मानिसले परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गर्ने कार्यको जड के हो

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

परमेश्‍वरको विरुद्धमा मानिसको प्रतिरोध र विद्रोहको स्रोत चाहिँ शैतानद्वारा भ्रष्‍ट बनाइएको उसको भ्रष्‍टता हो। शैतानको भ्रष्‍टताको कारण मानिसको विवेक अचेत भएको छ; ऊ अनैतिक छ, उसका सोच विचारहरू पतित भएका छन्, र ऊसँग पिछडिएको मानसिक दृष्टिकोण छ। शैतानद्वारा उसलाई भ्रष्‍ट बनाइनुभन्दा अगाडि, मानिसले स्वाभाविक रूपमा परमेश्‍वरको अनुसरण गर्थ्यो र उहाँको वचनहरू सुनेपछि तिनीहरूको पालन गर्थ्यो। स्वाभाविक रूपमा उसको चेतना र विवेक सामान्य मानवको जस्तै स्वस्थ थियो। शैतानद्वारा भ्रष्‍ट बनाइएपछि, मानिसको मौलिक चेतना, विवेक, र मानवता सुस्त भएको थियो र शैतानद्वारा अस्वस्थ बनाइएको थियो। यसरी, उसले परमेश्‍वरप्रति उसको आज्ञाकारीता र प्रेम गुमाएको छ। मानिसको चेतना अस्वाभाविक बनेको छ, उसको स्वभाव एक पशुको स्वभावजस्तै बनेको छ, र परमेश्‍वरप्रति उसको विद्रोह निरन्तर बढिरहेको छ र घोर बनेको छ। तैपनि मानिसलाई यो कुरा थाहा छैन न त यो कुरा पहिचान नै गर्छ, र केवल विरोध गर्छ र अन्धाधुन्ध विद्रोह गर्छ। मानिसको स्वभाव उसले व्यक्त गर्ने चेतना, अन्तर्दृष्टि र विवेकमा प्रकट हुन्छ; किनकि उसको चेतना र अन्तर्दृष्टि अस्वस्थ छ, र उसको विवेक उच्‍च रूपमा सुस्त भएको छ, त्यसैले उसको स्वभाव परमेश्‍वरको विरुद्धमा विद्रोही भएको छ। यदि मानिसको चेतना र अन्तर्दृष्टि परिवर्तन हुन सक्दैन भने, उसको स्वभाव परिवर्तन हुने प्रश्‍नै भएन, र यो परमेश्‍वरको इच्छा अनुरूप हुन सक्दैन। यदि मानिसको चेतना अस्वस्थ छ भने, उसले परमेश्‍वरको सेवा गर्न सक्दैन र ऊ परमेश्‍वरद्वारा प्रयोग हुन अयोग्य हुन्छ। “सामान्य चेतना” ले परमेश्‍वरको आज्ञापालन गर्ने र उहाँप्रति विश्‍वासयोग्य हुने, परमेश्‍वरको निम्ति तिर्खाउने, पूर्णरूपमा परमेश्‍वरको हुने, र परमेश्‍वरप्रति स्वस्थ विवेक कायम राख्‍ने कुरालाई दर्साउँछ। यसले परमेश्‍वरप्रति एक हृदय र मनको हुने, र जानाजानी परमेश्‍वरको विरोध नगर्ने कुरालाई दर्साउँछ। अस्वाभाविक चेतना पाउने कुरा यस्तो किसिमको हुँदैन। मानिस शैतानद्वारा भ्रष्‍ट बनाइएको कारण उसले परमेश्‍वरको विषयमा आफ्नो धारणा बनाएको छ, र ऊसँग परमेश्‍वरप्रति बफादारीता छैन वा उहाँप्रति तिर्खाएको छैन, परमेश्‍वरप्रति स्वस्थ विवेक हुने त कुरै नगरौं। मानिसले परमेश्‍वरको जानाजानी विरोध गर्छ, र उहाँको न्याय गर्छ, साथै उहाँको पिठ्यूँ पछाडि उहाँको कुरा काट्छ। उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने स्पष्‍ट ज्ञान हुँदाहुँदै पनि मानिसले उहाँको पिठ्यूँ पछाडि उहाँको न्याय गर्छ; मानिससँग परमेश्‍वरको आज्ञापालन गर्ने मनसाय छैन, र केवल अन्धाधुन्ध उहाँसँग माग्‍ने र अनुरोध गर्ने कार्य गर्छ। यस किसिमका मानिसहरू—अस्वाभाविक चेतना भएका मानिसहरू—तिनीहरू आफ्नै घृणित आचरण थाहा गर्न वा आफ्नो विद्रोही स्वभावप्रति पछुताउन असक्षम हुन्छन्। यदि मानिसहरू आफैलाई चिन्‍न सक्षम छन् भने, तिनीहरूले केही हदसम्म आफ्नो चेतना पुनःप्राप्‍त गरेका हुन्छन्; आफैलाई चिन्‍न नसकेका मानिसहरू जति धेरै परमेश्‍वरको विरुद्धमा विद्रोही बन्छन्, तिनीहरूको चेतना पनि त्यति नै थोरै स्वस्थ हुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

हजारौँ वर्षको भ्रष्‍टतापछि, मानिस सुन्‍न नसक्‍ने र सुस्त भएको छ; ऊ परमेश्‍वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्‍वरप्रति मानिसको विद्रोह इतिहासका पुस्तकहरूमा उल्लेख गरिएका छन्, र मानिस स्वयम पनि आफ्नो विद्रोही आचरणको पूर्ण विवरण दिन असक्षम छ—किनकि मानिस शैतानद्वारा गहन रूपमा भ्रष्‍ट बनाइएको छ, र शैतानले उसलाई अन्यत्र डोर्‍याएको छ, जसले गर्दा आफू कतातिर जानुपर्ने हो भन्‍ने कुरा उसले बिर्सेको छ। आज पनि, मानिसले अझै परमेश्‍वरलाई धोका दिन्छ: जब मानिसले परमेश्‍वरलाई देख्छ, उसले उहाँलाई धोका दिन्छ, र जब उसले परमेश्‍वरलाई देख्दैन, तब पनि उसले उहाँलाई धोका दिन्छ। परमेश्‍वरको श्रापहरू र परमेश्‍वरको क्रोध अनुभव गरेर पनि अझै उहाँलाई धोखा दिनेहरू पनि छन्। त्यसैले म भन्छु कि मानिसको चेतनाले आफ्नो मौलिक कार्यगत गुण नै गुमाएको छ, र मानिसको विवेकले पनि, आफ्नो मौलिक कार्यगत गुण गुमाएको छ। मैले देखेको मानिस मानव भेषमा पशु हो, उ विषालु सर्प हो, र उसले मेरो नजरमा जतिसुकै दयनीय देखिने प्रयत्‍न गरे तापनि, म कहिल्यै पनि उप्रति दयालु बन्‍नेछैन, किनकि मानिससँग कालो र सेतो बीच फरक छुट्याउने, सत्य र असत्य बीच फरक छुट्याउने समझ पनि छैन। मानिसको चेतना सुस्त भएको छ, तैपनि अझै ऊ आशिष्‌हरू प्राप्‍त गर्न चाहन्छ; उसको मानवता यति अज्ञानी भएको छ, तैपनि अझै ऊ राजाको सार्वभौमिकता हासिल गर्न चाहन्छ। यस किसिमको चेतनासँग ऊ कसको राजा बन्‍न सक्छ? यस किसिमको मानवतासँग ऊ कसरी सिंहासनमा बस्‍न सक्छ? मानिससँग साँच्‍चिकै लाज नै छैन! ऊ अहङ्कारी नीच हो! तिमीहरूमध्ये आशिष्‌हरू प्राप्‍त गर्न चाहने व्यक्तिहरूलाई म सुझाव दिन्छु कि सबैभन्दा पहिला एउटा ऐना लिएर आफ्नो कुरूप अनुहार हेर—के तँसँग राजा हुनको निम्ति आवश्यक कुरा छ? के तँसँग आशिष्‌हरू प्राप्‍त गर्ने व्यक्तिको जस्तो अनुहार छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई अभ्यास गरेको छैनस्, तैपनि अझ तँ सुन्दर भोली, अर्थात् भविष्यको आशा गर्छस्। तैँले आफैलाई भ्रममा पार्दैछस्! यस्तो फोहोरी भूमिमा जन्म लिएर, मानिस समाजद्वारा प्रभावित भएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसलाई “उच्‍च शिक्षा दिइने” संस्थाहरूमा सिकाइएको छ। पिछडिएको सोच, भ्रष्‍ट नैतिकता, जीवन सम्बन्धी तुच्छ दृष्टिकोण, जीवनयापनको घृणित दर्शनशास्‍त्र, पूर्णतया मूल्यहीन अस्तित्व, र भ्रष्‍ट जीवनशैली र चलनहरू—यी सबै कुराहरू मानिसको हृदयमा गहिरोसँग घुसिसकेको छ, र उसको विवेकलाई गम्भीर रूपमा कमजोर बनाएको छ र आक्रमण गरेको छ। परिणाम स्वरूप, मानिस परमेश्‍वरदेखि अझ धेरै टाढिएको छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी क्रूर बन्दैछ, र परमेश्‍वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्‍न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्‍वरको आज्ञापालन गर्न इच्छुक व्यक्ति एक जना पनि छैन, न त यसबाहेक, परमेश्‍वरको स्वरूपलाई खोज्‍न इच्छुक व्यक्ति नै छ। बरु, शैतानको क्षेत्र अन्तर्गत रहेर, हिलोको भूमिमा शरीरको भ्रष्टतामा आफैलाई सुम्पँदै, सुख विलासको पछि लाग्ने बाहेक मानिसले अरू केही पनि गर्दैन। अन्धकारमा जिउनेहरूले सत्यतालाई सुनेर पनि त्यसलाई अभ्यासमा लगाउने विचारै गर्दैनन्, न त उहाँको स्वरूपलाई देखेर पनि परमेश्‍वरको खोजी गर्न तिनीहरू बाध्य हुन्छन्। कसरी यति धेरै भ्रष्‍ट मानवजातिले मुक्तिको कुनै मौका हासिल गर्नसक्छ र? यति धेरै पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

मानिसको भ्रष्‍ट स्वभावको प्रकाशको स्रोत मानिसको सुस्त विवेक, उसको घृणित प्रकृति, र उसको अस्वस्थ चेतनामा बाहेक अरू कही छैन; यदि मानिसको विवेक र चेतना फेरि सामान्य बन्‍न सक्यो भने, त्यसपछि ऊ परमेश्‍वरको अघि प्रयोगयोग्य एक व्यक्ति बन्‍नेछ। मानिसको विवेक सधैँ सुस्त भएको कारण, र कहिल्यै पनि स्वस्थ नबनेको मानिसको चेतना अझ बढी सुस्त हुँदै गइरहेको कारण, मानिस परमेश्‍वरप्रति अझ बढी विद्रोही बनेको छ, यहाँसम्‍म कि उसले येशूलाई क्रूसमा टाँगेको छ र उहाँको घरमा प्रवेश गराउने आखिरी दिनहरूको परमेश्‍वरको देहधारणलाई अस्वीकार गर्छ, र परमेश्‍वरको शरीरलाई दोषी ठहर्छ, र परमेश्‍वरको शरीरलाई नीच रूपले हेर्छ। यदि मानिससँग अलिकति मात्र मानवता भएको भए, उसले देहधारी परमेश्‍वरको शरीरलाई क्रूरतापूर्ण व्यवहार गर्ने थिएन; यदि उसँग अलिकति मात्र चेतना भएको भए, उसले देहधारी परमेश्‍वरको शरीरलाई क्रूरतापूर्ण व्यवहार गर्ने थिएन; यदि उसँग अलिकति मात्र विवेक भएको भए, उसले देहधारी परमेश्‍वरलाई यस किसिमले “धन्यवाद दिने” थिएन। मानिस परमेश्‍वर देह बन्‍नुभएको युगमा जिउँछ, तैपनि उसलाई यति राम्रो मौका दिनुभएको निम्ति उसले परमेश्‍वरलाई धन्यवाद दिन सक्दैन, बरु परमेश्‍वरको आगमनलाई सराप्छ, वा परमेश्‍वरको देहधारणको यथार्थलाई पूर्ण रूपमा बेवास्ता गर्छ, र त्यसको विरुद्धमा भएको देखिन्छ र त्यसबाट थकित बन्छ। मानिसले परमेश्‍वरको आगमनलाई जसरी व्यवहार गरे तापनि, समग्रमा, परमेश्‍वरले आफ्नो कार्यलाई धैर्यतासाथ अगाडि बढाउनुभएको छ—यद्यपि मानिसले उहाँलाई अलिकति पनि स्वागत गरेको छैन, र अन्धाधुन्ध उहाँसँग अनुरोध मात्र गर्छ। मानिसको स्वभाव अत्यन्तै क्रूर बनेको छ, उसको चेतना अत्यन्तै सुस्त बनेको छ, र उसको विवेकलाई दुष्टले पूर्ण रूपमा कुल्चीमिल्ची गरेको छ र धेरै समय अगाडि नै मानिसको मौलिक विवेक हराएको छ। मानवजातिलाई परमेश्‍वरले दिनुभएको यति धेरै जीवन र अनुग्रहका निम्ति देहधारी हुनुभएको परमेश्‍वरप्रति मानिस कृतज्ञ छैन, तर परमेश्‍वरले उसलाई सत्यता दिनुभएकोमा परमेश्‍वरप्रति असन्तुष्ट बनेको छ; किनकि मानिससँग सत्यताको निम्ति अलिकति पनि चाहना छैन, त्यसैले ऊ परमेश्‍वरप्रति अझ बढी असन्तुष्ट बनेको छ। मानिस देहधारी परमेश्‍वरको निम्ति आफ्नो जीवन बलिदान दिन असक्षम मात्र छैन, तर उसले उहाँबाट कृपा पनि हासिल गर्ने प्रयत्‍न गर्छ, र मानिसले परमेश्‍वरलाई दिनुभएको भन्दा दर्जनौं गुणा बढी चासो छ भन्‍ने दाबी गर्छ। यस किसिमको विवेक र चेतना भएका मानिसहरूले यसलाई ठूलो विषय मान्दैनन्, र तैपनि तिनीहरूले परमेश्‍वरका निम्ति आफैलाई धेरै मात्रामा दिएको छ, र अझै परमेश्‍वरले तिनीहरूलाई थोरै दिनुभएको छ भनी विश्‍वास गर्छन्। मलाई एक कचौरा पानी दिएर मसँग दुई कचौरा दूधको रकम माग्‍न आफ्नो हात फैलाउने, वा मलाई एक रातको निम्ति कोठा दिएर मसँग थुप्रै रातको भाडा माग्‍नेहरू पनि छन्। यस किसिमको मानवता र यस किसिमको विवेकसित कसरी तँ अझै जीवन प्राप्‍त गर्ने चाहना गर्छस्? तँ कस्तो घिनलाग्दो नीच छस्!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

मैले उल्‍लेख गर्ने परमेश्‍वरका विरोधीहरूले तिनीहरूलाई जनाउँछ जसले परमेश्‍वरलाई चिन्दैनन्, जसले आफ्ना ओठहरूले परमेश्‍वरलाई स्वीकार गर्छन् तर पनि उहाँलाई चिन्दैनन्, जो परमेश्‍वरलाई पछ्याउँछन् र तर पनि उहाँको आज्ञापालन गर्दैनन्, र जो परमेश्‍वरको अनुग्रहमा आमोद-प्रमोद गर्छन् तर पनि उहाँको साक्षीको रूपमा खडा हुन सक्दैनन्। परमेश्‍वरको कामको उद्देश्यको बुझाई विना वा मानिसमा परमेश्‍वरले गर्नुहुने कामको बुझाई विना, ऊ परमेश्‍वरको इच्छा अनुसार हुन सक्दैन, न त ऊ परमेश्‍वरको साक्षीको रूपमा खडा हुन नै सक्छ। मानिसले परमेश्‍वरको विरोध गर्ने कारण एकातिर, उसको भ्रष्ट स्वभावबाट, र अर्कोतिर, परमेश्‍वर सम्‍बन्धी उसको अज्ञानताबाट र परमेश्‍वरले जुन सिद्धान्तहरूद्वारा काम गर्नुहुन्छ त्यसको र मानिसको लागि उहाँको इच्छा के छ त्यसको बुझाइको अभावबाट उत्पन्न हुन्छ। यी दुई पक्षहरूले, सँगै, परमेश्‍वर विरुद्ध मानिसको प्रतिरोधको इतिहासलाई निर्माण गर्छ। विश्‍वासमा नयाँ हुनेहरूले परमेश्‍वरको विरोध गर्छन् किनकि यस्ता विरोध उनीहरूको प्रकृतिभित्रै हुन्छ, यद्यपि विश्‍वासमा धेरै वर्ष रहेकाहरूले परमेश्‍वरलाई गर्ने विरोध उनीहरूको भ्रष्ट स्वभावका अतिरिक्त उहाँ सम्‍बन्धी उनीहरूको अज्ञानताबाट निस्कन्छ। परमेश्‍वर देहधारी हुनुभन्दा अघिको समयमा, मानिसले परमेश्‍वरको विरोध गरे नगरेको मापन स्वर्गमा परमेश्‍वरले घोषणा गर्नुभएका आदेशहरूलाई उसले मान्यो कि मानेन त्यसमा आधारित हुन्थ्यो। उदाहरणको लागि, व्यवस्थाको युगमा, जसले यहोवाका व्यवस्था पालन गर्दैनथ्यो उसलाई परमेश्‍वरको विरोध गर्ने ठानिन्थ्यो; जसले यहोवाका भेटीहरू चोरी गर्थ्यो, वा जो यहोवाको निगाह प्राप्त गरेकाहरू विरुद्ध उभिन्थ्यो, उसलाई परमेश्‍वरको विरोध गर्ने व्यक्ति मानिन्थ्यो र ढुङ्गाले हानेर मारिन्थ्यो; जसले आफ्ना बाबु-आमालाई आदर गर्दैनथियो, र जसले अर्कोलाई हिर्काउथ्यो वा श्राप दिन्थ्यो, उसलाई व्यवस्था पालन नगर्ने व्यक्ति मानिन्थ्यो। र ज-जसले यहोवाका नियमहरू पालन गर्दैनथिए उनीहरूलाई उहाँ विरुद्ध खडा हुनेहरूको रूपमा लिइन्थ्यो। अनुग्रहको युगमा उप्रान्त त्यस्तो रहेन, जो येशू विरुद्ध उभिन्थ्यो उसलाई परमेश्‍वरको विरुद्ध उभिएको मानिएन, र येशूद्वारा बोलिएका वचनहरू पालन नगर्नेलाई परमेश्‍वर विरुद्ध उभिएको मानिएन। यो समयमा, परमेश्‍वरको विरोधलाई परिभाषित गरिएको तरीका बढी यथार्थ र बढी व्यावहारिक भयो। त्यो समयमा जब परमेश्‍वर अझसम्म देहधारी हुनुभएको थिएन त्यस बेला, मानिसले परमेश्‍वरको विरोध गरे नगरेको मापन मानिसले स्वर्गमा हुनुहुने अदृश्य परमेश्‍वरलाई आराधना गर्यो कि गरेन र खोजी गर्यो कि गरेन त्यसमा आधारित हुन्थ्यो। त्यो समयमा परमेश्‍वरको विरोधलाई परिभाषित गर्ने तरीका त्यति व्यवहारिक थिएन, किनकि मानिसले परमेश्‍वरलाई देख्न सक्दैनथियो, न त परमेश्‍वरको प्रतिरूप कस्तो छ, वा उहाँले कसरी काम गर्नुहुन्छ र बोल्नुहुन्छ भन्‍ने नै उसलाई थाहा थियो। परमेश्‍वरको बारे मानिसमा कुनै धारणा थिएन, र उसले अस्पष्ट रूपले परमेश्‍वरमा विश्‍वास गर्थ्यो, किनकि परमेश्‍वर मानिसको अघि अझसम्म प्रकट हुनुभएको थिएन। तसर्थ, मानिसले उसको कल्पनामा परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि, परमेश्‍वरले मानिसलाई निन्दा गर्नुभएन वा उसबाट अति धेरै अपेक्षाहरू राख्नुभएन, किनकि मानिस परमेश्‍वरलाई देख्न पूर्णतः असमर्थ थियो। जब परमेश्‍वर देहधारी हुनुहुन्छ र मानिसहरूबीच काम गर्न आउनुहुन्छ, सबैले उहाँलाई देख्छन् र उहाँका वचनहरू सुन्छन्, र सबैले ती कार्यहरू देख्छन् जुन परमेश्‍वरले उहाँको देहधारी शरीरभित्रबाट गर्नुहुन्छ। त्यो क्षणमा, मानिसका सबै धारणाहरू फिँजजस्तै बन्छन्। जसले परमेश्‍वर शरीरमा प्रकट हुनुभएको देखेका छन्, यदि उनीहरूले स्वेच्छाले उहाँको आज्ञा पालन गर्छन् भने तिनीहरूलाई दोषी ठहराइनेछैन, जब कि उद्देश्यपूर्ण तरिकाले उहाँको विरुद्ध खडा हुनेहरूलाई परमेश्‍वरको विरोधी ठानिने छ। यस्ता मानिसहरू ख्रीष्ट विरोधी, शत्रुहरू हुन् जो जानीबूझी परमेश्‍वरको विरुद्ध उभिन्छन्। जो परमेश्‍वरबारे धारणाहरू मनमा राख्छन् तर उहाँको आज्ञापालन गर्न अझै तत्पर र इच्छुक हुन्छन्, उनीहरूलाई दोषी ठहराइनेछैन। परमेश्‍वरले मानिसलाई उसका अभिप्रायहरू र व्यवहारका आधारमा दोषी ठहराउनुहुन्छ, उसका सोचाइहरू र विचारहरूका आधारमा कहिल्यै त्यसो गर्नुहुन्‍न। यदि परमेश्‍वरले मानिसलाई उसका सोचाइहरू र विचारहरूका आधारमा निन्दा गर्नुहुन्थ्यो भने, परमेश्‍वरका क्रोधित हातहरूबाट एक जना पनि फुत्किन सक्दैनथियो। देहधारी परमेश्‍वरको विरुद्ध जानीबूझी खडा हुनेहरू आफ्ना अनाज्ञाकारीताको लागि दण्डित हुनेछन्। परमेश्‍वर विरुद्ध जानीबूझी उभिने यस्ता मानिसहरूको सम्बन्धमा, उनीहरूको प्रतिरोध यो तथ्यबाट उत्पन्न हुन्छ कि परमेश्‍वरबारे उनीहरूले मनमा धारणा राख्छन्, जसले उनीहरूलाई परमेश्‍वरको काम अवरोध गर्ने काम गर्ने तुल्याउँछ। यी मानिसहरूले परमेश्‍वरको कामलाई जानाजान अवरोध र नष्ट गर्छन्। उनीहरूसँग परमेश्‍वरबारे धारणाहरू मात्र हुँदैन, तर उनीहरू उहाँको कामलाई अवरोध गर्ने क्रियाकलापहरूमा समेत संलग्न हुन्छन्, र यही कारणले यस प्रकारका मानिसहरू दोषी ठहरिनेछन्। जसले जानीबूझी परमेश्‍वरको कामलाई अवरोध गर्दैनन् उनीहरू पापीको रूपमा दोषी ठहरिनेछैनन्, किनकि उनीहरू स्वेच्छाले आज्ञा पालन गर्छन् र अवरोध र बाधा पैदा गर्ने क्रियाकलापहरूमा संलग्न हुँदैनन्। यस्ता मानिसहरूलाई दोषी ठहराइनेछैन। तथापि, जब मानिसहरूले परमेश्‍वरका कामको अनुभव धेरै वर्षदेखि गरेका हुन्छन्, यदि उनीहरू निरन्तर रूपमा परमेश्‍वरबारे मनमा धारणाहरू राख्छन् र देहधारी परमेश्‍वरको कामलाई बुझ्न सक्दैनन् भने, र यदि, जति धेरै वर्ष उनीहरूले उहाँको कामलाई अनुभव गरेका भए पनि, उनीहरू परमेश्‍वरबारे धारणाहरूले निरन्‍तर भरिन्छन् र अझै उहाँलाई बुझ्न सक्दैनन् भने, यदि उनीहरू अवरोधजनक क्रियाकलापहरूमा संलग्न नभए पनि, उनीहरूको हृदय परमेश्‍वरबारे धेरै धारणाहरूले भरिएका छन्, र यदि ती धारणाहरू प्रस्ट भएनन् भने पनि, यस प्रकारका मानिसहरू परमेश्‍वरको कामको लागि कुनै प्रयोगका हुँदैनन्। उनीहरू परमेश्‍वरको लागि सुसमाचार फैलाउन वा उहाँको साक्षीको रूपमा खडा हुन असमर्थ छन्। यस प्रकारका मानिसहरू बेकामका र अल्पबुद्धिका हुन्छन्। उनीहरूले परमेश्‍वरलाई चिन्दैनन्, यसका अलाबा उहाँ बारेका उनीहरूका धारणाहरू फाल्न पूर्ण रूपमा असमर्थ छन्, त्यसैले उनीहरू दोषी ठहरिन्छन्। यसलाई यसप्रकार भन्न सकिन्छ: विश्‍वासमा नयाँ हुनेहरूले परमेश्‍वरबारे धारणाहरू लिनु वा उहाँबारे केही पनि नजान्‍नु सामान्य कुरा हो, तर जसले परमेश्‍वरमा धेरै वर्षदेखि विश्‍वास गरेको छ र उहाँका असल कामको अनुभव गरेको छ, यस्ता व्यक्तिले धारणाहरूलाई निरन्तर पक्रिराख्‍नु सामान्य हुँदैन, र यस्ता व्यक्तिहरूले परमेश्‍वरका बारे कुनै ज्ञान नराख्नु अझ कम सामान्य हुनेछ। किनभने उनीहरूलाई सामान्य स्थितिमा दोषी ठहराइँदैन। यी असामान्य मानिसहरू सबै फोहोर हुन्; यिनीहरू परमेश्‍वरलाई सबैभन्दा धेरै विरोध गर्नेहरू हुन् र जसले व्यर्थमा परमेश्‍वरको अनुग्रह उपभोग गरेका छन्। यस्ता सबै मानिसहरूलाई अन्त्यमा हटाइनेछ!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्

यो जान, कि तिमीहरू परमेश्‍वरको कार्यलाई विरोध गर्छौ, वा आजको कामलाई नाप्‍नको लागि तिमीहरूका आफ्‍नै धारणाहरूको प्रयोग गर्छौ, किनभने तिमीहरूलाई परमेश्‍वरको कार्यका सिद्धान्तहरू थाहा छैन, र किनभने तिमीहरूले पवित्र आत्माको कार्यलाई पर्याप्त रूपमा गम्‍भीर रूपमा लिँदैनौ। परमेश्‍वरप्रतिको तिमीहरूको विरोध र पवित्र आत्माको कामप्रतिको अवरोध तिमीहरूका धारणा र अन्तर्निहित अहङ्कारले पैदा गरेको हो। परमेश्‍वरको कार्य गलत भएर होइन, तर तिमीहरू प्राकृतिक रूपमै अत्यन्तै अनाज्ञाकारी भएकोले यसो भएको हो। परमेश्‍वरमाथिको आफ्‍नो आस्थालाई भेटिसकेपछि, कतिपय मानिसहरूले मानिस कहाँबाट आएको हो भनेर समेत निश्‍चयताको साथ भन्‍न सक्दैनन्, तैपनि तिनीहरू पवित्र आत्माको कामका सही र गलत कुराहरूलाई मूल्याङ्कन गर्दै सार्वजनिक भाषणहरू दिने आँट गर्छन्। तिनीहरू टिप्‍पणीहरू गर्दै र अनुचित गफ लडाउँदै पवित्र आत्माको नयाँ काम भएका प्रेरितहरूलाई समेत भाषण दिन्छन्; तिनीहरूको मानवता अत्यन्तै नीच छ, र तिनीहरूमा अलिकति पनि चेतना छैन। के त्यस्ता मानिसहरूलाई पवित्र आत्माले इन्कार गरेर नरकको आगोद्वारा जलाउनुहुने दिन आउनेछैन र? तिनीहरूलाई परमेश्‍वरको कामको बारेमा थाहा छैन, तैपनि उहाँको कामको आलोचना गर्छन्, र कसरी काम गर्ने भनेर परमेश्‍वरलाई समेत निर्देशन दिने प्रयास गर्छन्। त्यस्ता अनुचित मानिसहरूले कसरी परमेश्‍वरलाई चिन्‍न सक्छन् र? खोजी गर्ने र अनुभव गर्ने प्रक्रियामा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ; आवेगमा आलोचना गरेर होइन तर पवित्र आत्‍माको अन्तर्दृष्टिद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ। परमेश्‍वर सम्‍बन्धी मानिसहरूको ज्ञान जति यथार्थ हुन्छ, तिनीहरूले त्यति नै कम विरोध गर्छन्। यसको विपरीत, मानिसहरूले परमेश्‍वरलाई जति कम चिन्छन्, तिनीहरूले उहाँको विरोध गर्ने सम्‍भावना त्यति नै बढी हुन्छ। तेरा धारणाहरू, तेरो पुरानो प्रकृति, र तेरो मानवता, चरित्र र नैतिक दृष्टिकोण तैँले परमेश्‍वरलाई प्रतिरोध गर्ने “पूँजी” हो, र तँ जति भ्रष्ट, तुच्छ, र नीच बन्छस्, तँ त्यति नै बढी परमेश्‍वरको शत्रु बन्छस्। जोसँग दह्रिला धारणाहरू हुन्छन् र जोसँग आत्म-धर्मी स्वभाव हुन्छ तिनीहरू देहधारी परमेश्‍वरको अझै बढी शत्रुतामा हुन्छन्; त्यस्ता मानिसहरू ख्रीष्ट विरोधीहरू हुन्। यदि तेरा धारणाहरूलाई सुधार गरिएन भने, ती सधैँ नै परमेश्‍वरको विरुद्ध हुनेछन्; तँ कहिल्यै पनि परमेश्‍वरसँग मिल्‍ने बन्‍नेछैनस्, र तँ उहाँबाट सधैँ अलग हुनेछस्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

यदि तैँले परमेश्‍वरबाटको नयाँ ज्योति स्वीकार गर्न सक्दैनस्, र परमेश्‍वरले आज गर्नुहुने सबै कार्यलाई बुझ्न सक्दैनस् र तँ यसलाई खोजी गर्दैनस्, वा यसलाई तँ शङ्का गर्छस्, यसको न्याय गर्छस्, वा यसलाई जाँच र विश्लेषण गर्छस् भने, परमेश्‍वरको आज्ञापालन गर्ने मन तँसँग छैन। यहाँ र अहिलेको ज्योति प्रकट हुँदा, तैँले हिजोको ज्योतिलाई मात्र बहुमूल्य ठानिराख्छस् र परमेश्‍वरको नयाँ कार्यलाई विरोध गर्छस् भने, तँ मूर्खभन्दा बढी केही होइनस्—तँ जानी-जानी परमेश्‍वरलाई विरोध गर्ने व्यक्ति होस्। परमेश्‍वरको आज्ञाकारी हुने कार्यको चाबीचाँहि नयाँ ज्योतिप्रति कृतज्ञ हुनु, र यसलाई स्वीकार गर्न सक्नु र यसलाई व्यवहारमा लागू गर्न सक्नु हो। यही नै साँचो आज्ञाकारीता हो। परमेश्‍वरप्रति तृषित नहुनेहरू नै उद्देश्यका साथ उहाँमा समर्पित हुन नसक्ने मानिसहरू हुन्, र आफ्ना यथास्थितिमा सन्तुष्ट भएको फलस्वरूप तिनीहरूले परमेश्‍वरको विरोध मात्र गर्न सक्छन्। त्यस मानिसहरूले परमेश्‍वरको आज्ञालाई पालन गर्न नसक्नुको कारण के हो भने, ऊ पहिले आएको कुराको बन्धनमा बाँधिएको हुन्छ। पहिले आएका कुराहरूले मानिसहरूलाई परमेश्‍वरका बारेमा अनेक किसिमका धारणाहरू र अनुमानहरू प्रदान गरेका छन्, र तिनीहरूका मनमा यी कुराहरू परमेश्‍वरको स्वरूप बनेको छ। यसरी, तिनीहरूले विश्‍वास गर्ने कुराहरू आफ्नै धारणाहरू र तिनीहरूका आफ्नै कल्पनाका मापदण्डहरू हुन्। यदि तैँले आज वास्तविक काम गर्नुहुने परमेश्‍वरलाई तेरो कल्पनाको परमेश्‍वरसँग तुलना गर्छस् भने, तेरो विश्‍वास शैतानबाट आउँछ, र तेरा आफ्नै प्राथमिकताहरूद्वारा दूषित पारिएको हुन्छ, परमेश्‍वरले यस किसिमको विश्‍वास चाहनुहुन्न। तिनीहरूका योग्यताहरू जति नै उच्च भए पनि, र तिनीहरू समर्पित नै भएपनि—तिनीहरूले उहाँका काममा पूरै जीवनका प्रयासहरू समर्पण गरेका भएपनि, तिनीहरूले आफैलाई शहीद तुल्याएका भएपनि—यस किसिमको विश्‍वास भएको कुनै पनि व्यक्तिलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्न। उहाँले तिनीहरूमाथि थोरै अनुग्रह मात्र दिनुहुन्छ र केही समयका लागि यसको आनन्द लिन दिनुहुन्छ। यस किसिमका व्यक्तिहरू सत्यतालाई व्यवहारमा लागू गर्न असक्षम हुन्छन्। पवित्र आत्माले तिनीहरूभित्र काम गर्नुहुन्न, र परमेश्‍वरले तिनीहरू प्रत्येकलाई हटाउनुहुनेछ। जवान र वृद्ध जो भए पनि, आफ्नो विश्‍वासमा परमेश्‍वरको आज्ञापालन नगर्ने र गलत अभिप्राय बोकेर हिँड्ने मानिसहरू विरोध गर्ने र बाधा दिने मानिसहरू हुन् र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले हटाउनुहुनेछ भन्नेमा कुनै प्रश्न छैन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ

अय्यूबले त्यति बेला परमेश्‍वरको बारेमा जानेका नभए पनि तिनले अझै उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्थे र उहाँलाई स्वर्ग र पृथ्वी अनि सब थोकको मालिकको रूपमा लिन्थे। अय्यूबले परमेश्‍वरलाई शत्रु मान्दैनथे; बरु तिनले उहाँलाई सबै थोकको सृष्टिकर्ताको रूपमा आराधना गर्थे। आजभोलि किन मानिसहरूले परमेश्‍वरको यति धेरै प्रतिरोध गर्छन् त? किन तिनीहरू उहाँलाई आदर गर्न असक्षम छन् त? एउटा कारणचाहिँ तिनीहरू शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका छन् र त्यस्तो गहन रूपमा जरा गाडेको शैतानी प्रकृतिको कारण तिनीहरू परमेश्‍वरको शत्रु बनेका छन्। यसरी, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि र परमेश्‍वरलाई स्वीकार गरे तापनि, तिनीहरूले अझै पनि परमेश्‍वरको प्रतिरोध गर्न सकेका हुन् र तिनीहरूले आफैलाई उहाँको विपक्षमा उभ्याउन सकेका हुन्। यो कुरा मानव प्रकृतिद्वारा निर्धारित हुन्छ। अर्को कारणचाहिँ तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्दै नगर्नु हो। यसको साटो, तिनीहरूले उहाँलाई मानवताको विरुद्धमा हुनुभएको मान्छन्, उहाँलाई तिनीहरूको शत्रुको रूपमा लिन्छन्, र तिनीहरूले आफूलाई परमेश्‍वरसँग मेलमिलापमा रहनै नसक्ने भएको ठान्छन्। यो कुरा त्यति सरल छ। … तँमा परमेश्‍वरको बारेमा केही ज्ञान हुन सक्छ, तर यो ज्ञानमा के कुराहरू समावेश छन् त? के हरेक व्यक्तिले कुरा गरिरहेको मामला यही होइन र? तँ यसको सैद्धान्तिक र धर्मसैद्धान्तिक पक्षहरूको बारेमा मात्र परिचित छस्—तर के तैँले कहिल्यै परमेश्‍वरको साँचो रूपको सराहना गरेको छस् त? के तँसँग आत्मपरक ज्ञान छ त? के तँसँग व्यावहारिक ज्ञान र अनुभव छ त? यदि परमेश्‍वरले तँलाई नबताउनुभएको भए, के तँलाई थाहा हुन्थ्यो त? तेरो सैद्धान्तिक ज्ञानले वास्तविक ज्ञानको प्रतिनिधित्व गर्दैन। संक्षिप्त रूपमा, तैँले यसलाई जति नै जाने तापनि वा तैँले जसरी यसलाई जानेको भए तापनि, तैँले परमेश्‍वरको वास्तविक ज्ञान हासिल नगरुन्जेलसम्म, उहाँ तेरो शत्रु नै हुनुहुनेछ, र तैँले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न सुरु नगरुन्जेलसम्म, उहाँले तेरो विरोध नै गर्नुहुनेछ किनभने तँ शैतानको प्रतिमूर्ति होस्।

जब तँ ख्रीष्टसित सँगै हुन्छस्, तब सायद तैँले उहाँलाई प्रतिदिन तीन पटक खाना दिन सक्छस् होला वा सायद उहाँलाई चिया दिन र उहाँको जीवनका आवश्यकताहरूको ख्याल गर्न सक्छस् होला; तैँले ख्रीष्टलाई परमेश्‍वरको रूपमा व्यवहार गरेको जस्तो देखिनेछ। जब कुनै घटना घट्छ, तब मानिसहरूका दृष्टिकोणहरू सधैँ नै परमेश्‍वरको दृष्टिकोणको विरुद्ध हुन्छन्; मानिसहरू सधैँ नै परमेश्‍वरको दृष्टिकोणलाई बुझ्न र स्वीकार गर्न असफल हुन्छन्। तिनीहरू सतही रूपमा परमेश्‍वरसँग मिल्‍ने देखिए तापनि, यसको मतलब तिनीहरू उहाँको अनुरूप रहेका छन् भन्ने हुँदैन। केही घटना घट्नेबित्तिकै, मानवजातिको अवज्ञाको सत्यता बाहिर निस्किहाल्छ र यसरी मानिसहरू र परमेश्‍वरको बीचमा रहेको शत्रुता पुष्टि हुन्छ। यो शत्रुता परमेश्‍वरले मानिसहरूको विरोध गर्नुहुने शत्रुता होइन वा परमेश्‍वर तिनीहरूको शत्रु बन्न चाहनुभएको कुरा होइन, न त यो उहाँले तिनीहरूलाई उहाँको विपक्षमा उभ्याउनुभएको र तिनीहरूलाई सोही अनुरूप व्यवहार गर्नुभएको कुरा हो। बरु, यो त मानिसहरूको आत्मगत इच्छा र तिनीहरूको अर्धचेतन मस्तिष्कमा लुकेको परमेश्‍वरप्रतिको विरोधी सारको अवस्था हो। मानिसहरूले परमेश्‍वरबाट आउने सबै थोकलाई तिनीहरूको खोज अनुसन्धानको वस्तुहरूको रूपमा लिने भएकोले, परमेश्‍वरबाट आउने सबै थोक र परमेश्‍वरसँग सम्बन्धित हरेक कुराप्रति तिनीहरूको सर्वोपरि प्रतिक्रिया भनेको अनुमान गर्नु, शङ्का गर्नु र परमेश्‍वरसँग द्वन्द्व गर्ने र उहाँको विरोध गर्ने आचरणलाई चाँडो-चाँडो अपनाउनु हो। त्यसपछि चाँडै नै, तिनीहरूले नकारात्मक मनस्थितिलाई परमेश्‍वरसँग विवाद वा प्रतिस्पर्धा गर्न लैजान्छन् र तिनीहरू त्यस्ता परमेश्‍वर पछ्याउन लायक छन् कि छैनन् भनेर शङ्का गर्ने हदसम्म पुग्छन्। तिनीहरूको तर्क-चेतनाले तिनीहरूलाई यस्तो शैलीमा अघि बढ्नु हुँदैन भनेर भने पनि, तिनीहरूले त्यसो गर्ने योजना नहुँदा नहुँदै पनि अझै त्यसो गर्ने विकल्प नै रोज्नेछन् र तिनीहरूले कुनै हिचकिचाहटविना अन्त्यसम्म नै त्यसो गर्न जारी राख्नेछन्। उदाहरणको लागि, जब केही मानिसहरूले परमेश्‍वरको बारेमा अफवाह वा निन्दात्मक कुराहरू सुन्छन्, तब तिनीहरूको पहिलो प्रतिक्रिया के हुन्छ त? तिनीहरूको पहिलो प्रतिक्रिया भनेको यी अफवाहहरू साँचो हुन् कि होइनन् र यी अफवाहहरू विद्यमान छन् कि छैनन् भनी सोच्नु र त्यसपछि पर्ख-र-हेर मनोवृत्ति अपनाउनु हो। त्यसपछि तिनीहरू सोच्न थाल्छन्, “यो कुरालाई पुष्टि गर्ने उपाय नै छैन। के त्यो साँच्चै नै भएकै थियो त? यो अफवाह साँचो हो कि होइन?” यस्ता मानिसहरूले सतही रूपमा यस्तो कुरा नदेखाए तापनि, तिनीहरूले आफ्नो हृदयमा अघि नै शङ्का गर्न थालिसकेका हुन्छन्, र अघि नै परमेश्‍वरलाई इन्कार गर्न थालिसकेका हुन्छन्। यस प्रकारको आचरण र त्यस्तो दृष्टिकोणको सार के हो त? के यो धोका होइन र? तिनीहरूले यो मामलाको सामना नगरुन्जेलसम्म, तैँले यी मानिसहरूको दृष्टिकोण कस्तो रहेछ भनी देख्‍न सक्दैनस्; तिनीहरू परमेश्‍वरको विपरीत छन् भन्ने देखिँदैनन् र तिनीहरूले परमेश्‍वरलाई दुस्मनको रूपमा लिन्छन् जस्तो लाग्दैन। तथापि, तिनीहरूले कुनै समस्या सामना गर्नेबित्तिकै, तिनीहरू तुरुन्तै शैतानको साथमा उभिन्छन् र परमेश्‍वरको विरोध गर्छन्। यसले के कुरा सङ्केत गर्छ त? यसले मानिसहरू र परमेश्‍वर परस्पर विरोधी छन् भन्ने सङ्केत गर्छ। परमेश्‍वरले मानवजातिलाई दुस्मनको रूपमा लिनुहुन्छ भन्ने होइन, बरु यो त मानवताको सार आफै परमेश्‍वरको विरुद्धमा छ भन्ने हो। कुनै व्यक्तिले उहाँलाई जति नै लामो समयसम्म पछ्याएको नै किन नहोस् वा तिनीहरूले जति ठूलो मूल्य तिरेको नै किन नहोस् र तिनीहरूले जस्तोसुकै प्रकारले परमेश्‍वरको प्रशंसा गरेका भए पनि, तिनीहरूले उहाँको प्रतिरोध गर्नबाट आफूलाई जे-जसरी रोकेको भए पनि र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्न भनी जति नै जोडसँग आफूले आफैलाई आग्रह गरेको भए पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न सक्दैनन्। के यो कुरा मानिसहरूको सारद्वारा निर्धारण हुँदैन र?

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

तिमीहरूले सधैँ ख्रीष्टलाई हेर्ने इच्छा गर्छौ, तर म तिमीहरूलाई आग्रह गर्छु कि तिमीहरूले आफैलाई त्यति उच्च स्थानमा नराख; जो-कोहीले पनि ख्रीष्टलाई देख्न सक्छन्, तर म भन्छु, ख्रीष्टलाई हेर्ने योग्यका कोही पनि छैनन्। मानिसको प्रकृति दुष्टता, अहङ्कार, र विद्रोहीपनले भरेको हुने हुँदा, तैँले ख्रीष्टलाई देख्‍ने बित्तिकै, तेरो प्रकृतिले तँलाई नष्ट पार्नेछ र मृत्यु-दण्ड दिनेछ। एउटा दाजु-भाइ (या दिदी-बहिनी) सँगको तेरो सम्‍बन्धले तेरो बारेमा धेरै जसो कुरा देखाउँदैन, तर जब तँ ख्रीष्टसँग जोडिन्छस् तब त्यो त्यति सहज हुँदैन। कुनै पनि समयमा, तेरा धारणाहरूले जरा लगाउन सक्छ, तेरो अहङ्कार पलाउन सुरु हुन्छ, र तेरो विद्रोहीपनले अन्जीरहरू फलाउँछ। त्यस्तो मानवताद्वारा तँ कसरी ख्रीष्टसँग जोडिन लायक हुन सक्छस्? के तैँले हरेक दिनको हरेक पल उहाँलाई परमेश्‍वरको रूपमा साँचो तरिकाले व्यवहार गर्न सक्छस्? के तँमा साँच्‍चै परमेश्‍वरमाथिको समर्पणको वास्तविकता हुनेछ? तिमीहरूले उच्च परमेश्‍वरलाई आफ्नो हृदयमा यहोवाको रूपमा आराधना गर्छौ, जब कि त्यही क्रममा दृश्यमा भएको ख्रीष्टलाई एउटा मानिसको रूपमा लिन्छौ। तेरो भावना अति नै तल्लो दर्जाको छ र तेरो मानवता अत्यन्त पतित छ! तैँले ख्रीष्टलाई सधैँ परमेश्‍वरको रूपमा हेर्न सक्दैनस्; कहिलेकहीँ तिमीहरूलाई मन लागेको बेला मात्रै, तिमीहरू उहाँलाई समाएर उहाँलाई परमेश्‍वरको रूपमा पुज्छौ। यहि कारणले म भन्छु, कि तिमीहरू परमेश्‍वरका विश्‍वासीहरू होइनौ, तर ख्रीष्टको विरुद्धमा लड्ने अपराधी दल हौ। अरूलाई दया देखाउने मानिसहरूलाई पुनः चुक्ता गरिए पनि, र तिमीहरूका बीचमा त्यस्तो काम गर्नुहुने, ख्रीष्टले न त मानिसको प्रेम, न त उहाँको प्रतिफल र समर्पण नै पाउनुभयो। के यो हृदय विदारक कुरा होइन र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्ट अनुरूप नभएकाहरू निश्‍चय नै परमेश्‍वरका विरोधीहरू हुन्

आज देहधारी परमेश्‍वरले प्राप्त गर्न चाहनुभएका मानिसहरू ती हुन् जो उहाँको इच्छा अनुरूप छन्। तिनीहरूले उहाँको कामप्रति समर्पित हुनुपर्छ, र स्वर्गमा परमेश्‍वर हुनुहुन्छ भन्‍ने विचारहरू राख्दै अस्पष्टतामा जिउन र देहमा आउनुभएका परमेश्‍वरका निम्ति कार्यहरू कठिन बनाउन मात्रै छोड्नुपर्छ। उहाँको आज्ञापालन गर्न सक्नेहरू तिनीहरू हुन् जसले पूर्ण रूपमा उहाँको वचन सुन्छन् र उहाँको प्रबन्धहरूमा समर्पित हुन्छन्। त्यस्ता मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्‍वर वास्तवमा कस्तो हुनुहुन्छ वा अहिले स्वर्गमा हुनुहुने परमेश्‍वरले कस्तो किसिमको काम गर्दै हुनुहुन्छ भन्ने कुरालाई कुनै वास्ता गर्दैनन्; तिनीहरूले पृथ्वीका परमेश्‍वरलाई आफ्नो हृदय पूर्ण रूपमा दिन्छन् र उनीहरूले आफ्ना सम्पूर्ण अस्तित्व उहाँको सामु समर्पित गर्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई कहिल्यै पनि कुनै ध्यान दिँदैनन्, न त तिनीहरूले देहमा हुनुहुने परमेश्‍वरको सामान्यता र व्यावहारिकतालाई धेरै ध्यान नै दिन्छन्। देहधारी परमेश्‍वरमा समर्पित हुने मानिसहरूलाई उहाँले सिद्ध पार्न सक्‍नुहुन्छ। स्वर्गका परमेश्‍वरमा विश्‍वास गर्नेहरूले केही पनि पाउनेछैनन्। किनकि स्वर्गका परमेश्‍वरले होइन तर पृथ्वीका परमेश्‍वरले मानिसहरूलाई प्रतिज्ञाहरू र आशीर्वादहरू दिनुहुन्छ। मानिसहरूले स्वर्गका परमेश्‍वरलाई सधैँ ठूलो बनाउने अनि पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई सामान्य मानिसको रूपमा हेर्ने गर्नु हुँदैन; त्यसो गर्नु अनुचित हो। स्वर्गमा हुनुहुने परमेश्‍वर महान् र अद्भुत बुद्धिका हुनुहुन्छ, तर यसको कुनै अस्तित्वमा छैन; पृथ्वीका परमेश्‍वर अति औसत र महत्त्वहीन हुनुहुन्छ, र सामान्य पनि हुनुहुन्छ। उहाँसँग असाधारण दिमाग छैन वा उहाँले पृथ्वी नै भत्काउन सक्‍ने कार्यहरू गर्नुहुन्न; उहाँले केवल सामान्य र व्यावहारिक ढङ्गले कार्य गर्नुहुन्छ र बोल्नुहुन्छ। उहाँले गर्जनको माध्यमबाट बोल्‍ने, वा हावा र वर्षालाई आज्ञा दिने नगर्नुभए तापनि, उहाँ साँच्चै स्वर्गका परमेश्‍वरका अवतार हुनुहुन्छ, र उहाँ साँच्चै मानवजातिका बीचमा बास गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। मानिसहरूले आफूले बुझ्न सक्ने र तिनीहरूले परमेश्‍वर भनी गरेका कल्पनाहरूसँग मेल खाने व्यक्तिलाई उच्च पार्नु हुँदैन, र तिनीहरूले स्वीकार गर्न नसक्ने र कल्पना गर्नै नसक्ने व्यक्तिलाई तुच्छ ठान्नु हुँदैन। यी सबै मानिसहरूको विद्रोहबाट आउँछ; परमेश्‍वरप्रति मानवजातिको विरोधको सबै स्रोत यही हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्