पुनरुत्थानपछि येशूले रोटी खानुहुन्छ र धर्मशास्‍त्रको व्याख्या गर्नुहुन्छ र चेलाहरूले येशूलाई पोलेको माछा खान दिन्छन्

13 अगस्ट 2021

पुनरुत्थानपछि येशूले रोटी खानुहुन्छ र धर्मशास्‍त्रको व्याख्या गर्नुहुन्छ

लूका २४:३०-३२ अनि यस्तो भयो, उहाँ तिनीहरूसँग खान बस्‍नुहुँदा, उहाँले रोटी लिनुभयो र त्यसलाई आशिष्‌ दिनुभयो र त्यो भाँच्‍नुभयो र तिनीहरूलाई दिनुभयो। अनि तिनीहरूका आँखा खुले र तिनीहरूले उहाँलाई चिने; अनि उहाँ तिनीहरूका नजरबाट अलप हुनुभयो। अनि तिनीहरूले एक अर्कालाई भने, उहाँले हामीसँग कुरा गर्नुहुँदा र उहाँले हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय हामीभित्र जलेको थिएन र?

चेलाहरूले येशूलाई पोलेको माछा खान दिन्छन्

लूका २४:३६-४३ अनि जब तिनीहरू कुरा गरिरहेका थिए तब येशू स्वयम् तिनीहरूको माझमा खडा हुनुभयो र तिनीहरूलाई भन्‍नुभयो, तिमीहरूलाई शान्ति होस्। तर तिनीहरू भयभीत भएर डराए अनि आफूले प्रेत देख्यौँ भन्‍ने ठाने। अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, तिमीहरू किन व्याकुल हुन्छौ? र तिमीहरूका मनमा किन विचारहरू उत्पन्‍न हुन्छन्? मेरा हात र मेरा खुट्टाहरू हेर, म स्वयम् नै हुँ: मलाई छोओ र हेर; किनकि प्रेतको देह र हाड हुँदैन, तिमीहरूले देख्छौ कि मेरा त छन्। अनि उहाँले बोल्‍नुभएपछि उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टा देखाउनुभयो। तिनीहरूले आनन्दको कारण विश्‍वास गर्न नसकेर छक्क पर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो, तिमीहरूसँग केही मासु छ? अनि तिनीहरूले उहाँलाई पोलेको माछाको एक टुक्रा र महको चाका दिए। अनि उहाँले त्यो लिनुभयो र तिनीहरूका अगाडि खानुभयो।

यसपछि, हामी धर्मशास्‍त्रबाट लिइएका माथिका खण्डहरूलाई हेर्नेछौं। पहिलो खण्ड आफ्नो पुनरुत्थानपछि प्रभु येशूले रोटी खानुभएको र धर्मशास्‍त्र व्याख्या गर्नुभएको बारेमा रहेको वृत्तान्त हो, र दोस्रो खण्ड प्रभु येशूले पोलेको माछा खानुभएको बारेमा रहेको वृत्तान्त हो। यी दुई खण्डहरूले तिमीहरूलाई कसरी परमेश्‍वरको स्वभाव जान्‍न सहयोग गर्छन्? प्रभु येशूले रोटी र त्यसपछि पोलेको माछा खानुभएको वृत्तान्तहरूबाट तिमीहरूको दिमागमा कस्तो प्रकारको चित्रको ख्याल आउँछ, के तिमीहरू कल्पना गर्न सक्छौ? यदि प्रभु येशू तिमीहरूको सामु रोटी खाँदै उभिरहनुभएको थियो भने, तिमीहरूले कस्तो महसुस गर्थ्यौ, के तिमीहरू कल्पना गर्न सक्छौ? वा, यदि उहाँ तिमीहरूसित एउटै टेबुलमा खाँदै हुनुहुन्थ्यो, मानिसहरूसित माछा र रोटी खाँदै हुनुहुन्थ्यो भने, त्यस क्षणमा तँलाई कस्तो अनुभूति हुनेथ्यो? यदि तँ प्रभुको धेरै नजिक भएको, अनि उहाँ तँसित अति घनिष्ठ रहनुभएको महसुस गर्छस् भने, यो अनुभूति ठीक हुन्छ। आफ्नो पुनरुत्थानपछि भेला भएका मानिसहरूको अघि रोटी र माछा खाएर प्रभु येशूले ठीक यही परिणाम ल्याउन चाहनुहुन्थ्यो। यदि प्रभु येशूले आफ्नो पुनरुत्थानपछि मानिसहरूसित बोल्नु मात्र भएको भए, यदि तिनीहरूले उहाँको देह र हाडहरूलाई महसुस गर्न नसकी उहाँलाई पहुँच प्राप्त गर्न नसकिने आत्माको रूपमा महसुस गरेका भए, तिनीहरूले कस्तो महसुस गर्नेथे? के तिनीहरू हतोत्साहित हुनेथेनन् र? हतोत्साहित अनुभव गरेर के मानिसहरूले त्यागिएको अनुभव गर्नेथिएनन् र? के तिनीहरूले आफू र प्रभु येशू ख्रीष्टको बीचमा दूरी अनुभव गर्नेथेनन् र? यस दूरीले परमेश्‍वरसँगको मानिसहरूको सम्बन्धमा कस्तो नकारात्मक प्रभाव सृजना गर्नेथ्यो? मानिसहरू निश्‍चय नै डराउनेथे, त्यसकारण तिनीहरू उहाँको नजिक जाने साहस गर्दैनथे, र यसरी तिनीहरूसँग उहाँलाई एउटा सम्‍मानजनक दूरीमा राख्‍ने मनोवृत्ति हुनेथ्यो। त्यस बेलादेखि तिनीहरूले प्रभु येशू ख्रीष्टसँगको घनिष्ठ सम्बन्धलाई तोड्नेथे र अनुग्रहको युगभन्दा पहिलेजस्तै मानवजाति र स्वर्गका परमेश्‍वरबीचको सम्बन्धमा फर्कनेथे। मानिसहरूले छुन वा महसुस गर्न नसक्‍ने आत्मिक शरीरले परमेश्‍वरसँगको तिनीहरूको घनिष्ठतालाई मेटाइदिनेथ्यो, र यसले प्रभु येशू ख्रीष्ट देहमा हुनुहुँदाको समयमा स्थापित उहाँ र मानिसहरूबीचको कुनै दूरी नभएको घनिष्ठ सम्बन्धलाई अस्तित्वविहीन बनाइदिनेथ्यो। आत्मिक शरीरद्वारा मानिसहरूमा उत्पन्‍न हुने कुराहरू त केवल डर, बेवास्ता र निःशब्द टोलाइ मात्र थिए। तिनीहरूले उहाँसित घनिष्ठ हुने वा उहाँसित कुराकानीमा तल्लीन हुने साहस पनि गर्न सक्दैनथे, उहाँलाई पछ्याउने, भरोसा गर्ने वा उहाँतर्फ दृष्टि लगाउने त परको कुरा हो। परमेश्‍वरले उहाँप्रति मानिसहरूसित यस प्रकारको भावना भएको देख्‍न चाहनुभएन। मानिसहरू उहाँबाट तर्किहिँडेको वा तिनीहरूले आफैलाई उहाँदेखि अलग गरेको उहाँले हेर्न चाहनुभएन; मानिसहरूले उहाँलाई बुझेको, र तिनीहरू उहाँको नजिक आएको र उहाँको परिवार बनेको मात्र उहाँ चाहनुहुन्थ्यो। यदि तेरो आफ्नै परिवारले, तेरा बालबच्‍चाले तँलाई देखे तर तँलाई चिनेनन् र तेरो नजिक आउने साहस गरेनन् बरु सधैँ तँबाट पन्छिन खोजे भने, यदि तैँले तिनीहरूका निम्ति गरेको सबै कुराको बारेमा तिनीहरूको बुझाइ प्राप्त गर्न सकिनस् भने, त्यसले तँलाई कस्तो महसुस गराउनेथ्यो? के त्यो पीडादायक हुनेथेन र? के तेरो हृदय तोडिनेथेन र? मानिसहरू उहाँबाट टाढा बस्दा परमेश्‍वरले ठीक यही अनुभूति गर्नुहुन्छ। त्यसैले, उहाँको पुनरुत्थानपछि, प्रभु येशू अझै पनि उहाँको देह र रगतको स्वरूपमा मानिसहरूकहाँ देखा पर्नुभयो, र फेरि पनि तिनीहरूसित खानपान गर्नुभयो। परमेश्‍वरले मानिसहरूलाई परिवारको रूपमा हेर्नुहुन्छ, र मानवजातिले पनि उहाँलाई तिनीहरूको सबैभन्दा प्रिय एकको रूपमा हेरेको परमेश्‍वर चाहनुहुन्छ; केवल यसरी मात्रै परमेश्‍वरले साँचो रीतिले मानिसहरूलाई प्राप्त गर्नुहुन्छ, र यसरी मात्रै मानिसहरूले परमेश्‍वरलाई साँचो रीतिले प्रेम र आराधना गर्न सक्छन्। अब, प्रभु येशूले आफ्‍नो पुनरुत्थानपछि रोटी खानुभएको र धर्मशास्‍त्र व्याख्या गर्नुभएको, र चेलाहरूले उहाँलाई पोलेको माछा खान दिएको वृत्तान्त सुनाउने धर्मशास्‍त्रका यी दुई खण्डहरूलाई उद्धृत गर्नुपछाडिको मेरो अभिप्रायलाई के तिमीहरू बुझ्‍न सक्छौ?

यो भन्‍न सकिन्छ कि आफ्नो पुनरुत्थानपछि प्रभु येशूले श्रृंखलाबद्ध रूपमा भन्‍नुभएका र गर्नुभएका कुराहरूको निम्ति गम्भीर विचार गरिएको थियो। यी कुराहरू परमेश्‍वरले मानवजातिप्रति गर्नुभएको दया र स्‍नेहले भरिएका थिए, अनि आफू देहमा हुँदाको समयमा उहाँले मानवजातिसँग स्थापित गर्नुभएको घनिष्ठ सम्‍बन्धप्रतिको उहाँको स्‍नेहपूर्ण कदर र सूक्ष्म वास्ताले पनि भरिएका थिए। यति मात्र होइन, यी कुराहरू देहमा हुँदा उहाँले आफ्‍ना अनुयायीहरूसँग खानपान गरेको र जिएको जीवनको याद र तिर्सनाले भरिएका थिए। त्यसैले, मानिसहरूले परमेश्‍वर र मानिसबीचमा दूरी अनुभव गरेको परमेश्‍वरले चाहनुभएन, न त मानवजातिले आफैलाई परमेश्‍वरदेखि दूरी बनाएको नै उहाँले चाहनुभयो। त्यसभन्दा पनि बढी, पहिले मानिसहरूसित अत्यन्तै घनिष्ठ रहनुभएका प्रभु येशू उहाँको पुनरुत्थानपछि त्यही प्रभु हुनुहुन्‍न, उहाँ अबउप्रान्त मानवजातिको साथमा हुनुहुन्‍न किनकि उहाँ आत्मिक संसारमा फर्किसक्‍नुभएको छ, पिताकहाँ फर्किसक्‍नुभएको छ जसलाई देख्‍न वा जोकहाँ पुग्‍न मानिसहरू कहिल्यै सक्दैनन् भन्‍ने अनुभूति मानवजातिले गरेको परमेश्‍वरले चाहनुभएन। उहाँ र मानवजातिबीचमा हैसियतको कुनै भिन्‍नता पैदा भएको अनुभूति मानिसहरूले गरेको उहाँले चाहनुभएन। जब परमेश्‍वरले उहाँलाई पछ्याउन चाहने तर उहाँलाई सम्‍मानजनक दूरीमा राख्‍ने मानिसहरूलाई देख्‍नुहुन्छ, तब उहाँको हृदय पीडामा हुन्छ किनकि त्यसको अर्थ तिनीहरूको हृदय उहाँबाट अत्यन्तै टाढा रहेको छ र उहाँलाई तिनीहरूको हृदय प्राप्त गर्न एकदमै कठिन हुनेछ। त्यसैले, यदि उहाँ मानिसहरूकहाँ तिनीहरूले देख्‍न वा छुन नसक्‍ने आत्मिक शरीरमा प्रकट हुनुभएको भए, यसले मानिसलाई फेरि एकपल्ट परमेश्‍वरबाट टाढा राख्थ्यो, र यसले मानवजातिलाई ख्रीष्ट उहाँको पुनरुत्थानपछि उच्‍च हुनुभएको छ, मानवजातिभन्दा भिन्‍न प्रकारको बन्‍नुभएको छ, र मानिससित अबउप्रान्त एउटै टेबलमा बसेर खान नसक्‍ने व्यक्ति बन्‍नुभएको छ, किनकि मानिसहरू पापी, फोहोरी हुन्छन् र परमेश्‍वरको नजिक कहिल्यै जान सक्दैनन् भनी गलत प्रकारले हेर्ने तुल्याउँथ्यो। बाइबलमा लेखिएअनुसार, मानवजातिका यी गलत बुझाइहरूलाई हटाउन, प्रभु येशूले देहमा हुँदा गर्नुभएकै केही कुराहरू गर्नुभयो: “उहाँले रोटी लिनुभयो र त्यसलाई आशिष्‌ दिनुभयो र त्यो भाँच्‍नुभयो र तिनीहरूलाई दिनुभयो।” उहाँले तिनीहरूलाई विगतमा जस्तै धर्मशास्‍त्र पनि व्याख्या गरिदिनुभयो। प्रभु येशूले गर्नुभएको यो सबै कुराले उहाँलाई देख्‍ने हरेक व्यक्तिलाई प्रभु येशू परिवर्तन हुनुभएको छैन, उहाँ त्यही प्रभु येशू नै हुनुहुन्छ भन्‍ने महसुस गरायो। उहाँलाई क्रूसमा टाँगिएको र उहाँले मृत्यु अनुभव गर्नुभएको भए तापनि, उहाँ पुनरुत्थान हुनुभएको थियो, र उहाँले मानवजातिलाई त्याग्‍नुभएको थिएन। उहाँ मानिसहरूको बीचमा रहनलाई फर्कनुभएको थियो, र उहाँको कुनै कुरा पनि परिवर्तन भएको थिएन। मानिसहरूको माझमा उभिरहनुभएका मानिसका पुत्र उही प्रभु येशू हुनुहुन्थ्यो। उहाँको चालढाल तथा मानिसहरूसित कुराकानी गर्ने उहाँको तौरतरिका अति चिरपरिचित लाग्थ्यो। उहाँ अझै दया, अनुग्रह र सहिष्णुताले अत्यन्तै भरिपूर्ण हुनुहुन्थ्यो—उहाँ अझै त्यही प्रभु येशू हुनुहुन्थ्यो जसले अरूलाई आफैलाई जस्तै प्रेम गर्नुहुन्थ्यो, जसले मानवजातिलाई सत्तरी गुणा सातपल्ट क्षमा गर्न सक्‍नुहुन्थ्यो। उहाँले पहिलेझैँ मानिसहरूसित खानपान गर्नुभयो, धर्मशास्‍त्रको छलफल गर्नुभयो, र त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा, पहिलेजस्तै उहाँ देह र रगतले बनेको हुनुहुन्थ्यो र उहाँलाई छुन र देख्‍न सकिन्थ्यो। उहाँ मानिसको पुत्र नै हुनुहुन्थ्यो, र उहाँले मानिसहरूलाई घनिष्ठता, चैन र हराइसकेको कुनै कुरा भेट्दाको आनन्द अनुभूति गराउनुभयो। ठूलो चैनको साथमा, तिनीहरूले बहादुरीपूर्वक र निर्धक्‍कसाथ यस मानिसको पुत्रमाथि भर पर्न र उहाँतर्फ दृष्टि लगाउन थाले जो मानवजातिलाई आफ्ना पापहरूबाट क्षमा गर्न सक्‍नुहुन्थ्यो। तिनीहरूले विनाहिचकिचाहट प्रभु येशूको नाउँमा प्रार्थना गर्न थाले, उहाँको अनुग्रह, उहाँको आशिष प्राप्त गर्न, र उहाँबाट शान्ति र आनन्द प्राप्त गर्न, उहाँबाट वास्ता र सुरक्षा प्राप्त गर्न प्रार्थना गर्न थाले, र तिनीहरूले प्रभु येशूको नाउँमा रोगीलाई निको पार्न र भूतहरू धपाउन थाले।

प्रभु येशूले देहमा काम गर्नुभएको त्यस समयमा, उहाँका धेरैजसो अनुयायीहरूले उहाँको पहिचान र उहाँले भन्‍नुभएका कुराहरूलाई पूर्ण रूपले प्रमाणित गर्न सकेनन्। जब उहाँ क्रूसको नजिक जाँदै हुनुहुन्थ्यो, तब उहाँका अनुयायीहरूको मनोवृत्ति मूकदर्शकको थियो। त्यसपछि, उहाँ क्रूसमा टाँगिनुभएको समयदेखि उहाँलाई चिहानमा राखिएको समयसम्म, उहाँप्रतिको मानिसहरूको मनोवृत्ति निराशाको थियो। त्यस समयावधिमा, मानिसहरू आफ्नो हृदयमा प्रभु येशूले उहाँ देहमा हुनुहुँदाको समयमा भन्‍नुभएका कुराहरूलाई शङ्का गर्ने अवस्थाबाट उहाँलाई पूर्ण रूपमा इन्कार गर्ने अवस्थातर्फ सरिसकेका थिए। त्यसपछि, जब उहाँ चिहानबाट बाहिर निस्कनुभयो र एकएक गरी मानिसहरूकहाँ प्रकट हुनुभयो, तब उहाँलाई आफ्नै आँखाले देख्‍ने र उहाँको पुनरुत्थानको समाचार सुन्‍ने बहुसंख्यक मानिसहरूले आफ्नो मनोवृत्तिलाई इन्कारको तहदेखि बिस्तारै सुधार गरी शंकाको तहमा ल्याइपुर्‍याए। प्रभु येशूले आफ्नो पुनरुत्थानपछि थोमालाई उहाँको कोखामा हात राख्‍न दिनुभएपछि, अनि उहाँले रोटी भाँचेर भीडको सामु खानुभएपछि, र तिनीहरूकै सामु पोलेको माछा खान अघि बढ्‍नुभएपछि मात्रै तिनीहरूले प्रभु येशू देहमा आउनुभएका ख्रीष्ट हुनुहुन्छ भन्‍ने तथ्यलाई साँचो रीतिले स्वीकार गरे। के भन्‍न सकिन्छ भने, ती मानिसहरूको अघि उभिरहेको देह र रगतको यो आत्मिक शरीरले ती हरेकलाई सपनाबाट ब्यूँझाइरहेजस्तै देखिन्थ्यो: तिनीहरूको सामु उभिरहनुभएको मानिसको पुत्र अनन्तकालदेखि नै अस्तित्वमा रहनुभएका परमेश्‍वर हुनुहुन्थ्यो। उहाँसित एउटा स्वरूप, अनि देह र हाड थियो, र उहाँ मानवजातिको साथमा धेरै लामो समयदेखि रहनुभएको र खानुभएको थियो…। यस बेला, मानिसहरूले उहाँको अस्तित्व अत्यन्तै वास्तविक, अत्यन्तै अचम्‍मको छ भन्‍ने महसुस गरे। त्यसको साथै, तिनीहरू अत्यन्तै आनन्दित र खुशी पनि थिए र भावनाले ओतप्रोत थिए। उहाँ देखा पर्नुभएको घटनाले मानिसहरूलाई साँचो रीतिले उहाँको नम्रता देख्‍न, मानवजातिसँगको उहाँको घनिष्ठता तथा लगाव अनुभव गर्न, र उहाँले तिनीहरूको निम्ति कति धेरै विचार गर्नुभएको रहेछ भन्‍ने कुरा महसुस गर्न दियो। यो छोटो पुनर्मिलनले प्रभु येशूलाई देख्‍ने मानिसहरूलाई एक जीवनकाल नै बितिसकेजस्तो महसुस गरायो। तिनीहरूको व्याकुल, अन्योल, भयभीत, चिन्तित, तृषित र स्तब्ध हृदयले सान्त्वना पायो। तिनीहरू अबउप्रान्त शङ्कालु वा हतोत्साहित थिएनन् किनकि तिनीहरूले अब आशा र भर पर्नको लागि केही छ भन्‍ने महसुस गरे। तिनीहरूको अघि उभिरहनुभएको मानिसको पुत्र तिनीहरूको निम्ति हरसमयका रक्षक बन्‍नेवाला हुनुहुन्थ्यो; उहाँ तिनीहरूको बलियो धरहरा, सारा अनन्तकालको निम्ति तिनीहरूको आश्रय बन्‍नेवाला हुनुहुन्थ्यो।

प्रभु येशू पुनरुत्थान हुनुभएको भए पनि, उहाँको हृदय र उहाँको कामले मानवजातिलाई छोडेको थिएन। मानिसहरूकहाँ देखा परेर, उहाँले तिनीहरूलाई उहाँ जस्तोसुकै स्वरूपमा अस्तित्वमा रहनुभए तापनि उहाँले मानिसहरूलाई साथ दिनुहुनेछ, तिनीहरूसित हिँड्नुहुनेछ र हरपल र हरठाउँ तिनीहरूसित रहनुहुनेछ भनेर बताउनुभयो। उहाँले मानवजातिलाई हरपल र हरठाउँ भरणपोषण र रखवाली गर्नुहुनेछ, उहाँलाई हेर्न र छुन दिनुहुनेछ, र तिनीहरूले कहिल्यै असहाय अनुभव नगर्ने सुनिश्‍चितता ल्याउनुहुनेछ भनी उहाँले तिनीहरूलाई भन्‍नुभयो। तिनीहरू संसारमा कहिल्यै एक्लै जिउनुपर्दैन भनी तिनीहरूले जानून् भन्‍ने पनि प्रभु येशूको चाहना थियो। मानवजातिप्रति परमेश्‍वरको वास्ता छ; परमेश्‍वर तिनीहरूको साथमा हुनुहुन्छ। तिनीहरूले परमेश्‍वरमा सधैँ आड लिन सक्छन्, र उहाँका हरेक अनुयायीका निम्ति उहाँ परिवार हुनुहुन्छ। परमेश्‍वरको आड पाएर, मानवजाति अबउप्रान्त एक्लो वा असहाय हुनेछैन, र उहाँलाई आफ्नो पापबलिको रूपमा स्वीकार गर्नेहरू अबउप्रान्त पापमा बाँधिएका हुनेछैनन्। मानव नजरमा, प्रभु येशूले उहाँको पुनरुत्थानपछि गर्नुभएको कामका यी अंशहरू अत्यन्तै साना कुराहरू थिए, तर मेरो नजरमा, उहाँले गर्नुभएको एकएक कुरा अति अर्थपूर्ण, अति मूल्यवान्, अति महत्त्वपूर्ण र अत्यधिक सार्थकताले भरिएका छन्।

प्रभु येशूले देहमा काम गर्नुभएको समय कठिनाइ तथा दुःखकष्टहरूले भरिएको भए तापनि, उहाँले देह र रगतको आत्मिक शरीरमा देखा परेर मानवजातिलाई छुटकारा दिलाउन त्यस समयको उहाँको देहको कामलाई पूर्ण र सिद्ध प्रकारले पूरा गर्नुभयो। उहाँले देह बनेर आफ्नो सेवकाइ सुरु गर्नुभयो, र आफ्नो दैहिक स्वरूपमा मानवजातिकहाँ देखा परेर आफ्नो सेवकाइ समाप्त पार्नुभयो। ख्रीष्टको रूपमा रहेको आफ्नो पहिचानमार्फत नयाँ युग सुरु गरेर उहाँले अनुग्रहको युगको शुभारम्भ गर्नुभयो। ख्रीष्टको पहिचानमार्फत नै उहाँले अनुग्रहको युगको काम गर्नुभयो र अनुग्रहको युगका आफ्ना सारा अनुयायीहरूलाई सामर्थ्य दिनुभयो र डोर्‍याउनुभयो। परमेश्‍वरको कामको विषयमा के भन्‍न सकिन्छ भने, उहाँले जे सुरु गर्नुहुन्छ, त्यसलाई साँच्‍चिकै सिध्याउनुहुन्छ। त्यसमा चरणहरू र योजना हुन्छन्, र त्यो काम उहाँको बुद्धि, उहाँको सर्वशक्तिमान्‌ता, उहाँका अचम्मका कार्यहरू, र उहाँको प्रेम र कृपाले भरिपूर्ण हुन्छन्। अवश्य नै, परमेश्‍वरको सबै काममा क्रियाशील कडी मानवजातिप्रतिको उहाँको वास्ता नै हो; यो उहाँको फिक्रीका भावनाहरूले यसरी भिजेको छ कि उहाँले त्यसलाई कहिल्यै पन्साउन सक्‍नुहुन्‍न। बाइबलका यी पदहरूमा, आफ्नो पुनरुत्थानपछि प्रभु येशूले गर्नुभएको एकएक कुरामा मानवजातिप्रतिको उहाँको सूक्ष्म वास्ता तथा स्‍नेह प्रकट भएझैँ मानवजातिको निम्ति परमेश्‍वरका अपरिवर्तनीय आशा र फिक्री पनि प्रकट गरिएका छन्। यीमध्ये कुनै पनि कुरा हालको दिनसम्म पनि परिवर्तन भएको छैन—के तिमीहरूले यो कुरा देख्‍न सक्छौ? जब तिमीहरू यसलाई देख्छौ, तब के तिमीहरूको हृदय अचेतन रूपले परमेश्‍वरको नजिक खिचिँदैन र? यदि तिमीहरू त्यस युगमा बाँचेका भए, र प्रभु येशू तिमीहरूले देख्‍न सक भनी आफ्नो पुनरुत्थानपछि मूर्त रूपमा प्रकट हुनुभएको भए, र यदि उहाँ तिमीहरूको अगाडि बसेर रोटी र माछा खानुभयो र तिमीहरूलाई धर्मशास्‍त्र व्याख्या गरिदिनुभयो, र तिमीहरूसित बोल्नुभयो भने, तिमीहरूले कस्तो अनुभूति गर्नेथ्यौ? के तिमीहरूलाई खुशी लाग्थ्यो? कि तिमीहरूलाई खेद लाग्थ्यो? परमेश्‍वरसम्‍बन्धी पहिलेका गलत बुझाइहरू तथा उहाँबाट टाढा हुने काम, परमेश्‍वर विरुद्धका द्वन्द्व तथा शङ्काहरू—के ती सबै त्यत्तिकै हराउनेथिएनन् र? के परमेश्‍वर र मानवजातिबीचको सम्बन्ध अझ सामान्य र अझ उचित हुनेथेन र?

बाइबलका यी सीमित अध्यायहरूलाई व्याख्या गरेर, के तिमीहरूले परमेश्‍वरको स्वभावमा केही खोटहरू भेट्टाउँछौ? के तिमीहरूले परमेश्‍वरको प्रेममा केही मिसावट भेट्टाउँछौ? के परमेश्‍वरको सर्वशक्ति वा बुद्धिमा तिमीहरूले कुनै छल वा खराबी देख्छौ? निश्‍चय नै देख्दैनौ! अब, के तिमीहरूले निश्‍चयताका साथ परमेश्‍वर पवित्र हुनुहुन्छ भनी भन्‍न सक्छौ? के तिमीहरूले निश्‍चयताको साथ परमेश्‍वरको हरेक भावना उहाँको सार तथा स्वभावको प्रकाश हो भनी भन्‍न सक्छौ? म आशा गर्छु कि यी वचनहरू पढिसकेपछि, त्यसबाट तिमीहरूले हासिल गर्ने बुझाइले तिमीहरूलाई स्वभाव बदल्‍ने तथा परमेश्‍वरको डर मान्‍नेसम्बन्धी तिमीहरूको खोजीमा सहयोग गर्नेछ र तिमीहरूलाई लाभ पुर्‍याउनेछ, र त्यसले तिमीहरूमा दिनप्रतिदिन वृद्धि हुने फल फलाउनेछ, ताकि यस खोजीको प्रक्रियामा तिमीहरूलाई परमेश्‍वरको झन्झन् नजिक ल्याइयोस्, परमेश्‍वरले अपेक्षा गर्नुभएको मापदण्डको झन्झन् निकट पुर्‍याइयोस्। तिमीहरू अबउप्रान्त सत्यताको खोजीमा दिक्‍क हुनेछैनौ र सत्यता एवं स्वभाव परिवर्तनको खोजी कष्टप्रद वा निरर्थक कुरा हो भनी अबउप्रान्त अनुभव गर्नेछैनौ। बरु, परमेश्‍वरको साँचो स्वभावको अभिव्यक्ति तथा परमेश्‍वरको पवित्र सारबाट उत्प्रेरित भएर, तिमीहरूले ज्योतिको तिर्सना गर्नेछौ, न्यायको तिर्सना गर्नेछौ, र सत्यताको खोजी गर्ने, परमेश्‍वरको इच्छा सन्तुष्ट पार्ने चाहना गर्नेछौ, अनि तिमीहरू परमेश्‍वरद्वारा प्राप्त गरिएको व्यक्ति अर्थात् एक वास्तविक व्यक्ति बन्‍नेछौ।

आज हामीले उहाँलाई पहिलोपटक देहधारी बनाइएको अनुग्रहको युगमा परमेश्‍वरले गर्नुभएका केही निश्‍चित कुराहरूको बारेमा कुरा गरेका छौँ। यी कुराहरूबाट, हामीले देहमा उहाँले व्यक्त गर्नुभएको तथा प्रकट गर्नुभएको स्वभावलाई, साथै उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसको हरेक पक्षलाई देखेका छौँ। उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसका यी सबै पक्षहरू अत्यन्तै मानवीयकरण गरिएको प्रतीत हुन्छ, तर वास्तविकता के हो भने, उहाँले प्रकट गर्नुभएको र व्यक्त गर्नुभएको सबै कुराको सार उहाँको आफ्नै स्वभावबाट अभिन्‍न छ। देहधारी परमेश्‍वरले आफ्नो स्वभावलाई मानवतामा व्यक्त गर्नुभएको हरेक विधि तथा हरेक पक्ष उहाँको आफ्नै सारसित फुकाउनै नमिल्ने गरी जोडिएको छ। त्यसैले, परमेश्‍वर देहधारणको माध्यम प्रयोग गरेर मानवजातिकहाँ आउनुभएको कुरा अत्यन्तै महत्त्वपूर्ण छ। साथै, देहमा उहाँले गर्नुभएको काम पनि महत्त्वपूर्ण छ, तर देहमा जिइरहेका हरेक व्यक्तिका निम्ति, भ्रष्टतामा जिइरहेका हरेक व्यक्तिका निम्ति अझै महत्त्वपूर्ण कुरा भनेको उहाँले प्रकट गर्नुभएको स्वभाव तथा उहाँले व्यक्त गर्नुभएको इच्छा हो। के तिमीहरू यो कुरा बुझ्‍न सक्छौ? परमेश्‍वरको स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ सो बुझिसकेपछि, परमेश्‍वरलाई कसरी व्यवहार गर्नुपर्छ सो विषयमा के तिमीहरूले कुनै निष्कर्षहरू निकालेका छौ? अन्त्यमा, यस प्रश्‍नको प्रतिक्रियास्वरूप म तिमीहरूलाई तीनवटा सल्लाहहरू दिन चाहन्छु: पहिलो, परमेश्‍वरलाई जाँच नगर्। तैँले परमेश्‍वरलाई जति धेरै बुझे पनि, तैँले परमेश्‍वरको स्वभावबारे जति नै धेरै जाने पनि, उहाँलाई कदापि जाँच नगर्। दोस्रो, परमेश्‍वरसित हैसियतको निम्ति नलड्। परमेश्‍वरले तँलाई जस्तो प्रकारको हैसियत दिनुभए पनि वा तँलाई जस्तो प्रकारको काम सुम्पिनुभए पनि, तँलाई जस्तो प्रकारको कर्तव्य पूरा गर्न खडा गर्नुभए पनि, र परमेश्‍वरको निम्ति तैँले आफैलाई जति नै समर्पित र बलिदान गरेको भए पनि, हैसियतको निम्ति उहाँसित कदापि प्रतिस्पर्धा नगर्। तेस्रो, परमेश्‍वरसित प्रतिस्पर्धा नगर्। उहाँले तँसित जे गर्नुहुन्छ, तेरो निम्ति जे बन्दोबस्त गर्नुहुन्छ र जुन कुराहरू तँकहाँ ल्याउनुहुन्छ, चाहे ती कुराहरूलाई तैँले बुझे पनि, नबुझे पनि वा त्यसप्रति तैँले आफैलाई समर्पण गर्न सके पनि, नसके पनि, परमेश्‍वरसित कदापि प्रतिस्पर्धा नगर्। यदि यी तीन सल्लाहहरूलाई तैँले पालना गर्न सक्छस् भने, तँ लगभग सुरक्षित नै हुनेछस्, र उहाँलाई क्रोधित तुल्याउनेतर्फ तँ उन्मुख हुनेछैनस्। हामी आजको संगति यहीँ नै समाप्त गर्नेछौँ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

फरिसीहरूद्वारा येशूको आलोचना र फरिसीहरूलाई येशूको हप्की

फरिसीहरूद्वारा येशूको आलोचना मर्कूस ३:२१-२२ अनि जब उहाँका मित्रहरूले यो सुने, उहाँलाई समात्‍न तिनीहरू बाहिर निस्के: किनकि तिनीहरूले भने,...

उहाँको पुनरुत्थानपछि उहाँका चेलाहरूलाई येशूका वचनहरू

यूहन्‍ना २०:२६-२९ अनि फेरि आठ दिनपछि उहाँका चेलाहरू भित्रै थिए र थोमा पनि तिनीहरूसँग थिए: तब ढोकाहरू बन्द भएको अवस्थामा येशू भित्र आउनुभयो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्