मष्तिष्क-सफाइ विरुद्धको युद्ध

21 अक्टोबर 2021

झाओ लियाङ्ग, चीन

म १९ वर्षको हुँदा मलाई चिनियाँ कम्युनिस्ट पार्टीले मेरो विश्‍वासको कारण पक्राउ गरेको थियो। तिनीहरूले मलाई परमेश्‍वरलाई इन्कार गर्न लगाउन र मेरा दाजुभाइ-दिदीबहिनीहरूको झोसपोल गराउनको लागि ६० दिनसम्‍म यातना र मष्तिष्क-सफाइमा राखे। त्यो अनुभव साँच्‍चै नै मेरो हृदयमा गाडिएको छ। म यो कुरालाई कहिल्यै पनि भुल्‍नेछैन।

त्यस बिहान भेलामा जाँदै गर्दा, म त्यहाँ पुग्‍ने बेलामा मैले नजिकै तीनवटा कार पार्क गरेर राखेको देखेँ। मलाई अलिक असहज लाग्यो। सामान्यतया त्यहाँ त्यति धेरै कार हुँदैनथियो। म त्यहाँ पुग्‍नेबित्तिकै दाजुभाइ-दिदीबहिनीहरूलाई यो समस्याको बारेमा भनेँ र हाम्रो भेला त्यसउप्रान्त सुरक्षित छैन भन्‍ने हामीले थाहा पायौं। हामीले स्थान परिवर्तन गर्नेबारेमा छलफल गर्‍यौं। चाँडै नै, चारजना अपरिचित मानिसहरू आँगनमा आए, र तिनीहरू राष्ट्रिय सुरक्षा ब्रिगेडबाट आएका हुन् र लुकाएर राखिएका विस्फोटकहरूको निरीक्षण गरिरहेका छन् भनी तिनीहरूले भने। तिनीहरूले जबरजस्ती हामीलाई सोफामा घोप्टो पारे र हाम्रो खानतलासी गरे, र केही नभेटेपछि, तिनीहरूले मलाई र अर्को दाजुलाई कारमा लगे। तिनीहरूले हामीलाई प्रहरी चौकीमा लगे, जहाँ प्रहरीले हामीलाई भुइँतलामा लगेर फरकफरक कोठामा थुने। यो पक्राउ अचानक भएकोले मलाई सपनाजस्तो लागेको थियो र प्रहरीले मसँग कस्तो व्यवहार गर्नेछ मलाई थाहा थिएन। मलाई निकै डर लागेको थियो र मलाई विश्‍वास दिनको लागि अनुरोध गर्दै मैले निरन्तर परमेश्‍वरसँग प्रार्थना गरिरहेँ। मलाई हामीले धेरै गाउने गरेका परमेश्‍वरका वचनहरू भएका भजनको धेरै हरफहरू याद आयो, “सर्वशक्तिमान्‌को सर्वोत्कृष्टता र महान्‌ता।” “यस संसारमा भएको हरेक कुरा सर्वशक्तिमान्‌का विचारहरू र उहाँको प्रत्यक्ष निगरानीमा द्रुत गतिमा परिवर्तन हुन्छ। मानवजातिले कहिल्यै नसुनेका कुराहरू अकस्मात् आइपुग्छन्, जबकि मानवजातिले लामो समयदेखि अधिकार जमाएका कुराहरू थाहै नपाई फुत्कन्छन्। सर्वशक्तिमान्‌को स्थान विशेषका बारेमा कसैले पनि बुझ्न सक्दैन, सर्वशक्तिमान्‌को जीवनशक्तिको सर्वश्रेष्ठता र महान्‌ता जोकोहीले बुझ्ने कुरा त परै जाओस्” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। मैले परमेश्‍वरसँग यसो भनेर प्रार्थना गरेँ: “सर्वशक्तिमान्‌ परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु र तपाईंको प्रशंसा गर्छु! तपाईंले ब्रह्माण्डका सबै थोकमाथि शासन गर्नुहुन्छ र मेरो भवितव्य तपाईंकै हातमा छ। आज तपाईंले मलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिनुभयो। तिनीहरूले मलाई जसरी यातना दिए पनि वा मैले जति कष्ट भोगे पनि, म गवाहीको रूपमा खडा हुन चाहन्छु, तपाईंलाई धोका दिएर कहिल्यै पनि यहूदा बन्‍न चाहन्‍न।”

जब अपराह्णको ४:०० बज्यो, प्रहरीले मलाई होटेलजस्तो देखिने, अलि टाढा रहेको चारतले भवनहरूको लहरको भवन परिसरमा लगे। धेरै जना दाजुभाइ-दिदीबहिनीहरूले भन्थे, प्रहरीले थुनुवाहरूलाई सोधपुछ र यातनाको लागि गोप्य होटेलमा पठाउँछन्। तिनीहरूले मलाई पनि यातना दिन लागेका हुन् कि भनेर विचार नगरी म बस्‍न सकिन। यो निकै एकान्त ठाउँ थियो। तिनीहरूले मलाई मार्न सक्थे र कसैले पनि थाहा पाउनेथिएन। मैले यसबारेमा विचार गर्दा मेरो डर बढ्दै गयो र मैले परमेश्‍वरलाई मौन रूपमा बारम्‍बार पुकारिरहेँ। तिनीहरूले मलाई चौथो तल्‍लाको एउटा कोठामा लगे र अपराध प्रहरी ब्रिगेडकोको मुख्य व्यक्तिले असल भएको बहाना गर्दै भन्यो, “तिम्रो नाम के हो? तिमी कहाँ बस्छौ?” मैले उसलाई सोधेँ, “तपाईंहरूले मलाई किन पक्राउ गर्नुभयो? तपाईंहरूले मलाई यहाँ किन ल्याउनुभएको?” उसले भन्यो, “यो कानुनी शिक्षा पाठ्यक्रम हो र यो विशेष गरी विश्‍वासीहरूलाई शिक्षा दिन र मत परिवर्तन गर्नको लागि हो। हामीले तिमीलाई पक्र्यौं, किनभने हामीलाई तिम्रो बारेमा सबै थाहा छ। अन्यथा, हामीले अरू कसैलाई ल्याउनेथियौं। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली मुख्य राष्ट्रिय निसाना हो, यसलाई पूर्ण रूपमा हटाउनुपर्ने भएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका विश्‍वासीहरू पक्राउ पर्नेवाला छन्।” “के धार्मिक आस्थाको स्वतन्त्रता संविधानमा नै उल्‍लेख गरिएको छैन र?” मैले सोधेँ। हाँसोको नाटक गर्दै, उसले भन्यो, “धार्मिक आस्थाको स्वतन्त्रता? त्यसको पनि सीमा छ। तिमीहरूले हाम्रो समर्थन प्राप्त गर्नको लागि तिमीहरूको विश्‍वासमा पार्टीको कुरा सुन्‍नुपर्छ र यसका नियमहरू पछ्याउनुपर्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेर, तिमीहरूले आफूलाई पार्टीको विरुद्धमा उभ्याइरहेका छौ। हामीले तिमीलाई कसरी पक्राउ नगरी बस्‍न सक्थ्यौं र?” मैले जबाफ दिएँ, “हामी त केवल परमेश्‍वरको गवाही दिनको लागि सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्छौं र सुसमाचार प्रचार गर्छौं। हामी कहिल्यै पनि राजनीतिमा सहभागी हुँदैनौं। तपाईंले कसरी हामीले आफूलाई पार्टीको विरुद्धमा उभ्याएका छौं भनेर भन्‍न सक्‍नुहुन्छ? सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, ‘परमेश्‍वर मानवका राजनीतिमा सहभागी हुनुहुन्‍न, र पनि कुनै देश वा राज्यको नियति परमेश्‍वरले नियन्त्रण गर्नुहुन्छ। परमेश्‍वरले यो संसार र सारा विश्‍वलाई नियन्त्रण गर्नुहुन्छ। मानवको नियति र परमेश्‍वरको योजना घनिष्ठ रूपमा जोडिएका छन्, कुनै पनि मानव, देश वा राज्य परमेश्‍वरको सार्वभौमिकताबाट छुटेको छैन। यदि मानवले आफ्नो नियति जान्‍न चाहन्छ भने, ऊ परमेश्‍वरका सामु आउनैपर्छ। परमेश्‍वरलाई पछ्याउने र आराधना गर्नेहरूलाई उहाँले समृद्ध पार्नुहुनेछ र उहाँलाई अस्वीकार गर्ने र विरोध गर्नेहरूलाई उहाँले अस्वीकार र विनाश गर्नुहुन्छ’ (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ”)। परमेश्‍वरका वचनहरू स्पष्ट छन्। उहाँले ब्रह्माण्डमाथि शासन गर्नुहुन्छ र सबै राष्ट्र र मानिसहरूको नियति उहाँकै हातमा छ, तर परमेश्‍वरले राजनीतिमा हस्तक्षेप गर्नुहुन्‍न। देहधारी परमेश्‍वर मुख्य रूपमा सत्यता व्यक्त गर्न र न्यायको काम गर्नको लागि नै आखिरी दिनहरूमा पृथ्वीमा आउनुभएको छ ताकि मानिसहरूले सत्यतालाई बुझ्‍न सकून्, आफ्नो भ्रष्ट शैतानी स्वभावलाई हटाउन, र मुक्ति पाउन सकून्।” उक्त अफिसरले मेरो कुरा सक्‍नुभन्दा पहिले नै अधीर रूपमा मेरो कुरा काट्यो, र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको निन्दा गर्दै हर प्रकारका कुराहरू भन्यो। उसले मलाई मेरो विश्‍वास त्याग गर्ने सल्‍लाह दियो। उसले जे भने पनि, म परमेश्‍वरको अघि शान्त बसेँ, र मलाई शैतानका चालहरूबाट रक्षा गर्नुहोस् भनी उहाँलाई अनुरोध गरेँ।

तेस्रो दिनको मध्य दिनतिर, तिनीहरूले मलाई फेरि बैठक कोठामा बोलाए। एक जना अफिसरले आफ्नो परिचय दियो, र आफू राष्ट्रिय सुरक्षा ब्रिगेडको क्याप्टेन रहेको र शिक्षा र मन-परिवर्तनको क्षेत्रमा पनि काम गर्ने गरेको बतायो। उसले मेरो नाम, निवास, र मण्डलीको जानकारी माग्यो। मैले कुरा गर्न मानिन, अनि उसले मेरो हात तानेर हत्केला माथितिर पारी टेबलमा राख्यो, त्यसपछि चुरोटको खरानी मेरो हातमा टकटक्याउँदै भन्यो, “आजको प्रविधिमा, तैँले बोले नि नबोले नि सबै कुरा पत्ता लगाउन सकिन्छ भन्‍ने तँलाई थाहा हुनुपर्छ। के तँ मूर्ख होस्? मैले त तँलाई एउटा मौका दिएको थिएँ। मेरो चुरोटको टुप्‍पा ८०० डिग्री तातो छ। त्यसलाई छुँदा कस्तो अनुभव हुन्छ त्यो हेर्न चाहन्छस्?” त्यसले चुरोट दुई पटक लामो-लामो गरी तान्यो, अनि जलिरहेको टुप्पोले मेरो हतकेला डढायो। पीडा भएर मैले मेरो हात तानेँ, तर अर्को अफिसरले मेरो हात जबरजस्ती थिचिरह्यो। उसले चुरोटको टुप्‍पाले बारम्‍बार झोस्दा मेरो हतकेलामा अत्यन्तै पीडा भइरहेको थियो। मेरो निधारबाट पसिना बगिरहेको थियो। अलिक कमजोर अनुभव भएपछि, मैले मेरो आफ्‍नै नाम भनेँ। त्यो बेला तिनीहरूले मलाई यातना दिन छोडे, तर मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई दोष दिने र निन्दा गर्ने भिडियोहरू हेर्न र अफवाहहरू पढ्न लगाए।

पाचौं दिनको मध्य दिनमा, तिनीहरूले मलाई शाङ्गदोङ् झाओयुआन प्रकरणको बारेमा समाचार हेर्न लगाए, त्यसपछि मलाई के लाग्छ भनेर सोधे। मैले भनेँ, “तिनीहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका मानिसहरू होइनन्। मेरो मण्डलीको कसैले पनि यस्तो काम गर्नेथिएनन्। हामीसँग सुसमाचार प्रचार गर्नेसम्‍बन्धी सिद्धान्तहरू छन्। हामी परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्ने कोमल हृदयका मानिसहरूलाई मात्रै सुसमाचार सुनाउँछौं, दुष्ट मानिसहरूलाई होइन। झाङ्ग लिदोङ्गजस्तो खराब मानिसहरूले सुसमाचार प्रचार गर्नेसम्‍बन्धी हाम्रा मापदण्डहरूलाई अलिकति पनि पूरा गर्दैनन्। परमेश्‍वरले तिनीहरूलाई विश्‍वासीहरूका रूपमा पहिचान गर्नुहुन्‍न र मण्डलीले तिनीहरूलाई कहिल्यै पनि स्वीकार गर्दैन।” मेरो विश्‍वास अलिकति पनि नढल्‍पलिएको देख्दा, उसले भन्यो, “हामीले तेरा सबै अगुवाहरूलाई पक्राउ गरेका छौं, र तिनीहरूलाई सोधपुछ गरेर हामी सबै कुरा पत्ता लगाउनेछौं। हामीले तँमाथि हाम्रो समय बरबाद गर्नु आवश्यक छैन। तँ जवान भएको देखेर हामीले तँलाई बचाउन चाहेका थियौं।” मैले सोचेँ, “यो सबै झूट हो। तिनीहरूले मलाई परमेश्‍वरलाई धोका दिन लगाउने प्रयास मात्रै गरिरहेका छन्। तिनीहरूले जे भने पनि, म कहिल्यै पनि दाजुभाइ-दिदीबहिनीहरूलाई झोसपोल गर्नेछैन। म परमेश्‍वरलाई कहिल्यै पनि धोका दिनेछैन!” त्यो साँझको सात बजेपछि, मष्तिष्क-सफाइ कक्षाको एक मनोवैज्ञानिकले मलाई पाठ्यक्रमको बारेमा समीक्षा लेख्‍न लगायो। मैले लेखेँ, “झाओयुआनको घटना सर्वशक्तिमान्‌ परमेश्‍वरको विश्‍वासीले गरेको होइन। यो दुष्ट राक्षसले गरेको काम हो। त्यसले जे गर्‍यो त्यसको निम्ति परमेश्‍वरले त्यसलाई दण्ड दिनुहुनेछ।”

नौ बजेको केही समयपछि, राष्ट्रिय सुरक्षा ब्रिगेडको क्याप्टेन आयो र उसलाई मैले लेखेको कुरा मन परेनछ। ऊ आयो र एउटा हातले मलाई म बसेको स्टुलबाट उचाल्यो, र अर्को हातले बारम्बार हानिरह्यो, अनि मलाई भूइँमा पछार्‍यो। त्यसपछि उसले मलाई घिस्याएर ओछ्यानमा लग्यो र मलाई मुक्‍काले हान्‍न थाल्यो। एकदुईपटक मुक्‍का हानेपछि, उसले काठको ह्याङ्गर उठायो र मलाई जीउभरि कुट्यो र मण्डलीसम्‍बन्धी जानकारी माग्यो। म चुप बसेँ। यसद्वारा क्रोधित भएर, उसले मलाई मेरो सबै लुगा फुकाउने आदेश दियो। उसलाई त्यति पागल देखेर म भयभीत भएँ। मलाई विश्‍वास र शक्ति दिनको लागि अनुरोध गर्दै मैले मनमनै निरन्तर परमेश्‍वरसँग प्रार्थना गरिरहेँ। उसले मलाई झट्कायो, मलाई जबरजस्ती लुगा फुकाल्‍न लगायो, र ह्याङ्गरले फेरि पनि हिर्कायो, त्यसपछि दुईजना प्रशिक्षकलाई मलाई ओछ्यानमा थिच्‍न लगायो। मैले प्रशिक्षकहरू प्रहरीले काममा लगाएका मानिसहरू भए पनि तिनीहरूसँग विवेक हुन्छ र एउटा किशोरलाई यातना दिने काममा प्रहरीसँग लाग्‍नेछैन भन्‍ने सोचेको थिएँ। तर मेरो सोचाइ गलत थियो। तिनीहरूले मलाई हलचल हुन नसक्‍ने गरी बेस्‍सरी थिचे। त्यो राष्ट्रिय सुरक्षा ब्रिगेडको क्याप्टेनले रिसले चूर हुँदै मेरो स्तनको टुप्‍पा चुरोटले पोलिदियो, जसले गर्दा तुरुन्तै मासु जल्यो र हावामा मासु डढेको गन्ध आयो। म पीडाले आएको पसिनाले भिजेको थिएँ र मेरो खुट्टाहरू फटफटाइरहेका थिए। त्यसपछि उसले मेरा गुप्ताङ्गहरूमा पोल्‍न थाल्यो र करायो, “तँ बोल्छस् कि बोल्दैनस्?” पीडामा चिच्याउँदै गर्दा, ममा एउटै विचार आइरेको थियो: “मैले परमेश्‍वरलाई धोका दिनु हुँदैन।” मैले मेरो हृदयमा परमेश्‍वरलाई निरन्तर प्रार्थना गरिरहेको थिएँ, र मलाई शक्ति र विश्‍वास दिनुहोस् भनेर उहाँलाई बिन्ती गरिरहेको थिएँ, ताकि त्यस दुष्ट अफिसरको यातनाबाट मैले पार पाउन सकूँ।

म मौन बसेँ, त्यसकारण त्यो क्याप्टेनले जङ्गिदै भन्यो, “तँलाई कडा नभई त ठीक पार्न नसकिने रहेछ।” ऊ पछि फर्कियो र थर्मस उठायो र उम्‍लेको एक कप पानी ममाथि खन्यायो। म पीडाले चिच्याएँ। उसले कठोरताको साथ भन्यो, “बोल्दैनस्?” मैले निडरताको साथ भनेँ, “मलाई केही पनि थाहा छैन!” त्यो कुरा सुनेर क्रोधित भई, उसले मेरो पेटमा उम्लिएको अरू दुई कप पानी खन्यायो। म पहिलेजस्तो पीडामा छैन भन्‍ने उसले देख्यो, अनि उसले मेरो पेटमा छाम्यो, र पानी त्यति तातो छैन भनेर चिच्यायो। अनि ऊ फर्कियो र एक भाँडो पानी उमाल्‍ने आदेश दियो। त्यसपछि उसले आफ्‍नो अनुहारमा दुष्ट हाँसो देखाउँदै भन्यो, “एकै छिनमा तैँले तेरो शरीरमा उम्‍लेको पानी खन्याउँदाको स्वाद चाख्छस्।” यो कुरा सुन्दा मलाई औधी डर लाग्यो र पहिलेको पानी कसरी त्योभन्दा चीसो थियो त्यसको बारेमा विचार गरेँ। यदि मलाई उमालेको पानी खन्याइयो भने, के म त्यसलाई सहन सक्‍नेछु? अतालिँदै र भयभीत हुँदै, मैले परमेश्‍वरसँग मनमनै प्रार्थना गरेँ: “सर्वशक्तिमान्‌ परमेश्‍वर, बिन्ती छ मलाई विश्‍वास र सामर्थ्य दिनुहोस्। म गवाहीको रूपमा खडा हुन चाहन्छु र तपाईंलाई धोका दिन वा दाजुभाइ-दिदीबहिनीहरूलाई झोसपोल गर्न चाहन्‍न।” मैले मेरो प्रार्थनापछि परमेश्‍वरका वचनहरूको बारेमा विचार गरेँ: “विश्‍वास भनेको एउटै मुढाको पुलजस्तो हुन्छ: दयनीय रूपले जीवनमा अलझिरहेका मानिसहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफूलाई बलिदान दिन तयार रहेकाहरूले नडगमगाइ र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ६”)। मैले परमेश्‍वरका वचनहरू मनन गरेँ र डरपोक र भयभीत विचार राख्‍नु भनेको शैतानको छलमा पर्नु हो भन्‍ने महसुस गरेँ, र परमेश्‍वरमाथि मसँग साँचो विश्‍वास छैन रहेछ भन्‍ने देखेँ। गवाही बन्‍नको लागि मैले आफ्‍नो ज्यानको बाजी थापेर हरेक क्षणमा परमेश्‍वरमा भरोसा गर्नुपर्थ्यो। यो बुझाइले मलाई आउन लागेको यातनाको सामना गर्न मलाई चाहिने विश्‍वास दियो।

त्यही बेला, उसले चुरोट सल्‍कायो र दुई सर्को तान्यो, अनि मेरो अघि उभिएर दुष्ट हाँसो हाँस्दै भन्यो, “दह्रो भएर बस्, पानी तयार हुन लाग्यो!” त्यसो भन्दै गर्दा, उसले आफ्‍नो चुरोटको टुप्‍पा मेरो छातीमा ठोस्यो, जहाँ मलाई तातो पानीले पोलेको थियो। मैले पीडाले आफूलाई तान्‍ने प्रयास गरिरहेँ। सात-आठ मिनेटपछि पानी उम्लिरहेको थियो। कित्लीबाट पानीको फोका र बाफ निस्केको देख्दा, मेरो आङ जिरिङ्ग हुन थाल्यो, म थरथर कामिरहेको थिएँ, र मेरो कपाल ठाडा-ठाडा भए। उसले कित्ली ल्यायो, बिर्को खोल्यो, र मेरो नजिक आयो। मैले मेरो शरीरमा बाफ अनुभव गर्न सक्थेँ। त्यसपछि उसले तातो पानीको कित्ली मेरो पेटमा टाँस्यो। मलाई अत्यन्तै पीडा भयो र आफै चिच्याउन पुगेँ। उसले त्यस मौकामा मलाई बोल्छस् कि बोल्दैनस् भनी फेरि सोध्यो, र म चुप बसेको देखेर, उसले एउटा कप लियो, त्यसमा पानी भर्‍यो, र त्यसलाई मेरो छातीमा हुत्यायो। यसले यति पीडा भयो कि म उफ्रिएँ, र उसले कित्ली खाली भइन्जेल तातो पानीले मलाई छम्काइरह्यो। म केवल काँपिहेँ, र मेरो शरीरको अगाडिको पूरै भाग पोलेको फोकाले भरिएको थियो। सबैभन्दा ठूलो फोका अन्डा जत्रो थियो। प्रशिक्षकहरूले यो दृश्य हेर्न सकेनन् र तिनीहरू जान चाहे, त्यसैले ऊ ढोकामा गयो तिनीहरूलाई पनि भित्रै थुन्यो, अनि चिच्यायो, “बाहिर नजाओ, यही बसेर हेर। मैले त्यसलाई पीडा के हो देखाउँछु, त्यो हेर।” त्यसपछि उसले तिनीहरूलाई अझै पानी उमाल्‍न लगायो। त्यो कुरा सुनेपछि मैले मेरो डरलाई बशमा राख्‍न सकिन। मलाई लाग्यो त्यहाँ अझै छ, अनि एक भाँडा पानीले त मेरो हालत यस्तो भयो, अझै जलाउँदा मेरो हालत के हुनेछ? के म दह्रिलो गरी बस्‍न सक्छु? मैले विश्‍वास र सामर्थ्य माग्दै परमेश्‍वरलाई निरन्तर पुकारिरहेँ। त्यसपछि परमेश्‍वरका यी वचनहरू मनमा आए: “सत्तामा हुनेहरू बाहिरबाट द्वेषपूर्ण देखिन सक्छन्, तर नडराऊ, किनकि तिनीहरूसित थोरै विश्‍वास छ। जहिलेसम्म तिमीहरूको विश्‍वास बढ्छ, कुनै पनि कुरा अति कठिन हुनेछैन” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ७५”)। प्रहरीले मलाई यातना दिएको कुरा परमेश्‍वरको अनुमतिमा भइरहेको थियो। परमेश्‍वरले मेरो विश्‍वासलाई सिद्ध तुल्याउन चाहनुहुन्थ्यो। तिनीहरू जति दुष्ट, जति निर्दयी भए पनि, यो अझै पनि परमेश्‍वरकै हातमा थियो। जबसम्‍म मैले प्रार्थना गर्छु र परमेश्‍वरमा भरोसा गर्छु, तबसम्‍म उहाँले मलाई शैतानको यातनामाथि विजय हुन अगुवाइ गर्नुहुन्छ भन्‍ने मलाई थाहा थियो। मलाई डर लाग्‍न छोड्यो र मसँग कष्ट सहिरहने विश्‍वास थियो।

चाँडै नै, दोस्रोपटक पनि पानी उम्लियो। उसले त्यो ल्यायो, तातो पानीले कप भर्‍यो, मेरो अघि ल्यायो, र मेरो गुप्ताङ्गमा छ्याप्‍न थाल्यो। म पीडाले चिच्याएँ र शरीरलाई पछाडि तानेँ। उसले एक-दुई कदम अघि आएर मलाई प्रश्‍न गरिरह्यो, तर मैले अझै पनि उत्तर दिन मानिन। उसले एक कप तातो पानी लियो र मेरो गुप्ताङ्गमुनि राख्यो र सोध्यो, “तँ बोल्छस् कि बोल्दैनस्?” मैले एक शब्‍द पनि बोलिन। उसले त्यो कपको पानी सीधै गुप्ताङ्गमा हुत्यायो ताकि मेरा गुप्ताङ्गहरू त्यसमा डुबून्। म पीडाले चिच्याइरहेको थिएँ र काँप्दै आफै पछि हटेँ। त्यसपछि त मैले साँच्‍चै सहन सकिन र मैले निरन्तर प्रार्थना गरिरहेको थिएँ, मलाई सामर्थ्य दिनुहोस्, उहाँलाई धोका दिनबाट मलाई रोक्‍नुहोस् भनी परमेश्‍वरलाई अनुरोध गरिरहेको थिएँ। त्यसपछि मैले प्रभु येशूले भन्‍नुभएको वचन सम्झेँ: “किनभने जसले आफ्‍नो जीवन बचाउनेछ उसले त्यो गुमाउनेछ: र जसले मेरो खातिर आफ्‍नो जीवन गुमाउनेछ त्यसले त्यो पाउनेछ” (मत्ती १६:२५)। यदि मैले शारीरिक कष्टबाट बच्‍नको लागि अरूलाई झोसपोल गरेँ र परमेश्‍वरलाई धोका दिएँ भने, त्यसले परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गर्नेछ भन्‍ने मलाई थाहा थियो। म नरक जानेछु र अनन्तसम्‍म कष्ट भोग्‍नेछु। त्यो कुरा बुझेर, मैले मैले जति नै कष्ट भोगे पनि, म मेरो मुख बन्द गर्नेछु र परमेश्‍वरलाई कहिल्यै धोका दिनेछैन भनी संकल्प गरेँ। त्यस दुष्ट अफिसरले मेरा गुप्ताङ्गहरूमा थप दुई कप तातो पानी खन्यायो र मलाई प्रश्‍न गरिरह्यो। मैले घोप्टेर हेर्दा मेरो गुप्ताङ्गका बाहिरी छालाहरू डढेका रहेछन् र दुई जना प्रशिक्षकहरूले मलाई हेर्न समेत सकेनन्। विवश भएर तिनीहरूले भने, “छोरा, बोलिदेऊ। यसरी कष्ट भोग्‍नुको फाइदा के छ र?” मैले आवाज निकालिन। अफिसरको सहयोगी त्यही बेला आयो। मलाई देख्‍नेबित्तिकै उ चकित भयो। उसले आफ्‍नो टाउको एकातिर फर्काउँदै, मकहाँ आएर भने, “स्वीकार गर्। हामीसँग तिमीहरूजस्ता धेरै मानिसहरू छन्। यदि तैँले स्वीकार गरिनस् भने पनि, अरू कसैले स्वीकार गर्नेछ। हामीले त तँलाई मौका दिइरहेका छौं।” मैले आफ्‍नो शिर निहुराएँ र केही पनि भनिन। म चुप लगेको देखेर, अफिसर क्रोधित हुँदै चिच्यायो, “तिमीहरू पछि हट। यसले कति समय सहन सक्दो रहेछ म हेर्छु!” त्यसपछि उसले एक गिलास पानी खन्याएर फेरि मेरो छातीमा छ्याप्यो, जसले गर्दा म पीडाले चिच्याएँ र उफ्रिएँ। उसले मलाई तातो पानीले छ्याप्दा मेरो शरीरका पानी फोका फुटे र छाला उत्रिएका थिए। चाँडै नै नयाँ फोका देखा परे; पीडा सहनै नसकिने थियो। म अलिक कमजोर हुन थालेँ। मैले विचार गरेँ, “तिनीहरूले धेरै जना दाजुभाइ-दिदीबहिनीहरूलाई पक्राउ गरेका छन्। यदि मैले बोलिन भने पनि, अरू कसैले बोल्‍नेछन्। मैले किन यो सबै सहनुपर्छ र? मैले तिनीहरूलाई थोरै कुरा बताउन सक्छु त्यसपछि मैले यसरी कष्ट भोग्‍नु पर्दैन।” अफिसरको रोक्किने कुनै अभिप्राय छैन भन्‍ने मैले देखेँ र उसले मलाई के गर्न लागेको छ त्यसलाई म सहन सक्छु कि सक्दिन मलाई थाहा थिएन। तर मैले कुरा खोलेँ भने म यहूदा बन्‍नेथिएँ। ठीक त्यही बेला मैले परमेश्‍वरका यी वचनहरू याद गरेँ: “संकष्टको समयमा मप्रति अलिकति पनि निष्ठा नदेखाउनेहरुप्रति, अब म कृपालु हुनेछैन, किनभने मेरो कृपा यहीँ सम्मका लागि मात्रै थियो। साथै, मलाई एकपटक विश्‍वासघात गर्नेहरुलाई म मनपराउँदिन, र आफ्ना साथीहरुको हितलाई बिक्री गर्नेहरुसँग संलग्न हुन झनै मनपराउँदिन। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो” (वचन देहमा देखा पर्नुहुन्छको “तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरु तयार गर्”)। आफ्‍ना मित्रहरूको हितलाई बेच्‍ने मानिसहरूसँग परमेश्‍वरले कुनै सम्‍बन्ध राख्‍न चाहनुहुन्‍न। यदि मैले बोलेँ भने, के त्यसको अर्थ मैले परमेश्‍वरलाई धोका दिएको हुँदैन र? मैले केही पनि भन्‍न सकिन। केही पनि भन्दै भनिन। मैले परमेश्‍वरसँग मनमनै प्रार्थना गरेँ: “हे परमेश्‍वर, मलाई अन्तर्दृष्टि दिनुभएकोमा र दाजुभाइ-दिदीबहिनीहरूलाई झोसपोल गर्नबाट रोक्‍नुभएकोमा म तपाईंलाई धन्यवाद दिन्छु। मैले जति नै कष्ट भोगे पनि, म कहिल्यै पनि यहूदा बन्‍नेछैन।”

मलाई मौन बसेको देखेर, राष्ट्रिय सुरक्षा ब्रिगेडको क्याप्टेनले चुरोट सल्‍कायो र धूर्त हाँसोको साथ बोल्यो, “हामी यसलाई बिस्तारै अघि बढाऊँ। हामीसँग प्रशस्तै समय छ,” त्यस क्रममा उसले मेरो नाकमा चुरोटको धुवाँ फुकिरहेको थियो। त्यसपछि, उसले कप उठायो र मेरो टाउकोमा तातो पानी खन्यायो। म आफै पछि हटेँ, जसले गर्दा पानी मेरो दाहिने कानबाट ढाडतिर खनियो। म पीडाले कराएँ र मेरो ढाडमा आगो छ जस्तै अनुभव भयो। उसले अरू धेरै कप पानी माथिबाट मेरो पेटतर्फ खन्यायो र मेरो तिघ्रोमा पानी छ्याप्यो। उसले पानी खन्याएको ठाउँमा तुरुन्तै पानी-फोका देखा पर्‍यो। कित्ली खाली भएपछि उसले प्रशिक्षकहरूलाई अर्कोपटक पानी उमाल्‍न लगायो। केही मिनेटमा तेस्रोपटक पानी उम्लियो। मैले कित्लीबाट बाफ उडिरहेको देख्दा, म कामिरहेँ। मुस्कुराउँदै, उसनले कित्ली उठायो, “एकदम राम्रो!” त्यसपछि उसले यसलाई मेरो शरीरमा टाँस्यो र धम्कीपूर्ण शैलीमा भन्यो, “बोल्छस् कि बोल्दैनस् त?” मैले उत्तर दिइन, अनि उसले उम्लेको एक कप पानी मेरो जीउमा खन्यायो। म पीडाले विह्वल भएँ। यो क्रमलाई रोक्‍ने उसको कुनै अभिप्राय छैन भन्‍ने मैले देखेँ र म अब कति सहन सक्छु भन्‍ने मलाई थाहा थिएन। म यति धेरै पीडामा थिएँ कि; म मर्न मात्रै चाहन्थेँ, ताकि मैले त्यसरी कष्ट भोगिरहन नपरोस् र मेरो देहको कमजोरीको कारण कसैलाई मैले झोसपोल गर्न नपरोस्। मैले कोठामा आफूलाई ठक्‍कर दिन सक्‍ने कडा वस्तु हेरेँ, तर एउटा टेबल मात्रै थियो र पर्खाल काठले बनेको थियो। मेरो टाउको एकपटक ठोक्‍काएर मात्रै म मर्छु भन्‍ने मलाई लागेन, र पछि मैले अझै धेरै यातना भोग्‍नुपर्नेथियो। मैले अहिलेको लागि हुन्छ भनेर भन्‍न सक्छु भनेर मैले विचार गरेँ, त्यसपछि तिनीहरूले मलाई अरूको घर पहिचान गर्न लानेछन्। बाहिर, म कारबाट हामफालेर मर्न सक्थेँ। मैले यस्तो विचार गरिरहेको बेला, अफिसरले मलाई बोल्छस् कि बोल्दैनस् भनेर सोधिरहेको थियो अनि मैले टाउको हल्‍लाएँ। तिनीहरूले मलाई तुरुन्तै घर पहिचान गर्न लानेछन् भन्‍ने मैले सोचेको थिएँ, तर उसले मलाई मण्डलीको बारेमा बताउन लगाएको देख्दा म छक्‍क परेँ। दश जनाभन्दा बढी अफिसरहरू भूइँतलाबाट आए। त्यो बेला मलाई अलिक काँतर भएको अनुभव भयो। मैले भर्खरै शिर हल्‍लाएको छु, त्यसकारण मैले केही पनि भनिन भने, के तिनीहरूले मलाई अझै निर्दयी यातना दिनेछन्? मैले सोचेँ, म मण्डलीको नाम भन्‍न सक्छु र यसको अनुमानित स्थान बताउन सक्छु। अचम्म, मैले उसलाई औँलो दिएँ, तर उसले डुँडुलो निल्‍न चाह्यो। उसले मलाई मण्डलीको बारेमा थप प्रश्‍नहरू गर्‍यो, र मैले शैतानलाई मौका दिएकोमा मलाई साँच्‍चै नै पछुतो लाग्यो। यदि मैले त्यो कार्यलाई जारी राखेँ भने म यहूदा जस्तै हुनेछैन र? उसले अरू कुराको बारेमा सोध्दा मैले आफूलाई थाहा नभएको बताएँ। उसले मबाट केही पनि जानकारी प्राप्त गर्न सकेन, अनि उसले मलाई मेरो कोठामा जान दियो। मेरो कोठामा हुँदा, मैले मनमनै विचार गरेँ, “मैले किन मर्ने प्रयास गरिरहेको थिएँ? के परमेश्‍वरले म मरेको चाहनुहुन्छ? के त्यो कमजोरीको चिन्‍ह होइन र?” त्यसपछि मलाई परमेश्‍वरका वचनहरूको एउटा भजन याद आयो, “तिम्रो कष्ट जति ठूलो भए पनि परमेश्‍वरलाई प्रेम गर्ने प्रयास गर।” “आज धेरैजसो मानिसहरू दुःख-कष्टको कुनै मूल्य हुँदैन भनी विश्‍वास गर्छन्, तिनीहरू आफ्नो विश्वासको लागि सतावटमा परेका छन्, तिनीहरू संसारद्वारा त्यागिएका छन्, तिनीहरूको पारिवारिक जीवन समस्याग्रस्त छ, र तिनीहरूका सम्भावनाहरू धमिला छन्। केही मानिसहरूको दु:ख चरम सीमामा पुग्छ, र तिनीहरूका विचारहरू मृत्युमा बदलिन्छन्। यसले कसरी एउटा प्रेमिलो हृदय देखाउँछ? त्यस्ता मानिसहरू बेकार हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र शक्तिहीन छन्! … यसैले, यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दु:ख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति र परमेश्‍वरको कृपामा विश्‍वासयोग्य रहनुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। मैले परमेश्‍वरका वचनहरूको बारेमा विचार गर्दा, म कति कायर, कमजोर, र असमर्थ रहेछु भन्‍ने देखेँ। मेरो देहको कमजोरीको कारण, मलाई कष्टप्रति डर भएको कारण म मर्न चाहन्थेँ। त्यसले परमेश्‍वरलाई महिमा दिन सक्दैनथियो। त्यो साँचो गवाही थिएन। मेरो पक्राउ हुनुभन्दा पहिले, मैले परमेश्‍वरसँग शपथ खाएर भनेको थिएँ कि यदि म कहिल्यै चिनियाँ कम्युनिस्ट पार्टीद्वारा पक्राउ परेँ र सताइएँ भने, म अरू दाजुभाइ-दिदीबहिनीहरूजस्तै गवाहीको रूपमा खडा हुन चाहन्छु। म यहूदा बनेर परमेश्‍वरलाई धोका दिनेछैन। तर जब प्रहरीको यातनाको सामना गर्दा मलाई केही भयो, म यो परिस्थितिबाट कसरी बाहिर निस्कन सक्छु भन्‍नेबारेमा मात्रै मैले विचार गरेँ। कसरी परमेश्‍वरको गवाहीको रूपमा खडा हुने र उहाँलाई सन्तुष्ट तुल्याउने भन्‍नेबारेमा मैले विचार गरिन। मैले मसँग परमेश्‍वरप्रति कुनै पनि साँचो विश्‍वास वा समर्पण छैन भन्‍ने थाहा पाएँ। मैले परमेश्‍वरलाई धोका दिऊँ र मेरो गवाही गुमाऊँ भनेर अफिसरहरूले मलाई यातना दिइरहेका थिए। यदि म मृत्युमार्फत त्यो यातनाबाट उम्केको भए, के म शैतानको हाँसोको पात्र बन्‍नेथिइन् र? यो कुरा सोच्दा, मेरो कमजोरीप्रति म ग्‍लानिले भरिएँ। मैले कसरी मेरो जिब्रो फुत्काउन पुगेँ? परमेश्‍वरले मलाई गवाही बन्‍ने मौका दिनुभएको थियो, तर मैले यस अवसरलाई सदुपयोग गरिन। यसले परमेश्‍वरलाई चोट पुर्‍याउने र निराश तुल्याउने कुरा थियो। यदि तिनीहरूले मलाई घरहरू पहिचान गर्न लगाए भने म जानेछैन भनेर मैले सङ्कल्‍प गरेँ। तिनीहरूले मलाई जसरी यातना दिए पनि, म परमेश्‍वरमा नै भरोसा गरिरहनेछु र गवाही बन्‍नेछु!

भोलि बिहान ६:३० बजे, नगर पन्थ-विरोध कार्यलयको प्रमुखले म नराम्ररी घाइते भएको देखेपछि मलाई अस्पताल लैजान लगाए ताकि तिनीहरू यसप्रति जिम्‍मेवार हुन नपरोस्। अस्पताल जाँदै गर्दा, उसले मलाई धूर्तताको साथ चेतावनी दियो, “अस्पतालमा एक शब्‍द पनि नबोल्, नत्र परिणामहरूको जिम्‍मेवार तँ नै हुनेछस्!” त्यो सुनेपछि मलाई अत्यन्तै रिस उठ्यो। तिनीहरूले मलाई डर-धम्की दिइरहेका थिए, त्यति नराम्ररी चोट पुर्‍याएर पनि तिनीहरू मलाई सत्यता बताउन दिन चाहँदैनथे। यो दुष्ट र घृणास्पद थियो! डाक्टरले मलाई के भएर यो सबै जलन भयो भनेर सोध्यो र मैले उसलाई साँचो कुरा भने पनि, उसले केही पनि गर्न सक्दैनन् भन्‍ने मलाई थाहा थियो। थर्मस फुटेर यस्तो भयो भनेर मैले भनेँ। विश्‍वास नलागेर, तिनले सोधे, “फुटेको थर्मसले यो सबै भएको हो?” अफिसरले डाक्टरलाई तुरुन्तै एकातिर लगेर कानेखुसी गर्‍यो, त्यसपछि डाक्टरले मेरो घाउ सफा गर्न थाले, र मलाई अस्पताल भर्ना गर्नुपर्छ भनी भने। अफिसरले यो विशेष परिस्थिति हो र म बस्‍न सक्दिन भनेर भन्यो, र मलाई पूर्ण जिम्‍मेवारीको फाराममा हस्ताक्षर गर्न लगायो। त्यसपछि उसले मलाई फेरि मष्तिष्क-सफाइ केन्द्रमा लग्यो। मेरो घाउ अत्यन्तै गम्‍भीर भएकोले मैले कक्षामा सहभागिता जनाउन सक्दिनथेँ, तर प्रहरीलाई त्यो कुरा मन परेको थिएन, त्यसैले तिनीहरूले मलाई हरेक दिन मेरो निगरानी गर्न र मेरो मष्तिष्क सफाइ गर्न दुई जना मानिसहरू पठाउँथे। तिनीहरूले मलाई मेरो विश्‍वास त्याग्‍न लगाउनको लागि कडा र नरम दुवै रणनीति प्रयोग गरे।

सत्र दीनपछि, मेरो घाउ निको हुनुभन्दा पहिले, तिनीहरूले मलाई कक्षामा पठाए। तिनीहरूसँग विश्‍वविद्यालयको एक प्राध्यापक र एक मनोवैज्ञानिक थिए जो राम्रा कुराहरू भन्दै मेरो नजिक हुन र मलाई बोल्‍न लगाउने प्रयास गर्दै मित्रवत् व्यवहारको नाटक गर्थे। म परमेश्‍वरलाई बारम्‍बार पुकार्थें अनि मलाई शैतानका चालहरूबाट रक्षा गर्नुहोस् भनी अनुरोध गर्थेँ। मैले तिनीहरूसँग परमेश्‍वरसम्‍बन्धी मेरो गवाही बाँडेँ। म तिनीहरूको कुरामा लागिरहेको छैन भन्‍ने देखेपछि तिनीहरू रिसाए। त्यसपछिका केही दिनसम्‍म, तिनीहरूले मलाई हाम्रो मण्डलीको निन्दा गर्न लेखिएका पुस्तकहरू पढ्न र केही ईश्‍वर-निन्दाका भिडियोहरू हेर्न लगाए। तिनीहरूले आफै बनाएका ती सबै झूटहरूले मलाई रुष्ट तुल्यायो र वाकवाकी लाग्यो। तिनीहरूले भनेको एउटै कुरालाई पनि मैले सुनिन।

एक दिन बिहान, केही प्रशिक्षकहरू लिएर विभाग प्रमुख म बसेको स्थानमा हत्तारिँदै आयो। यो देखेर मलाई अलिक डर लाग्यो, त्यसकारण मैले मनमनै प्रार्थना गरेँ, र यस्ता खराब पुलिसहरूको सामना गर्न सकूँ भनेर मलाई बुद्धि दिनुहोस् भनी परमेश्‍वरलाई अनुरोध गरेँ। तिनले धम्कीपूर्ण शैलीमा भने, “हिजो हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली विरुद्धको हाम्रो सय-दिने युद्धको बारेमा बैठक बसेका थियौं। दण्डहरू निकै कडा हुनेछन्। तँजस्ता जवान, अविवाहित मानिसहरूको लागि यो झनै कडा हुनेछ। तँजस्तो ढलपल नगर्ने मानिसहरू त झन् सीधै गोली ठोकिने ठाउँमा जानेछौ। तिनीहरूले तेरो टाउको उडाउनेछन्, तेरो गिदी छरपष्ट पार्दिनेछन्।” उसले त्यसो भनेको सुन्दा म अलिक आत्तिएँ तर मलाई प्रभु येशूका यी वचनहरू याद आयो: “किनभने जसले आफ्‍नो जीवन बचाउनेछ उसले त्यो गुमाउनेछ: र जसले मेरो खातिर आफ्‍नो जीवन गुमाउनेछ त्यसले त्यो पाउनेछ” (मत्ती १६:२५)। परमेश्‍वरको निम्ति शहीद हुनु सम्‍मानको कुरा हुनेछ, र यसलाई परमेश्‍वरले अभिनन्दन गर्नुहुनेछ भन्‍ने मलाई थाहा थियो। तर मृत्युको डरले परमेश्‍वरलाई धोका दिएमा यसले उहाँको स्वभावलाई उल्‍लङ्घन गर्नेछ र उहाँले यसलाई घृणा गर्नुहुन्छ। मेरो शरीर बाँचे पनि, परमेश्‍वरको नजरमा म मरेतुल्य हुनेथिएँ। परमेश्‍वरले मेरो आत्मालाई हटाउनुहुनेथियो र म नरकमा दण्डित हुनेथिएँ। विभिन्‍न युगहरूमा अनगिन्ती विश्‍वासीहरूले सतावट भोगेका छन् र धेरै शहीद बनेका छन्। तिनीहरू सबै परमेश्‍वरको लागि गवाहीको रूपमा खडा भए। शहीद हुनु भनेको परमेश्‍वरले मलाई उत्थान गर्नुभएको कुरा हुनेथियो। म मृत्यु नै सहनुपरे पनि परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुन र गवाहीको रूपमा खडा हुन इच्‍छुक थिएँ। जब म चुपचाप बसेँ, अफिसरले मलाई धम्की दियो: “तँ घर जान चाहन्छस् कि जेल जान चाहन्छस्?” मलाई घर जान धेरै मन थियो, तर त्यसको मूल्य भनेको पश्‍चात्ताप पत्रमा हस्ताक्षर गरेर मण्डलीसँगको सम्‍बन्ध तोड्नु हुनेछ भन्‍ने मलाई थाहा थियो। मैले दृढतासाथ भनेँ, “जेल!” उसले आँखा ठूला-ठूला पारेर मतिर औँलो देखाएर भन्यो, “तँलाई वास्तवमा कष्ट भोगेर पुगेकै रहेनछ!” अनि ऊ रिसाउँदै गयो।

त्यसपछि तिनीहरूले मेरो मष्तिष्क सफाइ गर्नको लागि एक जना पाष्टर पठाए। उ आउनेबित्तिकै, उसले भन्यो, “छोरा, तिमी अझै सानै छौ। मेरो कुरा सुन, तिमी गलत बाटोमा छौ।” उसले बाइबलको मत्ती २४:२३-२४ को खण्ड खोल्दै भन्यो, “तिमी भन्छौ, प्रभु येशू पहिले नै फर्केर आइसक्‍नुभएको छ, तर बाइबलमा के भनिएको छ हेर: ‘अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनी भन्छ भने विश्‍वास नगर्नू। झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै छल्नेछन्।’ प्रभु फर्केर आउनुभएको छ भन्‍ने जोकोही व्यक्ति गलत छ। तिमीले यसलाई पछ्याउनु हुँदैन।” मैले बाइबल लिएँ र प्रतिक्रिया दिएँ: “प्रभु येशूले हामीलाई के भनेर चेतावनी दिइरहनुभएको थियो भने जब उहाँ आखिरी दिनहरूमा आउनुहुन्छ, मानिसहरूलाई छलमा पार्नको लागि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरूले चिन्‍हहरू र अचम्‍मका कामहरू देखाउनेछन्। उहाँले हामीलाई सचेत रहनु भनी भन्‍नुभएको छ। यदि प्रभुको आगमनसम्‍बन्धी सबै खबरहरू झूटा हुन् भनी तपाईं भन्‍नुहुन्छ भने, के तपाईंले प्रभुको पुनरागमनको तथ्यलाई इन्कार गरिरहनुभएको हुँदैन र? झूटा ख्रीष्टहरूसँग सत्यता हुँदैन। तिनीहरूले चिन्‍ह र अचम्‍मका कामहरूद्वारा मानिसहरूलाई छल गर्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले यी कुराहरू प्रदर्शन गर्नुहुन्‍न। उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्न र मुक्ति दिनको लागि सत्यता व्यक्त गर्नुहुन्छ र आफ्‍नो न्यायको काम गर्नुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू, एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ।” मैले उसको कुरालाई नपत्याएको देखेर, उसले सबै किसिमका ईश्‍वरनिन्दाको कुराहरू भन्यो। मैले रिसाउँदै भनेँ, “पवित्र आत्‍माको विरुद्धमा गरिने निन्दालाई यो जीवन वा अर्को जीवनमा क्षमा गरिनेछैन।” त्यसपछि उसले मलाई भन्यो, “तिमी साँच्‍चै नै जिद्दी बच्‍चा रहेछौ। छोरा, होसमा आऊ। तिनीहरूले जे भन्छन् त्यही भनिदेऊ अनि आफ्‍नो गल्ती स्वीकार गर। तिमीलाई साँच्‍चै नै कैद गरियो भने तिमीलाई साँच्‍चै पछुतो हुनेछ!” मैले भनेँ, “म यसमा पछुतो गर्नेछैन, र म तपाईंलाई साँचो मार्गको खोजी गर्ने सल्‍लाह दिन्छु। परमेश्‍वरको विरोध गर्न छोड्नुहोस्। यदि तपाईंले भयानक पाप गर्नुभयो भने ढिलो भइसकेको हुनेछ।” दिग्दार हुँदै, उसले मलाई भन्यो, “तिमीबाट आशा गर्नु बेकार छ। तिमी अत्यन्तै जिद्दी छौ।” त्यसपछि ऊ मन नभई-नभई उठेर गयो।

केही दिनपछि, अपराध प्रहरी ब्रिगेडको प्रमुखले मलाई परमेश्‍वरलाई इन्कार गर्ने र निन्दा गर्ने वाक्यहरू दोहोर्‍याउन लगाउन जबरजस्ती गर्न खोज्यो। जब मैले त्यसो गर्न मानिन, उसले झोक्‍किँदै भन्यो, “के तँलाई प्रतिशोधको डर लाग्छ? ईश्‍वर नै छैन, प्रतिशोध कहाँबाट आउँछ? के आफ्नो विश्वासलाई त्याग्‍नेहरू पनि ठीकठाक छैनन् र?” मैले भनेँ, “तुरुन्तै नमर्नुको अर्थ परिणाम राम्रो हो भन्‍ने हुँदैन। परमेश्‍वरले तुरुन्तै मानिसहरूलाई दण्ड दिइहाल्‍नुहुन्छ भन्‍ने छैन।” उसले मलाई रिसाउँदै तान्यो र एक-दुई थप्‍पड हान्यो, तर मैले अझै पनि एक शब्‍द बोलिन। मैले प्रभु येशूले भन्‍नुभएको कुरा सम्झिरहेको थिएँ: “मानिसका सबै किसिमका पापहरू र ईश्‍वरनिन्दा क्षमा गरिनेछन्: तर मानिसले पवित्र आत्माको विरुद्ध गरेको ईश्‍वरनिन्दा क्षमा गरिनेछैन” (मत्ती १२:३१)। यी वचनहरूले दिएको शक्तिको कारण, म अलिकति पनि ढलपलाइन। मैले केही पनि नबोलीकन एक-दुई घण्टा बित्यो। क्रोधित भएर, उसले मेरो कपाल समातेर मलाई म बस्‍ने ठाउँमा घिस्याएर लग्यो, अनि जङ्गिँदै भन्यो, “त्यो नबोलुञ्‍जेलसम्‍म त्यसलाई भात नदे।” मैले मौन भई हृदयमा परमेश्‍वरसँग प्रार्थना गरेँ, र प्रभु येशूका यी वचनहरू मनमा आए: “मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ” (मत्ती ४:४)। परमेश्‍वरका वचनहरू हाम्रो जीवनको भरणपोषण हुन्। खानेकुराविना पनि, परमेश्‍वरले अनुमति दिनुभएन भने म मर्नेथिइन। अचम्‍मको कुरा के भयो भने, त्यो रात सफा गर्ने दिदीले मलाई लुकाएर रोटी दिइन्। मानिसहरूको हृदय र आत्मापरमेश्‍वरको हातमा छ भन्‍ने मैले साँचो रूपमा अनुभव गरेँ। त्यसपछि पुलिसले मलाई दिनहुँ तिनीहरूको अफिस सफा गर्न लगाउँथे, र त्यहाँ डेस्कमा वचन देहमा देखा पर्नुहुन्छको प्रतिलिपि रहेछ। दैनिक रूपमा सफाइ गर्दा म लुकेर यसलाई पढ्थें र परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास र शक्ति दिए। प्रहरीले मलाई निरन्तर रूपमा नास्तिक झूटहरूले भरिरहेका थिए तर परमेश्‍वरका वचनहरूको अगुवाइमा, मलाई कुनै असर गरेको थिएन।

एकदिन तिनीहरूले मेरो मष्तिष्क सफाइ गर्ने र मलाई प्रलोभनमा पार्ने प्रयास गराउन तिनीहरूले दुईजना विश्‍वविद्यालय प्रशिक्षक ल्याएका थिए, र तिनीहरूले भने, “यदि तैँले मन परिवर्तन गरेर तीनवटा पत्रमा हस्ताक्षर गरिनस् भने, तँलाई पाँच वर्ष जेल सजाय हुनेछ र पछि तँलाई बिहे गर्न कठिन हुनेछ। तैँले कसरी आफ्‍नो जवानी यसरी खेर फाल्‍न सक्छस्? के यो सार्थक छ?” त्यसले मलाई साँच्‍चै प्रभाव पार्‍यो। मैले म कति जवान छु भन्‍नेबारेमा विचार गरेँ, र म साँच्‍चै त्यहाँ धेरै वर्षसम्‍म कष्ट भोग्‍न सक्छु कि सक्दिन भनेर मैले विचार गरेँ। मैले यसको बारेमा विचार गरिरहेको बेला, मैले म शैतानको छलमा पर्दैछु भन्‍ने महसुस गरेँ, त्यसैले मैले तुरुन्तै प्रार्थना गरिहालेँ: “हे परमेश्‍वर! म झण्डै शैतानको छलमा परेँ। कृपया मलाई रक्षा गर्नुहोस् ताकि म साक्षीको रूपमा खडा हुन सकूँ।” प्रार्थनापछि मलाई परमेश्‍वरका वचनहरूको एउटा भजनको हरफ याद आयो: “जवान मानिसहरू सत्यतारहित हुनु हुँदैन, न त तिनीहरूले ढोँगीपन र अधर्म नै लुकाउनु हुन्छ—तिनीहरू उचित अडानमा बलियोसँग खडा हुनुपर्छ। तिनीहरू त्यतिकै बहकिनु हुँदैन, तर न्याय तथा सत्यताको निम्ति बलिदानहरू गर्ने र संघर्ष गर्न साहस गर्ने आत्मा तिनीहरूमा हुनुपर्छ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “जवानहरूले पछ्याउनुपर्ने कुरा”)। मैले सत्यता प्राप्त गर्नको लागि मैले जुनसुकै कष्ट सहन सक्‍नुपर्छ भन्‍ने मलाई थाहा थियो। मैले क्षणिक सहजताको लागि परमेश्‍वरलाई धोका दिनु हुँदैनथियो। पुलिसले मलाई जे गरे पनि, म साक्षीको रूपमा खडा भएर परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनुपर्थ्यो। जब मैले केही पनि बोलिन, तिनीहरू खाली हात फर्किए। त्यस दिन दिउँसो पाष्टर फर्केर आयो र कपटी हाँसोको साथमा भन्यो, “तँ जेल जाँदैछस् रे भन्‍ने मैले सुनेँ। तैँले त्यसो गर्नु हुँदैन। त्यहाँको जीवन अमानवीय छ। के तँलाई तँजस्तो सानो मान्छेले त्यसलाई सहन सक्छस् जस्तो लाग्छ?” उसले आफ्‍नो फोन निकाल्यो र दुर्व्यवहार गरिएका इसाईहरूको केही फोटो देखाउँदै भन्यो, “तिनीहरूलाई हेर्। तिनीहरूमध्ये कतिले १० वर्षको सजाय पाए, कतिले २० वर्ष। तिनीहरूमध्ये कति त जेलमा नै मरे। तँ साँचो विश्‍वासी होस् भन्‍ने म देख्‍न सक्छु। तिनीहरूले तँलाई जेमा हस्ताक्षर गर्न लगाउँछन् त्यसमा हस्ताक्षर गर् र तँ बाहिर निस्केपछि तैँले आफ्‍नो विश्‍वासको अभ्यास गर्न सक्छस्। यसरी कष्ट भोग्‍नुपर्ने कुनै आवश्यकता छैन! अहिले नै हस्ताक्षर गर् र म तेरो पक्षमा केही शब्‍दहरू भनिदिनेछु। नत्र भने, तेरो खैरात छैन।” मलाई चिन्ता लाग्यो, र मैले सोचेँ, यदि मलाई साँच्‍चै नै कैद सजाय भयो भने, प्रहरीले जेलभित्र मलाई जसरी मन लाग्यो त्यसरी यातना दिन सक्छन्। मैले धेरै पीडा सहनुपर्नेछ। म भयभीत भएँ, तर ती पत्रहरूमा हस्ताक्षर गर्नु भनेको परमेश्‍वरलाई धोका दिनु हो र ममा पशुको चिन्‍ह हुनेछ भन्‍ने मलाई थाहा थियो। मैले हृदयमा प्रार्थना गरेँ र परमेश्‍वरलाई पुकारेँ अनि मलाई विश्‍वास दिनुहोस्, ताकि म गवाहीको रूपमा खडा हुन सकूँ भनेर अनुरोध गरेँ। मैले पाष्टरलाई भनेँ, “म हस्ताक्षर गर्नेछैन।” ऊ गाह्रो मान्दै गयो।

नगर पन्थ विरोध कार्यालयको प्रमुख पनि मलाई ती तीनवटा पत्रहरूमा हस्ताक्षर गराउन आयो, र मलाई रिसाउँदै भन्यो, “दुई महिना भयो केही पनि भएको छैन। अब तैँले कुनै न कुनै प्रतिक्रिया दिन्छस् भन्‍ने मैले आशा गरेको छु। यदि तैँले म विश्‍वास गर्दिन भनेर भनिस् भने तँ घर जान पाउँछस्, तर विश्‍वास गर्छु भनिस् भने तँलाई तुरुन्तै जेल पठाइन्छ! के तँ अझै पनि विश्‍वासी होस्?” मलाई अत्यन्तै दोधार भयो। हो भन्‍नुको अर्थ म जेल जानेथिएँ, र त्यहाँ कस्तो यातना दिइन्छ कसलाई के थाहा। तर होइन भन्‍नुको अर्थ मैले परमेश्‍वरलाई धोका दिनु हुनेथियो। मैले परमेश्‍वरलाई साहस माग्दै प्रार्थना गरेँ, र म गवाही दिन तयार छु भन्‍ने मैले अनुभूति गरेँ। त्यही बेला मलाई परमेश्‍वरका वचनहरू भएको भजन याद आयो: “येशू परमेश्‍वरको आज्ञा पूरा गर्न—अर्थात् सारा मानवजातिको छुटकाराको काम गर्न सक्षम हुनुहुन्थ्यो—किनकि उहाँले आफ्नै निम्ति कुनै योजनाहरू वा व्यवस्थाहरू नगरी परमेश्‍वरको इच्छामा पूरा ध्यान दिनुभयो। उहाँ परमेश्‍वरले व्यवस्थापन योजनालाई केन्द्रमा राख्न सक्षम हुनुहुन्थ्यो, अनि उहाँले सधैँ स्वर्गका पितासँग प्रार्थना गर्नुभयो र स्वर्गका पिताको इच्छा खोज्नुभयो। उहाँले प्रार्थना गर्दै भन्नुभयो: ‘हे परमेश्‍वर पिता! तपाईंको इच्छा जे छ त्यो पूरा गर्नुहोस्, अनि मेरा इच्छाहरू अनुसार होइन, तर तपाईंको योजनाअनुसार काम गर्नुहोस्। मानिस कमजोर हुन सक्छ, तर तपाई त्यसको किन वास्ता गर्नुहुन्छ? मानिस तपाईंको वास्ता पाउने योग्यको कसरी बन्न सक्छ? अर्थात् मानिस, जो तपाईंको हातमा एउटा कमिला जस्तो छ? मेरो हृदयमा, म तपाईंको इच्छा मात्र पूरा गर्न चाहन्छु, अनि तपाईंले आफ्नो इच्छाअनुसार ममा जे गर्न चाहनुहुन्छ त्यो गर्नुहोस् भन्ने म चाहन्छु’” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “प्रभु येशूको अनुकरण गर”)। क्रूसीकरण गरिने स्थानमा जाने क्रममा प्रभु येशूले कष्ट भोग्‍नुभयो। उहाँसँग देहगत दुर्बलता थियो, तर उहाँ परमेश्‍वरको आज्ञालाई पूरा गर्नमा केन्द्रित हुन सक्‍नुभयो। शारीरिक पीडाको बाबजुत उहाँ परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनुभयो। पत्रुस पनि परमेश्‍वरप्रतिको आफ्‍नो प्रेमको खातिर मृत्युसम्‍मै आज्ञाकारी बन्‍न, परमेश्‍वरको लागि क्रूस उल्टो लट्किन तयार थिए। मेरो सानोतिनो कष्ट कति नै थियो र? परमेश्‍वरका वचनहरूले मेरो विश्‍वासलाई दह्रिलो बनायो र मलाई त्यसउप्रान्त कुनै डर लागेन। मैले म जेल नै जानु परे पनि, परमेश्‍वरको निम्ति गवाही हुन्छु भनेर सङ्कल्प गरेँ! मैले निकै दृढताको साथ भनेँ, “त्यसो भए जेल नै जानेछु।” रिसाउँदै, उसले भन्यो, “सामान तयार पार्, तँ भोलि नै जेल जानेछस्।” अनि उसले ढोका ड्याम्म लगायो र हतार-हतार गयो। अचम्‍मको कुरा के भयो भने, दुई दिनपछि, मेरो स्थानीय प्रहरी चौकीका चार जना अफिसरहरू आए र तिनीहरूले मलाई घर लानेछन् भनी भने। त्यो बेला मलाई परमेश्‍वरको काम साँच्‍चै कति अचम्‍मको छ भन्‍ने कुरा अनुभव भयो, र मैले मप्रतिको उहाँको वास्ता र कृपालाई अनुभव गरेँ। प्रहरीले मलाई सहरमा फर्काएर लगे र मौखिक बयान रेकर्ड गरे, र हप्तामा एक पटक स्टेसनमा रिपोर्ट गर्नुपर्छ भनी भने। परमेश्‍वरको अगुवाइद्वारा, पछि म त्यस ठाउँबाट भागेँ र मैले फेरि मेरो कर्तव्य निर्वाह गर्न थाल्‍न सकेँ।

पक्राउ परेको र प्रहरीद्वारा यातना भोगेको कुराले ममा ठूलो छाप छोडेको छ। कम्युनिस्ट पार्टी कति निर्दयी र अमानवीय छ भन्‍ने मैले देखेको छु। मैले तिनीहरूको परमेश्‍वरविरोधी सारलाई पूर्ण रूपमा देखेको छु। म ती दैत्यहरूलाई पूर्ण रूपमा घृणा गर्छु। मैले परमेश्‍वरका वचनहरूको शक्ति र अख्‍तियारलाई पनि अनुभव गरेको छु। परीक्षा र कठिनाइद्वारा, परमेश्‍वरले मलाई अगुवाइ गर्न र मलाई विश्‍वास र शक्ति दिनको लागि आफ्‍ना वचनहरू प्रयोग गरिरहनुभयो। मैले परमेश्‍वरले मात्र हामीलाई प्रेम गर्नुहुन्छ, र परमेश्‍वरका वचनहरू मात्रै हाम्रो जीवन हो भन्ने देखेँ। परमेश्‍वरमाथिको मेरो विश्‍वास अझै ठूलो भयो। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

स्वार्थीपनको समाधान कसरी गर्ने

झाङ्ग जिङ्ग, चेक गणतन्त्रसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन मापदण्डअनुसार व्यक्तिका कामहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो...

मोआबका सन्तानहरूको परीक्षा

झुवान्वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय,...

सत्यले मलाई बाटो देखाएको छ

शिझाइ, जापानसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्