बाइबलको अन्तर्निहित महत्त्व र व्यक्तिले परमेश्‍वरको इच्छासँग मेल खाने गरी कसरी बाइबललाई लिनुपर्छ

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

बाइबल इस्राएलमा परमेश्‍वरले गर्नुभएको कार्यको ऐतिहासिक अभिलेख हो, र यसले प्राचीन भविष्यवक्ताहरूको धेरै भविष्यवाणीका साथै त्यस समयमा उहाँको कार्यमा यहोवाले बोल्‍नुभएका केही वाणीहरूको अभिलेख राख्छ। यसैले, सबै मानिसहरूले यस पुस्तकलाई पवित्र ठान्छन् (किनकि परमेश्‍वर पवित्र र महान् हुनुहुन्छ)। अवश्य नै, यी सबै यहोवाप्रतिको तिनीहरूको श्रद्धा र परमेश्‍वरप्रतिको तिनीहरूको उपासनाको परिणाम हो। परमेश्‍वरका सृष्टिहरूले आफ्ना सृष्टिकर्ताको यति आदर गर्ने र प्रिय ठान्‍ने भएकाले मात्रै मानिसहरूले यो पुस्तकलाई यसरी उल्‍लेख गर्छन्, र यस पुस्तकलाई स्वर्गीय पुस्तक भनी भन्‍ने मानिसहरू पनि छन्। वास्तवमा, यो मानव अभिलेख मात्र हो। यो व्यक्तिगत तवरमा यहोवाले नामाकरण गर्नुभएको थिएन, न त यहोवाले यसको सृष्टिलाई व्यक्तिगत तवरमा अगुवाइ नै गर्नुभयो। अर्को शब्दमा भन्दा, यस पुस्तकको लेखक परमेश्‍वर होइन, तर मानिसहरू हुन्। पवित्र बाइबल केवल मानिसले यसलाई दिएको सम्‍मानजनक नाम मात्र हो। यो नामको बारेमा यहोवा र येशूले एक-अर्कासँग छलफल गरेपछि निर्णय गरिएको थिएन; यो मानव विचार भन्दा बढि केही पनि होइन। किनकि यो पुस्तक यहोवाले लेख्नुभएको थिएन, येशूले लेख्नुभएको हो भन्ने कुरा त परै जाओस्। यसको सट्टा, यो धेरै प्राचीन भविष्यवक्ताहरू, प्रेरितहरू र द्रष्टाहरूले मानिसहरूका लागि दिएका विवरणहरू हुन् जुन पछिल्ला पुस्ताले प्राचीन लेखहरूको पुस्तकमा सङ्कलित गरेका थिए, जुन विशेषगरी पवित्र देखिन्छ, अर्थात् यस्तो पुस्तक जसमा भविष्यका पुस्ताहरूले खोल्न पर्खिरहेका धेरै अतुलनीय र गहिरा रहस्यहरू समावेश छन् भन्‍ने तिनीहरूले विश्‍वास गर्छन्। त्यस्तै गरी, मानिसहरू यो पुस्तक स्वर्गीय पुस्तक हो भनेर विश्‍वास गर्न अझ बढी चाहना गर्छन्। चार सुसमाचार र प्रकाशको पुस्तकलाई यसमा जोडेपछि त, यसप्रति मानिसहरूको दृष्टिकोण अरू कुनै पनि पुस्तकको भन्दा विशेष गरी फरक छ, र कसैले पनि यो “स्वर्गीय पुस्तक” विच्छेदन गर्ने आँट गर्दैन किनकि यो एकदम “पवित्र” छ।

किन बाइबल पढ्ने बित्तिकै मानिसहरूले यसमा अभ्यास गर्ने उचित मार्गहरू पाउन सक्दछन्? किन तिनीहरूले बुझ्न नसक्‍ने धेरै कुरा तिनीहरूले प्राप्त गर्न सक्छन्? आज, म बाइबललाई यस तरिकाले विच्छेदन गर्दैछु र यसको मतलब यो होइन कि म यसलाई घृणा गर्दछु, वा म सन्दर्भको लागि रहेको यसको मूल्यलाई अस्वीकार गर्छु। म तँलाई अन्धकारमा राख्‍नबाट रोक्नको लागि तँलाई बाइबलको अन्तर्निहित मूल्य र उत्पत्ति बारे व्याख्या गर्दैछु र स्पष्ट पार्दैछु। किनभने मानिसहरूमा बाइबलको बारेमा अति धेरै दृष्टिकोणहरू छन्, र तीमध्ये धेरै त गलत नै छन्; यस तरिकाले बाइबल पढ्दा उनीहरू के प्राप्त गर्नु पर्ने हो सो प्राप्त गर्नबाट उनीहरूलाई रोक्ने मात्र होइन, तर, अझ महत्त्वपूर्ण कुरा के छ भने, यसले मैले गर्न चाहेको काममा बाधा पुर्‍याउँछ। यसले भविष्यको कामलाई ठूलो हस्तक्षेप गर्दछ, र लाभहरू होइन, केवल कमजोरीहरू प्रदान गर्दछ। तसर्थ, मैले तँलाई सिकाइरहेको कुरा केवल बाइबलको सार र भित्री कथा मात्र हो। मैले तँलाई तैँले बाइबल पढ्नु हुँदैन, वा तैँले यो मूल्यहीन छ भनेर घोषणा गर्दै जानुपर्छ भनिरहेको छैन, तर यो मात्र भनिरहेको छु कि तँसँग बाइबलको सही ज्ञान र दृष्टिकोण हुनुपर्छ। अत्यन्तै एकतर्फी नहोऊ! बाइबल मानिसहरूद्वारा लेखिएको एउटा इतिहासको पुस्तक भए तापनि, यसमा प्राचीन सन्तहरू र भविष्यवक्ताहरूले परमेश्‍वरको सेवा गरेका थुप्रै सिद्धान्तहरू, साथै परमेश्‍वरको सेवा गर्ने सम्बन्धमा भर्खरका प्रेरितहरूको अनुभवहरू पनि प्रस्तुत गरिएका छन्—ती सबैलाई यी मानिसहरूले वास्तवमै देखेका र चिनेका थिए, र यस युगका मानिसहरूलाई सही मार्ग खोजी गर्नुमा सन्दर्भको रूपमा त्यसले काम गर्न सक्छ। तसर्थ, बाइबल पढ्दा मानिसहरूले जीवनका थुप्रै मार्गहरू पनि प्राप्त गर्न सक्दछन् जुन अरू पुस्तकहरूमा पाउन सकिँदैन। यी मार्गहरू विगतका भविष्यवक्ताहरू र प्रेरितहरूले युगहरूमा अनुभव गरेका पवित्र आत्माको काम बारेका जीवनका मार्गहरू हुन्, र धेरै जसो वचनहरू मूल्यवान् छन्, र जसले मानिसहरूलाई चाहिने कुराहरू प्रदान गर्न सक्दछन्। तसर्थ, सबै मानिसहरू बाइबल पढ्न मन पराउँछन्। बाइबलमा धेरै कुरा लुकेका छन् तसर्थ महान् आत्मिक व्यक्तित्वहरूको लेखहरूप्रति भन्दा यसप्रति व्यक्तिहरूको धारणा फरक छ। पुरानो र नयाँ युगमा यहोवा र येशूको सेवा गर्ने व्यक्तिहरूको अनुभव र ज्ञानहरूको अभिलेख र सङ्ग्रह नै बाइबल हो, र पछि आउने पुस्ताहरूले यसबाट अभ्यास गर्न धेरै ज्ञान, प्रकाश र मार्गहरू प्राप्त गर्न सक्षम भएका छन्। बाइबल कुनै पनि महान् आत्मिक व्यक्तित्वको लेखहरू भन्दा उच्च हुनुको कारण के हो भने, उनीहरूका सबै लेखहरू बाइबलबाट लिइएको हो, उनीहरूका सबै अनुभवहरू बाइबलबाट आएका हुन् र ती सबैले बाइबलको व्याख्या गर्छन्। मानिसहरूले कुनै पनि महान् आत्मिक व्यक्तित्वका पुस्तकहरूबाट प्रावधान प्राप्त गर्न सक्ने भए पनि, उनीहरूले अझै बाइबललाई पुज्छन्, किनकि यो उनीहरूका लागि महान् र गहन देखिन्छ! बाइबलले पावलका पत्रहरू र पत्रुसका पत्रहरू जस्ता जीवनका वचनहरूका केही पुस्तकहरूलाई एकट्ठा गर्ने भए पनि, र मानिसहरूलाई यी पुस्तकहरूले प्रावधान दिने र मद्दत गर्नसक्‍ने भए पनि, यी पुस्तकहरू पुरानो भएका छन्, ती अझै पुरानै युगमा पर्छन्, र ती जतिसुकै राम्रो भए पनि, ती केवल एक अवधिको लागि उपयुक्त छन्, र अनन्त छैनन्। किनकि परमेश्‍वरको काम सँधै विकास भइरहेको हुन्छ, र यो केवल पावल र पत्रुसको समयमा रोकिन सक्दैन, वा सँधै अनुग्रहको युगमा रहन सक्दैन जुन युगमा येशूलाई क्रूसमा टाँगिएको थियो। त्यसैले, यी पुस्तकहरू अनुग्रहको युगका लागि मात्र उपयुक्त छन्, आखिरी दिनहरूको राज्यको युगको लागि होइन। तिनीहरूले केवल अनुग्रहको युगका विश्‍वासीहरूका लागि प्रदान गर्न सक्छन्, राज्यको युगका सन्तहरूको लागि होइन, र ती जतिसुकै राम्रो भए पनि ती अप्रचलित छन्। यहोवाले गर्नुभएको सृष्टिको काम वा इस्राएलमा उहाँले गर्नुभएको कार्य पनि यस्तै हो: यो काम जतिसुकै महान् भए पनि, यो अझै म्याद सकिएको नै हुनेथियो र त्यो बितेर जाने समय आउनेथियो। परमेश्‍वरको काम पनि यस्तै हो: यो महान् छ, तर यो समाप्त हुने समय आउने नै छ; यो सँधै सृष्टिको कार्यको बीचमा रहन सक्दैन, न त क्रूसीकरणको बीचमा नै। क्रूसीकरणको काम जत्तिकै विश्‍वासलाग्दो भए तापनि, शैतानलाई पराजित गर्न यो जतिसुकै प्रभावकारी भए तापनि, आखिरमा काम भनेको, काम नै हो, र युगहरू पनि, आखिर युगहरू नै हुन्। काम सधैँ उही जगमा रहन सक्दैन, न त समय कहिल्यै परिवर्तन नहुने नै हुन्छ, किनकि सृष्टि थियो त्यसकारण आखिरी दिनहरू पनि हुनै पर्छ। यो अपरिहार्य छ! त्यसकारण, आज नयाँ करारमा रहेका जीवनका वचनहरू—प्रेरितहरूका पत्रहरू, र सुसमाचारका चार पुस्तकहरू ऐतिहासिक पुस्तकहरू भएका छन्, तिनीहरू पुरानो पञ्चाङ्ग भएका छन्, र कसरी पुरानो पञ्चाङ्गहरूले मानिसहरूलाई नयाँ युगमा प्रवेश गराउन सक्दछन्? यी पञ्चाङ्गहरू जीवन प्रदान गर्न जत्तिको सक्षम भए पनि, मानिसहरूलाई क्रूसमा अगुवाई गर्न उनीहरू जत्तिको सक्षम भए पनि, के तिनीहरू पुरानो भएका छैनन्? के तिनीहरू मूल्य विहीन छैनन् र? यसैले, म भन्छु तैँले अन्धा भएर यी पञ्चाङ्गहरूमा विश्‍वास गर्नु हुँदैन। ती धेरै पुराना भइसकेका छन्, तिनीहरूले तँलाई नयाँ काममा ल्याउन सक्दैनन्, र तिनीहरूले तँलाई बोझ मात्रै दिन सक्छन्। न त तिनले तँलाई नयाँ काममा, र नयाँ प्रवेशमा ल्याउन नै सक्छन्, तर तिनले तँलाई पुरानो धार्मिक मण्डलीहरूमा लैजान्छन्—र यदि त्यसो भयो भने, के तँ परमेश्‍वरप्रतिको तेरो विश्‍वासमा पछि हटिरहेको हुनेथिएनस् र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)

बाइबल हजारौं वर्षदेखि मानव इतिहासको एउटा हिस्साको रूपमा रही आएको छ। यसबाहेक, मानिसहरूले यसलाई परमेश्‍वर जस्तो व्यवहार गर्छन्, यहाँसम्म कि आखिरी दिनहरूमा यसले परमेश्‍वरको स्थान लिएको छ, जसले परमेश्‍वरमा घृणा उत्पन्न गर्दछ। यसैले, समयले साथ दिँदा परमेश्‍वरले बाइबलको भित्री कथा र उत्पत्तिबारे स्पष्ट पार्न आफू बाध्य भएको महसुस गर्नुभयो; यदि उहाँले त्यसो नगर्नुभएको भए, बाइबलले मानिसहरूका हृदयमा परमेश्‍वरको स्थान ओगटी नै रहने थियो र परमेश्‍वरका कामहरू नाप्न र निन्दा गर्नको लागि मानिसहरूले बाइबलका वचनहरू प्रयोग गर्नेथिए। बाइबलको सार, संरचना र त्रुटिहरूबारे व्याख्या गरेर परमेश्‍वरले कुनै पनि हालतमा बाइबलको अस्तित्वलाई इन्कार गरिरहनुभएको थिएन, न त उहाँले दोषी ठहर्दैहुनुहुन्थ्यो; बरु उहाँले बाइबलको मौलिक स्वरूप पुनर्स्थापना गर्ने, बाइबलप्रति भएको मानिसहरूको भ्रमहरूलाई सम्‍बोधन गर्ने, तिनीहरूलाई बाइबलको सही दृष्टिकोण प्रदान गर्ने उचित र सुहाउँदो विवरण दिइरहनुभएको थियो, यसैले कि तिनीहरूले उप्रान्त बाइबलको पूजा नगरून्, र अब उप्रान्त तिनीहरू नहराऊन्; भन्नुको तात्पर्य यो हो कि, तिनीहरूले बाइबलप्रतिको आफ्‍नो अन्धो विश्‍वासलाई परमेश्‍वरमाथिको विश्‍वास र परमेश्‍वरको आराधना ठान्ने गल्ती नगरून्, त्यसको वास्तविक पृष्ठभूमि र असफलताहरूको सामना गर्न समेत नडराऊन्। जब मानिसहरूले बाइबलको बारेमा शुद्ध ज्ञान पाउँछन्, तब तिनीहरूले कुनै सङ्कोच नमानी त्यसलाई पन्साउन अनि साहस पूर्वक परमेश्‍वरका नयाँ वचनहरूलाई स्वीकार गर्न सक्छन्। यी केही अध्यायहरूमा परमेश्‍वरको लक्ष्य यही हो। परमेश्‍वरले यहाँ मानिसहरूलाई बताउन चाहनुभएको सत्यता के हो भने, कुनै पनि सिद्धान्त वा तथ्यले परमेश्‍वरको आजका काम र वचनको स्थानलाई लिन सक्दैन र परमेश्‍वरको स्थानमा कुनै पनि थोक खडा हुन सक्दैन। यदि मानिसहरू बाइबलको पासोबाट उम्कन सक्दैनन् भने, तिनीहरू कहिल्यै पनि परमेश्‍वरको सामु आउन सक्नेछैनन्। यदि तिनीहरू परमेश्‍वरको सामु आउन चाहन्छन् भने, तिनीहरूले पहिले आफ्नो हृदयमा उहाँको स्थान लिने कुनै पनि थोकलाई हटाउनुपर्छ; तब तिनीहरू परमेश्‍वरका निम्ति सन्तोषजनक हुनेछन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मण्डलीहरूमा हिँड्ने क्रममा ख्रीष्‍टले दिनुभएका वचनहरू, परिचय उद्धृत गरिएको

यदि तैँले व्यवस्थाको युगको काम अनि इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने तैँले पुरानो नियम पढ्नुपर्छ; यदि तैँले अनुग्रहको युगको काम बुझ्न चाहन्छस् भने, तैँले नयाँ नियम पढ्नुपर्छ। तर तैँले आखिरी दिनहरूको कामलाई कसरी हेर्न सक्छस् त? तैँले आजका परमेश्‍वरको नेतृत्वलाई स्वीकार्नुपर्दछ, र आजको काममा प्रवेश गर्नुपर्दछ, किनकि यो नयाँ काम हो, र यसलाई पहिले नै बाइबलमा कसैले पनि अभिलेख गरेको छैन। आज, परमेश्‍वर देह बन्नुभएको छ र चीनका अरू चुनिएका मानिसहरूलाई छान्नुभएको छ। परमेश्‍वरले यी मानिसहरूमा काम गर्नुहुन्छ, उहाँ पृथ्वीमा गरिएको उहाँको कामबाट अघि बढ्नुहुन्छ, र अनुग्रहको युगमा भएको कामबाट अघि बढ्नुहुन्छ। आजको काम त्यो बाटो हो जहाँ मानिस कहिल्यै हिंडेको छैन, र यो त्यस्तो मार्ग हो जुन कसैले कहिल्यै देखेको छैन। यो यस्तो काम हो जुन पहिला कहिल्यै गरिएको छैन—यो परमेश्‍वरले पृथ्वीमा भर्खरै गर्नुभएको काम हो। यसैले, पहिले कहिल्यै नगरिएको काम इतिहास होइन, किनकि अहिले भनेको अहिले हो, र यो विगत बन्न बाँकी नै छ। परमेश्‍वरले पृथ्वी र इस्राएलदेखि बाहिर अझ ठुलो, अझ नयाँ काम गर्नुभएको छ भनी मानिसहरूलाई थाहा छैन, जुन इस्राएलको दायराभन्दा धेरै पर, अगमवक्ताहरूको अगमवाणीहरू भन्दा बाहिर गइसकेको छ, जुन अगमवाणीहरूभन्दा बाहिरको नयाँ र अचम्मको काम हो, र इस्राएलभन्दा परको अझ नयाँ काम हो, जुन यस्तो काम हो जसलाई मानिसहरूले न त बुझ्न सक्छन् न कल्पना गर्न नै। बाइबलमा त्यस्तो कामको स्पष्ट अभिलेख कसरी हुन सक्छ र? आजको कामको बारेमा एउटै कुरा पनि नछोडी अग्रिम रूपमा कसले लेख्न सक्थ्यो र? त्यो जीर्ण पुरानो पुस्तकको परम्परालाई चुनौती दिने यो अझ शक्तिशाली, अझ बुद्धिमानी काम कसले अभिलेख गर्न सक्थ्यो र? आजको काम इतिहास होइन, र यस्तो भएकोले यदि तैँले आजको नयाँ मार्गमा हिंड्न चाहन्छस् भने तैँले बाइबललाई छोड्नुपर्छ, तैँले बाइबलका अगमवाणी वा इतिहासका पुस्तकहरूभन्दा पर जानुपर्छ। तब मात्र तैँले नयाँ मार्गमा ठिकसँग हिंड्न सक्नेछस्, अनि मात्र तैँले नयाँ क्षेत्र र नयाँ काममा प्रवेश गर्न सक्नेछस्। तैँले तँलाई आज किन बाइबल नपढ्नु भनिएको छ, किन बाइबलदेखि अलग अर्को काम छ, किन परमेश्‍वरले बाइबलमा अझ नयाँ र विस्तृत अभ्यास खोज्नुहुन्न, र किन त्यसको सट्टामा बाइबलबाहिर शक्तिशाली काम छ भनेर बुझ्नुपर्दछ। तिमीहरूले बुझ्नुपर्ने सबै कुरा यही हो। तैँले पुरानो र नयाँ कामबीचको भिन्नता बुझ्नुपर्दछ, र तैँले बाइबल नपढे पनि तैँले त्यसलाई चिरफार गर्न सक्नुपर्छ; यदि होइन भने, तैँले अझै बाइबलको आराधना गरिरहनेछस् र तेरो निम्ति नयाँ काममा प्रवेश गर्न र नयाँ परिवर्तनहरू अनुभूत गर्न गाह्रो हुनेछ। त्यहाँ एक उच्च मार्ग छ भने किन त्यो न्यून, पुरानो मार्गको अध्ययन गर्नु? जब त्यहाँ नयाँ वाणीहरू र नयाँ काम छन् भने किन पुरानो ऐतिहासिक विवरणहरूको बीचमा जिउनु? ती नयाँ वाणीहरूले तेरो निम्ति प्रबन्ध गर्न सक्छन्, जसले यो नयाँ काम हो भनी प्रमाणित गर्दछ; पुराना विवरणहरूले तँलाई तृप्त पार्न वा तेरा वर्तमान आवश्यकताहरूलाई पूरा गर्न सक्दैनन्, जसले ती इतिहास हुन् अनि यहाँको र अहिलेको काम होइनन् भनी प्रमाणित गर्दछ। सबैभन्दा उच्च मार्ग भनेको नयाँ काम हो, र नयाँ कामको साथमा, विगतको मार्ग जतिसुकै उच्च भए पनि यो अझै पनि मानिसहरूका विचारहरूको इतिहास नै हो, र सन्दर्भको रूपमा यसको महत्त्व नै भए पनि, यो अझै पनि पुरानो मार्ग नै हो। यसलाई “पवित्र पुस्तक” मा लेखिएको भए पनि पुरानो मार्ग इतिहास नै हो; “पवित्र पुस्तक” मा यसको कुनै विवरण नभए पनि, नयाँ मार्ग यहाँको र अहिलेको हो। यो मार्गले तँलाई बचाउन सक्छ, र यो मार्गले तँलाई परिवर्तन गर्न सक्छ, किनकि यो पवित्र आत्माको काम हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

धार्मिक संसारले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको बाइबलमा विश्‍वास गर्नु हो र बाइबलबाट टाढा जानु भनेको परमेश्‍वरमा विश्‍वास गर्नु होइन भन्ने सोच्छ; यो बुझाइ गलत छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:धेरै वर्षदेखि मानिसहरूका परम्परागत विश्‍वासका माध्यमहरू (ख्रीष्टियन धर्मको, जुन विश्‍वका तीन प्रमुख धर्ममध्ये...

बाइबल परमेश्‍वरको कामका दुई चरणहरू, अर्थात्, व्यवस्थाको युग र अनुग्रहको युगको मात्र अभिलेख हो; यो परमेश्‍वरको कामको सम्पूर्णताको अभिलेख होइन

सन्दर्भका लागि बाइबल पदहरू:“येशूले अरू धेरै कुराहरू पनि गर्नुभयो, जसलाई एक-एक गरीलेखिएमा, मलाई लाग्छ कि लेखिएका पुस्तकहरू संसारभरिमा पनि...

धार्मिक संसारले पवित्र शास्‍त्र सबै परमेश्‍वरको प्रेरणाद्वारा आएको हो भन्ने विश्‍वास गर्छ; यो दृष्टिकोण गलत छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:आज, मानिसहरू बाइबल नै परमेश्‍वर हुन् र परमेश्‍वर नै बाइबल हुनुहुन्छ भनेर विश्‍वास गर्छन्। त्यसैले, तिनीहरू...

यदि व्यक्तिले बाइबलको पालना र आराधना गर्छ भने, किन ऊ अनन्त जीवन प्राप्त गर्न असफल हुन्छ

सन्दर्भका लागि बाइबल पदहरू:“शास्‍त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्‍ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्