घरायसी युद्धको दृश्य पछाडि
२०१० को प्रारम्भतिर, कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीको बारेमा फैलाएका अफवाह र नकारात्मक प्रचारबाजी मेरी श्रीमतीले...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
म र मेरा श्रीमानले सन् २०१२ को मे महिनामा सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्यौँ। हामी सधैँ सँगै मिलेर परमेश्वरका वचनहरू पढ्ने र उहाँको प्रशंसाका भजनहरू गाउने गर्थ्यौं, अनि मलाई निकै खुसी र सन्तुष्ट महसुस हुन्थ्यो। चाँडै नै, मैले मण्डलीमा एउटा कर्तव्य लिएँ र नियमित रूपमा भेलाहरूमा र सुसमाचार प्रचार गर्न जान थालेँ। मेरा श्रीमानले मलाई निकै सहयोग गर्थे। तर पछि, कम्युनिस्ट पार्टीको दमनको कारण मेरो परिवारले मलाई विश्वास अभ्यास गर्न रोक्ने प्रयास गर्न थाले, त्यहाँदेखि यता, हाम्रो सद्भावपूर्ण, शान्तिपूर्ण जीवन पूर्णतया चकनाचूर भयो।
एक दिन, मेरा जेठा दाजुले मलाई फोन गरेर सरकारले सर्वशक्तिमान् परमेश्वरका विश्वासीहरूलाई कठोरतासाथ कारबाही गरिरहेको, पक्राउ गरिरहेको र त्यसपछि जेलमा हालिरहेको छ भनेर आफूले समाचारमा देखेको कुरा बताए। उनले भने, “यदि कुनै व्यक्ति विश्वासी हो भने, उसको भावी पुस्ताहरू पनि प्रभावित हुनेछन्। उसका छोराछोरी विश्वविद्यालयमा जान पाउँदैनन्, त्यसपछि जागिर वा राम्रो भविष्य पाउने तिनीहरूको सम्भावना समाप्त हुन्छ। तैँले यो धर्म मान्न छोड्नुपर्छ।” मेरा श्रीमान विद्यालयमा काम गर्थे, र मेरा दाजुले भनेको कुरा सुनेपछि, उनले मलाई भने, “विश्वास गर्नु राम्रो कुरा हो, तर कम्युनिस्ट पार्टीले विश्वासीहरूलाई पागलले जस्तै पक्राउ गरिरहेको छ। हाम्रा छोराछोरीको भविष्यमा पनि असर पुग्नेछ। म अबदेखि यो धर्म मान्न चाहन्नँ, र तिमी पनि भेलाहरूमा जान छोड्नुपर्छ। यदि तिमी परमेश्वरलाई पछ्याउन चाहन्छौ भने, कसैले थाहा नपाउने गरी घरमै बसेर गर।” मैले प्रतिक्रिया दिएँ, “म भेलाहरूमा गइनँ भने के म विश्वासी भन्नसमेत लायक हुन सक्छु? के मैले त्यसरी सत्यता सिक्न सक्छु? हाम्रो विश्वासमा, हामी सत्यताको पछि लाग्छौँ—त्यो जीवनको सही मार्ग हो। म भेलाहरूमा जान छोड्नु हुँदैन।” मैले नमानेको देखेर, उनले रिसले टुल भाँचे र फ्लासलाइट फुटाए। भोलिपल्ट, उनी स्कूलबाट आए र मलाई भने, “आज स्कूलमा मिटिङ भएको थियो। केन्द्रीय समितिले सर्वशक्तिमान् परमेश्वरका विश्वासीहरू राजनीतिक अपराधी हुन्, र राष्ट्रिय कारबाहीका प्रमुख निशाना हुन् भन्ने आधिकारिक दस्तावेज जारी गरेको छ। शिक्षक-शिक्षिका र तिनीहरूका परिवारहरूलाई कुनै धर्म मान्ने अनुमति छैन, र कुनै व्यक्तिले धर्म मानेको पत्ता लाग्यो भने उसलाई जागिरबाट बहिष्कार गरिनेछ र कालो सूचीमा राखिनेछ। तिनीहरूका सन्तानलाई कलेजमा पढ्ने अनुमति पनि हुनेछैन—कुनै पनि स्कूलमा तिनीहरूलाई स्वीकार गरिनेछैन। तिमीले आफ्नो धर्म मान्न छोड्नुपर्छ। यदि कसैले थाहा पायो र तिम्रो बारेमा रिपोर्ट गर्यो भने, मैले जागिर गुमाउनेछु र हाम्रा नानीहरूको भविष्य बरबाद हुनेछ। यसले हाम्रो परिवारलाई बरबाद गर्नेछ।” उनले यसो भनेका सुन्दा, मैले के सोचेँ भने, हाम्रो परिवारको खर्च धान्न मेरा श्रीमानको तलब चाहिन्छ। मेरो विश्वासको कारण उनलाई जागिरबाट निकाल्यो भने, हामीले कसरी हातमुख जोड्ने? र यदि हाम्रा छोराछोरीले विश्वविद्यालय भर्ना हुन वा जागिर पाउन सकेनन् भने, के तिनीहरूले मलाई घृणा गर्नेछैनन् र? यस्तो सोच्दा म निकै खिन्न भएँ, त्यसकारण तुरुन्तै मैले मनमनै परमेश्वरलाई पुकारेँ र उहाँको इच्छा बुझ्न मलाई अगुवाइ गर्नुहोस् भनी अनुरोध गरेँ। प्रार्थना गरेपछि मैले परमेश्वरले भन्नुभएको यो वचन सम्झेँ: “मानिसको भाग्य परमेश्वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिसले सधैँ आफ्नै खातिर भागदौड गरे तापनि र व्यस्त रहे तापनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै भविष्यलाई नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृष्टि गरिएको प्राणी नै हुनेथिइस् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। यसबारे विचार गर्दा, मैले मानिसहरूको भाग्य पूर्ण रूपमा परमेश्वरकै हातमा छ भन्ने देख्न सकेँ। मेरा श्रीमानले जस्तोसकै जागिर पाऊन् र हाम्रा छोराहरूको भविष्य कस्तो हुनेछ भन्ने कुरा परमेश्वरकै नियम र बन्दोबस्तमा भर पर्छ—ती कुरा कुनै पनि मानिसको हातमा हुँदैनन्। मैले तिनीहरूको जागिर वा भविष्यको रक्षा गर्न आफ्नो विश्वासलाई त्याग्नु हुँदैनथियो। म हाम्रो भविष्य परमेश्वरको हातमा राखेर उहाँका योजनाबद्ध कार्यहरूमा समर्पित हुन तयार भएँ। त्यसबारे त्यसरी विचार गर्दा मलाई पहिलाजस्तो चिन्ता लागेन, र म सामान्य रूपमा नै भेलाहरूमा सहभागी भइरहेँ र आफ्नो कर्तव्य पूरा गर्न गरिरहेँ।
त्यसपछि, जुलाई २०१३ को एक दिन, भेलामा हुँदा अरू सिस्टरहरूसहित मलाई पक्राउ गरियो। त्यो साँझ, पुलिस चौकीका क्याप्टेन झाओले मलाई यस्ता प्रश्नहरू सोधे, “कसले तँलाई विश्वासी बनायो? तेरो मण्डली अगुवा को हो? मैले प्रतिक्रिया दिइनँ। त्यसपछि तिनले भन्दै गए, “तेरो श्रीमान मेरा शिक्षक हुन्। मलाई मण्डलीबारे सबै भन् अनि तिनी मेरा शिक्षक भएका नाताले म तँलाई घर जान दिन सक्छु।” यो मलाई मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिन र परमेश्वरलाई विश्वासघात गर्न लगाउने शैतानको चाल हो भन्ने मलाई थाहा भयो—म यसको फन्दामा पर्नुहुँदैनथियो। मैले मनमनै परमेश्वरलाई बारम्बर प्रार्थना गरेँ, र मलाई रक्षा गर्नुहोस् र गवाहीको रूपमा खडा हुन सहयोग गर्नुहोस् भनेर उहाँलाई अनुरोध गरेँ। त्यसपछि, क्याप्टेन झाओले जे सोधे पनि मैले तिनको कुरा बेवास्ता गरेँ। तिनले मलाई हिरासत कोठामा फर्काएर लगे। भोलि बिहान, नगरपालिका सार्वजनिक सुरक्षा ब्यूरोका एक जना अफिसर मलाई सोधपुछ गर्न आए। तिनी मेरो आफन्त भाइ रहेछन्, त्यो देख्दा म छक्कै परेँ। मलाई देखेर, तिनको आँखा रिसले रातो भयो र मलाई औँल्याउँदै भने, “कस्तो अचम्म! तिमी धर्म मान्ने भयौ? कहिलेदेखि विश्वास गर्न थाल्यौ? तिमीलाई कसले विश्वासमा ल्यायो?” मैले तिनको कुरा बेवास्ता गरेँ। तिनले परमेश्वरको निन्दा गर्दै केही कुरा भने, अनि आफ्नो कुरा जारी राखे, “धेरै पहिले नै राष्ट्रिय सरकारले कसैले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरेको थाहा पाइयो भने, तिनीहरूका तीन पुस्ता मुछिनेछन् भनेर आधिकारिक कागजात जारी गरेको छ। तिम्रो ठूलो छोरा भर्खरै कलेजबाट स्नातक भएको छ र जागिर खोज्दैछ, र तिम्रो कान्छो छोरा कलेज जाने बेला भयो। तिमीले आफ्ना नानीहरूको भविष्यबारे सोच्नुपर्छ। कम्युनिस्ट पार्टी अत्यन्तै शक्तिशाली छ—त्यस्तो अवस्थामा पनि विश्वास गर्न जिद्दी गर्नु भनेको अण्डाले ढुङ्गा फुटाउने जमर्को गर्नुजस्तै हो। तिमीले यसलाई त्याग्नुपर्छ!” यी सबै सुनेपछि, मैले विश्वास गरिरहेँ भने मेरा छोराहरूको भविष्यमा अवश्य नै असर पर्नेछ भन्ने मलाई सोचाइ आयो। मैले तिनीहरूको शिक्षाको लागि निकै मूल्य चुकाएकी थिएँ—तिनीहरूले अन्तिममा जागिर पाएनन् भने, के यतिका वर्ष बगाएको रगत, पसिना, र आँसु व्यर्थ हुनेछैन र? यो सोच्दा म निकै व्याकुल भएँ। मैले के गर्नुपर्ने हो भनेर जान्न परमेश्वरलाई प्रार्थना गरेँ, अनि मेरो हृदयलाई रक्षा गर्नुहोस् र उहाँको इच्छा बुझ्न मलाई अगुवाइ गर्नुहोस् भनी अनुरोध गरेँ। त्यसपछि मलाई परमेश्वरका वचनहरूको यो उद्धरण याद आयो: “तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै तैँले आफ्नो कर्तव्य पूरा गर्न थाल्छस्। परमेश्वरको योजना र उहाँको विधिको लागि तैँले आफ्नो भूमिका खेल्छस् र तैँले आफ्नो जीवन यात्रा सुरुआत गर्छस्। तेरो पृष्ठभूमि जस्तोसुकै होस् र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि स्वर्गको व्यवस्थापन र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि तिनीहरूको गन्तव्य आफ्नै वशमा हुँदैन, किनकि सबै थोकमाथि शासन गर्नुहुने उहाँ मात्र यस्तो कार्य गर्न सक्षम हुनुहुन्छ। … मानिसको हृदय र आत्मा परमेश्वरको हातमा हुन्छ, उसको जीवनको सबै थोकमा परमेश्वरले नजर राख्नुहुन्छ। तैँले यस कुरालाई विश्वास गर् वा नगर्, चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। परमेश्वरका वचनहरूबाट मैले के बुझ्न सकेँ भने, सबै कुरा पूर्णतया उहाँकै हातमा छन्, त्यसकारण के त्यसमा मेरा छोराहरूका भविष्य र भाग्य पनि समावेश छैनन् र? कसैले जीवनमा कति कष्ट भोग्छ र कस्तो काम गर्छ भन्ने कुरा सबै परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। मैले ती कुराबारे चिन्ता गर्नुहुँदैनथियो। र बाहिरी संसारमा कसैको शिक्षा र काम जति ठूलो भए पनि, त्यसको अर्थ तिनीहरूको भविष्य र भाग्य राम्रो हुनेछ भन्ने हुँदैन। विश्वासविना, परमेश्वरको मुक्तिलाई स्वीकार नगरी, व्यक्ति विपत्तिहरू आउँदा मर्नेछ, र तिनीहरूको कुनै भविष्य हुनेछैन। परमेश्वरको अघि आउनु, सत्यता स्वीकार गर्नु, र परमेश्वरबाट मुक्ति पाउनु मात्रै साँचो अर्थमा भविष्य र गन्तव्य प्राप्त गर्ने एकमात्र तरिका हो। त्यसकारण मैले मेरो त्यस भाइलाई भनेँ, “मेरा छोराहरूको भविष्य तिनीहरूकै भाग्यमा छ—यो कुनै व्यक्तिको हातमा छैन। म परमेश्वरमा विश्वास गर्छु र सत्यताको पछि लाग्छु। यो नै सही मार्ग हो र म पूर्ण रूपले यसमा लागेकी छु। मलाई सल्लाह दिने कष्ट नगर!” म मेरो विश्वासलाई कायम राख्नमा कति सङ्कल्पित छु भन्ने देखेपछि तिनले प्रतिक्रिया दिएनन्। तिनीहरूले त्यहाँ मलाई एक दिन र एक रात राखे, अनि घर पठाए।
म घर पुग्नेबित्तिकै, मेरा श्रीमानले टूल उठाएर मलाई हिर्काउन लागेका थिए, तर हाम्रो जेठा छोराले उनलाई रोक्यो। उनले मलाई अपशब्द बोल्दै भने, “तेरो विश्वासले गर्दा, म पूर्ण रूपमा अपमानित भएको छु, र ढिलो-चाँडो हाम्रा छोराहरूको भविष्य पनि बरबाद हुनेछ। यदि तैँले विश्वास गरिरहिस् भने, म तँलाई कुटेर मार्नेछु!” उनलाई त्यस्तो स्थितिमा देख्दा, मैले मनमनै के सोचेँ भने, जीवनसाथीको रूपमा हाम्रो सम्बन्ध कुनै वास्तविक कठिनाइको सामना गर्नै नसक्नेगरि कमजोर रहेछ। जब मेरो विश्वासको कारण मलाई पक्राउ गरियो र यसले उनका हित र प्रतिष्ठामा असर गर्यो, तब उनले मलाई कुट्ने धम्की दिए। त्यो कसरी पति र पत्नीबीचको प्रेम भयो र? त्यो दिन मेरी कान्छी बहिनी पनि हाम्रो घरमै थिइन्, र उनले पनि तालमा ताल मिलाउँदै भनिन्, “तिमी विश्वास त्याग्न सक्दिनौ? विश्वास गरिह्यौ भने, तिमीले आफ्ना छोराहरूको भविष्य बरबाद गर्नेछौ!” मैले तिनीहरूलाई भनेँ, “म भेलाहरूमा जाने र परमेश्वरका वचनहरू पढ्ने मात्रै गर्छु। यो जीवनमा हिँड्नुपर्ने सही मार्ग हो—मैले कुनै गल्ती गरेकी छैनँ। त्यसले कसरी मेरा छोराहरूको भविष्यलाई असर गर्न सक्छ? विश्वासीहरूलाई दमन गर्ने र यसमा तिनीहरूको परिवारका पुस्तालाई मुछ्ने त कम्युनिस्ट पार्टी हो। यदि हाम्रा नानीहरूले भविष्यमा जागिर पाएनन् भने, त्यो त कम्युनिस्ट पार्टीको कारणले गर्दा हो। किन तपाईंहरू सही-गलत छुट्याउन सक्नुहुन्न?” त्यसपछि मेरो कान्छो भाइले मेरा श्रीमानलाई फोन गरेर भने, “यदि मेरी दिदीले धर्म मानिरहन्छिन् भने, उनका खुट्टा भाँचिदिनुहोस्। त्यसपछि कसरी भेलाहरूमा जाँदा रहेछिन् हेरौँ।” र तिनकी श्रीमतीले झोँक्किँदै भनिन्, “उनले धर्म मान्न छोड्दिनन् भने, उनलाई कुटेर मार्नुहोस्। हाम्रो परिवारबाट तपाईंलाई कुनै समस्या हुनेछैन।” मलाई नमिठो लाग्यो। मलाई त मेरो परिवारले बुझ्नेछ भन्ने लागेको थियो। तिनीहरूले कम्युनिस्ट पार्टीको कुरा सुन्नेछन्, केवल आफ्ना हितको रक्षा गर्न तिनीहरू त्यति निर्दयी बन्नेछन्, र यहाँसम्म कि मलाई विश्वास गर्नबाट रोक्नको लागि म बाँचे पनि मरे पनि त्यसको वास्ता गर्नेछैनन् भनेर मैले कहिल्यै पनि कल्पना गरेकी थिइनँ। तिनीहरूको मानवता कहाँ थियो? भोलिपल्ट मेरा दाइले मेरा श्रीमानलाई फोन गरेर भने, “यदि मेरी बहिनीले धर्म छोड्दिनन् भने, हामी त्यससँग सम्बन्ध तोड्नेछौँ। तपाईं डिभोर्स गर्न चाहनुहुन्छ भने हामी तपाईंको पक्षमा हुनेछौँ। त्यसलाई केही पनि नदिनुहोस् र घरबाट निकालिदिनुहोस्। त्यसपछि त्यसले कसरी गुजारा चलाउँदो रहिछे हेरौँ न।” मध्य दिनतिर, मेरो त्यो आफन्त भाइ पुलिसको कारमा आएर मेरा श्रीमानलाई मेरो निगरानी गर्नुहोस् र धर्म मान्न रोक्नुहोस्, नत्र सबै परिवार समस्यामा मुछिनेछन् भने। मेरा श्रीमानले मलाई भने, “हाम्रा छोराहरू र यो परिवारको खातिर, तैँले तेरो यस भाइको आँखामा हेरेर विश्वास त्याग्छु भनेर भन्नुपर्छ।” मैले उनलाई भनेँ, “परमेश्वरलाई पछ्याउनु सही र उचित कुरा हो। म मेरो विश्वास त्याग्नेछैनँ।” उनले मलाई हल्लाउन सक्दिनँ भन्ने देखेपछि, रिसाउँदै भने, “यदि तैँले परमेश्वरमा विश्वास गर्ने जिद्दी गर्छस् र हाम्रा छोराहरूको भविष्यलाई बेवास्ता गर्छस् भने, म तँलाई डिभोर्स दिन्छु।” उनले डिभोर्स सम्झौता ल्याएर मलाई हस्ताक्षर गर् भने। उक्त सम्झौतामा म केही पनि नलिई घरबाट निस्किन्छु भनेर लेखिएको रहेछ। हाम्रो घर खडा गर्न हामी दुवैले धेरै परिश्रम गरेका थियौँ—यदि म रित्तो हात भएँ भने कसरी जिउने? तर त्यसपछि मलाई फेरि के याद आयो भने, कुनै व्यक्तिले आफ्नो जीवनमा कति धेरै कष्ट भोग्नेछ भन्ने कुरा परमेश्वरले पहिले नै निर्धारित गर्नुभएको हुन्छ, र जेसुकै भए पनि, मैले परमेश्वरमा विश्वास गर्न छोड्नु हुँदैन, तर आफ्नो विश्वासलाई कायम राखेर सत्यतालाई निरन्तर पछ्याइरहनुपर्छ। मैले हस्ताक्षर गर्न लागेकी थिएँ, त्यसपछि मेरा श्रीमानले मेरो नझुक्ने अभिप्राय देखेर भने, “त्यसोभए, डिभोर्स नगरौँ। यदि तँ विश्वासी बन्न चाहन्छस् भने, म तँलाई रोक्न सक्दिनँ। जा विश्वासै गर्।” उनले त्यसै भनेका थिए, तर वास्तवमा, मलाई झन्-झन् नियन्त्रण गर्न थाले। घरमा उनले मलाई “परमेश्वर” भन्ने शब्द उच्चारण गर्न दिँदैनथिए र उनलाई मन नपर्ने कुरा भनेँ भने मलाई कुटिहाल्थे। उनी बिदामा कतै पनि जाँदैनथिए, तर मलाई निगरानी गर्न घरमा नै बस्थे। जब मैले परमेश्वरका वचनहरू पढेको उनले देख्थे, तब उनले पुस्तक खोस्थे, र भन्थे, “यदि मैले फेरि देखेँ भने, म परमेश्वरका वचनहरूको यो पुस्तक जलाउँछु!” केही समयसम्म, मैले बाहिर गएर भेलाहरूमा सहभागी हुन, दाजुभाइ-दिदीबहिनीहरूलाई सम्पर्क गर्न, वा घरमा परमेश्वरका वचनहरू पढ्न सकिनँ। मलाई पटक्कै स्वतन्त्रता थिएन।
एक दिन साँझतिर म परमेश्वरका वचनहरू पढ्न सुत्ने कोठामा खुसुक्क गएकी थिएँ, तर मेरा श्रीमानले अचानक आएर मलाई झोँक्किँदै भने, “तँ अझै पढ्ने आँट गर्छस्! तँ फेरि पक्राउ परिस् भने, मेरो जागिर र हाम्रा छोराहरूको भविष्य खतम हुन्छ! कम्युनिस्ट पार्टीले जे पनि गर्न सक्छ।” मैले उनलाई भनेँ, “म परमेश्वरका वचनहरू मात्रै पढ्दैछु। त्यसले कसरी तपाईं र हाम्रा छोराहरूको भविष्यलाई असर गर्न सक्छ।” अचम्मको कुरा, उनी झोक्किँदै आएर दुवै हातले मेरो घाँटी अँठ्याएर निचोर्दै भने, “म त तँलाई घाँटी ङ्याकेरै मारिदिन्छु।” म आफूलाई मुक्त गर्न सक्ने दह्रिलो नभएकीले एक शब्द बोल्न पनि सकिनँ। सास फेर्न र चल्न छोडेपछि मात्रै उनले मलाई छोडिदिए। म सास फेर्न नसकेर हप्याकहप्याक भएँ, र मलाई भावनात्मक रूपमा धेरै पीडा भयो। मलाई चीनमा बसेर विश्वास गर्नु, सही मार्गमा हिँड्नु अत्यन्तै कठिन काम रहेछ भन्ने लाग्यो। मलाई कम्युनिस्ट पार्टीले पक्राउ गऱ्यो, मेरो परिवारले मलाई बाधा दिइरहेको थियो, मैले उप्रान्त कर्तव्य पूरा गर्न पाएकी थिइनँ, र अहिले त परमेश्वरका वचनहरू पढ्ने मेरो अधिकारबाट समेत मलाई बञ्चित गरिएको थियो। मेरो जीवनमा के अर्थ रह्यो र? मलाई त मर्दा नै ठीक हुन्छ जस्तो लाग्यो। मैले नाडी काटेर आत्महत्या गर्न मेरा श्रीमानको रेजर निकालेँ। त्यसपछि मलाई परमेश्वरका वचनहरूको यो खण्ड अचानक याद आयो: “आज धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू दुःख-कष्टको कुनै मूल्य हुँदैन भनी विश्वास गर्छन्, तिनीहरू संसारद्वारा त्यागिएका छन्, तिनीहरूको पारिवारिक जीवन समस्याग्रस्त छ, तिनीहरू परमेश्वरका प्रियहरू होइनन् र तिनीहरूका सम्भावनाहरू धमिला छन्। केही मानिसहरूको दु:ख चरम सीमामा पुग्छ, र तिनीहरूका विचारहरू मृत्युमा बदलिन्छन्। यो परमेश्वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायरहरू हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र शक्तिहीन छन्! परमेश्वर मानिसले उहाँलाई प्रेम गरोस् भनी उत्सुक हुनुहुन्छ, तर मानिसले उहाँलाई जति धेरै प्रेम गर्दछ, मानिसको दुःख उति नै बढी हुन्छ, र मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ मानिसको परीक्षा उति नै ठूलो हुन्छ। … यसैले, यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्वरको गवाही दिनैपर्छ। तिमीहरूका दु:ख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्वरप्रति र परमेश्वरको कृपामा विश्वासयोग्य रहनुपर्छ; केवल यो मात्रै परमेश्वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्वरका वचनहरूले मलाई ठीक समयमा सचेत गराएका हुनाले, मैले मूर्ख काम गरिनँ। म व्याकुल भएकी र कष्टमा परेकी, अनि दुर्व्यवहार सहन नसक्ने भएकी कारण मैले आत्महत्या गर्न चाहेँ। म कति कायर रहेछु। मेरो विश्वास अत्यन्तै कमजोर थियो, र मसँग कुनै गवाही नै थिएन। मानिसहरू पीडा र कठिनाइबाट गुज्रँदा तिनीहरूले परमेश्वरमाथिको आफ्नो विश्वास नगुमाऊन्, उहाँको निम्ति गवाहीको रूपमा खडा हुन सकून् भन्ने उहाँ आशा गर्नुहुन्छ। म मरेँ भने मैले कसरी गवाही दिन सक्थेँ र? के म शैतानको हाँसोको पात्र बन्नेथिइनँ र? यो कुरा महसुस गरिसकेपछि, मैले के सङ्कल्प गरेँ भने, भविष्यमा मेरा श्रीमान र आफन्तहरूले मलाई जति नै सतावट दिएर मलाई विश्वास गर्नबाट रोक्ने प्रयास गरे पनि, मैले जति नै कष्ट भोग्नुपरे पनि, मसँग एक मुठी सास रहिन्जेलसम्म, म आफ्नो जीवन राम्ररी जिउनेछु र परमेश्वरलाई अन्त्यसम्मै पछ्याउनेछु। तर म पक्राउ परेपछिको अवस्थामा मलाई पुलिसले निगरानी गरेको र परिवारले विवश पारेको हुनाले, मैले तीन वर्षसम्म उचित रूपमा मण्डली जीवन जिउन सकिनँ। परमेश्वरका वचनहरू पढ्नको लागि म सुटुक्क मेरा बुबाको घरमा जानुपर्थ्यो। त्यसपछि २०१६ को ग्रीष्म ऋतुमा, मैले बल्ल दाजुभाइ-दिदीबहिनीहरूलाई सम्पर्क गरेँ। मैले फेरि मण्डली जीवनलाई निरन्तरता दिन र कर्तव्य गर्न सकेँ।
मेरा श्रीमानले मलाई धेरै वर्षसम्म सताइरहे। मलाई याद छ, एकपटक म भेलाबाट फर्केर आएपछि, उनले मलाई मेरा दाजुको घरमा लिएर गए, र त्यहाँ मेरा अरू दुई जना दाजुभाइ र तिनीहरूका श्रीमती पनि रहेछन्—तिनीहरू सबैले मलाई खाउँला झैँ हेरिरहेका थिए। तिनीहरूले फेरि पनि मलाई विश्वास त्याग लगाउने प्रयास गर्न लागेका छन् भन्ने मलाई थाहा भयो, त्यसकारण मैले परमेश्वरलाई अगुवाइ माग्दै मनमनै प्रार्थना गरेँ ताकि तिनीहरूले मलाई जे गरे पनि, म तिनीहरूको कारण पछि नहटूँ। मेरा दाजुले मलाई घुरेर हेर्दै भने, “कम्युनिस्ट पार्टी नास्तिक पार्टी हो। यसले यतिका वर्षदेखि धार्मिक आस्थालाई दमन गर्दै आएको छ र कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। पार्टीको शासनमा रहेर परमेश्वरमा विश्वास गर्दा तँ अवश्य नै पक्राउ पर्छस्, र बाँकी परिवार पनि यसमा मुछिनेछ। तैँले केवल समस्या निम्त्याइरहेकी छैनस् र?” बहिनी-जुवाइँले कुरा थप्दै भने, “मेरो छोराले कलेज प्रवेश परीक्षा दिँदा राजनीतिक पृष्ठभूमि जाँचपडतालको फारम भर्नुपऱ्यो, र तिनीहरूले परिवारका कुनै सदस्यहरू धर्म मान्ने छन् कि भनेर सोध्दा रहेछन्। तपाईंले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नुहुन्छ भन्ने विवरण पुलिसले भेटेछ र तिनीहरूले उसलाई पास हुनै दिएनन्। मैले चिनजानहरू गुहारेर मानिसहरूलाई उपहार पठाउनुपरेको थियो—धेरै प्रयास गर्नुपर्यो, त्यसपछि बल्ल ऊ छिऱ्यो। चीनमा, कसैले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छ भने उसको सारा परिवार यसमा मुछिन्छन्। तपाईंले आफ्नो विश्वास त्याग्नुपर्छ!” त्यसपछि मेरो भाइले मलाई सोध्यो, “तिमीले आफ्नो परिवार, आफ्ना छोराहरूका भविष्यबारे विचार गर्नुपर्दैन? परमेश्वरमा विश्वास गर्न छोड! तिमीले धर्म छोड्यौ भने के नै हुन्छ र? मर्छ्यौ र?” त्यसैले मैले तिनीहरूलाई भनेँ, “भविष्य र भाग्य भनेको के हो तपाईंहरूलाई थाहा छ? के राम्रो जागिर खानु, राम्रो खानु र लाउनु भनेको नै सुन्दर भविष्य हो भन्ने तपाईंहरूलाई लाग्छ? विपत्तिहरू बढ्दै गइरहेका छन् र विश्वास नगर्ने जोसुकै ती विपत्तिमा पर्नेछ। परमेश्वरमा विश्वास गर्ने र उहाँद्वारा मुक्ति पाएकाहरू मात्रै बच्नेछन्, र तिनीहरूले मात्रै सुन्दर भविष्य र भाग्य प्राप्त गर्नेछन्।” प्रत्युत्तरमा मेरा श्रीमानले भने, “पछि के हुने हो मलाई थाहा छैन—म त आफ्नो अगाडि जे छ त्यही मात्रै देख्न सक्छु। कम्युनिस्ट पार्टीको हालको नीति यही हो—यदि तँ विश्वासी होस् भने, तिनीहरूले तँलाई पक्राउ गर्नेछन्, जागिर खोस्नेछन्, र तेरो परिवार पनि मुछिनेछ। यतिका वर्षमा कसैले पनि तिनीहरूको यो नीतिलाई परिवर्तन गर्न सकेको छैन, र तिनीहरू हामीभन्दा निकै शक्तिशाली छन्! चुपचाप विश्वास त्याग्! यहाँ सबैको अगाडि त्याग्छु भनेर भन्।” उनले आफ्नो कुरा सक्नेबित्तिकै अरू सबैले यसो गर्, उसो गर् भन्न थाले, अनि उप्रान्त परमेश्वरमा विश्वास गर्न छोड् भनेर मलाई कर गरे। हाम्रो निकै ठूलो र सुखी परिवार थियो, तर कम्युनिस्ट पार्टीको दमनले सबै कुरा बरबाद पारिदियो। मेरा श्रीमानले मलाई निरन्तर कुटपिट गर्थे र हकार्थे, अनि हाम्रोमा एक दिन पनि शान्ति छाएन। कहिले यसको अन्त्य हुने? मलाई झन्-झन् बढी खिन्न लाग्दै गयो, त्यसकारण मैले परमेश्वरलाई प्रार्थना गरेँ, त्यसपछि मलाई उहाँका वचनहरूको यो खण्ड याद आयो: “तैँले सत्यताको लागि कष्ट भोग्नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताको लागि अपमान सहनैपर्छ र अझै बढी सत्यता प्राप्त गर्नको लागि तैँले अझै बढी कष्टमार्फत गुज्रनैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र क्षणिक सुखचैनको खातिर तैँले आफ्नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छन् ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको अशिष्ट जीवन जिउँछस् र कुनै पनि उद्देश्यहरूलाई पछ्याउँदैनस् भने, के तैँले आफ्नो जीवनलाई खेर फाल्दैनस् र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताको खातिर पनि तैँले देहका सबै सुखचैनहरूलाई त्याग्नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा प्रतिष्ठा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरका वचनहरूले मलाई उहाँको इच्छा बुझ्न सहयोग गरे। मैले दृढ रूपमा परमेश्वरलाई पछ्याइरहेकी र आफ्नो कर्तव्य पूरा गरिरहेकी थिएँ—म सत्यताको पछि लाग्ने मार्गमा थिएँ। मेरो परिवारका सदस्यहरूले पैसा र प्रतिष्ठालाई पछ्याइरहेका थिए। हामी फरक-फरक मार्गमा थियौँ, र हाम्रो परिवार तोडिने निश्चित थियो। मैले सत्यता प्राप्त गर्नको लागि त्यो कष्टलाई स्वीकार गर्नुपर्थ्यो। त्यसले अर्थ राख्थ्यो। मैले आफ्नो परिवारको खातिर विश्वास त्याग्नुहुँदैनथियो। त्यसैले मैले तिनीहरूलाई भनेँ, “सर्वशक्तिमान् परमेश्वर नै साँचो परमेश्वर, मानवजातिलाई मुक्ति दिन आउनुभएका मुक्तिदाता हुनुहुन्छ भन्ने कुरामा म निश्चित छु। म कुनै पनि हालतमा विश्वास त्याग्न सक्दिनँ!” मेरो मन परिवर्तन गर्न नसक्ने देखेपछि तिनीहरू सबै गए।
एक साँझ म भेलाबाट घर आउँदा, मेरा श्रीमान मातेर रुँदै टेबलमा लम्पसार परिरहेका थिए। उनले भने, “तँ दिनहुँ भेलाहरूमा जान्छस्। तँ फेरि पक्राउ परिस् भने हाम्रो घर तेरो कारण कहिले बरबाद हुन्छ, थाहा छैन।” त्यसपछि उनले झोँक्किदै टेबल पल्टाए, अनि एउटा हातले मेरो जीउको लुगा समाएर अर्को हातले हिर्काउन थाले। मैले सास पनि लिन नपाउँदै, उनले मलाई बाथरूमको भुईंमा बजारे, टाउकोमा बेस्सरी हिर्काए, र जङ्गिँदै भने, “तेरो विश्वास त्याग्! म आज राती जे पनि गर्न तयार छु—म तँलाई कुटेर मार्छु। आखिर, तेरो आफ्नै परिवारले तँ मरे पनि बाँचे पनि मतलब गर्दैन।” कुटाइले गर्दा मलाई रिँगटा लाग्यो र आँखा मधुरो भयो। उनले मलाई खुड्किलाको सबैभन्दा माथि घिस्याउँदै ल्याए र “तँ झरेर मरिस् भने, म तेरो लास जलाउँछु अनि खरानी खोलामा फ्याँकिदिन्छु” भन्दै मलाई घचेटे। उनले त्यसो भनेको सुन्दा मलाई निकै डर लाग्यो—मैले बारम्बार परमेश्वरलाई प्रार्थना गरिरहेकी थिएँ। परमेश्वरको सुरक्षाले गर्दा, मैले अन्तिम घडीमा रेलिङको डोरी समात्न पुगेछु, जसले गर्दा खुड्किलादेखि खस्नबाट बचेँ। त्यसपछि हाम्रो कान्छो छोरो आएर मेरा श्रीमानलाई भन्यो, “मातेर होस गुम्यो तपाईंको? विश्वास गरेर आमाले केही गल्ती गर्नुभएको छैन। किन उहाँलाई कुट्नुभएको?” उनले यस्तो प्रतिक्रिया दिए, “त्यसलाई हिर्काउन त मन छैन, तर त्यो फेरि पक्राउ परी भने, तँ र तेरो दाजु बरबाद हुनेछौ। मसँग कुनै विकल्प छैन।” मेरो छोरा मेरो पक्षमा उभिएपछि, उनले मलाई कुट्ने आँट गरेनन्, तर सिसाको टेबल उठाएर पर्खालमा बजारे, र फुटेको सिसाले कोठा भरियो।
पछि, मैले परमेश्वरका वचनहरूमा यो कुरा पढेँ: “विश्वासी र अविश्वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। मैले त्यसबारे मनन गरेँ, र मलाई मनमा के थाहा भयो भने, मेरा श्रीमानले सुरुमा परमेश्वरलाई विश्वास गरे पनि, त्यो आशिष् पाउनको लागि मात्रै थियो। उनी साँचो विश्वासी थिएनन्। विश्वास गरेपछि त्यसले उनको र हाम्रा छोराहरूको भावी अवसरहरूमा असर पर्नेछ भन्ने सुनेपछि, उनी पुरै परिवर्तन भए। उनले आफ्नो विश्वास मात्र त्यागेनन्, तर मलाई पनि परमेश्वरमा विश्वास गर्नबाट रोक्ने प्रयास गरे। उनले मलाई रोक्न नसक्दा, मलाई हिंस्रक व्यवहार गरे र मलाई शत्रुवत् व्यवहार गर्न थाले किनभने मेरो विश्वासले उनका व्यक्तिगत हितहरूमा असर गरिरहेको थियो। मेरा श्रीमानको सारलाई हेर्दा उनले सत्यता र परमेश्वरलाई घृणा गर्छन् भन्ने मैले देखेँ। उनले आफ्नो जीविकोपार्जनको रक्षा गर्न कम्युनिस्ट पार्टीलाई पछ्याइरहेका थिए; उनी सांसारिक भविष्य र हितहरूको पछि लागिरहेका थिए। मैले चाहिँ परमेश्वरमा विश्वास गरेर सत्यतालाई पछ्याइरहेकी थिएँ, म जीवनको सही मार्गमा हिँडिरहेकी थिएँ—हामी दुई फरक-फरक मार्गमा थियौँ। मेरा श्रीमान र परिवारका बाँकी सदस्यहरूले मलाई मेरो विश्वासको कारण त्यसरी सतावट दिनुले तिनीहरूमा दुष्ट प्रकृति र सार छ, तिनीहरू परमेश्वरविरुद्ध छन् भन्ने कुरा मलाई स्पष्टसित देखायो। मेरा श्रीमान भेलाहरूमा गएका थिए र सर्वशक्तिमान् परमेश्वर नै साँचो परमेश्वर हुनुहुन्छ भन्ने उनलाई थाहा थियो। मैले मेरा आफन्तहरूलाई सुसमाचार बताएकी थिएँ र परमेश्वरका धेरै वचनहरू पढेर सुनाएकी थिएँ। तिनीहरूमध्ये कोही पनि विश्वासी बनेनन्, र मेरो विश्वासले तिनीहरूका हितमा असर पार्न थाल्नेबित्तिकै, तिनीहरू कम्युनिस्ट पार्टीको पक्षमा लागेर मलाई सताउन र मसँग सम्बन्ध तोड्ने कुरा गर्नतिर लागे। तिनीहरू कस्ता किसिमका प्रियजन थिए? तिनीहरू पूर्ण रूपमा कम्युनिस्ट पार्टीको पक्ष लिएर परमेश्वरविरुद्ध काम गर्ने शैतानका नोकर थिए। अहिले परमेश्वर देह बन्नुभएको छ र सत्यताहरू व्यक्त गरिरहनुभएको छ र हरेक प्रकारको व्यक्तिको प्रकृति र सारलाई खुलासा गरिरहनुभएको छ, जुन कुराले मलाई म मेरो परिवारभन्दा फरक बाटोमा हिँडिरहेकी छु भन्ने देखायो—विश्वासी र अविश्वासीहरू फरक-फरक प्रकारका मानिसहरू हुन्। ती सबै कुरा महसुस गरेपछि मलाई त्यति विवश महसुस भएन, तर राहत महसुस भयो।
पछि मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “हजारौं वर्षदेखि यो फोहोरको देशको रूपमा रहेको छ। यो असहनीय रूपमा फोहोर छ, प्रचुर दुःख छ, प्रेतहरू छल्दै र धोका दिँदै, आधारहीन आरोपहरू लगाउँदै, निर्दयी र क्रूर हुँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै अनियन्त्रित हुन्छन्; कुहेको लासको दुर्गन्धले देशलाई ढाक्छ र हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ। आकाशहरूभन्दा परको संसारलाई कसले देख्न सक्छ? शैतानले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखाहरू ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौं वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, अनि अझै पनि यसले भूतको सहरमाथि ध्यान लाएर हेर्छ, मानौं यो भूतहरूको अभेद्य महल हो; यस बेला रखवारी कुकुरहरूको यो झुन्डले परमेश्वरले उनीहरूलाई थाहै नपाई पक्रनुहुनेछ र ती सबैलाई मेटाउनुहुनेछ, शान्ति र आनन्दको ठाउँ हुनेछैन भनी डराएर ठूला-ठूला आँखाले हेर्छन्। यस्तो भूतको शहरका यस्ता मानिसहरूले कसरी परमेश्वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्वरको मायालु र प्रेमिलोपनको आनन्द उठाएका छन्? मानव संसारका मामिलाको बारेमा तिनीहरूले कति बुझेका छन्? तिनीहरूमध्ये कसले परमेश्वरको उत्सुक इच्छालाई बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्वर पूर्ण रूपमा लुकेर रहनु त्यत्ति अचम्मको कुरा होइन: यस्तो अन्धकारको समाजमा जहाँ भूतहरू निर्दयी र अमानवीय हुन्छन्, जहाँ शैतानका राजाले कुनै चासो नराखी मानिसहरूलाई मार्छ, त्यसले यस परमेश्वरको अस्तित्वलाई कसरी सहन गर्न सक्छ जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्छ? यी चापलुसहरू! तिनीहरूले दयाको बदलीमा घृणा गर्छन्, तिनीहरूले परमेश्वरलाई तुच्छ ठानेको धेरै भइसक्यो, तिनीहरूले परमेश्वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा क्रूर छन्, तिनीहरूमा परमेश्वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू लुट्छन् र खोस्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई मूर्ख बनाएका छन्। प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (८))। परमेश्वरका वचनहरू अत्यन्तै व्यावहारिक छन्। कम्युनिस्ट पार्टी शक्तिमा हुनु भनेको शैतान अर्थात् दियाबलस शक्तिमा हुनु हो। त्यसले परमेश्वरलाई तिरस्कार गर्छ अनि परमेश्वरलाई विश्वास गर्ने र पछ्याउने मानिसहरूलाई सहन सक्दैन। त्यो, मानिसहरूले पछ्याउने र आराधना गर्ने चीज मात्र बन्न चाहन्छ। कम्युनिस्ट पार्टीले धार्मिक स्वतन्त्रताको झण्डा फहराएको बहाना गर्छ, तर गुप्तमा विश्वासीहरूलाई तीब्र दमन र पक्राउ गर्छ, र विश्वासीहरूको धेरै पुस्तालाई त्यसमा मुछ्ने गर्छ। यसले सत्यता थाहा नपाएका मानिसहरूलाई बहकाउन, चिनियाँ मानिसहरूलाई खडा गरेर विश्वासका मानिसहरूको विरोध गर्न लगाउन अफवाह र झूटहरूसमेत फैलाउँछ। त्यसकारण कम्युनिस्ट पार्टीले धेरै मानिसलाई नचाएको छ र दुरुपयोग गरेको छ, र परमेश्वरलाई इन्कार गर्ने र विरोध गर्ने, अनि विश्वासीहरूलाई दमन गर्ने कार्यमा तिनीहरू कम्युनिस्ट पार्टीकै पछि लाग्ने गर्छन्। तिनीहरू सबै कम्युनिस्ट पार्टीसँगै आफ्नो अन्त्य भोग्न गइरहेका छन्—तिनीहरू परमेश्वरद्वारा दण्डित हुनेछन् र नामेट परिनेछन्। हाम्रो परिवार सुखी परिवार थियो, तर कम्युनिस्ट पार्टीको दमन र पक्राउको कारण, तिनीहरूलाई समस्यामा परिन्छ भन्ने डर भयो, र तिनीहरूले मलाई पनि दमन गर्न थाले, यसरी तिनीहरू शैतानका औजार बने। सत्यता र परमेश्वरलाई घृणा गर्ने कम्युनिस्ट पार्टीको दुष्ट सारलाई मैले स्पष्ट रूपमा देखेँ, र मानवजातिप्रति परमेश्वरसँग मात्रै साँचो प्रेम छ भन्ने पनि बुझेँ। मलाई शैतानका चालहरू बुझ्नका लागि विश्वास दिएर र सत्यता बुझ्न मदत गरेर बारम्बार अगुवाइ गर्ने त परमेश्वरका वचनहरू नै हुन्। मेरा श्रीमानले अझै पनि मेरो विश्वासको बाटोमा खडा हुने प्रयास गर्छन्, तर म उप्रान्त उनको कारण पछि हट्न छोडेको छु। मैले भेलाहरूमा जाने र आफ्नो कर्तव्य पूरा गर्ने कार्यलाई जारी राखेकी छु, र परमेश्वरलाई पछ्याउने मेरो सङ्कल्पमा म झनै दृढ बनेकी छु। म परमेश्वरलाई हृदयदेखि नै धन्यवाद दिन्छु!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
२०१० को प्रारम्भतिर, कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीको बारेमा फैलाएका अफवाह र नकारात्मक प्रचारबाजी मेरी श्रीमतीले...
सन् २०१२ मा, सुसमाचार प्रचार गर्दैगर्दा मलाई प्रहरीले पक्राउ गर्यो। मण्डलीका अगुवा को हुन् र भेलाहरू कहाँ हुन्छ भन्दै, उनीहरूले...
एलिसा, दक्षिण कोरियामैले प्रभु येशूमा विश्वास गरेको ११ वर्ष भएको थियो र पहिले म पाष्टर पियाओको मण्डलीमा मात्रै सङ्गति जाने गर्थेँ। पाष्टर...
बालक हुँदादेखि नै मैले मेरा आमाबुबासँग प्रभुमा विश्वास गरेँ। ठूलो भएपछि, मैले निर्माण क्षेत्रमा काम गरेँ र एउटा कराँते स्कूल खोलेँ।...