परमेश्‍वरले सदोमलाई नष्ट गर्नैपर्ने हुन्छ

13 अगस्ट 2021

उत्पत्ति १८:२६ अनि यहोवाले भन्नुभयो, यदि मैले सदोममा सहरभित्र पचास जना धर्मी भेट्टाएँ भने, म तिनीहरूका खातिर त्यो सबै ठाउँलाई छोडिदिनेछु।

उत्पत्ति १८:२९ अनि तिनी फेरि उहाँसँग बोले र भने, केही गरी त्यहाँ चालीस जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसो गर्नेछैनँ।

उत्पत्ति १८:३० अनि तिनले उहाँलाई भने, केही गरी त्यहाँ तीस जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसो गर्नेछैनँ।

उत्पत्ति १८:३१ अनि तिनले भने, केही गरी त्यहाँ बीस जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसलाई नष्ट गर्नेछैनँ।

उत्पत्ति १८:३२ अनि तिनले भने, केही गरी त्यहाँ दश जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसलाई नष्ट गर्नेछैनँ।

यी मैले बाइबलबाट चुनेका केही खण्डहरू हुन्। ती पूर्ण, मूल संस्करणहरू होइनन्। यदि तिमीहरू ती खण्डहरू हेर्न चाहन्छौ भने, आफै बाइबलमा हेर्न सक्छौ; समय बचत गर्नका लागि, मैले मूल सामग्रीको केही भाग हटाएको छु। यहाँ मैले केही मुख्य खण्ड र वाक्यहरू मात्र चुनेको छु, र आजको हाम्रो सङ्गतिसित सम्‍बन्धित नरहेका विभिन्‍न वाक्यहरूलाई हटाएको छु। हामीले सङ्गति गर्ने सबै खण्ड र विषयहरूमा, हामी कथाहरूको विवरण र मानिसका आचरणहरूमा त्यत्ति ध्यान दिँदैनौँ; त्यसको सट्टा, हामी केवल त्यस बेला परमेश्‍वरका विचार र योजनाहरू के थिए भन्‍ने बारेमा मात्र कुरा गर्छौं। परमेश्‍वरका विचार र योजनाहरूमा हामी परमेश्‍वरको स्वभाव देख्‍नेछौँ र परमेश्‍वरले गर्नुभएका सबै कुराबाट हामी साँचो परमेश्‍वर स्वयम्‌लाई देख्‍नेछौँ—यसमा हामी आफ्नो उद्देश्य हासिल गर्नेछौँ।

परमेश्‍वरका वचनहरू र उहाँका आज्ञाहरू पालन गर्न सक्‍नेहरूलाई मात्र उहाँले वास्ता गर्नुहुन्छ

माथिका खण्डहरूमा धेरै वटा मुख्य शब्‍दहरू अर्थात् सङ्ख्याहरू छन्। सबैभन्दा पहिला, यहोवाले सहरमा पचास जना धर्मी भेट्टाउनुभयो भने, उहाँले त्यो ठाउँलाई जोगाउनुहुनेछ भनी भन्‍नुभयो, यसको मतलब, उहाँले त्यो सहरलाई नष्ट पार्नुहुनेथेन। वास्तवमा, के सदोममा पचास जना धर्मी मानिस थिए त? थिएनन्। त्यसको लगत्तै, अब्राहामले परमेश्‍वरलाई के भने? तिनले भने, यदि त्यहाँ चालीस जना भेट्टाइयो भने? तर परमेश्‍वरले भन्‍नुभयो, म त्यसो गर्नेछैनँ। फेरि, अब्राहामले भने, हुन सक्छ तीस जना भेट्टाइयो भने? तर परमेश्‍वरले भन्‍नुभयो, म त्यसो गर्नेछैनँ। र कतै बीस जना भेट्टाइयो भने? म त्यसो गर्नेछैनँ। दस जना? म त्यसो गर्नेछैनँ। के त्यो सहरमा वास्तवमा दस जना धर्मी मानिसहरू थिए? त्यहाँ दस जना थिएनन्—तर एक जना थियो। अनि त्यो एक जना को थियो? ऊ लोत थियो। त्यस समयमा सदोममा एक जना मात्र धर्मी व्यक्ति थियो, तर के यो सङ्ख्या सुनेर परमेश्‍वरले धेरै कडा वा कठोर व्यवहार गर्दै हुनुहुन्थ्यो? होइन, गर्नुभएको थिएन! अनि जब मानिसले यसो भन्दै सोधिरह्यो, “चालीस जना भए के गर्नुहुन्थ्यो?” “तीस जना भए के गर्नुहुन्थ्यो?” आखिरीमा तिनले भने, “दस जना भए के गर्नुहुन्थ्यो?” परमेश्‍वरले भन्‍नुभयो, “यदि त्यहाँ दस जना मात्र भए पनि म सहरलाई नाश गर्दिनँ। म त्यसलाई जोगाउनेछु, र ती दस जनाबाहेक अरू मानिसलाई पनि क्षमा दिनेछु।” यदि त्यहाँ दस जना मात्र थिए भने पनि तिनीहरू दया पाउन योग्य हुन्थे, तर अवस्था यस्तो थियो कि सदोमको धर्मी जनको सङ्ख्या वास्तवमा त्यत्ति पनि थिएन। त्यसपछि तँ देख्छस् कि परमेश्‍वरको नजरमा त्यो सहरका मानिसहरूका पाप र दुष्टता यति धेरै थियो कि उनीहरूलाई नष्ट गर्नुबाहेक परमेश्‍वरसँग अर्को कुनै विकल्प थिएन। परमेश्‍वरले यदि त्यहाँ पचास जना धर्मी छन् भने उहाँले त्यो सहरलाई नष्ट गर्नुहुनेछैन भनी भन्‍नुभएको वचनको अर्थ के थियो? यी सङ्ख्याहरू परमेश्‍वरका लागि महत्त्वपूर्ण थिएनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यो सहरमा उहाँले चाहनुभएका धर्मीहरू छन् कि छैनन् भन्‍ने थियो। यदि सहरमा केवल एक जना मात्र धर्मी व्यक्ति हुन्थ्यो भने पनि, परमेश्‍वरले त्यस सहरको विनाश हुँदा उनीहरूलाई नोक्सानमा पर्न दिनुहुनेथेन। यसको अर्थ यो हो कि चाहे परमेश्‍वरले त्यो सहरलाई नष्ट गर्नुभए पनि वा नगर्नुभए पनि, र त्यसमा धर्मी मानिसहरू जति जना नै भए पनि, परमेश्‍वरको नजरमा त्यो पापी सहर श्रापित र निन्दनीय थियो, यसैले त्यसलाई नाश पारिनुपर्थ्यो, र परमेश्‍वरको नजरबाट त्यो विलुप्त हुनुपर्थ्यो, तर धर्मीजन भने बाँकी रहनुपर्थ्यो। युग जुनसुकै भए पनि, मानवजातिको विकासको चरण जुनसुकै भए पनि, परमेश्‍वरको मनोवृत्ति परिवर्तन हुँदैन: उहाँ दुष्टतालाई घृणा गर्नुहुन्छ, र उहाँको नजरमा जो धर्मी छन्, तिनैको वास्ता गर्नुहुन्छ। परमेश्‍वरको यो स्पष्ट मनोवृत्ति परमेश्‍वरको सारको साँचो प्रकाश पनि हो। त्यो सहरमा एक जना मात्र धर्मी व्यक्ति भएकोले, परमेश्‍वर धेरै हिचकिचाउनुभएन। अन्तिम परिणाम के थियो भने सदोम अनिवार्य रूपमा नष्ट हुने नै भयो। तिमीहरू यसमा के देख्छौ? त्यस युगमा, परमेश्‍वरले एउटा सहरमा पचास जना धर्मी भए त्यसलाई नाश पार्नुहुनेथिएन, र त्यहाँ दस जना भए पनि नाश पार्नुहुनेथिएन, र यसको अर्थ के हो भने, केही मानिसहरूले उहाँको डर मान्‍न र आराधना गर्न सकेको कारण परमेश्‍वरले मानवजातिप्रति क्षमाशील र सहनशील हुने वा तिनीहरूलाई अगुवाइ गर्ने निर्णय गर्नुहुनेथ्यो। परमेश्‍वरले मानिसका धर्मी कार्यहरूलाई ठूलो महत्त्व दिनुहुन्छ, उहाँको आराधना गर्नेहरूलाई उहाँले ठूलो महत्त्व दिनुहुन्छ, अनि उहाँको अगाडि असल कार्यहरू गर्नेहरूलाई उहाँले ठूलो महत्त्व दिनुहुन्छ।

प्रारम्भिक कालदेखि आजसम्म, के तिमीहरूले कहिल्यै बाइबलमा परमेश्‍वरले कुनै व्यक्तिलाई सत्यता व्यक्त गर्नुभएको वा परमेश्‍वरको मार्गको बारेमा कुरा गरिरहनुभएको बारेमा पढेका छौ? छैनौ, कहिल्यै पढेका छैनौ। मानिसका लागि बोलिएका परमेश्‍वरका वचनहरू जुन हामीले पढेका छौँ, तिनले मानिसहरूलाई के गर्नुपर्छ भन्‍ने मात्र बताए। केहीले गरे, केहीले गरेनन्; कतिले विश्‍वास गरे, र कतिले गरेनन्। त्यहाँ भएको त्यत्ति नै थियो। त्यसैले त्यस युगका धर्मीहरू—जो परमेश्‍वरको नजरमा धर्मी थिए—तिनीहरू केवल ती व्यक्तिहरू थिए जसले परमेश्‍वरको वचन सुन्‍न र परमेश्‍वरका आज्ञाहरू पालन गर्न सक्थे। तिनीहरू मानिसहरूको माझमा परमेश्‍वरका वचनहरू लैजाने सेवकहरू थिए। के त्यस्ता मानिसहरूलाई परमेश्‍वर चिन्‍नेहरू भनेर भन्‍न सकिन्छ? के तिनीहरूलाई परमेश्‍वरद्वारा सिद्ध पारिएका मानिसहरू भनी भन्‍न सकिन्छ? सकिँदैन, तिनीहरूलाई त्यसो भन्‍न सकिँदैन। त्यसैले तिनीहरूको सङ्ख्या जति नै भए पनि, के परमेश्‍वरको नजरमा यी धर्मी व्यक्तिहरू परमेश्‍वरका विश्‍वासपात्र भनिन योग्य थिए? के तिनीहरूलाई परमेश्‍वरका साक्षीहरू भन्‍न सकिन्छ? अवश्य सकिँदैन! तिनीहरू अवश्य नै परमेश्‍वरका विश्‍वासपात्र र साक्षीहरू भनिन योग्य थिएनन्। त्यसो भए, परमेश्‍वरले त्यस्ता मानिसहरूलाई के भनेर बोलाउनुभयो? बाइबलको पुरानो करारमा हामीले भर्खर पढेका पदहरूसम्म, परमेश्‍वरले तिनीहरूलाई “मेरो सेवक” भनी सम्बोधन गर्नुभएका धेरै वटा उदाहरणहरू छन्। भन्‍नुको अर्थ, त्यो बेला परमेश्‍वरको नजरमा ती धर्मी मानिसहरू परमेश्‍वरका सेवकहरू थिए, तिनीहरू पृथ्वीमा उहाँको सेवा गर्ने मानिसहरू थिए। अनि परमेश्‍वरले यो विशेष उपाधिको बारेमा के सोच्नुभयो? उहाँले तिनीहरूलाई किन त्यसरी बोलाउनुभयो? के परमेश्‍वरको हृदयमा मानिसहरूलाई सम्बोधन गर्ने विशेष उपाधिहरूका मापदण्डहरू छन्? उहाँसित निश्‍चय नै छ। परमेश्‍वरले मानिसहरूलाई धर्मी, सिद्ध, सोझो वा सेवकहरू जे भनेर सम्बोधन गर्नुभए पनि उहाँसित मापदण्डहरू हुन्छन्। जब उहाँले कसैलाई उहाँको सेवक भन्‍नुहुन्छ, तब उहाँले त्यो व्यक्ति उहाँका सन्देशहरू ग्रहण गर्न, उहाँका आज्ञाहरू पालन गर्न र सन्देशवाहकहरूबाट आज्ञा गरिएका काम पूरा गर्न सक्छ भन्‍ने दृढ विश्‍वास गर्नुहुन्छ। यस व्यक्तिले के काम गर्छ? यस्ता व्यक्तिहरूले ती कार्यहरू गर्छन् जुन कार्यहरू परमेश्‍वरले मानिसलाई पृथ्वीमा गर्न र अघि बढाउन लगाउनुहुन्छ। त्यस बेला, के परमेश्‍वरले मानिसलाई पृथ्वीमा गर्नू र अघि बढाउनू भनी भन्‍नुभएको कामलाई परमेश्‍वरको मार्ग भन्‍न सकिन्छ? अहँ, सकिँदैन। किनकि त्यस समयमा, परमेश्‍वरले मानिसलाई केही साधारण कार्यहरू मात्र गर्न लगाउनुभएको थियो; उहाँले केही साधारण आज्ञाहरूमात्र गरेर, मानिसलाई यो वा त्यो गर्नू मात्र भन्‍नुभयो, त्योभन्दा बढी केही पनि गर्न लगाउनुभएन। परमेश्‍वरले आफ्नो योजनाअनुसार काम गर्दै हुनुहुन्थ्यो। किनकि, त्यस समयमा यसको लागि आवश्यक धेरै अवस्थाहरू छँदै थिएनन्, समय अझै आइपुगेको थिएन, र मानवजातिका लागि परमेश्‍वरको मार्ग वहन गर्नु गाह्रो थियो, र यसरी परमेश्‍वरको मार्ग अझै पनि परमेश्‍वरको हृदयदेखि जारी हुन बाँकी नै थियो। परमेश्‍वरले जुन धर्मी मानिसहरूको कुरा गर्नुभयो तिनीहरूलाई आफ्ना दासहरूका रूपमा देख्‍नुभयो—चाहे ती तीस जना हुन् वा बीस जना। जब परमेश्‍वरका दूतहरू यी दासहरूकहाँ आए, तिनीहरूले उनीहरूलाई स्वीकार गर्न सके, र उनीहरूका आज्ञाहरू अनुसरण गरे, र उनीहरूका वचनहरूअनुसार कार्य गरे। परमेश्‍वरको नजरमा जो सेवकहरू थिए तिनीहरूले वास्तवमा यसै गर्नुपर्छ, र यही कुरा हासिल गर्नुपर्छ। परमेश्‍वरले मानिसहरूसँग विवेकशील रूपमा अपील गर्नुहुन्छ। तिनीहरू अहिलेका तिमीहरूजस्‍तै भएको कारणले—तिनीहरूले धेरै प्रचार सुनेका, परमेश्‍वरले के गर्नुहुन्छ भनी जानेका, परमेश्‍वरको धेरै इच्छा बुझेका, उहाँको व्यवस्थापन योजनालाई बुझेका कारणले—होइन बरु तिनीहरू आफ्नो मानवतामा इमानदार रहेका र परमेश्‍वरका वचनहरू पालन गर्न सक्‍ने भएकाले उहाँले तिनीहरूलाई आफ्‍ना सेवकहरू भनी भन्‍नुभयो। जब परमेश्‍वरले उनीहरूलाई आदेश दिनुभयो, तिनीहरू आफूले जे गरिरहेका हुन्थे, ती सबैलाई पन्छाएर परमेश्‍वरले अह्राउनुभएको आदेश पूरा गर्न सक्थे। त्यसैले परमेश्‍वरका लागि, सेवक पदवीको अर्को तहको अर्थ के हो भने, उनीहरूले पृथ्वीमा उहाँको काममा सहकार्य गरे, र तिनीहरू परमेश्‍वरका सन्देशवाहकहरू नभएका भए पनि पृथ्वीमा तिनीहरू परमेश्‍वरका वचनहरू कार्यान्वयन र लागू गर्नेहरू थिए। त्यसैले तैँले यी सेवकहरू वा धर्मी मानिसहरूले परमेश्‍वरको हृदयको ठूलो बोझ बोकेको देख्छस्। परमेश्‍वरले पृथ्वीमा सुरु गर्नुपर्ने काम मानिसहरूले उहाँसँग सहकार्य नगरी हुन सक्दैनथ्यो, र परमेश्‍वरका सेवकहरूले लिएका भूमिका परमेश्‍वरका सन्देशवाहकहरूले पूरा गर्न सक्दैनथे। परमेश्‍वरले यी सेवकहरूलाई अह्राउनुभएका प्रत्येक काम उहाँका लागि ठूलो महत्त्वका थिए, र त्यसकारण उहाँले तिनीहरूलाई गुमाउन सक्‍नुहुन्‍नथ्यो। परमेश्‍वरसँग यी सेवकहरूको सहकार्य नभएको भए, मानवजातिको माझमा उहाँको कार्य ठप्प हुनेथ्यो, जसको परिणामस्वरूप परमेश्‍वरको व्यवस्थापन योजना र परमेश्‍वरको आशा व्यर्थ हुनेथ्यो।

परमेश्‍वरले जसलाई वास्ता गर्नुहुन्छ तिनीहरूप्रति उहाँ अत्यन्तै कृपालु हुनुहुन्छ, र जसलाई उहाँले घृणा र अस्वीकार गर्नुहुन्छ तिनीहरूप्रति उहाँ अति नै क्रोधित हुनुहुन्छ

बाइबलका विवरणहरूमा भनिएअनुसार, के सदोममा परमेश्‍वरका दसजना सेवक थिए? अहँ, थिएनन्! के त्यो सहर परमेश्‍वरद्वारा बचाइन योग्य थियो? त्यो सहरका एक व्यक्ति, अर्थात् लोतले मात्र परमेश्‍वरका सन्देशवाहकहरूलाई स्वागत गरे। यसको तात्पर्य के हो भने, त्यस सहरमा परमेश्‍वरका एक मात्र सेवक थिए, र परमेश्‍वरसँग लोतलाई बचाउनु र सदोम सहरलाई नाश गर्नुबाहेक अरू कुनै विकल्प थिएन। माथि उल्‍लेखित अब्राहाम र परमेश्‍वरबीचको कुराकानी सरल देखिन्छ, तर ती कुराकानीले केही गहन कुरालाई प्रस्ट पार्छन्: परमेश्‍वरका कार्यहरूका सिद्धान्तहरू हुन्छन्, र निर्णय लिनुअघि उहाँले लामो समयसम्म अवलोकन र सोचविचार गरेर बिताउनुहुन्छ; सही समय नआउञ्‍जेल उहाँले कुनै निर्णय गर्नुहुन्‍न वा झटपट कुनै पनि निष्कर्ष निकाल्नुहुन्‍न। अब्राहाम र परमेश्‍वरबीचको बातचितले हामीलाई के देखाउँछ भने, सदोमलाई नाश गर्ने परमेश्‍वरको निर्णय अलिकति पनि गलत थिएन, किनकि परमेश्‍वरलाई त्यो सहरमा चालीस जना, तीस जना, वा बीस जना पनि धर्मी जन छैनन् भन्‍ने कुरा पहिल्यै थाहा थियो। त्यहाँ दस जना पनि थिएनन्। सहरका एक मात्र धर्मी व्यक्ति लोत थियो। सदोममा भएका सबै घटनाहरू र यसका परिस्थितिहरूलाई परमेश्‍वरले अवलोकन गर्नुभयो, र उहाँको निम्ति यो कुरा आफ्नै हत्केलाजत्तिकै अत्यन्तै परिचित थियो। तसर्थ उहाँको निर्णय गलत हुन सक्दैनथ्यो। यसको विपरीत, परमेश्‍वरको सर्वशक्तिमान्‌ताको तुलनामा, मानिस अति चेतनाशून्य, अति मूर्ख र अज्ञानी, र अति अदूरदर्शी छ। अब्राहाम र परमेश्‍वरबीचको बातचितमा हामी यही कुरा देख्छौँ। सुरुदेखि अहिलेसम्म परमेश्‍वरले आफ्नो स्वभाव प्रस्तुत गर्दै आउनुभएको छ। त्यसै गरी, यहाँ हामीले देख्‍नैपर्ने परमेश्‍वरको स्वभाव पनि छ। सङ्ख्याहरू सरल हुन्छन्—तिनले केही पनि प्रदर्शन गर्दैनन्—तर यहाँ परमेश्‍वरको स्वभावको एउटा महत्त्वपूर्ण अभिव्यक्ति छ। पचास धर्मीहरू भएको भए परमेश्‍वरले त्यस सहरलाई नष्ट गर्नुहुनेथेन। के यो परमेश्‍वरको कृपाले गर्दा हो? के यो उहाँको प्रेम र सहनशीलताको कारणले गर्दा हो? के तिमीहरूले परमेश्‍वरको स्वभावको यो पक्षलाई देख्यौ? त्यहाँ दस जना धर्मीहरू मात्र भए पनि, परमेश्‍वरले ती दस जना धर्मी मानिसहरूको खातिर त्यो सहरलाई नष्ट गर्नुहुनेथेन। के यो परमेश्‍वरको सहनशीलता र प्रेम हो वा होइन? ती धर्मी मानिसहरूप्रतिको परमेश्‍वरको कृपा, सहिष्णुता, र चिन्ताको कारण, उहाँले सहरलाई नष्ट पार्नुहुनेथेन। यो परमेश्‍वरको सहनशीलता हो। अनि, अन्त्यमा हामी के परिणाम देख्छौँ? जब अब्राहामले भने, “केही गरी त्यहाँ दश जना पाइए भने,” र परमेश्‍वरले भन्‍नुभयो, “म त्यसलाई नष्ट गर्नेछैनँ।” त्यसपछि, अब्राहामले थप केही भनेनन्, किनकि सदोममा तिनले भनेका दस जना धर्मी व्यक्तिहरू थिएनन् र तिनीसँग भन्‍नुपर्ने कुनै कुरा थिएन, अनि त्यस बेला परमेश्‍वरले सदोमलाई किन नाश गर्ने सङ्कल्प गर्नुभयो भन्‍ने कुरा तिनले बुझे। यसमा, तँ परमेश्‍वरको कस्तो स्वभाव देख्छस्? परमेश्‍वरले कस्तो प्रकारको सङ्कल्प गर्नुभयो? परमेश्‍वरले सङ्कल्प गर्नुभयो कि यदि त्यो सहरमा दस धर्मीहरू नभएको भए, उहाँले यसको अस्तित्व रहन दिनुहुनेथेन र यसलाई अवश्य नै नाश गर्नुहुनेथ्यो। के यो परमेश्‍वरको क्रोध होइन र? के यो क्रोधले परमेश्‍वरको स्वभावको प्रतिनिधित्व गर्छ? के यो स्वभाव परमेश्‍वरको पवित्र सारको प्रकटीकरण हो? के यो मानिसले चिढ्याउनु नहुने परमेश्‍वरको धर्मी सारको प्रकटीकरण हो? सदोममा दस जना पनि धर्मी मानिस नभएको पुष्टि भएपछि, परमेश्‍वरले त्यो सहर नष्ट पार्ने निश्‍चय गर्नुभयो, र त्यस सहरभित्रका मानिसहरूलाई कठोर सजाय दिनेवाला हुनुहुन्थ्यो, किनकि उनीहरूले परमेश्‍वरको विरोध गरेका थिए र तिनीहरू अति फोहोरी र भ्रष्ट बनेका थिए।

हामीले यी खण्डहरूलाई किन यसरी विश्‍लेषण गरेका छौँ? किनभने यी केही सरल वाक्यहरूले परमेश्‍वरको प्रशस्त कृपा र गहिरो क्रोधको स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्छन्। धर्मीहरूको कदर गर्ने र कृपा गर्ने, तिनीहरूप्रति सहिष्णु हुने र उनीहरूको वास्ता गर्नेबाहेक, परमेश्‍वरको हृदयमा सदोमका भ्रष्ट भइसकेका सबै मानिसहरूप्रति गहन घृणा थियो। यो प्रशस्त कृपा र गहिरो क्रोध थियो कि थिएन? परमेश्‍वरले कुन माध्यमले सहरलाई नाश गर्नुभयो? आगोद्वारा। उहाँले किन त्यसलाई आगोले जलाएर नाश गर्नुभयो? जब तँ कुनै थोक आगोमा जलिरहेको देख्छस्, वा जब तँ केही जलाउन थाल्छस्, तब त्यसप्रति तँमा कस्ता भावनाहरू आउँछन्? तँ त्यो किन जलाउन चाहन्छस्? के तँलाई अब त्यो आवश्यक छैन, तँ अब त्यसलाई हेर्न चाहँदैनस् भन्‍ने लाग्छ? के तँ त्यसलाई त्याग्‍न चाहन्छस्? परमेश्‍वरले आगोको प्रयोग गर्नु भनेको परित्याग र घृणा हो, र उहाँ अब सदोमलाई हेर्न चाहनुहुन्‍न भन्‍ने हो। यही भावनाको कारण परमेश्‍वरले सदोमलाई आगोले पूर्ण रूपले नाश पार्नुभयो। आगोको प्रयोगले परमेश्‍वर कति धेरै रिसाउनुभएको थियो भन्‍ने कुराको प्रतिनिधित्व गर्छ। परमेश्‍वरको कृपा र सहिष्णुता साँच्‍चै अस्तित्वमा छ, तर परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुभएको बेलामा परमेश्‍वरको पवित्रता र धार्मिकताले मानिसलाई परमेश्‍वरको कुनै उल्‍लङ्घन नसहने पक्षलाई पनि देखाउँछ। जब मानिस परमेश्‍वरका आज्ञाहरू पालन गर्न र परमेश्‍वरका मापदण्डहरूअनुसार काम गर्न पूर्ण रूपमा सक्षम हुन्छ, तब परमेश्‍वर मानिसप्रति प्रशस्त मात्रामा कृपालु हुनुहुन्छ; जब मानिस उहाँप्रतिको भ्रष्टता, घृणा र शत्रुताले भरिन्छ, परमेश्‍वर गम्भीर रूपले रिसाउनुहुन्छ। कुन हदसम्म उहाँ गम्भीर रूपले रिसाउनुहुन्छ? जबसम्म परमेश्‍वरले मानिसको प्रतिरोध र दुष्‍कर्महरू देख्‍नुहुनेछैन, जबसम्म तिनीहरू उहाँको नजरबाट हट्दैनन् तबसम्म उहाँको क्रोध रहनेछ। तब मात्र परमेश्‍वरको रिस हराउनेछ। अर्को शब्दमा भन्दा, व्यक्ति चाहे जो सुकै भए पनि, यदि तिनीहरूको हृदय परमेश्‍वरबाट टाढा भएको छ र परमेश्‍वरबाट कहिल्यै नफर्कने गरी तर्किगएको छ भने, चाहे जुनसुकै देखापराइ वा आफ्ना व्यक्तिगत चाहनाहरूको आधारमा तिनीहरूले जस्तै प्रकारले आराधना गर्ने, आफ्नो शरीर र सोचविचारमा परमेश्‍वरलाई पछ्याउने र आज्ञापालन गर्ने चाहना गरे पनि, परमेश्‍वरको क्रोध नरोकिने गरी बर्सिनेछ। मानिसलाई प्रशस्त मौकाहरू दिइसकेपछि जब परमेश्‍वरले गम्भीर रूपमा आफ्नो क्रोध पोखाउनुहुन्छ तब यस्तो अवस्था हुनेछ कि उहाँले त्यो फिर्ता लिने कुनै उपाय हुनेछैन, र उहाँ त्यस्तो मानव जातिसित फेरि कहिल्यै कृपालु र सहनशील हुनुहुनेछैन। यो परमेश्‍वरको स्वभावको एक पक्ष हो, जसले कुनै उल्‍लङ्घन सहँदैन। यहाँ, परमेश्‍वरले एउटा सहरलाई नाश पार्नु मानिसहरूलाई सामान्य लाग्छ, किनकि परमेश्‍वरको नजरमा, पापले भरिएको सहर अस्तित्वमा रहन र निरन्तर टिक्‍न सक्दैन, र त्यो परमेश्‍वरद्वारा नष्ट पारिनु तर्कसंगत थियो जस्तो लाग्छ। तैपनि उहाँले सदोमलाई नाश गर्नुभन्दा अघि र पछि जे भयो त्यसमा हामी परमेश्‍वरको स्वभावको सम्पूर्णता देख्छौँ। उहाँ दयालु र सुन्दर र असल कुराहरूप्रति सहनशील र कृपालु हुनुहुन्छ; खराब, पापी र दुष्ट कुराहरूप्रति उहाँ गम्भीर रूपमा क्रोधित हुनुहुन्छ, यहाँसम्म कि उहाँको क्रोध पनि कहिल्यै समाप्त हुँदैन। परमेश्‍वरका स्वभावका दुई वटा प्रमुख र अति महत्वपूर्ण पक्षहरू यिनै हुन्, र अझ भन्‍ने हो भने, यी पक्षहरू परमेश्‍वरद्वारा सुरुदेखि अन्त्यसम्मै प्रकट गरिएका छन्: प्रशस्त कृपा र गम्भीर क्रोध। तिमीहरूमध्ये धेरै जनाले परमेश्‍वरको केही कृपाको अनुभव गरेका छौ, तर तिमीहरूमध्ये थोरैले मात्र परमेश्‍वरको क्रोधलाई बुझेका छौ। परमेश्‍वरको कृपा र प्रेमिलोदयालुपन प्रत्येक व्यक्तिमा देख्‍न सकिन्छ; अर्थात्, परमेश्‍वर प्रत्येक व्यक्तिप्रति प्रशस्त रूपमा कृपालु हुनुभएको छ। तैपनि तिमीहरूमध्येको कुनै पनि व्यक्ति वा मानिसहरूको समूहप्रति बिरलै मात्र परमेश्‍वर अत्यन्तै रिसाउनुभएको छ—वा यसो पनि भन्‍न सकिन्छ कि उहाँ कहिल्यै पनि रिसाउनुभएकै छैन। ढुक्‍क होओ! ढिलो होस् वा चाँडो, परमेश्‍वरको क्रोधलाई प्रत्येक व्यक्तिले देख्‍नेछ र अनुभव गर्नेछ, तर अहिले त्यो समय आइसकेको छैन। किन यस्तो हुन्छ? किनकि जब परमेश्‍वर कोहीसँग निरन्तर रिसाउनुहुन्छ, अर्थात् जब उहाँले तिनीहरूमाथि आफ्नो गहिरो क्रोध प्रकट गर्नुहुन्छ, त्यसको अर्थ के हुन्छ भने, उहाँले लामो समयदेखि त्यस व्यक्तिलाई घृणा र अस्वीकार गर्दै आउनुभएको छ, उहाँले तिनीहरूको अस्तित्वलाई तुच्छ ठान्‍नुहुन्छ, र उहाँ तिनीहरूको अस्तित्वलाई सहन सक्‍नुहुन्‍न; उहाँको क्रोध तिनीहरूमाथि आउनेबित्तिकै तिनीहरू हराउनेछन्। आज, परमेश्‍वरको काम त्यस बिन्दुमा पुग्‍न बाँकी नै छ। परमेश्‍वर गहन रूपले रिसाउनुभएपछि तिमीहरूमध्ये कसैले पनि त्यसलाई सहन गर्न सक्‍नेछैनौ। तब तिमीहरू देख्छौ कि यस समयमा परमेश्‍वर तिमीहरू सबैप्रति प्रशस्त मात्रामा कृपालु हुनुहुन्छ, र तिमीहरूले उहाँको गहिरो रिस देख्‍न बाँकी नै छ। यदि यसमा विश्‍वस्त नभएका मानिसहरू छन् भने, तैँले परमेश्‍वरको क्रोध तँमाथि आओस् भनेर भन्‍न सक्छस्, ताकि तैँले परमेश्‍वरको क्रोध र मानिसको उल्‍लङ्घन नसहने उहाँको स्वभाव अस्तित्वमा छ कि छैन भनी अनुभव गर्नेछस्। के तिमीहरू हिम्मत गर्छौ?

आखिरी दिनहरूका मानिसहरूले परमेश्‍वरका वचनहरूमा मात्र उहाँको क्रोध देख्छन्, तर परमेश्‍वरको क्रोधलाई साँच्‍चै अनुभव गर्दैनन्

के धर्मशास्‍त्रका यी खण्डहरूमा देखिएका परमेश्‍वरको स्वभावका दुई पक्षहरू सङ्गतिको योग्य छन्? यो कथा सुनेपछि, के तिमीहरूसँग परमेश्‍वरको बारेमा नयाँ बुझाइ आएको छ? तँसँग कस्तो प्रकारको बुझाइ छ? यो भन्‍न सकिन्छ कि सृष्टिको समयदेखि आजसम्म, यस अन्तिम समूहले जस्तो परमेश्‍वरको अनुग्रह वा कृपा र प्रेमिलोदयालुपनको आनन्द कुनै समूहले उठाएको छैन। अन्तिम चरणमा, परमेश्‍वरले न्याय र सजायको काम गरिसक्‍नुभएको, र उहाँले उहाँको काम प्रताप र क्रोधको साथ गरिसक्‍नुभएको भए पनि, धेरैजसो समय परमेश्‍वरले आफ्नो काम पूरा गर्न केवल वचनहरूको मात्र प्रयोग गर्नुहुन्छ; उहाँले शिक्षा दिन र मलजल गर्न, आपूर्ति र पोषण प्रदान गर्नका लागि वचनहरूको प्रयोग गर्नुहुन्छ। यसबीच, परमेश्‍वरको क्रोधलाई सधैँ लुकाएर राखिएको छ, र परमेश्‍वरका वचनहरूमा उहाँको क्रोधपूर्ण स्वभावको अनुभव गरेको बाहेक, थोरै मानिसहरूले मात्र उहाँको क्रोध व्यक्तिगत रूपमा अनुभव गरेका छन्। भन्‍नुको अर्थ, परमेश्‍वरले न्याय र सजायको काम गर्नुभएको अवधिमा, परमेश्‍वरका वचनहरूमा प्रकट भएको क्रोधले मानिसहरूलाई परमेश्‍वरको प्रताप र उल्‍लङ्घनप्रतिको उहाँको असहिष्णुताको अनुभव गराउने भए पनि, यो क्रोध उहाँका वचनहरूभन्दा पर जान सक्दैन। अर्को शब्दमा भन्दा, परमेश्‍वरले मानिसलाई हप्काउन, मानिसलाई उदाङ्गो पार्न, मानिसको न्याय गर्न, मानिसलाई सजाय दिन र मानिसलाई दोषी ठहराउन समेत वचनहरूकै प्रयोग गर्नुहुन्छ—तर परमेश्‍वर अझैसम्म मानिससित असाध्यै रिसाउनुभएको छैन र उहाँले आफ्नो वचनबाहेक अन्य माध्यमद्वारा मानिसमाथि आफ्नो क्रोध थोरै मात्र प्रकट गर्नुभएको छ। यसरी, यस युगमा मानिसले अनुभव गरेको परमेश्‍वरको कृपा र प्रेमिलोदयालुपन परमेश्‍वरको वास्तविक स्वभावको प्रकाश हो भने, मानिसद्वारा अनुभव गरिएको परमेश्‍वरको क्रोध केवल उहाँका वाणीहरूको शैली र भावनाको प्रभाव हो। धेरै मानिसहरूले यो प्रभावलाई गलत प्रकारले साँचो अनुभव र परमेश्‍वरको क्रोधको सही ज्ञानको रूपमा लिन्छन्। फलस्वरूप, धेरैजसो मानिसहरूले परमेश्‍वरका वचनहरूमा उहाँको कृपा र प्रेमिलोदयालुपन देखेको, र मानिसको उल्‍लङ्घनप्रतिको परमेश्‍वरको असहिष्णुता अवलोकन गरेको, र तीमध्ये धेरैले मानिसप्रति परमेश्‍वरको कृपा र सहिष्णुतालाई पनि बुझेको विश्‍वास गर्छन्। तर मानिसको व्यवहार जति नै खराब भए पनि, वा उसको स्वभाव जति नै भ्रष्ट भए पनि, परमेश्‍वरले सधैँ सहनुभएको छ। सहने क्रममा, उहाँको उद्देश्य भनेको आफूले बोलेका वचनहरू, आफूले गरेका प्रयासहरू र आफूले चुकाएको मूल्यले आफूले प्राप्त गर्न चाहेका व्यक्तिहरूमा प्रभाव पारून् भनेर प्रतीक्षा गर्नु हो। जसरी मानिसहरू जन्‍मनेबित्तिकै वयस्क हुँदैनन्, त्यसरी नै यस्तो परिणामको प्रतीक्षा गर्न समय लाग्छ, र यसको लागि मानिसलाई विभिन्‍न वातावरणहरूको निर्माण गरिदिनुपर्ने आवश्यकता हुन्छ; परिपक्‍व वयस्क बन्‍नका लागि अठार वा उन्‍नाइस वर्ष लाग्छ, र केही मानिसहरूलाई त बीस वा तीस वर्ष पनि लाग्छ। परमेश्‍वरले यो प्रक्रिया समाप्त भइञ्‍जेल पर्खनुहुन्छ, उहाँ त्यस्तो समयको प्रतीक्षा गर्नुहुन्छ, र उहाँले यो परिणाम आउने दिन कुर्नुहुन्छ। उहाँले प्रतीक्षा गर्ने समयभरि, परमेश्‍वरले प्रशस्त कृपा गर्नुहुन्छ। तैपनि, परमेश्‍वरको कामको अवधिमा, उहाँको गम्भीर विरोध गरेको कारण अत्यन्त थोरै मानिसहरूलाई मात्र प्रहार गरिन्छ, र केही मानिसहरूलाई दण्डित गरिन्छ। त्यस्ता उदाहरणहरू मानिसको उल्लङ्घन नसहने परमेश्‍वरको स्वभावको अझ ठूलो प्रमाण हुन्, र तिनले चुनिएका मानिसहरूप्रतिको परमेश्‍वरको सहिष्णुता र धैर्यताको वास्तविक अस्तित्वलाई पूर्ण रूपमा पुष्टि गर्छन्। अवश्य नै, यी ठेट उदाहरणहरूमा, यी मानिसहरूमा हुने परमेश्‍वरको स्वभावको केही भागको प्रकटीकरणले परमेश्‍वरको समग्र व्यवस्थापन योजनालाई कुनै असर गर्दैन। वास्तवमा, परमेश्‍वरको कामको यो अन्तिम चरणमा, आफूले पर्खिरहेको अवधिभरि परमेश्‍वरले सहनुभएको छ, र उहाँलाई पछ्याउनेहरूको मुक्तिको लागि उहाँले आफ्नो धैर्यता र जीवन दिनुभएको छ। के तिमीहरू यस कुरालाई देख्छौ? परमेश्‍वरले कुनै कारणविना आफ्नो योजना उल्टाउनुहुन्‍न। उहाँले आफ्नो क्रोध प्रकट गर्न सक्‍नुहुन्छ, र उहाँ कृपालु पनि हुन सक्‍नुहुन्छ; यो परमेश्‍वरको स्वभावका दुई मुख्य पाटोको प्रकाश हो। यो स्पष्ट छ कि स्पष्ट छैन? अर्को शब्दमा भन्दा, जब परमेश्‍वरको कुरा आउँछ, तब सही र गलत, धर्मी र अधर्मी, सकारात्मक र नकारात्मक—यी सबै कुरा मानिसलाई स्पष्ट रूपमा देखाइन्छ। उहाँले के गर्नुहुनेछ, उहाँलाई के मन पर्छ, उहाँले कुन कुरालाई घृणा गर्नुहुन्छ—यी सबै कुरा उहाँको स्वभावमा प्रत्यक्ष रूपमा झल्किन सक्छन्। त्यस्ता कुराहरू स्वाभाविक र स्पष्ट रूपमा परमेश्‍वरको काममा पनि देख्‍न सकिन्छ, र ती अस्पष्ट वा सामान्य छैनन्; बरु, ती कुराले त सबै मानिसहरूलाई परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई विशेष र ठोस रूपमा, सत्य र व्यावहारिक तरिकामा देखाउँछन्। साँचो परमेश्‍वर स्वयम्‌ भनेकै यही हो।

परमेश्‍वरको स्वभावलाई मानिसबाट कहिल्यै लुकाइएको छैन—मानिसको हृदयचाहिँ परमेश्‍वरबाट तर्केर गएको छ

यदि मैले यी कुराको बारेमा सङ्गति नगरेको भए, तिमीहरूमध्ये कसैले पनि बाइबलका कथाहरूमा परमेश्‍वरको वास्तविक स्वभावलाई देख्‍नेथेनौ। तथ्य यही हो। किनभने बाइबलका यी कथाहरूले परमेश्‍वरले गर्नुभएका केही कुराहरूको बारेमा वर्णन गरे तापनि, परमेश्‍वरले थोरै वचन मात्र बोल्नुभयो, र उहाँले आफ्नो स्वभावको प्रत्यक्ष परिचय दिनुभएन वा मानिसको सामु खुलेर आफ्नो इच्छा व्यक्त गर्नुभएन। पछिल्ला पुस्ताहरूले यी विवरणहरूलाई कथाबाहेक अरू केही ठानेका छैनन्, र मानिसहरूलाई लाग्छ कि परमेश्‍वरले आफूलाई मानिसहरूबाट लुकाउनुहुन्छ, मानिसहरूबाट लुकाइएको त्यो कुरा परमेश्‍वरको व्यक्तित्व होइन, बरु उहाँको स्वभाव र इच्छा हो। आजको मेरो सङ्गतिपछि, के तिमीहरूलाई अझै पनि परमेश्‍वर मानिसबाट पूर्ण रूपमा लुक्‍नुभएको छ भन्‍ने लाग्छ? के तिमीहरूलाई अझै पनि परमेश्‍वरको स्वभाव मानिसबाट लुकेको छ भन्‍ने विश्‍वास छ?

सृष्टिको समयदेखि नै, परमेश्‍वरको स्वभाव उहाँको काम सँगसँगै साथमा रहेको छ। यसलाई मानिसबाट कहिल्यै पनि लुकाइएको छैन, बरु यसलाई मानिसका लागि पूर्ण प्रचारित र स्पष्ट गरिएको छ। तैपनि, समय बित्दै जाँदा मानिसको हृदय परमेश्‍वरबाट झन्झन् टाढा हुँदै गएको छ, र मानिसको भ्रष्टता अझै गहिरो हुँदै जाँदा, मानिस र परमेश्‍वर एकअर्काबाट झन्झन् टाढा बनेका छन्। बिस्तारै तर निश्‍चित रूपमा, मानिस परमेश्‍वरको दृष्टिबाट हराएको छ। मानिस परमेश्‍वरलाई “देख्‍न” असमर्थ भएको छ, जसको कारण ऊ परमेश्‍वरको कुनै “खबर” बिना रहेको छ; तसर्थ, परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने उसलाई थाहा छैन, र ऊ परमेश्‍वरको अस्तित्वलाई नै पूर्ण रूपमा अस्वीकार गर्ने हदसम्म पुग्छ। फलस्वरूप, मानिसले परमेश्‍वरको स्वभावलाई, र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई बुझ्न नसक्‍नु परमेश्‍वर मानिसबाट लुक्‍नुभएकोले गर्दा होइन, उसको हृदय परमेश्‍वरबाट टाढा गएकोले गर्दा भएको हो। मानिसले परमेश्‍वरमा विश्‍वास गरे पनि मानिसको हृदय परमेश्‍वररहित छ, र परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ भन्‍ने कुराप्रति ऊ अनभिज्ञ छ, र ऊ परमेश्‍वरलाई प्रेम गर्न पनि चाहँदैन, किनकि उसको हृदय कहिल्यै परमेश्‍वरको नजिक जाँदैन र ऊ सधैँ परमेश्‍वरदेखि टाढा रहन्छ। फलस्वरूप, मानिसको हृदय परमेश्‍वरदेखि टाढा छ। त्यसो भए, उसको हृदय कहाँ छ? वास्तवमा, मानिसको हृदय कहीँ पनि गएको छैन: परमेश्‍वरलाई हृदय दिनु वा परमेश्‍वरले हेरून् भनी हृदय देखाउनुको साटो उसले आफ्नो हृदय आफ्नै निम्ति राखेको छ। यस्तो हुँदाहुँदै पनि केही मानिसहरूले प्राय: “हे परमेश्‍वर, मेरो हृदयमा हेर्नुहोस्—म के सोच्छु ती सबै तपाईँ जान्‍नुहुन्छ” भन्दै प्रार्थना गर्छन् र कतिले त परमेश्‍वरलाई आफूमाथि नियाल्न दिने शपथसमेत खान्छन्, शपथ भङ्ग गरे दण्ड दिइओस् भनेरसमेत भन्छन्। मानिसले परमेश्‍वरलाई उसको हृदयभित्र हेर्ने अनुमति दिए पनि, त्यसको अर्थ मानिस परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरू पालन गर्न सक्षम छ भन्‍ने हुँदैन, न त उसले आफ्नो भाग्य र सम्भावनाहरू र उसका सबै कुराहरू परमेश्‍वरको नियन्त्रणमा छोडेको छ भन्‍ने नै हुन्छ। यसैले, तैँले परमेश्‍वरको अघि शपथ खाए पनि वा उहाँको अघि जे घोषणा गरे पनि परमेश्‍वरको नजरमा तेरो हृदय अझैसम्म उहाँका निम्ति बन्द रहेको छ, किनकि तैँले परमेश्‍वरलाई तेरो हृदयमा हेर्न मात्र दिन्छस् तर उहाँलाई त्यसमाथि नियन्त्रण गर्न दिँदैनस्। अर्को शब्दमा भन्दा, तैँले परमेश्‍वरलाई आफ्नो हृदय बिलकुलै दिएको छैनस्, र परमेश्‍वरलाई सुनाउनको लागि राम्रो सुनिने वचनहरू मात्र बोल्छस्; यस क्रममा तैँले परमेश्‍वरबाट आफ्ना विभिन्‍न छली अभिप्रायहरू लुकाउँछस्, यसको साथै तेरा षड्यन्त्र, युक्ति र योजनाहरू पनि लुकाउँछस् र तैँले आफ्नो सम्भाव्यता र नियतिलाई आफ्नै हातमा पक्रेर राख्छस्, र तँ ती कुरा परमेश्‍वरले खोस्‍नुहुनेछ भनी साह्रै डराउँछस्। यसप्रकार, परमेश्‍वरले कहिल्यै पनि उहाँप्रतिको मानिसको इमानदारिता देख्‍नुहुन्‍न। परमेश्‍वरले मानिसको हृदयको गहिराइलाई अवलोकन गर्नुहुने, र मानिसले के सोचिरहेको छ र उसले आफ्‍नो हृदयमा के गर्ने इच्छा गर्छ, र उसको हृदयभित्र के-कस्ता कुराहरू राखिएका छन् भनी देख्‍न सक्‍नुहुने भए तापनि, मानिसको हृदय परमेश्‍वरको स्वामित्वमा हुँदैन, र उसले परमेश्‍वरको नियन्त्रणमा रहने गरी आफ्नो हृदय दिएको हुँदैन। भन्‍नुको अर्थ, परमेश्‍वरसँग अवलोकन गर्ने अधिकार त हुन्छ, तर नियन्त्रण गर्ने अधिकार भने हुँदैन। मानिसले आफ्नो व्यक्तिपरक चेतनामा आफूलाई परमेश्‍वरको बन्दोबस्तमा सुम्पने चाह वा इच्छा गर्दैन। मानिसले आफैलाई परमेश्‍वरको लागि बन्द गरेको त छ नै, अझ यहाँ त त्यस्ता मानिसहरू पनि छन् जो झूटो प्रभाव पार्न र परमेश्‍वरको भरोसा जित्‍न चिप्ले कुरा र चापलुसी गर्दै, अनि आफ्नो वास्तविक अनुहार परमेश्‍वरको नजरबाट लुकाउँदै आफ्नो हृदय ढाक्‍ने उपायहरू सोच्छन्। परमेश्‍वरलाई देख्‍न नदिनुको पछाडि तिनीहरूको उद्देश्य भनेको तिनीहरू वास्तवमा कस्ता छन् त्यो परमेश्‍वरलाई बुझ्न नदिनु हो। तिनीहरू आफ्नो हृदय परमेश्‍वरलाई दिन चाहँदैनन्, बरु आफ्नै निम्ति राख्‍न चाहन्छन्। यसको भित्री अर्थ यही हो कि मानिसले जे गर्छ र उसले जे चाहन्छ ती सबै नै मानिस आफैद्वारा योजना, अनुमान र निर्णय गरिएको हुन्छ; उसलाई परमेश्‍वरको सहभागिता वा हस्तक्षेपको आवश्यकता पर्दैन, परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरू उसलाई आवश्यक हुने त कुरै नगरौँ। यसैले, चाहे परमेश्‍वरका आज्ञाहरू, उहाँका आदेशहरूको सम्बन्धमा होस् वा परमेश्‍वरले मानिससँग गर्नुभएका मापदण्डहरूको सम्‍बन्धमा होस्, मानिसका निर्णयहरू उसका आफ्नै इच्छा र चासोहरूमा, त्यो बेलाको उसको आफ्नै अवस्था र परिस्थितिहरूमा आधारित हुन्छन्। मानिसले जहिल्यै पनि ऊ हिँड्नुपर्ने बाटोको बारेमा मूल्याङ्कन गर्न र त्यसलाई चुन्‍न उसले जानेको ज्ञान र जानकारी, र उसको आफ्नै बुद्धिको प्रयोग गर्छ, र उसले परमेश्‍वरलाई हस्तक्षेप वा नियन्त्रणको अनुमति दिँदैन। परमेश्‍वरले देख्‍नुहुने मानिसको हृदय यही हो।

सुरुदेखि आजको दिनसम्म, मानिस मात्र परमेश्‍वरसँग कुराकानी गर्न सक्षम रहेको छ। अर्थात्, सबै जीवित प्राणीहरू र परमेश्‍वरका सृष्टिहरूमध्ये मानिसबाहेक अरू कुनै पनि जीव परमेश्‍वरसँग कुराकानी गर्न सक्षम रहेको छैन। मानिससित कान छन् जसद्वारा उसले सुन्‍न सक्छ, र उसँग आँखा छन् जसद्वारा उसले देख्‍न सक्छ; ऊसित भाषा छ, र आफ्नै विचारहरू र स्वतन्त्र इच्छा छ। ऊसित ती सबै कुराहरू छन् जुन परमेश्‍वर बोल्नुभएको सुन्‍न, परमेश्‍वरको इच्छा बुझ्न र परमेश्‍वरको आदेश स्वीकार गर्नका निम्ति चाहिन्छ, र यसकारण मानिस उहाँको जस्तै मनमस्तिष्क भएको सहयात्री होस् र उहाँको साथमा हिँड्न सकोस् भन्‍ने चाहना गर्दै परमेश्‍वरले उहाँका सबै चाहनाहरू मानिसलाई प्रदान गर्नुहुन्छ। जबदेखि परमेश्‍वरले व्यवस्थापन गर्न थाल्नुभयो, त्यसै बेलादेखि मानिसले आफ्नो हृदय उहाँलाई दिओस्, परमेश्‍वरलाई त्यो शुद्ध र सुसज्‍जित पार्न दिओस्, उसलाई परमेश्‍वरका निम्ति सन्तोषजनक र परमेश्‍वरको प्रिय बनाउन, उसलाई परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने बनाउन दिओस् भनेर उहाँले पर्खिरहनुभएको छ। परमेश्‍वरले सधैँ बाटो हेर्दै यो नतिजा पर्खिरहनुभएको छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरप्रति सदोमको निरन्तर शत्रुता र विरोधपछि, उहाँले यसलाई पूर्ण रूपमा मेटाउनुहुन्छ

अहिले हामीले परमेश्‍वरको धर्मी स्वभावको बारेमा आम बुझाइ प्राप्त गरिसकेको हुनाले, हामी हाम्रो ध्यान सदोम सहरतर्फ फर्काउन सक्छौँ—एउटा यस्तो...

परमेश्‍वरको क्रोध भड्काएकोले सदोम पूर्णतया भस्‍म हुन्छ

जब सदोमका मानिसहरूले यी दुई सेवकलाई देखे, तिनीहरूले तिनीहरू आउनुको कारण सोधेनन्, न त कसैले तिनीहरू परमेश्‍वरको इच्‍छाको बारेमा प्रचार गर्न...

शैतान मानवीय, न्यायसंगत र चरित्रवान् देखिए पनि, शैतानको सार निर्दयी र दुष्ट छ

शैतानले मानिसहरूलाई छल गरेर आफ्‍नो प्रतिष्ठा निर्माण गर्छ, र यसले बारम्बार आफैलाई धार्मिकताको अग्रगामी र आदर्शको रूपमा स्थापित गर्छ।...

परमेश्‍वरको क्रोध लुकेको अनि मानिसको लागि अज्ञात भए पनि यसले कुनै उल्‍लङ्घन सहँदैन

मानवजाति जति नै मूर्ख र अज्ञानी भए पनि, परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई गर्नुहुने व्यवहार मुख्यतया कृपा र सहनशीलतामा आधारित छ। अर्कोतर्फ,...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्