हामी पहिलो अनुच्छेदलाई हेरौं: “र परमेश्वरले भन्नुभयो, उज्यालो होस्: अनि उज्यालो भयो। अनि परमेश्वरले त्यो असल छ भन्ने देख्नुभयो: अनि परमेश्वरले उज्यालोलाई अन्धकारबाट अलग गर्नुभयो। अनि परमेश्वरले उज्यालोलाई दिन र अन्धकारलाई रात भन्नुभयो। अनि साँझ र बिहान पहिलो दिन थियो” (उत्पत्ति १:३-५)। यो अनुच्छेदले सृष्टिको सुरुवात गर्ने परमेश्वरको पहिलो कार्य, र साँझ परेर बिहान भएपछि परमेश्वरले पूरा गर्नुभएको पहिलो दिनलाई व्याख्या गर्छ। तर यो असाधारण दिन थियो: परमेश्वरले सबै थोकको लागि उज्यालो तयार गर्नुभयो, यसको साथै, उज्यालोलाई अन्धकारबाट अलग गर्नुभयो। यही दिन, परमेश्वरले बोल्न सुरु गर्नुभयो, र उहाँको वचन र अख्तियार सँग-सँगै अस्तित्वमा रह्यो। सबै थोकमा उहाँको अख्तियार देखा पर्न थाल्यो, र उहाँको वचनको परिणामस्वरूप उहाँको शक्ति सबै थोकमा फैलियो। यो दिनदेखि पछि, परमेश्वरको वचन, परमेश्वरको अख्तियार, र परमेश्वरको शक्तिको कारण सबै थोकले आकार लिए र खडा भए, अनि परमेश्वरको वचन, परमेश्वरको अख्तियार, र परमेश्वरकै शक्तिको कारण ती सुचारु हुन थाले। जब परमेश्वरले “उज्यालो होस्,” भनी भन्नुभयो तब उज्यालो भयो। परमेश्वरले कार्यहरूको कुनै सिलसिला सुरुवात गर्नुभएन; उहाँको वचनको परिणामस्वरूप ज्योति देखा पर्यो। यो त्यो ज्योति थियो जसलाई परमेश्वरले दिन भन्नुभयो, र मानिस आज पनि आफ्नो अस्तित्वको लागि यसैमा भर पर्छ। परमेश्वरको आज्ञाको कारण, यसको सार र मूल्य कहिल्यै परिवर्तन भएको छैन, र यो कहिल्यै पनि हराएको छैन। यसको अस्तित्वले परमेश्वरको अख्तियार र शक्तिलाई प्रदर्शन गर्छ, र सृष्टिकर्ताको अस्तित्वलाई घोषणा गर्छ। यसले बारम्बार सृष्टिकर्ताको पहिचान र हैसियतलाई पुष्टि गर्छ। यो अस्पृश्य वा भ्रामक कुरा होइन, तर मानिसले देख्न सक्ने यथार्थ ज्योति हो। त्यो समयपछि यता, यो रित्तो संसार जसमा “पृथ्वी आकारविनाको र शून्य थियो; र गहिराइमाथि अन्धकार थियो,” त्यसमा पहिलो भौतिक कुरा पैदा गरियो। यो कुरा परमेश्वरको मुखबाट निस्केका वचनहरूबाट आयो, र परमेश्वरको अख्तियार र परमेश्वरको वाणीहरूका कारण यावत् थोकको सृष्टिको पहिलो कार्य देखा पर्यो। त्यसपछि चाँडै, परमेश्वरले ज्योति र अन्धकारलाई अलग हुने आदेश दिनुभयो…। परमेश्वरको वचनको कारण सबै कुरा परिवर्तन भयो र पूर्ण भयो…। परमेश्वरले यो ज्योतिलाई “दिन” भनी भन्नुभयो र अन्धकारलाई “रात” भनी भन्नुभयो। त्यो बेला, परमेश्वरले सृष्टि गर्न चाहनुभएको संसारमा पहिलो साँझ र पहिलो बिहान उत्पन्न गरियो, र यो पहिलो दिन हो भनेर परमेश्वरले भन्नुभयो। यो दिन सृष्टिकर्ताले गर्नुभएको यावत् थोकको सृष्टिको पहिलो दिन थियो, र यावत् थोकको सृष्टिको प्रारम्भ थियो, अनि उहाँले सृष्टि गर्नुभएको यो संसारमा सृष्टिकर्ताको अख्तियार र शक्तिलाई प्रदर्शन गरिएको यो पहिलोपटक थियो।

यी वचनहरूमार्फत, मानिसले परमेश्वरको अख्तियार र परमेश्वरको वचन, साथै परमेश्वरको शक्तिलाई देख्न सक्छ। परमेश्वरसँग मात्रै त्यस्तो शक्ति हुने भएकोले, परमेश्वरमा मात्रै त्यस्तो अख्तियार छ; परमेश्वरसँग त्यस्तो अख्तियार हुने भएकोले, परमेश्वरसँग मात्रै त्यस्तो शक्ति छ। के कुनै पनि मानिस वा वस्तुमा यस्तो अख्तियार र शक्ति हुन सक्छ? के तिमीहरूको हृदयमा यसको उत्तर छ? के परमेश्वरबाहेक, सृष्टि गरिएको वा नगरिएको कुनै पनि प्राणीमा त्यस्तो अख्तियार छ? के तिमीहरूले कुनै पुस्तक वा प्रकाशनमा यस्तो उदाहरण कहिल्यै देखेका छौ? के कसैले स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्यो भन्ने कुनै अभिलेख छ? अरू कुनै पनि पुस्तक वा अभिलेखहरूमा यो कुरा देखा पर्दैन; अवश्य नै, परमेश्वरले सानदार संसार सृष्टि गर्नुभएको बारेमा रहेका आधिकारिक र शक्तिशाली वचनहरू यिनै हुन्, जसलाई बाइबलमा समावेश गरिएको छ; यी वचनहरूले परमेश्वरको अद्वितीय अख्तियार र पहिचानलाई उल्लेख गर्छन्। के त्यस्तो अख्तियार र शक्तिलाई परमेश्वरको अद्वितीय पहिचानको प्रतीक हो भनी भन्न सकिन्छ? के ती परमेश्वरमा, केवल परमेश्वरमा मात्रै छन् भनेर भन्न सकिन्छ? परमेश्वरसँग मात्रै त्यस्तो अख्तियार र शक्ति छ भन्ने कुरामा कुनै शङ्का छैन! कुनै पनि सृष्टि गरिएको वा नगरिएको प्राणीमा यो अख्तियार र शक्ति हुन सक्दैन वा त्यसलाई तिनले प्रतिस्थापन गर्न सक्दैनन्! के यो अद्वितीय परमेश्वर स्वयम्को एउटा चरित्र हो? के तिमीहरूले यसलाई देखेका छौ? यी वचनहरूले परमेश्वरमा अद्वितीय अख्तियार, र अद्वितीय शक्ति छ, उहाँको पहिचान र हैसियत सर्वोच्च छ भन्ने तथ्यलाई तुरुन्तै र स्पष्ट रूपमा बुझ्न मानिसहरूलाई सक्षम तुल्याउँछन्। माथिको सङ्गतिबाट, तिमीहरूले जुन परमेश्वरलाई विश्वास गर्छौ उहाँ अद्वितीय परमेश्वर हुनुहुन्छ भनेर के तिमीहरू भन्न सक्छौ?
— वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १