साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ के हो

9 फ्रेवुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, थोरैले मात्र परमेश्‍वरप्रतिको विश्‍वासको अर्थ के हो र परमेश्‍वरको इच्छा अनुरूप हुन तिनीहरूले के गर्नुपर्छ भनी बुझ्दछन्। मानिसहरू “परमेश्‍वर” शब्द र “परमेश्‍वरको कार्य” जस्ता वाक्यांशहरूसित परिचित भए पनि तिनीहरूले परमेश्‍वरलाई नचिनेको कारणले यस्तो भएको हो अनि उहाँको कार्यलाई जान्ने कुरा त परै जाओस्। त्यसैले, परमेश्‍वरलाई नचिन्नेहरू सबै उहाँसम्बन्धी तिनीहरूका आफ्नै विश्‍वासमा अल्मलिएको हुनु कुनै अचम्म मान्नुपर्ने कुरा होइन। मानिसहरूले परमेश्‍वरप्रतिको विश्‍वासलाई गम्भीर रूपमा लिंदैनन्, र यो पूर्ण रूपमा तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने कुरा धेरै नै अपरिचित र अनौठो लागेको कारणले गर्दा भएको हो। यसप्रकारले, तिनीहरूले परमेश्‍वरका मागहरू पूरा गर्न सक्दैनन्। अर्को शब्दमा भन्नु पर्दा, यदि मानिसहरूले परमेश्‍वरलाई चिन्दैनन्, र उहाँका कार्यको बारेमा जान्दैनन् भने, तिनीहरू परमेश्‍वरको प्रयोगका लागि योग्य हुँदैनन्, र तिनीहरूले उहाँको इच्छा पूरा गर्ने कुरा त परै जाओस्। “परमेश्‍वरप्रतिको विश्‍वास” भनेको परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु हो; परमेश्‍वरमा विश्‍वास गर्ने सम्बन्धमा यो सबैभन्दा सरल धारणा हो। यसबाहेक, परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्नु उस्तै होइन; बरु, यो बलियो धार्मिक संकेतसहितको साधारण किसिमको विश्‍वास हो। परमेश्‍वरप्रतिको साँचो विश्‍वासको अर्थ निम्न छन्ः परमेश्‍वरले सबै थोकमाथि सर्वाधिकार राख्नुहुन्छ भन्ने विश्‍वासको आधारमा कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको कार्यको अनुभव गर्छ, उसको आफ्नो भ्रष्ट स्वभावलाई शुद्ध पार्छ, परमेश्‍वरको इच्छा पूरा गर्छ, र परमेश्‍वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र “परमेश्‍वरप्रतिको विश्‍वास” भन्न सकिन्छ। तापनि मानिसहरूले प्रायः परमेश्‍वरप्रतिको विश्‍वासलाई एउटा साधारण र हलुका कुराको रूपमा हेर्छन्। यस्तो प्रकारले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ गुमाइसकेका छन्, र तिनीहरूले आखिरीसम्म विश्‍वास गरिरहे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैनन्, किनकि तिनीहरू गलत बाटोमा हिँड्छन्। आज अझै त्यस्ता मानिसहरू पनि छन् जो अक्षरहरू र खोक्रो सिद्धान्तहरूअनुसार परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूले आफूहरूमा परमेश्‍वरप्रतिको विश्‍वासको सारको अभाव छ भनी बुझ्दैनन्, र तिनीहरूले परमेश्‍वरको अनुमोदन पाउन सक्दैनन्। तापनि अझै तिनीहरू सुरक्षा र पर्याप्त अनुग्रहको आशीषहरूका लागि परमेश्‍वरसँग प्रार्थना गर्छन्। आउनुहोस्, हामी रोकिऔं, हाम्रो मन शान्त पारौं, अनि आफैलाई सोधौं: के परमेश्‍वरमा विश्‍वास गर्नु पृथ्वीमा सबैभन्दा सजिलो कुरा हुन सक्छ? के यो हुन सक्छ कि परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरबाट असीम अनुग्रह पाउनुबाहेक अरू केही होइन? के परमेश्‍वरलाई नचिनी उहाँमा विश्‍वास गर्ने वा परमेश्‍वरमा विश्‍वास गरे पनि उहाँको विरोध गर्ने मानिसहरूले साँच्चै उहाँको इच्छा पूरा गर्न सक्छन्?

वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावनाबाट उद्धृत गरिएको

परमेश्‍वरमाथिको साँचो विश्‍वास भनेको मुक्ति पाउनको लागि मात्रै उहाँमा विश्‍वास गर्ने कार्य होइन, यो असल व्यक्ति बन्‍ने कार्य मात्र हुनु त परै जाओस्। यो मानव स्वरूप लिने विषय मात्रै पनि होइन। वास्तवमा, विश्‍वास भनेको परमेश्‍वर हुनुहुन्छ, र उहाँ सत्यता, बाटो, र जीवन हुनुहुन्छ, त्यसबाहेक केही पनि हुनुहुन्‍न भन्‍ने विश्‍वास राख्‍नु नै विश्‍वास हो भन्‍ने दृष्टिकोण मानिसहरूले लिनु हुँदैन। न त विश्‍वास भनेको तैँले परमेश्‍वरलाई स्वीकार गर्नु र उहाँ यावत् थोकका शासक हुनुहुन्छ, उहाँ सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले संसारका सबै थोक सृष्टि गर्नुभएको छ, र उहाँ अद्वितीय र सर्वोच्‍च हुनुहुन्छ भनेर विश्‍वास गर्नु नै हो। विश्‍वास भनेको यस तथ्यमा विश्‍वास राख्‍ने कार्य मात्रै होइन। परमेश्‍वरको इच्‍छा भनेको तेरो सम्पूर्ण अस्तित्व र हृदय उहाँलाई दिइनुपर्छ र उहाँमा समर्पित हुनुपर्छ भन्‍ने हो—अर्थात्, तैँले परमेश्‍वरलाई पछ्याउनुपर्छ, आफूलाई तैँले परमेश्‍वरद्वारा प्रयोग हुन दिनुपर्छ, र खुशीसाथ तँले उहाँको सेवा गर्नुपर्छ; तैँले उहाँको लागि जे गर्न सक्छस्, तैँले त्यो गर्नुपर्छ। यसको अर्थ परमेश्‍वरले पूर्वनिश्‍चित गर्नुभएका र चुन्‍नुभएका मानिसहरूले मात्रै उहाँमा विश्‍वास गर्नुपर्छ भन्‍ने हुँदैन। सत्यता के हो भने, सारा मानवजातिले उहाँको आराधना गर्नुपर्छ, उहाँको कुरा सुन्‍नुपर्छ र उहाँको आज्ञापालन गर्नुपर्छ, किनभने मानवजातिलाई परमेश्‍वरले नै बनाउनुभएको हो। यदि तँ सधैँ “के हामी अनन्त जीवन प्राप्त गर्नको लागि परमेश्‍वरमा विश्‍वास गर्दैनौं र? के हामी मुक्ति पाउनलाई परमेश्‍वरमा विश्‍वास गर्दैनौं र?” भनेर भन्छस् भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास कुनै कुरा प्राप्त गर्नको लागि गरिने, सतही कार्य जस्तै हुन्छ। परमेश्‍वरमाथिको विश्‍वासलाई व्यक्तिले यसरी हेर्नु हुँदैन।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यताको खोजी गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्नु हो” बाट उद्धृत गरिएको

आज परमेश्‍वरमाथिको वास्तविक विश्‍वास भनेको के हो? यो परमेश्‍वरको वचनलाई तेरो जीवन-वास्तविकताको रूपमा स्वीकार गर्नु र परमेश्‍वरबाट साँचो प्रेम हासिल गर्न उहाँलाई उहाँकै वचनबाट चिन्‍नु हो। अझ स्पष्ट रूपमा भन्दा: परमेश्‍वरमा विश्‍वास गर्नु भनेको तैँले उहाँको आज्ञापालन गर्नु, उहाँलाई प्रेम गर्नु र परमेश्‍वरको सृष्टिले गर्नुपर्ने कर्तव्य पूरा गर्नको लागि हो। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य यही नै हो। तैँले परमेश्‍वरको प्रेमिलोपनको, उहाँ हाम्रो आदरको कति योग्य हुनुहुन्छ, र परमेश्‍वरले उहाँका सृष्टिहरूमा कसरी मुक्तिको काम गर्नुहुन्छ र तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ भन्ने ज्ञान प्राप्त गर्नैपर्छ—यी परमेश्‍वरमाथिको तेरा विश्‍वासका अत्यावश्यक तत्वहरू हुन्। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले देहको जीवनबाट परमेश्‍वरलाई प्रेम गर्ने जीवनमा सर्नु हो; भ्रष्टतामा जिउनुबाट परमेश्‍वरको वचन पालन गर्ने जीवनमा सर्नु हो; यो शैतानको अधिकार-क्षेत्रबाट बाहिर निस्केर परमेश्‍वरको वास्ता र सुरक्षामा जिउनु हो; यो परमेश्‍वरमा आज्ञाकारी हुन सक्नु र देहको आज्ञाकारी नहुनु हो; यो परमेश्‍वरलाई तेरो सम्पूर्ण हृदय प्राप्त गर्न दिनु हो, जसद्वारा परमेश्‍वरलाई तँलाई सिद्ध बनाउन दिनु हो, र तैँले आफैलाई भ्रष्ट शैतानिक स्वभावबाट मुक्त गर्नु हो। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको विशेष रूपले परमेश्‍वरको शक्ति र महिमा तँमा प्रकट हुन दिनु हो, तैँले परमेश्‍वरको इच्छाको काम गर्नु र उहाँको योजना पूरा गर्नु हो, साथै शैतानको सामु परमेश्‍वरको साक्षी दिन सक्नु हो। परमेश्‍वरमाथिको विश्‍वास चिन्हहरू र अचम्‍मका कामहरू हेर्न चाहने तेरो इच्छामा केन्द्रित हुनुहुँदैन, न त त्यो तेरो व्यक्तिगत देहको निम्ति नै हुनुपर्छ। त्यो परमेश्‍वरलाई चिन्ने, र परमेश्‍वरको आज्ञापालन गर्न सक्ने हुन, अनि पत्रुसले झैं मृत्युसम्म उहाँको आज्ञापालन गर्ने विषयमा हुनुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्नुका मुख्य उद्देश्यहरू यिनै हुन्। व्यक्तिले परमेश्‍वरलाई चिन्न र उहाँलाई सन्तुष्ट पार्नका निम्ति परमेश्‍वरको वचन खान्छ र पिउँछ। परमेश्‍वरको वचन खाँदा र पिउँदा त्यसले तँलाई परमेश्‍वरको बारेमा महान् ज्ञान दिन्छ, त्यसपछि मात्र तैँले उहाँको आज्ञापालन गर्न सक्छस्। परमेश्‍वर सम्‍बन्धी ज्ञानद्वारा मात्रै तैँले उहाँलाई प्रेम गर्न सक्छस्, अनि परमेश्‍वरमाथिको मानिसको विश्‍वासमा हुनुपर्ने उद्देश्य यही नै हो। यदि परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ सधैँ चिन्हहरू र अचम्‍मका कामहरू हेर्ने मात्र कोसिस गर्छस् भने, परमेश्‍वरमाथिको विश्‍वासको यो दृष्टिकोण गलत छ। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले परमेश्‍वरको वचनलाई जीवन-वास्तविकताको रूपमा ग्रहण गर्नु हो। परमेश्‍वरको मुखबाट निस्केको वचनलाई अभ्यास गरेर अनि तिनलाई तँ आफैमा लागू गरेर मात्र परमेश्‍वरको उद्देश्य पूरा हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्दा, मानिसले परमेश्‍वरद्वारा सिद्ध हुने, परमेश्‍वरमा समर्पित हुन सक्‍ने र परमेश्‍वरप्रति पूर्ण आज्ञाकारी हुने कार्यको खोजी गर्नुपर्छ। यदि तैँले कुनै गुनासो नगरी परमेश्‍वरको आज्ञापालन गर्न सक्छस्, परमेश्‍वरका इच्छाहरूलाई ध्यानमा राख्छस्, पत्रुसको कद हासिल गर्न सक्छस्, अनि परमेश्‍वरले भन्नुभएको जस्तो पत्रुसको शैली प्राप्त गर्न सक्छस् भने, तब तैँले परमेश्‍वरमाथिको विश्‍वासमा सफलता हासिल गरेको हुनेछ, अनि त्यसले तँ परमेश्‍वरद्वारा प्राप्त गरिएको छस् भन्ने सूचित गर्दछ।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ” बाट उद्धृत गरिएको

तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, तैँले उहाँका वचनहरू खानु र पिउनुपर्छ, उहाँका वचनहरू अनुभव गर्नुपर्छ, र उहाँका वचनहरूमा जिउनुपर्छ। केवल यसलाई मात्र परमेश्‍वरमा विश्‍वास गर्नु भनेर भन्न सकिन्छ! यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छु भनी भन्छस्, तर पनि उहाँका कुनै पनि वचनहरूलाई व्यवहारमा लागू गर्न वा कुनै वास्तविकता पैदा गर्न सक्दैनस् भने, यसलाई परमेश्‍वरमा विश्‍वास गर्नु भनिदैन। बरु, यो “भोक तृप्त गर्न रोटी खोज्नु” हो। वास्तविकताको सानो अंश समेत नजानी, नगण्य प्रमाणहरू, प्रयोगहीन कुराहरू, र सतही कुराहरूबारे मात्र बोल्‍नु: यिनीहरूले परमेश्‍वरमा विश्‍वास निर्माण गर्न सक्दैनन्, र तैँले परमेश्‍वरमा विश्‍वास गर्ने ठीक तरिकालाई बिलकुल बुझेको छैनस्। तैँले किन परमेश्‍वरका वचनहरू सम्‍भव भएसम्‍म धेरै खाने र पिउने गर्नुपर्छ? यदि तँ उहाँका वचनहरू खाने र पिउने गर्दैनस् तर स्वर्गमा चढ्न मात्र खोज्छस् भने, के त्यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? परमेश्‍वरमा विश्‍वास गर्नेले चाल्नु पर्ने पहिलो कदम के हो? कुन मार्गद्वारा परमेश्‍वरले मानिसलाई सिद्ध पार्नुहुन्छ? परमेश्‍वरका वचनहरू नखाई र नपिई तँलाई सिद्ध पारिन सकिन्छ? के तेरो वास्तविकताको रूपमा काम गर्ने परमेश्‍वरका वचनहरू विना तँलाई राज्यको व्यक्तिको रूपमा मान्‍न सकिन्छ? परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ यथार्थमा के हो? परमेश्‍वरमा विश्‍वास गर्नेहरू, कम्तीमा पनि, बाह्य रूपमा शिष्ट हुनुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरका वचनहरूले युक्त हुनुपर्छ। जे भए पनि, उहाँका वचनहरूबाट तँ फर्केर कहिल्यै टाढा जान सक्दैनस्। परमेश्‍वरलाई बुझ्ने र उहाँका अभिप्रायहरूलाई पूरा गर्ने सबै काम उहाँका वचनहरूद्वारा सफल हुन्छ। भविष्यमा, हरेक राष्ट्र, सम्प्रदाय, धर्म, र क्षेत्रलाई परमेश्‍वरका वचनहरूद्वारा विजय गरिनेछ। परमेश्‍वरले प्रत्यक्ष रूपमा बोल्नुहुनेछ, र सबै मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आफ्ना हातहरूमा पक्रनेछन्, र यो माध्यमद्वारा, मानवजाति सिद्ध हुनेछ। भित्र र बाहिर, परमेश्‍वरका वचनहरू सर्वत्र व्याप्त छन्: परमेश्‍वरका वचनहरूमा भित्र र बाहिर दुवै मग्न रहेर मानवजातिले आफ्ना मुखले परमेश्‍वरका वचनहरू बोल्नेछ, परमेश्‍वरका वचनहरू अनुसार अभ्यास गर्नेछ, र परमेश्‍वरका वचनहरूलाई आफूभित्र राख्नेछ। यसप्रकार मानवजाति सिद्ध हुनेछ। जसले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्छन् र उहाँलाई साक्षी दिन सक्छन्, ती मानिसहरू आफ्नो वास्तविकताको रूपमा परमेश्‍वरका वचनहरूले भरिएका छन्।

वचन देहमा देखा पर्नुहुन्छको “राज्यको युग नै वचनको युग हो” बाट उद्धृत गरिएको

परमेश्‍वरमा आफ्नो विश्‍वासको सम्बन्धमा मानिसहरूको सबै भन्दा ठूलो गल्ती उनीहरूले मुखले मात्र विश्‍वास गर्नु, र परमेश्‍वरलाई आफ्नो दैनिक जीवनबाट पूर्ण रूपले टाढा राख्‍नु हो। वास्तवमा, सबै मानिसहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छन्, तर परमेश्‍वर उनीहरूको दैनिक जीवनको हिस्सा भने हुनुहुन्‍न। मानिसहरूका मुखहरूले परमेश्‍वरलाई धेरै प्रार्थनाहरू चढाउँछन्, तर उनीहरूको हृदयमा परमेश्‍वरको स्थान थोरै छ, र त्यसैले परमेश्‍वरले तिनीहरूको बारम्बार जाँच गर्नुहुन्छ। किनभने मानिसहरू अशुद्ध छन्, जसले गर्दा उनीहरूको जाँच गर्नु बाहेक परमेश्‍वरसँग अरू कुनै विकल्प हुँदैन, ताकि उनीहरू लाजमा परून् र यी परीक्षाहरूका बीचमा आफैलाई चिन्‍न सकून्। यदि होइन भने, मानवजाति प्रधान दूतको सन्तानहरूको रूपमा परिणत हुन्थे, र अझ धेरै भ्रष्‍ट हुन्थे। परमेश्‍वरमा उनीहरूको विश्‍वासको प्रक्रियामा, परमेश्‍वरको अनन्त शुद्धीकरणको दायरामा हरेक व्यक्तिले आफ्नो व्यक्तिगत अभिप्रायहरू र उद्देश्यहरू ल्याउँछन्। यदि यसो भएन भने, परमेश्‍वरसँग कसैलाई पनि प्रयोग गर्ने कुनै उपाय हुँदैनथ्यो, र उहाँले जे काम मानिसमा गर्नुपर्थ्यो, त्यो कुनै पनि हालतमा हुँदैनथ्यो। परमेश्‍वरले पहिला मानिसहरूलाई शुद्ध पार्नुहुन्छ, र यो प्रक्रियामार्फत उनीहरूले आफैलाई चिन्‍न सक्छन् र परमेश्‍वरले उनीहरूलाई परिवर्तन गर्नुहुन्छ। त्यसपछि मात्रै परमेश्‍वरले आफ्नो जीवनद्वारा उनीहरूमा काम गर्नुहुन्छ, र त्यसरी मात्रै तिनीहरूको हृदयहरू परमेश्‍वरतिर पूर्ण रूपले फर्किन सक्छ। त्यसैले म भन्छु, परमेश्‍वरमा विश्‍वास गर्नु चाहिँ मानिसहरूले भने जस्तो सजिलो छैन। जसरी परमेश्‍वरले त्यसलाई हेर्नुहुन्छ, यदि तँसँग ज्ञान मात्रै छ तर उहाँको जीवनरूपी वचन छैन भने, र यदि तँ आफ्नो ज्ञानमा मात्र सीमित छस् तर सत्यतालाई अभ्यास गर्न र परमेश्‍वरको वचन अनुसार जिउन सक्दैनस् भने, तँसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय छैन भन्‍ने कुराको प्रमाण यही हो, तेरो हृदय परमेश्‍वरको होइन भनी यसले देखाउँछ। एक व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेर उहाँलाई चिन्दछ: यो नै अन्तिम लक्ष्य हो, र मानिसको खोजको लक्ष्य हो। तैँले परमेश्‍वरको वचन अनुसार जिउनलाई प्रयत्‍न गर्नैपर्छ, ताकि तेरो अभ्यासमा ती फलदायी हुन सकून्। यदि तँसँग सैद्धान्तिक ज्ञान मात्र छ भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास शून्य हुनेछ। यदि तैँले उहाँको वचन अभ्यास गरिस् र त्यसमा जिइस् भने मात्रै तेरो विश्‍वास पूर्ण भएको र उहाँको इच्छा अनुसार भएको मान्‍न सकिन्छ।

वचन देहमा देखा पर्नुहुन्छको “तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा तँ सत्यताको निम्ति जिउनुपर्छ” बाट उद्धृत गरिएको

तैँले किन परमेश्‍वरमा विश्‍वास गर्छस्? धेरै व्यक्तिहरू यस प्रश्नद्वारा अलमलमा पर्छन्। व्यावहारिक परमेश्‍वर र स्वर्गमा हुनुहुने परमेश्‍वरका बारेमा तिनीहरूमा सधैँभरि दुई वटा अत्यन्तै भिन्न प्रकारका दृष्टिकोणहरू छन्, जसले के देखाउँछ भने तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्नका लागि होइन, तर अरू केही फाइदाहरू पाउन, वा विपत्तिले ल्याउने कष्टबाट बच्नका लागि उहाँमा विश्‍वास गरेका हुन्छन्। त्यसपछि मात्र तिनीहरू केही हदसम्म आज्ञाकारी भएका हुन्छन्। तिनीहरूको आज्ञाकारीता सर्तसहितको हुन्छ। यो तिनीहरूका आफ्नै व्यक्तिगत अपेक्षाहरूका खातिर गरिएको हुन्छ, र यो जबरजस्ती गरिएको आज्ञापालन मात्रै हुन्छ। यसैले, आखिर तँ किन परमेश्‍वरमा विश्‍वास गर्छस्? यदि यो तेरा अपेक्षाहरू र भवितव्यको खातिर मात्र हो भने, तैँले विश्‍वास नै नगरेको भए अझ असल हुनेथियो। यस किसिमको विश्‍वासचाहिँ आफैलाई धोका दिने, आफैलाई दृढ पार्ने, र आफैलाई बढाइचढाइ गर्ने कुरा हो। यदि तेरो विश्‍वास परमेश्‍वरमाथिको आज्ञाकारीतामा निर्माण भएको छैन भने, तैँले उहाँको विरोध गरेकोमा अन्त्यमा तँलाई दण्ड दिइनेछ। आफ्ना विश्‍वासमा परमेश्‍वरमा आज्ञाकारी हुन नखोज्नेहरूले उहाँको विरोध गरेका हुन्छन्। मानिसहरूले सत्यताको खोजी गरून्, उहाँका वचनमा तिर्खाउन्, उहाँका वचनलाई खाऊन् र पिऊन्, र त्यसलाई व्यवहारमा प्रयोग गरून् भनी परमेश्‍वर चाहनुहुन्छ, यसरी तिनीहरूले परमेश्‍वरप्रतिको आज्ञाकारीतालाई प्राप्त गर्न सक्नेछन्। यदि तेरा सच्चा अभिप्रायहरू यी नै हुन् भने, अवश्य पनि परमेश्‍वरले तँलाई माथि उठाउनुहुनेछ, र अवश्य पनि तँप्रति अनुग्रहकारी हुनुहुनेछ। यो शङ्का गर्न नपर्ने र परिवर्तन नहुने कुरा हो। यदि तँ परमेश्‍वरको आज्ञा पालन नगर्ने अभिप्राय राख्छस्, अनि तेरा लक्ष्यहरू अरू नै छन् भने, तैँले भनेका र गरेका सबै कुराहरू—परमेश्‍वरको सामु गरेका प्रार्थनाहरू, र तेरो प्रत्येक कार्य समेत—उहाँका विरोधमा हुनेछन्। सायद तँ नम्र भएर बोल्ने र सहज व्यवहार गर्ने व्यक्ति हुनसक्छस्, तेरो प्रत्येक कार्य र अभिव्यक्ति उचित देखिन सक्छ, अनि तँ आज्ञा पालन गर्ने व्यक्तिजस्तो देखिन्छस् होला, तर जब परमेश्‍वरमाथिको तेरो विश्‍वासका अभिप्रायहरू र दृष्टिकोणहरूका कुरा आउँछन्, तब तैँले गरेका ती सबै कुराहरू परमेश्‍वरका विरोधमा हुन्छन्। तैँले गरेका सबै कुराहरू दुष्ट हुन्छन्। भेडाजस्तै आज्ञाकारी देखिने, तर जसका हृदयमा भने दुष्ट उद्देश्यहरू बोकेर हिँड्ने, मानिसहरू भेडाका भेषमा देखिने ब्‍वाँसाहरू हुन्। तिनीहरूले सीधै परमेश्‍वरलाई चिढ्याउँछन्, र परमेश्‍वरले तिनीहरूमध्ये एक जनालाई पनि बाँकी राख्नुहुनेछैन। पवित्र आत्माले तिनीहरू हरेकलाई प्रकाश गर्नुहुनेछ र ढोङ्गीहरू प्रत्येकलाई निश्चय नै पवित्र आत्माले तिरस्कार गर्नुहुनेछ र इन्कार गर्नुहुनेछ भन्ने कुरालाई उहाँले सबैका सामुन्ने देखाउनुहुनेछ। चिन्ता नगर्: परमेश्‍वरले तिनीहरू प्रत्येकबाट लेखा लिनुहुनेछ र तिनीहरू प्रत्येकलाई त्याग्नुहुनेछ।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ” बाट उद्धृत गरिएको

आज, तैँले व्यावहारिक परमेश्‍वरमा विश्‍वास गर्नलाई सही मार्गमा पाइला राख्‍नुपर्छ। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तैँले आशिषहरू मात्रै खोज्नु हुँदैन, तर परमेश्‍वरलाई प्रेम गर्न र उहाँलाई चिन्‍न खोज्नुपर्छ। उहाँको प्रकाशद्वारा, तेरो आफ्नै व्यक्तिगत खोजीद्वारा, तैँले उहाँको वचन खान र पिउन सक्छस्, परमेश्‍वरको वास्तविक बुझाइको विकास गर्न, र परमेश्‍वरको साँचो प्रेम पाउन सक्छस्, जुन तेरो भित्री हृदयबाट आउँछ। अर्को शब्दमा, जब परमेश्‍वरको लागि तेरो प्रेम धेरै निष्कपट हुन्छ, र उहाँको लागि तेरो प्रेमलाई कसैले नाश पार्न सक्दैन अथवा कोही तेरो मार्गमा खडा हुन सक्दैन, यस समयमा तँ परमेश्‍वरको विश्‍वासको सही मार्गमा छस्। यसले प्रमाणित गर्दछ कि तँ परमेश्‍वरको होस्, किनभने तेरो हृदय अघिबाटै परमेश्‍वरको नियन्त्रणमा छ र अरू केही कुराले पनि तँलाई नियन्त्रण गर्न सक्दैन। तेरो अनुभवद्वारा, तैँले चुकाउनुभएको मूल्यद्वारा, र परमेश्‍वरको कार्यद्वारा उहाँको लागि अचुक प्रेम विकास गर्न तँ सक्षम भएको छ—र जब तैँले यसो गर्छस्, तँ शैतानको प्रभावबाट स्वतन्त्र हुनेछस् र परमेश्‍वरको वचनको प्रकाशमा जिउनेछस्। जब तँ अन्धकारको प्रभावबाट स्वतन्त्र बन्छस् तब मात्र परमेश्‍वरले तँलाई आफ्नो बनाउनुभएको छ भनी भन्‍न सकिन्छ। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा यो लक्ष्य खोज्न कोसिस गर्नुपर्छ। यो तिमीहरू प्रत्येकको कर्तव्य हो। तिमीहरू कोही पनि अहिलेको अवस्थामा सन्‍तुष्‍ट हुनु हुँदैन। तिमीहरू परमेश्‍वरको कामप्रति दोमनमा पर्नु हुँदैन, न त यसलाई तिमीहरूले हल्का रूपमा लिन सक्छौ। तिमीहरूले परमेश्‍वरको बारेमा पूर्ण श्रद्धाका साथ हरसमय विचार गर्नुपर्छ, र सबै कुराहरू उहाँको खातिर गर्नुपर्छ। र जब तिमीहरू बोल्छौ अथवा काम गर्छौ, तिमीहरूले परमेश्‍वरको घरको हितलाई पहिलो स्थानमा राख्‍नुपर्छ। यसरी मात्रै तिमीहरू परमेश्‍वरको हृदय अनुसारको व्यक्ति बन्‍न सक्छौ।

वचन देहमा देखा पर्नुहुन्छको “तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा तँ सत्यताको निम्ति जिउनुपर्छ” बाट उद्धृत गरिएको

तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् र परमेश्‍वरलाई नै पछ्याउँछस्, र त्यसकारण तेरो हृदयमा तैँले परमेश्‍वरलाई प्रेम गर्नैपर्छ। तैँले आफ्‍नो भ्रष्ट स्वभावलाई पन्छ्याउनैपर्छ, तैँले परमेश्‍वरको चाहनालाई पूरा गर्न खोज्नुपर्छ, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको कर्तव्यलाई तैँले निभाउनैपर्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने र पछ्याउने हुनाले, तैँले सबै कुरा उहाँलाई नै चढाउनुपर्छ, र तैँले व्यक्तिगत छनौटहरू वा मागहरू गर्नुहुँदैन, अनि तैँले परमेश्‍वरका चाहनाहरूको पूर्णता हासिल गर्नुपर्छ। तँलाई सृष्टि गरिएको हुनाले, तैँले तँलाई सृष्टि गर्नुहुने प्रभुको आज्ञापालन गर्नुपर्छ, किनभने अन्तर्निहित रूपमा तँप्रति तेरो आफ्‍नै प्रभुत्व छैन, र तेरो आफ्नै गन्तव्यलाई नियन्त्रण गर्ने कुनै क्षमता तँसँग छैन। तँ परमेश्‍वरलाई विश्‍वास गर्ने व्यक्ति भएको हुनाले, तैँले पवित्रता र परिवर्तनको खोजी गर्नुपर्छ। तँ परमेश्‍वरको सृष्टि होस्, त्यसकारण तैँले तेरो कर्तव्यलाई पालना गर्नुपर्छ, र तेरो स्थानलाई कायम राख्‍नुपर्छ, अनि तैँले आफ्‍नो कर्तव्यलाई नाघ्‍नु हुँदैन। यो तँलाई धर्मसिद्धान्तद्वारा बन्धनमा पार्नु, वा तँलाई दबाउनको लागि होइन, तर यो त तैँले तेरो कर्तव्य निभाउन सक्‍ने मार्ग हो, र धार्मिकताको काम गर्ने सबैले यसलाई हासिल गर्नुपर्छ र हासिल गर्न सक्छन्।

वचन देहमा देखा पर्नुहुन्छको “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा नै निर्भर हुन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरको सेवा गर्ने कुनै व्यक्तिले उहाँको निम्ति कसरी दुःख भोग्नुपर्छ भन्ने कुरा मात्र होइन, योभन्दा पनि बढी परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य परमेश्‍वरको प्रेमको पछि लाग्नु नै हो भन्‍ने कुरा पनि बुझ्‍नुपर्छ। परमेश्‍वरले तँलाई शोधन गर्न वा तँलाई दुःख दिनका निम्ति मात्र तँलाई प्रयोग गर्नुहुन्न, बरु तैँले उहाँका कामहरू जान्‍न सक्, मानव जीवनको वास्तविक महत्त्वलाई बुझ्‍न सक्, अनि विशेष गरी, परमेश्‍वरको सेवा गर्नु सजिलो काम होइन भनी तैँले बुझ्‍न सक् भनी तँलाई प्रयोग गर्नुहुन्छ। परमेश्‍वरको कामको अनुभव गर्नु भनेको उहाँको अनुग्रहबाट आनन्द पाउनु होइन, बरु उहाँप्रति भएको तेरो प्रेमको निम्ति दुःख भोग्नु हो। तैँले परमेश्‍वरको अनुग्रह उपभोग गर्छस् भने तैँले उहाँको सजाय पनि उपभोग गर्नुपर्छ; तैँले यो सब अनुभव गर्नैपर्छ। तैँले आफूभित्र परमेश्‍वरको ज्ञानको अनुभव गर्न सक्छस्, र उहाँले तँसँग कसरी निराकरण र न्याय गर्नुहुन्छ भन्ने पनि तैँले अनुभव गर्न सक्छस्। यस्तो प्रकारले तेरो अनुभव व्यापक हुनेछ। परमेश्‍वरले तँमाथि उहाँको न्याय र सजायको काम पूरा गर्नुभएको छ। परमेश्‍वरको वचनले तँलाई निराकरण गर्नुभएको छ, तर त्यति मात्र होइन यसले तँलाई ज्ञान र प्रकाश पनि दिएको छ। जब तँ नकारात्मक र कमजोर बन्छस्, परमेश्‍वरले तेरो निम्ति चिन्ता गर्नुहुन्छ। यी सबै काम मानिसको विषयमा सबै कुरा परमेश्‍वरका योजनाहरूभित्र हुँदछ भन्‍ने कुरा तँलाई जान्‍न दिनको लागि नै गरिन्छ। हुन सक्छ, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको दुःख भोग्नका निम्ति हो, वा उहाँका निम्ति हरकिसिमका कुराहरू गर्नु हो भन्‍ने तँ ठान्छस् होला; परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य तेरो शरीर शान्तिमा रहोस् भन्ने हो वा तेरो जीवनका सबै कुरा राम्ररी चलोस्, वा सबै कुरामा तँलाई सुविधा र सहज होस् भन्‍ने तँलाई लाग्‍नसक्छ। तापनि मानिसले परमेश्‍वरमा भएको तिनीहरूका विश्‍वासमा यी कुनै पनि उद्देश्यहरूलाई जोड्नुहुँदैन। यदि तँ यी उद्देश्यहरूका निम्ति विश्‍वास गर्छस् भने तेरो दृष्टिकोण गलत छ, अनि तँलाई सिद्ध पारिनु यसै पनि असम्भव हुन्छ। परमेश्‍वरका कामहरू, परमेश्‍वरको धार्मिक स्वभाव, उहाँको बुद्धि, उहाँका वचनहरू, उहाँको आश्‍चर्यपन र अज्ञातता, यी सबै कुरा मानिसहरूले बुझ्नुपर्ने कुराहरू हुन्। यो बुझेपछि तैँले आफ्नो हृदयका सबै व्यक्तिगत मागहरू, आशाहरू, र विचारहरूबाट छुटकारा पाउन यसको प्रयोग गर्नुपर्छ। यी कुराहरूलाई हटाएर मात्र तँ परमेश्‍वरले माग गर्नुभएका शर्तहरूलाई पूरा गर्न सक्छस्, र त्यसो गरेर मात्र तैँले जीवन प्राप्त गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छस्। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य उहाँलाई सन्तुष्ट पार्नु र उहाँले माग गर्नुभएको स्वभावअनुसार जिउनु हो, ताकि अयोग्य मानिसहरूको यस झुन्डबाट उहाँको कार्य र महिमा प्रकट हुन सकोस्। यो परमेश्‍वरमा विश्‍वास गर्ने सही दृष्टिकोण हो अनि तैँले खोज्नुपर्ने लक्ष्य पनि यही नै हो। तँसित परमेश्‍वरमा विश्‍वास गर्ने बारेमा सही दृष्टिकोण हुनुपर्छ र तैँले परमेश्‍वरको वचन प्राप्त गर्ने कोसिस गर्नुपर्छ। तैँले परमेश्‍वरको वचन खानु र पिउनु पर्छ र तँ सत्यतामा जिउन सक्नुपर्छ, अनि विशेष गरी तैँले सम्पूर्ण ब्रह्माण्डमा भएका उहाँका व्यावहारिक कार्यहरू, उहाँका अचम्मका कामहरू साथै उहाँले देहमा गर्नुहुने व्यावहारिक कार्यहरू देख्न सक्नुपर्छ। आफ्‍ना व्यावहारिक अनुभवहरूद्वारा मानिसहरूले उनीहरूमा परमेश्‍वरले कसरी काम गर्नुहुन्छ र तिनीहरूप्रति उहाँको इच्छा के छ सो बुझ्न सक्छन्। यी सबैको उद्देश्य भनेको मानिसहरूको भ्रष्ट शैतानिक स्वभावलाई हटाउनु हो। तँभित्रका सबै अशुद्धता अधार्मिकता र हटाएपछि, अनि तेरा गलत उद्देश्यहरू फालेपछि र परमेश्‍वरमा साँचो विश्‍वास विकास गरेपछि—साँचो विश्‍वासद्वारा मात्र तैँले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्छस्। परमेश्‍वरमा भएको तेरो विश्‍वासको आधारमा मात्र तैँले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्छस्। के परमेश्‍वरमा विश्‍वास नगरी तैँले उहाँको निम्ति प्रेम प्राप्त गर्न सक्छस्? तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् यसैले तँ त्यस विषयमा भ्रमित बन्न सक्दैनस्। केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्दा आशिषहरू पाइन्छ भन्‍ने देख्‍न साथ जोशले भरिन्छन्, तर तिनीहरूले शोधनको कष्ट भोग्नुपर्छ भन्‍ने देख्‍नसाथ सबै ऊर्जा गुमाउँछन्। के त्यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? आखिरीमा तैँले आफ्नो विश्‍वासमा परमेश्‍वरको सामु पूर्ण र पूरा आज्ञापालन प्राप्त गर्नुपर्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्छस्, तर अझै पनि उहाँबाट मागहरू गर्छस्, तैँले दबाउन नसक्ने धेरै वटा धार्मिक धारणाहरू छन्, तैँले छोड्न नसक्ने व्यक्तिगत रुचिहरू छन्, र अझै पनि तँ देहको आशिष् खोज्छस् र परमेश्‍वरले तेरो शरीरलाई उद्धार गर्नुभएको, तेरो प्राणलाई मुक्ति दिनुभएको चाहन्छस् साँचो रूपमा यी सबै गलत दृष्टिकोण भएका मानिसहरूमा हुने व्यवहारहरू हुन्। धार्मिक विश्‍वास हुने मानिसहरूमा परमेश्‍वरप्रति विश्‍वास भए पनि तिनीहरू आफ्नो स्वभाव परिवर्तन गर्न खोज्दैनन् र परमेश्‍वरको ज्ञानको खोजी गर्दैनन्, तर तिनीहरूका देहको हित हुने कुराहरू मात्र खोज्छन्। तिमीहरूमध्ये धेरै जनामा धार्मिक निश्‍चयताको वर्गमा पर्ने विश्‍वास छ; यो परमेश्‍वरमाथिको साँचो विश्‍वास होइन। परमेश्‍वरमा विश्‍वास गर्नको निम्ति मानिसहरूमा त्यस्तो हृदय हुनुपर्छ, जुन उहाँको निम्ति दुःख भोग्न तयार हुन्छ र आफैलाई त्याग्ने इच्छा गर्छ। मानिसले यी दुईवटा शर्त पूरा नगरे परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास मान्य हुँदैन, र तिनीहरू आफ्नो स्वभावमा परिवर्तन ल्याउन सक्षम हुँदैनन्। साँचो रूपले सत्यताको पछि लाग्‍ने, परमेश्‍वरको ज्ञानको खोजी गर्ने र जीवनको पछि लाग्‍ने मानिसहरू मात्रै परमेश्‍वरमा साँच्चै विश्‍वास गर्नेहरू हुन्।

वचन देहमा देखा पर्नुहुन्छको “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरमा विश्‍वास गर्नको लागि उहाँप्रति आज्ञाकारी हुनुपर्छ र उहाँको कामको अनुभव चाहिन्छ। परमेश्‍वरले यति धेरै काम गर्नुभयो—यो भन्न सकिन्छ कि, मानिसहरूका लागि यो सिद्धता, शोधन र अझ बढी, सजाय नै हो। परमेश्‍वरको कामको एक चरण पनि मानव धारणासँग मिल्दोजुल्दो छैन; मानिसहरूले आनन्द लिएका कुरा भनेको परमेश्‍वरको कठोर वचनहरू हुन्। जब परमेश्‍वर आउनुहुन्छ, मानिसहरूले उहाँको प्रताप र उहाँको क्रोध उपभोग गर्नुपर्दछ। यद्यपि, उहाँको वचन जति नै कठोर भए पनि, उहाँ मानव जातिलाई मुक्ति दिन र सिद्ध पार्न आउनुहुन्छ। प्राणीहरूको रूपमा, मानिसहरूले आफूले गर्नुपर्ने कर्तव्यहरू पूरा गर्नुपर्दछ, र शोधनको बीचमा परमेश्‍वरका लागि साक्षी बनेर खडा हुनुपर्छ। प्रत्येक परीक्षामा तिनीहरूले आफूले बोक्नुपर्ने गवाही थामेर राख्नुपर्छ, र परमेश्‍वरको खातिर त्यो शानदार तरिकाले गर्नुपर्दछ। यसो गर्ने व्यक्ति विजेता हो। परमेश्‍वरले तँलाई जसरी शोधन गर्नुभए पनि, तँमा पूरा आत्मविश्‍वास हुन्छ र तैँले उहाँमाथिको भरोसा कहिल्यै गुमाउँदैनस्। मानिसहरूले जे गर्नु पर्ने हो तँ त्यही गर्छस्। परमेश्‍वरले मानिसबाट यही माग गर्नुहुन्छ, र मानिसको हृदय पूर्ण रूपमा उहाँमा फर्कनु र बितेर जाने हरेक क्षणमा उहाँतर्फ फर्कन सक्ने हुनुपर्दछ। यो एक विजेता हो। परमेश्‍वरले जस-जसलाई “विजेताहरू” भनी सम्बोधन गर्नुहुन्छ तिनीहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानको घेराबन्दीमा पर्छन्, अर्थात् जब तिनीहरूले आफैलाई अन्धकारको शक्ति बीचमा पाउँछन् त्यस बेला पनि तिनीहरू गवाही बनी खडा हुन सक्छन् र परमेश्‍वरमाथिको आफ्नो निश्‍चयता र भक्तिलाई कायम राख्न सक्छन्। यदि तैँले जुनसुकै अवस्थामा परमेश्‍वरको सामु शुद्ध हृदय राख्न र परमेश्‍वरप्रति तेरो साँचो प्रेमलाई कायम राख्‍न सक्छस् भने, तँ परमेश्‍वरको सामुन्ने गवाही बनी खडा भइरहेको हुन्छस्, र परमेश्‍वरले यसैलाई “विजेता” हुनु भनी भन्‍नुहुन्छ। यदि परमेश्‍वरले तँलाई आशिष् दिनुहुँदा तेरो खोजी सर्वोत्कृष्ट हुन्छ तर उहाँको आशिषविना तँ पछि हट्छस् भने के यो शुद्धता हो? यो मार्ग सत्य हो भनी तँ निश्चित भएको हुनाले, तैँले यसलाई अन्त्यसम्मै पछ्याइरहनुपर्छ; तैँले परमेश्‍वरप्रतिको आफ्नो भक्तिलाई कायमै राख्नुपर्छ। तँलाई सिद्ध बनाउन परमेश्‍वर स्वयम्‌ आउनुभएको तैँले देखेका हुनाले, तैँले आफ्नो सम्पूर्ण हृदय उहाँलाई दिनुपर्दछ। उहाँले जे गर्नुभए पनि यदि तँ उहाँलाई पछ्याउन सक्छस् भने, अन्त्यमा उहाँले तेरो निम्ति प्रतिकूल परिणाम निर्धारित गर्नुभए पनि, त्यसले परमेश्‍वरको अगाडि तिम्रो शुद्धतालाई कायम राखिरहेको हुन्छ। परमेश्‍वरलाई पवित्र आत्मिक शरीर र शुद्ध कुमारित्व चढाउनु भनेको परमेश्‍वरको अगाडि इमानदार हृदय राख्नु हो। मानव जातिका लागि, इमानदारीता भनेको शुद्धता हो, र परमेश्‍वरप्रति इमानदार हुन सक्ने क्षमता हुनु भनेको शुद्धता कायम राख्नु हो। तैँले अभ्यास गर्नुपर्ने कुरा यही हो। जब तैँले प्रार्थना गर्नुपर्छ, तब प्रार्थना गर्; जब तँ सङ्गतिमा भेला हुनुपर्छ, तैँले त्यसै गर्नुपर्छ; जब तैँले भजन गाउनुपर्छ, तैँले भजनहरू गा; जब तैँले देहलाई त्याग्नुपर्छ, तैँले शरीरलाई त्यागी दे। जब तैँले आफ्नो कर्तव्य पूरा गर्छस्, तैँले त्यसमा अलमल गर्नु हुँदैन; जब तैँले परीक्षाहरूको सामना गर्नुपर्छ, तँ दृढ भई खडा हुनू। परमेश्‍वरप्रतिको भक्ति यही हो।

वचन देहमा देखा पर्नुहुन्छको “तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरमाथिको मानिसको विश्‍वासको सबैभन्दा आधारभूत मागभनेको ऊसँग इमानदार हृदय हुनुपर्छ, र उसले आफैलाई पूर्ण रूपमा समर्पित गरेर साँचो रूपमा आज्ञापालन गर्नुपर्छ भन्‍ने हो। साँचो विश्‍वासको साटोमा आफ्‍नो सम्पूर्ण जीवन दिनु नै मानिसको लागि सबैभन्दा कठिन कुरा हो, जसद्वारा उसले सम्पूर्ण सत्यता प्राप्त गर्न सक्छ, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको उसको कर्तव्यलाई पूरा गर्न सक्छ। असफल हुनेहरूले प्राप्त गर्न नसक्‍ने कुरा यही नै हो, र ख्रीष्टलाई भेट्टाउन नसक्‍नेहरूको लागि यो प्राप्त गर्नु अझै बढी कठिन हुन्छ। आफैलाई परमेश्‍वरमा पूर्ण रूपमा समर्पित गर्नमा मानिस त्यति असल नभएकोले, सृष्टिकर्ताप्रतिको आफ्‍नो कर्तव्य निभाउन मानिस इच्‍छुक नभएकोले, मानिसले सत्यतालाई देखे पनि यसबाट टाढा बसी आफ्‍नै मार्गमा हिँड्ने हुनाले, मानिसले सधैँ असफल भएकाहरूको मार्गलाई पछ्याएर खोजी गर्ने हुनाले, मानिसले सधैँ स्वर्गको अवज्ञा गर्ने हुनाले, यसैले, मानिस सधैँ असफल हुन्छ, सधैँ शैतानको छलमा पर्छ, र उसको आफ्‍नै जालमा फस्छ। मानिसले ख्रीष्टलाई नचिन्‍ने हुनाले, मानिस सत्यतालाई बुझ्‍न र अनुभव गर्नमा माहिर नभएकोले, मानिस पावलप्रति अत्यन्तै भक्त भएकोले र स्वर्गको अत्यन्तै लालच गर्ने हुनाले, मानिसले सधैँ ख्रीष्‍टलाई उसको आज्ञापालन गर्न माग गर्ने र परमेश्‍वरलाई हुकुम गर्ने हुनाले, यसैले ती महान् व्यक्तित्वहरू र संसारका विभिन्‍न घटनाहरूको अनुभव गर्नेहरू मरणशील नै हुन्, र अझै पनि तिनीहरू परमेश्‍वरको सजायको दौरान नै मर्नेछन्। त्यस्ता मानिसहरूको बारेमा मैले भन्‍न सक्‍ने भनेको तिनीहरू दुःखद मृत्यु मर्छन्, र तिनीहरूको परिणाम—तिनीहरूको मृत्यु—न्यायोचित नै हुन्छन् भन्‍ने हो। के तिनीहरूको असफलता स्वर्गको कानुनको लागि अझै असहनीय हुँदैन र? मानिसको संसारबाट सत्यता आउँछ, तैपनि मानिसमाझको सत्यता ख्रीष्‍टले नै हस्तान्तरण गर्नुभएको हो। यो ख्रीष्टबाट, अर्थात् परमेश्‍वर स्वयम्‌बाट उत्पन्न हुन्छ, र यसको लागि मानिस सक्षम छैन। तैपनि ख्रीष्टले सत्यता मात्रै दिनुहुन्छ; मानिस सत्यता सम्‍बन्धी आफ्‍नो खोजीमा सफल हुनेछ कि हुनेछैन भन्‍ने कुराको निर्णय गर्न उहाँ आउनुहुन्‍न। त्यसैले सत्यता सम्‍बन्धी सफलता वा असफलताको कुरा सबै मानिसको खोजीमा नै निर्भर हुन्छ। सत्यता सम्‍बन्धी मानिसको सफलता वा असफलता ख्रीष्टसँग कहिल्यै सम्‍बन्धित रहेको छैन, तर त्यसको सट्टा यसलाई उसकै खोजीले निर्धारित गर्छ। मानिसको गन्तव्य अनि उसको सफलता वा असफलतालाई परमेश्‍वरले नै बोक्‍नुभएको होस् भनेर यसलाई परमेश्‍वरको शिरमा थोपर्न मिल्दैन, किनभने यो परमेश्‍वर स्‍वयम्‌को मामला होइन, तर यो परमेश्‍वरका सृष्टिहरूले पूरा गर्नुपर्ने कर्तव्यसँग नै प्रत्यक्ष रूपमा सम्‍बन्धित छ।

वचन देहमा देखा पर्नुहुन्छको “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा नै निर्भर हुन्छ” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मानिसहरूको देहको जीवन एकै क्षणमा, केही दशकमा समाप्त हुन्छ। पछाडि फर्केर हेर्दै, तिनीहरू आफ्नो जीवनलाई सम्झन्छन्: स्कूल गएको, काम गरेको, बिहे गरेको, छोराछोरी जन्माएको, मृत्यु पर्खेको, तिनीहरूको सम्पूर्ण जीवन परिवार, पैसा, हैसियत, सम्पत्ति र इज्जतको लागि व्यस्त बनेर यताउता दौडधूप गर्नुमा बितेको हुन्छ, मानव अस्तित्वको वास्तविक दिशा र उद्देश्यबाट पूर्ण रूपमा वञ्चित रहेको हुन्छ, र जीवित रहनुमा कुनै महत्त्व वा अर्थ पाउन सकेको हुँदैन। त्यसैले मानिसहरू एक पुस्तादेखि अर्को पुस्तासम्‍म यस्तो पीडादायक र खोक्रो तरिकाले जिउँछन्। किन मानिसहरूको जीवन यति पीडादायी र खोक्रो छ? र मानव अस्तित्वको पीडा र खोक्रोपनको समाधान कसरी गर्न सकिन्छ?

परमेश्‍वरका प्रासंगिक वचनहरू: मानिसहरूले भोग्ने जन्म, मृत्यु, बिराम अनि वृद्धावस्था हुने आजीवन कष्टको स्रोत के हो? के कुराले मानिसहरूमा यी...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्