परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९१

19 अक्टोबर 2022

परमेश्‍वर चीनको मूलभूमिमा देहधारी हुनुभएको छ, अथवा हङकङ र ताइवानका देशवासीहरूको शब्‍दमा भन्दा उहाँ “भित्री” भागमा देहधारी हुनुभएको छ। जब परमेश्‍वर माथि स्वर्गबाट पृथ्वीमा आउनुभयो, स्वर्ग वा पृथ्वीको कसैलाई पनि यसको बारेमा थाहा थिएन, किनभने परमेश्‍वर गुप्त रूपमा फर्किनुको साँचो अर्थ यही हो। उहाँले लामो समयदेखि देहमा काम गर्दै र जिउँदै आउनुभएको छ, तैपनि कसैलाई यसको बारेमा थाहा भएको छैन। आजको दिनसम्‍म पनि, यसलाई कसैले पहिचान गरेको छैन। सायद यो अनन्त पहेलीको रूपमा रहनेछ। यस पटक परमेश्‍वर देहमा आउनुभएको घटना कुनै पनि मानिसले थाहा पाउन नसक्‍ने कुरा हो। आत्माको काम जति ठूलो आकारको र त्यसको प्रभाव जति शक्तिशाली भए पनि, परमेश्‍वर सधैँ भावहीन नै रहनुहुन्छ, कहिल्यै कुनै पनि कुरा प्रकट गर्नुहुन्‍न। उहाँको कामको यो चरण स्वर्गीय क्षेत्रमा भइरहेको जस्तै हो भनेर भन्‍न सकिन्छ। देख्‍ने आँखा भएको सबैको लागि यो स्पष्ट भए तापनि, कसैले पनि यसलाई पहिचान गर्दैनन्। जब परमेश्‍वरले उहाँको कार्यको यो चरण समाप्त गर्नुहुन्छ, सारा मानवजातिले आफ्‍नो आम मनोवृत्तिलाई तोड्छन्, र तिनीहरू आफ्नो लामो सपनाबाट बिउँझन्छन्। परमेश्‍वरले एक पटक यसो भन्‍नुभएको मलाई याद छ, “यस पटक देहमा आउनु बाघको ओडारमा खस्‍नुसरह भएको छ।” यसको अर्थ के हो भने, परमेश्‍वरको कार्यको यस चरणमा परमेश्‍वर देहमा आउनुहुन्छ, र यति मात्र होइन, उहाँ ठूलो रातो अजिङ्गरको वासस्थानमा जन्‍मनुहुन्छ, त्यसकारण यस पटक उहाँ पृथ्वीमा आउनुहुँदा उहाँले पहिलेभन्दा निकै चरम खतराको सामना गर्नुहुन्छ। उहाँले छुरा र बन्दुक अनि डन्डा र लाठाहरूको सामना गर्नुहुन्छ; उहाँले परीक्षाको सामना गर्नुहुन्छ; उहाँले प्राणघाती अभिप्रायले भरिएका अनुहार बोक्‍ने भीडहरूको सामना गर्नुहुन्छ। उहाँले कुनै पनि क्षण मारिने खतरा मोल्‍नुहुन्छ। परमेश्‍वर आफूसँग क्रोध लिएर आउनुहुन्छ। तैपनि, उहाँ सिद्धताको काम गर्न आउनुभयो, भन्‍नुको अर्थ उहाँ आफ्‍नो कामको दोस्रो भाग, अर्थात् छुटकाराको कामपछि जारी रहने काम गर्न आउनुभयो। आफ्‍नो कामको यो चरणको खातिर, परमेश्‍वरले सक्दो विचार र वास्ता अर्पण गर्नुभएको छ र आफैलाई नम्रतापूर्वक लुकाउँदै र आफ्‍नो पहिचानलाई कहिल्यै पनि प्रदर्शन नगरी उहाँले परीक्षाका आक्रमणहरूबाट जोगिन कल्‍पना गर्न सकिने हरेक माध्यमहरूको प्रयोग गरिरहनुभएको छ। मानिसलाई क्रूसबाट उद्धार गर्ने क्रममा, येशूले उद्धारको काम मात्रै पूरा गर्दै हुनुहुन्थ्यो; उहाँले सिद्धताको काम गरिरहनुभएको थिएन। तसर्थ परमेश्‍वरको कार्यको आधा भाग मात्रै पूरा गरिएको थियो, र छुटकाराको काम पूरा गर्नु भनेको उहाँको सम्पूर्ण योजनाको आधा भाग मात्रै थियो। नयाँ युगको सुरुवात र पुरानो युगको अवसान हुन लागेको थियो, त्यसैले परमेश्‍वर पिताले आफ्‍नो कामको दोस्रो भागको बारेमा विचार गर्न र यसको लागि तयारी गर्न थाल्‍नुभयो। आखिरी दिनहरूको यो देहधारणको बारेमा विगतमा स्पष्ट रूपमा भविष्यवाणी गरिएको थिएन, त्यसले गर्दा यस पटक परमेश्‍वर देहमा आउनुहुने घटनाको बारेमा बढ्दो रहस्यहरूको जग निर्माण हुनगयो। मिरमिरे उषासँगै, मानवजातिका भीडहरूलाई थाहै नभई, परमेश्‍वर पृथ्वीमा आउनुभयो र आफ्नो जीवन देहमा सुरु गर्नुभयो। यस क्षणको आगमनको बारेमा मानिसहरू अनभिज्ञ थिए। शायद तिनीहरू गहिरो निद्रामा थिए; शायद सजग रहेर जागा रहेका धेरैले पर्खिरहेका थिए र शायद धेरैले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई चुपचाप प्रार्थना गरिरहेका थिए। तैपनि, यति धेरै मानिसहरूमाझ, एक जनालाई पनि परमेश्‍वर पहिले नै पृथ्वीमा आइसक्नुभयो भन्‍ने कुरा थाहै भएन। आफ्‍नो कार्यलाई अझै सहज रूपमा अघि बढाउन र अझै उत्तम परिणामहरू हासिल गर्न, साथै अझै बढी परीक्षाहरूलाई रोक्‍नको लागि परमेश्‍वरले यसरी काम गर्नुभयो। जब मानिसको वसन्तको निद्रा हट्छ, परमेश्‍वरको कार्य समाप्त भइसकेको धेरै भइसकेको हुनेछ र पृथ्वीमा घुमफिर गर्ने र बसोबास गर्ने आफ्नो जीवनलाई समाप्त गर्दै उहाँ बिदा हुनुहुनेछ। परमेश्‍वरको कार्यको लागि परमेश्‍वरले व्यक्तिगत रूपमा नै काम गर्नुपर्ने र बोल्‍नुपर्ने भएकोले, र मानिसले हस्तक्षेप गर्ने कुनै उपाय नभएको हुनाले, आफू स्वयम्‌ काम गर्न पृथ्वीमा आउनको लागि परमेश्‍वरले चरम कष्ट भोग्‍नुभयो। मानिस परमेश्‍वरको कार्यको खातिर उभिन सक्दैन। यही कारणले गर्दा अनुग्रहको युगमा भन्दा हजारौँ गुणा बढी साहस गरेर परमेश्‍वर आफ्‍नो सारा वास्ता र फिक्री समर्पित गर्दै, विपन्‍न मानिसहरूको यो समूह, गोबरको थुप्रोमा फसेका मानिसहरूको यो समूहलाई छुटकारा दिने आफ्‍नो काम गर्नको लागि ठूलो रातो अजिङ्गर बास गर्ने भूमिमा आउनुभयो। परमेश्‍वरको अस्तित्वको बारेमा कसैलाई थाहा नभए पनि, परमेश्‍वर बेचैन हुनुहुन्‍न, किनभने यसले उहाँको कार्यलाई धेरै फाइदा गर्छ। हरेक व्यक्ति चरम रूपमा अत्यन्तै घृणित र दुष्ट भएको हुनाले, तिनीहरूले कसरी परमेश्‍वरको अस्तित्वलाई सहन सक्‍नेथिए र? यही कारणले गर्दा, पृथ्वीमा आएपछि, परमेश्‍वर मौन रहनुहुन्छ। मानिस सबैभन्दा खराब क्रूरतामा डुबे पनि, परमेश्‍वरले यसमध्ये कुनैलाई पनि मनमा लिनुहुन्न, तर स्वर्गमा हुनुहुने पिताले उहाँलाई सुम्‍पिनुभएको ठूलो आज्ञाको कार्यभार पूरा गर्न आफूले गर्नुपर्ने काम मात्रै उहाँ गरिरहनुहुन्छ। तिमीहरूमध्ये कसले परमेश्‍वरको प्रेमिलोपनलाई पहिचान गरेका छौ? परमेश्‍वर पिताको बोझको बारेमा उहाँको पुत्रले भन्दा धेरै अरू कसले सोच्छ र? परमेश्‍वर पिताको इच्‍छालाई कसले बुझ्‍न सक्‍छ र? स्वर्गमा हुनुहुने परमेश्‍वर पिताको आत्मा सधैँ बेचैन बन्‍नुहुन्छ, र पृथ्वीमा हुनुहुने उहाँको पुत्रले आफ्‍नो हृदय टुक्रा-टुक्रा हुने गरी चिन्ता गर्दै परमेश्‍वर पिताको लागि निरन्तर प्रार्थना गर्नुहुन्छ। के आफ्‍नो पुत्रको निम्ति परमेश्‍वर पिताको प्रेम कति छ सो जान्‍ने कोही छ? प्रिय पुत्रले परमेश्‍वर पितालाई जुन हृदयले याद गर्नुहुन्छ त्यसको बारेमा जान्‍ने कोही छ? स्वर्ग र पृथ्वीको बीचमा छुट्टिएर, आत्मामा एक-अर्कालाई पछ्याउँदै उहाँहरूले टाढैबाट एक-अर्कालाई नियाल्‍नुहुन्छ। ए मानवजाति! तिमीहरूले कहिले परमेश्‍वरको हृदयलाई बुझ्‍नेछौ? कहिले तिमीहरूले परमेश्‍वरको अभिप्रायलाई बुझ्‍नेछौ? पिता र पुत्र सधैँ एक-अर्कामा निर्भर हुनुभएको छ। त्यसो भए, किन उहाँहरू एक जना माथि स्वर्गमा र अर्कोचाहिँ तल पृथ्वीमा हुने गरी छुट्नुपर्छ त? पुत्रले पितालाई प्रेम गर्नुभएजस्तै पिताले आफ्‍नो पुत्रलाई प्रेम गर्नुहुन्छ। त्यसो भए, किन पिताले त्यति गहन र पीडादायी रूपमा तड्पिएर पुत्रको प्रतीक्षा गर्नुपर्छ? उहाँहरू अलग हुनुभएको त्यति लामो समय नभएको हुन सक्छ, तैपनि पिताले कति दिन र कति रात पीडादायी रूपमा तड्पिएर तृष्णा गर्नुभएको छ, र आफ्‍नो प्रिय पुत्रको शीघ्र फिर्तीको लागि उहाँले कति लामो समयदेखि चाहना गरिरहनुभएको छ, त्यो कसलाई थाहा छ र? उहाँले अवलोकन गर्नुहुन्छ, उहाँ चुपचाप बस्‍नुहुन्छ, र उहाँ प्रतीक्षा गर्नुहुन्छ; उहाँले आफ्‍नो पुत्रको शीघ्र फिर्तीको लागि नगर्नुहुने केही पनि छैन। पृथ्वीको पल्‍लो छेउसम्‍म भौँतारिनुभएको पुत्र: उहाँहरूको मिलन कहिले हुनेछ? उहाँहरूको मिलन भएपछि उहाँहरू अनन्तसम्‍मै सँगै हुनुहुनेछ, तैपनि उहाँले एक जना माथि स्वर्गमा र अर्कोचाहिँ तल पृथ्वीमा भएर बिछोडको हजारौँ दिन र हजारौँ रातलाई कसरी सहन सक्‍नुहुन्छ? पृथ्वीका दशकहरू स्वर्गको लागि सहस्राब्दी जस्तै लाग्छ। परमेश्‍वर पिता चिन्ता नगरी कसरी बस्‍न सक्‍नुहुन्थ्यो र? जब परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, उहाँले पनि मानिसले जस्तै मानव संसारका अनगिन्ती घटनाहरूको अनुभव गर्नुहुन्छ। परमेश्‍वर निर्दोष हुनुहुन्छ, तब किन उहाँलाई पनि मानिसले जस्तै कष्ट भोग्‍न लगाउने? परमेश्‍वर पिताले आफ्‍नो पुत्रको लागि विलाप गर्नु स्वाभाविकै हो; परमेश्‍वरको हृदयलाई कसले बुझ्‍न सक्छ र? परमेश्‍वरले मानिसलाई अति नै धेरै दिनुहुन्छ; मानिसले कसरी उहाँको हृदयको ऋण पर्याप्त रूपमा तिर्न सक्छ र? तैपनि, मानिसले परमेश्‍वरलाई अति नै थोरै दिन्छ; त्यस कुरालाई देखेर, परमेश्‍वर कसरी चिन्ता नगरी बस्‍न सक्‍नुहुन्थ्यो र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (४)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्