अहङ्कारी स्वभावका परिणामहरू

25 फेब्रुअरी 2023

सन् २००६ मा म हाइस्कूलको विद्यार्थी नै थिएँ। हामीले बाइबल अध्ययन गर्दा, शिक्षकहरूले मलाई अक्सर सुरुमा मन्तव्य दिन र हामीलाई प्रचार गर्ने पाष्टरको परिचय दिन लगाउँथे। तिनीहरूले मेरो आवाज राम्रो, निकै चर्को छ भन्थे, मेरा थुप्रै सहपाठीहरूले मलाई प्रशंसाको नजरले हेर्थे, र म आफूलाई अरूभन्दा श्रेष्ठ ठान्थेँ। कलेजमा, मैले सञ्‍चारका केही तरिका सिकेँ जसले गर्दा अरूसित अन्तरक्रिया गर्न म एकदमै सक्षम भएँ। मलाई अक्सर आफू श्रेष्ठ छु भन्‍ने लाग्थ्यो, साथै आफ्ना सीपहरूमा गर्व महसुस गर्थेँ। मैले सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गरेपछि, आफ्ना साथीहरूलाई सुसमाचार प्रचार गर्न थालेँ। मैले सुसमाचार प्रचार गरेको पहिलो व्यक्ति हन्डुरसका एक ब्रदर थिए। उनले सुसमाचार स्वीकार गरे। म निकै खुसी भएँ। त्यसपछि, मैले भारतका एक साथीलाई सुसमाचार प्रचार गरेँ। उनले पनि तुरुन्तै स्वीकार गरे। म झनै खुसी भएँ, र आफूमा सुसमाचार सुनाउनका लागि वास्तविक क्षमता र प्रतिभा रहेछ भन्‍ने मलाई लाग्यो। पछि मैले पूरै समय सुसमाचार प्रचार गर्न जागिर छोडेँ। म सुसमाचार ग्रहण गर्ने सम्भावित व्यक्तिहरूसित कुराकानी गर्नमा राम्रो थिएँ र अरूलाई मदत गर्न सक्थेँ, त्यसैले म चाँडै समूह अगुवा चयन भएँ। सुपरिवेक्षकले सिस्टरहरू आइलिन र अगाथालाई सहयोग गर्न पनि मलाई खटाइन्, ती सिस्टरहरूले भर्खरै सुसमाचार प्रचारको अभ्यास थालेका थिए। मैले आफू अरू ब्रदर-सिस्टरहरूभन्दा राम्रो छु भन्‍ने ठानेँ। एकपटक, सिस्टर आइलिन र म सुसमाचार ग्रहण गर्ने सम्भावित व्यक्तिसित एउटा भेलामा गयौँ, र सिस्टर आइलिन स्पष्टसित सङ्गति नगरी प्रसङ्गबाहिर जाने गरेको थाहा पाएँ। भेलापछि, मैले रिसाउँदै उनको समस्या औँल्याइदिएँ। त्यसपछि आइलिन नकारात्मक भइन् र मलाई भनिन्: “ब्रदर, तपाईँ अति अहङ्कारी हुनुहुन्छ र धेरै ब्रदर-सिस्टरहरू तपाईँसँग काम गर्न चाहँदैनन्।” मैले भर्खरै भनेको कुराले गर्दा मात्र उनले मेरो आलोचना गरेकी हुन् भन्‍ने लाग्यो, त्यसैले, ममा कुनै समस्या छ भन्‍ने सोचिनँ। पछि, मैले उनलाई र अगाथालाई उनीहरूको कर्तव्य निर्वाहमा सुपरिवेक्षण गरेँ, र उनीहरू दुवैसँग केही समस्या रहेको पाएँ। मैले उनीहरूलाई मदत गर्न सत्यताको सङ्गति गरिनँ र उनीहरूले आफ्ना कर्तव्यमा कुनै प्रगति गरिरहेका छैनन् भन्‍ने मात्र अडकल काटेँ, र मैले उनीहरू सुसमाचार कार्यको लागि उपयुक्त छैनन् भनेर सुपरिवेक्षकलाई बताएँ। सुपरिवेक्षकले मेरो अहङ्कारी स्वभावलाई औँल्याइन् र म अरूको कमीकमजोरीहरू सही ढङ्गले सम्हाल्न असक्षम छु भनेर भनिन्। उनले मलाई परमेश्‍वरको वचनका थुप्रै खण्डहरू पनि पठाइन्, जसमा परमेश्‍वरले मानिसहरूका अहङ्कारी स्वभावहरू खुलासा गर्नुभएको रहेछ। मैले त्यसलाई बेवास्ता गरेँ, र परमेश्‍वरका यी वचनहरू ममाथि लागू हुँदैनन् भन्‍ने लाग्यो। त्यसपछि, मैले मानिसहरूलाई प्रवचन सुन्‍न आमन्त्रित गरेँ र सुरुमा कसैसित छलफलै नगरी परमेश्‍वरका आखिरी दिनहरूको कार्यबारे गवाही दिएँ। मैले प्रचार गरेकाहरूमध्ये केहीलाई मसँग कुरा गर्न र मेरो सङ्गति सुन्‍न मन पर्थ्यो, यसले गर्दा मलाई आफू झनै प्रतिभाशाली रहेछु, र मैले सुपरिवेक्षकको कुरा सुन्‍नुपर्दैन, मानिसहरूसित सहकार्य गर्नुपर्दैन, आफै सुसमाचार प्रचार गर्न सक्छु र आफ्नो कर्तव्य राम्री निर्वाह गर्न सक्छु भन्‍ने लाग्यो। पछि मात्र मैले तीमध्ये केही मानिसहरू त सुसमाचार प्रचार गर्ने मापदण्डमै नपर्ने रहेछन् भन्‍ने थाहा पाएँ, र फलस्वरूप, मैले गरेका केही काम व्यर्थ भए। सुपरिवेक्षकले म अहङ्कारी छु, लापरवाही गर्छु, र मानिसहरूसँग सहकार्य गर्दिनँ, जसले गर्दा काममा राम्रा नतिजाहरू निस्केनन् भनेर भनिन्। मेरो व्यवहारले गर्दा मलाई समूह अगुवाको पदबाट बर्खास्त गरियो र मेरो ठाउँमा आइलिनलाई राखियो। मैले यो कुरा स्विकार्नै सकिनँ, र मेरो सबलताको कारण म बर्खास्त नहुनुपर्ने हो भनेर सोचेँ। त्यो बेला, मैले यो प्रबन्धलाई स्वीकार गर्नै सकिनँ, र यो कर्तव्य गर्न छोड्ने प्रस्ताव राखेँ। तर त्यति बेला म एकदमै हठी थिएँ र आत्मसमीक्षा गर्न जान्दिनथेँ।

पछि मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्न पुनः खटाइयो। चाँडै नै म फेरि समूह अगुवा चयन भएँ र सिस्टर थेरेसीको साझेदार बनेँ। मैले भेलाहरूमा थेरेसीको सङ्गति कहिलेकाहीँ अपुरो भएको, र कहिलेकाहीँ उनले नयाँ विश्‍वासीहरूका समस्या पूर्ण रूपले समाधान नगरेको देखेँ, र त्यसैले मैले उनलाई तुच्छ ठानेँ। म सोच्थेँ, “के उनी यो कर्तव्यको लागि साँच्‍चै उपयुक्त छिन्? समूह अगुवाको हैसियतमा उनी नयाँ विश्‍वासीहरूका समस्या समाधान गर्न सक्षम हुनुपर्छ, र अहिले उनलाई हेर्दा त उनले पहिला टोली सदस्यको रूपमा केही समय अभ्यास गर्दा नै सबभन्दा राम्रो हुन्छ।” मलाई कुन कुराले झनै झोँक चलायो भने, उनले समस्याहरू सामना गर्दा सधैँ अरूकहाँ मदत माग्‍न जान्थिन्, तर मकहाँ विरलै आउँथिन्। म मनमनै सोच्थेँ, “यी समस्या कसरी समाधान गर्ने मलाई थाहा छ, के उनले मलाई आदर नगर्ने भएकोले मेरो साटो अरूलाई मदत माग्दै छिन्?” पछि, एउटा कार्य बैठकमा, सुपरिवेक्षकले हाम्रो कामका केही समस्याहरू औँल्याइन्। मैले सिस्टर थेरेसीको व्यवहारबारे सोचेँ र मैले आफ्नो असन्तुष्टि रोक्‍नै सकिनँ, र सबैको अघि रूखो पाराले सिधै भनेँ, “के सिस्टर थेरेसी समूह अगुवाको काम बहन गर्न सक्षम छिन्?” थेरेसीले दुःखी सोरमा जवाफ दिइन्: “म बेकम्मा छु। म ब्रदर-सिस्टरहरूलाई उनीहरूका समस्या समाधान गर्न मदत गर्न सक्दिनँ।” उनले यसो भन्दा मलाई निकै ग्लानि भयो। पछि हामी कुरा गर्दै गर्दा, उनी मद्वारा नियन्त्रित भइरहेको महसुस भयो। तैपनि मैले अझै आत्मसमीक्षा गरिनँ। अर्को घटनामा, मैले नयाँ ब्रदरहरूमध्ये एक जनाले आफ्नो कर्तव्यमा कुनै नतिजा प्राप्त नगरिरहेको पाएँ, र मलाई उनी यसको लागि उपयुक्त छैनन् भन्‍ने लाग्यो। तर मैले सुपरिवेक्षकसँग परामर्श नगरी र अरू कसैसित यसबारे कुरा नगरी उनलाई बर्खास्त गरिदिएँ। त्यो बेला म साँच्‍चै नै अहङ्कारी बन्दै थिएँ। उनले आफ्नो कर्तव्यमा कठिनाइहरू सामना गरिरहेका थिए भनेर मैले पछि मात्र थाहा पाएँ। मैले उनको परिस्थितिलाई स्पष्टसित नबुझीकनै उनलाई स्वेच्छाचारी ढङ्गमा बर्खास्त गरेँ। बर्खास्त भएपछि ती ब्रदर एकदमै नकारात्मक भए। सुपरिवेक्षकले थाहा पाएपछि मलाई सोधिन्, “तपाईँले अरू कसैसँग छलफल नगरी किन उनलाई बर्खास्त गर्नुभयो? तपाईँ अति अहङ्कारी र अति आत्मविश्‍वासी हुनुभएको छ। तपाईँ सधैँ अरूलाई तुच्छ ठान्‍नुहुन्छ र उनीहरूलाई विवश पार्नुहुन्छ। तपाईँको निरन्तरको कमजोर व्यवहारको कारण तपाईँ अबउप्रान्त समूह अगुवा हुन योग्य हुनुहुन्‍न।” मलाई फेरि बर्खास्त गरिँदा म त अक्‍क न बक्‍क भएँ। मैले आफैलाई सोधेँ, “किन मैले अरू कसैलाई सोधिनँ? किन म आफूले चाहेको कुरा मात्र गरिरहन्छु? यदि मैले अलिक धेरै खोजी गरेको र त्यस मामिलाबारे अरूसँग छलफल गरेको भए, मलाई यो समस्या आउने थिएन।” केही दिनपछि, मेरो घाँटी दुख्यो, वान्ता भयो र पुरै कमजोर महसुस भयो। मैले परमेश्‍वरलाई चिढ्याएको छु भन्‍ने मलाई थाहा भयो र म एकदमै बेखुस भएँ।

पछि मैले आफ्नो स्थितिबारे एक सिस्टरसित कुरा गरेँ र उनले मलाई परमेश्‍वरको वचनका केही खण्डहरू पठाइन्। “स्व-धर्मी नबन्; आफ्ना कमजोरीहरूलाई सन्तुलनमा ल्याउन अरूको सबल पक्षहरू लि, अरू परमेश्‍वरको वचनअनुसार कसरी जिउँछन् भनेर हेर्; र उनीहरूको जीवन, कार्य तथा बोलीवचनहरू अनुकरण योग्य छ, छैन हेर्। यदि तैँले अरूलाई आफूभन्दा कम ठान्छस् भने, तँ स्व-धर्मी, अभिमानी र कसैलाई लाभ नगर्ने व्यक्ति होस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २२)। “तँ प्राकृतिक रूपमै विलक्षण प्रतिभा लिएर जन्‍मेको पुत्र, स्वर्गहरूभन्दा अलिकति मात्र तल, तर पृथ्वीभन्दा असीमित रूपमा उच्च व्यक्ति होस् भनी नसोच्। तँ अरू कोहीभन्दा चलाख छँदै-छैनस्—र यो पनि भन्न सकिन्छ कि यस पृथ्वीका विवेक भएको कुनै पनि मानिसभन्दा तँ कति धेरै मूर्ख छस् त्यो हास्यास्पद छ, किनकि तैँले आफूलाई धेरै उच्च ठान्छस्, र तँमा कहिल्यै पनि हीनताको भाव थिएन, मानौँ तैँले मेरा कामहरूको सानोभन्दा सानो कुरा बुझ्न सक्छस्। वास्तवमा भन्ने हो भने, तँ त्यस्तो व्यक्ति होस् जसमा मूल रूपमा नै विवेकको अभाव छ, किनकि म के गर्न चाहन्छु त्यो तँलाई थाहा छैन, र मैले अहिले के गर्दैछु त्यसबारे तँलाई अझै थोरै थाहा छ। अनि यसैले म भन्छु कि तँ खेतमा कठोर परिश्रम गर्ने वृद्ध किसानको बराबरी समेत छैनस्, यस्तो किसान जोसँग मानव जीवनको बारेमा थोरै दृष्टिकोण हुँदैन र जो आफ्नो खेतमा खेती गर्दा सम्पूर्ण रूपले स्वर्गको आशिषमाथि निर्भर हुन्छ। तैँले आफ्नो जीवनको सम्बन्धमा एकै क्षण पनि विचार गर्दैनस्, तँलाई ख्यातिको बारेमा केही थाहा छैन, र तँसँग आफ्नो बारेमा ज्ञान हुने कुरा त परै जाओस्। तँ साँच्‍चै ‘यी सबैभन्दा माथि’ छस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जसले सिक्दैनन् र अनजान रहन्छन्: के तिनीहरू जनावरहरू होइनन् र?)। परमेश्‍वरका वचन पढेपछि, म एकदमै खिन्‍न भएँ। परमेश्‍वरको वचनद्वारा म खुलासा भइरहेको छु भन्‍ने मलाई महसुस भयो। मैले सधैँ आफूलाई वरदानप्राप्त व्यक्ति, साथै अरूभन्दा स्मार्ट र प्रतिभाशाली ठान्थेँ। ममा सधैँ श्रेष्ठताको भावना थियो, म आफूलाई उच्‍च र अरूलाई महत्त्वहीन ठान्थेँ। मैले भेलाहरूमा आइलिन र अगाथाको सङ्गतिमा कमीकमजोरीहरू रहेको देखेँ, र त्यसैले मैले उनीहरूलाई तुच्छ ठानेँ, उनीहरूबाट टाढा रहेँ, उनीहरू सुसमाचार कार्यको लागि उपयुक्त छैनन् भन्‍ने निर्धारण गरेँ र उनीहरूसँग साझेदारी गर्न चाहिनँ। विशेष गरी म आफै सुसमाचार प्रचार गर्न सक्षम हुँदा, म अझ धेरै प्रतिभाशाली रहेछु, स्वतन्त्र रूपले काम पूरा गर्न सक्छु, अरूसँग सहकार्य गर्नुपर्दैन भन्‍ने मलाई लाग्यो। मैले सिस्टर थेरेसीसँग साझेदारी गर्दा, आफूलाई उनीभन्दा अधिक प्रतिभाशाली ठानेँ र त्यसैले उनलाई तुच्छ सम्झेँ, र उनी समूह अगुवाको काम बहन गर्न असक्षम छिन् भन्‍ने सोचेँ। मैले ती ब्रदरलाई बर्खास्त गर्दा पनि म आफ्नै तरिकामा अडिग भएँ। मैले कसैसित छलफल नगरी उनलाई मनमानी ढङ्गमा बर्खास्त गरेर उनलाई नकारात्मक बनाएँ। म आफूलाई अधिक महत्त्व दिने व्यक्ति बनेको थिएँ, सधैँ आफूले चाहेका कुराहरू गर्थेँ, र अरूका विचारहरू सुन्‍ने प्रयास कहिल्यै गर्दिनथेँ, किनभने मेरो तुलनामा ब्रदर-सिस्टरहरू महत्त्वहीन छन् भन्‍ने मलाई लागेको थियो, र म उनीहरूलाई “म तपाईँहरूभन्दा उत्तम र धेरै प्रतिभाशाली छु” भन्‍न मन पराउँथेँ। तर यसको फलस्वरूप, मैले आफ्नो कर्तव्य सिद्धान्तहरू खोजी नगरी गरेको थिएँ, मेरो निम्ति नियमकानुन म आफै भएको थिएँ, र ब्रदर-सिस्टरहरूलाई चोट पुग्‍ने कामकुरा गरेको थिएँ। परमेश्‍वरको वचनले मलाई असाध्यै लज्‍जित तुल्यायो, विशेष गरी यो कुरा पढ्दा: “तैँले आफ्नो जीवनको सम्बन्धमा एकै क्षण पनि विचार गर्दैनस्, तँलाई ख्यातिको बारेमा केही थाहा छैन, र तँसँग आफ्नो बारेमा ज्ञान हुने कुरा त परै जाओस्। तँ साँच्‍चै ‘यी सबैभन्दा माथि’ छस्।” परमेश्‍वरको वचनले मेरो हृदयमा हलचल मच्‍चायो। आफूले गरिरहेको कुरा सही हो कि होइन भनेर कहिल्यै विचारसमेत नगरी म आफूलाई सधैँ यस्तो उच्‍च सम्मान दिन्थेँ। म आफूलाई अति महत्त्व दिने व्यक्ति बनेको थिएँ। खेतमा काम गर्ने किसानहरूलाई परमेश्‍वरमा भर पर्नुपर्छ भनेर थाहा छ, तर ममाथि परिस्थितिहरू आइपर्दा, मैले परमेश्‍वरको इच्छा खोज्न कहिल्यै जानिनँ। मेरो हृदयमा परमेश्‍वरका निम्ति ठाउँ थिएन। ममा आफ्नो बारेमा बुझाइ वा ज्ञान साँच्‍चै केही थिएन।

पछि, ती सिस्टरले मलाई अझ धेरै परमेश्‍वरको वचन पठाएर आफूलाई अलिक राम्ररी चिन्‍न मदत गरिन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “शैतानको स्वभावभित्र धेरै प्रकारका भ्रष्ट स्वभावहरू समावेश हुन्छन्, तर सबैभन्दा स्पष्ट र झट्ट देखिनेचाहिँ अहङ्कारी स्वभाव हो। अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, त्यति नै अविवेकी हुन्छन्, र तिनीहरू जति धेरै अविवेकी हुन्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्‍कारी स्वभाव भएका मानिसहरूले हरेकलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्‍वरप्रति पनि होच्याउने व्यवहार गर्छन्, र तिनीहरूको हृदयभित्र परमेश्‍वरको कुनै डर हुँदैन। मानिसहरू परमेश्‍वरमाथि विश्‍वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा बिल्कुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्‍ने ठान्छन् र आफैलाई संसार ठान्छन्। अहङ्‍कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्‍कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्‍ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्‍कारी स्वभावले उसलाई परमेश्‍वर, उहाँको नियम, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्‍छ; यस्तो व्यक्तिले अरूमाथि नियन्त्रण गर्ने शक्तिको निम्ति सधैँ परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छन्। यस्तो किसिमको व्यक्तिले परमेश्‍वरलाई अलिकति पनि आदर गर्दैन, उसले परमेश्‍वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “मानिसलाई सृष्टि गरेर, परमेश्‍वरले फरकफरक प्रकारका मानिसहरूलाई फरकफरक सामर्थ्य दिनुहुन्छ। कोही साहित्यमा उत्तम हुन्छन्, कोही औषधिमा, कोही सीपको गहन अध्ययनमा, कोही वैज्ञानिक अनुसन्धानमा, र कोही अन्य कुरामा उत्तम हुन्छन्। यी सामर्थ्यहरू परमेश्‍वरले मानिसलाई दिनुभएका सामर्थ्यहरू हुन्। तिनमा घमण्ड गर्ने कुनै कारण छैन। व्यक्तिमा जे-जस्तो सामर्थ्य भए पनि, त्यसको अर्थ उसले सत्यता बुझेको छ भन्‍ने हुँदैन, उसँग सत्यताको वास्तविकता हुने त कुरै नगरौँ। यदि केही सामर्थ्य भएको व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्‍यो भने, उसले आफ्‍नो कर्तव्य निर्वाह गर्दा यसलाई प्रयोग गर्नुपर्छ। परमेश्‍वरलाई यो कुराले प्रसन्‍न तुल्याउँछ। यदि कसैले आफ्‍नो सामर्थ्यको घमण्ड गर्छ वा परमेश्‍वरसँग मोलतोल गर्न यसको प्रयोग गर्ने आशा गर्छ भने, ऊ अत्यन्तै विवेकहीन व्यक्ति हो, र परमेश्‍वरले त्यस्तो व्यक्तिलाई मन पराउनुहुन्‍न। केही विशेष ज्ञान भएका कतिपय व्यक्तिहरू परमेश्‍वरको घरमा आउँछन् र आफू अरूभन्दा श्रेष्ठ रहेको महसुस गर्छन्। तिनीहरू विशेष आदर पाउन चाहन्छन् र आफूसँग भएको सीपले जीवनभर पुग्छ भन्‍ने ठान्छन्। तिनीहरूले आफ्‍नो ज्ञानलाई एक किसिमको पूँजीको रूपमा हेर्छन्। यो तिनीहरूको कस्तो अहङ्कार। त्यसो भए, त्यस्तो वरदान र सामर्थ्यलाई कसरी लिनुपर्छ? यदि परमेश्‍वरको घरमा तिनलाई प्रयोग गर्न सकिन्छ भने, ती कर्तव्य राम्ररी पूरा गर्ने औजार हुन्, त्योभन्दा बढ्ता केही होइनन्। सत्यतासँग तिनको कुनै सम्‍बन्ध हुँदैन। वरदान र प्रतिभा जति नै ठूलो भए पनि, ती मानिसको सामर्थ्यबाहेक अरू केही होइनन्, र सत्यतासँग तिनको अलिकति पनि सम्‍बन्ध हुँदैन। तँसँग वरदान र सामर्थ्यहरू छन् भन्दैमा त्यसको अर्थ तैँले सत्यता बुझेको छस् भन्‍ने हुँदैन, तँसँग सत्यताको वास्तविकता हुनु त परै जाओस्। यदि तैँले आफ्‍नो कर्तव्यमा आफ्‍नो वरदान र सामर्थ्यहरूको प्रयोग गर्छस् र त्यो कर्तव्य राम्ररी पूरा गर्छस् भने, तैँले तिनलाई ठीक ठाउँमा प्रयोग गरिरहेको हुन्छस्। परमेश्‍वरले यस कुरालाई अनुमोदन गर्नुहुन्छ। यदि तैँले धाक लगाउन, आफ्‍नो बारेमा गवाही दिन, आफ्‍नै स्वतन्त्र राज्य खडा गर्नको लागि आफ्‍नो वरदान र सामर्थ्यको प्रयोग गर्छस् भने, तेरो पाप ठूलो हुन्छ—तँ परमेश्‍वरविरुद्धको प्रतिरोधको मुख्य अपराधी बन्छस्। वरदानहरू परमेश्‍वरले दिनुभएको हुन्छ। यदि तैँले आफ्‍ना वरदानहरूलाई कर्तव्य पूरा गर्न वा परमेश्‍वरको गवाही दिनको लागि प्रयोग गर्न सक्दैनस् भने, तँ विवेक र तर्कविनाको व्यक्ति होस् र परमेश्‍वरको लागि ठूलो भार होस्। तैँले गम्भीर अवज्ञा गरिरहेको हुन्छस्। तैपनि, तैँले आफ्‍नो वरदान र सामर्थ्यलाई जति राम्ररी प्रयोग गरे पनि, यसको अर्थ तँसँग सत्यताको वास्तविकता छ भन्‍ने हुँदैन। सत्यताको अभ्यास गरेर अनि सिद्धान्तहरूअनुसार काम गरेर मात्रै व्यक्तिले सत्यताको वास्तविकता प्राप्त गर्न सक्छ। वरदान र प्रतिभाहरू सधैँ वरदान र प्रतिभाकै रूपमा रहन्छन्; ती सत्यतासँग सम्‍बन्धित हुँदैनन्। तँसँग जति धेरै वरदान र प्रतिभा भए पनि, तेरो प्रतिष्ठा र हैसियत जति उच्‍च भए पनि, त्यसले तँसँग सत्यताको वास्तविकता छ भन्‍ने जनाउँदैन्। वरदान र प्रतिभाहरू कहिल्यै सत्यता बन्दैनन्; ती सत्यतासँग सम्‍बन्धित हुँदैनन्(वचन, खण्ड ३। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ८: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग तीन))। परमेश्‍वरको वचन एकदमै स्पष्ट छ। हामी सबैसित आ-आफ्नै सबलता, सीप र प्रतिभाहरू छन्। तर व्यक्तिसित जस्तोसुकै सीपहरू भए पनि, यसको अर्थ उनीहरूले सत्यता बुझ्छन् भन्‍ने हुँदैन, झन् अरू कोहीभन्दा उनीहरू राम्रा हुने कुरा त परै जाओस्। परमेश्‍वरले हामीलाई दिनुभएका सबलता र प्रतिभाहरू हाम्रो आफ्नो कर्तव्य निर्वाह गर्ने साधन मात्र हुन्। ती कुरा सत्यतासित सम्बन्धित छैनन्। मैले यी कुरामा घमण्ड गर्नु हुँदैनथ्यो। बरु मैले तिनलाई सही तरिकामा लिनुपर्थ्यो। तर मैले बोल्ने सीपमा केही निपुणता हासिल गरेपछि र म मानिसहरूसँग सजिलै कुराकानी गर्न सक्‍ने भएपछि, आफूलाई श्रेष्ठ मान्दै यी कुरालाई पूँजीको रूपमा प्रयोग गर्न सक्छु भन्ठानेँ। म अरूभन्दा राम्रो छु भन्‍ने सोचेँ, र त्यसैले म झन्झन् धेरै अहङ्कारी र आक्रामक बन्दै गएँ। मैले आफ्नो कर्तव्य निर्वाह गरेर केही नतिजा हासिल गरेपछि, ममा झनै घमण्ड पलायो, मैले अरू कसैलाई महत्त्वपूर्ण देखिनँ र आफूलाई मात्र विश्‍वास गरेँ, यहाँसम्म कि, मैले आफ्नो कर्तव्यमा सत्यताका सिद्धान्तहरू पनि खोजिनँ, र कसैसित सहकार्य पनि गरिनँ। सुपरिवेक्षकले मेरो अहङ्कारी स्वभावलाई औँल्याइदिँदा मैले त्यसलाई बेवास्ता गरेँ, र अझै आफूलाई सही र असल ठानेँ। मलाई बर्खास्त गरिँदासमेत, मैले आत्मसमीक्षा फिटिक्‍कै गरिनँ, र अझै लाज पचाउँदै आफूलाई वरदानप्राप्त व्यक्ति, प्रतिभाशाली र आफ्नो कर्तव्य उचित तरिकामा निर्वाह गर्न सक्‍ने सोचेँ। मैले आफ्नो बर्खासीको विरोध गरेँ र त्यसप्रति अप्रसन्‍न भएँ, र आफ्नो कर्तव्यसमेत छोड्न चाहेँ। यो अहङ्कारी स्वभावले गर्दा मैले आफूलाई चिन्‍न सकिनँ, अरूको सुझाव सुन्‍न म असक्षम भएँ, र ममा आत्मज्ञानको कमी भयो। मेरो दृष्टिमा म अतुलनीय थिएँ, तर मेरो हृदयमा परमेश्‍वरको बास थिएन! परमेश्‍वरले मेरो लागि प्रबन्ध गर्नुभएको हरेक परिस्थितिमा मैले उहाँविरुद्ध विद्रोह गर्ने र उहाँको प्रतिरोध गर्ने आधारभूत कारण मेरो अहङ्कार नै थियो। मेरो हृदयमा परमेश्‍वरका निम्ति कुनै ठाउँ थिएन, र मैले न त उहाँको आज्ञा पालन गरेँ न त उहाँको डर नै मानेँ। यसो हेर्दा, मैले आफ्नो कर्तव्य गरिरहेको थिएँ, तर आफूमा केही कुरा आइपर्दा, म परमेश्‍वरलाई प्रार्थना वा खोजी गर्दिनथेँ, अनि मैले आफ्नो कर्तव्यमा सत्यता वा सिद्धान्तहरू खोजी गरिनँ। म काम गर्नका लागि आफ्नो अहङ्कारी स्वभावमा मात्र भर परेँ, अनि जथाभावी र लापरवाहीसाथ काम गरेँ, फलस्वरूप, मण्डलीको काममा बाधा पुग्यो। यो त साँच्‍चै दुष्ट कार्य थियो! यदि मेरो अहङ्कारी स्वभाव परिवर्तन नभएको भए, ढिलोचाँडो, म परमेश्‍वरको विरोध गर्ने ख्रीष्टविरोधी बन्‍ने थिएँ, अनि अन्त्यमा परमेश्‍वरले मलाई हटाउनुहुने र दण्ड दिनुहुने थियो। मैले परमेश्‍वरको वचनको अन्तर्दृष्टि र ज्योतिमार्फत यो तथ्यलाई स्पष्टसित देखेँ। ममा केही सबलता भए पनि, मैले सधैँ आफ्नो अहङ्कारी स्वभावअनुसार काम गरिरहेको थिएँ, सत्यता वा सिद्धान्तहरू खोजिरहेको थिइनँ, र मेरो काम प्रभावहीन थियो। स्पष्टतः म अरू कोहीभन्दा पनि राम्रो थिइनँ। मैले सिस्टर थेरेसीबारे सोचेँ, जो आफ्ना कमीकमजोरी सुधार्न अरूका सुझावहरू विनम्रतापूर्वक स्विकार्न सक्थिन्। उनको कर्तव्यले झन्झन् राम्रा नतिजाहरू हासिल गरिरहेको थियो। म असाध्यै लज्‍जित भएँ। ममा ती सिस्टरका सबलता थिएनन्। वास्तवमा, म केही पनि थिइनँ, तैपनि म अति अहङ्कारी थिएँ। यदि मैले आफ्ना सबलता र प्रतिभाहरूलाई पूँजीको रूपमा प्रयोग गरिरहेको, परमेश्‍वरको वचन नसुनिरहेको र आफ्नो कर्तव्यमा सत्यता वा सिद्धान्तहरू खोजी नगरिरहेको भए, मेरा सबलताका बाबजुत मैले परमेश्‍वरबाट आशिष् पाउने थिइनँ। म आफ्नो कुनै कर्तव्य ठीकसित निर्वाह गर्न सक्षम नहुने मात्र होइन, अन्त्यमा मैले मुक्ति पाउने मौका पनि गुमाउने थिएँ।

पछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ: “के तिमीहरूलाई सबै जना सिद्ध हुन्छन् भन्‍ने लाग्छ? मानिसहरू जति नै दह्रिला भए पनि, वा जति नै सक्षम र प्रतिभावान् भए पनि, तिनीहरू अझै पनि सिद्ध हुँदैनन्। मानिसहरूले यो कुरालाई मान्‍नैपर्छ। तथ्य यही हो। आफ्‍नो योग्यता र सामर्थ्य वा गल्तीहरूप्रति पनि मानिसहरूमा हुनुपर्ने उचित मनोवृत्ति यही हो; यो मानिसहरूमा हुनुपर्ने तर्कसङ्गतता हो। आफूमा त्यस्तो तर्कसङ्गतता भयो भने, तैँले आफ्‍ना र अरूका सामर्थ्यहरू र कमजोरीहरू लाई उचित तरिकाले सम्हाल्न सक्छस्, र यसले तँलाई तिनीहरूसँग सद्‍भावमा रही काम गर्न सक्‍ने तुल्याउनेछ। यदि तैँले सत्यताको यो पक्ष बुझेको छस् र तँ सत्यताको वास्तविकताको यो पक्षमा प्रवेश गर्न सक्छस् भने, एकअर्काको सबल पक्षको प्रयोग गर्दै आफ्‍ना दाजुभाइ-दिदीबहिनीहरूसँग सद्‍भावको साथ मिलेर बस्दै आफूसँग भएको कुनै पनि कमजोरीलाई पूर्ति गर्न सक्छस्। यसरी, तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि वा तैँले जे गरिरहेको भए पनि, तँ सधैँ यसमा अझ उत्तम हुँदै जानेछस् र परमेश्‍वरको आशिष्‌ पाउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्‍वरको वचनबाट अभ्यासको मार्ग भेट्टाएँ। मैले परमेश्‍वरको वचनभित्र रहेर आफूलाई चिन्‍नुपर्छ, र आफ्ना सबलता र दुर्बलतालाई सही ढङ्गमा सम्हाल्नुपर्छ। त्यसबाहेक, कोही पनि सिद्ध हुँदैन, र आफूले नबुझ्ने कुराहरूको सन्दर्भमा भन्‍नुपर्दा, मैले अरूको मदत खोज्न र उनीहरूका तौरतरिका र मार्गहरू प्रयोग गर्न सिक्‍नुपर्छ। पहिले, मलाई आफू अरूभन्दा माथि छु जस्तो लाग्थ्यो, र म हरेकलाई तुच्छ ठान्थेँ। तर वास्तवमा, हरेकसित आ-आफ्ना सबलता हुन्छन्, र मैले आफूलाई यस्तो उच्‍च सम्मान दिइरहनु हुँदैन। मैले आफूलाई नम्र तुल्याउनुपर्छ, आफ्ना ब्रदर-सिस्टरहरूसँग समान स्तरमा रहेर बोल्नु र काम गर्नुपर्छ, अरूका सबलता र असल गुणहरूबारे अझ धेरै जान्‍नुपर्छ र सद्भावपूर्ण सहकार्य गर्नुपर्छ। यदि कसैले सरसल्लाह दिँदै छ भने, मैले सत्यता र सिद्धान्तहरू खोजी गर्नुपर्छ, र सधैँ आफूलाई सही ठान्‍नु हुँदैन, किनभने ममा धेरै कमीकमजोरी, अपर्याप्तता, गलत विचार र दृष्टिकोणहरू हुन्छन्, र कामकुरा हेर्ने मेरो दृष्टिकोण सही नहुन सक्छ, साथै पवित्र आत्माले सधैँ एक जना व्यक्तिमा मात्र काम गर्नुहुन्‍न, उहाँले अन्य दाजुभाइ वा दिदीबहिनीहरूमा पनि काम गरिरहनुभएको हुन सक्छ।

पछि, ब्रदर-सिस्टरहरूले हाम्रा कर्तव्यहरूमा विभिन्‍न सल्लाह-सुझाव दिँदा, मैले ती स्विकार्ने प्रयास गरेँ। मलाई याद छ, कुनै बेला म सुसमाचार प्रचार गर्दा, मानिसहरूलाई प्रवचन सुन्‍न मात्र आमन्त्रित गर्थेँ, तर पछि उनीहरूका कठिनाइहरूबारे व्यक्तिगत तवरमा सोधखोज गर्दिनथेँ। सुपरिवेक्षकले मेरो समस्या फेला पारिन् र मैले आफ्नो कर्तव्य त्यति लगनशील भई निर्वाह नगरिरहेको कुरा औँल्याइन्। सुरुमा त मैले उनको आलोचना स्वीकार गर्न सकिनँ, र मैले सक्दो कोसिस गरिरहेकै छु, हामी भेला हुँदा मैले उनीहरूका समस्या र कठिनाइहरू बुझिरहेकै छु, र तिनीहरूलाई व्यक्तिगत रूपमा सोधखोज गर्नुपर्दैन भन्‍ने मलाई लाग्यो। साथै, पहिला पनि मैले त्यसरी नै काम गरेको थिएँ र राम्रै नतिजा आएको थियो, त्यसकारण, मैले सुपरिवेक्षकले भनेजस्तो गर्नु जरुरी छैन भन्‍ने लाग्यो। तर यसबारे सोच्दा, यो त मेरो अहङ्कारी स्वभाव फेरि प्रकट भइरहेको हो भन्‍ने महसुस भयो, त्यसकारण मैले चुपो लागेर परमेश्‍वरलाई प्रार्थना गरेँ, र आफूलाई अलिक शान्त पार्न सकेँ। मेरी सुपरिवेक्षकले मेरो काममा रहेका समस्याहरू औँल्याइरहेकी थिइन् र मैले उनको सल्लाह र मदत स्वीकार गर्नुपर्थ्यो, ताकि मैले आफ्नो कर्त्वयमा झन्झन् राम्रा नतिजाहरू प्राप्त गरिरहन सकूँ। मनन गरेपछि, मैले सुसमाचार ग्रहण गर्ने सम्भावित व्यक्तिहरूसित कुराकानी गर्न, उनीहरूप्रति चासो देखाउन, उनीहरूलाई कुनै कठिनाइहरू पो छन् कि भनेर सोधखोज गर्न थालेँ, र त्यसपछि उनीहरूसँग सङ्गति गर्नका लागि परमेश्‍वरका वचनहरू खोज्न सक्‍नेजति सबै गरेँ। मैले यसप्रकार अभ्यास गरेपछि, मेरो सुसमाचार कार्यका नतिजाहरू धेरै सुध्रिए, र आफूलाई पन्छाउँदा र सत्यता अभ्यास गर्दा पाइने आनन्द पनि अनुभव गरेँ। यसपछि, ब्रदर-सिस्टरहरूले स-साना सुझाव दिँदासमेत, मैले त्यसलाई सधैँ स्वीकार गर्ने प्रयास गरेँ। हरेकपल्ट यसरी अभ्यास गर्दा म सधैँ भित्री शान्ति पाउँछु र आफ्नो कर्तव्य अझ राम्ररी निर्वाह गर्न मदत मिल्छ। म परमेश्‍वरप्रति असाध्यै कृतज्ञ छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्