बन्धन

25 फेब्रुअरी 2023

सन् २००४ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ, र केही समयपछि नै, सुसमाचार प्रचार गरेको निहुँमा मलाई रिपोर्ट गरिएछ। त्यस दिन, म अस्पतालमा काम गरिरहेकी थिएँ, र मेरो सहकर्मीले मलाई अस्पतालको प्रबन्धकले मलाई खोजिरहेको छ भनेर भने। म प्रबन्धकको अफिसमा गएँ र त्यहाँ दुई जना साधा पोसाक लगाएका पुलिस उभिरहेको देखेँ। तिनीहरूले मलाई भने, “तपाईंले पूर्वीय ज्योतिमा विश्‍वास गर्नुहुन्छ, र तपाईंले सबैलाई प्रचार गरिरहनुभएको छ भनेर हामीलाई कसैले बताएको छ। पूर्वीय ज्योति राष्ट्रको मुख्य कारबाहीमा रहेको छ। तिनीहरूका सबै विश्‍वासी राजनीतिक अपराधी हुन् र तिनीहरूलाई जेलमा हालिनेछ।” तिनीहरूले मलाई के धम्की दिए भने, यदि मैले विश्‍वास गरिरहेँ भने, तिनीहरूले मलाई मेरो जागिरबाट तुरुन्तै निकाल्‍नेछन्। र मैले जागिर गरिरहेँ भने पनि, मलाई तलब दिइनेछैन। मेरो श्रीमानले पनि जागिर गुमाउनुहुनेथियो। मेरो छोराले कलेज जान वा सेना बन्‍न, वा विदेश जान पाउनेथिएन। तिनीहरूले मलाई सुसमाचार प्रचार गरिरहेको भेटे भने, मलाई जेलमा पठाउनेछन् भनेर भने। त्यो बेला, मलाई अलिक चिन्ता लाग्यो। मैले सोचेँ, “यदि मैले परमेश्‍वरमाथिको विश्‍वास त्यागिन भने, पुलिसले छाड्नेछैन। यदि मैले मेरो जागिर गुमाएँ र मेरो श्रीमानको व्यवसायमा असर पुग्‍यो भने, भविष्यमा हामी कसरी बाँच्‍नेछौँ? र यदि म पक्राउ परेँ र जेल परेँ भने, मेरो सानो छोरालाई कसले हेरचाह गर्नेछ? यदि परमेश्‍वरमाथिको मेरो विश्‍वासको कारण मेरो छोराको भविष्यमा असर पुग्‍यो भने, म त्यसप्रति अत्यन्तै धेरै ऋणी हुनेछु …” मैले यसको बारेमा जति विचार गरेँ, म त्यति नै व्याकुल भएँ। मैले परमेश्‍वरलाई मेरो रक्षा गर्नुहोस् भनी पुकारेँ। त्यो बेला, मलाई परमेश्‍वरको वचनको एउटा खण्ड याद आयो। “तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै तैँले आफ्नो कर्तव्य पूरा गर्न थाल्छस्। परमेश्‍वरको योजना र उहाँको विधिको लागि तैँले आफ्नो भूमिका खेल्छस् र तैँले आफ्नो जीवन यात्रा सुरुआत गर्छस्। तेरो पृष्‍ठभूमि जस्तोसुकै होस् र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि स्वर्गको व्यवस्थापन र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि तिनीहरूको गन्तव्य आफ्नै वशमा हुँदैन, किनकि सबै थोकमाथि शासन गर्नुहुने उहाँ मात्र यस्तो कार्य गर्न सक्षम हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। मैले परमेश्‍वरको वचन मनन गरेँ, त्यसपछि मैले के बुझेँ भने: सबैको भाग्य परमेश्‍वरको सार्वभौमिकतामा रहेको हुन्छ। हाम्रो परिवारलाई जे भए पनि त्यो परमेश्‍वरको हातमा छ, र कुनै पनि व्यक्तिले यसको निर्णय गर्न सक्दैन। परमेश्‍वर हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। उहाँमा विश्‍वास गर्नु र उहाँको आराधना गर्नु प्राकृतिक र सही कुरा हो। पुलिसले मेरो श्रीमान र मेरो जागिर र मेरो छोराको भविष्यलाई प्रयोग गरेर मलाई धम्की दिन, मलाई साँचो मार्ग त्यागेर परमेश्‍वरलाई धोका दिन लगाउन चाहन्थ्यो। यो अत्यन्तै घृणित कार्य थियो! त्यो बेला, मैले के निर्णय गरेँ भने भविष्यमा मेरो जीवन जस्तो अवस्थामा पुगे पनि, म शैतानसँग कहिल्यै सम्झौता गर्नेछैन। त्यसपछि पुलिसले मलाई मेरा ब्रदर-सिस्टरहरूको बारेमा रिपोर्ट गर्न अनुरोध गरेँ, तर मैले इन्कार गरेँ, र तिनीहरू जानुपर्‍यो।

त्यसपछि, तिनीहरू म अझै परमेश्‍वरमा विश्‍वास गर्छु कि वा सुसमाचार प्रचार गर्छु कि भनी सोध्‍न प्रायजसो अस्पताल गइरहन्थे। कहिलेकहीँ म बिरामीलाई शल्यक्रिया गरिरहेकी हुन्थेँ, तर जति नै अर्जेन्ट भए पनि, मैले काम रोक्‍नुपर्थ्यो। मलाई रिस उठ्न थाल्यो। म सोच्थेँ, “मैले परमेश्‍वरमा विश्‍वास मात्रै गरेकी हुँ, कुनै खराब काम गरेकी छैन, र पनि पुलिसले किन मलाई सधैँ पिरोल्छ? म शान्तिसँग आफ्‍नो काम समेत गर्न पाउँदिन।” निरन्तरको अनुसन्धानले सम्पूर्ण अस्पतालमा नै तहल्‍का मच्‍चाएको थियो। मेरा सहकर्मीहरूले मलाई खतरनाक व्यक्तिको रूपमा हेर्न थाले। कतिले मेरो कुरा काट्न थाले, र कतिले मलाई सीधै सोध्थे, “विश्‍वास गरेर तपाईंले के गर्नुभयो? पुलिसले किन तपाईंलाई अनुसन्धान गर्न चाहन्छ? तपाईंले परमेश्‍वरमा विश्‍वास गर्नुभएकोले पुलिस हाम्रै ढोकामा आएको छ। यो गम्‍भीर कुरा हो।” मप्रतिको प्रबन्धकको आचरण पनि परिवर्तन भयो। तिनले मलाई गम्‍भीर रूपमा लिने गर्थे, तर त्यस घटनापछि, तिनले मलाई भेट्दा हरेक पटक सोध्थे, “प्रचार गर्न त जानुभएको छैन नि” तिनले मलाई १४ घण्टा फोन खुला राख्‍नू भनी भने, ताकि मलाई सधैँ सम्पर्क गर्न सकियोस्। एक पटक, प्रबन्धकले मलाई यसो भने, “तपाईंले परमेश्‍वरमा विश्‍वास गर्नुभएको कारण तपाईंलाई खोज्दै पुलिस यहाँ धेरै पटक आइसकेको छ। अब परमेश्‍वरमा विश्‍वास नगर्नुहोस्। तपाईंले आफ्‍नो काम सधैँ राम्ररी गर्नुभएको छ, र सबैले तपाईंलाई राम्रो ठान्छन्। विश्‍वास गरेर आफ्‍नो भविष्य बरबाद नगर्नुहोस्। यसो नगर्नुहोस्। यदि तपाईं पक्राउ पर्नुभयो भने, तपाईंको प्रबन्धकको रूपमा मैले व्याख्या गर्नु कठिन हुन्छ।” त्यो अवधिमा, म मेरो मालिकको निरन्तर निगरानीमा हुन्थेँ र मेरा सहकर्मीहरूले मलाई अनौठो नजरले हेर्थे, जसले गर्दा म निराश र व्याकुल भएकी थिएँ। मैले विश्‍वास र शक्ति माग्दै परमेश्‍वरलाई प्रार्थना गरेँ, र मलाई यो वातावरणमा दह्रिलो गरी खडा हुन सहयोग गर्नुहोस् भनी अनुरोध गरेँ। त्यसपछि मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ, “त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यही देशमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू उपहास र उत्पीडनको सिकार बन्छन्…। परमेश्‍वरलाई विरोध गर्ने यही देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरैजसो वचनहरू पूरा हुन समय लाग्छ; यसर्थ, मानिसहरू परमेश्‍वरको वचनको कारण विशुद्ध गरिन्छन्, जो कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि यसलाई मानिसहरूको यो समूहलाई पूर्ण बनाउने मौकाको रूपमा प्रयोग गर्दै, उहाँको कार्यको एउटा चरण पूरा गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्‍वरको वचनबाट, मैले उहाँको इच्‍छा बुझेँ। चीन कम्युनिस्ट पार्टीले शासन गरेको देश हो, र परमेश्‍वरलाई सबैभन्दा गम्‍भीर रूपमा विरोध गर्ने स्थान हो। चीनमा बसेर परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई सताइनेछ। तर परमेश्‍वरले हाम्रो विश्‍वासलाई सिद्ध तुल्याउन कम्युनिस्ट पार्टीलाई सेवाकर्ताको रूपमा प्रयोग गर्नुहुन्छ, र विजेताहरूको समूह बनाउनुहुन्छ। यो परमेश्‍वरको बुद्धि हो। मैले परमेश्‍वरमा विश्‍वास गरेको र सही मार्गमा हिँडेको कारण, मलाई कसरी पुलिसले पिरोलेको र निगरानी गरेको छ, र सहकर्मी र इष्टमित्रबाट अपमान सहनु परेको छ भन्‍ने कुरा सोच्दा, मलाई त धार्मिकताको निम्ति सताइएको हो भन्‍ने मैले महसुस गरेँ। यो बुझेपछि, म त्यति व्याकुल भइनँ, र मैले आफैसँग के प्रतिज्ञा गरेँ भने सरकारले मलाई सताउन जति नै कठिन प्रयास गरे पनि, म अन्त्यसम्‍मै परमेश्‍वरलाई पछ्याउनेछु।

त्यो बेला, मेरो श्रीमान अर्को प्रान्तमा व्यापारको क्रममा जानुभएको थियो। मेरो बारेमा चिन्ता मान्‍नुहुन्छ होला भनेर, मैले उहाँलाई कहिल्यै पनि यो कुरा बताइनँ। जनवरी २००५ मा, मेरो श्रीमान आफ्‍नो व्यापार यात्राबाट फर्केर आउनुभयो, र यसको बारेमा थाहा पाएपछि, उहाँ निकै आत्तिनुभयो। गम्‍भीर मुद्रामा उहाँले मलाई भन्‍नुभयो, “सरकारले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू राजनीतिक अपराधी हुन् र तिनीहरूलाई कुनै पनि बेला पक्रेर जेल हाल्‍न सकिन्छ भनेर भनेको छ, यदि चिनियाँ कम्युनिस्ट पार्टीले तिमीलाई पक्र्यो भने, तिनीहरूले तिमीलाई मरणासन्न हुने गरी कुट्‍नेछन्।” हाम्रो छोरा र उहाँको व्यापार दुवैलाई असर पुग्‍नेछ भनेर उहाँले भन्‍नुभयो, त्यसकारण उहाँले मलाई विश्‍वास गर्न छोड भनेर अनुरोध गर्नुभयो। मैले सोचेँ, “मेरो श्रीमानले प्रभुमा नामको मात्र विश्‍वास गर्नुहुन्छ। उहाँले वास्तवमा केही बुझ्‍नुभएको छैन। उहाँले केही चिन्ता गर्नु सामान्य कुरा नै हो। कम्युनिस्ट पार्टीले हामी विश्‍वासीहरूलाई सताउँछ, र हाम्रो परिवारको खेदो गर्छ। को डराउनेथिएन र?” मैले सोचेँ, उहाँ आफ्‍नो व्यापार यात्रामा हुनुभएकोले, मैले उहाँलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामको बारेमा प्रचार गर्ने मौका पाएकी थिइनँ। मैले यो समयलाई उहाँसँग सर्वशक्तिमान्‌ परमेश्‍वरका अझै धेरै वचनहरू पढ्न प्रयोग गर्नुपर्छ। मैले उहाँसँग धेरै सङ्गति गरेँ। उहाँले सुन्‍नु नै भएन। उहाँले अल्याङटल्याङ गर्दै भन्‍नुभयो, “हाम्रो जीवन राम्ररी चलिरहेको छ, त्यसकारण हामी प्रभु येशूको अनुग्रहमा आनन्द गरौँ। हामीले आखिरी दिनहरूको कामलाई स्वीकार गर्नु पर्दैन।” उहाँलाई म पक्राउ परेँ भने आफू मुछिने डर थियो, त्यसकारण उहाँले मलाई विश्‍वास गर्नबाट रोक्‍ने प्रयास गर्नुभयो। त्यसपछि, उहाँले मलाई निकै निगरानीमा राख्‍न थाल्‍नुभयो। काम सकेपछि म समयमा नै घर आइनँ भने, उहाँले मलाई म कहाँ छु भनेर सोध्‍न र घर आउनू भनेर भन्‍न फोन गर्नुहुन्थ्यो। असामान्य रूपमा, उहाँले आफ्‍ना साथीभाइलाई पनि भेट्न छाड्नुभयो। बरु, उहाँ मलाई निगरानी गर्न घरमा नै बस्‍नुहुन्थ्यो। म भेलाहरूमा जानु पर्‍यो भने, उहाँले मलाई जानी-जानी काम सघाउन अनुरोध गर्नुहुन्थ्यो। आधारभूत रूपमा, उहाँले मलाई मेरो कर्तव्यमा जान वा विश्‍वास गर्नबाट रोक्‍न सक्दो प्रयास गर्नुभयो। सुरुमा त, मलाई निकै दबाबमा परेको जस्तो लाग्यो, तर पनि, मलाई परमेश्‍वरको वचनको एउटा खण्ड याद आयो। परमेश्‍वर भन्नुहुन्छ, “तँभित्र मेरो साहस हुनुपर्छ, र विश्‍वास नगर्ने आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिप्रति समर्पित हुनु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि मेरो बुद्धिमा भर पर्; शैतानका कुनै पनि षड्यन्त्रलाई प्रभाव पार्न नदे(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ११)। परमेश्‍वरका वचनहरूमा मनन गरेपछि, मैले के बुझेँ भने, बाहिरी रूपमा, मेरो श्रीमानले मलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्‍ने प्रयास गरिरहनुभएको थियो, तर यसको पछाडि शैतानका चलाकीहरू थिए, र म शैतानको अघि झुक्‍नु हुँदैनथियो। पछि, मैले मेरो श्रीमानको निगरानीबाट बच्‍ने बहानाहरू खोजेँ, र गुप्तमा आफ्‍ना कर्तव्यहरू पूरा गर्थेँ। यसको साथै, मैले मेरो श्रीमानसँग कुराकानी गर्ने मौका पनि खोजिरहेँ, किनभने मलाई उहाँले सर्वशक्तिमान्‌ परमेश्‍वरको कामको बारेमा खोजी र अनुसन्धान गर्नुहुन्छ कि भन्‍ने आस लागेको थियो। तर मेरो श्रीमान बारम्बार यसबाट जोगिनुभयो, र पादरीहरू र कन्या कुमारीहरूले विश्‍वास गर्न थालेपछि मात्रै यसमा विश्‍वास गर्छु भनेर भन्‍नुहुन्थ्यो। मलाई पक्राउ परेर जेल जानबाट जोगाउनको लागि उहाँले मलाई भेलाहरूमा वा सुसमाचार प्रचार गर्न पनि नजानू भन्‍नुभयो। मेरो श्रीमानलाई सत्यता वा प्रभुको पुनरागमनलाई स्वागत गर्ने विषयमा कुनै चासो छैन भन्‍ने मलाई थाहा भयो, त्यसकारण मैले यसको बारेमा उहाँसँग कुरा गर्न छोडेँ। मैले सोचेँ, “जेसुकै भए पनि, मैले परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ। म उहाँद्वारा बन्धनमा पर्नु हुँदैन।”

विगतमा, उहाँ चिनियाँ नयाँ वर्षपछि व्यापार य यात्रामा जानुहुन्थ्यो, तर त्यस वर्ष उहाँ कतै पनि जानुभएन। एक दिन, उहाँले अचानक घुँडा टेकेर मलाई रुँदै बिन्ती गर्नुभयो। “तिमी प्रायजसो भेलाहरूमा र सुसमाचार प्रचार गर्न गइरहन्छौ। तिमी पक्राउ परेर जेल पर्‍यौ भने, भविष्यमा हामी कसरी जिउने? यो परिवार, र हाम्रो छोरालाई के हुनेछ? तिमीले हाम्रो परिवार, र हाम्रो छोराको भविष्यको बारेमा सोच्‍नुपर्छ …” मैले यतिका वर्षमा मेरो श्रीमान रोएको कहिल्यै देखेको थिइनँ। उहाँले घुँडा टेकेर मलाई बिन्ती गर्दै रोएको देख्दा मलाई निकै नरमाइलो लाग्यो, र म पनि रुन थालेछु। उहाँलाई सान्त्वना दिन, मैले भनेँ, “सबै कुरा परमेश्‍वरकै हातमा छ। म पक्राउ पर्छु कि पर्दिन, हाम्रो छोराको भविष्य के हुन्छ त्यो सबै कुरा परमेश्‍वरकै हातमा छ। हामीले यसको लागि परमेश्‍वरमा भरोसा गर्नुपर्छ। हामीले धेरै चिन्ता गर्नु हुँदैन।” अनि मेरो श्रीमानले शिर हल्‍लाउँदै भन्‍नुभयो, “पुलिसले तिमीलाई भेटिसकेको छ। यदि तिमीले यसरी नै विश्‍वास गरिरह्यौ भने, तिमी ढिलो-चाँडो पक्राउ पर्नेछौ, त्यसपछि सबै कुरा बरबाद हुनेछ।” मेरो श्रीमानलाई त्यस्तो वेदनामा देखेर, मलाई निकै दुःख र नरमाइलो लाग्यो। यो सबै कम्युनिस्ट पार्टीले गर्दा भएको थियो! हामी परमेश्‍वरमा विश्‍वास गर्छौँ र उहाँको मुक्तिलाई स्वीकार गर्ने बारेमा प्रचार गर्छौँ ताकि मानिसहरू विपत्तिमा बाँच्‍न सकून्। यो मानिसहरूलाई मुक्ति दिने काम हो, र यो जत्तिको योग्य कार्य अरू केही पनि छैन, तर कम्युनिस्ट पार्टीले हामीलाई पागलले झैँ बाधा दिने र अवरोध गर्ने प्रयास गर्छ। तिनीहरू परमेश्‍वरलाई विरोध गर्ने शैतान र भूतहरूको समूह बाहेक केही पनि होइनन्! परमेश्‍वरका वचनहरूले भन्छन्, “प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्। … परमेश्‍वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्‍वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? स्नेह कहाँ छ? परमेश्‍वरका मानिसहरूसित चलाकी गर्न किन छलपूर्ण युक्तिहरू प्रयोग गर्नु?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। बाहिरी रूपमा कम्युनिस्ट पार्टीले धार्मिक स्वतन्त्रताको वकालत गर्छ, तर तिनीहरू परमेश्‍वरका विश्‍वासीहरूलाई दमन र पक्राउ गर्न सक्रिय भएर लागिपर्छन्, र तिनीहरूले मानिसहरूलाई जबरजस्ती परमेश्‍वरलाई त्याग्‍न र धोका दिन लगाउन जागिर र परिवार समेत प्रयोग गर्छन्। यो अत्यन्तै घृणित कार्य हो! कम्युनिस्ट पार्टीले यस्तो नगरेको भए, मेरो श्रीमानले डरको कारण मलाई रोक्‍ने प्रयास गर्नुहुनेथिएन। कम्युनिस्ट पार्टीको दुष्ट हात जता-जता फैलिन्छ, त्यता-त्यता यसले विपत्ति ल्याउँछ। मेरो श्रीमान चिनियाँ कम्युनिस्ट पार्टीको पछि लाग्‍नुभएको थियो, र आफ्‍नो जागिर र हाम्रो परिवारलाई रक्षा गर्न उहाँले मलाई परमेश्‍वरमाथिको मेरो विश्‍वास त्याग्‍न लगाउन दबाब दिइरहनुभएको थियो। मैले उहाँको कुरा मान्‍न सक्दिनथिएँ।

त्यसपछि, मेरो श्रीमानले अनलाइनमा गएर सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई निन्दा गर्ने कम्युनिस्ट पार्टीको धेरै सामग्री पढ्नुभएछ, जसले गर्दा उहाँ आफ्‍नो व्यापार यात्रालाई पूर्ण रूपमा रोकेर मलाई निगरानी गर्न घरमा नै बस्‍न थाल्‍नुभयो। मैले कसलाई सम्पर्क गरेँ र कसलाई कल गरेँ भनेर पत्ता लगाउन उहाँले यताउता सोध्‍ने समे गर्न थाल्‍नुभयो। उहाँले मेरो छ महिनाको कल विवरण प्रिन्ट गरेर निकाल्‍नको लागि टेलिकम कम्पनीमा गएर, ती नम्‍बरहरूको बारेमा एक-एक गरी सोध्‍नुभयो। मलाई निगरानीमा राख्‍नको लागि, उहाँले मलाई हरेक दिन काममा लैजानुहुन्थ्यो र त्यहाँबाट लिएर आउनुहुन्थ्यो, र म जहाँ गए पनि उहाँले मलाई पछ्याउनुहुन्थ्यो। मलाई त कुनै स्वतन्त्रता नदिई बाँधिएकी छु जस्तो लाग्‍न थाल्यो। मैले मण्डली जीवन जिउन पाउँदिनथिएँ र आफ्‍नो कर्तव्य पूरा गर्न पाउँदिनथिएँ, जसले गर्दा मलाई अत्यन्तै दुःखित तुल्याएको थियो, त्यसकारण उहाँ लापरवाही हुनुभएको बेला, म मौका छोपेर प्रचार गर्न लुकेर जान्थेँ। मेरो श्रीमानले थाहा पाएपछि, उहाँले मलाई रिसाउँदै भन्‍नुहुन्थ्यो, “मैले तिमीलाई निगरानीमा राखेको बेला समेत उम्केर गई प्रचार गर्न सक्छौ भने, म साँच्‍चै तिमीलाई सहयोग गर्न सक्दिनँ। अहिले कम्युनिस्ट पार्टीकै शक्ति चल्छ, त्यसकारण तिमीले विश्‍वास गरिरह्यौ भने, तिमी पक्राउ पर्नेछौ। हाम्रो परिवार टुक्रिनेछ। त्यसकारण, हामी डिभोर्स गरौँ। तिमीले जेसुकै कुरामा विश्‍वास गरे पनि गर्न सक्छौ र त्यसले हाम्रो छोरा वा कसैलाई असर गर्नेछैन।” उहाँले डिभोर्स माग्‍नुहुँदा, मैले विश्‍वासै गर्न सकिनँ। मैले परमेश्‍वरमा विश्‍वास गर्ने बाहेक केही पनि गरेकी थिइनँ। कसरी डिभोर्स गर्ने अवस्थामा पुग्यो? के हामीले सँगै बिताएका यतिका वर्ष व्यर्थ भयो? कम्युनिस्ट पार्टीले मेरो सुखी परिवारलाई टुक्रा-टुक्रा पार्छ भन्‍ने बारेमा सोच्दा, म हैरान भएँ, र यो मैले स्वीकार गर्न नसक्‍ने तथ्य थियो। मैले परमेश्‍वरसँग यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्‍वर, बिन्ती छ मलाई विश्‍वास र सामर्थ्य दिनुहोस्, ताकि म यस परिस्थितिमा दह्रिलो गरी खडा हुन सकूँ।” प्रार्थना गर्दा, मलाई परमेश्‍वरको वचनको यो खण्ड याद आयो। “कामको यस चरणमा हामीबाट ठूलो विश्‍वास र प्रेमको आवश्यक हुन्छ। थोरै लापरवाहीको कारण हामीले ठक्कर खान सक्छौं, किनकि यस चरणको काम पहिलेका सबै चरणहरू भन्दा फरक छ: परमेश्‍वरले जे सिद्ध पार्दै हुनुहुन्छ त्यो मानवजातिको विश्‍वास हो, जुन अदृष्य र अमूर्त दुवै छ। परमेश्‍वरले जे गर्नुहुन्छ त्यो वचनहरूलाई विश्‍वासमा, प्रेममा र जीवनमा परिवर्तन गर्नु हो। मानिसहरू त्यो विन्दुमा पुग्नुपर्छ जहाँ तिनीहरूले सयौं शुद्धीकरणहरू सहन गरिसकेका हुन्छन् र तिनीहरूले अय्यूबको भन्दा ठूलो विश्‍वास धारण गरिसकेका हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई नछाडीकनै अविश्‍वसनीय कष्ट र हरप्रकारका यातना सहन गर्नुपर्छ। जब तिनीहरू मृत्युसम्मै आज्ञाकारी रहन्छन्, र तिनीहरूसँग परमेश्‍वरमाथिको ठूलो विश्‍वास हुन्छ, तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (८))। मैले परमेश्‍वरको वचन मनन गरेँ, त्यसपछि मैले आफ्‍नो आखिरी दिनहरूको काममा, परमेश्‍वरले मानिसहरूको विश्‍वासलाई सिद्ध पार्न आफ्‍नो वचन र विभिन्‍न परीक्षा र शोधनको प्रयोग गर्नुहुन्छ भन्‍ने कुरा बुझेँ। मलाई शैतानले अय्यूबलाई गरेको परीक्षाको बारेमा याद आयो। तिनले रातारात आफ्‍ना छोराछोरी र सम्पत्ति गुमाएका थिए, त्यसपछि नराम्रो खटिराले भरिए। ठूलो परीक्षाको बेला पनि, अय्यूबले परमेश्‍वरसँग कहिल्यै गुनासो गरेनन्; तिनले उहाँलाई प्रशंसा गरिरहे। तिनी दह्रिलो गरी खडा भए र आफ्‍नो परीक्षामा परमेश्‍वरको साक्षी दिए। त्यसपछि मैले आफ्‍नै बारेमा विचार गरेँ। मेरो परिवार सतावटको कारण तोडिन लागेको थियो, अनि म चाहिँ गुनासो गरिरहेकी थिएँ। मलाई मेरो कद सानो छ, र मसँग कुनै गवाही छैन भन्‍ने थाहा भयो। मैले त्यसको बारेमा विचार गर्दा, मलाई निकै ग्‍लानि भयो, त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र मेरो श्रीमानले मलाई डिभोर्स नै दिए पनि, म परमेश्‍वरमाथिको विश्‍वास त्याग्‍नेछैन भनेर प्रतिज्ञा गरेँ।

अनपेक्षित रूपमा, केही दिनपछि, मेरो श्रीमानले मलाई माफी मागेर आफ्‍नो गल्ती भएको भनी स्वीकार गर्नुभयो। उहाँले डिभोर्सको बारेमा उल्‍लेख गर्नु हुँदैनथियो, र उहाँ कम्युनिस्ट पार्टीद्वारा बाध्य हुनुभएको थियो भनेर भन्‍नुभयो। निकै समय बितेपछि, मेरो श्रीमानले मलाई अचानक भन्‍नुभयो, “यदि म तिमीलाई मनाउन सक्दिनँ भने, म पनि तिमीसँगै सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्छु।” म पनि त्यो बेला निकै चकित भएँ। मलाई उहाँले यसको बारेमा राम्ररी विचार गर्नुभएको छ भन्‍ने लागेको थियो, त्यसकारण हामी दुई जनाले सँगै घरमा परमेश्‍वरको वचन पढ्न थाल्यौँ। एक हप्तापछि, उहाँले मलाई भेलामा लैजान अनुरोध गर्नुभयो। उहाँको व्यवहार अलिक अनौठो लाग्यो, त्यसैले मैले सहमति जनाइनँ। उहाँले ममाथि आइलाग्दै यसो भन्‍नुहुँदा म छक्‍क परेँ, “तिमीले मलाई भेलामा लगेनौ भने, म विश्‍वास गर्दिनँ।” उहाँले मलाई मेरो मन परिवर्तन गर्न लगाउनको लागि यसो गर्नुभएको हो भनेर पनि भन्‍नुभयो। त्यसपछि मात्रै मलाई मेरो श्रीमानले परमेश्‍वरमा विश्‍वास गरेको बहाना गर्नुभएको रहेछ भन्‍ने थाहा भयो। उहाँले मलाई नियन्त्रण गर्नको लागि हामीले कहाँ हाम्रा भेलाहरू आयोजना गर्छौँ भनेर उहाँले पत्ता लगाउने प्रयास गरिरहनुभएको रहेछ। मेरो श्रीमानले त्यस्तो काम गर्नुहुन्छ भनेर मैले अपेक्षा गरेकी थिइनँ। त्यसपछि, हामी दुई जना अप्रत्यक्ष संघर्षमा थियौँ। एक पटक, म घरमा परमेश्‍वरको वचन पढिरहेकी थिएँ, तब मेरो श्रीमानले अचानक ढोकामा ढकढक्याउँदै भन्‍न थाल्‍नुभयो, “म अब यसरी जिउन सक्दिनँ। हामी दुई जना कसरी यस्तो अवस्थामा आइपुग्यौँ?” मैले ढोका खोलेँ, र उहाँ बौलाहा जस्तो मतिर दौडेर आउनुभयो, मेरो घाँटीमा पक्रेर मलाई चिच्याउँदै भन्‍नुभयो, “तँ किन सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न यति जिद्दी गर्छस्? के हाम्रो परिवार र छोरा तेरो लागि महत्त्वपूर्ण छैन? के यी कुरा तैँले विश्‍वास गर्ने परमेश्‍वरभन्दा पनि कम महत्त्वपूर्ण छन्?” मलाई यति नराम्ररी ङ्याकिएको थियो कि मैले सास फेर्नै सकिनँ, त्यसकारण मलाई बचाउनुहोस् भनेर व्याकुल हुँदै परमेश्‍वरलाई अनुरोध गरेँ। मैले संघर्ष गरेँ, र उहाँले मलाई छोडिदिनुभयो। त्यो बेला, मलाई निकै चोट पुगेको थियो, र निकै निराश भएकी थिएँ। पछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ। “पतिले उसको पत्‍नीलाई किन प्रेम गर्छ? पत्‍नीले उनको पतिलाई किन प्रेम गर्छिन्? छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठा हुन्छन्? किन बुबाआमाहरू आफ्ना छोराछोरीहरूप्रति स्नेही हुन्छन्? वास्तवमा मानिसहरूले कस्ता किसिमका अभिप्रायहरू मनमा राख्छन्? के उनीहरूको मनसाय उनीहरूका आफ्नै योजनाहरू र स्वार्थी चाहनाहरू तृप्‍त पार्नु होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्‍वरको वचन मनन गर्दा, मैले आफैसँग प्रश्‍न गरेँ, “के मेरो श्रीमानले मलाई साँच्‍चै प्रेम गर्छ?” मैले विवाह गरेपछि हामीले बिताएका ती सबै वर्षहरूको बारेमा सम्झेँ। मैले हाम्रो परिवारको लागि कति बलिदान गरेकी थिएँ भन्‍ने कुरा मेरो श्रीमानलाई राम्ररी थाहा थियो, र म सानै छँदादेखि मैले प्रभुलाई विश्‍वास गरेकी थिएँ र प्रभुको पुनरागमनको प्रतीक्षामा थिएँ भन्‍ने कुरा उहाँलाई थाहा थियो, तर मैले प्रभुमा विश्‍वास गरेपछि, उहाँले मलाई साथ नदिनुभएको मात्र होइन, तर कम्युनिस्ट पार्टीको पक्षमा उभिएर आफ्‍ना हितहरूलाई रक्षा गर्न मेरो विरोध गर्नुभयो, मलाई डिभोर्सको धम्की दिनुभयो, र मलाई निर्दयी पूर्वक घाँटीमा निचर्नु समेत भयो। हाम्रो बीचमा श्रीमान-श्रीमतीमा हुनुपर्ने न्यूनतम सम्‍मान पनि बाँकी थिएन। यसलाई कसरी साँचो प्रेम भन्‍न सकिन्थ्यो र? मेरो श्रीमानले प्रभु येशूमा विश्‍वास गर्नुभएको भए पनि, उहाँले अनुग्रह माग्‍ने माध्यमको रूपमा यसलाई लिनुभएको थियो भन्‍ने कुरा पनि मलाई याद आयो। उहाँले प्रभुको पुनरागमनको प्रतीक्षा गर्नु नै भएको थिएन। जब परमेश्‍वर सत्यता व्यक्त गर्न र मुक्तिको काम गर्न आखिरी दिनहरूमा आउनुभयो, तब कम्युनिस्ट पार्टी र शैतानको शासनद्वारा पक्राउ परिने डरले, उहाँले परमेश्‍वरको नयाँ कामलाई स्वीकार गर्नुभएन, र मलाई विश्‍वास गर्नबाट रोक्‍नको लागि कम्युनिस्ट पार्टीको पछि लाग्‍नुभयो। मैले मेरो श्रीमान परमेश्‍वरको साँचो विश्‍वासी पटक्‍कै हुनुहुन्‍न भन्‍ने थाहा पाएँ। उहाँ गैर-विश्‍वासी हुनुहुन्थ्यो। परमेश्‍वरका वचनहरूले भन्छ, “विश्‍वासी र अविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। मेरो श्रीमान र म एउटै मार्गमा थिएनौ, त्यसकारण मैले उहाँलाई मलाई दबाबमा राख्‍न दिन सक्दिनथिएँ।

त्यसपछि, मलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्‍नको लागि मेरो श्रीमानले धेरै पटक मलाई डिभोर्सको धम्की दिनुभयो। मैले साँच्‍चै मेरो परिवार गुमाउँछु होला भन्‍ने सोच्दा, मैले अझै पनि यस कुरालाई त्याग्‍न सकिनँ। त्यो बेला, मलाई अगुवाइ गर्नुहोस् भनी परमेश्‍वरलाई अनुरोध गर्न हरेक दिन परमेश्‍वरसँग प्रार्थना गर्थेँ। एक दिन, मैले परमेश्‍वरको वचनको एउटा खण्ड भेटेँ। “परमेश्‍वरको प्रेमलाई खोजी गर्ने एक सामान्य व्यक्तिको रूपमा, तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वको जीवन भनेकै परमेश्‍वरका मानिसहरूमध्ये एक बन्‍नको लागि राज्यमा प्रवेश गर्नु हो; तिमीहरू जत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्‍वरमा विश्‍वास नगर्नेहरू देहको लागि जिउँछन्, र तिनीहरू शैतानको लागि जिउँछन्, तर आज तिमीहरू परमेश्‍वरको लागि जिउँछौ, र परमेश्‍वरको इच्‍छालाई पूरा गर्नको लागि जिउँछौ। यही कारणले गर्दा नै तिमीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण छ भनेर म भन्छु। परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा महत्त्वको जीवन जिउन सक्छन्: पृथ्वीमा अरू कोही पनि त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैनन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ)। म सोच्थेँ सुखी परिवार हुनु, मेरा भौतिक खाँचोहरू पूरा गर्नु नै खुशीको अर्थ हो। त्यस्तो जीवन नै अर्थपूर्ण जीवन हो। तर अहिले मैले स्पष्ट रूपमा के देखेँ भने श्रीमान र श्रीमती बीचको प्रेम तिनीहरूका आ-आफ्‍ना हितहरूमा हानि भएको छैन भने मात्रै अस्तित्वमा रहन्छ। भनाइ नै छ, “विवाहित जोडी भनेका प्रेम-चरीहरू हुन्, कठिनाइले तिनीहरूलाई प्रहार गरेपछि तिनीहरू आ-आफ्‍नो बाटोतिर उडेर जान्छन्।” विगतमा, जब म मेरो परिवार र श्रीमानको लागि कठिन परिश्रम गर्थेँ, तब मेरो श्रीमानले मेरो राम्ररी हेरचाह गर्नुहुन्थ्यो, तर अहिले मैले परमेश्‍वरमा विश्‍वास गरेकी हुनाले, उहाँले उहाँका हितहरू खतरामा पारेका छन् भन्‍ने देख्‍नुभयो, त्यसकारण उहाँले मलाई सताउन थाल्‍नुभयो, र मबाट डिभोर्स चाहनुभयो। विवाह सम्‍बन्धको यो तथाकथित प्रेम त दम्पतीले एक-अर्कालाई प्रयोग गर्ने माध्यम मात्रै हो। त्यस्तो जीवनमा कस्तो खुशी प्राप्त हुन्छ र? मैले सोचेँ, उहाँले विगत केही महिनादेखि मलाई निगरानीमा राख्‍नुभएको थियो र मलाई भेलाहरू जानबाट रोक्‍नुभएको थियो, जसले गर्दा मैले मेरा ब्रदर-सिस्टरहरूसँग भेट गर्न पाइनँ, र घरमा बसेर परमेश्‍वरको वचन पढ्दा मेरो हृदयमा शान्ति छाउँदैनथियो। मैले उहाँबाट लुकेर सुसमाचार प्रचार गर्ने उपाय सोच्‍नु परेको थियो। मसँग कुनै स्वतन्त्रता थिएन, मानौँ मलाई अदृश्य डोरीले बाँधेर उकुसमुकुस बनाइएको छ। यदि यस्तै भइरहेको भए, मेरो जीवनमा कष्ट आउने मात्र होइन, मैले सत्यता र परमेश्‍वरको मुक्ति पाउने मौका पनि गुमाउनेथिएँ। यो कुरा सार्थक थिएन। यही बेला मात्रै मैले झन्-झन् स्पष्ट रूपमा के अनुभव गर्न थालेँ भने परिवार जीवनको वैवाहिक प्रेम साँचो सुख होइन। मैले सत्यताको खोजी गरेर अनि सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गरेर मात्रै अर्थपूर्ण जीवन जिउन सक्छु। मलाई प्रभु येशूका यी वचनहरू पनि याद आयो, “मलाईभन्दा बढी आफ्ना बुबा वा आमालाई प्रेम गर्ने मेरो लायक हुँदैन: अनि मलाईभन्दा बढी छोरा वा छोरीलाई माया गर्ने मेरो लायक हुँदैन। र आफ्नो क्रूस बोकेर मेरो पछि नलाग्‍ने, मेरो लायक हुँदैन(मत्ती १०:३७-३८)। मलाई विभिन्‍न युगका धेरै जना सन्तहरूका बारेमा, र तिनीहरूले कसरी परमेश्‍वरको आज्ञा पूरा गरे, आफ्‍नो घर त्यागेर समुद्रपारि गई सुसमाचार प्रचार गरे, कष्ट भोगे, र आफ्‍नो ज्यान समेत दिए, त्यसको बारेमा याद आयो। तिनीहरूको गवाहीले परमेश्‍वरको अनुमोदन प्राप्त गर्‍यो। म आखिरी दिनहरूमा जन्‍मनेछु भनेर परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको थियो र मलाई उहाँकहाँ आउन चुन्‍नुभएको थियो, ताकि मैले उहाँको मुक्ति प्राप्त गर्न सकूँ। यो निकै दुर्लभ अवसर हो, र परमेश्‍वरले मलाई दिनुभएको अनुग्रह र उत्थान हो। यदि मेरो श्रीमानका बाधाहरूको कारण मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सकिनँ भने, म परमेश्‍वरप्रति धेरै ऋणी हुनेथिएँ, र ममा कुनै विवेक हुनेथिएन! त्यो महसुस गरेपछि, मैले शपथ खाएर म पनि विगतका सन्तहरूले जस्तै गर्छु र सबै कुरा त्यागेर परमेश्‍वरलाई पछ्याउँछु, र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्छु भनी भनेँ।

एक दिन राती म भेला सकेर घर आएँ, ढोका खोलेर हेर्दा मानिसहरूले मलाई पर्खिरहेको देखेँ। मेरा सहकर्मीहरू र मेरो श्रीमानका साथी र आफन्तहरू आएका रहेछन्, र जब तिनीहरूले मलाई देखे, तब तिनीहरू सबैले मलाई परमेश्‍वरमा विश्‍वास गर्न छोड भनी बिन्ती गरे। कतिले यसो भने: “हामीले टिभीमा देखेको, कम्युनिस्ट पार्टीले धेरै जना विश्‍वासीहरूलाई पक्राउ गरेको छ, तिनीहरूलाई दश वर्षको लागि जेल हालिएको छ।” अरूले भने: “सर्वशक्तिमान्‌ परमेश्‍वरका विश्‍वासीहरूलाई जेलमा मात्रै हालिँदैन, तर कतिलाई पक्राउ गरिएपछि, हिरासतमा नै अङ्गभङ्ग गरिने वा मारिने रहेछ, र तिनीहरूको परिवारले पनि कष्ट भोग्‍नुपर्ने रहेछ।” कतिले त मण्डलीलाई निन्दा गर्ने कम्युनिस्ट पार्टीका भ्रम र अफवाहहरू पनि भने, र परमेश्‍वरका विश्‍वासीहरूले आफ्‍नो परिवार त्याग्छन् भनी भने। यो सबै सुन्दा मलाई निकै रिस उठ्यो। चिनियाँ कम्युनिस्ट पार्टीले सतावट नगरेको भए, मेरो परिवार र इष्टमित्रले मेरो विरोध गर्नेथिएनन्। कम्युनिस्ट पार्टीले सत्य कुरालाई बङ्ग्याउँछ र अफवाहहरू फैलाउँछ ताकि तथ्यहरू थाहा नभएका मानिसहरूले परमेश्‍वरलाई त्यससँगै मिलेर विरोध गरून् र परमेश्‍वरद्वारा दोषी ठहरिऊन्, अनि अन्त्यमा त्यससँगै नष्ट होऊन्। यो दुष्टता बाहेक केही पनि होइन! त्यो कुरालाई ध्यानमा राख्दै, मैले तिनीहरूको खण्डन गरेँ, “यदि तपाईंहरूले परमेश्‍वरमाथिको विश्‍वासको बारेमा बुझ्‍नुभएको छैन भने, यसको बारेमा कुरा नगर्नुहोस्। यी खतराहरूको बाबजुत पनि म किन परमेश्‍वरमा विश्‍वास गर्ने जोड दिन्छु, तपाईंहरूलाई थाहा छ? किनभने मुक्तिदाता आइसक्‍नुभएको छ र हामीलाई बरबादीबाट उम्‍कन शैतानको प्रभावबाट मुक्त गर्न सहयोग गर्नको लागि हाम्रो बीचमा सत्यता व्यक्त गर्नुभएको छ। यो अत्यन्तै दुर्लभ मौका हो! कम्युनिस्ट पार्टीले मानिसहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न दिँदैन, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई पागलले झैँ दमन गर्छ र सताउँछ, धेरैलाई पक्राउ गरेर जेल हाल्छ। धेरै जना मानिसहरू घर फर्किन सकेका छैनन्, धेरैलाई अङ्गभङ्ग गरिएको छ र कुटेर मारिएको छ, र धेरै इसाईहरूको परिवार टुक्रिएको छ। के त्यो सबै कम्युनिस्ट पार्टीले गरेको होइन र? कम्युनिस्ट पार्टीले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई सताउन, तिनीहरूको परिवारलाई टुक्र्याउँछ, तर तिनीहरूले उल्टै परमेश्‍वरका विश्‍वासीहरूले आफ्‍नो परिवार छोड्छन् भनेर भनिरहेका छन्। के त्यो गलतलाई सही हो भनी भन्‍नु होइन र? तपाईंहरू अन्धाधुन्ध चिनियाँ कम्युनिस्ट पार्टीलाई पछ्याउनुहुन्छ, र मलाई विश्‍वास गर्नबाट रोक्‍ने प्रयास गर्नुहुन्छ। के तपाईंहरूले सहीलाई गलतबाट छुट्याउन सक्‍नुहुन्‍न? परमेश्‍वरमा विश्‍वास गर्ने मार्ग मैले आफै चुनेकी हुँ। म जेल नै जानु परे पनि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्ने प्रण गरेकी छु।” तिनीहरूले मलाई मनाउन सक्दैनन् भन्‍ने देखेपछि, तिनीहरू सबैले मलाई त्यतिकै छोडिदिने निर्णय गरेँ। मेरो श्रीमानले मलाई विवश हुँदै भन्‍नुभयो, “तिमीलाई कसैले परिवर्तन गर्न सक्दैन रहेछ, त्यसैले हामी डिभोर्स गरौँ। तिमी सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्छौ, र सरकारले तिमीहरू जस्तो मानिसहरूलाई कारबाही गर्छ। त्यस्तो भयो भने, तिमीले आफ्‍नो जागिरलाई बचाउन सक्दैनौ, र सायद तिम्रो जीवन पनि खतरामा हुन्छ। तर हामी त हाम्रो ज्यान जोगाउन चाहन्छौँ, त्यसकारण अरू कुनै विकल्‍प छैन जस्तो लाग्यो। कम्युनिस्ट पार्टीले मानिसहरूलाई अप्ठ्यारो परिस्थितिमा पुर्‍याउँदो रहेछ।” यो सुन्दा मलाई अलिक दुःख लाग्यो, तर अब निर्णय गर्ने समय भएको हो भन्‍ने कुरा मलाई स्पष्ट रूपमा थाहा भयो। मैले परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता र जीवन प्राप्त गर्ने निर्णय गरेँ, र मेरो श्रीमानले आफ्‍नो जागिर र भविष्यको रक्षा गर्न कम्युनिस्ट पार्टीको पछि लाग्‍ने निर्णय गर्नुभयो। हामी आ-आफ्‍नो बाटोमा लाग्‍नु पर्ने भयो। त्यो बेला मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, “हे परमेश्‍वर, म जस्तोसुकै परिस्थितिबाट भएर जानुपरे पनि, म तपाईंलाई अन्त्यसम्‍मै पछ्याउनेछु।”

भोलिपल्‍ट बिहानै, मेरो श्रीमान र म डिभोर्स प्रक्रिया पूरा गर्न नागरिक मामला ब्यूरोमा गयौँ, र बाह्र वर्षको वैवाहिक जीवन समाप्त गर्‍यौँ। त्यहाँदेखि, मैले मेरो मण्डलीका कर्तव्यहरूलाई सामान्य रूपमा पूरा गर्न सकेकी छु, र मलाई निकै शान्तिको महसुस हुन्छ। मलाई लाग्छ अर्थपूर्ण जीवन जिउने एउटै तरिका भनेको सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

घरायसी युद्धको दृश्य पछाडि

२०१० को प्रारम्‍भतिर, कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको बारेमा फैलाएका अफवाह र नकारात्मक प्रचारबाजी मेरी श्रीमतीले...

मेरो विगतको बदनामी

सन् २०१५ को अगस्टमा, म र मेरो परिवार सिन्जियाङ सर्‍यौँ। कम्युनिस्ट पार्टीले निकै कडा निगरानी र नियन्त्रण कारबाही चलाइरहेको छ, र यो...

आफ्नो विश्‍वासमा म सच्चा थिइनँ

मेरो परिवार निकै गरिब थियो, म ब्याङ्कको कार्यकारी बन्ने, समाजमा हैसियत बनाउने सपना देख्थेँ, ताकि हामीलाई यति साह्रो पैसाको खाँचो नहोस्।...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्