पाँचौं दिन, विभिन्‍न प्रकारका र विविध रूपका जीवनले फरक-फरक तरिकामा सृष्टिकर्ताको अख्‍तियारलाई प्रदर्शन गर्छन्

13 अगस्ट 2021

पवित्रशास्‍त्रले भन्छ, “अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूले जीवन भएका प्रशस्त चल्‍ने प्राणीहरू र पृथ्वीमाथि खुला आकाशमा उड्ने पक्षीहरू उत्पन्न गरोस्। अनि परमेश्‍वरले ठूला ह्वेल माछाहरू, जसलाई पानीहरूले तिनीहरूका प्रजातिअनुसार प्रशस्त मात्रामा उत्पन्‍न गरे, र चल्‍ने हरेक जीवित प्राणीहरू र हरेक प्रजातिका पखेटा भएका पक्षीहरू बनाउनुभयो: अनि त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” (उत्पत्ति १:२०-२१)। त्यस दिन, परमेश्‍वरले पानीका प्राणीहरू र आकाशका पक्षीहरू सृष्टि गर्नुभयो भनेर पवित्रशास्‍त्रले स्पष्ट रूपमा भन्छ, भन्‍नुको अर्थ, उहाँले विभिन्‍न प्रकारका माछा र चराचुरुङ्गी सृष्टि गर्नुभयो, र तिनीहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नुभयो। यसरी, पृथ्वी, आकाश, र पानी परमेश्‍वरको सृष्टिले भरिपूर्ण भए …

परमेश्‍वरका वचनहरू बोलिएपछि, उहाँका वचनद्वारा नै सबै ताजा नयाँ जीवन फरक-फरक रूपमा जीवित भई निस्के। ती आफ्‍नो स्थानको लागि तँछाड-मछाड गर्दै, आनन्दले उफ्रँदै, उल्लासित हुँदै संसारमा आए…। सबै रूप र आकारका माछाहरू पानीमा पौडन थाले; बालुवाबाट हरप्रकारका खपटे माछाहरू निस्किए; कत्ला भएका, खपटो भएका, र मेरुदण्ड नभएका प्राणीहरू फरक-फरक आकारमा तुरुन्तै बढ्दै निस्के, चाहे ती ठूला हुन् वा साना, लामा हुन् वा छोटा। त्यसरी नै विभिन्‍न प्रकारका समुद्री वनस्पति तेज रूपमा वृद्धि भए, ती विभिन्‍न प्रकारका समुद्री प्राणीका चाललाई प्रभाव पार्दै, मन्द पानीलाई तरङ्गित तुल्याउँदै लहरिए, मानौं तिनले तिनीहरूलाई यसो भन्दैथिए: “खुट्टा झट्का! तेरा साथीहरूलाई ले! किनभने तँ अब फेरि कहिल्यै एकलो हुनेछैनस्!” परमेश्‍वरले सृष्टि गर्नुभएका विभिन्‍न जीवित प्राणीहरू पानीमा देखा परेको क्षणदेखि नै हरेक नयाँ जीवनले धेरै लामो समयदेखि अचल रहेको पानीमा जीवनशक्ति ल्यायो, र नयाँ युगलाई आरम्‍भ गऱ्यो…। यस विन्दुपछि, तिनीहरूले एकअर्कामा अडेस लिँदै बसे, र एकअर्कालाई साथ दिए, र एकअर्काको बीचमा कुनै दूरी राखेनन्। पानी यसको अङ्गालोभित्र रहेका हरेक जीवनलाई पालनपोषण गर्दै यसमा भएका प्राणीहरूकै निम्ति अस्तित्वमा रह्यो, र हरेक प्राणी पानीले दिने पोषणको खातिर अस्तित्वमा रह्यो। हरेकले अर्कोलाई जीवन प्रदान गऱ्यो, यसका साथै, हरेकले त्यही शैलीमा सृष्टिकर्ताको सृष्टिको आश्‍चर्यता र महानता, र उहाँको अख्‍तियारको सर्वोत्कृष्ट शक्तिको गवाही दियो …

पाँचौं दिन, विभिन्‍न प्रकारका र विविध रूपका जीवनले फरक-फरक तरिकाले सृष्टिकर्ताको अख्‍तियारलाई प्रदर्शन गर्छन्

जसरी समुद्र त्यसउप्रान्त कहिल्यै शान्त रहेन, त्यसरी नै आकाश पनि जीवनले भरिन थाल्यो। एकपछि अर्को गर्दै, ठूला-साना चराचुरुङ्गीहरू जमिनबाट आकाशतिर उडे। समुद्रका प्राणीहरूभन्दा फरक रूपमा, तिनीहरूसँग तिनीहरूका स-साना र सुन्दर स्वरूपलाई ढाक्‍ने पखेटा र प्वाँखहरू थिए। तिनीहरूका प्वाँखहरूको सुन्दर वस्त्र र सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएका विशेष क्षमता र सीपहरूलाई घमण्ड र गर्वका साथ प्रदर्शन गर्दै तिनीहरूले आफ्‍ना पखेटाहरू फरफराए। तिनीहरू स्वतन्त्रताका साथ उडे, र कुशलतापूर्वक आकाश र पृथ्वी, घाँसे मैदान र वन-जङ्गलहरूबीच वेग मार्दै उडे…। तिनीहरू आकाशका प्रिय थिए, तिनीहरू सबै थोकका प्रिय थिए। तिनीहरू चाँडै नै आकाश र पृथ्वीलाई जोड्ने बन्धन बन्‍नेवाला थिए, र तिनीहरूले नै सबै थोकलाई सन्देशहरू दिनेवाला थिए…। तिनीहरू गाउँथे, आनन्दले यताउता उडिहिँड्थे, कुनै बेला रित्तो रहेको यस संसारमा तिनीहरूले नै हर्ष, खुसी, र जीवन्तता ल्याए…। सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको जीवनको लागि तिनीहरूले आफ्‍ना स्पष्ट, सुमधुर गीतको प्रयोग गरे, आफ्‍नो हृदयका वचनहरू प्रयोग गरे। सृष्टिकर्ताको सृष्टिको सिद्धता र आश्‍चर्यपनलाई प्रदर्शन गर्न तिनीहरू हर्षका साथ नाचे, र तिनीहरूले आफ्‍नो सम्पूर्ण जीवन उहाँले तिनीहरूलाई दिनुभएको विशेष जीवनमार्फत उहाँको अख्तियारको गवाही दिने कार्यमा नै अर्पण गर्नेवाला थिए …

चाहे ती पानीमा हुन् वा आकाशमा, जीवित प्राणीहरूको यो प्रचुरता सृष्टिकर्ताको आज्ञाद्वारा जीवनका विभिन्‍न स्वरूपमा अस्तित्वमा रह्यो, र सृष्टिकर्ताको आज्ञाद्वारा तिनीहरू आ-आफ्नो प्रजातिअनुसार एकसाथ भेला भए—र यो व्यवस्था, यो नियमलाई कुनै पनि प्राणीले परिवर्तन गर्न सक्दैनथ्यो। न त सृष्टिकर्ताले तिनीहरूको लागि तय गर्नुभएका सीमाहरूभन्दा बाहिर जाने आँट तिनीहरूले कहिल्यै गरे, न त त्यसो गर्न नै सके। सृष्टिकर्ताले तोक्‍नुभएअनुसार, तिनीहरू जिए र वृद्धि भए अनि सृष्टिकर्ताले अघि सार्नुभएको जीवनका दिशा र नियमहरूलाई तिनीहरूले कडाइका साथ पालना गरे, र उहाँका नबोलिएका आज्ञाहरू र उहाँले तिनीहरूलाई दिनुभएका स्वर्गीय आदेश र ज्ञानहरूलाई आजको दिनसम्‍मै सचेत रूपमा पालना गरिरहे। तिनीहरूले आफ्‍नै विशेष तरिकामा सृष्टिकर्तासँग कुराकानी गरे, र उहाँको आशयलाई बुझ्‍न पुगे, र उहाँका आज्ञाहरूलाई पालना गरे। सृष्टिकर्ताको अख्‍तियारलाई कसैले कहिल्यै भङ्ग गरेन, र उहाँका विचारहरूभित्र नै उहाँको सार्वभौमिकता र आज्ञा तिनीहरूलाई जारी गरिएका थिए; कुनै पनि वचन जारी गरिएन, तर कुनै पनि भाषिक विशेषता नभएको र मानवजातिको भन्दा फरक रहेको सृष्टिकर्ताको अद्वितीय अख्‍तियारले नै मौन रूपमा सबै थोकलाई नियन्त्रण गऱ्यो। यस प्रकारको विशेष तरिकामा गरिएको सृष्टिकर्ताको अख्तियारको प्रयोगले मानिसलाई उहाँको अद्वितीय अख्‍तियारबारे नयाँ ज्ञान प्राप्त गर्न, र त्यसलाई नयाँ तरिकाले अर्थ्याउन बाध्य तुल्यायो। यहाँ, मैले तिमीहरूलाई भन्नैपर्छ कि यो नयाँ दिनमा सृष्टिकर्ताको अख्‍तियारको प्रयोगले उहाँको अद्वितीयपनलाई फेरि एक पटक प्रदर्शित गऱ्यो।

यसपछि, हामी पवित्रशास्‍त्रको यो परिच्छेदको अन्तिम वाक्यलाई हेरौं: “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।” यसको अर्थ के हो भन्‍ने तिमीहरूलाई लाग्छ? परमेश्‍वरका भावनाहरू यिनै वचनभित्र समावेश छन्। आफूले सृष्टि गर्नुभएका सबै थोक उहाँकै वचनको कारण अस्तित्वमा आएको, खडा भएको, अनि क्रमिक रूपमा परिवर्तन हुन सुरु गरेको परमेश्‍वरले हेर्नुभयो। यो समयमा, उहाँले आफ्‍ना वचनद्वारा बनाउनुभएका कुराप्रति र उहाँले हासिल गर्नुभएका विभिन्‍न कार्यप्रति के उहाँ सन्तुष्ट हुनुहुन्थ्यो? यसको उत्तर “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” भन्‍ने हो। तिमीहरू यहाँ के देख्छौ? “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” ले केलाई प्रतिनिधित्व गर्छ? यो केको प्रतीक हो? यसको अर्थ परमेश्‍वरले आफूले योजना बनाउनुभएका र निर्धारित गर्नुभएका कुरालाई हासिल गर्ने, हासिल गर्नको लागि तय गर्नुभएका लक्ष्यहरूलाई हासिल गर्ने शक्ति र बुद्धि उहाँसँग छ भन्‍ने हुन्छ। जब परमेश्‍वरले प्रत्येक काम पूरा गर्नुभयो, के उहाँलाई पछुतो लाग्यो? यसको उत्तर अझै पनि “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” भन्‍ने नै हो। अर्को शब्‍दमा भन्नुपर्दा, उहाँलाई कुनै पछुतो नलागेको मात्रै होइन, तर यसको सट्टा उहाँ सन्तुष्ट हुनुभयो। उहाँलाई कुनै पछुतो भएन भन्‍नुको अर्थ के हो? यसको अर्थ परमेश्‍वरको योजना सिद्ध छ, उहाँका शक्ति र बुद्धि सिद्ध छन्, र उहाँको अख्‍तियारद्वारा मात्रै त्यस्तो सिद्धता हासिल गर्न सकिन्छ भन्‍ने हो। जब मानिसले कुनै काम गर्छ, के उसले पनि परमेश्‍वरले जस्तै यसलाई हेरेर असल देख्‍न सक्छ? के मानिसले गर्ने सबै कुरामा उसले सिद्धता हासिल गर्न सक्छ? के मानिसले कुनै कुरा सदा अनन्तसम्‍मको लागि पूरा गर्न सक्छ? मानिसले “कुनै पनि कुरा सिद्ध हुँदैन, अलिक उत्तम मात्रै हुन्छ” भनेजस्तै, उसले गर्ने कुनै कुराले पनि सिद्धता हासिल गर्न सक्दैन। जब परमेश्‍वरले आफूले गर्नुभएको र हासिल गर्नुभएका सबै कुरा असल देख्‍नुभयो, उहाँले बनाउनुभएका सबै कुरा उहाँकै वचनले तय गरेको थियो, भन्‍नुको अर्थ, जब “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो,” उहाँले बनाउनुभएका सबैले स्थायी स्वरूप लिएका थिए, प्रकारअनुसार वर्गीकरण भएका थिए, र सदा अनन्तको लागि निश्‍चित स्थान, उद्देश्य र कार्य दिइएको थियो। यसका साथै, सबै थोकको बीचमा तिनीहरूको भूमिका, र सबै थोकमाथिको परमेश्‍वरको व्यवस्थापनको अवधिमा तिनीहरूले गर्नैपर्ने यात्रा उहाँले पहिले नै नियुक्त गरिसक्‍नुभएको थियो, र ती अपरिवर्तनीय थिए। यो, सृष्टिकर्ताले सबै थोकका लागि दिनुभएको स्वर्गीय नियम थियो।

“त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो,” यी सरल, कम रूपमा बुझिएका, धेरै पटक बेवास्ता गरिएका वचनहरू, परमेश्‍वरले सारा प्राणीलाई दिनुभएका स्वर्गीय नियम र स्वर्गीय अध्यादेशका वचनहरू हुन्। ती सृष्टिकर्ताको अख्‍तियारको अर्को मूर्तरूप हो, जुन अझै बढी व्यावहारिक, र अझै बढी गहन छ। सृष्टिकर्ताले आफ्‍ना वचनहरूद्वारा आफूले हासिल गर्न तय गर्नुभएका सबै कुरालाई प्राप्त मात्रै गर्न सक्‍नुभएन, र उहाँले प्राप्त गर्न तय गर्नुभएका सबै हासिल मात्रै गर्न सक्‍नुभएन, तर आफूले सृष्टि गर्नुभएका सबैलाई आफ्‍नै हातले नियन्त्रण गर्न, र आफ्‍नो अख्‍तियारको अधीनमा आफूले बनाउनुभएका सबै थोकलाई शासन गर्न पनि सक्‍नुभयो, यसका साथै सबै व्यवस्थित र क्रमबद्ध थिए। सबै कुरा उहाँकै वचनद्वारा सङ्ख्यामा वृद्धि भए, अस्तित्वमा रहे, र नाश भए, यसका साथै, उहाँको अख्‍तियारद्वारा नै ती उहाँले अघि सार्नुभएको नियमको बीचमा अस्तित्वमा रहे, र यसमा कसैलाई छूट थिएन! “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो,” भनी भनिएकै क्षण यो नियमको सुरुवात भयो र सृष्टिकर्ताले रद्द गर्नुहुने दिनसम्‍मै परमेश्‍वरको व्यवस्थापन योजनाको खातिर यो अस्तित्वमा रहिरहन्छ, निरन्तर रहन्छ, र सुचारु भइरहन्छ! सबै थोक सृष्टि गर्ने र सबै थोकलाई आज्ञा गरी अस्तित्वमा ल्याउने उहाँको क्षमतामा मात्रै होइन, तर सबै थोकलाई शासन गर्ने र तिनमाथि सार्वभौमिकता राख्‍ने, र सबै थोकमाथि जीवन र जीवनशक्ति प्रदान गर्ने उहाँको क्षमतामा, साथै, उहाँले बनाउनुभएको संसारमा आफ्‍नो योजनामा सृष्टि गर्नुभएको यावत् थोक सिद्ध आकार, र सिद्ध जीवन संरचना, अनि सिद्ध भूमिकासहित सदा अनन्तको लागि देखा पर्ने र अस्तित्वमा रहने तुल्याउने उहाँको क्षमतामा पनि सृष्टिकर्ताको अद्वितीय अख्तियार प्रकट भयो। त्यसरी नै सृष्टिकर्ताका विचारहरू कुनै पनि सीमाका अधीनमा थिएनन्, समय, स्थान, वा भूगोलद्वारा सीमित थिएनन् भन्‍ने तरिकामा पनि यसको प्रकटीकरण भयो। सृष्टिकर्ताको अख्तियारजस्तै, उहाँको अद्वितीय पहिचान पनि अनन्‍तदेखि अनन्‍तसम्‍म अपरिवर्तित रहन्छ। उहाँको अख्तियार सधैँ नै उहाँको अद्वितीय पहिचानको प्रतिनिधित्व र प्रतीक हुनेछ, र उहाँको अख्‍तियार उहाँको पहिचानसँग एकसाथ सदासर्वदा रहिरहन्छ!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

दोस्रो दिन, परमेश्‍वरको अख्तियारले पानीलाई व्यवस्थित पार्छ, र वायुमण्डल बनाउँछ, र मानव अस्तित्वको लागि सबैभन्दा आधारभूत ठाउँ देखा पर्छ

हामी बाइबलको दोस्रो परिच्छेदलाई पढौँ: “अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूको बीचमा वायुमण्डल होस् र त्यसले पानीहरूलाई पानीहरूबाट अलग गरोस्।...

सृष्टि गरिएको र सृष्टि नगरिएको कुनै पनि प्राणीले सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्दैन

उहाँले यावत् थोकको सृष्टि गर्न सुरु गर्नुभएदेखि नै, परमेश्‍वरको शक्ति व्यक्त हुन र प्रकट हुन थाल्यो, किनभने परमेश्‍वरले सबै थोक सृष्टि गर्न...

चौथो दिन, परमेश्‍वरले फेरि आफ्‍नो अख्तियार प्रयोग गर्नुहुँदा मानवजातिका ऋतु, दिन र वर्षहरू अस्तित्वमा आउँछन्

सृष्टिकर्ताले आफ्‍नो योजना हासिल गर्नका लागि आफ्‍ना वचनहरू प्रयोग गर्नुभयो, र यसरी उहाँले आफ्‍नो योजनाका प्रारम्‍भिक तीन दिन बिताउनुभयो। यी...

तेस्रो दिन, परमेश्‍वरका वचनले पृथ्वी र समुद्रलाई जन्‍म दिन्छन्, र परमेश्‍वरको अख्‍तियारले संसारलाई जीवनद्वारा भरिपूर्ण तुल्याउँछ

यसपछि हामी उत्‍पत्ति १:९-११ को पहिलो वाक्यलाई पढौँ: “अनि परमेश्‍वरले भन्‍नुभयो, वायुमण्डलमुनिको पानी एक ठाउँमा जम्मा होस् र सुक्खा भूमि...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्