सृष्टिकर्ताको धर्मी स्वभाव यथार्थ र स्पष्ट छ

13 अगस्ट 2021

परमेश्‍वरको कृपा र सहनशीलता दुर्लभ छैनन्—मानिसको साँचो पश्चात्तापचाँहि दुर्लभ छ

परमेश्‍वर निनवेवासीहरूसँग जति नै धेरै रिसाउनुभएको भए पनि, तिनीहरूले उपवासको घोषणा गरी भाङ्ग्रा लगाई खरानी घसेर बस्‍नेबित्तिकै, उहाँको हृदय कोमल हुन थाल्यो अनि उहाँले आफ्‍नो मन परिवर्तन गर्न थाल्‍नुभयो। उहाँले तिनीहरूको सहर नष्ट गर्ने घोषणा गर्नुहुँदा—तिनीहरूले आफ्‍नो पापको स्वीकार र पश्‍चात्ताप गर्नुभन्दा पहिलेको क्षणमा—परमेश्‍वर तिनीहरूसँग अझै रिसाउनुभएको थियो। तिनीहरूले पश्‍चात्तापका श्रृंखलाबद्ध कार्यहरू गरिसकेपछि, निनवेका मानिसहरूप्रतिको परमेश्‍वरको रिस तिनीहरूप्रतिको कृपा र सहनशीलतामा परिवर्तन भयो। एउटै घटनामा परमेश्‍वरको स्वभावका यी दुई पक्षहरू एकैसाथ प्रकाश भएको भए पनि त्यो विरोधाभासपूर्ण भने छैन। त्यसैले, यस्तो विरोधाभास नहुनुलाई कसरी बुझ्‍नु र जान्‍नुपर्छ? निनवेका मानिसहरूले पश्‍चात्ताप गरेपछि परमेश्‍वरले यी दुई विपरीत-ध्रुवीय सारलाई व्यक्त र प्रकट गर्नुभयो, अनि मानिसहरूलाई परमेश्‍वरको सारको यथार्थता र रिस उठाउन नसकिने गुण देख्‍न दिनुभयो। मानिसहरूलाई निम्‍न कुराहरू बताउन परमेश्‍वरले आफ्‍नो मनोवृत्ति प्रयोग गर्नुभयो: परमेश्‍वरले मानिसहरूलाई सहनुहुन्‍न वा तिनीहरूलाई कृपा प्रदान गर्न चाहनुहुन्‍न भन्‍ने होइन; बरु, तिनीहरूले बिरलै परमेश्‍वरसामु साँचो रूपले पश्‍चात्ताप गर्छन्, र मानिसहरूले बिरलै आफ्‍ना दुष्ट मार्गहरू छाड्छन् र आफ्‍नो हातको हिंसालाई त्याग्छन् भन्ने हो। अर्को शब्‍दमा भन्दा, जब परमेश्‍वर मानिससित रिसाउनुहुन्छ, तब उहाँ मानिसले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्‍नेछ भन्ने आशा गर्नुहुन्छ, अनि वास्तवमै उहाँ मानिसको साँचो पश्‍चात्ताप हेर्न चाहनुहुन्छ, र त्यस्तो अवस्थामा उहाँले मानिसलाई उदारताको साथ आफ्‍नो कृपा र सहनशीलता प्रदान गर्न जारी राख्‍नुहुनेछ। भन्‍नुको अर्थ, मानिसको दुष्ट चालले परमेश्‍वरको क्रोध प्राप्त गर्छ, जबकि परमेश्‍वरको कुरा सुन्‍ने र उहाँको अघि साँचो रूपमा पश्‍चात्ताप गर्नेहरूलाई, आफ्‍ना दुष्ट मार्गहरू छाड्न सक्ने र आफ्‍नो हातका हिंसा त्याग्‍न सक्‍नेहरूलाई परमेश्‍वरको कृपा र सहनशीलता प्रदान गरिन्छ। निनवेवासीहरूलाई उहाँले जस्तो व्यवहार गर्नुभएको थियो त्यसमा परमेश्‍वरको मनोवृत्ति अत्यन्तै स्पष्ट रूपमा प्रकट भएको थियो: परमेश्‍वरको कृपा र सहनशीलता प्राप्त गर्न कठिन छँदै-छैन, र उहाँले चाहनुहुने भनेको व्यक्तिको साँचो पश्‍चात्ताप नै हो। जबसम्‍म मानिसहरू आफ्‍ना दुष्ट मार्गहरू छाड्छन् र आफ्‍ना हातको हिंसालाई त्याग्छन्, तबसम्‍म तिनीहरूप्रति परमेश्‍वरले आफ्‍नो हृदय र मनोवृत्ति परिवर्तन गर्नुहुनेछ।

सृष्टिकर्ताको धर्मी स्वभाव यथार्थ र स्पष्ट छ

सृष्टिकर्ताको धर्मी स्वभाव यथार्थ र स्पष्ट छ

जब निनवेका मानिसहरूप्रति परमेश्‍वरको हृदय परिवर्तन भयो, तब के उहाँको कृपा र सहनशीलता देखावटी थियो? अवश्य थिएन! त्यसो भए परमेश्‍वरले यो एउटा परिस्थितिको सामना गर्ने क्रममा परमेश्‍वरको स्वभावको यी दुई पक्षमा एकदेखि अर्कोमा भएको परिवर्तनले के देखाइएको छ? परमेश्‍वरको स्वभाव पूर्ण रूपमा सिङ्गो छ—यो विभाजित छैन। उहाँले मानिसहरूप्रति रिस वा कृपा र सहनशीलता जे व्यक्त गरिरहनुभएको भए तापनि, यी सबै उहाँको धर्मी स्वभावका अभिव्यक्तिहरू हुन्। परमेश्‍वरको स्वभाव महत्त्वपूर्ण र स्पष्ट रूपमा देखिनेछ, र अवस्था जे-जसरी विकसित हुन्छन् त्यसरी नै उहाँले आफ्‍ना विचार र मनोवृत्तिहरूलाई परिवर्तन गर्नुहुन्छ। निनवेवासीहरूप्रतिको उहाँको मनोवृत्तिको रूपान्तरणले मानवजातिलाई उहाँसँग उहाँका आफ्‍नै सोचाइ र विचारहरू छन् भन्‍ने बताउँछ; उहाँ रोबोट वा माटोको मूर्ति हुनुहुन्‍न, जीवित परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ। उहाँ निनवेका मानिसहरूप्रति त्यसरी नै रिसाउन सक्‍नुहुन्थ्यो जसरी उहाँले तिनीहरूको मनोवृत्तिको कारण तिनीहरूको विगतलाई क्षमा गरिदिन सक्‍नुभयो। उहाँले निनवेवासीहरूमाथि दुर्दशा ल्याउने निर्णय गर्न सक्‍नुहुन्थ्यो, र तिनीहरूको पश्‍चात्तापको कारण उहाँले आफ्‍नो निर्णय पनि परिवर्तन गर्न सक्‍नुहुन्थ्यो। मानिसहरू त्यसरी नै कठोर रूपमा नियमहरू लागू गर्न अनि त्यस्ता नियमहरू परमेश्‍वरलाई सीमांकित र परिभाषित गर्न प्रयोग गर्न चाहन्छन्, जसरी तिनीहरू परमेश्‍वरको स्वभाव बुझ्‍ने प्रयास गर्न सूत्रहरू प्रयोग गर्न चाहन्छन्। त्यसकारण, जहाँसम्म मानव सोचको कुरो छ, तिनीहरूलाई लाग्छ कि परमेश्‍वरले सोच्नुहुन्न, न त उहाँसँग कुनै अत्यावश्यक विचारहरू नै हुन्छन्। तर वास्तविकतामा, वस्तुहरू र वातावरणहरूमा आउने परिवर्तनहरूअनुसार परमेश्‍वरका विचारहरू अटुट रूपान्तरणको अवस्थामा हुन्छन्। यी विचारहरू रूपान्तरण हुँदै गर्दा, परमेश्‍वरको सारका फरक-फरक पक्षहरू प्रकट हुन्छन्। रूपान्तरणको यो प्रक्रियाको अवधिमा, परमेश्‍वरमा परिवर्तित हृदय भएकै क्षणमा, उहाँले मानवजातिलाई जे देखाउनुहुन्छ त्यो उहाँको जीवनको यथार्थ अस्तित्व हो, र उहाँको धर्मी स्वभाव गतिशील जीवन शक्तिले भरिपूर्ण छ। यसको साथै, परमेश्‍वरले उहाँको क्रोध, उहाँको कृपा, उहाँको प्रेमिलो दयालुपन, र उहाँको सहनशीलताको अस्तित्वको सत्यता मानवजातिसामु प्रमाणित गर्नको लागि उहाँले उहाँका आफ्‍नै साँचो प्रकाशहरू प्रयोग गर्नुहुन्छ। अवस्था जे-जसरी विकसित हुन्छन् त्यसैअनुसार कुनै पनि समय र कुनै पनि स्थानमा उहाँको सारलाई प्रकट गरिनेछ। उहाँमा सिंहको क्रोध र आमाको कृपा र सहनशीलता छ। उहाँको धर्मी स्वभावले कुनै पनि व्यक्तिलाई कुनै पनि सवाल उठाउन, उल्लंघन गर्न, परिवर्तन गर्न, वा बिगार्न दिँदैन। सबै मामला र सबै थोकमध्ये, परमेश्‍वरको धर्मी स्वभावलाई—अर्थात्, परमेश्‍वरको क्रोध र परमेश्‍वरको कृपालाई—कुनै पनि समय र कुनै पनि स्थानमा प्रकट गर्न सकिन्छ। उहाँले सारा सृष्टिको हरेक कुनामा यी पक्षहरूको अत्यावश्यक प्रकटीकरण गर्नुहुन्छ, र बितेर जाने हरेक क्षणमा उहाँले तिनलाई जीवन्त शक्तिको साथ कार्यान्वयन गर्नुहुन्छ। परमेश्‍वरको धर्मी स्वभाव समय वा स्थानद्वारा सीमित छैन; अर्को शब्‍दमा भन्दा, परमेश्‍वरको धर्मी स्वभाव समय वा स्थानका पाबन्दीअनुसार यान्त्रिक रूपमा होइन, बरु पूर्ण सहजताको साथ र सबै समय र स्थानमा व्यक्त वा प्रकट गरिन्छ। जब तैँले परमेश्‍वरको हृदय परिवर्तन भएको र उहाँले आफ्‍नो क्रोध व्यक्त गर्न छोड्नुभई निनवे सहरलाई नष्ट गर्नबाट पछि हट्नुभएको देख्छस्, के तँ परमेश्‍वर कृपालु र प्रेमिलो मात्र हुनुहुन्छ भनेर भन्‍न सक्छस्? के परमेश्‍वरको क्रोध खोक्रा शब्‍दहरूले बनेको छ भनेर भन्‍न सक्छस्? जब परमेश्‍वर भीषण क्रोधले चूर बन्‍नुहुन्छ र उहाँले आफ्‍नो कृपा फिर्ता लिनुहुन्छ, तब के तँ उहाँले मानवजातिप्रति कुनै साँचो प्रेमको अनुभूति गर्नुहुन्‍न भनेर भन्‍न सक्छस्? यो भीषण क्रोध मानिसहरूका दुष्ट कार्यहरूको प्रतिक्रियास्वरूप परमेश्‍वरले व्यक्त गर्नुहुन्छ; उहाँको क्रोध त्रुटिपूर्ण छैन। मानिसहरूको पश्‍चात्तापको प्रतिक्रियास्वरूप परमेश्‍वरको हृदयमा भावनाको स्पर्श हुन्छ, र यही पश्‍चात्तापले नै उहाँको हृदयमा परिवर्तन ल्याउँछ। जब उहाँले भावनाको स्पर्श महसुस गर्नुहुन्छ, जब उहाँको हृदय परिवर्तन हुन्छ, र जब उहाँले मानिसप्रति आफ्‍नो कृपा र सहनशीलता देखाउनुहुन्छ, यी सबै पूर्ण रूपमा त्रुटिविहीन हुन्छन्; ती चोखो, विशुद्ध, निष्खोट र मिश्रणरहित हुन्छन्। जसरी उहाँको कृपा, कृपाभन्दा अरू केही पनि होइन, त्यसरी नै परमेश्‍वरको सहनशीलता ठ्याक्‍कै त्यही हो: सहनशीलता। उहाँको स्वभावले मानिसको पश्‍चात्ताप र मानिसको चालचलनमा आउने अन्तरहरूअनुसार क्रोध वा कृपा र सहनशीलतालाई प्रकट गर्छ। उहाँले जे प्रकट गर्नुभए पनि र जे व्यक्त गर्नुभए पनि, यो सबै विशुद्ध र प्रत्यक्ष हुन्छ; यसको सार सृष्टिको जुनसुकै कुराको सारभन्दा पृथक हुन्छ। जब परमेश्‍वरले उहाँका कार्यहरूका अन्तर्निहित सिद्धान्तहरू व्यक्त गर्नुहुन्छ, ती कुनै पनि त्रुटि वा दागहरूबाट मुक्त हुन्छन्, अनि उहाँका सोचहरू, उहाँका विचारहरू, र उहाँले गर्नुहुने हरेक निर्णय र उहाँले गर्नुहुने हरेक कार्य पनि त्यस्तै हुन्छन्। परमेश्‍वरले त्यसरी निर्णय गर्नुभएको हुनाले र उहाँले त्यसरी कार्य गर्नुभएको हुनाले, उहाँले आफ्‍ना काम-कार्यवाहीहरूलाई पनि त्यसरी नै पूरा गर्नुहुन्छ। उहाँका काम-कार्यवाहीहरूको स्रोत त्रुटिविहीन र निष्खोट भएकै कारणले ती सही र त्रुटिविहीन छन्। परमेश्‍वरको क्रोध त्रुटिविहीन छ। त्यसरी नै, परमेश्‍वरको कृपा र सहनशीलता—जुन सारा सृष्टिको बीचमा कसैसँग पनि छैन—पवित्र र त्रुटिविहीन छन्, र तिनले ध्यानपूर्वक गरिने सोचविचार र अनुभवलाई सामना गर्न सक्छन्।

निनवेको कथासम्‍बन्धी तेरो बुझाइबाट, के अब तिमीहरू परमेश्‍वरको धर्मी स्वभावको सारको अर्को पक्षलाई देख्छौ? के तिमीहरू परमेश्‍वरको अद्वितीय धर्मी स्वभावको अर्को पक्षलाई देख्छौ? के मानवजातिमाझ कसैसँग यस प्रकारको स्वभाव छ? के कसैमा यस प्रकारको क्रोध, परमेश्‍वरको क्रोध छ? के कसैसँग परमेश्‍वरसँग भएको जस्तो कृपा र सहनशीलता छ? सृष्टिमध्ये कसले त्यति भयंकर क्रोध आह्‍वान गरी मानवजातिलाई नष्ट गर्ने वा त्यसमाथि विपत्ति ल्याउने निर्णय गर्न सक्छ? मानिसलाई कृपा प्रदान गर्न, सहन र क्षमा गर्न, र यसरी मानिसलाई नष्ट गर्ने आफ्‍नो पहिलेको निर्णयलाई परिवर्तन गर्न को योग्य छ? सृष्टिकर्ताले आफ्‍नै अद्वितीय विधि र सिद्धान्तहरूमार्फत आफ्‍नो धर्मी स्वभाव व्यक्त गर्नुहुन्छ, र उहाँ कुनै पनि मानिसहरू, घटनाहरू, वा कुराहरूले लादेको नियन्त्रण वा प्रतिबन्धहरूको अधीनमा हुनुहुन्‍न। उहाँको अद्वितीय स्वभाव भएकोले, कसैले पनि उहाँका सोचाइ र विचारहरूलाई परिवर्तन गर्न सक्दैन, न त कसैले उहाँलाई मनाउन र उहाँका कुनै पनि निर्णयहरूलाई परिवर्तन गर्न नै सक्छ। सारा सृष्टिमा अस्तित्वमा रहेका बानीबेहोरा र विचारहरूको सम्पूर्णता उहाँको धर्मी स्वभावको न्यायअन्तर्गत अस्तित्वमा हुन्छन्। कसैले पनि उहाँले क्रोध वा कृपा के अभ्यास गर्नुहुन्छ सो नियन्त्रण गर्न सक्दैन; सृष्टिकर्ताको सारले मात्रै—वा अर्को शब्‍दमा भन्दा, सृष्टिकर्ताको धर्मी स्वभावले मात्रै—यसको निर्णय गर्न सक्छ। सृष्टिकर्ताको धर्मी स्वभावको अद्वितीय प्रकृति यही हो!

निनवेका मानिसहरूप्रति भएको परमेश्‍वरको मनोवृत्ति रूपान्तरणलाई विश्‍लेषण गरेर अनि बुझेर, के तिमीहरूले परमेश्‍वरको धर्मी स्वभावभित्र पाइने कृपालाई व्याख्या गर्न “अद्वितीय” शब्‍दको प्रयोग गर्न सक्छौ? परमेश्‍वरको क्रोध उहाँको अद्वितीय धर्मी स्वभावको सारको एउटा पक्ष हो भनेर हामीले यसअघि नै भनेका थियौं। अब म यी दुई वटा पक्षलाई—परमेश्‍वरको क्रोध र परमेश्‍वरको कृपालाई—उहाँको धर्मी स्वभावको रूपमा परिभाषित गर्नेछु। परमेश्‍वरको धर्मी स्वभाव पवित्र छ; यसले चिढ्याएको वा सवाल उठाएको सहँदैन; यो सृष्टि गरिएका वा सृष्टि नगरिएका प्राणीहरू कसैमा पनि नहुने कुरा हो। यो परमेश्‍वरमा मात्र लागू हुने अद्वितीय र अनन्य दुवै छ। भन्‍नुको अर्थ परमेश्‍वरको क्रोध पवित्र र अनुल्‍लङ्घनीय छ। त्यसरी नै, परमेश्‍वरको धर्मी स्वभावको अर्को पक्ष—परमेश्‍वरको कृपा—पवित्र छ र यसलाई उल्‍लङ्घन गर्न सकिँदैन। सृष्टि गरिएका वा सृष्टि नगरिएका कुनै पनि प्राणीले उहाँका कामहरूमा परमेश्‍वरलाई प्रतिस्थापन वा प्रतिनिधित्व गर्न सक्दैन, न त कसैले सदोमको विनाश वा निनवेको मुक्तिमा उहाँलाई प्रतिस्थापन वा प्रतिनिधित्व गर्न नै सक्थ्यो। परमेश्‍वरको अद्वितीय धर्मी स्वभावको साँचो अभिव्यक्ति यही हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय २” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मानवजातिप्रति सृष्टिकर्ताको सच्‍चा भावनाहरू

मानिसहरू प्रायजसो परमेश्‍वरलाई चिन्‍नु त्यति सजिलो कुरा होइन भनेर भन्छन्। तैपनि, म भन्छु परमेश्‍वरलाई चिन्‍नु त्यति कठिन कुरा होइन, किनभने...

परमेश्‍वरले निनवेवासीहरूका हृदयको अन्तस्करणमा इमानदार पश्‍चात्तापलाई देख्‍नुहुन्छ

यहोवा परमेश्‍वरको चेतावनीप्रति निनवेको प्रतिक्रिया र सदोमको प्रतिक्रियाबीचमा रहेको पूर्ण भिन्‍नता परास्त हुनु भनेको के हो? बोलीचालीको...

सृष्टिकर्ताले मानवजातिप्रतिको आफ्‍नो साँचो भावनाहरू व्यक्त गर्नुहुन्छ

यहोवा परमेश्‍वर र योनाबीचको यो कुराकानी मानवजातिप्रतिको सृष्टिकर्ताको साँचो भावनाको अभिव्यक्ति हो भन्‍ने कुरामा कुनै शङ्‍का छैन। एकतर्फ,...

यदि परमेश्‍वरमाथिको तेरो विश्‍वास साँचो छ भने, तैँले प्रायजसो उहाँको वास्ता प्राप्त गर्नेछस्

निनवेका मानिसहरूप्रति परमेश्‍वरले आफ्‍ना अभिप्रायहरू परिवर्तन गर्नुहुँदा यसमा कुनै हिचकिचाहट वा कुनै अस्पष्ट वा धमिलो कुरा समावेश थिएन।...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्