कठिन समयहरूमा परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास दिए

2 अप्रिल 2022

त्यो बेला, मसँगै धेरै जना सिस्टरहरूलाई “श्रमद्वारा पुनर्शिक्षा” कार्यक्रमको सजाय दिइएको थियो। हामीले दैनिक रूपमा धेरै समय काम गर्नुपर्थ्यो, दिनको कम्तीमा १३ घण्टा खट्नुपर्थ्यो। गार्डहरूलाई चित्त बुझेन भने, तिनीहरूले हामीलाई करेन्टको झट्का दिन इलेक्ट्रिक छडीको प्रयोग गर्थे, वा हामीलाई मुक्‍का र लातले हान्थे। हामी हरेक दिन नै उच्‍च तनावको स्थितिमा बिताउँथ्यौं, र हामीले दिमाग-सफाइका कक्षाहरूमा सहभागिता जनाएर वैचारिक विवरणहरू लेख्‍नुपर्थ्यो। त्यो दीर्घकालीन कष्ट साँच्‍चै नै दुःखदायी थियो, र मलाई गहन रूपमा परमेश्‍वरको वचनको आपूर्तिको तृष्णा हुन्थ्यो। त्यो अवधिमा, हामीले एकअर्कालाई साथ र सहयोग गर्नको लागि आफूलाई याद भएका परमेश्‍वरका वचनहरूका खण्डहरू र भजनहरूमा भरोसा मात्रै गर्न सक्थ्यौं। एक पटक, प्रमुख सहायक गार्डले मलाई मैले कठिन परिश्रम गरेँ भने मेरो सजाय एक महिनाले घट्नेछ भनेर भनिन्। र खुलस्त रूपमा भन्दा, म एक दिनको लागि पनि त्यो श्रम शिविरमा बस्‍न चाहँदिनथिएँ। त्यसकारण, मैले अत्यन्तै धेरै परिश्रम गरेँ। म पानी पनि त्यति पिउँदिनथिएँ, किनभने बाथरूम जाँदा समय बरबाद हुन्छ भन्‍ने मलाई डर लाग्थ्यो। मैले हरेक दिन चिम्टी चलाउने कठिन काम गर्नुपर्थ्यो, र समय बित्दै जाँदा, यो बुडी औँला नराम्ररी दुख्‍न थाल्यो, तर मैले पेनकिलर औषधि लिने बाहेक केही पनि गर्न सक्दिनथिएँ। तर मैले जति कठिन परिश्रम गरे पनि मेरो नाम कहिल्यै पनि सजाय घटाइएकाहरूको सूचीमा देखा परेन। पछि, मेरो हातमा जोर्नी दुख्‍ने रोग लाग्यो, र मैले मेरो आफ्‍नै लुगा समेत धुन सक्दिनथिएँ। साथै, यसमाथि श्रम शिविरको बसाइको अवस्थाको कारणले गर्दा, मलाई आन्द्रा पोल्‍ने र हाडजोड्नी दुख्‍ने रोग लाग्यो। यसको बाबजुद पनि, मैले काम गर्नु नै पर्थ्यो। यदि मैले थोरै काम गरेँ भने, मलाई गाली गरिन्थ्यो, र मेरो सजायको समय घटाइँदैनथियो। म त्यहाँ साँच्‍चै कष्टमा थिएँ। पछि, मेरा सिस्टरहरूले म बिरामी छु भन्‍ने थाहा पाउनुभयो, र उहाँहरूले मलाई सहयोग र साथ दिने उपायहरू खोज्नुभयो। एक पटक कोही पनि नभएको बेला, सिस्टर लीले मेरो लागि परमेश्‍वरको वचनको एउटा खण्ड सानो आवाजमा बोलिदिनुभयो। “वरपरको वातावरणदेखि मानिसहरू, घटनाहरू, र विभिन्न वस्तुहरूसम्म सबै थोक, सबै नै परमेश्‍वरको सिंहासनको अनुमतिद्वारा अस्तित्वमा छन्। तिमीहरूको हृदयमा कहिल्यै गुनासो पैदा नहोस्, नत्र परमेश्‍वरले आफ्‍नो अनुग्रह रोक्‍नुहुनेछ। जब-जब रोग-बिमार आइपर्छन्, यो परमेश्‍वरको प्रेम हो, र तीभित्र अवश्य नै उहाँका दयालु अभिप्रायहरू लुकेका हुन्छन्। तेरो शरीर अलिकति कष्टबाट भएर जानुपर्ने हुनसक्‍ने भए तापनि, शैतानका कुनै विचारहरू मनमा नराख्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६)। परमेश्‍वरका वचनहरू बिउँझाउने किसिमका थिए। परमेश्‍वरले मलाई बिरामी पर्न दिनुभएको हो भन्‍ने कुरा साँचो हो। मेरो रोगको कारण कष्ट र निराशामा जिउनु अलिकति पनि परमेश्‍वरप्रतिको आज्ञापालन थिएन। मैले यो अवधिमा कति कठिन परिश्रम गर्नु परेको थियो र मैले चाहेको एउटै कुरा यो वातावरणबाट मुक्त हुनु थियो भन्‍ने बारेमा विचार गरेँ, तर वास्तवमा, मलाई परमेश्‍वरकै अनुमतिमा पक्राउ गरेर त्यहाँ राखिएको थियो, त्यसकारण मैले त्यसलाई अनुभव गर्नुपर्थ्यो। म त्यहाँबाट कहिले जानसक्छु भन्‍ने बारेमा परमेश्‍वरले नै अन्तिम निर्णय गर्नुहुन्थ्यो, र मैले सधैँ मेरा आफ्‍नै योजना र मापदण्डहरू बनाएकी थिएँ, जसले गर्दा मलाई शैतानले प्रयोग गर्यो र खेलबाड गर्यो। ठूलो रातो अजिङ्गरले सधैँ मानिसहरूलाई धोका दिन र हानि गर्नको लागि यस प्रकारका झूटहरूको प्रयोग गर्छ। मैले कसरी यसका झूटहरूलाई विश्‍वास गर्न सकेँ? यी कुराहरू महसुस गरिसकेपछि, मैले आफ्‍नै तरिकाले काम-कुरा गर्न छोडेँ, मेरा योजना र मापदण्डहरूलाई त्यागेँ, र म कहिले बाहिर निस्कनेछु भन्‍ने कुरालाई परमेश्‍वरकै हातमा छोडेँ।

किनभने त्यो बेला, मैले परमेश्‍वरको अत्यन्तै थोरै वचन मात्रै याद गर्न सकेँ, र परमेश्‍वरको वचनको आपूर्तिविना त्यस्तो पीडादायी र निराशाजनक वातावरणमा त्यति लामो समय बिताउँदा, मलाई विशेष हैरानी र कमजोरी अनुभव भयो। मलाई पक्राउ गरिनुभन्दा पहिले कसरी मैले कुनै पनि समयमा परमेश्‍वरका वचनहरू पढ्न सक्थेँ, परमेश्‍वरको वचनबाट सत्यता बुझ्‍न, अभ्यास गर्ने मार्ग भेट्टाउन, र ज्योति पाएर मेरो हृदयलाई हल्‍का पार्न सक्थेँ, म प्राय: त्यसको बारेमा विचार गर्थेँ। तर त्यो जेलमा हुँदा, म परमेश्‍वरको वचनबाट मात्रै वन्‍चित थिइनँ, म सबै प्रकारको यातनामा परेकी थिएँ, र मैले जेलमा ती तीन वर्षको अवधि कसरी बिताउनेछु मलाई थाहा थिएन। त्यो बेला, मेरा सिस्टरहरू सबै त्यही स्थितिमा हुनुहुन्थ्यो। एक पटक, हामीले आफ्‍नो काम सकेपछि, एक जना सिस्टरले मलाई सानो आवाजमा भन्‍नुभयो, “यहाँ बस्‍नु अत्यन्तै कठिन छ, र यसको अनुभव कसरी गर्ने मलाई थाहा छैन। मैले परमेश्‍वरको वचन पढ्न पाए त एकदम राम्रो हुनेथियो! मैले पहिले परमेश्‍वरका अझै धेरै वचनहरू नपढेकोमा मलाई साँच्‍चै पछुतो भयो। मैले थप एउटा अनुच्छेद कण्ठ गरेको भए पनि हुनेथियो भन्‍ने मलाई लाग्यो।” मलाई पनि त्यस्तै लाग्यो, र मैले फेरि परमेश्‍वरको वचन पढ्न पाए त राम्रो हुनेथियो भन्‍ने सोच आउन थाल्यो। त्यो बेला, मेरा धेरै जना सिस्टरहरूको स्वास्थ्य स्थिति राम्रो थिएन। एक जनाको रक्तचाप उच्‍च थियो र हिँड्न समेत कठिन हुन्थ्यो, एक जनालाई गम्‍भीर मुटुरोग लागेको थियो, र गम्‍भीर रूपमा मधुमेह भएको सिस्टर झाओले पनि हरेक दिन काम गर्नुपर्थ्यो। त्यो बेला, सबैले परमेश्‍वरको वचन पढ्न पाए त हुनेथियो भन्‍ने मलाई लाग्थ्यो, किनभने परमेश्‍वरको वचनले मात्रै मानिसहरूलाई आत्मविश्‍वास र सामर्थ्य दिन सक्छ, र हामीलाई कठिनाइहरूबाट डोर्याउन सक्छ। एक रात, म ओछ्यानमा बसेर प्रार्थना गरिरहेको बेला, मलाई दुई जना सिस्टरहरू भेटघाट कोठामा काम गर्नुहुन्छ भन्‍ने अचानक याद आयो। उहाँहरूले बारम्‍बार बाहिरका मानिसहरूसँग सम्पर्क गर्न पाउनुहुन्थ्यो, र उहाँहरूसँग परमेश्‍वरको वचन हुने सम्‍भावना धेरै थियो। तैपनि, उहाँहरूलाई कसरी सम्पर्क गर्ने मलाई थाहा थिएन। अनपेक्षित रूपमा, केही समयपछि, परमेश्‍वरले मेरो लागि बाटो खोलिदिनुभयो।

एक दिन, गार्ड प्रमुख मकहाँ आएर मलाई “केयरटेकर” बन्‍न चाहन्छौ भनेर सोध्यो। गार्डको सेवा गर्ने केयरटेकर। तिनीहरूको लुगा धुने, खाना बनाउने, तिनीहरूको कोठा सफा गर्ने, र अरू कुनै पनि प्रकारको फोहोरी काम केयरटेकरले गर्छ। त्यसकारण, सुरुमा मलाई त्यो काम गर्न मन लागेन, किनभने त्यो मेरो सामान्य कामभन्दा बढी थकाउने किसिमको थियो। विशेष गरी गार्डहरूको सेवा गर्दा, राम्रो काम गरिएन भने तिनीहरूले हप्काउँछन्। एक पटक, एक जना सिस्टरले मलाई नराम्रो मनस्थितिमा देखेर मसँग यसको बारेमा कुरा गर्नुभयो। उहाँले भन्‍नुभयो, “हरेक कुरामा परमेश्‍वरका असल अभिप्रायहरू हुन्छन्, त्यसकारण तपाईंले परमेश्‍वरको इच्‍छाको खोजी गर्नुपर्छ।” उहाँको कुरा सुनेपछि, मैले सोचेँ, “ठीक कुरा हो। किन म आफ्‍नै भावनाहरूको बारेमा मात्रै विचार गरिरहेकी छु तर परमेश्‍वरको इच्‍छालाई खोजी गरिरहेकी छैन? केयरटेकर भएँ भने म बाहिर गएर काम गर्न सक्छु जसले गर्दा मैले भेटघाट कोठाका सिस्टरहरूलाई भेट्ने मौका पाउन सक्छु। के यो परमेश्‍वरले मेरो लागि खोलिदिनुभएको मार्ग होइन र? केयरटेकरको रूपमा म स्वतन्त्र रूपमा आउने-जाने गर्न सक्छु। सिस्टरहरूले जेल-कोठामा सङ्गति गर्दा म उहाँहरूको लागि ढाकछोप गरिदिन सक्छु र कुनै पनि परिस्थितिहरू आइपर्यो भने गार्डहरूसँग कुरा गरिदिन सक्छु। के यो राम्रो कुरा होइन र?” यसको साथै, मेरो युनिटमा भएका २०० जना कैदीहरूमध्ये चार जनालाई मात्रै केयरटेकरको रूपमा छनौट गरिन सकिन्थ्यो। यो बिरलै आउने अवसर थियो, र परमेश्‍वरले गर्नुभएको सुन्दर बन्दोबस्त।

तर मैले भेटघाट कोठाका दुई जना सिस्टरहरूलाई सम्पर्क गर्नुभन्दा पहिले नै हामीले परमेश्‍वरको वचन प्राप्त गर्यौं। एक रात, म ढल्‍किरहेको बेला, एक जना जवान सिस्टरले घुँडा टेकेर मेरो कानमा बाहिरका दाजुभाइ-दिदीबहिनीहरूले हामीलाई पत्र पठाउनुभएको छ, र उहाँले त्यो पत्र कार्यस्थलमा राख्‍नुभएको छ भनेर भन्‍नुभयो। त्यो रात, म खुशीले सुत्‍नै सकिनँ। भोलि बिहान, म कार्यस्थलमा आएपछि, जवान सिस्टरले कसैले नदेख्‍ने गरी पत्र निकाल्‍नुभयो। त्यो पत्र यति लामो थियो। जब मैले पहिलो वाक्य पढेँ: “जेलमा हुनुभएका दाजुभाइ-दिदीबहिनीहरू…,” मेरो आँखाबाट आँसु बग्‍न थाले। यी शब्‍दहरू अत्यन्तै हृदय-स्पर्शी थिए। मैले मेरो आँखाबाट आँसु पुछ्दै पढेँ। पत्रमा परमेश्‍वरको वचनका धेरै वटा खण्डहरू लेखिएका रहेछन्, तर दुई वटा खण्डले मलाई विशेषगरी प्रभाव पार्यो। परमेश्‍वरका वचनहरूले भन्छन्, “कामको यस चरणमा हामीबाट ठूलो विश्‍वास र प्रेमको आवश्यक हुन्छ। थोरै लापरवाहीको कारण हामीले ठक्कर खान सक्छौं, किनकि यस चरणको काम पहिलेका सबै चरणहरू भन्दा फरक छ: परमेश्‍वरले जे सिद्ध पार्दै हुनुहुन्छ त्यो मानवजातिको विश्‍वास हो, जुन अदृष्य र अमूर्त दुवै छ। परमेश्‍वरले जे गर्नुहुन्छ त्यो वचनहरूलाई विश्‍वासमा, प्रेममा र जीवनमा परिवर्तन गर्नु हो। मानिसहरू त्यो विन्दुमा पुग्नुपर्छ जहाँ तिनीहरूले सयौं शुद्धीकरणहरू सहन गरिसकेका हुन्छन् र तिनीहरूले अय्यूबको भन्दा ठूलो विश्‍वास धारण गरिसकेका हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई नछाडीकनै अविश्‍वसनीय कष्ट र हरप्रकारका यातना सहन गर्नुपर्छ। जब तिनीहरू मृत्युसम्मै आज्ञाकारी रहन्छन्, र तिनीहरूसँग परमेश्‍वरमाथिको ठूलो विश्‍वास हुन्छ, तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (८))। “यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दु:ख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति र परमेश्‍वरको कृपामा विश्‍वासयोग्य रहनुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्)। त्यो बेला म अत्यन्तै प्रभावित र उत्प्रेरित भएँ। मलाई लाग्यो, परमेश्‍वरले साँच्‍चै नै हाम्रो हृदयमा भएको कुरा हेरिरहनुभएको छ, हाम्रो स्थिति र परिस्थितिलाई राम्ररी बुझ्‍नुभएको छ, र उहाँको वचनको पानी र भरणपोषण पठाउन यी दाजुभाइ-दिदीबहिनीहरूलाई प्रयोग गर्नुभयो। यो परमेश्‍वरको प्रेम थियो। मैले परमेश्‍वरका वचनहरू मनन गरेँ र सुसमाचार सुनाउन र हाम्रो कर्तव्य पूरा गर्नको लागि परिवार र जागिर त्याग्‍नु भनेको एउटा गवाही नै हो, चाहे हामीले यसको लागि जति नै कष्ट किन नभोगौं। यातना भोगेर पनि परमेश्‍वरलाई धोका नदिनु पनि गवाही नै हो। लामो समयसम्‍म यातना सहेर पनि विश्‍वासमा नै रहनु र परमेश्‍वरलाई नै पछ्याइरहनु अझै शक्तिशाली गवाही हो। मैले अहिले शैतानको अघि परमेश्‍वरको गवाही दिने मौका पाएको तथ्य परमेश्‍वरले गर्नुभएको उत्थान र धार्मिकताको निम्ति सताइनु थियो। मैले परमेश्‍वरको इच्‍छालाई बुझेपछि, म रोएँ र परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले भनेँ, “हे परमेश्‍वर! म तपाईंले मलाई दिनुभएको प्रेमको स्तरमा जिउनेछु। यी तीन वर्षको अवधि अत्यन्तै लामो हुने भए पनि, पुलिसले मलाई जसरी यातना दिए पनि वा मैले जति कष्ट भोगे पनि, म दह्रिलो गरी खडा हुनेछु, तपाईंको लागि गवाही दिनेछु, र शैतानलाई लाजमा पार्नेछु।” परमेश्‍वरको वचन पढेपछि, उहाँहरूले पनि अत्यन्तै उत्प्रेरित भएर विश्‍वास प्राप्त गर्नुभयो। सिस्टर गाओलाई आफू जेलमा परेकोमा इष्टमित्रले गिल्‍ला गर्छन् र भेदभाव गर्छन् भन्‍ने चिन्ता गर्छन् र तिनीहरूले उहाँको बारेमा कुरा काट्नेछन् भन्‍ने चिन्ता थियो। परमेश्‍वरको वचन पढेपछि, उहाँले के बुझ्‍नुभयो भने परमेश्‍वरमा विश्‍वास गरेको कारण जेल पर्नु धार्मिकताको निम्ति सताइनु हो, जुन लाजमर्दो कुरा होइन, र दह्रिलो गरी खडा भएर परमेश्‍वरको गवाही दिनको लागि कष्ट भोग्‍नु मूल्यवान् र अर्थपूर्ण कुरा हो।

त्यसपछि, हामीले यी कुराको बारेमा बसेर छलफल गर्यौं, र हामीले अरू सिस्टरहरूलाई पनि परमेश्‍वरका वचनहरू हस्तान्तरण गर्नुपर्छ भन्‍ने निर्णय गर्यौं, ताकि उहाँहरूले पनि उहाँका वचनहरूको आपूर्ति पाउन सक्नुहोस्। श्रम शिविरका नियमहरू अत्यन्तै कडा थिए। हामीलाई अरू युनिटका कैदीहरूसँग कुरा गर्ने वा उहाँहरूलाई सामान दिने अनुमति थिएन। हामीले आँखा समेत जुधाउनु हुँदैनथियो। हाम्रो कहिलेकहीँ उहाँहरूसँग जम्काभेट भए पनि, हामीलाई ऊहाँहरूको नजिक जाने अनुमति थिएन। त्यसकारण, यदि हामीले अरू सात वटा युनिटका १०० जना सिस्टरहरूलाई नोटहरू हस्तान्तरण गर्न चाहन्थ्यौं भने, यो अत्यन्तै खतरनाक कार्य हुनेथियो। त्यस बाहेक, गार्डहरूले हरेक हप्ता हाम्रो ओछ्यान पल्टाउँथे र हाम्रो जीउमा खानतलासी गर्थे। तिनीहरूले हरेक कुना-कुना खोज्थे। यदि हामी कुनै एउटा कुरामा होशियार भएनौं र त्यो कुरा पत्ता लाग्यो भने, अनुसन्धानले मलाई नै पक्रिन्थ्यो। एक जना गार्डले त मलाई यसो भनेर समेत चेतावनी दिइन्, “यदि तैँले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू फैलाउने प्रयास गरिस् भने, म तँलाई थप तीन वर्ष सजाय दिनेछु र तँलाई महिलाहरूको जेलमा पठाउनेछु।” एक जना धर्मका विश्‍वासीले धर्मशास्‍त्रका खण्डहरू बाँढेको पत्ता लाग्यो। उनलाई सिमेन्टको भुइँमा दश दिनसम्‍म हलचल नगरी बस्‍न लगाएर सजाय दिइएको थियो। त्यो बेला, मैले सोचेँ, “यो ठट्टा होइन। यदि तिनीहरूले थाहा पाए भने, मैले अझै नराम्रो कष्ट भोग्‍नु पर्नेछ।” मैले यसको बारेमा जति विचार गरेँ, मलाई यो त्यति नै कठिन लाग्यो, र निकै डर पनि लाग्यो। तर त्यसपछि, मलाई परमेश्‍वरका वचनहरू याद आयो, “विश्वास भनेको एउटै मुढाको पुलजस्तो हुन्छ: दयनीय रूपले जीवनमा अल्झिरहेका मानिसहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफूलाई बलिदान दिन तयार रहेकाहरूले नडगमगाइ र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्। यदि मानिसले आफ्नो मनमा डरपोक र भयका विचारहरू राख्छ भने शैतानले उनीहरूलाई मूर्ख बनाएको हुन्छ, हामी विश्वासको पुल पार गरी परमेश्‍वरमा प्रवेश गरौंला भनी त्यो डराएको हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६)। परमेश्‍वरका वचनहरूले अत्यन्तै प्रोत्साहन दिए। गार्डहरू पनि परमेश्‍वरकै हातमा थिएनन् र? मेरो बारेमा पत्ता लाग्छ कि लाग्दैन भन्‍ने कुरा पनि परमेश्‍वरकै हातमा थियो। यदि हामीले परमेश्‍वरमा भरोसा गर्यौं भने कुनै पनि कुरा असम्‍भव हुँदैन भन्‍ने मलाई विश्‍वास थियो। मलाई शैतानले विचलित तुल्याएको हुनाले ममा यस्ता डरका विचारहरू आएका थिए। दण्ड र यातना भोग्‍ने डरको कारण, शैतानले मलाई विचलित पार्न र बाधा दिनको लागि मेरो कमजोरीको प्रयोग गर्यो। यदि यातनाको डरले मैले हरेस खाएकी भए, के म शैतानको छलमा परिरहेकी हुनेथिइनँ र? यस बीच, मेरा सिस्टरहरू पीडादायी वातावरणमा थिए, र उहाँहरू सबैलाई परमेश्‍वरका वचनहरूको आपूर्ति चाहिएको थियो, त्यसकारण उहाँहरूलाई परमेश्‍वरको वचन हस्तान्तरण गर्ने कर्तव्य मेरो थियो। हाम्रो सामान्य कामको बेला, अरू युनिटका सिस्टरहरूसँग सम्पर्क गर्नु कठिन हुन्थ्यो। हामीले ठूलो चमेनागृहमा सँगै खाना खाँदा मात्रै उहाँहरूलाई भेट्थ्यौं। त्यसकारण, हामीले खानाको समयमा नोटहरू हस्तान्तरण गर्ने योजना बनायौं। डाइनिङ्ग हलमा धेरै वटा सेक्युरिटी क्यामेरा राखिएका थिए, र खानाको बेला हामीलाई बोल्‍ने वा यता-उता हिँड्ने अनुमति थिएन। हामीले पाँच मिनेटमा खाना खाई सक्‍नुपर्थ्यो। त्यसकारण परमेश्‍वरको वचन हस्तान्तरण गर्नु निकै कठिन थियो। तर, परमेश्‍वरको वचन हस्तान्तरण गर्ने प्रक्रियामा, मैले साँचो रूपमा परमेश्‍वरको आश्‍चर्यजनक कार्यहरूलाई देखेँ। त्यो दिन, मैले युनिट ४ र ७ का सिस्टरहरूलाई नोटहरू हस्तान्तरण गर्ने योजना बनाएकी थिएँ। मैले भाँडा माझिरहेको बेला, मैले युनिट ४ को सिस्टर मिनलाई हेरेँ। अनपेक्षित रूपमा, उहाँले पनि आफ्‍नो शिर उठाएर मतिर हेर्नुभयो। मैले उहाँलाई आएर भाँडा माझ्‍न आँखाको चालले इसारा गरेँ। उहाँले मैले भनेको कुरा उहाँले बुझ्‍नुहुन्‍न होला भन्‍ने चिन्ता लागेको थियो, तर परमेश्‍वरलाई धन्यवाद होस्, उहाँले तुरुन्तै बुझिहाल्‍नुभयो। हामी दुवै जना एउटै समयमा सामान राख्‍ने ठाउँमा गयौं र मैले तुरुन्तै नोट निकालेर उहाँको खल्तीमा हालिदिएँ। एक-दुई सेकेन्ड मात्रै लाग्यो। त्यो बेला, म परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ भएँ।

भाग्यवश, युनिट ७ को मैले चिनेको सिस्टर मेरै लाइनमा बस्‍नुभएको थियो, र मेरो सिटबाट उहाँ एक मिटर पनि टाढा हुनुहुन्‍नथियो। श्रम शिविरको नियम के थियो भने हामीले जानको लागि उठ्नुभन्दा पहिले हरेक युनिटका मोनिटरहरूको आदेश पर्खनुपर्थ्यो। त्यो बेला, मलाई के चिन्ता लागेको थियो भने यदि हाम्रो दुई युनिट एउटै समयमा खडा भएनौं भने, म उनको नजिक जान सक्दिनथिएँ। त्यसकारण मैले मेरो हृदयमा परमेश्‍वरलाई निरन्तर प्रार्थना गरिरहेँ। केही समयपछि नै, हाम्रो दुई युनिटका मोनिटरहरूले हामीलाई लगभग उही समयमा उठ्ने आदेश दिए। म उठेपछि, मैले तुरुन्तै सिस्टरको हातमा नोट राखिदिएँ। यो आँखा झिमिक्‍क गर्दा भयो, र गार्डलाई थाहै भएन। परमेश्‍वर धन्यवाद! मेरा सिस्टरहरूको सहयोगले, अरू युनिटका सिस्टरहरूले पनि परमेश्‍वरको वचन प्राप्त गर्नुभयो। मैले त्यति सजिलै परमेश्‍वरको वचन हस्तान्तरण गर्न सक्छु भनेर साँच्‍चै सोचेकी थिइनँ। मैले साँच्‍चै नै परमेश्‍वरको निम्ति केही पनि कठिन छैन भन्‍ने देखेँ। परमेश्‍वरको वचन हस्तान्तरण गर्ने यो प्रक्रियाद्वारा, मेरा सिस्टरहरूले परमेश्‍वरप्रतिको थप विश्‍वास प्राप्त गर्नुभयो।

परमेश्‍वरको वचन हस्तान्तरण गरेको आधा महिना नबित्दै, श्रम शिविरले सर्वशक्तिमान् परमेश्‍वरका सबै विश्‍वासीहरूले त्यागपत्र लेख्‍ने माग गर्यो। हामीलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न छोडेको कबुल गर्न लगाइयो। केही दिन पहिले, सिस्टरहरूले परमेश्‍वरको वचन पढ्नुभएको थियो, त्यसकारण उहाँहरू सबैसँग दह्रिलो गरी खडा भएर परमेश्‍वरको गवाही दिने विश्‍वास थियो। शैतानको बहकाउमा नपर्न हामीले एकअर्कालाई सङ्केत र प्रोत्साहन दियौं। तर एक हप्तापछि, त्यागपत्र नलेख्‍ने अरू युनिटका सिस्टरहरूको बारेमा मैले सुनेँ। कतिलाई यातना दिइयो, कतिलाई सानो खोरमा बस्‍न बाध्य गरियो, र कतिलाई थप जेल सजाय दिइयो। त्यो अवधिमा, श्रम शिविरको वातावरण पहिलेको भन्दा निकै अत्याचारी थियो। सधैँ आतङ्कको आभास हुन्थ्यो, मानौं कुनै भयानक घटना कुनै पनि बेला घट्नेछ। यो वातावरणको अन्त्य कहिले हुनेछ वा हामीलाई यसपछि यातना दिन गार्डहरूले के-कस्ता विधिहरूको प्रयोग गर्नेछन् भन्‍ने कुरा थाहा नभएकोले यस्तो भएको थियो। त्यसकारण, त्यो बेला सबै जना विशेषगरी दयनीय र निराश अवस्थामा हुनुहुन्थ्यो। हामीले निरन्तर परमेश्‍वरसँग प्रार्थना गर्न र हाम्रो लागि मार्ग खुला गर्नको लागि उहाँलाई अनुरोध मात्रै गर्न सक्थ्यौं। त्यो बेला, सबै जना सिस्टरहरूले यो दृष्टिकोण राख्‍नुभएको थियो: जेसुकै भए पनि, हामीले विश्‍वासत्यागको पत्र लेख्‍नु हुँदैन, र हामीले दह्रिलो भई खडा भएर परमेश्‍वरको गवाही दिनुपर्छ। हामी हाम्रा गार्डसँगको गतिरोधमा बसेको दुई दिन भइसकेको थियो, त्यसपछि, उनका विधिहरूले काम नगरेको देखेर, तिनीहरूले सम्झौता गरे। उनका आदेशहरूलाई पालना गर्ने तरिकाको रूपमा, उनले हामीलाई जेसुकै भए पनि लेख्‍न अनुमति दिइन्। परमेश्‍वरले हाम्रो लागि मार्ग खोल्‍नुभएको छ भन्‍ने हामी सबैलाई थाहा थियो, र हामी सबै परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ थियौं।

हामीले पहिलो पटक परमेश्‍वरको अत्यन्तै थोरै वचन प्राप्त गरेका थियौं, त्यसकारण, समय बित्दै जाँदा हाम्रो हृदय फेरि परमेश्‍वरको वचनप्रति भोकायो। एक पटक, भेटघाटको दिनमा, मैले अरू मानिसहरूको परिवारका सदस्यहरू जेलमा भेट्न आएको देखेँ र मलाई मेरो परिवारको धेरै याद आयो। मलाई मेरा वृद्ध बुबा-आमाको याद आयो, र उहाँहरूको हालखबर के छ मलाई थाहा थिएन। त्यो अवधिमा, म प्रायजसो मेरो घरका यादहरू सम्झने गर्थेँ, र समय बित्दै जाँदा, त्यस कुराले मलाई नकारात्मक बनायो। जब एउटै कोठामा बस्‍ने सिस्टरले म नकारात्मक स्थितिमा छु भन्‍ने देख्‍नुभयो, उहाँले मेरो कानमा परमेश्‍वरको वचनको एउटा खण्ड अरूले नसुन्‍ने गरी बताउनुभयो। “मानिसको भाग्य परमेश्‍वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिसले सधैँ आफ्नै खातिर भागदौड गरे तापनि र व्यस्त रहे तापनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै भविष्यलाई नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृष्टि गरिएको प्राणी नै हुनेथिइस् र? सङ्क्षेपमा, परमेश्‍वरले जसरी काम गर्नुभए तापनि, उहाँको सबै काम मानिसको निम्ति हो। उदाहरणको निम्ति, आकाश तथा पृथ्वी र उहाँले सृष्टि गर्नुभएका सबै कुराहरू मानिसको सेवा गर्नकै निम्ति हुन्: उहाँले मानिसको निम्ति बनाउनुभएको चन्द्र, सूर्य अनि ताराहरू, जनावरहरू र वनस्पति, वसन्त ऋतु, वर्षा ऋतु, शरद ऋतु तथा शिशिर इत्यादि—सबै मानिसको खातिर नै बनाइएका हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। मैले परमेश्‍वरका वचनहरू मनन गरेँ, त्यसपछि सबैको भवितव्य परमेश्‍वरकै हातमा हुन्छ भन्‍ने कुरा बुझेँ त्यसकारण मेरो परिवारको हालखबर ठीकठाक छ कि छैन भन्‍ने कुरा पूर्ण रूपमा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा निर्भर थियो। यदि मैले मेरो परिवारलाई परमेश्‍वरको हातमा समर्पित गरेँ भने, मैले केको चिन्ता गर्नुपर्थ्यो र? मैले यसको बारेमा चिन्ता लिनु पर्दैनथियो। परमेश्‍वरको वचनले मलाई नकरात्मक हुन छोड्न सहयोग गर्यो र मलाई सामर्थ्य दियो, र मैले साँचो रूपमा नै हामी परमेश्‍वरको वचनको अगुवाइविना रहन सक्दैनौं भन्‍ने थाहा पाएँ। त्यसकारण मैले परमेश्‍वरसँग प्रार्थना गरेँ र परमेश्‍वरको अझै धेरै वचन कसरी प्राप्त गर्ने भनेर उहाँलाई सोधेँ अनि भविष्यमा आइपर्ने कुरामा अगुवाइ गर्न अनुरोध गरेँ। त्यसपछि, मलाई भेटघाट कोठाका दुई जना सिस्टरहरूका बारेमा याद आयो। यदि मैले उहाँहरूलाई सम्पर्क गर्न सकेँ भने मैले परमेश्‍वरको थप वचन प्राप्त गर्ने मौका मिल्‍न सक्थ्यो। मैले यसको बारेमा परमेश्‍वरसँग प्रार्थना गरेँ र हामीलाई उचित अवसर दिन उहाँलाई अनुरोध गरेँ।

एक दिन बिहान, प्रमुख गार्डले मलाई बोलायो, “मसँग हिँड्, तैँले भेटघाट कोठा सफा गर्नुपर्छ।” म भेटघाट कोठामा गइरेहकी छु भन्‍ने सुनेपछि, मेरो हृदय खुशीले फुरुङ्ग भयो। मेरो मौका यही थियो। मैले त्यहाँ बिताएको तीन वर्षको अवधिमा म भेटघाट कोठामा गएको यही बेला मात्रै थियो, त्यसकारण, त्यो बेला यो परमेश्‍वरले मेरो लागि मिलाउनुभएको अवसर हो भन्‍ने कुरामा म निश्‍चित थिएँ। हामी भेटघाट कोठामा पुगेपछि, मुख्य गार्ड अरू गार्डहरूसँग कुराकानी गर्न गयो। म पछाडिको किचनमा हतार-हतार गएँ। मैले दुई जना सिस्टरहरू खाना पकाउन व्यस्त रहनुभएको देखेँ, त्यसकारण मैले हतारमा केही खानेकुरा छ कि भनेर सोधेँ। उहाँहरूले मैले भनेको कुरा बुझिहाल्‍नुभयो र भन्‍नुभयो, “छ।” त्यसपछि, उहाँहरूमध्ये एक जनाले मलाई कपडाको झोलाबाट कागजको पोका निकालेर दिनुभयो। हामीले लामो समयदेखि प्रतीक्षा गरेको परमेश्‍वरको वचन बल्‍ल भेट्यौं भन्‍ने मलाई महसुस भयो र मेरो मनस्थिति कस्तो थियो भन्‍ने बारेमा कसरी व्याख्या गर्ने मलाई थाहा छैन। तर मलाई अलिक चिन्ता पनि लागेको थियो, किनभने हातले लेखेको कागजको पोका ठूलो हाँसको अण्डाभन्दा ठूलो थियो। मैले यसलाई मेरो अन्डरवेरमा राखेँ, तर यो पोका स्पष्टै देखिन्थ्यो। मैले यसलाई मेरो पाइन्टको गोजीमा राख्‍ने प्रयास गरेँ, तर नअटेर खस्यो। मेरो शरीरमा लुकाउने कहीँ ठाउँ छैन भन्‍ने देखेर म आत्तिएँ। मैले माथि हेरेँ र सबैतिर सेक्युरिटी क्यामेरा राखिएको देखेँ, र म चिन्ताले विचलित भएँ। यदि मेरो बारेमा पत्ता लाग्यो भने सबै कुरा खतम हुनेथियो। यसका परिणामहरू भयानक हुनेथियो। तर त्यही बेला, मैले सोचेँ, यदि मैले यो मौका गुमाएँ भने, मैले परमेश्‍वरको वचन प्राप्त गर्ने अर्को मौका कहिल्यै भेट्टाउन सक्दिनँ। हामीलाई परमेश्‍वरका वचनहरूको धेरै खाँचो थियो, र मैले ती वचनहरू फिर्ता दिन सक्दिनथिएँ। त्यो बेला, म यति आत्तिएकी थिएँ कि के गर्ने मलाई थाहा थिएन। अचानक, मलाई स्पष्ट रूपमा परमेश्‍वरको वचनको एउटा हरफ याद आयो, “नडरा, सेनाहरूका सर्वशक्तिमान्‌ परमेश्‍वर अवश्य नै तेरो साथमा हुनेछ; उहाँ तेरो पछाडि खडा हुनुहुन्छ र उहाँ तेरो ढाल हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २६)। साँचो हो। सबै कुरामाथि परमेश्‍वरको सार्वभौमिकता छ, त्यसकारण मलाई भेट्टाइन्छ कि भेट्टाइँदैन भन्‍ने कुरा पनि उहाँकै हातमा थियो। परमेश्‍वर मेरो साथमा हुनुहुन्छ भने मैले केको डर मान्‍नुपर्थ्यो र? यो कुरा महसुस गरेपछि म निकै शान्त भएँ। मैले परमेश्‍वरको वचनका पुस्तक-पुस्तिकाहरू स्थानान्तर गर्ने दाजुभाइ-दिदीबहिनीहरूको बारेमा सम्झेँ। ठूलो रातो अजिङ्गरको कडा निगरानीमा पनि, उहाँहरूले धेरै जना दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरको वचनका धेरै पुस्तक-पुस्तिका प्रदान गर्न सक्नुभयो। के उहाँहरूले पनि आफ्‍नो वातावरणको अनुभव गर्नको लागि परमेश्‍वरमा नै भरोसा गर्नुभएन र? त्यसकारण, मैले सोचेँ, “यदि मैले परमेश्‍वरमा भरोसा गरेँ भने, उहाँले मेरो लागि बाटो खोल्‍नुहुनेछ।” त्यो विचार गरेपछि, उप्रान्त म हिचकिचाइनँ, र परमेश्‍वरको वचन मसँगै लैजाने निर्णय गरेँ। त्यसकारण, मैले फेरि परमेश्‍वरको वचन लेखिएको कागजको डल्‍ला अन्डरवेरमा नै हालेँ, मेरो सर्ट हातले छातीबाट बाहिर तानेँ, र कम्‍मर राम्ररी कसेँ, त्यसपछि त्यो पोका स्पष्ट देखिएन। मैले मनमनै विचार गरेँ, “मैले सुरुमा कार्यस्थलमा परमेश्‍वरको वचन ल्याउनुपर्छ, त्यसपछि सफा गर्न आउनुपर्छ।” कार्यस्थलमा जाने ढोका सेक्सन प्रमुख झाङ्गको निगरानीमा छ भन्‍ने मलाई याद आयो। तिनले मलाई अप्ठ्यारा कामहरू गर्न लगाउँथिन्, त्यसकारण तिनले मलाई विश्‍वास गर्थिन्। त्यो क्षणमा, यो परमेश्‍वरले मेरो लागि खोलिदिनुभएको बाटो हो भन्‍ने कुरा स्पष्ट रूपमा थाहा पाएँ। त्यसकारण, म सीधै सेक्सन प्रमुख झाङ्गको कार्यालयमा गएँ र मैले अरूले नसुन्‍ने गरी तिनलाई भनेँ, “चिफ झाङ्ग, मलाई महिनावारी भइरहेको छ। म एकछिन माथिल्‍लो तलामा जान चाहन्छु।” म माथिल्‍लो तलामा एकलै जान चाहन्छु भन्‍ने सुनेपछि उनको अनुहार बिग्रियो। उनले भनिन्, “हुँदैन, तिमीलाई यहाँ ल्याउने गार्डसँग फर्केर जाऊ। तिम्रो गार्ड खोइ?” उनले हाम्रो गार्ड खोज्‍न यता-उता हेरिन्। केही नराम्रो कुरा हुन लागेको छ भन्‍ने मलाई लाग्यो, त्यसकारण म अलिक आत्तिएँ। यदि मलाई फर्काएर लैजान गार्ड आइन् भने सबै कुरा खतम हुनेथियो। हाम्रो गार्डले कैदीहरूलाई विशेष गरी कडा व्यवहार गर्थिन्। यदि उनले म फर्केर जान चाहन्छु बन्‍ने थाहा पाइन् भने, उनले असहमति मात्रै जनाउनेथिइनन्, तर मलाई महिनावारी भएको छ कि छैन भनेर समेत जाँच गर्नेथिइन्। यदि उनले मसँग परमेश्‍वरको वचन छ भन्‍ने पत्ता लगाइन् भने उनले मलाई मरणासन्‍न हुने गरी कुट्ने थिइन्। त्यो बेला, मेरो मुटु अत्यन्तै ढुकढुक गरिरहेको थियो। मैले परमेश्‍वरलाई पुकार्दै प्रार्थना गरिरहेँ। त्यही बेला, त्यही बेला मलाई मैले सेक्सन चिफ झाङ्गको लागि कपडाका एक-दुई वटा झोला बनाएको थिएँ भन्‍ने याद आयो। मैले उनलाई तुरुन्तै सोधेँ, “चिफ झाङ्ग, मैले तपाईंको लागि बनाइदिएको कपडाको झोलाहरू मन पर्यो? तपाईंलाई अरू केही कुरा चाहियो भने, भन्‍नुहोला।” मैले यसो भनेको सुन्‍ने बित्तिकै उनी अलिक शान्त भइन्। मैले परमेश्‍वरले मेरो लागि बाटो खोलिरहनुभएको छ भन्‍ने थाहा पाएँ। मैले उनलाई भनेँ, “चिफ झाङ्ग, चिन्ता नगर्नुहोस्, म एक मिनेटभन्दा कम समयमा फर्किनेछु!” उनले प्रतिक्रिया दिइनन्, त्यसकारण म तुरुन्तै माथिल्‍लो तलामा गएँ। जाँदै गर्दा, मलाई कार्यस्थलमा जानको लागि फलामको ढोकाबाट भएर जानुपर्छ भन्‍ने अचानक याद आयो। नियम अनुसार, यो ढोका प्रायजसो बन्द हुन्थ्यो, तर यस विन्दुमा, मसँग त्यसको बारेमा विचार गर्ने मानसिक शक्ति थिएन, र मलाई त्यति धेरै डर पनि लागेको थिएन, किनभने यो प्रक्रियामा परमेश्‍वर मेरो साथमा हुनुहुन्छ र उहाँले मलाई चरणबद्ध रूपमा अगुवाइ गरिरहनुभएको भन्‍ने मैले स्पष्ट रूपमा देखेकी थिएँ। जब म फलामको ढोकामा पुगेँ, यो खुला अवस्थामा नै रहेको देख्दा म छक्‍क परेँ, र अर्कोपट्टि, भित्री गल्‍लीमा कुनै गार्ड थिएनन्। मैले हृदयबाट परमेश्‍वरलाई बारम्‍बार परमेश्‍वरलाई धन्यवाद दिएँ। म हतारहतार कार्य स्थलमा गएँ र परमेश्‍वरको वचन मेरो सिस्टरलाई दिएँ, र मानसिक रूपमा, मैले बोकिरहेको ठूलो ढुङ्गा बिसाए जस्तै भयो। मलाई यहोवा परमेश्‍वरले यहोशूलाई भन्‍नुभएको वचन याद आयो, “दह्रिलो र साहसी बन्; नडरा, र हतोत्साहित पनि नबन्: किनकि तँ जहाँ जहाँ जान्छस्, त्यहाँ त्यहाँ तेरो परमेश्‍वर यहोवा तैँसँग हुनुहुन्छ(यहोशू १:९)। साँचो हो, परमेश्‍वर नै सृष्टिकर्ता हुनुहुन्छ, सबै थोक परमेश्‍वरकै हातमा छ, र सबै मानिसहरू, घटना, र परिस्थितिले परमेश्‍वरको काममा सेवा गर्छन्। यो अनुभवले मलाई परमेश्‍वरको आश्‍चर्यजनक कार्य देख्‍ने र परमेश्‍वरको अख्तियार सबैभन्दा माथि छ भन्‍ने देख्‍ने मौका दियो। फर्केर हेर्दा, परमेश्‍वरले कसरी हरेक चरणमा सबै कुरा मिलाउनुभयो भन्‍ने कुरा देखेँ। उदाहरणको लागि, कैदीले सेक्सन चिफ झाङ्गलाई सम्पर्क गर्नु निकै कठिन हुन्छ। हजार जनाभन्दा बढी कैदीहरूमध्ये उनले मलाई मात्रै उनको लागि काम गर्न लगाइन्। यो परमेश्‍वरले मेरो लागि तयार गर्नुभएको कुरा हो। हरेक पटक काम गर्दा हाम्रो निगरानी गर्ने प्रमुख गार्डले त्यो बेला मलाई हेरिरहेकी थिइनन्, र सामान्यतया बन्द हुने फलामको ढोका पनि यस पटक बन्द थिएन। सबै कुरा असामान्य थियो। यो बाइबलले भनेको जस्तै थियो, “राजाको हृदय यहोवाको हातमा छ, पानीका नदीहरूजस्तै: उहाँले जता चाहनुहुन्छ यसलाई उतै फर्काउनुहुन्छ” (हितोपदेश २१:१)। यी वचनहरू सबै अत्यन्तै साँचो हुन्! म परमेश्‍वरको शक्तिको प्रशंसा नगरी बस्‍न सकिनँ। परमेश्‍वर धन्यवाद! परमेश्‍वरको वचनको थप तीन वटा नयाँ अध्यायहरू, “तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ,” “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ,” “सर्वशक्तिमान्‌को सुस्केरा,” र दर्जनौँ भजनहरू। त्यस्तो वातावरणमा हामी आत्मिक रूपमा तृषित थियौं, त्यसकारण कुनै पनि परमेश्‍वरको वचन देख्‍न पाउँदा खुशी लाग्थ्यो, तर यो खण्ड पढ्दा विशेषरूपमा खुशी लाग्यो: “यस संसारमा भएको हरेक कुरा सर्वशक्तिमान्‌का विचारहरू र उहाँको प्रत्यक्ष निगरानीमा द्रुत गतिमा परिवर्तन हुन्छ। मानवजातिले कहिल्यै नसुनेका कुराहरू अकस्मात् आइपुग्छन्, जबकि मानवजातिले लामो समयदेखि अधिकार जमाएका कुराहरू थाहै नपाई फुत्कन्छन्। सर्वशक्तिमान्‌को स्थान विशेषका बारेमा कसैले पनि बुझ्न सक्दैन, सर्वशक्तिमान्‌को जीवनशक्तिको सर्वश्रेष्ठता र महान्‌ता जोकोहीले बुझ्ने कुरा त परै जाओस्‌। उहाँ यो अर्थमा सर्वश्रेष्ठ हुनुहुन्छ कि मानवले बुझ्न नसक्ने कुरा उहाँले बुझ्नुहुन्छ। उहाँ यस अर्थमा महान् हुनुहुन्छ कि मानवजातिद्वारा त्यागिनुभए तापनि उहाँले अझै मानवजातिलाई मुक्ति दिनुहुन्छ। उहाँलाई जीवन र मृत्युको अर्थ थाहा छ, र त्यसका अतिरिक्त, उहाँले सृष्टि गर्नुभएको मानवजातिले पालना गर्नुपर्ने अस्तित्वका नियमहरू उहाँलाई थाहा छ। उहाँ मानव अस्तित्वको आधार हुनुहुन्छ, र उहाँ नै उद्धारक हुनुहुन्छ जसले मानवजातिको फेरि पुनरुत्थान गर्नुहुन्छ। उहाँले खुशी हृदयलाई दुःखित पार्नुहुन्छ, र दुःखित हृदयलाई खुशी दिएर उठाउनुहुन्छ, सबै आफ्नो कार्यको खातिर, र आफ्नो योजनाको खातिर। … सर्वशक्तिमान्‌ले यी मानिसहरूमाथि कृपा गर्नुहुन्छ जो गहिरोगरी कष्टमा छन्‌; त्यसैगरी, यी मानिसहरूसँग दिक्क हुनुहुन्छ जोसँग चेतनाको अभाव छ, किनकि मानवबाट उत्तर प्राप्त गर्न उहाँले लामो समय पर्खनुपरेको छ। उहाँले खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ, तेरो लागि पानी र खाना ल्याउन र तँलाई ब्यूँझाउन चाहनुहुन्छ, ताकि तँ अब उप्रान्त तिर्खाउन र भोकाउन नपरोस्‌। जब तँ थाक्छस् र जब तैँले यो संसारको निराशाजनक वैराग्यपनका केही कुरा महसुस गर्न थाल्छस्, तब तँ हताश नबन्, नरू। सर्वशक्तिमान्‌ परमेश्‍वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई स्वीकार्नुहुनेछ। उहाँले तेरो नजिकैबाट रखवाली गर्दै हुनुहुन्छ, तँ फर्किने प्रतीक्षा गर्दै हुनुहुन्छ। उहाँ तेरो स्मृति अकस्मात् फर्किने दिनको प्रतिक्षा गर्दै हुनुहुन्छ: जुन दिन तैँले तँ परमेश्‍वरबाट आइस्, तैँले कुनै अज्ञात समयमा आफ्नो दिशा गुमाइस्, कुनै एक अज्ञात समयमा तैँले बाटोमा चेतना गुमाइस्, र कुनै अज्ञात समयमा एक ‘पिता’ प्राप्त गरिस् भन्ने कुरा महसुस गर्छस्; यसका अतिरिक्त, जुन दिन तैँले सर्वशक्तिमान्‌ले तेरो फिर्तीको लागि धेरै, धेरै लामो समयदेखि त्यहाँ पर्खँदै, सधैँ रखवाली गर्दै आउनुभएको छ भन्ने कुरा महसुस गर्छस्। बिना कुनै उत्तर तेरो प्रत्युत्तरको प्रतीक्षा गर्दै, उहाँले पूरा व्यग्र इच्छाको साथ रखवाली गर्दै आउनुभएको छ। उहाँको रखवाली र प्रतीक्षा अमूल्य छन्, र ती मानव हृदय र मानव आत्माका खातिर हुन्। सायद ती रखवाली र प्रतीक्षा असीमित छन, र सायद ती समाप्तिमा आएका छन्। तर, तेरो हृदय र तेरो आत्मा अहिले ठ्याक्कै कहाँ छन् भन्ने कुरा तैँले जान्नुपर्दछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सर्वशक्तिमान्‌को सुस्केरा)। परमेश्‍वरका वचनहरू पढेपछि हाम्रा धेरै जना सिस्टरहरूले आँसु झार्नुभयो। हामीले परमेश्‍वरका वचनहरूमा मानवजातिको निम्ति परमेश्‍वरको प्रेम र कृपा देख्यौं। परमेश्‍वरले मात्रै हामीलाई साँचो वास्ता गर्नुहुन्छ र हाम्रो भविष्य र गन्तव्यको बारेमा चिन्ता गर्नुहुन्छ। अरू कोसँग त्यस्तो महान् प्रेम छ र? त्यो बेला, मैले गम्‍भीर बिरामी पर्नुभएको सिस्टरलाई दिने मौका पर्खिरहेकी थिएँ। उहाँको अवस्था अत्यन्तै खराब थियो, तर परमेश्‍वरका वचनहरूबाट उहाँले परमेश्‍वरको इच्‍छा बुझ्‍नुभयो, र उहाँले आफ्‍नो कष्टको बेला गुनासो गर्नुभयो भने त्यसले परमेश्‍वरको हृदयमा चोट पुर्याउँछ र त्यसमा कुनै गवाही हुँदैन भन्‍ने थाहा पाउनुभयो। उहाँले आफ्‍ना कार्यहरूप्रति पछुतो गर्नुभयो र बिरामी अवस्थामा परमेश्‍वरको इच्‍छा के छ सो खोजी गर्ने, र परमेश्‍वरको हृदयलाई सान्त्वना दिन गवाहीको रूपमा खडा हुने आशा गर्नुभयो। त्यो बेला मेरो हृदय पनि छोएको थियो, विशेषगरी परमेश्‍वरको वचनको यो खण्ड पढ्दा: “तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै तैँले आफ्नो कर्तव्य पूरा गर्न थाल्छस्। परमेश्‍वरको योजना र उहाँको विधिको लागि तैँले आफ्नो भूमिका खेल्छस् र तैँले आफ्नो जीवन यात्रा सुरुआत गर्छस्। तेरो पृष्‍ठभूमि जस्तोसुकै होस् र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि स्वर्गको व्यवस्थापन र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि तिनीहरूको गन्तव्य आफ्नै वशमा हुँदैन, किनकि सबै थोकमाथि शासन गर्नुहुने उहाँ मात्र यस्तो कार्य गर्न सक्षम हुनुहुन्छ। मानिस अस्तित्वमा आएको दिनदेखि नै ब्रह्‍माण्डलाई व्यवस्थापन गरेर, सबै थोक परिवर्तन हुने नियमहरू र तिनीहरूका चालहरूको मार्गचित्र निर्देशन गर्दै परमेश्‍वरले काम गर्नुभएको छ। सबै थोकहरूलाई जस्तै मानिसलाई पनि परमेश्‍वरबाट आएको मिठासपन, झरी र शीतले गुपचुप र अञ्‍जान रूपमा पोषण दिन्छ; सबै थोकहरू जस्तै, मानिस अन्जान रूपमा नै परमेश्‍वरको बाहुलीको व्यवस्थापनको मातहतमा जिउँछ। मानिसको हृदय र आत्मा परमेश्‍वरको हातमा हुन्छ, उसको जीवनको सबै थोकमा परमेश्‍वरले नजर राख्‍नुहुन्छ। तैँले यस कुरालाई विश्‍वास गर् वा नगर्, चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्‍वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। मैल परमेश्‍वरको वचन मनन गर्दा आफ्नो आँसु रोक्‍न सकिनँ। मलाई मेरो परिवारले छोराहरू चाहनुभएको कुरा अनि एकलोपन र भेदभाव सहँदै हुर्केको कुरा याद आयो। त्यसपछि म असफल विवाहहरूबाट गुज्रेकी थिएँ, र मैले धेरै पटक आत्‍महत्या गर्ने प्रयास गरेकी थिएँ। मैले सोचेँ, “मानवजातिको यति ठूलो सागरबाट, परमेश्‍वरले उहाँको घरमा आउन मलाई नै चुन्‍नुभयो। मलाई अहिले उहाँले रक्षा गर्नुभएको कारणले नै म बाँचेकी हुँ भन्‍ने थाहा भएको छ। उहाँले मलाई एउटा आज्ञा दिनुभएको छ, र मसँग जीवनको एउटा लक्ष्य र निर्वाह गर्नुपर्ने भूमिका छ। मैले सुसमाचार प्रचार गर्न आफ्‍नो परिवारलाई त्यागेँ, मलाई पक्राउ गरियो र श्रम शिविरमा कैद गरियो, र म केयरटेकर बनेँ, र यो सबै परमेश्‍वरले नै अनुमति दिनुभएको थियो। मैले यहाँ परमेश्‍वरको वचन फैलाउने मौका पाएकी छु र म ती सिस्टरहरूलाई सहयोग गर्न र साथ दिन सक्छु। परमेश्‍वरले मलाई यो बोझ दिनुभएको छ र यो मेरो लक्ष्य हो।” जब मैले यी कुराहरूका बारेमा विचार गरेँ, तब मलाई हृदयमा न्यानो महसुस भयो। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउन सक्‍नु, सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्‍नु, परमेश्‍वरको काम अनुभव गर्न, र परमेश्‍वरका आश्‍चर्यजनक कार्यहरू देख्‍न सक्‍नु भाग्यको कुरा हो भन्‍ने सोचेँ। म साँच्चै नै आशिषित थिएँ! परमेश्‍वर मेरो साथमा, मेरो पक्षमा हुनुहुन्छ भन्‍ने मलाई थाहा थियो। परमेश्‍वर मेरो भाग्यको सार्वभौम हुनुहुन्छ, त्यसकारण मैले अरू के माग्‍नुपर्थ्यो र? जब मैले यी कुराहरूको बारेमा विचार गरेँ, मलाई श्रम शिविर त्यति कठिन छ भन्‍ने लागेन, र मलाई एकलो महसुस पनि भएन।

हामीले एकअर्कासँग परमेश्‍वरको इच्‍छाको बारेमा सङ्गति गर्यौं, र हामी सबै परमेश्‍वरको प्रेमद्वारा उत्प्रेरित भएका थियौं। हामीले अत्यन्तै गहन कृतज्ञताको अनुभव गर्यौं, र परमेश्‍वरको लागि गवाही हुने हाम्रो संकल्प झन्-झन् बढ्दै गयो। त्यसपछि, हामीले शीघ्र रूपमा परमेश्‍वरको वचन सार्यौं। मैले हलमा गरिने मेरो काम मेरा सिस्टरहरूको लागि बाहिर हेरिदिन प्रयोग गरेँ, ताकि उहाँहरूले कुनै चिन्ताविना परमेश्‍वरको वचन सार्न सक्‍नुभएको होस्, र कतिले त आधा रातसम्‍म सारिरहनुभएको हुन्थ्यो। मसँग काम गर्ने अर्को कैदीले केही वास्ता गर्दैनथिइन्। उनले केही पनि नदेखेको जस्तो गर्थिन्। त्यसकारण, तीन दिनको अवधिमा, हामीले कसैले चाल नपाइकन परमेश्‍वरको वचन सारी सक्यौं, र तुरुन्तै, हामीले अरू धेरै जना सिस्टरहरूलाई दियौं। ती दिनहरूमा, सिस्टरहरूले परमेश्‍वरको वचन बाँड्ने र सङ्गति गर्ने क्रममा, हामी सबैले एक-अर्कालाई प्रोत्साहन दियौं र यो कठिन अवस्थामा परमेश्‍वरको लागि गवाही बन्‍ने थप विश्‍वास प्राप्त गर्यौं।

म श्रम शिविरमा परमेश्‍वरको वचन फैलाउने प्रक्रियाको हरेक क्षणको बारेमा याद गर्छु, र म ती यादहरूलाई कहिल्यै पनि बिर्सनेछैन। यी व्यवहारिक अनुभवहरूद्वारा, मैले परमेश्‍वरको आश्‍चर्यजनक कार्यहरूलाई देखेँ र अनुभव गरेँ, साँचो रूपमा परमेश्‍वरको अख्तियार, सर्वशक्तिमान्‌ता र बुद्धिलाई देखेँ, र मानिसहरूलाई जीवनमा शक्ति दिने परमेश्‍वरको वचन नै हो भन्‍ने साँचो अनुभव गरेँ। यी कुराहरूको बारेमा विचार गर्दा, हरेक पटक नै मेरो हृदय छुन्छ र म उत्प्रेरित हुन्छु, र परमेश्‍वरलाई धन्यवाद दिन्छु र हृदयको अन्तस्करणबाट प्रशंसा गर्छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

नतोडिने विश्‍वास

मेङ्ग योङ्ग, चीनडिसेम्बर २०१२ मा, धेरै जना दाजुभाइ-दिदीबहिनीहरू र म सुसमाचार प्रचार गर्न गाडीमा चढेर एउटा ठाउँमा गयौं, र दुष्ट मानिसहरूले...

मष्तिष्क-सफाइ विरुद्धको युद्ध

झाओ लियाङ्ग, चीनम १९ वर्षको हुँदा मलाई चिनियाँ कम्युनिस्ट पार्टीले मेरो विश्‍वासको कारण पक्राउ गरेको थियो। तिनीहरूले मलाई परमेश्‍वरलाई...

परीक्षा र संकष्टहरूमार्फत सिद्ध तुल्याइएको विश्‍वास

शू चाङ्ग, दक्षिण कोरियासन् १९९३ मा मेरी आमाको स्वास्थ्यमा समस्या आयो, जसको परिणामस्वरूप मेरो सबै परिवारले प्रभु येशूमा विश्‍वास गर्न...

जेलको कष्ट

जियाओ फान, चीनमे २००४ को एक दिन, म केही दाजुभाइ-दिदीबहिनीहरूसँग भेलामा सहभागी भइरहेकी थिएँ त्यही बेला अचानक २० जनाभन्दा बढी प्रहरीहरू अचानक...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्