परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३४

31 अक्टोबर 2022

अब्राहामलाई परमेश्‍वरको प्रतिज्ञा

उत्पत्ति २२:१६-१८ यहोवाले भन्‍नुभयो, म आफैले शपथ खाएको छु किनभने तैँले यो गरेको छस् र तैँले तेरो छोरा अर्थात् तेरो एक मात्र छोरा मलाई नदिई आफूसँग राखेको छैनस्: आशिष्‌मा म तँलाई आशिष्‌ दिनेछु र वृद्धिमा तेरा सन्तानलाई बढाएर आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह वृद्धि गर्नेछु; र तेरा सन्तानले त्यसका शत्रुहरूको प्रवेशद्वार कब्जा गर्नेछन्; र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌; किनभने तैँले मेरो वचन पालन गरेको छस्।

यो परमेश्‍वरले अब्राहामलाई दिनुभएको आशिष्‌को सम्पूर्ण विवरण हो। संक्षिप्त भए पनि, यसको विषयवस्तु समृद्ध छ: यसमा परमेश्‍वरले अब्राहामलाई वरदान दिनुको कारण, र पृष्ठभूमि, र उहाँले अब्राहामलाई दिनुभएको कुरा के थियो सो कुरा समावेश छन्। यसमा परमेश्‍वर आनन्द र उत्साहले ओतप्रोत भएर यी वचनहरू बोल्नुभएको, साथै उहाँको वचन सुन्‍न सक्‍नेहरूलाई प्राप्त गर्ने उहाँको चाहनाको तीव्रता पनि छ। यसमा, हामी परमेश्‍वरका वचनहरू पालन गर्ने र उहाँका आज्ञाहरू मान्‍नेहरूप्रति उहाँको स्‍नेह र प्रेम देख्छौँ। यसरी हामी परमेश्‍वरले मानिसहरूलाई प्राप्त गर्न चुकाउनुहुने मूल्य, र मानिसहरूलाई प्राप्त गर्नको लागि उहाँले समर्पण गर्नुहुने वास्ता र विचारलाई देख्छौँ। यसबाहेक, “म आफैले शपथ खाएको छु,” भन्‍ने वचनहरू भएको यो खण्डले हामीलाई परमेश्‍वरले उहाँको व्यवस्थापन योजनाको यो कामको दृश्यपछाडि सहनुभएको तीतोपना र पीडाको कडा आभास दिलाउँछ। यो विचारोत्तेजक खण्ड हो, र यो घटनापछि आउनेहरूका लागि यसको विशेष महत्त्व थियो, र उनीहरूमा यसको दूरगामी प्रभाव पारेको थियो।

मानिसले उसको इमानदारिता र आज्ञापालनको कारण परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्छ

के हामीले यहाँ पढेको परमेश्‍वरले अब्राहामलाई दिनुभएको आशिष्‌ महान् थियो? यो कतिसम्म महान् थियो? यहाँ एउटा मुख्य वाक्य छ: “र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌।” यो वाक्यले के देखाउँछ भने, अब्राहामले त्यस्ता आशिष्‌हरू पाए जुन तिनीभन्दा अघि वा पछि आएका कसैलाई पनि दिइएन। परमेश्‍वरले भन्‍नुहुँदा अब्राहामले तिनको एक मात्र प्रिय छोरा परमेश्‍वरलाई फर्काइदिए (नोट: यहाँ हामीले “बलि चढाउनु” भन्‍न सक्दैनौं; तिनले आफ्नो छोरा परमेश्‍वरलाई फर्काइदिए भनेर हामीले भन्‍नुपर्छ), परमेश्‍वरले अब्राहामलाई इसहाकको बलि चढाउनबाट मात्र रोक्‍नुभएन, उहाँले त तिनलाई आशिष्‌ पनि दिनुभयो। उहाँले अब्राहामलाई कुन प्रतिज्ञाको आशिष्‌ दिनुभयो? उहाँले तिनका सन्तानलाई वृद्धि गर्ने प्रतिज्ञा दिनुभयो। अनि तिनीहरू कतिसम्म वृद्धि हुनेवाला थिए? धर्मशास्‍त्रले निम्‍न विवरण दिन्छ: “आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह वृद्धि गर्नेछु; र तेरा सन्तानले त्यसका शत्रुहरूको प्रवेशद्वार कब्जा गर्नेछन्; र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌।” परमेश्‍वरले कुन सन्दर्भमा यी वचनहरू बोल्‍नुभयो? भन्‍नुको अर्थ, अब्राहामले कसरी परमेश्‍वरको आशिष्‌ पाए? तिनले धर्मशास्‍त्रमा परमेश्‍वरले भन्‍नुभएजस्तै गरी ती प्राप्त गरे: “किनभने तैँले मेरो वचन पालन गरेको छस्।” अर्थात्, अब्राहामले परमेश्‍वरको आज्ञापालन गरेका थिए, तिनले परमेश्‍वरले भन्‍नुभएका, माग्‍नुभएका र आज्ञा गर्नुभएका सबै काम एउटै पनि गुनासो नगरी पूरा गरे, यसैले परमेश्‍वरले तिनीसित त्यस्तो प्रतिज्ञा गर्नुभयो। यस प्रतिज्ञामा एउटा महत्त्वपूर्ण वाक्य छ, जुन त्यस समयका परमेश्‍वरका विचारहरूसँग सम्बन्धित छ। के तिमीहरूले यो देखेका छौ? हुन सक्छ, तिमीहरूले “म आफैले शपथ खाएको छु” भन्‍ने परमेश्‍वरका वचनहरूमा त्यति ध्यान दिएका छैनौ होला। ती वचनहरूको अर्थ के हो भने, जब परमेश्‍वरले यी वचनहरू बोल्नुभयो, उहाँ आफैले शपथ खानुभयो। शपथ खाँदा मानिसहरू के कसम खाने गर्छन्? तिनीहरू स्वर्गको कसम खान्छन्, भन्‍नुको अर्थ, तिनीहरूले परमेश्‍वरसित शपथ खान्छन् र परमेश्‍वरको नाउँमा कसम खान्छन्। परमेश्‍वरले कुन घटनाको कारण आफ्‍नै नाममा कसम खानुभयो भन्‍नेबारेमा मानिसहरूलाई त्यत्ति ज्ञान नहुन सक्छ, तर मैले तिमीहरूलाई सही प्रकारले बताएपछि तिमीहरूले बुझ्न सक्‍नेछौ। परमेश्‍वरले उहाँको वचन मात्र सुन्‍ने तर उहाँको हृदयलाई नबुझ्ने एक जना मानिसको सामना गर्नुभएपछि एकचोटि फेरि उहाँले एकलो र अन्योल महसुस गर्नुभयो। निराशामा—र यो पनि भन्‍न सकिन्छ कि अवचेतन रूपमा—परमेश्‍वरले एउटा अत्यन्त स्वाभाविक काम गर्नुभयो: परमेश्‍वरले आफ्नो हात आफ्नो हृदयमा राख्‍नुभयो र अब्राहामलाई यो प्रतिज्ञा दिनुहुँदा आफैलाई सम्बोधन गर्नुभयो, र यस क्रममा परमेश्‍वरले “म आफैले शपथ खाएको छु” भन्‍नुभएको मानिसले सुन्यो। परमेश्‍वरका कार्यहरूद्वारा तँ आफ्‍नै बारेमा सोच्न सक्छस्। जब तँ आफ्नो हात आफ्नो हृदयमा राख्छस् र आफैसँग बोल्छस्, तब के तैँले आफूले भनेको कुरा स्पष्ट बुझ्छस्? के तेरो मनोवृत्ति इमानदार छ? के तँ आफ्नो हृदयसित खुलस्त कुरा गर्न सक्छस्? यसैले, हामी यहाँ देख्छौँ कि परमेश्‍वर अब्राहामसँग बोल्नुहुँदा उहाँ गम्भीर र इमानदार हुनुहुन्थ्यो। अब्राहामसँग बोल्नुहुँदा र तिनलाई आशिष्‌ दिनुहुँदा, परमेश्‍वर आफैसित पनि बोलिरहनुभएको थियो। उहाँले आफैलाई भन्दै हुनुहुन्थ्यो: म अब्राहामलाई आशिष् दिनेछु, र त्यसका सन्तान आकाशका ताराहरूजत्तिकै असङ्ख्य र समुद्रको किनारको बालुवासरह प्रशस्त बनाउनेछु, किनकि त्यसले मेरो वचन पालन गर्‍यो र म त्यसैलाई चुन्छु। जब परमेश्‍वरले “म आफैले शपथ खाएको छु” भन्‍नुभयो, तब अब्राहाममा उहाँले इस्राएलको चुनिएका मानिसहरू जन्माउनुहुनेछ भनी सङ्कल्प गर्नुभयो र त्यसपछि उहाँले ती मानिसहरूलाई उहाँको कामको गतिअनुसार अगाडि बढाउनुहुनेथ्यो। अर्थात्, परमेश्‍वरले अब्राहामका सन्तानलाई परमेश्‍वरको व्यवस्थापनको काम वहन गर्न लगाउनुहुनेथ्यो, र परमेश्‍वरको काम र परमेश्‍वरद्वारा व्यक्त गरिएको कुरा अब्राहामबाट सुरु हुनेथ्यो र अब्राहामका सन्तानमा जारी रहनेथ्यो, र यस प्रकारले मानिसलाई मुक्ति दिने परमेश्‍वरको इच्छा साकार हुनेथ्यो। तिमीहरू के भन्छौ, के यो एक आशिषित कुरा होइन र? मानिसका लागि योभन्दा ठूलो आशिष्‌ अर्को कुनै छैन; यो भन्‍न सकिन्छ कि यो नै सबैभन्दा धेरै रूपमा आशिषित कुरा हो। अब्राहामले प्राप्त गरेको आशिष्‌ तिनको सन्तान धेरै वृद्धि हुनु थिएन, बरु परमेश्‍वरद्वारा अब्राहामको सन्तानमा उहाँको व्यवस्थापन, उहाँको आज्ञा र उहाँको काम हासिल गर्नु थियो। यसको अर्थ के हो भने, अब्राहामले पाएका आशिष्‌हरू अस्थायी थिएनन्, ती आशिष्‌ त परमेश्‍वरको व्यवस्थापन योजना अगाडि बढ्दै जाँदा निरन्तर रहिरहे। जब परमेश्‍वर बोल्नुभयो, जब परमेश्‍वरले आफ्नै नाउँमा शपथ खानुभयो, उहाँले पहिले नै सङ्कल्प गरिसक्‍नुभएको थियो। के त्यो सङ्कल्पको प्रक्रिया सत्य थियो? के त्यो वास्तविक थियो? त्यस समयदेखि यता, उहाँका प्रयासहरू, उहाँले तिर्नुभएको मूल्य, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, उहाँका सबै थोक, र उहाँको जीवनसमेत अब्राहाम र अब्राहामका सन्तानहरूलाई दिइनेछ भनी परमेश्‍वरले सङ्कल्‍प गर्नुभयो। यसरी परमेश्‍वरले यो पनि सङ्कल्प गर्नुभयो कि मानिसहरूको त्यो झुन्डबाट सुरु गरेर, उहाँले आफ्ना कार्यहरू प्रकट गर्नुहुनेछ, र मानिसलाई उहाँको बुद्धि, अख्तियार र शक्ति देखाउनुहुनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्