व्यक्ति कसरी परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति बन्न सक्छ र उसले अभ्यासका के-कस्ता सिद्धान्तहरूद्वारा परमेश्‍वरको आज्ञापालन गर्नुपर्छ

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

परमेश्‍वर देह मा हुनुभएको समयमा, उहाँले मानिसहरूबाट चाहनुभएको समर्पणमा, तिनीहरूले कल्पना गरेजस्तो, दोष लाउने वा विरोध गर्ने कार्यबाट अलग बस्ने कुराहरू छैनन्। बरु, उहाँ मानिसहरूले जिउनका निम्ति र तिनीहरू जीवित रहने जगको रूपमा उहाँका वचनहरूलाई सिद्धान्तको रूपमा प्रयोग गरून्, तिनीहरूले उहाँका वचनहरूको सारलाई पूर्ण रूपमा व्यवहारमा उतारून् र उहाँको इच्छा पूर्ण रूपमा पूरा गरून् भन्ने चाहनुहुन्छ। मानिसहरूलाई देहधारी परमेश्‍वरको अधीनमा बस्‍न लगाउने मागको एउटा पक्षले उहाँका वचनहरूलाई व्यवहारमा लागू गर्ने कार्यलाई जनाउँछ भने, अर्को पक्षले उहाँको सामान्यता र व्यावहारिकतामा समर्पित हुन सक्‍नुलाई जनाउँछ। यी दुवै ठोस् हुनुपर्दछ। यी दुवै पक्षहरू हासिल गर्न सक्‍नेहरू सबै आफ्नो हृदयमा परमेश्‍वरप्रति साँचो प्रेम राख्‍नेहरू हुन्। तिनीहरू सबै त्यस्ता मानिसहरू हुन् जो परमेश्‍वरद्वारा प्राप्त गरिएका छन्, र तिनीहरू सबैले परमेश्‍वरलाई आफ्नो जीवनलाई प्रेम गरेजस्तै प्रेम गर्दछन्। देहधारी परमेश्‍वरले उहाँको काममा सामान्य र व्यावहारिक मानवता धारण गर्नुहुन्छ। यसरी, उहाँको सामान्य र व्यावहारिक मानवताको दुवैको बाहिरी खोल मानिसहरूका निम्ति ठूलो परीक्षा बन्छ; त्यो तिनीहरूको सबैभन्दा ठूलो कठिनाइ बन्छ। तापनि, परमेश्‍वरको सामान्यता र व्यावहारिकतालाई हटाउन सकिँदैन। उहाँले समाधान खोज्न हरप्रकारको कोसिस गर्नुभयो, तर अन्त्यमा उहाँले आफूलाई सामान्य मानवताको बाहिरी खोलबाट मुक्त गर्न सक्नुभएन। किनभने आखिर जे भए पनि उहाँ मानिस बन्नुभएका परमेश्‍वर हुनुहुन्छ, स्वर्गमा हुनुहुने आत्माका परमेश्‍वर हुनुहुन्न। उहाँ मानिसहरूले देख्न नसक्ने परमेश्‍वर हुनुहुन्न, तर उहाँ सृष्टिको सदस्यको खोल ओढ्नुभएको परमेश्‍वर हुनुहुन्छ। यसैकारण उहाँले आफैलाई उहाँको सामान्य मानवताबाट अलग गर्नु कुनै पनि हालतमा सजिलो हुँदैन। त्यसकारण, चाहे जे भए पनि, उहाँले गर्न चाहनुभएको कामलाई उहाँले मानिसको दृष्टिकोणबाट नै गर्नुहुन्छ। यो काम सामान्य र व्यावहारिक परमेश्‍वरको अभिव्यक्ति हो, त्यसैले मानिसहरू अधीनमा नबस्नु कसरी उचित हुन्छ? मानिसहरूले परमेश्‍वरका कार्यहरूको बारेमा के पो गर्न सक्छन् र? उहाँले जे गर्न चाहनुहुन्छ त्यो गर्नुहुन्छ; उहाँ जुन कुरामा खुसी हुनुहुन्छ, त्यो त्यस्तै रहन्छ। यदि मानिसहरू अधीनमा बस्दैनन् भने, तिनीहरूसँग अर्को कुन राम्रा योजनाहरू हुन सक्छन्? अहिलेसम्म, केवल अधीनताले मात्रै मानिसहरूलाई मुक्ति दिन सकेको छ; कसैसँग पनि अरू कुनै राम्रा विचारहरू छैन। यदि परमेश्‍वरले मानिसहरूलाई जाँच गर्न चाहनुहुन्छ भने, तिनीहरूले यसको बारेमा के गर्न सक्छन् र? तापनि, यी सबै कुरा स्वर्गमा हुनुहुने परमेश्‍वरले सोच्नुभएको थिएन भने; यो देहधारी परमेश्‍वरले सोच्नुभएको कुरा थियो। उहाँले यो गर्न चाहनुहुन्छ, ताकि कुनै व्यक्तिले यसलाई परिवर्तन गर्न नसकोस्। स्वर्गका परमेश्‍वरले देहधारी परमेश्‍वरले गर्नुहुने कुनै पनि कार्यमा हस्तक्षेप गर्नुहुन्न, त्यसैले के यो मानिसहरू उहाँको अधीनमा बस्नुपर्ने अझ ठूलो कारण होइन र? उहाँ व्यावहारिक र सामान्य दुवै हुनुभए पनि उहाँ पूर्ण रूपमा देहधारी परमेश्‍वर हुनुहुन्छ। उहाँका आफ्नै विचारहरूको आधारमा उहाँले जे गर्न चाहनुहुन्छ त्यो गर्नुहुन्छ। स्वर्गका परमेश्‍वरले सबै काम उहाँलाई सुम्पनुभएको छ; उहाँले जे गर्नुहुन्छ त्यसप्रति तँ समर्पित हुनैपर्छ। उहाँसँग मानवता छ र धेरै सामान्य हुनुहुन्छ, तैपनि उहाँले जानेर नै यी सबै मिलाउनुभएको छ, त्यसैले मानिसहरूले कसरी अचम्मित बनी अस्वीकार गर्दै उहाँलाई हेर्न सक्छन्? उहाँ सामान्य हुन चाहनुहुन्छ, यसैले उहाँ सामान्य हुनुहुन्छ। ऊ मानवताभित्र जिउन चाहनुहुन्छ, त्यसैले उहाँ मानवताभित्र बस्नुहुन्छ। उहाँ ईश्‍वरत्वभित्र जिउन चाहनुहुन्छ, त्यसैले उहाँ ईश्‍वरत्वमा रहनुहुन्छ। मानिसहरूले यसलाई आफूले चाहेअनुसार हेर्न सक्छन्, तर परमेश्‍वर सधैँ परमेश्‍वर नै हुनुहुनेछ र मानिसहरू सधैँ मानिस नै हुनेछ। उहाँको सारलाई सानातिना कुराको कारण अस्वीकार गर्न सकिँदैन, न त उहाँलाई परमेश्‍वरको “व्यक्ति” बाट बाहिर धकेलेर निकाल्‍न नै सकिन्छ। मानिसहरूसँग मानवजातिको स्वतन्त्रता छ, र परमेश्‍वरसित परमेश्‍वरको मर्यादा छ; यी कुराले एकअर्कालाई हस्तक्षेप गर्दैनन्। के मानिसहरूले परमेश्‍वरलाई थोरै स्वतन्त्रता दिन सक्दैनन्? के तिनीहरूले परमेश्‍वर थोरै अनौपचारिक हुनुभएको सहन सक्दैनन्? परमेश्‍वरसित त्यस्तो कडा नहोओ! प्रत्येक व्यक्तिमा एक-अर्काप्रति सहिष्णुता हुनुपर्दछ; तब के सबै कुरा ठीक हुनेछैनन् र? के अझै पनि केही खिन्नता हुनेछ? यदि कसैले त्यस्तो सानोतिनो कुरालाई सहन सक्दैन भने, तिनीहरूले कसरी “प्रधानमन्त्रीको हृदय डुङ्गा खियाउनका निम्ति पर्याप्त छ” जस्तो कुरा भन्न सक्छन्? तिनीहरू कसरी साँचो मानिस हुन सक्छन्? मानवजातिका लागि कठिनाइ उत्पन्न गर्ने परमेश्‍वर हुनुहुन्न, तर मानवजातिले परमेश्‍वरका लागि कठिनाइ उत्पन्न गर्दछ। तिनीहरू सधैँ तिललाई पहाड बनाउँदै काम गर्छन्। तिनीहरूले साँच्चै शून्यताबाट कुनै कुरा बनाउँछन् र यो अत्यन्त अनावश्यक छ! जब परमेश्‍वरले सामान्य र व्यावहारिक मानवताभित्र काम गर्नुहुन्छ, तब उहाँले जे गर्नुहुन्छ त्यो मानवजातिको काम होइन, तर परमेश्‍वरको काम हो। तापनि मानिसहरूले उहाँको कामको सारलाई देख्दैनन्; तिनीहरू सधैँ उहाँको मानवताको बाहिरी खोललाई मात्र देख्छन्। तिनीहरूले त्यस्तो ठूलो काम देखेका छैनन्, तैपनि तिनीहरूले उहाँको सामान्य र साधारण मानवतालाई देखेको छौ भनी जोड दिन्छन्, र त्यो कुरालाई छोड्दै-छोड्दैनन्। यसलाई कसरी परमेश्‍वरको अधीनमा बसेको भन्न सकिन्छ? स्वर्गका परमेश्‍वर अब पृथ्वीका परमेश्‍वरमा “परिवर्तन” हुनुभएको छ, र पृथ्वीका परमेश्‍वर अब स्वर्गका परमेश्‍वर हुनुहुन्छ। उहाँहरूको बाहिरी रूपरङ्ग एक-समान भए पनि त्यसले फरक पार्दैन, न त उहाँहरूले वास्तवमा कसरी काम गर्नुहुन्छ भन्ने कुराले नै कुनै फरक पार्छ। अन्त्यमा, जसले परमेश्‍वरको आफ्नै काम गर्नुहुन्छ उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ। तैंले चाहे पनि वा नचाहे पनि तँ अधीनमा बस्नैपर्छ—यो तैँले छनौट गर्ने विषय होइन! मानिसहरूले परमेश्‍वरको आज्ञापालन गर्नुपर्छ र मानिसहरू अलिकति पनि बहाना नबनाई पूर्ण रूपमा परमेश्‍वरको अधीनमा बस्नुपर्छ।

आज देहधारी परमेश्‍वरले प्राप्त गर्न चाहनुभएका मानिसहरू ती हुन् जो उहाँको इच्छा अनुरूप छन्। तिनीहरूले उहाँको कामप्रति समर्पित हुनुपर्छ, र स्वर्गमा परमेश्‍वर हुनुहुन्छ भन्‍ने विचारहरू राख्दै अस्पष्टतामा जिउन र देहमा आउनुभएका परमेश्‍वरका निम्ति कार्यहरू कठिन बनाउन मात्रै छोड्नुपर्छ। उहाँको आज्ञापालन गर्न सक्नेहरू तिनीहरू हुन् जसले पूर्ण रूपमा उहाँको वचन सुन्छन् र उहाँको प्रबन्धहरूमा समर्पित हुन्छन्। त्यस्ता मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्‍वर वास्तवमा कस्तो हुनुहुन्छ वा अहिले स्वर्गमा हुनुहुने परमेश्‍वरले कस्तो किसिमको काम गर्दै हुनुहुन्छ भन्ने कुरालाई कुनै वास्ता गर्दैनन्; तिनीहरूले पृथ्वीका परमेश्‍वरलाई आफ्नो हृदय पूर्ण रूपमा दिन्छन् र उनीहरूले आफ्ना सम्पूर्ण अस्तित्व उहाँको सामु समर्पित गर्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई कहिल्यै पनि कुनै ध्यान दिँदैनन्, न त तिनीहरूले देहमा हुनुहुने परमेश्‍वरको सामान्यता र व्यावहारिकतालाई धेरै ध्यान नै दिन्छन्। देहधारी परमेश्‍वरमा समर्पित हुने मानिसहरूलाई उहाँले सिद्ध पार्न सक्‍नुहुन्छ। स्वर्गका परमेश्‍वरमा विश्‍वास गर्नेहरूले केही पनि पाउनेछैनन्। किनकि स्वर्गका परमेश्‍वरले होइन तर पृथ्वीका परमेश्‍वरले मानिसहरूलाई प्रतिज्ञाहरू र आशीर्वादहरू दिनुहुन्छ। मानिसहरूले स्वर्गका परमेश्‍वरलाई सधैँ ठूलो बनाउने अनि पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई सामान्य मानिसको रूपमा हेर्ने गर्नु हुँदैन; त्यसो गर्नु अनुचित हो। स्वर्गमा हुनुहुने परमेश्‍वर महान् र अद्भुत बुद्धिका हुनुहुन्छ, तर यसको कुनै अस्तित्वमा छैन; पृथ्वीका परमेश्‍वर अति औसत र महत्त्वहीन हुनुहुन्छ, र सामान्य पनि हुनुहुन्छ। उहाँसँग असाधारण दिमाग छैन वा उहाँले पृथ्वी नै भत्काउन सक्‍ने कार्यहरू गर्नुहुन्न; उहाँले केवल सामान्य र व्यावहारिक ढङ्गले कार्य गर्नुहुन्छ र बोल्नुहुन्छ। उहाँले गर्जनको माध्यमबाट बोल्‍ने, वा हावा र वर्षालाई आज्ञा दिने नगर्नुभए तापनि, उहाँ साँच्चै स्वर्गका परमेश्‍वरका अवतार हुनुहुन्छ, र उहाँ साँच्चै मानवजातिका बीचमा बास गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। मानिसहरूले आफूले बुझ्न सक्ने र तिनीहरूले परमेश्‍वर भनी गरेका कल्पनाहरूसँग मेल खाने व्यक्तिलाई उच्च पार्नु हुँदैन, र तिनीहरूले स्वीकार गर्न नसक्ने र कल्पना गर्नै नसक्ने व्यक्तिलाई तुच्छ ठान्नु हुँदैन। यी सबै मानिसहरूको विद्रोहबाट आउँछ; परमेश्‍वरप्रति मानवजातिको विरोधको सबै स्रोत यही हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्

प्रभुको वचनलाई सुन्नु र परमेश्‍वरका मापदण्डहरूको पालना गर्नु नै मानिसको स्वर्ग-प्रेषित काम हो; परमेश्‍वरले जे भन्नुहुन्छ त्यो मानिसको सरोकारको विषय होइन। परमेश्‍वरले जे भन्नुभए पनि, परमेश्‍वरले मानिसलाई जे माग्नुभए पनि, परमेश्‍वरको पहिचान, सार र हैसियत बदलिँदैन—उहाँ सँधै नै परमेश्‍वर हुनुहुन्छ। जब तँमा उहाँ नै परमेश्‍वर हुनुहुन्छ भन्ने कुरामा कुनै शङ्का हुँदैन, तब तेरो एक मात्र उत्तरदायित्व, तैँले गर्नुपर्ने एक मात्र काम भनेको उहाँले जे भन्नुहुन्छ त्यसलाई सुन्नु हो; यही नै अभ्यासको बाटो हो। परमेश्‍वरको प्राणीले परमेश्‍वरका वचनहरूलाई अध्ययन, विश्‍लेषण, अन्वेषण, अस्वीकार, खण्डन, अवज्ञा वा इन्कार गर्नु हुँदैन; यस कार्यलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, र यो उहाँले मानिसमा देख्न चाहनुहुने कुरा होइन। त्यसो भए, अभ्यासको बाटो के हो त? यो वास्तवमा एकदमै सरल छ: सुन्‍न सिक्नु, आफ्नो हृदयबाटै सुन्नु, आफ्नो हृदयबाटै स्वीकार गर्नु, आफ्नो हृदयबाटै बुझ्नु र अबलम्‍बन गर्नु, त्यसपछि गएर त्यस कार्यलाई गर्नु, कार्यान्वयन गर्नु र आफ्नो हृदयबाटै कार्यमा उतार्नु हो। तैँले आफ्नो हृदयमा जे सुन्छस् र जे बोध गर्छस् त्यो कुरा तैँले जे अभ्यास गर्छस् त्यो कुरासँग नजिकबाट जोडिएको हुन्छ। यी दुई कुरालाई नछुट्या; हरेक कुरा—तैँले जे अभ्यास गर्छस्, जे आज्ञापालन गर्छस्, आफ्नै हातले जे गर्छस्, जे कुराको लागि तँ दौडधूप गर्छस्—ती सबै तैँले आफ्नो हृदयमा जे सुन्छस् र जे बोध गर्छस् त्यो कुरासँग जोडिएका हुन्छन्, र यसमा तैँले सृष्टिकर्ताका वचनहरूप्रति आज्ञाकारिता हासिल गर्छस्। अभ्यासको बाटो यही हो।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू सुने र परमेश्‍वरको आज्ञापालन गरे (२)”

मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र दुःखकष्ट अनि शोधनबाट भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा निराकरण गरिनु, अनुशासित गरिनु र छिँवलिनु पर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति आज्ञाकारीता र बफादारीता हासिल गर्न सक्दछन्, र उप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुँदछ। उहाँका वचनहरूको प्रकटीकरण, न्याय, अनुशासन, र निराकरणद्वारा मात्र तिनीहरू उप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् तर त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो, कि परमेश्‍वरका वर्तमान वचनहरू, र उहाँको काम मानिसहरूका विचारसँग मेल खाँदैनन् भने पनि तिनीहरू ती कुराको अधीनमा बस्न सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्साएर स्वेच्छाले अधीनमा बस्न सक्छन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

मानिसको भ्रष्ट स्वभाव उनीहरूको हरेक विचार र धारणामा, उनीहरूको प्रत्येक कार्यपछाडिको आशयमा लुकेको हुन्छ; यो कुनै पनि विषयप्रतिको मानिसको प्रत्येक दृष्टिकोणमा अनि परमेश्‍वरले गर्नुहुने सबै कामलाई कसरी लिने भन्ने तिनीहरूको प्रत्येक विचार, बुझाइ, दृष्टिकोण र चाहनामा लुकेको हुन्छ। यो यिनै कुराहरूभित्र लुकेको हुन्छ। अनि परमेश्‍वरले के गर्नुहुन्छ त? परमेश्‍वरले मानिसका यी कुराहरूलाई कसरी हेर्नुहुन्छ? उहाँले तँलाई उदाङ्गो बनाउने वातावरणहरू मिलाउनुहुन्छ। उहाँले तँलाई उदाङ्गो मात्र पार्नुहुन्न, उहाँले त तेरो न्याय पनि गर्नुहुन्छ। जब तँ आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्छस्, जब तँसँग परमेश्‍वरको अवज्ञा गर्ने विचार र धारणाहरू हुन्छन्, जब तँसँग परमेश्‍वरसित प्रतिस्पर्धा गर्ने अवस्था र दृष्टिकोणहरू हुन्छन्, जब तँसित यस्ता अवस्थाहरू हुन्छन् जसले गर्दा तँ परमेश्‍वरलाई गलत रूपमा बुझ्छस्, वा उहाँको प्रतिरोध र विरोध गर्छस्, तब परमेश्‍वरले तँलाई हप्काउनुहुनेछ, तेरो न्याय गर्नुहुन्छ र तँलाई ताडना दिनुहुनेछ, र कहिलेकहीं उहाँले तँलाई दण्ड समेत दिनुहुनेछ र तँलाई अनुशासनमा समेत राख्नुहुनेछ। तँलाई अनुशासनमा राख्नु र हप्काउनुको उद्देश्य के हो त? यो तँलाई तँ जे सोच्छस् ती मानिसका धारणाहरू हुन्, र ती गलत छन् भन्ने कुरा बुझाउनलाई हो; तेरा प्रेरणाहरू शैतानबाट जन्मेका हुन्, ती मानवीय इच्छाबाट उत्पन्न हुन्छन्, तिनले परमेश्‍वरको प्रतिनिधित्व गर्दैनन्, ती परमेश्‍वरसित मेल नखाने हुन्छन्, तिनले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्दैनन्, ती परमेश्‍वरका निम्ति अप्रिय र घृणित हुन्छन्, तिनले उहाँको क्रोध जगाउँछन्, र उहाँको श्राप समेत निम्त्याउँछन् भन्ने कुरा बुझाउनलाई हो। यो कुरा महसुस गरेपछि, तँ आफ्नो अभिप्राय परिवर्तन गर्न सक्छस्। अनि ती कसरी परिवर्तन हुन्छन् त? सर्वप्रथम, परमेश्‍वरले तँसँग जस्तो व्यवहार गर्नुहुन्छ तँ त्यसमै समर्पित भएर बस्नुपर्छ, र उहाँले तेरो निम्ति तयार पार्नुभएका वातावरण र मानिस, वस्तु र परिस्थितिहरूमा समर्पित भएर बस्नुपर्छ; दोषहरू मात्रै खोजेर नबस्, वस्तुपरक बहानाहरू मात्रै नबना, आफ्ना जिम्मेवारीहरूबाट नपन्छी। दोस्रो, त्यो सत्यको खोजी गर् जुन मानिसहरूले अभ्यास गर्नुपर्छ र जब परमेश्‍वरले गर्नुहुने कार्य गर्नुहुन्छ त्यसमा प्रवेश गर्नुपर्छ। तैँले यी कुराहरू बुझ् भनी परमेश्‍वर भन्नुहुन्छ। परमेश्‍वरले तेरो निम्ति मिलाउनुहुने वातावरणहरूमा तँ समर्पित हुन सक् र अन्त्यमा, उहाँको इच्छाअनुसार उहाँले आवश्यक गर्नुभएअनुसार अभ्यास गर्न सक् भनेर तैँले तेरो भ्रष्ट स्वभावहरू र शैतानी सारलाई बुझ्न र उहाँको इच्छा पूरा गर्न सक्न् भन्ने उहाँ चाहनुहुन्छ। तब तैँले जाँच पास गरेको हुनेछस्। एकचोटि तैँले प्रतिरोध र विरोध गर्न छोडेपछि, ती कुराको ठाउँमा तुरुन्तै के आउँछन् त? तँ आज्ञापालन गर्न सक्छस्, र फेरि कहिल्यै तर्क गर्नेछैनस्। जब परमेश्‍वरले “शैतान, मबाट पछि हट्,” भन्नुहुन्छ, तँ यस्तो जबाफ दिन्छस्, “यदि परमेश्‍वरले म शैतान हुँ भन्नुहुन्छ भने म शैतान नै हुँ। मैले के गल्ती गरेको छु, वा परमेश्‍वरले मलाई किन शैतान भन्नुहुन्छ सो म बुझ्न सक्दिनँ, तैपनि यदि उहाँ म उहाँको सामुन्नेबाट हटेको चाहनुहुन्छ भने म हिचकिचाउने छैनँ। मैले परमेश्‍वरको इच्छाको खोजी गर्नुपर्छ।” जब परमेश्‍वरले तेरो कार्यहरूको स्वभाव शैतानी छ भन्नुहुन्छ, तब तँ भन्छस्, “परमेश्‍वरले जे भन्नुहुन्छ त्यसलाई म मान्छु र त्यो सबैलाई स्वीकार गर्छु।” यो कस्तो मनोवृत्ति हो त? यो आज्ञापालन हो। परमेश्‍वरले तँ दियाबलस शैतान होस् भन्नुहुँदा तैँले त्यो अनिच्छापूर्वक स्वीकार गर्छस्, तर उहाँले तँ एक जनावर होस् भन्नुहुँदा तँ त्यसलाई स्वीकार गर्न सक्दैनस्, र आज्ञापालन गर्न सक्दैनस् भने के त्यो आज्ञापालन हो त? आज्ञापालन भनेको आदेश पूर्ण रूपमा पालन गर्नु, स्वीकार गर्नु, तर्क नगर्नु र सर्तहरू नराख्नु हो। यसको अर्थ कारण र प्रभावहरूको विश्‍लेषण नगर्नु हो, वस्तुगत कारण जेसुकै भए पनि, केवल तैँले आफूलाई स्वीकार गर्नुसँग सरोकार राख्नु हो। जब मानिसहरूले यस्तो प्रकारको आज्ञाकारिता हासिल गरेका हुन्छन्, तब तिनीहरू परमेश्‍वरमा साँचो विश्‍वासको नजिक हुन्छन्। परमेश्‍वरले जति धेरै कार्य गर्नुहुन्छ, त्यत्ति नै सबै कुरामाथि परमेश्‍वरले राज्य गर्नुहुन्छ भन्ने तेरो ज्ञान बढछ, अनि तैँले त्यति नै धेरै यस्तो महसुस गर्छस्, “परमेश्‍वरले जे गर्नुहुन्छ सबै असल हुन्छ, त्यसका केही पनि खराब हुँदैन। मैले टिप्‍ने र चुन्ने गर्नुहुँदैन, तर आज्ञापालन गर्नुपर्छ। मेरो जिम्मेवारी, मेरो दायित्व, मेरो कर्तव्य—यो सबै आज्ञापालन गर्नु हो; परमेश्‍वरको एक प्राणीको रूपमा मैले गर्नुपर्ने यही हो। यदि म परमेश्‍वरको आज्ञापालन पनि गर्न सक्दिनँ भने म के हुँ त? म एउटा जनावर हुँ, म त्यो दियाबलस हुँ।” के यसले तँसित अहिले साँचो विश्‍वास भएको देखाउँदैन र? एकपटक तँ यस स्थितिमा पुगेपछि, तँ दागरहित हुनेछस्, र परमेश्‍वरका निम्ति तँलाई प्रयोग गर्न सजिलो हुनेछ, र तँलाई पनि परमेश्‍वरका बन्दोबस्तहरूप्रति समर्पित हुन सजिलो हुनेछ—तब के तँलाई आशिष् दिन परमेश्‍वरलाई सजिलो हुँदैन र? यसैले आज्ञाकारिताबाट सिक्नुपर्ने पाठहरू धेरै हुन्छन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “साँचो रूपमा आज्ञाकारी हुनु मात्रै वास्तविक विश्‍वास हो”

सृष्टि गरिएको प्राणीमा आफ्नो सृष्टिकर्ताप्रति हुनुपर्ने एक मात्र मनोवृत्ति भनेको आज्ञापालन हो, सर्तबिनाको आज्ञापालन। यो यस्तो कुरा हो, जसलाई आज केही मानिसहरूले स्वीकार्न सक्दैनन्। किनकि मानिसको कद धेरै सानो छ र तिनीहरू सत्य वास्तविकतारहित छन्। यदि यसले तेरो अवस्थाको वर्णन गर्छ भने, तँ परमेश्‍वरको आज्ञापालन गर्न सक्षम हुनबाट धेरै टाढा छस्। मानिसलाई परमेश्‍वरको वचनद्वारा भरणपोषण र सिञ्चन गरिँदा, वास्तवमा मानिस एउटै कुराको लागि तयारी गर्दै हुन्छ। त्यो अन्त्यमा बिनासर्त परमेश्‍वरप्रति पूर्ण समर्पणता हासिल गर्न सक्नु हो, जुन बेला तँ, यो सृष्टि आवश्यक स्तरमा पुगेको हुनेछस्। कहिलेकहीं, परमेश्‍वरले जानाजानी त्यस्ता कार्यहरू गर्नुहुन्छ, जुन तेरा धारणाहरूसँग अमिल्दा हुन्छन्, जुन तेरा चाहनाहरूको विरुद्ध जान्छन्, वा जुन सिद्धान्तहरूको वा मानवीय विचारहरू, मानवता वा भावनाहरूको विरुद्धमा गएको जस्तो देखिन्छ, जसले तँलाई ती कुराहरू स्वीकार गर्न र बुझ्न असमर्थ बनाउँछ। तैंले त्यसलाई जुनसकै तरिकाले हेरे पनि सही देखिँदैन, तँ त्यसलाई स्वीकार गर्न सक्दै सक्दैनस्, र उहाँले जे गर्नुभएको छ त्यो तँलाई केवल अनुचित जस्तो लाग्छ। त्यसो भए, यी कुराहरू गर्नमा परमेश्‍वरको उद्देश्य के हुन्छ त? यो तँलाई जाँच्नका निम्ति हो। परमेश्‍वरले के गर्नुभएको छ त्यसको बारेमा तैंले कसरी र किन भनी छलफल गर्न आवश्यक छैन; तैंले गर्नुपर्ने कार्य भनेको उहाँ सत्य हुनुहुन्छ भनी तेरो विश्‍वासलाई कायम राख्नु र उहाँ तेरा सृष्टिकर्ता हुनुहुन्छ, र उहाँ तेरा परमेश्‍वर हुनुहुन्छ भनी पहिचान गर्नु मात्र हो। यो सबै सत्यताभन्दा उच्‍च छ, यो सारा सांसारिक बुद्धिभन्दा, मानिसको तथाकथित सदाचार, नैतिकता, ज्ञान, शिक्षा, दर्शन वा परम्परागत संस्कृतिभन्दा उच्‍च छ, र यो मानिसहरूबीचको स्नेह वा मित्रता वा तथाकथित प्रेम भन्दा पनि उच्‍च छ—यो कुनै पनि कुराभन्दा पूर्ण रूपमा उच्‍च हुन्छ। यदि तैँले यो कुरा बुझ्न सक्दैनस् भने, ढिलो वा चाँडो, जब तँलाई केही हुन्छ, तब तँ अन्त्यमा पश्‍चात्ताप गर्न र परमेश्‍वर कति प्रेमिलो हुनुहुन्छ र उहाँले गर्नुहुने कामको महत्त्व कति छ भनी पहिचान गर्नअघि परमेश्‍वरको विरुद्धमा विद्रोह गर्न र भड्केर जान सक्छस्; वा, अझै नराम्रो के हुन सक्छ भने, त्यसको कारण तँ ठक्‍कर खान र पतन हुन सक्छस्। परमेश्‍वरले तँलाई न्याय गर्नुभयो भने यो डरलाग्दो कुरा हुनेछैन, न त उहाँले तँलाई सराप्‍नुभयो वा सजाय दिनुभयो भने त्यो नै डरलाग्दो हुनेछ—त्यसो भए केचाहिँ डरलाग्दो हुनेछ? यदि उहाँले यसो भन्‍नुभयो भने यो डरलाग्दो हुनेछ, “म तँजस्तो व्यक्तिलाई मुक्ति दिनेछैन; म परित्याग गर्छु!” त्यस हकमा, तेरो सबै कुरा सकिएको हुनेछ। त्यसकारण, मानिसहरूले सानातिना कुराहरूमा ध्यान दिँदै यसो भन्‍नु हुँदैन, “यी वचनहरू—न्याय र सजाय—ठीकै छन्, तर यी कुराहरू—सराप, विनाश, दण्डाज्ञा—के यिनको अर्थ मेरो अन्त्य हुनेछैन र? त्यसपछि म कस्तो प्रकारको सृष्टि गरिएको प्राणी बन्‍न सक्छु? ठीकै छ; म छोडिदिन्छु। अनि तपाईं पनि जानुहोस् र मेरो परमेश्‍वर बन्‍न छोड्नुहोस्।” यदि तैँले गवाहीको रूपमा खडा नभई परमेश्‍वरलाई त्याग्‍ने निर्णय गर्छस् भने, उहाँले साँचो रूपमा नै अबउप्रान्त तँलाई चाहनुहुन्‍न भनेर निर्णय गर्न सक्‍नुहुन्छ। के तिमीहरूले यसबारेमा यसभन्दा पहिले विचार गरेका छौ? कुनै एक व्यक्तिले परमेश्‍वरमा जति नै लामो समयदेखि विश्‍वास गरेको भए पनि, उनीहरूले जति नै लामो बाटोको यात्रा गरेका भए पनि, उनीहरूले जति नै धेरै काम गरेका भए पनि र उनीहरूले जति नै धेरै कर्तव्यहरू निर्वाह गरेका भए पनि, यी सबै समयले उनीहरूलाई एउटै कुराका लागि तयार पार्दै आएको हुन्छ: अन्त्यमा तैंले बिनासर्त, पूर्ण रूपमा परमेश्‍वरप्रतिको समर्पणता हासिल गर्न सक्षम हुन। त्यसो भए, “बिनासर्त” भनेको अर्थ के हो त? यसको अर्थ तेरो व्यक्तिगत औचित्यहरूलाई बेवास्ता गर्नु, तेरो वस्तुगत तर्कलाई बेवास्ता गर्नु, र कुनै पनि कुरामा झगडा नगर्नु हो: तँ सृष्टि गरिएको एक प्राणी होस्, र तँ योग्य छैनस्। जब तँ परमेश्‍वरसँग झगडा गर्छस् तब तँ गलत स्थानमा हुन्छस्; जब तँ परमेश्‍वरको अगाडि आफैलाई न्ययोचित ठहराउने कोसिस गर्छस्, एकचोटि फेरि तँ गलत स्थानमा हुन्छस्; जब तँ परमेश्‍वरसँग तर्क गर्छस्, जब तँ किन भन्दै कारण सोध्न चाहन्छस्, वास्तवमा के हुँदैछ भनी बुझ्ने कोसिस गर्छस्, यदि तँ पहिले नबुझी आज्ञापालन गर्न सक्दैनस, र सबै कुरा तँलाई स्पष्ट भएपछि मात्र तँ समर्पित हुन्छस् भने, तँ एकपटक फेरि गलत स्थानमा हुन्छस्। जब तँ रहेको स्थान नै गलत हुन्छ, के परमेश्‍वरप्रतिको तेरो आज्ञापालन निरपेक्ष हुन्छ त? के तैँले परमेश्‍वरसित जस्तो व्यवहार गर्नुपर्ने हो त्यस्तो व्यवहार गरिरहेको हुन्छस् त? के तैँले उहाँलाई सारा सृष्टिका प्रभुको रूपमा आराधना गर्छस् त? होइन, तैँले गर्दैनस्, त्यस्तो अवस्थामा परमेश्‍वरले तँलाई पहिचान गर्नुहुन्न। कुन-कुन कुराहरूले तँलाई परमेश्‍वरप्रति निरपेक्षित, बिनासर्तको आज्ञापालन हासिल गर्न सक्ने बनाउँछ? यो कसरी अनुभव गर्न सकिन्छ? एकातिर, सामान्य विवेक र सामान्य मानिसको बुद्धि चाहिन्छ; अर्कोतिर, तैंले आफ्ना कर्तव्यहरू पूरा गर्दा, सत्यको प्रत्येक पक्षलाई बुझ्न आवश्यक छ, ताकि तैँले परमेश्‍वरको इच्छा बुझ्न सक्। कहिलेकहीं मानिसको योग्यता कम हुनआउँछ र मानिससँग सबै सत्यता बुझ्ने शक्ति वा उर्जा हुँदैन। तापनि, त्यहाँ एक कुरा छः तँमाथि जस्तोसुकै वातावरण, मानिस, घटना, र परिस्थितिहरू आइलागे पनि र परमेश्‍वरले नै ती प्रबन्ध गर्नुभएको भए पनि, तँसँग सधैं एक आज्ञाकारी मनोवृत्ति हुनुपर्छ र तैँले किन भनी कारण सोध्नुहुँदैन। यदि यो मनोवृत्ति तेरो लागि धेरै परको कुरा हो र तँ परमेश्‍वरबाट जोगिने, परमेश्‍वरको बारेमा अनुमान लगाउनेसम्मको हदमा जान सक्छस्, वा मनमनै “परमेश्‍वरले जे गरिरहनुभएको छ त्यो वास्तवमै धार्मिक छ कि छैन भनी मैले विचार गर्नुपर्छ। उनीहरू परमेश्‍वर प्रेम हुनुहुन्छ भनी भन्छन्, उहाँले मसँग जे गर्दै हुनुहुन्छ त्यसमा प्रेम छ कि छैन र कहीं यही नै वास्तविक प्रेम हो कि होइन हेरौं,” भनी सोच्छस् भने, यदि तँ परमेश्‍वरले गरिरहनुभएका कार्यहरू तेरा धारणाहरूसँग मिल्छन् कि मिल्दैनन् भनी सधैं जाँचिरहन्छस्, परमेश्‍वरले तँलाई मनपर्ने कुराहरू गरिरहनुभएको छ कि छैन भनी हेर्छस् वा त्यो तैंले सत्यको रूपमा विश्‍वास गरेको कुरासित मेल खान्छ कि खाँदैन भनी हेर्छस् भने, तेरो स्थान गलत छ, र यसले तँलाई समस्यामा पार्नेछ र तैँले परमेश्‍वरको स्वभावलाई उल्लङ्घन गरेकोमा उत्तरदायी हुनुपर्नेछ।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (२)”

समर्पणताको आचरणको व्यावहारिक पक्ष के हो? यही हो: तैँले आफूलाई परमेश्‍वरका वचनहरू स्वीकार गर्ने स्थितिमा ल्याउनुपर्छ। जब तेरो जीवन प्रवेश सतही हुन्छ र तैँले अझै पनि कद हुने अवस्था हासिल गरेको छैनस् अनि सत्यता वास्तविकतासम्बन्धी तेरो ज्ञान अझै पनि पर्याप्त रूपमा गहन भइसकेको छैन, तर त्यस्ता परिस्थितिहरूमा पनि, तँ अझै पनि परमेश्‍वरलाई पछ्याउन र उहाँमा समर्पित हुन सक्छस्—आचरण भनेकै यही हो। तैँले सम्पूर्ण समर्पणता हासिल गर्न सक्नुअघि, तैँले पहिले समर्पणताको आचरण धारण गर्नुपर्छ, र त्यो आचरण भनेको परमेश्‍वरका वचनहरू सही छन् भनी स्वीकार गर्ने, परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा र अभ्यासका सिद्धान्तहरूको रूपमा लिने र तैँले सिद्धान्तहरूको बोध राम्रोसँग नगरेको अवस्थामा पनि ती वचनहरूलाई नियमहरूको रूपमा पालना गर्ने आचरण हो। यो एक प्रकारको आचरण हो। हालसम्म तेरो स्वभाव परिवर्तन भएको छैन, त्यसैले तैँले यो कुरा हासिल गर्न सक्नु र परमेश्‍वरको अघि तँसँग यस्तो आचरण र यस्तो मानसिकता भएको देखिनु, र तैँले यस्तो भन्न सक्नु, “म परमेश्‍वरले के गर्नुहुन्छ मतलब गर्दिन, र म त्यति धेरै सत्यताहरू बुझ्दिन। मलाई परमेश्‍वरले के गर्नू भनी भन्नुभएको छ त्यो मात्र थाहा छ, र म त्यो मात्र गर्छु। मसँग परमेश्‍वरले जे भन्नुहुन्छ त्यसलाई जाँचिहेर्न मद्दत गर्ने जादुको झोला छैन, र त्यो मैले गर्नुपर्ने कुरा होइन”—यो एक प्रकारको समर्पित मानसिकता हो। केही यस्ता मानिसहरू छन् जो भन्छन्, “त्यसले काम गर्दैन। यदि उहाँ गलत हुनुहुन्छ भने के होला?” के परमेश्‍वर गलत हुन सक्नुहुन्छ? तँ भन्छस्, “परमेश्‍वरले जे गर्नुहुन्छ त्यो सही होस् वा गलत, म त्यसको लागि उत्तरदायी छैन। म त केवल परमेश्‍वरको कुरा सुन्छु, उहाँमा समर्पित हुन्छु, उहाँलाई स्वीकार गर्छु र उहाँलाई पछ्याउँछु। सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कुरा त्यही हो।” व्यक्ति यस्तै प्रकारको मानसिकताद्वारा समर्पित हुनुपर्छ, यस प्रकारको मानसिकता भएका मानिसहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन्। यदि तँसँग यस्तो मानसिकता छैन र तैँले, “म कसैलाई पनि मेरो आँखामा पट्टी बाँध्न दिन्न। कसैले पनि मलाई मूर्ख बनाउन सक्नेछैन। ती वचनहरूले मलाई छलमा पार्न र मलाई कुनै कुरामा समर्पित गराउन सक्‍नेभन्दा म धेरै नै धूर्त छु; यसले काम गर्नेछैन। मेरो बाटोमा जेसुकै आए पनि, मैले त्यसलाई जाँच र विश्‍लेषण गर्नुपर्छ। जब म आफै केही कुरालाई स्वीकार गर्न र बुझ्न सक्छु, तब मात्र म समर्पित हुन्छु”—के यो समर्पणताको आचरण हो त? यो समर्पणताको आचरण होइन; यो त समर्पित मानसिकताको कमी भएको अवस्था हो, व्यक्तिको हृदयमा समर्पित हुने अभिप्राय नभएको अवस्था हो। “तैपनि मैले परमेश्‍वरलाई जाँच गर्नुपर्छ। राजा-रानीले समेत मबाट त्यही व्यवहार पाउँछन्। तपाईंले जे भन्दै हुनुहुन्छ त्यो बेकामको छ। यो सत्य हो कि म सृष्टि गरिएको प्राणी हुँ, तर म मूर्ख होइन—मलाई मूर्खलाई जस्तो व्यवहार नगर्नुहोस्।” तिनीहरूको लागि कुनै आशा हुँदैन; तिनीहरूमा सत्यता स्वीकार गर्ने अवस्थाहरू नै हुँदैन। त्यस्ता मानिसहरूमा कुनै पनि चेतना नै हुँदैन। तिनीहरू पशु हुन्! त्यस्तो चेतनाविना, व्यक्तिले समर्पणता हासिल गर्न सक्दैन। समर्पणता हासिल गर्नको लागि, व्यक्तिमा पहिले समर्पित मानसिकता हुनुपर्छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (३)”

तैँले जेसुकै गर्दा पनि, तैँले त्यसमा सत्यताको खोजी र पालना गर्न सिक्‍नुपर्छ। जबसम्‍म तैँले सत्यताअनुरूप काम गर्छस्, तबसम्म तैँले सही काम गरिरहेको हुन्छस्। यदि यो कुरा प्रस्ताव गर्ने बालक नै भए पनि, वा मानिसहरूले त्यति नचिन्‍ने जवान भाइ वा जवान बहिनी नै भए पनि, जबसम्‍म तिनीहरूले भन्‍ने कुरा सत्यताअनुरूप हुन्छ, तबसम्‍म तैँले जे गरिरहेको हुन्छस् त्यसको परिणाम राम्रो हुनेछ, र त्यो परमेश्‍वरको इच्‍छाअनुरूप नै हुनेछ। कुनै मामलालाई सम्‍हाल्‍ने कार्य, तेरो आवेग र त्यसलाई सम्‍हाल्‍ने तेरा सिद्धान्तहरूमा निर्भर हुन्छ। यदि तेरा सिद्धान्तहरू मानिसको इच्‍छाबाट आउँछन् भने; यदि ती सिद्धान्तहरू मानव विचार, धारणा, र कल्‍पनाहरूबाट आउँछन् भने; वा यदि ती सिद्धान्तहरू मानव भावना र दृष्टिकोणहरूबाट आउँछन् भने, मामला सम्‍हाल्‍ने तेरो तरिका गलत हुनेछ, किनभने यसको स्रोत नै गलत हुनेछ। जब तेरा दृष्टिकोणहरू सत्यताका सिद्धान्तहरूमा आधारित हुन्छन्, र तैँले सत्यता सिद्धान्तहरूअनुसार मामलाहरूलाई सम्‍हाल्छस्, तब तैँले आइपरेको मामलालाई निश्‍चित रूपमा नै सही तरिकाले सम्‍हाल्छस्। कहिलेकहीँ, मामला सम्‍हाल्‍ने तेरो तरिकालाई अरू मानिसहरूले त्यही बेला स्वीकार नगर्न सक्छन्, र त्यस्तो बेलामा, तिनीहरूसँग तिनीहरूका आफ्‍नै धारणाहरू रहेको हुन सक्छ, वा तिनीहरूको हृदय व्याकुल भएको हुनेछ। तैपनि, केही समयपछि तँ सही ठहरिनेछस्। परमेश्‍वरको इच्‍छाअनुरूपका विषयहरू समय बित्दै जाँदा असल देखिनेछन्; तैपनि, परमेश्‍वरको इच्‍छाअनुरूप नरहेका मामलाहरू, अर्थात्, मानव इच्‍छाअनुसारका र मानव-निर्मित मामलाहरूको परिणाम समय बित्दै जाँदा झन्-झन् खराब हुनेछ, र खराब प्रमाणित हुनेछ। जब तैँले कुनै काम गर्छस्, कसको तौर-तरिकाले तँलाई अगुवाइ गर्नुपर्छ वा गर्नुपर्दैन भनी चिन्ता नगर्, र अनुमानहरू नगर्। सर्वप्रथम, तैँले खोजी र प्रार्थना गर्नुपर्छ, त्यसपछि तँ अघि बढ्नुपर्छ, अनि सबैसँग मिलेर यस बारेमा सङ्गति गर्नुपर्छ। सङ्गतिको उद्देश्‍य के हो त? यसले व्यक्तिलाई परमेश्‍वरको इच्‍छाअनुरूप सटीक रूपमा, र परमेश्‍वरको इच्‍छासँग मिल्‍ने तरिकाले काम गर्ने तुल्याउँछ। केही हदसम्‍म, यो यसलाई उल्‍लेख गर्ने बृहत् तरिका हो; हामी यसले व्यक्तिलाई सत्यता सिद्धान्तहरूअनुरूप सटीक रूपमा मामलाहरू सम्‍हाल्‍न समर्थ तुल्याउँछ भनेर भनौं—केही हदसम्‍म यो अलिक बढी व्यवहारिक छ। यदि तैँले यसलाई हासिल गर्न सक्छस् भने, त्यो नै पर्याप्त हुनेछ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “भ्रष्ट स्वभाव समाधान गर्ने मार्ग”

वास्तविक जीवनका समस्याहरूको सामना गर्ने क्रममा, तैँले परमेश्‍वरको अख्तियार र उहाँको सार्वभौमिकतालाई कसरी जान्‍नु र बुझ्‍नुपर्छ? जब तैँले यी समस्याहरूको सामना गर्छस् अनि तिनलाई कसरी बुझ्‍ने, सम्हाल्ने, र अनुभव गर्ने भन्‍ने तँलाई थाहा हुँदैन, तब समर्पित हुने तेरो अभिप्रायलाई, समर्पित हुने तेरो इच्‍छालाई, र परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूप्रतिको तेरो समर्पणताको वास्तविकतालाई देखाउन तैँले कस्तो मनोवृत्ति अपनाउनुपर्छ? पहिलो, तैँले प्रतीक्षा गर्न सिक्‍नुपर्छ; त्यसपछि तैँले खोजी गर्न सिक्‍नुपर्छ; अनि त्यसपछि तैँले समर्पित हुन सिक्‍नुपर्छ। “प्रतीक्षा गर्नु” भनेको परमेश्‍वरको समयलाई प्रतीक्षा गर्नु हो, उहाँले तेरो निम्ति बन्दोबस्त गर्नुभएका मानिसहरू, घटनाहरू र काम-कुराहरूलाई प्रतीक्षा गर्नु हो, उहाँको इच्‍छा आफै तँकहाँ क्रमिक रूपमा प्रकट हुनको लागि प्रतीक्षा गर्नु हो। “खोजी गर्नु” भनेको उहाँले योजना गर्नुभएका मानिसहरू, घटनाहरू, र काम-कुराहरूमार्फत तेरो निम्ति परमेश्‍वरका विचारपूर्ण अभिप्रायहरूलाई अवलोकन गर्नु र बुझ्‍नु हो, तिनीहरूमार्फत सत्यतालाई बुझ्‍नु हो, मानिसहरूले हासिल गर्नैपर्ने कुराहरू र तिनीहरूले पालना गर्नैपर्ने मार्गहरूलाई बुझ्‍नु हो, परमेश्‍वरले मानिसहरूमा के-कस्ता परिणामहरू हासिल गर्न चाहनुहुन्छ अनि उहाँले तिनमा के-कस्ता उपलब्धिहरू प्राप्त गर्न चाहनुहुन्छ त्यसलाई बुझ्‍नु हो। “समर्पित हुनु” ले चाहिँ अवश्य नै परमेश्‍वरले योजनाबद्ध गर्नुभएका मानिसहरू, घटनाहरू, र काम-कुराहरूलाई स्वीकार गर्नुलाई जनाउँछ, उहाँको सार्वभौमिकता स्वीकार गर्नुलाई जनाउँछ अनि यसमार्फत सृष्टिकर्ताले कसरी मानिसको नियतीलाई नियन्त्रण गर्नुहुन्छ, उहाँले कसरी मानिसलाई उहाँको जीवन आपूर्ति गर्नुहुन्छ, मानिसभित्र उहाँले कसरी सत्यताको काम गर्नुहुन्छ सो जान्‍नुलाई जनाउँछ। परमेश्‍वरका बन्दोबस्तहरू र सार्वभौमिकताको अधीनमा रहेका यावत् थोकले प्राकृतिक नियमहरू पालना गर्छन्, अनि यदि तैँले परमेश्‍वरलाई तेरो लागि सबै कुराहरू बन्दोबस्त गर्न र नियन्त्रण गर्न दिने संकल्प गरिस् भने, तैँले प्रतीक्षा गर्न सिक्‍नैपर्छ, तैँले खोजी गर्न सिक्‍नैपर्छ, अनि तैँले समर्पित हुन सिक्‍नैपर्छ। परमेश्‍वरको अख्तियारमा समर्पित हुन चाहने हरेक व्यक्तिले अपनाउनुपर्ने मनोवृत्ति यही हो, परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूलाई स्वीकार गर्न चाहने हरेक व्यक्तिमा हुनुपर्ने आधारभूत गुण यही हो। त्यस्तो मनोवृत्ति धारण गर्नको लागि, त्यस्तो गुण प्राप्त गर्नको लागि, तैँले अझै बढी परिश्रम गर्नैपर्छ। साँचो वास्तविकतामा तैँले प्रवेश गर्न सक्‍ने एउटै मार्ग यही हो।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

सृष्टिका प्रभुले सृष्टि गरिएका प्राणीहरूसँग गर्नुहुने व्यवहारको एउटा मौलिक सिद्धान्त छ, जुन सर्वोच्च सिद्धान्त पनि हो। उहाँले सृष्टि गरिएका प्राणीहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने कुरा उहाँको व्यवस्थापन योजना र उहाँका मापदण्डहरूमा आधारित हुन्छ; उहाँले कुनै पनि व्यक्तिसँग सल्लाह लिनु आवश्यक पर्दैन, न त उहाँले कसैलाई उहाँसँग सहमत गराउनु आवश्यक हुन्छ। उहाँले जे गर्नुपर्दछ र उहाँले मानिसहरूसित जसरी व्यवहार गर्नुपर्छ उहाँले त्यसरी नै गर्नुहुन्छ, र उहाँले जे गर्नुभए पनि वा उहाँले मानिसहरूसित जसरी व्यवहार गर्नुभए पनि, ती सबै सृष्टिका प्रभुले काम गर्नुहुने सिद्धान्तहरू अनुरूप हुन्छन्। सृष्टि गरिएको प्राणीको रूपमा गर्नु पर्ने एक मात्र कार्य भनेको अधीनमा बस्नु हो; अरू कुनै विकल्प हुनु हुँदैन। यसले के देखाउँछ? यसले के देखाउँदछ भने सृष्टिका प्रभु सधैँ सृष्टिका प्रभु नै हुनुहुनेछ; उहाँसँग आफूलाई मन लागेअनुसार सृष्टि गरिएका प्राणीहरूलाई योजनाबद्ध गर्ने र शासन गर्ने शक्ति र योग्यता छ, र त्यसो गर्नका निम्ति उहाँलाई कुनै कारणको आवश्यक पर्दैन। यो उहाँको अधिकार हो। सृष्टि भएको प्राणीको हैसियतले, सृष्टि गरिएको प्राणीमध्ये यस्तो एक जना पनि छैन जोसँग सृष्टिकर्ताले कसरी काम गर्नुपर्छ वा उहाँले सही गर्नुभयो कि गलत गर्नुभयो भनी बताउने अधिकार छ वा योग्य छ, न त सृष्टि गरिएको कुनै प्राणी उनीहरूमाथि सृष्टिका प्रभुले शासन, प्रबन्ध वा व्यवस्थापन गर्नुपर्छ कि गर्नुपर्दैन भनी छनौट गर्ने योग्यको छ। त्यसै गरी, सृष्टि गरिएको कुनै पनि प्राणीसँग उनीहरूमाथि सृष्टिका प्रभुले कसरी शासन र व्यवस्था गर्नुपर्छ भनी छनौट गर्ने योग्यता छैन। यो सर्वोच्च सत्यता हो। सृष्टिका प्रभुले आफ्‍ना सृष्टि गरिएका प्राणीहरूसँग जे गर्नु भए पनि, र उहाँले त्यो जसरी गर्नुभए पनि, उहाँले सृष्टि गर्नुभएका मानिसहरूले एउटा मात्रै काम गर्नुपर्दछ: खोजी गर्नु, अधीनमा बस्नु, जान्नु अनि सृष्टिका प्रभुले राख्नुभएको यो तथ्यलाई स्वीकार गर्नु। अन्तिम परिणाम यो हुनेछ, कि सृष्टिका प्रभुले उहाँको व्यवस्थापन योजनालाई कुनै बाधाविना अगाडि बढाउँदै आफ्नो व्यवस्थापन योजना हासिल गर्नुभएको र उहाँको काम पूरा गर्नुभएको हुनेछ; यसै बीच, सृष्टि गरिएका प्राणीहरूले सृष्टिकर्ताको शासन र व्यवस्थाहरू स्वीकार गरेकाले, र उहाँको शासन र बन्दोबस्तहरूमा समर्पित भएका हुनाले, उनीहरूले सत्यता प्राप्त गरेका हुनेछन्, सृष्टिकर्ताको इच्छालाई बुझेका हुनेछन्, र उहाँको स्वभाव जानेका हुनेछन्। मैले तिमीहरूलाई बताउनैपर्ने अझै अर्को सिद्धान्त छ: सृष्टिकर्ताले जे गर्नु भए पनि, उहाँ जसरी प्रकट हुनुभए पनि, र अनि उहाँले गर्नुहुने काम महान् वा सानो भए पनि, उहाँ अझै पनि सृष्टिकर्ता हुनुहुन्छ; जबकि उहाँले सृष्टि गर्नुभएका सबै मानवजातिले, जेसुकै गरे पनि, र उनीहरू जतिसुकै प्रतिभाशाली वा कृपा पाएका भए पनि, तिनीहरू सृष्टि नै रहन्छ। सृष्टि गरिएको मानवजातिको सम्बन्धमा भन्दा, उनीहरूले सृष्टिकर्ताबाट जति धेरै अनुग्रह र आशिष वा जति धेरै दया, करुणा वा भलाइ प्राप्त गरेका भए पनि, उनीहरूले आफू भीडहरूबाट अलग छौं भनी विश्‍वास गर्नुहुँदैन, वा उनीहरू परमेश्‍वरको स्तरको उभिन सक्छन् र उनीहरू सृष्टि गरिएका प्राणीहरूमध्ये उच्च स्तरको बनेका छन् भनी सोच्नु हुँदैन। परमेश्‍वरले तँलाई जति धेरै वरदानहरू दिनुभएको भए पनि, वा उहाँले तँलाई जति धेरै अनुग्रह दिनुभएको भए पनि, वा उहाँले तँसँग जति नै दयालु व्यवहार गर्नुभएको भए पनि, वा उहाँले तँलाई केही विशेष प्रतिभाहरू दिनुभएको भए पनि वा नभए पनि, ती कुनै पनि कुरा तेरो सम्पत्ति होइनन्। तँ सृष्टि गरिएको प्राणी होस्, र सधैँ सृष्टि गरिएको प्राणी नै रहन्छस्। तैंले कहिल्यै पनि यस्तो सोच्नु हुँदैन, “म परमेश्‍वरको हातको एक सानो र प्रिय व्यक्ति हुँ। उहाँले ममाथि हात उठाउनुहुन्न। मप्रतिको परमेश्‍वरको आचरण सधैँ प्रेम, हेरचाह, वास्ता, र सान्त्वना र प्रोत्साहनको मधुर शब्‍दहरू बोल्दै कोमल छुवाइ प्रदान गर्ने किसिमको हुनेछ।” यसको विपरीत, सृष्टिकर्ताको नजरमा, तँ सृष्टि गरिएका अन्य सबै प्राणीहरू जस्तै छस्; परमेश्‍वरले तँलाई उहाँको इच्छाअनुसार प्रयोग गर्न सक्नुहुन्छ, र तँलाई उहाँको इच्‍छा अनुसार योजनाबद्ध गर्न सक्‍नुहुन्छ, र उहाँले सबै किसिमका मानिसहरू, घटनाहरू र परिस्थितिहरूको बीचमा तैंले खेल्नु पर्ने भूमिका आफ्नो इच्छाअनुसार मिलाउन सक्नुहुन्छ। मानिसहरू हुनुपर्ने ज्ञान र समझशक्ति यही हो। यदि व्यक्तिले यी वचनहरूलाई बुझ्न र स्वीकार गर्न सक्छ भने, परमेश्‍वरसँगको उनीहरूको सम्बन्ध सामान्य हुँदै जान्छ, र उनीहरूले उहाँसँग उचित सम्बन्ध स्थापित गर्नेछन्; यदि व्यक्तिले यी वचनहरूलाई बुझ्न र स्वीकार गर्न सक्छ भने, उनीहरूले आफ्नो स्थितिलाई अनुकूल बनाउन, त्यहाँ आफ्‍नो स्थान लिन, र आफ्‍नो कर्तव्य सम्हाल्न सक्छन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यताको खोजी गरेर मात्र व्यक्तिले परमेश्‍वरका कार्यहरूलाई जान्न सक्छ”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्