मेरो प्रतिरक्षात्मक सोचाइ र गलतबुझाइलाई परमेश्‍वरको वचनले हटायो

25 फेब्रुअरी 2023

सन् २०१४ मा, म मण्डली अगुवा हुँदा, म आफ्‍नो कर्तव्यमा तुलनात्मक रूपमा प्रभावकारी नै थिएँ, त्यसकारण मलाई मैले सत्यतालाई बुझेकी छु जस्तो लाग्थ्यो। अवस्थाहरू आइपर्दा, म प्रायजसो सत्यताका सिद्धान्तहरू खोजी गर्दिनथिएँ, तर स्वेच्‍छाचारी रूपमा काम गर्थेँ। त्यो बेला, दुई वटा मण्डलीका अगुवाहरूमा खराब मानवता छ, र तिनीहरूले अरूलाई दमन गर्ने र बाध्य गर्ने गर्छन् भनेर केही मानिसहरूले रिपोर्ट गरे। मैले तिनीहरूको कुरा सुनेँ, रिपोर्टमा विश्‍वास गरेँ, र तथ्यहरूको बारेमा अनुसन्धान नगरिकन, व्यवहारिक काम गर्न सक्‍ने अगुवाहरूमध्ये एक जनालाई बर्खास्त गरेँ, र अर्को अगुवालाई झण्डै निष्कासित गरेँ, जसले दुवै मण्डलीको काममा गम्‍भीर असर पुर्‍यायो। मैले आफ्‍नो कर्तव्य स्वेच्‍छाचारी रूपमा पूरा गरेको, सत्यताका सिद्धान्तहरू अनुसार व्यवहार नगरेको, र स्वेच्‍छाले मानिसहरूलाई बर्खास्त र निष्कासन गरेकोमा मेरो अगुवाले मलाई नराम्ररी निराकरण गरे। तर मलाई आफ्‍नो बारेमा ज्ञान थिएन, त्यसकारण मैले अझै तर्क गरेँ र आफूलाई सही साबित गर्ने प्रयास गरेँ, र सबैले आफ्‍नो कर्तव्यमा गल्ती गर्छन् भन्‍ने सोचेँ। मैले सत्यतालाई स्वीकार नगरेकीले, प्रायजसो मनोमानी ढङ्गले सिद्धान्तहरूविपरीत काम गर्थेँ, र मण्डलीको काम बिथोल्थेँ, त्यसैले मलाई उच्‍च अुगुवाहरूद्वारा बर्खास्त गरियो। मलाई बर्खास्त गरेपछि, तिनीहरूले मेरो लागि कुनै कर्तव्यको बन्दोबस्त गरेनन्, तर मलाई घरमा गएर आत्मिक मनन गर्नू भनी भने। त्यो बेला, मैले परमेश्‍वरको इच्‍छालाई बुझेकी थिइनँ, र म अत्यन्तै नकरात्मक थिएँ। मैले के सोचेँ भने, मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको छ, मैले मेरो विवाह त्यागेँ, मेरो जागिर छोडेँ, र बिरामी हुँदा पनि प्रायजसो आफ्‍नो कर्तव्य पूरा गर्थेँ। मैले केही नपाए पनि, मैले कम्तीमा कडा मेहनत गरेकी थिएँ। बर्खास्त गरिनु आफैमा नराम्रो कुरा थियो, तर अहिले मलाई मैले कुनै कर्तव्य पूरा गर्न सक्दिनँ समेत भनिएको थियो। मैले दुई वटा गल्ती मात्रै गरेकी थिएँ, त्यसकारण मलाई यसरी निराकरण गरिनु अत्यन्तै कठोर व्यवहार भयो भन्‍ने लाग्यो, विशेष गरी, अरू जो अगुवा र सेवकहरू थिएनन् तिनीहरूले अझै पनि आफ्‍नो कर्तव्य पूरा गरिरहेका थिए, जब कि म, जो अगुवा थिएँ, मसँग कुनै कर्तव्य नै थिएन। मैले सोचेँ, “सायद म अगुवा हुन सक्दिनँ। अगुवा हुनको लागि उच्‍च मापदण्ड र कडा सर्तहरू छन्। अलिकति लापरवाही भइयो भने पनि, परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वास समाप्त हुन सक्छ। अनि कसरी असल अन्त्य र गन्तव्य पाउन सकिन्छ? भविष्यमा, जेसुकै भए पनि म अगुवा बन्‍नेछैन।” त्यसपछि वर्षौंसम्‍म, मैले सधैँ मण्डलीको लेखाइको काम गरेँ। अगुवा वा सेवकको रूपमा निर्वाचनमा सहभागी हुने अवसरहरू आएका भए पनि, म सधैँ सहभागी हुनबाट तर्किन्थेँ। त्यो बेला मैले आफ्‍नो समस्या बुझेकी थिइनँ। यसरी काम गर्नु बुद्धिमानी हुन्छ भन्‍ने लागेको थियो।

मेइ २०२० मा, मेरा ब्रदर-सिस्टरहरूले मलाई निर्वाचनमा सहभागी हुन सिफारिश गरे, तर मलाई के गर्ने, के गर्ने भयो। मैले लेखाइ सम्‍बन्धी काम राम्ररी गरिरहेकी थिएँ, र म निर्वाचनमा सहभागी हुन चाहँदिनथिएँ। यदि म अगुवाको रूपमा छनौट भएँ भने, यो नराम्रो खबर हुनेछ। म सोच्थेँ, अगुवा बन्‍नु कठिन हुन्छ र कसैको जस पाइँदैन। यो काम राम्ररी गर्नु अपरिहार्य हुन्छ, र यदि गल्तीहरू गरियो भने, सधैँ अगुवाले नै जिम्‍मेवारी लिनुपर्छ। “सबैले लाभ उठाउँछन् तर एक जना व्यक्तिले मात्रै दोष लिनुपर्छ” भनाइ मेरो सोचसँग मिल्थ्यो। यसभन्दा पहिले, म अगुवा हुँदा, मैले अपराध गरेकी थिएँ। यदि मैले फेरि पनि अगुवाको रूपमा सेवा गर्दै सिद्धान्तविपरीत कुनै काम गरेमा, र मण्डलीको काममा ठूलो हानि पुगेमा, राम्रो अवस्थामा, म बर्खास्त हुनेथिएँ, र खराब अवस्थामा, म बहिष्कार हुनेथिएँ, त्यसपछि त मैले मुक्ति पाउने मेरो मौका नै गुमाउनेथिएँ। यसको बारेमा विचार गरेपछि, मैले आजभोलि मेरो मुटुको अवस्था खराब हुँदै गएको छ, त्यसकारण म निर्वाचनमा सहभागी हुन सक्दिनँ भनेर भनेँ। त्यो बेला, मलाई अलिक ग्‍लानि भएको थियो। के मैले निर्वाचनबाट जोगिने प्रयास गरिरहेकी थिइनँ र? तर त्यसपछि मैले म अगुवा हुन योग्य छैनँ, र मेरो मुटुमा आजभोलि अप्ठ्यारो हुन्छ, त्यसकारण मसँग नजाने कारण छ भन्‍ने सोचेँ। यो सोचेपछि, मैले अनुभव गरेको थोरै असहजता र ग्‍लानि हराएर गयो। एक महिनापछि, अगुवाले मलाई पत्र पठाएर ब्रदर-सिस्टरहरूले मलाई फेरि अगुवाको उम्मेदवारको रूपमा छनौट गरेका छन् भनी भने। यो पढेपछि, म यस्तो सोच्‍न थालेँ, “किन तिनीहरूले मलाई अगुवा उम्मेदवारको रूपमा सिफारिस गरे? अगुवा बन्‍नु खतरनाक कुरा हो! यसमा धेरै काम र धेरै समस्याहरू आउँछ, र कुनै पनि बेला मलाई खुलासा गरिन सक्छ। मैले चिनेका कतिपय मानिसहरू अगुवा नभइञ्‍जेलसम्‍म कुनै समस्यामा परेका थिएनन्, तर तिनीहरू अगुवा बनेपछि, तिनीहरू झूटा अगुवाहरूका रूपमा प्रकट भए र बर्खास्त गरिए, अनि अरू दुष्ट वा ख्रीष्ट-विरोधीहरूको रूपमा प्रकट भए र बहिष्कृत भए। हैसियतले साँच्‍चै नै मानिसहरूलाई खुलासा गर्दो रहेछ।” त्यसकारण मैले निर्वाचनमा नउठ्ने निर्णय गरेँ। तर अगुवाले मलाई तोकिएको समयमा आउनू भने, त्यसकारण म मन नलागी-नलागी गएँ। केही दिनको भेलामा, मसँग भन्‍ने कुरा त्यति धेरै थिएन। भोटको समय भएपछि, मैले लामो समयसम्‍म विचार-विमर्श गरेँ। अन्तिममा, मैले सबैलाई भनेँ, “म सहभागी हुँदिनँ। म भोट पनि दिनेछैनँ वा निर्वाचनमा पनि उठ्नेछैनँ।”

घर पुगेपछि तुरुन्तै मेरो रोग बल्झियो। मलाई पखाला लाग्यो र ज्वरो आयो, र औषधि खाँदा पनि निको भएन। धेरै दिनपछि, मेरो अवस्थामा अलिक सुधार आयो, त्यसपछि मेरो हात र घाँटी राता-राता फोकाले भरियो। यो झन्-झन् गम्‍भीर हुँदै गयो, त्यसकारण पसिना आउने बित्तिकै, जीउमा चारै तिर चहर्‍याउन थाल्थ्यो। केही दिनपछि, म यी रोगहरूको कारण निकै बिरामी परेँ। यो रोग संयोगवस आएको होइन, यो परमेश्‍वरले मलाई दिनुभएको अनुशासन हो भन्‍ने मलाई थाहा भयो, तर कसरी मनन गर्ने मलाई थाहा थिएन। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मलाई आफूलाई चिन्‍न र पाठ सिक्‍न अगुवाइ गर्नुहोस् भनेर अनुरोध गरेँ।

पछि, मेरो अगुवाले म बिरामी छु भन्‍ने सुने, अनि उनले निर्वाचन प्रतिको मेरो आचरणको बारेमा मनन गर्नू भनेर भनिन्, अनि मेरो स्थितिसँग मिल्दो परमेश्‍वरको वचनको खण्ड उल्‍लेख गरिन्। “आफ्नो शैतानी स्वभावमार्फत हैसियत प्राप्त गरेपछि, मानिसहरू खतरामा हुन्छन्। त्यसो भए, के गरिनुपर्छ? के तिनीहरूसँग पछ्याउने कुनै मार्ग हुँदैन? के यो तथ्यलाई परिवर्तन गर्न सकिँदैन? मलाई बताओ त, भ्रष्ट मानिसहरू जोसुकै भए पनि, के हैसियत प्राप्त गरेपछि तिनीहरू ख्रीष्टविरोधी बन्दैनन् र? के यो निरपेक्ष कुरा हो? (यदि तिनीहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरू ख्रीष्टविरोधी बन्‍नेछन्, तर तिनीहरूले सत्यताको खोजी गर्छन् भने, तिनीहरू ख्रीष्टविरोधी बन्‍नेछैनन्।) यो पूर्ण रूपमा सही छ: यदि मानिसहरू सत्यको पछि लाग्दैनन् भने, तिनीहरू निश्‍चित रूपमा ख्रीष्टविरोधीहरू हुनेछन्। के ख्रीष्टविरोधीहरूको मार्गमा हिंड्ने सबैले हैसियतका निम्ति यसै गर्छन्? होइन, यो मुख्य रूपले तिनीहरूमा सत्यप्रति प्रेम नभएकोले, तिनीहरू सही नभएकोले गर्दा हो। चाहे तिनीहरूको हैसियत होस् वा नहोस्, सत्यको पछि नलाग्‍नेहरू सबै ख्रीष्टविरोधीहरूको मार्गमा हिंड्छन्। जतिसुकै प्रवचनहरू सुने पनि त्यस्ता मानिसहरूले सत्यलाई स्वीकार गर्दैनन्, तिनीहरू सही मार्गमा हिँड्दैनन् र निश्‍चित रूपले बाङ्गो मार्गमा हिँड्छन्। यो त मानिसहरूको खाने बानी जस्तै हो: कतिपयले आफ्‍नो शरीरलाई पोषण दिने र सामान्य जीवन जिउन सहयोग गर्ने खाने कुराको खाँदैनन्, बरु आफूलाई हानि गर्ने कुराहरू खान्छन्, र यसरी तिनीहरूले आफ्‍नै खुट्टामा बन्चरो हान्छन्। के यो तिनीहरूको आफ्‍नै निर्णय होइन र? निष्कासित भएपछि, कतिपय अगुवाहरू र सेवकहरूले यसो भन्दै गलत धारणाहरू फेलाउँछन्, ‘अगुवा नबन, र हैसियत प्राप्त नगर। कुनै हैसियत प्राप्त गर्नेबित्तिकै मानिसहरू खतरामा हुन्छन्, र परमेश्‍वरले तिनीहरूलाई खुलासा गर्नुहुनेछ! तिनीहरूको खुलासा भएपछि, तिनीहरू साधारण विश्‍वासी हुनसमेत योग्य हुँदैनन्, र तिनीहरूले कदापि आशिष्‌ पाउनेछैनन्।’ त्यो कस्तो प्रकारको भनाइ हो? सबैभन्दा राम्रो अवस्थामा पनि यसले परमेश्‍वरको गलत बुझाइलाई प्रतिनिधित्व गर्छ; सबैभन्दा नराम्रो अवस्थामा त यो उहाँविरुद्धको ईश्‍वर निन्दा नै हो। यदि तँ सही मार्गमा हिँड्दैनस्, सत्यताको खोजी गर्दैनस्, र परमेश्‍वरको मार्गलाई पछ्याउँदैनस्, बरु ख्रीष्टविरोधीहरूको मार्ग हिँड्ने जिद्दी गर्दै पावलको मार्गमा हिँड्न पुग्छस्, अनि अन्तिममा पावलको जस्तै परिणाम, तिनको जस्तै अन्त्य प्राप्त गरेर परमेश्‍वरलाई दोष दिने र परमेश्‍वरलाई अधर्मी भनेर आलोचना गर्ने गर्छस् भने, के तँ ख्रीष्टविरोधीको सच्‍चा उदाहरण होइनस् र? त्यस्तो बानीबेहोरा श्रापित हुन्छ! जब मानिसहरूले सत्यता बुझेका हुँदैनन्, तब तिनीहरू सधैँ आफ्‍नो धारणा र कल्‍पनाअनुसार जिउँछन्, र बारम्बार परमेश्‍वरलाई गलत अर्थ्याउँछन्, अनि तिनीहरूले परमेश्‍वरका कार्यहरू तिनीहरूका धारणाविपरीत रहेको अनुभव गर्छन्, जसले गर्दा तिनीहरूमा नकारात्मक भावनाहरू पैदा हुन्छन्; मानिसहरूमा भ्रष्ट स्वभाव हुने भएकोले यस्तो हुने गर्छ। तिनीहरूको विश्‍वास अत्यन्तै सानो, तिनीहरूको कद अत्यन्तै कमजोर हुने भएकोले, र तिनीहरूले अत्यन्तै कम सत्यता बुझेका हुनाले तिनीहरूले नकरात्मक र द्वेषपूर्ण कुरा गर्छन्, तर ती सबै कुरा क्षमायोग्य हुन्छन्, र परमेश्‍वरले ती स्मरण गर्नुहुन्‍न। तैपनि, सही मार्गमा नहिँड्ने, र खास गरी परमेश्‍वरलाई छल्‍ने, विरोध गर्ने, धोका दिने, र उहाँसँग लड्ने मार्गमा हिँड्ने मानिसहरू पनि छन्। परमेश्‍वरले यी मानिसहरूलाई आखिरमा दण्ड र श्राप दिनुहुन्छ, र अनन्त विनाश र विध्वंशमा पार्नुहुन्छ। तिनीहरू कसरी यस्तो अवस्थामा पुग्छन्? तिनीहरूले आफ्‍नो बारेमा कहिल्यै मनन नगरेका र आफूलाई नचिनेका हुनाले, तिनीहरूले सत्यता पटक्‍कै स्वीकार नगरेका हुनाले, र तिनीहरू लापरवाह र स्वेच्‍छाचारी हुने हुनाले, अनि तिनीहरूलाई खुलासा गरेर हटाइएपछि परमेश्‍वर धर्मी हुनुहुन्‍न भन्दै जिद्दी गर्दै पश्‍चात्ताप गर्न इन्कार गर्ने, र परमेश्‍वरको विरुद्धमा गुनासो गर्ने हुनाले यस्तो हुन्छ। के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? (सक्दैनन्।) तिनीहरूले सक्दैनन्। त्यसकारण, हटाइएका व्यक्तिहरू सबै नै मुक्तिको पहुँचभन्दा बाहिर हुन्छन् भन्‍ने कुरा साँचो हो? तिनीहरू छुटकाराको पहुँचभन्दा पूरै बहिर हुन्छन् भनेर भन्‍न मिल्दैन। कतिपय मानिसहरूले अत्यन्तै थोरै सत्यता बुझेका हुन्छन्, र तिनीहरू जवान र अनुभवहीन हुन्छन्—र तिनीहरू अगुवा वा सेवक बनेर हैसियत पाउनेबित्तिकै आफ्‍नो भ्रष्ट स्वभावबाट निर्देशित हुन्छन्, र हैसियतको पछि लाग्छन्, र हैसियतकै आनन्द लिन्छन्, र यसरी प्राकृतिक तवरबाटै तिनीहरू ख्रीष्टविरोधीको मार्गमा हिँड्छन्। यदि खुलासा र न्याय गरिएपछि, तिनीहरूले आफ्‍नो बारेमा मनन गरेर साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन्, निनवेका मानिसहरूले जस्तै दुष्टतालाई त्याग्छन्, त्यसउप्रान्त तिनीहरू पहिलेजस्तो दुष्टताको मार्गमा हिँड्न छोड्छन् भने, तिनीहरूले अझै पनि मुक्ति पाउने मौका पाउँछन्। तर त्यस्तो अवसरका सर्तहरू के-के हुन्? तिनीहरूलाई खुलासा र पहिचान गरिएपछि, तिनीहरूले साँचो रूपमा पश्‍चात्ताप गर्नुपर्छ, सत्यता स्वीकार गर्न सक्‍नुपर्छ—जसको अर्थ तिनीहरूसँग अझै पनि केही आशा छ भन्‍ने हुन्छ। यदि तिनीहरूले आफ्‍नो बारेमा मनन गर्न सक्दैनन्, र साँचो रूपमा पश्‍चात्ताप गर्ने अभिप्राय राख्दैनन् भने, तिनीहरूलाई पूर्ण रूपमा निष्कासित गरिनेछ(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नको लागि, व्यक्तिसँग अभ्यासको निश्‍चित मार्ग हुनुपर्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मेरो अगुवाले मलाई यसो भन्दै सम्झाइन्, “तपाईंलाई अगुवाको रूपमा खुलासा गरिनु, बर्खास्त गरिनु, वा निकालिनु सहज हुन्छ जस्तो लाग्छ। के यो दृष्टिकोण सही छ? मानिसहरूलाई अन्त्यमा खुलासा र निष्कासन गरिन्छ कि गरिँदैन भन्‍ने कुरा तिनीहरूले सत्यताको खोजी गर्छन् कि गर्दैनन् र तिनीहरूले कुन मार्ग लिन्छन् भन्‍ने कुरामा निर्भर हुन्छ। तिनीहरू अगुवा भए पनि नभए पनि यसले केही फरक पार्दैन। अगुवाको रूपमा यदि कुनै व्यक्तिले सत्यताको खोजी गर्दैन वा सही मार्गमा हिँड्दैन, यदि उसले दुष्कर्म गर्छ, मण्डलीको काममा बाधा दिन्छ, र पश्‍चात्ताप गर्न मान्दैन भने, उसलाई अवश्य नै खुलासा गरेर निकालिनेछ। तर कतिपय मानिसहरूको हकमा, तिनीहरूले आफ्‍नो कर्तव्यमा गल्ती गरे पनि र अपराध गरे पनि, यदि तिनीहरूले सत्यतालाई स्वीकार गर्न, आफ्‍नो बारेमा मनन गर्न, र वास्तविक पश्‍चात्ताप गर्न सक्छन् भने, परमेश्‍वरको घरले तिनीहरूलाई कर्तव्य निभाउने मौका दिनेछ। तिनीहरूको क्षमता कमजोर भए पनि र तिनीहरू अगुवा हुन योग्य नभए पनि, तिनीहरूलाई अर्को उचित कर्तव्यमा स्थानान्तर गरिनेछ। परमेश्‍वरको घरका सबै अगुवाहरूमध्ये, किन कतिले झन्-झन् बढी सत्यता बुझ्दै जान्छन् र आफ्‍नो कर्तव्यमा प्रगति गर्दै जान्छन्? किन कतिपयले दुष्ट काम गर्छन्, त्यसपछि झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूका रूपमा प्रकट भएर निष्कासित हुन्छन्? के अगुवा बन्‍नुसँग तिनीहरूको असफलताको कुनै सम्‍बन्ध हुन्छ? यसको साथै, परमेश्‍वरको घरले धेरै दुष्कर्मीहरूलाई खुलासा गरेर हटाएको छ, जसमध्ये धेरै जना अगुवा थिएनन्। तिनीहरूले सत्यतालाई घृणा गर्थे, सही मार्गमा हिँड्दैनथिए, आफ्‍नो कर्तव्यमा जथाभावी काम गर्थे, र बाधा र खलबली ल्याउँथे, त्यसकारण तिनीहरूलाई निष्कासित गरियो। अगुवा बन्‍नुसँग यसको कुनै सम्‍बन्ध छ?”

यसको साथै, मलाई यो कुराले चित्त बुझ्यो। “हो, सबै अगुवाहरूले हैसियत पाएपछि तिनीहरूलाई खुलासा गरेर निष्कासित गरिन्छ भन्‍ने छैन। तिनीहरूले हैसियत प्राप्त गरेपछि, तिनीहरू सही मार्गमा हिँड्दैनन्, सत्यताको खोजी गर्दैनन्, हैसियतका लाभहरूको लोभ गर्छन्, स्वेच्छाचारी काम गर्छन्, जथाभावी काम गर्छन्, र बाधा र खलबली मच्चाउँछन्, त्यसकारण यस्तो हुन्छ। यसरी झूटा अगुवा र ख्रीष्ट-विरोधीहरू प्रकट हुन्छन् र निष्कासित हुन्छन्।” मलाई केही समय पहिले बर्खास्त भएको ब्रदर वुको बारेमा याद आयो। अगुवाको रूपमा, तिनले सधैँ अहङ्कारी व्यवहार गर्थे, धाक दिन्थे, सबै कुरामा आफ्‍ना सहकर्मीहरूलाई हेप्‍ने र बन्चित गर्ने गर्थे, जसले गर्दा तिनका सहकर्मीहरूले बाध्यतामा परेको महसुस गरे र आफ्‍नो कर्तव्य सामान्य रूपमा पूरा गर्न सकेनन्। उनका अगुवाहरूले तिनीसँग धेरै पटक सङ्गति गरेका थिए, तर तिनी कहिल्यै परिवर्तन भएनन्, र त्यसपछि मात्रै तिनलाई निष्कासन गरियो। मैले अगुवाको रूपमा बिताएका यसभन्दा पहिलेका वर्षहरूको बारेमा सम्झेँ। म प्रायजसो स्वेच्‍छाचारी काम गर्थेँ। दुई जना मण्डली अगुवाहरूको बारेमा ब्रदर-सिस्टरहरूले रिपोर्ट गर्दा, मैले सिद्धान्त अनुसार अनुसन्धान गरेर पुष्टि गरिनँ। बरु, मैले अन्धाधुन्ध तिनीहरूलाई दोषी ठहर्‍याएँ, यहाँसम्‍म कि तिनीहरूलाई बर्खास्त र बहिस्कार समेत गरेँ। परिणाम स्वरूप, मैले दुवै जना अगुवाहरूलाई हानि गरेँ र मण्डलीमा कोलाहल मच्‍चाएँ। अहिले यसको बारेमा सोच्दा, मैले गरेको सबै कुरा दुष्टता रहेछ भन्‍ने देख्छु। मैले मण्डलीको काम बिथोल्दै ब्रदर-सिस्टरहरूलाई हानि गरिरहेकी थिएँ। खुसीको कुरा, मेरो अनुचित र गलत निर्णयहरू पत्ता लाग्यो र त्यसलाई उल्ट्याइयो। नत्र यसको परिणाम भयानक हुनेथियो। मलाई बर्खास्त गरिएको घटना हैसियत प्राप्त गर्नु वा अगुवा हुनुसँग सम्‍बन्धित नै थिएन। मेरो स्वभाव अत्यन्तै अहङ्कारी भएको, मैले सत्यताको खोजी नगर्ने गरेको, मैले स्वेच्‍छाचारी र अविवेकी ढङ्गले काम गरेको, मैले मण्डलीको काममा बाधा दिएको, र मलाई काट-छाँट र निराकरण गरिँदा मैले आफ्‍नो बारेमा मनन गर्ने वा पश्‍चात्ताप गर्ने नगरेको कारण यस्तो भएको थियो। यसैले मलाई बर्खास्त गरिएको थियो। यो सिद्धान्तहरू अनुरूप थियो, र यो परमेश्‍वरको धार्मिकता पनि थियो। तैपनि, मैले आफूलाई चिनेकी थिइनँ, र परमेश्‍वरको विरुद्धमा गलतबुझाइ र सावधानीको अवस्थामा जिएकी थिएँ। म अगुवा भएकीले मलाई खुलासा गरिएको हो भन्‍ने सोचेँ। म कति विवेकहीन र अव्यावहारिक थिएँ! अहिले मात्रै मलाई थाहा भयो, यदि मलाई समयमा नै बर्खास्त गरेर मेरो कामलाई नरोकिएको भए, मेरो अहङ्कारी स्वभाव अनुसार त, मैले निकै ठूलो दुष्कर्म गरेको हुनेथिएँ। मेरो बर्खास्ती मेरो लागि एक चेतावनी थियो, र आफ्‍नो बारेमा मनन गर्ने राम्रो अवसर पनि थियो। मलाई सिस्टर वाङ्गको बारेमा याद आयो, जोसँग मैले पहिले सहकार्य गरेकी थिएँ। उनलाई बर्खास्त गरिएको थियो, तर उनको असफलतापछि, उनले आफ्‍नो बारेमा मनन गर्न, पाठ सिक्‍न, र परमेश्‍वरसँग पश्‍चात्ताप गर्न सकिन्। पछि, जब उनी फेरि अगुवा भइन्, तब उनले काम गर्दा सत्यताका सिद्धान्तहरू खोजी गर्न सक्थिन्, र उनले स्पष्ट रूपमा नै प्रगति गरिन्। यसको बारेमा सोचेपछि, मैले के बुझेँ भने मानिसहरूलाई हैसियत भएको कारण हटाइँदैन। तिनीहरूले आफ्‍नै भ्रष्ट स्वभावको कारण आफूलाई यसो गरेका हुन्छन्। यदि हाम्रा भ्रष्ट स्वभावहरूलाई समाधान गरिएन भने, हामी अगुवा नभए पनि र अगुवाको हैसियतमा बसेर दुष्कर्म नगरे पनि, सत्यताको खोजी नगरेको कारण हामीलाई हटाइनेछ।

यो कुरा बुझेपछि, मेरो स्थिति परिवर्तन हुन थाल्यो, तर मसँग अझै पनि केही चिन्ताका विषयहरू थिए, “सत्यता सम्‍बन्धी मेरो बुझाइ सतही छ, र अगुवाहरूले धेरै कुराको निर्णय गर्नुपर्छ। यदि मैले गरेका अनुचित बन्दोबस्तहरूको कारण मण्डलीको काममा बाधा पुग्यो भने, मैले अपराध गरेको हुन्छु। यदि म अगुवा होइनँ, र मैले त्यस्तो काम गर्नु पर्दैन भने, यी कुराहरूको कारण म दुष्कर्म गर्दिनँ वा परमेश्‍वरको विरोध गर्दिनँ। म निर्वाचनमा नउठेको नै राम्रो हुन्छ जस्तो लाग्छ।” त्यसपछि, अगुवाले मलाई परमेश्‍वरको वचनको एउटा खण्ड देखाइन्, “म कसैले पनि परमेश्‍वरले तिनीहरूलाई चीसोमा छोडेर जानुभएको, परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुभएको वा तिनीहरूलाई आफ्‍नो पिठ्यूँ फर्काइदिनुभएको जस्तो अनुभव गरेको हेर्न चाहन्न। म के मात्र हेर्न चाहन्छु भने सबै जना सत्यताको खोजी गर्ने र परमेश्‍वरलाई बुझ्‍न खोज्‍ने मार्गमा कुनै पनि सन्देह वा भारविना नै अटल संकल्पको साथ साहसिक रूपमा अघि बढेका हुन्। तैँले जस्तोसुकै गल्तीहरू गरेको भए तापनि, तँ बरालिएर जति टाढा गएको भए पनि वा तैँले जति गम्भीर अपराध गरेको भए पनि, परमेश्‍वरलाई बुझ्‍ने तेरो खोजीमा तिनलाई तैँले बोक्‍ने भारी वा भारीमाथि सुपारी बन्‍न नदे। निरन्तर अघि बढिराख्। सधैँ नै, परमेश्‍वरले मानिसको मुक्ति आफ्‍नो हृदयमा राख्‍नुहुन्छ; यो कहिल्यै परिवर्तन हुँदैन। परमेश्‍वरको सारको सबैभन्दा बहुमूल्‍य भाग यही हो(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरको वचनले मलाई गहन रूपमा प्रभाव पार्‍यो। क्षणिक असफलता र अपराधहरूकै कारण मात्रै परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिने प्रयासलाई छोड्नुहुन्‍न। बरु, उहाँले तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौका दिनुहुन्छ। आफ्‍नो कर्तव्यमा गल्ती र अपराध गर्नु डराउनु पर्ने कुरा होइन। मानिसहरू परिवर्तन हुन सक्छन् भने, परमेश्‍वरले तिनीहरूलाई निरन्तर अगुवाइ गर्नुहुन्छ। मैले केही अपराध गरेकी भए पनि, मण्डलीले अझै मलाई आत्मचिन्तन र पश्‍चात्ताप गर्ने मौका दियो, मलाई एउटै कसुरको कारण दण्डाज्ञा वा निष्कासन गर्ने काम गरेन। तर मैले उचित रूपमा आत्मचिन्तन गरिनँ। म परमेश्‍वरको विरुद्धमा सतर्क स्थितिमा र उहाँको बारेमा गलतबुझाइ लिएर जिएँ, र म अगुवा वा सेवक बन्‍न अनिच्‍छुक भएँ। म अत्यन्तै कठोर हृदयकी थिएँ। यो महसुस गरेपछि, म ग्‍लानि र पछुतोले भरिएँ, त्यसकारण मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, “हे परमेश्‍वर! म अत्यन्तै विद्रोही छु। म अबदेखि तपाईंलाई गलत रूपमा बुझ्‍नेछैन र तपाईंप्रति सतर्क रहनेछैन। अब, म पश्‍चात्ताप गर्न चाहन्छु। बिन्ती छ मलाई अगुवाइ गर्नुहोस् ताकि मैले मेरो गलत स्थितिलाई परिवर्तन गर्न सकूँ।”

त्यसपछि, मैले किन परमेश्‍वरलाई गलत रूपमा बुझेँ र उहाँप्रति सतर्क भएँ भन्‍ने बारेमा सोचेँ। मूल कारण के थियो? यस बेला, मेरो अगुवाले मलाई परमेश्‍वरको वचनको एउटा खण्ड पठाए, जुन मेरो लागि निकै सहयोगी सिद्ध भयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “यदि तँ छली छस् भने, तँ सबै मानिस र विषयहरूप्रति सतर्क बन्नेछस् र शङ्कालु बन्नेछस्, यसैले मप्रतिको तेरो विश्‍वास शङ्काको जगमाथि निर्माण हुनेछ। त्यस्तो विश्‍वासलाई म कहिल्यै स्वीकार्न सक्दिनँ। साँचो विश्‍वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। र यदि तँ परमेश्‍वरलाई शङ्का गर्न जिम्‍मेवार छस् र जानी-जानी उहाँको बारेमा अनुमान गर्छस् भने निस्सन्देह तँ सबै मानिसहरूमध्ये सबैभन्दा छली होस्। तँ परमेश्‍वर मानिसजस्तो हुन सक्नुहुन्छ कि सक्‍नुहुन्‍न भनेर अनुमान लगाउँछस्: क्षमा गर्नै नसकिने पापी, क्षुद्र चरित्र भएको, निष्पक्षता र विवेकरहित, न्यायको भावना नभएको, हिंस्रक युक्तिमा लागेको, छलपूर्ण र धूर्त, दुष्ट र अन्धकारद्वारा प्रसन्न, र यस्तै अरू। के मानिसहरूमा परमेश्‍वरको अलिकति पनि ज्ञान नभएको कारण तिनीहरूमा यस्ता विचारहरू आएका होइनन् र? त्यस्तो विश्‍वास पापभन्दा कम होइन!(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने)। परमेश्‍वरका वचनहरूले मलाई मेरो प्रकृति अत्यन्तै छली भएको कारण मैले परमेश्‍वरलाई गलत बुझेँ र उहाँप्रति सतर्क भएँ भन्‍ने कुरा बुझ्‍न सहयोग गर्‍यो। म बर्खास्त भएपछि, मैले लिएको मार्गले मलाई असफलतामा पुर्‍यायो भनेर सोचिनँ, वा मेरा गल्तीहरूलाई दोहोर्‍याउनबाट जोगिन पाठहरू सिकिनँ। यसको विपरीत, मैले अगुवा बन्‍नु भनेको सहजै खुलासा हुनु र निकालिनु हो भन्‍ने सोचेँ। “अगुवा” भन्‍ने पदले मलाई हानि गरेको हो भन्‍ने लाग्यो। मैले परमेश्‍वरलाई सांसारिक शासक जस्तो कुनै गल्ती गरेको कारण मानिसहरूलाई मृत्यु दण्ड दिने हुनुहुन्छ भनेर पनि कल्‍पना गरेँ, त्यसकारण निर्वाचनको बारेमा सोच्दा नै म अत्तालिएँ। यदि म अगुवाको रूपमा चुनिएँ भने, मलाई खुलासा गरिनेछ र मैले असल परिणाम पाउने मौका गुमाउनेछु भन्‍ने डर लाग्यो, त्यसैले म सतर्क र प्रतिरक्षात्मक भई बसेँ। निर्वाचनमा उठ्नबाट जोगिन र इन्कार गर्न एकपछि अर्को बहाना बनाएँ। म कति छली रहेछु! परमेश्‍वरको घरले अगुवा र सेवकहरूलाई अभ्यास गर्ने मौका दिनको लागि तालिम दिन्छ, ताकि तिनीहरूले सत्यतालाई बुझ्‍न सकून् र परमेश्‍वरको आज्ञा पूरा गर्न सकून्। तर मलाई परमेश्‍वरले मलाई खुलासा गर्न र हटाउन चाहनुहुन्छ भन्‍ने लाग्यो। मैले परमेश्‍वरलाई गलत रूपमा बुझिरहेकी र निन्दा गरिरहेकी थिएँ! म परमेश्‍वरमा विश्‍वास गर्छु, तर मैले सधैँ अधर्मी दृष्टिकोणबाट परिस्थितिलाई हेरेँ, परमेश्‍वरलाई शङ्का गरेँ, र प्रतिरक्षात्मक बनेँ। यसमा मैले शैतानी स्वभावलाई प्रकट गरेँ। के त्यस्तो विश्‍वास परमेश्‍वरलाई विरोध गर्नु होइन र?

पछि, परमेश्‍वरको वचन पढिसकेपछि, मैले परमेश्‍वरको इच्‍छालाई अझै राम्ररी बुझेँ। परमेश्‍वरका वचनहरूले भन्छ, “कहिलेकहीँ, परमेश्‍वरले तँलाई उदाङ्गो पार्न वा अनुशासनमा राख्‍न निश्‍चित मामला प्रयोग गर्नुहुन्छ। के यसको अर्थ तँलाई हटाइएको छ भन्‍ने हुन्छ? के यसको अर्थ तेरो अन्त्य आएको छ भन्‍ने हुन्छ? हुँदैन। … वास्तवमा, धेरैजसो अवस्थामा, मानिसहरूको चिन्ता तिनीहरूका आफ्‍नै चासोहरूबाट पैदा भएका हुन्छन्। सामान्य शब्दमा भन्दा, यो आफूलाई कुनै परिणाम हात नलाग्ला कि भन्‍ने तिनीहरूको डर हो: तिनीहरूले सधैँ मनमनै सोच्छन्, ‘यदि परमेश्‍वरले मलाई उदाङ्गो पार्नुभयो, हटाउनुभयो, र इन्कार गर्नुभयो भने के गर्ने?’ यो तैँले परमेश्‍वरलाई गलत अर्थ्याएको हो; यी तेरा विचार मात्रै हुन्। तैँले परमेश्‍वरको अभिप्राय के हो त्यो पत्ता लगाउनुपर्छ। उहाँले मानिसहरूलाई उदाङ्गो पार्नु भनेको तिनीहरूलाई हटाउनको लागि होइन। तिनीहरूको कमीकमजोरी, गल्ती, अनि तिनीहरूको प्रकृतिको सारलाई खुलासा गर्न, तिनीहरूलाई आफ्‍नो बारेमा जान्‍न लगाउन, र साँचो पश्‍चात्ताप गर्न सक्‍ने तुल्याउनको लागि तिनीहरूलाई उदाङ्गो पारिन्छ; तसर्थ, मानिसहरूलाई उदाङ्गो पार्नु भनेको तिनीहरूको जीवनलाई वृद्धि हुन सहयोग गर्नको लागि हो। साँचो समझविना, मानिसहरूले परमेश्‍वरलाई गलत अर्थ्याउने र नकारात्मक र कमजोर बन्‍ने सम्‍भावना हुन्छ। तिनीहरू निराशसमेत हुन सक्छन्। वास्तवमा, परमेश्‍वरद्वारा मानिसहरूलाई उदाङ्गो पारिनुको अर्थ तिनीहरूलाई हटाइनेछ भन्‍ने हुँदैन। यो त तँलाई ज्ञान दिन, र तँलाई पश्‍चात्ताप गराउनको लागि गरिन्छ। मानिसहरू विद्रोही हुने भएकोले, र भ्रष्टता प्रकट गर्दा समाधान खोज्‍नको लागि सत्यताको खोजी नगर्ने भएकोले, प्रायजसो परमेश्‍वरले अनुशासन प्रयोग गर्नुपर्ने हुन्छ। त्यसकारण कहिलेकहीँ, उहाँले मानिसहरूलाई उदाङ्गो पार्नुहुन्छ, अनि तिनीहरूको कुरूपता र दयनीय अवस्थालाई खुलासा गरेर तिनीहरूलाई आफैलाई चिन्‍ने तुल्याउनुहुन्छ, जसले तिनीहरूको जीवन वृद्धि हुन सहयोग पुर्‍याउँछ। मानिसहरूलाई उदाङ्गो पार्नुका दुई वटा फरक आशय हुन्छन्: दुष्ट मानिसहरूको हकमा, उदाङ्गो पारिनुको अर्थ तिनीहरूलाई निकाल्‍नु भन्‍ने हुन्छ। सत्यता स्वीकार गर्न सक्‍ने मानिसहरूको हकमा, यो ताकिता र चेतावनी हुन्छ; तिनीहरूलाई आफ्‍नो बारेमा मनन गर्न, आफ्‍नो साँचो स्थितिलाई देख्‍न, र बाटो बिराउन र लापरवाही हुन छोड्न लगाउनको लागि यसो गरिन्छ, किनभने यसरी अघि बढ्नु खतरनाक हुन्छ। मानिसहरूलाई यसरी उदाङ्गो पार्नुको उद्देश्य तिनीहरूलाई सम्झाउनको लागि हो, ताकि जब तिनीहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्छन्, तब तिनीहरू झारातिरुवा र लापरवाह नबनून्, खेलाँची नगरून्, अलिअलि प्रभावकारी हुँदा नै आफूले स्वीकार्य मापदण्डअनुसार आफ्‍नो कर्तव्य पूरा गरेको छु भनेर सन्तुष्ट नबनून्—जबकि वास्तवमा परमेश्‍वरले अह्राउनुभएअनुसार मापन गर्दा, तिनीहरू धेरै चुकेका हुन्छन्, तैपनि तिनीहरू अझै आफूप्रति गर्व गर्छन् र सन्तुष्ट बन्छन्, र आफूले राम्ररी काम गरिरहेको छु भन्‍ने ठान्छन्। त्यस्तो परिस्‍थितिमा, परमेश्‍वरले मानिसहरूलाई अनुशासनमा राख्नुहुन्छ, चेतावनी दिनुहुन्छ, र सम्झाउनुहुन्छ। कहिलेकहीँ, परमेश्‍वरले तिनीहरूको कुरूपतालाई उदाङ्गो पार्नुहुन्छ—र यसले ताकिताको रूपमा काम गर्नुपर्छ। त्यस्तो बेला तैँले आफ्‍नो बारेमा मनन गर्नुपर्छ: यसरी तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्नु पर्याप्त छैन, यसमा विद्रोहीपन लुकेको छ, यसमा नकारात्मक कुरा धेरै लुकेको छ, यो पूर्ण रूपमा झारातिरुवा तरिका हो, र तैँले पश्‍चात्ताप गरिनस् भने, तँलाई दण्ड दिइनेछ। जब परमेश्‍वरले तँलाई अनुशासनमा राख्‍नुहुन्छ, र उदाङ्गो पार्नुहुन्छ, यसको अर्थ तँलाई हटाइनेछ भन्‍ने हुँदैन। यो विषयलाई सही तरिकाले हेरिनुपर्छ(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, परमेश्‍वरका वचनहरू अभ्यास गरेर मात्रै स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, म निकै भावुक भएँ। मलाई लाज र ग्‍लानि पनि भयो। परमेश्‍वरले मानिसहरूलाई निराकरण, र अनुशासन गर्नुहुन्छ ताकि हामीले आफूलाई चिन्‍न सकौँ, पश्‍चात्ताप गर्न र परिवर्तन हुन सकौँ। ममाथि काट-छाँट, निराकरण, र असफलता आइपर्दा, मैले मानिसहरूलाई मुक्ति दिने कार्यमा भएको परमेश्‍वरको असल अभिप्राय देखिनँ। म जिद्दी हुँदा शैतानको भ्रम र झूटहरूमा लागिरहेँ, जस्तै “जति ठूलो कद उति कडा खसाइ” र “शिखरमा पुग्‍ने एक्लो हुन्छ।” मलाई मण्डलीमा अगुवा हुनु भनेको सांसारिक अधिकारी हुनु जस्तै हो, र मेरो पद जति उच्‍च छ, खुलासा हुने र हटाइने मेरो खतरा त्यति नै ठूलो हुन्छ भन्‍ने लाग्थ्यो। यतिका वर्षदेखि, मैले परमेश्‍वरलाई गलत रूपमा बुझेको र उहाँप्रति रक्षात्मक भए पनि, मेरो हृदय परमेश्‍वरको नजिक नै थियो। मैले बारम्‍बार अगुवाको रूपमा सेवा गर्न इन्कार गरेँ, निर्वाचनबाट टाढा बसेँ, र आफ्‍नो कर्तव्यमा अत्यन्तै सचेत र चिन्तित रहेँ, त्यसकारण मैले मेरो सम्पूर्णता र मेरो हृदय पूर्ण रूपमा परमेश्‍वरलाई दिन सकिनँ, र सत्यताप्रति ममा सधैँ उदासीन मनोवृत्ति हुन्थ्यो। म शैतानको जालमा परेकी थिएँ, शैतानले मलाई हानि गरेको थियो, र यसले मेरो जीवनमा पुर्‍याइरहेको ठूलो क्षतिको बारेमा समेत मलाई थाहा थिएन। अहिले म खतरामा पर्न लागेकी थिएँ, त्यसकारण मैले अब उप्रान्त परमेश्‍वरलाई गलत रूपमा बुझ्‍न र चोट पुर्‍याउनु हुँदैनथियो। मैले परमेश्‍वरलाई मनमनै प्रार्थना गरेँ, “हे परमेश्‍वर, म पश्‍चात्ताप गर्न चाहन्छु र निर्वाचनलाई सही रूपमा लिन चाहन्छु। म निर्वाचित भए पनि नभए पनि, म तपाईंका बन्दोबस्तहरूमा समर्पित हुनेछु।”

निर्वाचन हुने समय भएपछि, म अझै दोधारमा थिएँ, “यदि तिनीहरूले मलाई साँच्‍चै छनौट गरे भने, मैले स्विकार्नुपर्छ, तर मेरो क्षमता र सीप सीमित छ, त्यसैले अरू कसैलाई यो काम गर्नु दिनु राम्रो हुन्छ। त्यसरी, मलाई फेरि खुलासा गरिनेछैन।” दोधार अवस्थामा बसिरहेकी बेला, मलाई अचानक परमेश्‍वरको यो वचन याद आयो, “परमेश्‍वरका मानिसहरूले राज्यमा आफ्‍नो कर्तव्य निर्वाह गर्दा, र परमेश्‍वरका सृष्टिहरूले सृष्टिकर्ताको अगाडि आफ्‍नो कर्तव्य निर्वाह गर्दा, तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुनुपर्छ, र तिनीहरू शान्त भएर अघि बढ्नुपर्छ, र कायर, डरपोक, र हुतीहारा हुनु हुँदैन: के आफ्‍नो कर्तव्य पूरा गर्नु लाजमर्दो कुरा हो र?(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, भाग तीन)। परमेश्‍वरको वचनले तुरुन्तै मेरो होश खोल्यो। हो, यस्तो महत्त्वपूर्ण समयमा, म पछि हट्न र उम्कन चाहन्थेँ। म निर्वाचनको विषयमा सधैँ चिन्तित हुन्थेँ। मेरो साहस र गरिमा कहाँ थियो? म त परमेश्‍वरले भन्‍नुभए जस्तै डरपोक र कायर थिएँ! सृष्टि गरिएको प्राणीले आफ्‍नो कर्तव्य पूरा गर्नु सही र उचित कुरा हो; यो सम्‍मानजनक कुरा हो। तर म कायर भएर पछि हटेँ र लुकेँ। यो कति मूर्ख र दयनीय कुरा थियो! म परमेश्‍वरतर्फ फर्केर, सरल र इमानदार व्यक्ति बन्‍नुपर्थ्यो, र मैले मेरो अन्त्य र गन्तव्यको बारेमा चिन्ता गर्न छोडेर, आफ्‍नो हृदय परमेश्‍वरलाई दिनुपर्थ्यो। म चयन भए पनि नभए पनि, म अब यसबाट पन्छिन सक्दिनथेँ, र छनौट भएमा, मैले यसलाई स्विकारी आफ्नो कर्तव्य राम्रोसित निभाउनुपर्थ्यो। मेरो मनमा यो कुरा आएपछि, मलाई मेरो हृदयबाट ठूलो बोझ हटाइएको छ जस्तो अनुभव भयो, र म सहजताले भरिएँ।

परिणामहरू आएपछि, म र अर्की एक जना सिस्टर छनौट भयौँ। यस पटक, म रक्षात्मक र भ्रमित थिइनँ, र मलाई म आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्दिनँ कि भन्‍ने डर लाग्‍न छोड्यो। बरु, म यस अवसरलाई मूल्यवान् ठानेर मेरो विगतका अपराधहरूको खाल्डोलाई पुर्न मेरो क्षमताले भ्याइञ्‍जेल सक्दो आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न तयार भएँ। पछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ, “के तिमीहरूलाई ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न डर लाग्छ? (लाग्छ।) के डर आफैमा उपयोगी हुन्छ? हुँदैन—डरले मात्रै समस्या समाधान गर्न सक्दैन। डराउनु सामान्य कुरा हो। यदि व्यक्तिको हृदयभित्र डर छ भने, यसले ऊ सत्यतालाई प्रेम गर्ने, सत्यताको निम्ति लागिपर्ने र सत्यता खोजी गर्न इच्‍छुक व्यक्ति हो भन्‍ने देखाउँछ। यदि तँ हृदयमा डर मान्छस् भने, तैँले सत्यताको खोजी गर्नुपर्छ र अभ्यासको मार्ग भेट्टाउनुपर्छ। तैँले अरूसँग सदभावपूर्ण सहकार्य गर्न सिक्‍नुपर्छ। यदि समस्या छ भने, सङ्गति र छलफलद्वारा समाधान गर्, ताकि हरेकले सिद्धान्तहरूका साथै समाधानसम्बन्धी निश्‍चित तर्क र कार्यक्रमहरू जान्‍न सकून्। के यसले तँलाई अधिनायकवादी वा एकपक्षीय काम गर्नबाट बचाउँदैन र? यसको साथै, यदि तँसँग परमेश्‍वरको डर मान्‍ने हृदय छ भने, तँ प्राकृतिक तवरबाटै परमेश्‍वरको छानबिन स्वीकार गर्न सक्‍नेछस्, तर तैँले परमेश्‍वरका चुनिएका मानिसहरूको रेखदेख स्वीकार गर्न पनि सिक्‍नुपर्छ, जसको लागि तँमा सहनशीलता र ग्रहणशीलता हुनुपर्छ। … रेखदेख स्वीकार गर्नु अवश्य नै अत्यावश्यक कुरा हो, तर मुख्य कुरा भनेको परमेश्‍वरलाई प्रार्थना गर्नु र उहाँमा भरोसा गर्नु, अनि निरन्तर आत्मचिन्तन गर्नु हो। विशेष गरी जब तैँले गलत मार्ग लिएको हुन्छस् वा कुनै गलत काम गरेको हुन्छस्, वा जब तैँले तानाशाही र एकपक्षीय काम गर्न लागेको हुन्छस्, अनि तेरो नजिक रहेको कसैले तँलाई यो कुरा औँल्याउँछ र चेतावनी दिन्छ, तब तैँले त्यो कुरा स्वीकार गरेर तुरुन्तै आफ्‍नो बारेमा मनन गर्नुपर्छ, र आफ्‍नो गल्ती स्वीकार गरेर सुधार गर्नुपर्छ। यसले तँलाई ख्रीष्टविरोधीहरूको मार्गमा कदम चाल्‍नबाट रोक्‍न सक्छ। यदि कसैले तँलाई यसरी सहयोग गरिरहेको र चेतावनी दिइरहेको छ भने, के थाहै नभई तँलाई सुरक्षा दिइएको हुँदैन र? हुन्छ—यो तेरो सुरक्षा हो(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, कर्तव्यलाई उचित रूपमा पूरा गर्नको लागि मैत्रीपूर्ण सहकार्यको आवश्यकता पर्छ)। परमेश्‍वरको वचनले गलत मार्ग लिनबाट बच्‍नको लागि चाहिने अभ्यासको सिद्धान्त देखायो, जुन सिद्धान्त भनेको, जेसुकै भए पनि सत्यताको खोजी गर्नु, आफ्‍ना ब्रदर-सिस्टरहरूसँग छलफल गर्नु, मैत्रीपूर्ण रूपमा सहकार्य गर्नु, सत्यताका सिद्धान्तहरू अनुसार आफ्‍नो कर्तव्य पूरा गर्नु, आफ्‍नो अहङ्कारी स्वभाव अनुसार स्वेच्‍छाचारी काम नगर्नु, अन्तिम निर्णय गर्न पाउनुपर्छ भनी माग नगर्नु, तर आफ्‍नो कर्तव्यमा आफ्‍ना ब्रदर-सिस्टरहरूको रेखदेखलाई स्वीकार गर्नु नै हो। यदि तपाईंलाई ख्रीष्ट-विरोधीको मार्ग लिन्छु र खुलासा हुन्छु भन्‍ने डर लाग्छ, र आफ्‍नो कर्तव्य पूरा गर्न सक्‍नुहुन्‍न भने, तपाईंले समस्याहरू समाधान गर्न सक्‍नुहुन्‍न, र तपाईंले सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मौकालाई बरबाद गर्नुहुनेछ। यो त खानेकुरा अड्केर मर्छु भनेर भोकभोकै मर्नु जस्तै हो। पछि, मैले मेरा पहिलेका असफलताहरूबाट पाठहरू सिकेँ, र मेरो कर्तव्यप्रति मसँग अलिक सही आचरण विकास भयो। म सचेत भएर सबैसँग छलफल गर्थेँ र तिनीहरूसँग राम्ररी काम गर्न सक्‍ने भएँ। हामी सँगै मिलेर सत्यताका सिद्धान्तहरूको खोजी गर्थ्यौँ। केही समय बितेपछि, मैले परमेश्‍वरको अगुवाइ देखेँ, र मेरो कर्तव्यमा केही परिणामहरू प्राप्त भयो।

यस अनुभवले मलाई आफ्नो भ्रष्ट स्वभावबारे मनन गर्न मदद गर्‍यो, ताकि मैले परमेश्‍वरको इच्‍छालाई बुझ्‍न सकूँ, उहाँलाई गलत रूपमा बुझ्‍न छोडूँ, र सन्तुष्टिको साथ आफ्‍नो कर्तव्य पूरा गर्न सकूँ। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

घरको बन्धनबाट मुक्त भएँ

चेङ शि, चीन आखिरी दिनहरूको परमेश्‍वरको कामलाई ग्रहण गरेको लामो समय नबित्दै, मैले मेरो श्रीमानलाई सुसमाचार प्रचार गरेँ। सुसमाचार सुनेपछि...

ख्याति र प्राप्तीका बन्धनहरू

जिएलि, स्पेन२०१५ को वार्षिक चुनावमा, म मण्डलीको अगुवाको रूपमा छानिएँ। दर्जनौं दाजुभाइ-दिदीबहिनीहरूमध्येबाट छानिनु भनेको म अरूभन्दा राम्रो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्