परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २०९

24 नोभेम्बर 2022

आजको मार्ग हिँड्न सजिलो छैन। यो भन्‍न सकिन्छ कि यो प्राप्त गर्न निकै गाह्रो छ, र युगौंयुगभरि यो अति दुर्लभ रहेको छ। तैपनि, मानिसको देह मात्रै पनि उसलाई बरबाद पार्न पर्याप्त हुन्छ भनी कसले सोचेको थियो र? आजको काम अवश्य नै वसन्तको झरीजस्तै अनमोल छ, र मानिसप्रति परमेश्‍वरको दयाजत्तिकै मूल्यवान् छ। तैपनि, यदि मानिसले उहाँको वर्तमान कामको उद्देश्य जान्दैन भने वा मानवजातिको सार बुझ्दैन भने, यसको अनमोलता र बहुमूल्यताको कुरा कसरी गर्न सकिन्छ? देह मानिसहरूको स्वामित्वमा हुँदैन, त्यसैले यसको वास्तविक गन्तव्य कहाँ हुनेछ भनेर कसैले पनि स्पष्ट रूपमा बुझ्न सक्दैन। तैपनि, तैंले यो राम्ररी जान्‍नुपर्छ कि सृष्टिका प्रभुले सृष्टि गरिएको मानवजातिलाई त्यसको सुरुको स्थानमा फर्काउनुहुनेछ, र तिनीहरूको सृष्टिको समयदेखिको मूल स्वरूप पुनर्स्थापित गर्नुहुनेछ। उहाँले मानिसभित्र फुकिदिनुभएको सास पूर्ण रूपमा फिर्ता लिनुहुनेछ, हड्डी र मासुलाई फेरि कब्जा गर्नुहुनेछ र सबै थोकलाई सृष्टिका प्रभुमा फर्काउनुहुनेछ। उहाँले मानवजातिलाई पूर्ण रूपमा रूपान्तरण र नवीकरण गर्नुहुनेछ, र मानिसबाट परमेश्‍वरको सम्पूर्ण सम्पदा फिर्ता लिनुहुनेछ जुन मानवजातिको नभई परमेश्‍वरको हो, र त्यो फेरि कहिल्यै मानवजातिलाई दिनुहुनेछैन। किनकि पहिलो कुरा त यो हो कि ती कुनै पनि कुरा मानवजातिको थिएनन्। उहाँले ती सबैलाई फिर्ता लिनुहुनेछ—यो अनुचित लुट होइन; बरु, यसको उद्देश्य त स्वर्ग र पृथ्वीलाई तिनीहरूको मूल अवस्थामा पुनर्स्थापित गर्नु, साथै मानिसलाई रूपान्तरण र नवीकरण गर्नु हो। यो मानिसको लागि उचित गन्तव्य हो, तापनि यो मानिसहरूले सोचेजस्तो देहलाई सजाय दिइएपछि फेरि आफ्नो बनाउने कुरा होइन। देह नष्ट भएपछि परमेश्‍वरले त्यसको अस्थिपञ्‍जर चाहनुहुन्‍न; उहाँ मानिसमा भएका मूल तत्त्वहरू चाहनुहुन्छ जुन सुरुदेखि नै परमेश्‍वरका थिए। यसैले, उहाँले मानवजातिलाई नष्ट गर्नुहुनेछैन वा मानिसको देहलाई पूर्ण रूपले नष्ट पार्नुहुनेछैन, किनकि मानिसको देह उसको निजी सम्पत्ति होइन। यो त मानवजातिलाई व्यवस्थापन गर्नुहुने परमेश्‍वरको अतिरिक्त भाग हो। उहाँले आफ्नो “आनन्द” का लागि मानिसका देहलाई कसरी नष्ट पार्न सक्‍नुहुन्छ र? अहिलेसम्म, के तैंले एक पैसा मूल्य पनि नपर्ने आफ्नो देहलाई वास्तवमै सम्पूर्ण रूपमा छोडेको छस्? यदि तैंले आखिरी दिनहरूको कामको तीस प्रतिशत मात्रै बुझ्न सकिस् भने (यो तीस प्रतिशत भन्‍नुको अर्थ पवित्र आत्माको आजको काम र आखिरी दिनहरूमा भएको परमेश्‍वरका वचनहरूको काम हो), तैँले अहिलेजसरी आफ्‍नो देहको “सेवा” गरिरहँदैनस् वा “सन्तानको भक्ति” कायम गरिरहँदैनस्; तेरो देह त धेरै वर्षदेखि भ्रष्ट रहेको छ। तँलाई के थाहा स्पष्ट हुनुपर्छ भने मानिसहरू अहिले अभूतपूर्व अवस्थामा विकसित भएका छन्, र तिनीहरू अब इतिहासका पाङ्ग्राहरूजस्तै अगाडि बढ्नेछैनन्। तेरो ढुसी परेको देह लामो समयदेखि झिँगाहरूद्वारा ढाकिएको छ, त्यसैले परमेश्‍वरले आजको दिनसम्म अघि बढ्न दिनुभएको इतिहासका पाङ्ग्राहरूलाई यसले कसरी उल्टाउन सक्छ? आखिरी दिनहरूको शान्त रूपमा चल्ने घडीलाई यसले फेरि कसरी टिक-टिक गर्ने बनाउन र त्यसका काँटाहरूलाई घडीकै दिशामा चल्‍ने बनाउन सक्छ? यसले बाक्‍लो कुहिरोमा ढाकिएको संसारलाई कसरी रूपान्तरण गर्न सक्छ? के तेरो देहले पहाडपर्वत र नदीनालालाई पुनर्जीवित पार्न सक्छ? तेरो शरीर जसको थोरै मात्र काम छ, के त्यसले साँच्‍चै तैंले अति नै चाहेको मानव संसार पुनर्स्थापित गर्न सक्छ? के तँ आफ्ना सन्तानलाई साँच्‍चै “मानव प्राणी” बन्‍ने शिक्षा दिन सक्छस्? के तैँले अहिले यो कुरा बुझिस्? तेरो शरीर वास्तवमा केको स्वामित्वमा छ? मानिसलाई मुक्ति दिनु, मानिसलाई सिद्ध पार्नु र मानिसलाई रूपान्तरण गर्नुको परमेश्‍वरको सुरुको अभिप्राय भनेको तँलाई एउटा सुन्दर मातृभूमि दिनु वा मानिसको देहलाई शान्तिपूर्ण विश्राम दिनु भन्‍ने थिएन; यो त उहाँको महिमा र उहाँको गवाहीको लागि, मानवजातिको भविष्यको अझ उत्तम आनन्दका लागि र यसरी तिनीहरूले चाँडै विश्राम गर्न सकून् भन्‍ने अभिप्रायको लागि थियो। अझै पनि, यो तेरो देहको निम्ति थिएन, किनकि मानिस परमेश्‍वरको व्यवस्थापनको पूँजी हो र मानिसको देह अतिरिक्त वस्तु मात्रै हो। (मानिस आत्मा र शरीर दुवै भएको एक वस्तु हो, जबकि देह नष्ट भएर जाने वस्तु मात्र हो। यसको अर्थ देह व्यवस्थापन योजनामा प्रयोग गरिने एउटा साधन हो भन्‍ने हुन्छ।) तँलाई थाहा हुनुपर्छ कि परमेश्‍वरद्वारा मानिसहरूलाई सिद्ध र पूर्ण बनाउने र मानिसहरूलाई प्राप्त गर्ने कार्यले तिनीहरूका देहमा तरवार र चोटहरू, अन्त्यहीन दुःख, जलन, क्रूर न्याय, सजाय, र श्रापहरू अनि असिम परीक्षाहरूबाहेक अरू केही ल्याउँदैन। मानिसको व्यवस्थापन कार्यको भित्री कथा र सत्यता यही हो। तैपनि, यी सबै कुराहरू मानिसको देहतर्फ लक्षित हुन्छन्, र शत्रुताका सबै वाणहरू निर्दयतापूर्वक मानिसको देहप्रति नै लक्षित गरिन्छन् (किनकि मानिस निर्दोष छ)। यो सबै नै उहाँको महिमा र गवाही अनि उहाँको व्यवस्थापनका लागि हो। यस्तो किन हुन्छ भने उहाँको काम मानवजातिका लागि मात्र होइन, यो त सम्पूर्ण योजनाका लागि पनि हो, साथै उहाँले मानवजातिलाई सृष्टि गर्नुभएको समयको उहाँको सुरुको इच्छा पूरा गर्नलाई पनि हो। त्यसकारण, सायद मानिसको नब्बे प्रतिशत अनुभवमा दुःख र अग्‍निपरीक्षा सामेल हुन्छ, र त्यहाँ मानिसको देहले चाहना गरेका मीठा र खुसीयालीका दिनहरू या त थोरै हुन्छन् या त हुँदै हुँदैनन्। मानिसले देहमा परमेश्‍वरसित सुन्दर समय बिताउँदै खुसीका क्षणहरू अनुभव गर्न सक्‍ने त झन् कुरै आउँदैन। देह फोहोरी छ, त्यसैले मानिसको देहले जे देख्छ वा जे उपभोग गर्छ त्यो परमेश्‍वरको सजायबाहेक अरू केही हुँदैन, जसलाई मानिसले अनुपयुक्त पाउँछ, यस्तो लाग्छ त्यसमा सामान्य अनुभूतिकै अभाव छ। यस्तो किन हुन्छ भने परमेश्‍वरले आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुन्छ, जसलाई मानिसले समर्थन गर्दैन, र उहाँको धर्मी स्वभावले मानिसका उल्लङ्घनहरू सहँदैन र शत्रुहरूलाई घृणा गर्छ। परमेश्‍वरले कुनै पनि उपायद्वारा उहाँको सम्पूर्ण स्वभाव खुल्लमखुल्ला प्रकट गर्नुहुन्छ, र त्यसमार्फत शैतानसँगको उहाँको छ हजार वर्षे लडाइँ अर्थात् सारा मानवजातिको मुक्तिको काम र प्राचीन कालको शैतानलाई नाश पार्ने काम समाप्त गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानवजातिलाई व्यवस्थापन गर्ने उद्देश्य

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्