छोराको घातक रोगको सामना गर्दा

20 जनवरी 2022

लियाङ शिन्, चीन

दुई वर्षअघि मेरो छोराको कम्मरमा अचानक अत्यधिक पीडा सुरु भयो। हामीले जाँच गरायौं र डाक्टरले जाँचको परिणाम चिन्ताजनक रहेको, र थप जाँच गर्न ठूलो प्रान्तीय अस्पतालमा जानुपर्छ भने। डाक्टरले त्यसो भन्दा मेरो मुटुको ढुकढुकी नै रोकिएला जस्तो भयो, र छोरालाई गम्भीर रोग लागेको हुन सक्छ भनेर मलाई थाहा भयो। तर त्यसपछि सोचें, मैले यत्तिका समयसम्म परमेश्‍वरको लागि कर्तव्य र त्यागहरू गरिरहेकी छु र धेरै पीडा भोगेकी छु। कम्युनिष्ट पार्टीको भयङ्कर दमन र गिरफ्तारी अनि प्रियजनहरूको उपहास र निन्दा समेत भोग्‍नु परे पनि, म कहिल्यै पछि हटिनँ, आफ्नो कर्तव्यमा दृड भई डटिरहें। परमेश्‍वरको लागि मैले गरेका सबै कुरालाई विचार गर्दा, उहाँले मेरो छोरालाई कुनै पनि गम्भीर कुराबाट रक्षा गर्नुहुन्छ भन्‍ने मलाई लाग्यो। जाँचको रिपोर्ट आयो, उसलाई कलेजोमा क्यान्सर र सिरोसिस भएको रहेछ। ऊ तीनदेखि ६ महिनासम्म मात्र बाँच्छ भनेर डाक्टरले भने। म त छाँगोबाट खसेझै भएँ। र त्यहीं थचक्‍क बसें, हातखुट्टै चलेन। मलाई विश्‍वासै लागेन। ऊ ३७ वर्ष मात्र पुग्दैथियो—कसरी उसलाई यस्तो भयो? जाँचको रिपोर्ट मेरो हातमै थियो र मेरो हात थरथर काँपिरहेको थियो। कतै डाक्टरले गलत निदान पो गरे कि भनेर सोचें। म अक्‍क न बक्‍क भएर बेडको छेउमा बसें र केही क्षणसम्म कहाँ-कता छु केही थाहा पाइनँ। आँखाबाट बरबर आँशु झऱ्यो र सोचें, “ऊ जवानै छ—कसरी उसलाई यस्तो गम्भीर रोग लाग्यो? एउटै रोग त घातक हुन्छ, फेरि दुई-दुई वटा? ऊ त हाम्रो सहारा हो। ऊबिना हाम्रो परिवारले के गर्छ? मानिसमा जीवनको सबैभन्दा पीडादायी कुरा भनेको आफ्ना छोराछोरीलाई दफन गर्नु हो।” म त झन् झनै दयनीय स्थितिमा पुगिरहेकी थिएँ। साथीहरू र परिवारले मलाई गाली गरिरहेका थिए, “तिमी त परमेश्‍वरमा विश्‍वास गर्थ्यौ त, कसरी तिम्रो छोरा बिमार भयो? तिम्रो त्यो परमेश्‍वरले उसलाई रक्षा गरेकै छैन, यो त के फाइदा भयो र?” तिनीहरूले मलाई आफ्नो विश्‍वासलाई भुलिदिनू र छोराको स्याहारसुसार गर्नका लागि घरमै बस्‍नू भने। तिनीहरूको निन्दाले गर्दा मलाई साह्रै दुःख लाग्यो। आँखाबाट आँशुको भेल निरन्तर बग्‍न खोज्थ्यो र म अलमल्ल परेको थिएँ। मलाई प्रार्थना गर्न वा परमेश्‍वरका वचनहरू पढ्न समेत मन लागेन। म वास्तवमै अन्धकारमा थिएँ। मैले प्रार्थना गरें, “हे परमेश्‍वर, मेरो छोरा सिकिस्त बिरामी छ, मलाई असाध्यै साह्रो परिरहेको छ र म यो स्थिति सम्हाल्न सक्दिनँ। कृपया, तपाईंको इच्छा बुझ्न मलाई मार्गदर्शन गर्नुहोस्।”

एकदिन मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढें: “जाँचहरूबाट भएर जाँदा मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु वा परमेश्‍वरको इच्छा वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु सामान्य कुरा हो। तर कुनै पनि अवस्थामा परमेश्‍वरको कामप्रति तँमा विश्‍वास हुनुपर्छ, अनि जसरी अय्यूबले परमेश्‍वरलाई इन्कार गरेनन्, तैँले पनि त्यसो गर्नु हुँदैन। अय्यूब कमजोर थिए र तिनले आफू जन्मेको दिनलाई धिक्कारे पनि, तिनले मानव जीवनमा सबै थोकहरू यहोवाले नै दिनुहुन्छ र उहाँले नै सबै थोक लैजानुहुन्छ भन्‍ने कुरालाई इन्कार गरेनन्। तिनलाई जसरी जाँचिएको भए पनि तिनले यो विश्‍वास थामेर राखे। … परमेश्‍वरले मानिसहरूमा सिद्ध पार्ने काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो अनुभव गर्न सक्दैनन्; त्यस्तो परिस्थितिहरूमा, तेरो विश्‍वास आवश्यकता हुन्छ। मानिसहरूको विश्‍वास त्यत्ति बेला चाहिन्छ जब कुनै कुरा मानिसको नाङ्गो आँखाले देख्न सकिँदैन, तेरो विश्‍वास त्यसबेला चाहिन्छ, जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्। जब परमेश्‍वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले विश्‍वास गर्नुपर्छ र तैँले दह्रो धारणा लिएर र साक्षी बनेर खडा हुनुपर्छ भन्‍ने हो” (वचन देहमा देखा पर्नुहुन्छको “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ”)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझ्न सकें भने, मेरो छोरालाई गम्भीर रोग लाग्‍नु भनेको मेरो लागि एक प्रकारको परीक्षा हो र यसबाट पार पाउन आफ्नो विश्‍वासमा भर पर्नुपर्छ। मैले अय्यूबबारे सोचें, उनका सबै धनसम्पत्ति र गाईवस्तुहरू लुटिएको थियो, उनका सबै छोराछोरीको मृत्यु भयो, र उनको शरीरभरि पिलो आएको थियो। यस्तो ठूलो परीक्षा आइपर्दा समेत उनी परमेश्‍वरलाई दोष दिनुभन्दा आफूलाई सराप्‍न तयार थिए, र उनले यहोवाको नाउँको प्रशंसा गरे। उनले परमेश्‍वरका लागि शानदार गवाही दिए। अनि उनलाई यी सबै भइरहेको बेला, साथीहरूले उनको खिल्ली उडाए, पत्‍नीले पनि उनको निन्दा गरिन्, तिनीहरूले उनलाई परमेश्‍वरलाई त्यागेर मर्नू भने। बाहिरबाट हेर्दा, उनलाई उनकी पत्‍नी र साथीहरूले गाली गरेजस्तो देखिन्छ, तर वास्तवमा, शैतानले अय्यूबलाई मानव शब्दहरूद्वारा परमेश्‍वरलाई नकार्ने र धोका दिने परीक्षा गरिरहेको थियो। तर अय्यूब त्यसको बहकाउमा परेनन् र उनले आफ्नी पत्‍नीलाई मूर्ख स्‍त्री भनेर निन्दा समेत गरे। मेरा इष्टमित्र र परिवारले गरेको अक्रमणको पछि शैतानका चालहरू लुकेका छन् भनेर मलाई थाहा भयो। म अय्यूब जस्तो हुनुपर्थ्यो र परमेश्‍वरको गवाहीको रूपमा खडा हुनुपर्थ्यो। म तिनीहरूको व्यर्थको कुरा सुन्‍न सक्दिनथेँ। त्यस मोडमा, मैले आफू त्यति दयनीय र बेसहारा महसुस गरिनँ।

केही हप्तापछि उसको शल्यक्रिया भयो र क्यान्सरलाई नियन्त्रणमा ल्याइयो। मेरो विश्‍वासले गर्दा परमेश्‍वरले उसलाई कृपा देखाउनुभएको होला, उहाँले केही चमत्कार गर्नुभयो भने, ऊ निको हुन सक्छ भनेर मैले सोचें। मैले ऊ पुरै निको हुन्छ भन्‍ने आशा गरिररहेकी थिएँ, त्यसो भए कत्ति राम्रो हुनेथियो भनेर सोचें। त्यसपछि परमेश्‍वरका वचनहरूको यो खण्ड मेरो मनमा फुऱ्यो: “तैँले खोजी गर्ने कुरा भनेको परमेश्‍वरमा विश्‍वास गरिसकेपछि शान्ति प्राप्त गर्न सक्षम हुनु हो, तेरा छोराछोरी रोग-बिमारीबाट मुक्त होऊन् भन्‍ने हो, तेरो श्रीमानले राम्रो जागिर पाओस् भन्‍ने हो, तेरो छोराले असल श्रीमती पाओस् भन्‍ने हो, तेरो छोरीले योग्य श्रीमान पाओस् भन्‍ने हो, तेरो गोरु र घोडाले राम्ररी खेत जोतून् भन्‍ने हो, तेरो बालीको लागि वर्षभरि राम्रो मौसम होस् भन्‍ने हो। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको आराममा जिउनु मात्र हो, तेरो परिवारमा कुनै दुर्घटना नघटोस् भन्‍ने हो, तँबाट भएर बतास चलोस् भन्‍ने हो, तेरो अनुहार धूलोले नछुओस् भन्‍ने हो, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस् भन्‍ने हो, तँलाई कुनै पनि विपत्तिले असर नपारोस् भन्‍ने हो, परमेश्‍वरको अङ्गालोमा बस्‍न पाऊँ, आरामदायी निवासमा बस्‍न पाऊँ भन्‍ने हो। सँधै शरीरको खोजी गर्ने तँजस्तो कायर—के तँमा हृदय छ, के तँसँग आत्मा छ? के तँ जनावर होइनस् र? सट्टामा केही पनि नमागीकन नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्? मैले तँलाई साँचो मानव जीवन दिएको छु, तैपनि तँ यसलाई खोज्दैनस्। के तँ सुँगुर वा कुकुरभन्दा फरक छस् र?” (वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान”)। परमेश्‍वरका वचनहरूले विश्‍वासप्रतिका मेरा समस्याग्रस्त दृष्टिकोण र आशिषका मनसायहरू वास्तवमै स्पष्टसित खुलासा गरिदिए। मलाई एकदमै लज्जित महसुस भयो। मैले प्रभुमा विश्‍वास गर्दा, म आशिष् र अनुग्रहको पछि लागिरहेकी थिएँ, मेरो सारा परिवार आशिषित हुनेछ भनेर आशा गरिरहेकी थिएँ। मैले परमेश्‍वरका आखिरी दिनहरूको कार्य स्वीकार गरेदेखि परमेश्‍वरलाई अनुग्रह माग्दै निर्लज्जतापूर्वक प्रार्थना त कहिल्यै गरिनँ, तर म सत्यताको पछि लागिरहेकी र परमेश्‍वरलाई साँचो रूपलमा बुझेकी थिइनँ। मैले यस युगमा सय गुणा बढी र आउने युगमा अनन्त जीवनको चाहना गर्नु गलत थियो। मैले परमेश्‍वरको निम्ति त्यागहरू गरेकी हुनाले, उहाँले मलाई याद गर्नुहुनेछ र आशिष् दिनुहुनेछ, उहाँले मेरो परिवारलाई रोगबिमार र विपत्तिबाट बचाउनुपर्छ, हाम्रो जीवनलाई सहज बनाउनुपर्छ, र कुनै पनि भयानक दुर्घटनाबाट जोगाउनुपर्छ भनेर सोचें। सोही कारण, मैले आफ्नो कर्तव्य पूरा गर्नका लागि आफ्नो घर र जागिर त्यागें, कुनै पनि पीडा सहन पूर्ण रूपले खुसी थिएँ। तर मेरो छोरालाई क्यान्सर भएको पत्ता लाग्दा, उसलाई बिरामी देखेर म त पीडाको दलदलमा पुरै डुबें, र कर्तव्यप्रतिको मेरो जोस-जाँगर सबै सेलायो। मैले कत्ति गुमाएँ, कत्ति पीडा भोगें भन्दै तुच्छ हिसाबकिताब गरिरहेकी थिएँ, परमेश्‍वरसँग बहस गर्दै थिएँ, मेरो छोरालाई रक्षा नगरेकोमा उहाँलाई दोष दिँदै थिएँ। मैले भोगेको परिस्थिति अनि परमेश्‍वरका वचनहरूको न्याय र प्रकाशले विश्‍वासको पछि लाग्‍नुपछाडिको मेरो दृष्टिकोण गलत थियो भनेर देखाए। मैले विश्‍वासको खातिर सत्यताको पछि लाग्‍न र आफूलाई भ्रष्टताबाट मुक्त गर्नका लागि सबै कुरा त्यागिरहेकी थिइनँ, यो त परमेश्‍वरका अनुग्रह र आशिष् प्राप्त गर्नका लागि गरिरहेकी थिएँ। मैले परमेश्‍वरसँग लेनदेन गरिरहेको थिएँ, उहाँलाई प्रयोग र छल गरिरहेकी थिएँ। मैले आफ्नो परिवारलाई आँधीबेह्री, बिमारी र विपत्तिबाट बचाउनका लागि दत्तचित्तले परमेश्‍वरको पछि लागिरहेकी थिएँ। कसरी म ती धार्मिक मानिसहरूभन्दा फरक भएँ र, जो रोटी खान्छन् र तृप्त हुन्छन्? मेरो खोजीपछाडिको मेरो दृष्टिकोण कत्ति तुच्छ रहेछ भनेर मैले बुझें। त्यस मोडमा, म परमेश्‍वरप्रति असाध्यै ऋणी भएको महसुस गरें, र प्रार्थनाद्वारा उहाँसामु आएँ, आफ्नो छोराको स्वास्थ्य परमेश्‍वरको हातमा छोड्न अनि उहाँको शासन र प्रबन्धहरूप्रति समर्पित हुन तयार भएँ।

त्यसपछि मेरो छोराको एकपछि अर्को गर्दै तीन वा चारपटक शल्यक्रिया भयो, र उसको अवस्था झन् झन् राम्रो हुँदै आएको जस्तो देखियो। उसले राम्रसँग खानेकुरा खान थाल्यो र हल्का कसरतहरू गर्न सक्‍ने भयो। मेरो खुसीको सीमा नै रहेन, विशेष गरी, उसलाई आफ्नो छोरासित गाउँदै र नाच्दै गरेको देख्दा र उसलाई पूर्ण स्वस्थ देख्दा म साह्रै खुसी भएँ। उसको बाँच्ने आशा छ भन्‍ने मलाई लाग्यो। म के सोच्दैथिएँ भने, मानव दृष्टिकोणबाट हेर्दा, उसको रोग एउटा मृत्युदण्ड थियो र ऊ छ महिनाभन्दा धेरै बाँच्नेथिएन। तर त्यो समय बितिसकेको थियो र ऊ एकदमै ठीकठाक थियो। यो त परमेश्‍वरको आशिष् र सुरक्षा हो। यदि स्थिति यस्तै भइरह्यो भने, ऊ पुरै निको हुन्छ जस्तो देखिन्थ्यो। तर मैले सोचे जस्तो भएन। अचानक उसले खानेकुरा निल्नै नसक्‍ने भयो, उसको पेट फुल्दै गयो र बस्‍नै नसक्‍ने भयो। उसको जाँच गराइयो र क्यान्सर फैलिएको त थिएन, तर सिरोसिस झन् बढेको थियो र कलेजोमा पानी जम्दै थियो। मलाई लाग्यो, उसको मृत्य पल-पल नजिकिंदैछ, र मलाई फेरि निराशाले छोप्यो। मेरो छोराको अवस्थामा स्पष्ट सुधार भएको देख्दा देख्दै फेरि किन अवस्था बिग्रन थाल्यो भनेर मैले बुझिनँ। ऊ एकदमै असल छोरा थियो, सबैसित मिल्थ्यो, कहिल्यै केही नराम्रो कुरा गरेन। साथीसँगी, परिवार र छरछिमेक सबैले उसको गुणगान गाउँथे। ऊ मेरो विश्‍वासबारे त्यति उत्साहित पनि थिएन र मेरो रोकावट पनि बनेन। किन उसलाई यस्तो घातक रोग लाग्यो? पछि मैले सोच्दै थिएँ कि मैले विश्‍वासीको हैसियतमा आफ्नो सारा समय सुसमाचार बाँडेर बिताइरहेकी थिएँ, मण्डलीमा आइपर्ने कुनै पनि कुराको लागि म नै प्रमुख जिम्मेवार थिएँ। पार्टीद्वारा दमन र गिरफ्तारी भएकोले गर्दा मेरो परिवारले मेरो विश्‍वासको विरोध गर्न थाल्यो, तर जस्तोसुकै विरोध आए पनि, म कहिल्यै पछि हटिनँ। मैले आफ्नो कर्तव्य गरी नै रहें। मैले धेरै कुरा त्यागेकी थिएँ, तर मलाई यो किन आइलाग्यो? के यत्तिका वर्ष मैले गरेका त्यागहरूको सट्टा यही फल पाएको हो त? मैले भन्‍न त केही भनिनँ तर परमेश्‍वर अधर्मी हुनुहुन्छ भन्‍ने भावनाले मलाई छोप्यो। म निराशवादी र हतोत्साहित भएँ र रणभुल्लमा परें। मेरो आशै मऱ्यो। मलाई भयानक पीडा भयो र हर समय आँशुमा डुबें।

मैले पढेको एउटा खण्ड यो हो: “धार्मिकता कुनै पनि हिसाबले उचित वा न्यायसंगत हुँदैन; यो समानतावाद होइन, वा यो तैँले कति काम पूरा गरेको छस् त्यसको आधारमा तैँले पाउनु पर्ने उचित थोक तँलाई दिनु, वा तैँले पूरा गरेको कामको ज्याला तँलाई दिनु, वा तैँले कति कोसिस गरिस् त्यसको आधारमा तँलाई दिनु पर्ने कुरासँग सम्‍बन्धित कार्य होइन। यो धार्मिकता होइन। मानिलिऊँ, अय्यूबले परमेश्‍वरको साक्षी दिएपछि उहाँले तिनलाई हटाउनुभयो: त्यस बेला पनि परमेश्‍वर धर्मी नै हुनुहुनेथियो। यसलाई किन धार्मिकता भनिन्छ? एक मानवीय दृष्टिकोणबाट हेर्दा, यदि कुनै कुरा मानिसहरूका धारणाहरूसँग मेल खान्छ भने, तिनीहरूले सहजै परमेश्‍वर धर्मी हुनुहुन्छ भनी भन्छन्; तापनि, यदि तिनीहरूले ती कुराहरू आफ्ना धारणाहरूसँग मेल खाएका देख्दैनन् भने—यदि त्यो तिनीहरूले बुझ्न नसक्ने कुरा हो भने—तिनीहरूलाई परमेश्‍वर धर्मी हुनुहुन्छ भन्न गाह्रो पर्छ। यदि परमेश्‍वरले त्यो बेला अय्यूबलाई नष्ट गर्नुभएको भए, मानिसहरूले उहाँ धर्मी हुनुहुन्छ भनेर भन्‍नेथिएनन्। तर, मानिसहरू भ्रष्ट भए पनि नभए पनि, के परमेश्‍वरले तिनीहरूलाई नष्ट गर्नुहुँदा आफ्‍नो बारेमा स्पष्टीकरण दिनुपर्छ र? उहाँले कुन आधारमा त्यसो गर्नुहुन्छ भन्‍ने कुरा उहाँले मानिसहरूलाई व्याख्या गर्नुपर्छ र? के उहाँको निर्णय ‘यदि तिनीहरू उपयोगी छन् भने, म तिनीहरूलाई नष्ट गर्नेछैन; यदि तिनीहरू उपयोगी छैनन् भने, म नष्ट गर्नेछु’ भन्ने कुरामा आधारित हुनुपर्छ? त्यसको आवश्यकता छैन। परमेश्‍वरको नजरमा, कुनै भ्रष्ट व्यक्तिलाई उहाँले आफ्‍नो इच्‍छाअनुसार निराकरण गर्न सक्‍नुहुन्छ; परमेश्‍वरले जे गर्नुहुन्छ त्यो उचित हुन्छ, र सबै कुरा परमेश्‍वरकै बन्दोबस्त हुन्। … परमेश्‍वरको सार धार्मिकता हो। उहाँले जे गर्नुहुन्छ त्यसलाई बुझ्न सजिलो नभए पनि, उहाँले गर्नुहुने सबै कार्य धर्मी हुन्छन्; यति मात्र हो कि मानिसहरूले त्यो बुझ्दैनन्। जब परमेश्‍वरले पत्रुसलाई शैतानको हातमा दिनुभयो, तब पत्रुसले कस्तो प्रतिक्रिया गरे? ‘मानवजाति तपाईंले गर्नुहुने काम बुझ्न असमर्थ छ, तर तपाईंले गर्नुहुने सबै कार्यमा तपाईंको भलो इच्छा सामेल छ; ती सबैमा धार्मिकता छ। तपाईंका बुद्धिमानी कार्यहरूका लागि म तपाईंको प्रशंसा उच्चारण नगरी कसरी सक्छु र?’ आज, तैँले बुझ्नुपर्छ कि शैतानले कसरी मानिसहरूलाई भ्रष्ट पारेको छ र परमेश्‍वरले कसरी तिनीहरूलाई बचाउनुहुन्छ भनी देखाउन उहाँले शैतानलाई नाश पार्नुहुन्न; अन्त्यमा, शैतानले मानिसहरूलाई अत्यन्तै गहन हदसम्म भ्रष्ट पारेको हुनाले, तिनीहरूले शैतानले तिनीहरूलाई भ्रष्टताको भयङ्कर पापलाई देख्‍नेछन्, र जब परमेश्‍वरले शैतानलाई नष्ट गर्नुहुन्छ, तिनीहरूले परमेश्‍वरको धार्मिकता देख्नेछन् र त्यसमा परमेश्‍वरको स्वभाव र बुद्धि सम्मिलित भएको देख्‍नेछन्। परमेश्‍वर गर्नुहुने सबै कुरा धर्मी हुन्छ। तैँले यस कुरालाई बुझ्न नसक्ने भए पनि, तैँले आफ्नै इच्छामा फैसला गर्नु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तँलाई अनुचित लाग्छ भने, वा यदि तँसित त्यसको बारेमा कुनै धारणाहरू छन् भने, र त्यसले तँलाई उहाँ धर्मी हुनुहुन्‍न भन्ने बनाउँछ भने, तँ सबैभन्दा अविवेकी भइरहेको हुन्छस्। पत्रुसले कुनै बुझ्न नसकिने थोक भेट्टाए, तर तिनी ईश्‍वरीय बुद्धि उपस्थित छ र ती कुरामा उहाँको भलो इच्छा पनि छ भनी तिनी निश्चित थिए भन्‍ने कुरा तैँले देख्छस्। मानिसहरूले सबै कुरा बुझ्न सक्दैनन्; तिनीहरूले बुझ्‍न नसक्‍ने कुरा धेरै छन्। यसैले, परमेश्‍वरको स्वभाव जान्नु कुनै सजिलो कुरा होइन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरको धर्मी स्वभावलाई कसरी जान्ने”)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने, उहाँको धार्मिकता मैले सोचेजस्तो होइन—शतप्रतिशत निष्पक्ष र समान छ, र यसको अर्थ आफूले जे रोप्यो त्यसैको फल पाइन्छ भन्‍ने होइन। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ र उहाँको सार नै धर्मीपन हो, त्यसकारण, उहाँले दिऊन् वा लिऊन्, हामीले आशिष् पाऔं वा परीक्षा भोगौं, यी सबैमा उहाँको बुद्धि हुन्छ। यी सबै उहाँको धर्मी स्वभावको प्रकटीकरण हो। अय्यूबले परमेश्‍वरको मार्ग पछ्याए, उहाँको डर माने र जीवनभरि दुष्टताबाट अलग बसे। परमेश्‍वरको दृष्टिमा उनी सिद्ध व्यक्ति थिए तर पनि परमेश्‍वरले उनको परीक्षा लिनुभयो। परमेश्‍वरप्रतिको उनको विश्‍वास र श्रद्धा एकपछि अर्को परीक्षाद्वारा उच्‍च भयो, र अन्त्यमा उनी परमेश्‍वरको लागि प्रभावशाली गवाही भए र शैतानमाथि पूर्ण विजय भए। त्यसपछि उनीकहाँ परमेश्‍वर देखा पर्नुभयो र उनलाई अझ धेरै आशिष् दिनुभयो। त्यसले परमेश्‍वरको धर्मी स्वभाव प्रकट गऱ्यो। मैले पावलबारे पनि सोचें। उनले धेरै पीडा भोगे र प्रभुको सुसमाचार फैलाउन टाडा-टाडा यात्रा गरे, तर उनीसित परमेश्‍वरप्रति साँचो समर्पण वा श्रद्धा थिएन। उनले केवल कडा परिश्रम गरेर परमेश्‍वरबाट आशिष प्राप्त गर्न चाहन्थे। उनले निकै काम गरिसकेपछि यसो भने, “मैले असल लडाइ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि उसो मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। पावलले त्याग गर्नुपछाडि उनका महत्वाकाङ्क्षा र चाहनाहरू लुकेका थिए र ती लेनदेनका लागि थिए। उनको स्वभाव परिवर्तन भएन र उनी परमेश्‍वरविरुद्धको मार्गमा थिए। अन्त्यमा उनलाई परमेश्‍वरले सजाय दिनुभयो। हामी के देख्‍न सक्छौं भने, परमेश्‍वर मानिसले कत्ति धेरै काम गर्छन् त्यो हेर्नुहुन्‍न तर तिनीहरूले उहाँलाई प्रेम र समर्पण गर्छन् कि गर्दैनन्, तिनीहरूको जीवन स्वभाव परिवर्तन हुन्छ कि हुँदैन, त्यो हेर्नुहुन्छ। यो, परमेश्‍वरको पवित्र र धर्मी स्वभावको अझ राम्रो प्रकटीकरण हो। मैले दिएअनुसारै मलाई फिर्ता गरिन्छ अर्थात्, मेरो त्यागको बराबर मैले केही फिर्ता पाउँछु भनेर सोचें। त्यो लेनदेनको मानव दृष्टिकोण हो, त्यो, परमेश्‍वरको धार्मिकताभन्दा बिल्कुलै बेग्लै कुरा हो। मैले विश्‍वासीको हैसियतमा केही त्यागहरू गरेकी थिएँ र केही असल कुराहरू गरेकी थिएँ, तर खोजीप्रतिको मेरो दृष्टिकोण गलत थियो र म साँचो अर्थमा परमेश्‍वरप्रति समर्पित थिइनँ। मेरो छोरा बिमार हुँदा, मैले अझै पनि परमेश्‍वरलाई दोष लगाएँ र विरोध गरें। मेरो स्वभाव बद्लेको थिएन बरु म परमेश्‍वरको विरोध गर्ने व्यक्ति थिएँ, शैतानको मान्छे थिएँ। म पटक्‍कै परमेश्‍वरको आशिष् प्राप्त गर्न योग्य थिइनँ। मैले परमेश्‍वरको धर्मी स्वभाव बुझेकी छैनँ भनेर महसुस गरें, तर मैले आफ्नो कर्तव्यमा केही त्यागहरू गरेकी हुनाले, परमेश्‍वरले मेरो छोराको रक्षा र देखभाल गर्नुपर्छ भन्‍ने मलाई लाग्यो। के मैले मानव लेनदेनको दृष्टिकोणको आधारमा परमेश्‍वरको मूल्याङ्कन गरिरहेकी थिइनँ र? मैले परमेश्‍वरका वचनहरूबाट यसबारे सोचें: “हरेकको एउटा सुहाउँदो गन्तव्य छ। यी गन्तव्यहरू हरेकको सारअनुसार निर्धारण गरिन्छ र यसको अरू मानिसहरूसँग कुनै सरोकार छैन। एउटा बालक दुष्ट आचरण उनीहरूको आमाबुबामा सार्न सकिँदैन, न त एउटा बालकको धार्मिकतालाई उनीहरूको आमाबुबासँग बाँड्न नै सकिन्छ, एउटा आमाबुबाको दुष्ट आचरण उनीहरूको छोराछोरीहरूमा सार्न सकिँदैन न त एउटा आमाबुबाको धार्मिकतालाई उनीहरूको छोराछोरीहरूसँग बाँड्न नै सकिन्छ। हरेकले आ-आफ्नै पापहरू बहन गर्छन्, र हरेकले आ-आफ्नो भाग्य भोग्छन्। कोही पनि अर्को व्यक्तिको प्रतिस्थापन हुन सक्दैन; यो धार्मिकता हो” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्”)। मैले आफ्नो विश्‍वासमा धेरै कुरा त्यागेकी हुनाले परमेश्‍वरले मेरो छोरालाई निको पार्नुपर्छ भनेर सोचें। नत्र, उहाँलाई म अधर्मी ठान्‍ने थिएँ। त्यो त मेरो पूर्णतया हास्यास्पद कुरा थियो! मैले जतिसुकै मूल्य चुकाएको भए तापनि, त्यो मेरो कर्तव्य थियो, र सृष्टि गरिएको प्राणीको रूपमा गर्नुपर्ने कुरा थियो। मेरो छोराको रोग, उसको भवितव्य वा गन्तव्यसित यसको कुनै सरोकार थिएन। मैले त्यसलाई परमेश्‍वरसित लेनदेन गर्नका लागि कुराकानी गर्ने माध्यम बनाउनु हुँदैन। यो कुरा बुझ्दा मेरो मन निकै हलुको भयो।

एक दिन मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढें, त्यसले मलाई मेरो गलत दृष्टिकोणको सार बुझ्न मदत गऱ्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “ख्रीष्टविरोधी प्रकारको व्यक्तिले आफूलाई जति धेरै कुराहरू आइपरे पनि परमेश्‍वरका वचनहरूमा सत्यता खोजेर ती कुराहरूको सम्बोधन गर्ने प्रयास गर्दैन, परिस्थितिहरूलाई परमेश्‍वरका वचनहरू मार्फत हेर्ने कोसिस गर्नु त परै जाओस्—जुन पूर्ण रूपमा यसकारणले हो कि परमेश्‍वरको वचनको प्रत्येक पङ्क्ति सत्य हो भनी उनीहरू विश्‍वास गर्दैनन्, र परमेश्‍वरले हरेक विषयमा मानिसहरूमा जुन सही मनोवृत्ति हुनुपर्छ भनी भन्‍नुहुन्छ त्यसलाई स्वीकार गर्दैनन्। उनीहरू विश्‍वास गर्ने एक प्रकारको परमेश्‍वर मात्र हुन्छ: अलौकिक परमेश्‍वर, जसले चिह्न र चमत्कारहरू देखाउनुहुन्छ, गुआन यिन र बुद्धजस्ता झुटा देवताहरू, जसले सानातिना चिन्ह र चमत्कारहरू पनि देखाउँछन्। … ख्रीष्टविरोधीहरूको विचारमा परमेश्‍वर वेदीको पछाडि लुकेर, मानिसहरूले चढाउने खानेकुराहरू खाँदै, उनीहरूले बालेका धूपको धुँवामा सास लिँदै, उनीहरू समस्यामा पर्दा सहयोगको हात बढाउँदै, सहायता प्रदान गर्दै र यदि बिन्ती गर्दा बिन्तीमा उनीहरू इमानदार छन् भने—उहाँ सक्षम भएमा—उनीहरूले गरेका बिन्तीहरू पूरा गर्दै बस्‍नुभएको बेला उहाँको आराधना गर्नुपर्छ। ख्रीष्टविरोधीहरूका लागि यस्तो देवता मात्र परमेश्‍वर हो। यसबीचमा, आज परमेश्‍वरले गर्नुहुने सबै कुरालाई ख्रीष्टविरोधीहरूले तिरस्कार गर्छन्। अनि त्यस्तो किन हुन्छ? ख्रीष्टविरोधीहरूको प्रकृति र सारलाई विचार गर्दा, उनीहरूलाई सृष्टिकर्ताले परमेश्‍वरका सृष्टिहरूमाथि गर्नुहुने मलजल, गोठालो र मुक्तिको काम चाहिएको छैन, उनीहरूलाई त सबै कुरामा समृद्धि र सफलता चाहिएको छ, यो जीवनमा दण्डित नहुने र उनीहरू मरेपछि स्वर्गमा जाने कुरा चाहिएको छ। उनीहरूको दृष्टिकोण र आवश्यकताहरूले तिनीहरूमा सत्यताप्रति शत्रुताको सार रहेको कुरालाई पुष्टि गर्छ” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग एक)”)। परमेश्‍वरको हर वचन ट्वाक्‍कै मिल्ने खालको हुन्छ। चिन्तन गर्दा मैले बुझें कि मैले विश्‍वासको खातिर गरेका सबै कुराको निम्ति परमेश्‍वरले मलाई पैँचो तिर्नुपर्छ, आशिष् दिनुपर्छ, मेरो परिवारलाई सुरक्षित र स्वास्थ्य राख्‍नुपर्छ भन्‍ने मलाई सधैं लाग्थ्यो। त्यसैले, शल्यक्रियापछि मेरो छोराको स्वास्थ्य निकै राम्रो भएको देख्दा, यो परमेश्‍वरको आशिष् हो भन्‍ने मलाई लाग्यो र म कृतज्ञ भएँ र उहाँको प्रशंसा गरें। तर, उसको स्वास्थ्य फेरि बिग्रँदा, परमेश्‍वरले चमत्कार गरेर उसलाई निको पार्नुभएको म चाहन्थें। मैले चाहेको जस्तो परमेश्‍वरले नगर्नुहुँदा, मेरो सबै मुस्कान रीसमा परिणत भए, मेरो छोरालाई रक्षा गर्न र निको पार्न परमेश्‍वरले मेरा सबै त्यागहरूलाई नसम्झनुभएकोमा म त रीसले पागल भएँ। आफूले गरेका सबै कुराप्रति पछुतो समेत गरें। मैले के पाएँ वा के गुमाएँ भन्‍ने कुरामै मेरो दिमाग घुमिरह्यो। मैले आफ्नो विश्‍वासमा, परमेश्‍वरलाई सृष्टिकर्ताको रूपमा भक्ति गरेकी थिइनँ र उहाँप्रति समर्पित भएकी थिइनँ, मैले त उहाँलाई मेरा मागहरू पूरा गर्ने र मलाई आशिष् दिने वस्तुको रूपमा हेरेकी थिएँ। बुद्ध वा गुवान यिनलाई पुज्ने अविश्‍वासीहरूभन्दा म कसरी फरक भएँ र? त्यो साँचो विश्‍वासी हुनुको चिनारी होइन! परमेश्‍वरले देहधारण गर्नुभएको छ र दुईपटक पृथ्वीमा आउनुभएको छ, असाध्यै अपमान, मानिसहरूको निन्दा, विरोध, विद्रोह र गलत बुझाइहरू सहनुभएको छ। यी सबै हामीलाई उहाँका वचनहरू र सत्यता प्रदान गर्नका लागि हुन् ताकि ती हाम्रो जीवन बनून्, ताकि हामी उहाँका वचनहरूअनुसार जिउन सकूँ र भ्रष्टताबाट उम्कन सकूँ, र अन्त्यमा मुक्ति पाउन सकूँ। परमेश्‍वरले मानिसजातिका लागि यस्तो ठूलो मूल्य चुकाउनुभएको छ। मैले विश्‍वासी भएका यत्तिका वर्षसम्म परमेश्‍वरको अनुग्रह र आशिषहरू प्रशस्तै पाएकी छु, धेरै सत्यताहरूको सिञ्‍चन र पोषण प्राप्त गरेकी छु। तर, म परमेश्‍वरप्रति पटक्‍कै इमानदार थिइनँ। त्यसले उहाँको लागि अत्यन्तै चोट पुऱ्याउने र निराश तुल्याउने थियो। मलाई आफू परमेश्‍वरप्रति झन् झन् धेरै ऋणी भएको महसुस भयो, र मैले उहाँसामु घुँडा टेकें, पछुतो र दोषी भावनाले पिरोलिएर आँखाबाट आँशु बरबर झऱ्यो। मैले परमेश्‍वरलाई प्रार्थना र पश्‍चात्ताप गर्दै भनें, “हे परमेश्‍वर, यत्तिका वर्ष म सत्यताको पछि नलागी विश्‍वासी भएकी छु। मेरो छोरा बिरामी हुँदा म तपाईंको गवाहीको रूपमा खडा हुन सकेकी छैनँ, तर तपाईंलाई दुःखी बनाएकी छु। हे परमेश्‍वर, म तपाईंप्रति ऋणी छु। म तपाईंसामु पश्‍चात्ताप गर्न चाहन्छु, मेरो छोरा निको होस् या नहोस्, म तपाईंको शासन र प्रबन्धहरूप्रति समर्पित हुन तयार छु। कृपया, मलाई विश्‍वास प्रदान गर्नुहोस् र मसित रहनुहोस्।” प्रार्थना गरिसकेपछि, ममाथिको गह्रौं बोझ हटेको महसुस भयो। मलाई असाध्यै हलुको महसुस भयो र मलाई छोराको रोगबारे पहिलाको जस्तो धेरै चिन्ता लागेन।

एक दिन, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढें त्यसले मलाई यी सबैबारे केही नयाँ बुझाइ प्रदान गऱ्यो। “मानिसको दायित्व र ऊ आशिषित भएको छ कि श्रापित भएको छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिषित हुनु भनेको कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नु हो। श्रापित हुनु भनेको सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनु हो, यो तब हुन्छ जब तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष पाऊन्‌ वा श्राप पाऊन्‌, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। आशिषित हुनको लागि मात्रै तैँले आफ्नो दायित्वलाई पूरा गर्नु हुँदैन, र श्रापित हुने डरले तैँले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो। आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। जस्तो कि, तैँले जति आफ्नो दायित्वलाई पूरा गर्न सक्षम हुन्छस्, त्यति नै तैँले सत्यतालाई प्राप्त गर्नेछस्, र त्यति नै वास्तविक तेरो अभिव्यक्ति हुनेछ” (वचन देहमा देखा पर्नुहुन्छको “देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता”)। यसले मलाई आफ्नो कर्तव्य पूरा गर्नु र आशिष् वा श्राप पाउनुबीच कुनै सम्बन्ध छैन भनेर देखायो। सृष्टि गरिएको प्राणीको हैसियतमा, मैले परमेश्‍वरको प्रेमको पैँचो तिर्न आफ्नो कर्तव्य गर्नुपर्छ। त्यो सही र उचित हो। यो त आमाबाबुले छोराछोरीलाई हुर्काएर व्ययस्क बनाउनु जस्तै हो—छोराछोरीले आमाबुबाप्रति भक्तिभाव देखाउनुपर्छ। यो सम्पत्तिको उत्तराधिकारी हुने र शर्तमा आधारित हुनु हुँदैन। त्यो त, एक व्यक्तिले गर्नुपर्ने सबैभन्दा आधारभूत कुरा हो। तर मैले आफ्नो कर्तव्यमा परमेश्‍वरको प्रेमको पैँचो कसरी तिर्ने भनेर सोचेकी थिइनँ। त्यसको सट्टा, परमेश्‍वरले दिनुभएको कर्तव्यलाई मैले उहाँसित लेनदेन गर्ने माध्यमको रूपमा प्रयोग गर्न चाहें। आफूले गरेको अलिकति त्यागको सट्टा मैले परमेश्‍वरबाट अनग्रह र आशिष मागेँ। त्यो नपाउँदा, मैले परमेश्‍वरलाई दोष दिएँ। मसित पटक्‍कै विवेक थिएन र मैले परमेश्‍वरलाई असाध्यै निराश पारेँ। मेरो छोरा बिरामी भएपछि, मसँग मागैमाग मात्र थिए र मैले सधैं परमेश्‍वरलाई गलत ठानें र दोष लगाएँ। यो सोचपछि मैले आफूलाई असाध्यै घृणा गरें। मेरो छोरा निको होस् या नहोस्, परमेश्‍वरलाई कहिल्यै दोष दिदिनँ भनेर मैले चुपचाप सङ्कल्प गरें। त्यसपछि, मेरो छोराको हालत झन् झन् बिग्रियो। उसको स्वास्थ्य दिनदिनै बिग्रिंदै गएको स्पष्ट थियो। यसले मलाई दुःखी बनायो, मलाई पीडा भयो, तर मनमा निकै हलुको महसुस भयो।

अनि एक दिन, मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढें: “परमेश्‍वरले उत्पत्ति, आगमन, आयु, परमेश्‍वरका सबै प्राणीहरूको अन्त्य, साथै तिनीहरूको जीवनको मिसन र तिनीहरूले सम्पूर्ण मानवजातिमा खेल्ने भूमिकाको पूर्ण योजना पहिले नै बनाइसक्‍नुभएको छ। यी कुराहरूलाई कसैले परिवर्तन गर्न सक्दैन; यो सृष्टिकर्ताको अख्तियार हो। प्रत्येक प्राणीको आगमन, तिनीहरू कति लामो समयसम्म बाँच्छन्, तिनीहरूको जीवनको मिसन—यी सबै नियमहरू, यी हरेक नियमहरू परमेश्‍वरद्वारा निर्धारित गरिएको छ, त्यसरी नै जसरी परमेश्‍वरले प्रत्येक खगोलीय पिण्डको परिक्रमा गर्ने कक्ष निर्धारित गर्नुभएको छ; यी खगोलीय पिण्डहरूले कुन कक्ष पछ्याउँछन्, कति वर्षसम्म पछ्याउँछन्, तिनीहरूले कसरी परिक्रमा गर्छन्, तिनीहरूले कुन नियमहरू पालन गर्छन्—यो सबै परमेश्‍वरले धेरै पहिले नै निर्धारित गर्नुभएको थियो, जुन हजारौंहजार वर्षदेखि अपरिवर्तित छ। यो परमेश्‍वरद्वारा निर्धारित गरिएको हो, र यो उहाँको अख्तियार हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यताको खोजी गरेर मात्र व्यक्तिले परमेश्‍वरका कार्यहरूलाई जान्न सक्छ”)। यो साँचो हो। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ र हाम्रो जीवनकाल उहाँको हातमा छ। हामीले कति जिउँछौं, कति पीडा भोग्छौं र कति आशिष् पाउँछौं, यी सबै परमेश्‍वरको हातमा छन्। कसैले असल कामहरू गरेको कारण परमेश्‍वरले उसको जीवनकाल लम्ब्याउनुहुन्‍न, अनि धेरै खराबी गरेकोले गर्दा उसको जीवनलाई समयअगावै टुङ्ग्याउनुहुन्‍न। कुनै व्यक्ति असल होस् या खराब, उसको निर्धारित समय पूरा भएपछि, परमेश्‍वरले उसको जीवन लिनुहुन्छ। कसैले पनि यसलाई उल्टाउन सक्दैन। मेरो छोरा कति समयसम्म बाँच्ने भनेर परमेश्‍वरले धेरै अघि निर्धारण गर्नुभएको थियो। उहाँले गर्ने कुनै पनि कुरा धर्मीपन हो र मचाहिं केवल उहाँको शासन र प्रबन्धहरूप्रति समर्पित हुनुपर्छ। यो कुरा बुझ्दा, मेरो पीडा केही कम भयो। मेरो छोरालाई जे भए पनि, मैले सृष्टि गरिएको प्राणीको हैसियतमा कर्तव्य गर्नुपर्छ र परमेश्‍वरको प्रेमको पैँचो तिर्नुपर्छ भनेर मलाई थाहा छ।

यसै वर्षको मार्च महिनामा, मैले मेरो छोरालाई सदाको लागि बिदा गरें। तर परमेश्‍वरका वचनहरूको मार्गदर्शनले गर्दा, उसलाई गुमाउनुपर्दाको स्थितिलाई मैले सही तरिकामा सामना गर्न सकें र निकै कम पीडा महसुस गरें। मेरो छोरा बिरामी पर्न थालेदेखिको यी दुई वर्षभरि, मैले निकै पीडा भोगेकी छु, तर यी सबै कुरा मार्फत मैले आफ्नो विश्‍वासमा आशिषको पछि लाग्‍ने मेरो घृणित खोज र भ्रष्टतालाई बुझेकी छु। मलाई शैतानले कत्ति गहिरोसित भ्रष्ट पारेको छ र यदि यो भ्रष्टता हटाइनँ भने, मैले परमेश्‍वरलाई दोष दिइरहनेछु र विरोध गरिरहनेछु भनेर मैले बुझेकी छु। यस अनुभवले मलाई यस कठिनाइबाट मेरो जीवनमा कत्ति धेरै लाभ पुगेको छ भनेर देखाएको छ। जति धेरै परमेश्‍वरका कामहरू हाम्रा धारणाहरूदेखि फरक हुन्छन्, त्यसमा उति नै धेरै सत्यता खोज्नुपर्छ, र त्यो त्यति नै धेरै हाम्रो मुक्तिको लागि हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कर्तव्य गुमाएप्रतिको चिन्तन

वाङ लिन्, दक्षिण कोरिया मसित वेल्डिङ गर्ने केही सीप भएकोले, सन् २०१७ मा म मण्डलीको केही काम सम्हाल्न खटिएँ। यो शारीरिक तवरमा निकै काम...

एक अधिकृतको पश्‍चात्ताप

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी गर्नुभएका सबै प्रेम हो। तैंले देखेको सजाय र न्याय पनि प्रेम नै हो, अझ सत्य र अझ बढी साँचो प्रेम, एउटा यस्तो प्रेम जसले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउँछ। … उहाँले गर्नुभएका सबै कामहरूको उद्देश्य मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोऱ्याउनु हो, यसैले कि तिनीहरू सामान्य मानिसहरू जस्तो जिउन सकून्, किनकि तिनीहरू कसरी जिउनुपर्छ भनी जान्दैनन्, र यो अगुवाइविना तैँले रित्तो जीवन मात्र जिउनेछस्; तेरो जीवन मूल्य विहीन वा अर्थरहित हुनेछ, र तँ एक सामान्य व्यक्ति बन्‍न सक्‍नेछैनस्। मानिसलाई जित्नुको सबैभन्दा गहिरो अर्थ यही हो”

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्