वास्तवमा कसले मेरो परिवार टुक्र्यायो?

25 अप्रिल 2023

म शिक्षिका थिएँ, र मेरा श्रीमान इन्जिनियर थिए। हाम्रो वैवाहिक सम्‍बन्ध निकै राम्रो थियो, र हाम्री छोरी निकै स्मार्ट र शिष्ट थिई। हाम्रा इष्टमित्र र सहकर्मीहरू सबैले हाम्रो तारिफ गर्थे। त्यसपछि सन् २००६ को डिसेम्‍बरमा मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकारेँ। परमेश्‍वरका वचनहरू पढेर, मैले हाम्रा मुक्तिदाता सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन धेरै सत्यता व्यक्त गर्नुभएको छ भन्‍ने थाहा पाएँ। विश्‍वास गर्नु, परमेश्‍वरका वचन पढ्नु, सत्यता प्राप्त गर्नु अनि पाप र हाम्रा भ्रष्ट स्वभावलाई त्याग्‍नु नै महा-विपत्तिहरूमा परमेश्‍वरद्वारा सुरक्षा पाउने, र अन्तिममा उहाँको राज्यमा प्रवेश गर्ने एकमात्र तरिका हो। हामी प्रत्येकको जीवन परमेश्‍वरबाट आएको हुन्छ, र हामीसँग भएका सबै कुरा परमेश्‍वरले नै दिनुभएको हुन्छ भन्‍ने पनि मैले सिकेँ। सृष्टि गरिएका प्राणीको रूपमा हामीले आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ। पछि मैले सुसमाचार सुनाउन र नयाँ विश्‍वासीहरूलाई मलजल गर्न थालेँ। हरेक दिन निकै सन्तुष्टि मिल्थ्यो। मेरा श्रीमानले म विश्‍वासी बनेदेखि, मेरो मुहारमा सधैँ मुस्कान छाएको देखे, र मलाई खुसी हुँदै भने, “पहिले त तिमी दिनभरिको कामले सधैँ पुरै लखतरान हुन्थ्यौ र मलाई तिम्रो चिन्ता लाग्थ्यो। विश्‍वासी भएपछि तिमी दिनभरि व्यस्त हुन्छौ, तर तिम्रो अवस्था झन्-झन् राम्रो हुँदै छ। विश्‍वास गर्दा त अवश्य राम्रो हुने रहेछ!” तर राम्रो कुरा धेरै टिक्दैन। चाँडै नै, मेरा श्रीमानले मलाई दमन गर्न र मेरो विश्‍वासमा बाधा दिन थाले।

सन् २००७ को मार्चमा एक दिन, तिनी कामबाट आए र भित्र पस्नेबित्तिकै मलाई कठोरताका साथ भने, “आज हाम्रा हाकिमले हरेक विभागका कर्मचारीहरूको साधारण सभा बोलाएका थिए र हालैका वर्षहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरका विश्‍वासीहरू बढिरहेका छन् र पार्टीलाई अत्याइरहेका छन् भनेर भने। तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई प्रमुख राष्ट्रिय निसानाको रूपमा सूचीकृत गरेका छन्, र सर्वशक्तिमान्‌ परमेश्‍वरका सबै विश्‍वासीहरू कम्युनिस्ट पार्टीको पक्राउमा पर्छन्। सरकारी कर्मचारीहरूलाई अझै खराब हुन्छ: कसैले विश्‍वास गरेको वा परिवारको सदस्य मण्डलीको सदस्य भएको पाइएमा उसलाई छूट नदिई तुरुन्तै निकालिन्छ! तिम्रो स्कूलमा कसैले पनि तिम्रो विश्‍वासबारे थाहा पाएका छैनन्, त्यसैले ढिलो हुनुअघि नै यो छोडिहाल। तिम्रा हाकिमले थाहा पाए भने, तिमी पक्राउ पर्नेछौ!” मैले सोचेँ, विश्‍वास गर्नु सही मार्ग हो र यसद्वारा कुनै कानुन तोडिँदैन, र पनि किन पार्टीले मलाई रोक्‍न चाहन्छ? त्यसैले मैले तिनलाई भनेँ, “चीन डब्लुटीओमा आबद्ध हुँदा, के यसले चीनमा धार्मिक स्वतन्त्रता पाइने घोषणा गरेको थिएन र? किन अहिले दमन गरिरहेको छ? मेरो विश्‍वासमा के गल्ती छ?” तिनी अत्यन्तै रिसाए र भने, “विश्‍वास गर्नु राम्रो कुरा हो भन्ने मलाई थाहा छ, तर पार्टीले यो अनुमति दिँदैन, तसर्थ हामी के गर्न सक्छौँ र? बाछो साँढेसँग जुध्न सक्दैन। विश्‍वास गरिरह्यौ भने तिमी कुनै पनि बेला पक्राउ परेर जेल जानेछौ। तिमी पक्राउ पऱ्यौ भने, के हाम्रो परिवार बरबाद हुनेछैन र? तिमीले यो परिवारको खातिर आफ्‍नो विश्‍वास छोड्नुपर्छ!” तिनको त्यस्तो कुरा सुन्दा मलाई रिस उठ्यो। पार्टीले मानिसहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न रोक्‍ने प्रयासमा तिनीहरूलाई दबाब दिन तिनीहरूका हाकिमहरू प्रयोग गर्छन् भन्‍ने मैले कल्‍पनै गरेकी थिइनँ, तर यसले मेरा श्रीमानको हृदय अचानक परिवर्तन हुनुको कारण स्पष्ट पाऱ्यो। मैले सोचेँ, यदि पार्टीले मेरो विश्‍वासबारे थाहा पायो भने मलाई सजिलै छोड्दैन होला। चीनमा विश्‍वासी बन्‍नु किन यति गाह्रो? त्यसपछि मलाई एउटी सिस्टरले पढेर सुनाएको परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो। “त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यही देशमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू उपहास र उत्पीडनको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्‍वरलाई विरोध गर्ने यही देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरैजसो वचनहरू पूरा हुन समय लाग्छ; यसर्थ, मानिसहरू परमेश्‍वरको वचनको कारण विशुद्ध गरिन्छन्, जो कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि यसलाई मानिसहरूको यो समूहलाई पूर्ण बनाउने मौकाको रूपमा प्रयोग गर्दै, उहाँको कार्यको एउटा चरण पूरा गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। मलाई याद छ, उनले यस्तो पनि सङ्गति दिएकी थिइन्, “कम्युनिस्ट पार्टी नास्तिक पार्टी हो। यसले परमेश्‍वरलाई घृणा गर्छ र यो परमेश्‍वरविरुद्ध छ। कम्युनिस्ट पार्टीले शासन गरेको देशमा विश्‍वासीहरूका रूपमा हामी अवश्य दमन र अपमानमा पर्छौँ। प्रभु येशूले एकपटक यसो भन्‍नुभएको थियो, ‘धार्मिकताको खातिर सताइनेहरू आशिषित्‌ हुन्: किनकि स्वर्गको राज्य तिनीहरूकै हो(मत्ती ५:१०)। परमेश्‍वर मानिसहरूको विश्‍वासलाई सिद्ध पार्न यस्ता दमनकारी परिस्थितिहरू प्रयोग गर्नुहुन्छ। त्यस्तो दमनकारी र पीडादायी परिस्थितिमा दह्रिलो हुन सक्‍नुलाई परमेश्‍वर सबैभन्दा बढी अनुमोदन गर्नुहुन्छ!” यसले मलाई विश्‍वास दियो। मैले पार्टीको दमनको कारण हार मान्नु हुँदैन भन्‍ने मलाई थाहा थियो। मेरा श्रीमानले मलाई जसरी बाधा दिए पनि, मैले विश्‍वास गर्ने अठोट गरेकी थिएँ।

केही समयसम्‍म, तिनीहरूको कार्यस्थलमा हरेक दिन नै बैठक बस्यो, जसमा कर्मचारीहरू वा तिनीहरूका परिवारका सदस्यहरू कोही पनि विश्‍वासी हुनु हुँदैन भनेर जोड दिइयो। मेरा श्रीमान घरमा आएर मलाई हरेक दिन नै पार्टीको विचारधाराबारे भाषण दिन्थे। एक साँझ म भेलाबाट घर आउँदा, तिनी गम्भीर मुद्रामा थिए र तिनले भने, “तँ भेलामा गइस्? तँलाई भेलामा नजा भनेर मैले कतिपटक भनेँ—तँ किन भनेको सुन्दैनस्? तँलाई पार्टीले धर्म मान्‍न निषेध गरेको छ भन्‍ने थाह छ त। हाम्रा हाकिमले हामीलाई बारम्‍बार पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरका विश्‍वासीहरूलाई सजिलै छोड्दैन भनेर भनेको छ! यस्तो नाजुक बेला तैँले विश्‍वास गर्नु समस्या निम्त्याउनु होइन र?” मैले भनेँ, “विश्‍वास गर्दा कुनै कानुन तोडिँन। विश्‍वास गर्न नदिन पार्टीसँग के अधिकार छ?” तिनले जवाफमा भने, “तैँले कुनै कानुन तोडेको नतोडेको पार्टीले मतलब गर्दैन। सर्वशक्तिमान्‌ परमेश्‍वरका विश्‍वासीहरूलाई राजनीतिक अपराधी ठानिन्छ। तेरो विश्‍वासको कारण तँलाई पार्टीले पक्राउ गऱ्यो भने, तैँले आफ्‍नो प्रतिष्ठा मात्रै बरबाद गर्दैनस्, तर तेरो ज्यान पनि खतरामा पर्नेछ, र तेरो परिवार पनि मुछिन्छ।” मैले श्रीमानलाई भनेँ, “पार्टी परमेश्‍वरविरोधी हो भन्‍ने तपाईंलाई राम्ररी थाहा छ, र पनि तपाईं तिनीहरूको पक्षमा उभिएर मलाई बाधा दिनुहुन्छ। तपाईंलाई दण्ड पाउने डर लाग्दैन?” तिनले हियाउँदै भने, “दण्ड महत्त्वपूर्ण होइन—परिस्थिति के भइरहेको छ भनेर बुझ्‍नु चाहिँ महत्त्वपूर्ण हो। अहिले कम्युनिस्ट पार्टी शक्तिमा छ, त्यसैले तिनीहरूको शासनमा तँ बाँच्‍न चाहन्छस् भने, तिनीहरू जे भन्छन् तैँले त्यही गर्नुपर्दैन र? म पार्टीबाट पैसा पाउँछु, त्यसैले मैले तिनीहरूको पक्षमा बोल्‍नु र काम गर्नुपर्छ। तैँले पनि पार्टी अन्तर्गत काम गरिरहेकी र तलब पाइरहेकी छस्, त्यसकारण तैँले पार्टीलाई पछ्याउनुको सट्टा परमेश्‍वरलाई पछ्याइस् भने, तिनीहरूले तँलाई त्यतिकै छोड्छन्? के कुरा जोखिममा छ तँलाई त्यो थाहा हुनुपर्छ! तँ पार्टीको पक्षमा छस् कि सर्वशक्तिमान्‌ परमेश्‍वरको पक्षमा छस्? तैँले आजै छनौट गर्नुपर्छ!” त्यो बेला म साँच्‍चै दोधारमा परेँ। मैले विश्‍वास कायम राख्‍ने निर्णय गरेँ भने, मेरा हाकिमले कुनै पनि बेला थाहा पाउन सक्थे। त्यसपछि मेरो पद गुम्नेथ्यो र मलाई सायद प्रहरीले पक्रिनेथिए। मैले यो जागिर खाएको एक दशकभन्दा बढी भएको थियो। मैले त्यो बेलासम्‍म निकै परिश्रम गरेर मध्य दर्जाको शिक्षकमा बढुवा पाएकी थिएँ। मैले विद्यार्थीहरूको आदर, तिनीहरूका आमाबुबाको सम्‍मान, मेरा सहकर्मीहरूको डाहा, र मेरो हाकिमको स्वीकृती र अनुमोदन पाएकी थिएँ। म जहाँ गए पनि, मेरा आफन्त र इष्टमित्रले मसँग निकै राम्रो व्यवहार गर्थे। मैले जागिर गुमाएँ भने, मेरो परिवारबाट इन्कार, अरूको गिल्‍ला, र सहकर्मीहरूको हेला सहनुपर्नेथियो। त्यस्तो भयो भने मेरो प्रतिष्ठा बरबाद हुनेछ भन्‍ने मलाई डर लाग्यो। त्यसपछि सोचेँ, “सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको न्यायको काम मानवजातिलाई मुक्ति दिने उहाँको कामको अन्तिम चरण हो। भ्रष्टताबाट मुक्त हुने एकमात्र उपाय भनेको परमेश्‍वरको न्याय र शुद्धीकरणबाट गुज्रनु हो, त्यसपछि परमेश्‍वरको सुरक्षामा हामी विपत्तिहरूबाट बच्‍नेछौँ र सुन्दर गन्तव्यमा लगिनेछौँ। त्यो मौका गुमाउनु भनेको जीवनभरिको पछुतो हुनेछ।” मलाई परमेश्‍वरले भन्‍नुभएको कुरा याद आयो। “यदि तँ उच्च स्थान, सम्माननीय प्रतिष्ठामा छस्, प्रशस्त ज्ञानका स्रोत, प्रशस्त सम्पत्तिका मालिक होस्, धेरै मानिसहरूले तँलाई समर्थन गर्छन्, तर पनि उहाँको बोलावट र उहाँको आज्ञालाई स्वीकार गर्न र तँबाट परमेश्‍वरले माग्‍नुभएका कार्यहरू गर्नका लागि परमेश्‍वरका सामु आउन यी कुनै पनि कुराहरूले तँलाई रोकेनन् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा अति अर्थपूर्ण अभियान र मानवजातिका निम्ति अति धर्मी कार्य हुनेछन्। यदि तैँले ओहोदा र तेरा आफ्ना लक्ष्यहरूका खातिर परमेश्‍वरको बोलावटलाई अस्वीकार गरिस् भने, तैँले गरेका सबै कुराहरू श्रापित हुनेछन् र परमेश्‍वरद्वारा ती निन्‍दित हुनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ)। परमेश्‍वरको वचनबारे सोच्दा मेरो मन प्रसन्न भयो। विश्‍वास गर्नु, सत्यताको पछि लाग्नु, र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु मात्रै मूल्यवान् र अर्थपूर्ण कुरा हो। तर विश्‍वास र जागिरबीच छनौट गर्नुपर्दा, म नाम र हैसियतको बन्धनमा परेँ, मेरो विश्‍वासको कारण कम्युनिस्ट पार्टीले मेरो जागिर खोस्‍नेछ, र मेरो प्रतिष्ठा बरबाद हुनेछ भनेर डराएँ। मेरो लागि आफ्नो करियर र नाम अझै महत्त्वपूर्ण थियो। तर ती कुराले मलाई के दिन सक्थे र? ती कुराले मेरो अभिमानको लागि क्षणिक सन्तुष्टि मात्रै दिन्थे; ती कुराले मलाई सत्यता प्राप्त गर्न वा आफ्नो भ्रष्ट स्वभाव त्याग्‍न कहिल्यै सहयोग गर्नेथिएनन्। अनि अरूको प्रशंसा पाउनुको के अर्थ छ र? साथै, कम्युनिस्ट पार्टी परमेश्‍वरको शत्रु हो भन्‍ने मलाई थाहा थियो। आफ्‍नो जागिर जोगाउन अनि राम्रो हैसियत र प्रतिष्ठामा रमाउन, मैले आफ्‍नो विश्‍वास त्यागेकी, पार्टीको शासनमा नीच जीवन जिएकी भए, के त्यो परमेश्‍वरलाई धोका दिनु हुनेथिएन र? म त्यस्तो व्यक्ति हुनु हुँदैनथ्यो। त्यसकारण, मैले मेरा श्रीमानलाई एकदमै शान्त भएर भनेँ, “म कहिल्यै विश्‍वास छोड्नेछैनँ।” तिनले मलाई खाउँला झैँ हेरेर कठोरताका साथ भने, “तँ विश्‍वास गरिरहन्छस् भने, म पुलिसलाई भनेर तँलाई पक्रिन लगाउँछु।” यसो भन्दै तिनले कल गर्न थाले। त्यो बेला म पुरै स्तब्ध भएँ। कम्युनिस्ट पार्टीले विश्‍वासीहरूलाई दमन गर्छ भन्‍ने तिनलाई थाहा थियो, तर पनि तिनीले मलाई तिनीहरूको हातमा सुम्पन चाहे। के त्यो मलाई ब्‍वाँसाहरूका अगाडि फ्याँकिदिनु सरह थिएन र? आफ्‍ना हितहरू जोगाउन, तिनले हामी श्रीमान-श्रीमतीबीचको प्रेमलाई अवहेलना गरे र मलाई विश्‍वास त्याग्‍न लगाउन पुलिसलाई रिपोर्ट गर्न चाहन्थे। म तिनीसँग झुक्नु हुँदैनथ्यो। त्यसपछि तिनले मलाई बारम्‍बार सोधे, “निर्णय गरिस् त?” मैले भनेँ, “मलाई पक्राउ गरेर जेल हालियो भने पनि, म आफ्नो विश्‍वास छोड्दिनँ!” मेरा श्रीमानको अनुहारको रङ उड्यो र रिसले फोन भुईँमा पछारे।

एक रात, मैले परमेश्‍वरको वचन पढिरहेको देखेपछि तिनको अनुहार बिग्रियो, र भने, “मैले तँलाई कतिपटक भनेँ? चीनमा तैँले विश्‍वासको बाटो हिँड्न सक्दैनस्! केन्द्रीय सरकारदेखि स्‍थानीय अधिकारीहरूसम्‍म, व्यवस्थापनदेखि हरेक कर्मचारीहरूसम्‍म, सबै तहमा निगरानी गरेर कामकुरा गरिन्छ। तैँले परमेश्‍वरमा विश्‍वास गरिरहिस् भने, पार्टीले तँलाई भेट्टाउनेछ!” श्रीमानले सधैँ त्यसो भनेको सुन्दा, र साथै पार्टीको देशमा विश्‍वासी भएकीले सधैँ पक्राउ पर्ने खतराबारे सोच्दा, मलाई डर लाग्थ्यो। कुनै दिन म पक्राउ परेँ भने तिनीहरूको यातना सहन सक्छु कि सक्दिनँ होला भनेर सोच्थेँ। तिनीहरूले कुटेर मलाई मारे वा अपाङ्ग बनाए भने के गर्ने? यदि मैले पीडा सहन नसकेर यहूदा बनी परमेश्‍वरलाई धोका दिएँ भने, के त्यो मेरो जीवनको अन्त्य हुनेथिएन र? म राम्रो स्थितिमा छैन भन्‍ने मलाई थाहा थियो, त्यसैले मैले तुरुन्तै हृदयदेखि परमेश्‍वरलाई प्रार्थना गरेर त्यो दमन र कठिनाइमा गवाही नगुमाऊँ भनी उहाँलाई विश्‍वास मागेँ। मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “जब मानिसहरूले आफ्‍नो जीवन बलिदान दिन तयार हुन्छन्, सबै कुरा तुच्छ बन्छ, र त्यतिको उत्तम कुरा कसैले पनि गर्न सक्दैन। जीवनभन्दा महत्त्वपूर्ण कुरा अरू के हुन सक्छ र? तसर्थ, मानिसहरूमा थप कुनै काम गर्न शैतान असमर्थ हुन्छ, यसले मानिसलाई गर्न सक्ने कुरा केही पनि छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ३६)। परमेश्‍वरका वचनहरू अत्यन्तै स्पष्ट छन्। जब हामी जीवनमा खतरा मोल्‍न तयार हुन्छौँ र मृत्युको बन्धनमा पर्दैनौँ, तब शैतान हल न चल हुन्छ। मुख्यतः ममा विश्‍वासको कमी भएकोले मलाई प्रहरीले कुटेर मार्छ भन्‍ने डर लागेको थियो। मैले आफ्‍नो जीवनलाई अति धेरै मोल गरेँ। हाम्रो जीवन र मृत्युलगायत सबै कुरा परमेश्‍वरकै नियन्त्रणमा हुन्छ। मैले आफूलाई परमेश्‍वरमा समर्पित गरेर उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई मान्‍नुपर्थ्यो। मलाई कुटेर मारिए पनि, त्यो धार्मिकताको निम्ति सताइएको हुनेथ्यो, जुन मूल्यवान् छ। परमेश्‍वरका वचनहरूबाट मैले आत्मविश्‍वास पाएर तीमध्ये केही श्रीमानलाई पढेर सुनाएँ: “परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको कुरालाई रोक्‍न उहाँको मार्गमा कुनै देश वा शक्ति खडा हुन सक्दैन भनी हामी भरोसा राख्छौं। परमेश्‍वरको कामलाई रोक्‍नेहरू, परमेश्‍वरको वचनको विरोध गर्नेहरू र बाधा दिनेहरू र परमेश्‍वरको योजनालाई बिगार्नेहरूलाई अन्त्यमा परमेश्‍वरले दण्ड दिनुहुनेछ। परमेश्‍वरको कामलाई अस्वीकार गर्नेलाई नरकमा पठाइनेछ; परमेश्‍वरको कामलाई अस्वीकार गर्ने कुनै पनि देशलाई विनाश गरिनेछ। परमेश्‍वरको कामको विरोधमा उठ्ने कुनै पनि राज्यलाई यस पृथ्वीबाट पूर्ण रूपमा मेटाइनेछ र त्यो अस्तित्वमा रहनेछैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ)। मैले श्रीमानलाई परमेश्‍वरको धर्मी स्वभावबारे गवाही दिएँ, जसले कुनै अपराध सहँदैन। कम्युनिस्ट पार्टीले विश्‍वासीहरूलाई पक्रनु र सताउनु भनेको दुष्कर्म र परमेश्‍वरको विरोध गर्नु हो, र त्यसलाई परमेश्‍वरले दण्ड दिनुहुनेछ। तिनले पार्टीको पक्ष लिएर र मलाई विश्‍वास गर्न रोकेर, तिनीहरूसँगै दुष्कर्म गरिरहेका थिए। मेरो कुरा सुनेपछि, तिनले असहाय हुँदै भने, “के मलाई यो गर्न मन छ र? कम्युनिस्ट पार्टीले नै यस्तो गरिरहेको छ। मैले तँलाई परमेश्‍वरमा विश्‍वास गर्न रोकिनँ भने, मेरो आयस्रोत गुम्न सक्छ। किन तँ मेरो बारेमा सोच्दैनस्? यदि तँलाई विश्‍वासी भएकोमा पक्राउ गरेर जेल हालियो भने, तिनीहरूले तँलाई मारेनन् भने पनि, कम्तीमा तेरो मासु त लुछ्नेछन्। म कसरी तैँले पीडा भोगेको हेर्न सक्छु? तँलाई विश्‍वास छोड्न लगाउन मैले के गर्न सक्छु र?” मैले भनेँ, “सर्वशक्तिमान्‌ परमेश्‍वर नै एकमात्र साँचो परमेश्‍वर हुनुहुन्छ, र म कहिल्यै विश्‍वास छोड्नेछैन!” अचम्‍मको कुरा, म नझुक्ने देखेपछि, तिनले मलाई शारीरिक दुर्व्यवहार गरे। क्रोधित हुँदै तिनले भने, “तेरो विश्‍वासको कारण पक्राउ परिस् भने, तँ सकिस्। तँ तिनीहरूको हातमा पर्न जिद्दी गर्छेस्। तर भन् त, मरिस् भने विश्‍वास गर्नुको के अर्थ भयो?” त्यसपछि तिनले मलाई पागलले झैँ ओछ्यानमा थिचे र मेरो घाँटी कसेर ङ्याके र भने, “तँलाई म ङ्याकेर मार्छु, अनि हेरूँ कसरी विश्‍वास गर्दी रहिछस्!” मेरो घाँटी अँठ्याइएको थियो र मैले सास फेर्न सकिँन, र मैले सक्दो उम्‍कने प्रयास गरिरहेकी थिएँ, तर केही सीप लागेन। म बेहोस भएछु। बिस्तारै होस आएपछि, मलाई श्रीमानले हाम्रो वर्षौँको वैवाहिक सम्‍बन्धमा कहिल्यै कुटेका थिएनन्, तर अहिले अचानक आफ्‍नो हैसियत र जागिर जोगाउन मप्रति यति उग्र भएर झण्डै सास थुनेर मारेको बारेमा सोचेँ। मलाई साह्रै मन दुख्यो। मलाई कम्युनिस्ट पार्टीप्रति झन् धेरै घृणा जाग्यो। यदि तिनीहरूले परिवारका सदस्यहरूको जागिर र भविष्यलाई धम्की दिन प्रयोग नगरेका भए, मेरा श्रीमान कहिल्यै यस्तो निर्दयी हुनेथिएनन्।

मेरा श्रीमानको जागिरमा जति दबाब आउँथ्यो, तिनी मलाई उती नै सताउँथे। एक दिन तिनले एउटा बैठकबाट घर आएपछि मलाई फेरि अर्को वैचारिक भाषण दिए, र चिनियाँ कम्युनिस्ट पार्टीले शासन गरेको चीनमा एक जनाले विश्‍वास गऱ्यो भने सम्पूर्ण परिवारले कष्ट भोग्छ, त्यसकारण मैले विश्‍वास गरिरहनु मिल्दैन, नत्र हामी दुवैले जागिर गुमाउँछौँ र हाम्री छोरीको पढाइ र करियरमा असर पर्नेछ भनेर भने। म आफ्नो विश्‍वासको कारण जेल परेँ भने हाम्री छोरीले कसरी कहिल्यै शिर ठाडो गर्न पाउँछे भनेर तिनले सोधे, र मैले हामी दुईबारे नसोचे पनि, उसको बारेमा सोच्‍नुपर्छ भनेर भने। सोचेँ, यदि मेरो विश्‍वासको कारण कम्युनिस्ट पार्टीले मेरा श्रीमानको जागिर खोस्यो र मेरी छोरीको भविष्य बरबाद गऱ्यो भने, के तिनीहरू दुवैले मलाई सधैँको लागि घृणा गर्नेछैनन् र? त्यो बेला म साह्रै व्याकुल भएँ, तसर्थ मैले मनमनै परमेश्‍वरलाई पुकारेर डोऱ्याइ मागेँ। मलाई परमेश्‍वरका वचनहरूको यो कुरा याद आयो: “ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन? जे म भन्छु त्यो गरिन्छ, र मानिसहरूमध्ये कसले मेरो मन परिवर्तन गर्न सक्छ? … के व्यक्तिगत रूपले यी प्रबन्धहरू मिलाउने म नै होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १)। सबै कुरा परमेश्‍वरकै हातमा छन्। मेरा श्रीमान र मैले जागिर गुमाउनु-नगुमाउनु, मेरी छोरीको पढाइमा असर पर्नु-नपर्नु, र उसले जागिर पाउनु-नपाउनु सबै परमेश्‍वरले नै तय गर्नुहुनेथ्यो। परमेश्‍वरले मात्रै सबै कुरा निर्धारण गर्न सक्नुहुन्छ—कम्युनिस्ट पार्टीले होइन। यो सोचेपछि, मैले श्रीमानलाई भनेँ, “मानिसहरूको भाग्य परमेश्‍वरको हातमा, उहाँको नियमको अधीनमा हुन्छ। तपाईंलाई कम्युनिस्ट पार्टीको कुरा मान्यो भने तपाईंको जागिरको ग्यारेन्टी हुन्छ भन्‍ने लाग्छ? पार्टीको आफ्‍नै भाग्य पनि उसको नियन्त्रणमा हुँदैन, तसर्थ यसले कसरी अरूको भाग्य नियन्त्रण गर्न सक्छ र?” त्यसपछि तिनले रिसाउँदै भने, “यदि तैँले विश्‍वासी बन्‍ने पक्‍का निर्णय गरेकी होस् भने, पार्टीले तँलाई फेला पार्नेछ। तिनीहरू विश्‍वासीहरूलाई मृत्युको मुखमा धकेल्छन्। बरु तँ मेरो हातमा मर्नु ठिक हुन्छ।” मैले जवाफ दिनुअघि नै, तिनी पागलजस्तो दौडँदै किचनमा गएर चक्‍कु लिई मेरो अघि आए र चक्‍कु तेर्साउँदै भने, “तँ विश्‍वासी बन्‍न चाहन्छस् कि सुखी जीवन? तँ विश्‍वासी बन्‍न जिद्दी गर्छस् भने, म तेरो घाँटी रेट्छु!” मलाई रिस पनि उठ्यो र डर पनि लाग्यो, मैले तुरुन्तै मनमा परमेश्‍वरलाई पुकारेँ। ठिक त्यही बेला, हाम्री छोरी आफ्‍नो कोठाबाट अचानक निस्केर आई, र मेरो अगाडि उभिएर भनी, “बुबा! तपाईं आमालाई मार्नुहुन्छ भने, मलाई पहिले मार्नुहोस्!” उसको कुरा सुनेर तिनी अवाक भए, र तिनले उसलाई ट्वाँ परेर हेरिरहे र तिनको अनुहार खुम्चियो। तिनले चक्‍कु तेर्साएको हात बिस्तारै झारे। मलाई हृदयमा व्याख्या गर्न नसकिने दुःख र पीडा महसुस भयो, अनि दुःख र आक्रोशको आँसु झऱ्यो। मैले परमेश्‍वरमा विश्‍वास गरेको कारण मेरा श्रीमानले मलाई ज्यान मार्ने धम्की दिन्छन् भन्ने कहिल्यै कल्‍पना गरेकी थिइनँ। मैले यस्तो पुरुषसँग त बिहे गरेकी थिइनँ। यो पिशाच हो भन्ने स्पष्ट थियो!

एक दिन मैले मेरो भक्तिको समयमा परमेश्‍वरको वचनमा यो पढेँ। “पतिले उसको पत्‍नीलाई किन प्रेम गर्छ? पत्‍नीले उनको पतिलाई किन प्रेम गर्छिन्? छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठा हुन्छन्? किन बुबाआमाहरू आफ्ना छोराछोरीहरूप्रति स्नेही हुन्छन्? वास्तवमा मानिसहरूले कस्ता किसिमका अभिप्रायहरू मनमा राख्छन्? के उनीहरूको मनसाय उनीहरूका आफ्नै योजनाहरू र स्वार्थी चाहनाहरू तृप्‍त पार्नु होइन र? के उनीहरूको आशय साँच्चै परमेश्‍वरको व्यवस्थापन योजनाको खातिर काम गर्नु नै हो त? के उनीहरूले साँच्चै परमेश्‍वरको कार्यको खातिर नै काम गरिरहेका हुन्छन् त? के उनीहरूको मनसाय सृष्टि गरिएका प्राणीका कर्तव्यहरू पूरा गर्नु हो त?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। “परमेश्‍वरलाई पहिचान नगर्ने जो-कोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्‍वरलाई पहिचान नगर्ने—चाहे उनीहरू यस प्रवाहभित्रका होऊन् वा यस प्रवाह बाहिरका होऊन्—ऊ ख्रीष्ट विरोधी हो! यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी मानिसहरू नै होइनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। मैले परमेश्‍वरका वचनहरूबारे विचार गरेँ। मेरा श्रीमानले मलाई दमन गरेको एकपछि अर्को दृश्य मेरो मनमा चलचित्र झैँ चलिरह्यो। मलाई कहिल्यै ठूलो सोर नगरेका वा नकुटेका मेरा श्रीमानले किन म विश्‍वासी बनेपछि मलाई सताउन सक्‍नेजति सबै गरे? किन व्यक्तिगत प्राप्तिको लागि यतिका वर्षको विवाह चकनाचूर भयो? मानवजातिबीच साँचो प्रेम हुँदैन—हरेकले एकअर्कालाई प्रयोग मात्रै गरिरहेका हुन्छन्। मेरा श्रीमानले पहिले मसँग राम्रै व्यवहार गर्थे, किनभने त्यो बेला म काममा जान, पैसा कमाउन, र तिनको सन्तान जन्‍माउन सक्थेँ। तिनको नजरमा, म उपयोगी थिएँ। तर अहिले मैले विश्‍वास रोजेकी थिएँ, यसले गर्दा तिनका हितमा असर पुग्यो, र तिनले हामीबीचका मायालाई वास्ता गरेनन्। मलाई परमेश्‍वरमा विश्‍वास गर्न रोक्‍न, तिनी प्रहरीलाई मेरो रिपोर्ट गर्न चाहन्थे, म बेहोस नभइञ्‍जेल मेरो घाँटी ङ्याकेका थिए, र चक्‍कूले ज्यान मार्ने धम्कीसमेत दिए। तिनले मेरो बारेमा सोचेर मलाई विश्‍वास गर्न नदिएका, र म पक्राउ पर्छु भनेर डराएका थिएनन्, तर यो सब आफ्‍नै लागि गरेका थिए। तिनी आफ्नो करियर र प्रतिष्ठालाई सबैभन्दा माथि राख्थे। तिनी आफ्नो आयस्रोत जोगाउन, कम्युनिस्ट पार्टीको पाल्तु कुकुर, दास बन्‍न इच्छुक थिए, यसरी तिनले मलाई मृत्युको मुखमा पुऱ्याए। तिनले मलाई परमेश्‍वरमा विश्‍वास गर्नदेखि रोक्‍न अनेक किसिमका खराब र दुष्ट युक्तिहरूसमेत प्रयोग गरे। तिनको सार नै परमेश्‍वरलाई घृणा र विरोध गर्ने थियो। त्यसपछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ। “परमेश्‍वरप्रतिको प्रेमलाई खोजी गर्ने एक सामान्य व्यक्तिको रूपमा परमेश्‍वरका मानिसमध्ये एक बन्‍न राज्य प्रवेश गर्नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वको जीवन हो; तिमीहरू जत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्‍वरमा विश्‍वास नगर्नेहरू देहको लागि जिउँछन्, र तिनीहरू शैतानको लागि जिउँछन्, तर आज तिमीहरू परमेश्‍वरको लागि जिउँछौ, र परमेश्‍वरको इच्‍छालाई पूरा गर्नको लागि जिउँछौ। यही कारणले गर्दा नै तिमीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण छ भनेर म भन्छु। परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा महत्त्वको जीवन जिउन सक्छन्: पृथ्वीमा अरू कोही पनि त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैनन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ)। मलाई परमेश्‍वरका वचनहरू अत्यन्तै प्रेरणादायी लाग्यो र ती वचनहरूले मलाई जीवनको अर्थ बुझ्न सहायता गरे। विश्‍वास गर्नु, सत्यताको पछि लाग्नु, र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु नै अर्थपूर्ण र मूल्यवान् जीवन जिउने एकमात्र तरिका हो। संसारमा मैले हाड घोटेर मेहनत गरेकी थिएँ अनि अलि नाम कमाएकी थिएँ, तर मलाई भित्र खोक्रो र दुःखी महसुस हुन्थ्यो। म थकानले बिरामी भएँ, र मेरो मिठो आवाज यति धोत्रो भयो कि मुस्किलले बोल्‍न सक्थेँ। त्यो बेला मलाई साँच्चै के महसुस भयो भने मसँग जतिसुकै सम्‍मानपत्र भए पनि वा मैले जति नै आदर पाए पनि, यसले कहिल्यै मेरो रोग वा आत्मिक खोक्रोपन हटाउनेछैन। म यतिका वर्षदेखि पछि लागेको प्रतिष्ठाले मलाई सत्यता पाउन सहयोग गर्न वा मलाई शैतानको भ्रष्टता र हानिबाट बचाउन सक्दैनथ्यो। त्यसबाहेक, मैले शिक्षण गर्दाका वर्षहरूमा विद्यार्थीहरूलाई परमेश्‍वरलाई इन्कार गर्ने सबै किसिमका कुरा सिकाउने गर्थेँ। मैले त्यो पुरै अवधिमा कम्युनिस्ट पार्टीको प्रशंसा गरिहेकी हुन्थेँ। यदि त्यस्तै भइरहेको भए, मैले कुनै हालतमा राम्रो परिणाम प्राप्त गर्नेथिइनँ। मैले पार्टीको सेवा गर्न छोड्नुपर्थ्यो। मैले परमेश्‍वरलाई हृदयदेखि प्रार्थना गरेँ, र उम्कने बाटो मागेँ। पछि, म स्वास्थ्य परीक्षण गर्न जाँदा, डाक्टरले मलाई भने, “तपाईंको घाँटीमा साह्रै समस्या भएको रहेछ। यसको रङ नै अर्को भएको छ, र यसमा रगत नै जमिएको रहेछ। यो सुन्‍निएर ठूलो भएकोले तपाईंको भोकल कर्डमा असर परिरहेको रहेछ। तपाईंको पेसा हेर्दा, तपाईंले यो काम छोड्नुभएन भने, बोल्‍ने क्षमता पुरै गुमाउनुहुनेछ।” त्यसपछि तिनले मलाई छ महिना बिरामी बिदा लिन सुझाव दिए। मैले परमेश्‍वरलाई हार्दिक धन्यवाद दिएँ। मैले परमेश्‍वरका वचनहरू पढ्ने र आफ्‍नो कर्तव्य पूरा गर्ने अझै धेरै समय पाएकी छु भन्‍ने सोचेँ, तर मेरा श्रीमानले मलाई बाधा दिन अझै दुष्ट युक्तिहरू प्रयोग गर्न थाले।

सन् २००९ को फेब्रवरीमा एक दिन, तिनले मेरा दुई सहपाठी र मेरो भाइलाई बोलाएछन्। तिनीहरूले मलाई कारमा जबरजस्ती हालेर मानसिक अस्पतालमा लगे। तर मलाई केही पनि भएको थिएन, त्यसैले अस्पतालले मलाई लिएन। मेरा श्रीमानले भने, “पार्टीले विश्‍वासीहरूलाई पक्राउ गर्छ र त्यो मृत्युदण्ड हो, तर तँ विश्‍वासी बन्‍न जिद्दी गर्छस्। मानसिक समस्या भएको व्यक्ति मात्रै मृत्युदेखि डराउँदैन। यो अस्पतालमा सीमित किसिमका जाँचहरू मात्रै गरिन्छ। प्रान्तीय मानसिक अस्पतालमा धेरै सुविधा र अझ दक्ष डाक्टरहरू छन्। तँ साँच्‍चै मानसिक रोगी होस् कि होइनस् भनेर हेर्न म तँलाई त्यहाँ लानेछु।” मैले रिसाउँदै भनेँ, “मलाई लाग्छ, मानसिक समस्या भएको व्यक्ति त तपाईं हो। मलाई मर्न डर नभएको होइन। मर्नु नै परे पनि म विश्‍वास रोज्छु, किनभने सर्वशक्तिमान्‌ परमेश्‍वर नै आउनुभएका मुक्तिदाता हुनुहुन्छ। उहाँले एकदमै धेरै सत्यता व्यक्त गर्नुभएको छ र मानिसलाई पाप र विपत्तिबाट बचाउन सक्‍नुहुन्छ। परमेश्‍वरको न्याय र शुद्धीकरण नस्विकार्ने अविश्‍वासीहरू विपत्तिमा मर्नेछन्।” तर तिनले मेरो कुरा सुनेनन्। भोलि बिहान सबेरै तिनले मलाई प्रान्तीय मानसिक अस्पतालमा लगे। हामी दोस्रो तल्‍लामा गयौँ र हलवेबाट जाँदा मैले एउटी पागल महिला ठूलो साङ्लाले बाँधेर थुनिएको र डल्‍लो परेर पस्रिरहेकी देखेँ। एक अधबैँसे पुरुषले त्यो साङ्‍लाको एक छेउ पक्रेर निकै जोडले तान्दै ती महिलालाई भुईँमा घिस्याइरहेका थिए। उनले डरले दुवै हात तन्काएर साङ्‍ला पक्रिरहेकी थिइन् र सकेजति उम्कने प्रयास गर्दै चिच्याइरहेकी थिइन्। उनको जिङ्ग्रिङ्ग गुन्द्रुकजस्तो कपाल र हावभाव देख्दा, अनि उनको मुटु चुँडाउने चिच्याहट सुन्दा अति डर लाग्यो। त्यस बेला मलाई हदै पीडा भयो र अन्यायमा परेँ भन्ने लाग्यो। मलाई यो मेरो मर्यादाको ठूलो अपमान हो भन्‍ने लाग्यो र म तुरुन्तै फर्केर तल्‍लो तला झरी त्यो श्रापित ठाउँबाट निस्कन चाहन्थेँ, तर त्यो गर्न सकिनँ। मेरा श्रीमानले मलाई हर पाइला पछ्याइरहेका थिए। त्यसपछि मलाई परमेश्‍वरका वचनहरूको केही कुरा याद आयो। “मानव जातिको कार्यको खातिर परमेश्‍वरले धेरै अनिदो रातहरू बिताउनुभएको छ। माथिको उचाइदेखि तलका गहिराइहरूसम्म उहाँ मानिससँग आफ्‍ना दिनहरू बिताउन मानिस जिउने जीवित नरकमा ओर्लनुभएको छ, उहाँले मानिसबीचको जीर्णताको कहिल्यै गुनासो गर्नुभएन, र उहाँले मानिसको अनाज्ञाकारिताका लागि कहिल्यै उसको निन्दा गर्नुभएको छैन, तर उहाँले आफ्नो काम व्यक्तिगत रूपमा गर्ने क्रममा सबैभन्दा ठूलो अपमान सहनुहुन्छ। परमेश्‍वर कसरी नरकको हुन सक्नुहुन्छ? उहाँले आफ्नो जीवन कसरी नरकमा बिताउन सक्नुहुन्छ? तर सारा मानवजातिले चाँडै विश्राम पाउन सकून् भनी सम्पूर्ण मानव जातिको खातिर उहाँले पृथ्वीमा आउनका निम्ति अपमान सहनुभएको छ र अन्याय सहनुभएको छ, र मानिसलाई मुक्त गर्न व्यक्तिगत रूपमा ‘नरक’ र ‘पाताल’ मा, बाघको खोरमा पस्नुभएको छ। मानिस कसरी परमेश्‍वरको विरोध गर्न योग्यको छ? परमेश्‍वरको बारेमा गुनासो गर्नुपर्ने के कारण उसँग छ? ऊसँग परमेश्‍वरलाई हेर्ने धृष्टता कसरी हुन सक्छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (९))। मानवजातिलाई मुक्ति दिन, परमेश्‍वर आखिरी दिनहरूमा देहधारी हुनुभएर नास्तिक-शासित चीनमा आउनुभएको छ, यस सबैभन्दा दुष्ट र परमेश्‍वर-विरोधी ठाउँमा देखा परेर काम गर्नुभएको छ, कम्युनिस्ट पार्टी र धार्मिक संसारका अत्याचार र दोषारोपण भोग्नुभएको छ, अनि ठूलो अपमान सहनुभएको छ, तर परमेश्‍वर यो सब कुरा एक शब्द नबोली लिनुहुन्छ। उहाँ सृष्टिका प्रभु, अति सर्वोच्‍च र आदरणीय हुनुहुन्छ, तर उहाँ भ्रष्ट मानवजातिबीच जिउन आउनुभएको छ, उहाँले ठूलो अपमान सहनुभएको छ, मानिसहरूलाई सत्यताहरू व्यक्त गरेर मुक्ति दिने काम चुपचाप गर्नुभएको छ। तर म भ्रष्ट मानिसले आफू मानसिक रोगीको दर्जामा पर्नुपर्ने देखेर, आफ्नो मर्यादामा चोट पुगेको र यो मेरो अपमान हो भन्‍ने सोचेँ। म उम्कन चाहन्थेँ। मसँग सत्यताको खातिर कष्ट भोग्ने अलिकति पनि सङ्कल्प थिएन। यो सोच्दा म लज्‍जित भएँ र मैले परमेश्‍वरलाई मनमनै प्रार्थना गरेर जे कुराको सामना गर्नुपरे पनि वा जस्तो अपमान सहनुपरे पनि, म कहिल्यै शैतानको अघि झुक्‍नेछैन भनेर शपथ खाएँ। डाक्टरले मलाई नसोची एक-दुई पोका औषधी दिएर घर पठाए। पछि मेरा श्रीमानले मलाई विश्‍वास गर्न रोक्‍न नसकिने रहेछ भन्‍ने देखेपछि, मलाई बेवास्ता गरे, र मैले फेरि एउटा कर्तव्य लिएँ। त्यसपछि अक्टोबर २०१२ मा, एक जना यहूदाले हाम्रो पोल खोलेपछि, प्रहरीले मलाई मण्डली अगुवा भएको आशङ्का गरे र सादा पोसाकका पुलिसहरूलाई मेरो पछि लगाए। मैले पक्राउ नपर्न घर छोडेर अर्को प्रान्तमा गएर कर्तव्य निर्वाह गर्नुपऱ्यो। पछि मैले के थाहा पाएँ भने, म घर छोडेर हिँडेको दिन, प्रहरी मलाई पक्रिन घरमा आएछ। तिनीहरूले मेरो टुङ्गो सोध्‍न अरू तीन जना ब्रदर-सिस्टरहरूलाई पनि पक्राउ गरेछन्, र मेरो फोटो लिएर मेरो धुइँपत्ता लगाउन थालेछन्। दुई महिनापछि, राष्ट्रिय सुरक्षा ब्रिगेडका मानिसहरूले मेरो घर खानतलासी गरेर परमेश्‍वरका वचनका पुस्तकहरू जफत गरे र म संसारको जुनसुकै कुनामा भागे पनि मलाई भेट्टाउछौँ भनेर मेरा श्रीमानलाई भनेछन्। शिक्षा ब्यूरोका मानिसहरू पनि प्रायः हरेक दिन नै मेरो घर जान्थे र मलाई खोज्‍न मेरो श्रीमानलाई दबाब दिन्थे। त्यो बेला म कम्युनिस्ट पार्टीको वान्टेड सूचीको सबैभन्दा शीर्ष स्थानमा पुग्‍न लागेकी थिएँ।

तिनीहरूले मलाई घर फर्काउन मेरो बच्‍चालाई समेत प्रयोग गरे। सन् २०१२ मा डिसेम्बरको अन्त्यतिर एक दिन दिउँसो, अप्रत्याशितरूपमा मेरी छोरीले मलाई कल गरिन्: “आमा, तपाईंलाई कल गर्न मलाई डर लागेको छ। प्रहरीले तपाईंलाई जताततै खोजिरहेको छ, र तिनीहरूले हाम्रो घर खानतलासी गरे। मैले तपाईंलाई के बताउन कल गरेकी भने, शिक्षा ब्यूरो र तपाईंको स्कूलका अगुवाहरूले तपाईं विश्‍वास छोडेर घर आएको चाहन्छन् र तपाईंलाई दोषी नठहराउने वचन दिएका छन् भनेर तपाईंलाई बताउन बुबा र मलाई लगाएका छन्। तिनीहरूले के पनि भनेका छन् भने तपाईं घर आउनुभयो र कहिल्यै काममा जानुभएन भने पनि, तिनीहरूले तपाईंलाई पूरा तलब दिनेछन्।” त्यो कुरा सुन्दा मलाई रिस उठ्यो। कम्युनिस्ट पार्टीले मलाई प्रलोभनमा पारेर विश्‍वास त्याग्‍न लगाउन हैसियत र पैसा प्रयोग गरिरहेको थियो। कस्तो घृणित कुरा! मलाई के कुरामा दुःख लाग्यो भने, मेरी छोरीले सरकार र स्कूलका अगुवाहरूले भनेको कुरामा अत्यन्तै विश्‍वास गरेकी छे भन्‍ने देखिन्थ्यो। त्यसबाट मैले स्पष्टसित के देखेँ भने, मेरा श्रीमान र छोरी दुवैलाई कम्युनिस्ट पार्टीले मूर्ख बनाउँदै छ र प्रयोग गरिरहेको छ। मैले छोरीलाई दृढतासाथ भनेँ, “नानु, तिमीले यो कुरालाई अति सोझो पाराले हेरिरेहेकी छ्यौ। म घर आएँ भने के हुन्छ तिमीलाई थाहा छ? म ब्‍वाँसाहरूका अगाडि फ्याँकिएको थुमाजस्तो हुनेछु। म घर आउन सक्दिनँ।” उसले चिन्तित हुँदै भनी, “तपाईं घरमा आउनुभएन भने, तिनीहरूले तपाईंको २० वर्षभन्दा बढी समयको पेन्सन रद्द गर्नेछन्। आमा, आउनुहोस् न। आउनुभएन भने, तिनीहरूले बुबालाई तपाईंसँग डिभोर्स गर्न र मलाई तपाईंसँग सम्‍बन्ध तोड्न लगाउनुहुनेछ। घर आउनुहुन्‍न भने, तपाईं अबदेखि मेरी आमा हुनुहुनेछैन।” त्यो बेला म स्तब्ध भएँ। कम्युनिस्ट पार्टीले मेरो आयस्रोत मात्रै खोसिरहेको थिएन, तर मेरा श्रीमानलाई मसँग डिभोर्स गर्न र मेरी छोरीलाई मसँग सम्‍बन्ध तोड्नसमेत बाध्य पारिरहेको थियो। यो दुष्ट र नीच थियो! मलाई पार्टीप्रति हृदयदेखि नै घृणा जाग्यो। मलाई परमेश्‍वरका वचनहरू याद आयो। “धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्। परमेश्‍वरको कामलाई कसले अङ्गालेको छ? परमेश्‍वरको कामका निम्ति कसले आफ्नो जीवन अर्पण गरेको वा आफ्नो रगत बगाएको छ? किनकि एक पुस्तादेखि अर्को पुस्तामा, आमाबुबादेखि छोराछोरीसम्‍म दासत्वमा परेको मानिसले अमर्यादित रूपमा परमेश्‍वरलाई दास बनाएको छ—यसले कसरी क्रोध जगाउँदैन? सहस्राब्दीदेखिको घृणा हृदयमा जमेको छ, हजारौं वर्षको पापमय अवस्था हृदयमा कुँदिएको छ—यसले कसरी घृणा पैदा गर्दैन? परमेश्‍वरको लागि बदला लेऊ, उहाँको शत्रुलाई पूर्ण रूपमा नाश पार, त्यसलाई अब जथाभाबी दगुरि हिँड्न नदेऊ, र त्यसलाई तानाशाहीले जस्तो शासन गर्न नदेऊ! समय अहिले नै हो: त्यस भूतको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसतिर आफ्नो पिठिउँ फर्काउने अनुमति दिनका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ। परमेश्‍वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्‍वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? स्नेह कहाँ छ? परमेश्‍वरका मानिसहरूसित चलाकी गर्न किन छलपूर्ण युक्तिहरू प्रयोग गर्नु? परमेश्‍वरको आगमनलाई दमन गर्न किन शक्ति प्रयोग गर्नु?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। कम्युनिस्ट पार्टीले धार्मिक स्वतन्त्रताको नारा लगाउँछ, तर विश्‍वासीहरूलाई दमन गर्न सबै किसिमका दुष्ट युक्तिहरू प्रयोग गर्छ। यसले सत्यतालाई घृणा गर्ने र परमेश्‍वरलाई विरोध गर्ने यसको दुष्ट प्रकृति स्पष्टसित देखाउँछ। पार्टीले मलाई विश्‍वास गर्न रोक्‍न लोभ र धम्की दुवै दिने प्रयास गर्दै थियो, सुरुमा लोभ्याउन धेरै तलबको प्रयोग गऱ्यो, अनि मलाई पैसाको प्रलोभन दिएर घर फर्काउने प्रयास गऱ्यो ताकि मलाई पक्रन सकियोस्। म यसमा नफँस्दा, तिनीहरूले मेरो जागिर र तलब खोसे, मेरा सबै आयस्रोत बन्द गरिदिए र मलाई घरबाट खेदाए। यसले मलाई यो पार्टी बाहिरबाट मात्रै नैतिक र न्यायसंगत देखिन्छ, तर भित्रीरूपमा यो क्रूर र दुष्ट छ भन्ने मलाई स्पष्ट देखायो। यो पिशाचहरूको दुष्ट समूह हो, जो हरेक मोडमा परमेश्‍वरविरुद्ध जान्छ। मैले यसलाई हृदयदेखि घृणा र इन्कार गरेँ, र ज्यान नै गए पनि म यसबाट अलग हुन्छु भनेर शपथ खाएँ! म घर फर्केर गइनँ। मेरा श्रीमानलाई मसँग डिभोर्स दिन र मेरी छोरीलाई मसँग सम्‍बन्ध तोड्न बाध्य पारिए।

पहिले मैले पार्टीको प्रणालीमा रहेर काम गर्दा, यसको दुष्ट सार देख्‍न सकिनँ। म सधैँ यसको प्रशंसा गर्थेँ, र विश्‍वासपूर्वक पार्टीको सेवा गरेँ। यसको सतावट भोगेपछि, मैले बल्‍ल सत्यतालाई घृणा गर्ने र परमेश्‍वरविरुद्ध काम गर्ने यसको दुष्ट सारलाई देखेँ, र यसलाई पूर्णरूपमा घृणा गरेँ र त्यागेँ, यसलाई कहिल्यै नपछ्याउने कसम खाएँ। मैले परमेश्‍वरको प्रेम पनि देखेँ। परमेश्‍वरका वचनहरूले नै मलाई विश्‍वास र शक्ति दिए, म सतावट र कठिनाइमा दह्रिलो हुन सकेँ। म परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ छु। मेरो अगाडिको बाटो जति नै कठिन भए पनि, म अन्त्यसम्‍मै ढलपल नभई सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउनेछु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

इमानदार व्यक्ति बनेर मैले के पाएँ

एक दिन, एक जना अगुवाले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने म इन्‍चार्ज रहेको मण्डलीको काम कसरी अघि बढिरहेको छ भनेर सोधिन्। के भन्‍ने मलाई थाहा...

जोइको कथा

आजको कथाको मुख्य पात्रको नाम जोइ हो। उनी फिलिपिन्सकी एक इसाई हुन्। विगतमा, उनले मानिसहरूलाई सधैँ भावनाको आधारमा व्यवहार गर्थिन्। यदि कुनै...

अपरिहार्य कर्तव्य

सेप्टेम्‍बर २०२० मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। त्यसपछि, मैले भेलाहरूमा निरन्तर सहभागिता जनाउन...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्