आफ्‍नै परिवारको कैदी

27 फेब्रुअरी 2023

मैले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई २०१९ मा स्वीकार गरेँ। परमेश्‍वरको वचन पढेर, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको तीन चरणको कामको भित्री सत्यता, परमेश्‍वरको देहधारणको रहस्य, न्यायको कामको अर्थ, शैतानले मानिसहरू कसरी भ्रष्ट तुल्याउँछ, परमेश्‍वरले मानिसहरू कसरी मुक्ति दिनुहुन्छ, र मानिसहरूले कसरी शुद्धीकरण प्राप्त गरेर सुन्दर गन्तव्य पाउन सक्छन् भन्‍ने कुरा प्रकट गर्नुहुन्छ भन्‍ने मैले देखेँ। यी वचनहरूमा अख्‍तियार रहेछन्, र मैले ती वचनहरू पहिले कहिल्यै पनि सुनेकी थिइनँ। मलाई ती नयाँ र व्यवहारिक लाग्यो, र तिनले मलाई भरणपोषण प्रदान गरे, र मेरो आत्मिक तिर्खा मेटाए। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा म निश्‍चित भएँ, र म निकै उत्साहित भएँ। मैले आफ्‍नै जीवनकालमा प्रभु येशूको पुनरागमनलाई स्वागत गर्न पाउँछु भनेर कहिल्यै पनि कल्‍पना गरेकी थिइनँ। मलाई म भाग्यमानी छु भन्‍ने थाहा भयो। त्यसपछि, म प्रायजसो भेलाहरूमा जाने, सुसमाचार प्रचार गर्ने गर्थेँ, र हरेक दिन सन्तोषजनक र रमाइलो लाग्थ्यो। तर दुई महिनापछि, मेरो भाइ र बुहारीले मैले परमेश्‍वरमा विश्‍वास गर्छु भन्‍ने कुरा थाहा पाए। मेरी बुहारी चिनियाँ हुन् र उनले सरकारी विभागमा काम गर्थिन्, त्यसकारण मेरो भाइ पनि तिनीसँग चीन गएका थिए। मेरो भाइले मलाई फोन गरेर यसो भन्दै हप्काए, “चिनियाँ सरकारले सर्वशक्तिमान्‌ परमेश्‍वरका विश्‍वासीहरूलाई सताउँछ। तपाईंले प्रभु येशूमा विश्‍वास गर्दा म त्यसको विरोध गर्दिनँ, तर तपाईंले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई विश्‍वास गर्नु हुँदैन। तपाईंले परमेश्‍वरमा होइन तर व्यक्तिमा विश्‍वास गर्नुभएको छ।” त्यो सुन्‍ने बित्तिकै, मलाई मेरो भाइले अफवाह सुनेछ भन्‍ने थाहा भयो, किनभने मेरो खोजी र अनुसन्धानमा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका विश्‍वासीहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीले सतावट गरेका धेरै भिडियोहरू हेरेकी थिएँ, र साँचो मार्गलाई प्राचीन समयदेखि नै सतावट गरिँदै आइएको छ भन्‍ने मलाई थाहा थियो। जब परमेश्‍वरको कामको कुरा आउँछ, उहाँलाई शैतानका शक्तिहरूले अवश्य नै सताउँछन्। जब प्रभु येशू काम गर्न आउनुभयो, धार्मिक अगुवाहरू र रोमी शासनले उहाँलाई पागलले झैँ विरोध र सतावट गरे। मैले तिनलाई भनेँ, “मैले व्यक्तिमा होइन तर परमेश्‍वरमा विश्‍वास गरेको छु। जब परमेश्‍वर काम गर्न र मानिसहरूलाई मुक्ति दिन पृथ्वीमा आउनुहुन्छ, तब उहाँ मानिसको पुत्रको रूपमा देहधारी हुनुपर्छ, अनि मात्र हामी उहाँको नजिक जान सक्छौँ। परमेश्‍वर मानिस बन्‍नुभएपछि, उहाँ परिवारमा जन्‍मनुपर्छ र उहाँले सामान्य मानव जीवन जिउनुपर्छ। सर्वशक्तिमान्‌ परमेश्‍वर साधारण व्यक्तिजस्तो देखिनुहुन्छ, तर उहाँभित्र परमेश्‍वरका आत्मा हुनुहुन्छ, र उहाँसँग परमेश्‍वरको सार छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन धेरै सत्यता व्यक्त गर्नुभएको छ र धेरै काम गर्नुभएको छ, जुन अरू कसैले गर्न नसक्‍ने कुरा हो। प्रभु येशू साधारण व्यक्ति जस्तो देखिनुहुन्थ्यो, तर उहाँसँग परमेश्‍वरको सार थियो, र उहाँले सत्यता व्यक्त गर्न र मानवजातिलाई छुटकारा दिन सक्‍नुभयो। यो साधारण मानिसहरूले गर्न नसक्‍ने काम थियो। के तँ प्रभु येशूमा विश्‍वास गर्नु भनेको व्यक्तिमा विश्‍वास गर्नु हो भनेर भन्‍न सक्छस्? आफूले नबुझेको कुरामा व्यर्थको अनुमान नगर्। पवित्र आत्‍माको विरुद्धमा गरिने ईश्‍वर-निन्दाको पाप कहिल्यै पनि क्षमा हुन सक्दैन। फरिसीहरूले प्रभु येशूलाई उहाँले बालजिबुलको सहयोगद्वारा भूतहरू धपाउनुहुन्छ भनेर ईश्‍वर-निन्दा गरे। अन्त्यमा, परमेश्‍वरले तिनीहरूलाई दण्ड र श्राप दिनुभयो। म तँलाई विश्‍वास गर्न जबरजस्ती गर्दिनँ, त्यसकारण मलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट नरोक्!” तिनले मेरो कुरा सुन्दै-सुनेनन्। मैले तिनको कुरा जति खण्डन गरेँ, तिनले मलाई त्यति नै कडाइको साथ हप्काए। तिनी चिनियाँ कम्युनिस्ट पार्टीको अफवाहहरूद्वारा बहकिएका छन् र तिनले परमेश्‍वरको निन्दा गरेका छन् भन्‍ने देख्दा, मलाई तिनीप्रति खिन्‍न लाग्यो। भोलिपल्‍ट, मेरी बुहारीले पनि मलाई विश्‍वास नगर्न अनुरोध गरिन्, र तिनले मलाई तर्साउने प्रयास गरिन्, “सर्वशक्तिमान्‌ परमेश्‍वरमा तपाईंले गर्नुहुने विश्‍वास चीनमा गैरकानुनी छ। त्यहाँ भए तपाईंले गोली खान सक्‍नुहुन्थ्यो। चीनमा बसेर तपाईंले परमेश्‍वरमा विश्‍वास गर्नुभयो भने, उहिले नै तपाईं पक्राउ परिसक्‍नुहुन्थ्यो। चिनियाँ सरकारले मण्डलीमा भेट्टाउने हरेक विश्‍वासीलाई पक्राउ गर्छ। कोही पनि उम्‍कन सक्दैन।” मेरी बुहारीको कुरा सुन्दा मलाई चिनियाँ कम्युनिस्ट पार्टीले कसरी परमेश्‍वरको विरोध गर्छ र इसाईहरूलाई सताउँछ भन्‍ने तथ्य थाहा भयो, र परमेश्‍वरमा विश्‍वास गर्ने चिनियाँ ब्रदर-सिस्टरहरूको कठिन परिस्थितिको बारेमा मैले बुझेँ। यसको साथै, मलाई अनौठो पनि लाग्यो। मैले प्रभुमा विश्‍वास गरेको आठ वर्ष भएको थियो, र मेरो परिवारले कहिल्यै पनि यस कुरामा हस्तक्षेप गरेको थिएन। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न साथ किन तिनीहरू सबैले मलाई सताउँछन् र मप्रति यति तटस्थ बन्छन्? यति बेला मलाई ब्रदर-सिस्टरहरूले प्राचीन समयदेखि नै साँचो मार्गलाई सताइँदै आइएको छ, र परमेश्‍वरले जहाँ काम गर्नुहुन्छ, त्यहाँ शैतानले हस्तक्षेप गर्छ भनेर दिएको सङ्गति याद आयो। मेरो परिवारले मलाई गरेको सतावट शैतानको बाधा हो भन्‍ने मलाई थाहा थियो, त्यसकारण मलाई जति सतावट भयो, म त्यति नै सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न र शैतानको चलाकीहरूबाट बच्‍न चाहन्थेँ।

त्यसपछि, मेरा ब्रदर-सिस्टरहरूले मलाई परमेश्‍वरका यी वचनहरू बाँडे, “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दा पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापेको हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरको वचन पढेपछि, मैले यो एउटा आत्मिक युद्ध हो भन्‍ने बुझेँ। जब परमेश्‍वरले कसैलाई मुक्ति दिनुहुन्छ, तब शैतानले उसलाई बाधा दिन र रोक्‍न अनि आफूसँगै तिनीहरूलाई नरकमा लैजान सक्‍दो प्रयास गर्छ। त्यस दिन जे भयो, बाहिरबाट हेर्दा, मेरो भाइ र बुहारीले मलाई बाधा दिइरहेको जस्तो देखिन्थ्यो, तर वास्तवमा, यो शैतानको बाधा थियो। तिनीहरूसँगको मेरो सम्‍बन्ध राम्रो थियो, र मेरो भाइले प्रायजसो मेरो कुरा मान्‍नेगर्थ्यो, तर तिनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीको अफवाह सुनेपछि, तिनीहरू फरक मानिसहरू बनेका छन् जस्तै भयो। मलाई परमेश्‍वर त्याग्‍न लगाउनको लागि तिनीहरूले अनेक चलाकी प्रयोग गरे, र तिनीहरूले बोलेका शब्‍दहरूले मेरो हृदय घोच्थ्यो। मैले थाइल्यान्डमा परमेश्‍वरलाई विश्‍वास गरेँ, र तिनीहरूले मलाई नियन्त्रण गर्न चाहन्थे। म चीनमा भएकी भए, तिनीहरूले मलाई जेलमा पठाउनेथिए। शैतान साँच्‍चै दुष्ट छ, र म तिनीहरूको मार्गमा हिँड्न छोडेको छु भन्‍ने मलाई थाहा भयो। झट्ट हेर्दा, तिनीहरू मेरा आफन्त थिए, तर आत्ममा हामी मिल्‍ने किसिमका पटक्‍कै थिएनौँ। हाम्रो बोल्‍ने शैली उस्तै थिएन, हामी उस्तै प्रकारका मानिस थिएनौँ, र हामी बीचमा पुरानो स्‍नेह बाँकी थिएन। त्यस रात, मैले चिनियाँ कम्युनिस्ट पार्टीले यातना दिएका ब्रदर-सिस्टरहरूका बारेमा रहेको एउटा गवाहीको भिडियो हेरेँ। तिनीहरूको देहले जति कष्ट भोगे पनि, तिनीहरूले दृढतासाथ परमेश्‍वरलाई पछ्याए। परमेश्‍वरसँग प्रार्थना गरेर अनि परमेश्‍वरको वचनको अगुवाइद्वारा, तिनीहरूले देहका कमजोरीहरूलाई जित्‍न सके, र कतिले त आफ्‍नो गवाहीमा दृढ भई खडा हुन आफ्‍नो जीवन समेत दिए। तिनीहरूको अनुभवले मलाई उत्प्रेरित गर्‍यो। त्यस्तो पीडादायी परिस्‍थितिहरूमा, तिनीहरूले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासलाई कायम राखेर शैतानसँग सम्‍झौता नगरी बस्‍न सके। यसको तुलनामा मैले सामना गरेको सतावट केही पनि थिएन। यस कुराले मलाई भविष्यमा आइपर्ने कुराको सामना गर्न थप विश्‍वास प्रदान गर्‍यो।

तिनीहरूले मलाई मनाउन नसकेपछि, तिनीहरूले मैले परमेश्‍वरमा विश्‍वास गरेँ भने, म छोराछोरी वा परिवारलाई चाहँदिनँ भनेर भन्दै मलाई रोक्‍न लगाउन मेरो श्रीमानलाई उक्साए। पाष्टरले पनि मैले व्यक्तिमा विश्‍वास गरेकी छु भन्दै मेरो श्रीमानलाई छल गर्न निन्दापूर्ण भ्रमहरू फैलाए। यी कुराहरू सुनेपछि, मेरो श्रीमानले तिनीहरूको पछि लागेर मलाई विरोध गर्न थाले। यदि तिनले मैले अनलाइन भेलामा सहभागिता जनाएको वा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको वेबसाइट चलाएको देखे भने, तिनले प्रायजसो घरको इन्टरनेट केवल निकालिदिन्थे, ढोका बन्द गरेर मलाई कोठाभित्र पस्‍न दिँदैनथिए। तिनले मलाई बाधा दिन र मलाई भेलाहरूमा सहभागी हुन वा परमेश्‍वरको वचन पढ्न नदिन सक्दो गरे। यो शैतानको हस्तक्षेप हो भन्‍ने मलाई थाहा थियो, त्यसकारण मैले सम्झौता गर्नु हुँदैनथियो। मलाई रोक्‍न नसक्‍ने देखेपछि मेरो श्रीमानले भने, “तैँले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरिरहन्छस् भने, हामी डिभोर्स गरौँ! तँ यो घरबाट निस्कनु पर्छ। आजै निर्णय गर्!” मैले भनेँ, “मैले परमेश्‍वरमा विश्‍वास नगरेकी भए, मैले तपाईंलाई उहिले नै डिभोर्स गरिसकेकी हुनेथिएँ। तपाईंको पहिले बाहिर एउटी रखौटी थिई, तर मैले परमेश्‍वरमा विश्‍वास गरेकोले यो कुरालाई वास्ता गरिनँ। परमेश्‍वरमा विश्‍वास गरेर मैले केही गलत काम गरेकी छैनँ, र पनि किन तपाईंले मलाई रोक्‍ने प्रयास गरिरहनुभएको छ? तपाईंले मलाई डिभोर्स गरेर निकाल्‍न चाहनुहुन्छ भने, मसँग कुनै विकल्‍प छैन। मैले यो घर छोडेर जानु परे पनि, म परमेश्‍वरमा विश्‍वास गरिरहनेछु!” त्यसकारण, म मेरो लुगाफाटो बोकेँ र साथीको घरमा गएँ। त्यो बेला, यसपछि के गर्ने मलाई थाहा थिएन। मेरो सानो बच्‍चाको बारेमा सोच्दा, मलाई छोडेर जाने पटक्‍कै मन थिएन। त्यसकारण, मैले मेरो स्थितिको बारेमा बताउन मेरा ब्रदर-सिस्टरहरूलाई सम्पर्क गरेँ, र एक जना सिस्टरले मलाई परमेश्‍वरको वचनको एउटा खण्ड पठाइन्। “परमेश्‍वरले आफ्‍नो कामको सिलसिलामा सुरुवातदेखि नै हरेक व्यक्तिको लागि—तिमीहरूले उहाँलाई पछ्याउने हरेक व्यक्तिको लागि पनि भन्न सक्छौ—परीक्षाहरू तय गर्नुभएको छ र यी परीक्षाहरू विविध आकारहरूमा आउँछन्। आफ्ना परिवारहरूबाट इन्कारको परीक्षा अनुभव गरेकाहरू छन्, प्रतिकूल वातावरणको परीक्षा अनुभव गरेकाहरू छन्, पक्राउ पर्ने वा यातना पाउने परीक्षा अनुभव गरेकाहरू छन्, विविध विकल्पहरूको सामना गर्ने परीक्षा अनुभव गरेकाहरू छन्, र पैसा र हैसियतको परीक्षा सामना गरेकाहरू छन्। सामान्य रूपमा भन्दा, तिमीहरूमध्ये हरेकले हरेक प्रकारका परीक्षाहरू सामना गरेका छौ। परमेश्‍वरले किन यसरी काम गर्नुहुन्छ? किन उहाँले हरेकलाई यस प्रकारले व्यवहार गर्नुहुन्छ? उहाँले कस्तो प्रकारको नतिजाको खोजी गर्नुहुन्छ? मैले तिमीहरूलाई बताउन चाहने मुख्य कुरा यसप्रकार छ: परमेश्‍वरले उक्त व्यक्ति परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति हो कि होइन भनेर हेर्न चाहनुहुन्छ। यसको अर्थ के हो भने, परमेश्‍वरले तँलाई कुनै परीक्षा दिनुहुँदा र तँलाई कुनै परिस्थिति वा अन्य कुराहरूसँग सामना गराउनुहुँदा, उहाँको अभिप्राय भनेको तँ उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति होस् कि होइनस् भनेर जाँच गर्नु हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले मेरो परिवारबाट मैले भोगेको सतावट मैले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउँछु कि शैतानलाई भनेर हेर्नको लागि मलाई गरिएको परीक्षा पनि थियो भन्‍ने कुरा बुझेँ। मैले एउटा निर्णय गर्नुपर्छ भन्‍ने महसुस गरेँ। तर मेरो हृदयमा अझै पनि थोरै आशा थियो। मेरो श्रीमानले आफ्‍नो मन परिवर्तन गरोस् भन्‍ने मलाई अझै चाहना थियो। तर त्यसपछि, मेरो श्रीमान र बहिनीले मलाई भेट्टाए, र भने, “तैँले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न छोड्नुपर्छ। देख्दैनस्? तैँले आफ्‍नो बच्‍चा र परिवारलाई पनि चाहन छोडेको छस्!” मैले रिसाउँदै मेरो श्रीमानलाई भनेँ, “मैले म मेरो बच्‍चा वा परिवारलाई चाहँदिनँ भनेर कहिल्यै भनेकी छैनँ। मलाई सताउने, परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्‍ने, र डिभोर्सको धम्की दिने तपाईं नै हो। के थोरै धार्मिक स्वतन्त्रता माग्दा पनि तपाईंलाई धेरै भयो?” मेरो बुबाले पनि मलाई फोन गरेर भन्‍नुभयो, “यो परमेश्‍वर कहाँ छ? यसमा विश्‍वास नगर्। तेरो श्रीमानसँग घर गएर राम्रोसँगले जीवन बिता!” यो सुन्दा मलाई रिस उठ्यो, त्यसकारण मैले तिनीहरूसँग तर्क गरेँ, “परमेश्‍वरमा विश्‍वास गर्नु गलत होइन। किन मलाई नियन्त्रण गर्ने प्रयास गर्नुहुन्छ?” मैले जिद्दी गरेको देख्दा, फोनमा मेरो बुबाले मेरो श्रीमानलाई मलाई बाँधेर कुट्नू, म मरेँ भने उहाँले जिम्‍मा लिन्छु भनेर भन्‍नुभयो। तिनले मलाई कुटेनन्, तर मेरो बैङ्क कार्ड खोसे, त्यसपछि मेरो फोन र कम्प्युटर पछारे। त्यसपछि, मेरो श्रीमान र बहिनीले मलाई जबरजस्ती कारमा राखेर घर लगे। बाटोमा, तिनीहरू मेरो छेउ-छेउमा बसे, र दुवैले मलाई खाउँला झैँ गरिरहेका थिए। यो कुराले मलाई चिनियाँ ब्रदर-सिस्टरहरू पुलिसद्वारा पक्राउ पर्दा तिनीहरूलाई कस्तो लाग्थ्यो भन्‍ने कुरा बुझायो। मलाई त तिनीहरू मेरो परिवार समेत होइनन् जस्तो लाग्यो, र मलाई तिनीहरूप्रति कुनै आशा लाग्‍न छोड्यो। मेरो परिवारले मलाई यसपछि कसरी सताउनेछ मलाई थाहा थिएन, त्यसकारण मलाई सही निर्णय गर्न सहयोग गर्नुहोस् भनेर परमेश्‍वरलाई सहयोग माग्दै हृदयमा मनमनै प्रार्थना गरेँ। त्यो रात, मलाई निकै दुःख लाग्यो। यति बेला प्रायजसो मैले सुसमाचार प्रचार गरिरहेकी हुन्थेँ, तर अहिले मैले केही पनि गर्न सक्दिनथिएँ। मेरो परिवारले म सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्छु भन्‍ने थाहा पाएपछि, तिनीहरूले एक भएर मलाई सताइरहेका थिए। मेरी बुहारीले चिनियाँ सरकारको लागि काम गर्थिन् र तिनीसँग पैसा भएको हुनाले, मेरो परिवारले उनको कुरा मान्थे, र मलाई सताउन अनेक किसिमका तरिकाहरू अपनाउन उनले तिनीहरूलाई उक्साइन्, यहाँसम्‍म कि तिनीहरूले मलाई परमेश्‍वरमा विश्‍वास गर्न दिनुभन्दा त कुटेर मार्न तिनीहरू तयार थिए। त्यो बेला, मैले परमेश्‍वरप्रतिको तिनीहरूको विरोधको वास्तविक रूपलाई देखेँ। तिनीहरू दियाबलस, अर्थात् परमेश्‍वरका शत्रुहरू बाहेक अरू कोही थिएनन्। अय्यूबले पीडादायी परीक्षाको सामना गर्दा पनि, तिनले कसरी परमेश्‍वरको बारेमा गुनासो गरेनन्, मैले त्यो कुरा पनि सोचेँ। यसको सट्टा, तिनले परमेश्‍वरको अघि चुपचाप प्रार्थना गरे र परमेश्‍वरको इच्‍छा खोजे, त्यसकारण दह्रिलो गरी खडा हुन मैले परमेश्‍वरमा भरोसा गर्नुपर्थ्यो, र परिस्‍थिति जे-जस्तो भए पनि, शैतानसँग कहिल्यै पनि सम्झौता गर्नु हुँदैनथियो।

भोलिपल्‍ट, मेरो श्रीमान र बुबाले मलाई माइती लगे। म भाग्छु होला भनेर मेरी आमा र मेरी भाउजूले मलाई भेट्ने बित्तिकै, मेरो झोला खोतले र मेरो आइडि मागे। तिनीहरूले मलाई कहिल्यै पनि एकलै बस्‍न दिएनन्। नुहाउँदा वा बाथरूम जाँदा, मेरी आमा मेरो रेखदेख गर्न बाहिर उभिनुहुन्थ्यो। मलाई हेर्नको लागि तिनीहरूले मेरी भतिजीलाई पनि मसँग सुत्‍न लगाए, र राती मैले बत्ती बालेँ भने, मैले के गरिरहेकी छु भनेर हेर्न मेरी आमाले तुरुन्तै ढोका ढकढक्याउँथिन् र बत्ती निभएर सुत्‍नू भनेर भन्थिन्। अझै असहनीय कुरो त के थियो भने बिहान ती-चार बजे, मेरी आमाले हल्‍ला गर्नुहुन्थ्यो, चिच्याउनुहुन्थ्यो, र ढोका ढकढक्याउनुहुन्थ्यो। म यसप्रति अत्यन्तै दिक्‍क थिएँ। दिउँसो तिनीहरूले मलाई अझै नजिकबाट निगरानी गर्थे। मलाई अरूसँग कुरा गर्न अनुमति थिएन, चाहे छिमेकी महिला नै किन नहोस्, र छिमेकीहरूले मलाई नचिने झैँ गर्थे। हरेक दिन, मैले मेरो परिवारले मेरो लागि मिलाइदिएको काम गर्ने बाहेक मसँग केही विकल्‍प हुँदैनथियो। तिनीहरूले मलाई कैदीलाई जस्तै व्यवहार गरे, र हरेक दिन मलाई निगरानी गरे। मलाई त म जेलमा छु जस्तै लाग्थ्यो। मेरो परिवारले चिनियाँ कम्युनिस्ट पार्टीको अफवाह र मेरी भाइ-बुहारीको कुरा सुनेर मलाई यस्तो व्यवहार गरेका थिए। तिनीहरूले मेरा ब्रदर-सिस्टरहरूसँगको सम्‍बन्ध तोड्न, र मलाई परमेश्‍वरमाथिको विश्‍वास बिस्तारै गुमाउन लगाउन चाहन्थे। हरेक दिन मलाई निकै दुःख लाग्थ्यो। मलाई मेरा ब्रदर-सिस्टरहरूसँगको भेला याद आउँथ्यो। परमेश्‍वरको काम समाप्त हुन लागेको थियो, तर मैले भेलाहरूमा जान, परमेश्‍वरको वचन पढ्न, वा आफ्‍नो कर्तव्य पूरा गर्न पाएकी थिइनँ। के मलाई हटाइन लागिएको थियो? यो सोच्दा म निकै चिन्तित भएँ, र म यो परिस्थितिबाट उम्केर परमेश्‍वरलाई स्वतन्त्र रूपमा विश्‍वास गर्न मात्रै चाहन्थेँ। मलाई यहाँबाट उम्कने बाटो खोलिदिनुहोस् भनेर अनुरोध गर्दै बाथरुममा लुकेर परमेश्‍वरलाई प्रार्थना गरेँ। पछि, मेरा आमाबुबाले मलाई मेरो जेठा दाजु र भाउजूसँग सुन्तला बगैँचामा काम गर्न लगाउनुभयो, जहाँ उहाँहरूले मेरो निगरानी गर्न सक्‍नुहुन्थ्यो। मेरी भाउजूले मलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट कठोरताको साथ रोक्दिनथिइन्, त्यसकारण दिउँसो काम गर्दा, म परमेश्‍वरको वचन अनलाइन सुन्‍न उनको मोबाइल फोन प्रयोग गर्थेँ। मेरो लागि बाटो खोलिदिनुभएकोमा मैले परमेश्‍वरलाई मेरो हृदयदेखि धन्यवाद दिएँ।

मैले पढेको परमेश्‍वरको अत्यन्तै हृदय-स्पर्शी वचन मलाई याद आयो। “यी दुई परीक्षाहरू भोगिसकेपछि, अय्यूबमा एक समृद्ध अनुभवको जन्म भयो, र यो अनुभवले तिनलाई अझ परिपक्‍व र अनुभवी बनायो, यसले तिनलाई अझ बलियो र अझ ठूलो दृढ विश्‍वास भएको व्यक्ति बनायो, र यसले तिनलाई आफूले दह्रिलो गरी पक्रिराखेको सत्यनिष्ठाको सहीपन र सुयोग्यताप्रति अझ बढी विश्‍वस्त बनायो। यहोवा परमेश्‍वरले गर्नुभएको अय्यूबको जाँचले तिनलाई मानिसप्रतिको परमेश्‍वरको चिन्ताको गहिरो बुझाइ र अनुभूति प्रदान गर्‍यो, र परमेश्‍वरको प्रेमको अनमोलता महसुस गरायो, र यसपछि परमेश्‍वरप्रतिको तिनको डरमा परमेश्‍वरप्रतिको गहिरो वास्ता र प्रेम थपियो। यहोवा परमेश्‍वरले गर्नुभएको जाँचले अय्यूबलाई उहाँबाट अलग गर्नुको साटो तिनको हृदयलाई परमेश्‍वरको अझ नजिक बनायो। अय्यूबले भोगेको दैहिक पीडा चरम सीमामा पुगेपछि, तिनको बारेमा यहोवा परमेश्‍वरले गर्नुभएको चिन्ताको कारण तिनले आफ्नो जन्मदिनलाई सराप्‍नुबाहेक तिनीसँग अरू कुनै विकल्प थिएन। यस्तो आचरण धेरै पहिले योजना गरिएको थिएन, बरु तिनले आफ्नो हृदयमा परमेश्‍वरप्रति गरेको प्रेम र वास्ताको कारण प्राकृतिक रूपमा प्रकट भएको कुरा थियो, यो परमेश्‍वरप्रतिको तिनको वास्ता र प्रेमको प्राकृतिक प्रकटीकरण थियो। भन्‍नुको अर्थ, तिनले आफैलाई घृणा गर्थे, र तिनी परमेश्‍वरलाई यातना दिन इच्छुक थिएनन्, र यातना दिन पनि सक्दैनथे, त्यसैले तिनको वास्ता र प्रेम निःस्वार्थताको चरम सीमामा पुगेको थियो। यस समयमा, अय्यूबले आफ्नो लामो समयदेखिको परमेश्‍वरप्रतिको आदर र तिर्सना, अनि परमेश्‍वरप्रतिको भक्तिलाई परमेश्‍वरप्रतिको वास्ता र प्रेमको स्तरमा पुर्‍याए। साथै, तिनले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास र आज्ञाकारिता र परमेश्‍वरप्रतिको भयलाई पनि वास्ता र प्रेमको स्तरसम्म पुर्‍याए। तिनले परमेश्‍वरलाई चोट पुर्‍याउने केही पनि गरेनन्, तिनले परमेश्‍वरलाई चोट पुर्‍याउने कुनै आचरण प्रस्तुत गरेनन्, र तिनले आफ्नै कारणले गर्दा परमेश्‍वरमा कुनै दुःख, शोक वा बेखुसी ल्याएनन्। परमेश्‍वरको नजरमा, अय्यूब पहिलेको अय्यूबजस्तै रहेका भए तापनि, अय्यूबको विश्‍वास, आज्ञाकारिता र परमेश्‍वरप्रतिको भयले परमेश्‍वरलाई पूर्ण सन्तुष्टि र आनन्द दियो। यस समयमा, परमेश्‍वरले अपेक्षा गर्नुभएको सिद्धतालाई अय्यूबले प्राप्त गरेका थिए; तिनी वास्तवमै परमेश्‍वरको नजरमा ‘सिद्ध र सोझो’ व्यक्ति भनी बोलाउन योग्य मानिस बनेका थिए(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। अय्यूबले शैतानका परीक्षाहरू र आक्रमणहरूको सामना गरेका थिए, तिनका सबै सन्तान र सम्पत्ति तिनीबाट खोसिएको थियो, तिनको सारा शरीर खटिराले ढाकिएको थियो, र पीडा लगभग सहनै नसकिने थियो, तर तिनले परमेश्‍वरको डर मान्‍ने गरेका हुनाले, लापरवाही रूपमा बोल्‍ने वा व्यवहार गर्ने गरेनन्। बरु, प्रार्थना गर्न र परमेश्‍वरको इच्‍छा खोजी गर्न तिनी सुरुमा परमेश्‍वरको अघि आए। तिनले कष्ट भोग्‍नुमा परमेश्‍वरको इच्‍छा छ भन्‍ने तिनलाई थाहा थियो, र तिनले मानिसहरूप्रतिको परमेश्‍वरको वास्तालाई अनुभव गरे। अय्यूबले परमेश्‍वरले कष्ट भोग्‍नुभएको सहन सक्दैनथिए, त्यसकारण तिनले परमेश्‍वरलाई दोष दिनुको सट्टा आफू जन्‍मेको दिनलाई सरापे। अन्त्यमा, तिनी दह्रिलो गरी खडा भए, र शैतानलाई लाजमा पार्ने वचनहरू बोले: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। अय्यूबका इष्टमित्र र श्रीमतीले तिनलाई जसरी गिल्‍ला गरे पनि, तिनले परमेश्‍वरमाथिको आफ्‍नो साँचो विश्‍वासलाई कायम राखे, र तिनको गवाहीले शैतानलाई लाजमा पर्‍यो, जसले तिनलाई थप दोष दिन सकेन। यो अनुभवमा, मैले शैतानका युक्तिहरूलाई देख्‍न परमेश्‍वरमा भरोसा गरेकी छैनँ, वा यो परिस्थितिमा परमेश्‍वरका असल अभिप्रायहरू के छन् देख्‍न सकेकी छैनँ भन्‍ने मलाई थाहा भयो। बरु, मैले विरोध गरेँ, गुनासो गरेँ, र मप्रति शैतानलाई हाँसो उडाउन दिएँ। परमेश्‍वरको वचन मनन गर्दै, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र मभित्र विश्‍वास बढ्यो: मैले यसपछि जस्तो वातावरणको सामना गरे पनि, म अय्यूबको अनुकरण गर्नेथिएँ, परमेश्‍वरको लागि आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा भएर शैतानलाई लाजमा पार्नेथिएँ।

म हरेक दिन मेरा जेठा दाजु र भाउजूसँग काम गर्न बारीमा जान्थेँ। दाजु र भाउजूको बीचको प्रेम, तिनीहरू सँगै जाने-आउने गरेको देख्दा, म तिनीहरूप्रति ईर्ष्या नगरी बस्‍न सकिनँ। मैले किन सामान्य पारिवारिक जीवन पाउन सकिनँ? यो कुरा सोच्दा, मलाई सम्झौता गरूँ जस्तो लाग्यो। विशेष गरी तिनीहरूले साँझको खाना पकाउँदा, र तिनीहरूको परिवार सँगै र खुशी भएको, म भने एकलै बस्‍नु परेको देख्दा, मेरो हृदय कमजोर हुन्थ्यो, र म नरोई बस्‍न सक्दिनथिएँ। मैले देहको चासो गरेँ भन्‍ने मलाई महसुस भयो, र मैले परमेश्‍वरको आखिरी दिनहरूमा देह बन्‍नुभएको र मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन सत्यता व्यक्त गर्नुभएको बारेमा विचार गरेँ। यो सत्यता खोजी गर्ने महत्त्वपूर्ण समय थियो, तर मेरो श्रीमानले मलाई परमेश्‍वरमा विश्‍वास गर्न छोड्न लगाउन जबरजस्ती गरिरहेको थियो। हामी बीचमा मिल्‍ने कुरा केही पनि थिएन, र मन नभई-नभई सँगै बसे पनि, हामी खुशी थिएनौँ। यसको बारेमा सोच्दा, मलाई त्यति दुःख लागेन। मैले भाउजूको फोन केही समयलाई मागेँ, र कसैले थाहा नपाउने गरी भजनहरू सुनेँ। “सत्यताको लागि सबै त्याग्‍नुपर्छ” भन्‍ने भजन बज्‍न थाल्यो:

तैँले सत्यताको लागि कष्ट भोग्‍नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताको लागि अपमान सहनैपर्छ र अझै बढी सत्यता प्राप्त गर्नको लागि तैँले अझै बढी कष्टमार्फत गुज्रनैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र क्षणिक सुखचैनको खातिर तैँले आफ्‍नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन।

तैँले जुन कुरा सुन्दर र असल छन् ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको अशिष्ट जीवन जिउँछस्‌ र कुनै पनि उद्देश्यहरूलाई पछ्याउँदैनस्‌ भने, के तैँले आफ्‍नो जीवनलाई खेर फाल्दैनस्‌ र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्‌? एउटा सत्यताको खातिर पनि तैँले देहका सबै सुखचैनहरूलाई त्याग्‍नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्‍नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा प्रतिष्ठा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

यो क्षणमा मलाई यो गीत सुन्‍न दिनुभएकोमा परमेश्‍वरलाई धन्यवाद होस्। मैले सानोतिनो देहगत आनन्दको लागि सत्यताको खोजीलाई त्याग्‍नु हुँदैन भन्‍ने मलाई थाहा थियो। अब, परमेश्‍वरले यो युगलाई पूर्ण रूपमा अन्त्य गर्न आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छ। हामीले सत्यता प्राप्त गरेनौँ भने, हामीले मुक्ति पाउने आफ्‍नो मौका गुमाउनेछौँ, र अन्तिममा, हामी विपत्तिमा परेर नष्ट हुनेछौँ। यदि हाम्रो पारिवारिक जीवन सुखी छ भने त्यसले के फरक पार्छ र? के यी सबै कुरा क्षणिक मात्रै होइनन् र? सत्यता प्राप्त गर्न नसक्‍नु जत्तिको ठूलो पीडा र घाटा अरू केही छैन। यसको बारेमा विचार गर्दा, मलाई सहज महसुस भयो, मानौँ म परमेश्‍वरको आमने-सामने छु। मैले आफ्‍नो हृदयमा सुरक्षा र आनन्दको महसुस गरेँ, र उप्रान्त एकलो महसुस गर्न छोडेँ।

मेरो आमाबुबाको घरमा तीन हप्ता बसेपछि, एक दिन, मेरो परिवारले ध्यान नदिएको बेला म भागेँ र एउटा होटेलमा बसेँ, तर मेरो भदै र दाजुले मलाई भेटी हाले र फर्काए लगे। त्यसपछि, मेरा आमाबुबाले सबै गाउँका मानिसहरूलाई खाना खान बोलाए र मेरो रेखदेख गर्न, र म भागेको कसैले देखेमा मलाई पक्रन तिनीहरूलाई अनुरोध गरे। मलाई विश्‍वास गर्न छोड्न र तिनीसँग घर जान अनुरोध गर्नको लागि मेरो श्रीमान हाम्रो पाँच वर्षको छोरा लिएर आए। मेरो छोराले मकहाँ आउने आँट गरेनन्, र किन भनेर सोध्दा, तिनले भने, “बुबाले भन्‍नुभएको तपाईं बौलाउनुभएको छ रे र मलाई मार्न सक्‍नुहुन्छ रे।” यो सुन्दा मलाई निकै रिस उठ्यो। तिनले त्यस्तो सानो बालकलाई यस्तो कुरा सिकाए भन्‍ने मलाई विश्‍वासै लागेन। त्यसपछि, मेरो छोरा र मेरो सम्‍बन्ध सामान्य हुन सकेन। मैले तिनलाई क्यान्डी ल्याइदिएपछि मात्रै तिनले मसँग कुरा गर्ने आँट गरे। मलाई निकै दुःख लाग्यो, र मेरो परिवारले मलाई जबरजस्ती गर्न छोडे त हुनेथियो भन्‍ने कामना गरेँ, तर यो सोच्‍नु गलत छ भन्‍ने मलाई महसुस भयो। तिनीहरू सबैले परमेश्‍वरलाई घृणा गर्थे, र तिनीहरू कहिल्यै पनि परिवर्तन हुनेथिएनन्। मेरो श्रीमानले अझै पनि मलाई मनाउने प्रयास गरे, र मेरो आमाबुबाले मलाई विश्‍वास गर्न छोड् भनेर भनिरहे। मैले भनेँ, “म परमेश्‍वरलाई विश्‍वास गर्न छोड्न सक्दिनँ।” म अझै पनि दृढ छु भन्‍ने देख्दा, मेरो श्रीमानले मेरो छोरा घर फर्काएर लगे।

एक हप्तापछि, एक दिन बिहान, मेरो दाजु सहर बाहिरबाट आए र तिनले आफ्‍नो हातमा मेरो एउटा लुगा बोकेका थिए। तिनले भने, “आज बिहान म तँलाई शुद्ध पार्न झाँक्रीकहाँ गएको थिएँ।” त्यसपछि मेरो बुबाले पनि कोठाबाट बाहिर निस्केर यसो भन्दै मलाई उक्त लुगा लगाइहाल्‍न आदेश दिनुभयो, “तैँले यो लगाइस् भने, तँ निको हुन्छस्।” मैले भनेँ, “म लगाउँदिनँ। मलाई केही पनि लागेको छैन, र मलाई कुनै रोग छैन, म एक मात्र साँचो परमेश्‍वरमा विश्‍वास गर्छु।” उहाँहरूको “उपचार” लाई मैले स्वीकार गर्दिनँ भन्‍ने देखेर, मेरो बुबाले मलाई कुर्सीमा बसाउनुभयो। मेरो नाडी जत्रो लौरो लिएर, चिच्याउँदै भन्‍नुभयो, “तँ साह्रै अटेरी भएछस्, त्यसकारण म तँलाई आज तह लगाउँछु! मैले तँलाई पहिले कहिल्यै कुटेको छैनँ, तर कुट्दा के हुन्छ आज म तँलाई देखाउँछु। र कि मर् कि परमेश्‍वरमा विश्‍वास गर्न छोड्, अनि मात्रै म तँलाई कुट्न छोड्छु!” मैले मेरो बुबालाई त्यति रिसाएको कहिल्यै देखेकी थिइनँ। मलाई कुटाइ खान्छु भन्‍ने डर लाग्यो, र लौरो यति ठूलो थियो कि त्यसले पक्‍कै पनि मेरो हाड भाँच्‍नेथियो। मेरो बुबाले मलाई लुगा फेर्न आदेश दिँदा, मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, र जेसुकै भए पनि, म शैतानको अघि झुक्‍नु हुँदैन भनेर भनेँ। शैतानले अय्यूबलाई बारम्‍बार परीक्षा र आक्रमण गरेका थिए, तर अय्यूब आफ्‍नो सत्यनिष्ठालाई कायम राखेर आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा भए, र अन्त्यमा, शैतान लज्‍जित, असफल भए, र त्यसले पूर्ण रूपमा हरेस खायो, मैले यसको बारेमा सोचेँ। म अय्यूबभन्दा निकै कमजोर भए पनि, शैतान मेरो पछि पनि लागिरहेको छ, र परमेश्‍वरमाथिको मेरो विश्‍वासलाई अलि-अलि गर्दै नष्ट गर्ने, मलाई निरूत्साहित र परमेश्‍वरप्रति निराश तुल्याउने, अनि अन्तिममा मलाई परमेश्‍वरलाई धोका दिने तुल्याउने प्रयास गरिरहेको छ भन्‍ने मलाई थाहा थियो। म शैतानको छलमा पर्नु हुँदैनथियो। त्यसकारण, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र यो शपथ खाएँ, “हे परमेश्‍वर, मलाई कुटेर मारियो नै भने पनि, म शैतानको अघि झुक्‍नेछैनँ। म तपाईंमाथिको मेरो विश्‍वासलाई त्याग्‍नेछैनँ, र तपाईंप्रतिको मेरो गवाहीमा म दह्रिलो गरी खडा हुनेछु।” प्रार्थना गरिसकेपछि, मलाई डर लाग्‍न छोड्यो, र मैले सबै कुराको बारेमा चिन्ता गर्न छोडेँ। एउटा भजनको एउटा हरफ मनमा आयो, “मैले मेरो इच्‍छा र मेरो सङ्कल्‍पलाई त्याग्‍नुहुँदैन; हरेस खानु भनेको शैतानसँग सम्झौता गर्नु सरह हो, आत्म-विनाश गर्नु सरह हो, र परमेश्‍वरलाई धोका दिनु सरह हो(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, सत्यताको खोजी गर्नको लागि अत्यावश्यक सङ्कल्प)। परमेश्‍वरको वचनको यो हरफले मलाई आत्मविश्‍वास र शक्ति दियो। म कहिल्यै शैतानको अघि झुक्‍नेवाला थिइनँ। मेरो बुबा आफ्‍नो हातमा लौरो लिएर अघि बढ्नुभयो, अनि उहाँले मलाई कुट्न लाग्‍नुभएको थियो। उहाँ दियाबलस जस्तो देखिनुभएको थियो, तर मलाई पटक्‍कै डर लागेको थिएन। यति बेला, मेरो श्रीमान र आमा बारीबाट भर्खरै आउँदैहुनुहुन्थ्यो। मेरो आमा बुबालाई छेक्‍न मेरो अगाडि आउनुभयो, त्यसपछि अबदेखि विश्‍वास नगर्नू भनी फकाउनुभयो। मैले भनेँ, “परमेश्‍वरमा विश्‍वास गर्नु भनेको चोर्नु वा लुट्नु होइन, र म अरूको परिवारलाई नष्ट गर्दिनँ। मैले गर्ने एउटै कुरा भनेको भेलाहरूमा जानु मात्रै हो। मैले त्यस्तो के गल्ती गरेकी छु र तपाईंहरू मलाई कुटेर मार्न चाहनुहुन्छ? तपाईंहरू अझै मेरो परिवार हुनुहुन्छ?” मेरो भदैले हेला तिरस्कारको साथ भने, “फुपू, कार र पैसा हुने मानिसहरूलाई हेर्नुहोस् त। तपाईं परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ, तर तपाईंको परमेश्‍वरले तपाईंलाई के दिएको छ?” मैले भनेँ, “यी कुराको के काम? विपत्ति आएपछि, के यी कुराले मानिसहरूलाई बचाउँछन्? परमेश्‍वरले मात्रै मानिसहरूलाई बचाउन सक्‍नुहुन्छ। यदि तिमीहरू यी कुराको पछि लाग्‍न चाहन्छौ भने, म तिमीहरूलाई रोक्दिनँ। म परमेश्‍वरमा विश्‍वास गर्छु, र पनि किन तिमीहरूले मलाई हस्तक्षेप गरिरहेका छौ?” मेरो भदैले रिसाउँदै भने, “यदि तपाईंले परमेश्‍वरमा विश्‍वास गर्न छोड्नुहुन्‍न भने, रुखो व्यवहार गरेकोमा हामीलाई दोष नदिनुहोस्। हामी तपाईंलाई तीन दिन, तीन रात झुण्ड्याएर राख्छौँ, अनि अझै विश्‍वास गर्नुहुन्छ कि गर्नुहुन्‍न हेरौँला!” त्यसपछि पूरै परिवारले मलाई झुण्ड्याउने अनि मैले परमेश्‍वरमा विश्‍वास गर्न नछोडिञ्‍जेलसम्‍म मलाई नछोड्ने सहमति जनाए। म आक्रोशित भएँ। यो कसरी मेरो परिवार हुन सक्यो? तिनीहरू दियाबलसहरू थिए। त्यो बेला, मलाई अलिक डर लाग्यो, त्यसकारण मैले परमेश्‍वरसँग प्रार्थना गरेँ र अगुवाइ गर्नुहोस् भनी परमेश्‍वरलाई प्रार्थना गरेँ। मेरो श्रीमानले मलाई फकाउने प्रयास गरे, “प्रभु येशूमाथिको मेरो विश्‍वास आस्था मात्रै हो। किन तँ यसप्रति यति गम्‍भीर छस्? विश्‍वास गर्न छोडी दे।” मैले भनेँ, “यदि तपाईंलाई मुक्ति दिन प्रभु येशू फर्केर आइसक्‍नुभएको छ भनेर तपाईंले स्वीकार गर्नुहुन्‍न भने, म तपाईंलाई जबरजस्ती गर्दिनँ, त्यसकारण मलाई पनि जबरजस्ती गर्ने प्रयास गर्न छोड्नुहोस्। म सर्वशक्तिमान्‌ परमेश्‍वरलाई नै पछ्याउनेछु!” मैले मेरो परिवारको अगाडि ठोस घोषणा गरेपछि, तिनीहरू मौन भए, र शैतानले हारेको छ भन्‍ने मलाई थाहा थियो। मैले पहिले कहिल्यै अनुभव नगरेको मिठास हृदयमा महसुस गरेँ, र म परमेश्‍वरप्रतिको कृतज्ञताले भरिएँ!

त्यसपछि, मेरो परिवारले मलाई अझै घरमा नै थुनेर राखे। तर मलाई दुःख लाग्‍न छोड्यो, र म यो परिस्थितिमा आज्ञाकारी भएर पाठ सिक्‍न इच्‍छुक भएँ। सामान्यतया, तिनीहरूले ध्यान नदिएको बेला, म मेरो भाउजूको फोन लिन्थेँ र अनलाइन गएर परमेश्‍वरका दैनिक वचनहरू सुन्थेँ। म प्रायजसो परमेश्‍वरलाई प्रार्थना गरिरहन्थेँ, र परमेश्‍वरका बन्दोबस्तहरूलाई पालना गर्न तयार हुन्थेँ। म कहिले जान सक्छु भन्‍ने कुरा परमेश्‍वरको हातमा थियो, र म प्रतीक्षा गर्न तयार थिएँ। क्रमिक रूपमा, मेरो परिवारले मलाई त्यति धेरै निगरानी गर्न छोडे। एक पटक, गाउँको एउटा परिवारमा विवाह-भोज भयो, र मेरो सबै परिवारका सदस्यहरू गए। म यही मौकामा भागेँ। त्यसपछि, मैले ब्रदर-सिस्टरहरूलाई सम्पर्क गरेँ र मेरो गाउँ झोडेँ। अहिले, मैले बल्‍ल परमेश्‍वरमा विश्‍वास गर्ने र आफ्‍नो कर्तव्य पूरा गर्ने स्वतन्त्रता पाएकी छु। यस अवधिमा, मैले मेरो परिवारबाट सतावट भोगेँ, र मैले अलिकति कष्ट भोग्‍नु परेको भए पनि, धेरै कुरा सिकेँ। मैले चिनियाँ कम्युनिस्ट पार्टीको दुष्टतालाई अनि मेरो परिवारको परमेश्‍वर विरोधी सारलाई अझै स्पष्‍ट रूपमा देखेँ, र परमेश्‍वर मेरो पक्षमा हुनुहुन्छ र मलाई साथ दिइरहनुभएको हुन्छ भन्‍ने कुरा व्यवहारिक रूपमा अनुभव गरेँ। म नकारात्मक र कमजोर हुँदा हरेक पटक नै, परमेश्‍वरले मलाई अन्तर्दृष्टि दिनु, बाटो देखाउन, अनि मलाई साहस र बुद्धि दिन आफ्‍ना वचनहरू प्रयोग गर्नुहुन्छ, ताकि मैले दह्रिलो गरी खडा हुने आत्मविश्‍वास पाउन सकूँ। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

एक डाक्टरको निर्णय

म सानो छँदा, मेरो परिवार निकै गरिब थियो। मेरी आमा पक्षाघातले ओछ्यान पर्नुभएको थियो, र वर्षभरि औषधि खानुपर्थ्यो, अनि मेरा बुबाले गाउँबाहिर...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्