के आशिष्‌को पछि लाग्‍नु परमेश्‍वरको इच्‍छाअनुरूप हुन्छ?

25 फेब्रुअरी 2023

२०१८ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम ग्रहण गर्ने सौभाग्य पाएँ। मैले प्रभुको आगमनलाई स्वागत गर्न पाएकोमा म अत्यन्तै उत्साहित थिएँ। चाँडै नै, मैले सुसमाचार कसरी सुनाउने भनेर सिक्‍न थालेँ, तर म प्रायजसो दिउँसो काम गर्थेँ र राती थकित भएर आउनुपर्ने हुनाले, आफ्‍नो कर्तव्यमा ध्यान दिन निकै कठिन हुन्थ्यो। मलाई आफ्‍नो जागिर छोडेर सुसमाचार पूर्ण समय सुनाउन मन लाग्थ्यो, तर मेरो व्यावहारिक परिस्‍थितिले गर्दा यसो गर्न सक्दिनथिएँ। मैले पाँच जना बच्‍चाहरू हुर्काइरहेको थिएँ, र तिनीहरूलाई स्कूल पठाइनँ भने, सरकारले मलाई तिनीहरूको हेरचाह गर्ने उचित व्यक्ति होइन भनी ठानेर, तिनीहरूलाई मबाट खोसेर लैजानेथिए। मेरो जीवनमा धेरै तनाव थियो, तर कठिनाइहरू जति नै ठूलो भए पनि, मैले सृष्टि गरिएको प्राणीको रूपमा, आफ्‍नो कर्तव्य पूरा गर्नु नै पर्छ भन्‍ने मलाई थाहा थियो।

२०१९ मा, म मण्डली अगुवा बनेँ र मेरा दिनहरू झनै व्यस्त भए। मैले मेरो काम गर्ने दिन घटाएर हप्ताको छ दिनको सट्टा चार दिन गर्ने निर्णय गरेँ। मलाई के लागेको थियो भने, परमेश्‍वरले सायद मेरा त्यागहरूका निम्ति आशिष दिनुहुनेछ। मेरो कामको घण्टा घटेको कारण व्यापार त्यति राम्रो भइरहेको थिएन, तर पनि यसले मेरो जीवनमा त्यति असर गरेको थिएन, किनभने सबै कुरा सुचारु चलिरहेको थियो, र हामीलाई स्वास्थ्य समस्या थिएन वा हामीले कुनै समस्या झेल्‍नुपरेको थिएन। मैले परमेश्‍वरका लागि उत्साहका साथ मेहनत गरेकोमा पाउनुपर्ने कुरा पाइरहेको हुनाले मेरो जीवनमा सबै शान्तिपूर्ण छ भन्‍ने मलाई लागेको थियो। आफ्‍नो कर्तव्य पूरा गर्न अझै धेरै समय पाएकोमा म निकै खुसी थिएँ। तर २०२१ मा महामारी आएपछि, सबै कुरा परिवर्तन भयो।

महामारीको कारण हेयर सलुनको आम्दानी स्वात्तै घट्यो। व्यापारको पैसाले भाडा तिर्न पनि पुग्दैनथियो। त्यसकारण, सस्तो सटर भाडामा लिनेबाहेक मसँग अरू केही विकल्‍प थिएन, तर त्यसलाई केही मर्मत गर्नुपर्थ्यो। मैले त्यसको लागि निर्माण क्षेत्रमा काम गर्ने व्यक्ति खोजेँ, तर केही हप्तापछि तिनले मेरो यस काममा धेरै समय लाग्छ, गर्नुपर्ने कामहरू धेरै छन् र पुग्दो मिस्त्री छैनन्, त्यसकारण तिनले मसँग काम गर्न छोड्नुपर्ने भो भनेर मलाई भने। के भइरहेको छ भन्‍ने कुरा मेरा छिमेकी र ग्राहकहरूले थाहा पाए र नयाँ ठाउँमा काम सकेको छैन भने, मैले एकैपटक दुई ठाउँको भाडा तिर्नुपर्छ भनेर भने, जुन निकै महँगो पर्नेथियो, अनि विश्‍वासी भएर पनि मलाई कसरी त्यस्तो अवस्था आइपर्‍यो? सुरुमा त मैले तिनीहरूलाई पूर्ण विश्‍वस्त हुँदै सबै कुरा परमेश्‍वरका नियम र बन्दोबस्तहरूमा निर्भर हुन्छन्, र मैले गुनासो गर्नु हुँदैन भनेर भनेँ। त्यसपछि मैले अर्को निर्माण समूहमा काम गर्ने व्यक्तिलाई भेट्टाएँ, तर स्वास्थ्य समस्याको कारण तिनले पनि मेरो काम छोडे। समय कति छिटो बित्यो र पसल मर्मतको काम अझै भएन। लगातार तीन महिनासम्‍म, मैले दुईवटै पसलको भाडा तिर्नुपर्‍यो। त्यसको चाँडैपछि, नयाँ पसलमा एउटा पाइप चुहिन थाल्यो र चुहावट पत्ता लगाउन सिलिङ भत्काउनुपर्‍यो। पसलको अगाडिको भाग मर्मत गर्न नै मलाई ३,००० पाउन्ड लागिसकेको थियो। म निकै खिन्‍न भएँ र म अन्योलमा पनि परेँ। किन मलाई यस्तो आइपर्छ—किन मैले यति धेरै पैसा खर्च गर्नुपरेको? मैले त यतिञ्‍जेलसम्‍म परमेश्‍वरले मलाई राम्रो मिस्त्री खोज्‍न सहयोग गर्नुहुन्छ भनेर सोचेको थिएँ। तर अचम्‍मको कुरा, ती व्यक्तिले हिटर जोड्दा-जोड्दै काम नसकी छोडेर गए, र पाइप चुहिन थाल्यो र तिनले आधा सकाएको हिटर जोड्ने काम बरबाद भयो। त्यो बेला मलाई कोरोना भाइरस पनि लाग्यो। मैले गुनासो गर्न थालेँ: परमेश्‍वरले किन मेरो जीवनमा यस्तो कुरा हुन दिइरहनुभएको छ? मैले मण्डलीमा आफ्‍नो कर्तव्य पूरा गरिरहेको छु र त्यसको लागि मैले आफ्‍नो काम गर्ने समय र आम्दानी घटाएको छु, र पनि किन मैले यति धेरै कठिनाइ सामना गर्नुपरेको? मेरो हृदय गुनासोले भरियो।

त्यहाँदेखि मैले आफ्‍नो कर्तव्यप्रति त्यति निष्ठापूर्ण मनोवृत्ति राख्‍न छोडेँ। मैले अझै पनि आफ्‍नो कर्तव्य पूरा गरिरहेको थिएँ, तर मेरो हृदय यसमा पटक्‍कै थिएन। म मेरो पसलका समस्या कसरी समाधान गर्ने भन्‍ने कुरामा नै पुरै तल्‍लीन थिएँ। यसले गर्दा म साँच्‍चै दुविधामा परेँ, र परिणामस्वरूप म भेलाहरूमा त्यति ध्यान दिँदिनथिएँ। भेलापछि म सधैँ सारांश प्रस्तुत गर्थेँ, तर मलाई त्यसो गर्न मन लाग्दैनथियो। अरूसँग सङ्गति गर्न र समस्या समाधानमा सहयोग गर्न म आफ्नो सुत्‍ने केही समय त्याग्‍न पनि सक्थेँ, तर अहिले तिनीहरूले मलाई समस्याबारे सहयोग माग्दा फोन उठाउन मन लाग्दैनथियो। म ब्रदर-सिस्टरहरू राम्रो स्थितिमा छन् कि छैनन् भनेर पत्ता लगाउन जाने गर्थेँ, अनि तिनीहरूलाई आफ्‍नो कर्तव्यमा कठिनाइ भइरहेको छ भने, म तिनीहरूलाई आइपरेका जुनसुकै कठिनाइहरूको आधारमा परमेश्‍वरका वचनमा सङ्गति गर्थेँ, तर मलाई अब त्यस्तो कुनै काम गर्न मन लाग्दैनथियो। म आफ्‍नो कर्तव्यमा झन्-झन् लापरवाह बन्दै गएँ। एक दिन, माथिल्‍लो तहका अगुवाले मलाई मैले आफ्‍ना जिम्‍मेवारी उठाउनुपर्छ, र मण्डलीका सबै नयाँ सदस्यका निम्ति भेलाहरू आयोजना गरेर तिनीहरूलाई उचित तरिकाले मलजल गर्नुपर्छ, एक जनालाई पनि बेवास्ता गर्नु हुँदैन भनेर भने। मलाई उनको यो बन्दोबस्त एकदमै मन परेन। त्यसरी काम गर्दा त मसँग घरका कामकुरा सम्‍हाल्‍ने पर्याप्त समय हुनेथिएन। म खाली समय आफ्नो परिवार र साथीहरूसँग बिताउन, देहसुखमा झन् लिप्त हुन चाहन्थेँ। म झन्-झनै खराब स्थितिमा डुब्दै गएँ र भक्तिको समय बिताउन, परमेश्‍वरका वचनहरू पढ्नसमेत चाहन्‍नथिएँ। पहिले म परमेश्‍वरका वचनहरू पढ्न चाँडै उठ्थेँ र दिउँसो ती वचनका वाचन सुन्थेँ, तर अहिले मलाई बिहान उठ्न वा परमेश्‍वरका वचनहरू पढ्न मन लाग्दैनथियो, किनभने मैले आफ्नो प्रयासको सट्टामा आशिष पाएको थिइनँ, र मलाई धेरै बाधा आइपरेको थियो। भेलाहरूमा मैले के सङ्गति गर्ने मलाई थाहा हुँदैनथियो। सबै कुरा ठिकठाक छ भनेर बहाना गर्थेँ, त्यसरी कम्तीमा पनि मैले मण्डलीमा आफ्‍नो पद कायम राख्‍न सक्थेँ। म आफ्‍नो कर्तव्यमा कुटिल पनि हुन थालेँ। कामकुरा कस्तो चल्दैछ भनेर कसैले सोध्दा, मैले गर्दै नगरेको काम पूरा गरेको छु भनेर भन्थेँ, र यसरी ब्रदर-सिस्टरहरूलाई छल गर्थेँ। परमेश्‍वरले मलाई आशिष नदिनुभएको र मलाई यी कठिनाइहरू भोग्‍न दिनुभएकै कारण मेरो मनोवृत्ति त्यस्तो भएको थियो। मैले परमेश्‍वरप्रति आदर देखाइरहेको थिइनँ, उहाँको आराधना गर्ने त परै जाओस्।

म खराब स्थितिमा थिएँ, त्यसकारण मलाई के भइरहेको छ भनेर अगुवालाई बताएँ। उनले मलाई परमेश्‍वरका वचनहरूको यो खण्ड पढ्न लगाइन्: “जाँचहरूबाट भएर जाँदा मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु वा परमेश्‍वरको इच्छा वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु सामान्य कुरा हो। तर कुनै पनि अवस्थामा परमेश्‍वरको कामप्रति तँमा विश्‍वास हुनुपर्छ, अनि जसरी अय्यूबले परमेश्‍वरलाई इन्कार गरेनन्, तैँले पनि त्यसो गर्नु हुँदैन। अय्यूब कमजोर थिए र तिनले आफू जन्मेको दिनलाई धिक्कारे पनि, तिनले मानव जीवनमा सबै थोकहरू यहोवाले नै दिनुहुन्छ र उहाँले नै सबै थोक लैजानुहुन्छ भन्‍ने कुरालाई इन्कार गरेनन्। तिनलाई जसरी जाँचिएको भए पनि तिनले यो विश्‍वास थामेर राखे। तेरो अनुभवमा तँ परमेश्‍वरको वचनद्वारा जस्तै शोधनबाट भएर जानु परे पनि, संक्षेपमा, परमेश्‍वरले मानव जातिबाट चाहनुभएको कुरा भनेको तिनीहरूका विश्‍वास र उहाँको निम्ति तिनीहरूको प्रेम नै हो। यस्तो प्रकारले काम गरेर उहाँले मानिसहरूको विश्‍वास, प्रेम र आकांक्षाहरूलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वरले मानिसहरूमा सिद्ध पार्ने काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो अनुभव गर्न सक्दैनन्; त्यस्तो परिस्थितिहरूमा, तेरो विश्‍वासको आवश्यकता हुन्छ। मानिसहरूको विश्‍वास त्यत्ति बेला चाहिन्छ जब कुनै कुरा मानिसको नाङ्गो आँखाले देख्न सकिँदैन, तेरो विश्‍वास त्यसबेला चाहिन्छ, जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्। जब परमेश्‍वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले विश्‍वास गर्नुपर्छ र तैँले दह्रो धारणा लिएर र साक्षी बनेर खडा हुनुपर्छ भन्‍ने हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। परमेश्‍वरका वचनहरू पढेपछि मैले के देखेँ भने मैले सामना गरिरहेको कुरामा परमेश्‍वरको अभिप्रायबारे केही पनि बुझेको रहेनछु। म आशाहीन र उदास भएँ, र मैले परमेश्‍वरको सार्वभौमिकताबारे शङ्कासमेत गरेँ। तर मैले परमेश्‍वरको भक्त हुँ भनेर बारम्‍बार दाबी गरिरहेँ। मेरो व्यापार राम्ररी चलिरहेको बेला र स्वास्थ्य राम्रो हुँदा, मलाई परमेश्‍वरले प्रशस्त आशिष दिनुभएको छ र म आफूलाई अझै बढी उहाँमा समर्पित गर्न सक्छु भन्‍ने लागेको थियो। जब मलाई गाह्रा स्थिति आइपरे, जब जीवनमा कठिनाइहरू आए, तब मैले परमेश्‍वरलाई दोष दिन थालेँ। त्यो कसरी विश्‍वास गरेको भयो र? अय्यूबले आफ्‍नो परिवारका सबै सम्पत्ति र आफ्‍ना सबै छोराछोरी गुमाउँदा, परमेश्‍वरलाई दोष दिएनन्, तर परमेश्‍वरको नाउँको प्रशंसासमेत गरे। तिनकी श्रीमतीले तिनको विश्‍वास ढलपल पार्न खोज्दा, तिनले उनलाई मूर्ख स्‍त्री भन्दै निन्दा गरेर यसो भने, “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०)। अय्यूबले परमेश्‍वरमाथिको विश्‍वासमा लेनदेन वा माग गर्ने गर्दैनथिए। तिनी आशिष प्राप्त गरे पनि वा विपत्ति भोग्‍नुपरे पनि, परमेश्‍वरमा नै समर्पित हुन्थे। अय्यूबले परमेश्‍वरमा सच्‍चा विश्‍वास गरेका थिए। म कुनै पनि हालतमा तिनको दाँजोमा पुग्‍न सक्दिनँ भन्‍ने मलाई महसुस भयो। आफ्नो जीवनमा एकपछि अर्को कठिनाइ आएको देखेपछि, म असन्तुष्ट भएँ। मैले चिनेका मानिसहरूले म विश्‍वासी भएर पनि किन मलाई यस्ता कुरा भइरहेका छन् भनेर सोध्थे, र सबै कुरा ठिकठाक छ भनेर मैले दाबी गरे पनि, म हृदयमा ढलपलिन र परमेश्‍वरको शासनमाथि शङ्का गर्न थालेँ। अय्यूबको अनुभवबाट, मैले के चाल पाएँ भने, शैतानले अरू मानिसहरूको मुखबाट मलाई आक्रमण गरिरहेको छ, र मलाई परमेश्‍वरलाई इन्कार गर्न र दोष दिन लगाउने प्रयास गरिरहेको छ। म त्यस अनुभवमा गवाहीविहीन थिएँ—म शैतानको हाँसोको पात्र बनेँ। आफूले गरेको व्यवहारप्रति मलाई असाध्यै लाज र पछुतो भयो।

पछि मैले परमेश्‍वरका वचनहरूका थप केही खण्ड पढेँ। “मानिसहरूले जीवन अनुभवहरू गर्ने क्रममा प्रायजसो मनमनै सोच्ने गर्छन्: ‘मैले परमेश्‍वरका लागि आफ्नो परिवार र जागिर छोडेको छु, तर उहाँले चाहिँ मलाई के दिनुभएको छ र? मैले यसमा थप्‍नुपर्छ, र यसलाई पुष्टि गर्नुपर्छ—के मैले हालसालै कुनै आशिष्‌ पाएको छु र? यस समयमा मैले धेरै थोक दिएको छु, धेरै दौडधूप गरेको छु, र धेरै दुःख भोगेको छु—के त्यसको सट्टामा परमेश्‍वरले मेरो लागि कुनै प्रतिज्ञा गर्नुभएको छ? के उहाँले मेरा असल कामहरू याद गर्नुभएको छ? मेरो अन्त्य कस्तो हुनेछ? के म परमेश्‍वरको आशिष् पाउन सक्छु? …’ प्रत्येक व्यक्तिले निरन्तर आफ्नो हृदयभित्र यस्तो हिसाबकिताब गर्ने गर्छ, र तिनीहरूले आफ्‍ना अभिप्राय, महत्त्वाकाङ्क्षा र लेनदेनको मानसिकताले भरिएका मागहरू परमेश्‍वरसँग गर्छन्। भन्‍नुको अर्थ, मानिसले आफ्नो हृदयमा निरन्तर परमेश्‍वरको जाँच गरिरहेको हुन्छ, परमेश्‍वरबारे निरन्तर योजनाहरू बनाइरहेको हुन्छ, उसको आफ्नै व्यक्तिगत उद्देश्यका लागि निरन्तर परमेश्‍वरसँग तर्क गरिरहेको हुन्छ, र उसले चाहेको कुरा परमेश्‍वरले दिन सक्‍नुहुन्छ कि सक्‍नुहुन्‍न भनी हेर्नलाई परमेश्‍वरबाट अभिव्यक्ति निकाल्ने कोसिस गरिरहेको हुन्छ। परमेश्‍वरको पछि लाग्‍ने क्रममा, मानिसले परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गर्दैन। मानिसले जहिले पनि उहाँसँग सौदाबाजी गर्ने कोसिस गरेको छ, निरन्तर उहाँसँग मागहरू गरेको छ, र उसलाई औँलो दिँदा डुँडुलो निल्‍ने कोसिस गर्दै हरेक पाइलामा उहाँलाई दबाब दिएको छ। मानिसले परमेश्‍वरसँग सौदाबाजी गर्ने क्रममा उहाँसँग तर्क पनि गर्ने गर्छ, र कति मानिसहरू त यस्ता पनि छन्, जो आफूमाथि परीक्षाहरू आइलाग्दा वा आफूले कुनै विशेष परिस्थितिको सामना गर्नुपर्दा, आफ्नो काममा कमजोर, निष्क्रिय र सुस्त हुन्छन्, र परमेश्‍वरबारे गुनासैगुनासो गर्छन्। मानिसले पहिलोपटक परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयदेखि नै उसले परमेश्‍वरलाई प्रशस्तताको स्रोत, र हर समस्याको समाधान ठानेको छ र उसले आफूलाई परमेश्‍वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौं परमेश्‍वरबाट आशिष्‌ र प्रतिज्ञाहरू प्राप्त गर्न खोज्नु उसको जन्मजात अधिकार र कर्तव्य हो, र परमेश्‍वरको जिम्मेवारीचाहिँ मानिसको सुरक्षा र वास्ता गर्नु अनि उसको निम्ति प्रबन्ध गरिदिनु हो। ‘परमेश्‍वरमाथिको विश्‍वास’ बारे उहाँमा विश्‍वास गर्नेहरू सबैको आधारभूत बुझाइ यही हो, र यही नै परमेश्‍वरमाथिको विश्‍वासको अवधारणाबारे तिनीहरूको सबैभन्दा गहन बुझाइ पनि हो। मानिसको प्रकृति र सारदेखि उसको व्यक्तिपरक खोजसम्म, कुनै कुरा पनि परमेश्‍वरको भयसँग सम्बन्धित छैन। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसको उद्देश्य र उसले गर्ने परमेश्‍वरको आराधनाको बीचमा सम्भवतः कुनै सम्बन्ध छैन। भन्‍नुको अर्थ, परमेश्‍वरमा विश्‍वास गर्दा उहाँको भय मान्‍नु र आराधना गर्नु पनि आवश्यक छ भन्‍ने कुरा मानिसले न त कहिल्यै विचार गरेको न त बुझेको नै छ। यस्ता अवस्थाहरूलाई विचार गर्दा, मानिसको सार स्पष्ट हुन्छ। यो सार के हो त? यो यही हो कि मानिसको हृदय द्वेषपूर्ण छ, यसभित्र धोखा र छल हुन्छ, यसले निष्पक्षता र धार्मिकता र जे सकारात्मक छ त्यो मन पराउँदैन, र यो घृणित र लोभी हुन्‍छ। मानिसको हृदय परमेश्‍वरको निम्ति योभन्दा बढी बन्द हुन सक्दैन; उसले त्यो हृदय परमेश्‍वरलाई पटक्‍कै दिएको छैन। परमेश्‍वरले मानिसको साँचो हृदय कहिल्यै देख्‍नुभएको छैन, न त कहिल्यै मानिसद्वारा उहाँको आराधना नै भएको छ। परमेश्‍वरले जति नै ठूलो मोल तिर्नुभए पनि वा जति नै धेरै काम गर्नुभए पनि, वा मानिसका निम्ति जति नै धेरै प्रबन्ध गर्नु भए पनि, मानिस अन्धो नै रहन्छ र ती सबैप्रति पूर्ण रूपमा उदासीन भइदिन्छ। मानिसले आफ्नो हृदय परमेश्‍वरलाई कहिल्यै दिएको छैन, उसले केवल आफ्नै लागि आफ्नो हृदयलाई ध्यान दिन, र आफ्नै निर्णयहरू गर्न चाहन्छ—यसको अर्थ के हो भने, मानिसले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने बाटो पछ्याउन वा परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू पालन गर्न चाहँदैन, न त उसले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा आराधना गर्न नै चाहन्छ। आज मानिसको स्थिति यस्तै छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। “तिनीहरूलाई जसरी जाँचिए तापनि, आफ्‍नो हृदयमा परमेश्‍वर भएकाहरूको निष्ठा अपरिवर्तित नै रहन्छ; तर आफ्‍नो हृदयमा परमेश्‍वर नभएकाहरूका लागि, जब परमेश्‍वरको काम तिनीहरूको देहको लागि लाभदायक हुँदैन, तब तिनीहरूले परमेश्‍वरप्रतिको आफ्‍नो दृष्टिकोणलाई परिवर्तन गर्छन् र तिनीहरू परमेश्‍वरबाट अलगसमेत हुन्छन्। त्यस्ताहरू आखिरमा दह्रिलो गरी खडा हुनेछैनन्, तिनीहरूले परमेश्‍वरका आशिषहरूको मात्रै खोजी गर्छन् र तिनीहरूमा परमेश्‍वरको लागि आफैलाई खर्चिने र उहाँमा आफैलाई समर्पित गर्ने कुनै इच्‍छा हुँदैन। परमेश्‍वरको काम समाप्तिमा पुगेपछि त्यस्ता नीच मानिसहरूलाई निकालिनेछ र तिनीहरू कुनै पनि सहानुभूतिको योग्य छैनन्। मानवताविहीनहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न असमर्थ हुन्छन्। जब वातावरण सुरक्षित र भयरहित हुन्छ वा जब फाइदाहरू प्राप्त गर्न सकिन्छ, तिनीहरू पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन्छन्, तर जब तिनीहरूले इच्‍छा गरेको कुरामा सम्झौता हुन्छ वा आखिरमा इन्कार गरिन्छ, तिनीहरूले तुरुन्तै विद्रोह गरिहाल्छन्। एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने, ‘दयालु’ व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्, अनि हिजोको आफ्‍नो हितकारी व्यक्तिलाई कुनै पनि शब्‍द वा कारणविना नै आफ्‍नो मरणशील शत्रुको रूपमा व्यवहार गर्छन्। यदि यी भूत आत्‍माहरू, आँखाको झिम्क्याइमै मार्ने यी भूतात्माहरूलाई निकालिएन भने, के तिनीहरू अदृश्य खतरा बन्‍नेछैनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास)। परमेश्‍वरका वचनहरूले मेरो हृदयभित्र लुकेको कुरा देखाइदिए। मैले परमेश्‍वरमा समर्पित हुन र उहाँको आराधना गर्न होइन, तर उहाँका अनुग्रह र आशिषहरूमा रमाउन उहाँमा विश्‍वास गरेको थिएँ। मैले अझै धेरै आशिष पाउन मात्र कर्तव्य पूरा गर्न सकूँ भनी काम गरेर पैसा कमाउने समय घटाएको थिएँ। मैले साँचो विश्‍वास र प्रेमले नभई, परमेश्‍वरसँग लेनदेन गर्ने प्रयासमा मात्रै सबै कुरा त्यागेको थिएँ, मेरो जीवनमा समस्याहरू देखा पर्न थालेपछि, म आफ्‍नो कर्तव्यमा दह्रिलो गरी खडा भइरहेँ किनभने ती कठिनाइहरू बितेर जानेछन्, र त्यसपछि परमेश्‍वरले मलाई अझै धेरै आशिष दिनुहुनेछ भन्ने सोचेको थिएँ। तर परिस्थितिहरू निरन्तर कठिन भइरहे। नयाँ पसल खोल्‍ने क्रममा मैले समस्याहरू सामना गर्नुपर्‍यो र धेरै पैसा गुमाएँ। मलाई तबउसो आफ्‍नो कर्तव्य पूरा गर्न जाँगर चलेन, र मैले परमेश्‍वरलाई दोष दिन थालेँ। परमेश्‍वरका आशिषबिना, म पहिलेजस्तो उहाँका लागि मेहनत गर्न चाहन्‍नथिएँ। मलाई आफ्‍नै सुखचैनबारे मात्र बढी सोच्‍न मन लाग्थ्यो। मैले सामना गरेका कठिनाइहरूले परिस्थितिहरूबारेको मेरो सोचाइलाई निरन्तर असर गर्थे, र यी अप्ठ्याराबीच, म परमेश्‍वरको इच्‍छा, वा कसरी सत्यता अभ्यास गरेर दह्रिलो गरी खडा हुने भनेर खोजी गर्न असफल भएँ। यसको साटो, मैले आफ्‍नै तरिकाले मेरा आर्थिक समस्याहरू समाधान गर्ने उपायहरू खोज्‍ने प्रयास गरेँ, आफ्‍नो कर्तव्यमा झारा टार्ने र गैरजिम्‍मेवार व्यवहारसमेत गरेँ। मेरो हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ थिएन। मैले आफ्‍नो कर्तव्य र परमेश्‍वरप्रतिको मेरो मनोवृत्तिद्वारा, म परमेश्‍वरको साँचो अनुयायी होइन रहेछु भन्‍ने देखेँ। म सधैँ परमेश्‍वरलाई प्रेम गर्छु भनेर दाबी गर्थेँ, तर जीवनमा कठिनाइ सामना गर्दा मैले परमेश्‍वरलाई दोष दिएँ। मैले उहाँसँग तर्क गरेँ र हिसाबकिताब गर्ने प्रयास गरेँ, जुन कुरा परमेश्‍वरले भन्‍नुभए जस्तै छ: “एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने, ‘दयालु’ व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्, अनि हिजोको आफ्‍नो हितकारी व्यक्तिलाई कुनै पनि शब्‍द वा कारणविना नै आफ्‍नो मरणशील शत्रुको रूपमा व्यवहार गर्छन्।” मेरो बानीबेहोरा परमेश्‍वरले आफ्‍ना वचनहरूमा उदाङ्गो पार्नुभएको जस्तै थियो। परमेश्‍वरले मलाई आशिष दिनुहुँदा मात्रै म आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्थेँ। म परमेश्‍वरबाट आफूले चाहेको कुरा माग गर्दै ऋण दिने व्यक्तिले जस्तो व्यवहार गर्थेँ। तर वास्तवमा, परमेश्‍वरले मलाई जीवन दिनुभएको थियो—उहाँले मलाई सबै थोक दिनुभएको थियो। उहाँले मलाई चाहिएको भन्दा बढी दिनुभएको थियो। र पनि किन म अझै परमेश्‍वरलाई भर्त्सना गर्न, उहाँसँग तर्क र बहस गर्न चाहन्थेँ? साथै, आफ्‍नो कर्तव्य राम्ररी पूरा नगरेर मैले उहाँसँग लडाइ गरेँ। यसबारे मनन गर्दा मलाई झन्-झन् धेरै लाज लाग्यो। मैले परमेश्‍वरसामु पश्‍चात्ताप नगरेको भए, के परमेश्‍वरले मजस्तो व्यक्तिलाई तिरस्कार गरेर हटाउनुहुनेथिएन र? मैले मनबाटै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, ममा साँच्‍चै नै विवेकको कमी रहेछ। मैले पहिले नै तपाईंको धेरै अनुग्रह प्राप्त गरिसकेको छु, तर पनि म तपाईंलाई एकपछि अर्को माग गरिरहन्छु। मेरा इच्‍छाहरू पूरा नहुँदा, म नकारात्मक बन्छु र गुनासो गर्छु। हे परमेश्‍वर, मैले मेरो साँचो रूप देखेको छु, र म आफूलाई घृणा गर्छु। बिन्ती छ मलाई सहायता गर्नुहोस्, ताकि मैले मेरा यी गलत खोजीहरूलाई परिवर्तन गर्न सकूँ।”

त्यसपछि मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “तैँले खोजी गर्ने कुरा भनेको परमेश्‍वरमा विश्‍वास गरिसकेपछि शान्ति प्राप्त गर्न सक्षम हुनु, तेरा छोराछोरी रोग-बिमारबाट मुक्त हुनु, तेरो श्रीमानले राम्रो जागिर पाउनु, तेरो छोराले असल श्रीमती पाउनु, तेरो छोरीले योग्य श्रीमान पाउनु, तेरो गोरु र घोडाले राम्ररी खेत जोत्‍नु, तेरो बालीको लागि वर्षभरि राम्रो मौसम हुनु हो। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु, र तेरो परिवारमा कुनै दुर्घटना नघटोस्, तँबाट भएर बतास चलोस्, तेरो अनुहार धूलोले नछुओस्, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस्, तँलाई कुनै पनि विपत्तिले असर नपारोस्, परमेश्‍वरको अङ्गालोमा बस्‍न पाइयोस्, आरामदायी निवासमा बस्‍न पाइयोस् भन्‍ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायरमा—के तँमा हृदय छ, के तँसँग आत्मा छ? के तँ वनपशु होइनस् र? सट्टामा केही पनि नमागी नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्? म तँलाई साँचो मानव जीवन दिन्‍छु, तैपनि तँ यसलाई खोज्दैनस्। के तँ सुँगुर वा कुकुरभन्दा फरक छस् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। “सबै भ्रष्ट मानव आफ्‍नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सार यही हो। मानिसहरूले आफ्‍नै खातिर परमेश्‍वरमा विश्‍वास गर्छन्; जब तिनीहरूले उहाँको लागि विभिन्‍न कुराहरू त्याग्छन् र आफैलाई परमेश्‍वरमा समर्पित गर्छन्, यो आशिषित हुनको लागि हुन्छ, र जब तिनीहरू उहाँप्रति बफादार हुन्छन्, यो इनाम प्राप्त गर्नको लागि हुन्छ। सारांशमा भन्दा, यो सबै आशिषित हुने, इनाम प्राप्त गर्ने, र स्वर्गको राज्यमा प्रवेश गर्ने उद्देश्‍यले गरिन्छ। समाजमा, मानिसहरूले आफ्नै फाइदाको लागि काम गर्छन्; र परमेश्‍वरको घरमा तिनीहरू आशिष्‌हरू प्राप्त गर्नको लागि कर्तव्य निर्वाह गर्छन्। आशिष्‌हरू प्राप्त गर्नको खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्‍न र धेरै कठिनाइ भोग्‍न सक्छन्: मान्छेको शैतानी प्रकृतिको यो भन्दा राम्रो कुनै प्रमाण छैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढेपछि मैले म कति स्वार्थी र घृणित रहेछु भन्‍ने कुरा देखेँ। म “आफ्‍नो दुनो आफैले सोझ्याउनुपर्छ” भन्‍ने विचारको नियन्त्रणमा थिएँ। मैले जे गरे पनि, त्यसबाट फाइदा लिनुपर्छ, र मलाई फाइदा नहुने केही पनि गर्न चाहन्‍नँ भन्‍ने मेरो सोच थियो। यस्तो दर्शन, यस्तो सोचाइले मेरो हृदयमा गहिरो जरा गाडेको थियो, र मलाई सधैँ आफ्‍नै निम्ति जिउने व्यक्ति बनाएको थियो। मेरो विश्‍वास र परमेश्‍वरका लागि मेरा त्यागहरूसमेत एउटै उद्देश्यका लागि थिए—आशिष पाउनका लागि। मैले परमेश्‍वरलाई धोका दिइरहेको थिएँ। म अत्यन्तै स्वार्थी र धूर्त व्यक्ति थिएछु। म आफ्‍ना व्यक्तिगत हितहरू, अनि परमेश्‍वरका अनुग्रह र आशिषहरू कसरी प्राप्त गर्ने त्यसको पछि निरन्तर लाग्थेँ। मैले कल्‍पना गरेअनुसार परमेश्‍वरले दिनुपर्ने आशिष् मलाई नदिएको देख्दा, म दुःखी भएँ र गुनासोले भरिएँ। त्यो परिस्थितिमा परमेश्‍वरको इच्‍छा के थियो? मैले त्यसबारे खोजी वा मनन गरिनँ, र मलाई त्यो वास्ता थिएन। म आफ्‍नै देहगत हितहरूमा मात्र केन्द्रित थिएँ। के मैले सत्यता प्राप्त गर्ने मौका गुमाइरहेको थिइनँ र? परमेश्‍वर आखिरी दिनहरूमा हामीलाई मुक्ति दिन आउनका लागि देह बन्‍नुभएको छ। उहाँले हाम्रो लागि आफ्‍नो रगत, पसिना, र आँसु बगाउँदै धेरै वचनहरू बोल्‍नुभएको छ, ताकि यी वचन, यी सत्यतामार्फत हामी पाप र दुष्टताबाट उम्‍कन सकौँ, शैतानको भ्रष्टता र हानिबाट बच्न सकौँ। तर मैले सत्यता पछ्याइरहेको थिइनँ—म यसबारे त्यति विचारै गर्दिनथिएँ। म देहसुखको मात्र लालसा गर्थेँ, यसैलाई विचार गरेर योजना बनाउँथेँ। यदि मैले त्यसरी नै व्यवहार गरिरहेको भए, मजस्तो व्यक्तिलाई परमेश्‍वरले के गर्नुहुनेथियो? म हटाइनेथिएँ र नामेट हुनेथिएँ। मैले हृदयदेखि यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्‍वर, बिन्ती मलाई बचाउनुहोस्। मलाई आफूलाई चिन्‍ने र अभ्यासको मार्ग भेट्टाउने मौका दिनुहोस्।” म हरेक दिन यसरी नै प्रार्थना गर्थेँ।

पछि मैले परमेश्‍वरका वचनहरूमा यो पढेँ: “हुन सक्छ, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको दुःख भोग्नका निम्ति हो, वा उहाँका निम्ति हरकिसिमका कुराहरू गर्नु हो भन्‍ने तँ ठान्छस् होला; परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य तेरो शरीर शान्तिमा रहोस् भन्ने हो वा तेरो जीवनका सबै कुरा राम्ररी चलोस्, वा सबै कुरामा तँलाई सुविधा र सहज होस् भन्‍ने तँलाई लाग्‍नसक्छ। तापनि मानिसले परमेश्‍वरमा भएको तिनीहरूका विश्‍वासमा यी कुनै पनि उद्देश्यहरूलाई जोड्नुहुँदैन। यदि तँ यी उद्देश्यहरूका निम्ति विश्‍वास गर्छस् भने तेरो दृष्टिकोण गलत छ, अनि तँलाई सिद्ध पारिनु यसै पनि असम्भव हुन्छ। परमेश्‍वरका कामहरू, परमेश्‍वरको धर्मी स्वभाव, उहाँको बुद्धि, उहाँका वचनहरू, उहाँको आश्‍चर्यपन र अज्ञातता, यी सबै कुरा मानिसहरूले बुझ्नुपर्ने कुराहरू हुन्। यो बुझेपछि तैँले आफ्नो हृदयका सबै व्यक्तिगत मागहरू, आशाहरू, र विचारहरूबाट छुटकारा पाउन यसको प्रयोग गर्नुपर्छ। यी कुराहरूलाई हटाएर मात्र तँ परमेश्‍वरले माग गर्नुभएका सर्तहरूलाई पूरा गर्न सक्छस्, र त्यसो गरेर मात्र तैँले जीवन प्राप्त गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छस्। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य उहाँलाई सन्तुष्ट पार्नु र उहाँले माग गर्नुभएको स्वभावअनुसार जिउनु हो, ताकि अयोग्य मानिसहरूको यस झुन्डबाट उहाँको कार्य र महिमा प्रकट हुन सकोस्। यो परमेश्‍वरमा विश्‍वास गर्ने सही दृष्टिकोण हो अनि तैँले खोज्नुपर्ने लक्ष्य पनि यही नै हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। “मानिसको दायित्व र ऊ आशिषित भएको छ कि श्रापित भएको छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिषित हुनु भनेको कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नु हो। श्रापित हुनु भनेको सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनु हो, यो तब हुन्छ जब तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष पाऊन्‌ वा श्राप पाऊन्‌, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। आशिषित हुनको लागि मात्रै तैँले आफ्नो दायित्वलाई पूरा गर्नु हुँदैन, र श्रापित हुने डरले तैँले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। मैले म परमेश्‍वरमा साँचो विश्‍वास गर्छु भनेर धेरैपटक दाबी गरेको थिएँ, तर त्यो मेरो कल्‍पना मात्रै रहेछ भन्‍ने मलाई थहा भयो। मेरो जस्तो विश्‍वास त पावलले २ तिमोथी ४:७-८ मा भनेको जस्तै रहेछ: “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ।” पावलले प्रभुको सेवा गरेपछि धार्मिकताको मुकुट पर्खिरहेका थिए, र मैले पनि आफ्नो विश्‍वासमा त्यही उद्देश्य राखेको थिएँ—आशिष पाउने उद्देश्य। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वासको अर्थ र मेरो विश्‍वासमा उचित खोजी हुनुपर्छ भनेर बताइदिए। मलाई म आफ्नो पहिलेको गलत मार्ग परिवर्तन गर्न तयार छु जस्तो लाग्यो, किनभने त्यो मार्गले मलाई झन्-झन् भ्रष्ट, र परमेश्‍वरको शत्रु मात्रै बनाउन सक्थ्यो। म त आफ्ना आमाबुबालाई साँचो प्रेम नगर्ने तर तिनीहरूबाट केही कुरा मात्र चाहने सन्तानजस्तै थिएँ। त्यस्तो सन्तानले आमाबुबाबाट कहिल्यै पनि निगाह पाउन सक्दैन, तर आमाबुबालाई पीडा मात्रै दिनेछ। आफ्नो विश्‍वासमा भएको मेरो प्रेरणा र दृष्टिकोण लाजमर्दो कुरा थियो। मैले परमेश्‍वरबाट कस्तो क्षतिपूर्ति प्राप्त गर्ने आशा गरिरहेको थिएँ? मैले उहाँका धेरै अनुग्रह र आशिषहरू प्राप्त गरिसकेको थिएँ, र उहाँका वचनका सत्यताहरूबाट धेरै भरणपोषण, अनि उहाँको हेरचाह र सुरक्षा प्राप्त गरिसकेको थिएँ, मैले फेर्ने सास, मैले अनुभूति गर्ने सूर्यको किरण, मेरो दैनिक भोजनको त कुरै नगरौँ। यो सबै परमेश्‍वरले नै दिनुभएको थियो। मेरो आफ्‍नै जीवन पनि परमेश्‍वरले दिनुभएको थियो। मैले हाम्रा सृष्टिकर्ताको प्रेमको ऋण कसरी तिर्नुपर्छ? मैले आफ्नो जीवनको एक-एक कोष दिए पनि, उहाँको ऋण कहिल्यै पनि तिर्न सक्‍नेछैनँ। र पनि, मैले अझै परमेश्‍वरलाई दोष दिएँ, उहाँसँग तर्क गरेँ, र हिसाबकिताब गर्ने प्रयास गरेँ। ममा साँच्‍चै नै मानवताको कमी थिएछ, अलिकति पनि आत्म-चेतना थिएनछ। म परमेश्‍वरलाई पछ्याउँथेँ र आफ्‍नो कर्तव्य पूरा गर्थेँ, जुन मेरो जिम्‍मेवारी थियो, मैले गर्नुपर्ने सबैभन्दा आधारभूत कुरा थियो। यो परमेश्‍वरले मलाई सत्यता पछ्याउन र मुक्ति पाउन दिनुभएको मौका पनि थियो। यदि मैले आफ्‍नो कर्तव्य पूरा नगरेको भए, सत्यता प्राप्त गर्न वा आफ्‍नो भ्रष्ट स्वभाव परिवर्तन गर्न सक्‍नेथिइनँ। धन्यवाद परमेश्‍वर! अब मैले के महसुस गरेँ भने आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कुरा मात्र हो, मानिसको जिम्‍मेवारी हो। मेरो कर्तव्य परमेश्‍वरसँगको लेनदेन हुनु हुँदैनथियो। मैले के पनि बुझेँ भने, मैले जस्तोसुकै कठिनाइको सामना गर्नुपरे पनि, म बिरामी परे पनि वा मेरो व्यापार राम्रो नचले पनि, मैले यसलाई स्वीकार गर्नुपर्छ, र गुनासो गर्नु हुँदैन। सृष्टि गरिएको प्राणीको रूपमा ममा हुनुपर्ने सोचाइ र मनोवृत्ति यही हो। यस्तो बुझाइ दिनुभएकोमा म परमेश्‍वरप्रति कृतज्ञ छु। अहिले मैले त्यति धेरै पैसा कमाइरहेको त छैनँ र मेरो जीवनस्तर अलिक न्यून छ, तर म पहिलेभन्दा धेरै मितव्ययी छु—पहिलेजस्तो खर्च गर्दिनँ। तैपनि म जीवन धान्न सक्छु। म स्वास्थ्य समस्या र जीवनका समस्याहरूलाई आफ्‍नो कर्तव्यप्रतिको मेरो मनोवृत्तिमा असर गर्न दिन सक्दिनँ। मैले ब्रदर-सिस्टरहरूलाई सहयोग गर्ने, आफ्‍नो कर्तव्यको हरेक काम पूरा गर्न सक्दो प्रयास गर्ने गरिरहेको छु। मैले यो परिस्थिति अनुभव गरेर म कति स्वार्थी र खराब रहेछु भन्‍ने देखेँ, र आफ्नो विश्‍वास र खोजीसम्‍बन्धी मेरो गलत दृष्टिकोणबारे केही बुझाइ प्राप्त गरेँ। परमेश्‍वरका वचनहरूको डोऱ्याइकै कारण मैले यो सब हासिल गरेँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कठिन परिस्थितिको जाँच

सानै हुँदादेखि म समाजद्वारा सधैँ प्रभावित हुन्थेँ। आफूले गर्ने हरेक कुरामा म अरूलाई पछ्याउन मन पर्थ्यो। मैले चिनेजानेका सबै मानिसहरू इसाई...

बिमारी मार्फत फसल काटियो

झाङ्ग ली, चीनवर्ष २००७ मेरो जीवनको ठूलो मोड थियो। त्यो वर्ष मेरा श्रीमान् कार दुर्घटनामा परेर थला पर्नुभयो। हाम्रा दुई बच्चाहरू अझै सानै...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्