के मुक्ति पाउन हैसियत चाहिन्छ?

25 फेब्रुअरी 2023

वर्षौँदेखि, विभिन्‍न मण्डलीहरूको जिम्‍मेवारी लिँदै मैले घरबाट टाढा गएर अगुवाको रूपमा सेवा गर्दै आइरहेकी थिएँ। मलाई जन्मजातै मुटुरोग छ, तर मलाई कहिल्यै पनि त्यति ठूलो समस्या भएको थिएन। तर उमेर बढ्दै गएकोले विगत केही वर्षदेखि, मानसिक र शारीरिक रूपमा म पहिलेजस्तो छैन। राती अलिक अबेरसम्‍म बस्यो भने भोलिपल्‍ट म निकै थकित हुन्छु, पूरै कमजोर महसुस हुन्छ, र मेरो मुटुमा के भयो-भयो जस्तो हुन्छ। गत अगष्टमा, अगुवाले मेरो समस्याको बारेमा विचार गरे र मेरो शरीरले अगुवाको रूपमा रहेको अत्यन्तै तनाव दिने पद लिन सक्दैन भन्‍ने डरले, मलाई मेरो स्वास्थ्य हेरचाह गर्न र मैले सक्‍ने जुनसुकै कर्तव्य पूरा गर्न घर पठाइन्। मलाई यो सुन्दा निकै नरमाइलो लाग्यो। मलाई के लाग्यो भने, मेरो कर्तव्यमा असल कार्यहरू बटुल्‍ने महत्त्वपूर्ण समय यही हो। स्थानान्तर भएर, अगुवाको रूपमा होइन तर साधारण विश्‍वासी भएर, मैले अभ्यास गर्ने थोरै मौका पाउँछु, सत्यता सिकेर वास्तविकतामा प्रवेश गर्ने मेरो गति निकै कम हुन्छ, त्यसकारण मैले मुक्ति पाउने मौका घट्छ। यो अगुवा हुनुजस्तो, सधैँ ब्रदर-सिस्टरहरूका समस्याहरूलाई समाधान गर्नु जस्तो, सत्यतामा तुरुन्तै प्रवेश गर्नु र त्यसलाई सिक्‍नुजस्तो मुक्ति पाउने ठूलो मौका पाउनु जस्तो हुँदैन। मलाई त परमेश्‍वरले मलाई खुलासा गर्न र हटाउन त्यो परिस्थितिको प्रयोग गरिरहनुभएको हो कि जस्तो लाग्यो। यसको बारेमा सोच्दा मलाई झन्-झन् नरमाइलो लाग्यो, र मैले मेरो आँसु रोक्‍न सकिनँ। मलाई कस्तो अनुभव भइरहेको छ भन्‍ने थाहा पाएपछि एक जना सिस्टरले मसँग सङ्गति गरिन्, र मलाई परमेश्‍वरको दयालु इच्‍छा यसमा लुकेको छ, र हामीले परमेश्‍वरको इच्‍छा नबुझ्दा, हामी सुरुमा यसमा समर्पित हुनुपर्छ, अझै बढी प्रार्थना र खोजी गर्नुपर्छ, र कहिल्यै पनि गलत रूपमा बुझ्‍नु वा गुनासो गर्नु हुँदैन भनेर बताइन्। उनको सङ्गतिले मलाई यो संयोगवस भएको होइन, र यसमा खोजी र प्रवेश गर्नुपर्ने सत्यता छ, र म यसमा समर्पित हुनुपर्छ भन्‍ने कुरा स्मरण गरायो। तर म समर्पित हुन्छु भनेर भने पनि, म अझै पनि निकै हैरान थिएँ। राती उठेर यस्तो कुरा सम्झिँदा, म कोल्टे फेरेर बसिरहन्थेँ, अनि बारम्‍बार सोचिरहन्थेँ, “मैले विश्‍वास गरेको यतिका वर्ष भयो, र परमेश्‍वरको काम चरम अवस्थामा पुगेको बेला, मैले अगुवा बन्‍ने मौका गुमाएँ। म साधारण विश्‍वासी मात्र हुँ। के मसँग अझै पनि मुक्ति पाउने र सिद्ध हुने आशा छ?” म बसेर अगुवाको रूपमा सेवा गरिरहन चाहन्थेँ, तर मेरो अवस्था खराब भयो भने, यसले मण्डलीको काममा बाधा पुर्‍याउन सक्छ भन्‍ने डर थियो। मण्डलीको कामको बारेमा होइन तर आफ्‍नै बारेमा मात्रै सोचेर म अति स्वार्थी हुनु हुँदैनथियो।

मेरो भक्तिको समयहरूमा कसरी ख्रीष्ट-विरोधीहरूले आफ्‍नो कर्तव्यमा आउने परिवर्तनहरूलाई सम्‍हाल्छन् भन्‍ने बारेमा परमेश्‍वरका केही वचनहरू पढेँ र आफ्‍नो बारेमा केही मात्रामा बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “सामान्य परिस्थितिहरूमा, व्यक्तिले आफ्नो कर्तव्यमा आउने परिवर्तनहरूलाई स्वीकार गर्नुपर्छ र त्यसप्रति समर्पित हुनुपर्छ। तिनीहरूले आफैलाई समीक्षा गर्ने, समस्याको सारलाई चिन्‍ने र आफ्ना कमीकमजोरीहरूलाई पहिचान गर्ने पनि गर्नुपर्छ। यो निकै नै लाभदायक कुरा हो र मानिसहरूले यसलाई हासिल गर्न एकदमै सजिलो छ—यो त्यति कठिन छैन। आफ्नो कर्तव्यमा हुने फेरबदलहरू पार पाउनै नसकिने विघ्‍नवाधा होइनन्; ती एकदमै सरल हुन्छन् र तिनको बारेमा जोकोहीले स्पष्टसित सोचविचार गर्न र उचित व्यवहार गर्न सक्छ। जब यस्तो कुनै घटना एउटा सामान्य व्यक्तिको जीवनमा घट्छ, तब तिनीहरूले कम्तीमा पनि समर्पित हुन सक्छन्, र साथमा तिनीहरूले आत्मसमीक्षा गरी फाइदा लिन पनि सक्छन्, र यस क्रममा आफूले कर्तव्य निर्वाह गरेको योग्य भयो कि भएन भनी अझ सही मूल्याङ्कन गर्न सक्‍नेछन्। तर ख्रीष्टविरोधीहरूको हकमा भने यस्तो हुँदैन। तिनीहरूलाई जेसुकै हुँदा पनि तिनीहरू सामान्य मानिसहरूभन्दा फरक हुन्छन्। यो भिन्‍नता कहाँनेर हुन्छ त? तिनीहरूले आज्ञापालन गर्दैनन्, तिनीहरूले सक्रियतापूर्वक सहकार्य गर्दैनन्; न त तिनीहरूले अलिकति मात्र पनि सत्यता खोज्ने काम नै गर्छन्। त्यसको साटो, तिनीहरूलाई त्यसप्रति वितृष्णा लाग्छ र तिनीहरूले त्यसलाई विरोध गर्छन्, विश्‍लेषण गर्छन्, चिन्तन गर्छन् र अनुमान लगाउँदै आफ्नो दिमाग खियाउँछन्: ‘मलाई किन यो कर्तव्य निभाउन दिइएको छैन? मलाई किन महत्त्वहीन कर्तव्यमा स्थानान्तर गरिएको छ? के मलाई खुलासा गर्न र हटाउनको लागि हो?’ तिनीहरूले जे भएको छ सो कुरालाई मनमस्तिष्कमा तौलिरहन्छन्, त्यसैको बारेमा कहिल्यै नटुङ्गिने गरी विश्‍लेषण र चिन्तन गरिरहन्छन्। केही नहुँदा तिनीहरू ठीकठाक हुन्छन्, तर जब केही आइपर्छ, तब भुमरीको पानीजस्तै तिनीहरूको हृदय बटारिन थाल्छ, र तिनीहरूको मष्तिष्क प्रश्‍नैप्रश्‍नले भरिन्छ। बाहिरबाट हेर्दा तिनीहरू समस्याहरू मनन गर्न अरूभन्दा उत्तम देखिन्छन्, तर वास्तवमा ख्रीष्टविरोधीहरू सामान्य मानिसहरूभन्दा दुष्ट मात्रै हुन्छन्। यो दुष्टता कसरी प्रकट हुन्छ? तिनीहरूका सोचविचार अत्यन्तै चरम, जटिल र गुप्त हुन्छन्। विवेक र समझ भएको सामान्य व्यक्तिको दिमागमा नआउने कुराहरू ख्रीष्टविरोधीको लागि दैनिकी हुन्छ। आफ्‍नो कर्तव्यमा सानोतिनो हेरफेर गरिँदा, मानिसहरूले आज्ञापालनको मनोवृत्तिसाथ यसलाई स्वीकार गर्नुपर्छ, परमेश्‍वरको घरले भनेबमोजिम गर्नुपर्छ, र आफ्‍नो क्षमताले भ्याउञ्‍जेल गर्नुपर्छ, अनि तिनीहरूले जेसुकै गरे पनि, तिनीहरूको शक्तिले भ्याउञ्‍जेलसम्‍म आफ्‍नो सारा हृदय र सामर्थ्यले त्यो काम गर्नुपर्छ। परमेश्‍वरले जे गर्नुभएको छ त्यो गलत छैन। यस्तो सरल सत्यता थोरै विवेक र चेतना भएका मानिसहरूले अभ्यास गर्न सक्छन्, तर यो ख्रीष्टविरोधीहरूको क्षमताभन्दा बाहिरको कुरा हो। जब कर्तव्य हेरफेरको कुरा आउँछ, तब ख्रीष्टविरोधीहरूले तुरुन्तै तर्क, वाक्छल, र प्रतिरोध प्रस्तुत गर्छन्, र हृदयको गहिराइमा तिनीहरूले यसलाई स्वीकार गर्न मान्दैनन्। तिनीहरूको हृदयमा वास्तवमा के हुन्छ? अविश्‍वास र शङ्‍का, अनि तिनीहरूले अनेक तरिकाहरू अपनाएर अरूलाई जाँच गर्छन्। तिनीहरूले आफ्‍नो बोलीवचन र व्यवहाद्वारा परिस्थिति जाँच्छन्, र मानिसहरूलाई सत्यता खोल्‍न र इमान्दारीपूर्वक बोल्न लगाउन बेइमान शैलीहरू अपनाउँदै तिनीहरूलाई बाध्य र प्रलोभनमा पार्नेसमेत गर्छन्। … ख्रीष्टविरोधीहरूले सरुवाजस्तो मामुली कुरामा समेत यस्तो खलबली गर्छन्, यस्तो रडाको मच्‍चाउनेछन्, र यत्ति ठूलो विवाद झिक्‍न हरप्रयास गर्नेछन् भनेर कसैले कल्पना गर्न सक्दैन। किन तिनीहरू सामान्य कुरालाई यति जटिल बनाउँछन्? त्यसको एउटै कारण छ: ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरका बन्दोबस्तहरू कहिल्यै पालन गर्दैनन्, र तिनीहरूले आफ्नो कर्तव्य, प्रसिद्धि, र हैसियतलाई सधैँ आशिष्‌ प्राप्त गर्ने आफ्नो आशा र आफ्नो भावी गन्तव्यसित घनिष्ट रूपले यसरी जोड्छन् कि मानौँ तिनीहरूको प्रतिष्ठा र हैसियत गुम्‍नेबित्तिकै तिनीहरूले आशिष्‌ पाउने आशा नै रहनेछैन, र तिनीहरूको लागि त्यो जीवन गुमाउनुजस्तै हुनेछ। तसर्थ, आशिष पाउने तिनीहरूको सपना बरबाद हुन नदिनको लागि, तिनीहरू परमेश्‍वरको घरका अगुवा र सेवकहरूको विरुद्धमा सतर्क बन्छन्। तिनीहरू आफ्नै प्रतिष्ठा र हैसियतमा टाँसिइरहन्छन्, किनकि तिनीहरूलाई त्यसो गर्नु मात्रै आशिष्‌ पाउने एउटै आशा हो जस्तो लाग्छ। ख्रीष्टविरोधीले आशिष्‌ पाउने कुरालाई स्वर्गभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र आवश्यक मापदण्ड पूरा गर्ने सृष्टि गरिएको प्राणी बन्‍नुभन्दा महत्वपूर्ण कुराको रूपमा हेर्छ। यस्ता व्यक्तिहरूले आवश्यक मापदण्ड पूरा गर्ने सृष्टिको प्राणी बन्‍ने, आफ्नो कर्तव्य पालन गर्ने र मुक्ति पाउनेजस्ता सबै कुराहरूलाई क्षुद्र र उल्लेख गर्न पनि योग्य नभएका कुरा ठान्छन् जबकि आशिष्‌हरू पाउनुचाहिँ तिनीहरूको जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरू अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरूले आफ्नो निम्ति उम्कने बाटो सधैँ सुरक्षित छोडिराख्छन्। त्यसैले, आफ्नो कर्तव्यमा हेरफेर हुँदा, यदि यो बढुवा हो भने, ख्रीष्टविरोधीले ऊसँग आशिष पाउने आशा छ भन्‍ने ठान्छ। यदि यो टोली अगुवाबाट सहायक टोली अगुवामा, वा सहायक टोली अगुवाबाट सामान्य समूह सदस्यमा घटुवा गरिएको हो, वा तिनीहरूलाई कुनै कर्तव्य नै दिइएको छैन भने, तिनीहरूलाई यो ठूलो समस्या हो भन्‍ने लाग्छ र तिनीहरूले आशिष्‌ पाउने आशा थोरै छ भन्‍ने सोच्छन्। यो कस्तो दृष्टिकोण हो? के यो उचित दृष्टिकोण हो? अवश्य होइन। यो दृष्टिकोण हास्यास्पद छ(वचन, खण्ड ३, ख्रीष्ट विरोधीहरूको पर्दाफास, विषयवस्तु १२: जब कुनै पद हुँदैन र आशिष्‌हरू प्राप्त गर्ने कुनै आशा हुँदैन तब तिनीहरू पछि हट्न चाहन्छन्)। “ख्रीष्टविरोधीहरूले हृदयभित्र सधैँ आफ्नो पद कति ठूलो वा सानो छ भन्‍ने कुरालाई आफूले ‌कति ठूलो वा सानो आशिष्‌ पाउँछु भन्‍ने कुरासित तुलना गर्छन्। चाहे परमेश्‍वरको परिवार होस् वा अरू कुनै समूह होस्, तिनीहरूका लागि मानिसहरूको हैसियत र वर्ग, साथै तिनीहरूको परिणाम एकदमै गाढा रूपमा रेखाङ्कित गरिएको हुन्छ; व्यक्तिको पद जति उच्‍च हुन्छ र उसले यस जीवनमा परमेश्‍वरको घरमा जति धेरै शक्ति पाउँछ त्यो उसले अर्को संसारमा पाउने आशिष्‌, इनाम, र मुकुटसँग बराबर हुन्छ—ती प्रत्यक्ष रूपमा जोडिएका हुन्छन्। के यस्तो दृष्टिकोण सही हो? परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभएको छैन, न त उहाँले कहिल्यै यस्तो कुनै वाचा नै गर्नुभएको छ, तर ख्रीष्टविरोधीको मनमा यस्तो सोचाइ पैदा हुन्छ। … के ख्रीष्टविरोधीहरूजस्ता मानिसहरूमा मानसिक स्वास्थ्य समस्या हुन्छ भन्‍ने तिमीहरूलाई लाग्दैन? के तिनीहरू चरम रूपमा दुष्ट हुँदैनन् र? परमेश्‍वरले जे भन्‍नुभए पनि, तिनीहरूले सुन्दैनन्, न त यसलाई स्वीकार नै गर्छन्(वचन, खण्ड ३, ख्रीष्ट विरोधीहरूको पर्दाफास, विषयवस्तु १२: जब कुनै पद हुँदैन र आशिष्‌हरू प्राप्त गर्ने कुनै आशा हुँदैन तब तिनीहरू पछि हट्न चाहन्छन्)

परमेश्‍वरका वचनहरूले के देखाउँछन् भने, ख्रीष्ट-विरोधीहरूले आशिष्‌हरू र इनाम पाउनको लागि मात्रै विश्‍वास गरेका हुन्छन्। तिनीहरूले विभिन्‍न कर्तव्यहरूलाई वर्गीकरण गरेर ठूलो वा सानो हैसियतलाई धेरै वा थोरै आशिषहरूसँग जोड्छन्। हैसियतविना, तिनीहरूले मुक्ति पाउने अलिकति मौका पनि पाउँदैनन् भन्‍ने तिनीहरू सोँच्छन्, त्यसकारण तिनीहरूले परमेश्‍वरलाई गलत रूपमा बुझ्छन्, दोष दिन्छन्, वा उहाँको विरुद्धमा लडाइ समेत गर्छन्। तिनीहरूले आफ्‍नै हित र आशिषहरूका बारेमा मात्रै विचार गर्छन्, तर सत्यताको खोजी गर्ने वा आफ्‍नो बारेमा मनन गर्ने कहिल्यै गर्दैनन्। तिनीहरूमा साँच्‍चै नै परमेश्‍वरप्रति कुनै आदर वा समर्पणता हुँदैन, तर प्रकृतिले नै दुष्ट र खराब हुन्छन्। मेरो विश्‍वासको आधारमा, म त ख्रीष्ट-विरोधी जस्तो मात्र थिएँ। मैले मेरो हैसियतलाई आशिषहरूसँग जोडिरहेकी थिएँ, त्यसकारण मैले कर्तव्यमा गरिएको सामान्य परिवर्तनलाई समेत सम्‍हाल्‍न सकिनँ। मेरो मनमा धेरै कुरा थिए, र म अगुवा बनिनँ भने, हैसियतविना, मुक्ति पाउने मेरो मौका निकै थोरै हुनेछ भनेर सोच्थेँ। तर वास्तवमा, परमेश्‍वरको घरले सिद्धान्तहरू र तिनीहरूको वास्तविक परिस्थितिको आधारमा हरेक व्यक्तिको कर्तव्य मिलाउने गर्छ। ममा स्वास्थ्य सम्‍बन्धी समस्याहरू थिए। अगुवाहरूले धेरै कुराहरू सम्‍हाल्‍नुपर्छ, धेरै तनाव हुन्छ, र मेरो शरीरले थाम्‍न सक्दैनथियो। मेरो कर्तव्यमा समस्या आउनेथियो। म फर्केर आउनु र आफूले सक्‍ने कर्तव्य लिनु नै म र मेरो मण्डली दुवैको लागि राम्रो हुनेथियो। तर मैले गलत रूपमा बुझेँ र मैले शङ्का गरेँ। म फर्केर आउनुपर्छ भनेर अगुवाले भन्दा, मेरो पहिलो सोच के आयो भने म अगुवा बनिनँ भने, मेरो हैसियत सानो हुनेछ, त्यसकारण मसँग मुक्ति पाउने वा आशिष्‌ पाउने कुनै आशा हुनेछैन। आशिष्‌ नपाउने बारेमा सोच्दा मलाई मेरो विश्‍वासको एउटै आशा हटाइएको छ जस्तो लाग्यो। मैले अचानक मेरो सबै जाँगर गुमाएँ। मैले सत्यताका सिद्धान्तहरूका आधारमा परिस्थितिहरूलाई हेरिनँ, तर मेरा व्यक्तिगत चासोहरूको आधारमा हेरेँ भन्‍ने मलाई थाहा भयो। मेरा आफ्‍नै इच्‍छाहरू पूरा नहुँदा, परमेश्‍वरले मलाई खुलासा गर्न र हटाउनको लागि यो परिस्थितिको प्रयोग गरिरहनुभएको छ भन्‍ने सोचेँ। मैले परमेश्‍वर भ्रष्ट मानवजाति जस्तै निष्पक्षता वा न्यायविनाको हुनुहुन्छ भनेर कल्‍पना गरिरहेकी थिएँ, मानौँ उहाँले हाम्रो कद वा कर्तव्यको आधारमा हामीलाई मापन गर्नुहुन्छ र हाम्रो परिणाम निर्धारित गर्नुहुन्छ। म के सोच्थेँ भने हामीसँग हैसियत छ भने, परमेश्‍वरले हामीलाई मुक्ति दिनुहुन्छ, नत्र भने दिनुहुन्‍न। के त्यो परमेश्‍वरका धार्मिकतालाई इन्कार गर्नु र उहाँको निन्दा गर्नु थिएन र? विश्‍वास गरेको यतिका वर्षमा, मैले परमेश्‍वरलाई पटक्‍कै बुझेकी वा पालना गरेकी छैन भन्‍ने मलाई थाहा भयो। यदि त्यसरी मेरो खुलासा नभएको भए, मेरो खोजी कति गलत छ भनेर मैले महसुस गर्नेथिइनँ।

पछि मैले परमेश्‍वरका वचनहरूको केही खण्डहरू पढेँ जुन खण्डहरूले मलाई आफ्‍नो गलत दृष्टिकोण देख्‍न सहयोग गरे। परमेश्‍वरका वचनहरूले भन्छ, “धेरै मानिसहरूलाई मुक्ति पाउनु भनेको के हो भन्‍नेबारे स्पष्ट रूपमा थाहा छैन। कतिपय मानिसहरूले परमेश्‍वरलाई जति धेरै वर्ष विश्‍वास गर्‍यो, मुक्ति पाउने सम्‍भावना त्यति नै धेरै हुन्छ भन्‍ने विश्‍वास गर्छन्। कतिपयले जति धेरै आत्मिक सिद्धान्त बुझ्यो, मुक्ति पाउने सम्‍भावना त्यति नै धेरै हुन्छ भन्‍ने सोच्छन्, र कतिले चाहिँ अगुवा र सेवकहरूले अवश्य मुक्ति पाउनेछन् भन्‍ने ठान्छन्। यी सबै मानव धारणा र कल्‍पनाहरू हुन्। मुख्य कुरा त मानिसहरूले मुक्ति भनेको के हो त्यो बुझ्नुपर्छ। मुक्ति पाउनु भनेको मुख्य रूपमा शैतानको प्रभावबाट मुक्त हुनु, पापबाट मुक्त हुनु, र साँचो रूपमा परमेश्‍वरतर्फ फर्कनु र परमेश्‍वरको आज्ञापालन गर्नु हो। पाप र शैतानको प्रभावबाट मुक्त हुनको लागि तिमीहरूमा के हुनुपर्छ? सत्यता। यदि मानिसहरूले सत्यता प्राप्त गर्न चाहन्छन् भने, तिनीहरू परमेश्‍वरका धेरै वचनहरूले सुसज्‍जित हुनुपर्छ, तिनीहरूले ती वचन अनुभव र अभ्यास गर्न सक्‍नुपर्छ, ताकि तिनीहरूले सत्यता बुझ्‍न र सत्यताको वास्तविकतामा प्रवेश गर्न सकून्। त्यसपछि मात्रै तिनीहरूले मुक्ति पाउन सक्छन्। कुनै व्यक्तिले मुक्ति पाउँछ कि पाउँदैन भन्‍ने कुरा उसले परमेश्‍वरमा कति लामो समय विश्‍वास गरेको छ, ऊसँग कति धेरै ज्ञान छ, उसले कति धेरै कष्ट भोग्छ, वा ऊसँग वरदान वा सबल पक्षहरू छ कि छैन भन्‍ने कुरासँग सम्‍बन्धित हुँदैन। मुक्तिसँग प्रत्यक्ष सम्‍बन्ध भएको एकमात्र कुरा भनेको व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने हो। त्यसो भए, आज तैँले कति वटा सत्यता साँचो रूपमा बुझेको छस्? अनि परमेश्‍वरका कति वटा वचनहरू तेरो जीवन बनेका छन्? परमेश्‍वरका सबै मापदण्डहरूमध्ये, तैँले कुन-कुनमा प्रवेश हासिल गरेको छस्? परमेश्‍वरमाथि विश्‍वास गरेका वर्षहरूमा, तैँले परमेश्‍वरको वचनको सत्यतामा कति धेरै प्रवेश हासिल गरेको छस्? यदि तँलाई थाहा छैन भने, वा तैँले परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश हासिल गरेको छैनस् भने, खुलस्त रूपमा भन्‍ने हो भने, तँसँग मुक्ति पाउने कुनै आशा छैन। तैँले सम्भवतः मुक्ति पाउनेछैनस्। तँसँग उच्‍च ज्ञान भए पनि, वा तैँले परमेश्‍वरमा लामो समय विश्‍वास गरेको भए पनि, तेरो बाहिरी रूप राम्रो भए पनि, तैँले राम्रो बोल्‍न सके पनि, र तैँले धेरै वर्षदेखि अगुवा वा सेवकको काम गरेको भए पनि, त्यसले केही फरक पार्दैन। यदि तैँले सत्यताको खोजी गर्दैनस् भने, वा परमेश्‍वरका वचनहरू उचित रूपमा अभ्यास र अनुभव गर्ने गर्दैनस् भने, र तँमा वास्तविक अनुभव र गवाहीको कमी छ भने, तैँले मुक्ति पाउने कुनै आशा हुँदैन(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। “म प्रत्येक व्यक्तिको गन्तव्य निर्धारण निजको उमेर, वरिष्ठता, भोगाइको परिमाणका आधारमा गर्दिनँ, र उनीहरूले गर्ने कारुणिक आह्‍वानका आधारमा त झनै होइन्, तर उनीहरूसँग सत्य छ वा छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो एक अपरिवर्तनीय तथ्य हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्‍वरको धार्मिकताका लागि दण्डित भएका हुन् र उनीहरूले गरेका असङ्ख्या दुष्कर्मका लागि प्रतिशोध लिइएको हो(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। यी खण्डहरू पढेपछि म निकै भावुक भएँ। मैले के थाहा पाएँ भने, मुक्ति पाउनुसँग अगुवा बन्‍नु वा हैसियत हुनुको कुनै सम्‍बन्ध छैन। मुक्ति भनेको शैतानका भ्रष्ट स्वभावहरूलाई त्याग्‍नु र परमेश्‍वरमा समर्पित हुनु हो। सत्यता अभ्यास गर्नेहरू, आफ्‍नो भ्रष्टतालाई शुद्ध गर्नेहरू, परमेश्‍वरमा समर्पित हुने र उहाँका वचनहरू अनुसार जिउनेहरूले मात्रै साँचो मुक्ति पाउन सक्छन्। हामीले जुनसुकै कर्तव्य पूरा गरे पनि, हामीले सत्यतालाई स्वीकार गर्न, हाम्रो निराकरण हुँदा आत्म-चिन्तन गर्ने कार्यमा ध्यान केन्द्रित गर्न, परमेश्‍वरका वचनहरूद्वारा हाम्रो भ्रष्टता र गल्तीहरूलाई जान्‍न, पश्‍चात्ताप गर्न र परिवर्तन हुन सक्यौँ भने, खोजीद्वारा हामीले सत्यता प्राप्त गर्न र मुक्ति पाउन सक्छौँ। कसैको हैसियत जति उच्‍च भए पनि वा तिनीहरूले जति नै कष्ट भोगे पनि, तिनीहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरूलाई हटाइनेछ। ठीक पावल जस्तै। तिनीसँग निकै ठूलो हैसियत र प्रतिष्ठा थियो, र तिनले धेरै उपलब्धि प्राप्त गरेका थिए, तर तिनले कहिल्यै पनि सत्यता वा स्वभाव परिवर्तनको खोजी गरेनन्। अन्त्यमा तिनीसँग आफ्‍नो वा परमेश्‍वरको बारेमा कुनै पनि बुझाइ थिएन। तिनका सबै प्रयासहरू आशिष्‌हरू प्राप्त गर्न, इनाम पाउनको लागि मात्रै थिए, र तिनले सधैँ आफ्‍नै बारेमा, प्रभुको लागि तिनले कति दुःख भोगेका थिए त्यसको बारेमा गवाही दिइरहेका हुन्थे। तिनले आफू सबैभन्दा महान् प्रेरितहरूभन्दा सानो नभएको भनी फाइँफुट्टी लगाउँथे, र कुनै लाज नमानी “मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” भनी धाक लगाउँथे। ख्रीष्टको रूपमा जिइरहेको छु भन्‍ने जस्तो विधर्मी वाक्य बोलेर, तिनले परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गरे र तिनलाई परमेश्‍वरले दण्ड दिनुभयो। पत्रुसले कहिल्यै पनि आफ्‍नो विश्‍वासमा हैसियतको बारेमा वास्ता गरेनन्। तिनले परमेश्‍वरलाई चिनेर उहाँमा समर्पित हुन मात्र प्रयास गरे। तिनले परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्ने, आफ्‍नो भ्रष्टतालाई चिन्‍ने प्रयास गर्थे, र अन्तिममा तिनी परमेश्‍वरको लागि क्रूसमा टाँगिए। तिनी मृत्युसम्‍मै आज्ञाकारी भए, परमेश्‍वरलाई सक्दो प्रेम गरे, र परमेश्‍वरले तिनलाई सिद्ध तुल्याउनुभयो। यसले हामीलाई अगुवा हुनु वा हैसियत पाउनु मुक्ति पाउने कुनै पनि मापदण्ड होइन भन्‍ने कुरा देखाउँछ। सत्यताको खोजी नगर्ने तर परमेश्‍वरलाई विरोध गर्ने व्यक्तिमा परमेश्‍वरका वचनहरूमा जिउनुको कुनै वास्तविक गवाही हुँदैन उसलाई अवश्य हटाइनेछ। यदि कसैसँग हैसियत छैन, तर ऊ सही मार्गमा छ र उसले सत्यताको खोजी गर्छ भने, उसले अझै पनि सत्यता प्राप्त गर्न र परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छ। यो महसुस गरेपछि मलाई निकै ढुक्‍क भयो। म परमेश्‍वरको नियम र बन्दोबस्तहरूमा समर्पित हुन, र शान्त भएर परिवर्तनलाई स्वीकार गर्न तयार भएँ।

पछि मैले वचनको एउटा भिडियो हेरेँ जसले मलाई परमेश्‍वरको इच्‍छा अझै राम्ररी बुझ्‍न सहयोग गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छ, “बढुवा र वृद्धि-विकास गरिएका मानिसहरू अरूभन्दा धेरै उत्तम हुन्छन् भन्‍ने छैन। हरेकले परमेश्‍वरको कामलाई उति नै समय अनुभव गरेका हुन्छन्। बढुवा वा वृद्धि-विकास नगरिएका मानिसहरूले पनि आफ्‍नो कर्तव्य निर्वाह गर्दा सत्यताको खोजी गर्नुपर्छ। कसैले पनि अरूलाई सत्यताको खोजी गर्ने अधिकारबाट वञ्चित गर्नु हुँदैन। कतिपय मानिसहरू सत्यताको खोजीमा निकै उत्सुक हुन्छन् र तिनीहरूमा केही क्षमता हुन्छ, त्यसकारण तिनीहरूलाई बढुवा र वृद्धि-विकास गरिन्छ। यो परमेश्‍वरको घरको कामका आवश्यकताहरूको कारण गरिन्छ। त्यसो भए, किन परमेश्‍वरको घरमा मानिसहरूलाई बढुवा र प्रयोग गर्ने सिद्धान्तहरू हुन्छन्? किनभने मानिसहरूको क्षमता र व्यक्तित्वमा भिन्‍नता हुन्छ, र हरेकले फरकफरक मार्ग अपनाएका हुन्छन्, जसले गर्दा परमेश्‍वरप्रतिको मानिसहरूको विश्‍वासमा फरकफरक परिणाम आउँछ। सत्यताको खोजी गर्नेहरूले मुक्ति पाउँछन् र तिनीहरू उहाँको राज्यका मानिसहरू बन्छन्, जबकि सत्यतालाई पटक्‍कै स्वीकार नगर्ने र आफ्‍नो कर्तव्यप्रति समर्पित नहुने मानिसहरू निष्कासनमा पर्छन्। मानिसहरूले सत्यताको खोजी गर्न सक्छन् कि सक्दैनन्, र तिनीहरू आफ्‍नो कर्तव्यमा समर्पित छन् कि छैनन् भन्‍ने आधारमा परमेश्‍वरको घरले मानिसहरूको वृद्धिविकास र प्रयोग गर्छ। परमेश्‍वरको घरमा काम गर्ने विभिन्‍न मानिसहरूको कुनै तहगत भिन्‍नता हुन्छ? अहिलेको लागि, विभिन्‍न मानिसहरूको हैसियत, स्थान, योग्यता, वा पदमा कुनै तहगत भिन्‍नता छैन। कम्तीमा पनि, मानिसहरूलाई मुक्ति दिन र अगुवाइ गर्नको लागि परमेश्‍वरले काम गर्नुहुने अवधिमा, विभिन्‍न मानिसहरूको ओहदा, स्थान, योग्यता, वा हैसियतमा कुनै भिन्‍नता हुँदैन। एउटै मात्रै भिन्‍नता भनेको व्यक्तिले गर्ने काम र कर्तव्यको विभाजन मात्रै हो। अवश्य नै, यो अवधिमा, अपवादस्वरूप कतिपय मानिसहरूलाई बढुवा र वृद्धिविकास गरिन्छ, र तिनीहरूले केही विशेष काम गर्न पाउँछन्, जबकि कतिपय मानिसहरूले तिनीहरूको क्षमतासम्बन्धी समस्या वा पारिवारिक वातावरणजस्ता विभिन्‍न कारणहरूले गर्दा त्यस्तो अवसर पाउँदैनन्। तर त्यस्ता अवसरहरू नपाउनेहरूलाई के परमेश्‍वरले मुक्ति दिनुहुन्‍न? त्यस्तो त हुँदैन। के तिनीहरूको मोल र स्थान अरूको भन्दा सानो हुन्छ? हुँदैन। सत्यताको अगाडि सबै समान हुन्छन्, सबैले सत्यता खोजी गर्ने र प्राप्त गर्ने मौका पाउँछन्, र परमेश्‍वरले सबैलाई निष्पक्ष र उचित रूपमा व्यवहार गर्नुहुन्छ(वचन, खण्ड ४, अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने उहाँको घरमा, कुनै पनि कर्तव्यको ठूलो वा सानो हैसियत हुँदैन। कामको आवश्यकता अनुसार हरेकले फरक-फरक कर्तव्य लिन्छन्, तर सत्यताको अघि सबै जना समान हुन्छन्। हामीले जहाँ कर्तव्य पूरा गरिरहेको भए पनि, हामीसँग हैसियत भए पनि वा नभए पनि, परमेश्‍वरका वचनहरूले हामी हरेकलाई भरणपोषण गर्छन्। कसैको हैसियतको आधारमा उहाँले कसैप्रति पनि पूर्वाग्रह राख्‍नुहुन्‍न। उहाँको काम अनुभव गर्न र सत्यताको वास्तविकतामा प्रवेश गर्नको लागि हरेकको खाँचो अनुसार परमेश्‍वरले सबै किसिमका परिस्थितिहरू, घटना, र मानिसहरू मिलाउनुहुन्छ। उहाँले कुनै पनि व्यक्तिलाई सत्यता अभ्यास गर्ने र त्यसमा प्रवेश गर्ने मौकादेखि वञ्चित गर्नुहुन्‍न। परमेश्‍वरले हरेक व्यक्तिसँग निष्पक्ष र धर्मी व्यवहार गर्नुहुन्छ। सत्यता प्राप्त गर्ने वा परमेश्‍वरद्वारा मुक्ति दिइने कुरा व्यक्तिको कर्तव्यद्वारा निर्धारित हुँदैन, तर उसको आफ्‍नै खोजीमा निर्भर हुन्छ। अगुवा हुनुको अर्थ परमेश्‍वरले विशेष रूपमा तपाईंलाई अनुग्रह र अन्तर्दृष्टि दिनुहुन्छ, तर साधारण विश्‍वासीहरूलाई बेवास्ता गर्नुहुन्छ भन्‍ने हुँदैन। मानिसहरूको सत्यताप्रतिको खोजी र आचरणको आधारमा परमेश्‍वरले मानिसहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ र भरणपोषण गर्नुहुन्छ। हामी यसमा उहाँको धार्मिकतालाई देख्‍न सक्छौँ। हरेकको फरक-फरक कर्तव्य हुन्छ र तिनीहरूले फरक-फरक कुराको सामना गर्छन्, तर तिनीहरूले प्रकट गर्ने अहङ्कारी, धूर्त भ्रष्ट स्वभावहरू उही हुन्छन्। तिनीहरू सत्यताको खोजी र अभ्यास गर्न, अनि भ्रष्टतालाई त्याग्‍न तयार छन् भने, तिनीहरूले सत्यता प्राप्त गर्न र परमेश्‍वरको मुक्ति पाउन सक्छन्। अर्कोतर्फ, यदि कुनै व्यक्ति सत्यताको पछि लाग्दैन, समस्याहरूको सामना गर्ने सत्यताको खोजी वा अभ्यास गर्दैन भने, उसले जुनसुकै कर्तव्य पूरा गरे पनि वा उसले जसरी तालिम पाए पनि, उसले कहिल्यै पनि सत्यता प्राप्त गर्न सक्दैन र परमेश्‍वरको मुक्ति पाउन सक्दैन। म जस्तै, त्यति धेरै वर्ष अगुवा भएर, मैले त्यति धेरै मौका पाएर पनि, मैले वास्तवमा कति धेरै सत्यता प्राप्त गरेकी थिएँ? मेरो कर्तव्यमा गरिएको परिवर्तनले मलाई निराश तुल्यायो, गलतबुझाइ भयो, र मैले गुनासो गरेँ। म परमेश्‍वरप्रति अलिकति पनि आज्ञाकारी थिइनँ र मसँग कुनै सत्यताको वास्तविकता थिएन। म यसको उत्कृष्ट उदाहरण थिएँ। र पनि, मैले मूर्ख तरिकाले के सोचिरहेँ भने मुक्तिको लागि हैसियत अत्यावश्यक छ। हैसियतले मेरो मनमस्तिष्क भरेको थियो। कतिपय ब्रदर-सिस्टरहरू कहिल्यै पनि अगुवा भएका हुँदैनन् तर तिनीहरूले सत्यता खोजिरहन्छन्, आफ्‍नो कर्तव्यमा बोझ उठाउँछन्, परिस्थिति आइपर्दा सत्यताको खोजी गर्न, र आफूले जानेको सत्यतालाई लागू गर्न सक्छन्। तिनीहरूले देखाउने सत्यता क्रमिक रूपमा घट्दै जान्छ र तिनीहरू झन्-झन् बढी परमेश्‍वरमा समर्पित हुँदै जान्छन्। तिनीहरूसँग परमेश्‍वरका वचनहरूमा जिउनुको वास्तविक गवाही हुन्छ। त्यसरी परमेश्‍वरको अनुमोदन र आनन्द प्राप्त हुन्छ। यसले मलाई परमेश्‍वरले भन्‍नुभएको यो वचन याद दिलायो: “यदि तैँले साँच्चिकै पछ्याइस् भने म तँलाई जीवनको मार्ग सम्पूर्ण रूपमा दिन, तँलाई पानीमा फर्किएको माछा जस्तो बनाउन इच्छुक छु। यदि तैँले साँच्चिकै पछ्याउँदैनस् भने, म सबै फिर्ता लिनेछु। आरामको लोभ गर्नेहरूलाई म मेरा मुखका वचनहरू दिन तयार छैनँ, जो सुँगुर र कुकुरहरू जस्ता छन्(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। प्रभु येशूले पनि एक पटक यसो भन्‍नुभएको थियो, “किनकि जोसँग छ, उसैलाई दिइनेछ, र ऊसँग प्रशस्‍त हुनेछ: तर जोसँग छैन, ऊबाट ऊसँग भएको पनि खोसिनेछ(मत्ती २५:२९)। परमेश्‍वरले हामीसँग निष्पक्ष र धर्मी व्यवहार गर्नुहुन्छ र सत्यतामा कुनै पूर्वाग्रह हुँदैन। साधारण विश्‍वासी र अगुवाहरूले सत्यतालाई प्राप्त गर्ने उस्तै मौका पाएका हुन्छन्। मुख्य कुरा भनेको व्यक्तिले सत्यताको खोजी गर्ने सङ्कल्प गरेको छ कि छैन, र उसले यसलाई अभ्यास गर्न सक्छ कि सक्दैन भन्‍ने नै हो। यो कुरा बुझेपछि मैले साँच्‍चै नै अन्तर्दृष्टि पाएँ। पहिले त, म सधैँ म अगुवा भइनँ भने मैले अभ्यास गर्ने त्यति धेरै मौका पाउनेछैन, त्यसपछि मैले मुक्ति पाउने आशा कम हुन्छ भनेर चिन्ता गर्थेँ। मैले परमेश्‍वरले मलाई हटाउन चाहनुहुन्छ, र मलाई उप्रान्त मुक्ति दिनुहुन्‍न भन्‍ने समेत सोचेकी थिएँ। ती परमेश्‍वरप्रतिको मेरा धारणा र कल्‍पनाहरू थिए, र त्यो ईश्‍वर निन्दा थियो। परमेश्‍वरको उत्कट अभिप्रायहरूलाई मैले बुझेकी नै थिइनँ। यसको बारेमा राम्ररी विचार गर्दा थाहा हुन्छ, त्यतिका वर्षको विश्‍वासमा म गलत खोजीमा थिएछु, आशिष्‌ पाउनको लागि मात्रै आफ्‍नो कर्तव्य पूरा गर्ने गरेकी रहेछु, अनि मेरो यो खोजी महान् छ भन्‍ने सोचेकी रहेछु। म आफ्‍नै गलत छविको भ्रममा परेकी थिएँ, र मैले आफ्‍नो बारेमा आत्म-चिन्तन गरिनँ वा आफूलाई चिनिनँ। मेरो कर्तव्यमा आएको यस परिवर्तनले मेरो विश्‍वासमा रहेको गलत दृष्टिकोणलाई प्रकट गर्‍यो, र म बल्‍ल आफ्‍नो बारेमा मनन गर्न र आफूलाई चिन्‍न परमेश्‍वरको अघि आएँ। मैले आफ्‍नो भ्रष्टता र मेरो दृष्टिकोणमा रहेका समस्याहरूका बारेमा केही बुझाइ प्राप्त गरेँ, र परमेश्‍वरको धार्मिकतालाई देखेँ। मैले परमेश्‍वरले कसलाई मुक्ति दिनुहुन्छ र कसलाई हटाउनुहुन्छ त्यसको बारेमा पनि सिकेँ। मैले परमेश्‍वरप्रति केही समर्पणता प्राप्त गरेँ। यो परिस्थिति साँच्‍चै नै मप्रतिको परमेश्‍वरको सुरक्षा र मुक्ति थियो।

पछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, जुन खण्डले मलाई मेरो प्रवेशको मार्ग देख्‍न सहयोग गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छ, “परमेश्‍वरको सृष्टिको रूपमा, मानिसले परमेश्‍वरको सृष्टिको कर्तव्य निभाउने प्रयास गर्नुपर्छ, र अरू कुनै छनौटहरू नगरीकन परमेश्‍वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्‍वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्‍वरलाई प्रेम गर्न खोज्नेहरूले कुनै पनि व्यक्तिगत लाभहरूको खोजी गर्ने वा आफूले व्यक्तिगत रूपमा तृष्णा गर्ने कुराहरूको खोजी गर्ने गर्नु हुँदैन; खोजी गर्ने सबैभन्दा सही माध्यम यही हो। यदि तैँले सत्यताको खोजी गर्छस् भने, यदि तैँले सत्यता अभ्यास गर्छस् भने, र यदि तैँले आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तैँले हिँड्ने मार्ग सही छ। … तँलाई सिद्ध पारिनेछ कि हटाइनेछ भन्‍ने कुरा तेरो आफ्‍नै खोजीमा निर्भर हुन्छ, भन्‍नुको अर्थ सफलता वा असफलता मानिसले हिँड्ने मार्गमै निर्भर हुन्छ(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। मैले परमेश्‍वरका वचनहरूमा अभ्यासको मार्ग भेट्टाएँ। म सृष्टि गरिएको प्राणी हुँ, त्यसकारण परमेश्‍वरले जे तय गर्नुभए पनि, म उहाँको नियम र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ। मैले आशिष्‌हरू र इनाम पाउनकै लागि मात्रै विश्‍वास गर्नु हुँदैन र कर्तव्य पूरा गर्नु हुँदैन। मैले मुक्ति पाए पनि नपाए पनि, आशिष्‌ पाए पनि नपाए पनि, जबसम्‍म बाँच्छु, तबसम्‍म मैले सत्यता र परमेश्‍वरको ज्ञानको खोजी गर्नुपर्छ। अन्त्यमा परमेश्‍वरले मलाई इन्कार गर्नुभयो र हटाउनुभयो भने पनि, त्यो उहाँको धार्मिकता हुनेछ। परमेश्‍वरको इच्‍छा बुझेपछि, म आफूले पूरा गर्ने कर्तव्यद्वारा त्यति प्रभावित भइन। मैले मण्डलीका बन्दोबस्तहरूलाई शान्त भएर स्वीकार गर्न सकेँ।

मेरो कर्तव्यमा भएको परिवर्तनमार्फत, मेरो विश्‍वासमा मैले गरेको खोजीमा रहेका मेरा गलत दृष्टिकोणहरूका बारेमा सिकेँ। मैले के पनि सिकेँ भने कसैले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा उसको हैसियत वा उसले कति धेरै काम गरेको छ त्यसमा भर पर्दैन। मुख्य कुरा भनेको उसले सत्यता प्राप्त गरेको छ कि छैन, ऊ साँचो रूपमा परमेश्‍वरमा समर्पित हुने व्यक्ति हो कि होइन त्यही नै हो। कसैले सत्यता प्राप्त गर्न र आफ्‍नो विश्‍वासमा जीवन स्वभावलाई परिवर्तन गर्न सक्छ कि सक्दैन त्यही नै महत्त्वपूर्ण कुरा हो। त्यहाँदेखि, मैले अघि बढेर परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्‍नो कर्तव्य पूरा गर्न मात्रै चाहना गर्न थालेँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

म अहङ्कारबाट कसरी मुक्त भएँ

सन् २०१९ को जूनमा मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। एक वर्षपछि मैले मण्डली अगुवाको रूपमा मेरो कर्तव्य...

सुसमाचार सुनाउँदाको अनुभव

फुसु, दक्षिण कोरिया मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कार्य स्वीकारेपछि सुसमाचार सुनाउन थालें। जस्तै कठिनाइहरू आइपरे तापनि म...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्