मानवजातिले इमानदार पश्‍चात्ताप मार्फत परमेश्‍वरको कृपा र सहनशीलता जित्छ (भाग २)

13 अगस्ट 2021

निनवेका राजाको पश्‍चात्तापले यहोवा परमेश्‍वरको स्याबासी जित्छ

जब निनवेका राजाले यो खबर सुने, तिनी आफ्‍नो सिंहासनबाट उठे, आफ्‍नो वस्‍त्र फुकाए, भाङ्ग्रा लगाए र खरानीमा बसे। त्यसपछि उनले सहरको कसैलाई पनि केही कुरा चाख्‍ने अनुमति छैन, र कुनै पनि भेडा, गोरु वा अरू कुनै पनि चौपायालाई चर्ने वा पानी पिउने अनुमति छैन भनेर घोषणा गरे। मानिस र चौपाया सबैले भाङ्ग्रा लगाउनुपर्नेथियो, र मानिसहरूले परमेश्‍वरसँग हृदयदेखि बिन्ती गर्नुपर्नेथियो। तिनीहरू प्रत्येकले आफ्ना दुष्ट मार्गहरूलाई छाड्नुपर्छ र आफ्ना हातका हिंसालाई त्याग्‍नुपर्छ भनेर पनि राजाले घोषणा गरे। यी श्रृंखलाबद्ध कार्यहरूबाट मूल्याङ्कन गर्दा, निनवेका राजाको हृदयमा साँचो पश्‍चात्ताप थियो भन्‍ने स्पष्ट हुन्छ। उनले गरेका श्रृंखलाबद्ध कार्यहरूले—आफ्‍नो सिंहासनबाट उठ्नु, लुगा फुकाल्नु, भाङ्ग्रा लगाउनु र खरानीमा बस्‍नुजस्ता कार्यहरूले—मानिसहरूलाई निनवेका राजाले आफ्‍नो राजकीय हैसियतलाई त्यागेर सर्वसाधारण मानिसहरूसँगै भाङ्ग्रा लगाइरहेका थिए भन्‍ने बताउँछ। भन्‍नुको अर्थ, यहोवा परमेश्‍वरको घोषणा सुनिसकेपछि, निनवेका राजाले आफ्‍नो दुष्ट मार्गलाई जारी राख्‍न आफ्‍नो राजकीय पदलाई ओगटिरहेनन् वा आफ्ना हातका हिंसालाई जारी राख्‍ने कार्य गरेनन्; बरु, तिनले आफ्‍नो अख्‍तियारलाई पन्छाए र यहोवा परमेश्‍वरको अघि पश्‍चात्ताप गरे। यस क्षणमा निनवेका राजाले राजाको रूपमा पश्‍चात्ताप गरिरहेका थिएनन्; तिनी परमेश्‍वरको सामान्य प्रजाको रूपमा पश्‍चात्ताप गर्न र आफ्‍ना पापहरू स्वीकार गर्न परमेश्‍वरको सामुन्ने आएका थिए। यसको अलावा, उनले सारा सहरलाई आफूले जस्तै यहोवा परमेश्‍वरको सामुन्ने पश्‍चात्ताप गर्न र तिनीहरूका पापहरू स्वीकार गर्न लगाए; यसको साथै, तिनीसँग कसरी यसो गर्ने भन्‍नेबारे खास योजना थियो, जुन कुरालाई धर्मशास्‍त्रका खण्डहरूमा देखिन्छ: “न त मानिस न पशु, न गाईवस्तु न भेडाबाख्राले नै कुनै कुरा चाखोस्: तिनीहरूले नखाऊन्, पानी नपिऊन्: … र परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्: हो, तिनीहरू हरेक आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्।” त्यस सहरका शासकका रूपमा, निनवेका राजासँग सर्वोच्‍च प्रतिष्ठा र शक्ति थियो, र उनले आफूले चाहेको जे पनि गर्न सक्थे। यहोवा परमेश्‍वरको घोषणा सुनिसकेपछि, उनले त्यस विषयलाई बेवास्ता गर्न वा एकलै पश्‍चात्ताप गर्न र आफ्‍ना पापहरू स्वीकार गर्न सक्थे; त्यस सहरका मानिसहरूले पश्‍चात्ताप गर्ने निर्णय गर्छन् कि गर्दैनन् भन्‍ने विषयलाई उनले पूर्ण रूपमा बेवास्ता गर्न सक्थे। तैपनि, निनवेको राजाले त्यसो गरेनन्। उनले आफ्‍नो सिंहासनबाट उठेर, भाङ्ग्रा लगाई खरानीमा बसेर पश्‍चात्ताप गरी यहोवा परमेश्‍वरको सामुन्ने आफ्‍ना पापहरू स्वीकार मात्रै गरेनन्, बरु उनले त त्यस सहरका सबै मानिस र चौपायालाई पनि त्यसै गर्ने आदेश दिए। तिनले मानिसहरूलाई “परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्” भन्‍ने आज्ञा पनि दिए। यो श्रृंखलाबद्ध कार्यहरूमार्फत, निनवेका राजाले शासकले पूरा गर्नुपर्ने कार्यलाई साँचो रूपमा पूरा गरे। तिनले गरेको श्रृंखलाबद्ध कार्य मानव इतिहासको कुनै पनि राजाले हासिल गर्नु कठिन थियो, र वास्तवमै, अरू कुनै पनि राजाले यी कुरा हासिल गरेनन्। यी कार्यलाई मानव इतिहासका अभूतपूर्व कार्यहरू भन्‍न सकिन्छ, र यी कार्य मानवजातिले स्मरण र अनुकरण गर्न योग्य छन्। मानवको उदय भएदेखि नै, हरेक राजाले आफ्‍ना प्रजालाई परमेश्‍वरको प्रतिरोध र विरोध गर्न नेतृत्व गरेका थिए। कसैले कहिल्यै पनि आफ्‍ना प्रजालाई आफ्नो दुष्टताको निम्ति छुटकाराको खोजी गर्न, यहोवा परमेश्‍वरबाट माफी प्राप्त गर्न र आउन लागेको दण्डबाट जोगिन परमेश्‍वरलाई बिन्ती गर्ने कार्यमा नेतृत्व गरेका थिएनन्। तैपनि, निनवेका राजाले आफ्‍ना प्रजालाई परमेश्‍वरकहाँ फर्कन, तिनीहरूका आ-आफ्‍ना दुष्ट मार्गलाई त्यागेर तिनीहरूका हातका हिंसालाई त्याग्‍न अगुवाइ गर्न सके। यसको साथै, उनले आफ्‍नो सिंहासन समेत पन्छाउन सके, परिणामस्वरूप, यहोवा परमेश्‍वरले आफ्‍नो मन परिवर्तन गर्नुभई खेद अनुभूति गर्नुभयो, आफ्नो क्रोधलाई त्याग्‍नुभयो, अनि त्यस सहरका मानिसहरूलाई विनाशबाट जोगाउँदै बाँच्‍न दिनुभयो। राजाका यी कार्यहरूलाई मानव इतिहासमा बिरलै हुने आश्‍चर्यकर्म नै भन्न सकिन्छ, र भ्रष्ट मानवजातिले पश्‍चात्ताप गरेको र परमेश्‍वरको अघि आफ्‍ना पापहरू स्वीकार गरेको नमुना उदाहरण समेत भन्‍न सकिन्छ।

परमेश्‍वरले निनवेवासीका हृदयभित्र इमानदार पश्‍चात्ताप देख्‍नुहुन्छ

परमेश्‍वरको घोषणा सुनिसकेपछि, निनवेका राजा र उनका प्रजाले श्रृंखलाबद्ध कार्यहरू गरे। यी कार्य र तिनीहरूका व्यवहारको प्रकृति कस्तो थियो? अर्को शब्‍दमा भन्दा, तिनीहरूको आचरणको सम्पूर्णताको सार कस्तो थियो? तिनीहरूले जे गरे सो किन गरे त? परमेश्‍वरको नजरमा तिनीहरूले इमानदारीसाथ पश्‍चात्ताप गरेका थिए किनभने तिनीहरूले परमेश्‍वरलाई सच्‍चा बिन्ती गरेर उहाँसामु आफ्ना पाप स्वीकार गरेका मात्र होइनन्, बरु आफ्‍ना दुष्ट आचरणलाई पनि त्यागेका थिए। तिनीहरूले यस्तो कार्य गरे किनभने परमेश्‍वरका वचन सुनिसकेपछि, तिनीहरू अत्यन्तै भयभीत भए र उहाँले जे भन्‍नुभएको छ सो गर्नुहुनेछ भनेर तिनीहरूले विश्‍वास गरे। उपवास बसेर, भाङ्ग्रा लगाएर अनि खरानीमा बसेर, तिनीहरूले आफ्‍ना मार्गलाई सुधार गर्ने र दुष्टताबाट अलग बस्‍ने आफ्नो इच्‍छा व्यक्त गरे, अनि यहोवा परमेश्‍वरलाई उहाँको निर्णय र तिनीहरूमाथि विपत्ति बर्साउने कार्यलाई फिर्ता लिन बिन्ती गर्दै, उहाँलाई उहाँको रिस रोक्‍न प्रार्थना गरे। यदि हामीले तिनीहरूका सबै व्यवहारलाई जाँच्यौँ भने, तिनीहरूले आफ्ना पहिलेका दुष्कर्महरू यहोवा परमेश्‍वरका निम्ति घृणास्पद थिए र आफूहरूलाई उहाँले किन चाँडै नाश पार्न लाग्‍नुभएको हो भनेर बुझिसकेका थिए भन्‍ने हामी देख्न सक्छौँ। यही कारणले गर्दा, तिनीहरू सबैले पूर्ण पश्‍चात्ताप गर्ने, दुष्ट मार्गहरू छाड्ने र आफ्‍ना हातका हिंसालाई त्याग्‍ने इच्‍छा गरे। अर्को शब्‍दमा भन्दा, यहोवा परमेश्‍वरको घोषणाबारे थाहा पाएपछि तिनीहरू प्रत्येकले हृदयभित्र डर अनुभूति गरे; तिनीहरूले आफ्‍ना दुष्ट व्यवहारलाई रोके र त्यसपछि फेरि कहिल्यै पनि यहोवा परमेश्‍वरलाई अत्यन्तै घृणास्पद लाग्ने ती कार्य गरेनन्। यसको साथै, तिनीहरूले यहोवा परमेश्‍वरलाई तिनीहरूका विगतका पाप क्षमा गर्न र तिनीहरूलाई तिनीहरूका विगतका कार्यहरूअनुसार व्यवहार नगर्न बिन्ती गरे। यदि यहोवा परमेश्‍वरलाई फेरि कहिल्यै क्रोधित नतुल्याउनु सम्‍भव छ भने, तिनीहरू फेरि कहिल्यै पनि दुष्टतामा संलग्‍न नहुन र यहोवा परमेश्‍वरका निर्देशनहरू अनुसार कार्य गर्न तत्पर थिए। तिनीहरूको पश्‍चात्ताप सच्‍चा र पूर्ण थियो। यो तिनीहरूको हृदयभित्रबाट आएको थियो अनि यो सच्‍चा र स्थायी थियो।

राजादेखि सर्वसाधारणसम्‍मका, निनवेका सारा मानिसहरूले यहोवा परमेश्‍वर तिनीहरूप्रति रिसाउनुभएको छ भन्‍ने थाहा पाएपछि, तिनीहरू प्रत्येकले त्यसपछि गरेका हरेक कार्य र तिनीहरूको आचरणलाई, साथै तिनीहरूले गरेका हरेक निर्णय र छनौटलाई परमेश्‍वरले स्पष्ट र सरल रूपमा देख्‍न सक्‍नुभयो। तिनीहरूका व्यवहारअनुसार परमेश्‍वरको हृदय परिवर्तन भयो। त्यस क्षणमा परमेश्‍वरको मनस्थिति कस्तो थियो? बाइबलले तेरो लागि त्यो प्रश्‍नको उत्तर दिन सक्छ। धर्मशास्‍त्रमा यी वचनहरू लेखिएका छन्: “अनि परमेश्‍वरले तिनीहरू आफ्‍ना दुष्ट मार्गहरूबाट फर्केको तिनीहरूका कामहरू देख्नुभयो; र परमेश्‍वरले खराबी गर्नबाट मन बदल्नुभयो र उहाँले तिनीहरूलाई जे गर्छु भनी भन्नुभएको थियो त्यो गर्नुभएन” (योना ३:१०)। परमेश्‍वरले आफ्‍नो मन परिवर्तन गर्नुभएको भए पनि, उहाँको मनस्थितिमा केही पनि जटिलता थिएन। उहाँ केवल आफ्‍नो रिसलाई व्यक्त गर्ने अवस्थाबाट आफ्‍नो रिसलाई शान्त पार्ने अवस्थामा जानुभयो, र त्यसपछि निनवे सहरमाथि विपत्ति नल्याउने निर्णय गर्नुभयो। निनवेवासीलाई विपत्तिबाट बचाउने परमेश्‍वरको निर्णय त्यति छिटो आउनुको कारण परमेश्‍वरले हरेक निनवेवासीको हृदय अवलोकन गर्नु हो। उहाँले तिनीहरूले आफ्‍नो हृदयको अन्तस्करणमा के कुरालाई राखेका छन् भन्‍ने देख्‍नुभयो: तिनीहरूका इमानदार पश्‍चात्ताप र तिनीहरूका पाप स्वीकार, उहाँमाथिको तिनीहरूका इमानदार विश्‍वास, तिनीहरूका दुष्ट कार्यले उहाँको स्वभावलाई कसरी क्रोधित तुल्याएको छ भन्‍नेबारेमा तिनीहरूको गहन अनुभूति, र यहोवा परमेश्‍वरबाट आउन लागेको दण्डको डर। यसको साथै, यहोवा परमेश्‍वरले तिनीहरूको प्रार्थना पनि सुन्‍नुभयो, जुन तिनीहरूले आफूहरू यो विपत्तिबाट बच्‍न सकौँ भनेर, उहाँलाई अबउप्रान्त आफूहरूसँग नरिसाउन बिन्ती गर्दै आफ्‍नो हृदयको अन्तस्करणबाट गरेका थिए। जब परमेश्‍वरले यी सबै तथ्यलाई अवलोकन गर्नुभयो, अलि-अलि गर्दै उहाँको रिस हराएर गयो। उहाँको रिस पहिले जति नै धेरै भए पनि, उहाँले यी मानिसहरूले हृदयको गहिराइमा गरेको इमानदार पश्‍चात्तापलाई देख्नुभएपछि यसले उहाँको हृदय छोयो, त्यसकारण उहाँले तिनीहरूमाथि विपत्ति ल्याउन सक्‍नुभएन, र उहाँ तिनीहरूसित रिसाउन छोड्नुभयो। बरु, उहाँले तिनीहरूलाई आफ्‍नो कृपा र सहनशीलता दिने कार्यलाई जारी राख्‍नुभयो र तिनीहरूलाई मार्गनिर्देशित गर्ने र तिनीहरूलाई भरणपोषण गर्ने कार्यलाई जारी राख्‍नुभयो।

यदि परमेश्‍वरमाथिको तेरो विश्‍वास साँचो छ भने, तैँले अक्सर उहाँको हेरचाह प्राप्त गर्नेछस्

निनवेका मानिसहरूप्रति परमेश्‍वरले आफ्‍ना अभिप्राय परिवर्तन गर्नुहुँदा यसमा कुनै हिचकिचाहट वा कुनै अस्पष्ट वा धमिलो कुरा समावेश थिएन। बरु, यो त विशुद्ध रिसबाट विशुद्ध सहनशीलतामा भएको रूपान्तरण थियो। यो, परमेश्‍वरको सारको साँचो प्रकाश हो। आफ्‍ना कार्यहरूमा परमेश्‍वर कहिल्यै पनि ढलपल हुने वा हिचकिचाउने गर्नुहुन्‍न; उहाँका कार्य पछाडिका सिद्धान्त र उद्देश्य सबै स्पष्ट र पारदर्शी, विशुद्ध र त्रुटिविहीन हुन्छन्, तिनमा कुनै पनि चालबाजी वा युक्तिहरू मिश्रित भएका हुँदैनन्। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरको सारमा कुनै पनि अन्धकार वा दुष्टता हुँदैन। निनवेवासीका दुष्ट कार्यहरू उहाँको नजरमा परेको हुनाले परमेश्‍वर तिनीहरूप्रति रिसाउनुभयो; त्यसबेला उहाँको रिस उहाँको सारबाट आएको थियो। तथापि, परमेश्‍वरले आफ्‍नो रिस नियन्त्रण गरेर निनवेका मानिसहरूलाई फेरि एक पटक सहनशीलता प्रदान गर्नुभएको बेला, उहाँले प्रकट गर्नुभएका सबै कुरा पनि उहाँको आफ्‍नै सार नै थिए। सम्पूर्ण रूपमा यो परिवर्तन परमेश्‍वरप्रतिको मानिसको मनोवृत्तिमा आएको परिवर्तनको कारणले गर्दा थियो। यो पूरै समयावधिमा, परमेश्‍वरको चिढ्याउन नसकिने स्वभाव परिवर्तन भएन, परमेश्‍वरको सहनशील सार परिवर्तन भएन, अनि परमेश्‍वरको प्रेमिलो र कृपालु सार परिवर्तन भएन। जब मानिसहरूले दुष्ट कार्यहरू गर्छन् र परमेश्‍वरलाई रिस उठाउँछन्, उहाँले तिनीहरूमाथि आफ्‍नो रिस वर्साउनुहुन्छ। जब मानिसहरूले साँचो रूपमा पश्‍चात्ताप गर्छन्, परमेश्‍वरको हृदय परिवर्तन हुनेछ, अनि उहाँको रिस हट्नेछ। जब मानिसहरूले जिद्दी भई परमेश्‍वरको निरन्तर विरोध गर्छन्, उहाँको रिस रोकिनेछैन, र तिनीहरू नष्ट भइञ्‍जेलसम्म तिनीहरूमाथि उहाँको क्रोध एक-एक गरी आइरहनेछ। परमेश्‍वरको स्वभावको सार यही हो। परमेश्‍वरले क्रोध वा कृपा र प्रेमिलो दयालुपन जे व्यक्त गरिरहनुभएको भए तापनि, परमेश्‍वरको स्वभावको प्रकाशमार्फत कुनचाहिँलाई व्यक्त गरिन्छ भन्‍ने कुरा मानिसको चालचलन, बानीबेहोरा, र मानिसले आफ्‍नो हृदयभित्र परमेश्‍वरप्रति राख्ने मनोवृत्तिले तय गर्छ। यदि परमेश्‍वरले कुनै व्यक्तिमा निरन्तर आफ्‍नो रिस पोखाउनुहुन्छ भने, त्यस व्यक्तिको हृदयले परमेश्‍वरको विरोध गर्छ भन्‍ने कुरामा कुनै शङ्का हुँदैन। यो व्यक्तिले साँचो रूपमा कहिल्यै पनि पश्‍चात्ताप गरेको, परमेश्‍वरको अघि आफ्‍नो शिर निहुराएको वा परमेश्‍वरमाथि साँचो विश्‍वास गरेको हुँदैन, त्यसकारण त्यस्ता व्यक्तिहरूले परमेश्‍वरको कृपा र सहनशीलतालाई कहिल्यै प्राप्त गरेका हुँदैनन्। यदि कसैले बारम्बार परमेश्‍वरको हेरचाह, कृपा, र सहनशीलता प्राप्त गर्छ भने, निःसन्देह यो व्यक्तिको हृदयमा परमेश्‍वरमाथिको साँचो विश्‍वास हुन्छ, र तिनीहरूको हृदयले परमेश्‍वरको विरोध गर्दैन। यो व्यक्तिले बारम्बार परमेश्‍वरसामु साँचो रूपमा पश्‍चात्ताप गर्छ; त्यसकारण, यो व्यक्तिमा बारम्बार परमेश्‍वरको अनुशासन आइपर्ने भए तापनि, उहाँको क्रोध कहिल्यै आइपर्नेछैन।

यो छोटो विवरणले मानिसहरूलाई परमेश्‍वरको हृदय, उहाँको सारको यथार्थपन, उहाँको रिस र उहाँको हृदय परिवर्तन कारणविहीन हुँदैन भन्‍ने कुरा देख्‍न सहयोग गर्छ। उहाँ क्रोधित हुनुहुँदा र उहाँको हृदय परिवर्तन भएको बेला परमेश्‍वरले प्रदर्शन गर्नुभएका फरक-फरक आचरणले मानिसहरूलाई परमेश्‍वरको सारका यी दुई पक्ष, अर्थात् उहाँको रिस र उहाँको सहनशीलताबीचमा ठूलो भिन्‍नता छ भन्‍ने विश्‍वास दिलाउँछन्—तर यस ठूलो भिन्‍नताको बाबजुद, निनवेवासीको पश्‍चात्तापप्रति परमेश्‍वरको मनोवृत्तिले मानिसहरूलाई फेरि उहाँको साँचो स्वभावको अर्को पक्षलाई देखाउँछ। परमेश्‍वरको परिवर्तन भएको हृदयले साँच्‍चै नै मानवजातिलाई फेरि पनि उहाँको कृपा र प्रेमिलो दयालुपनको सत्यता, र परमेश्‍वरको सारको साँचो प्रकाशलाई देख्‍ने तुल्याउँछ। परमेश्‍वरको कृपा र प्रेमिलो दयालुपन मिथ्या होइनन्, न त ती कुनै झूटो हल्‍ला नै हुन् भन्‍ने कुरालाई स्वीकार गर्नेबाहेक मानवजातिसँग कुनै विकल्‍प छैन। किनभने त्यतिबेला परमेश्‍वरको अनुभूति साँचो थियो, र उहाँको हृदय परिवर्तन पनि साँचो थियो—परमेश्‍वरले वास्तवमा मानवजातिमाथि फेरि पनि आफ्‍नो कृपा र सहनशीलता प्रदान गर्नुभयो।

निनवेवासीले हृदयमा गरेको साँचो पश्‍चात्तापले परमेश्‍वरको कृपा जित्छ र आफ्नो परिणामलाई परिवर्तन गर्छ

परमेश्‍वरको हृदय परिवर्तन र उहाँको क्रोधबीच कुनै विरोधाभास थियो? अवश्य थिएन! किनभने परमेश्‍वरले त्यस खास समयमा प्रस्तुत गर्नुभएको सहिष्णुताको आफ्नै कारण थियो। त्यो कारण के हुन सक्छ? त्यो, बाइबलमा दिइएकै कारण हो: “हरेक व्यक्तिले आफ्ना दुष्ट मार्ग छाडे” र “तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्।”

यो “दुष्ट मार्ग” ले एक-दुईवटा दुष्ट कार्यलाई जनाउँदैन, यसले त मानिसहरूको व्यवहार पैदा हुने दुष्ट स्रोतलाई जनाउँछ। “आफ्‍नो दुष्ट मार्गबाट फर्कून्” भनेको यस्ता कार्य गर्ने मानिसहरूले फेरि कहिल्यै यस्ता कार्य गर्नेछैनन् भन्‍ने हो। अर्को शब्‍दमा भन्दा, तिनीहरूले फेरि कहिल्यै यस्तो दुष्ट व्यवहार गर्नेछैनन्; तिनीहरूको कार्यको विधि, स्रोत, उद्देश्य, अभिप्राय र सिद्धान्त सबै परिवर्तन भएका छन्; तिनीहरूले आफ्‍नो हृदयमा आनन्द र खुसी ल्याउनको लागि ती विधि र सिद्धान्तहरूलाई फेरि कहिल्यै प्रयोग गर्नेछैनन्। “आफ्‍नो हातमा भएका हिंसाबाट फर्कून्” भन्‍ने पदावलीको “फर्कून्” भन्‍ने शब्‍दले विगतलाई छोड्नु, वा पन्छाउनु, विगतसँग पूर्ण रूपमा सम्‍बन्ध तोड्नु र फेरि कहिल्यै पछि नफर्कनु भन्‍ने अर्थ दिन्छ। जब निनवेका मानिसहरूले आफ्‍ना हातका हिंसालाई त्यागे, यसले तिनीहरूको साँचो पश्‍चात्तापलाई प्रमाणित र प्रतिनिधित्व गर्‍यो। परमेश्‍वरले मानिसहरूको बाहिरी रूपका साथै तिनीहरूको हृदयलाई अवलोकन गर्नुहुन्छ। जब परमेश्‍वरले निनवेवासीको हृदयको साँचो पश्‍चात्तापलाई कुनै प्रश्‍न नउठाई अवलोकन गर्नुभयो र तिनीहरूले आफ्‍ना दुष्ट मार्गलाई र आफ्नो हातका हिंसालाई त्यागिसकेको अवलोकन गर्नुभयो, तब उहाँले आफ्‍नो हृदय परिवर्तन गर्नुभयो। भन्‍नुको अर्थ, यी मानिसहरूको आचरण र बानीबेहोरा अनि काम गर्ने विभिन्‍न तौरतरिका, साथै तिनीहरूले आफ्ना हृदयमा गरेको साँचो पश्‍चात्ताप र पाप स्वीकारको कारणले गर्दा परमेश्‍वरले आफ्‍नो हृदय परिवर्तन गर्नुभयो, आफ्‍ना अभिप्रायलाई परिवर्तन गर्नुभयो, आफ्‍नो निर्णयलाई फिर्ता लिएर तिनीहरूलाई दण्ड नदिने वा नष्ट नगर्ने निर्णय गर्नुभयो। तसर्थ, निनवेका मानिसहरूले आफ्‍नो निम्ति फरक परिणाम हासिल गरे। तिनीहरूले आफ्‍नै जीवनलाई छुटकारा दिनका साथै परमेश्‍वरको कृपा र सहनशीलता जिते, त्यसैबेला परमेश्‍वरले आफ्‍नो क्रोधलाई पनि त्याग्‍नुभयो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मानवजातिले इमानदार पश्‍चात्ताप मार्फत परमेश्‍वरको कृपा र सहनशीलता जित्छ (भाग ४)

मानवजातिप्रति सृष्टिकर्ताका सच्‍चा भावनाहरू मानिसहरू प्रायजसो परमेश्‍वरलाई चिन्‍नु त्यति सजिलो कुरा होइन भन्छन्। तैपनि, म भन्छु...

मानवजातिले इमानदार पश्‍चात्ताप मार्फत परमेश्‍वरको कृपा र सहनशीलता जित्छ (भाग ३)

परमेश्‍वरको कृपा र सहनशीलता दुर्लभ छैनन्—मानिसको साँचो पश्चात्तापचाँहि दुर्लभ छ परमेश्‍वर निनवेवासीसँग जति नै धेरै रिसाउनुभएको भए पनि,...

मानवजातिले इमानदार पश्‍चात्ताप मार्फत परमेश्‍वरको कृपा र सहनशीलता जित्छ (भाग १)

यसपछि “परमेश्‍वरले निनवेलाई मुक्ति दिनुभएको” बाइबलीय कथा आउँछ। योना १:१-२ अब यहोवाको यसो भन्‍ने वचन अमित्तैका छोरा योनाकहाँ आयो, उठ्, त्यो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्