कर्मचारी हेरफेर गर्दा मेरो खुलासा भयो

25 फेब्रुअरी 2023

सन् २०२१ को मार्चमा, म मण्डलीको सुसमाचार कामको इन्‍चार्ज थिएँ। मैले मेरा जिम्‍मेवारीहरूको बृहत् क्षेत्र र सुसमाचार प्रचारकहरूको कमीबारे अगुवालाई रिपोर्ट गरेँ, त्यसकारण उनले सुसमाचार प्रचारमा सहयोग गर्न सिस्टर लीयू जियाओलाई पठाइन्। लीयू जियाओ एक समय अगुवा थिइन्, र उनीसँग केही समय बिताएपछि, मैले उनी सुसमाचार ग्रहण गर्ने सम्भाव्य मानिसहरूका समस्या परमेश्‍वरको वचन प्रयोग गरेर समाधान गर्न निकै सिपालु छिन् भन्‍ने थाहा पाएँ। सोचेँ, “मैले उनलाई राम्ररी तालिम दिएँ भने, उनी पक्‍कै पनि सुसमाचार प्रचार गर्ने र परमेश्‍वरको गवाही दिने व्यक्ति बन्‍नेछिन्, त्यसपछि अगुवाले मलाई काम गर्ने र मानिसहरूलाई तालिम दिने मेरो क्षमताको निम्ति प्रशंसा गर्नेछिन्।” त्यसपछि, म सुसमाचार प्रचार गर्न लीयू जियाओलाई आफूसँगै लैजान्थेँ, र म उनीसँग प्रायः सङ्गति गरेर उनका समस्याहरू समाधान गर्थेँ। केही समयपछि, उनले धेरै प्रगति गरिन्, र सुसमाचार कामबाट उनले निकै राम्रा परिणामहरू प्राप्त गरिरहेकी थिइन्। म कति खुसी छु भन्‍ने कुरा लुकाउन सक्दिनथेँ, र हरेक दिन आफ्‍नो कर्तव्यको निम्ति ममा असीमित शक्ति हुन्थ्यो।

एक दिन, अगुवाले मलाई सोधिन्, “आजभोली मण्डलीमा धेरै नयाँ विश्‍वासीहरू आइरहेका छन् र थप मलजलकर्ताहरूको तुरुन्तै आवश्यकता परेको छ। ब्रदर-सिस्टरहरूमध्ये क-कसले सत्यता बुझ्‍न र नयाँ विश्‍वासीहरूलाई मलजल गर्न सक्छन्?” मैले खुसी हुँदै भनेँ, “लीयू जियाओको क्षमता राम्रो छ, उनले चाँडै सत्यता सिक्छिन्, र सत्यतामा स्पष्टसित सङ्गति गर्छिन्। उनी एकदमै सही हुनेछिन्।” त्यसपछि अगुवाले यस्तो भनिन्, “त्यसोभए, लीयू जियाओलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने पठाउनुहोस्।” उनले यसो भनेको सुन्दा मेरो मुटु ढुकढुक भयो र मनमनै विचार गरेँ, “मैले उनलाई तालिम दिन यति प्रयास गरेपछि तिमी चाहिँ उनलाई खुरुक्क सरुवा गर्न लागेकी? मैले तिमीलाई साँचो कुरा बताउनुहुन्थेन रहेछ। यदि तिमीले मेरो यस्तो दाहिने हातलाई सरुवा गर्‍यौ भने, मैले अर्को व्यक्तिलाई तालिम दिन फेरि मूल्य चुकाउनुपर्नेछ। मलजलकर्ता पुगेन भने, अर्को मण्डलीका मानिसहरू सरुवा गर्न सक्दिनौ? तिमीले लीयू जियाओलाई सरुवा गर्‍यौ भने, यो महिना हाम्रो सुसमाचार काम त्यति प्रभावकारी हुनेछैन। त्यसपछि तिमी मलाई के सोच्‍नेछौ? के तिमीले मलाई असक्षम ठानेर बर्खास्त गर्नेछौ? अहँ हुँदैन! म लीयू जियाओलाई जान दिन सक्दिनँ।” यो सोचेपछि, मैले अगुवालाई भनेँ, “मलजलको काम महत्त्वपूर्ण छ, तर के सुसमाचार काम पनि त्यतिकै महत्त्वपूर्ण छैन र? यसपटक तपाईंले अर्को मण्डलीको कसैलाई सरुवा गरेर, अर्कोपटक चाहिँ आवश्यकता परेमा लीयू जियाओलाई सरुवा गर्न सकिन्छ कि?” म के सोच्दै छु भन्‍ने अगुवालाई थाहा भयो र यसो भन्दै सङ्गति गरिन्, “हामीले मण्डलीको समग्र कामबारे सोच्नैपर्छ। आफ्नो बोझ कम गर्न प्रतिभाशाली मानिसहरूलाई आफूसँगै राख्‍नु स्वार्थ हो। अहिले मण्डलीमा धेरै नयाँ विश्‍वासीहरू भित्रिरहेका छन् तर मलजलकर्ता पर्याप्त नभएकाले, धेरै नयाँ विश्‍वासीहरूले समयमा मलजल पाइरहेका छैनन्, र कतिलाई चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक संसारका अफवाहहरूले धम्की र बाधा दिइसकेका छन्, र तिनीहरू भेला हुन असाध्यै डराउँछन्। कतिले त विश्‍वासै त्यागेका छन्। सुसमाचारको काम ठ्याक्कै बीउ छर्नुजस्तै हो। यदि बीउ मात्रै छर्नुभयो र पानी हाल्‍नुभएन भने, यो सब व्यर्थ हुन्छ! त्यसकारण, अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको जतिसक्दो चाँडो नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने मानिसहरू मिलाउनु हो। लीयू जियाओलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्न लगाउनु मलजल कामको आवश्यकता हो। हामीले मण्डलीको कामको रक्षा गर्नुपर्छ। यदि हामीले आफ्‍नो बोझ हल्‍का गर्न अनि आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन मात्रै मानिसहरूलाई आफूसँग राख्‍न चाहन्छौँ भने, हामीले परमेश्‍वरको इच्‍छा पालना गरिरहेका हुँदैनौँ!” अगुवा सही थिइन्। लीयू जियाओको परिस्थिति हेर्दा, उनी नयाँ विश्‍वासीहरूलाई मलजल गर्न अझ उपयुक्त थिइन्, साथै, नयाँ विश्‍वासीहरूलाई मलजलकर्ताको नितान्त खाँचो थियो। मैले आफ्‍नै प्रतिष्ठा र हैसियतबारे मात्रै सोचिरहेकी थिएँ, र लीयू जियाओलाई सरुवा गरिने र सुसमाचार काममा असर पुग्‍ने कुरा सोच्दा म व्याकुल भएँ। तर अर्को मनले सोच्दा, नयाँ विश्‍वासीहरूलाई मलजल गर्न पटक्कै कुनै ढिलाइ हुनु हुँदैनथ्यो, त्यसकारण अगुवालाई यसो भन्‍नेबाहेक मसँग कुनै विकल्‍प थिएन, “तपाईंलाई जे उचित लाग्छ त्यही गर्नुहोस्। यदि उनलाई साँच्‍चै सरुवा गरिनुपर्ने हो भने मेरो भन्नु केही छैन…।” घर पुगेपछि, म यस विषयमा नसोची बस्‍न सकिनँ, त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! अगुवाले लीयू जियाओलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्न खटाउनु सिद्धान्तअनुरूप छ भन्‍ने मलाई थाहा छ, तर म यो स्विकार्नै सक्दिनँ। बिन्ती छ, मलाई अन्तर्दृष्टि दिनुहोस् र आफ्‍नो भ्रष्ट स्वभाव चिन्न मदत गर्नुहोस्।”

त्यसपछि मैले परमेश्‍वरको यो वचन पढेँ। “परमेश्‍वरको घरको कामको क्षेत्रभित्र, कामको समग्र आवश्यकताको आधारमा, केही व्यक्तिहरूलाई स्थानान्तर गरिनुपर्ने हुन सक्छ। यदि मण्डलीबाट एकदुई जना मानिसहरूलाई स्थानान्तर गरियो भने, मण्डलीका अगुवाहरूले यस मामिलालाई सम्हाल्ने बुद्धिमानी तरिका के होला? तिनीहरू समग्र हितहरूबारे नभई, आफ्‍नै मण्डलीको कामबारे मात्रै चिन्तित हुन्छन् भने के समस्या हुन्छ? किन मण्डली अगुवाका रूपमा तिनीहरूले परमेश्‍वरको घरका समग्र बन्दोबस्तहरू पालना गर्न सक्दैनन्? के त्यस्तो व्यक्तिले परमेश्‍वरको इच्‍छाको ख्याल गर्छ र कामको समग्र चित्रमा ध्यान दिन्छ? यदि तिनीहरूले परमेश्‍वरको घरको कामलाई समग्र रूपमा सोच्दैनन्, केवल आफ्‍नै मण्डलीका हितहरूबारे सोच्छन् भने, के तिनीहरू अत्यन्तै स्वार्थी र घृणास्पद हुँदैनन् र? मण्डली अगुवाहरू बिनासर्त परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूमा, अनि परमेश्‍वरको घरका केन्द्रीय बन्दोबस्त र समन्वयमा समर्पित हुनुपर्छ। यो कुरा सत्यताका सिद्धान्तअनुरूप हुन्छ। परमेश्‍वरको घरको कामले मागेमा, व्यक्ति जोसुकै भए पनि, हरेक व्यक्तिले परमेश्‍वरको घरका समन्वय र बन्दोबस्तहरूलाई मान्‍नुपर्छ, र कुनै पनि व्यक्तिगत अगुवा वा सेवकको स्वामित्वमा भएजस्तै गरी उसको नियन्त्रणमा बस्‍नु हुँदैन। परमेश्‍वरका चुनिएका जनहरूले परमेश्‍वरको घरका केन्द्रीय बन्दोबस्तहरूलाई पालना गर्नु स्वर्गले तोकेको र पृथ्वीले स्विकारेको कुरा हो, र यसलाई कसैले पनि उल्‍लङ्घन गर्न मिल्दैन। अगुवा वा सेवकले व्यक्तिगत रूपमा सिद्धान्तहीन र तर्करहित रूपमा स्थानान्तर गर्छ भने त्यसलाई अवज्ञा गर्न सकिन्छ, तर यस बाहेकका स्थानान्तरलाई परमेश्‍वरका सबै चुनिएका जनहरूले पालना गर्नुपर्छ, र कुनै पनि अगुवा वा सेवकसँग अरू कसैलाई नियन्त्रण गर्ने अधिकार वा कारण हुँदैन। के तिमीहरू यस्तो कुनै काम हुन्छ भनेर भन्छौ जुन परमेश्‍वरको घरको काम हुँदैन? के यस्तो कुनै काम हुन्छ जसमा परमेश्‍वरको राज्य सुसमाचारको विस्तार सामेल हुँदैन? यो सबै परमेश्‍वरको घरको काम हो, प्रत्येक काम बराबर छ, र यहाँ ‘तेरो’ र ‘मेरो’ हुँदैन। यदि स्थानान्तर गर्नु सिद्धान्तअनुरूप छ र मण्डलीको कामका मापदण्डहरूका आधारमा गरिएको हो भने, यी मानिसहरूको आवश्यकता जहाँ धेरै छ तिनीहरू त्यहीँ जानुपर्छ। तर, यस प्रकारको परिस्थितिको सामना गर्दा ख्रीष्टविरोधीहरूको प्रतिक्रियाचाहिँ कस्तो हुन्छ त? तिनीहरूले यी उचित मानिसहरूलाई आफ्‍नो हातमा राख्‍न र आफ्नो सेवा गराउनका लागि विभिन्‍न निहुँ र बहाना बनाउँछन्। उनीहरूले दुई साधारण मानिसहरू मात्र उपलब्ध गराउँछन्, र त्यसपछि कि त व्यस्तता छ भनेर, वा काम गर्ने हातहरूको कमी छ, मानिसहरू भेट्टाउन गाह्रो छ भनेर, र यदि यी दुईलाई सरुवा गरियो भने काम प्रभावित हुनेछ भन्दै तैँतिर दबाब पारिदिने बहाना खोज्छन्। अनि उनीहरूले के गर्नुपर्छ भनी तँलाई सोध्छन्, र तँलाई दोषी महसुस गराउँछन्। के दियाबलसले यस्तै प्रकारले काम गर्दैन र? अविश्‍वासीहरूले यसरी नै काम गर्छन्। के मण्डलीमा सधैँ आफ्‍नै हितहरू रक्षा गर्न खोज्ने मानिसहरू असल मानिसहरू हुन्? के उनीहरू सिद्धान्तअनुसार काम गर्ने मानिसहरू हुन्? अवश्यै होइनन्। तिनीहरू अविश्‍वासी र गैरविश्‍वासीहरू हुन्। अनि, के यो स्वार्थीपन र निकृष्टता होइन र?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभावको सारको सारांश (भाग एक))। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने परमेश्‍वरले आफ्‍नै व्यक्तिगत चासोहरूको मात्रै रक्षा गर्ने स्वार्थी मानिसहरूलाई तिरस्कार र घृणा गर्नुहुन्छ। मैले परमेश्‍वरका यी वचनहरू पढेपछि यो कुरा निकै स्पष्ट भयो: “के दियाबलसले यस्तै प्रकारले काम गर्दैन र? अविश्‍वासीहरूले यसरी नै काम गर्छन्। … तिनीहरू अविश्‍वासी र गैरविश्‍वासीहरू हुन्।” मलाई परमेश्‍वरले सामुन्ने बसेर मेरो खुलासा गरिरहनुभएको जस्तै लाग्यो, र मलाई लाजले लुकूँझैँ लाग्यो। मण्डलीलाई मलजलकर्ताको खाँचो छ, धेरै नयाँ विश्‍वासीहरू समयमा मलजल नपाएकोले विश्‍वास त्यागिरहेका छन्, र अगुवाले लीयू जियाओलाई तिनीहरूलाई मलजल गर्न खटाउनु पूर्णतया उचित र सिद्धान्तअनुरूप छ भन्‍ने मलाई थाहा थियो, तर मैले मण्डलीको कामलाई कुनै वास्ता गरिनँ, आफ्‍नै हितहरूलाई मात्रै ध्यान दिएँ। यदि लीयू जियाओलाई सरुवा गरियो भने, मैले अझ धेरै प्रयास गर्नुपर्छ र मूल्य चुकाउनुपर्छ भन्‍ने मलाई डर लाग्यो। मलाई कामको प्रभावकारिता घट्यो भने मेरो प्रतिष्ठा र हैसियतमा क्षति पुग्नेछ भन्‍ने पनि चिन्ता लाग्यो। यसले गर्दा, मैले “सुसमाचारको काम पनि महत्त्वपूर्ण छ र यसमा ढिलाइ हुनु हुँदैन” भन्‍ने बहानामा अगुवालाई बाधा दिएर लीयू जियाओको सरुवा रोक्‍ने प्रयास गरेँ। म साँच्‍चै स्वार्थी र घृणित थिएछु। मैले आफ्‍नै हितबारे मात्रै विचार गरिरहेकी थिएँ। म आफ्‍नो प्रतिष्ठा र हैसियत बढाउन मात्रै लीयू जियाओलाई आफ्‍नो साथमा राख्‍न चाहन्थेँ। के म अविश्‍वासीजस्तै थिइनँ र? अविश्‍वासीहरूको संसारका कर्पोरेट हाकिमहरूले मानिसहरूलाई केही सीप सिकाउँछन्, र उनीहरूले तिनीहरूका लागि मरीमरी काम गरेको तिनीहरू चाहन्छन्। त्यसरी नै, मैले एकलै लीयू जियाओलाई तालिम दिएकीले, उनी मेरो साथमा हुनुपर्छ र उनले मैले भनेका कुराहरू मान्‍नुपर्छ भन्‍ने सोचेँ। म साँच्‍चै नै अविवेकी रहेछु। मण्डलीले मलाई सुसमाचार कामको रेखदेख गर्ने काम दिएको थियो। यो मैले पूरा गर्नुपर्ने जिम्‍मेवारी र कर्तव्य थियो। यो मेरो व्यक्तिगत उद्यम थिएन; यो त मण्डलीको काम थियो। कर्मचारीहरूलाई कसरी सरुवा गरिएको र काम दिइएको थियो भन्ने कुरामा, अगुवाले मानिसहरूलाई कसरी सिद्धान्तअनुसार उचित रूपमा काम दिने भन्‍ने कुरा मूल्याङ्कन गरेकी थिइन्, र हस्तक्षेप गर्न म योग्य थिइनँ, बाधा दिने अधिकार हुनु त परको कुरा हो। मैले चुपचाप समर्पित भएर यसलाई स्विकार्नुपर्थ्यो; यो मात्रै उचित हुनेथ्यो। यो सोच्दा, मलाई आफ्‍नो कार्य र व्यवहारको लागि पछुतो भयो र घृणा जाग्यो। म तुरुन्तै पाप स्वीकार र पश्‍चात्ताप गर्दै, अनि आफ्‍ना स्वार्थी अभिप्रायहरू त्यागेर मण्डलीका बन्दोबस्तमा समर्पित हुन तयार हुँदै परमेश्‍वरसामु आएँ। भोलिपल्ट, मैले लीयू जियाओलाई उनी नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने जानेबारे सङ्गति दिएँ। यसरी अभ्यास गर्दा मलाई निकै ठूलो शान्ति र हल्का महसुस भयो।

चाँडै नै, मैले सिस्टर पेङ हुइझेन र ब्रदर याङ जिएसँग सुसमाचार काममा उचित हुने सबल पक्षहरू छन् भन्‍ने थाहा पाएँ, त्यसकारण म तिनीहरूलाई प्रायजसो सुसमाचार सुनाउन सँगै लान्थेँ र तालिम दिन निकै ध्यान दिन्थेँ। केही समयपछि, तिनीहरूले सुसमाचार प्रचारकका रूपमा चाँडै प्रगति गरे र राम्रा परिणामहरू प्राप्त गरे। स्वाभाविकरूपले, मेरो खुसीको सीमा रहेन, र समूहमा थप दुई जना सुसमाचार प्रचारक भएपछि, काममा पनि सुधार आयो, र मलाई आफ्‍नो कर्तव्यमा अझै जाँगर चल्यो। तर अचम्‍मको कुरो, केही हप्तापछि अगुवाले मलाई भने, “अरू ठाउँका मण्डलीहरूमा धेरै सुसमाचार काम गर्नु बाँकी छ र त्यहाँ सुसमाचार प्रचारकहरू पर्याप्त छैनन्। म ब्रदर याङ जिए र लू मिङलाई त्यहाँ पठाउन चाहन्छु। साथै, हुइजेनको क्षमता राम्रो छ र तिनी तालिमको योग्य छिन्। म तिनलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम रेखदेख गर्न खटाउन चाहन्छु।” यो सुनेपछि मेरो मन खिन्‍न भयो र म त बेलुन फुटेजस्तै अचानक लत्याकलुतुक भएँ, र कुर्सीमा थचक्क बसेँ, हलचल गर्नै सकिनँ। मनमनै सोचेँ, “एक व्यक्तिलाई सरुवा गर्नु एउटा कुरा हो, तर अहिले तिमीले तीन जनालाई सरुवा गरिरहेकी छौ? के तिमी मलाई गाह्रो बनाउने प्रयास गरिरहेकी छौ? यदि तिमीले मेरा यी तीन दाहिने हातहरू सरुवा गऱ्यौ र काममा समस्या भयो भने, के तिमीले म व्यावहारिक काम गर्दिनँ र झूटा अगुवा हुँ भनेर भन्‍नेछौ? त्यसपछि म बर्खास्त भएँ भने, मैले कसरी फेरि आफ्नो अनुहार देखाउने? म यो काम गर्न नसक्‍नेजस्तो देखिनेछु।” यो सोचेपछि, मैले तिखो जवाफ दिएँ, “एक जना पनि छोड्न सक्‍नुहुन्‍न? तीन जनालाई एकैपटक सरुवा गर्दा सुसमाचार काममा ढिलाइ हुँदैन र?” म कति बाधक रहेछु भन्ने अगुवाले देखिन् र मलाई सङ्गति दिइन्, तर मैले उनको एक शब्‍द पनि सुनिनँ। अगुवा गएपछि, मेरा तीन दाहिने हातलाई सरुवा गर्ने कुरामा मलाई फिटिक्कै चित्त बुझेन। ती तीन जनालाई सरुवा गरिएपछि मैले नयाँ मानिसहरूलाई तालिम दिनुपर्थ्यो, यसको लागि गर्नुपर्ने शारीरिक मेहनतको त कुरै नगरौँ, त्यसपछि काम भनेजस्तो राम्रो भएन भने, सबैले मलाई के सोच्‍नेछन्? के तिनीहरूले म त्यो पदमा नयाँ भएकीले मात्रै मैले जोसजाँगरले काम गरेकी हुँ, र मेरो सुरुको जोस सेलाएपछि पूर्णरूपमा अयोग्य भएँ भनेर भन्‍नेछन्? मैले यसबारे जति सोचेँ, म त्यति नै व्याकुल भएँ। मेरो मन भारी भयो र जोसजाँगर सबै गुम्यो। त्यसपछि, मैले आफ्‍नो कर्तव्यमा कुनै बोझ लिइनँ, र म आइपरेका कठिनाइहरू समाधान गर्न गम्‍भीरतासाथ लागिपरिनँ। अगुवाले अरू एक-दुई जनालाई सुसमाचार काम गर्न पठाइन् तर तिनीहरूलाई तालिम दिने इच्‍छा ममा थिएन। तिनीहरूले सुसमाचार काम थालेपछि, तिनीहरूले समाधान गर्न नसक्‍ने धेरै समस्या हुन्छन् भन्‍ने मलाई थाहा थियो, तर मैले तिनीहरूलाई ध्यान दिइनँ र तिनीहरूलाई गएर सिधै सुसमाचार प्रचार गर्न मात्र लगाएँ। क्रमिकरूपमा, मेरो हृदय झन्-झन् अँध्यारो हुँदै गयो, र मलाई म आफ्नो कर्तव्यमा पछि परिरहेकी छु जस्तो लाग्यो। मलाई मेरो स्थिति गलत छ भन्‍ने थाहा थियो, त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र आत्मचिन्तन गरेँ।

मैले आफ्नो भक्तिको समयमा परमेश्‍वरका यी वचनहरू पढेँ। “यदि ख्रीष्टविरोधीको अधीनमा रहेर काम गर्ने राम्रो क्षमता भएको व्यक्तिलाई अर्को कर्तव्य पूरा गर्न स्थानान्तर गरियो भने, ख्रीष्टविरोधीले आफ्‍नो हृदयमा हठी भएर यसलाई विरोध र इन्कार गर्छ—तिनीहरू यसबाट सबै सकियो भन्‍न चाहन्छन्, र तिनीहरूसँग अगुवा वा समूह अगुवा भएर काम गर्ने कुनै जाँगर हुँदैन। यो कस्तो समस्या हो? मण्डलीका बन्दोबस्तहरूप्रति किन तिनीहरूमा कुनै आज्ञापालन हुँदैन? तिनीहरूले आफ्नो ‘दाहिने हात’ को स्थानान्तर हुँदा यसले तिनीहरूको कामको प्रभावकारिता र प्रगतिमा असर गर्छ, र फलस्वरूप तिनीहरूको हैसियत र प्रतिष्ठामा असर पुग्‍नेछ, जसले गर्दा तिनीहरूले कामको प्रभावकारिता सुनिश्‍चित गर्नका लागि आफूले अझै धेरै परिश्रम गर्न र कष्ट भोग्‍न बाध्य हुनुपर्छ भन्‍ने सोच्छन्—जुन तिनीहरूले अन्तिम विकल्पको रूपमा मात्र गर्न चाहने कुरा हो। तिनीहरूलाई आरामको बानी परेको हुन्छ, र तिनीहरू अझै बढी परिश्रम गर्न वा कष्ट भोग्‍न चाहँदैनन्, त्यसकारण तिनीहरू त्यस व्यक्तिलाई जान दिन चाहँदैनन्। यदि परमेश्‍वरको घरले स्थानान्तरलाई जोड दिन्छ भने, तिनीहरूले यस कुरालाई ठूलो बनाएर आफ्‍नो काम गर्न इन्कार गर्छन्। के यो स्वार्थी र खराब कुरा होइन र? परमेश्‍वरका चुनिएका जनलाई परमेश्‍वरको घरले केन्द्रीय रूपमा अह्राउखटाउ गर्छ। यसको कुनै अगुवा, टोलीप्रमुख, वा व्यक्तिसँग कुनै सरोकार हुँदैन। सबैले सिद्धान्तअनुसार काम गर्नुपर्छ; यो परमेश्‍वरको घरको नियम हो। जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार व्यवहार गर्दैनन्, जब तिनीहरूले आफ्‍नै हैसियत र हितहरूको खातिर निरन्तर षड्यन्‍त्र रच्छन्, र आफ्नै शक्ति र हैसियतलाई दह्रिलो बनाउन असल क्षमता भएका दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो सेवा गर्न लगाउँछन् भने, के यो स्वार्थीपन र दुष्टता हुँदैन र? बाहिरबाट हेर्दा, असल क्षमता भएका मानिसहरूलाई आफ्नै साथमा राख्दा र परमेश्‍वरको घरलाई ती मानिसहरूलाई सरुवा गर्न नदिँदा, तिनीहरूले मण्डलीको कामको बारेमा सोचेर तिनीहरूलाई सरुवा हुन नदिएजस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले आफ्‍नै शक्ति र हैसियतको बारेमा मात्र सोचिरहेका हुन्छन्, मण्डलीको कामको बारेमा बिलकुलै सोचिरहेका हुँदैनन्। तिनीहरूले आफ्‍नो काम बरबाद होला र आफूलाई हटाइएला, र आफ्‍नो हैसियत गुम्ला भन्‍ने मात्रै चिन्ता गरिरहेका हुन्छन्। जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरको बृहत् कामको बारेमा सोच्दैनन्, बरु आफ्‍नै हैसियतको बारेमा मात्रै सोच्छन्, परमेश्‍वरको घरका हितहरूमा पुग्‍ने क्षतिको बारेमा कुनै हिसाबकिताब नगरी आफ्‍नै हैसियत जोगाउँछन्, र मण्डलीको काममा हानि पुर्‍याउँदै आफ्‍नै हैसियत र हितहरूको रक्षा गर्छन्, त्यो स्वार्थीपन र दुष्टता हो। यस्तो परिस्थितिको सामना गर्दा, व्यक्तिले कम्तिमा पनि आफ्नो अन्तस्करणले सोच्नुपर्छ: ‘यी मानिसहरू सबै परमेश्‍वरको घरका हुन्, तिनीहरू मेरो व्यक्तिगत सम्पत्ति होइनन्। म पनि परमेश्‍वरको घरको सदस्य हुँ। परमेश्‍वरको घरलाई मानिसहरूको सरूवा गर्नबाट रोक्‍ने मलाई के अधिकार छ र? मैले आफ्नै जिम्मेवारीको क्षेत्रभित्रको काममा मात्र ध्यान केन्द्रित गर्नुको सट्टा, परमेश्‍वरको घरको समग्र हितलाई विचार गर्नुपर्छ।’ विवेक र चेतना हुने व्यक्तिहरूमा यस्ता विचारहरू पाइनुपर्छ, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा यस्तो चेतना हुनुपर्छ। जब परमेश्‍वरको घरमा विशेष खाँचो हुन्छ, तब सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरको घरका बन्दोबस्तहरूलाई पालना गर्नु हो। झूटा अगुवा र ख्रीष्टविरोधीहरूमा त्यस्तो विवेक र चेतना हुँदैन। तिनीहरू सबै स्वार्थी हुन्छन्, तिनीहरूले आफ्‍नै बारेमा मात्रै सोच्छन्, र तिनीहरूले मण्डलीको कामको बारेमा सोच्दैनन्। तिनीहरूले आफ्नै आँखाअगाडि फाइदा हुने कुरा मात्रै सोच्छन्, तिनीहरूले परमेश्‍वरको घरको व्यापक कामबारे सोच्दैनन्, त्यसकारण तिनीहरू परमेश्‍वरको घरका बन्दोबस्तहरू पालना गर्न पूर्ण रूपमा असमर्थ हुन्छन्। तिनीहरू अत्यन्तै स्वार्थी र दुष्ट हुन्छन्। परमेश्‍वरको घरमा, तिनीहरू निडर भई बाधक बन्‍छन्, र अटेरी गर्ने दुस्साहस समेत गर्छन्, तिनीहरू मानवताको कमी भएका मानिसहरू हुन्, तिनीहरू दुष्ट मानिसहरू हुन्। ख्रीष्टविरोधीहरू त्यस्तै प्रकारका मानिसहरू हुन्। तिनीहरूले सधैँ मण्डलीको कामलाई, र दाजुभाइ-दिदीबहिनीहरूलाई, र परमेश्‍वरको घरको सम्पत्तिलाई समेत—तिनीहरूको अधिकारमा भएका सबै थोकलाई—आफ्नै निजी सम्पत्तिजस्तो व्यवहार गर्छन्। यिनीहरूलाई कसरी वितरण, स्थानान्तरण र प्रयोग गर्ने त्यो तिनीहरूकै तजबिजमा निर्भर हुन्छ, र परमेश्‍वरको घरलाई हस्तक्षेप गर्न अनुमति दिइँदैन। एकपल्ट ती कुराहरू तिनीहरूको हातमा पुगेपछि यस्तो लाग्छ मानौँ ती शैतानको कब्जामा छन्, र कसैलाई पनि ती कुराहरू छुने कुनै अनुमति हुँदैन। तिनीहरू ठूलाठालू र नाइके हुन्छन्, र तिनीहरूको क्षेत्रमा जाने जोकोहीले तिनीहरूको आदेश र प्रबन्धहरू पालन गर्नुपर्छ, र तिनीहरूअनुसार चल्नुपर्छ। यो ख्रीष्टविरोधीको चरित्रभित्रको स्वार्थीपन र निकृष्टताको प्रकटीकरण हो। तिनीहरूले सिद्धान्त अलिकति पनि पालन गर्दैनन्, परमेश्‍वरको घरको हितलाई कुनै विचार गर्दैनन्, र केवल तिनीहरूको आफ्नै हित र प्रतिष्ठाको बारेमा मात्र सोच्छन्—यी कुराहरू ख्रीष्टविरोधीहरूका स्वार्थीपन र दुष्टताका पहिचान हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभावको सारको सारांश (भाग एक))। परमेश्‍वरको वचन पढिसकेपछि, मलाई असाध्यै दुःख र अप्ठ्यारो लाग्यो। परमेश्‍वरले ख्रीष्टविरोधीहरू विशेष गरी स्वार्थी हुन्छन् र तिनीहरूमा कुनै मानवता हुँदैन भनेर प्रकट गर्नुहुन्छ। तिनीहरू आफ्नो जीवनमा परिस्थितिहरू आइपर्दा, आफ्‍नै प्रतिष्ठा र हैसियतबारे मात्रै विचार गर्छन्। तिनीहरू मानिसहरूलाई आफ्‍नो औँलामा नचाउन चाहन्छन्, मण्डलीमा बन्दोबस्त र हेरफेर हुन दिँदैनन्, र मण्डलीको कामलाई पटक्कै विचार गर्दैनन्। के मेरो काम र व्यवहार ख्रीष्टविरोधीको जस्तै थिएन र? सुपरभाइजरका रूपमा, मैले प्रतिभावान् व्यक्तिहरूलाई तालिम दिन ध्यान दिनुपर्थ्यो। त्यो मेरो जिम्‍मेवारी र कर्तव्य थियो। मण्डलीले कामका आवश्यकता, साथै हरेक व्यक्तिको क्षमता र प्रतिभाको आधारमा उचित तरिकाले कर्मचारीहरू हेरफेर गर्छ। मैले त्यसमा साथ दिनुपर्थ्यो, त्यो पालना गरेर आफ्‍नो कर्तव्य पूरा गर्नुपर्थ्यो। तर मैले मण्डलीको समग्र कामलाई पटक्‍कै विचार गरिनँ, र आफ्‍नै प्रतिष्ठा र हैसियत बढाउन यी प्रतिभावान् सुसमाचार प्रचारकहरूलाई आफूसँगै राख्‍नेबारे मात्रै विचार गरेँ। अगुवाले मानिसहरूलाई मेरो जिम्‍मेवारीको क्षेत्रबाहिर सरुवा गर्न चाहनेबित्तिकै, म बाधक र असन्तुष्ट बनेँ, र अप्रसन्न भएर काम छोड्नसमेत चाहेँ। म आफ्ना यी दाहिने हातहरूलाई सरुवा गरिन्छ र काममा समस्या आउन थाल्छ, अनि मेरो प्रतिष्ठा र हैसियत खतरामा पर्छ भनेर निरन्तर चिन्ता गर्थेँ। म साँच्‍चै स्वार्थी र घृणित थिएँ। के ममा मानवता वा समझ अलिकति पनि थियो र? मैले प्रकट गरेको स्वभाव कसरी ख्रीष्टविरोधीको भन्दा फरक थियो र? मलाई फरिसीहरू र अहिलेका धार्मिक संसारका पादरीवर्गबारे याद आयो। परमेश्‍वर काम गर्न देखापर्नुहुँदा, तिनीहरूले आफ्‍नो हैसियत र रोजीरोटी जोगाउन, विश्‍वासीहरूलाई परमेश्‍वरलाई पछ्याउन रोक्‍न आफ्ना सबै माध्यमहरू प्रयोग गरे। आफ्‍नो हैसियत र रोजीरोटीको खातिर, तिनीहरूले विश्‍वासीहरूलाई सधैँको लागि आफ्‍नो नियन्त्रणमा राख्‍ने प्रयास गरे। परिणामस्वरूप, तिनीहरू ख्रीष्टविरोधी बने र परमेश्‍वरले तिनीहरूलाई दण्ड र श्राप दिनुभयो। आफ्‍नै व्यवहारलाई फर्केर हेर्दा, मैले ब्रदर-सिस्टरहरूलाई सुसमाचार प्रचार गर्ने तालिम दिन थोरै मूल्य चुकाउँदा, तिनीहरू आफ्‍नो कर्तव्य आफै गर्न सक्‍ने भएका देखेपछि, यसलाई अरूको प्रशंसा पाउन आफ्नो क्षमताको पूर्ण प्रदर्शन गर्ने र आफ्ना प्रतिभाहरू देखाउने मौकाको रूपमा प्रयोग गर्न चाहेँ। यसले गर्दा, मैले अगुवालाई मेरो जिम्‍मेवारीको क्षेत्रबाहिर मानिसहरू सरुवा गर्न दिन चाहिनँ। म क्षमतावान् र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने यी प्रतिभावान् व्यक्तिहरूलाई आफूसँगै राखेर आफ्‍नो प्रतिष्ठा र हैसियत दह्रिलो बनाउन तिनीहरूको प्रयोग गर्न चाहन्थेँ। के मेरो व्यवहारको सार फरिसीहरू र धार्मिक संसारका ख्रीष्टविरोधीहरूका जस्तै थिएन र? परमेश्‍वरको घरको काम विभाजित हुँदैन। मानिसहरूलाई कामको लागि जहाँ आवश्यक छ त्यहीँ पठाइनुपर्छ। कर्मचारीहरूलाई सरुवा गर्ने यो उचित तरिका हो। तर राम्रो सामर्थ्य र कार्य क्षमता भएका ब्रदर-सिस्टरहरूलाई एकपछि अर्को गर्दै बढुवा दिएर पठाइएको देख्दा, मलाई आफ्‍नो दाहिने हात गुमेको, र मेरो काममा प्रत्यक्ष असर पर्नेछ जस्तो लाग्यो। मलाई मेरो प्रतिष्ठा र हैसियत खतरामा परिरहेको जस्तो लाग्यो, त्यसकारण मैले तिनीहरूलाई जान दिन चाहिनँ। अगुवाले यसबारे मसँग कुरा गर्दासमेत, मैले बहाना बनाउने, उनलाई बाधा दिने, आफ्ना दाहिने हातहरूलाई जान नदिने प्रयास गरेँ। मैले आफूलाई आफ्नो क्षेत्रको मालिक ठानेँ, र आफूले तालिम दिएका प्रतिभाहरू म एकलैले मात्रै प्रयोग गर्न पाउँछु भन्‍ने सोचेँ। के म स्थानीय उत्पीडकजस्तो बनेकी थिइनँ जसले आफ्‍नो स्थानलाई आफ्नै क्षेत्र भनी दाबी गर्छ? यी मानिसहरूलाई सरुवा गरिँदा, मलाई काममा असर पुग्नेछ, प्रतिष्ठा र हैसियतप्रतिको मेरो इच्‍छा पूरा हुनेछैन भन्‍ने चिन्ता लाग्यो, त्यसकारण म आफ्‍नो काममा सुस्त भएँ, र सुसमाचार कामका नयाँ कर्मचारीहरूले कतिपय सिद्धान्त बुझेका छैनन् भन्‍ने थाहा हुँदाहुँदै पनि, मैले तिनीहरूलाई बेवास्ता गरेँ र त्यतिकै सुसमाचार सुनाउन पठाएँ। मैले तिनीहरूलाई तालिम दिन चाहिनँ। आफ्‍नो व्यवहारलाई फर्केर हेर्दा, मेरो विवेक, समझ, र मानवता कहाँ थियो? मण्डलीले मलाई सुसमाचार कामको रेखदेख गर्ने काम दिएको थियो ताकि मैले ब्रदर-सिस्टरहरूसँग एउटै हृदय र मनको भएर सुसमाचार सुनाउन सकूँ र आ-आफ्नो स्थानमा रहेर हाम्रो कर्तव्य पूरा गर्न सकौँ। तर ममा लाजको अनुभूति थिएन, र ब्रदर-सिस्टरहरूलाई आफूले चाहेअनुसार प्रयोग गर्न नियन्त्रणमा राखेँ। यसो गरेर मैले परमेश्‍वरको विरोध गरिरहेकी थिएँ, आफूलाई उहाँको स्थानमा राखिरहेकी थिएँ, र ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ! मैले परमेश्‍वरको वचनको प्रकाश नपाएकी भए र तथ्यद्वारा कुरा प्रकट नभएको भए, मलाई आफ्‍नो ख्रीष्टविरोधी स्वभावको गम्‍भीरताबारे अझै थाहा हुनेथिएन र म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी छु, दुष्ट काम र परमेश्‍वरको विरोध गरिरहेकी छु भन्‍ने चेतना हुनेथिएन। यसबारे जति सोचेँ, मलाई त्यति नै डर लाग्यो, तसर्थ मैले परमेश्‍वरलाई मनमनै प्रार्थना गरेँ र पश्‍चात्ताप गरेँ, अनि अबदेखि परमेश्‍वरको विरोध गर्न चाहन्‍नँ, बरु समर्पित भएर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छु भनी भनेँ।

पछि, मैले परमेश्‍वरका अझै धेरै वचन पढेँ: “सत्यतालाई अभ्यास गर्नेहरूले काम-कुराहरू गर्ने क्रममा परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न सक्दछन्। जब तैँले परमेश्‍वरको छानबिनलाई स्वीकार गर्छस्, तेरो हृदयलाई सोझो तुल्याइन्छ। यदि तँ अरूलाई देखाउनका लागि मात्र काम गर्छस्, सधैँ अरूको प्रशंसा र आदर प्राप्त गर्न चाहन्छस्, तैपनि परमेश्‍वरको छानबिन स्विकार्दैनस् भने, के अझै पनि परमेश्‍वर तेरो हृदयमा हुनुहुन्छ त? यस्ता मानिसहरूमा परमेश्‍वरको निम्ति कुनै आदर हुँदैन। सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, वा हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनु आवश्यक हुन्छ। तैँले परमेश्‍वरको इच्छालाई ध्यान दिनुपर्छ र तँ आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्ध भएको छस् कि छैनस्, तँ बफादार बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तँसँग भएका सबै कुराहरू दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका लागि सम्पूर्ण हृदयले ध्यान दिएको छस् कि छैनस् भनी विचार गरेर यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरूलाई ध्यान दिनुपर्छ। तिनको बारेमा बारम्बार विचार गर् र तिनको समाधान गर्, र यसरी तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। “आफ्‍नो कर्तव्य पूरा गर्ने सबैको हकमा भन्दा, सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यताको वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्‍वरको घरको हितको बारेमा विचार गर्नु, र स्वार्थी इच्‍छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, गर्व, र हैसियतलाई त्याग्‍नु हो। परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य पूरा गर्दै गरेको व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य पूरा गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? यो त आफ्नो कर्तव्य पूरा गरेको कुरै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, परमेश्‍वरको इच्छाको ख्याल राख्‍नुपर्छ, अनि मण्डलीको कामको बारेमा सोच्नुपर्छ र यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्‍नुपर्छ; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी हेर्छन् सो बारेमा सोच्न सक्छस्। जब यसलाई तिमीहरूले यी चरणहरूमा विभाजन गर्छौ र केही सम्झौता गर्छौ तब मात्र तिमीहरूले यो अलि सहज भएको महसुस गर्दैनौ र? यदि तैँले केही समयसम्‍म यसरी अभ्यास गरिस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न गाह्रो छैन रहेछ भन्ने महसुस गर्नेछस्। यसको साथै, तैँले आफ्ना उत्तरदायित्वहरूलाई पूरा गर्न, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउन, आफ्ना स्वार्थी चाहनाहरूलाई पन्छाउन, आफ्ना आशयहरू र अभिप्रायहरूलाई पन्छाउन, परमेश्‍वरको इच्छाको बारेमा सोचविचार गर्न, र परमेश्‍वरको घरको हित, मण्डलीको काम र तैँले निभाउनुपर्ने कर्तव्यलाई सबैभन्दा अगाडि राख्‍न सक्‍नुपर्छ। तैँले केही समय यसलाई अनुभव गरिसकेपछि, यो नै व्यवहार गर्ने राम्रो शैली हो भन्ने कुरा तैँले महसुस गर्नेछस्। यो भनेको तुच्छ व्यक्ति वा बेकामे नबनीकन सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र घृणित वा निर्दयी बन्नुको साटो न्यायसंगत रूपले र सम्मानपूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा जिउनु र कार्य गर्नुपर्छ भन्ने तैँले महसुस गर्नेछस्। तेरा आफ्ना चासोहरू सन्तुष्ट पार्ने तेरो हृदय भित्रको चाहना क्रमिक रूपमा कम हुँदै जानेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरको वचनले मलाई अभ्यासको मार्ग देखायो, अर्थात् जे गरे पनि, अरूलाई देखाउनका लागि गर्नु हुँदैन, तर परमेश्‍वरको छानबिन स्विकार्नुपर्छ। जीवनमा परिस्थिति आइपर्दा, यसलाई सही मनोवृत्ति राखेर मण्डलीको कामलाई प्राथमिकता दिनुपर्छ, सधैँ परमेश्‍वरको इच्‍छा पालना गरेर मण्डलीको कामलाई ध्यान दिनुपर्छ। आफ्‍नो कर्तव्यमा परमेश्‍वरको इच्‍छाअनुरूप हुने एक मात्र तरिका यही हो। सुसमाचार कामका सुपरभाइजरको रूपमा, मैले प्रतिभावान् व्यक्तिहरूलाई होसियारीसाथ तालिम दिनुपर्छ ताकि तिनीहरूले राज्य सुसमाचार सुनाउने आफ्‍नो जिम्‍मेवारी पूरा गर्न सकून्। त्यहाँदेखि, मैले सचेत भएर परमेश्‍वरको वचनअनुसार अभ्यास गरेँ।

एक महिनापछि, एउटा भेलामा डोङ सिनले सङ्गति दिएको बेला, उनले स्पष्टसित सत्यतामा सङ्गति दिएको र आफूले प्रचार गरिरहेका मानिसहरूका समस्या समाधान गर्दा मुख्य बुँदाहरू बुझ्‍न सकेको मैले पाएँ। उनलाई तालिम दिएँ भने, उनी चाँडै नै सुसमाचार प्रचार गर्न सक्षम हुन्छिन् भन्‍ने मलाई लाग्यो। केही समयसम्‍म अभ्यास गरेपछि, डोङ सिनले सुसमाचार काममा केही असल परिणामहरू प्राप्त गरिन्, र उनीद्वारा सुसमाचार ग्रहण गरेका नयाँ विश्‍वासीहरूलाई मलजल गर्न पनि सकिन्। मैले मनमनै सोचेँ, “डोङ सिनको क्षमता नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कामको निम्ति सबैभन्दा उपयुक्त देखिन्छ। भर्खरै अगुवाले मलाई मलजलकर्ता पठाउन अनुरोध गरिरहेकी छिन्, त्यसैले के म डोङ सिनलाई पठाऊँ त?” तर एक मनले सोचेँ, “उनले आफ्‍नो कर्तव्यमा यस्तो राम्रो परिणाम प्राप्त गरिरहेकी छिन् र उनी समूहको सम्पत्ति हुन्। मैले उनलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्न पठाएँ भने मेरो मातहतको काममा असर पुग्‍नेछ?” त्यसपछि मलाई अचानक यो कुरा याद आयो, “के मैले फेरि पनि आफ्‍नै प्रतिष्ठा, हैसियत, र हितहरूबारे सोचिरहेकी छैनँ र?” मलाई परमेश्‍वरको यो वचन याद आयो, “निःस्वार्थ काम गर्नु, मण्डलीको कामको बारेमा सोच्‍नु, परमेश्‍वरलाई सन्तुष्ट पार्ने काम गर्नु मात्रै धर्मी र सम्‍मानजनक कार्य हो, र यसले मात्र तेरो अस्तित्वमा मोल थप्‍नेछ। पृथ्वीमा यस प्रकारले जिएर, तँ खुला र इमानदार भइरहेको छस्, तँ सामान्य मानवताअनुसार र मान्छेको साँचो स्वरूपमा जिइरहेको हुन्छस्, र तँमा शुद्ध विवेक हुनुका साथै तँ परमेश्‍वरले तँलाई प्रदान गर्नुभएका सबै कुराहरूका निम्ति योग्य हुन्छस्। तैँले जति धेरै यस प्रकारले जिउँछस्, त्यति नै बढी स्थिर भएको महसुस गर्नेछस्, र त्यति नै बढी शान्त र हर्षित महसुस गर्नेछस्। के यसरी तैँले परमेश्‍वरमाथिको विश्‍वासमा सही मार्गमा पाइला टेकेको हुँदैनस् र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरलाई आफ्नो साँचो हृदय दिँदा, सत्यता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने मण्डलीको सदस्यको रूपमा, हामीले परमेश्‍वरको घरका हितलाई सधैँ प्राथमिकता दिनैपर्छ र आफ्‍नो स्वार्थी इच्‍छा र युक्तिहरूलाई पन्छाउनुपर्छ। त्यसो गरेर, मानिसहरू उदार, चेतनशील, र विवेकशील बन्‍न सक्छन्। मैले अबदेखि आफ्‍नो हैसियत, प्रतिष्ठा, र हितहरूलाई विचार गर्नु हुँदैनथ्यो। मैले आफ्‍ना व्यक्तिगत हित र युक्तिहरूलाई पन्छाएर सही अभिप्राय राख्‍नुपर्थ्यो, र परमेश्‍वरको वचनअनुसार अभ्यास गर्नुपर्थ्यो। यो सोचेपछि, मैले अगुवालाई डोङ सिनबारे बताउँदै पत्र लेखेँ। चाँडै नै, उनले डोङ सिनलाई अर्को मण्डलीमा नयाँ विश्‍वासीहरूलाई मलजल गर्न खटाइन्। यसरी अभ्यास गरेपछि मलाई ठूलो राहत महसुस भयो।

यस अनुभवबाट मैले के सिकेँ भने, सही मनसाय राख्दा, मण्डलीको कामलाई प्राथमिकता दिँदा, र आफ्‍नो व्यक्तिगत हितहरूलाई विचार नगर्दा, मेरो हृदयले साँचो बोझ लिन सक्छ। मैले सुसमाचार प्रचार अभ्यास गराउन मण्डलीमा उपयुक्त मानिसहरू खोज्‍न, अनि कामका समस्या र गडबडीलाई सम्‍हाल्‍न र समाधान गर्न परमेश्‍वरमा भरोसा गर्न थालेँ। यसरी मैले वास्तविक मूल्य चुकाउँदा, काम खस्केर गएन, तर यसमा वास्तवमै सुधार आयो! डोङ सिनलाई सरुवा गरिएको घटनाद्वारा, मैले के सिकेँ भने, यदि आफ्‍नो कर्तव्यमा आफ्‍ना स्वार्थी इच्‍छाहरू पन्छाएर परमेश्‍वरको इच्‍छा खोजेँ, र मण्डलीको कामलाई प्राथमिकता दिएँ भने, मैले आफ्‍ना कर्तव्य र जिम्‍मेवारीहरू पूरा गर्न सक्ने मात्रै होइन, तर आफ्‍नो कर्तव्यमा परिणामहरू हासिल गर्नका साथै शान्ति र सहजता पनि अनुभूति गर्छु। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

रोगको कठिन परीक्षा

झोङ्गछिन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्