परमेश्‍वरप्रति सदोमको निरन्तर शत्रुता र विरोधपछि, उहाँले यसलाई पूर्ण रूपमा मेटाउनुहुन्छ

13 अगस्ट 2021

अहिले हामीले परमेश्‍वरको धर्मी स्वभावको बारेमा आम बुझाइ प्राप्त गरिसकेको हुनाले, हामी हाम्रो ध्यान सदोम सहरतर्फ फर्काउन सक्छौं—एउट यस्तो स्थानतर्फ जसलाई परमेश्‍वरले पापको सहरको रूपमा देख्‍नुभयो। यो सहरको सारलाई बुझेर, हामी परमेश्‍वरले किन यसलाई नष्ट गर्न चाहनुभयो र उहाँले यसलाई किन यति पूर्ण रूपमा नष्ट गर्नुभयो भन्‍ने कुरा बुझ्‍न सक्छौं। यसबाट, हामीले परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्‍न सक्छौं।

मानव दृष्टिकोणबाट हेर्दा, सदोम मानिसको इच्‍छा र मानिसको दुष्टतालाई पूर्ण रूपमा सन्तुष्ट पार्न सक्‍ने सहर थियो। हरेक रात सङ्गीत र नृत्यद्वारा मनोहर र मोहित गराउने यसको सम्‍पन्‍नताले मानिसहरूलाई मोह र पागलपनमा पार्थ्यो। यसको दुष्टताले मानिसहरूको हृदयलाई बिगार्दै जान्थ्यो र तिनीहरूलाई मोहित पारी भ्रष्टतामा लैजान्थ्यो। यो अशुद्ध र दुष्ट आत्‍माहरूले व्याप्त सहर थियो; यो सहर पाप र हत्याले भरिएको थियो र हावा रक्ताम्मे, सडिएर दुर्गन्धित भएको थियो। यो यस्तो सहर थियो जसले मानिसहरूको आङ सिरिङ्ङ पार्थ्यो, यस्तो सहर जहाँ व्यक्ति सन्त्रासले खुम्चन्थ्यो। यो सहरका कसैले पनि—चाहे पुरुष हुन् वा स्त्री, जवान हुन् वा वृद्ध—साँचो मार्गको खोजी गर्दैनथिए; कसैले पनि ज्योतिको चाहना गर्दैनथिए वा पापबाट टाढा जाने इच्‍छा गर्दैनथिए। तिनीहरू शैतानको नियन्त्रण, शैतानको भ्रष्टता र छलको दबाबमा जिउँथे। तिनीहरूले आफ्‍नो मानवता गुमाएका थिए, तिनीहरूले आफ्‍नो समझ गुमाएका थिए, र तिनीहरूले मानिसको अस्तित्वको मूल लक्ष्यलाई गुमाएका थिए। तिनीहरूले परमेश्‍वरको विरोध गर्दै अनगिन्ती दुष्कर्महरू गरेका थिए; तिनीहरूले उहाँको अगुवाइलाई इन्कार गर्थे र उहाँको इच्‍छाको विरोध गर्थे। तिनीहरूका दुष्कर्महरूले नै यी मानिसहरूलाई, यो सहर र यसभित्रका हरेक जीवित प्राणीलाई एक-एक कदम गरी विनाशको मार्गमा लगिरहेको थियो।

परमेश्‍वरप्रति सदोमको निरन्तर शत्रुता र विरोधपछि, उहाँले यसलाई पूर्ण रूपमा मेटाउनुहुन्छ

यी दुई खण्डले परमेश्‍वरका दुई जना सेवक सहरमा आइपुगेपछि यिनीहरूप्रति सदोमका मानसिहरूको व्यवहारको विवरण दिएको तर ती मानिसहरूको भ्रष्टताको हदको बारेमा सारा विवरणहरू अभिलेख नगरेको भए तापनि, सदोमका मानिसहरू कति हदसम्‍म भ्रष्ट, दुष्ट र परमेश्‍वरका विरोधी थिए भनी प्रकट गर्ने एउटा सरल तथ्य छ। यसले यो सहरका मानिसहरूको साँचो रूप र सारलाई पनि खुलासा गर्छ। यी मानिसहरूले परमेश्‍वरका चेतावनीहरूलाई स्वीकार गर्न नमानेका मात्र होइन, तिनीहरूले त उहाँको दण्डको डर पनि मानेनन्। यसको विपरीत, तिनीहरूले परमेश्‍वरको रिसको गिल्‍ला गरे। तिनीहरूले अन्धाधुन्ध परमेश्‍वरको विरोध गरे। उहाँले जे गर्नुभए पनि वा जसरी गर्नुभए पनि, तिनीहरूको भ्रष्ट प्रकृति झन्-झन् तीव्र मात्रै हुँदै गयो, र तिनीहरूले बारम्‍बार परमेश्‍वरको विरोध गरे। सदोमका मानिसहरू परमेश्‍वरको अस्तित्व, उहाँको आगमन, उहाँको दण्ड, र त्योभन्दा पनि बढी उहाँका चेतावनीहरूप्रति शत्रुवत् थिए। तिनीहरू अत्यन्तै अहङ्कारी थिए। तिनीहरूले निल्‍न सकिने र हानि गर्न सकिने सबै मानिसहरूलाई निल्थे र हानि गर्थे, र तिनीहरूले परमेश्‍वरका सेवकहरूलाई पनि त्यस्तै व्यवहार गरे। सदोमका मानिसहरूले गरेका सारा दुष्कर्महरूको विषयमा कुरा गर्दा, परमेश्‍वरका सेवकहरूलाई हानि गर्ने कार्य त एउटा सानो झलक मात्रै थियो, र त्यसरी प्रकट भएको तिनीहरूको दुष्ट प्रकृति विशाल समुद्रको सानो थोपाजस्तो मात्रै थियो। त्यसकारण, परमेश्‍वरले तिनीहरूलाई आगोद्वारा नष्ट गर्ने निर्णय गर्नुभयो। परमेश्‍वरले बाढीको प्रयोग गर्नुभएन, न त उहाँले यस सहरलाई नष्ट गर्न आँधीबेहरी, भूकम्प, सुनामी, वा अरू कुनै तरिकाको नै प्रयोग गर्नुभयो। यस सहरलाई नष्ट गर्नको लागि परमेश्‍वरले आगोको प्रयोग गर्नुभएको तथ्यले के संकेत गर्‍यो? यसको अर्थ सहरको पूर्ण विनाश भयो भन्ने हो; यसको अर्थ सहर पृथ्वीबाट र अस्तित्वबाट पूर्ण रूपमा विलय भयो भन्‍ने हो। यहाँ, “विनाश” ले सहरको स्वरूप र संरचना वा बाहिरी स्वरूप विलय हुनुलाई मात्रै जनाउँदैन; यसको अर्थ पूर्ण रूपमा नष्ट गरिइसकेपछि, सहरभित्रका मानिसहरूको आत्मा पनि अस्तित्वमा रहेन भन्ने हुन्छ। सरल रूपमा भन्दा, त्यस सहरसँग सम्‍बन्धित सबै मानिसहरू, घटना र थोकहरू सबै नष्ट भए। त्यस सहरका मानिसहरूको निम्ति अर्को कुनै जीवन वा पुनर्जन्‍म हुनेवाला थिएन; परमेश्‍वरले तिनीहरूलाई उहाँको सृष्टिको मानवताबाट सारा अनन्तसम्‍मको लागि विलय गर्नुभएको थियो। आगोको प्रयोगले यस स्थानमा पापको अन्त्य भयो, र त्यहाँ पाप नियन्त्रित भयो भन्‍ने अर्थ दिन्छ; यो पाप अस्तित्वमा नरहने र नफैलनेवाला थियो। यसको अर्थ, शैतानको दुष्टताले यसको भरणपोषणको भूमि साथै बस्‍न र जिउन स्थान दिने समाधि स्थल गुमाएको थियो। परमेश्‍वर र शैतानको युद्धमा, परमेश्‍वरले आगोको प्रयोग गर्नु उहाँको विजयको छाप हो, ‍जसद्वारा शैतानलाई चिन्हांकित गरिन्छ। सदोमको विनाश मानिसलाई भ्रष्ट तुल्याउँदै र निल्दै परमेश्‍वरको विरोध गर्ने शैतानको महत्वाकांक्षाको एउटा ठूलो भूल हो, त्यसै गरी यो मानवजातिको विकासक्रममा मानिसले परमेश्‍वरको अगुवाइ इन्कार गरेको र आफैलाई पापकर्ममा डुबाएको त्यो समयको लाजको प्रतीक पनि हो। यसको साथै, यो परमेश्‍वरको धर्मी स्वभावको साँचो प्रकाशको विवरण हो।

परमेश्‍वरप्रति सदोमको निरन्तर शत्रुता र विरोधपछि, उहाँले यसलाई पूर्ण रूपमा मेटाउनुहुन्छ

जब परमेश्‍वरले स्वर्गबाट पठाउनुभएको आगोले सदोमलाई खरानीमा बदल्यो, तब यसको अर्थ “सदोम” नामको सहर, साथै सहरभित्रको सबै कुरा अस्तित्वबाट हट्यो भन्‍ने हुन्छ। यसलाई परमेश्‍वरको रिसले नष्ट गर्‍यो, यो परमेश्‍वरको क्रोध र प्रतापभित्र विलय भयो। परमेश्‍वरको धर्मी स्वभावको कारण, सदोमले यसको धर्मी दण्ड र यसको उचित अन्त्य प्राप्त गर्‍यो। सदोमको अस्तित्वको अन्त्य हुनुको कारण यसको दुष्टता थियो, र यस सहर वा यसमा बसोबास गरेका मानिसहरूमध्ये कसैलाई पनि वा यस सहरभित्र हुर्केको कुनै पनि प्राणीलाई फेरि कहिल्यै नहेर्ने परमेश्‍वरको इच्‍छाको कारणले पनि यसो भएको थियो। “यस सहरलाई फेरि कहिल्यै नहेर्ने” परमेश्‍वरको इच्‍छा उहाँको क्रोध, साथै उहाँको प्रताप पनि हो। परमेश्‍वरले यस सहरलाई जलाउनुभयो किनभने यसको दुष्टता र पापले उहाँमा यसप्रति रिस, घृणा र तिरस्कारको अनुभूति गरायो र यसलाई वा यसभित्रका कुनै पनि मानिसहरू वा जीवित प्राणीहरूलाई फेरि कहिल्यै नहेर्ने इच्‍छा जगायो। यो सहर डढेर खरानी मात्र बाँकी रहेपछि, यो परमेश्‍वरको नजरमा साँच्‍चै नै अस्तित्वविहीन बन्यो; यसको बारेमा रहेको उहाँको याद पनि गयो, हट्यो। यसको अर्थ के हो भने, स्वर्गबाट पठाइएको आगोले सारा सदोमलाई मात्रै नष्ट गरेन, न त यसले पापले भरिएका सहरका मानिसहरूलाई मात्रै नष्ट गर्‍यो, न त सहरभित्रका पापले कलङ्कित सबै कुराहरूलाई मात्रै नष्ट गर्‍यो; यी कुराहरूबाहेक, आगोले मानवजातिको दुष्टता र परमेश्‍वरको विरुद्धमा रहेको विरोधको यादलाई पनि नष्ट गर्‍यो। यो सहरलाई जलाउनुपछडि परमेश्‍वरको उद्देश्य यही थियो।

यो मानवजाति अत्यन्तै भ्रष्ट बनेको थियो। यी मानिसहरूलाई परमेश्‍वर को हुनुहुन्छ वा तिनीहरू स्वयम्‌ कहाँबाट आएका थिए भन्‍ने थाहा थिएन। यदि तैँले तिनीहरूलाई परमेश्‍वरको बारेमा उल्‍लेख गर्थिस् भने, तिनीहरूले आक्रमण, मानहानि, र ईश्‍वर-निन्दा गर्नेथिए। परमेश्‍वरका सेवकहरू उहाँको चेतावनी फैलाउन आउनुहुँदासमेत, यी भ्रष्ट मानिसहरूले कुनै पश्‍चात्तापको सङ्केत नदेखाएको र तिनीहरूको दुष्ट व्यवहारलाई नत्यागेको मात्र होइन, बरु यसको विपरीत, तिनीहरूले त निर्धक्‍क भई परमेश्‍वरका सेवकहरूलाई हानि गरे। तिनीहरूले जे व्यक्त गरे र प्रकट गरे त्यो परमेश्‍वरप्रतिको तिनीहरूको चरम शत्रुवत् प्रकृति सार थियो। हामी देख्न सक्छौं कि परमेश्‍वरको विरुद्धमा यी भ्रष्ट मानिसहरूको विरोध जसरी सत्यताको बुझाइको कमीबाट आउने निन्दा वा गिल्‍ला मात्रै थिएन, त्यसरी नै यो तिनीहरूको भ्रष्ट स्वभावको प्रकाश मात्रै पनि थिएन। तिनीहरूको दुष्ट व्यवहारको कारण न त मूर्खता थियो न त अज्ञानता नै; तिनीहरू धोकामा परेकाले तिनीहरूले यस्तो कार्य गरेका थिएनन्, र अवश्य पनि तिनीहरूलाई बहकाइएकाले तिनीहरूले यसो गरेका थिएनन्। तिनीहरूको व्यवहार कुख्यात रूपमा परमेश्‍वरको विरुद्धमा गरिने निडर शत्रुताको कार्य, विरोध, र झगडाको स्तरमा पुगेको थियो। यसमा कुनै शंका छैन, यस प्रकारको मानव आचरणले परमेश्‍वरलाई क्रोधित तुल्याउनेवाला नै थियो, र यसले उहाँको स्वभावलाई क्रोधित तुल्याउनेछ—क्रोधित तुल्याउनै नहुने स्वभावलाई। त्यसकारण, परमेश्‍वरले प्रत्यक्ष र खुलेआम रूपमा उहाँको क्रोध र उहाँको प्रताप व्यक्त गर्नुभयो; यो उहाँको धर्मी स्वभावको साँचो प्रकाश थियो। पापले भरिपूर्ण यस्तो सहरको सामना गर्दा, परमेश्‍वरले यसलाई जतिसक्दो चाँडो नष्ट गर्ने, यसभित्रका मानिसहरू र तिनीहरूको सम्पूर्ण पापलाई सबैभन्दा पूर्ण तवरले नष्ट गर्ने, यस सहरका मानिसहरूलाई अस्तित्वविहीन तुल्याउने र यस ठाउँको पापलाई वृद्धि हुनबाट रोक्‍ने इच्‍छा गर्नुभयो। यस कार्यलाई सबैभन्दा छिटो र सबैभन्दा पूर्ण तवरले गर्ने तरिका भनेको यसलाई आगोले जलाउनु थियो। सदोमका मानिसहरूप्रतिको परमेश्‍वरको मनोवृत्ति परित्याग वा अवहेलना थिएन। बरु, उहाँले त यी मानिसहरूलाई दण्ड दिन, प्रहार गर्न, र पूर्ण रूपमा नष्ट गर्न आफ्‍नो क्रोध, प्रताप र अख्‍तियारको प्रयोग गर्नुभयो। तिनीहरूप्रतिको उहाँको मनोवृत्ति भौतिक विनाश गर्नु मात्रै थिएन बरु आत्माको विनाश, अनन्त विनाश गर्नु पनि थियो। परमेश्‍वरले “अस्तित्वबाट मेटिनु” भन्‍ने शब्‍दहरूद्वारा भन्‍न चाहनुहुन्छ त्यसको साँचो अर्थ यही हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय २” बाट उद्धृत गरिएको

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको क्रोध लुकेको अनि मानिसको लागि अज्ञात भए पनि यसले कुनै उल्‍लङ्घन सहँदैन

मानवजाति जति नै मूर्ख र अज्ञानी भए पनि, परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई गर्नुहुने व्यवहार मुख्यत: कृपा र सहनशीलतामा आधारित छ। अर्कोतर्फ,...

परमेश्‍वरको क्रोध भड्काएकोले सदोम पूर्णतया भस्‍म हुन्छ

जब सदोमका मानिसहरूले यी दुई सेवकलाई देखे, तिनीहरूले तिनीहरू आउनुको कारण सोधेनन्, न त कसैले तिनीहरू परमेश्‍वरको इच्‍छाको बारेमा प्रचार गर्न...

सदोमको भ्रष्टता: मानिसको लागि रिसउठ्दो, परमेश्‍वरको लागि क्रोधित तुल्याउने

सर्वप्रथम, हामी परमेश्‍वरले सदोमलाई नष्ट गर्नुभएको घटनाको बारेमा व्याख्या गर्ने, धर्मशास्‍त्रका विभिन्‍न खण्डहरूलाई हेरौं। उत्पत्ति १९:१-११...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्