आफ्नो योजना हासिल गर्नको लागि सृष्टिकर्ताले आफ्ना वचनहरू प्रयोग गर्नुभयो, र यसरी उहाँले आफ्नो योजनाको प्रारम्भिक तीन दिन बिताउनुभयो। यी तीन दिनको अवधिमा, परमेश्वर व्यस्त हुनुभएको, वा आफैलाई रित्याउनुभएको देखिएन; यसको विपरीत, उहाँले आफ्नो योजनाको प्रारम्भिक सुन्दर तीन दिन बिताउनुभयो, र संसारको आमूल रूपान्तरण गर्ने महान् कार्य हासिल गर्नुभयो। उहाँकै आँखाअगाडि एउटा नयाँ संसार देखा पर्यो, र एक-एक गरी, उहाँका विचारहरूमा लुकेको सुन्दर दृश्य आखिरमा परमेश्वरका वचनहरूमा प्रकट भयो। हरेक नयाँ कुरा देखा परेको घटना नयाँ बालकको जन्मजस्तै थियो, र कुनै बेला आफ्ना विचारहरूमा रहेको, तर अहिले जीवनमा ल्याइएको चित्रप्रति सृष्टिकर्ता प्रसन्न हुनुभयो। यस बेला, उहाँको हृदयले भरपुर सन्तुष्टि हासिल गर्यो, तर उहाँको योजनाको सुरुवात मात्रै भएको थियो। आँखा झिमिक्क गर्दा, नयाँ दिन आइपुगेको थियो—र सृष्टिकर्ताको योजनाको अर्को पृष्ठमा के थियो त? उहाँले के भन्नुभयो? उहाँले कसरी आफ्नो अख्तियारको प्रयोग गर्नुभयो? यसबीच, यो नयाँ संसारमा के-कस्ता नयाँ कुराहरू आए? सृष्टिकर्ताको मार्गनिर्देशनलाई पछ्याउँदै, हाम्रो नजर परमेश्वरले सबै थोक सृष्टि गर्नुभएको चौथो दिनमा केन्द्रित हुन्छ, जुन अर्को एक नयाँ सुरुवातको दिन थियो। अवश्य नै, सृष्टिकर्ताको लागि, यो अर्को सुन्दर दिन थियो भन्नेमा कुनै शङ्का छैन, र यो दिन आजको मानवजातिको लागि निकै महत्त्वपूर्ण अर्को दिन थियो। अवश्य नै, यो अतुलनीय मूल्य भएको दिन थियो। कसरी यो सुन्दर थियो, कसरी यो त्यति महत्त्वपूर्ण थियो, र यो कसरी अतुलनीय मूल्यको थियो? हामी सुरुमा सृष्टिकर्ताले बोल्नुभएका वचनहरूलाई सुनौं …
“अनि परमेश्वरले भन्नुभयो, अन्तरिक्षमा दिनलाई रातबाट छुट्याउने ज्योतिहरू होऊन्; र तिनीहरू ऋतु, दिन र वर्षहरू छुट्याउने चिन्ह होऊन्: र पृथ्वीमा ज्योति दिनलाई आकाशको अन्तरिक्षमा ती ज्योतिहरू होऊन्” (उत्पत्ति १:१४-१५)। सुक्खा जमिन र यसमा भएका वनस्पतिलाई सृष्टि गरिसकेपछि सृष्टिका थोकहरूले प्रकट गरेको परमेश्वरको अख्तियारको यो अर्को प्रयोग थियो। परमेश्वरको लागि, यस्तो कार्य उहाँले पहिले नै गर्नुभएको जत्तिकै सहज थियो, किनभने परमेश्वरमा त्यस्तो शक्ति छ; परमेश्वर उहाँको वचनजस्तै असल हुनुहुन्छ, र उहाँको वचनलाई हासिल गरिनेछ। परमेश्वरले आकाशमा ज्योतिहरू देखा पर्ने आदेश दिनुभयो, अनि यी ज्योतिहरू आकाश र पृथ्वीमा मात्रै चम्किएनन्, तर तिनले दिन र रात, ऋतुहरू, दिनहरू, र वर्षहरूको चिन्हको रूपमा पनि काम गरे। यसरी, परमेश्वरले आफ्ना वचनहरू बोल्नुभएपछि, परमेश्वरले हासिल गर्न चाहनुभएको हरेक कार्य परमेश्वरको अर्थअनुसार र परमेश्वरले नियुक्त गर्नुभएअनुसार नै पूरा भए।

आकाशका ज्योतिहरू आकाशका तत्व हुन् जसले ज्योति दिन सक्छन्; तिनले आकाश र जमिन अनि समुद्रलाई ज्योति दिन सक्छन्। परमेश्वरले आज्ञा गर्नुभएको ताल र आवृत्तिअनुसार ती परिक्रमा गर्छन्, र जमिनमा फरक-फरक समय अवधिमा चम्कन्छन्, र यसरी ज्योतिहरूको घुम्ने चक्रले भूमिको पूर्व र पश्चिममा दिन र रात पैदा गर्छ, र ती रात र दिनका चिन्हहरू मात्रै होइनन्, बरु यी फरक-फरक चक्रहरूमार्फत तिनीहरूले मानवजातिका चाडपर्व र विभिन्न प्रकारका विशेष दिनहरूलाई पनि सङ्केत गर्छन्। ती परमेश्वरले जारी गर्नुभएका चार ऋतुहरू अर्थात वसन्त, ग्रीष्म, शरद, र शिशिर ऋतुका सर्वोत्तम पूरक र साथ हुन्, जसको साथमा ज्योतिहरूले मानवजातिका औंसी-पूर्णे, दिनहरू, र वर्षहरूको नियमित र सटीक चिन्हहरूका रूपमा मैत्रीपूर्ण रूपमा काम गर्छन्। खेतीपातीको उदयपछि मात्रै परमेश्वरले सृष्टि गर्नुभएका ज्योतिहरूले पैदा गर्ने औंसी-पूर्णे, दिनहरू, र वर्षहरूको विभाजनलाई मानवजातिले बुझ्न र थाहा पाउन थालेको भए तापनि, वास्तवमा आज मानिसले बुझ्ने औंसी-पूर्णे, दिनहरू, र वर्षहरू धेरै पहिले सबै थोकलाई परमेश्वरले सृष्टि गर्नुभएको चौथो दिनमा नै पैदा हुन थालेको थियो, र मानिसले अनुभव गर्ने वसन्त, ग्रीष्म, शरद, र शिशिरको परिवर्तन भइरहने चक्र पनि धेरै पहिले सबै थोकलाई परमेश्वरले सृष्टि गर्नुभएको चौथो दिनमा नै सुरु भएको थियो। परमेश्वरले सृष्टि गर्नुभएका ज्योतिहरूले मानिसलाई रात र दिनको बीचमा नियमित रूपमा, सटीक रूपमा, र स्पष्ट रूपमा भिन्नता छुट्याउन, र दिनहरूको गन्ती गर्न, र औंसी-पूर्णे र वर्षको हिसाब गर्न सक्षम तुल्यायो। (पूर्णिमाको दिन एक महिना पूरा हुन्थ्यो, र यसबाट मानिसले ज्योतिहरूको प्रकाशले नयाँ चक्रलाई सुरु गर्छ भन्ने थाहा पाए; अर्धचन्द्रको दिन आधा महिना पूरा हन्थ्यो, जसले नयाँ औंसी-पूर्णेको सुरुवात भएको छ भनेर मानिसलाई बताउँथ्यो, यसद्वारा औंसी-पूर्णेको चक्रमा कति दिन र कति रात हुन्छ, एउटा ऋतुमा कति वटा पूर्णिमा पर्छ, र एक वर्षमा कति वटा ऋतु हुन्छन् भनेर जान्न सकिन्थ्यो, र यी सबैलाई ठूलो नियमितताको साथ प्रकट गरियो।) त्यसकारण, ज्योतिहरूको चक्रले सङ्केत गर्ने औंसी-पूर्णे, दिनहरू, र वर्षहरूको हिसाब मानिसले सहजै गर्न सक्थ्यो। यस विन्दुभन्दा यता, मानवजाति र सबै थोक अचेतन रूपमै रात र दिनको सुव्यवस्थित परिवर्तन र ज्योतिको चक्रले पैदा गर्ने ऋतुहरूको फेरबदलको बीचमा जिए। चौथो दिन, सृष्टिकर्ताले ज्योतिहरू सृष्टि गर्नुको महत्त्व यही नै थियो। यसरी नै, सृष्टिकर्ताको यो कार्यको उद्देश्य र महत्त्वलाई अझै पनि उहाँको अख्तियार र शक्तिबाट अलग गर्न सकिँदैनथियो। त्यसकारण, परमेश्वरले बनाउनुभएका ज्योतिहरू र तिनीहरूले मानिसमा चाँडै नै ल्याउने महत्त्व नै सृष्टिकर्ताको अख्तियारको प्रयोगको अर्को उल्लेखनीय उपलब्धि थियो।
मानवजाति अहिलेसम्म देखा नपरेको यो नयाँ संसारमा, उहाँले चाँडै नै सृष्टि गर्न लाग्नुभएको जीवनको लागि सृष्टिकर्ताले साँझ र बिहान, वायुमण्डल, भूमि र समुद्र, घाँस-पात, जडीबुटी र विभिन्न प्रकारका रूखहरू, र ज्योतिहरू, ऋतुहरू, दिनहरू, र वर्षहरू तयार गर्नुभएको थियो। उहाँले सृष्टि गर्नुभएको हरेक नयाँ थोकमा सृष्टिकर्ताको अख्तियार र शक्ति व्यक्त गरिएको थियो, र अलिकति भिन्नताविना नै, र अलिकति अन्तरालविना नै उहाँका वचनहरू र उपलब्धिहरू एकसाथ आए। यी सबै नयाँ कुराहरू प्रकट हुनु र जन्मनु नै सृष्टिकर्ताको अख्तियार र शक्तिको प्रमाण थियो: उहाँ उहाँको वचन जत्ति नै असल हुनुहुन्छ, र उहाँको वचन हासिल गरिनेछ, अनि उहाँले जे हासिल गर्नुहुन्छ ती सदासर्वदा रहिरहन्छन्। यो तथ्य कहिल्यै परिवर्तन भएको छैन: विगतमा यो यस्तै थियो, आज पनि यो यस्तै छ, र सम्पूर्ण अनन्तसम्म यो यस्तै रहनेछ। जब तिमीहरू पवित्र-शास्त्रका ती वचनहरूलाई फेरि एकपटक हेर्छौ, के ती तिमीहरूलाई ताजा लाग्छन्? के तिमीहरूले नयाँ विषयवस्तु देखेका छौ, र नयाँ कुराहरू पत्ता लगाएका छौ? यस्तो हुनुको कारण के हो भने सृष्टिकर्ताका कार्यहरूले तिमीहरूको हृदयलाई छोएको छ, र उहाँको अख्तियार र शक्तिसम्बन्धी तिमीहरूको ज्ञानको दिशालाई निर्देशित गरेको छ, र सृष्टिकर्तासम्बन्धी तिमीहरूको बुझाइको लागि ढोका खोलेको छ, र उहाँका कार्यहरू र अख्तियारले यी वचनहरूमा जीवन प्रदान गरेको छ। त्यसकारण, यी वचनहरूमा मानिसले सृष्टिकर्ताको अख्तियारको वास्तविक, स्पष्ट अभिव्यक्तिलाई देखेको छ, सृष्टिकर्ताको सर्वोच्चतालाई साँचो रूपमा देखेको छ, र सृष्टिकर्ताको अख्तियार र शक्तिको असाधारणपन देखेको छ।
सृष्टिकर्ताको अख्तियार र शक्तिले एकपछि अर्को गर्दै आश्चर्यकर्म पैदा गर्छ; उहाँले मानिसको ध्यानलाई केन्द्रित गर्नुहुन्छ, र मानिस उहाँको अख्तियारको प्रयोगबाट जन्मेका चकित पार्ने कार्यहरूलाई छक्क परेर नहेरी बस्न सक्दैन। उहाँको असाधारण शक्तिले एकपछि अर्को गर्दै प्रसन्नता ल्याउँछ, र मानिस आदर, श्रद्धा र हर्षमा चकित पर्छ र उल्लसित हुन्छ; यसको साथै, मानिस भौतिक रूपमै प्रभावित हुन्छ र उसमा आदर, भक्ति, र घनिष्ठता पैदा हुन्छ। सृष्टिकर्ताका अख्तियार र कार्यहरूले मानिसको आत्मामा निकै महान् प्रभाव र शोधनकारी असर पार्छन्, यसको साथै, तिनले मानिसको आत्मालाई तृप्त गर्छन्। सबै थोकमध्ये उहाँका हरेक विचारहरू, उहाँका हरेक वाणीहरू, र उहाँको अख्तियारको हरेक प्रकटीकरण उत्कृष्ट कार्य हो, र यो सृष्टि गरिएको मानवजातिको गहन बुझाइ र ज्ञानको निम्ति सबैभन्दा योग्य महान् कार्य हो। जब हामी सृष्टिकर्ताका वचनहरूबाट जन्मेका हरेक प्राणीको गन्ती गर्छौं, हाम्रो आत्मा परमेश्वरको शक्तिको आश्चर्यतातर्फ तानिन्छ, र हामीले आफैलाई सृष्टिकर्ताका पाइलाहरूलाई अर्को दिनसम्म अर्थात परमेश्वरद्वारा सबै थोक सृष्टि गरिएको पाँचौं दिनसम्म पछ्याइरहेको पाउँछौं।
सृष्टिकर्ताका थप कार्यहरू हेर्ने क्रममा, हामी निरन्तर रूपमा पवित्रशास्त्रको एकपछि अर्को अनुच्छेद पढ्दै जाऔं।
— वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १