मानवजातिले इमानदार पश्‍चात्ताप मार्फत परमेश्‍वरको कृपा र सहनशीलता जित्छ (भाग ४)

13 अगस्ट 2021

मानवजातिप्रति सृष्टिकर्ताका सच्‍चा भावनाहरू

मानिसहरू प्रायजसो परमेश्‍वरलाई चिन्‍नु त्यति सजिलो कुरा होइन भन्छन्। तैपनि, म भन्छु परमेश्‍वरलाई चिन्‍नु त्यति कठिन कुरा होइन, किनभने मानिसले देखोस् भनेर परमेश्‍वरले बारम्‍बार आफ्‍ना कार्यहरू देखाउनुहुन्छ। मानवजातिसँगको आफ्‍नो कुराकानीलाई उहाँले कहिल्यै पनि रोक्‍नुभएको छैन, अनि उहाँले आफूलाई मानिसबाट कहिल्यै पनि ढाकछोप गर्नुभएको छैन, न त उहाँले आफूलाई लुकाउनु नै भएको छ। उहाँका सोचाइ, विचार, वचन अनि कार्य सबै नै मानवजातिका निम्ति प्रकट गरिन्छन्। त्यसकारण, जबसम्‍म मानिसले परमेश्‍वरलाई चिन्‍ने चाहना गर्छ, उसले उहाँलाई सबै किसिमका माध्यम र तरिकाबाट बुझ्‍न र चिन्‍न सक्छ। मानिसले परमेश्‍वर जानी-जानी ऊबाट टाढा हुनुभएको छ, उहाँले जानी-जानी आफूलाई मानवजातिबाट लुकाउनुभएको छ, उहाँलाई बुझ्‍न र चिन्‍न मानिसलाई दिने कुनै अभिप्राय उहाँसँग छैन भनेर अन्धाधुन्ध विचार गर्नुको कारण के हो भने, परमेश्‍वर को हुनुहुन्छ भन्‍ने कुरा उसलाई थाहा छैन, न त उसले परमेश्‍वरलाई बुझ्‍ने इच्‍छा नै गर्छ। त्योभन्दा पनि बढी, मानिसले सृष्टिकर्ताका विचार, वचन वा कार्यप्रति चासो नै दिँदैन…। साँचो रूपमा भन्दा, सृष्टिकर्ताका वचन वा कार्यहरूलाई ध्यान दिन र बुझ्‍नको लागि यदि व्यक्तिले आफ्‍नो फुर्सतको समय मात्रै प्रयोग गर्छ भने पनि, र सृष्टिकर्ताका विचार र उहाँको हृदयको आवाजलाई तिनीहरूले थोरै मात्रै ध्यान दिन्छन् भने पनि, सृष्टिकर्ताका विचार, वचन र कार्य स्पष्ट र पारदर्शी छन् भन्‍ने कुराको महसुस गर्न त्यो व्यक्तिलाई कठिनाइ हुनेछैन। त्यसरी नै, सृष्टिकर्ता सधैँ मानिसको बीचमा हुनुहुन्छ, उहाँ सधैँ मानिस र सम्पूर्ण सृष्टिसँग कुराकानी गर्नुहुन्छ, र उहाँले हरेक दिन नयाँ-नयाँ कार्यहरू गरिरहनुभएको छ भन्‍ने महसुस गर्न त्यति धेरै प्रयासको आवश्यकता पर्नेछैन। उहाँको सार र स्वभाव मानिससँगको उहाँको कुराकानीमा व्यक्त हुन्छन्; उहाँका सोचाइ र विचारलाई पूर्ण रूपमा उहाँका कार्यहरूमा प्रकट गरिन्छन्; उहाँले मानवजातिलाई सँधैभरि साथ दिनुहुन्छ र अवलोकन गर्नुहुन्छ। उहाँले आफ्‍ना शान्त वचनहरूद्वारा मानवजाति र सारा सृष्टिसँग बोल्‍नुहुन्छ: “म स्वर्गहरूमा छु, अनि म मेरा सृष्टिको बीचमा छु। म नियालिरहेको छु; म पर्खिरहेको छु; म तेरो छेउमा छु…।” उहाँका हात न्यानो र दह्रिला छन्; उहाँका पाइलाहरू हल्‍का छन्; उहाँको आवाज कोमल र शिष्ट छ; सारा मानवजातिलाई अङ्गाल्दै, उहाँको रूप बितेर जान्छ र परिवर्तन हुन्छ; उहाँको मुहार सुन्दर र कोमल छ। उहाँ कहिल्यै छोडेर जानुभएको छैन, कहिल्यै हराउनुभएको छैन। दिन-रात उहाँ मानवजातिको साथ कहिल्यै नछोड्ने अटुट मित्र हुनुहुन्छ। उहाँले निनवे सहरलाई बचाउनुहुँदा, मानवजातिको निम्ति उहाँको समर्पित हेरचाह र विशेष स्‍नेह, साथै मानिसको निम्ति उहाँको सच्‍चा चिन्ता र प्रेम एक-एक गरी प्रकट गरिए। विशेष गरी, यहोवा परमेश्‍वर र योनाबीचको कुराकानीले उहाँ स्वयमले सृष्टि गर्नुभएको मानवजातिप्रति सृष्टिकर्ताको स्‍नेहशीलतालाई पूर्ण रूपमा प्रकट गर्‍यो। तैँले वचनहरूद्वारा मानवजातिको निम्ति परमेश्‍वरका सच्‍चा भावनाहरूबारे गहन बुझाइ प्राप्त गर्न सक्छस् …

मानवजातिप्रति सृष्टिकर्ताको सच्‍चा भावनाहरू

निम्‍न खण्डलाई योनाको पुस्तक ४:१०-११ मा समावेश गरिएको छ: “त्यसपछि यहोवाले भन्नुभयो, तैँले जुन लौकाको निम्ति न त परिश्रम गरिस् न त त्यसलाई हुर्काइस् तँ त्यसलाई माया गर्छस्; जुन एकै रातमा आयो र एकै रातमा नष्ट भयो: अनि आफ्‍नो दाहिने हातबाट देब्रे हात छुट्टाउन नसक्ने एक लाख बीस हजारभन्दा बढी मानिसहरू र धेरै गाईवस्तुहरू भएको त्यो ठूलो सहर निनवेप्रति मैले दया देखाउनु पर्दैन र?” यी, परमेश्‍वर र योनाबीचको कुराकानीबाट अभिलेख गरिएका यहोवा परमेश्‍वरका वास्तविक वचन हुन्। यो कुराकानी छोटो भए तापनि, मानवजातिको निम्ति सृष्टिकर्ताको वास्ता अनि मानवजातिलाई त्याग्‍ने उहाँको अनिच्‍छाले भरिएको छ। यी वचन आफ्‍नो सृष्टिको लागि परमेश्‍वरले आफ्‍नो हृदयमा राख्‍नुहुने साँचो मनोवृत्ति र भावनाका अभिव्यक्ति हुन्। मानिसले बिरलै सुनेका स्पष्ट र सटीक यी वचनद्वारा, परमेश्‍वरले मानवजातिको निम्ति आफ्‍ना साँचो अभिप्रायहरूलाई उल्‍लेख गर्नुहुन्छ। यो कुराकानीले निनवेका मानिसहरूप्रति परमेश्‍वरले राख्‍नुभएको मनोवृत्तिलाई प्रतिनिधित्व गर्छ—तर यो कस्तो प्रकारको मनोवृत्ति हो? तिनीहरूले पश्‍चात्ताप गर्नुभन्दा पहिले र पछि निनवेका मानिसहरूप्रति उहाँले राख्‍नुभएको मनोवृत्ति, र उहाँले मानवजातिलाई व्यवहार गर्ने मनोवृत्ति यही नै हो। यी वचनभित्र उहाँका विचार र उहाँको स्वभाव छन्।

यी वचनहरूमा परमेश्‍वरका के-कस्ता विचार प्रकट गरिएका छन्? पढ्ने क्रममा तैँले विवरणहरूलाई ध्यान दिइस् भने, उहाँले “दया” शब्‍दको प्रयोग गर्नुहुन्छ भन्‍ने कुरालाई पहिचान गर्न तँलाई कठिनाइ हुनेछैन; यो शब्‍दको प्रयोगले मानवजातिप्रति परमेश्‍वरको साँचो मनोवृत्तिलाई देखाउँछ।

शाब्दिक अर्थको हिसाबमा हेर्दा, मानिसहरूले “दया” शब्‍दलाई फरक-फरक तरिकाले अर्थ लगाउन सकिन्छ: पहिलो, यसको अर्थ “प्रेम गर्नु र रक्षा गर्नु, कुनै कुराप्रति कोमलताको अनुभव गर्नु” भन्‍ने हुन्छ; दोस्रो, यसको अर्थ “घनिष्ठताको साथ प्रेम गर्नु” भन्‍ने हुन्छ; र अन्तिम, यसको अर्थ “कुनै कुरालाई चोट पुऱ्याउन अनिच्छुक हुनु र त्यसो गरेको सहन नसक्‍नु” भन्‍ने हुन्छ। छोटकरीमा, यो शब्‍दले कोमल स्‍नेह र प्रेम, साथै कसैलाई वा कुनै कुरालाई छोड्न अनिच्‍छुक हुनु भन्‍ने आशय दिन्छ; यसले मानिसप्रति परमेश्‍वरको कृपा र सहनशीलतालाई जनाउँछ। परमेश्‍वरले यो शब्‍दको प्रयोग गर्नुभयो, जुन मानिसले आम रूपमा बोल्‍ने शब्‍द नै हो, तैपनि यसले मानवजातिप्रति परमेश्‍वरको हृदयको आवाज अनि उहाँको मनोवृत्तिलाई खुलासा गर्न सक्छ।

निनवे सहर सदोमका मानिसहरू जत्तिकै भ्रष्ट, दुष्ट, र हिंसात्मक मानिसहरूले भरिएको भए तापनि, तिनीहरूको पश्‍चात्तापले गर्दा परमेश्‍वरले हृदय परिवर्तन गर्नुभयो र तिनीहरूलाई नष्ट नगर्ने निर्णय गर्नुभयो। परमेश्‍वरका वचन र निर्देशनलाई तिनीहरूले जसरी लिए त्यो सदोमका नागरिकहरूको भन्दा ठीक विपरीत मनोवृत्तिको प्रदर्शन थियो, त्यसो हुनाले र परमेश्‍वरप्रतिको तिनीहरूको निष्कपट समर्पणता अनि आफ्‍ना पापप्रति तिनीहरूको निष्कपट पश्‍चात्तापलगायत सबै कुराप्रति तिनीहरूको साँचो र हृदयबाट निस्केको आचरणले गर्दा परमेश्‍वरले फेरि एक पटक आफ्‍नो हृदयको दया व्यक्त गर्नुभयो र सो तिनीहरूलाई दिनुभयो। परमेश्‍वरले मानवजातिलाई जे दिनुहुन्छ त्यसलाई र मानवजातिको निम्ति उहाँको दयालाई कसैले नक्‍कल गर्नु असम्‍भव छ, र मानवजातिप्रति परमेश्‍वरको कृपा, सहनशीलता, वा निष्कपट भावना कुनै व्यक्तिमा हुनु असम्‍भव छ। के तैँले महान् पुरुष वा स्‍त्री, वा महामानव ठानेको कुनै व्यक्ति छ, जसले उच्‍च स्थानबाट महान् पुरुष वा स्त्रीले जस्तो बोल्छ, वा उच्‍च स्थानबाट मानवजाति वा सृष्टिलाई यस्तो प्रकारको अभिव्यक्ति दिन्छ? मानवजातिमा त्यस्तो को छ जसले मानवजातिको अवस्थालाई आफ्‍नो हत्केलालाई जत्तिकै जान्‍न सक्छ? मानवजातिको अस्तित्वको भार र जिम्‍मेवारीलाई कसले बहन गर्न सक्छ? सहरको विनाशको घोषणा गर्न को योग्य छ? अनि सहरलाई क्षमा दिन को योग्य छ? कसले आफ्‍नो सृष्टिप्रति दया देखाउँछु भनी भन्‍न सक्छ? सृष्टिकर्ताले मात्रै सक्‍नुहुन्छ! यस मानवजातिप्रति सृष्टिकर्तासँग मात्रै स्‍नेह छ! यस मानवजातिलाई सृष्टिकर्ताले मात्रै करुणा र स्‍नेह देखाउनुहुन्छ। सृष्टिकर्तासँग मात्रै यस मानवजातिप्रति साँचो, नतोडिने स्‍नेह छ। त्यसरी नै, सृष्टिकर्ताले मात्रै यस मानवजातिलाई कृपा दिन र आफ्‍ना सम्पूर्ण सृष्टिप्रति दया देखाउन सक्‍नुहुन्छ। मानिसको हरेक कार्यमा उहाँको ढुकढुकी चल्छ र उहाँलाई पीडा हुन्छ: मानिसको दुष्टता र भ्रष्टताप्रति उहाँ रिसाउनुहुन्छ, व्याकुल र दुःखित बन्‍नुहुन्छ; मानिसको पश्‍चात्ताप र विश्‍वासप्रति उहाँ प्रसन्‍न, आनन्दित, क्षमाशील र उल्लसित बन्‍नुहुन्छ; उहाँका हरेक सोचाइ र विचार मानिसकै निम्ति अस्तित्वमा हुन्छन् र सेरोफेरोमा घुम्छ; उहाँ जे हुनुहुन्छ र उहाँसँग जे छ सो सम्पूर्ण रूपले मानवजातिको खातिर व्यक्त गरिन्छ; उहाँका भावनाहरूको सम्पूर्णता मानवजातिको अस्तित्वसँग गुँथिएको छ। मानवजातिको खातिर, उहाँ यताउता यात्रा गर्नुहुन्छ र दौडधूप गर्नुहुन्छ; उहाँले चुपचाप आफ्‍नो जीवनको एक-एक टुक्रा दिनुहुन्छ; उहाँले आफ्‍नो जीवनको हरेक मिनेट र सेकेन्ड दिनुहुन्छ…। उहाँको आफ्‍नै जीवनको मोल गर्न उहाँले कहिल्यै जान्‍नुभएको छैन, तैपनि आफैले सृष्टि गर्नुभएको मानवजातिलाई उहाँले सधैँ दया देखाउनुभएको छ…। आफूसँग भएको सबै कुरा उहाँले यी मानवजातिलाई दिनुहुन्छ…। उहाँले सर्तरहित र प्रतिफल पाउने आशा नै नगरिकन आफ्‍नो कृपा र सहनशीलता दिनुहुन्छ। जीवनसम्‍बन्धी उहाँको बन्दोबस्‍तलाई प्राप्त गर्दै मानवजाति उहाँको आँखा अगाडि नै बाँचिरहन सकून् भनेर मात्रै उहाँले यसो गर्नुहुन्छ। मानवजाति एक दिन उहाँको सामने समर्पित हुन सकून् र मानिसको अस्तित्वलाई पालनपोषण गर्ने अनि सारा सृष्टिलाई जुटाउने उहाँ नै हुनुहुन्छ भन्‍ने कुरा पहिचान गरून् भनेर मात्रै उहाँले यसो गर्नुहुन्छ।

सृष्टिकर्ताले मानवजातिप्रतिको आफ्ना साँचो भावनाहरू व्यक्त गर्नुहुन्छ

यहोवा परमेश्‍वर र योनाबीचको यो कुराकानी मानवजातिप्रति सृष्टिकर्ताको साँचो भावनाको अभिव्यक्ति हो भन्‍ने कुरामा कुनै शङ्‍का छैन। एकतर्फ, यसले मानिसहरूलाई सृष्टिकर्ताले उहाँको सार्वभौमिकताको अधीनमा रहेका सारा सृष्टिलाई बुझ्नुहुन्‍छ भन्‍नेबारे जानकारी दिन्छ; किनभने यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको छ, “अनि आफ्‍नो दाहिने हातबाट देब्रे हात छुट्टाउन नसक्ने एक लाख बीस हजारभन्दा बढी मानिसहरू र धेरै गाईवस्तुहरू भएको त्यो ठूलो सहर निनवेप्रति मैले दया देखाउनु पर्दैन र?” अर्को शब्‍दमा भन्दा, निनवेसम्‍बन्धी परमेश्‍वरको बुझाइ कुनै पनि हालतमा सतही थिएन। उहाँलाई उक्त सहरमा बस्‍ने जीवित प्राणीहरूको सङ्ख्या मात्रै थाहा थिएन (जसमा मानिसहरू र चौपाया पनि पर्छन्), उहाँलाई त कति जनाले देब्रे र दाहिने हात छुट्याउन सक्दैनन्—अर्थात्, कति जना बालबालिका र जवान छन् भन्‍ने पनि थाहा थियो। यो मानवजातिसम्‍बन्धी परमेश्‍वरको पूर्ण बुझाइको ठोस प्रमाण हो। अर्कोतर्फ, यस कुराकानीले मानिसहरूलाई मानवजातिप्रति सृष्टिकर्ताको मनोवृत्तिबारे अर्थात् सृष्टिकर्ताको हृदयमा मानवजातिको बोझ कति छ भन्‍नेबारे जानकारी दिन्छ। यो कुरा यहोवा परमेश्‍वरले भन्‍नुभएको जस्तै हो: “तैँले जुन लौकाको निम्ति न त परिश्रम गरिस् न त त्यसलाई हुर्काइस् तँ त्यसलाई माया गर्छस्; जुन एकै रातमा आयो र एकै रातमा नष्ट भयो: अनि … त्यो ठूलो सहर निनवेप्रति मैले दया देखाउनु पर्दैन र?” यी यहोवा परमेश्‍वरले योनाप्रति लक्षित गरी बोल्‍नुभएका धिक्‍कारका वचनहरू हुन्, तर ती सबै सत्य छन्।

योनालाई निनवेका मानिसहरूप्रति यहोवा परमेश्‍वरले दिनुभएका वचन घोषणा गर्ने जिम्‍मेवारी दिइएको भए तापनि, तिनले यहोवा परमेश्‍वरका अभिप्रायलाई बुझेका थिएनन्, न त तिनले त्यस सहरका मानिसहरूप्रति उहाँको चिन्ता र अपेक्षालाई नै बुझेका थिए। यस हप्कीद्वारा परमेश्‍वरले तिनलाई के बताउन चाहनुभएको थियो भने, मानवजाति परमेश्‍वरको आफ्‍नै हातका उपज हुन्, र हरेक व्यक्तिमा उहाँले कठोर प्रयत्न गर्नुभएको छ, हरेक व्यक्तिले आफ्‍नो काँधमा परमेश्‍वरका अपेक्षाहरू बोक्छन्, र हरेक व्यक्तिले परमेश्‍वरको जीवनको आपूर्ति प्राप्त गर्छन्; हरेक व्यक्तिको लागि परमेश्‍वरले कठिन प्रयासको मूल्य चुकाउनुभएको थियो। यो हप्कीले योनालाई उनले जसरी लौकाप्रति दया देखाउँछस्, त्यसरी नै परमेश्‍वरले पनि मानवजातिलाई, जुन उहाँको आफ्‍नै हातको काम हो, त्यसप्रति दया देखाउनुहुन्छ भन्‍ने कुरा पनि बतायो। परमेश्‍वरले कुनै पनि हालतमा, वा सम्‍भव भएको अन्तिम क्षणसम्‍म मानवजातिलाई हल्का रूपमा त्याग्‍नुहुनेथिएन, वा कम्तीमा पनि सहरभित्र धेरै बालबालिका र निर्दोष चौपाया भएको कारण त्यसो गर्नुहुनेथिएन। आफ्ना दाहिने र देब्रे हात चिन्‍न नसक्‍ने परमेश्‍वरको सृष्टिका यी साना र अज्ञानी उपजहरूसँग व्यवहार गर्ने क्रममा, परमेश्‍वरले त्यति हतार गरेर तिनीहरूको जीवन समाप्त गर्नुहुनेथियो र तिनीहरूको परिणामलाई निर्धारण गर्नुहुनेथियो भन्‍ने कुरा त अझै अपत्यारिलो हुनेथियो। परमेश्‍वरले तिनीहरू हुर्के-बढेको हेर्ने आशा गर्नुहुन्थ्यो; तिनीहरू आफ्ना अग्रजहरूकै मार्गमा नहिँडून्, तिनीहरूले फेरि यहोवा परमेश्‍वरको चेतावनी सुन्‍न नपरून्, र निनवेको विगतको गवाही दिऊन् भन्‍ने चाहना उहाँको थियो। त्यसरी नै, पश्‍चात्ताप गरेपछिको निनवेलाई हेर्ने, पश्‍चात्ताप पछिको निनवेको भविष्यलाई हेर्ने, र सबैभन्दा महत्त्वपूर्ण कुरा, निनवे फेरि पनि परमेश्‍वरको कृपामा जिएको हेर्ने इच्‍छा परमेश्‍वरको थियो। त्यसकारण, परमेश्‍वरको नजरमा, दाहिने र देब्रे हात नचिन्‍ने ती सृष्टिका प्रजाहरू नै निनवेको भविष्य थिए। जसरी तिनीहरूले परमेश्‍वरको अगुवाइमा निनवेको विगत र भविष्यको गवाही दिने महत्त्वपूर्ण कर्तव्यलाई काँधमा बोकेर हिँड्नेवाला थिए, तिनीहरूले निनवेको तुच्‍छ विगतको बोझलाई पनि काँधमा बोक्‍नेवाला थिए। आफ्‍नो साँचो भावनाहरूको यस घोषणामा, यहोवा परमेश्‍वरले समग्र मानवताप्रतिको सृष्टिकर्ताको कृपालाई पूर्ण रूपमा प्रस्तुत गर्नुभयो। यसले मानवजातिलाई “सृष्टिकर्ताको कृपा” रित्तो वाक्यांश होइन, न त यो खोक्रो प्रतिज्ञा नै हो; यसमा ठोस सिद्धान्त, विधि र उद्देश्यहरू छन् भन्‍ने कुरा देखायो। परमेश्‍वर साँचो र वास्तविक हुनुहुन्छ, र उहाँले कुनै पनि झूट वा छलकपट प्रयोग गर्नुहुन्‍न, र यसरी नै हरेक समय र युगमा मानवजातिमाथि उहाँको कृपा अटुट रूपमा बर्सिरहन्छ। तैपनि, आजको दिनसम्‍म नै, योनासँगको सृष्टिकर्ताको कुराकानी उहाँले मानवजातिलाई किन कृपा देखाउनुहुन्छ, उहाँले मानवजातिलाई कसरी कृपा देखाउनुहुन्छ, मानवजातिप्रति उहाँ कति सहनशील हुनुहुन्छ र मानवजातिप्रति उहाँका साँचो भावनाहरू कस्ता छन् भन्‍नेबारे एउटै, विशेष मौखिक अभिव्यक्ति हो। यस कुराकानीको क्रममा यहोवा परमेश्‍वरले बोल्‍नुभएको संक्षिप्त वचनले अभिन्‍न समग्रताको रूपमा मानवजातिप्रति उहाँका सोचहरूलाई व्यक्त गर्छ; ती सोच मानवजातिप्रतिको उहाँको हृदयको मनोवृत्तिको साँचो अभिव्यक्ति हुन्, र ती मानवजातिप्रति उहाँले प्रशस्‍त कृपा प्रदान गर्नुभएको छ भन्‍ने कुराको ठोस प्रमाण पनि हुन्। उहाँको कृपा मानवजातिका पुराना पुस्ताहरूमा मात्रै प्रदान गरिएको छैन, बरु सधैँ झैँ एकपछि अर्को पुस्ता गरी मानवजातिका नयाँ सदस्यहरूलाई पनि प्रदान गरिएको छ। मानवजातिको निश्‍चित कुना र निश्‍चित युगमा परमेश्‍वरको क्रोध बारम्‍बार वर्षिने भए पनि, परमेश्‍वरको कृपा कहिल्यै रोकिएको छैन। आफ्‍नो कृपाद्वारा, उहाँले आफ्‍नो सृष्टिको एकपछि अर्को पुस्तालाई अगुवाइ र नेतृत्व गर्नुहुन्छ, र सृष्टिको एकपछि अर्को पुस्तालाई पालनपोषण र भरणपोषण दिनुहुन्छ, किनभने मानवजातिप्रति उहाँको साँचो भावना कहिल्यै परिवर्तन हुनेछैन। यो यहोवा परमेश्‍वरले भन्‍नुभएको जस्तै छ: “… मैले दया देखाउनु पर्दैन र?” उहाँले आफ्‍नो सृष्टिप्रति जहिल्यै पनि दया देखाउनुभएको छ। यो, सृष्टिकर्ताको धर्मी स्वभावको कृपा हो, र यो सृष्टिकर्ताको पूर्ण अद्वितीयपन पनि हो!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मानवजातिले इमानदार पश्‍चात्ताप मार्फत परमेश्‍वरको कृपा र सहनशीलता जित्छ (भाग ३)

परमेश्‍वरको कृपा र सहनशीलता दुर्लभ छैनन्—मानिसको साँचो पश्चात्तापचाँहि दुर्लभ छ परमेश्‍वर निनवेवासीसँग जति नै धेरै रिसाउनुभएको भए पनि,...

मानवजातिले इमानदार पश्‍चात्ताप मार्फत परमेश्‍वरको कृपा र सहनशीलता जित्छ (भाग १)

यसपछि “परमेश्‍वरले निनवेलाई मुक्ति दिनुभएको” बाइबलीय कथा आउँछ। योना १:१-२ अब यहोवाको यसो भन्‍ने वचन अमित्तैका छोरा योनाकहाँ आयो, उठ्, त्यो...

मानवजातिले इमानदार पश्‍चात्ताप मार्फत परमेश्‍वरको कृपा र सहनशीलता जित्छ (भाग २)

निनवेका राजाको पश्‍चात्तापले यहोवा परमेश्‍वरको स्याबासी जित्छ जब निनवेका राजाले यो खबर सुने, तिनी आफ्‍नो सिंहासनबाट उठे, आफ्‍नो वस्‍त्र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्