कथा २: ठूलो हिमाल, सानो नदी, ठूलो हावा र विशाल छाल

13 अगस्ट 2021

एउटा सानो नदी थियो, घुम्दै बहँदै, अन्ततः ठूलो हिमालको फेदीमा आइपुगेको थियो। हिमालले सानो नदीको बाटोलाई छेकिदियो, त्यसैले नदीले आफ्नो कमजोर, मधुरो आवाजमा हिमाललाई भन्यो, “कृपया मलाई जान दिनुहोस्। तपाईंहरू मेरो बाटोमा उभिनुभएको छ र मेरो अगाडिको बाटो रोकिरहनुभएको छ।” “तपाईं कहाँ जाँदै हुनुहुन्छ?” हिमालले सोध्यो। “म मेरो घर खोजिरहेको छु,” नदीले जवाफ दियो। “ठीक छ, अगाडि बढ्नुहोस् र म माथिबाट नै बग्नुहोस्!” तर सानो नदी धेरै कमजोर र धेरै सानो थियो, त्यसैले त्यस्तो ठूलो हिमालमाथिबाट बगेर जाने नदीको सामर्थ्य थिएन। नदी हिमालको फेदमुनिबाट मात्रै बग्न सक्थ्यो …

बालुवा र धूलो बोकेको ठूलो हावा हिमाल उभिएको ठाउँमा आइपुग्यो। हावाले हिमालतर्फ गुहार लगायो, “मलाई पार गर्न दिनुहोस्!” “तपाईं कहाँ जाँदै हुनुहुन्छ?” हिमालले सोध्यो। “म हिमालको अर्कोपट्टि जान चाहन्छु,” प्रतिक्रिया स्वरूप हावा ठूलो स्वरमा करायो। “ठीक छ, यदि तपाईं मेरो कम्मर भएको ठाउँबाट फुत्कन सक्नुहुन्छ भने, तपाईं जान सक्नुहुन्छ!” ठूलो हावा यता र उता मच्चियो तर त्यसले जे गरे पनि यो हिमालको कम्मरबाट फुत्किन सकेन। ठूलो हावा थामियो र आराम गर्न रोकियो—हिमालको अर्कोपट्टि, त्यहाँका मानिसहरूलाई खुशी बनाउँदै एकसरो बतास चल्न थाल्यो। यो मानिसहरूलाई हिमालले दिएको अभिवादन थियो …

सागरको किनारमा, सागरका छालहरू ढुङ्गे किनारमा बिस्तारै बटारिन थाले। अचानक, एउटा विशाल छाल उठ्यो र हिमालतिर गयो। “मेरो बाटोबाट हट्नुहोस्!” विशाल छाल करायो। “तपाईं कहाँ जाँदै हुनुहुन्छ?” हिमालले सोध्यो। अगाडि बढ्नबाट आफूलाई रोक्न असमर्थ हुँदै, छाल गर्जियो, “म आफ्नो क्षेत्र विस्तार गर्दैछु! म मेरा पाखुराहरू तन्काउन चाहन्छु!” “ठीक छ, यदि तपाईं मेरो चुचुरोमाथिबाट जान सक्नुहुन्छ भने, म तपाईंलाई जान दिनेछु।” विशाल छाल अलिकति पछाडि हट्यो र फेरि हिमालतिर ठूलो हुँदै अघि बढ्यो। तर जतिसुकै प्रयास गरे पनि, हिमालको चुचुरोमा पुग्न सकेन। छाल बिस्तारै सागरमा फर्कन मात्रै सक्थ्यो …

हजारौं वर्षसम्म, सानो नदी हिमालको फेदतिर बिस्तारै बग्दै गयो। हिमालको दिशा पछ्याउँदै, सानो नदीले घर फर्कने बाटो बनायो, यो ठूलो नदीमा मिसियो र नदी सागरमा। हिमालको हेरचाहले गर्दा, सानो नदीले कहिल्यै आफ्नो बाटो बिराएन। नदी र हिमालले एक-अर्कालाई सुदृढ गरेका थिए र एक-आपसमा निर्भर रहेका थिए; उनीहरू एक-अर्कालाई सुदृढ गर्थे, एक-अर्कालाई क्रिया-प्रतिक्रिया दिन्थे, अनि तिनीहरू सह-अस्तित्वमा रहेका थिए।

(Source:Megapixl)

हजारौं वर्षमा, ठूलो हावा कराउँदै बटारियो, किनभने यो नै यसको बानी थियो। यो अझै बालुवाका ठूला फोहोराहरू आफूभित्र रुमल्याउँदै हिमाललाई “भेट्न” आउँथ्यो। हावाले हिमाललाई धम्की दियो, तर हिमालको कम्मर कहिल्यै भाँचिएन। हावा र हिमालले एक-अर्कालाई झनै सुदृढ गरेका थिए र तिनीहरू एक-अर्कामा निर्भर रहेका थिए; उनीहरू एक-अर्कालाई सुदृढ गर्थे, एक-अर्कालाई क्रिया-प्रतिक्रिया दिन्थे, अनि सह-अस्तित्वमा रहेका थिए।

हजारौं वर्षसम्म, विशाल छालले कहिल्यै विश्राम लिएन, र आफ्नो क्षेत्र निरन्तर विस्तार गर्दै यो अथक रूपमा अगाडि बढ्यो। छाल गर्जियो र हिमालतिर बारम्बार उकालो लाग्यो, तर हिमाल कहिल्यै एक इन्च पनि सरेन। हिमालले सागरलाई पहरा दियो, र यस प्रकारले, सागरमा भएका प्राणीहरू बढ्दै गए र फस्टाउँदै गए। छाल र हिमालले एक-अर्कालाई थप सुदृढ गरेका थिए र तिनीहरू एक-अर्कामा निर्भर रहेका थिए; उनीहरू एक-अर्कालाई सुदृढ गर्थे, एक-अर्कालाई क्रिया-प्रतिक्रिया दिन्थे, अनि सह-अस्तित्वमा रहेका थिए।

यसरी हाम्रो कथा टुंगिन्छ। सबभन्दा पहिले, मलाई भन, यो कथा केको बारेमा थियो? त्यसमा एउटा विशाल हिमाल, एउटा सानो खोला, एउटा भीषण बतास, र एउटा निकै ठूलो छाल थिए। पहिलो अनुच्छेदमा, सानो खोला र विशाल हिमालको बारेमा के भयो? किन मैले खोला र हिमालको बारेमा कुरा गर्ने निर्णय गरेँ त? (हिमालको हेरचाहमा खोलाले कहिल्यै पनि बाटो बिराएन। तिनीहरू एक-अर्कामा निर्भर रहे।) त्यो हिमालले त्यो सानो खोलालाई संरक्षण गर्‍यो कि अवरोध गर्‍यो, तिमीहरू के भन्छौ? (यसले त्यसलाई संरक्षण गर्‍यो।) तर के यसले त्यसलाई अवरोध गरेन त? यसले र खोलाले एक-अर्काको रखवाली गरे; हिमालले खोलालाई संरक्षण पनि गर्‍यो र अवरोध पनि गर्‍यो। हिमालले खोलालाई नदीमा जोडिन जाँदा संरक्षण गर्‍यो, तर जताततै बग्दै बाढी ल्याएर मानिसहरूमा विपत्ति ल्याउनबाट यसलाई रोक्यो। के त्यो अनुच्छेद यही कुराको बारेमा थियो हैन र? खोलाको संरक्षण गरेर र यसलाई अवरुद्ध पारेर हिमालले मानिसहरूका घरहरूको सुरक्षा गर्‍यो। त्यसपछि त्यो सानो खोला हिमालको फेदीमा रहेको नदीमा मिसियो र बग्दै समुद्रमा गयो। के खोलाको अस्तित्व चलाउने नियम यही होइन र? खोलालाई नदीमा मिसिन र बग्दै समुद्रमा जान केले सक्षम बनायो? के त्यो हिमाल थिएन र? त्यो खोला हिमालको सुरक्षा र यसको अवरोधमा निर्भर थियो। त्यसैले, के यो मुख्य बुँदा होइन र? के तँ यसमा पानीको लागि हिमालको महत्त्व देख्दैनस् र? के हिमाल ठूलो र सानो बनाउनुमा परमेश्‍वरसँग उहाँको कुनै उद्देश्य थियो? (थियो।) एउटा सानो खोला र एउटा विशाल हिमालबाहेक अरू कुरा नभएको यो छोटो अनुच्छेदले हामीलाई यी दुई थोक परमेश्‍वरले सृष्टि गर्नुको मूल्य र महत्त्व देख्न सक्षम तुल्याउँछ; यसले हामीलाई तिनीहरूमाथिको उहाँको शासनपछाडिको उहाँको बुद्धि र उद्देश्य पनि देखाउँछ। के त्यो यस्तै होइन र?

(Source:Fotolia)

दोस्रो अनुच्छेदको कथा केको बारेमा थियो? (एक भीषण बतास र एक विशाल हिमाल।) के बतास राम्रो कुरा हो? (हो।) यस्तै हुन्छ भन्‍ने जरुरी छैन—कहिलेकाहीँ बतास एकदमै शक्तिशाली हुन्छ र यसले विपत्ति ल्याउँछ। यदि तँलाई भीषण बतासमा उभिन बाध्य पारियो भने तैँले कस्तो अनुभूति गर्थिस्? यो कुरा यसको शक्तिमा निर्भर हुन्छ। यदि यो तह तीन वा तह चारको बतास थियो भने, यो सहन सकिने खालको हुन्थ्यो। बढीमा, व्यक्तिलाई आफ्नो आँखा खुला राख्न मात्र समस्या हुन्थ्यो होला। तर यदि त्यो बतास अझै तीव्र बनेर तुफान बन्यो भने, के तैँले यसलाई सहन सक्थिस् र? तैँले सहन सक्दैनथिस्। त्यसकारण, मानिसहरूले बतासलाई सधैँ राम्रो हुन्छ वा यो सधैँ नराम्रो हुन्छ भनेर भन्नु गलत हुन्छ किनभने त्यो कुरा त यसको शक्तिमा भर पर्छ। अब, यसमा हिमालको काम के हो त? के यसको काम बतासलाई छान्‍नु होइन र? हिमालले भीषण बतासलाई घटाएर केमा परिणत गर्छ? (मन्द हावा।) अब, मानिस बसोबास गर्ने वातावरणमा, धेरैजसो मानिसहरूले आँधीको अनुभव गर्छन् कि मन्द हावाको? (मन्द हावा।) के यो कुरा हिमालहरू सृष्टि गर्नुपछाडिका परमेश्‍वरका उद्देश्यहरूमध्ये एक, उहाँका अभिप्रायहरूमध्ये एक थिएन र? यदि मानिसहरू बतासमा अनियन्त्रित रूपमा, बिना कुनै अवरोध र फिल्टर नभइकनै बालुवा उडिरहने वातावरणमा बस्थे भने, कस्तो हुन्थ्यो होला? के त्यो उड्ने बालुवा र ढुङ्गाले घेरिएको भूमि बसोबास गर्न नसकिने हुन्थ्यो होला? ती ढुङ्गाहरूले मानिसहरूलाई हिर्काउँथ्यो होला, र त्यो बालुवाले तिनीहरूलाई अन्धो पार्थ्यो होला। बतासले मानिसहरूलाई भुइँबाट माथि उडाउँथ्यो होला, वा तिनीहरूलाई हावामाथि उडाएर लैजान्थ्यो होला। घरहरू भत्कन्थे होला, र हरप्रकारका विपत्तिहरू आइपर्थे होला। तैपनि, के त्यो भीषण बतासको अस्तित्वको कुनै महत्त्व हुन्छ? मैले यो नराम्रो हो भनेर भनेँ, त्यसकारण कसैलाई यसको कुनै महत्त्व हुँदैन भन्‍ने लाग्न सक्छ, तर के त्यो त्यस्तै हो र? के त्यो मन्द हावामा परिणत भएपछि त्यसको महत्त्व हुँदैन र? मौसम बाफिलो वा सासै फेर्न नसकिने भयो भने मानिसहरूलाई सबैभन्दा बढी के चाहिन्छ? तिनीहरूमा हल्कासित बग्ने, तिनीहरूलाई ताजा महसुस गराउने र तिनीहरूको टाउको हल्का गराउने, तिनीहरूको सोच तिखार्ने, तिनीहरूको मन-मस्तिष्कको स्थिति सुधार गर्ने एवं तन्दुरुस्त बनाउने मन्द हावा चाहिन्छ। अब, उदाहरणको लागि, तिमीहरू सबै एउटै कोठामा धेरै जना उकुसमुकुस भएर बसेका छौ—तिमीहरूलाई सबैभन्दा बढी के चाहिन्छ? (मन्द हावा।) बाक्लो धुवाँ वा फोहोरी हावा भएको ठाउँमा जाँदा व्यक्तिको सोच्ने प्रक्रिया ढिलो हुन्छ, रक्तसञ्चार कम हुन्छ र व्यक्तिको दिमागी स्पष्टता हराउँछ। तर अलिकति हलचल र बहावले हावालाई ताजा बनाउँछ, र मानिसहरूले ताजा हावामा फरक अनुभूति गर्छन्। सानो खोलाले विपत्ति ल्याउने भए पनि, भीषण बतासले विपत्ति ल्याउने भए पनि, जबसम्म त्यहाँ हिमाल हुन्छ, तबसम्म यसले त्यो खतरालाई मानिसका लागि फाइदाजनक शक्तिमा बदलिदिन्छ। के त्यो यस्तै होइन र?

तेस्रो अनुच्छेदको कथा केको बारेमा थियो? (विशाल पहाड र निकै ठूलो छाल।) विशाल पहाड र निकै ठूलो छाल। यो अनुच्छेदको परिवेश हिमालको फेदको, समुद्री किनारमा रहेको छ। हामी हिमाल, समुद्री फोहोरा, र विशाल छाल देख्छौं। यस उदाहरणमा छालको लागि हिमाल के हो त? (संरक्षक र अवरोध।) यो संरक्षक र अवरोध दुवै हो। संरक्षकको रूपमा यसले समुद्रलाई लोप हुनबाट रोक्छ ताकि यसमा बस्ने प्राणीहरू बाँच्न र वृद्धि हुन सकून्। अवरोधको रूपमा हिमालले समुद्रको पानीलाई अतिप्रवाह भई विपत्ति ल्याउनबाट रोक्छ, मानिसहरूका घरहरूलाई हानि र विनाश गर्नबाट रोक्छ। यसकारण, हामी हिमाललाई संरक्षक र अवरोध दुवै भनेर भन्न सक्छौं।

(Source:Depositphotos)

विशाल हिमाल र सानो खोला, विशाल हिमाल र भीषण बतास, र विशाल हिमाल र निकै ठूलो छालबीचको अन्तरसम्बन्धको महत्त्व यही हो; तिनीहरूको परस्पर मजबुतीकरण र निष्प्रभावीकरण अनि तिनीहरूको सह-अस्तित्वको महत्त्व यही हो। परमेश्‍वरले सृष्टि गर्नुभएका यी कुराहरूलाई तिनीहरूको अस्तित्वमा नियम र व्यवस्थाले सञ्‍चालन गर्छ। त्यसो भए, यो कथामा तिमीहरूले परमेश्‍वरका के-कस्ता कार्यहरू देख्छौ त? के परमेश्‍वरले ‍यावत् थोकको सृष्टि गर्नुभएदेखि तिनीहरूलाई बेवास्ता गर्नुभएको छ? के उहाँले तिनीहरूलाई त्यसपछि बेवास्ता गर्नको लागि नियमहरू बनाउनुभयो र यी सबै कुराहरूले कार्य गर्ने तरिकाहरूको प्रारूप तयार गर्नुभयो? के यही भयो त? (होइन।) त्यसो भए, के भयो त? परमेश्‍वर अझै नियन्त्रणकारी भूमिकामा हुनुहुन्छ। उहाँले पानी, हावा, र छालहरूलाई नियन्त्रण गर्नुहुन्छ। उहाँले तिनीहरूलाई अनियन्त्रित बन्न दिनुहुन्न, न त उहाँले तिनीहरूलाई मानिसहरू बसोबास गर्ने घरहरूलाई हानि वा विनाश गर्न नै दिनुहुन्छ। यस कारणले गर्दा, मानिसहरू भूमिमा निरन्तर बाँचिरहन, वृद्धि हुन, र उन्नति गर्न सक्छन्। यसको मतलब, उहाँले यावत् थोकको सृष्टि गर्नुहुँदा उहाँले तिनीहरूको अस्तित्वका नियमहरूको बारेमा पनि पहिले नै योजना गरिसक्नुभएको थियो। जब परमेश्‍वरले हरेक थोकको सृष्टि गर्नुभयो, उहाँले यसले मानवजातिलाई फाइदा गर्नेछ भन्‍ने कुरा सुनिश्चित गर्नुभयो, र उहाँले यसमाथि नियन्त्रण कायम गर्नुभयो ताकि यसले मानवजातिलाई हानि गर्न वा उसमा विपत्ति ल्याउन नसकोस्। परमेश्‍वरको व्यवस्थापन नभएको भए, के पानी कुनै नियन्त्रणविना नै बग्नेथिएन र? के हावा कुनै नियन्त्रणविना नै बहने थिएन र? के पानी र हावाले नियम पालना गर्छन्? यदि परमेश्‍वरले तिनीहरूको व्यवस्थापन नगर्नुभएको भए, कुनै पनि नियमहरूले तिनीहरूलाई शासन गर्नेथिएन, अनि हावा कुर्लन्थ्यो र पानी अनियन्त्रित हुन्थ्यो र बाढी ल्याउँथ्यो। यदि छालहरू हिमालभन्दा अग्ला थिए भने, के समुद्र अस्तित्वमा रहन सक्थ्यो र? सक्दैनथियो। यदि हिमाल छालहरू जति अग्लो थिएन भने, समुद्र अस्तित्वमा रहनेथिएन, र हिमालले आफ्नो मूल्य र महत्त्व गुमाउनेथियो।

के तिमीहरू यी दुई कथामा परमेश्‍वरको बुद्धि देख्छौ? परमेश्‍वरले अस्तित्वमा रहने हरेक थोकको सृष्टि गर्नुभयो, र उहाँ अस्तित्वमा रहने हरेक थोकमाथि सार्वभौम हुनुहुन्छ; उहाँले यी सबै थोकको व्यवस्थापन गर्नुहुन्छ र उहाँले यी सबै थोकको भरणपोषण गर्नुहुन्छ, अनि यी सबै कुराहरूभित्र, उहाँले अस्तित्वमा रहने हरेक थोकको हरेक शब्द र कार्यलाई हेर्नुहुन्छ र सूक्ष्म निरीक्षण गर्नुहुन्छ। त्यस्तै, परमेश्‍वरले मानव जीवनको हरेक कुना पनि हेर्नुहुन्छ र सूक्ष्म निरीक्षण गर्नुहुन्छ। यसरी, परमेश्‍वरले उहाँको सृष्टिभित्र अस्तित्वमा रहने हरेक थोकको हरेक कुरा नजिकबाटै जान्नुहुन्छ, हरेक थोकको कार्यदेखि, यसको प्रकृति, अनि यसका जीवन-अस्तित्वका नियमहरू, यसको जीवनको महत्त्व र यसको अस्तित्वको मूल्यसम्म, यी सबै कुरा सम्पूर्ण रूपमा परमेश्‍वरलाई थाहा हुन्छ। परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभयो—के उहाँले ती कुराहरूलाई शासित गर्ने नियमहरूको अध्ययन गर्नुपर्छ जस्तो तिमीहरूलाई लाग्छ? के परमेश्‍वरले ती कुराहरूको बारेमा सिक्न र तिनलाई बुझ्‍नका लागि मानव ज्ञान वा विज्ञान अध्ययन गर्नुपर्छ? (पर्दैन।) के परमेश्‍वरले बुझ्नुभएझैँ सबै कुरा बुझ्‍नका लागि ज्ञान र विद्वता भएको कुनै व्यक्ति मानवजातिमाझ छ? कोही पनि छैन, होइन र? जुन नियमहरूद्वारा यावत् थोक जिउँछन् र वृद्धि हुन्छन्, के ती नियमहरूलाई साँचो रूपले बुझ्ने कुनै खगोलशास्त्री र जीवविज्ञानवेत्ताहरू छन्? के तिनीहरूले हरेक थोकको अस्तित्वको महत्त्वलाई साँचो रूपले बुझ्न सक्छन्? (अहँ, तिनीहरूले सक्दैनन्।) किनभने परमेश्‍वरले नै यावत् थोक सृष्टि गर्नुभयो, र मानवजातिले जति नै धेरै वा जति नै गहन रूपमा यो ज्ञानलाई अध्ययन गरे पनि, वा जति नै लामो समय तिनीहरू यसलाई सिक्नको लागि प्रयत्न गरे पनि, तिनीहरूले परमेश्‍वरले गर्नुभएको यावत् थोकको सृष्टिको रहस्य वा उद्देश्यलाई कहिल्यै पनि बुझ्न सक्‍नेछैनन्। के अवस्था यस्तै होइन र? अब, यहाँसम्मको हाम्रो छलफलबाट, के तिमीहरूले “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने पदावलीको साँचो अर्थको आंशिक बुझाइ हासिल गरेका छौं भन्‍ने अनुभूति गर्छौ? (गर्छौं।) मैले यो विषयको बारेमा—सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने बारेमा—छलफल गर्दा, धेरै मानिसहरूले अर्को वाक्यांश “परमेश्‍वर सत्यता हुनुहुन्छ, र परमेश्‍वरले हामीलाई भरणपोषण गर्न उहाँको वचन प्रयोग गर्नुहुन्छ” भन्‍ने बारेमा सोच्नेथिए र उक्त विषयको त्यो तहको अर्थभन्दा पर केही पनि सोच्दैनथिए भन्‍ने मलाई थाहा थियो। केहीले त परमेश्‍वरले मानव जीवन, दैनिक खाद्य र पेय पदार्थ र हरेक दैनिक आवश्यकताको प्रबन्ध गर्नुभएको कुरालाई उहाँले भरणपोषण गर्नुभएको कुराको रूपमा लिन सकिँदैन भन्‍ने समेत ठान्छन्। के यस्तो ठान्ने कोही छैनन् त? तैपनि, के उहाँको सृष्टिप्रतिको परमेश्‍वरको अभिप्राय—मानवजातिलाई सामान्य रूपमा अस्तित्वमा रहन र जिउन सक्षम तुल्याउने कार्य—स्पष्ट छैन र? परमेश्‍वरले मानिसहरू जिउने वातावरणलाई कायम राख्नुहुन्छ र उहाँले मानवजातिलाई तिनीहरूको जीवन-अस्तित्वको लागि चाहिने सबै कुरा प्रदान गर्नुहुन्छ। यस अलावा, उहाँले यावत् थोकमाथि प्रभुत्व कायम राख्नुहुन्छ र त्यसको व्यवस्थापन गर्नुहुन्छ। यी सबैले मानवजातिलाई सामान्य तवरमा बाँच्न, उन्नति गर्न र वृद्धि हुन सक्षम तुल्याउँछन्; यसप्रकार परमेश्‍वरले सारा सृष्टि र मानवजातिलाई भरणपोषण गर्नुहुन्छ। के मानिसहरूले यी कुराहरूलाई पहिचान गर्नुपर्छ र बुझ्नुपर्छ भन्‍ने कुरा साँचो होइन र? सायद केहीले भन्न सक्लान्, “यो विषय साँचो परमेश्‍वर स्‍वयम्‌ बारेको हाम्रो ज्ञानभन्दा धेरै टाढा छ, र हामी यो कुरा जान्न चाहन्‍नौँ किनभने हामी रोटीले मात्र जिउँदैनौँ, बरु हामी त परमेश्‍वरको वचनले जिउँछौं।” के यो बुझाइ सही छ? (छैन।) यो किन गलत छ त? यदि तिमीहरूसँग परमेश्‍वरले भन्नुभएका कुराहरूको मात्र ज्ञान छ भने के तिमीहरूसँग परमेश्‍वरको बारेमा पूर्ण बुझाइ हुनसक्छ? यदि तिमीहरूले परमेश्‍वरको कामलाई मात्र स्वीकार गर्छौ र परमेश्‍वरको न्याय र सजायलाई मात्र स्वीकार गर्छौ भने, के तिमीहरूसँग परमेश्‍वरको बारेमा पूर्ण बुझाइ हुन्छ? यदि तिमीहरूले परमेश्‍वरको स्वभावको सानो भागको बारेमा मात्र, परमेश्‍वरको अख्तियारको सानो भागको बारेमा मात्र जान्दछौ भने, के तिमीहरू त्यसलाई परमेश्‍वरको बुझाइ हासिल गर्नको लागि पर्याप्त छ भन्‍ने मान्छौ? (मान्दैनौं।) परमेश्‍वरका कार्यहरू उहाँले यावत् थोकको सृष्टि गर्नुभएदेखि सुरु भयो, र ती कार्यहरू आजका दिनसम्मै जारी छन्—परमेश्‍वरका कार्यहरू हरपल, हरक्षण स्पष्ट देखिन्छन्। यदि कुनै व्यक्तिले परमेश्‍वरले मानिसहरूमा उहाँको काम गर्न र तिनीहरूलाई मुक्ति दिनका लागि मानिसहरूको एक समूहलाई चुन्नुभएको कारणले मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र अन्य कुनै पनि कुराहरू न त उहाँको अख्तियार, उहाँको हैसियत, न त उहाँका कार्यहरू कुनैको पनि यससँग कुनै सम्बन्ध छ भन्‍ने विश्‍वास गर्छ भने, के उक्त व्यक्तिमा परमेश्‍वर सम्‍बन्धी साँचो ज्ञान छ भनेर मान्न सकिन्छ? यस्तो तथाकथित “परमेश्‍वर सम्‍बन्धी ज्ञान” हुने मानिसहरूमा केवल एकपक्षीय बुझाइ हुन्छ, जसअनुरूप ती मानिसहरूले परमेश्‍वरका कार्यहरूलाई मानिसहरूको एक समूहमा सीमित गरिदिन्छन्। के यो परमेश्‍वर सम्‍बन्धी साँचो ज्ञान हो त? के त्यस प्रकारको ज्ञान भएका मानिसहरूले परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभएको कुरा र ती यावत् थोकमाथिको उहाँको सार्वभौमिकतालाई इन्कार गरिरहेका हुँदैनन् र? केही मानिसहरू यस बुँदामा संलग्न हुन चाहँदैनन्, बरु तिनीहरू मनमै सोचिरहन्छन्: “मैले यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकतालाई देखेको छैन। यो त एकदमै टाढाको विचार हो, र म यसलाई बुझ्न चाहन्न। परमेश्‍वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ, र यसको मसँग कुनै सम्बन्ध छैन। म परमेश्‍वरको अगुवाइ र उहाँको वचन मात्र स्वीकार गर्छु, ताकि मैले परमेश्‍वरद्वारा मुक्ति पाउन र म उहाँद्वारा सिद्ध बन्न सकूँ। मलाई अरू कुनै कुराको चासो छैन। परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुहुँदा बनाउनुभएका नियमहरू र उहाँले यावत् थोक र मानवजातिलाई भरणपोषण गर्नको लागि गर्नुहुने कुराहरूसँग मेरो कुनै सम्बन्ध छैन।” यो कस्तो प्रकारको कुरा हो? के यो विद्रोहको कार्य होइन र? के तिमीहरूमध्येमा कोही यस प्रकारको बुझाइ भएको व्यक्ति छ? मलाई थाहा छ, तिमीहरूले त्यसो नभनीकन पनि, यहाँ तिमीहरूमध्ये धेरै जना त्यस्तै छौ। धर्मशास्त्र पालना गर्ने यस्ता मानिसहरूले हरेक कुरालाई तिनीहरूको “आत्मिक” दृष्टिकोणबाट हेर्छन्। तिनीहरूले परमेश्‍वरलाई बाइबलमा मात्र सीमित गर्न चाहन्छन्, परमेश्‍वरलाई उहाँले बोल्नुभएका वचनहरूद्वारा, शाब्दिक रूपमा लिखित वचनहरूबाट आउने अर्थमा मात्र सीमित गर्न चाहन्छन्। तिनीहरूले परमेश्‍वरलाई अझ बढी चिन्न चाहँदैनन् र तिनीहरू परमेश्‍वरले अन्य कुराहरू गरेर उहाँको ध्यान बाँड्नुभएको चाहँदैनन्। यस प्रकारको सोचाइ मूर्खतापूर्ण छ, र यो एकदमै धार्मिक प्रकारको पनि छ। के यस प्रकारको विचारधारा हुने मानिसहरूले परमेश्‍वरलाई चिन्न सक्छन्? तिनीहरूले परमेश्‍वरलाई चिन्नु एकदमै मुस्किल हुन्छ। आज मैले तिमीहरूलाई फरक-फरक पक्षलाई सम्‍बोधन गर्ने दुई वटा कथा भनेको छु। तिमीहरूले भर्खरै तिनीहरूको बारेमा सुनेको कारण, तिमीहरूलाई ती गहन वा अलि अमूर्त लाग्‍न सक्छ, बोध गर्न र बुझ्न अलि गाह्रो लाग्‍न सक्छ। तिनलाई परमेश्‍वरका कार्यहरू र परमेश्‍वर स्‍वयम्‌सँग जोडेर हेर्न गाह्रो हुन सक्छ। तथापि, परमेश्‍वरका सबै कार्य र सृष्टिभित्र र मानवजातिमाझ उहाँले गर्नुभएका सबै कुरालाई हरेक व्यक्तिले, परमेश्‍वरलाई चिन्न खोज्ने हरेकले स्पष्ट र दुरुस्त रूपमा जान्नुपर्छ। यो ज्ञानले तिमीहरूलाई परमेश्‍वरको साँचो अस्तित्वमाथिको तिमीहरूको विश्‍वासमा निश्चितता प्रदान गर्नेछ। यसले तिमीहरूलाई परमेश्‍वरको बुद्धि, उहाँको शक्ति र उहाँले यावत् थोकको लागि भरणपोषण गर्ने शैलीको बारेमा सही ज्ञान पनि प्रदान गर्नेछ। यसले तँलाई परमेश्‍वरको साँचो अस्तित्वको महसुस गर्न र उहाँको अस्तित्व काल्पनिक होइन, मिथ्या होइन, अस्पष्टता होइन, सिद्धान्त होइन, र निश्चय पनि कुनै प्रकारको आत्मिक सान्त्वना होइन, बरु एउटा साँचो अस्तित्व हो भनी देखाउनेछ। यसको साथै, यसले मानिसहरूलाई परमेश्‍वरले सधैँ नै सारा सृष्टि र मानवजातिलाई भरणपोषण गर्नुभएको छ भन्‍ने कुरा जनाउनेछ; परमेश्‍वरले उहाँको आफ्नै शैली र उहाँको आफ्नै तालअनुसार यसो गर्नुहुन्छ। त्यसकारण, परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभएर तिनीहरूलाई नियमहरू प्रदान गर्नुभएकोले तिनीहरू हरेकले उहाँको पूर्वनिर्धारित प्रबन्ध अन्तर्गत आफ्ना तोकिएका कार्यहरू गर्न, आफ्ना उत्तरदायित्वहरू वहन गर्न, र आफ्ना भूमिकाहरू निर्वाह गर्न सक्छन्; उहाँको पूर्वनिर्धारित प्रबन्ध अन्तर्गत मानवजातिको सेवामा, र मानवजातिले बसोबास गर्ने स्थान र वातावरणमा हरेक थोकको आफ्नै प्रयोजन हुन्छ। यदि परमेश्‍वरले त्यसो नगर्नुभएको भए र मानवजातिसँग बसोबास गर्नको लागि त्यस्तो वातावरण नभएको भए, मानवजातिले परमेश्‍वरमा विश्‍वास गर्नु वा उहाँलाई पछ्याउनु असम्भव हुनेथियो; यो सबै नै खोक्रो कुराभन्दा बढी केही पनि हुनेथिएन। के यो यस्तै होइन र?

हामी फेरि पनि विशाल हिमाल र सानो खोलाको कथालाई हेरौं। हिमालको काम के हो? जीवित कुराहरू हिमालमा फल्छन्-फुल्छन्, त्यसकारण यसको अस्तित्वको अन्तर्निहित महत्त्व छ, र यसले त्यो सानो खोलालाई अवरोध गरेर त्यसलाई जता मन लाग्यो त्यता बगेर मानिसहरूलाई विपत्ति ल्याउनबाट रोक्छ। अवस्था त्यही होइन र? हिमाल यसको आफ्नै सारतत्वको शैलीमा अस्तित्वमा रहन्छ, र यसले आफूमा रहेका असंख्य सजीव वस्तुहरूलाई—रूख र घाँसहरू र अन्य सबै वनस्पति र जनावरहरूलाई—हुर्कन-बढ्न दिन्छ। यसले सानो खोला बहने बाटोको दिशा पनि तय गर्छ—हिमालले खोला-नालाका पानीहरूलाई जम्मा पार्छ र तिनीहरूलाई प्राकृतिक रूपले हिमालको फेदी वरपर पठाउँछ जहाँ तिनीहरू नदीमा मिसिन्छन् र अन्त्यमा तिनीहरू सागरमा पुग्छन्। यी नियमहरू प्राकृतिक रूपले आफै बनेका थिएनन्, तिनीहरूलाई विशेष गरी परमेश्‍वरले सृष्टिको समयमा स्थापित गर्नुभएको थियो। विशाल हिमाल र भीषण बतासको कुरा गर्दा, हिमाललाई पनि बतासको आवश्यकता पर्छ। हिमाललाई आफूमा बसोबास गर्ने सजीव कुराहरूलाई सुम्सुम्याउन बतासको आवश्यकता पर्छ भने यसले उही बेला भीषण बतासको शक्तिलाई चाहिँ नियन्त्रित गरेर अनियन्त्रित रूपले बहन दिँदैन। यो नियमले केही निश्चित रूपमा विशाल हिमालको कर्तव्यलाई मूर्तरूप प्रदान गर्छ; त्यसो भए, के यो विशाल हिमालको कर्तव्यसम्बन्धी नियमको स्वरूप आफै निर्मित भयो त? (भएन।) यो त परमेश्‍वरले निर्माण गर्नुभएको हो। विशाल हिमालको आफ्नो कर्तव्य छ र भीषण बतासको पनि आफ्नै कर्तव्य छ। अब हामी विशाल हिमाल र ठूलो छालतर्फ फर्कौँ। हिमालको अस्तित्वविना, के पानीले आफै बग्ने दिशा भेट्टाउन सक्थ्यो त? (सक्दैनथियो।) पानी बाढी बन्न सक्नेथियो। हिमालको रूपमा हिमालको आफ्नै अस्तित्वरूपी महत्त्व छ, र समुद्रको पनि समुद्रको रूपमा आफ्नै अस्तित्वरूपी महत्त्व छ; तथापि, तिनीहरू सामान्य रूपले सँगसँगै अस्तित्वमा रहन सक्ने र तिनीहरूले एक-अर्कालाई हस्तक्षेप नगर्ने परिस्थितिहरू अन्तर्गत तिनीहरूले एक-अर्कालाई सीमित पनि गर्छन्—विशाल हिमालले समुद्रलाई सीमित गर्छ ताकि समुद्र बाढी नबनोस् र यसरी यसले मानिसहरूका घरहरूको संरक्षण गर्छ र समुद्रलाई सीमित गरेर यसले आफूभित्र बस्ने सजीव वस्तुहरूलाई पोषण दिन्छ भन्‍ने कुरालाई पनि सुनिश्चित गर्छ। के यो भू-दृश्यले आफैले आफ्नो स्वरूप धारण गर्‍यो त? (गरेन।) यो पनि परमेश्‍वरले नै सृष्टि गर्नुभएको थियो। हामीले यो प्रतिरूपबाट के देख्छौं भने जब परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभयो, उहाँले हिमाल कहाँ उभिनेछ, खोला कतातिर बग्नेछ, कुन दिशाबाट भीषण बतास बहन सुरु गर्नेछ र यो कता जानेछ, र विशाल छालहरू कति उचाइसम्म पुग्नेछन् भन्‍ने कुराहरू पूर्वनिर्धारित गर्नुभयो। यी सबै कुराहरूमा परमेश्‍वरका अभिप्राय र उद्देश्य समावेश छन्—तिनीहरू परमेश्‍वरका कार्यहरू हुन्। अब, के तिमीहरूले सबै कुरामा परमेश्‍वरका कार्यहरू देख्न सक्छौ? (सक्छौं।)

यी कुराहरू छलफल गर्नुको हाम्रो उद्देश्य के हो त? के यो मानिसहरूलाई परमेश्‍वरले जुन नियमहरूद्वारा यावत् थोकको सृष्टि गर्नुभयो ती नियमहरू अध्ययन गर्न लगाउनको लागि हो? के यो खगोलशास्त्र र भूगोलमा रुचि जगाउनको लागि हो? (होइन।) त्यसो भए, के हो त? यो मानिसहरूलाई परमेश्‍वरका कार्यहरू बुझ्‍न लगाउनको लागि हो। परमेश्‍वरका कार्यहरूमा, मानिसहरूले सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरा पुष्टि र प्रमाणित गर्न सक्छन्। यदि तैँले यो कुरा बुझ्न सक्छस् भने तैँले तेरो हृदयमा परमेश्‍वरको स्थानलाई साँचो रूपमा सुनिश्चित गर्न सक्‍नेछस्, र तैँले परमेश्‍वर, परमेश्‍वर स्वयम् अद्वितीय, आकाश र पृथ्वी अनि यावत् थोकको सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने पुष्टि गर्न सक्‍नेछस्। त्यसो भए, के यावत् थोकका नियमहरू र परमेश्‍वरका कार्यहरूको बारेमा जान्नु परमेश्‍वर सम्‍बन्धी तेरो बुझाइको लागि उपयोगी हुन्छ त? (हुन्छ।) यो कति उपयोगी हुन्छ त? सबैभन्दा पहिले, जब तैँले परमेश्‍वरका कार्यहरूको बारेमा बुझिसकेको हुन्छस्, के तैँले अझै पनि खगोलशास्त्र र भूगोलमा रुचि राख्न सक्छस्? के तँसँग अझै पनि सन्देहवादी हृदय हुन सक्छ र तैँले परमेश्‍वर यावत् थोकका सृष्टिकर्ता हुनहुन्छ भन्‍ने कुरामा शङ्का गर्न सक्छस्? के तँसँग अझै पनि शोधकर्ताको हृदय हुन सक्छ र तैँले परमेश्‍वर यावत् थोकका सृष्टिकर्ता हुनहुन्छ भन्‍ने कुरामा शङ्का गर्न सक्छस्? (सक्दिनँ।) जब तैँले परमेश्‍वर यावत् थोकका सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरालाई पुष्टि गरिसकेको हुन्छस् र परमेश्‍वरको सृष्टिका केही नियमहरूलाई बुझिसकेको हुन्छस्, के तैँले तेरो हृदयमा परमेश्‍वरले यावत् थोकको भरणपोषण गर्नुहुन्छ भन्‍ने कुरामा साँच्‍चै विश्‍वास गर्नेछस्? (गर्नेछु।) के यहाँ “भरणपोषण” को खास महत्त्व रहेको छ, वा यसको प्रयोगले कुनै खास परिस्थितिलाई जनाउँछ? “परमेश्‍वरले यावत् थोकको भरणपोषण गर्नुहुन्छ” भन्‍ने पदावली एकदमै फराकिलो महत्त्व र दायरा भएको पदावली हो। परमेश्‍वरले मानिसहरूलाई केवल तिनीहरूको दैनिक खाद्य र पेय पदार्थ मात्रै उपलब्ध गराउनुहुन्न; उहाँले त मानवजातिलाई तिनीहरूले देख्न सक्ने हरेक कुरा लगायत तिनीहरूलाई आवश्यक पर्ने हरेक कुरा उपलब्ध गराउनुहुन्छ, अनि उहाँले त तिनीहरूलाई तिनीहरूले देख्न नसक्ने कुराहरूसमेत उपलब्ध गराउनुहुन्छ। परमेश्‍वरले मानवजातिको लागि अत्यावश्यक यो सजीव वातावरणलाई कायम राख्नुहुन्छ, व्यवस्थापन गर्नुहुन्छ र त्यसमाथि शासन गर्नुहुन्छ। भन्नुको अर्थ, हरेक ऋतुमा मानवजातिलाई जे-जस्तो वातावरण चाहिन्छ, त्यस्तो वातावरण परमेश्‍वरले तयार गर्नुभएको छ। परमेश्‍वरले हावा र तापक्रमको प्रकार पनि व्यवस्थापन गर्नुहुन्छ ताकि ती मानव जीवन-अस्तित्वको लागि उपयुक्त हुन सकून्। यी कुराहरूलाई शासन गर्ने नियमहरू आफै वा आकस्मिक तवरमा उत्पन्न हुँदैनन्; तिनीहरू त परमेश्‍वरको सार्वभौमिकता र उहाँका कार्यहरूका परिणाम हुन्। परमेश्‍वर स्‍वयम्‌ नै यी सबै नियमहरूको स्रोत र यावत् थोकको लागि जीवनको स्रोत हुनुहुन्छ। तैँले यसमा विश्‍वास गरे पनि नगरे पनि, तैँले यसलाई देख्न सके पनि नसके पनि, वा तैँले यसलाई बुझ्न सके पनि नसके पनि, यो कुरा एक स्थापित र अकाट्य तथ्यको रूपमा रहेको छ।

मलाई थाहा छ, धेरैजसो मानिसहरूलाई बाइबलमा समावेश भएका परमेश्‍वरका वचनहरू र काममा मात्र विश्‍वास छ। थोरै मानिसहरूका लागि परमेश्‍वरले उहाँका कार्यहरू प्रकट गर्नुभएको छ र मानिसहरूलाई उहाँको अस्तित्वको महत्त्व देखाउनुभएको छ। उहाँले तिनीहरूलाई उहाँको हैसियतको बारेमा केही बुझाइ प्राप्त गर्ने तुल्याउनुभएको छ, र उहाँले उहाँको अस्तित्वको तथ्यलाई पुष्टि गर्नुभएको छ। तथापि, धेरैभन्दा धेरै मानिसहरूका लागि, परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभएको र उहाँले यावत् थोकको व्यवस्थापन र भरणपोषण गर्नुहुन्छ भन्‍ने तथ्य अस्पष्ट र अनिश्‍चित देखिन्छ; त्यस्ता मानिसहरूले शङ्काको मनोवृत्तिसमेत कायम राख्छन्। यो मनोवृत्तिले तिनीहरूलाई प्राकृतिक संसारका नियम-व्यवस्थाहरू स्वतः सृजित भए, प्रकृतिका परिवर्तन, अवस्थांन्तर, घटना र यसलाई शासित गर्ने नियम-व्यवस्थाहरू प्रकृति आफैबाट उत्पन्न भए भन्‍ने विश्‍वास गर्ने तुल्याउँछ। परमेश्‍वरले कसरी यावत् थोकको सृष्टि गर्नुभयो र कसरी तिनीहरूमाथि शासन गर्नुहुन्छ भन्‍ने कुरालाई मानिसहरूले आफ्नो हृदयमा परिकल्पना गर्न सक्दैनन्; तिनीहरूले परमेश्‍वरले कसरी यावत् थोकको व्यवस्थापन र भरणपोषण गर्नुहुन्छ भन्‍ने बुझ्न सक्दैनन्। यस तार्किक आधारको दायरा अन्तर्गत, मानिसहरूले परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभयो, तिनीहरूमाथि शासन गर्नुहुन्छ र तिनीहरूलाई भरणपोषण गर्नुहुन्छ भनेर विश्‍वास गर्न सक्दैनन्; यी कुराहरू विश्‍वास गर्नेहरू पनि तिनीहरूको विश्‍वासमा व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युगमा सीमित छन्: तिनीहरू विश्‍वास गर्छन् कि परमेश्‍वरका कार्यहरू र उहाँका भरणपोषणहरू विशुद्ध रूपमा उहाँका चुनिएका मानिसहरूका लागि मात्र हुन्। यो मलाई हेर्न पनि अत्यन्तै घृणा लाग्ने कुरा हो, र मलाई एकदमै धेरै पीडा दिने कुरा हो, किनभने परमेश्‍वरले ल्याउनुहुने सबै थोकमा मानव रमाउने भए पनि तिनीहरूका लागि उहाँले जे गर्नुहुन्छ र तिनीहरूलाई जे दिनुहुन्छ त्यो कुरालाई तिनीहरू इन्कार गर्छन्। मानिसहरूले के कुरा मात्र विश्‍वास गर्छन् भने आकाश र पृथ्वी अनि यावत् थोक तिनीहरूका आफ्नै प्राकृतिक नियमहरू र तिनीहरूका आफ्नै जीवन-अस्तित्वको प्राकृतिक व्यवस्थाहरूद्वारा शासित हुन्छन् र तिनीहरूलाई व्यवस्थापन गर्ने कुनै शासक वा तिनीहरूलाई भरणपोषण गर्ने वा तिनीहरूलाई हेरविचार गर्ने कुनै सार्वभौम प्रभु छैन। तैँले परमेश्‍वरमा विश्‍वास गरे पनि, तैँले यी सबै परमेश्‍वरका कार्य हुन् भन्‍नेमा विश्‍वास नगर्न सक्छस्; वास्तवमा, परमेश्‍वरमा विश्‍वास गर्ने हरेकले, परमेश्‍वरको वचन स्वीकार गर्ने हरेकले, र परमेश्‍वरलाई पछ्याउने हरेकले धेरैजसो बेवास्ता गर्ने कुराहरू यिनै हुन्। त्यसकारण, बाइबलसँग वा तथाकथित आत्मिक शब्दावलीसँग सम्बन्ध नभएका कुराहरूको बारेमा मैले छलफल गर्न सुरु गर्नेबित्तिकै, कतिपय मानिसहरूलाई अल्छी वा दिक्क वा असहज समेत लाग्छ। तिनीहरूलाई मेरा वचनहरू आत्मिक मानिसहरू र आत्मिक वस्तुहरूसँग सम्‍बन्धित छैनन् भन्‍ने लाग्छ। यो एकदमै नराम्रो कुरा हो। जब परमेश्‍वरका कार्यहरूलाई जान्ने कुरा आउँछ, हामीले खगोलशास्त्रको नाम नलिए पनि वा भूगोल वा जीवविज्ञानको शोध-अध्ययन नगरे पनि, हामीले यावत् थोकमाथिको परमेश्‍वरको सार्वभौमिकतालाई बुझ्नैपर्छ, हामीले यावत् थोकको लागि उहाँको भरणपोषणलाई र उहाँ नै यावत् थोकको लागि जीवनको स्रोत हुनुपर्छ भन्‍ने कुरालाई जान्नैपर्छ। यो जरुरी र अध्ययन गर्नैपर्ने पाठ हो। मलाई विश्‍वास छ, तिमीहरूले मेरा वचनहरू बुझ्यौ, हो?

मैले भर्खरै बताएका दुई कथाहरू विषयवस्तु र अभिव्यक्तिको शैलीको हिसाबमा केही अनौठा भए पनि, तिनीहरूलाई केही विशेष शैलीमा बताइएको भए पनि, तिनीहरू तिमीहरूलाई अलि गहन कुरा प्राप्त गर्न र स्वीकार गर्न मद्दत गर्नका लागि सिधा भाषा र सरल विधि प्रयोग गर्ने मेरा प्रयासहरू थिए। यो मेरो आफ्नै लक्ष्य थियो। यी साना कथाहरूमा र तिनीहरूले चित्रित गर्ने तस्विरहरूमा, म तिमीहरूले परमेश्‍वर सबै सृष्टिमाथिका सार्वभौम प्रभु हुनुहुन्छ भनी हेर र विश्‍वास गर भन्‍ने चाहन्थेँ। यी कथाहरू भन्नुको लक्ष्य भनेको तिमीहरूलाई कथाको सीमित दायराभित्र परमेश्‍वरका असीमित कार्यहरू देख्ने र जान्ने तुल्याउनु हो। तिमीहरूले कहिले आफूमा यो नतिजालाई वास्तविकतामा बदल्नेछौ र हासिल गर्नेछौ भन्‍ने सवालमा—त्यो कुरा तिमीहरूका आफ्नै अनुभवहरू र तिमीहरूको आफ्नै खोजीमा निर्भर रहन्छ। यदि तँ सत्यताको खोजी गर्ने र परमेश्‍वरलाई चिन्न चाहने व्यक्ति होस् भने, यी कुराहरूले अझ मजबुत स्मारकको काम गर्नेछन्; तिनीहरूले तँलाई यस्तो गहन चेतना अर्थात् तेरो बुझाइमा स्पष्टता प्रदान गर्नेछन् जुन क्रमिक रूपमा परमेश्‍वरका वास्तविक कार्यहरूतर्फ खिचिइनेछन् जुन दूरी र त्रुटिविनाको निकटता हुनेछ। तैपनि, यदि तँ परमेश्‍वरलाई चिन्‍न खोज्ने व्यक्ति होइनस् भने, यी कथाहरूले तँलाई कुनै पनि हानि पुर्‍याउन सक्दैनन्। तिनीहरूलाई केवल साँचो कथा मान्दा हुन्छ।

के तिमीहरूले यी दुई कथाहरूबाट कुनै बुझाइ हासिल गरेका छौ? सबभन्दा पहिले, के यी दुई कथाहरू मानवजातिप्रतिको परमेश्‍वरको चिन्तासम्बन्धी हाम्रो अघिल्लो छलफलभन्दा फरक थिए? के त्यसमा कुनै अन्तर्निहित सम्बन्ध छ? के यी दुई कथाहरूभित्र हामीले परमेश्‍वरका कार्यहरू र उहाँले मानवजातिको लागि योजना गर्नुहुने हरेक कुरामा उहाँको विस्तृत सोचविचार देख्छौँ भन्‍ने कुरा साँचो हो? के परमेश्‍वरले गर्नुहुने सबै कुरा र उहाँले सोच्नुहुने सबै कुरा मानवजातिको अस्तित्वको लागि हो भन्‍ने कुरा साँचो हो? (हो।) के मानवजातिको लागि परमेश्‍वरको होसियारीपूर्ण सोच र चिन्तन एकदमै स्पष्ट छैन र? मानिसहरूले केही पनि गर्न जरुरी छैन। परमेश्‍वरले मानिसहरूको लागि हावा तयार गर्नुभएको छ—तिनीहरूले गर्नुपर्ने भनेको त सास फेर्नु मात्र हो। तिनीहरूले खाने सागसब्जी र फलफूलहरू सहजै उपलब्ध हुन्छन्। उत्तरदेखि दक्षिणसम्म, पूर्वदेखि पश्‍चिमसम्म, हरेक क्षेत्रको आ-आफ्नै प्राकृतिक स्रोत-साधनहरू छन्। विभिन्‍न क्षेत्रीय बाली, फलफूल र सागसब्जीहरू सबै नै परमेश्‍वरले तयार गर्नुभएको छ। बृहत् वातावरणमा, परमेश्‍वरले सबै थोकलाई परस्पर सुदृढीकरण गर्ने, अन्तरनिर्भर रहने, परस्पर मजबुतीकरण गर्ने, परस्पर प्रतिरोध गर्ने, र सहअस्तित्वमा रहने बनाउनुभयो। यो यावत् थोकको जीवन र अस्तित्व कायम गर्ने उहाँको विधि र उहाँको शासन हो; यस तरिकाले, मानवजाति आजका दिनसम्म पनि यो सजीव वातावरणमा सुरक्षित र शान्त रूपले वृद्धि हुन सकेको छ, एक पुस्तादेखि अर्को पुस्तामा वंश-वृद्धि गर्न सकेको छ। भन्‍नुको अर्थ, परमेश्‍वरले प्राकृतिक वातावरणमा सन्तुलन ल्याउनुहुन्छ। यदि परमेश्‍वर सार्वभौम र नियन्त्रणकारी भूमिकामा हुनुहुन्‍नथ्यो भने, यो वातावरण परमेश्‍वरद्वारा नै सृष्टि गरिएको भए पनि यसलाई सम्हाल्न वा सन्तुलनमा राख्‍ने कार्य कसैको वशमा हुँदैनथ्यो। केही स्थानहरूमा हावा नै छैन, र मानवजाति त्यस्ता ठाउँहरूमा बाँच्न सक्दैनन्। परमेश्‍वरले तँलाई त्यहाँ जान अनुमति दिनुहुन्‍न। त्यसकारण, उचित सीमाभन्दा पर नजाओ। यो कुरा मानवजातिको सुरक्षाको लागि हो—भित्रभित्रै रहस्यहरू छन्। वातावरणको हरेक पक्ष, पृथ्वीको लम्बाइ र चौडाइ, पृथ्वीका हरेक प्राणी—सजीव र निर्जीव—सबै नै परमेश्‍वरले अग्रिम रूपमा परिकल्पना र तयार गर्नुभएको थियो। किन यो कुरा आवश्यक छ? किन त्यो कुरा अनावश्यक छ? यो कुरा यहाँ हुनुको उद्देश्य के हो र त्यो कुराचाहिँ किन त्यहाँ हुनुपर्छ? यी सबै प्रश्‍नहरूको बारेमा परमेश्‍वरले पहिले नै सोचिसक्‍नुभएको थियो, र यी प्रश्‍नहरूको बारेमा मानिसहरूले सोच्नु कुनै आवश्यक छैन। केही मूर्ख मानिसहरू छन् जो सधैँ हिमाललाई सार्न पाए हुन्थ्यो भनेर सोच्छन्, बरु त्यसको साटो, तराईमा सर्दा हुँदैन र? यदि तँलाई हिमाल मन पर्दैन भने, किन तँ तिनीहरूको छेउछाउ बसोबास गर्छस्? के त्यो मूर्खता होइन र? यदि तैँले त्यो हिमाललाई सार्थिस् भने के हुन्थ्यो? हुरीबतास र विशाल छालहरू आउँथे, अनि मानिसहरूका घरहरू विनाश हुन्थे। के त्यो मुर्ख्याइँ हुँदैनथ्यो र? मानिसहरू विनाश गर्न मात्र सक्षम छन्। तिनीहरूले आफूले बसोबास गर्नुपर्ने एउटै ठाउँलाई पनि सम्हाल्न सक्दैनन्, तर पनि तिनीहरू यावत् थोकको प्रबन्ध गर्न चाहन्छन्। यो असम्भव छ।

परमेश्‍वरले मानवजातिलाई सबै थोकको व्यवस्थापन गर्न र तिनीहरूमाथि प्रभुत्व कायम राख्‍न दिनुहुन्छ, तर के मानिसले राम्रो काम गर्छ त? मानिसले उसले सक्‍नेजति सबै कुरा विनाश गर्छ। उसले उसको लागि परमेश्‍वरले बनाउनुभएको कुनै पनि कुरालाई त्यसको मौलिक अवस्थामा राख्‍न सक्दैन—उसले उल्टो काम गरेको छ र परमेश्‍वरको सृष्टिको विनाश गरेको छ। मानवजातिले हिमालहरूलाई सारेका छन्, समुद्रमा जमीन निकालेका छन्, र तराईहरूलाई मानिस बस्‍नै नसक्‍ने मरुभूमिमा परिणत गरेका छन्। त्यसमाथि तिनीहरूले मरुभूमिमै उद्योग र परमाणुको आधार क्षेत्र निर्माण गरेका छन् र यसरी जताततै विनाशको बीउ रोपेका छन्। अब, नदीहरू नदी रहेनन्, समुद्र पनि समुद्र रहेन…। मानिसले प्राकृतिक वातावरण र यसका नियमहरू भङ्ग गरिसकेपछि, उसको विपत्ति र मृत्युको दिन त्यति टाढा हुँदैन; यो अपरिहार्य छ। जब विपत्ति आउँछ, तब मानवजातिले उसको लागि परमेश्‍वरले बनाउनुभएका हरेक कुरा कति मूल्यवान् छन् र मानवजातिको लागि ती कति महत्त्वपूर्ण छन् भनी थाहा पाउनेछ। मानिसको लागि, वायु र वर्षा समयमै हुने वातावरणमा बस्‍नु स्वर्गमा बस्‍नु जस्तै हो। मानिसहरूले यो एक आशिष् हो भनी महसुस गर्दैनन्, तर तिनीहरूले यसलाई गुमाएको क्षण, यो कति दुर्लभ र अमूल्य छ भनी देख्‍नेछन्। अनि यो गुमिसकेपछि, कसरी फिर्ता पाउन सकिन्छ र? यदि परमेश्‍वर यसलाई पुनः सृष्टि गर्न इच्छुक हुनुभएन भने, मानिसहरूले के गर्न सक्छन् र? के तैँले गर्न सक्‍ने कुनै कुरा छ र? वास्तवमा, तैँले गर्न सक्‍ने केही कुरा छ। यो एकदमै सरल छ—जब म तिमीहरूलाई यो के हो भनेर बताउँछु, तब तत्कालै तिमीहरूले यो सम्‍भव छ भनी जान्‍नेछौ। मानिसले आफैलाई उसको अस्तित्वको वर्तमान अवस्थामा कसरी ल्याइपुर्‍यायो? के यो उसको लोभ र विनाशको कारणले भएको हो? यदि मानिसले यो विनाशलाई अन्त्य गर्छ भने, के उसको जिउने वातावरण क्रमिक रूपमा आफै सही हुनेछैन र? यदि परमेश्‍वरले केही पनि गर्नुहुन्‍न भने, यदि परमेश्‍वर मानवजातिको लागि अबउप्रान्त केही पनि गर्न चाहनुहुन्‍न भने—भन्‍नुको मतलब, यदि उहाँले यस मामिलामा कुनै हस्तक्षेप गर्नुहुन्‍न भने—मानवजातिको सर्वश्रेष्ठ समाधान भनेको सबै विनाशलाई रोक्‍नु र आफू जिउने वातावरणलाई प्राकृतिक अवस्थामा फर्कन दिनु नै हुनेछ। यी सबै विनाशको अन्त्य गर्नु भनेको परमेश्‍वरले सृष्टि गर्नुभएका कुराहरूको लुटपाट र विध्वंसको पनि अन्त्य गर्नु हो। यसो गर्नाले मानिस बसोबास गर्ने वातावरण क्रमिक रूपमा सुधार भई पूर्वावस्थामा फर्कन्छ जबकि यसो गर्न नसक्दा यसको परिणामस्वरूप जीवनको लागि झन् घिनलाग्दो वातावरण पैदा हुन्छ जसको विनाश समयसँगै अझ चाँडो हुनेछ। के मेरो समाधान सरल छ? यो सरल र सम्भव छ, होइन र? वास्तवमै सरल र केही मानिसहरूको लागि सम्भव छ—तर के पृथ्वीका अधिकांश मानिसहरूको लागि यो सम्भव छ त? (यो सम्भव छैन।) कम्तीमा पनि तिमीहरूका लागि, के यो सम्भव छ? (छ।) कुन कुराले तिमीहरूलाई “छ” भन्‍न लगाउँछ? के यो परमेश्‍वरका कार्यहरूसम्‍बन्धी बुझाइको जगबाट आउँछ भनेर भन्‍न सकिन्छ? के यसको सर्त भनेको परमेश्‍वरको सार्वभौमिकता र योजनाप्रतिको आज्ञाकारिता हो भनेर भन्‍न सकिन्छ? (सकिन्छ।) परिस्थिति बदल्ने तरिकाहरू छन्, तर त्यो कुरा हामीले अहिले छलफल गर्दै गरेको विषय होइन। परमेश्‍वर प्रत्येक मानव जीवनको लागि उत्तरदायी हुनुहुन्छ र उहाँ अन्त्यसम्मै उत्तरदायी हुनुहुन्छ। परमेश्‍वरले तेरो भरणपोषण गर्नुहुन्छ, र यदि शैतानद्वारा विनाश गरिएको यो वातावरणमा तँलाई बिरामी पारिएको वा प्रदूषित गरिएको, वा अपवित्र तुल्याइएको भए पनि—परमेश्‍वरले तेरो भरणपोषण गर्नुहुन्छ, र तँलाई निरन्तर जिउन दिनुहुन्छ। तँलाई यस कुरामा विश्‍वास हुनुपर्छ। परमेश्‍वरले हल्का रूपले कुनै पनि मानिसलाई मर्न दिनुहुन्‍न।

के अहिले तिमीहरूले “परमेश्‍वर यावत् थोकको जीवनको स्रोत हुनुहुन्छ” भनेर पहिचान गर्नुको केही महत्त्व अनुभूति गर्न सकेका छौ? (हो, हामीले सकेका छौँ।) तिमीहरूसँग कस्तो अनुभूति छ? मलाई भन। (विगतमा, हामीले कहिल्यै पनि हिमाल, समुन्द्र र तालहरूलाई परमेश्‍वरको कार्यद्वारा जोड्नेबारेमा सोचेका थिएनौं। आजको परमेश्‍वरको सङ्गति नसुनुन्जेलसम्म, हामीले यी कुराहरूभित्र परमेश्‍वरका कार्यहरू र बुद्धि हुन्छन् भन्‍ने बुझेका थिएनौं; हामीले देख्यौं कि जब परमेश्‍वरले यावत् थोकको सृष्टि गर्न थाल्नुभयो, तब उहाँले हरेक थोकमा पहिले नै नियति र उहाँको शुभेच्छा राखिसक्‍नुभएको थियो। सबै थोक परस्पर सुदृढीकरण र अन्तर्निर्भरतामा रहन्छन्, र मानवजाति अन्तिम हिताधिकारी हो। आज हामीले जे सुन्यौं त्यो एकदमै ताजा र नयाँ लाग्यो—हामीले परमेश्‍वरका कार्यहरू कति वास्तविक रहेछन् भन्‍ने अनुभूति गर्‍यौं। वास्तविक संसारमा, हाम्रो दैनिक जीवनमा, र हामीले सबै थोकको सामना गर्दा, हामीले यो यस्तै हुन्छ भन्‍ने देख्छौं।) तिमीहरूले साँचो रूपमा देखेका छौ, छैनौ त? परमेश्‍वरले कुनै उत्कृष्ट जगविना मानवजातिलाई भरणपोषण गर्नुहुन्‍न; उहाँको भरणपोषण केवल केही छोटा वचनहरू मात्र होइनन्। परमेश्‍वरले यति धेरै काम-कुराहरू गर्नुभएको छ, र तैँले नदेख्‍ने कुराहरूसमेत सबै नै तेरो फाइदाका लगि हुन्छन्। मानिस यो वातावरणमा जिउँछ, परमेश्‍वरले सृष्टि गर्नुभएका यावत् थोकहरूमाझ जिउँछ, जहाँ मानिसहरू र यावत् थोकहरू एकअर्कामा निर्भर रहन्छन्। उदाहरणको लागि, वनस्पतिहरूले सास फेरेर हावा शुद्ध पार्ने वायु बाहिर निकाल्छन् र मानिसहरूले त्यो शुद्ध हावामा सास फेर्छन् र यसबाट फाइदा लिन्छन्; तैपनि केही वनस्पतिहरूचाहिँ मानिसहरूका लागि विषालु हुन्छन् जबकि अन्य वनस्पतिहरूले ती विषालु वनस्पतिहरूलाई निष्प्रभावी तुल्याउँछन्। यो परमेश्‍वरको सृष्टिको अद्‌भुत पक्ष हो। तर यो विषयलाई अहिलेको लागि यहीँ छोडौं; आज हाम्रो छलफल मुख्य रूपमा मानिस र सृष्टिका अन्य कुराहरूबीचको सहअस्तित्वको बारेमा थियो, जुनविना मानिस बाँच्न सक्दैन। परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुको महत्त्व के छ? मानिस सृष्टिका अन्य कुराहरूविना बाँच्न सक्दैन, र यो कुरा उसलाई बाँच्न हावा चाहिएजस्तै हो—यदि तँलाई हावारहित शून्य ठाउँमा राखिएको भए, तँ चाँडै नै मर्नेथिइस्। यो एकदमै सरल सिद्धान्त हो जसले मानिस सृष्टिका अन्य कुराहरूविना एकलै बाँच्न सक्दैन भन्‍ने देखाउँछ। त्यसो भए, यावत् थोकहरूप्रति मानिसहरूको मनोवृत्ति कस्तो हुनुपर्छ? यस्तो मनोवृत्ति हुनुपर्छ, जसले ती कुराहरूलाई मूल्यवान् ठान्छ, तिनलाई संरक्षण गर्छ, तिनको कुशल प्रयोग गर्छ, तिनलाई विनाश गर्दैन, तिनलाई खेर फाल्दैन, र तिनलाई जथाभावी परिवर्तन गर्दैन, किनभने सबै थोक परमेश्‍वरबाट आएका हुन्, सबै थोक मानवजातिको लागि उहाँको भरणपोषण हुन्, र मानवजातिले तिनीहरूलाई विवेकपूर्ण रूपले व्यवहार गर्नुपर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ७

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: ध्वनि

तेस्रो कुरा के हो? यो पनि मानव अस्तित्वको सामान्य वातावरणको निम्ति आवश्यक हिस्सा हो र परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुहुँदा यसको निम्ति...

दोस्रो भाग: परमेश्‍वरले हरप्रकारको जीवित प्राणीका लागि सीमा निर्धारित गर्नुहुन्छ

परमेश्‍वरले तय गर्नुभएका यी सीमाहरूको कारण, विभिन्न भूभागहरूले अस्तित्वको निम्ति फरक किसिमका वातावरणहरू सृजना गरेका छन्, र अस्तित्वका लागि...

चौथो भाग: परमेश्‍वरले फरकफरक जातिका लागि सीमा निर्धारित गर्नुहुन्छ

चौथो कुरा, परमेश्‍वरले विभिन्न जातिहरूको बीचमा सीमाहरू तोक्‍नुभयो। पृथ्वीमा गोरा मानिसहरू, काला मानिसहरू, खैरा मानिसहरू र पहेँला मानिसहरू...

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: वायुप्रवाह

पाँचौ कुरा के हो? यो कुरा हरेक व्यक्तिको प्रत्येक दिनसँग घनिष्ट रूपमा सम्बन्धित छ। मानव जीवनसँग यसको सम्बन्ध यति नजिक छ कि यसको अभावमा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्