मानवजातिले इमानदार पश्‍चात्ताप मार्फत परमेश्‍वरको कृपा र सहनशीलता जित्छ (भाग १)

13 अगस्ट 2021

यसपछि “परमेश्‍वरले निनवेलाई मुक्ति दिनुभएको” बाइबलीय कथा आउँछ।

योना १:१-२ अब यहोवाको यसो भन्‍ने वचन अमित्तैका छोरा योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र त्यसको विरुद्ध चिच्या; किनभने तिनीहरूको दुष्टता मेरो सामने आएको छ।

योना ३ अनि यहोवाको यसो भन्‍ने वचन दोस्रो पटक योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र मैले तँलाई आज्ञा गरेको कुरा त्यसलाई प्रचार गर्। त्यसैले योना उठे, र यहोवाको वचनअनुसार निनवे गए। अब निनवे तीन दिनको यात्रा लाग्‍ने एउटा अत्यन्त ठूलो सहर थियो। अनि योना एक दिनको यात्रा गरी सहरभित्र प्रवेश गर्न लाग्दा, तिनले उच्च स्वरमा भने, अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ। त्यसैले निनवेका मानिसहरूले परमेश्‍वरको वचनमा विश्‍वास गरे र उपवासको घोषणा गरे र ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए। किनभने निनवेका राजाकहाँ समाचार आयो, र उनी आफ्नो सिंहासनबाट उठे, उनले आफ्नो पोसाक फुकाले र भाङ्ग्रा लगाए अनि खरानीमा बसे। अनि उनले निनवेभरि राजा र उनका भारदारहरूको आदेशद्वारा यसो भनी घोषणा गर्न र जारी गर्न लगाए, न त मानिस न पशु, न गाईवस्तु न भेडाबाख्राले नै कुनै कुरा चाखोस्: तिनीहरूले नखाऊन्, पानी नपिऊन्: तर मानिस र पशुले भाङ्ग्रा लगाऊन् र परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्: हो, तिनीहरू हरेक आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्। कतै परमेश्‍वर मोडिनुहुन्छ र उहाँले मन फर्काउनुहुन्छ र उहाँ आफ्नो भयानक क्रोधबाट फर्कन सक्नुहुन्छ र हामी नष्ट नहौँला भनी कसले भन्‍नसक्छ? अनि परमेश्‍वरले तिनीहरू आफ्‍ना दुष्ट मार्गहरूबाट फर्केको तिनीहरूका कामहरू देख्नुभयो; र परमेश्‍वरले खराबी गर्नबाट मन बदल्नुभयो र उहाँले तिनीहरूलाई जे गर्छु भनी भन्नुभएको थियो त्यो गर्नुभएन।

योना ४ तर यसले योनालाई अत्यन्त अप्रसन्न तुल्यायो र तिनी निकै रिसाए। अनि तिनले यहोवासँग प्रार्थना गरे र भने, हे यहोवा, म तपाईंलाई बिन्ती गर्छु, के म मेरो देशमा हुँदा नै मेरो भनाई यही थिएन र? यसकारण, म पहिले तर्शीशतिर भागेर गएँ: किनभने मलाई थाहा थियो कि तपाईं अनुग्रही, दयालु, रिसाउनमा धिमा, अति कृपालु र खराबी गर्नबाट मन बदल्ने परमेश्‍वर हुनुहुन्छ। यसकारण अब, हे यहोवा, म तपाईंलाई बिन्ती गर्छु, मेरो जीवन लिनुहोस्; किनभने म जिउनुभन्दा त मर्नु नै बेस हुन्छ। त्यसपछि यहोवाले भन्नुभयो, के तैँले रिस गर्न मिल्छ? त्यसैले सहर के हुन्छ भनी नदेखेसम्म योना सहर बाहिर गए र सहरको पूर्वतिर एउटा छाप्रो बनाएर यसको छहारीमा बसे। अनि यहोवा परमेश्‍वरले एउटा लौका उमार्नुभयो र तिनलाई तिनको क्लेशबाट छुटकारा दिन यसलाई योनाभन्दा माथितिर आउन लगाउनुभयो, ताकि यो तिनको टाउकोमाथि छहारी हुन सकोस्। त्यसैले योना त्यो लौकासँग निकै प्रसन्न भए। तर भोलिपल्ट एकाबिहानै परमेश्‍वरले एउटा कीरा ल्याउनुभयो र यसले लौकालाई खाइदियो र यो ओइलायो। अनि सूर्य उदाएपछि, परमेश्‍वरले भयानक पूर्वीय बतास पठाउनुभयो; र घाम योनाको शिरमाथि पर्‍यो, ऊ मूर्छा पर्‍यो र मर्ने इच्छा गर्दै यसो भन्यो, म त जिउनुभन्दा मर्नु नै उत्तम हुन्छ। अनि परमेश्‍वरले योनालाई भन्नुभयो, के तँ लौकाको निम्ति रिसाउन उचित छ? तिनले भने, म मृत्युसम्म नै रिसाउँछु। त्यसपछि यहोवाले भन्नुभयो, तैँले जुन लौकाको निम्ति न त परिश्रम गरिस् न त त्यसलाई हुर्काइस् तँ त्यसलाई माया गर्छस्; जुन एकै रातमा आयो र एकै रातमा नष्ट भयो: अनि आफ्‍नो दाहिने हातबाट देब्रे हात छुट्टाउन नसक्ने एक लाख बीस हजारभन्दा बढी मानिसहरू र धेरै गाईवस्तुहरू भएको त्यो ठूलो सहर निनवेप्रति मैले दया देखाउनु पर्दैन र?

निनवेको कथाको सार-संक्षेप

“परमेश्‍वरले निनवेलाई मुक्ति दिनुभएको” कथा छोटो भए पनि, यसले परमेश्‍वरको धर्मी स्वभावको अर्को पक्षको झलक देखाउँछ। त्यो पक्ष के हो, सो बुझ्‍नको लागि हामीले धर्मशास्‍त्रमा फर्केर गई परमेश्‍वरले आफ्‍नो कामको सिलसिलामा गर्नुभएको एउटा कार्यलाई पुनरावलोकन गर्नुपर्छ।

सुरुमा हामी यस कथाको सुरुवातलाई हेरौँ: “अब यहोवाको यसो भन्‍ने वचन अमित्तैका छोरा योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र त्यसको विरुद्ध चिच्या; किनभने तिनीहरूको दुष्टता मेरो सामने आएको छ” (योना १:१-२)। धर्मशास्‍त्रको यस खण्डमा हामी थाहा पाउँछौँ कि यहोवा परमेश्‍वरले योनालाई निनवे सहर जाने आदेश दिनुभयो। उहाँले योनालाई किन यो सहरमा जान आदेश दिनुभयो त? यस विषयमा बाइबलले स्पष्ट रूपमा बताएको छ: यो सहरका मानिसहरूको दुष्टता यहोवा परमेश्‍वरको सामुन्ने आएको थियो, त्यसकारण उहाँले के गर्ने अभिप्राय राख्‍नुभएको छ भन्‍नेबारे तिनीहरूसामु घोषणा गर्नको निम्ति उहाँले योनालाई पठाउनुभयो। योना को थिए भनी बताउने कुनै अभिलेख नभए तापनि, अवश्य नै यो कुरा परमेश्‍वरलाई चिन्‍ने कार्यसँग सम्‍बन्धित छैन, त्यसकारण तिमीहरूले उक्त मानिस योनालाई चिन्‍नु आवश्यक छैन। परमेश्‍वरले योनालाई के गर्न आदेश दिनुभयो र परमेश्‍वरले त्यसो गर्नुका कारण के थिए सो मात्रै तिमीहरूले बुझ्‍नु आवश्यक छ।

यहोवा परमेश्‍वरको चेतावनी निनवेवासीकहाँ पुग्छ

यहोवा परमेश्‍वरको चेतावनी निनवेवासीकहाँ पुग्छ

हामी योनाको पुस्तकको तेस्रो अध्यायको दोस्रो खण्डमा जाऔँ: “अनि योना एक दिनको यात्रा गरी सहरभित्र प्रवेश गर्न लाग्दा, तिनले उच्च स्वरमा भने, अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ।” यी वचन निनवेवासीलाई भन्‍नू भनी यहोवा परमेश्‍वरले योनालाई प्रत्यक्ष रूपमा दिनुभएका वचनहरू हुन्, त्यसकारण अवश्य नै, यहोवाले निनवेवासीलाई भन्‍न चाहनुभएका वचन यिनै हुन्। यी वचनले मानिसहरूलाई के बताउँछ भने, परमेश्‍वरले त्यस सहरका मानिसहरूलाई तिरस्कार गर्न र घृणा गर्न थाल्‍नुभएको थियो किनभने तिनीहरूको दुष्टता उहाँको नजरमा आएको थियो, त्यसकारण उहाँले त्यस सहरलाई नष्ट गर्न चाहनुहुन्थ्यो। तैपनि, परमेश्‍वरले त्यस सहरलाई नष्ट गर्नुभन्दा पहिले, निनवेवासीकहाँ एउटा घोषणा गर्दै हुनुहुन्थ्यो, साथै तिनीहरूलाई तिनीहरूको दुष्टताको निम्ति पश्‍चात्ताप गर्ने र नयाँ सुरुवात गर्ने मौका दिन चाहँदै हुनुहुन्थ्यो। यो अवसर चालीस दिनसम्‍म रहनेवाला थियो, त्योभन्दा बढी होइन। अर्को शब्‍दमा भन्दा, यदि चालीस दिनभित्र त्यस सहरका मानिसहरूले पश्‍चात्ताप गरेनन्, आफ्ना पापहरू स्वीकार गरेनन्, र तिनीहरू परमेश्‍वरको सामुन्ने भक्तिभावले लम्पसार परेनन् भने, परमेश्‍वरले त्यस सहरलाई सदोमलाई जस्तै नष्ट गर्नेवाला हुनुहुन्थ्यो। यहोवा परमेश्‍वरले निनवेका मानिसहरूलाई यही कुरा बताउन चाहनुभयो। स्पष्टै छ, यो त्यति सरल घोषणा थिएन। यसले यहोवा परमेश्‍वरको रिसलाई मात्रै व्यक्त गरेन, बरु यस सहरभित्र बसोबास गर्ने मानिसहरूको लागि एउटा गम्भीर चेतावनीको रूपमा काम गर्दै यसले निनवेवासीप्रतिको उहाँको मनोवृत्ति पनि व्यक्त गर्‍यो। यो चेतावनीले तिनीहरूलाई आफ्ना दुष्कर्महरूको कारण तिनीहरूले यहोवा परमेश्‍वरको घृणा बटुलेका छन् र यसले तुरुन्तै तिनीहरूमाथि विनाश ल्याउनेछ भन्‍ने कुरा बतायो। त्यसकारण, निनवे सहरको हरेक निवासीको जीवन निकट खतरामा परेको थियो।

यहोवा परमेश्‍वरको चेतावनीप्रति निनवेको र सदोमको प्रतिक्रियाबीच आकाश-पातालको भिन्नता

परास्त हुनु भनेको के हो? बोलीचालीको शब्‍दमा, यसको अर्थ अबउप्रान्त अस्तित्वमा नरहनु भन्‍ने हुन्छ। तर कस्तो तरिकाले? कसले सम्पूर्ण सहरलाई परास्त गर्न सक्छ? अवश्‍य नै मानिसले त्यस्तो काम गर्नु असम्‍भव हुन्छ। निनवेका मानिसहरू त्यति मूर्ख थिएनन्; तिनीहरूले यो घोषणा सुन्‍नेबित्तिकै तिनीहरूको दिमागमा योजना फुरिहाल्यो। तिनीहरूले यो घोषणा परमेश्‍वरबाट आएको हो भनी थाहा पाइहाले, परमेश्‍वरले आफ्‍नो काम गर्दैहुनुहुन्छ भन्‍ने जानिहाले, र तिनीहरूको दुष्टताले यहोवा परमेश्‍वरलाई क्रोधित तुल्याएको छ र उहाँको रिस तिनीहरूमाथि पोखिएको छ, त्यसकारण तिनीहरू चाँडै नै सहरसँगै नष्ट हुनेवाला छन् भन्‍ने थाहा पाइहाले। यहोवा परमेश्‍वरको चेतावनी सुनेपछि त्यस सहरका मानिसहरूले कस्तो प्रतिक्रिया दिए त? राजादेखि सर्वसाधारणसम्‍मले कस्तो प्रतिक्रिया देखाए सोबारे बाइबलले विशेष विवरण दिएको छ। धर्मशास्‍त्रमा निम्‍न वचनहरू लेखिएका छन्: “त्यसैले निनवेका मानिसहरूले परमेश्‍वरको वचनमा विश्‍वास गरे र उपवासको घोषणा गरे र ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए। किनभने निनवेका राजाकहाँ समाचार आयो, र उनी आफ्नो सिंहासनबाट उठे, उनले आफ्नो पोसाक फुकाले र भाङ्ग्रा लगाए अनि खरानीमा बसे। अनि उनले निनवेभरि राजा र उनका भारदारहरूको आदेशद्वारा यसो भनी घोषणा गर्न र जारी गर्न लगाए, न त मानिस न पशु, न गाईवस्तु न भेडाबाख्राले नै कुनै कुरा चाखोस्: तिनीहरूले नखाऊन्, पानी नपिऊन्: तर मानिस र पशुले भाङ्ग्रा लगाऊन् र परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्: हो, तिनीहरू हरेक आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्…” (यूहन्‍ना ३:५-९)

यहोवा परमेश्‍वरको घोषणा सुनिसकेपछि, निनवेका मानिसहरूले सदोमका मानिसहरूको भन्दा ठीक विपरीत मनोवृत्ति देखाए—सदोमका मानिसहरूले एकपछि अर्को दुष्ट कार्य गर्दै खुलेआम परमेश्‍वरको विरोध गरेका थिए भने, यी वचनहरू सुनिसकेपछि निनवेवासीले यस विषयलाई बेवास्ता गरेनन्, न त विरोध नै गरे। बरु, तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गरे र उपवासको घोषणा गरे। यहाँ “विश्‍वास गरे” भन्‍ने शब्‍दको अर्थ के हो? यो शब्‍दले विश्‍वास र समर्पणतालाई जनाउँछ। यदि यस शब्‍दलाई व्याख्या गर्नको लागि हामीले निनवेवासीको वास्तविक व्यवहारलाई नै प्रयोग गर्‍यौं भने, यसको अर्थ परमेश्‍वरले आफूले जे भन्‍नुभएको छ त्यो गर्न सक्‍नुहुन्छ र गर्नुहुन्छ भनी तिनीहरू विश्‍वास गर्थे, र तिनीहरू पश्‍चात्ताप गर्न तत्पर थिए भन्‍ने हुन्छ। के निनवेका मानिसहरू आउन लागेको विपत्तिप्रति डराए? तिनीहरूको हृदयमा डर पैदा गर्ने कुरा तिनीहरूको विश्‍वास नै थियो। त्यसो भए, निनवेवासीको विश्‍वास र डरलाई प्रमाणित गर्नको लागि हामी के कुराको प्रयोग गर्न सक्छौँ त? यो, बाइबलले भनेजस्तै छ: “… उपवासको घोषणा गरे र ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए।” भन्‍नुको अर्थ निनवेवासीले साँचो रूपमा विश्‍वास गर्थे, र यही विश्‍वासद्वारा डर आएको थियो, जसले तिनीहरूलाई पश्‍चात्ताप गर्ने र भाङ्ग्रा लगाउने तुल्यायो। तिनीहरूले पश्‍चात्ताप गर्न सुरु गरेका छन् भन्‍ने कुरालाई तिनीहरूले यसरी नै प्रस्तुत गरे। सदोमका मानिसहरूको ठीक विपरीत रूपमा, निनवेवासीले परमेश्‍वरको विरोध त गरेनन् नै, बरु तिनीहरूले त आफ्‍नो व्यवहार र कार्यद्वारा आफ्‍नो पश्‍चात्तापलाई स्पष्ट रूपमा पनि देखाए। अवश्य नै, यो कार्य सर्वसाधारणले मात्रै होइन, सारा निनवेका मानिसले गरे—राजा पनि यसको अपवाद थिएनन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मानवजातिले इमानदार पश्‍चात्ताप मार्फत परमेश्‍वरको कृपा र सहनशीलता जित्छ (भाग २)

निनवेका राजाको पश्‍चात्तापले यहोवा परमेश्‍वरको स्याबासी जित्छ जब निनवेका राजाले यो खबर सुने, तिनी आफ्‍नो सिंहासनबाट उठे, आफ्‍नो वस्‍त्र...

मानवजातिले इमानदार पश्‍चात्ताप मार्फत परमेश्‍वरको कृपा र सहनशीलता जित्छ (भाग ४)

मानवजातिप्रति सृष्टिकर्ताका सच्‍चा भावनाहरू मानिसहरू प्रायजसो परमेश्‍वरलाई चिन्‍नु त्यति सजिलो कुरा होइन भन्छन्। तैपनि, म भन्छु...

मानवजातिले इमानदार पश्‍चात्ताप मार्फत परमेश्‍वरको कृपा र सहनशीलता जित्छ (भाग ३)

परमेश्‍वरको कृपा र सहनशीलता दुर्लभ छैनन्—मानिसको साँचो पश्चात्तापचाँहि दुर्लभ छ परमेश्‍वर निनवेवासीसँग जति नै धेरै रिसाउनुभएको भए पनि,...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्