वृद्ध-वृद्धाले पनि परमेश्‍वरको गवाही दिन सक्छन्

25 अप्रिल 2023

मैले ६२ वर्षको उमेरमा प्रभुमा विश्‍वास गरेँ। प्रभुले आफ्‍ना जनहरूलाई राज्य प्रवेश र अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको कुरा थाहा पाउँदा, यो जीवनमा मेरो आशा रहेछ भन्‍ने मलाई लाग्यो, र यस्तो महान् आशिष प्राप्त गर्नेबारे सोच्दा मेरो हृदय उल्‍लसित भयो। मैले चारैतिर गएर प्रभुको लागि कडा परिश्रम गर्न थालेँ, र हरेक दिन मलाई जोसजाँगर चल्थ्यो। तीन वर्षपछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम ग्रहण गर्ने सौभाग्य पाएँ। प्रभुलाई स्वागत गर्न पाएकोमा र पूर्ण मुक्ति पाएर उहाँको राज्यमा प्रवेश गर्ने आशा पाएकोमा म निकै उत्साहित थिएँ। त्यसकारण मैले आफ्‍नो खोजी र त्यागहरूमा अझै परिश्रम गर्न थालेँ, सक्रिय भएर सुसमाचार सुनाएँ र आफ्‍नो कर्तव्य पूरा गरेँ। म हप्ताभरि त्यति आराम गर्दिनथेँ, र साँझमा समेत सुसमाचार सुनाउन जान्थेँ। ब्रदर-सिस्टरहरूले पछि मलाई मण्डली अगुवा र त्यसपछि प्रचारक निर्वाचित गरे। आफ्नो पाको उमेरमा यस्ता महत्त्वपूर्ण कर्तव्यहरू पूरा गर्ने मौका पाउँदा मलाई साह्रै खुसी लाग्यो। भेलाहरूमा म नै सबैभन्दा पाको रहेछु भन्‍ने मैले देखेँ, तर मैले अझै भेलाहरू सञ्चालन गर्न र अरूलाई तिनीहरूका समस्याहरू सुल्झाउन सहयोग गर्न सक्थेँ। यसले मलाई निकै सम्मानित अनुभूति गराउँथ्यो। मैले आफ्‍नो खोजीमा कडा परिश्रम गरेँ भने, जवान मानिसहरूले जस्तै मुक्ति पाउन सक्छु भन्‍ने मलाई लाग्यो, त्यसकारण ममा आफ्‍नो कर्तव्य पूरा गर्न अटुट उत्साह हुन्थ्यो।

सात-आठ वर्ष मिलिक्कै बित्यो, र मेरो स्वास्थ्य र बल पहिलेजस्तो रहेन। त्यसपछि म ७३ वर्षको हुँदा मलाई एक खालको मस्तिष्कघात भयो। तर केही दिनसम्‍म सेलाइन हालेपछि, मेरो लक्षणहरू लगभग हराए। ममा कुनै असर बाँकी रहेन। मलाई लाग्यो, परमेश्‍वरले मेरो साँचो विश्‍वास, मैले खुसीसाथ र पूर्ण हृदयले सेवा गरेको छु भन्‍ने देख्‍नुभएको छ, त्यसकारण उहाँले मलाई आशिष दिनुभएको छ। म निकै कृतज्ञ थिएँ र आफ्‍नो कर्तव्य पूरा गरिरहेँ। तर मेरो स्वास्थ्यलाई ध्यानमा राखेर, अगुवाले मलाई घरमा आतिथेयको रूपमा सेवा गर्न लगाए। मैले अबदेखि धेरैवटा कर्तव्य पूरा गर्न पाउनेछैनँ, तर म घरमा नै आतिथ्य गरिरहेको हुनेछु भन्‍ने देखेर, म साह्रै उदास भएँ। विशेष गरी जवान ब्रदर-सिस्टरहरू जोसजाँगरले भरिएर सबै किसिमका कर्तव्यमा व्यस्त भएको देख्दा मलाई डाहा लाग्थ्यो। सोचेँ, म वृद्ध भएको र मेरो स्वास्थ्य राम्रो नभएकोले, म अबउसो दौडधूप गर्न वा धेरै प्रकारका कर्तव्यहरू पूरा गर्न सक्दिनँ, त्यसैले म पक्‍कै बेकाम भएको छु। मलाई साँच्‍चै १०-२० वर्षपछाडि फर्केर जान र तिनीहरूले जस्तै सबै किसिमका कर्तव्यहरू पूरा गर्न साह्रै मन लाग्थ्यो, तब त मुक्ति पाउने मेरो मौका अधिक हुनेथ्यो। अहिले म वृद्ध भइसकेको हुनाले जवान मानिसहरूको तुलनामा आउन ठ्याक्कै सक्दिनथेँ। त्यो सोच्दा मलाई खल्लो लाग्थ्यो, र थाहै नपाई म निराश हुन्थेँ। साथै, स्ट्रोकहरू बल्झिने गर्छन् भन्‍ने मलाई थाहा थियो, तसर्थ कुनै दिन मलाई फेरि मस्तिष्कघात भएमा, त्यो मेरो अन्त्य हुन सक्थ्यो, र मैले परमेश्‍वरको महिमा देख्‍नेथिइनँ। त्यसपछि मैले कसरी मुक्ति पाउनेथेँ र? परमेश्‍वरको लागि समर्पित हुन नपाउँदा मैले मुक्तिको मौका पाउँदिनँ भन्‍ने मलाई लाग्यो, त्यसकारण परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ थियो र? यो मेरो लागि दुःखलाग्दो र निराशलाग्दो सोचाइ थियो। केही समयसम्‍म त मैले परमेश्‍वरको वचन पढ्ने वा भजन गाउनेसमेत गरिनँ। यस्तो दुःखमा, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! मलाई अब मुक्ति पाउने मेरो कुनै आशा छैन जस्तो लागेको छ। म अत्यन्तै दुःखी भएको छु, मलाई जीवन नै जीर्ण भएको महसुस हुन्छ। हे परमेश्‍वर, म तपाईंबाट अलग हुन चाहन्‍नँ। म सही स्थितिमा छैन भन्‍ने मलाई थाहा छ, तर यसलाई कसरी सच्याउने थाहा छैन। बिन्ती छ, यो गलत स्थितिबाट निस्कन मलाई डोऱ्याउनुहोस्।”

एक दिन मैले परमेश्‍वरका वचनहरूमा यो पढेँ: “परमेश्‍वरको चाहना हरेक व्यक्ति सिद्ध बनोस्, अन्त्यमा उहाँद्वारा प्राप्त हुन सकोस्, उहाँद्वारा पूर्ण रूपमा धोइओस् र उहाँले प्रेम गर्नुहुने मानिसहरू बनोस् भन्‍ने छ। मैले तिमीहरू पछौटे वा कम क्षमताका छौ भन्दा केही फरक पर्दैन—यी सब तथ्य हुन्। मैले त्यसो भनेको कुराले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा हराएको छु र तिमीहरूलाई बचाउन अझ कम अनिच्छुक छु भन्‍ने प्रमाणित गर्दैन। आज म तिमीहरूको लागि मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध बन्ने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एकै जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर योग्यताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँसित मेरा मागहरू तेरो असाक्षरताअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्‍ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथि-सत्कार प्रदान गर्न सक्छस् भने, तँसँग मेरा मागहरू त्यस क्षमताअनुसार हुनेछन्; यदि तँ अतिथि-सत्कार गर्न सक्दिनँ, निश्‍चित कामहरू मात्र गर्न सक्छु भन्छस् भने, जस्तै सुसमाचार फैलाउने वा मण्डलीको रेखदेख गर्ने वा अन्य सामान्य कुराहरूमा सहभागी हुने, मैले तँलाई सिद्ध बनाउने काम तैँले गर्ने कामअनुसार हुनेछ। बफादार हुनु, आखिरीसम्म आज्ञापालन गर्नु र परमेश्‍वरप्रति सर्वोच्च प्रेम प्राप्त गर्न खोज्नु—यो तैँले पूरा गर्नैपर्ने कुरा हो र यी तीन कुराभन्दा अझ राम्रा अभ्यासहरू छैनन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। परमेश्‍वरका वचनहरूले मेरो लागि तुरुन्तै यी कुराहरू स्पष्ट पारिदिए। मानिसहरू समर्पित हुन सक्छन् कि सक्दैनन्, तिनीहरूको उमेर, वा तिनीहरूले कति धेरै कर्तव्य पूरा गर्न सक्छन् त्यसको आधारमा परमेश्‍वर तिनीहरूको परिणाम निर्धारित गर्नुहुन्‍न। तिनीहरू आफ्‍नो कर्तव्यमा समर्पित छन् र परमेश्‍वरका नियम र बन्दोबस्तहरू पालन गर्न सक्छन्, अनि परमेश्‍वरलाई सन्तुष्ट पार्ने प्रयास गर्छन् भने, तिनीहरूले मुक्ति पाउन सक्छन्। तर मैले परमेश्‍वरको इच्‍छा बुझेको थिइनँ र उहाँले कसलाई मुक्ति दिनुहुन्छ मलाई थाहा थिएन। मुक्ति पाउन मैले विभिन्‍न ठाउँमा गएर धेरै काम गर्न सक्‍नुपर्छ भन्‍ने मैले सधैँ गलतरूपमा विश्‍वास गरेको रहेछु। म वृद्ध भइरहेको र जवान मानिसहरूले जस्तो परिश्रम गर्न नसक्‍ने भएकोले, मुक्ति पाउने कुनै मौका छैन भनेर मैले आफूलाई सीमित गरेको थिएँ। म नकारात्मकता र गलतबुझाइमा डुबेको थिएँ, र परमेश्‍वरलाई धोका दिनेबारे समेत सोचेँ। म साह्रै विद्रोही रहेछु! म वृद्ध भएको र जवान मानिसहरूले जति कर्तव्य पूरा गर्न नसक्‍ने भए पनि, परमेश्‍वरले मलाई अरूकै मापदण्डहरूमा राख्नुभएन। अनि उहाँले मलाई सत्यताको पछि लाग्ने र कर्तव्य पूरा गर्ने मौकाबाट वञ्‍चित गरिरहनुभएकै थिएन। मेरो मन र समझ अझै पनि उस्तै थियो र म परमेश्‍वरका वचनहरू पढ्न र आफ्‍नो कर्तव्यमा आफूले गर्न सक्‍ने सबै गर्न सक्थेँ। तर मैले परमेश्‍वरको इच्‍छा नखोजी, आफूलाई वृद्ध र निकम्मा, परमेश्‍वरको निगाहबाट गिरेको व्यक्तिको रूपमा सीमित गरेँ, र परमेश्‍वरलाई धोका दिनेबारे सोचेँ। के त्यो धूर्त स्वभावको कारण परमेश्‍वरलाई शङ्का गर्नु होइन र? धेरै कर्तव्य पूरा गर्दा व्यक्तिले मुक्ति पाउँछ वा व्यक्ति वृद्ध भएपछि परमेश्‍वरले उसलाई हटाउनुहुन्छ, र मुक्ति दिनुहुन्‍न भनेर उहाँले कहिल्यै भन्‍नुभएको छैन। व्यक्ति वृद्ध भएपछि उसले कसरी खोजी गर्नुपर्छ र आफ्‍नो कर्तव्यलाई कसरी लिनुपर्छ भनेर उहाँले वास्तवमा स्पष्टसित बताउनुभएको थियो। म अन्त्यसम्‍मै समर्पित र आज्ञाकारी भएँ, र परमेश्‍वरको प्रेम पछ्याउन सकेँ भने, मैले मुक्ति पाउने आशा हुन्छ। परिस्थितिलाई परमेश्‍वरको वचनअनुसार नहेर्नु मेरो मूर्खता थियो। मैले आफ्‍नै धारणा र कल्‍पनालाई सत्यताको रूपमा लिएँ, परमेश्‍वरलाई गलत बुझेँ। मेरो विवेकले मलाई असाध्यै घोच्यो, र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! म आफ्नो गलत दृष्टिकोणको कारण नकारात्मक र प्रतिरोधी बन्‍न छोड्नुपर्छ। एक मुठी सास रहुञ्जेल, अर्को एक दिन बाँचुञ्जेल, कर्तव्य पूरा गर्ने थप एक दिन पाइञ्जेल, म अघि बढ्न र सत्यतामा प्रवेश गर्न प्रयास गरिरहनेछु।” प्रार्थना र परमेश्‍वरको वचनको डोऱ्याइले मलाई केही सान्त्वना मिल्यो—म त्यति व्याकुल भइनँ। सोचेँ, ममा समझ भइञ्‍जेल र म हिँडडुल गर्न सकिञ्‍जेल म असल आतिथेय बन्न परमेश्‍वरमा भरोसा गर्नेछु र परमेश्‍वरप्रतिको हार्दिक सेवामा आफ्नो सर्वस्व लगाउनेछु।

तर मैले नबुझेको कुरा अझै थियो। म आफू जवान मानिसहरू जत्तिको सक्षम नभएको देख्दा किन निराश भएँ, र परमेश्‍वरलाई धोका दिनेबारे समेत सोचेँ? त्यसको जड के थियो? मैले आफ्‍नो खोजीको बेला, परमेश्‍वरको वचनमा यो पढेँ: “मानिसहरूले आशिष्‌, इनाम, र मुकुट पाउन परमेश्‍वरमा विश्‍वास गर्छन्। के हरेकको हृदयमा यही कुरा हुँदैन र? हुन्छ, र यही तथ्य हो। मानिसहरूले यसबारेमा त्यति कुरा नगरे पनि, र तिनीहरूले आशिष्‌हरू पाउने आफ्‍नो मनसाय र इच्‍छालाई प्रायजसो लुकाउने भए पनि, मानिसहरूको हृदयभित्र हुने यो इच्‍छा र मनसाय सधैँ नै अटल रूपमा रही आएको छ। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्तहरू बुझेका भए पनि, तिनीहरूसँग जे-जस्तो अनुभव वा ज्ञान भए पनि, तिनीहरूले जे-जस्तो कर्तव्य पूरा गरे पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आफ्‍नो हृदयमा लुकेको आशिष्‌ पाउने मनसाय कहिल्यै त्याग्‍न सक्दैनन्, र सधैँ चुपचाप यसको लागि परिश्रम गर्छन्। के मानिसहरूको हृदयको गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष्‌ प्राप्त गर्ने यो प्रेरणाविना, तिमीहरू कस्तो महसुस गर्नेथियौ? तिमीहरू कस्तो मनोवृत्तिले आफ्नो कर्तव्य गर्नेथियौ? यदि यो आशिष्‌ प्राप्त गर्ने प्रेरणालाई मनबाट निकालेर फाल्न सकेको भए कस्तो हुनेथियो? सायद धेरै मानिसहरू नकारात्मक हुनेथिए, र उनीहरूमध्ये धेरैजना आफ्नो कर्तव्यमा प्ररेरणारहित बन्‍नेथिए। उनीहरूले आफ्नो हंस हराएझैँ परमेश्‍वरमाथिको विश्‍वासमा आफ्नो रुचि गुमाउने थिए। उनीहरूको हृदय थुतिएको प्राणीजस्तै देखिने थिए। त्यसैले त म भन्छु, आशिष्‌ पाउने मनसाय भनेको मानिसहरूको हृदयको गहिराइभित्र लुकेको कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। “ख्रीष्टविरोधीहरू लाभ पाउनका लागि मात्रै परमेश्‍वरमा विश्‍वास गर्छन्, र तिनीहरू परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गर्छन्। आशिष र इनामहरू पाउने तिनीहरूको अभिप्राय र इच्‍छा अत्यधिक धेरै हुन्छन्; तिनीहरू यी इच्‍छाहरूलाई पक्रिराख्छन्, छोड्दैनन्। परमेश्‍वर धेरै कुरा भन्‍नुहुन्छ, तैपनि तिनीहरू त्यो कुनै स्वीकार गर्दैनन्, तर यस क्रममा सोच्छन्, ‘परमेश्‍वरमा विश्‍वास गर्नु नै त आशिष पाउनलाई हो; यो असल गन्तव्य पाउनका लागि हो। यो नै सर्वोच्‍च सिद्धान्त हो, र योभन्दा ठूलो अरू केही हुन सक्दैन। यदि परमेश्‍वरमा विश्‍वास गर्नु आशिषहरू प्राप्त गर्नका लागि होइन भने, मानिसहरूले विश्‍वास गर्नु हुँदैन; यदि यो आशिषहरू पाउनका लागि होइन भने, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै महत्त्व वा मूल्य हुँदैन—तिनीहरूलाई घाटा हुन्छ।’ के ख्रीष्टविरोधीमा यी विचारहरू हालिदिने कोही छ? के ती कसैको संरक्षण वा प्रभावबाट आउँछन्? आउँदैनन्—यी विचारहरू ख्रीष्टविरोधीको जन्‍मजात प्रकृति र सारबाट निर्धारित हुन्छन्। ती कसैले पनि परिवर्तन गर्न सक्दैन। आज देहधारी परमेश्‍वरले धेरै कुरा बताइरहनुभएको छ, तर ख्रीष्टविरोधीहरू यीमध्ये कुनै कुरा स्वीकार गर्दैनन्, बरु उहाँको विरोध र निन्दा गर्छन्। सत्यतादेखि दिक्‍क मान्‍ने र यसलाई घृणा गर्ने तिनीहरूको प्रकृति सदासर्वदा अपरिवर्तनीय हुन्छ। र यो अपरिवर्तनले के देखाउँछ? यसले तिनीहरू प्रकृतिले नै दुष्ट छन् भन्‍ने देखाउँछ। समस्या तिनीहरू सत्यताको पछि लाग्छन् कि लाग्दैनन् भन्‍ने होइन—तिनीहरूको स्वभाव नै दुष्ट हुन्छ। तिनीहरू निर्लज्ज भई परमेश्‍वरविरुद्ध कोहोलो मच्चाउँछन् र उहाँको विरोध गर्छन्—यो तिनीहरूको प्रकृति र सार हो, र तिनीहरूको साँचो रूप हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात (भाग दुई))। “ख्रीष्टविरोधीहरू कर्तव्य निर्वाहलाई लेनदेनको रूपमा लिन्छन्। तिनीहरू आशिषहरू प्राप्त गर्ने प्रयासमा लेनदेनको हिसाबले आफ्‍नो कर्तव्य पूरा गर्छन्। तिनीहरू के विश्‍वास गर्छन् भने परमेश्‍वरमा विश्‍वास गर्नु भनेको आशिषहरू पाउनु हो, र कर्तव्य पूरा गरे बापत आशिष पाउनु उचित हो। तिनीहरूले सकारात्मक कुरालाई अर्थात् कर्तव्य निर्वाहलाई बिगारेर सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाहको मूल्य र महत्त्व अनि यसको वैधतालाई अपमान गर्छन्। तिनीहरूले सृष्टि गरिएको प्राणीले पूरा गर्नुपर्ने सही र उचित कर्तव्यलाई लेनदेनमा परिवर्तन गर्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्‍वरका वचनहरूबाट मैले के देखेँ भने ख्रीष्टविरोधीहरू आशिष पाउन मात्रै विश्‍वास गर्छन्, तिनीहरूको लेनदेनको मानसिकता कहिल्यै परिवर्तन हुँदैन, र जति नै कठिन वा दुःखदायी भए पनि तिनीहरूले यो कुरा त्याग्नेछैनन्। तिनीहरूले आशिष पाउने सबै आशा गुमाए भने, यो तिनीहरूको जीवनकै अन्त्य भएझैँ हुन्छ। तिनीहरू विश्‍वास जारी राख्‍नुलाई अर्थहीन ठान्छन्, र परमेश्‍वरविरुद्ध लडाइ र उहाँको प्रतिरोध गर्छन्। मैले ठ्याक्कै ख्रीष्टविरोधीले जस्तै काम गरिरहेको छु भन्‍ने देखेँ। मैले प्रभुमा विश्‍वास गर्दा, मेरो विश्‍वासले मलाई परमेश्‍वरको राज्यमा प्रवेश गराउन सक्छ भन्‍ने सुन्दा म अति खुसी भएको थिएँ। मलाई लाग्थ्यो, यस जीवनमा परमेश्‍वरका आशिष र अनुग्रह, त्यसपछि अर्को जीवनमा अनन्त जीवन पाउन कुनै पनि कष्टभोग सार्थक हुन्छ। आशिष पाउनु र परमेश्‍वरको राज्यमा प्रवेश गर्नु मेरो विश्‍वासको उद्देश्य बन्यो र जति त्याग गर्छु, भविष्यमा मेरा आशिषहरू त्यति नै हुनेछन्। सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेपछि, आशिष पाउने मेरो सपना पूरा हुनेछ भन्‍ने मलाई झन् धेरै लाग्यो, र म आफ्नो कर्तव्यमा झन् धेरै उत्साहित भएँ। त्यो बेला म ६६ वर्षको थिएँ, तर म आफूलाई वृद्ध पटक्‍कै ठान्दिनथेँ। मेरो मनमा चिन्ता थिएन, केवल म आफ्‍नो कर्तव्यमा कठिन परिश्रम गर्थेँ। भेलाको लागि म साइकल चलाएर चारैतिर जान्थेँ र पछि मलाई मस्तिष्कघात भए पनि, मलाई मतलब भएन। म केवल आफ्‍नो कर्तव्यमा कडा प्रयास गर्न, र आशिष पाउन पसिना बगाउन र कष्टलाई पूँजीको रूपमा चलाउन चाहन्थेँ। तर मैले आफू वृद्ध भएको र आफ्नो अवस्थाको कारण त्यति धेरै कर्तव्य पूरा गर्न नसक्ने भएको देखेँ। म यताउता यात्रा गरिरहन चाहन्थेँ तर गर्न सक्दिनथेँ, र म बिस्तारै केही गर्न नसक्‍ने हुँदै थिएँ। मलाई आशिष पाउने आशा झन्-झन् झिनो हुँदै गइरहेको छ जस्तो लाग्यो र मैले यो स्विकार्न चाहिनँ। म केही बोलिनँ, तर हृदयमा परमेश्‍वरको नियम स्विकार्न चाहँदिनथेँ, त्यसैले म दुःखी र प्रतिरोधी बनेँ। अनि मैले अविवेकी भएर के मलाई आतिथेय गर्न लगाउनुलाई मेरो मूल्य नभएको ठानेँ, र मैले परमेश्‍वरलाई धोका दिने र विश्‍वास त्याग्‍नेसमेत विचार गरेँ। आशिष पाउनु र परमेश्‍वरसँग लेनदेन गर्नु नै मेरो विश्‍वासको अभिप्राय थियो। के त्यो विश्‍वासप्रति ख्रीष्टविरोधीको गलत दृष्टिकोण थिएन र? मैले कर्तव्य पूरा गर्ने जस्तो सकारात्मक र सुन्दर कुरालाई तोडमोड गरेको थिएँ। आफ्‍नो कर्तव्य पूरा गर्ने र ठाउँ-ठाउँमा जाने कार्यलाई राज्यका आशिषहरू पाउन परमेश्‍वरसँग लेनदेन गर्न प्रयोग गर्नु, अनि आफ्‍नो कर्तव्यलाई मेरा तीव्र इच्‍छाहरू पूरा गर्ने औजारको रूपमा चलाउनु मात्र मलाई आउँथ्यो। आशिषित हुने आशाले म साँच्‍चै लट्ठिएको रहेछु। म स्वर्गको राज्यमा प्रवेश गर्नेबारे मात्रै सोच्‍न सक्थेँ। मलाई आशिष पाउँछु कि पाउँदिन, मेरो परिणाम र गन्तव्य कस्तो हुनेछ भन्‍नेमा मात्रै चासो थियो। परमेश्‍वरको प्रेमको ऋण तिर्ने वा उहाँको तत्पर इच्‍छा बुझ्‍ने मेरो कुनै सोच थिएन। ममा पटक्कै विवेक थिएन। परमेश्‍वरले मलाई जीवनको सास र कर्तव्य पूरा गर्ने मौका दिनुभएको छ। यो उहाँबाटको असीम अनुग्रह हो। तर आशिषहरूका खातिर, मैले परमेश्‍वरबाट सधैँ अनुचित मागहरू गरिरहेको थिएँ, परमेश्‍वरसँग तर्क गरेँ, गुनासो गरेँ, नकारात्मक र प्रतिरोधी बनेँ। म दुष्ट स्वभावको विद्रोही र विरोधी व्यक्ति थिएँ। यदि परमेश्‍वरले मेरो जीवन लिनुभएको भए, त्यो धर्मी कार्य हुनेथ्यो। मैले आफ्नो समस्या कति गम्‍भीर छ भन्‍ने देखेर, हृदयबाट परमेश्‍वरलाई प्रार्थना गरेँ, अनि आशिष पाउने अभिप्राय त्याग्‍न, र उहाँको नियम मान्न डोऱ्याइ मागेँ। त्यसपछि मलाई परमेश्‍वरका केही वचनहरू याद आयो: “म प्रत्येक व्यक्तिको गन्तव्य निर्धारण निजको उमेर, वरिष्ठता, भोगाइको परिमाणका आधारमा गर्दिनँ, र उनीहरूले गर्ने कारुणिक आह्‍वानका आधारमा त झनै होइन्, तर उनीहरूसँग सत्य छ वा छैन भन्‍ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्‍वरका वचनहरूले मलाई होसमा आउन सहयोग गरे। परमेश्‍वरले हाम्रो परिणाम र गन्तव्य निर्धारित गर्नुहुँदा, यसको हामीले उहाँको लागि कति त्याग गरेका छौँ, कति काम गरेका वा कष्ट भोगेका छौँ, त्यससँग कुनै सम्‍बन्ध हुँदैन। यो त हामीले परमेश्‍वरको काम अनुभव गर्दा सत्यता पाएका छौँ कि छैनौँ, हाम्रा भ्रष्ट स्वभावहरू धोइएका छन् कि छैनन्, अनि ती परिवर्तन भएका छन् कि छैन भन्‍ने कुरामा आधारित हुन्छ। मैले के पनि महसुस गरेँ भने धेरै कर्तव्य पूरा गर्नु भनेको सत्यता प्राप्त गर्नु वा स्वभाव परिवर्तन गर्नु होइन। मैले जति नै कर्तव्य पूरा गरे पनि, महत्त्वपूर्ण कुरा भनेको म सत्यता पछ्याउने मार्गमा छु कि छैन भन्‍ने हो। पहिले, मैले धेरै कर्तव्य पूरा गरेँ र चारैतिर यात्रा गरेँ, तर सत्यताको पछि कहिल्यै लागिनँ। म सतही प्रयासहरू गरेर असल गन्तव्य पाउन चाहन्थेँ। परमेश्‍वरप्रति मभित्रको लेनदेन र विरोधी मनस्थितिलाई मैले देखेको थिइनँ। अन्तिममा आशिष पाउने मेरो इच्‍छा तोडिएपछि, मैले परमेश्‍वरसँग तर्क गरेँ र उहाँविरुद्ध काम गरेँ। मैले जतिवटा कर्तव्य पूरा गरे पनि, यदि मैले सत्यताको पछि नलागी दौडधूप र मेहनत मात्रै गर्न सकेको भए, ममा स्वभाव परिवर्तन हुनेथिएन, तर म स्वार्थी र अहङ्कारी मात्रै बन्नेथिएँ भन्‍ने मलाई थाहा भयो। मैले आफूले गरेको कामबारे परमेश्‍वरसँग तर्कवितर्क गर्नेथेँ, र म झन्-झन् दुष्ट बन्दै जानेथेँ। ठ्याक्कै पावलजस्तै—तिनले धेरै र ठूलो काम गरे, तर तिनको काम मुकुट पाउनलाई थियो। त्यो सधैँ परमेश्‍वरसँगको लेनदेन थियो। मृत्युको मुखमा पर्दासमेत तिनले पश्‍चात्ताप गरेनन्, र परमेश्‍वरबाट दण्ड पाए। तर पत्रुसले त्यति धेरै काम गरेनन्, तर तिनी आफ्‍नो विश्‍वासमा सत्यताको पछि लागे, र सबै कुरामा परमेश्‍वरको इच्‍छा खोजे र उहाँको आज्ञापालन गर्ने प्रयास गरे। तिनमा सर्तहरू थिएनन् र तिनले आशिष पाउँछु कि पाउँदिनँ भनेर ध्यान दिएनन्। तिनले परमेश्‍वरको सर्वोच्च प्रेम हासिल गरे, र परमेश्‍वरको अनुमोदन पाए र उहाँद्वारा सिद्ध पारिए। तिनीहरू दुवै विश्‍वासी थिए, तर तिनीहरूको खोजीका उद्देश्य र दृष्टिकोणहरू, अनि तिनीहरूका परिणामहरू फरक थिए। परमेश्‍वर धर्मी हुनुहुन्छ, र हामीले सत्यता र स्वभाव परिवर्तनको पछि लाग्यौँ भने मात्रै परमेश्‍वरको इच्‍छा पूरा गर्न सक्छौँ। म पछि लागेको कुरा र म हिँडिरहेको मार्ग पावलको जस्तै हास्यास्पद र गलत थियो, र मेरो नतिजा अवश्य तिनको जस्तै हुनेथ्यो। परमेश्‍वरको वचनको अन्तर्दृष्टिले मलाई उहाँको इच्‍छा र विश्‍वासमा मैले कस्तो दृष्टिकोण राख्‍नुपर्छ भन्‍ने कुरा देखायो। मैले परमेश्‍वरका नियम र बन्दोबस्तहरू पालना गर्न, सृष्टि गरिएको उचित प्राणी बन्‍न सिक्‍नुपर्थ्यो। के त्यो परमेश्‍वरको प्रेम र मुक्ति थिएन र? मैले परमेश्‍वरको इच्‍छा बुझेपछि मेरो स्थिति धेरै सुध्रियो, र म परमेश्‍वरप्रति अत्यन्तै आभारी भएँ। त्यसपछि ब्रदर-सिस्टरहरू भेलाको लागि आउँदा, म अतिथिसत्कार गर्थेँ। तिनीहरू नआउँदा, म शान्त भएर परमेश्‍वरको वचन पढ्थेँ र मेरो स्थितिअनुसार सत्यता खोज्थेँ।

एक दिन मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। “परमेश्‍वरले हरेक व्यक्तिको जन्‍मदेखि अहिलेसम्‍मका दशकहरूमा उसको लागि मूल्य मात्रै चुकाउनुहुन्‍न। परमेश्‍वरको नजरमा, तँ यो संसारमा धेरैपटक आएको छस्, र तैँले धेरैपटक पुनर्जन्म लिएको छस्। यो सबको पछाडि कसको हात छ? यसको पछाडि परमेश्‍वरको हात छ। तँलाई कुनै पनि हालतमा यी कुराहरू थाहा हुँदैन। हरेकपटक तँ यो संसारमा आउँदा, परमेश्‍वरले व्यक्तिगतरूपमा बन्दोबस्तहरू मिलाउनुहुन्छ: तँ कति वर्ष बाँच्‍नेछस्, कस्तो परिवारमा जन्‍मनेछस्, तैँले कहिले घरजम गरेर बस्‍नेछस्, यो संसारमा के गर्नेछस् र जीवन धान्‍न तैँले के गर्नुपर्छ सो उहाँले मिलाउनुहुन्छ। परमेश्‍वरले तेरो लागि जीवनमा मार्ग तयार गर्नुहुन्छ, ताकि तैँले कुनै बाधाविना यस जीवनमा आफ्‍नो मिसन पूरा गर्न सक्—र जहाँसम्‍म तैँले तेरो अर्को जन्ममा के गर्नुपर्ने भन्‍ने कुरा छ, तैँले के पाउनुपर्छ र तँलाई के दिइनुपर्छ भन्‍ने आधारमा परमेश्‍वरले त्यो जीवनलाई सबै कुरा मिलाएर दिनुहुन्छ। … तेरो लागि धेरैपटक यस्ता बन्दोबस्तहरू गरिएका भए पनि, अन्तिममा तँ आखिरी दिनहरूको युगमा तेरो अहिलेको वर्तमान परिवारमा जन्‍मेको छस्। तैँले परमेश्‍वरलाई विश्‍वास गर्ने वातावरण उहाँले नै मिलाउनुहुन्छ; उहाँले तँलाई उहाँको आवाज सुनेर उहाँसामु आउन लगाउनुहुन्छ, र तैँले उहाँलाई पछ्याउन र उहाँको घरमा कर्तव्य पूरा गर्न सक्छस्। परमेश्‍वरबाट यस्तो मार्गदर्शन पाएर मात्रै तैँले आजको दिनसम्‍म जिएको छस्। तँ संसारमा कतिपटक आएको छस्, तेरो रूप कतिपटक परिवर्तन भएको छ त्यो तँलाई थाहा छैन, न त तँलाई कतिवटा परिवारमा जन्मिस्, कतिवटा युग र शासन तैँले देखिस् त्यो नै थाहा छ—तर यी सबैबाट गुज्रँदा, परमेश्‍वरले तँलाई साथ दिइरहनुभएको छ, र तँलाई हेरचाह गरिरहनुभएको छ। व्यक्तिको लागि परमेश्‍वर कति धेरै मेहनत गर्नुहुन्छ! कतिपय मानिसहरू भन्छन्, ‘म साठी वर्ष पुगेँ। साठी वर्षसम्‍म परमेश्‍वरले मलाई हेरचाह र रक्षा गर्दै आउनुभएको छ। साठी वर्षसम्‍म, उहाँले मेरो भाग्यमाथि शासन गर्नुभएको छ। म वृद्ध भएपछि, यदि मैले कर्तव्य पूरा गर्न सकिनँ र केही गर्न सकिनँ भने—के परमेश्‍वरले मलाई अझै वास्ता गर्नुहुनेछ?’ के यसो भन्‍नु मूर्खता होइन र? मानिसको भाग्यमाथि परमेश्‍वरको सार्वभौमिकता, मानिसप्रतिको उहाँको हेरचाह र सुरक्षा एउटै जीवनकालको लागि मात्रै होइन। यदि यो एउटै जीवनकाल, एउटै जीवन-अवधिको लागि मात्रै भएको भए, यसले परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ र उहाँले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्‍ने कुरा देखाउन सक्दैनथियो। परमेश्‍वरले गर्नुहुने परिश्रम र व्यक्तिको लागि चुकाउनुहुने मूल्य उसले यस जीवनमा के गर्छ त्यसलाई बन्दोबस्त गर्नु मात्रै होइन, तर उसको लागि अनगिन्ती जीवनकालको बन्दोबस्त गर्नु हो। व्यक्तिको रूपमा पुनर्जन्‍म लिने हरेक प्राणको लागि परमेश्‍वरले पूर्ण जिम्‍मेवारी लिनुहुन्छ। उहाँले हरेक व्यक्तिलाई डोऱ्याउन अनि हरेक व्यक्तिको जीवन र आयु मिलाउन ध्यान दिएर काम गर्नुहुन्छ, उहाँले आफ्‍नो जीवन दिएर मूल्य चुकाउनुहुन्छ। परमेश्‍वरले मानिसको खातिर यति धेरै मेहनत गर्नुहुन्छ र यस्तो मूल्य चुकाउनुहुन्छ, अनि उहाँले मानिसलाई यी सबै सत्यता र यो जीवन दिनुहुन्छ। यदि मानिसले यो अन्तिम चरणमा सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्दैन, र ऊ सृष्टिकर्ताको अघि फर्किँदैन—यदि अन्त्यमा, उसले जति नै जीवन र पुस्ता पार गरेको भए पनि, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्दैन र परमेश्‍वरका मागहरू पूरा गर्न सक्दैन भने—के परमेश्‍वरप्रतिको मानिसको ऋण अत्यन्तै धेरै हुँदैन र? के तिनीहरू परमेश्‍वरले गर्नुभएका सबै कुराको अयोग्य हुँदैनन् र? तिनीहरू यति निर्दयी हुनेछन् कि व्यक्ति भनिन लायक हुनेछैनन्, किनभने परमेश्‍वरप्रतिको तिनीहरूको ऋण अत्यन्तै धेरै हुनेछ। … मानिसप्रतिको परमेश्‍वरको अनुग्रह, प्रेम र दया मनोवृत्ति मात्रै होइनन्—ती तथ्य पनि हुन्। त्यो कुन तथ्य हो? त्यो तथ्य हो, परमेश्‍वरले तँलाई आफ्‍ना वचनहरू दिनुहुन्छ, ताकि तँलाई भित्री अन्तर्दृष्टि प्राप्त होस्, तैँले उहाँमा के कुरा प्रेमपूर्ण छ, यो संसारको अर्थ के हो भनेर देख्‍न सक्, तेरो हृदय ज्योतिले भरियोस्, र तैँले उहाँका वचनहरू र सत्यता बुझ्‍न सक्। यसरी, तैँले थाहै नपाई सत्यता प्राप्त गर्छस्। परमेश्‍वरले हरेक वास्तविक तरिकामा तँमा यति धेरै काम गर्नुहुन्छ, यसरी तैँले सत्यता प्राप्त गर्न सक्छस्। जब तैँले सत्यता प्राप्त गरेको हुन्छस्, जब तैँले सबैभन्दा बहुमूल्‍य कुरा अनन्त जीवन प्राप्त गरेको हुन्छस्, तब परमेश्‍वरको इच्‍छा पूरा हुन्छ। जब परमेश्‍वरले मानिस सत्यताको पछि लागेको र उसले उहाँसँग सहकार्य गर्ने इच्‍छा गरेको देख्‍नुहुन्छ, तब उहाँ खुसी र सन्तुष्ट बन्‍नुहुन्छ। त्यसपछि उहाँमा एउटा मनोवृत्ति हुन्छ, र उहाँमा त्यो मनोवृत्तिमा हुँदा, उहाँ काममा लाग्‍नुहुन्छ, र मानिसलाई स्याबासी र आशिष दिनुहुन्छ। उहाँ भन्‍नुहुन्छ, ‘म तँलाई इनाम दिनेछु। तैँले पाउनुपर्ने आशिष यो हो।’ अनि त्यसपछि तैँले सत्यता र जीवन प्राप्त गर्नेछस्। जब तँमा सृष्टिकर्ताको ज्ञान हुन्छ र तैँले उहाँबाट प्रशंसा पाउँछस्, तब के तँलाई अझै पनि मनमा रित्तो महसुस हुनेछ? हुनेछैन; तँ सन्तुष्ट हुनेछस् र तँलाई आनन्द महसुस हुनेछ। मूल्यसहित जिउनु भनेको यही होइन र? यो नै सबैभन्दा बहुमूल्य र महत्त्वपूर्ण किसिमको जीवन हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउनु ठूलो महत्त्वको कुरा हो)। मलाई परमेश्‍वरका वचनहरू अत्यन्तै हृदयस्पर्शी र निकै सान्त्वनादायी लाग्यो। म जति नै वृद्ध भए पनि वा मेरो स्वास्थ्य जस्तो भए पनि, मैले सत्यतालाई प्रेम गरेको र पछ्याएको भए, परमेश्‍वरले मलाई त्याग्‍नुहुनेथिएन। तर मैले परमेश्‍वरको इच्‍छालाई गलत बुझेको थिएँ। म वृद्ध र निकम्मा भएको छु, त्यति धेरै कर्तव्य पूरा गर्न सक्दिनँ भन्‍ने मलाई लाग्यो। म गम्‍भीर बिरामी परेर कुनै दिन मर्न सक्थेँ, त्यसपछि मुक्ति पाउने मेरो आशा हुनेथिएन। मलाई विश्‍वास गर्नुको कुनै अर्थ छैन भन्‍ने लाग्यो, र म प्रयास गरिरहन चाहन्‍नथेँ। मैले म गलत दृष्टिकोणद्वारा प्रभावित भएको छु र मैले परमेश्‍वरको इच्‍छालाई गलत बुझेको छु भन्‍ने थाहा पाएँ। म कमजोरी र नकारात्मकतामा डुबेको थिएँ, र शैतानले मलाई नचाएको थियो। पहिले त, मलाई सृष्टि गरिएको प्राणीको रूपमा मैले परमेश्‍वरमा समर्पित भएर उहाँलाई सन्तुष्ट तुल्याउनुपर्छ भन्‍ने थाहा थिएन। ममा त्यो समझ थिएन। मैले देहगत आशिषहरू पाउन मात्रै विश्‍वास गरेको थिएँ—मैले परमेश्‍वरसँग लेनदेन गरिरहेको थिएँ। अब मैले के देख्‍न सकेँ भने त्यो खोजीको साथ, म ८०० वर्ष नै बाँचेँ भने पनि त्यसको कुनै अर्थ वा मूल्य हुनेथिएन। अय्यूबले विपत्तिको सामना गर्दा र तिनका सम्पत्तिहरू लुटिँदा, तिनले कहिल्यै पनि आफूले पाएको वा गुमाएको बारेमा सोचेनन्। तिनलाई खटिरा आएर जीवन असहनीय बन्दा, जीवनको झिनो आशा हुँदा, तिनले कहिल्यै परमेश्‍वरलाई दोष दिएनन्। तिनी परमेश्‍वरमाथिको आफ्नो साँचो विश्‍वासद्वारा उहाँका नियम र बन्दोबस्तहरूमा समर्पित भए। तिनले शैतानको अघि परमेश्‍वरबारे सानदार गवाही दिए, र परमेश्‍वरको हृदयलाई सान्त्वना दिए। अन्तिममा परमेश्‍वरले तिनलाई आशिष दिनुभयो, र परमेश्‍वर तिनीकहाँ देखा पर्नुभयो। पत्रुसको विश्‍वासमा, परमेश्‍वरले जे बन्दोबस्त गर्नुभए पनि, तिनले उहाँको इच्‍छा खोजे र उहाँमा समर्पित भए, र प्रभुका वचनहरू अभ्यास गर्न ध्यान दिए। अन्तिममा, परमेश्‍वरको आज्ञापालन गर्दै तिनी उहाँको निम्ति उँधोमुन्टो क्रूसमा टाँगिए, यसरी तिनले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गरे र अर्थपूर्ण जीवन जिए। अब मलाई थाहा भयो, विश्‍वासीको रूपमा, परमेश्‍वरमा समर्पित हुन र उहाँलाई सन्तुष्ट पार्न खोज्‍नु, सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु, आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा सत्यता सिक्‍नु र प्राप्त गर्नु, परमेश्‍वरमा समर्पित हुनु र उहाँलाई प्रेम गर्नु नै खोक्रो जीवन नजिउने, अर्थपूर्ण जीवन जिउने तरिका हो। परमेश्‍वरले अनुमोदन गर्नुहुने कुरा यही हो। सधैँ परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गर्नु, कडा परिश्रम र आफूलाई समर्पित गरेर बद्लामा राज्यका आशिषहरू पाउन खोज्नु, नीचता हो, र यस्ताहरूको जीवनको कुनै अर्थ वा मूल्य हुँदैन। मैले भविष्यमा आशिष पाउनेछु कि छैनँ भनेर सोचिरहनु हुँदैन। म जीवित रहेको हरेक दिन सत्यताको पछि लाग्न, परमेश्‍वरमा भरोसा गरेर आफ्‍नो कर्तव्य पूरा गर्न सक्दो गर्न, परमेश्‍वरमा समर्पित हुने र उहाँलाई सन्तुष्ट तुल्याउने प्रयास गर्न, र आफ्‍नो कर्तव्य पूरा गर्दा स्वभाव परिवर्तनको पछि लाग्न चाहन्थेँ। कुनै दिन म गम्‍भीर बिरामी परेर मृत्युको सामना गर्नुपरे पनि, र मैले उप्रान्त कर्तव्य पूरा गर्ने मौका नपाए पनि, म परमेश्‍वरको नियममा समर्पित हुनेथेँ। अहिले मैले ध्यान दिनुपर्ने कुरा भनेको यस जीवनकालमा आफ्‍नो कर्तव्य पूरा गर्न सक्दो गर्नु थियो। मेरो नतिजा जे-जस्तो भए पनि, यो जीवन होस् वा मृत्यु, परमेश्‍वरको नियमअनुसार हुन्छ। यो मैले सृष्टि गरिएको प्राणीको रूपमा विचार गर्नुपर्ने कुरा होइन। यस कुरालाई त्यसरी विचार गर्दा मलाई निकै ढुक्‍क लाग्यो। त्यसपछि, मैले हरेक दिन सामान्यरूपमा परमेश्‍वरको वचन पढेँ र भजनहरू सुनेँ। म आफूले भ्रष्टता प्रकट गर्दा, प्रार्थना गर्थेँ, सत्यता खोज्थेँ, र मलाई आफ्नो शैतानी स्वभाव थाहा हुन्थ्यो, र ब्रदर-सिस्टरहरूसँगको सङ्गतिमा खुलस्त हुन्थेँ। मैले बिस्तारै केही प्रगति गरेँ। साधारणतया मैले आफ्‍नो कर्तव्य पूरा गर्नुपर्दा, म सक्रिय भएर लाग्थेँ, र छेउछाउका मानिसहरूलाई सुसमाचार सुनाउन अथक प्रयास गर्थेँ। ब्रदर-सिस्टरहरूले गवाहीसम्‍बन्धी लेखहरू लेखेका देख्दा, मलाई पनि परमेश्‍वरको गवाही लेखहरू लेख्‍न मन लाग्थ्यो। मलाई त्यस्तो खोजी गर्दा सन्तुष्टि र शान्ति मिल्नेछ भन्‍ने लाग्यो। एक दिन मैले परमेश्‍वरका वचनहरूको यो भजन सुनेँ, “सृष्टि गरिएको प्राणी परमेश्‍वरको कृपामा हुनुपर्छ।” यो सुनेर म अत्यन्तै भावुक भएँ। पत्रुसको अनुभव भएको दोस्रो खण्डले मलाई निकै भावुक तुल्यायो।

विगतमा, परमेश्‍वरको खातिर पत्रुसलाई क्रूसमा उल्टो झुन्ड्याइ; तर अन्त्यमा तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ, र तेरा सबै शक्ति उहाँका लागि समाप्त गर्नुपर्छ। सृष्टि गरिएको एक प्राणीले परमेश्‍वरको खातिर के गर्नसक्छ र? यसैले परमेश्‍वरले उहाँको इच्छाअनुसार तँलाई प्रयोग गरून् भनी तैँले सक्दो चाँडोभन्दा चाँडो आफैलाई परमेश्‍वरमा सुम्पनुपर्छ। यदि त्यसले परमेश्‍वरलाई खुसी र प्रसन्न तुल्याउँछ भने उहाँले आफ्नो इच्छाअनुसार तँसँग जे गर्न चाहनुहुन्छ उहाँलाई त्यही गर्न दे। मानिसहरूसँग गुनासोका कुराहरू बोल्ने के अधिकार छ र?

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

मैले यो बारम्बार सुनेँ, र पनि धीत मरेन। यसको हरेक हरफ प्रेरणादायी र हृदयस्पर्शी लाग्यो, र मैले आँसु रोक्‍न सकिनँ। म त शैतानले भ्रष्ट तुल्याएको प्राणी थिएँ र यस्तो पाको उमेरसम्म जिएको थिएँ, र पनि परमेश्‍वरलाई पछ्याउने र उहाँको काम अनुभव गर्ने, उहाँको गवाही दिने र उहाँको निम्ति जिउने मौका पाएको थिएँ। कस्तो ठूलो आशिष! परमेश्‍वरका वचनहरू खानु र पिउनु, आफ्नो भ्रष्टता चिन्‍नु, आशिषहरू पाउने मेरा स्वार्थी र नीच मनसायहरू हटाउनु आफैमा परमेश्‍वरको आशिष थियो। परमेश्‍वरले मलाई केही दिनुभएन भने पनि म अन्त्यसम्‍मै उहाँको प्रशंसा गर्नेथेँ। मेरो जीवन सार्थक हुनेथ्यो! म परमेश्‍वरको समझदार र समर्पित प्राणी बन्‍ने प्रयास गर्न चाहन्छु। मेरो स्वास्थ्य वा मेरो परिणाम जेजस्तो भए पनि, म परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुन चाहन्छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सुसमाचार प्रचार गर्न कठिनाइ हुँदा

सन् २०२० मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। मैले प्रभुको पुनरागमनलाई स्वागत गर्न पाउनु ठूलो आशिष थियो। यो...

स्वार्थीपनको समाधान कसरी गर्ने

झाङ्ग जिङ्ग, चेक गणतन्त्रसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन मापदण्डअनुसार व्यक्तिका कामहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्