परमेश्‍वरले मानवजातिको लागि तयार गर्नुहुने दैनिक भोजन र पेयपदार्थ (भाग २)

13 अगस्ट 2021

हामीले भर्खरै कुन-कुन विषयहरूमा छलफल गर्‍यौं? हामीले मानवजाति बसोबास गर्ने वातावरण र परमेश्‍वरले त्यो वातावरणको लागि जे गर्नुभयो र उहाँले जे-जस्तो तयारी गर्नुभयो सोबारेमा कुरा गर्दै छलफल सुरु गर्‍यौं। हामीले उहाँले के व्यवस्थित गर्नुभयो; परमेश्‍वरले मानवजातिको लागि तयार गर्नुभएका सृष्टिका वस्तुहरूबीचको सम्बन्ध; र परमेश्‍वरले आफूले सृष्टि गर्नुभएका यी कुराहरूले मानवजातिलाई हानि गर्नबाट रोक्‍न यी सम्बन्धहरूलाई कसरी व्यवस्थित गर्नुभयो भन्‍ने विषयमा छलफल गर्यौं। परमेश्‍वरले उहाँको सृष्टिभित्र भएका विभिन्‍न कारक तत्त्वहरूबाट मानवजातिको वातावरणमा हुन सक्‍ने हानिलाई न्यूनीकरण गर्नुभयो, जसले सबै कुराहरूलाई आ-आफ्नो उच्‍चतम उद्देश्य पूरा गर्न र मानवजातिलाई लाभदायक तत्त्वहरूसहितको उपयोगी वातावरण निर्माण गर्नमा मदत गर्छ, र यसबाट मानवजाति यस्तो वातावरणमा अनुकूलन गर्न र जीवन र प्रजननको चक्रलाई लगातार जारी राख्‍न सक्षम बन्छ। अर्को कुरा, हामीले मानव शरीरलाई आवश्यक पर्ने खाना—मानवजातिको दैनिक खाद्य र पेयपदार्थको बारेमा कुरा गर्‍यौं। यो मानवजाति बाँच्‍नको लागि आवश्यक पर्ने अवस्था पनि हो। भन्‍नुको मतलब, मानव शरीर सास फेरेर मात्र, घाम, हावा वा उपयुक्त तापक्रमहरूले मात्र बाँच्न सक्दैन। मानवजातिले आफ्नो पेट पनि भर्न आवश्यक हुन्छ र परमेश्‍वरले कुनै कुराको पनि नजरअन्दाज नगरी तिनीहरूले पेट भर्न सक्‍ने वस्तुहरूको स्रोत तयार पार्नुभयो, र तिनीहरू नै मानवजातिको खानाको स्रोत हुन्। जब तैँले यस्तो प्रशस्त र यथेष्ट उत्पादन—मानवजातिको खाद्य र पेयपदार्थको स्रोत—देखेको हुन्‍छस्, के तँ परमेश्‍वर नै मानवजाति र उहाँको सृष्टिका सबै वस्तुहरूको लागि आपूर्तिको स्रोत हुनुहुन्छ भनेर भन्‍न सक्छस्? यदि सृष्टिको समयमा, परमेश्‍वरले निश्‍चित सङ्ख्यामा रूखहरू वा घाँस वा कुनै पनि संख्यामा अन्य जीवित वस्तुहरू सृष्टि गर्नुभएको भए र यदि यी विभिन्‍न जीवित वस्तुहरू र बिरुवाहरू गाई र भेडाले खानको लागि वा वनघोडा, मृग र अन्य विभिन्‍न प्रकारका जनावरहरूले खानको लागि मात्र भएको भए, र यसै गरी सिंहहरूले वनघोडा र मृगजस्ता जन्तुहरू र बाघहरूले भेडा र सुँगुरजस्ता जन्तुहरू खान्थे भने—तर मानवको लागि खानलाई उपयुक्त कुरा एउटा पनि नभएको भए, के त्यसले काम गर्थ्यो त? त्यसले काम गर्दैनथ्यो। मानवजाति धेरै समयसम्म बाँच्न सक्षम हुँदैनथ्यो। मानवले पातहरू मात्र खाने भएको भए के हुन्थ्यो? के त्यसले काम गर्थ्यो त? के मानिसले भेडाको लागि बनेको घाँस खान सक्थ्यो? तिनीहरूले थोरै खाएका भए त यसले हानि गर्दैनथ्यो होला, तर यदि तिनीहरूले यस्तो कुरा लामो समयसम्म खाएको भए, तिनीहरूको पेटले यसलाई सहन सक्दैनथ्यो र मानिसहरू लामो समयसम्म बाँच्दैनथे। यसमा यस्ता कुराहरू पनि छन् जुन जनावरहरूले खान सक्छन् तर मानवहरूका लागि ती विषालु छन्—जनावरहरूले तिनीहरूलाई कुनै पनि नराम्रो परिणामविना नै खान सक्छन्, तर ती कुरा मानवहरूको लागि त्यस्तै हुँदैनन्। भन्‍नुको मतलब, परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो, त्यसैले परमेश्‍वरलाई नै सबैभन्दा उत्तम रूपमा मानव शरीरको सिद्धान्त र संरचनाका साथै मानवलाई के आवश्यक हुन्छ भन्‍ने ज्ञान छ। परमेश्‍वरलाई शरीरको संरचना र यसभित्रका विभिन्‍न तत्त्वहरू, यसका आवश्यकताहरू र यसका आन्तरिक अङ्गहरूका कार्यहरू र तिनीहरूले विभिन्‍न पदार्थहरू कसरी सोस्छन्, हटाउँछन् र पचाउँछन् भन्‍ने कुरा सबैभन्दा स्पष्ट रूपमा थाहा छ। मानवलाई यो कुरा थाहा हुँदैन; कहिलेकाहीँ तिनीहरूले अति लापर्बाहीपूर्वक खान्छन् वा लापर्बाहीपूर्वक स्व-हेरचाह गर्छन्, जसको ज्यादा मात्राले केवल असन्तुलन गराउँछ। यदि तैँले परमेश्‍वरले तेरो लागि तयार गर्नुभएका कुराहरू साधारण तरिकाले खाइस् वा उपभोग गरिस् भने, तँमा कुनै पनि स्वास्थ्य समस्या हुनेछैन। यदि तैँले कहिलेकाहीँ खराब मनस्थितिको अनुभव गरिस् वा तँमा रक्त गतिहीनता भएमा समेत, यसले कुनै समस्या पार्नेछैन। तैँले निश्‍चत प्रकारका वनस्पति मात्र खानु आवश्यक हुन्छ र गतिरोध हट्नेछ। परमेश्‍वरले यी सबै कुराहरूको लागि तयारी गर्नुभएको छ। त्यसैले, परमेश्‍वरको नजरमा, मानवजाति अन्य सबै जीवित वस्तुहरूभन्दा धेरै माथिको हो। परमेश्‍वरले प्रत्येक प्रकारको वनस्पतिको लागि वातावरण तयार गर्नुभयो र उहाँले प्रत्येक प्रकारको जनावरको लागि खाना र वातावरण तयार गर्नुभयो, तर मानवजातिलाई वातावरणसम्बन्धी सबैभन्दा कठोर आवश्यकता हुन्छ र ती आवश्यकताहरूलाई नजरअन्दाज गर्न सकिँदैन; यदि तिनीहरूलाई नजरअन्दाज गरिएको भए, मानवजाति सामान्य तवरमा निरन्तर विकसित हुन, बाँच्न र प्रजनन गर्न सक्षम हुँदैनथ्यो। यो कुरा हृदयदेखि नै सबैभन्दा राम्रोसँग थाहा हुने परमेश्‍वर नै हुनुहुन्छ। जब परमेश्‍वरले यो काम गर्नुभयो, उहाँले अन्य कुनै पनि कुरामा भन्दा यसमा बढी महत्त्व दिनुभयो। सम्भवतः तैँले आफूले देख्‍ने र जीवनमा आनन्द लिने कुनै कुरा वा तँसँग जन्मदेखि भएका तैँले देख्‍ने र आनन्द लिने केही मामुली कुराहरूको महत्त्व अनुभूत गर्न तँ सक्षम छैनस् होला, तर परमेश्‍वरले तेरो लागि वर्षौँपहिले नै वा गोप्य रूपमा तयारीहरू गरिसक्‍नुभएको छ। सम्भव भएको सबैभन्दा बढी हदसम्म, परमेश्‍वरले मानवजातिको लागि प्रतिकूल वा मानव शरीरमा हानि गर्न सक्‍ने सबै नकारात्मक तत्त्वहरूलाई हटाउनुभएको वा साम्य पार्नुभएको छ। यसले के देखाउँछ त? के यसले उक्त समयमा परमेश्‍वरले मानवजातिलाई बनाउनुहुँदा उनीहरूप्रति रहेको उहाँको मनोवृत्तिलाई देखाउँछ? त्यो मनोवृत्ति के थियो? परमेश्‍वरको मनोवृत्ति सावधान र इमानदार प्रकृतिको थियो र यसले उहाँको बाहेक अरू कुनै पनि शत्रुबल वा बाह्य कारक वा अवस्थाहरूद्वारा हुने हस्तक्षेप सहन गर्दैनथ्यो। यसमा उक्त समय मानवजातिलाई सृष्टि गर्ने र व्यवस्थित गर्ने परमेश्‍वरको मनोवृत्ति देख्‍न सकिन्छ। अनि, परमेश्‍वरको मनोवृत्तिचाहिँ के हो त? बाँच्नको लागि वातावरण र मानवजातिले आनन्द लिने जीवनका साथै तिनीहरूको दैनिक खाद्य तथा पेयपदार्थ र दैनिक आवश्यकताहरूमार्फत, हामीले मानवजातिप्रति परमेश्‍वरको उत्तरदायित्वको मनोवृत्ति देख्‍न सक्छौं, जुन उहाँले मानिसको सृष्टि गर्नुभएदेखि नै कायम गर्दै आउनुभएको छ, यसको साथै उक्त समयमा मानवजातिलाई बचाउने उहाँको दृढ़ सङ्कल्प पनि देख्‍न सक्छौँ। के यी वस्तुहरूमा परमेश्‍वरको आधिकारिकता देख्‍न सकिने किसिमको छ? अनि उहाँको अद्‌भूतता नि? उहाँको अथाहपन? उहाँको सर्वशक्तिमान्‌ता? परमेश्‍वरले सबै मानवजातिको लागि आवश्यक कुराहरू प्रदान गर्न, साथै उहाँको सृष्टिका सबै थोकलाई भरणपोषण गर्नको लागि आफ्नो बुद्धिमान् र सर्वशक्तिमान् शैली प्रयोग गर्नुहुन्छ। अब मैले तँलाई धेरै कुरा भनिसकेको छु, के तँ भन्‍न सक्छस् कि सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ? (सक्छु।) त्यो निश्‍चय नै हो। के तँलाई कुनै शङ्का छ? (छैन।) सबै कुराको लागि परमेश्‍वरले गर्नुभएको प्रावधान नै सबै कुराहरूको लागि जीवनको स्रोत उहाँ नै हुनुहुन्छ भन्‍ने देखाउन पर्याप्त छ, किनभने सबै थोकलाई अस्तित्वमा रहन, जीवन जिउन, प्रजनन गर्न र निरन्तर रूपमा अघि बढिरहन सक्षम पार्ने उक्त प्रावधानको स्रोत उहाँ नै हुनुहुन्छ र परमेश्‍वर स्वयम्‌बाहेक अरू कुनै पनि स्रोत विद्यमान छैन। परमेश्‍वरले सबै थोकका सबै आवश्यकता र मानवजातिका पनि सबै आवश्यकता पूरा गर्नुहुन्छ, चाहे ती मानिसहरूका सबैभन्दा आधारभूत वातावरणीय आवश्यकताहरू हुन्, चाहे उनीहरूका दैनिक जीवनका आवश्यकताहरू हुन्, वा चाहे उहाँले मानिसहरूका आत्मालाई प्रदान गर्नुहुने सत्यताका आवश्यकता नै हुन्। हरेक प्रकारले परमेश्‍वरको पहिचान र उहाँको हैसियत मानवजातिको लागि ठूलो महत्त्वको हुन्छ; सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर मात्र हुनुहुन्छ। भन्‍नुको मतलब, परमेश्‍वर नै यो संसार अर्थात् मानिसले देख्‍न र अनुभव गर्न सक्‍ने यो संसारका शासक, मालिक र प्रदायक हुनुहुन्छ। मानवजातिको लागि, के यो परमेश्‍वरको पहिचान होइन र? यसमा कुनै पनि झूटो कुरा छैन। त्यसैले, जब तैँले आकाशमा चराहरू उडिरहेको देख्छस्, तँलाई थाहा हुनुपर्छ कि परमेश्‍वरले उड्न सक्‍ने सबै कुराको सृष्टि गर्नुभयो। त्यसै गरी पानीमा पौडने जीवित वस्तुहरू पनि छन् र तिनीहरूको बाँच्ने आफ्नै तरिका हुन्छ। माटोमा बाँच्ने बिरुवाहरूले वसन्तमा कोपिला र मुना हाल्छन्, त्यसपछि फल लाग्छ र शरदमा पातहरू झर्न थाल्छन् र शिशिरमा ती बिरुवाहरूले जाडो छिचोल्ने तयारी गर्दा तिनीहरूका सबै पात झरिसकेका हुन्छन्। यो नै तिनीहरूको बाँच्ने तरिका हो। परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो र हरेक वस्तु भिन्‍न स्वरूप र भिन्‍न तरिकामा बाँच्छ र हरेकले बाँच्ने कुरामा आफ्नो जीवनशक्ति र स्वरूप प्रदर्शन गर्न विभिन्‍न तरिकाहरू प्रयोग गर्छ। विभिन्‍न वस्तुहरू जे-जसरी बाँच्दै रहे पनि, तिनीहरू सबै परमेश्‍वरको नियमअन्तर्गत हुन्छन्। परमेश्‍वरले जीवनका सबै विभिन्‍न स्वरूप र जीवित वस्तुहरूमाथि शासन गर्नुको उद्देश्य के हो त? के यो मानवजातिको जीवनको लागि हो? उहाँले जीवनका सबै नियमहरू नियन्त्रण गर्नुहुन्छ, र यो सबै मानवजातिको जीवन-अस्तित्वको लागि गर्नुहुन्छ। यसले परमेश्‍वरको लागि मानवजातिको जीवन कति महत्त्वपूर्ण छ भनी देखाउँछ।

मानवजातिको सामान्य तवरमा बाँच्ने र प्रजनन गर्ने क्षमता परमेश्‍वरको लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ। त्यसकारण, परमेश्‍वरले मानवजाति र उहाँको सृष्टिका सबै थोकको लागि निरन्तर आवश्यक कुराहरू प्रदान गरिरहनुभएको छ। उहाँले सबै थोकलाई विभिन्‍न तरिकाले र सबै थोकको जीवन-अस्तित्व कायम हुने गरी आवश्यक कुराहरू प्रदान गर्नुहुन्छ, उहाँले मानवताको साधारण जीवन-अस्तित्व कायम गर्दै मानवजातिलाई निरन्तर अघि बढ्न सक्षम बनाउनुहुन्छ। यो आजको हाम्रो सङ्गतिका दुई पक्षहरू हुन्। यी दुई पक्षहरू के-के हुन् त? (बृहत दृष्टिकोणबाट, परमेश्‍वरले वातावरणको सृष्टि गर्नुभयो जसमा मानिस बाँच्छ। यो पहिलो पक्ष हो। अनि परमेश्‍वरले मानवजातिको लागि आवश्यक पर्ने र उसले हेर्न र छुन सक्‍ने भौतिक वस्तुहरू पनि तयार गर्नुभयो।) हामीले हाम्रो मुख्य विषयलाई यी दुई पक्षहरूमार्फत सङ्गति गरेका छौँ। हाम्रो मुख्य विषय के हो त? (सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ।) अब तँलाई यो विषयको मेरो सङ्गतिमा किन यति धेरै विषयहरू छन् भन्‍नेबारेमा केही बुझाइ भएको हुनुपर्छ। के यसमा मुख्य विषयसँग असम्बन्धित कुनै छलफल भएको छ त? बिलकुलै छैन! सायद, यी कुराहरू सुनिसकेपछि, तिमीहरूमध्ये केहीले केही बुझाइ हासिल गरेका छौ र अहिले यी वचनहरू वजनदार र एकदमै महत्त्वपूर्ण भएको महसुस गर्छौ होला, तर अन्यसँग भने केही शाब्दिक बोध मात्र हुन सक्छ र उनीहरूले यी वचनहरू आफैमा महत्त्वपूर्ण नभएको महसुस गर्न सक्छन्। हालको क्षणमा तिमीहरूले यसलाई जे-जसरी बुझेको भए तापनि, जब तिमीहरूको अनुभव कुनै निश्‍चित दिनमा आइपुग्छ, जब तिमीहरूको बुझाइ कुनै निश्‍चित बिन्दुमा पुग्छ, अर्थात्, जब परमेश्‍वरका कार्यहरू र परमेश्‍वर स्वयम्‌को बारेमा तिमीहरूको ज्ञान निश्‍चत स्तरमा पुग्छ, तब तिमीहरूले परमेश्‍वरका कार्यहरूको बारेमा गहन र सच्‍चा साक्षी दिन आफ्नै शब्दहरू प्रयोग गर्नेछौ, र ती शब्दहरू व्यवहारिक हुनेछन्।

मलाई लाग्छ, तिमीहरूको हालको बुझाइ अझै काफी सतही र शाब्दिक छ, तर मेरो सङ्गतिका यी दुई पक्षहरू सुनिसकेपछि, के तिमीहरूले कम्तीमा पनि परमेश्‍वरले मानवजातिको लागि आवश्यक कुराहरू प्रदान गर्न कस्ता विधिहरू प्रयोग गर्नुहुन्छ वा परमेश्‍वरले मानवजातिलाई के-कस्ता कुराहरू प्रदान गर्नुहुन्छ भनेर पहिचान गर्न सक्छौ? के तिमीहरूसँग आधारभूत अवधारणा, आधारभूत बुझाइ छ? (छ।) तर के मैले सङ्गति गरेका यी दुई पक्षहरू बाइबलसँग सम्बन्धित छन्? के तिनीहरू राज्यको युगमा हुने परमेश्‍वरको न्याय र सजायसँग सम्बन्धित छन्? (छैनन्।) त्यसो भए, मैले किन तिनीहरूको बारेमा सङ्गती गरेँ त? के यो, मानिसहरूले परमेश्‍वरलाई चिन्‍नको लागि ती कुराहरू बुझ्नैपर्ने भएकोले हो? (हो।) यी कुराहरूको बारेमा जान्‍नु एकदमै आवश्यक छ र यी कुराहरूलाई बुझ्नु पनि एकदमै जरुरी छ। तैँले परमेश्‍वरलाई उहाँको सम्पूर्णतामा बुझ्न खोज्दा, आफूलाई बाइबलमा सीमित नगर् र आफूलाई परमेश्‍वरले मानिसमाथि गर्नुहुने न्याय र सजायमा सीमित नगर्। मैले यो भन्‍नुको उद्देश्य के हो? परमेश्‍वर केवल उहाँले चुन्‍नुभएका मानिसहरूको मात्र परमेश्‍वर हुनुहुन्‍न भनेर मानिसहरूलाई थाहा दिनु हो। तैँले हाल परमेश्‍वरलाई पछ्याउँछस् र उहाँ तेरो परमेश्‍वर हुनुहुन्छ, तर के उहाँलाई नपछ्याउनेहरूको पनि उहाँ परमेश्‍वर हुनुहुन्छ त? के परमेश्‍वर उहाँलाई नपछ्याउने सबै मानिसहरूको परमेश्‍वर हुनुहुन्छ? के परमेश्‍वर सबै थोकको परमेश्‍वर हुनुहुन्छ? (हुनुहुन्छ।) त्यसो भए, के परमेश्‍वरका काम कार्बाहीहरूको दायरा केवल उहाँलाई पछ्याउनेहरूमा मात्र सीमित हुन्छ त? (होइन।) उहाँका काम कार्बाहीहरूको दायरा के हो त? सबैभन्दा सानो स्तरमा, उहाँका काम कार्बाहीहरूको दायराले सबै मानवजाति र सृष्टिका सबै कुराहरू समेट्छ। उच्‍चतम स्तरमा यसले सम्पूर्ण ब्रह्माण्ड समेट्छ जुन मानिसहरूले देख्‍न सक्दैनन्। त्यसैले, हामीले भन्‍न सक्छौं कि परमेश्‍वरले सबै मानवजातिमाझ आफ्ना काम कार्बाही गर्नुहुन्छ र यो कुरा मानिसलाई परमेश्‍वर स्वयम्‌को बारेमा सम्पूर्ण रूपमा जान्‍न दिन काफी हुन्छ। यदि तँ परमेश्‍वरलाई चिन्‍न, उहाँको बारेमा साँचो रूपमा जान्‍न, उहाँलाई साँचो रूपमा बुझ्न चाहन्छस् भने, आफूलाई केवल परमेश्‍वरको कार्यका तीन चरणहरूमा वा उहाँले विगतमा गर्नुभएका कार्यका कथाहरूमा सीमित नगर्। यदि तैँले उहाँलाई त्यो तरिकाले जान्‍न चाहन्छस् भने, तैँले परमेश्‍वरमाथि सीमितता लगाउँदै छस्, उहाँलाई नियन्त्रण गर्दै छस्। तैँले परमेश्‍वरलाई एकदमै सानो केही कुराको रूपमा हेर्दै छस्। त्यसो गर्नाले मानिसहरूलाई कसरी प्रभाव पर्न सक्छ? तँ कहिल्यै पनि परमेश्‍वरको अद्‌भूतता वा सर्वोच्‍चता जान्‍न सक्षम हुनेछैनस्, न त उहाँको शक्ति र सर्वशक्तिमान्‌ता र उहाँको अख्तियारको क्षेत्रको बारेमा नै जान्‍न सक्‍नेछस्। यस्तो बुझाइले परमेश्‍वर नै सबै थोकको शासक हुनुहुन्छ भन्‍ने तथ्‍यलाई स्वीकार्ने तेरो क्षमताका साथै परमेश्‍वरको साँचो परिचय र हैसियतसम्बन्धी तेरो ज्ञानलाई प्रभावित तुल्याउनेछ। अर्को शब्दमा, यदि परमेश्‍वरसम्‍बन्धी तेरो बुझाइको दायरा सीमित भएमा, तैँले प्राप्त गर्ने सक्‍ने कुरा पनि सीमित नै हुन्छ। त्यस कारणले गर्दा, तैँले आफ्नो दायरा फराकिलो पार्नुपर्छ र आफ्ना क्षितिजहरू विस्तार गर्नुपर्छ। तैँले यो कुरालाई सम्पूर्ण रूपमा बुझ्ने कोसिस गर्नुपर्छ—परमेश्‍वरको कार्यको दायरा, उहाँको व्यवस्थापन, उहाँको शासन, अनि उहाँले व्यवस्थापन र शासन गर्नुहुने सबै कुराहरू। यी कुराहरूमार्फत तैँले परमेश्‍वरका कार्यहरूको बरेमा बुझ्न सक्‍नुपर्छ। यस्तो बुझाइ भएमा, तैँले थाहै नपाई, परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ, तिनीहरूको व्यवस्थापन गर्नुहुन्छ र तिनीहरूलाई आवश्यक कुराहरू प्रदान गर्नुहुन्छ भन्‍ने कुरा महसुस गर्नेछस् र तैँले आफू पनि यी सबै थोकको एक हिस्सा र एक सदस्य भएको पनि साँचो रूपले महसुस गर्नेछस्। परमेश्‍वरले सबै थोकका लागि आवश्यक कुराहरू प्रदान गर्नुहुने भएकोले, तैँले पनि परमेश्‍वरको शासन र प्रावधान स्वीकार गरिरहेको छस्। यो एक तथ्य हो जसलाई कसैले पनि नकार्न सक्दैन। सबै थोक परमेश्‍वरको शासनअन्तर्गत आफ्नै नियमहरूको अधीनमा हुन्छन् र परमेश्‍वरको शासनअन्तर्गत, सबै थोकसँग बाँच्नको लागि आफ्नै नियमहरू हुन्छन्। मानवजातिको नियति र आवश्यकताहरू पनि परमेश्‍वरको शासन र प्रावधानसँग बाँधिएका हुन्छन्। त्यस कारणले गर्दा नै, परमेश्‍वरको प्रभुत्व र शासनअन्तर्गत, मानवजाति र सबै थोक अन्तर्सम्‍बन्धित, अन्तर्निर्भर र अन्तर्जडित हुन्छन्। यो नै परमेश्‍वरले सबै थोक सृष्टि गर्नुको उद्देश्य र महत्त्व हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

दोस्रो भाग: परमेश्‍वरले हरप्रकारको जीवित प्राणीका लागि सीमा निर्धारित गर्नुहुन्छ

परमेश्‍वरले तय गर्नुभएका यी सीमाहरूको कारण, विभिन्न भूभागहरूले अस्तित्वको निम्ति फरक किसिमका वातावरणहरू सृजना गरेका छन्, र अस्तित्वका लागि...

पहिलो भाग: परमेश्‍वरले हरप्रकारको भूभागको लागि सीमा निर्धारित गर्नुहुन्छ

आज म परमेश्‍वरले मानव जातिको पालन पोषणका लागि सबै थोकहरूमा तय गर्नुभएका यी सबै प्रकारका नियमहरू कसरी लागू हुन्छन् भन्‍ने विषयमा बताउन...

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: हावा

हामीले “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने वचनसँग सम्बन्धित विभिन्‍न विषयहरू र धेरै विषयवस्तुको बारेमा छलफल गरेका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्