैलाई घृणा गरेका छन्। परमेश्‍वरको धर्मी स्वभावले उल्‍लङ्घन सहँदैन भन्‍ने थाहा पाएपछि, साँचो पश्‍चात्ताप गर्दै परमेश्‍वरको डर मानेका छन्, र तिनीहरूको भ्रष्ट स्वभाव क्रमशः बदलिँदै गएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले विपत्तिहरू आउनुअघि नै विजेताहरूको समूह निर्माण गर्नुभएको छ—प्रकाश पुस्तकमा अगमवाणी गरिएका पहिलो फल तिनै हुन्। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू र शैतानमाथि विजय गर्दै परमेश्‍वरका चुनिएका जनले दिएका गवाहीहरू अनलाइन राखिएको धेरै भइसक्यो, र मुक्तिदाता फर्की आउनुभएको साक्षी सबै मानवजातिलाई दिइसकिएको छ। सबै देशका धेरैभन्दा धेरै मानिसहरूले साँचो मार्ग अनुसन्धान गरिरहेका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजना पूरा गर्छ, र हामीलाई शैतानको राज्यक्षेत्रबाट पूर्ण रूपमा बचाउँछ। सर्वशक्तिमान्‌ परमेश्‍वरको कामले हासिल गरेका हरेक कुराले सर्वशक्तिमान्‌ परमेश्‍वर नै देहधारी परमेश्‍वर, अर्थात् फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर पूर्ण रूपमा प्रमाणित गर्छ। यसको अर्थ सर्वशक्तिमान्‌ परमेश्‍वर फर्कनुभएका प्रभु येशू हुनुहुन्छ कि हुन्‍न भनेर लिङ्गको आधारमा निर्धारित गर्न सकिँदैन। के उहाँले सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिने काम गर्न सक्‍नुहुन्छ? मुख्य कुरा यही हो।” यस बिन्दुमा, पाष्टर काओले गम्‍भीर हुँदै भने, “सिस्टर, मैले तपाईंको सङ्गति बुझेँ। यदि कसैले सत्यता व्यक्त गर्न र मुक्तिको काम गर्न सक्छ भने, चाहे ऊ पुरुष होस् वा महिला, ऊ परमेश्‍वरको देहधारण हो। अब मेरो हृदय उज्‍वल भयो!”

त्यसपछि, पाष्टर काओले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू पढे, अनि तिनका धारणाहरू सुल्झिए, र तिनले परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारे।

सुसमाचार सुनाएको यो अनुभवबाट मैले परमेश्‍वरको सबै काम उहाँ आफैले गर्नुहुन्छ भन्‍ने देखेँ। चाहे पाष्टर होस् वा एल्‍डर, उसको बाइबलीय ज्ञान, धर्मशास्‍त्रीय सिकाइ, वा धार्मिक धारणाहरू जस्तोसुकै भए पनि, सत्यताको अघि ती सबै शक्तिहीन हुन्छन्। तिनीहरू परमेश्‍वरको वचन बुझ्‍न सक्‍ने, केही हदसम्म ग्रहणशील, र सत्यता खोजी गर्न इच्‍छुक हुन्जेल, तिनीहरू सबैले परमेश्‍वरको वचनमा उत्तर पाउनेछन्, र अन्त्यमा तिनीहरू ती वचनहरूद्वारा जितिनेछन्। जब मैले पाष्टर काओलाई सुसमाचार सुनाएँ, तब पाष्टर र एल्डरहरूलाई सत्यता स्विकार्न गाह्रो हुन्छ भन्‍ने सोचेकी थिएँ, त्यसैले म पाष्टर काओप्रति पूर्वाग्रही भएँ। तिनलाई सुसमाचार सुनाउँदा, तिनी आफ्‍ना धारणाहरूमा अडिग रहेको देख्दा, मैले तिनले परमेश्‍वरको आवाज सुन्‍न सक्दैनन् भन्‍ने निर्धारित गरेँ, र झण्डै तिनलाई छोडिदिएँ। खुशीको कुरा, परमेश्‍वरको वचनले मलाई डोर्‍याए र मैले आफूलाई बुझ्‍न र आफ्‍नो कर्तव्य पूरा गर्न सकेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मलाई धारणाहरू भएका मानिसहरूलाई कसरी सुसमाचार सुनाउने भन्‍नेबारे स्पष्ट पार्‍यो। “यदि साँचो मार्गलाई विचार गरिरहेको व्यक्तिले बारम्बार प्रश्‍न गर्छ भने तैँले कसरी प्रतिक्रिया गर्नुपर्छ? तिनीहरूले नबुझेसम्म र फेरि प्रश्‍न गर्न नछाडेसम्म समय लिएर तिनीहरूलाई जबाफ दिन, उनीहरूका प्रश्‍नबारे स्पष्टसित सङ्गति गर्ने तरिका खोज्न झमेला मान्‍नु हुँदैन। तब तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुन्छस्, र तेरो हृदय दोषमुक्त हुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरप्रतिको दोषदेखि मुक्त हुनेछस्, किनकि परमेश्‍वरले नै तँलाई यो कर्तव्य, यो जिम्मेवारी, सुम्पिनुभएको हो। जब तैँले गर्ने सबै कुरा परमेश्‍वरको सामु गरिन्छ, परमेश्‍वरको सामना गर्दै गरिन्छ, जब सबै कुरा परमेश्‍वरको वचनअनुसार, सत्यताको सिद्धान्तअनुसार गरिन्छ, तब तेरो अभ्यास पूर्णरूपमा सत्यता र परमेश्‍वरका मापदण्डहरूअनुरूप हुनेछ। यसरी, तैँले गर्ने र भन्‍ने सबै कुराले मानिसहरूलाई फाइदा पुऱ्याउनेछ, र तिनीहरूले यसलाई अनुमोदन र सहजै स्वीकार गर्नेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार फैलाउनु त्यो कर्तव्य हो जसलाई सम्मान गर्न सबै विश्‍वासीहरू बाध्य छन्)। परमेश्‍वरको वचनबाट, मैले के बुझेँ भने तिनीहरूको समस्या वा धार्मिक धारणाहरू जे-जस्तो भए पनि, साँचो मार्ग अनुसन्धान गर्नेहरूमा यदि असल मानवता छ, सत्यताप्रति तृष्णा छ, र परमेश्‍वरको वचन बुझ्ने क्षमता छ भने, हामीले तिनीहरूप्रति पूर्वाग्रह राख्‍ने वा तिनीहरूलाई मनमानी रूपमा सीमित गर्ने गर्नुहुँदैन, तिनीहरूलाई त्याग्‍ने त कुरै नगरौँ। बरु, हामीले परमेश्‍वरको वचन अभ्यास गर्नुपर्छ, “तिनीहरूलाई जबाफ दिन, उनीहरूका प्रश्‍नबारे स्पष्टसित सङ्गति गर्ने तरिका खोज्न झमेला मान्‍नु हुँदैन,” र जबसम्‍म हाम्रो विवेक सफा हुँदैन तबसम्‍म हामीले बुझेको सत्यताबारे सकेजति राम्ररी तिनीहरूसँग सङ्गति गर्नुपर्छ। सृष्टि गरिएको प्राणीको रूपमा यो मेरो जिम्‍मेवारी पनि हो। भविष्यमा, मैले सुसमाचर सुन्‍ने जस्तो व्यक्ति भेट्टाए पनि, यदि उसमा असल मानवता छ र उसले परमेश्‍वरको वचन बुझ्छ भने, सत्यता सङ्गति गर्न र परमेश्‍वरको गवाही दिनका लागि म तत्पर हुनेछु, ताकि परमेश्‍वरको देखापराइको साँचो तृष्णा गर्नेहरू जतिसक्दो चाँडो उहाँकहाँ फर्किन सकून्, र प्रभुको पुनरागमनलाई स्वागत गर्न सकून्। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अभिमानबाट उम्‍कन सजिलो छैन

हेइली, जापानजुलाई २०२० मा, सुपरिवेक्षकले मलाई सिस्टर आइरिसको काम जिम्मा लिन र भिडियोहरू बनाउन लगाइन्। मलाई अत्यन्तै खुसी लाग्यो, तर के पनि...

सबै झूटमाथि वचनको विजय हुन्छ

यो जून महिनामा, म मलजल डिकन चयन भएँ। एक दिन, सिस्टर चेङ लिन र म नयाँ विश्‍वासीहरूको भेला सञ्चालन गर्न गयौँ। नयाँ विश्‍वासीहरूमा थुप्रै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्