परमेश्‍वरले मानवजातिको लागि तयार गर्नुहुने दैनिक भोजन र पेयपदार्थ (भाग १)

13 अगस्ट 2021

हामीले भर्खरै वातावरणको एक भागको बारेमा, विशेष गरी, परमेश्‍वरले संसारको सृष्टि गर्नुहुँदा उहाँले तयार गर्नुभएको मानव अस्तित्वको निम्ति आवश्यक सर्तहरूको बारेमा सामान्य छलफल गर्‍यौं। हामीले पाँच कुराहरू, अर्थात् वातावरणका पाँच तत्वहरूको बारेमा कुरा गर्‍यौं। हाम्रो अर्को विषय हरेक मानवको भौतिक जीवनसँग घनिष्ठ रूपले सम्बन्धित छ, अनि यो कुरा उक्त जीवनसँग अझ प्रासङ्गिक छ र अघिल्‍ला पाँचको तुलनामा यसले जीवनको लागि आवश्यक पर्ने अवस्थाहरूलाई अझै राम्ररी पूरा गर्छ। स्पष्ट रूपमा भन्‍नुपर्दा, यो मानिसहरूले खाने खाना हो। परमेश्‍वरले मानिसको सृष्टि गर्नुभयो र उसलाई जीवनको निम्ति सुहाउँदो वातावरणमा राख्‍नुभयो; त्यसपछि मानिसलाई खाना र पानीको आवश्यकता पर्‍यो। मानिसलाई यसको आवश्यकता थियो, अनि परमेश्‍वरले उसको निम्ति त्यसैअनुकूल तयारी गर्नुभयो। यसैले, परमेश्‍वरको कामको हरेक चरण र उहाँले गर्ने हरेक कुरा बोलिने खोक्रा वचनहरू होइनन्, तर वास्तविक, व्यावहारिक कदम हुन्। के खाना मानिसहरूको दैनिक जीवनको अपरिहार्य कुरा होइन र? के खाना हावाभन्दा महत्त्वपूर्ण कुरा हो? ती बराबर महत्त्वका छन्। ती दुवै कुरा मानवजातिको अस्तित्व र मानव जीवनको सुरक्षित निरन्तरताको निम्ति आवश्यक परिस्थिति र पदार्थहरू हुन्। कुन बढी महत्त्वपूर्ण छ—हावा कि पानी? तापक्रम कि खाना? तिनीहरू सबै उत्तिकै महत्त्वपूर्ण छन्। मानिसहरूले तीमध्ये एउटालाई छान्‍न सक्दैनन् किनकि तिनीहरू तीमध्ये कुनै एकविना पनि रहन सक्दैनन्। यो वास्तविक र व्यावहारिक विषय हो, तैँले विभिन्‍न कुराहरूबीचमा छनौट गर्ने कुरा होइन। तँलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ। जब तैँले खाना देख्छस्, तँ सोच्छस्, “म खानाविना रहन सक्दिनँ!” तर तँलाई सृष्टि गरिएपछि लगतै तँलाई खानाको आवश्यकता छ भन्‍ने तँलाई थाहा थियो त? तँलाई थाहा थिएन, तर परमेश्‍वरलाई थाहा थियो। जब तँ भोकाइस् र खानलाई रुखमा फल र जमिनमा अन्‍न देखिस्, तब मात्र तैँले आफूलाई खानाको आवश्यकता भएको महसुस गरिस्। जब तँलाई तिर्खा लाग्यो र तैँले मूलको पानी देखिस् तब मात्र, अर्थात् तैँले पिएपछि मात्र तँलाई पानी चाहिने रहेछ भन्‍ने महसुस गरिस्। परमेश्‍वरले मानवजातिको निम्ति पहिले नै पानी तयार पार्नुभएको थियो। कसैले दिनको तीन छाक वा दुई वा त्यसभन्दा बढी छाक खाओस् वा नखाओस्, तर संक्षिप्तमा भन्दा खाना मानवको दैनिक जीवनको लागि अपरिहार्य कुरा हो। यो मानव शरीरको सामान्य अस्तित्वलाई निरन्तर कायम गर्न आवश्यक पर्ने कुरामध्ये एक हो। त्यसो भए, खाना कहाँबाट आउँछ त? सर्वप्रथम त यो माटोबाट आउँछ। माटो परमेश्‍वरले मानवजातिको लागि पहिले नै तयार गर्नुभएको थियो र रूख र घाँसहरूको निम्ति मात्र नभएर यो धेरै किसिमका वनस्पतिहरूको अस्तित्वको निम्ति सुहाउँदो छ। परमेश्‍वरले मानवजातिको निम्ति सबै किसिमका अन्‍न र अन्य विविध खानाका बीउहरू तयार पार्नुभयो, र रोप्‍नको लागि उहाँले मानवजातिलाई सुहाउँदो माटो र जमिन दिनुभयो र यी कुराहरूबाट मानवजातिले खाना प्राप्त गर्छ। विभिन्‍न किसिमका खानाहरू के-के हुन् त? तिमीहरूलाई सायद यो कुरा पहिले नै थाहा छ। सर्वप्रथम, धेरै किसिमका अन्‍नहरू छन्। अन्‍नका विभिन्‍न प्रकारहरू के-के हुन्? गहुँ, झुप्पे कोदो, लस्सादार कोदो, ठूलो कागुनो र अन्य प्रकारका भुस भएका अन्‍न। अनाज पनि विभिन्‍न प्रकारका हुन्छन्, दक्षिणदेखि उत्तरसम्म विभिन्‍न प्रजातिका हुन्छन्: जौ, गहुँ, उवा, फापर आदि-इत्यादि। फरकफरक क्षेत्रहरू फरकफरक प्रजातिका निम्ति उचित हुन्छन्। धान पनि धेरै किसिमका हुन्छन्। दक्षिणमा यसका आफ्नै प्रजातिहरू हुन्छन्, जुन दक्षिणका मानिसहरूलाई सुहाउने किसिमका लामा हुन्छन्, किनकि त्यहाँको मौसम न्यानो हुन्छ, अर्थात् त्यहाँका रैथाने मानिसहरूले इन्डिका धानजस्तै धेरै नटाँसिने प्रजातिहरू खानुपर्ने हुन्छ। तिनीहरूले टाँसिने किसिमका चामल खान सक्दैनन्, नत्र तिनीहरूले आफ्नो भोक गुमाउनेछन् र त्यसलाई पचाउन सक्दैनन्। उत्तरका मानिसहरूले टाँसिने चामल खान्छन्, किनकि उत्तर सधैँ चिसो हुन्छ त्यसैले त्यहाँका मानिसहरूले बढी टाँसिने कुराहरू खानुपर्छ। त्यस्तै गरी, सिमीका पनि धेरै प्रजातिहरू छन्, जुन जमिनमाथि फल्छन् र आलु, सुठुनी, पिँडालु र अन्य धेरै कन्दमूल तरकारीहरूचाहिँ जमिनमुनि फल्छन्। आलु उत्तरमा फल्छ, त्यहाँको आलु उच्‍च गुणस्तरको हुन्छ। मानिसहरूसँग खाने अन्‍न नहुँदा प्रमुख खानाको रूपमा आलुले तिनीहरूलाई दैनिक तीन छाक खाना उपलब्ध गराउँछ। आलुलाई सञ्‍चित खानाको रूपमा पनि प्रयोग गर्न सकिन्छ। सुठुनीको गुणस्तर आलुको भन्दा नराम्रो हुन्छ तर त्यसलाई पनि दैनिक तीन छाक खाना टार्नको निम्ति प्रयोग गर्न सकिन्छ। अन्‍न पाउन कठिन हुँदा मानिसहरूले सुठुनी खाएर भोक मेटाउँछन्। दक्षिणका मानिसहरूले अक्सर पिँडालु खान्छन् र यसलाई पनि यसरी नै प्रयोग गर्न सकिन्छ र यसले पनि प्रमुख भोजनको काम गर्छ। विभिन्‍न किसिमका फरकफरक बालीहरू यिनै हुन्, जुन मानिसहरूका दैनिक खानपानका आवश्यक भाग हुन्। मानिसहरूले रोटी, बफाएका रोटी, चाउचाउ, भात र चामलका चाउचाउ, र अन्य कुराहरू बनाउन विभिन्‍न किसिमका अन्‍नहरूको प्रयोग गर्छन्। परमेश्‍वरले मानवजातिको निम्ति प्रशस्त मात्रामा यी विभिन्‍न किसिमका अन्‍नहरू दिनुभएको छ। यति धेरै प्रजातिहरू किन छन् भन्‍ने कुरा परमेश्‍वरको इच्छाको कुरा हो: ती उत्तर, दक्षिण, पूर्व र पश्‍चिमका फरकफरक माटो र मौसममा उम्रनको निम्ति उपयुक्त छन्; जबकि तिनका विभिन्‍न बनावट र तिनमा निहित विभिन्‍न तत्त्वहरू मानव शरीरका विभिन्‍न बनावट र त्यसमा निहित विभिन्‍न तत्त्वहरूसँग मेल खान्छन्। यी अन्‍नहरू खाएर मात्र मानिसहरूले आफ्नो शरीरको निम्ति आवश्यक विभिन्‍न पोषक तत्त्व र पदार्थहरूलाई कायम गर्न सक्छन्। उत्तरी खाना र दक्षिणी खाना फरक छन्, तर तिनमा भिन्‍नता भन्‍दा पनि समानता ज्यादा छन्। दुवैले मानव शरीरका नियमित आवश्यकता तृप्त गर्न सक्छन् र यसको सामान्य अस्तित्वलाई टेवा पुर्‍याउँछन्। यसैले, हरेक क्षेत्रमा प्रशस्त प्रजातिहरूको उत्पादन हुन्छ, किनकि मानवको भौतिक शरीरलाई ती फरकफरक खानाहरूले आपूर्ति गर्ने कुराहरूको आवश्यकता हुन्छ—शरीरको सामान्य अस्तित्वको निम्ति तिनलाई माटोमा उम्रिएका विभिन्‍न खानाहरूको आपूर्ति आवश्यक पर्छ ताकि तिनीहरूले सामान्य मानव जीवन बाँच्‍न सकून्। छोटकरीमा, परमेश्‍वर मानवजातिप्रति अत्यन्तै विचारशील हुनुभएको छ। मानिसहरूलाई परमेश्‍वरले दिनुभएका विभिन्‍न खानाहरू विविधताविहीन छैनन्—यसको विपरीत, तिनीहरू अत्यन्तै व्यापक छन्। यदि मानिसहरूले अनाज खान चाहे भने, तिनीहरूले अनाज खान सक्छन्। केही मानिसहरू गहुँभन्दा धान मन पराउँछन् र गहुँ मन नपराएको कारण तिनीहरूले धान खान सक्छन्। लामा र छोटा दाना भएकालगायत धान धेरै प्रकारका हुन्छन्—अनि हरेक प्रकारका धानले मानिसको भोक मेटाउन सक्छन्। यसैले, यदि मानिसहरूले यी अन्‍नहरू खाए भने—तिनीहरूले आफ्नो खानालाई अनावश्यक रूपमा छनौट नगरेसम्म—तिनीहरूलाई पोषक तत्त्वको अभाव हुँदैन र तिनीहरू नमरेसम्म स्वस्थ भएर बाँच्छन् भन्‍ने सुनिश्‍चितता हुन्छ। परमेश्‍वरले मानवजातिलाई खाना उपलब्ध गराउनुहुँदा उहाँको मनमा यही विचार थियो। मानव शरीर यी कुराहरूविना रहन सक्दैन—के यो वास्तविकता होइन र? यी त मानिस आफैले समाधान गर्न नसक्‍ने व्यावहारिक समस्याहरू हुन्, तर ती समस्याहरूको लागि परमेश्‍वर तयार हुनुहुन्थ्यो: उहाँले ती समस्याहरूको बारेमा पहिले नै सोच्‍नुभयो र मानवजातिको निम्ति तयारीहरू गर्नुभयो।

परमेश्‍वरले मानवजातिको लागि तयार गर्नुहुने दैनिक भोजन र पेय पदार्थ

तर परमेश्‍वरले मानवजातिलाई यति मात्रै दिनुभएन—उहाँले मानवजातिलाई सागसब्जीहरू पनि दिनुभयो! भातसँग यदि तैँले अरू केही पनि खाइनस् भने, तैँले पर्याप्त पोषक तत्त्वहरू नपाउन सक्छस्। अर्कोतिर, तैँले आफ्नो खानासँग खानको लागि केही सागसब्‍जी पकाइस् वा सलाद मिसाइस् भने, तरकारीमा भएका भिटामिनहरू र तिनका विभिन्‍न तत्त्वहरू र अन्य पोषक तत्त्वहरूले तेरो शरीरको आवश्यकतालाई प्राकृतिक रूपमा तृप्त गर्छन्। अनि मानिसहरूले खाना खाइसकेपछि अर्को खाना खानुभन्दा पहिले केही फलफूल पनि खान सक्छन्। कहिलेकाहीँ, मानिसहरूलाई अझ बढी तरल पदार्थहरू वा अन्य पोषक तत्त्वहरू वा अन्य स्वादहरूको आवश्यकता पर्दछ र यी आवश्यकता पूरा गर्नको लागि फलफूल वा तरकारीहरू छन्। उत्तर, दक्षिण, पूर्व र पश्‍चिममा माटो र मौसमहरू फरकफरक हुने हुनाले, तिनीहरूले विभिन्‍न प्रजातिका तरकारी र फलफूलहरू उत्पादन गर्छन्। दक्षिणको मौसम अत्यधिक तातो हुने हुनाले, त्यहाँ पाइने धेरैजसो फलफूल र तरकारीहरू चिसो पार्ने किसिमका हुन्छन्, र तिनलाई खाएपछि तिनले मानव शरीरमा चिसो र तातोको सन्तुलन ल्याउन सक्छन्। तुलनात्मक रूपमा, उत्तरमा कम प्रजातिका तरकारी र फलफूलहरू पाइन्छन्, तथापि स्थानीय मानिसहरूले उपभोग गर्नको निम्ति यी पर्‍याप्त हुन्छन्। तैपनि, हालका वर्षहरूमा समाजमा भएका विकासहरू र तथाकथित सामाजिक प्रगतिका साथै उत्तर, दक्षिण, पूर्व र पश्‍चिमलाई जोड्ने सञ्‍चार र यातायातको कारण उत्तरका मानिसहरूले केही दक्षिणी फलफूल र तरकारीहरू वा दक्षिणका क्षेत्रीय उत्पादनहरू खान सकेका छन् र तिनीहरू वर्षका सबै चार ऋतुमा त्यसो गर्न सक्छन्। यसले मानिसहरूका भोक र भौतिक चाहनाहरूलाई तृप्त पार्न सक्षम भए तापनि, यसले थाहै नपाई तिनीहरूको शरीरमा विभिन्‍न हदसम्म हानि पुर्‍याउँछ। यस्तो किन हुन्छ भने मानवजातिका लागि परमेश्‍वरले तयार पार्नुभएका खानेकुराहरूमा दक्षिणका मानिसहरूले खानुपर्ने खाना, फलफूल र तरकारीहरू पनि छन्, र उत्तरका मानिसहरूले खानुपर्ने भनी तयार पारिएका खाना, फलफूल र तरकारीहरू पनि छन्। भन्‍नुको तात्पर्य, यदि तँ दक्षिणमा जन्मेको होस् भने तैँले दक्षिणका खानेकुरा खानु उचित हुन्छ। दक्षिणको मौसम फरक भएको हुनाले परमेश्‍वरले विशेष रूपले यी खाना, फलफूल र तरकारीहरू तयार पार्नुभएको छ। उत्तरका मानिसका शरीरका निम्ति आवश्यक पर्ने खाना उत्तरमै पाइन्छ। तथापि मानिसहरूको भोक खन्चुवा प्रवृत्तिको छ, थाहै नपाई तिनीहरूले आफैलाई नयाँ सामाजिक चलनको छालमा बगाउँछन् र अचेतन रूपमै यी नियमहरूको उल्लङ्‍घन गर्छन्। मानिसहरूले आफ्नो जीवन विगतमा भन्दा असल भएको महसुस गरे तापनि, यस किसिमको सामाजिक प्रगतिले धेरैभन्दा धेरै मानिसहरूको शरीरमा थाहै नपाई भित्रभित्रै हानि पुर्‍याइरहेको हुन्छ। परमेश्‍वर यस्तो देख्‍न चाहनुहुन्‍न र उहाँले मानवजातिलाई यी खाना, फलफूल र तरकारीहरू उपलब्ध गराउनुहुँदा उहाँसँग यस्तो उद्देश्य थिएन। मानव आफैले परमेश्‍वरका व्यवस्थाहरू उल्लङ्‍घन गरेर वर्तमान अवस्था सृजना गरेका हुन्।

यी सबैका अतिरिक्त, परमेश्‍वरले मानवजातिको लागि उपलब्ध गराउनुभएको प्रशस्‍तता वास्तवमै प्रचुर मात्रामा छ र हरेक ठाउँको आफ्‍नै स्थानीय उत्पादन छ। उदाहरणको निम्ति, केही ठाउँमा रातो खजूर प्रशस्‍त हुन्छ (जसलाई जुजुबे भनेर पनि चिनिन्छ), अरू ठाउँमा प्रशस्‍त ओखर हुन्छ र अझै अरू ठाउँमा बदाम वा यस्तै अन्य विभिन्‍न किसिमका फलहरू प्रशस्‍त हुन्छन्। यी सबै भौतिक कुराहरूले मानव शरीरलाई चाहिने पोषक तत्त्वहरू प्रदान गर्छन्। तर परमेश्‍वरले मानवजातिलाई ठीक परिमाण र ठीक समयमा वर्षको ऋतुअनुसार यी कुराहरूको आपूर्ति गर्नुहुन्छ। मानवजातिले भौतिक आनन्दको लालच गर्छ र ऊ खन्चुवा छ, जसले गर्दा परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुहुँदा स्थापित गर्नुभएका मानव वृद्धिका प्राकृतिक नियमहरूलाई उसले सहजै भङ्ग गर्न र नोक्सानी पुर्‍याउन सक्छ। उदाहरणको रूपमा चेरीलाई लिऔं। ती जुन महिनातिर पाक्छन्। सामान्य परिस्थितिमा अगष्ट महिनासम्ममा चेरीहरू केही पनि बाँकी रहँदैनन्। तिनलाई दुई महिना मात्र ताजा राख्‍न सकिन्छ तर वैज्ञानिक प्रविधिहरूको प्रयोग गरेर अहिले मानिसहरूले त्यस अवधिलाई बाह्र महिनासम्म, चेरीको अर्को मौषमसम्म पनि लम्ब्याउन सक्षम छन्। यसको अर्थ यही हो कि वर्षभरि चेरीहरू पाइन्छन्। के यो घटना सामान्य हो र? (होइन।) त्यसो भए चेरी खाने सबैभन्दा राम्रो समय कुन हो त? त्यो जुनदेखि अगस्टसम्मको अवधि हो। यो समय काटेपछि तिनलाई जति ताजा राखे पनि तिनको स्वाद उस्तै हुँदैन, न त मानव शरीरलाई आवश्यक पर्ने कुरा नै तिनले दिन्छन्। मिति सकिएपछि तैँले जुनसुकै रसायन हाले तापनि प्राकृतिक रूपमा फल्दाको अवस्थामा तिनमा पाइने सबै गुण हाल्न सक्‍नेछैनस्। यसका अतिरिक्त, मानवमा ती रसायनले गर्ने हानिलाई जति नै प्रयास गरे तापनि कसैले पनि समाधान वा परिवर्तन गर्न सक्दैन। त्यसो भए, वर्तमान बजार अर्थव्यवस्थाले मानिसहरूमा के ल्याउँछ त? मानिसहरूको जीवन अझ राम्रो भएजस्तो देखिन्छ, एक क्षेत्रदेखि अर्को क्षेत्रसम्मको यातायात धेरै सुविधाजनक भएको छ र मानिसहरूले चार ऋतुमध्ये कुनै पनि समयमा सबै किसिमका फलफूलहरू खान सक्छन्। उत्तरका मानिसहरू नियमित रूपमा दक्षिणका केराहरू, क्षेत्रीय व्यञ्‍जनहरू, फलफूल वा अन्य खानाहरू खान सक्छन्। तर परमेश्‍वरले मानवजातिलाई दिन चाहनुभएको जीवन यो होइन। यस प्रकारको बजार अर्थव्यवस्थाले मानिसहरूको जीवनमा केही फाइदा ल्याउन त सक्ला, तर यसले हानि पनि ल्याउँछ। बजारमा प्रशस्त पाइने भएको कारण धेरै मानिसहरूले मैले मुखमा के हालिरहेको छु भन्‍ने कुरा नै नसोची खान्छन्। यो व्यवहारले प्रकृतिको नियमहरूलाई उल्लङ्‍घन गर्छ र यो मानिसहरूको स्वास्थ्यको लागि हानिकारक हुन्छ। यसैले, बजार अर्थव्यवस्थाले मानिसहरूमा साँचो खुसी ल्याउन सक्दैन। तिमीहरू आफै हेर। के बजारमा अङ्गुर चारै ऋतुमा बेचिन्‍न र? वास्तवमा, अङ्गुरहरू टिपेपछि धेरै छोटो समयको निम्ति मात्र ताजा रहन्छन्। यदि तैँले त्यसलाई अर्को वर्षको जुनसम्म राखिस् भने, त्यसलाई अझ पनि अङ्गुर नै भनिन्छ र? कि त्यसलाई “फोहोर” भन्दा राम्रो होला? त्यसमा ताजा अङ्गुरका तत्त्वहरूको अभाव हुने मात्र नभएर—त्यसमा धेरै रसायनहरू पनि मिसिएका हुन्छन्। एक वर्षपछि त्यो ताजा रहँदैन र त्यसमा भएका पोषक तत्त्वहरू पहिले नै गइसकेका हुन्छन्। जब मानिसहरूले अङ्गुर खान्छन्, तिनीहरूले यस्तो महसुस गर्छन्, “हामी कति भाग्यमानी! तीस वर्षअगाडि के हामीले यस मौसममा अङ्गुर खान पाउथ्यौं त? चाहेर पनि खान पाउँदैनथ्यौं! अहिले जीवन धेरै राम्रो भएको छ!” के यो वास्तवमै सुख हो त? यदि तँ इच्छुक छस् भने तैँले रसायनद्वारा संरक्षण गरिएको अङ्गुरको बारेमा अनुसन्धान गरेर ती केले बनेका रहेछन् र ती तत्वहरू मानवको लागि हितकर छन् कि छैनन् भनेर हेर्न सक्छस्। व्यवस्थाको युगमा, जब इस्राएलीहरूले मिश्र छाडेर यात्रा गरिरहेका थिए, परमेश्‍वरले तिनीहरूलाई बट्टाई र मन्‍न दिनुभयो। तर के परमेश्‍वरले तिनीहरूलाई खानाको संरक्षण गर्ने अनुमति दिनुभयो त? तिनीहरूमध्ये केही अदूरदर्शी थिए र अर्को दिन पाइन्‍न भनी डराएर तिनीहरूले पछिको लागि केही छुट्याएर राखे। त्यसपछि के भयो? अर्को दिन, त्यो कुहिएको थियो। परमेश्‍वरले तँलाई केही मात्रामा साँचेर राख्‍न दिनुहुन्‍न, किनकि तँ भोको हुनेछैनस् भन्‍ने सुनिश्‍चितता दिने गरी उहाँले तयारीहरू गर्नुभएको हुन्छ। तर मानवजातिमा त्यो आत्मविश्‍वास छैन, न त तिनीहरूसँग परमेश्‍वरप्रति साँचो विश्‍वास नै छ। तिनीहरूले सधैँ आफैलाई आफ्नो तजबिजमा केही हेरफेर गर्ने स्वतन्त्रता दिन चाहन्छन् र मानवजातिको निम्ति तयारीहरू गर्दा परमेश्‍वरले गर्नुभएको सारा वास्ता र ध्यानलाई तिनीहरूले कहिल्यै पनि देख्‍न सक्दैनन्। तिनीहरूले यो कुरा महसुस गर्न सक्दैनन्, यसैले तिनीहरूले आफ्नो विश्‍वास पूर्ण रूपमा परमेश्‍वरमा राख्‍न सक्दैनन्, अनि तिनीहरूले सधैँ यस्तो सोच्छन्: “परमेश्‍वरका कार्यहरू भरोसा गर्न योग्य छैनन्! परमेश्‍वरले हामीलाई चाहिएको कुरा दिनुहुन्छ कि हुन्‍न वा त्यो कहिले दिनुहुन्छ भन्‍ने कुरा कसलाई थाहा छ र! यदि म भोको भएँ र परमेश्‍वरले पोषण उपलब्ध गराउनुभएन भने, म भोकै पर्दिनँ र? के मलाई पोषक तत्त्वको अभाव हुँदैन र?” हेर त मानिसको आत्मविश्‍वास कति झीनो छ!

अन्‍न, फलफूल, सागसब्‍जी र सबै किसिमका बदामजस्ता खानेकुराहरू—यी सबै शाकाहारी भोजनहरू हुन्। ती शाकाहारी भोजन भए तापनि, तिनमा मानव शरीरका आवश्यकता पूरा गर्ने पर्याप्त पोषक तत्त्वहरू हुन्छन्। तापनि, परमेश्‍वरले यसो भन्‍नुभएन: “म मानवजातिलाई यी खानेकुराहरू मात्र दिन्छु। तिनीहरूले यी खानेकुराहरू मात्र खाऊन्।” परमेश्‍वर त्यहाँ रोकिनुभएन, तर मानवजातिको निम्ति धेरै थप स्वादिष्ठ खानेकुराहरू तयार गर्ने कार्यमा लाग्‍नुभयो। यी खानेकुराहरू के-के हुन् त? ती तिमीहरूले खान र देख्‍न सक्‍ने विभिन्‍न किसिमका माछा र मासु हुन्। उहाँले मानिसको निम्ति धेरै किसिमका माछा र मासु दुवै तयार पार्नुभयो। माछा पानीमा बस्छ र पानीमा बस्‍ने माछाको मासुको तत्त्व जमिनमा बस्‍ने जनावरहरूको भन्दा फरक हुन्छ र त्यसले मानिसलाई फरक पोषक तत्त्वहरू प्रदान गर्छ। माछामा मानव शरीरभित्र चिसो र तातो नियन्त्रण गर्ने गुणहरू पनि हुन्छ, जसले मानिसलाई ठूलो फाइदा दिन्छ। तर स्वादिष्ठ खानेकुराहरू धेरै खानु हुँदैन। मैले पहिले नै भनिसकेँ, परमेश्‍वरले मानवजातिलाई ठीक समयमा ठीक परिमाणमा खानेकुरा दिनुभएको छ, ताकि उहाँले प्रदान गर्नुभएका कुराहरूलाई मानिसहरूले सामान्य रूपमा र ऋतु र समयअनुसार उचित तवरले उपभोग गर्न सकून्। अब, पन्छी वर्गमा कस्ता किसिमका खानेकुराहरू समावेश छन् त? कुखुरा, बट्टाई, परेवा र यस्तै अन्य पन्छीहरू। धेरै मानिसहरूले हाँस र रजहाँस पनि खान्छन्। परमेश्‍वरले यी सबै किसिमका मासुहरू उपलब्ध गराउनुभएको भए तापनि, व्यवस्थाको युगमा उहाँले आफ्‍ना चुनिएका मानिसहरूलाई निश्‍चित मापदण्डहरू दिनुभयो र तिनीहरूका आहारामा विशेष सीमाहरू तोक्‍नुभयो। आजभोलि यी सीमाहरू व्यक्तिगत स्वाद र व्यक्तिगत व्याख्यामा भर पर्छन्। यी विविध मासुहरूले मानव शरीरलाई विविध पोषक तत्त्वहरू प्रदान गर्छन्, प्रोटिन र फलामको आवश्यकता पूर्ति गर्छन्, रगतलाई समृद्ध बनाउँछन्, मांसपेशी र हाडहरूलाई बलिष्ठ बनाउँछन् र शरीरको शक्ति निर्माण गर्छन्। मानिसहरूले जसरी पकाएर खाए तापनि यी मासुहरूले तिनीहरूका खानाका स्वादलाई सुधार्छन् र तिनीहरूका खाने रुचि बढाउनुका साथै तिनीहरूका पेटलाई तृप्त पनि पार्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा त यी खानाहरूले मानव शरीरलाई आवश्यक दैनिक पोषक तत्त्वहरू पूर्ति गर्छन्। परमेश्‍वरले मानवजातिको निम्ति खाना तयार गर्नुहुँदा यी कुराहरूमा ध्यान दिनुभयो। तरकारी र मासु—के यो प्रशस्त छैन र? तर मानवजातिको निम्ति सबै खानेकुरा उपलब्ध गराउनुको पछाडि परमेश्‍वरको उद्देश्य के छ भन्‍ने कुरा मानिसहरूले बुझ्‍नुपर्छ। के यो मानिसहरूलाई खानेकुरामा चाहिनेभन्दा बढी लिप्त गराउनलाई थियो? मानिस यी भौतिक चाहनाहरू तृप्त गर्ने प्रयासमा अल्झियो भने के हुन्छ? के उसले चाहिनेभन्दा बढी पोषण प्राप्त गर्दैन र? के अत्यन्तै धेरै पोषणले मानव शरीरलाई धेरै किसिमले सताउँदैन र? (सताउँछ।) यही कारणले गर्दा, परमेश्‍वरले ठीक समयमा ठीक परिमाण दिनुहुन्छ र मानिसलाई मानिसहरूको आनन्दको निम्ति फरकफरक समय र ऋतुहरूमा फरकफरक किसिमका खानाहरू दिनुहुन्छ। उदाहरणको लागि, धेरै गर्मी ग्रीष्म ऋतुपछि मानिसहरूको शरीरमा धेरै ताप र रोगजन्य सुक्खापन तथा आर्द्रता जम्मा हुन्छ। जब शरद् ऋतु आउँछ, धेरै किसिमका फलफूलहरू पाक्छन् र जब मानिसहरूले ती फलफूलहरू खान्छन् तिनीहरूको शरीरमा भएको आर्द्रता बाहिर निस्कन्छ। यस समयमा, गाईवस्तु र भेडाहरू पनि बलिया भएका हुन्छन्, यसैले मानिसहरूले यस बेला पोषणको निम्ति धेरै मासु खानुपर्छ। विविध किसिमका मासु खाएर मानिसहरूको शरीरले हिउँदको जाडो सहन सहयोग पुर्‍याउने शक्ति र न्यानोपन प्राप्त गर्छ, फलस्वरूप तिनीहरू सुरक्षित र स्वस्थ रहेर हिउँद कटाउन सक्षम हुन्छन्। मानवजातिलाई के कुरा कहिले उपलब्ध गराउने, अनि उहाँले कहिले विभिन्‍न कुराहरूलाई वृद्धि गराउनुहुनेछ, फल फलाउनुहुनेछ र ती फललाई पकाउनुहुनेछ भन्‍ने कुरालाई परमेश्‍वरले अत्यन्तै वास्ता र सूक्ष्मताका साथ नियन्त्रण र समन्वय गर्नुहुन्छ। यो “परमेश्‍वरले मानिसलाई दैनिक जीवनमा आवश्यक पर्ने खाना कसरी तयार गर्नुहुन्छ” भन्‍ने वाक्यसँग सम्बन्धित छ। विभिन्‍न किसिमका खानाका अतिरिक्त, परमेश्‍वरले पानीका स्रोतहरू पनि उपलब्ध गराउनुभएको छ। खाना खाएपछि मानिसहरूले पानी पनि पिउनुपर्छ। के फलफूल मात्रै पर्याप्त छ त? मानिसहरू फलफूलले मात्र बाँच्‍न सक्दैनन्, यसबाहेक केही मौसममा त फलफूल नै हुँदैन। यसैले, मानवजातिको पानीसम्‍बन्धी समस्यालाई कसरी समाधान गर्न सकिन्छ त? जमिनमाथि र मुनि ताल, नदी र मूलहरूलगायतका पानीका धेरै स्रोतहरूको तयारी गरेर परमेश्‍वरले यसको समाधान गर्नुभएको छ। यी पानीका स्रोतहरू प्रदूषित नहुन्जेलसम्म र मानिसहरूले तिनलाई हेरफेर वा नष्ट नगरुन्जेलसम्म ती पिउनयोग्य हुन्‍छन्। अर्को शब्दमा, मानवजातिको भौतिक शरीरको जीवन धान्‍ने खानाका स्रोतहरूको सम्बन्धमा परमेश्‍वरले एकदमै स्पष्ट, अत्यन्तै सही र अत्यन्तै उचित तयारीहरू गर्नुभएको छ, ताकि मानिसहरूको जीवन केही कुराको अभावविना सम्पन्‍न र भरपूर होस्। यो मानिसहरूले महसुस गर्न सक्‍ने र देख्‍न सक्‍ने कुरा हो।

यसका अतिरिक्त, परमेश्‍वरले सबै थोकमाझ केही बोटबिरुवा, जनावर र विभिन्‍न किसिमका जडीबुटीहरूको सृष्टि गर्नुभयो, जसले मानव शरीरका चोट वा बिमारीहरू निको पार्ने काम गर्छन्। उदाहरणको निम्ति, कसैलाई आगोले पोल्यो वा दुर्घटनावश उसले आफैलाई तातो पानीले जलायो भने के गर्नुपर्छ? के तैँले जलेको भागलाई पानीले धुन सक्छस्? के तैँले त्यसलाई कुनै पुरानो कपडाले बाँध्‍न सक्छस्? यदि तैँले त्यसो गरिस् भने घाउमा पीप भरिन वा सङ्क्रमण हुन सक्छ। उदाहरणको लागि, यदि कसैलाई ज्वरो आयो वा चिसो लाग्यो; काम गर्दा चोट लाग्यो; गलत कुरा खाएर पेट खराब भयो; जीवनशैली वा भावनात्मक कुराहरूको कारण विकास हुने रक्तवाहिनी नलीसँग सम्बन्धित रोग, मनोविज्ञानसँग सम्बन्धित वा भित्री अङ्गहरूसँग सम्बन्धित रोगहरू लाग्यो; यदि यस्तो भयो भने तिनीहरूका रोगहरू निको पार्नका लागि त्यसैअनुरूपका वनस्पतिहरू छन्। रक्त सञ्‍चारमा सुधार गर्ने र दूषित कुरा हटाउने, पीडा कम गर्ने, रक्तस्राव रोक्‍ने, दुखाइ कम गर्ने, छालालाई निको पारेर सामान्य अवस्थामा फर्काउन र रक्त गतिहीनता हटाउने र शरीरबाट विषाक्त कुराहरू बाहिर निकाल्ने—छोटकरीमा भन्दा, दैनिक जीवनमा यी वनस्पतिहरूका प्रयोगहरू छन्। मानिसहरूले तिनको प्रयोग गर्न सक्छन् र आवश्यक परेको बेला प्रयोग गर्न सकियोस् भनेर नै परमेश्‍वरले मानव शरीरको लागि यिनीहरू तयार गर्नुभएको हो। तीमध्ये कतिपयको बारेमा परमेश्‍वरले मानिसलाई संयोगवश पत्ता लगाउन दिनुभयो, जबकि बाँकी कुराहरूको बारेमा भने कि त परमेश्‍वरले छनौट गर्नुभएका मानिसहरूले पत्ता लगाए कि त उहाँले तारतम्य मिलाउनुभएका विशेष घटनाहरूको कारण आफै पत्ता लाग्यो। यी वनस्पतिहरू भेटिएपछि, मानवजातिले तिनलाई पुस्ताहरूमा हस्तान्तरण गरे अनि धेरै मानिसहरूलाई तिनको बारेमा थाहा भयो। परमेश्‍वरले सृष्टि गर्नुभएका यी वनस्पतिहरूका मूल्य र अर्थ छन्। सारांशमा, यी सबै थोक परमेश्‍वरबाट आएका, उहाँले मानवजातिको अस्तित्वको वातावरण तयार गर्ने क्रममा उहाँले तयार गर्नुभएका र रोप्‍नुभएका कुराहरू हुन्। तिनीहरू अत्यावश्यक छन्। के परमेश्‍वरका सोचविचार प्रक्रियाहरू मानवजातिका भन्दा विस्तृत छन्? जब तँ परमेश्‍वरले गर्नुभएका सबै थोक देख्छस्, के तैँले परमेश्‍वरको व्यवहारिक पक्षलाई अनुभूति गर्छस्? परमेश्‍वरले गुप्त रूपमा काम गर्नुहुन्छ। परमेश्‍वरले यी सबैको सृष्टि मानिस संसारमा आउनुभन्दा अगाडि नै, उहाँले मानिसलाई सम्पर्क गर्नुभन्दा अगाडि नै गर्नुभयो। सबै कुरा मानवजातिलाई ध्यानमा राखेर, मानिसको अस्तित्वको खातिर र तिनीहरूको अस्तित्वलाई सोचेर गरिएका थिए, ताकि मानवजाति तिनीहरूको निम्ति तयार पारिएको यस सम्पन्‍न र प्रचुर भौतिक संसारमा खुसीसाथ खाना र वस्‍त्रको चिन्ता नगरी कुनै कुराको अभावविना बाँचोस्। यस्तो वातावरणमा मानवजाति निरन्तर प्रजनन गर्न र जिउन सक्छ।

परमेश्‍वरका सबै ठूला र साना कार्यहरूमध्ये, के त्यहाँ कुनै महत्त्व वा अर्थ नभएको कुनै कार्य छ? उहाँले गर्ने सबै कुराको महत्त्व वा अर्थ हुन्छ। हामी छलफललाई सामान्य विषयको साथमा सुरु गरौं। मानिसले प्रायः सोध्छन्: कुन पहिले उत्पत्ति भयो, कुखुरा वा अण्डा? (कुखुरा।) कुखुरा पहिले उत्पत्ति भएको हो, यसमा कुनै शङ्का छैन! किन कुखुराको पहिले उत्पत्ति भएको हो? किन पहिले अण्डाको उत्पत्ति हुन सकेन? के कुखुरा अण्डाबाट निस्किने होइन र? एक्‍काइस दिनपछि, चल्ला कोरलिन्छ र त्यसपछि त्यो कुखुराले अझै धेरै अण्डाहरू पार्छ र ती अण्डाहरूबाट थप कुखुराहरू निस्कन्छन्। त्यसैले कुखुरा र अण्डामा कुन पहिले उत्पत्ति भयो? तिमीहरूले पूर्ण निश्‍चयतासाथ “कुखुरा” भन्‍ने जवाफ दिन्छौ। तर किन तिमीहरूको यो जवाफ हुन्छ त? (बाइबलले भन्छ कि परमेश्‍वरले चरा र जनावरहरूको सृष्टि गर्नुभयो।) त्यसैले, तिमीहरूको जवाफ बाइबलमा आधारित छ। तर म तिमीहरूको आफ्नै बुझाइको बारेमा कुरा गर्न चाहन्छु, ताकि म तिमीहरूसँग परमेश्‍वरका कार्यहरूको बारेमा कुनै व्यवहारिक ज्ञान छ कि भनी देख्‍न सकूँ। अब, के तिमीहरू आफ्नो जवाफमा ढुक्‍क छौ, कि छैनौ? (परमेश्‍वरले कुखुराको सृष्टि गर्नुभयो, त्यसपछि यसलाई प्रजननको क्षमता प्रदान गर्नुभयो, जसको अर्थ ओथारो बसी अण्डा कोरल्ने क्षमता हो।) यो व्याख्या केही हदसम्म सही छ। कुखुराको पहिले उत्पत्ति भयो र त्यसपछि अण्डाको। यो निश्‍चित हो। यो विशेष रूपले गहन रहस्य होइन, तर संसारका मानिसहरूले तैपनि यसलाई गहन भएको विचार गर्छन् र यसलाई दार्शनिक सिद्धान्तहरूको साथमा सुल्झाउने प्रयास गर्छन्, जुन कहिल्यै पनि निष्कर्षमा पुग्दैन। यो कुरा मानिसहरूलाई परमेश्‍वरले आफूलाई सृष्टि गर्नुभएको हो भनी थाहा नभएको बेलाको जस्तै हो। तिनीहरूलाई यो आधारभूत सिद्धान्त थाहा छैन, न त तिनीहरूसँग अण्डा वा कुखुरामा कुन पहिले उत्पत्ति भएको भन्‍नेबारेमा स्पष्ट विचार नै छ। उनीहरूलाई कुन पहिले उत्पत्ति भएको हुनुपर्छ भन्‍ने कुरा थाहा छैन, त्यसैले उनीहरू कहिल्यै पनि जवाफ पत्ता लगाउन सक्षम हुँदैनन्। कुखुरा पहिले उत्पत्ति भएको कुरा काफी प्राकृतिक छ। यदि कुखुराभन्दा पहिले नै त्यहाँ अण्डा भइदिएको भए, त्यो असाधारण हुन्थ्यो! यो यति सरल कुरा हो—निश्‍चय नै कुखुराको पहिले उत्पत्ति भएको हो। यो उच्‍च ज्ञान आवश्यक पर्ने प्रश्‍न होइन। परमेश्‍वरले सबै कुराको सृष्टि गर्नुभयो, ताकि मानिसले यसको आनन्द उठाउन सकोस्। एकपटक कुखुरा अस्तित्वमा आएपछि, अण्डाले प्रकृतिको मार्ग पालन गर्दछ। के यो सहज समाधान होइन त? यदि अण्डाको पहिले सृष्टि भएको भए, के यसलाई कोरल्नको लागि कुखुरा चाहिने थिएन र? सीधै कुखुराको सृष्टि गर्नु थप सहज समाधान हो। यो तरिकाले, कुखुराले अण्डा पार्न सक्थ्यो र यसभित्रका कुखुराहरूलाई कोरल्न सक्थ्यो र मानिसहरूले खानको लागि कुखुरा पाउँथे। कति सजिलो! परमेश्‍वरले गर्नुहुने कार्यहरू कति सफा र स्वच्छ छन्, बिलकुलै जटिल छैनन्। अण्डा कहाँबाट उत्पत्ति भयो? यो कुखुराबाट आउँछ। कुखुराविना कुनै पनि अण्डा हुन सक्दैन। परमेश्‍वरले सृष्टि गर्नुभएको कुरा सजीव वस्तु हो! मानवजाति विवेकहीन र हास्यास्पद छ, जो सधैँ यस्ता साधारण कुराहरूमा अल्झिरहन्छ र हास्यास्पद भ्रमहरूमा पुग्छ। मानिस कस्तो बच्‍चाजस्तो छ! अण्डा र कुखुराको सम्बन्ध स्पष्ट छ: कुखुराको पहिले उत्पत्ति भएको हो। यो नै सबैभन्दा सही व्याख्या हो, यो नै यसलाई बुझ्ने सबैभन्दा सही तरिका हो र यो नै सबैभन्दा सही जवाफ हो। यो नै सही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: हावा

हामीले “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने वचनसँग सम्बन्धित विभिन्‍न विषयहरू र धेरै विषयवस्तुको बारेमा छलफल गरेका...

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: वायुप्रवाह

पाँचौ कुरा के हो? यो कुरा हरेक व्यक्तिको प्रत्येक दिनसँग घनिष्ट रूपमा सम्बन्धित छ। मानव जीवनसँग यसको सम्बन्ध यति नजिक छ कि यसको अभावमा...

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: ज्योति

चौथो कुरा मानिसहरूका आँखासँग सम्बन्धित छ: ज्योति। यो पनि धेरै महत्त्वपूर्ण छ। जब तैँले चम्किलो ज्योति देख्छस्, र त्यसको चमक निश्‍चित तहमा...

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: ध्वनि

तेस्रो कुरा के हो? यो पनि मानव अस्तित्वको सामान्य वातावरणको निम्ति आवश्यक हिस्सा हो र परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुहुँदा यसको निम्ति...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्