ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ कि परमेश्वर स्वयम् हुनुहुन्छ
सन्दर्भका लागि बाइबल पदहरू:
“येशूले उसलाई भन्नुभयो, म बाटो, सत्य र जीवन हुँ। मद्वारा बाहेक कुनै पनि मानिस पिताकहाँ आउँदैन। यदि तिमीहरूले मलाई चिनेका थियौ भने, तिमीहरूले मेरो पितालाई पनि चिनेका हुनेथियौ: अनि अबदेखि तिमीहरूले उहाँलाई चिन्छौ, र उहाँलाई देखेका छौ। फिलिपले उहाँलाई भने, प्रभु, हामीलाई पिता देखाउनुहोस् र यो हाम्रो लागि पर्याप्त हुन्छ। येशूले तिनलाई भन्नुभयो, फिलिप, म तिमीसँग लामो समयदेखि छु, तापनि तिमीले मलाई चिनेका रहनेछौ? जसले मलाई देखेको छ उसले पितालाई देखेको छ; अनि हामीलाई पिता देखाइदिनुहोस् भनेर तिमीले कसरी भन्न सक्छौ? के म पितामा छु र पिता ममा हुनुहुन्छ भन्ने तिमी विश्वास गर्दैनौ? मैले तिमीहरूलाई भनेका वचनहरू मेरा आफ्नै होइनन्: तर ममा वास गर्नुहुने पिताका हुन्, उहाँले नै काम गर्नुहुन्छ। म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर ममा विश्वास गर: नत्र कामहरूकै खातिर मलाई विश्वास गर” (यूहन्ना १४:६-११)।
“म र पिता एक हौँ” (यूहन्ना १०:३०)।
परमेश्वरका प्रासंगिक वचनहरू:
त्यो “देहधारण” परमेश्वर देहमा देखा पर्ने घटनाहो; परमेश्वरले सृष्टि गरिएको मानवजातिका बीचमा देहको प्रतिरूपमा काम गर्नुहुन्छ। त्यसकारण परमेश्वर देहधारी हुनको लागि, उहाँ सुरुमा देह, सामान्य मानवता सहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो। वास्तवमा, परमेश्वरको देहधारणको तात्पर्य भनेको परमेश्वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्वर उहाँको सार-तत्वमा नै देह बन्नुहुन्छ, मानिस बन्नुहुन्छ भन्ने हो।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
देहधारणको अर्थ परमेश्वरका आत्मा देह बन्नुहुन्छ, अर्थात्, परमेश्वर देह बन्नुहुन्छ भन्ने हो; देहले गर्ने काम आत्माको काम हो, जुन देहमा प्रकट हुन्छ, देहद्वारा व्यक्त हुन्छ। परमेश्वरको देहले बाहेक अरू कसैले पनि देहधारी परमेश्वरको सेवकाइलाई पूरा गर्न सक्दैन; अर्थात्, देहधारी परमेश्वरको शरीर, यस सामान्य मानवताले मात्रै—अरू कसैले होइन—ईश्वरीय कार्यलाई व्यक्त गर्न सक्छ। यदि, उहाँको पहिलो आगमनको अवधिमा, उनन्तीस वर्षको उमेरभन्दा पहिले परमेश्वरसँग सामान्य मानवता नभएको भए—यदि उहाँ जन्मने बित्तिकै उहाँले आश्चर्यकर्महरू गर्न सक्नुभएको भए, उहाँले बोल्न सिक्ने बित्तिकै उहाँले स्वर्गको भाषा बोल्न सक्नुभएको भए, यदि उहाँले पृथ्वीमा पाइला टेक्नुभएकै क्षणमा उहाँले सारा सांसारिक कुराहरूलाई बुझ्न, हरेक व्यक्तिका विचार र अभिप्रायहरूलाई जान्न सक्नुभएको भए—त्यस्तो व्यक्तिलाई सामान्य मानिस भनेर भन्न सकिँदैन थियो, र त्यस्तो देहलाई मानव देह भनेर भन्न सकिँदैन थियो। यदि ख्रीष्टको अवस्था यस्तो भएको भए, परमेश्वरको देहधारणको अर्थ र सार हराउने थियो। उहाँमा सामान्य मानवता छ भन्ने कुराले उहाँ शरीरमा देहधारी हुनुभएका परमेश्वर हुनुहुन्छ भन्ने प्रमाणित गर्छ; उहाँले सामान्य मानवको वृद्धि हुने प्रक्रिया भएर जानुहुन्छ भन्ने तथ्यले उहाँ सामान्य देह हुनुहुन्छ भन्ने कुरालाई थप प्रदर्शन गर्छ; यसको साथै, उहाँ परमेश्वरको वचन, परमेश्वरको आत्मा नै देह हुनुभएको हो भन्ने प्रमाणित गर्न उहाँको काम नै पर्याप्त छ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
परमेश्वर देहधारी हुनुहुने हुँदा आफ्नो काम गर्नको लागि उहाँको शरीर पर्याप्त छ भनेर उहाँले आफ्नो देहभित्रको आधारभूत स्वभावलाई महसुस गर्नुहुन्छ। त्यसकारण, देहधारणको समय अवधिमा ख्रीष्टको कार्यले परमेश्वरको आत्माका सबै कार्यलाई प्रतिस्थापन गर्छ, र देहधारणको समयभरि गरिने सबै कार्यको केन्द्र ख्रीष्टको कार्य नै हो। यो अन्य कुनै पनि युगको कार्यसँग मिसिन सक्दैन। र परमेश्वर देहधारी हुनुहुने हुँदा उहाँले आफ्नो देहको पहिचानमा कार्य गर्नुहुन्छ; उहाँ शरीरमा आउनुहुने भएकोले, आफूले गर्नुपर्ने कार्यलाई उहाँले देहमा नै पूरा गर्नुहुन्छ। परमेश्वरको आत्मा होस् वा ख्रीष्ट होस्, दुवै नै परमेश्वर स्वयम हुनुहुन्छ, र उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ र आफूले गर्नुपर्ने सेवकाइ गर्नुहुन्छ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्टको सार हो
देहधारी परमेश्वरको मानवता उहाँको भौतिक सारको खातिर अस्तित्वमा छ; मानवताविना कुनै देह हुन सक्दैन, र मानवता विनाको व्यक्ति मानव होइन। यसरी, परमेश्वरको देहको मानवता परमेश्वरको देहधारी शरीरको अन्तर्निहित गुण हो। “जब परमेश्वर देह बन्नुहुन्छ उहाँ पूर्ण रूपमा ईश्वरीय हुनुहुन्छ, र कुनै पनि हालतमा मानव हुनुहुन्न” भनी भन्नु भनेको ईश्वरनिन्दा हो, किनभने यो अभिव्यक्ति यथार्थ हुँदै होइन, र यसले देहधारणको सिद्धान्तलाई उल्लङ्घन गर्छ। उहाँले आफ्नो सेवकाइ गर्न सुरु गर्नुभएपछि पनि, आफ्नो काम गर्ने क्रममा उहाँ बाहिरी मानवताको भेष सहित आफ्नो ईश्वरीयतामा जिउनुहुन्छ; यस समयमा मात्रै, उहाँको मानवताले उहाँको ईश्वरीयतालाई सामान्य देहमा काम गर्न दिने एउटै उद्देश्यलाई पूरा गर्छ। त्यसैले कामको प्रतिनिधि उहाँको मानवतामा बास गर्ने ईश्वरीयता हो। उहाँको मानवता होइन, उहाँको ईश्वरीयता काममा छ, तैपनि यो ईश्वरीयता उहाँको मानवताभित्र लुकेको हुन्छ; वास्तवमा, उहाँको मानवताद्वारा होइन, उहाँको पूर्ण ईश्वरीयताद्वारा नै उहाँको कार्य गरिन्छ। तर काम गर्ने उहाँकै देह हो। उहाँ मानिस हुनुहुन्छ र परमेश्वर पनि हुनुहुन्छ भनेर भन्न सकिन्छ, किनभने परमेश्वर मानव भेष र मानव सार तर परमेश्वरको सारसहितको देहमा जिउनुहुने परमेश्वर बन्नुहुन्छ। उहाँ परमेश्वरको सारसहितको मानिस हुनुभएकोले, उहाँ सृष्टि गरिएका सारा मानिसहरूभन्दा माथि, परमेश्वरको काम गर्न सक्ने कुनै पनि मानिसभन्दा माथि हुनुहुन्छ। अनि त्यसैले, उहाँको जस्तो मानव भेष सहितका सबैमध्ये, मानवता सहितका सबैमध्ये, उहाँ मात्रै देहधारी परमेश्वर स्वयम् हुनुहुन्छ—अरू सबै सृष्टि गरिएका मानव हुन्। तिनीहरू सबैमा मानवता भए तापनि, सृष्टि गरिएका मानवमा मानवता बाहेक केही पनि हुँदैन, जबकि देहधारी परमेश्वर फरक हुनुहुन्छ: उहाँको देहमा उहाँमा मानवता मात्रै होइन, तर अझै महत्त्वपूर्ण कुरा, उहाँमा ईश्वरीयता छ। उहाँको देहको बाहिरी रूपमा र उहाँको दैनिक जीवनमा उहाँको मानवतालाई देख्न सकिन्छ, तर उहाँको ईश्वरीयतालाई बुझ्न गाह्रो छ। उहाँमा मानवता भएको बेला मात्रै उहाँको ईश्वरीयतालाई व्यक्त गरिने हुँदा, र मानिसहरूले यसलाई कल्पना गरे जत्तिको यो अलौकिक नभएको हुँदा, मानिसहरूले यसलाई देख्न निकै कठिन हुन्छ। आज पनि, देहधारी परमेश्वरको साँचो सारलाई बुझ्न मानिसहरूलाई अत्यन्तै कठिन भएको छ। यसको बारेमा यति लामो मैले बोलिसकेपछि पनि, तिमीहरूमध्ये धेरैको लागि यो अझै पनि रहस्य नै छ भन्ने म अपेक्षा गर्छु। वास्तवमा, यो विषय अत्यन्तै सरल छ: परमेश्वर देह बन्नुहुने भएकोले, उहाँको सार मानवता र ईश्वरीयताको संयोजन हो। यस संयोजनलाई परमेश्वर स्वयम्, पृथ्वीमा परमेश्वर स्वयम् हो भनी भनिन्छ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
मानिसको देहधारी पुत्रले परमेश्वरको ईश्वरत्वलाई आफ्नो मानवताद्वारा प्रकट गर्नुभयो अनि मानवजातिलाई परमेश्वरको इच्छा प्रकट गर्नुभयो। अनि परमेश्वरको इच्छा तथा स्वभावलाई प्रकट गरेर, उहाँले आत्मिक संसारमा बास गर्नुहुने परमेश्वरलाई मानिसहरूकहाँ प्रकट पनि गरिदिनुभयो, जसलाई देख्न वा छुन सकिँदैन। मानिसहरूले जे देखे, त्यो भौतिक स्वरूपमा देह र रगतले बनेको परमेश्वर स्वयम् हुनुहुन्थ्यो। त्यसैले, मानिसको देहधारी पुत्रले परमेश्वर स्वयम्को पहिचान, परमेश्वरको हैसियत, प्रतिरूप, स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई ठोस र मानवीय बनाउनुभयो। परमेश्वरको प्रतिरूपको सम्बन्धमा मानिसको पुत्रको बाह्य रूपमा केही सीमितताहरू भएको भए तापनि, उहाँको सार अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसले परमेश्वर स्वयम्को पहिचान तथा हैसियतलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्थ्यो—व्यक्त गर्ने शैलीमा मात्र केही भिन्नताहरू थिए। मानिसको पुत्रले उहाँको मानवतामा र उहाँको ईश्वरीयता दुवैमा परमेश्वर स्वयम्को पहिचान तथा हैसियतलाई प्रतिनिधित्व गरेको थियो भन्ने कुरालाई हामी इन्कार गर्न सक्दैनौं। तथापि, यस समयावधिमा परमेश्वरले देहद्वारा काम गर्नुभयो, देहको दृष्टिकोणबाट बोल्नुभयो, अनि मानिसको पुत्रको पहिचान र हैसियतमा मानवजातिको सामु उभिनुभयो र यसले मानिसहरूलाई परमेश्वरले मानवजातिको सामु दिनुभएको साँचो वचनहरू तथा कामलाई देख्ने र अनुभव गर्ने अवसर दियो। यसले मानिसहरूलाई नम्रताको बीचमा उहाँको ईश्वरत्व तथा उहाँको महानता देख्ने अन्तर्दृष्टि दिनुको साथै परमेश्वरको विशुद्धता तथा वास्तविकताको प्रारम्भिक बुझाइ तथा परिभाषा प्राप्त गर्न पनि दियो। प्रभु येशू ले पूरा गर्नुभएको काम, उहाँले काम गर्ने तरिकाहरू र उहाँले बोल्ने दृष्टिकोण, आत्मिक क्षेत्रमा रहेको परमेश्वरको वास्तविक व्यक्तित्वभन्दा फरक थियो, तैपनि उहाँको हरेक कुराले परमेश्वर स्वयम्लाई साँचो रूपमा प्रतिनिधित्व गर्यो, जसलाई मानवजातिले कहिल्यै देखेका छैनन्—यसलाई इन्कार गर्न सकिँदैन। भन्नुको अर्थ, परमेश्वर जुनसुकै रूपमा प्रकट हुनुभए तापनि, उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्नुभए तापनि, अथवा उहाँले जुनसुकै प्रतिरूपमा मानवजातिको सामना गर्नुभए तापनि, परमेश्वरले अरू केहीलाई होइन, तर आफैलाई प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले अरू कुनै मानवलाई प्रतिनिधित्व गर्न सक्नुहुन्न, न त भ्रष्ट मानवजातिमध्ये कसैलाई प्रतिनिधित्व गर्नुहुन्छ। परमेश्वर, परमेश्वर स्वयम् नै हुनुहुन्छ र यसलाई इन्कार गर्न सकिँदैन।
वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३
येशूले प्रार्थना गर्नुहुँदा स्वर्गका परमेश्वरलाई पिता नाउँले सम्बोधन गर्नुभयो, त्यो केवल एक सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट गरिएको थियो, किनकि परमेश्वरका आत्माले एउटा साधारण र सामान्य देह धारण गर्नुभएको थियो र बाहिरीपट्टि सृष्टि गरिएको एउटा प्राणीको आवरण थियो। यदि उहाँभित्र पनि परमेश्वरका आत्मा हुनुहुन्थ्यो भने, उहाँको बाहिरी रूप अझै पनि सामान्य मानिसको जस्तो देखिन्थ्यो; अर्को शब्दमा भन्नुपर्दा, उहाँ “मानिसका पुत्र” बन्नुभएको थियो, जसको बारेमा येशू आफैलगायत सबै मानिसहरूले बोलेका थिए। उहाँ मानिसका पुत्र भएकाले (पुरुष वा स्त्री, चाहे जे भए पनि बाहिरी रूपमा मानिसको आवरणमा हुनुहुन्थ्यो) उहाँ साधारण मानिसहरूको सामान्य परिवारमा जन्मनु भएका व्यक्ति हुनुहुन्छ। त्यसकारण, येशूले स्वर्गका परमेश्वरलाई त्यसरी नै पिता भनी सम्बोधन गर्नुभयो जसरी तिमीहरूले पहिलोचोटि उहाँलाई पिता भनेका थियौ; उहाँले सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट त्यसो भन्नुभयो। के तिमीहरूलाई प्रभुको त्यो प्रार्थना याद छ, जुन येशूले तिमीहरूलाई कण्ठ गर्नु भनी सिकाउनुभएको थियो? “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ…।” उहाँले सबै मानिसलाई स्वर्गमा हुनुहुने परमेश्वरलाई पिता भनी सम्बोधन गर्नू भन्नुभयो। अनि उहाँ आफैले पनि उहाँलाई पिता भन्नु भएकोले, उहाँले तिमीहरू सबैको बराबर स्तरमा खडा हुने व्यक्तिको दृष्टिकोणबाट त्यसो भन्नुभयो। तिमीहरूले स्वर्गमा हुनुहुने परमेश्वरलाई पिता भनी सम्बोधन गर्ने हुनाले, यसले देखाउँदछ कि येशूले आफैलाई तिमीहरूसँग बराबर स्तरमा, र पृथ्वीमा परमेश्वरद्वारा चुनिएका एक व्यक्ति (अर्थात् परमेश्वरका पुत्र) को रूपमा हेर्नुभयो। यदि तिमीहरू परमेश्वरलाई पिता भनी सम्बोधन गर्छौ भने, के यो तिमीहरू एक सृष्टि गरिएको प्राणी भएकोले नै होइन र? तापनि क्रूसमा टाँगिनुभन्दा अघि पृथ्वीमा येशूको अधिकार जति नै महान् भए पनि, उहाँ पवित्र आत्मा (अर्थात्, परमेश्वर) द्वारा संचालित केवल मानिसका पुत्र र पृथ्वीको एक सृष्टि गरिएको प्राणी मात्र हुनुहुन्थ्यो, किनकि उहाँले आफ्नो काम पूरा गर्नु अझै बाँकी नै थियो। त्यसकारण, उहाँले स्वर्गमा हुनुहुने परमेश्वरलाई पिता भनी सम्बोधन गर्नु पूर्ण रूपमा उहाँको नम्रता र आज्ञाकारिता थियो। तापनि, उहाँले परमेश्वर (अर्थात्, स्वर्गमा हुनुहुने आत्मा) लाई त्यसरी सम्बोधन गर्नुले उहाँ स्वर्गमा हुनुहुने परमेश्वरका आत्माका पुत्र हुनुहुन्थ्यो भनी प्रमाणित गर्दैन। बरु, कुरा यति मात्र हो, कि उहाँको दृष्टिकोण फरक थियो, उहाँ फरक व्यक्ति हुनुहुन्थ्यो भन्ने होइन। भिन्नाभिन्नै व्यक्तित्वहरूको अस्तित्व छ भन्नु भ्रम हो! उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि येशू देहका सिमाहरूमा सिमित मानिसका पुत्र हुनुहुन्थ्यो, अनि उहाँसित पवित्र आत्माको पूर्ण अधिकार थिएन। त्यसकारण उहाँले सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट परमेश्वर पिताको इच्छा खोज्न मात्र सक्नुहुन्थ्यो। यसैले उहाँले गेतसमनीमा तीन पटक प्रार्थना गर्नुभयोः “मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।” उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि उहाँ यहूदीहरूका मात्र राजा हुनुहुन्थ्यो; उहाँ ख्रीष्ट, मानिसका पुत्र, महिमित शरीर हुनुहुन्नथियो। त्यसैकारण, सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट उहाँले परमेश्वरलाई पिता भन्नुभयो। अब, तैँले परमेश्वरलाई पिता भन्नेहरू सबै पुत्र हुन् भन्न सक्दैनस्। यदि त्यस्तो हुन्थ्यो भने, येशूले एकचोटि प्रभुको प्रार्थना सिकाउनुभएपछि के तिमीहरू सबै परमेश्वरका पुत्र बन्नेथिएनौ र? यदि तिमीहरू अझै पनि विश्वस्त भएका छैनौ भने मलाई भन्, तिमीहरू कसलाई पिता भन्छौ? यदि तिमीहरू येशूलाई सङ्केत गर्दैछौ भने, येशूका पिताचाहिँ तिमीहरूका निम्ति को हुन्? येशू जानुभएपछि, पिता र पुत्रको यो धारणा अब छैन। यो धारणा येशू देह बन्नु भएका वर्षहरूका लागि मात्र उपयुक्त थियो; यदि तिमीहरू परमेश्वरलाई पिता भन्छौ भने अन्य सबै परिस्थितिहरूमा त्यो सम्बन्ध सृष्टिका परमप्रभु र सृष्टि गरिएका प्राणी बीचको मात्र हुन्छ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?
अझै कोही यस्तो भन्नेहरू पनि छन्, “के परमेश्वरले येशू उहाँका प्यारो पुत्र हुनुहुन्छ भनेर स्पष्ट रूपमा बताउनुभएन र?” येशू परमेश्वरका प्रिय पुत्र हुनुहुन्छ, जोसँग उहाँ प्रसन्न हुनुहुन्छ—यो परमेश्वर स्वयमले भन्नुभएको थियो। त्यो परमेश्वरले आफैलाई दिनुभएको गवाही थियो, तर एउटा भिन्नै दृष्टिकोणबाट, जुनचाहिँ स्वर्गका आत्माले उहाँको आफ्नै देहधारणको बारेमा दिनुभएको गवाही थियो। येशू उहाँको देहधारण हुनुहुन्छ, स्वर्गमा हुनुहुने उहाँका पुत्रको होइन। के तैंले बुझिस्? के येशूले “म पितामा छु, र पिता ममा हुनुहुन्छ,” भन्नुभएको वचनले उहाँहरू एउटै आत्मा हुनुहुन्छ भनी संकेत गर्दैन? र के देहधारणकै कारणले गर्दा उहाँहरू स्वर्ग र पृथ्वीको बीचमा अलग हुनुभएको थिएन? वास्तवमा, उहाँहरू अझै एक हुनुहुन्छ; चाहे जे भए तापनि, यो केवल परमेश्वर आफैलाई दिनुभएको गवाही मात्र हो। युगहरूमा परिवर्तन भएकाले, कामका मागहरू र उहाँको व्यवस्थापन योजनाका विभिन्न चरणहरूको कारण, मानिसले उहाँलाई बोलाउने नाउँ पनि फरक हुन्छ। जब उहाँ पहिलो चरणको काम गर्न आउनुभयो, उहाँलाई यहोवा, इस्राएलीहरूका गोठालो मात्र कहलाइन सकिन्थ्यो। दोस्रो चरणमा, देहधारी परमेश्वरलाई केवल प्रभु र ख्रीष्ट कहलाइन सकिन्थ्यो। तर त्यस बेला स्वर्गमा हुनुहुने आत्माले उहाँ परमेश्वरका प्रिय पुत्र हुनुहुन्छ मात्र भन्नुभयो, र उहाँ परमेश्वरका एक मात्र पुत्र हुनुहुन्छ भनी उल्लेख गर्नुभएन। यो त्यसै भएको थिएन। कसरी परमेश्वरको एक मात्र सन्तान हुन सक्छ? त्यसो भए के परमेश्वर मानिस बन्नुहुन्न थियो र? उहाँ देहधारी हुनुभएकोले, उहाँलाई परमेश्वरका प्रिय पुत्र भनियो, अनि यसैबाट पिता र पुत्र बीचको सम्बन्ध बन्यो। यो स्वर्ग र पृथ्वी बीचको अन्तरको कारणले भएको थियो। येशूले देहको दृष्टिकोणबाट प्रार्थना गर्नुभयो। उहाँले सामान्य मानिसको देह धारण गर्नुभएको हुनाले देहको दृष्टिकोणबाट उहाँले भन्नुभयोः “मेरो बाहिरी खोल सृष्टि गरिएको प्राणीको हो। किनकि यस पृथ्वीमा आउनका लागि मैले देह धारण गर्छु, म अहिले स्वर्गबाट टाढा, धेरै टाढा छु।” यसकारण, उहाँले पिता परमेश्वरसँग देहको दृष्टिकोणबाट मात्र प्रार्थना गर्न सक्नुहुन्थ्यो। यो उहाँको कर्तव्य थियो, र परमेश्वरका देहधारी आत्मा यही कुराले सुसज्जित हुनुपर्दछ। उहाँले देहको दृष्टिकोणबाट पितासँग प्रार्थना गर्नुभएकोले उहाँ परमेश्वर हुनुहुन्न भन्न सकिंदैन। यद्यपि उहाँ परमेश्वरका प्रिय पुत्र कहलाइनुभयो, उहाँ अझै परमेश्वर स्वयम् हुनुहुन्थ्यो, किनकि उहाँ आत्माको देहधारण हुनुहुन्थ्यो, र उहाँको सार अझै आत्मा नै हुनुहुन्थ्यो।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?
मानिसले पहिले पवित्र आत्मा ढुकुरको रूपमा येशूमाथि ओर्लनुभएको देख्यो; यो केवल येशू मात्र आत्मा थिएन, बरु पवित्र आत्मा हुनुहुन्थ्यो। त्यसोभए के येशूका आत्मालाई पवित्र आत्माबाट अलग गर्न सकिन्छ? यदि येशू, पुत्र र पवित्र आत्मा पवित्र आत्मा नै हुनुहुन्छ भने, तब उहाँहरू कसरी एक हुन सक्नुहुन्छ? यदि त्यस्तो हुन्थ्यो भने, काम गर्न सकिने थिएन। येशूभित्रका आत्मा, स्वर्गमा हुनुहुने आत्मा, र यहोवाका आत्मा सबै एक हुन्। उहाँलाई पवित्र आत्मा, परमेश्वरका आत्मा, सात गुणा तीब्र पारिएको आत्मा र सर्व-सम्मिलित आत्मा भन्न सकिन्छ। परमेश्वरका आत्माले धेरै काम गर्न सक्नुहुन्छ। उहाँले संसारलाई सृष्टि गर्न सक्नुहुन्छ र जलप्रलय पठाएर यसलाई नाश गर्न पनि सक्नुहुन्छ; उहाँले सबै मानवजातिलाई उद्धार गर्न सक्नुहुन्छ, र यसबाहेक उहाँले सारा मानवजातिलाई जित्न र नाश पार्न सक्नुहुन्छ। यो काम सबै परमेश्वर आफैले गर्नुभएको हो र उहाँको ठाउँमा परमेश्वरको कुनै अर्को व्यक्तित्वहरूले गर्न सक्दैन थियो। उहाँका आत्मालाई यहोवा र येशू, साथै सर्वशक्तिमान् भनेर पनि सम्बोधन गर्न सकिन्छ। उहाँ प्रभु र ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पुत्र पनि बन्न सक्नुहुन्छ। उहाँ स्वर्गहरूमा हुनुहुन्छ र पृथ्वीमा पनि हुनुहुन्छ; उहाँ ब्रह्माण्डभन्दा माथि र भीड्को माझमा हुनुहुन्छ। स्वर्गहरू र पृथ्वीका एकमात्र मालिक उहाँ हुनुहुन्छ! सृष्टिको समयदेखि अहिलेसम्म यो काम परमेश्वर स्वयमको आत्माले गर्दै आउनुभएको छ। त्यो काम चाहे स्वर्गहरूमा होस् वा देहमा, सबै उहाँको आफ्नै आत्माद्वारा गरिन्छ। चाहे स्वर्गमा होस् वा पृथ्वीमा, सबै प्राणीहरू उहाँको सर्वशक्तिमान् हत्केलामा छन्; यी सबै स्वयम् परमेश्वरका काम हुन् र उहाँको ठाउँमा अरू कसैले यो गर्न सक्दैन। स्वर्गहरूमा उहाँ आत्मा हुनुहुन्छ, तर परमेश्वर स्वयम् पनि हुनुहुन्छ; मानिसहरूका माझ उहाँ देह हुनुहुन्छ, तर परमेश्वर स्वयम् नै रहनुहुन्छ। यद्यपि उहाँलाई सयौं हजारौं नाउँले सम्बोधन गर्न सकिन्छ, उहाँ अझै पनि उहाँ नै हुनुहुन्छ, र सबै कामहरू उहाँको आत्माको प्रत्यक्ष अभिव्यक्ति हो। उहाँको क्रुसिकरणद्वारा सारा मानवजातिको छुटकारा उहाँका आत्माको प्रत्यक्ष कार्य थियो, र आखिरी दिनहरूमा सबै जाति र सबै देशहरूका निम्ति घोषणा पनि हो। सबै समयमा, परमेश्वरलाई सर्वशक्तिमान् र एक मात्र साँचो परमेश्वर, सर्व-सम्मिलित परमेश्वर स्वयम् भन्न सकिन्छ। अलग-अलग व्यक्तित्वहरू छैनन्, पिता, पुत्र र पवित्र आत्माको धारणाको त कुरै नगरौँ। स्वर्ग र पृथ्वीमा एउटै मात्र परमेश्वर हुनुहुन्छ!
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।