परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश ११९

10 अप्रिल 2021

देहधारी परमेश्‍वर देहमा आउनुको एउटै मात्र कारण भनेको भ्रष्ट मानिसहरूको आवश्यकताको कारणले गर्दा मात्रै हो। परमेश्‍वरको होइन, तर मानिसका आवश्यकताहरूको कारणले नै यसो भएको हो र उहाँका सबै बलिदानहरू र दु:खकष्टहरू मानवजातिको खातिर हुन्, परमेश्‍वर स्वयमको फाइदाको लागि होइन। परमेश्‍वरको लागि कुनै फाइदा र बेफाइदा वा इनाम छैन; उहाँले कुनै भविष्यको कटनी होइन, तर जुन कुरा मूल रूपमा उहाँको थियो त्यसको कटनी गर्नुहुन्छ। उहाँले मानवजातिको लागि गर्ने र बलिदान दिने सबै कुराहरू उहाँले ठूलो इनामहरू प्राप्त गर्नका लागि भनेर होइन, तर पूर्ण रूपमा मानवजातिकै खातिर हो। देहमा परमेश्‍वरले गर्नुहुने कार्यमा विभिन्न अकल्पनीय कठिनाइहरू समावेश भए तापनि, यसले आखिरमा हासिल गर्ने प्रभावहरू आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको कामभन्दा बढी हुन्छ। देहको कार्यमा धेरै कठिनाइ समावेश छन् र देहले आत्माले जस्तै महान् पहिचान प्राप्त गर्न सक्दैन, उहाँले आत्माले जस्तै अलौकिक कार्यहरू गर्न सक्नुहुन्न, उहाँले आत्माको जस्तै अख्तियार पाउन सक्ने कुरा त परै जाओस्। तैपनि उहाँको साधारण देहले गर्ने कार्यको सार आत्माले प्रत्यक्ष रूपमा गर्ने कामभन्दा धेरै नै श्रेष्ठ हुन्छ र सारा मानवजातिका आवश्यकताहरूको उत्तर यही देह स्वयम् नै हुनुहुन्छ। मुक्त गरिनेहरूका लागि, आत्माको उपयोगी मूल्य देहको भन्दा निकै कम हुन्छ: आत्माको कामले सारा ब्रह्माण्ड, सारा हिमाल, नदी, तालतलैया अनि समुद्रहरूलाई समावेश गर्न सक्ने भए तापनि, देहको काम उहाँ सम्पर्कमा आउने हरेक व्यक्तिसँग अझै प्रभावकारी रूपमा सम्बन्धित हुन्छ। यति मात्र होइन, परमेश्‍वरको देहको मूर्त रूपलाई मानिसले अझै राम्ररी बुझ्न र भरोसा गर्न सक्छ र यसले परमेश्‍वरसम्बन्धी मानिसको ज्ञानलाई अझै थप रूपमा गहन तुल्याउन सक्छ र परमेश्‍वरका वास्तविक कार्यहरूबारे मानिसमा अझै प्रगाढ छवि छोड्न सक्छ। आत्माको कामलाई रहस्यले ढाकेको हुन्छ; मरणशील प्राणीको लागि यो बुझ्न कठिन छ र तिनीहरूले यसलाई देख्न अझै कठिन छ, त्यसकारण तिनीहरू खोक्रा कल्पनाहरूको मात्रै भर पर्न सक्छन्। तैपनि, देहको काम सामान्य र वास्तविकतामा आधारित छ, अनि यसमा प्रशस्त बुद्धि छ, साथै यो मानिसको भौतिक आँखाले देख्न सक्ने तथ्य हो; परमेश्‍वरको कामको बुद्धिलाई मानिसले व्यक्तिगत रूपमा नै अनुभव गर्न सक्छ र उसको प्रशस्त कल्पनाहरूको प्रयोग गर्ने कुनै आवश्यकता हुँदैन। देहमा परमेश्‍वरले गर्नुहुने कामको यथार्थता र वास्तविक मूल्य यही नै हो। आत्माले मानिसको लागि अदृश्य र उसलाई कल्पना गर्न कठिन हुने कुराहरू मात्रै गर्न सक्नुहुन्छ, उदाहरणको लागि आत्माको अन्तर्दृष्टि, आत्माको हलचल र आत्माको अगुवाइ, तर मन भएको मानिसको लागि, यिनले कुनै पनि स्पष्ट अर्थ प्रदान गर्दैन। तिनीहरूले स्पर्श, वा बृहत् अर्थ मात्रै प्रदान गर्न सक्छन् र शब्दहरूद्वारा निर्देशन दिन सक्दैनन्। तैपनि, देहमा परमेश्‍वरले गर्नुहुने कार्य निकै फरक छ: यसमा शब्दहरूको यथार्थ निर्देशन संलग्न हुन्छ, यसको स्पष्ट इच्‍छा हुन्छ र यसमा आवश्यक उद्देश्यहरू स्पष्ट हुन्छन्। त्यसकारण मानिसले छामछुम गरिहिँड्नु वा आफ्नो कल्पनाको प्रयोग गर्नु आवश्यक हुँदैन, अनुमानहरू गर्नुपर्ने त परै जाओस्। देहको कामको स्पष्टता यही हो र यो आत्माको कामभन्दा निकै फरक छ। सीमित क्षेत्रको लागि मात्रै आत्माको काम उपयुक्त हुन्छ र यसले देहको कामलाई प्रतिस्थापन गर्न सक्दैन। देहको कार्यले मानिसलाई आत्माको कार्यले भन्दा धेरै यथार्थ र आवश्यक लक्ष्यहरू र अझै वास्तविक, बहुमूल्य ज्ञान दिन्छ। भ्रष्ट मानिसको लागि सबैभन्दा मूल्यवान् काम भनेको त्यही हो जुन कामले सटीक शब्दहरू, पछ्याउनको लागि स्पष्ट लक्ष्यहरू प्रदान गर्न सक्छ, जसलाई देख्न र छुन सकिन्छ। मानिसको स्वादको लागि वास्तविक काम र समयअनुसारको अगुवाइ मात्रै उपयुक्त छन् र वास्तविक कार्यले मात्रै मानिसलाई उसको भ्रष्ट र पतित स्वभावबाट मुक्त गर्न सक्छ। यसलाई देहधारी परमेश्‍वरले मात्रै हासिल गर्न सक्नुहुन्छ; देहधारी परमेश्‍वरले मात्रै मानिसलाई उसको पहिलेको भ्रष्ट र पतित स्वभावबाट मुक्त गर्न सक्‍नुहुन्छ। आत्मा परमेश्‍वरको अन्तर्निहित सार भए तापनि, यस प्रकारको कामलाई उहाँको देहले मात्र गर्न सक्नुहुन्छ। यदि आत्माले एक्लै काम गर्नुभयो भने, उहाँको काम प्रभावकारी हुनु सम्भव हुनेथिएन—यो स्पष्ट सत्यता हो। यो देहको कारण धेरैजसो मानिसहरू परमेश्‍वरका शत्रुहरू बनेका भए पनि, जब उहाँले आफ्नो काम समाप्त गर्नुहुन्छ, तब उहाँका विरुद्धमा हुनेहरू उहाँका शत्रुहरू बन्‍न छोडेका मात्र हुनेछैनन्, तर यसको विपरीत तिनीहरू उहाँका साक्षीहरू बन्नेछन्। तिनीहरू उहाँले विजय गर्नुभएका गवाहीहरू, उहाँको लागि अनुकूल र उहाँबाट अलग गर्न नसकिने गवाहीहरू बन्नेछन्। उहाँले मानिसलाई मानिसको निम्ति देहमा उहाँको कार्यको महत्त्वलाई जान्ने तुल्याउनुहुन्छ र मानिसको अस्तित्वको लागि मानिसले उहाँको देहको महत्त्वलाई जान्नुपर्छ, मानिसको जीवनको वृद्धिको लागि उहाँको वास्तविक मूल्यलाई जान्नुपर्छ, यति मात्र होइन, यो देह जीवनको जीवित जग बन्नेछ जसबाट मानिस अलग हुन सक्दैन भन्ने पनि जान्नुपर्छ। परमेश्‍वरको देहधारी शरीर उहाँको पहिचान र स्थानसँग मिल्दै नमिल्ने र मानिसको लागि यो उहाँको वास्तविक स्थितिसँग अमेल देखिने भए तापनि, परमेश्‍वरको साँचो स्वरूप वा उहाँको साँचो पहिचान नभएको यो देहले त्यो काम गर्न सक्नुहुन्छ जुन काम गर्न उहाँका आत्मा असमर्थ छ। परमेश्‍वरको देहधारणको साँचो महत्त्व र मूल्य यही हो, र मानिसले कदर गर्न र स्वीकार गर्न नसक्ने भनेको यही महत्त्व र मूल्य नै हो। सबै मानवजातिले परमेश्‍वरका आत्मालाई आदरका साथ हेर्ने र परमेश्‍वरको देहलाई हेलाको साथ हेर्ने भए तापनि, तिनीहरूले जसरी हेरे पनि वा विचार गरे पनि, देहको वास्तविक महत्त्व र मूल्य आत्माको भन्दा बढी नै छ। अवश्य नै, यो भ्रष्ट मानिसको लागि मात्रै हो। सत्यको खोजी गर्ने र परमेश्‍वरको प्रकटको लागि तृष्णा गर्ने हरेकको लागि, आत्माको कामले स्पर्श वा प्रेरणा अनि अवर्णनीय र अकल्पनीय आश्चर्यको आभास अनि यो महान्, श्रेष्ठ र प्रशंसनीय छ, तैपनि सबैको लागि यो प्राप्त गर्न र भेट्टाउन नसकिने छ भन्ने भाव मात्रै दिन्छ। मानिस र परमेश्‍वरका आत्माले एकअर्कालाई टाढाबाट मात्रै हेर्न सक्नुहुन्छ, मानौं उहाँहरूको बीचमा ठूलो दूरी छ र उहाँहरू कहिल्यै उस्तै बन्न सक्नुहुन्न मानौं मानिस र परमेश्‍वरलाई अदृश्य पर्खालले अलग गरेको छ। वास्तवमा, यो आत्माले मानिसलाई दिनुभएको एउटा भ्रम मात्रै हो, किनभने आत्मा र मानिस उस्तै प्रकारको हुनुहुन्न र उहाँहरू एउटै संसारमा सँगै अस्तित्वमा कहिल्यै रहन सक्नुहुन्न, किनभने आत्मामा मानिसको केही पनि छैन। त्यसकारण मानिसलाई आत्माको खाँचो छैन, किनभने मानिसलाई सबैभन्दा बढी आवश्यक पर्ने काम आत्माले प्रत्यक्ष रूपमा गर्न सक्नुहुन्न। देहको कामले मानिसलाई पछ्याउनको लागि वास्तविक उद्देश्यहरू, स्पष्ट शब्दहरू र उहाँ वास्तविक र सामान्य हुनुहुन्छ, उहाँ नम्र र सर्वसाधारण हुनुहुन्छ भन्ने आभास दिन्छ। मानिसले उहाँको डर मान्न सक्ने भए तापनि, धेरैजसो मानिसहरूका लागि उहाँ सजिलै सम्बन्धित हुन सकिने हुनुहुन्छ: मानिसले उहाँको मुहारलाई हेर्न सक्छन् र उहाँको आवाजलाई सुन्न सक्छन् र उसले उहाँलाई टाढाबाट हेर्नुपर्दैन। यो देह मानिसको पहुँचमा हुनुहुन्छ, टाढा र बुझ्न नसकिने होइन, तर देख्न सकिने र छुन सकिने हुनुहुन्छ, किनभने यो देह मानिसकै संसारमा हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्