परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरूका सत्यतासँग मेल खाने वचनहरू र परमेश्‍वर स्‍वयम्‌का वचनहरूबीचका भिन्नताहरू

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

मेरा वचनहरू कहिल्यै परिवर्तन नहुने सत्यता हो। म मानिसको निम्ति जीवनको आपूर्ति र मानवजातिको निम्ति एक मात्र मार्गदर्शक हुँ। मेरा वचनहरूको मूल्य र अर्थ मानवजातिले मान्यता दिने वा नदिने र स्वीकार गर्ने वा नगर्ने कुराद्वारा निर्धारण गरिँदैन, तर वचनहरूका सार स्वयम्‌ले नै निर्धारण गर्छन्। यस पृथ्वीमा भएका एक जनाले पनि मेरो वचनहरू ग्रहण गर्न नसके तापनि कुनै पनि मानिसलाई गर्ने ती वचनहरूको सहायता अपार छन्। त्यसकारण, मेरो वचनको विरुद्धमा विद्रोह गर्ने, खण्डन गर्ने, अत्यन्तै तिरस्कार गर्नेहरूको सामना गर्दा मेरो विचार यति मात्र हुन्छ: समय र तथ्यहरू नै मेरो साक्षी बनून् र मेरो वचन सत्य, बाटो र जीवन हो भनी देखाऊन्। मैले भनेका कुराहरू सही छन्, त्यही कुराले मानिस सुसज्जित हुनुपर्छ, यसको अलाबा जसलाई मानिसले स्वीकार गर्नुपर्छ भनी तिनीहरूले नै देखाऊन्। मलाई पछ्याउने सबैलाई यो तथ्य जान्न दिनेछु: मेरा वचनहरू पूर्ण रूपमा स्वीकार गर्न नसक्नेहरू, मेरा वचनहरू अभ्यास नगर्ने मानिसहरू, मेरो वचनमा उद्देश्य नभेट्टाउनेहरू, अनि मेरा वचनहरूका कारण मुक्ति ग्रहण नगर्नेहरू तिनीहरू हुन् जसलाई मेरा वचनहरूद्वारा दोषी ठहराइएका छन्, अनि यसको अलाबा, मेरो मुक्ति गुमाएका छन्, अनि मेरो लहुरो तिनीहरूबाट कहिल्यै हट्नेछैन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ

परमेश्‍वरले बोल्‍नुभएका वचनहरू बाहिरी रूपमा सरल हुन् वा गहन हुन्, जसै मानिस जीवनमा प्रवेश गर्छ ती वचनहरू मानिसको निम्ति सम्पूर्ण अपरिहार्य सत्यता बन्छन्; ती वचनहरू जीवित पानीका फोहरा हुन्, जसले मानिसलाई आत्मा र शरीर दुवैमा जीवित रहन सक्षम तुल्याउँछन्। ती वचनहरूले मानिसलाई जीवित रहन आवश्यक तत्त्वहरू प्रदान गर्छन्; उसको दैनिक जीवन चलाउनको निम्ति आवश्यक पर्ने सिद्धान्तहरू र विश्‍वासको सार प्रदान गर्छन्; मुक्ति प्राप्‍त गर्न उसले पार गर्नुपर्ने मार्ग, लक्ष्य र मार्गदर्शन प्रदान गर्छन्; परमेश्‍वरले सृष्‍टि गर्नुभएको एक प्राणीको रूपमा उसमा हुनुपर्ने हरेक सत्यता प्रदान गर्छन्; र मानिसले परमेश्‍वरको आज्ञापालन गर्न र आराधना गर्न चाहिने सत्यता प्रदान गर्छन्। यी वचनहरू मानिसको अस्तित्व सुनिश्‍चित गर्ने प्रत्याभूति हुन्, मानिसको दैनिक भोजन हुन्, र तिनीहरू दह्रिलो टेवा हुन् जसले मानिसलाई बलियो हुन र खडा हुन सक्षम तुल्याउँछन्। सृष्‍टि गरिएको मानवजातिले तिनीहरूबमोजिम जिउने भएकोले तिनीहरू सामान्य मानवको सत्यता वास्तविकताले भरिपूर्ण हुन्छन्, मानिसलाई भ्रष्‍टताबाट छुटकारा दिने र शैतानको जालबाट बचाउने सत्यताले भरिपूर्ण हुन्छन, सृष्‍टिकर्ताले सृष्‍टि गरिएको मानवजातिलाई दिनुहुने अथक शिक्षण, उपदेश, उत्साह, र सान्त्वनाले भरिपूर्ण हुन्छन्। तिनीहरू सङ्‍केत बत्ती हुन् जसले मानिसहरूलाई सबै सकारात्मक कुराहरू बुझ्‍न मार्गदर्शन र अन्तर्दृष्टि दिन्छन्, तिनीहरू प्रत्याभूति हुन् जसले मानिसहरूले सबै धर्मी र असल कुराहरू प्राप्‍त गरी त्यसैबमोजिम जीवन जिउनेछन् भन्‍ने सनिश्चित गर्छन्, तिनीहरू मापदण्डहरू हुन् जसद्वारा सबै मानिस, घटना, र वस्तुहरूलाई मापन गरिन्छन्, र तिनीहरू नौपरिवहन संकेत हुन् जसले मानिसहरूलाई मुक्ति र ज्योतिको मार्गमा डोर्‍याउँछन्।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

मेरो बोलीले मेरो अस्तित्वको प्रतिनिधित्व गर्छ, तर मैले भन्‍ने कुरा मानिसको पहुँचभन्दा बाहिर छ। मैले भन्‍ने कुरा मानिसले अनुभव गर्ने कुरा होइन, र यो मानिसले देख्‍न सक्‍ने कुरा पनि होइन; यो मानिसले छुन सक्‍ने कुरा पनि होइन, तर मैले भन्‍ने कुरा म स्‍वयम्‌ नै हुँ। कतिपय मानिसहरूले मैले शिक्षा दिने कुरा नै मैले गरेको अनुभव हो भनी स्वीकार गर्छन्, तर त्यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो भनी तिनीहरूले पहिचान गर्दैनन्। अवश्‍य नै, मैले जे भन्छु त्यो मैले अनुभव गरेको कुरा हो। छ हजार वर्षसम्म व्यवस्थापनको काम गर्ने म नै हुँ। मैले मानवजातिको सृष्‍टिको सुरुआतदेखि वर्तमान समयसम्म भएका सबै कुरा अनुभव गरेको छु; कसरी म त्यसको बारेमा चर्चा गर्न असक्षम हुन्छु र? जब मानिसको प्रकृतिको कुरा आउँछ, मैले त्यो स्पष्‍ट देखेको छु; मैले त्यो लामो समयदेखि अवलोकन गरेँ। कसरी म त्यसको बारेमा स्पष्‍टसँग कुरा गर्न असक्षम हुन सक्छु र? मैले मानिसको सारलाई स्पष्‍ट रूपमा देखिसकेको छु, त्यसकारण म मानिसलाई सजाय दिन र उसको न्याय गर्न योग्य छु, किनकि सबै मानिस मबाट आएका हुन् तर उनीहरू शैतानद्वारा भ्रष्‍ट बनाइएका छन्। निश्‍चय नै, मैले गरेको कामलाई मूल्याङ्कन गर्न म योग्य छु। यो काम मेरो शरीरले नगरेको भए पनि, यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो, र मसँग जे छ र म जे हुँ त्यो यही हो। त्यसैले, त्यसलाई व्यक्त गर्न र मैले गर्नुपर्ने काम गर्न म योग्य छु। मानिसहरूले भन्‍ने कुरा भनेका उनीहरूले अनुभव गरेका कुरा हुन्। त्यो उनीहरूले देखेका, उनीहरूको मनले बुझ्‍न पुग्‍न सक्‍ने, र उनीहरूको चेतनाले थाहा पाउन सक्‍ने कुरा हुन्। तिनीहरूले सङ्‍गति गर्न सक्‍ने कुरा यही हो। परमेश्‍वरको देहधारी शरीरले बोल्‍नुभएका वचनहरू आत्माको प्रत्यक्ष अभिव्यक्ति हुन् र यी वचनहरूले आत्माद्वारा गरिएको काम व्यक्त गर्छन्, जुनचाहिँ शरीरले अनुभव गरेको वा देखेको छैन, तैपनि उहाँले आफ्नो अस्तित्वलाई व्यक्त गर्नुहुन्छ, किनकि देहको सारतत्त्व आत्मा नै हो, र उहाँले आत्माको काम व्यक्त गर्नुहुन्छ। यो आत्माले अघिबाटै गरिसक्‍नुभएको काम हो, तापनि त्यो देहको पहुँचभन्दा बाहिर छ। देहधारणपछि, देहको अभिव्यक्तिद्वारा उहाँले मानिसहरूलाई परमेश्‍वरको अस्तित्व थाहा गर्न सक्षम तुल्याउनुहुन्छ र मानिसहरूलाई परमेश्‍वरको स्वभाव र उहाँले गर्नुभएको काम देख्‍ने तुल्याउनुहुन्छ। मानिसको कामले मानिसहरूलाई उनीहरू केमा प्रवेश गर्नुपर्छ र उनीहरूले के बुझ्‍नुपर्छ सोबारे ठूलो स्पष्टता दिन्छ; यसमा मानिसहरूलाई सत्यताको बुझाइ र अनुभवतिर अगुवाइ गर्ने कुरा समावेश हुन्छ। मानिसको काम भनेको मानिसहरूलाई पालनपोषण गर्नु हो; परमेश्‍वरको काम भनेको मानिसहरूको निम्ति नयाँ मार्ग र नयाँ युगहरूको सुरुवात गरिदिनु, र मरणशील मानिसहरूले थाहा गर्न नसक्‍ने कुरा मानिसहरूलाई प्रकट गरिदिनु हो, यसरी तिनीहरूले उहाँको स्वभाव बुझ्‍न सक्छन्। परमेश्‍वरको काम भनेको सबै मानवजातिलाई अगुवाइ गर्नु हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

जुन कुरा परमेश्‍वरले प्रत्यक्ष रूपमा व्यक्त गर्नुभएको छ त्यो सत्यता हो। पवित्र आत्‍माको अन्तर्दृष्टिद्वारा पैदा हुने जुनसुकै कुरा सत्यताअनुरूप मात्रै हुन्छ, किनभने पवित्र आत्‍माले मानिसहरूको कदको आधारमा मात्रै अन्तर्दृष्टि दिनुहुन्छ र मानिसलाई प्रत्यक्ष रूपमा सत्यता व्यक्त गर्न सक्‍नुहुन्‍न। यो तैँले बुझ्‍नैपर्ने कुरा हो। अनि जब मानिसहरूले सत्यताका वचनहरूको आधारमा अनुभवबाट अन्तर्दृष्टि, र ज्ञान प्राप्त गर्छन्, के त्यस्तो अन्तर्दृष्टि र ज्ञान सत्यताको रूपमा गन्ती हुन्छ? बढीमा, यो सत्यताको थोरै ज्ञान मात्र हो। पवित्र आत्‍माले अन्तर्दृष्टि दिनुभएका वचनहरूले परमेश्‍वरका वचनहरूलाई प्रतिनिधित्व गर्दैनन्, तिनले सत्यतालाई प्रतिनिधित्व गर्दैनन्, ती सत्यताको स्वामित्वमा हुँदैनन्; ती त सत्यताका थोरै ज्ञान, पवित्र आत्‍माको थोरै अन्तर्दृष्टि मात्र हुन्। यदि मानिसहरूले सत्यताको केही ज्ञान प्राप्त गर्छन् र त्यसलाई अरूमा आपूर्ति गर्छन् भने, यो पनि व्यक्तिगत ज्ञान र अनुभवको आपूर्ति हो। त्यो मानिसहरूलाई सत्यता आपूर्ति गर्नु होइन। यसलाई सत्यताको सङ्गति गर्नु भनेर भन्‍न सकिन्छ—यसलाई उल्‍लेख गर्ने उचित तरिका यही हो। यो सरल विषय होइन र धेरैजसो मानिसहरूले यसलाई पूर्ण रूपमा बुझ्‍न सक्दैनन्, त्यसकारण तैँले यसलाई स्पष्ट रूपमा बुझ्‍नुपर्छ; यो केवल सही शब्‍दहरूको मामला होइन, वा तैँले केही अर्थ-अनुवाद मात्रै बुझ्‍नुपर्छ, त्योभन्दा बढी केही पनि बुझ्नुपर्दैन भन्‍ने कुरा होइन। तैँले सत्यताबाट केही कुरा, अर्थात् मानिसले प्राप्त गर्नुपर्ने कुराहरू प्राप्त गरेको हुन सक्छस्, तर यसको अर्थ तैँले सत्यता प्राप्त गरेको छस् भन्‍ने हुँदैन। अनि तैँले सत्यताबाट अझै अरू कुराहरू प्राप्त गरेको हुन सक्छस्, तर यसको अर्थ तँसँग अब सत्यताको जीवन छ भन्‍ने हुँदैन, तँ सत्यताको होस् भनेर भन्‍न सकिने त कुरै नगरौं—अवस्था पूर्णतया त्यो होइन। तैँले आफ्‍नो जीवनलाई पौष्टिकता प्रदान गर्न सत्यताबाट केही पौष्टिक कुरा प्राप्त गरेको मात्र होस्, ताकि तँसँग कुनै यस्तो कुरा होस्, जुन तँसँग हुनुपर्छ, जसले परमेश्‍वरमा विश्‍वास गर्छ र परमेश्‍वरलाई सन्तुष्ट पार्छ। परमेश्‍वरले मानिसहरूलाई भरणपोषण गर्न सत्यताको प्रयोग गर्नुहुन्छ, अनि सत्यताद्वारा तिनीहरूलाई उहाँलाई सन्तुष्ट पार्न र उहाँको हृदयअनुसारको बन्‍न दिनुहुन्छ। अन्त्यमा, मानिसहरूले परमेश्‍वरको इच्‍छालाई पूर्ण रूपमा सन्तुष्ट पारिसकेपछि पनि तिनीहरूलाई सत्यताको हो भनेर भन्‍न सकिँदैन, तिनीहरूभित्र सत्यताको जीवन छ भनेर भन्‍न सकिने त कुरै नगरौं। … हरेकले सत्यताको अनुभव गर्छन्, तर हरेकले फरक-फरक परिस्‍थितिहरूमा त्यसो गर्छन्, र हरेकले फरक-फरक कुरा प्राप्त गर्छन्। तैपनि, तिनीहरूको ज्ञानलाई जोडिन्थ्यो भने पनि, तिनीहरूले अझै एउटा सत्यतालाई पनि पूर्ण रूपमा व्यक्त गर्न सक्‍नेथिएनन्। सत्यता त्यति गहन छ! तैँले प्राप्त गरेका कुराहरू र तेरो ज्ञान सत्यताको स्थानमा उभिन सक्दैनन् भनेर किन भनिन्छ त? तैँले अरूसँग आफ्‍नो ज्ञानबारे सङ्गति गर्छस्, र तिनीहरूले यसलाई पूर्ण रूपमा अनुभव गर्नको लागि दुई-तीन दिन मात्रै मनन गर्नुपर्छ। तर मानिसहरूले सम्पूर्ण जीवनकाल नै बिताए पनि अझै सत्यतालाई पूर्ण रूपमा अनुभव गर्न सक्दैनन्; हरेक व्यक्तिले अनुभव गरेको कुरालाई जोडिन्थ्यो भने पनि, सत्यतालाई अझै पनि पूर्ण रूपमा अनुभव गरिएको हुनेथिएन। त्यसकारण सत्यता असाधारण रूपमा गहन छ भनेर देख्‍न सकिन्छ। सत्यतालाई शब्‍दहरूमा पूर्ण रूपमा व्यक्त गर्न सकिँदैन। मानिसको भाषामा, सत्यता नै मानवजातिको साँचो सार हो। मानिसले कहिल्यै पनि सत्यतालाई पूर्ण रूपमा अनुभव गर्न सक्‍नेछैन। मानिस सत्यताद्वारा जिउनुपर्छ। केवल एउटा सत्यताले सारा मानवजातिको अस्तित्वलाई हजारौं वर्षसम्‍म थाम्‍न सक्छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्य वास्तवमा के हो भन्ने के तँलाई थाहा छ?”

परमेश्‍वर स्वयमको जीवन नै सत्यता हो; यसले उहाँको स्वभाव, उहाँको सार र उहाँमा भएका सबै थोकको प्रतिनिधित्व गर्दछ। यदि तैँले थोरै अनुभव हुनु नै सत्य धारण गर्नु हो भनी भन्छस् भने, के तैँले परमेश्‍वरको स्वभावको प्रतिनिधित्व गर्न सक्छस्? तँसँग सत्यताको कुनै एक तत्व वा पक्षको बारेमा केही अनुभव वा ज्योति हुनसक्छ, तर तैँले अरूलाई त्यो सधैँभरि दिन सक्दैनस्, त्यसैले तैँले प्राप्त गरेको यो ज्योति सत्यता होइन; यो एक निश्चित बिन्दु मात्र हो, जहाँ मानिसहरू पुग्न सक्छन्। यो व्यक्तिमा हुनुपर्ने उचित अनुभव र सही बुझाइ मात्र हो: सत्यको केही वास्तविक अनुभव र ज्ञान। यो ज्योति, अन्तर्दृष्टि, र अनुभव सम्‍बन्धी बुझाइले कहिल्यै पनि सत्यको स्थान लिन सक्दैन; यदि सबै मानिसहरूले यो सत्यताको पूर्ण अनुभव गरेका थिए भने पनि, र तिनीहरूका सबै अनुभव सम्‍बन्धी बुझाइहरूलाई एकसाथ जम्‍मा गरे पनि त्यसले अझै पनि सत्यताको स्थान लिन सक्नेछैन। विगतमा भनिएजस्तै, “म यसलाई मानव संसारका लागि एउटा सूत्रको रूपमा जोड्छु: मानिसहरूका माझमा, मलाई प्रेम गर्ने कोही पनि छैन।” सत्यताको अभिव्यक्ति यही हो: जीवनको साँचो सार यही हो। यो सबै थोकहरूभन्दा अति नै गम्भीर छ; यो परमेश्‍वर स्वयम्‌को एक अभिव्यक्ति हो। तैँले यसको अनुभव गरिरहन सक्छस्, र यदि तैँले तीन वर्षसम्म यसको अनुभव गरिस् भने तँसँग यसको सतही बुझाइ हुनेछ; यदि तैँले सात वा आठ वर्षसम्म यसको अनुभव गरिस् भने तैँले यसको अझ धेरै बुझाइ प्राप्त गर्नेछस्—तर तैँले प्राप्त गर्ने कुनै पनि बुझाइले कहिल्यै पनि सत्यको एउटा अभिव्यक्तिको स्थान लिन सक्नेछैन। अर्को व्यक्तिले केही वर्षसम्म यसको अनुभव गरिसकेपछि थोरै बुझाइ प्राप्त गर्न सक्दछ, र फेरि दश वर्षसम्म यसको अनुभव गरेपछि थप बढी गहन बुझाइ प्राप्त गर्न सक्छ, त्यसपछि आजीवन यसको अनुभव गरेपछि थप बढी समझ प्राप्त गर्न सक्छ—तर यदि तिमीहरूले दुवैले प्राप्त गरेका बुझाइलाई जोड्यौ भने पनि—तिमीहरू दुवैमा जति धेरै बुझाइ भए पनि, जति धेरै अनुभव भए पनि, जति धेरै अन्तर्दृष्टि भए पनि, जति धेरै प्रकाश भए पनि, जति नै धेरै उदाहरणहरू भए पनि—ती सबैले पनि सत्यको एउटा अभिव्यक्तिको स्थान लिन सक्दैन। मेरो यो भनाइको अर्थ के हो? मेरो भनाइको अर्थ यो हो कि मानिसको जीवन सधैँ मानिसको जीवन नै हुनेछ, र तेरो बुझाइ सत्यता, परमेश्‍वरका अभिप्रायहरू र उहाँका मापदण्डहरूसित जति नै मिले पनि, त्यसले कहिल्यै पनि सत्यको स्थान लिन सक्दैन। मानिसहरूले सत्यता प्राप्त गरेका छन् भन्नुको अर्थ तिनीहरूमा केही वास्तविकता छ, तिनीहरूले सत्यताका केही बुझाइ प्राप्त गरेका छन्, तिनीहरूले परमेश्‍वरको वचनहरूमा केही वास्तविक प्रवेश पाएका छन्, तिनीहरूले आफूमा केही वास्तविक अनुभव प्राप्त गरेका छन् र तिनीहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासको सही मार्गमा छन् भन्ने हुन्छ। परमेश्‍वरबाटको एउटा अभिव्यक्ति समेत व्यक्तिको सम्पूर्ण जीवनकालको लागि अनुभव गर्न पर्याप्त हुन्छ; यदि मानिसहरूले धेरै वटा जीवनकालमा वा केही हजार वर्षसम्म यसको अनुभव प्राप्त गरे भने पनि तिनीहरूले एउटा सत्यतालाई पूरै र सम्पूर्ण रूपले अनुभव गर्न सक्नेछैनन्। …

… यदि तँमा परमेश्‍वरका वचनहरूको थोरै अनुभव छ भने, र तँ आफूमा भएको सत्यको बुझाइ अनुसार जिइरहेको छस् भने, परमेश्‍वरका वचनहरू तेरो जीवन बन्छन्। तापनि, तैँले अझै पनि सत्य नै तेरो जीवन हो वा तैँले व्यक्त गरिरहेका कुराहरू सत्य हुन् भनेर भन्न सक्दैनस्; यदि तेरो विचार त्यस्तो छ भने, तँ गलत छस्। यदि तँसँग सत्यको एउटा पक्षबारे कुनै अनुभव छ भने के त्यो आफैले सत्यको प्रतिनिधित्व गर्न सक्छ? बिलकुलै सक्दैन। के तैँले सत्यको पूर्ण रूपमा वर्णन गर्न सक्छस्? के तैँले सत्यताबाट परमेश्‍वरको स्वभाव र उहाँको सार पत्ता लगाउन सक्छस्? तैँले त्यसो गर्न सक्दैनस्। प्रत्येक व्यक्तिसँग सत्यको एक पक्ष र एउटा क्षेत्रको मात्र अनुभव हुन्छ; तेरो सीमित क्षेत्रभित्र यसलाई अनुभव गरेर तैँले सत्यको सबै अनगन्ती पक्षहरूलाई छुन सक्दैनस्। के मानिसहरू सत्यताको वास्तविक अर्थअनुसार जिउन सक्छन्? तेरो थोरै अनुभवको परिमाण कति हुन्छ? समुद्र किनारको बालुवाको एउटा कण जति; समुद्रको पानीको एक थोपा जति। त्यसकारण तैँले आफ्ना अनुभवहरूबाट प्राप्त गरेको ज्ञान र ती भावनाहरू जति नै अनमोल भए पनि, तिनलाई अझै पनि सत्यताको रूपमा गन्ती गर्न सकिँदैन। सत्यताको स्रोत र सत्यताको अर्थले धेरै व्यापक क्षेत्रलाई समेट्दछ। कुनै पनि कुरा यससँग परस्पर विरोधी हुन सक्दैन। कतिपय मानिसहरू भन्छन्, “के मेरो अनुभवको ज्ञान कहिल्यै परस्पर विरोधी हुन सक्दैन?” अवश्य सक्दैन। तैंले परमेश्‍वरका वचनहरूको अनुभवबाट प्राप्त गरेको साँचो बुझाइ सत्यता अनुरूप हुन्छ—यो कसरी परस्पर विरोधी हुन सक्छ? कुनै पनि वातावरणमा यो सत्यता तेरो जीवन हुन सक्छ। यसले तँलाई एउटा मार्ग दिन सक्छ, र यसले तँलाई जिउन सहायता गर्न सक्छ। तापनि, मानिसहरूसँग भएका थोकहरू र उनीहरूले प्राप्त गरेका ज्योति केवल उनीहरूकै निम्ति र केही क्षेत्रभित्र अरू कसै-कसैका निम्ति मात्र उपयुक्त हुन्छन्, तर एउटा फरक क्षेत्रभित्र ती उपयुक्त हुँदैनन्। कुनै व्यक्तिको अनुभव जति नै गहन भए पनि, त्यो अझै अत्यन्तै सीमित हुन्छ, र तिनीहरूको अनुभव कहिल्यै पनि सत्यताको क्षेत्रमा पुग्दैन। व्यक्तिको ज्योति र व्यक्तिको बुझाइलाई सत्यतासँग कहिल्यै पनि तुलना गर्न सकिँदैन।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्य वास्तवमा के हो भन्ने के तँलाई थाहा छ?”

अगमवाणीका पुस्तकहरूबाहेक पुरानो करारको अधिकांश भाग एक ऐतिहासिक अभिलेख हो। नयाँ करारका केही पत्रहरू मानिसका अनुभवहरूबाट आएका हुन्, र केही पवित्र आत्माको अन्तर्ज्ञानबाट आएका हुन्; उदाहरणका लागि, पावलका पत्रहरू मानिसकै कामबाट उत्पन्न भएका थिए, ती सबै पवित्र आत्माको अन्तर्ज्ञानका परिणाम हुन्, र ती मण्डलीहरूका लागि लेखिएका थिए, र मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि उपदेश र प्रोत्साहनका शब्दहरू थिए। तिनीहरू पवित्र आत्माले बोलेका वचनहरू थिएनन्—पावल पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे, न त तिनी अगमवक्ता नै थिए, तिनले यूहन्नाले देखेका दर्शनहरू देख्ने कुरा त परै जाओस्। तिनका पत्रहरू एफिसस, फिलाडेल्फिया, गलातिया र अन्य मण्डलीहरूको लागि लेखिएका थिए। त्यसकारण, नयाँ करारका पावलका पत्रहरू पावलले मण्डलीहरूका निम्ति लेखेका पत्रहरू थिए, अनि तिनीहरू न त पवित्र आत्माबाट आएका प्रेरणाहरू हुन्, न त तिनीहरू पवित्र आत्माका प्रत्यक्ष वाणीहरू नै हुन्। ती केवल उपदेश, सान्त्वना र प्रोत्साहनका शब्दहरू हुन् जुन तिनले आफ्नो कामको सिलसिलामा मण्डलीहरूको लागि लेखेका थिए। त्यसैले पनि ती पावलको त्यतिखेरको कामका अभिलेख हुन्। ती प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीहरूका लागि लेखिएका थिए, ताकि त्यस समयका मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूले उनको सल्लाह अनुसरण गरून् र प्रभु येशूको पश्चात्तापको मार्गमा हिँडून्। पावलले चाहे तिनीहरू त्यो समयका मण्डलीहरू हुन् वा भविष्यका, तिनीहरू सबैले तिनले लेखेका कुरा खानु र पिउनुपर्छ भनेर कुनै पनि हिसाबले भनेनन्, न त तिनले आफ्ना सबै शब्दहरू परमेश्‍वरबाट आएका हुन् भनेर नै भने। त्यस बेलाको मण्डलीको परिस्थितिअनुसार, उनले केवल दाजुभाइ तथा दिदीबहिनीहरूसँग कुराकानी गरे र तिनीहरूलाई हौसला दिए र तिनीहरूमा विश्‍वासको प्रेरणा दिए र उनले केवल मानिसहरूलाई प्रचार गरे वा सम्झाए अनि उपदेश दिए। तिनका शब्दहरू आफ्नै बोझमा आधारित थिए र तिनले यी शब्दहरूमार्फत मानिसहरूलाई सहायता गरे। तिनले त्यस समयका मण्डलीहरूको प्रेरितको काम गरे, तिनी प्रभु येशूद्वारा प्रयोग भएका कामदार थिए, र यसैले तिनले मण्डलीहरूको जिम्मेवारी लिनुपर्थ्यो, र मण्डलीहरूको काम गर्नुपर्थ्यो, तिनले दाजुभाइ तथा दिदीबहिनीहरूको स्थितिको बारेमा थाहा पाउनुपर्थ्यो—र यसैकारण, तिनले प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीहरूका लागि पत्रहरू लेखे। तिनले मानिसहरूका लागि भनेका सबै सुधारात्मक र सकारात्मक कुराहरू सही थिए, तर यसले पवित्र आत्माको वाणीहरूलाई प्रतिनिधित्व गर्दैन, र यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैन। एकजना मानिसको अनुभवहरूका अभिलेखहरू र एकजना मानिसको पत्रहरूलाई मानिसहरूले मण्डलीहरूको लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको रूपमा लिनु एक अत्यन्तै गलत बुझाइ, र एक ठूलो ईश्‍वरनिन्दा हो! यो कुरा विशेषगरी पावलले मण्डलीहरूका निम्ति लेखेका पत्रहरूको प्रसङ्गमा सत्य हुन आउँछ, किनकि उनका पत्रहरू त्यस बेलाका प्रत्येक मण्डलीको परिस्थितिहरू र स्थितिहरूको आधारमा दाजुभाइ तथा दिदीबहिनीहरूका लागि लेखिएका थिए र ती प्रभुमा दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रोत्साहन दिनको लागि थिए ताकि तिनीहरूले प्रभु येशूको अनुग्रह प्राप्त गर्न सकून्। तिनका पत्रहरू त्यसबेलाका दाजुभाइ तथा दिदीबहिनीहरूलाई जगाउनको लागि थियो। यो भन्न सकिन्छ कि यो तिनको आफ्नै बोझ थियो र यो पवित्र आत्माले उनलाई दिनुभएको बोझ पनि थियो; जे भए पनि, तिनी त्यस समयका मण्डलीहरूको नेतृत्व गर्ने एक प्रेरित थिए जसले मण्डलीहरूको लागि पत्रहरू लेखे र तिनीहरूलाई प्रोत्साहित गरे—यो तिनको जिम्मेवारी थियो। तिनको पहिचान केवल एक कामदार प्रेरितको मात्र थियो, र तिनी परमेश्‍वरले पठाउनुभएको एक प्रेरित थिए; तिनी अगमवक्ता थिएनन्, न त तिनी भविष्यवक्ता नै थिए। तिनको लागि, तिनको आफ्नो काम र दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण थियो। तसर्थ, तिनी पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे। तिनका शब्दहरू पवित्र आत्माका वचनहरू थिएनन्, तिनलाई परमेश्‍वरको वचन भन्न मिल्ने कुरा त परै जाओस्, किनकि पावल परमेश्‍वरको सृष्टिबाहेक अरू केही थिएनन्, र तिनी अवश्य पनि परमेश्‍वरको देहधारण थिएनन्। तिनको परिचय येशूको जस्तो थिएन। येशूका शब्दहरू पवित्र आत्माका वचनहरू थिए, ति परमेश्‍वरका वचनहरू थिए, किनकि उहाँको परिचय परमेश्‍वरको पुत्र—ख्रीष्टको थियो। कसरी पावल उहाँको बराबर हुन सक्छन् र? यदि मानिसहरूले पावलको जस्तो पत्रहरू र शब्दहरूलाई पवित्र आत्माका वाणीहरूका रूपमा देख्छन् र तिनलाई परमेश्‍वरको रूपमा पुज्छन् भने, तिनीहरू फरक नै छुट्याउन नसक्ने अति नै अविवेकी छन् भनेर मात्र भन्न सकिन्छ। अझै कठोर रूपमा बोल्दा, के यो ईश्‍वरनिन्दा होइन र? कुनै मानिस कसरी परमेश्‍वरको तर्फबाटबोल्न सक्छ र? अनि कसरी मानिसहरू तिनका पत्रहरू र तिनले बोलेका शब्दहरूको अभिलेखहरूसामु ती पवित्र पुस्तक वा स्वर्गीय पुस्तक नै हुन् जस्तो गरी झुक्न सक्छन र? के कुनै मानिसले परमेश्‍वरका वचनहरूलाई यत्तिकै बोल्न सक्छ त? कुनै मानिसले कसरी परमेश्‍वरको तर्फबाट बोल्न सक्छ र? अनि त्यसो भए, तँ के भन्छस्—तिनले मण्डलीहरूको लागि लेखेका पत्रहरूमा तिनको आफ्नै विचारको दाग मिसिएको हुन सक्दैन र? कसरी तिनमा मानव विचारहरूको दाग नलागेको हुन सक्छ र? तिनले आफ्ना व्यक्तिगत अनुभवहरू र आफ्नै ज्ञानको आधारमा मण्डलीहरूको लागि पत्रहरू लेखे। उदाहरणका लागि, पावलले गलातिका मण्डलीहरूलाई एउटा पत्र लेखे जसमा एउटा निश्चित धारणा थियो, र पत्रुसले अर्को पत्र लेखेका थिए, जसमा अर्को दृष्टिकोण थियो। तीमध्ये कुनचाहिँ पवित्र आत्माबाट आयो र? निश्चित रूपमा कसैले पनि भन्न सक्दैन। तसर्थ, यो मात्र भन्न सकिन्छ कि तिनीहरू दुवैले मण्डलीहरूका लागि बोझ बहन गरेका थिए, तैपनि तिनीहरूका पत्रहरूले तिनीहरूको कद प्रतिनिधित्व गर्छन्, तिनले दाजुभाइ तथा दिदीबहिनीहरूको लागि प्रावधन र सहयोग अनि मण्डलीहरूमाथिको तिनीहरूको बोझलाई प्रतिनिधित्व गर्दछन् र तिनले मानव कार्यलाई मात्र प्रतिनिधित्व गर्दछन—ती सम्पुर्ण रूपमा पवित्र आत्माका थिएनन्। यदि तैँले तिनका पत्रहरूलाई पवित्र आत्माका वचनहरू हुन् भनेर भन्छस् भने, तँ हास्यास्पद छस्, र तैँले ईश्‍वरनिन्दा गर्दैछस्! नयाँ करारका पावलका पत्रहरू र अन्य पत्रहरू हालसालैका आत्मिक व्यक्तिहरूका संस्मरण जस्तै हुन्: ती वाचम्यान नीका पुस्तकहरू वा लरेन्सका अनुभवहरूसँग मिल्दाजुल्दा छन्। कुरा यति मात्र हो कि हालसालैका आत्मिक व्यक्तित्वका पुस्तकहरूलाई नयाँ करारमा संकलित गरिएको छैन, तैपनि यी मानिसहरूको सार चाहिँ एउटै थियो: तिनीहरू एक निश्चित अवधिमा पवित्र आत्माले प्रयोग गर्नुभएका व्यक्तिहरू थिए, र तिनीहरूले प्रत्यक्ष रूपमा परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनथे।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)

मानिसको अभ्यास गर्ने तरिकाहरू र सत्यता सम्बन्धी उसको ज्ञान निश्‍चित क्षेत्रमा लागु हुन्छन्। मानिसले पछ्याउने मार्ग पूर्ण रूपमा पवित्र आत्माको इच्छा हो भनी भन्‍न सकिँदैन, किनकि मानिस पवित्र आत्माद्वारा मात्रै प्रकाशित हुन सक्छ, र पवित्र आत्माद्वारा पूर्ण रूपमा भरिन सक्दैन। मानिसले अनुभव गर्न सक्‍ने कुराहरू सबै सामान्य मानवताको क्षेत्रभित्र पर्छन् र यसले सामान्य मानव मनमा भएको सोचविचारको दायरालाई नाघ्‍न सक्दैन। साँचो अनुभवको वास्तविकतामा जिउन सक्‍नेहरू यही दायराभित्र पर्छन्। जब तिनीहरूले सत्यताको अनुभव गर्छन्, यो सँधै पवित्र आत्माद्वारा प्रकाशित सामान्य मानव जीवनको अनुभव हो; यस किसिमको अनुभव सामान्य मानव जीवनबाट विचलित हुँदैन। उनीहरूले आफ्नो मानव जीवन जिउने कार्यको आधारमा पवित्र आत्माको प्रकाशको सत्यता अनुभव गर्छन्। साथै, यो सत्यता व्यक्ति पिच्छे फरक हुन्छ, र यसको गहिराइ व्यक्तिको अवस्थामा निर्भर रहन्छ। व्यक्तिले हिँडिरहेको मार्ग सत्यता पछ्याउने कसैको सामान्य मानव जीवन हो भनेर मात्रै भन्‍न सकिन्छ, र यसलाई पवित्र आत्माद्वारा प्रकाशित सामान्य व्यक्तिले हिँड्ने मार्ग हो भनी भन्‍न सकिन्छ। उनीहरूले हिँड्न मार्ग नै पवित्र आत्माले लिनुहुने मार्ग हो भनी भन्‍न सकिँदैन। सामान्य मानवीय अनुभवमा, मानिसहरूले उही मार्ग पछ्याउँदैनन्, त्यसकारण पवित्र आत्माको काम पनि उही किसिमको हुँदैन। साथै, मानिसहरूले अनुभव गर्ने वातावरण र उनीहरूको अनुभवको दायरा उही नहुने भएकोले, र तिनीहरूको मन र सोचविचारको मिश्रणको कारण, तिनीहरूको अनुभव फरक-फरक हदमा मिश्रित हुन्छन्। प्रत्येक व्यक्तिले आफ्नो फरकपन र व्यक्तिगत अवस्थाहरू बमोजिम सत्यतालाई बुझ्‍छ। सत्यताको वास्तविक अर्थ सम्बन्धी उनीहरूको बुझाइ पूर्ण हुँदैन र यो केवल त्यसको एउटा पक्ष वा केही पक्षहरू मात्र हुन्छन्। मानिसले अनुभव गर्ने सत्यताको क्षेत्र पनि व्यक्तिको अवस्था अनुसार व्यक्ति पिच्छे फरक हुन्छ। यस किसिमले, उही सत्यताको ज्ञान पनि फरक मानिसहरूले व्यक्त गर्दा उही हुँदैन। मानिसको अनुभवमा सधैँ सीमितता हुन्छ र यसले पवित्र आत्माको इच्छालाई पूर्णरूपमा प्रतिनिधित्व गर्न सक्दैन, न त मानिसको कामलाई परमेश्‍वरको कामको रूपमा हेर्न सकिन्छ, चाहे मानिसले व्यक्त गर्ने कुरा परमेश्‍वरको इच्छासँग मिल्दोजुल्दो नै किन नहोस् र चाहे मानिसको अनुभव पवित्र आत्माको सिद्ध तुल्याउने कामसँग मिल्दोजुल्दो नै किन नहोस्। परमेश्‍वरले उसको जिम्मामा सुम्पिदिनुभएको काम गर्दै मानिस परमेश्‍वरको सेवक मात्र बन्‍न सक्छ। पवित्र आत्माले दिनुभएको ज्ञानलाई र उसले आफ्नो व्यक्तिगत अनुभवहरूबाट प्राप्त गरेका सत्यताहरूलाई मात्रै मानिसले व्यक्त गर्न सक्छ। मानिस अयोग्य छ र उसले पवित्र आत्माको माध्यम बन्‍नको लागि आवश्यक सर्तहरू पूरा गर्दैन। उसको काम परमेश्‍वरको काम हो भन्‍ने अधिकार उसलाई दिइएको छैन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

मानिसको सङ्‍गति परमेश्‍वरको वचनभन्दा फरक हुन्छ। मानिसले सङ्‍गति गर्ने कुराले तिनीहरूको व्यक्तिगत अन्तर्दृष्टि र अनुभवलाई बताउँछ, यस क्रममा तिनीहरूले परमेश्‍वरको कामको आधारमा आफ्‍ना अन्तर्दृष्टि र अनुभव व्यक्त गर्छ। तिनीहरूको जिम्मेवारी परमेश्‍वरले काम गर्नुहुन्छ वा बोल्‍नुहुन्छ, त्यसमध्ये तिनीहरूले अभ्यास गर्नुपर्ने वा प्रवेश गर्नुपर्ने कुरा के हो भनी पत्ता लगाउनु हो, त्यसपछि अनुयायीहरूलाई ती प्रदान गर्नु हो। त्यसकारण, मानिसको कामले उसको प्रवेश र अभ्यासलाई प्रतिनिधित्व गर्छ। निश्‍चय नै, यस किसिमको काममा मानिसका शिक्षाहरू र अनुभव वा केही मानवीय विचार मिश्रित हुन्छ। जे भए तापनि पवित्र आत्माले काम गर्नुहुन्छ, चाहे मानिसमा होस् वा देहधारी परमेश्‍वरमा होस्, कामदारहरूले ती के हुन् भनी सधैँ व्यक्त गर्छन्। काम गर्नुहुने पवित्र आत्मा नै हुनुभए तापनि, मानिस स्वाभाविक रूपमा जो हो, काम त्यसैमा आधारित भएको हुन्छ, किनकि पवित्र आत्माले जगविना काम गर्नुहुन्‍न। अर्को शब्दमा, काम शून्यताबाट आउँदैन, तर सधैँ यथार्थ परिस्थितिहरू र वास्तविक अवस्थाहरू अनुसार गरिएको हुन्छ। यसरी मात्र मानिसको स्वभाव रूपान्तरित हुन सक्छ र उसका पुराना धारणा र विचारहरू परिवर्तन हुन सक्छन्। मानिसले व्यक्त गर्ने कुरा उसले देख्‍ने, अनुभव गर्ने र कल्पना गर्न सक्‍ने कुरा नै हो, अनि मानिसको सोच-विचारले त्यसलाई हासिल गर्न सक्छ, चाहे त्यो सिद्धान्त होस् वा धारणाहरू होस्। मानिसको कामले मानिसको अनुभवको क्षेत्रलाई पार गर्न सक्दैन, काम जुनसुकै आकारको भए तापनि मानिसले देख्‍ने कुरा, मानिसले सोच्‍ने कुरा वा कल्पना गर्ने कुरालाई त्यसले पार गर्न सक्दैन। परमेश्‍वरले व्यक्त गर्नुहुने सबै कुरा उहाँ स्‍वयम्‌ को हुनुहुन्छ भन्‍ने कुरा नै हो, र यो मानिसले प्राप्‍त गर्न सक्दैन—यो मानिसको सोचाइभन्दा बाहिर छ। उहाँले सबै मानिसहरूलाई अगुवाइ गर्ने आफ्नो काम व्यक्त गर्नुहुन्छ, र यो मानव अनुभवको विवरणहरूसँग सम्बन्धित छैन, बरु यसले उहाँको आफ्नो व्यवस्थापनसँग सरोकार राख्‍छ। मानिसले व्यक्त गर्ने कुराचाहिँ उसको अनुभव हो भने परमेश्‍वरले व्यक्त गर्नुहुने कुराचाहिँ उहाँको सारतत्त्व हो, जुन उहाँको अन्तर्निहित स्वभाव हो, यो मानिसको पहुँचभन्दा बाहिर छ। मानिसको अनुभव चाहिँ परमेश्‍वरले व्यक्त गर्नुभएको उहाँको सारतत्त्वको आधारमा हासिल गरिएको उसको अन्तर्दृष्टि र ज्ञान हो। यस किसिमको अन्तर्दृष्टि र ज्ञानलाई मानिसको सारतत्त्व भनिन्छ, र तिनीहरूको अभिव्यक्तिको आधारचाहिँ मानिसको अन्तर्निहित स्वभाव र क्षमता हो—यसैकारण तिनीहरूलाई पनि मानिसको सारतत्त्व भनिन्छ। मानिस उसले अनुभव गर्ने र देख्‍ने कुराको बारेमा सङ्‍गति गर्न सक्षम छ। आफूले अनुभव नगरेको, नदेखेको, वा तिनीहरूको सोचाइले भ्याउन नसक्‍ने, तिनीहरूभित्र नभएका कुराहरूको बारेमा कसैले पनि सङ्‍गति गर्न सक्दैन। यदि मानिसले व्यक्त गर्ने कुरा उसको अनुभवबाट आएको होइन भने त्यो उसको परिकल्पना वा सिद्धान्त हो। सरल भाषामा भन्‍नुपर्दा, उसको वचनमा कुनै वास्तविकता हुँदैन। यदि तँ कहिल्यै पनि समाजको सम्पर्कमा आएको थिइनस् भने तँ समाजको जटिल सम्बन्धहरूसँग स्पष्‍ट सङ्‍गत गर्न सक्षम हुने थिएनस्। यदि तेरो परिवार नभएको भए, परिवारका समस्याहरूको बारेमा कुरा गर्ने अरू थिए भने, तिनीहरूले भनेका अधिकांश कुरा तैँले बुझ्दैनथिस्। त्यसैले, मानिसले सङ्‍गत गर्ने र उसले गर्ने कामले उसको भित्री सारतत्त्वको प्रतिनिधित्व गर्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

परमेश्‍वरको वचनलाई मानिसको वचन बनाउन सकिंदैन, अनि मानिसको वचनलाई कसैले परमेश्‍वरको वचन बनाउने कुरा त परै छाँड़ौ। परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस देहधारी परमेश्‍वर होइन, अनि देहधारी परमेश्‍वर परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस होइन। यसमा, एउटा आधारभूत भिन्नता हुन्छ। सायद, यी वचनहरू पढिसकेपछि तँ तिनलाई परमेश्‍वरका वचनहरू मान्दैनस्, तर मानिसले प्राप्त गरेको अन्तर्दृष्टि मात्र ठान्छस् होला। त्यस्तो अवस्थामा, तँ अज्ञानताले अन्धो भएको छस्। परमेश्‍वरको वचन कसरी मानिसले प्राप्त गरेको अन्तर्दृष्टि जस्तो हुन सक्छ? देहधारी परमेश्‍वरका वचनहरूले एउटा नयाँ युग सुरु गर्दछ, सारा मानवजातिलाई डोऱ्याउँछ, रहस्यहरू प्रकट गर्दछ, र मानिसले त्यो नयाँ युगमा लिनुपर्ने दिशा देखाउँदछ। मानिसले प्राप्त गरेको अन्तर्दृष्टि भनेको अभ्यास वा ज्ञानका लागि सरल निर्देशनहरू मात्र हो। यसले सम्पूर्ण मानवजातिलाई नयाँ युगमा डोऱ्याउन वा परमेश्‍वर स्वयमका रहस्यहरू प्रकट गर्न सक्दैन। जब सबै कुरा भनिन्छ र गरिन्छ, परमेश्‍वर परमेश्‍वर हुन्छ, र मानिस मानिस नै हुन्छ। परमेश्‍वरसित परमेश्‍वरको सार छ, र मानिससित मानिसको सार छ। यदि मानिसले परमेश्‍वरले बोल्नुभएका वचनहरूलाई पवित्र आत्माले दिनुभएको सरल अन्तर्दृष्टिको रूपमा हेर्छ भने र प्रेरितहरू र अगमवक्ताहरूले बोलेका वचनलाई परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएको वचनको रूपमा लिन्छ भने, त्यो मानिसको गल्ती हुनेछ। चाहे जे भए पनि, तैँले कहिल्यै पनि सही र गलतलाई मिसाउनु हुँदैन, उच्चलाई निम्न बनाउनुहुँदैन, वा गम्भीरलाई हलुका बनाउनु हुँदैन; चाहे जे भए पनि जुन कुरा सत्य हो भनी जान्दछस् त्यसलाई जानीजानी खण्डन गर्नु हुँदैन। परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्ने सबैले सही दृष्टिकोणबाट समस्याहरू जाँच्नुपर्छ, र परमेश्‍वरको नयाँ कार्यलाई र उहाँका नयाँ वचनहरूलाई उहाँद्वारा सृष्टि गरिएको प्राणीको परिप्रेक्ष्यबाट स्वीकार गर्नुपर्दछ; नत्र, तिनीहरूलाई परमेश्‍वरद्वारा हटाइनेछन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावनाबाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अगमवक्ताहरूले व्यक्त गरेका परमेश्‍वरका वचनहरू र देहधारी परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूबीचका भिन्नताहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू: अनुग्रहको युगमा, येशूले पनि धेरै वचनहरू बोल्नुभयो र धेरै कार्य गर्नुभयो। उहाँ कसरी यशैयाभन्दा फरक...

बुद्धिमती कन्याहरूको इनाम के हुन्छ र निर्बुद्धि कन्याहरू किन विपत्तिमा पर्छन्

परमेश्‍वरका प्रासंगिक वचनहरू:पवित्र आत्‍माको वर्तमान ज्योतिलाई पछ्याउन सक्‍नेहरू सबै आशिषित छन्। विगतका युगका मानिसहरूले पनि परमेश्‍वरका...

परमेश्‍वरका भेडाहरूले उहाँको सोर सुन्छन् र व्यक्तिले उहाँको सोर सुनेर मात्रै फर्कनुभएका परमेश्‍वरलाई भेट्न सक्छ

सन्दर्भका लागि बाइबल पदहरू:“अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ” (मत्ती २५:६)।“मेरो भेडाले मेरो सोर सुन्छ, र म...

बुद्धिमती कन्याहरू र निर्बुद्धि कन्याहरू भनेका को हुन्

सन्दर्भका लागि बाइबल पदहरू:“तब स्वर्गको राज्य दस कन्याहरू जस्तै हुनेछ, जो आ-आफ्ना बत्ती लिएर दुलहालाई भेट्न बाहिर आए। तीमध्ये पाँच जना...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्